Friday, July 13, 2012



Your changes have been saved.

जयन्ती निबन्ध अङ्क वैशाख–जेठ २०६९ मा प्रकाशित ललित निबन्ध 

निर्बाध घुम्न चाहन्छ मन । क्रमबद्धता भत्काउँदै स्वतन्त्र ! अराजकता पनि हो सायद्, एक किसिमले यो बेरोकटोक उडने चाहना । अराजक नै भए पनि आखिर मनै नहो, चाहन्छ कहिलेकाहिँ निमग्न आकासिँदै निविड बादलभित्रको अगम संसारमा कावा खान ! मन हलुकोमा रुवाजस्तै हलुको र गह्रुँगोमा सिसाजस्तै गह्रुङ्गो पनि हुन्छ सायद । त्यसैले त कतै अरुको दुःखमा दुखी भएर दुःख निवारणमा आफूलाई पूरै समर्पण गर्न तत्पर केही रुवाजस्तै हलुका बुद्धका मनहरू देखिन्छन्, कतै अरुको दुःखमा सुखानुभूति पाउने सिसाजस्तै कठोर मनहरू ! हावाजस्तै हलुको होस् वा सिसाजस्तै गह्रुङ्गो– मन आखिर मनै हो । यो उड्न चाहन्छ, यसलाई उड्नबाट रोक्न पनि त सहज छैन ।  कुनै सीमाभित्र थुनिएर बस्न नचाहनु सबै मनको प्रकृति न हो । त्यसैले सीमा भत्काएर पनि त बुर्कुसी मार्न चाहन्छ मन कहिले काहीँ !   पर...धेरै पर क्षितिजपारि पहाडको कापबाट सूर्य अस्ताउँछ, र त्यही पर...क्षितिज निकटको पहाडी कापबाट बिस्तारै फेरि नवचन्द्रको उदय हुन्छ ! दिनको पहुँलो सुनजस्तो उज्यालो सूर्यप्रकाशको ठाउँमा रातको पूर्णचन्द्र चिहाउँदा दूधिलो शीतल  जुनेली उज्यालोमा नुहाएर धरतीका कुनाकुना मुस्कुराउँदछ । सूर्य र चन्द्र धरतीका दुई आँखा हुन्, जसको नानीमा सौन्दर्य निखारिन्छ; सभ्यता मुस्कुराउँदछ र नवसिर्जनाको सृष्टिगीत गुञ्जन्छ ! तिनै धरतीका दुई आँखा निहारेरै त सायद मेरा प्रथम विश्वकविले कविताको पहिलो स्वर गुन्जाएथे यस धरतीमा– तमसोमा ज्योतिर्गमय ! धरतीको यही कुनामा प्रस्फुटित त्यो कविताजस्तै मेरो सम्पूर्ण जीवनयात्रा पनि त अँध्यारोमा उज्यालो अर्थात् ज्योतिको खोजी नै न हो !उज्यालोको आकाङ्क्षा नराख्ने को होला ? सबैमा हुन्छ उज्यालो पािउने आकाङ्क्षा । उज्यालो पाउनु अगिअँध्यारोको हिसाबकिताव राख्ने कुरामा भने कसैको वास्ता हुँदैन सायद ! तर अँध्यारोको हिसाबकिताब बिना उज्यालोको खोजी कसरी सम्भव होला र ? यस अर्थमा उज्यालो खोज्नेले अँध्यारको हिसाबकिताब राख्नै पर्ने होइन र । कसले राख्ने अँध्यारोको हिसाब ? तस्कर, भ्रष्ट र पेशेवर राजनीतिकर्मीसँगै हातेमालो गरेर अगि बढिरहेको मेरो वर्तमानमा अँध्यारोकै वर्चस्व छ, यसर्थ के अर्थ अँध्यारोको हिसाबकिताब राख्नु नराख्नुको ? प्रश्न यस कोणबाट पनि उठाउन सकिन्छ होला । शक्ति धनको पर्दाभित्र लुकेकोछ, अनि सत्ता त्यही शक्तिबाट प्राप्त हुन्छ । जनता त निश्चित समयमा पूजा गरेर मन्छाउने दोबाटोको भूत नहो ! अथवा खोपाको देवता न हो मान्छे ? भूत, जो आफैंमा अदृश्य विगत हो, देवता जो आफैं शिला हो । तिनलाई खोपामा राख वा मन्दिरमा, पूजा गर वा तिरस्कार के नै पो फरक पर्छ र ? न तिनम संवेदना हुन्छ, न सद्चेतना ! फरक त तिनै ठूला भवन, ठूलो आम्दानी र सत्ताको साँचो मुठीमा बन्द राखी गजधम्म बसेका तस्कर, भ्रष्ट र राजनीतिका व्यापारीलाई पर्छ । जो बिना शासनको वास्तविक बागडोर लगाममा खिचिन सक्दैन । त्यसैले फरक तिनै परोक्ष शक्तिकेन्द्र र विदेशी महाप्रभुसँग लगनगाँठो नकस्दा पर्छ सायद, जससँगको लगनगाँठो बेगर आजको सत्ता मुठीमा आउँदैन ....। चारैतिर आँखा ठोक्किने गगनचुम्वी आधुनिक दरबारहरूका ती सत्तानियन्त्रक ! उ... होर्नोस् त तिनैका त हुन् नि ती आलिसान दरबारहरू । त्यो तस्करको, त्यो भ्रष्ट हाकिमको र ऊ त्यो पेसेवर राजनीतिकर्मीको । सनातन सत्तासूत्र यिनै त हुन, जसको गठबन्धनमा पिल्सिँदैछ आजको मेरो मूल्य, मान्यता, चरित्र र आस्था ! यी हर कालखण्डमा सत्तासँगै लगनगाँठो बाधेर शक्तिसाली बन्छन्, सत्ताकै गठबन्धनमा कस्एिको हून्छ, पेसेवार राजनीतिकर्मीको इमान । कमाउनु यिनको धन्दा बन्छ । त्यसैले यिनलाई चिढ्याएर उज्यालोभन्दा अगाडिको अँध्यारोको हिसाब गर्ने हिम्मत हतपती जुटाउन नसकेका हौंंला हामीले ! तर समयमाथि विश्वास गर्नुपर्छ, समयले नै जुटाउने छ त्यो हिम्मत ! ढिलोचाँडो समयले खोज्नेछ यो अँध्यारोको हिसाबकिताब ! आशा गरौ, आशा नै त जीवन हो । भावी जीवनयात्राको पाथेय ! जाति, धर्म र सम्प्रदायले सल्काएको घृणाको दावानलमा मेरो सिंगो देश पिल्सिँदै छ आज । संविधानसभा मात्र होइन, मेरो देशकको पूरै अनुहार झुल्सिन थालेको छ आज आगोको त्यो रापबाट । आफैंलाई अरुभन्दा महान् ठान्ने माक्र्सवादी–माओवादी नेताहरू जब माक्र्सवादी दर्शनको कन्था घोक्दै जाति, भाषा र साम्प्रदायिताको आगोमा विभाजनको चारु होम्छन्, तब लाग्छ– सिद्धान्त र दर्शनभन्दा ठूलो मत रहेछ, सत्तासुन्दरीको मादक स्पर्श गराउने मत !  नभए समाजवादी वर्र्गविज्ञानको चुरो किन ठान्थे यी आफूलाई नेता ठान्नेहरू सिद्धान्त र दर्शन सबैलाई रक्तरन्जित तुल्याएर ? यही घाइते दर्शनको विभीषिकाद्वारा डसिनु नै नियति हो त मेरो वर्तमानको ? किन सर्पदंशको यो पीडा सहन अभिशप्त छौं हामी वर्तमानमा ? दर्शनका सबै सम्यक आयाम यसरी निस्तेज हुँदै जानुको स्थिति चिन्तनीय त छ नै, विभीषिकापूण पनि बनिरहेकोछ मेरालागि ! ओहो...कति पीडादायी वर्तमान, यन्त्रणापूर्ण समय ! शताब्दीयौंदेखि धर्म, रंग, मान्यता र अहम्मन्यतामा विभक्त मानवताले के कहिल्यै सही र गलतको निक्र्योल गर्नसक्ला ? आशा गरौं, सक्ला । आशा नै जीवन हो, र जीवन नै आशाको मूल !  बहिरबाट आउँदैन जीवनमूल्य, आफैंभित्र विकसित हुने कुरा हो यो । युगचेतनाले आत्मपहिचान गराउँदछ, आत्मपहिचानले सबैलाई साथै लिएर अगिबढ्ने क्षमताको विकास गराउँदछ ! तर किन बिर्सिँदै छु म आज सहनौ भुनक्तुको यो मेरो आर्ष वचन ? यो वा उको बहानामा किन म आज एक्लै हिँड्ने उपक्रममा छु ? सानो समूह वा गुटलाई सम्पूर्णता ठान्ने मानसिकता कताबाट आयो ममा ? मेरो दिमागमा घरिघरि प्रश्नले घन ठोक्छ, र जवाफ कतैबाट आउँदैन । सायद आजको मेरो यो त्रासदीको मूलमा पनि यही विश्वासको सङ्कट पहरो बनेर ठडिएको छ, र त्यही विश्वासप्रतिको अनास्थाले नै म गाँसिनुमा नभएर टुक्रिनुमा आनन्दप्राप्तिको भ्रम हुर्काइरहेछु । लाग्छ, विश्वासको सङ्कट आजको मेरो युगीन यथार्थ हो । र, यसकै जगमा म आफैंप्रति अविश्वासको अग्लो पर्खाल खडा गर्दछु, आफैंप्रतिको संदिग्धता हुर्काउँदै हुन्छु । अविश्वस्त छु आफैँप्रति ! यही विश्वासको संकट र सन्दिग्धताकै कारण आस्था आस्था रहेन, व्यापार बन्यो; सबै अर्थ गुमाएर सिद्धान्त मात्र मुखौटो रह्यो ! हुन त, संशय सत्य अन्वेषणको सोपान पनि हो । प्रश्न त्यतिबेला जन्मन्छ, जब मनमा संंशय रहन्छ । संशयले नवीन सोचको आविष्कार गर्दछ । विचरशून्यता जीवित मृत्यु हो, जसमा जीवनको स्पन्दन हुँदैन । चिन्तन र सत्यका बीच अनेकौं भावबोधका तरङ् उठ्नेगर्छन् । तर त्यो संशयको के भूमिका जसले सत्य अन्वेषण गर्नुको साटो सत्यलाई नै लुकाउने प्रयत्न गर्दछ, मानवतालाई शासक–शोषित, धनी–गरिब र हुँदाखाँदा र हुँदा खानेकाबीच नभएर जाति–भाषाको आधारमा विभाजनको विषवृक्ष रोप्दछ !   यही गलत जीवनमूल्यप्रतिको मोहले आधुनिकताको नाउँमा विकृति बिस्तार गरिरहेकोछ । त्यही आधुकिताको भ्रमित आकर्षणमा सम्मोहित छन् अत्याधुनिक भनाउने आजका कथित शिक्षित सहरी नारीहरू ! आज आफूलाई अरुभन्दा सभ्य र आधुनिक देखाउने अस्वस्थकर मानसिकताको होडमा त्यही भ्रमको अस्वस्थ घुम्टो ओढ्दै आजभन्दा भेलि अनावृत्त बन्दैछन् यिनीहरू । तामझामपूर्वक सौन्दर्य प्रतियोगितामा नाचिने कठपुतली नाच र टपलेस तथा विकनी व्युटीका नाउँमा शरीर–सौन्दर्यको हाटबजारमा लामबद्ध बन्नेहरूको बढ्दो भीड लाग्दोछ वर्तमानमा । त्यसैमा गौरवबोध गर्न थालेका छन् आजका यी सभ्य नारी बहुराष्ट्रिय कम्पनीले नचाउने कठपुली नाचमा रमाउँदै ! सर्वाधिक महँगा उपभोग्य बस्तुका रूपमा लामबद्ध बन्नुमा गौरव गर्न थालेका छन् यी आज । पहिले नै लेडिज रुम र ग्रिन रुम नामधारी अँध्यारा कोठामा शरीर नापजाँच गरेर प्रतियोगिताको परिणाम अग्रिम निर्धारण गरिने यी कथित सौन्दर्य प्रतियोगिताको नाटक आफैंमा एउटा भ्रम भएको पनि चेत छैन यिनलाई । त्यही प्रतियोगिताका नाउँमा वृद्धखेखि बालकसम्मालाई नङ्ग्याउने होडमा तिनै आर्थिक साम्रज्यवादका अभियन्ताले सफलता पाइरहेका छन् । सोध्न मनलाग्छ –नारी हुन कि पुरुषको टेबिलमा पस्किएका स्वादिष्ट व्यञ्जन यी आफूलाई सबैभन्दा शिक्षित, सभ्य र सक्षम ठान्ने अधुना कठपुतलीहरू ? व्यञ्जन त पस्किनैका लागि हो, चाख्नैका लागि हो ! आफैंलाई आधुनिकताको नाउँमा व्यञ्जन बनाउँदै पस्काउन आतुर यी अनावृत्त सौन्दर्यपूजक अधुनातन निर्वाङ्ग सुन्दरीहरूले वास्तवमैं स्तन्त्रताको अर्थबोध गरेका छन् त ? स्वतन्त्रता र स्वच्छन्दताबीच के कुनै सीमारेखो कोर्नुपर्दैन ? अनि छोरीभन्दा आमा तरुनीको तरजमा मस्किने अधुना आमाहरूबाट के सिक्ने आजका पुस्ताले सही सौन्दर्यको अर्थ, सही नारी स्वतन्त्रताको अर्थ ? यही हो त सभ्यताको अर्थ ? यही हो सुसंस्कृत हुनुको स्वरूप ? संस्कृतिको अभिप्राय कला–सङ्गीत, नृत्य–नाटकजस्ता कुरामा मात्र सीमत नरहेर एटा सम्पूर्ण जीवन शैली हुनु पर्ने होइन र ? आंशिक रूपमा संस्कृतिको अभिप्राय परिष्कारको एउटा प्रक्रिया हुनुपर्ने हो । यस अर्थमा संस्कृति एउटा शक्ति मानिनु पर्ने हो । हामी आज त्यही संस्कृतिको शक्तिलाई चिन्न नसकेर अरुको सिकोमा अनावृत हुँदै आधुकि बनेको भ्रम हुर्काउँदै छौं । एक्काइसौं शताब्दीको सभ्यता र आधुनिकताको नाउँमा आफैंलाई हाटबजारमा लीलामी लाममा उभ्याउँदैछौं, नग्नशरीर सौन्दर्यको अधुनातन उपभोग्यबस्तुका रूपमा । यो त्रासदी पनि त आजको मेरै त्रासदी न हो ! आधुनिक सभ्यताका नाउँमा जसरी उपभोक्तवादी संस्कृति आजको मेरो जीवनशैली बनिरहेकोछ । थाहा छ, यसले ढिलो चाँडो समदर्शिता, सहिष्णुता, कृतज्ञताभाव र भानात्मक लगावजस्ता कोमल तन्तुका मूल्यवान धरोहरलाई समूल उखेल्दैछ, भत्काउँदैछ । के यही विडम्बनापूर्ण वेताल बोझ बोक्दै विक्रमादित्यको नियतिमा अनुवाद भएर यता यता भड्किइरहेछु छु त म ?   रातको सन्नाटामा सुन्दर सपना बुन्दै हुन्छु म जतिबेला मेरै संसारको यथार्थ भोग्दै दुबै हातले खाली पेट थिचेर कोल्टे फेर्दै हुन्छ मेरै एउटा अंश । तर म आशावादी छु, मनुष्यतालाई चुनौती दिने कुनै अर्को शक्ति छैन । मानिस निरन्तर चुननौती बेहोरेरै सभ्यताको इतिहासमा अगि बढिरहेकोछ । हावा, पानी र विकट प्रकृतिसँग जुध्दै यहाँसम्म आइपुगेको आजको म मान्छे जसरी अनेकौं चुनौतीसँग जुध्दै एकपछि अर्को आविष्कार गर्न सफल बन्यो, त्यसरी नै सफल बन्नेछ एकदिन यी मनुष्यतालाई चुनौती दिनेहरूसँग जुध्न !  जति नै उथलपुथल अर्थात्् प्रलयपछि पनि संसारले नयाँनयाँ रूपमा जीवन जन्माउँछ, सभ्यताले नयाँ गोरेटो खन्दै जान्छ ! जसरी प्रत्येक विहानीले आफ्नो प्रथम सूर्यकिरणसँगै जीवनको नयाँ अध्याय शुरु हुन्छ र निरन्तर गतिवान यो यात्रा नै त वास्तवमा जीवन हो–गतिशील जीवन ! उपभोक्तावादी आँखामा जीवन यो नहोला । तिनका आँखामा जीवनको अर्थ खानुपिउनु र मोेज गर्नुमा साँघुरिन्छ सायद्, जसरी उनीहरूको विस्तार पनि आफैंमा सीमित सेरोफेरोभित्र सकिन्छ, त्यो भन्दा अगि बढ्दैन सायद ! के त्यही नै हो त जीवन ?  अहँ, होइन...पक्कै होइन ...!विकल प्रतिष्ठान, आरुबारी,२०६८ चैत २६ ।

Sunday, July 8, 2012

ओह्...नेपारु ! (मिर्मिरे मासिकको संस्मरण अङ्क वैशाख–जेठ २०६९ मा प्रकाशित) - विजय चालिसे


“ओह्...नेपारु !” साँझपख संयोगले आइपुगिएको एउटा मन्दिरमा भेटिएकी जापानी युवतीको त्यो आश्चर्यमिश्रित अभिव्यक्तिले मलाई सुखद् आश्चर्यमा पारेको थियो । धेरै जापानीहरूका लागि अपरिचित मेरो देश नेपाल, कमसेकम यो केटीका लागि त अपरिचित रहेन छ ! होस्, यो प्रसङ्ग केहीबेर पछिकालागि थाती राखौं । यतिबेला, हामी टोकियोको सुगिनामी–कु भनिने एउटा महानगरभित्रको सहरमा थियौं, एउटा उपनगरमा । काठमाडौंदेखिको लामो पट्यारलाग्दो लगभग दुई दिने यात्रा र त्यस यात्राको थकान मेटिएको थिएन । थकानले नै होला जापान पुगेको भोलिपल्टको पहिलो बिहानी साढे सात बजेसम्मै ओछ्यान मैं थियौं हामी । हुन त त्यताको जीवन शैली नै थियो, राति अबेरसम्म घरबाहिरको रमाइलो भोग्नु र विहान अबेर मात्र उठ्नु ! तर हामी भने त्यो जीवनशैलीबाट अलग थियौं । त्यसमाथि हिजो  नारिताबाट घर आइपुग्दैमा रातको नौ बजिसकेको थियो । खाना खाएर साली गायत्री र छोरी आयुमी घर फर्केपछि बल्ल सुत्ने तर्खरमा लागेका थियौं । त्यसैले रात छिप्पेपछि मात्रै पल्टेका थियौं ओछ्यानमा । लगभग दुई दिन लामो उडान र ट्रान्जिट कुराइको थकान पछि आरामदायी शयनमा प्राप्त निद्राको आनन्द, मजैले निद्रा लाग्नु अस्वाभाविक थिएन ।   आजको दिन थकाइ मार्ने भन्ने भएपछि आलोक अफिस जाने भयो । नित्यकर्म सकेर लक्ष्मी र म चाहिँ चिया नास्तापछि नजिकैको पार्कतिर निस्क्यिौ घुमघाम गर्न, प्रातःभ्रमणमा । मेरा लागि एकदमैं नौलो थियो यो सुगिनामी–कु । बीस वर्षअगाडिको मेरो पहिलो जापान भ्रमणमा परिचित हुन पाएको थिइन म यो सुगिनामी–कुसँग । यही सुगिनामी–कुमा थियो छोरो आलोकको घर । मेरी श्रीमती लक्ष्मीका लागि भने यो अपरिचित थिएन । लक्ष्मी तीन वर्षअघिमात्रै उसकी माहिली बहिनी गायत्रीको निम्तामा जापान पुगेकी थिई । त्यतिबेला ऊ यहीँ बसेकी थिई केही दिन छोरो आलोकसँग । त्यही कारण अहिले लक्ष्मीकै अगुवाइमा घर नजिकैको पार्कतिर लागेको थिएँ म । टोकियोका अरु पार्कभन्दा सानो हो रे यो पार्क । मेरा लागि भने निकै ठूलो र आकर्षक थियो यो । आहा...मेरो काठमाडौंसँग पनि यस्तै यस्तै पार्कहरू भैदिए ...! सहरबीच यस्तै सुन्दर हरियाली, सङ्लो पानी बगिरहेको सहरबीचको खोलो, रंगीविरंगी फूलका बगैँचाहरू, केटाकेटी खेल्ने आकर्षक ठाउँ, शौचालयदेखि सार्वजनिक स्नानकक्षसम्मको व्यवस्था ! आहा यस्तै भइदिए...। म दिउँसै सपना देख्दैथिएँ त्यतिबेला त्यो पार्क देखेर ..! पानीको धारामा समेत सङ्लो सफा पानी देख्न नपाउने मजस्ताको त्यो दिउँसै देखेको सपना साकार हुने कुनै संभावना थिएन सायद् । त्यसैले त्यही कल्पनामा मात्रै भएपनि हराएको थिएँ त्यतिबेला म । हरे, मेरो काठमाडौं, मेरो राजधानी...! पुराना ठूलाठूला चौरसमेत सबै मासेर कङ्गाल बनिरहेको काडमाडौंको टिठलाग्दो मलिन अनुहार आँखामा त्यतिबेला झल्झली आइरहेको थियो । उपत्यकाको सभ्यता हुर्काउने वागमती–विष्णुमती सबै नै ढल बनाएर गौरव मान्ने नेपालको म कथित सभ्य सहरी नागरिककालागि मध्यसहरभित्र बगाइएको त्यो पार्क र पार्कको बीचमा प्रवाहित सफा पानीको खोलोले धिक्कारिरहे जस्तै लागेको थियो मलाई त्यतिबेला ! मनभरि प्रश्न थिए, कसरी जोगाएका होलान, जापानीहरूले टोकियो महानगरकै एउटा नगरबीच बगिरहेको यो सफा खोलोलाई ? मेरो आश्चर्य स्वाभाविक थियो । अहा ! कति सफा पानी । त्यही पानीमा पौडिइरहेका कति सुन्दर रंगबिरंगी माछा, सेता हाँस र बकुलाहरू ! पार्क कतै खाली थिएन, सबै उमेरका मानिसहरू प्रातः भ्रमणको आनन्दमा निमग्न थिए । कतै खोला किनारका फलफूल र हरियालीले भरिपूर्ण पार्कको बीचमा पिङ, झुला र अरु बालमनोरन्जनका सुविधामा रमाइरहेका निर्दोष बालबालिकाहरूको सुन्दर स्वप्नसंसार देखिन्थ्यो ! कतै पार्कको बेन्चीमा आलिङ्गनबद्ध पे्रमीजोडी आ–आफ्ना भविष्यको सुन्दर स्वप्नसंसारमा हराइरहेका देखिन्थे । अनि कतै बृद्ध–बृद्धा र केटाकेटीलाई समूहमा डुलाउन ल्याउने युवायुवतीहरूको झुन्ड देखिन्थ्यो । र, कतै कुकुर डुलाउन आएका तरुना केटा र केटीहरूको हुल ! निकै व्यस्त । आफन्तबाट एक्लिएर वाद्र्धक्यको बोझले थिचिएकाहरूको पीडा साटासाट गरेझैं बात मारिरहेका वृद्धहरूको अर्को टिठलाग्दो जमात । मनमनै लाग्दैथियो, आहा...कतिको सुखदुःखको साक्ष्य रहेछ यो ! साँच्चि नै आकर्षक थियो यो पार्क मेरा लागि, मनै प्रफुल्ल तुल्याइदिने ।   टोकियो सुगिनामी वार्डको ओमिया नगरमा रहेको आलोकको घरैमुनि रहेछ यो मेट्रोपोलिटन वोदाबरी पार्क अर्थात् जापानी भाषाको कोएन । सुन्दरमात्र होइन, स्थानीय बासिन्दको प्रातः तथा सायम्कालीन भ्रमणका कारण अति नै व्यस्त देखिन्थ्यो यो । सुगिनामी बसुन्जेल हाम्रो पनि बिहान बेलुकाको समय बिताउने सुन्दर थलो बनेको थियो यही वोदावरी पार्क । निकै ठूलो भू–भाग समेटेको थियो यसले । जेम्पुकुजिगाना खोलोको किनारैकिनार पस्रिएको यो पार्कले अर्को हरियालीपूर्ण जेम्पुकुजी पार्कयताको ओमियालाई पनि छोएको थियो । त्यता हाचिमानागु मन्दिरलाई स्पर्श गर्दै पस्रिएको थियो यो । साँझ–विहानको जगिङ गर्नेहरू, विहानभर साना शिशुहरूको देखभाल गर्ने किन्डरगार्डेनका आयाहरूको रेखदेखमा पिङ र झुला खेल्दै रमाइरहेका सानासाना नानीहरू ! यी सबैले अरु आकर्षण थपेका थिए पार्कको । पार्कमा चिप्लेटी, पिङ, झुला के मात्र थिएन केटाकेटीका लागि आकर्षक खेलका साधन ? सबै सुविधा उपलब्ध थिए– बस्नका लागि व्यवस्थित बेन्च, खानका लागि सफा पानीको सार्वजनिक धारा र अन्य सुविधाकासाथै शौचनिवृत्तिकालागि सुविधासम्पन्न शौचालय । त्यो देख्दा लाग्थ्यो, तव न सभ्यताको गौरवमा शिर ठाडो पार्नसक्छ जापान ! कहिले आउला हामीले पनि त्यसरी नै गौरव गर्न सक्ने दिन ? हर कुरामा पौरखद्वारा प्रकृतिलाई चुनौती दिन सफल जापानीहरूको यस्तै पौरख र उन्नत सोचको परिणाम पो रहेछ त यो खोलो । पछि यो थाहा पाएपछि मनमनै चकित र नतमस्तक बनेको थिएँ म जापानीहरूको यो क्षमता र सोचप्रति । घरघरबाट नुहाएर, लुगाधोएर ढलमा फालिएको पानीजम्मा गरेपछि राम्ररी प्रशोध गरेर मिसाइएको पो रहेछ त यो खोलामा । त्यसैले खान भने हुँदो रहेनछ यो पानी । जलचरकालागि भने हानिकारक छैन रे । ओहो...सुनेर छक्कै परेको थिएँ । खहरेजस्तै खोलोमा खेर जाने पानी मिसाएर कसरी कलकल बगाएका होलान यी जापानीले ! कति सुन्दर प्रयोग, उपयोग गरेर खेर गएको घरघरको पानी जम्मा गरेर कृत्रिम खोलाको निर्माण गर्ने कति राम्रो तरिका ! केही पर... खोलाको छेउमैें थियो एउटा गहिरो पोखरी । बाक्ला रुखहरूको बीचमा थुपुक्क बसेको त्यो पोखरी निकै सुन्दर देखिन्थ्यो । पोखरीमा ठूलासाना रङ्गीविरङ्गी माछाहरू नाचिरहेका थिए ।  अनि तिनै सुन्दर माछा र तिनको स्वतन्त्र बहावको अवलोकन गर्न तल्लीन थियो किनाराभरि दर्शकको बाक्लो भीड ! थरिथरीका चराचुरुङ्गीको कलरवले सिङ्गो जङ्गल सङ्गीतमय बनिरहेको थियो । ती चराहरूको अध्ययन–अवलोकन गर्ने शोधार्थी र विद्यार्थीहरूको भीड पनि त्यहाँ त्यति नै बाक्लो थियो । भिडियोफिल्म खिच्नेहरू त्यत्तिकै सक्रिय थिए । त्यसैले आफैंमा एउटा अर्को आकर्षण थियो वोदाबरी पार्कको त्यो पोखरी । प्रकृतिप्रेमी जापानी र चराअध्येता विद्यार्थीका साथै सोखिनहरूका लागि स्वर्ग नै लाग्थ्यो त्यो ठाउँ । पार्कको त्यो पोखरी खण्डसँगैको चरा अवलोकन क्षेत्रमा जापानकै सर्वाधिक दुर्लभ चराचुरुङ्गीहरू देखिन्छन् रे । यसैले त चराप्रेमी र तिनको विशेष अध्ययन गर्ने विद्यार्थी र शोधार्थीहरूका लागि अत्यन्त आकर्षणको क्षेत्र बनेको रहेछ यो । त्यसैले पार्कमा आउनेहरूमध्ये नियमित आगन्तुक बाहेकका धेरैजसो यहाँ देखिने दुर्लभ चराहरूको अध्यन गर्न कै लागि आउँदा रहेछन् । यसरी जेनपुकुजी खोलो, वोदाबरी ताल, हरियो घना जङ्गल र सुन्दर फूल, माछा र चराचुरुङ्गीको कलरव अनि तिनैका मुक्त उडानले अत्यन्त आकर्षक बनाएका थिए पार्कलाई । स्थानीय मानिस विशेषगरी टाढा जान नसक्ने केटाकेटी र बुढाबूढीकालागि त समय बिताउने ठाउँ नै यही थियो । हलुका घुमफिर र मनोरन्जनका लागि झनै रुचिकर थियो यो बगैँचा । सुगिनामी बसुन्जेल हाम्रालागि पनि प्रातःभ्रमणको थलो बनेको थियो यो ।जापानी इतिहासको इडोकालमापनि यसको नाम “सुगिनामी” नै थियो रे । सुरुमा भने अलि लामो रहेछ– सुगिनामकी । सुगिनामकी, अर्थात् देवदारु र धुपीका तरुपङ्क्ति ! त्यतिबेला कुनै जमिन्दारको स्वामित्वमा रहेछ यो आजको सुगिनामी क्षेत्र । उनैले आफ्नो जग्गाको सीमानामा छुट्याउन वरिपरि देवदारु र धुपीका रूखहरू रोप्न लगाएछन् । तिनै धुपी र देवदारुका तरुपङ्क्तिबाट प्रचलित भएको रहेछ यो नाउँ ! अहिलेको यो सुगिनामी वार्ड चाहिँ सन् १९४७ मा स्थापना भएको रहेछ । महानगरीय टोकियोको आवासीय सहरका रूपमा परिचित सुगिनामी–कु नाउँको यो सानो इलाकामा मात्रै अहिले लगभग सवा पाँच लाख जापानी र ११ हजार जति विदेशीहरू बस्छन् रे । इडो कालको सुरुदेखि नै अस्तित्वमा रहेको यो सुगिनामी, टोकियोका २३ वटा विशेष वडामध्ये पश्चिमी भेगमा रहेको एउटा शान्त र सुन्दर बस्तीयुक्त वडा थियो । यसको पूर्वतर्फ अर्को प्रसिद्ध सहर थियो– सिबुया । दक्षिण तर्फ थियो, सेतागाया । अनि सुगिनामीको पश्चिम तर्फ मिताका नगर थियो । कान्दा नदी यही सुगिनामी भएर बग्दथ्योे । सुगिनामीे पश्चिमको जेन्पुकुजी पार्क र त्यही पार्कभएर बग्ने जेन्पुकुजी तथा मियोसोजी खोलाले यसको प्राकृतिक छटामा विशेष आकर्षण थपेका थिए । अनि यस वार्डका ज्यान थिए– कन्सर्ट हल, जापान फिल्हार्मोनिक अर्केस्ट्रा, सुगिनामी एनिमेसन म्युजियम, सुगिनामी हिस्टोरिकल म्युजियम, साइन्स म्युजियम, मायोस्योजी मन्दिर, मायोस्योजी पार्क र खोलो, जेन्पुकु टेम्पल पार्क र त्यहाँ अवस्थित टोकियो महिला क्रिस्चियन विश्वविद्यालय अनि ओमिया हाचिमानागु मन्दिर । अरु पनि धेरै थिए दर्शनीय ठाउँहरू !वोदाबरी पार्कको छेवैमा थियो सन् १९९८ मा निर्मित हिस्टोरिकल म्युुजियम । सानो भएर पनि अत्यन्त महत्वपूर्ण लाग्थे यहाँ सङ्ग्रहित सुगिनामीका प्राग्ऐतिहासिक र पछिल्लो कालखण्ड चिनाउने प्राचिन ऐतिहासिक बस्तुहरू । ती मूलतः यही सुगिनामी नगरको प्राचिन संस्कृति र सभ्यतासँग सम्बन्धित थिए । सुगिनामीको अर्को दर्शनीयस्थल थियो मायोस्योजी मन्दिर ! सन् १३२५ बनेको मूल स्वरूपमा भने थिएन यो । अहिले देखिने यो मन्दिरको पुनःनिर्माण १६४६ मा गरिएको रहेछ । मन्दिर नजिकै बगेको खोलोको किनारामैं थियो मोस्योजी पार्क ! यस्तै अरु पनि नौवटा ठूलासाना पार्क छन् रे यो सुगिनामी उपनगरभित्र । त्यसैले त गौरव गर्छ यो आप्mनो नागर सभ्यतामाथि ! सिंगो टोकियोको तुलनमा त्यति ठूलो थिएन यो वडा  तर यति सानो वडामैं यति धेरै सुन्दर पार्क ! आम्मा...मा...! साँच्चिकै लोभलाग्दो थियो यो पर्यावरणीय व्यवस्था । पैतीस चालीस लाखभन्दा बढी जनसङ्ख्याको बोझ बोकिरहेको मेरो काठमाडौंले आफ्नो नगरकेन्द्रमा एउटै गतिलो पार्क देख्न पाएको छैन । नत निकट भविष्यमा देख्न पाउने सम्भावना नै छ । त्यो सम्झँदा शिर झुकेको थियो मेरो लज्जाले । कति लज्जित र बाउन्ने छु म सुगिनामीको यो वैभवका अगाडि ! यो सानो ठाउँमा ८ वटाभन्दा बढी कलात्मक मन्दिर र आधा दर्जन भन्दा बढी संग्रहालय अनि त्यत्तिकै सङ्ख्यामा सांस्कृतिक केन्द्रहरूको उपस्थिति ! यिनले पनि जापानी सभ्यताको मौन वकालत गरिरहेका थिए । हुन त माल पाएर चाल नपाएकोले मात्र त हो, नत्र के नै पो कमी थियो र हामीसँग पनि ? भएका सभ्यताका मुहान नदीहरूलाई ढलमा परिणत ग¥यौं, पार्कलाई सेना र राजनीतिक दलका गतिविधिको भागबन्डामा चौटालाम्टा बनायौं । सहरलाई फोरहका थुप्रा र बस्तीका नाउँमा गन्दा बस्तीको विकासलाई नै उन्नति ठान्यौं । अनि यसैमा मख्ख छौं हामी, २१ शताब्दीका कथित सभ्य काठमाडौंका सुसंस्कृत नागरिकहरू ! फर्केर फेरि चिया, खानापछि केही बेर आराम गर्दागर्दै चार बजिहाल्यो । बाहिर हलुका पानी परिरहेको थियो पानीकै कारण बाहिर निकै चिसो थियो । तर पनि घुम्नै आएका हामी पानी र चिसोका कारण कोठैमा थुनिएर बस्न सक्दैनथ्यौं । त्यसैले अपराह्न केहीबेर घुम्ने उद्देश्यलिएर निस्कियौं हामी दुई जना अर्थात् लक्ष्मी र म । बाक्लो ज्याकेट, टाउको छोप्ने टोपी, हातमा लामो बिँड भएको ठूलो छाता– साँच्चिकै यात्रु थियौं हामी त्यतिखेर । घरबाट मुख्यसडक निस्कियौं हामी । घर फर्कन सजिलो होस् भनेर संकेतहरू गौर गर्दै थिएँ म । तर सडक चिह्न, घरका साइनबोर्ड, कुनै पनि सङ्केत पाटी बुझिने भाषामा थिएन । कतै देखिँदैनथ्यो मैले बुझ्ने भाषा । सबैतिर जापानी भाषामा लेखिएका सूचनापाटी र नामपाटी । अङ्ग्रेजीका साइनबोर्ड खोज्नु त कालो बादलले ढाकेको आकाशमा तारा खोज्नुजस्तै थियो । जेजति देखिन्थे, सबै जापानी खान्जी भाषामा लेखिएका नाम र सूचनाहरू ! अङ्ग्रेजीमा गरिएका प्रश्न बुझेर जवाफ दिने मानिस समेत हतपत्ति फेला पर्दैनथे । त्यतिबेला भाषाविहीन आदिमयुगको कुनै कालखण्डमा पुगेजस्तै अनुभव गर्दोथिएँ म ! बाहिरको मूल सडक भेटिनेभेटिने बेलामा अङ्ग्रेजीमा लेखिएको एउटा सङ्केतपाटी देखियो बल्लबल्ल । “पोस्ट अफिस” लेखिएको त्यो नामपट् मेरलागि ठूलै खोजी बनेकोथियो त्यतिबेला । मूल सडककै मुखमा थियो त्यो पोस्ट अफिस लेखिएको हुलाक घर । अनि मूल सडकको पारिपटि केहीपर अर्को पनि अङ्ग्रेजीमा लेखिएको सङ्केत पाटी देखियो– फेमिली मार्ट ! यिनै दुई अङ्ग्रेजी सङ्केतपाटीलाई घर फर्कँदा बाटो पहिल्याउने चिनो बनाएर अघि बढ्यौं हामी । अरु भने जता हे¥यो सबै उस्तै । कसरी पत्ता लाउनु जाने ठाउँ र पस्ने मोड ! हामीले यही अलमलमा दश मिनेटजति वायाँ हिँडेपछि सडक पार गर्ने आँट गरेनौं, वायाँतिरै मोडिएको सडकपेटी नछाडिकनै अघि बढ्यौं । मोड पार गरेर उता जाँदा अलमलिएर बाटो भभुलियोभने ? फर्कने बाटो अलमलिएर अन्तै पुगिए के गर्ने ! त्यही डरले आज पहिलो दिन नै यता उता गर्ने आँट गर्न सकेका थिएनौं । आएको सडकपेटी नछाडी जाँदा फर्कन त्यति समस्या हुँदैनथ्यो । त्यसरी अघि बढ्दाबढ्दै केहीबेर हिँडेपछि एउटा कलात्मक प्रवेशद्वार देखियो, अर्को मोडमा । त्यस द्वारले हाम्रो ध्यान खिच्नु स्वाभाविक थियो । समय धेरै थिएन, सिमसिम पानी र घना बादलका कारण अँध्यारो गाढा हुँदै थियो । हाम्रा जिज्ञासु आँखा भने त्यो प्रवेशद्वारभित्र हामीले  अनुमान गरेको मन्दिर वा कुनै दर्शनीय स्मारक नहेरी फर्कन मानिरहेका थिएनन् । आतुर थिए हाम्रा आँखा र मन दुवै ती हेर्नका लागि । त्यसैले अँध्यारो हुनलागे पनि हामी अघि बढ्यौं त्यही प्रवेशद्वार हुँदै । तीन–चार मिनेटजति अघि बढेपछि हामी एउटा ठूलो मन्दिर अगाडि उभिएका थियौं । मन्दिर दर्शनको समय नभएकोले होला, सिङ्गो मन्दिर परिसर सुनसान थियो । एउटा सूचना केन्द्र थियो । सूचना केन्द्रलाई विक्री केन्द्रका रूपमा समेत उपयोग गरिएको देखिन्थ्यो । बाहिरै परिसरमा मन्दिरमा चढाउने बस्तुकासाथै सम्झनाका लागि किनिने उपहार विक्रीका लागि सजाइएका देखिन्थे.। बत्तीको उज्लालोमा पर अर्को कुनोमा पनि त्यस्तै देखिन्थ्यो । पसलमा एउटी जापानी केटी बसेकी थिई । दर्शनार्थ आउने यात्रीको सेवामा बसेकी भीक्षुणीजस्तै लाग्थि त्यो जापानी विक्रेता केटी । झट्ट हेर्दा ऊबाहेक अरु कोही देखिँदैनथे मन्दिर परिसरमा । मन्दिर नजिकै पुगेपछि देखिई प्रार्थनाकक्षअगाडि उभिएर प्रार्थना गरिरहेकी एउटी जापानी युवती ! हामी सूचना केन्द्र र सोभेनियर पसलभन्दाअगाडि त्यही प्रार्थनाकक्षतिर बढ्यौं । हातमा क्यामरा थियो मेरो । बोल्ने बहानामा नै सही, मैले त्यही प्रार्थना गरिरहेकी युवतीलाई हाम्रो तस्बिर खिचिदिन अनुरोध गरेँ । अङ्ग्रेजीमा केही काम चलाउ संवाद गर्दिरहिछ त्यो केटी, त्यसैले सजिलो भयो ।“विल यु प्लिज हेल्प अस टु टेक सम पिक्चर्स ।” मैले अनकनाइ अनकनाइ अनुरोध गरेँ । “ह्वेर आर यु फ्रम ?...तिमी कुन देशबाट ?” मेरो अनुरोधसुन्नासाथ जिज्ञासा प्रकट गरी उसले । “नेपाल....म नेपालबाट ।” मैले दिएको सङ्क्षिप्त उत्तर सुनेर ऊ खुसी भएकी थिइ । “ओह्...नेपारु !” मेरो जवाफ सुन्नासाथ उसको मुखबाट निस्किएको थियो त्यो खुसीमिश्रित उद्गार ! उसको मुखबाट निस्किएको त्यो सुखद्आश्चर्य मिश्रित स्वर सुनेर मेरो खुसी सीमा रहेन । धेरै जापानीहरूका लागि अपरिचित भए पनि कमसेकम यो केटीले त चिनेकी रहिछे मेरो देशलाई, मेरो नेपाललाई ! त्यही सोचेर केही भएपनि नाक फुलाएको थिएँ मैले । उसले नेपाल बारे कहीँ कतै पढेकी र सुनेकी रहिछे संस्कृति विषयको अध्ययन गर्दा ।“नेपाल जाने मन छ । पाइने हो, होइन के थाहा ?” उसको चाहना सुनेँ । नेपालबारे सुनेर उसलाई पनि सकियो भने घुम्न जाने मन छ रे नेपाल ! जापान पुगेपछि कुनै एउटी जापानी नागरिकको मुखबाट मैले सुनेको यो नै पहिलो नेपालबारेको सुन्दर अभिव्यक्ति थियो । नेपालप्रतिको यो पहिलो जापानी अभिव्यक्ति सुनेर साँच्चि नै रमाइलो लागेको थियो । अनि त के थियो, खुसीखुसी खिचिदिई मन्दिरको पृष्ठभूमिमा उभिएका हामी दुईको फोटो । जापानी संस्कृतिको पनि विद्यार्थी रहिछ त्यो युवती । त्यसैले त्यस मन्दिर र मन्दिर दर्शनको परम्पराका बारेमा समेत आफूले जानेका कुराको बेलिबिस्तार लाएर जिज्ञासा मेटाएकी थिइ मेरो । मेरो प्रश्नमा उसले आफ्नो नाम पनि बताएकी थिइ, तर त्यो असजिलो नाम सम्झनै सकिन पछि । त्यतिबेलै कतै टिप्न बिर्सेकोमा अहिले पनि थक्कथक्क लागरिहेको छ । “ओमिया हाचिमानागु स्मारक (इजmष्थब ज्बअजष्mबलनग क्जचष्लभ) हो, यसको नाम ।” यही बताएकी थिइ उसले त्यो मन्दिरको नाम । त्यतिखेर प्रार्थनाकक्ष अगाडि मेरा आँखा जापानी बौद्ध मन्दिरको मुख्य मन्दिरकक्षमा जताततै देखिने शाक्यमुनि बुद्ध वा कुनै अमिताभ बुद्धहरूको भव्य तथा विशाल मूर्तिहरूको खोजीमा यताउता डुलिरहेका थिए । बुद्ध र अमिताभका नभए पनि अरु बौद्ध सन्त वा देवताहरूका मूर्ति त पक्कै होलान् ! यस्तै यस्तै सोच्दै थिएँ म । यसअघि बीस वर्षअगाडि जापान आउँदा घुमिएका नारा, क्योटो र टोकियोकै अरु बौद्ध वा अन्य मन्दिरहरूमा जतातै विशाल विशाल बुद्धका मूर्तिहरू देखेको थिएँ ! त्यसैले ममा यस्ता मन्दिर मूर्ति बेगरका हुँदैनन् भन्ने धारण बन्नु स्वाभाविक थियो ! तर खोइ....यहाँ त त्यस्ता कुनै मूर्ति देखिँदैनन् ! मन्दिरको त्यो मूल प्रार्थना कक्षले मेरोे पूर्वधारणा खण्डित तुल्याइदिएको थियो !“खोइ, बुद्ध वा बोधिसत्वहरूको मूर्ति त कतै देखिँदैन त ?” त्यही पूर्व धारणको जगमा मैले उसँग प्रश्न गरेको थिएँ । “खासमा यो मन्दिर होइन, धार्मिक स्मारक हो । तिमीहरूले बाहिर सडकछेउको ढोका देख्यौ नि, हो यस्तो ढोका भएकाजति सबै स्मारक हुन्, धार्मिक सन्त वा त्यस्तै कसैको अस्तु राखिएका वा कुनै धर्मको सम्झनामा निर्मित धार्मिक आस्थाको केन्द्र ! सुरुमा व्यक्तिगत रहेपनि पछि जनता र समाजको साझा धार्मिक स्थलमा परिणत हुँदै आएका छन् यस्ता स्मारकहरू । योपनि त्यस्तै हो, देवल वा देवमन्दिर होइन । यहाँ मूर्तिको नभएर ऊ त्यो क्रिस्टलको चम्किलो मिनारजस्तो गोलोकार अमूर्त आकृतिको आराधना गरिन्छ । त्यसैलाई ईश्वर मानेर प्रार्थना गर्छाैं हामी ! सबै जापानीहरू यही ज्योतिस्वरूप क्रिस्टल बिम्बका अगाडि नतमस्तक हुन्छन् र शिर झुकाउँदै प्रार्थना गर्छन् । अनि ऊ त्यो अगाडिको दानपात्रमा दानस्वरूप सकेको रकम अर्पण गर्छन् । त्यसपछि फर्कने बेलामा फेरि एकपटक शान्ति कामना गर्दै  झुकेर प्रार्थना गर्छन् ।” लामै बेलीबिस्तार सहित जानकारी दिएकी थिई उसले । बाहिर प्राङ्गणको अर्कोतर्फ पनि सजाएर राखिएका थिए ठूलाठूला मन्त्र लेखिएका कागतका लाल्टिनहरू, मन्त्र लेखिएका पताका, धनुष काँड, डुङ्गा, बहाना र साना साना मुङ्ग्राजस्ता काठका सुन्दर कलात्मक बस्तुहरू ! त्यो, बत्तीले झकिझकाउ उज्यालो परिसरमा यस्तैयस्तै अरु धेरैप्रकारका बस्तुहरू थिए धर्मिक आस्थासँग गाँसिएका चढौती र सम्झनाका कोसेलीहरू । कुनै किनेर त्यहीँ चढाइने चढौतीका लागि प्रयोग हुने बस्तु थिए, कुनै किनेर घरमा सम्झनास्वरूप लैजाने चिनोस्वरूपका कोसेली ! त्यही विक्रीस्थलले सानोतिनो सूचनाकेन्द्रको काम पनि गर्दोरहेछ । त्यो नेपालप्रेमी जापानी केटीबाट जे जति जानकारी पाइयो, त्यसले थप जानकारीको जिज्ञासा जगाउनु स्वाभाविक थियो । तिनै जिज्ञासा समन गर्ने क्रममा मैले सूचना केन्द्रकी त्यो जापानी केटीसँग स्मारक सम्बन्धी अङ्ग्रेजी भाषाको परिचयपुस्तिका मागेको थिएँ । समस्या थियो उही भाषाको । त्यसैले भाषा नबुझेर अलमल्ल परेकी थिई त्यो पसलकी केटी । अनि त्यही हामीलाई जानकारी दिने केटीले खान्जी अर्थात जापानी भाषामैं अनुवाद गरेर मेरो आवश्यकता सुनाइ क्यारे, सुन्नासाथ उसले भित्रपटि फर्केर केही भनी । भित्रपटि अरु बौद्ध भीक्षु पनि रहेछन् । तिनैमध्ये एकजनाले केहीबेर खोजेर एउटा अङ्ग्रेजी परिचय पुस्तिका थमाइदिए । हाचिमानागु मन्दिर बारे बाँकी धेरै जानकारी दिएको त्यही परिचय पुस्तिकाबाट पाएको थिएँ मैले । सन् १०६३ मा निर्माण भएको रहेछ यो टोकियोको सुगिनामी–कु स्थित ओहमिया हाचिमानागु धार्मिक स्मारक । यसको निर्माणभित्रको कथागर्भ पनि निकै लामो रहेछ । करिव साढे नौ सय वर्षजतिअघि हेयान कालमा वादशाह गोरेइजेईले जापानको उत्तरी प्रान्त मात्सुको गभर्नरमा नियुक्त गरेछन् लर्ड मिनामोतो–नो योरियोसीलाई । गभर्नरका रूपमा उनको प्रमुख जिम्मेवारी स्थानीय धार्मिक समुदायका विद्रोही आबे योरितोकीलाई नियन्त्रणमा लिनु रहेछ । त्यो जिम्मेवारी पूरा गर्न जाँदा जुन ३०, १०५१ का दिन उनी यही ओमिया हाचिमानागु मन्दिर रहेको ठाउँमा आइपुगेछन् । यहाँ आइपुग्नासाथ उनले अहिले मन्दिर भएकै ठाउँभन्दा ठीकमाथि आकाशमा बादलका पातला आठवटा चक्का देखेछन् । उनलाई त्यो बादलको आकार उनका स्वर्गीय गुरु हाचिमा ओकामीको आश्रममा राखिएको चिह्नजस्तै लागेछ । पछि विद्रोहीहरूलाई नियन्त्रण गरेर फर्कँदा उनले त्यही ठाउँमा आफ्ना गुरु हाचिमा ओकामीको सम्झनामा बनाएका रहेछन् यो स्मारक । मन्दिर बनेपछि यो ठाउँ पनि ओमिया कै नाउँले चिनिन थालेछ । ओमियाको अर्थ हुँदोरहेछ “विशाल मन्दिर” !त, यसरीे मार्गदर्शकविना निस्केको त्यो पहिलो दिनको हाम्रा पाइला निरर्थक भने हुन पाएन । त्यो ओमिया हाचिमानागुका कलात्मक सांस्कृतिक निधि अवलोकन गर्न पाएर सही गन्तव्य ठम्याउन सफल भएपछि सार्थक बनेको थियो आजको दिन । फर्कँदा भने केही समस्या झेल्नुप¥यो । पोस्ट अफिस मैले फर्कन राखेको चिह्न थियो । तर अहिले फर्कँदा त्यो सङ्केतपाटी कतै देखिएन, मूल सडकको भित्रीभागमा परेर छोपिएछ । फलतः हामी त त्यो छेडोलाई परै छाडेर निकै अगाडि पो बढिसकेछौं । लक्ष्मीको अन्दाजमा भने आइपुगेकै थिएन त्यो ठाउँ । ऊ अगाडि पनि आइसकेकी, मलाई भन्दा बढी जानकारी हुनु स्वाभाविक थियो । त्यसैले उसको अनुमान सही होला भनेर नै उसको निर्देशन पछ्याएको थिएँ मैले । तर धेरैबेर हिँडिसकियो, कहिल्यै आउँदैन त पोस्ट अफिसको त्यो चिनो ! जति पर गयो उतिउति नयाँनयाँ ठाउँ देखिएजस्तो लाग्दैथियो । मनमा अत्यास पनि बढ्दैथियो– नयाँ ठाउँ, हराइने त होइन ? हुन त बुहारी सीताले हिँड्ने बेलामा मोबाइल दिएकी थिइन्, यस्तै परेमा फोन गर्न । तर हत्तपत्ति किन उनलाई पनि अत्याउने ? यस्तै सोचेर फोन गरेको थिइन । आलोक त अफिसमैं थियो । जे होस्, एकपल्ट फेरि कोसिस गरेर मात्रै केही नलागे फोन गरौंला भन्ने सोचेर लक्ष्मीलाई आएकै बाटो फर्कन लगाएँ । नभन्दै मेरै अनुमान सही ठहरियो, केही बेर आएकै बाटो फर्केपछि पो देखियो त्यो अघि हामीले चिनो बनाएको पोस्ट अफिस !