(सुलेख साहित्यिक मासिकको पूर्णङ्क ३०, वर्ष ३ अङ्क ११ फागुन २०७१ म प्रकाशित)
जापान भ्रमणसम्बन्धी नियात्राको पुस्तकमाथि काम गर्दै थिएँ । अलिपरको ल्यान्डलाइन टेलिफोन एकोहोरो बज्यो– किर्र....किर्र....किर्र....! कम्प्युटरको स्क्रिनमा एकोहोरिएको ध्यान टेलिफोनतिर आकर्षित हुनु स्वभाविक थियो । अलि पर रहेको फोन उठाएँ । टेलिफोनको अर्को छेउबाट लामो यात्रा छिचोल्दै आएको आवाज ठोक्कियो– “म....हेटौंडाबाट आर. सी. रिजाल !”
“खुशी लाग्यो, किन होला ?” औपचारिक अभिवादन र भलाकुसारी पश्चात मैले आफ्नो जिज्ञासा राखेँ । थाहा भयो एउटा निम्ताका लागि रहेछ रिजालजीको यो फोन । निम्ताको सन्दर्भ थियो पुष्पलाल स्मृति पार्कमा निर्माण गरिने गोपालप्रसाद रिमालको सालिक शिलान्यासका साथै कथाकार नवराज शर्मा तिमल्सिनाको कथासङ्ग्रह ‘मट्याइलो सुगन्ध’ को लोकार्पण । पुष्पलाल पार्कको पुस्तकालय भवनकै प्राङ्गणछेउ रिजालजीकै अग्रसरतामा महान् हास्यव्यङ्यशिल्पी भैरव अर्यालको सालिक उहिल्यै निर्माण भइसकेको थियो । अहिले भैरवसँगै हेटौंडाबासीलाई अर्का महान् क्रान्तिद्रष्टा कवि नाटककार गोपालप्रसाद रिमालको सालिक ठड्याउन हौस्याउँदै रहेछन् उनै रिजाल र उनको रचनात्मक टिम !
त्यति महान् उद्देश्य राखेर गरिन लागेको कार्यको साक्षी बस्न पाइने यो काम कम महत्वपूर्ण थिएन । तर पनि तुरुन्तै हुन्छ भनिहाल्न सकिन मैले, र शनिबार हो कि आइतबार विहानको त्यो फोनवार्ता क्रममा प्रश्नको अर्काे झटारो छाडेँ– कहिले आइपुग्नु पर्ने र यता काठमाडौंबाट कोको आउने हो ?”
रिजालजीको उत्तर थियो– तपाइँ मात्रै हो, त्यताबाट । १३ गते शनिवारको कार्यक्रम भएकोले शुक्रवार आइपुग्नु पर्ला । बरु हतार भए आइतबारै फर्कनुभए हुन्छ । एकजना साथी ल्याउनु भए राम्रो, भाउजू नै आउनु भए झनै राम्रो ।”
भोलिसम्ममा खबर गरौंला भनेर फोनसम्पर्कबाट छुट्टियौं ।
मङ्सिर महिनाको पहिलो साता, राजधानी सार्क सम्मेलनको तीब्र रापमा बाफिएको थियो । देखाउनैका लागि भए पनि हतारोमा रातारात सडक चिप्ला चापुल्ला तुल्याउने कसरत चलिरहेको थियो । ११ गते पाहुनाहरू नफर्कुन्जेल राजधानीको सुरक्षा अत्यन्त कसिलो तुल्याइएको थियो । सम्मेलनभर त सवारी चाप घटाउन सार्वजनिक विदा नै दिइको थियो । सार्वजनिक सवारी साधन पनि जोर विजोर नम्बर गरेर मात्रै चलाउने अनुमति थियो । अनि आफ्नै अर्का दुई निर्धारित कार्यक्रम बालसंसार प्रालिको साधारण सभा र रमेश विकल साहित्य प्रतिष्ठानको विकल स्मृतिसभा तथा साधारण सभालाई पनि समय दिनुथियो । पहिलोमा खासै समस्या थिएन । निर्धारित दिन र समयमा आइपुग्दा हुृन्थ्यो । अर्को कार्यक्रमको भने धमाधम तयारी चलिरहेको थियो । स्मारिकाको काम भइरहेको थियो । रचना, विज्ञापन सङ्कल र प्रेसको काममा लाग्नै पथ्र्यो । पुरस्कृतहरूलाई निमन्त्रणा पत्र पठाउने, पत्रप्रेषण गर्ने, साधारण सभाको सूचना सम्प्रेषण गर्ने आदि काम पनि बाँकी नै थिए । यिनै कारणले तत्काल हुन्छ हुन्न को जवाफ दिन सकेको थिइन । तर त्यति महत्वपूर्ण कार्यक्रममा नजानु ठीक हुँदैनथ्यो र जाने नै विचार बनाएँ । श्रीमतीले पनि त्यति गरेर बोलाएपछि जानुपर्छ, बरु भोलिपल्टै फर्कुंला भनेकीले भोलिपल्टै दूरभाष मार्फत शुक्रबार साँझसम्ममा पुग्ने स्वीकृति दिएँ ! यसरी २०७१ सालको मङ्सिर १२ गते अपराह्न चार बजेतिर हेटौडाको सृजनशील माटो टेक्न आइपुगेको थिएँ ।
भनिनै हालेँ, यो अवसर जुटाइदिने मकवानपुर कै सिंगो साहित्यिक दूत थिए, आर.सी. रिजाल । हुनपनि उनी आफैंमा एउटा सिंगो संस्था थिए ! २००९ साल चैत महिनामा मकवानपुर गढीमा जन्मेका आर. सी. जीविकाको लागि हेटौंडालाई कर्मथलो बनाएर अध्यापन, निजामती सेवा र पत्रकारिताको क्षेत्रमा सतत् सृजनारत रहँदै आए । आफ्नै पसिनाको संसार, सिस्नुपानीको भवनमा हरेक महिना कविता फुलाइरहेछ उनी हेटौंडामा । उनकै सोच र लगनले हेटौंडाले महान् साहित्यकारहरूलाई मायाँ गर्ने सुसंस्कृत सहरको छवि धारण गरिरहेको छ र स्थानीयहरूका बीच सालिक रिजालको उपनामले समेत चिनिन थालेका छन् आर. सी. ! २०६६ सालमा यही हेटौंडामा भैरव अर्यालको सालिक ठड्याएर अरु उत्साहित बनेका रिजाल यो उमेरमा पनि थाकेका छैनन् । क्रान्तिद्रष्टा अर्का महान् कवि नाटककार गोपाल प्रसाद रिमालको सालिक ठड्याउन कम्मर कसेर लागिपरेका छन् । त्यही उनको हनुमान साहलाई अलिकति भएपनि भरथेग गर्न सालिक शिलान्यासका लागि निम्त्याइएर आइपुगेको छु यतिखेर म सालिक सन्दर्भमैं हेटौंडाको उर्बर साहित्यिक माटोमा !
सन्जोग नै भन्नुपर्छ, हेटौंडा पत्रकारिता र अन्य सन्दर्भमा धेरैपटक आए पनि पत्रकारिताको क्षेत्रबाट त्यति न्यानो र सौहार्द्रता अनुभव गर्न पाएको छैन मैले, जुन साहित्यको क्षेत्रले मलाई गराएको छ ! हो, यस अगाडिको त्यो सौहाद्र्रको कारण पनि सालिक नै थियो । भैरव अर्यालको सालिक अनावरण समारोह ! त्यतिबेलाका संयोजन सारथी पनि यिनै थिए आरसी रिजाल । उतिबेला अतिथिका रूपमा बनिबनाउ सालिकको मुहार खोल्ने अवसरको साक्षी बनेको थिएँ, यतिबेला जगै हाल्ने शुभअवसर प्राप्त भएको छ, अतिथिका अगाडि प्रमुख समेतको पुच्छर भिरेर । अनि अर्को पनि काम सुम्पिएका छन् मित्र रिजालले त्यही पुच्छर भिराएर नवराज शर्माको सद्यप्रकाशित कथासङ्ग्रहको लोकार्पण कार्यको । मलाई थाहाछ, यी दुवै कार्यका लागि धेरै वरिष्ठ व्यक्तित्व हुनुहुन्छ उता र यता दुवैतिर ।
आफैं आयोजक नभएका भए सबैभन्दा उपयुक्त पात्र त उनै सालिक रिजाल थिए । आर. सी. साहित्यिक विकासको अभियन्ता मात्र होइनन्, स्थापित निबन्धकार पनि हुन् हास्यव्यङ्ग्य क्षेत्रका एक वरिष्ठ अवतार ! हुन पनि ‘कवि बन्ने लहडमा (२०२८)’ कलम चलाउन थालेका रिजाल यही निबन्धदेखि एकोहोरो हास्ययङ्ग्य लेखनमा लहस्सिँदै आए । बीचमा ‘खरानीभित्रको आगो (२०३६)’ बाट लधु उपन्यास लेखनको दिशामा दिशान्तर हुनखोजे पनि उनको मूल प्रवृत्ति हास्यव्यङ्ग्यचेत नै थियो । त्यसैले उनी फेरि ‘कुकुरको पुच्छर (२०५५)’ सोझयाउन हास्यव्यङ्ग्य तिरै फर्किए । त्यसपछि पनि नेपाली समाज, राजनीति र साहित्यि लगायतका क्षेत्रमा युगौंदेखि बाङ्गिएको मान्छेको पुच्छर सोझ्याउने कठिन कार्यमा कम्मर कसेरै लागे । अनि त यो क्षेत्र अम्मलै बनिहाल्यो ‘लँगौटी (२०५७)’ पाटा कसेर ‘हाकिमको खप्पर (२०६६)’ सोझ्याउन दङ्गलमा छिरे । आफू मात्र लेखेर के मान्थे र हेटौंडाका साहित्यि विकासका अभियन्ता रिजाल ‘भोलारामको आत्मा (२०६६)’ को अनुवाद र ‘अक्षर २०६१)’ साहित्यिक चौमासिक पत्रिकाको सम्पादन गरेर नवप्रतिभा जन्माउन स्रष्टालाई प्रकाशित हुने चौपाल उपलब्ध गराए, गराइरहेका छन् ! त्यसैले सरकारी प्रतिष्ठान स्रतिष्ठान भनिने अड्डाहरूमा नाम दर्ता भएको नदेखिए पनि जनस्तरका साहित्यिक संस्थाहरूले राष्ट्रिय स्तरमैं सम्मानित गरेका छन् उनलाई, जसको उनी हकदार पनि हुन् । भैरव प्रतिभा पुरस्कार र गोपालराज स्मृति सम्मान जस्ता सम्मानको यथार्थमैं हकदार थिए राजधानी बाहिर बसेर निरन्तर साहित्यको विकासमा समर्पित स्रष्टा रिजाल !
जेहोस्, सङ्कोचमैं भए पनि मित्र आर. सी. रिजालको त्यो विश्वासपूर्ण आमन्त्रण स्वीकारेर आइपुगेका छौं हामी बूढाबूढी नै हेटौंडा ।
आर. सी. कै व्यवस्थामा तोकिएको बास सीमा होटेलमा झोली तुम्बा बिसायौं अपराह्न तीनबजेतिर । एक एक कप चियाले काठमाडौंदेखिको ‘नेपाली राजमार्गका उबडखाबड बाटो’ को उपहार शरीरभरिको थकान पखाल्दा नपखाल्दै आइपुग्यो आर. सी. र नवराजको जुम्ल्याहाजस्तै लाग्ने साहित्यिक जोडी ! आरसीबाट भोलिविहान ७.३० बजे पुष्पलाल पार्कमा रिमालको सालिक शिलान्यास र ११ बजे सिस्नुपानी, मकवानपुरको सभाकक्षमा नवराजजीको सद्यप्रकाशित कथासङ्ग्रह “मट्याइलो सुगन्ध“ को लोकार्पण कार्यक्रम हुने जानकारी दिए र दिए नवराजको पुस्तक भरे होटलमैं उपलब्ध गराउने जानकारी ।
“अहिले खास केही काम रहेनछ, म उहाँहरूलाई मेरो घर देखाएर ल्याउँछु हुन्न ?” त्यो जानकारी पाए पछि आर. सी. र नवराजजीसँगको परिचय आदानप्रदान पश्चात हामीसँगै काठमाडौंदेखिकै सहयात्री बहिनी प्रमिला खतिवडाले भनिहालिन् । उनी सुमोको यात्रा पूरा गरिसकेर पनि घर देखाएर फर्काउने भन्दै हामीलाईनै पर्खेर बसेकी थिइन् ! उनको त्यो स्नेहपूर्ण आग्रह अस्वीकार गर्नु निश्चयनै उपयुक्त थिएन । त्यसैले मैले पनि उनकै कुरामा सहमति जनाएँ । आयोजकहरूबाट अनुमति नपाउने कुरै भएन ।
प्रमिलासँगको भेट र परिचयको संयोग पनि रमाइलै थियो । टाटा सुमोको अघिल्लो सिटमा एकजना भद्र व्यक्ति बसेका थिए हेटौंडाकै निर्माण व्यवसायी जोशी । हेटौंडा निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष समेत भएर सार्वजनिक जिम्मेवारी वहन गरिसकेका जोशी निकै फरासिला थिए । उनीबाट यस राजमार्गको दुर्दशाका बारेमा धेरै कुरा थाहा पाइयो । कुराकानी कै सन्दर्भमा उनले सोधेपछि मैले मेरो नाम बताएँ । मेरो नाम सुनेपछि उनका साथै मसँगैको सिटमा बसेकी एकजना अर्की अपरिचित युवतीले शम्भुकुमार मिलनको घरमा हामी दुवैलाई देखेको र शम्भुजी र श्रीमती मिलन अर्थात निर्मलाबाट हाम्रो बारेमा धेरै कुरा सुनेको जानकारी दिएकी थिइन । वरिष्ठ सङ्गीतकार, गायक तथा गजल स्रष्टा, हाल नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञसभा सदस्य शम्भुजी र मेरो एक प्रकारले पारिवारिक सम्बन्ध छ । निर्मला मेरी श्रीमती लक्ष्मीलाई आफ्नै दिदीसरह मान्छिन् । हामी दुवै परिवार दुवैतिर आउने जाने गछौं । त्यही कुनै अवसरमा यी बहिनीले पनि देखेकी रहिछन् । उनी रहिछन् निर्मालाकी भदाबुहारी ! अनि त के थियो र उनले त्यहीँबाट निर्मलालाई फोन गरेर सुनाइहालिन्– फलाना फलाना पनि साथै हुनुहुन्छ, हेटौंडा जान लागेको । उताबाट निर्मलाको धाराप्रवाह निर्देशन सुरुभइहाल्यो प्रमिलालाई । दिदी भिनाजुलाई आफ्नै घरमा राख्नू, भूटनदेवी लगायत सबैतिर घुमाउनु आदि...आदि...! घरैमा नबसे पनि आज कुनै काम नहुँदा घरसम्म लगेर खाजासाजा नख्वाइ नछाड्ने उनको अठोटका अगाडि हामी नतमस्तक बनेका थियौं ।
हेटौंडाकै केन्द्रीय सहरभन्दा अलि भित्रको शान्त आवासीय क्षेत्र चिसापानीमा थियो प्रमिलाको घर । केहीबेरको अटोरिक्साको यात्रा पछि पुगिएको त्यो ठाउँ वास्तवमा पैदलै जाँदा पनि त्यति टाढा भने थिएन ।
प्रमिलाको हातको मीठो खाजा र आत्मीयतापूर्ण आतिथ्यमैं समय बितेको पत्तो भएन । प्रमिलाका ससुरा आइपुगे, र आइपुगे प्रमिलाका श्रीमान् विष्णु खतिवडा अर्थात् निर्मलाका भदा ! पहिले हेटौंडामैं गाउँ विकास समितिका सचिवको जिम्मेवारी समलिरहेका राष्ट्रसेवक विष्णु भखैरै वीरगन्ज भन्सार सरुवा भएर गएका रहेछन् । भन्थे, अनियमितताको अखाडा यस्ता अफिसमा चोखो बच्नै मुस्किल ! जेहोस्, सबै उत्तिकै मिज्यासिला, उत्तिकै फरासिला । निर्मलाजस्तै !
साढे पाँच बजेतिर रिक्सा लिएर प्रमिलाकहाँबाट होटेल फर्केपछि गर्नु केही थिएन । मात्र खाना खाने.र नवराजजीले छाडेका भोलिपल्ट लोकार्पण हुने कथासङ्ग्रह सरसरती पढेर केही बोल्न मानसिक रूपमा तयार हुने ।
नवराज शर्मा तिमिल्सिना, कवि थिए, र थिए मूलतः कथाकार । २००९ साउन १७ मा ढुङखर्क काभ्रेमा जन्मेर हेटौंडा, मकवानपुरलाई कर्मथलो बनाउने नवराज साहित्य र पत्रकारिता दुवैक्षेत्रमा राजधानी बाहिर हेटौंडामा रहेर निरन्तर सिर्जनारत सुपरिचित प्रतिभा थिए । यो नामसँग म अपरिचित पनि थिइन । जुनेली २०२४ मा ‘गरिबको व्यथा’ शीर्षक कविता प्रकाशित गरेर साहित्यिक संसारमा प्रवेश गरेका नवराजका ‘बन्धनभित्रका अभिव्यक्तिहरू (कविता सङ्ग्रह, सहलेखन)’ पछि लामो समयपश्चात सङ्ग्रहित दोस्रो सङ्ग्रह थियो यो ‘मट्याइलो सुगन्ध (कथासङ्ग्रह) । सम्पादन कलामा पनि उत्तिकै कुशल छन् उनी । कुराकानी साप्ताहिक (२०४१), प्रयास साहित्यिक त्रैमासिक (२०४१), क्रमशः साहित्यिक (२०४८), प्रकाश साप्ताहिक (२०६०) आदिको सम्पादन बाट यो कुशलताको प्रदर्शन गर्दै आएका छन् ।
भोलिपल्ट लोकार्पण गरिने नवराजजीको मट्याइलो सुगन्ध पढेपछि लाग्यो, साँच्च नै नेपाली माटोको सुगन्धका कथा रहेछन् यी । परिश्रमका सुगन्ध थिए, कृषक–मजदूर र परिश्रमी हातका पसिनाका सुगन्ध मगमगाइरहेका थिए यिनमा ! अनि कथा मात्र थिएन यसमा । अतिछोटा लघुकथा थिए, र थिए उनका आत्मसंस्मरणका सङ्घर्षगाथा ! साहित्य जीवनको लागि हुनुपर्छ भन्ने विचारका संवाहक नवराज शर्माका यी जीवनवादी रचना यतिखेर पढिरहँदा उनको प्रमुख विशेषता नै वास्तवमा वैचारिक दृढता होकि भन्ने लागेको थियो मलाई । सरल भाषा, सरल रेखामा उनिएका सरल कथानक र शैली उनका अरु विशेषता लाग्थे !
त्यति गरेर बिसाएको थिएँ मैले हेटौंडामा अस्तिको पहिलो साँझ !
हिजो विहानै उठेर केही बेरको प्रातःभ्रमण लगत्तै कार्यक्रममा पुग्ने हतारोमा लाग्यौं । पुष्पलाल पार्कस्थित कार्यक्रमस्थलमा उपस्थिति त्यति बाक्लो थिएन । तर जति थियो गंभीर खालको उपस्थिति थियो । केही सीमित स्थानीय पत्रकार थिए (पत्रकारको बाक्लो उपस्थितिका हुनका लागि त कि राजनीतिका ठूलो राजनेता हुनुपर्छ प्रमुख अतिथि र वक्ता; कि त हुनुपर्छ ठूलै होटेलमा रमरम तताउने पेयको चुस्कीसँगैको कार्यक्रममा मोटो खामको स्वागत ! अथवा अघिल्लै साँझ होटलमा तताएर भोलिपल्टको कार्यक्रमका लागि तयार गर्ने कसरत ! राजधानीको प्रवृत्ति हेटौंडाले किन नसिकोस् ! त्यसैले यो सामान्यजनको भगीरथ प्रयत्नबाट हुनलागेको सामान्यजहरूकै सहभागिताको कार्यक्रममा बाक्लो उपस्थितिको अपेक्षा स्वभाविक पनि थिएन !) । तरपनि स्थानीय पत्रपत्रिकाका प्रतिनिधिको राम्रै उपस्थिति थियो र यसकै प्रतिफल थियो भोपिल्टका सबै स्थानीय अखबारमा राम्रो स्थान पाएका थिए यी कार्यक्रमले ।
ठूलो भीडभाड र तामझाम बिना नै वेदध्वनिका बीच महान् हास्यव्यङ्ग्यशिल्पी भैरव अर्याल कै सालिक छेउ सम्पन्न भयो क्रान्तिद्रष्टा महान्कवि नाटककार गोपालप्रसाद् रिमालको सालिक शिलान्यास ! मेरालागि अहोभाग्य थियो यति महान् साहित्यकारको सालिक शिलान्यास गर्ने यो अवसर ! वक्ता धेरै थिएनौं, प्रमुखकर्ता आर.सी.रिजाल र म स्वयम होताका साथै अरु एक दुईजना ! रिजालजीले सालिक निर्माणमा प्रशासन र स्थानीय गण्यमान्यजन र रिमालका परिवारबाट पाएका सहयोगको आश्वासन बारे जानकारी दिए र यस महान् कार्यका लागि सबैको सहयोगको अपेक्षा रहेको बताए । कार्यक्रम मैं उदारमना स्थानीय भद्रजनबाट आफूले उपलब्धगराउने आर्थिक सहयोगको उद्घोषले आयोजकको उत्साह बढाउँदै गयो । मैले पनि सकेको सहयोग गर्ने आश्वासन दिएँ, मेरो व्यक्तिगत र संबद्ध संघसंस्थाहरूका तर्फबाट । रिमालको बारेमा त बोल्नुृनै थियो, सकेको बोलँे । कार्यक्रम राम्ररीनै सकियो सभ्य पारामा– कुनै देखावटी तामझाम र भीडभाड बिना !
शिलान्यास पछि खाना खाएर दोस्रो कार्यक्रम भ्याउन हतार भइसकेको थियो । साहित्यसंगम मकवानपुरको यही नियमित कवि गोष्ठीका क्रममा नवराज शर्माको कथासङ्ग्रह “मट्याइलो सुगन्ध” को लोकार्पण हुँदै थियो । म आफू निम्त्याइनुको दोस्रो कारण पनि यही थियो, लोकार्पण । त्यसैले समयमैं पुग्नु जरुरी थियो । त्यसमाथि अतिथिमा प्रमुखको पुच्छर झुन्ड्याउनेहरूमध्ये अधिकांशमा अरुलाई लामै कुराएर एकआध घन्टापछि पुग्नुलाई गौरव मान्ने प्रवृत्ति झ्याङ्गिँदै गएको भए पनि सामान्य स्रोतानै भएर जाँदा समेत समयमैं पुग्ने आफ्नो बानी थियो यो बानी कतै गए पनि छाड्न सकिने कुरा भएन । यहाँ यस कार्यक्रममा त त्यो पुच्छर भिर्ने नै आफैं परियो ।
उनै आर.सी. को सभापितत्वमा सबै प्रतिष्ठित साहित्यकारको आसन ग्रहणपछि सुरुभयो कार्यक्रम ! विभिन्न अतिथि र अन्य स्थानीय कविका शसक्त कविता–गजल सुन्ने सुन्दर अवरसँगै अघि बढ्दैगयो शुभकामना मन्तव्य, कविताप्रतिका मूल्याङ्नपरक संवोधनहरू । वक्ता र अतिथि कवि स्रष्टा वरिष्ठ साहित्यकार तुलसी थापाका साथै गणेशकुमार पौडेल, माधव भण्डारी, भीमप्रसाद भण्डारी, मुक्तिगोविन्द रञ्जित, सीताराम बर्ताैंला, लक्ष्मी चालिसेको अतिथिका रूपमा सहभागिता र सम्बोधन–वाचनसँगै बगेका काव्य सागरमा डुबुल्की मार्दाको आनन्दमा डुबिरह्यौ ंहामी । अरु सुनाउने कवि थिए – अनील जोशी, शिवशङ्कर पाठक, मीनप्रसाद लामिछाने, भीमप्रसाद भट्टराई, केदार कौशिक, एस. सुदामा, प्रमोद अधिकारी, उमेश तिमिल्सिना, पुरुषेत्तम आचार्य, यमन प्रेयसी, उमाकान्त आचार्य, शान्तिप्रिय, सानु उपासक, डा. सरोजकुमार पौडेल, नवराज शर्मा, छवि अनित्य आदि...आदि....! सुनाइएका आधादर्जन जति कविता त साँच्चिकै सुन्दर थिए, राजधानीमा राम्रो भनेर ताली खाने कतिपय कविता भन्दा कता हो कता सुन्दर, शक्तिसाली !
कार्यक्रमकै्र मध्यमा सम्पन्न भयो नवराजजीको कथासङ्ग्रहको लोकार्पण ! पुस्तकबारे बोल्ने कुराहरू भइ नै हाल्यो । बडो रमाइलो र उपयोगी बन्यो कार्यक्रम !
कार्यक्रमकै बीच लोकभावना साहित्यिक त्रैमासिकका प्रकाशक तथा प्रधान सम्पादक नानीमैंया अधिकारीले परिचय गरिछन् लक्ष्मीसँग । मेरो नाम सुनेपछि नै पहिल्याइ सकेकी रहिछन् उनले मुरारी र हाम्रो सम्बन्ध । उनी जावलाखेल मानभवनका मेरा काका अर्थात् पिताजीकी सानीमाका छोरा मुरारी र श्यामबाबु चालिसेकी परिचित रहिछन् मामाभान्जीको नातामा आबद्ध, गुरुपुत्री ! कार्यक्रम सकिनासाथ बडोस्नेहपूर्वक मसँग पनि परिचय भयो । फरासिली, प्रमिलाजस्तै ! अबको खाली समयमा घुमाउने भार पनि उनैले उठाइन् ।
कता जानेको अलमल बीचमैं हामीले तय ग¥यौं– मदन भण्डारी शहिद स्मृतिपार्क घुम्ने । धेरै अगाडि पुगेको, अहिले त धेरै आकर्षण थपिएका छन् रे ।
साँच्चिकै सुन्दर बनाइएको रहेछ ! मनमोहन अधिकारीको नौमहिने सरकार छँदाको यो सुन्दर उपहार ! अत्यन्त व्यवस्थित थियो– राम्ररी हेरचाह पु¥याइएको, सफासुघ्घर ! उतिबेला पुग्दा सानोखाले चिडयाघरकोमात्र आकर्षणदेखिन्थ्यो । अहिले स्मृतिपार्कको सबैभन्दा आकर्षण बनेको गणतन्त्र पार्क थिएन । अहिले बालबालिकाका लागि छुट्टै खण्डमा मनोरञ्जनका साधन रोलरकोस्टर, रोटेपिङर यस्तै अनेकौं आकर्षण पनि थपिएछन् । वनभोज स्थलको रूपमा अति लोकप्रिय बनेछ यो ठाउँ, शनिवार र विदाको दिनमा त सधैं खचिखचाउ हुन्छ रे !
सहिदस्मृति पार्क घुमेर फर्कँदा लगभग छ बजिसकेकोले अन्त लाग्ने कुरा भएन । त्यसमाथि हेटौंडामैं एउटा क्याम्पस प्रमुखको जिम्मेवारी पूरा गरिरहनु भएका मित्र रमेशमोहन अधिकारी दिउँसोको कार्यक्रममा क्याम्पसमैं शिक्षण सम्बन्धी गोष्ठी भएकोले आउन पाउनुभएन छ । त्यसैले साँझ होटलमैं आएर भेट्छु भन्ने दूरभाष सन्देश पाएको.थिएँ । साथै पत्रकार मित्र श्यामकुमार बानियाले शब्दपथका साथै थाहा एफ.एम. कालागि नै हो क्यार, अन्तरवार्ता लिन आउँछु भनेकाले पनि समयमै ंहोटल फर्कनु जरुरी थियो । त्यसैले नार्इँनार्इँ भन्दाभन्दै पनि तिनै वहिनी नानीमैंयाँले स्नेहपूर्वक उपहार दिएकी हेटौंडाको काँचै खाने मीठो हलुवावेदको झोला उपहार स्वीकार्दै उनीसँग बिदा भएर होटल पसेका थियौं ।
केही बेरपछि पत्रकार मित्रको फोन आयो– अन्तरवार्ता लिनका लागि भोलि विहान मात्रै आउने भएँ । हुन्न भन्ने कुरै भएन । भोलि विहानै सुरेश श्रेष्ठजीले पनि लिन आउँछु भन्नुभएकोछ, मकवानपुर क्याम्पसका पत्रकारिता पढ्ने विद्यार्थीहरूसँग पत्रकारिताका बारेमा केही अनुभव आदानप्रदान गर्नुका साथै पत्रकारिता बारे केही सैद्धान्तिक जानकारी दिन । सुरेशजी समृद्ध समाज दैनिकको सम्पादनका साथै सोही क्याम्पसमा पत्रकारिताका प्रशिक्षक हुनुहुन्थ्यो । त्यसैले क्याम्पसको कार्यक्रम भ्याउने गरी वानियाँजीलाई सबेरैको समय दिएको थिएँ ।
होटेल पसेको केही क्षणमैं आउनुभएका रमेशजीसँग भलाकुसारी र साहित्यिक विमर्शमैं निकै समय बितिहाल्यो । उता रमेशजीको फोनको घन्टी बारंबार बजिरहेको थियो ! र उहाँको विदाइसँगै हामी पनि आजसँग विदा लिने तर्खरमा लाग्यौं ।
विहानै प्रातःभ्रमणमा निस्कन नपाउँदै श्याम वानियाँ आइपुगेपछि डेढ घन्टाजति अन्तरवार्तका रूपमा नेपाली साहित्य, पत्रकारिता र अन्य समसामयिक विषयमा कुराकानी गर्दैमा वित्यो । कुराकानी सक्न नपाउँदै सुरेशजीसँग क्याम्पस गएरm होटेल फर्कँदा पेटपूजा गरेर टाटासुमो समात्ने हतारो भइसकेको थियो । त्यही हतारोमा तुरियो यस पटकको सार्थक हेटौंडा यात्रा !
२०७१ माघ १३विजय निवास, आरुबारी