(मधुपर्क असोज २०७० म प्रंकाशित कथा)
“कति गर्मी, पसिनाले खल्खली भिजिसकियो ।” पजेरोबाट ओर्लनासाथ विष्णुमान ले निधारबाट बग्न लागेको पसिनालाई गोजीबाट सेतो टकटकाउँदो रुमाल झिकेर पुछ्यो । हुन त गाडीभित्र गर्मी थिएन, वातानुकूलित पजेरोभित्र त्यस्तो केही असुविधा पनि थिएन । चाहिने सबै सुविधाले सुसज्जित थियो सानदार पजेरो । हिजोसम्म आफ्ना परियोजना प्रमुख हाकिम साब, सचिव र मन्त्रीहरूले सानपूर्वक गरेको पजेरो यात्रा देख्दा ऊ पनि मनमनै कल्पन्थ्यो– आहा.. आफ्नो भागमा पनि यस्तै पजेरो पर्ने भए...! त्यति ठूलो महङ्गो गाडीमा चढ्नुको मजै अर्कै ! सरकार प्रमुखले मितव्ययिताको नाटकगर्दै मुस्ताङ चढेपनि अरु मन्त्री र श्रीमतीदेखि नजीककाले रोजी रोजी सरकारी पजेरो चढेकाले हाकिमसाबहरूले कुनै बारना गर्नुपर्ने अवस्था ठानेका थिएनन् ।
पजेरो नै नभए पनि उसलाई अफिसले छुट्टै मोटर दिएको थियो, नदिएको होइन । अधिकृत तहको इन्जिनियर भएकोले उसको भागमा पजेरो भने आइपुग्दैनथ्यो । त्यसमाथि भएको ठूला पजेरा नामका महँगा मोटरहरू देखेपछि मन्त्री, सचिव र सत्तारूढ पार्टीका नेताहरूका आँखा परिहाल्थे, काँबाट आइपुगोस् उसको भागमा ?
बल्ल आएर उसको पजेरो चाहना पूरा भएको थियो । आज उसको भागमा पनि आइपुगेको थियो वातानुकूलित सान्दार पजेरो ! यति चाँडै त्यो सपना पूरा भएर यस्तो सानदार पजेरोको मालिक बन्न पाउँदा ऊ दङ्दास थियो । त्यसैको अगाडि उभिएर फोटो खिचाउने भित्री इच्छालाई भने बलजफती दबाएको थियो– देख्नेले उत्ताउलो भन्लान् फेरि !
यो सपना पूरा हुन अर्थात् विदेशी ऋणको यति ठूलो परियोजनाको हालीमुहाली हात पार्न भने फलामको च्युरै चपाउनु परेको थियो । सोचेजति सजिलो थिएन यो काम । यसको दावेदार ऊभन्दा वरिष्ठ र अनुभवी अरु धेरै थिए । सुनिन्थ्यो यसका लागि नोटको बिटो बोकेर मन्त्रीकाँसम्म धेरैजना पुगेक थिए रे ! लगभग निर्णय हुनहुन लाग्दा सरकार बदलियो । सन्जोगले उसको आफ्नै पार्टी पुग्यो सरकारमा र सरकारको प्रमुख बने उसका साख्खै भिनाजु ! त्यसपछि उसको पनि आशा पलाएको थियो, दिदीलाई भन्न लगाएर पनि यो मौका त गुमाउनु हुन्न । त्यसपछि त लागिहालियो नि यो पदप्राप्तिको म्याराथुन दौडमा ।
“ह्वैन हो, साथी हो...तपाँइहरूले पनि एसो भरथेग गर्नु प¥यो है । पहिले पो सरकार हाम्रो थिएन । अब त...! आफ्नो सरकार भएको बेला पनि पछि पर्नु त भएन नि ।” उसले आफ्ना पार्टीका सानातिना नेता गुहारेन कि, पर्दाभित्रबाट मन्त्रालय, संस्था चलाउने उसकै युनियनको पार्टी समर्थकहरू गुहारेन । आखिर परियोजना पाएवापत पार्टीलाई ठूलै थैली बुझाउने सर्तमा उसले यो प्रमुखको शिरपाउ भिर्ने सौभाग्य पायो ।
यसरी खाने पानीको एउटा ठूूलै परियोजना प्रमुखको जिम्मेवारी बोकेर ऊ यस नयाँ ठाउँमा आएको धेरै भएको थिएन । यस्तै तीन चार महिना त भयो होला नि ? ऊ मनमनै हिसाव लाउँछ । योभन्दा कति बढी भयो होला त प्रमुखका हैसियतमा पदार्पण भएको । प्रमुख बनेर आएको केही समयमैं अघिल्लो हप्ता फेरि राजधानी जानु परेको थियो उसलाई । उसले राम्ररी बुझ्न पनि पाएको थिएन यो ठाउँ र यहाँका मानिसलाई । राजधानी फर्केर केन्द्रको काम सकीवरी भर्खरै मात्र फर्किएको थियो ऊ आफ्नो जिम्मेवारीलाई अगि बढाउन ।
लामो बाटो, पजेरो कै यात्रा भए पनि निकै थकाउने खालको थियो राजधानीदेखि यहाँसमको यात्रा । परियोजना प्रमुखको खिताव भिरेको इन्जिनियर विष्णुमान बाटोको थकाइले लखतरान थियो । राम्ररी चिन्न बाँकी नै भए पनि तीन चार महिना अगि नै जिम्मेवारी लिएर आएको हुनाले यो ठाउँ उसका लागि नौलो नै भने थिएन । कुनै असुविधा पनि थिएन क्वार्टरमा । सानो भए पनि विदेशी लगानीमा सञ्चालित अरु परियोजनाजस्तै हर सुविधा थियो क्वार्टरमा । सहयोगको ठूलो अंश हाकिम कर्मचारीहरूको सुख सुविधा जुटाउनका लागि खर्च भएकाले परियोजना कार्यालय साधन सम्पन्न थियो ।
विष्णुमान क्वार्टरभित्र पस्यो । आफू आउने खबर अगाडि नै पठाएकोले सहयोगी विर्खेले कोठाको एसी खुला राखेको थियो । बाहिरको गर्मी थिएन भित्र, कोठा शीतल थियो । उसले चरौतिर आँखा दौडायो । एकहप्ता अगि आफूले छाडेर गएकोभन्दा कुनै परिवर्तन थिएन कोठामा । देखिने कुरा पनि थिएन । एक हप्ता धेरै समय पनि त होइन । एक हप्ताभन्दा बढी बस्नै कहाँ पायो र काठमाडौं । त्यसैले एकै हप्तामा कुनै नयाँ भइहाल्ने कुरै थिएन । त्यसमाथि श्रीमती आफूभन्दा अगाडि नै माइत हिँडिसकेकी थिइन् । कोही नभएको क्वार्टरमा के पो नयाँ कुरा हुनु र ! तर पनि यतिबेला विष्णुमानलाई के के लागेको थियो, केही नौलो कुराको उपस्थिति भए झैं ।
“किन यस्तो लागेको मलाई...के छ नयाँ कुरा कोठामा...?” प्रश्न ऊ आफैंप्रति लक्ष्यित थियो ।
जवाफ खोज्दै उसले फेरि एकपटक कोठाको चारैतिर आँखा घुमायो । झट्टै ठम्याउन भने सकेन ।
“ए..., के हो यो ? यही देखेर मलाई यस्तो लागेको हो त ?” कोठाको चारैतिर डुलिरहेका उसका आँखा बैठकको बीचोबीच रहेको सेन्टर टेबलमा परेपछि फेरि आफैंसँग प्रश्न ग¥यो उसले ।
सेन्टर टेबलमाथि एउटा ठूलो झोला रहस्यमय ढङ्गमा उसैलाई हेरिरहेका थियो । आँखाभरि प्रश्न बोकेर उसका आँखा त्यही झोलमा अड्किए– के हो यो...? यो त मैले ल्याएको सामान होइन !
निकै बेर दिमागमाथि जोड लाएपछि झट्ट सम्झ्यो, ए... अस्ति काठमाडौं हिँड्नै लाग्दा सहयोगी रञ्जनदासले छाडेको थियो झोला पो हो क्यारे । रञ्जनदास यस कार्यालयमा दशौं वर्षदेखि जरो गाडेर बसेकोउसको सहयोगी कर्मचारी थियो, उसको निकटतम सहयोगी ! सानो ठाउँ भए पनि आमदानी रामै्र हुने भएकोले ऊ हर उपाय लगाएर हरेकपटकको सरुवाबाट बच्थ्यो । पुरानो भएकाले नयाँ आउने जोकोही प्रमुखलाई पनि उसबाट सूचना र सल्लाह नपाई अघि बढ्न सहज हुँदैनथ्यो । त्यसैले ऊ जुन प्रमुख आए पनि एक्काको एक्कै रहन्थ्यो ।
“काठमाडौंमा राम्रा सारीहरू देखेर मनै मानेन...। श्रीमतीको लागि किन्दा म्याडमलाई पनि मन पर्छ भनेर...!” सम्झ्यो, बडो जतनले झोला टेबिलमाथि राख्दै भूमिका बाँधेको थियो रञ्जनदासले त्यतिबेला ।
“......।” विष्णुमानले कुनै जवाफ दिएको थिएन त्यतिबेला । काठमाडौं हिँड्ने हतारोमा झोला र त्यसभित्रको जिनिसका बारेमा सोचेर टाउको दुखाउन आवश्यक ठानेन उसले । सामान्य जानकारी रञ्जनदासले दिएकै थियो । न त स्वीकृति–अस्वीकृति जनाउने आवश्यकता नै देख्यो । कसैले खुसीले दिएको कुरा.....।
“नयाँ डिजाइनको इम्पोर्टेड..., काठमाडौंमा पनि भर्खैरै आइपुगेको ! सरलाई सम्झेर ल्याएको, म्याडमका लागि ! त्यति ठूलो कुरा त होइन सर !” विष्णुमानबाट कुनै प्रत्युत्तर नपाएपछि स्पष्टीकरणमा भनेको थियो उसले । टेबिलमाथिको झोला देखेर अहिले विष्णुमानलाई सम्झना भयो ।
“म्याडम त छैन, माइत गएकी छ ।“ दोहोरो खालको अर्थ लाग्ने जवाफ निस्किएको थियो उसको मुखबाट ।
“म्याडम आएपछि पक्कै मन पराउनुहुन्छ सर । मलाई विश्वास छ !” अर्थपूर्ण मुस्कान फाल्दै हिँडेको थियो रञ्जनदास त्यतिबेला । विष्णुमानले न झोला खोलेर हेर्ने जाँगर देखाएको थियो, न त्यो कोसेलीलाई लिएर कुनै रुचि वा अरुचि नै प्रकट गरेको थियो ।
आज हप्तादिनपछि फर्कँदा झोला टेबिलमाथि जस्ताको त्यस्तै थियो, यथावत !
हाकिम आएको देख्नासाथ हाजिर भएकी कान्छी खाजा–नास्ताको प्रबन्ध गर्न भान्छामा जुटिसकेकी थिई । खासमा कार्यालय सहायक अर्थात पियन थिई ऊ । कार्लालय सहायक अर्थात पिउन र उसको क्वार्टरको परिचारिका दुवैको भूमिका निर्वाह गर्दै आएकी छ, कान्छीले । अफिसको साथै खाना पकाउने ख्वाउने र घरको रेखदेख गर्ने समेतको जिम्मेवारी उसैमाथि थियो । भान्छामा चिया बसालेर सात दिनदेखि थुप्रिएका अखबार भर्खरै अगाडि टेबलमाथि राखेर गएकी थिई कान्छी ।
मन लागीनलागी विष्णुमानले डङ्गुरबाट एउटा अखबार झिक्यो । हातमा लिएर सर्सती शीर्षक पल्टाउँदै गयो विष्णुमान । त्यो स्थानीय अखबारमा अनेक थरी समाचार थिए । कतिमा उसको भिनाजुको नेतृत्वको सरकारको आलोचना मात्रै थिए । त्यो देखेर ऊ जुरुक्क उठ्यो र झयाल छेउमा पुगेर पिच्च थुक्यो– कुनै सरकारलाई काम गर्न दिँदैनन् यी पत्रकार र पत्रिका भनाउँदाहरू । काम गर्न पाएको छैन, आलोचना र आरोप ! भनेजति नपाउनासाथ वदनाम मात्रै गर्छन् यी !
अखबारप्रतिको असन्तुुष्टी मुखको खकारसँगै फालेर ऊ फेरि आरामदायी सोफामा आरामपूर्वक बस्यो । उसले अगाडिको अखबार फेरि हातमा लिएर सर्सती समाचारका शीर्षकमा आँखा फाल्दै गयो । भित्री पेजको एउटा अर्को समाचारमा पुगेर टक्क अडिए उसका आााख । उसको ध्यान राम्रैसग तान्यो त्यो समाचारले !
समाचार उसको आफ्नै अफिसको बारेमा थियो । यस अर्थमा उसको आफ्नै बारेमा लेखिएको थियो । समाचारमा खाने पानीको विगत योजना सञ्चालन गर्दा अनियमितता र भ्रष्टाचार भएको दावी गरिएको थियो । पहुँचवाला र कर्मचारीहरूलाई महिनावारी बुझाउने होटेल, उद्योगआदिमा पानीको छेलो खेलो हुने गरेको र पैसा तिरेर खाने सामान्य उपभोक्ताले भने खान समेत पानी नपाएर दुई तीन घन्टा खोला धाउनु पर्ने अवस्थाको उल्लेख थियो समाचारमा । समाचारमा आम जनताका गुनासा थिए । समाचारको पुष्टी गर्न स्थानीय जनताकै भनाइ राखिएको थियो ।
“सर नमस्कार....! मन्त्रालयको भेटघाट त राम्रै भयो होला नि, ह्वैन सर ?” हाकिम आइपुगेको सुइँको पाउनासाथ हाजिर भैसकेको थियो रञ्जनदास ।
“अँ...भर्खरै आइपुगेँ । तपाइँले समाचार त पढिहाल्नुभो’ होला...? पस्न नपाउँदै रञ्जनदास आइपुगेकोमा मनमनै अप्रसन्न भए पनि बाहिर देखाएन विष्णुदासले ।
“पढें, किन नपढ्नु । यी अखबार र पत्रकार भनाउँदा पनि कस्ता, जे मनमा आयो त्यही लेखिहाल्छन् । अलिकति विज्ञापन र मासिक खर्चको नियमित खाम पाएनन् कि चलिहाल्छ यी पत्रकार भनाउँदाको मनगडन्ते समाचार लेख्ने कलम । अनि मनगडन्त आरोप थोपरिन्छन् हामीजस्ता जनताका लागि घरबार छाडेर दिनरात खटिने राष्ट्रसेवकहरूमाथि ! चिन्ता गर्नु पर्दैन सर...अखबारलाई अलिकति विज्ञापन र पत्रकारलाई बेलाबखतमा खाम पु¥याएपछि सबै कुरा मिलीहाल्छ नि !” रञ्जनदासले लामैं परिपाठ लगायो ।
रञ्जनदासको कुरा सुनेर मन्दमन्द हाँसो निस्केको थियो उसको ओठमा । ऊ र उनीहरू सबैलाई थाहाछ, यस्ता विकासे अफिस र अखबारका बीच चोर पुलिसको खेल चलि नै रहन्छ । पुलिस, केस चलाउँछ, बीचैमा केस बन्द गरिदिन्छ । उखानै छ नि– पुलिसको आवश्यकता चोर, चोरको आवश्यकता पुलिस ! सबै पुलिस, पत्रकार र कर्मचारीमा यस्तै प्रवृत्ति नहोला, तर अधिकांश त एकै ड्याङका मूला त हुन् ! धेरैजसो हामीजस्ता विकास निर्माणको जिम्मा लिएका कर्मचारी र पत्रकार बीचको सम्बन्ध पनि त त्यस्तै हो, चोर पुलिसको जस्तो ! मनमनै सोचेर फिस्स हाँसेको थियो ऊ, आफैंसँग । यो समाचार ऊभन्दा अगाडिको प्रमुखको पालाको थियो र थियो रञ्जनदासहरूको हातबाट सम्पन्न भएको काम । त्यसैले उसले सोच्यो यो नयाँ योजनामा अलि बढीभाग खोज्यो भने यसलाई अङ्कुस लाउन पनि काम लाग्छ यो समाचार । त्यही सोचेर भन्यो, “सबै त उस्तै नहोलान्...! लेखिएका सबै कुरा झुठा पनि त छैनन होला नि कसो ?”
”तर पनि सर... ! नयाँ योजना आउँदैछ भन्ने गन्ध पाएर अहिल्यैदेखि बाटो बनाएका होलान् यी पत्रकारले । माहिर पो छन् त सर यिनीहरू यस्तो कुरामा ! ” हाकिमको कुरा बुझेर रञ्जनदास पनि मजैले हाँस्यो ।
”भने पनि के भन्नु, होइन त ? यस्तो गर्मी छ, मानिस पानी खान नपाएर छटपटाइरहेका छन् । यता नयाँ योजना पूरा हुन झन् झन् ढिलो हुँदैछ, नयाँ काम पनि हुन पाएको छैन । यस्तोमा असन्तुष्टी त हुने नै भयो नि, कसो ?” उसले मनमा जे भए पनि मुखले रञ्जनदासको कुरामा पूर्ण सहमति जनाएन ।
“के गर्नु त सर...हामीले गरेर होइन । नयाँ नयाँ योजना चलाउन पाइए हामीलाई पनि त फाइदै फाइदा हुन्थ्यो नि । आखिर सबै मिलेरै हुने हो । अलि ठूलो योजना भए माथिको भाग छुट्याएर पनि मनग्यै हुन्थ्यो, ह्वैन त सर !” रञ्जनदास दोहरो अर्थ लाग्ने भाषा बोल्न माहिर थियो । हाकिम नयाँ योजना पास गराउन राजधानी गएकोले पक्कै स्वीकृति लिएर आएको हुनुपर्छ भन्ने उसको अनुमान थियो । त्यसैले मनमनै लाभको अङ्कगणितमा रमाउँदै घुमाउरो पाराले सुरुमैं दावी पेश गरेको थियो रञ्जनदास ।
“त्यो त हो...!” जनतालाई नयाँ योजना र नयाँ कामको फाइदा पुगोस् नपुगोस्, परियोजना सम्बन्धित तलदेखि माथिसम्मका मान्छेलाई फाइदा पुग्थ्यो । बाहिर कुनै प्रतिक्रिया नदेखाए पनि नयाँ परियोजना सञ्चालन गर्दाको फाइदा राम्ररी बुझेको विष्णुमानले आफैंसग भन्यो ।
“साँच्चि सर नयाँ योजनाको प्रस्ताव स्वकृति गराउन जानु भएको होइन ? स्वीकृत भयो त सर ? नयाँ योजना नआएको पनि धेरै भयो ।” रञ्जनदासले नयाँ योजनाबाट प्राप्त हुने संभावित लाभको अङ्कगणितमा रमाउँदै प्रश्न ग¥यो ।
“त्यो नयाँ योजना अहिले पास भएन । तलको नदीको पानी सफा गरी अहिलेकै ट्याङ्कीमा लिफ्ट गरी क्षमता वृद्धि गर्न भनेर पचास लाख रकम भने निकासा भएको छ । दुईचार दिनमैं आइपुग्ला बजेट ।” विष्णुमानले सहयोगीको जिज्ञासा शान्त पा¥यो ।
“नहुनु मामाभन्दा कानै मामा निको, होइन त सर ? यति भए पनि भएछ । योसरको पहुँचकै नतिजा हो । नत्र कहाँ आउँथ्यो र यो पनि । जे होस, यसपालिको दशैं जेनतेन मनाइने भइयो, होइन त सर ?” सहयोगीको सङ्केत उसले नबुझ्ने कुरै थिएन । ऊ आफैं पनि मनमनै हिसाव लगाउन थाल्यो । सरकारी दश प्रतिशतको कमिसन अलिअलि सहयोगीहरूलाई बाँडचुँड गर्न परिहाल्यो । ठेक्काको तर्फबाट उठाउनु पर्ला आफ्नो र माथि बुझाउनु पर्ने भाग ।
“आज कुनै कार्यक्रम छ कि सर ? भए व्यवस्था मिलाउनु प¥यो ।” उसले सहयोगी हुनुको कर्तव्यपरायणता प्रकट ग¥यो ।
“अँ...थाकेको छु आराम गर्छु आज । कतै निस्कन्न । भोलि साइटतिर जानु पर्ला निरीक्षण गर्न ।” विष्णुमानले सङ्क्षेपमा योजना सुनायो ।
रञ्जनदासले हाकिमको सङ्केत बुझ्यो । त्यसैले उनलाई आराम गर्न छाडेर त्यहाँबाट हिँड्यो ।
जेठ बलेको छ बाहिर । फिटिक्क हावा चलेको छैन । सदरमुकामको शहरबजार गाउँमुनि नदीको पानि खेर गइरहेको छ । माथि बजार बस्तीमा खाने पानीसमेतको हाहाकार ! न त गर्जँदै बग्ने तलको त्यो विशाल नदीको पानी सिँचाइमा पर्याप्त उपयोग हुन सकेको थियो, न खाने पानीकै लागि उपयोगमा आएको थियो । पानी लिफ्ट गर्ने मिसिनको क्षमता घट्दै गएर एक त त्यसै माग अनुसारको पानी पु¥याउन सकिएको छै्रन । त्यसमाथि लोडसेडिङले गर्दा अहिले त झन पानीको हाहाकार नै छ गाउँ–सहरमा । आपूर्ति नराम्ररी प्रभावित भएको छ । यही समस्याबाट थोरै भए पनि छुटकारा पाउन सानै भए पनि यो क्षमतावृद्धिका लागि भनेर पचास लाखको योजना स्वीकृत गरेको थियो विभाग र मन्त्रालयले ।
कार्लालय सहायक अर्थात पिउन र उसको क्वार्टरको परिचारिका दुवैको भूमिका निर्वाह गर्दै आएकी कान्छीले अगाडिको टेबिलमा ल्याएर राखिदिएकी चिया बिस्कुटले थकान केही कम भएपछि एसीले सुकाउन नसकेको पसिना नुहाएर पखाल्ने विचार ग¥यो उसले । बाथरुममा धाराका टुटीहरूबाट चुहिएर पानी खेर त्यसै बगेर खेर गइरहेको थियो । ग्राहका घरमा दिनको एकपटक दुई घन्टा पानी छाडेपनि उसको बाथरुम र क्वार्टरको माथि राखिएका ओभरहेड ट्याङ्कीमा चौबीसै घन्टा छ्यालब्याल पानी आउने व्यवस्था मिलाइएको थिये । यो कार्यालयका कर्मचारीरूकहाँ यस्तै व्यवस्था नहुने कुै भएन । उनी र उसका स्टाफ मात्र होइन, सदरमुकामका सबै सरकारी कार्यालय र क्वार्टरहरूमा पनि निर्वाध सप्लाईको व्यवस्था थियो पहिलेदेखि नै । आर्मी पुलिसको अफिस र क्वार्टर तथा व्यारेकहरूको त कुरै भएन । स्थानीय राजनीतिका नेता कार्यकर्ताकहाँ अवरोध आयो भने टिक्न त्यसै सकिँदैनथ्यो । त्यसैले समस्या थियो भने आम नागरिकलाई थियो जो भन्दाखेरि वास्तवमा मालिक थिए, सरकार बनाउने मतदाता थिए, देशको अर्थभण्डार भरिदिने इमान्दार करदाता थिए । यसर्थ सरकारी कर्मचारी, ठूलाठालू, नेता प्रभावशाली कार्यकर्ताले भोग्नु पर्दैनथ्यो त्यो अभाव र समस्या !
“यत्रो बाक्लो गाउँमा एउटै मात्र धारो, त्यसमथि पनि पानी पनि यति मसिनो ? दुईचार सार्वजनिक धारा थपिदिनु पर्लाजस्तो छ यो भेगमा ।” भोलिपल्ट निरीक्षणमा जाँदा उसको प्रश्न र निर्देशन दुवै थियो यो सायद् । गाउँका सार्वजनिक धारामा पानीका गाग्रा बोकेर धक्कम धक्का गर्दै मानिसहरू पानी थाप्न भिडीरहेका थिए । बाटा छेउका सार्वजनिक धारबाट पानीको धारा नभएर थोपा झरिरहेका थिए ।
यता धारा थप्ने हो भने “अफिस र भिआइपी क्वार्टरहरूमा कसरी पु¥याउने नि पानी सर ! उता पानी नपुग्ने भएरै त यताका सार्वजनिक धाराका टुटी आधा थुनेर कम पानी आउने बनाएको नि । त्यसो नगरेको भए कतबाट भिआइपीहरूलाई पु¥याउन सक्नु ?”
“ए...त्यसो पो ? ठीकै छ त्यसो भए ।” भी आइपी अर्थात ठूला हाकिम र राजनीतिक नेताहरूकहाँ निर्बाध पानी आपूर्ति गर्नु पर्ने कर्तव्यबोधले गर्दा त्यहाँ नयाँ धारा थप्ने उसको सोचाइ अवरुद्ध बन्यो । यिनको त के भो र ? काम चलेकै छ । भोलि भिआइपीहरूको धारामा पानी आएन भने....? यतिबेला ऊ निमुखा उपभोक्ताभन्दा भाग्य विधाताहरूप्रतिको आफ्नो कर्तव्यबोधबाट बढी सचेत थियो ।