(बहुआयामिक श्रीहरि पुयाँलः अभिनन्दन ग्रन्थ २०७५ मा प्रकाशित)
मलाई स्वान्तसुखायको आत्मरतिका लागि लेख्ने साहित्यकारभन्दा जीवनका लागि सोद्देश्य लेख्ने साहित्यकार बढी मनपर्छ । त्यसैले पनि श्रीहरि फुयाँल मलाइ पर्ने साहित्यकारहरूको अग्रपङ्क्ति मै पर्छन् । समतामूलक उन्नत राष्ट्र मान्छेभित्रको स्वाभिमान, अग्रगामी समाज र राष्ट्रियताप्रतिको अनुरागको चाहनाबाट निरन्तर सृजनरत श्रीहरि फुयाँल यिनै प्रखर वैचारिक चेतनाका कविहुन् ।
सरस, सरल शैलीका गम्भीर मिलनसार कवि फुयाँल तीसका दशकको उत्तरार्धदेखिका असलमित्र हुन् मेरा । हाम्रो प्रारम्भिक सम्पर्कसूत्र थियो गोरखापत्र सस्थान । म आफंै पनि केही न केही लेख्न मनपराउने र संस्थानका प्रकाशन गोरखापत्रको शनिवासरीय परिशिष्टाङ्क र मधुपर्कको सम्पादन समूहमा कार्यरत । त्यसबाहेक पनि मित्र अमरकुमार प्रधान, तेजप्रकाश श्रेष्ठसँग मिलेर हामी आफ्नै प्रकाशन साङ्ग्रिला त्रैमासिकको पनि प्रकाशन प्रारम्भ गरेका थियौं । श्रीहरिजी प्रकाशनार्थ आफ्ना कविता लिएर आउनुुहुन्थ्यो । त्यतिबेला अहिलेजस्तो मधुपर्क, छु्ट्टै विभाग र सम्पादक अन्र्तगत थिएन । गोरखापत्रकै अङ्गका रूपमा प्रकाशित हुने सहप्रकाशन मधुपर्कको प्रधान सम्पादकमा पनि गोरखापत्रकै सम्पादकको नाम रहन्थ्यो । त्यसैले कामकाजी सम्पादकमा अरु सम्पादकहरूलाई तोकिएको हुन्थ्यो । यसैले मधुपर्कको सम्पादकीय नेतृत्व गोरखापत्रकै प्रधान–सम्पादकमा रहन्थ्यो । त्यसैले त्यतिबेला प्रधान–सम्पादकमा गोकुलप्रसाद पोखरेल रहनु भए पनि मधुपर्कका साथै गोरखापत्रका साहित्यिक पृष्ठ र बेला बेलामा प्रकाशित भइरहने विभिन्न विशेषांकको सम्पादन–संयोजनको जिम्मेवारी कार्यकारी सम्पादकहरू नारायणबहादुर सिंह र केशवराज पिँडालीमा थियो, उहाँहरूको कनिष्ठ सहयोगीमा त्यतिबेला म कार्यरत थिएँ । त्यसैले गोरखापत्रमा आउने साहित्यिकाहरूसँग नयाँ नयाँ परिचय भइरहन्थ्यो । केही आफूलाई विशेष ठान्नेहरू थिए भने कोही नारायण माड्साव र कोही पिँडाली दाइ (गोरखापत्रमा हामी उहाँहरूलाई यही सम्बोधन गथ्र्यों) को निकट बनेर प्रकाशित हुने बढी अवसरको खोजीमा रहन्थे । त्यतिबेला छापिनु पनि ठूलै कुरा हुन्थ्यो । निजिस्तिरका रूपरेखा मासिक, रचना त्रैमासिक लगायत केही सीमित प्रकाशन थिए । अहिलेजस्तो अनेकौं दैनिक अखबार थिएनन् । त्यसमाथि गोरखापत्रका प्रकाशनमा छापिएपछि बीसदेखि चालीस पचास रुपियाँसम्म पारिश्रमिक समेत पाइन्थ्यो । यो रकम त्यो बेला ठूलै मानिन्थ्यो । केही नवोदित साहित्यकारहरू भने हामी कनिष्ठ सम्पादकसँग पनि मित्रवत् सम्बन्ध राख्न खोज्थे । तिनै केही मिलनसार साहित्यकारमध्ये पर्थे श्रीहरि फुयाँल, जससँगको सम्बन्ध आजसम्म नै मित्रवत् रहेको छ !
सधैंको हँसिलो अनुहार, मीठो मुस्कान सहितको नरम बोली, भनी नबिझाउने सरल स्वभाव, तर वैचारिक आस्थाप्रति इस्पातजस्तै ननुहिने कठोर स्वभावमा मैले श्रीहरि फुयाँल “सिरु” उमेरको स्वाभाविक परिर्तन बाहेक कहिल्यै कुनै परिवर्तन देखिन ।
“नेपाल प्रज्ञा प्रतिष्ठानमा पार्टीको भागबण्डामा राखेर साहित्यकारको नाममा प्राज्ञ बनाइएका छन्, तर उत्कृष्ट ढङ्गले साहित्यिक गतिविधि गर्ने, दर्जनौं पुस्तक प्रकाशन गर्ने चर्चित साहित्यिक प्रतिभाहरू ओझेलमा परेको” मा (जनमत, श्रीहरि फुयाँल विशेषङ्क २०७२) अरु धेरैकोजस्तै विगत चार दशकदेखि निरन्तर सृजनरत फुयाँलको पनि मन दुःख्नु स्वाभाविक हो । शक्तिकेन्द्रको वरिपरि धाएर र तिनैका सामु हात जोडेर मात्र पाइने हो भने त्यस्तो प्राज्ञको जागिरभन्दा स्वतन्त्र लेखन लाई नै सही प्राज्ञत्व ठान्नेमध्येका एक फुयाँलको स्वाभिमानलाई उल्लेख्य मान्नुपर्छ ।
वि.सं. २०१५ मा राजधानीनिकट नुवाकोटको अहिले ककनी गा.पा.–१ जलुकिनीमा जन्मेका श्रीहरि फुयाँलले लेखनको आफ्नो महायात्रा संभवतः २०२८ सालतिर नयाँयुग सािप्ताहिकमा प्रकाशित “किसान” शीर्षक कविताबाट प्रारम्भ गरे । त्यसपछि उनको यो सृजनयत्रा निरन्तर त्रिशूलीकै गतिमा अघि बढ्यो । २०३६ सालको सडक कविता क्रान्ति लगायतका साहित्यिक आन्दोलमा सक्रिय सहभागिता जनाउँदै कविता, खण्डकाव्य, महाकाव्य, कथा, उपन्यास र समालोचनाजस्ता साहित्यका विभिन्न भङ्गालाहरूमा उनका सृजनाहरू एकपछि अर्को थपिँदै गए । सङ्ख्यामा मात्र नभएर स्तर र वैचारिकतामा अरु खारिँदै गए, प्रगतिवादी केन्दीय चेतनामा स्पष्ट पहिचान निर्माण गर्दै गए । गद्य कविताका रूपमा मुक्तछन्दको बोलबाला भएको त्यो समयमा छन्दबाट पनि आधुनिक र वैचारिक साहित्य लेख्न सकिन्छ भन्ने पूर्ववर्ती अग्रज साहित्यकारहरूको काँधमा काँध थापेर त्यही अभियानको सशक्त अभियन्ता बन्दै गए । यसरी शास्त्रीय छन्दका सफल प्रयोक्तामध्येका प्रमुख सर्जकका रूपमा सुरक्षित छ उनको नाम । अझ नारावादी हुनुको आरोप खेपिरहेको प्रगतिशील साहित्यलाई रोमान्सेली क्रन्तिकारीताबाट जीवनपरक यथार्थवादी धारमा कलात्मक अवतरण गराउने मध्ये महत्वपूर्ण योगदान दिँदै आएका छन् फुयाँलले ।
म कुनै समालोचक होइन । मात्र पाठक हुँ । त्यसैले फुयाँलका सार्थक रचनाकृतिहरू बारेमा समालोचनात्मक धारणा प्रकट गर्ने क्षमता पनि राख्दिन । तर पाठकको दृष्टिले यतिसम्म निर्धक्क भन्न सक्छु– श्रीहरि फुयाँलको लेखनको विषय मान्छे हो । उनको लेखनको मूल प्रवृत्ति मानव नै हो । यस अर्थमा मान्छेकै समतामूलक विकास र उन्नति उनको लेखनको अभीष्ट हो । प्रमाणमा तलका दुई दृष्टान्त नै पर्याप्त होला–
द्यौता हैन मान्छे हुँ, मान्छेको गर्छु आदर
मान्छेकै डरले भाग्छु, मान्छेकै लाग्छ आदर !
(कृष्णप्रसाद पराजुली ः आस्थाका आयाम, २०४६)
म मान्दिन कुनै द्यौता अन्धो धर्म म मान्दिन
मान्छेलाई घृणा गर्ने ठग्ने शास्त्र म मान्दिन
सामन्ती क्रूर ती ठालु देख्ता मान्छु घृणा म ता
मान्छेको हकमा लड्ने जो छन् मान्दछु देवता !
(आँसुको सङ्ग्राम)
युवा वर्ष मोती पुरस्कार(२०५३), लेखनाथ काव्य पुरस्कार, युगान्तर साहित्यिक पुरस्कार, (२०६१) तन्नेरी प्रतिभा सम्मान (२०६१), लेखनाथ काव्य पुरस्कार (२०७०) लगायत विभिन्न विभिन्न प्रकारका सम्मान पुरस्कारद्वारा सम्मानित–पुरस्कृत मित्र श्रीहरि फुयाँलका दर्जनभन्दा बढी कृति प्रकाशित छन् । पहिलो कविता सङ्ग्रह “किसान (२०२९)” पछि लामो अन्तरालमा दोस्रो कवितासङ्ग्रह “अन्तरका सुसेली (२०५९)” प्रकाशनमा ल्याए । पहिलो कविता सङ्ग्रह पछि उनको साधना खण्डकाव्य, शोककाव्य र उपन्यासतर्फ आकृष्ट हुन पुग्यो । यस क्रममा उनका “आत्मज्वाला (२०३२”), “आमाको सम्झना (२०४७))” “अमर सहिद राजन रायमाझी (२०६१”) जस्ता काव्य र “भूल कि फूल (२०३) शीर्षक उपन्यास प्रकाशित भए । यही साधनाले उनलाई “आँसुको सङ्ग्राम (२०६३)” र “कर्मयोगी देवकोटा (२०६४)” जस्ता सफल महाकाव्य लेखनको सिद्धि प्रदान भयो । उनका “भावनाका भुल्का (२०७०” मुक्तक संग्रह र “मनका छाल (२०७०)” हाइकु सङ्ग्रह पनि प्रकाशित छन् । त्यति मात्र नभएर फुयाँल “नेपाली दुःखान्त गीतिकाव्यको विवेचना (२०५७)” “नुवाकोटेली साहित्यको इतिहास (२०६८)” र “कृष्णप्रसाद पराजुली ः आस्थाका आयाम (२०४६)” को प्रकाशन पश्चात सफल र प्रभावशाली स्रष्टा मात्र नभएर गम्भीर द्रष्टाका रुपमा समेत स्थापित भएका छन् । मित्र श्रीहरिबाट नेपाली वाङ्मयले अरु धेरै योगदान पाउने विश्वास सहित हार्दिक शुभकामना !