(सुलेख मासिक पूर्णाङ्क ६४, वर्ष ६ अङ्क ९, २०७४ पुस अङ्कमा प्रकाशित)
केही दिनअघि एकजना अपरिचित डोट्याल बहिनीको फोनको घण्टीले एकपटक फेरि मेरो मानसमा डोटीका मेरा तीनमहिने प्रवासलाई जीवन्त तुल्याइदियो । आज अठ्ठाईस वर्ष वितिसक्दा पनि डोटी मेरो स्मृतिमा मीठो सम्झना बनेरै रहेको छ । डोटीका बारेमा म सधैं जिज्ञासु रहने गर्छु । त्यतिबेला सूदूर पश्चिमको एउटा पिछडिएको जिल्ला डोटी जाने कुरा नै मेरा लागि कम रोमाञ्चपूर्ण थिएन । (अहिले के कस्तो छ, मलाई थाहा छैन, त्यतिबेलाको डोटीलाई मैले अविकसित रूपमैं देखेको हुँ ! अहिले पक्कै त्यस्तै छैन । त्यतिबेला सडकबाट डोटी पुग्न भारत नटेकी सुख्ख थिएन । आज आफ्नै माटोबाट पुग्न सकिन्छ सडक मार्ग भएर । यसले डोटीलाई पक्कै मैले देखेको डोटीभन्दा धेर फरक र विकसित तुल्याएको हुनुपर्छ !)
मनमा अनेकौं द्विविधा, आशङ्का र कठिनाइको सामना गर्नु पर्ने अनुमान सहित म डोटी पुगेपछि भने काठमाडौं बाहिरको वास्तविक नेपाल जान्ने ज्यादै ठूलो अवसर बन्न पुगेको थियो डोटीको विस्तृत फलक । वास्तवमैं मेरो जीवनको सबैभन्दा ठूलो उपयोगी र व्यवहारिक विश्वविद्यालय बन्न पुगेको थियो डोटीको समग्र समाज र सांस्कृतिक जीवन । कथा लेख्नमा रुचि भएको र कथाकारका रूपमा स्थापित हुने मोहले सङ्घर्षरत त्यतिबेलाको मेरालागि राष्ट्रिय विकास सेवामा डोटीको चयन गर्नुमा नयाँ पात्र, परिवेश र विषयको खोजी पनि अव्यक्त रूपमा कारक बनेको थियो सायद् । पुस्तक–पत्रिकाका पानामा पढेका डोटेली समाजका आर्थिक–सामाजिक तथा लोकसंस्कृति र साहित्यको प्रत्यक्ष अवलोकन–अध्ययनको चाहना त प्रमुख कारण हुने नै भयो ।
नभन्दै त्यतिबेला आफू अध्यापनरत चामुण्डा माध्यमिक विद्यालमा एक वर्षे विदा लिएर डोटी प्रवेश गरेको पहिलो क्षण अर्थात २०३५ फागुन २० गते दिउँसो १.२० बजे दीपायल विमनस्थल टेकेदेखि नै म नवीन पात्र, नवीन विषय र यथार्थ नेपालको मर्मपर्शी चित्रहरूबाट छोइन थालिइसकेको थिएँ । दीपायल पछिको डोटीसँगको दोस्रो परिचय थियो आफूलाई यस क्षेत्रकै सभ्य, शिक्षित र आधुनिक ठान्ने सदरमुकाम सिलगढीसँगको । जिल्लास्तरीय सरकारी कार्यालयहरू, बजार र बजारको एक छेउमा सुदूर पश्चिमका शक्तिपीठहरूमध्ये कै एक मानिएको शैलेश्वरी मन्दिरलाई आफ्नो छात्तीमा बसाएको सिलगढी बजार भने आफूलाई बाँकी डोटीभन्दा सम्पन्न, सुशिक्षित र सभ्य भएको ठानेर अलि घमण्डी र वणिक स्वार्थमा लिप्त रहेझैं लागेको थियो मलाई पहिलो परिचयमा । मेरो त्यो धारणा पछिसम्म पनि मेटिन सकेको थिएन । तल्लो र मल्लो जातिमा नराम्ररी विभाजित त्यतिबेलाको ग्रामीण डोटीभन्दा खासै फरक थिएन समन्ती सोच र जातीय दम्भका कारण मानिसमाथि गर्ने अमानवीय व्यवहारका दृष्टिले अर्धनागरी सभ्यतामा विकसित देखिने त्यति बेलाको सिलगडी पनि । अर्धसामन्ती मानसिकता र जातीय सर्वोच्चताको अहम्मा मल्लो जात आफूलाई मालिक र तल्लो जातलाई आफ्नो वर्गको दास ठान्थ्यो त्यतिबेला मैले देखेको डोटी (डोटी मात्र होइन पछि सेती अञ्चका सबै जिल्ला र अझ त्यसको केहीपछि मैले देखेका महाकालीका दार्चुला, कञ्चनपुर पनि यिनै प्रवृत्तिबाट ग्रस्त देखिन्थे).। टोल, गाउँ र बाडा मात्र नभएर धारा र कुवा समेतलाई विभाजित गरेको थियो डोटीले– जात अनुसार तल्लो र मल्लो भनेर । त्यसैको धङ्धङी सायद अझै छाडेको छैन सिलगढी र डोटीले । सुदूर पश्चिम क्षेत्रकै विख्यात् शक्तिपीठ मानिने यही सिलगडीको शैलेश्वरी (जुन निकै प्राचीन मानिन्छ र मानिन्छ शैलहरूकी देवी अर्थात् शैलपुत्री पार्वतीको पीठ) मन्दिरमा बेला बखत कथित अछूतहरूलाई प्रवेशमा व्यवधान खडा गरेर सामिाजिक विद्वेष बिस्तारमा सहयोगी बनेको डोटी र सिलगडीको समाचार कहिलेकाहीँ अखबारका पानामा देख्नु पर्दा मेरो त्यो धारणाकै पुष्टि भएझैं लाग्छ । वनबासका बेला डोटी बस्दा रामले स्थापना गरेको किम्बदन्ती सुनिने नारी शक्तिपीठ शैलेश्वरीलाई धार्मिक रूपमा त्यत्रो मान्यता दिएर पनि यथार्थमा पुरुष सत्ताको जीवन्त स्वरूप बनेको छ डोटी । त्यसैले व्यवहारमा नारी सम्मानमा निकै अनुदार लागेको थियो डोटी मलाई त्यति बेला ! समयको यो लामो अन्तरालले त्यो मानसिकतामा कत्तिको परिवर्तन ल्यायो, मलाई थाहा छैन ।ंंंंंं
अर्धनागर िसभ्यतामा सामन्ती संंस्कार हुर्काइरहेको सिलगडीसँगको त्यो छोटो परिचय पछि देहीमाडौंसँग गाँसिएको मेरो तीनमहिने चिनारी वास्तविक डोटेली समाजसँगको अन्तरङ्ग चिनारी थियो । त्यसकै फलस्वरूप समग्र डोटेली जीवन र समाजपद्धति तथा संस्कृतिसँगको अन्तरङ्ग परिचय दिनमा सहयोगी बनेको थियो । देही वासको सुरु बिहानीदेखि नै डोटेली समाजमा प्रचलित लोक व्यवहार, लोक साहित्य र लोकजीवनसँग प्रत्यक्ष परोक्ष परिचय पाउँदै गएको थिएँ मैले । बिहान सबेरै ब्राह्ममुहूर्तमा छेउछाउका घरबाट आएका मधुर नारीस्वरका प्रभाती वा प्रातः भजन “ प्रभात सुमिरौं पूजैको बेला,
देवताइको भोग लगाऊँ,
गोसाइँ देवताको भोग लगाऊँ
तीन लोक तेरी पूजा चढत है,
गणेश नारायणको नाउँ...।”
बोलको भोलाउलोसँग पहिलोपल्ट त्यहीँ परिचय पाएको थिएँ मैले ! अनि डोटेली होरी पर्वसँग परिचित हुने मौका देहीमाडौं स्कुलमा पुगेको भोलिपल्टै पाएँ मैल । नववर्षको बिसौं र भूवा होस् वा विसौंमा पाइएका विभिन्न खाद्यपरिकारसँगको परिचय होस्, ती सबैले मलाई डोटेली लोकपरम्परा, साहित्य तथा जीवनका बारेमा थप केही न केही परिचय दिँदै गए, डोटेली जनजीवन, आर्थिक–सामाजिक–धार्मिक र सांस्कृतिक जीवनबारे अरु थप जान्ने कुतकुती जगाउँदै गए । देवीको प्रमिूर्ति कोरिएको ध्यजायुक्त गाँज र लाठी नचाउँदै नाचिएका वैशाख पूर्णिमाका दिन देखिएको देहीमाडौंको देहीजाँत (देवी जात्रा) र बीसौं भो (भुवा) मात्र नभएर त्यही अवसरमा धामी गाड्ने (धामी बसाउने)जस्ता लोक परम्परा र विश्वास, रातभरको द्यौडा नाचबाट लिइने मनोरञ्जन सबै नै मेरालागि कौतुहलपूर्ण ज्ञानविस्तारका साधन बने ।
कुनै पनि नयाँ ठाउँमा जाँदा डायरी लेखनकोे अभ्यास त थियो नै । ती देखिएका, सुनिएका सबैकुरा डायरीमा टिपिँदै गए, टिप्दा हुनसक्ने गल्तीहरू बेलुका डोटीकै सहयोगी मित्र प्रभात माध्यमकि विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ शास्त्रीलाई सुनाएर सच्याउने अभ्यास पनि मेरो दैनिन्दिन बन्यो । अत्यन्त सहयोगी र मिलनसार प्रकृतिका मुक्तिनाथजी आफूलाई थाहा नभएका कुरा स्थानीय बूढापाकासँग सोधेर पनि सघाउनुहुन्थ्यो, लोकसाहित्यका त्यस्ता स्थानीय स्रोतव्यक्तिहरूसँग भेटाइदिएर पनि सघाउनुहुन्थ्यो । शास्त्रीजीद्वारा नै परिचय गराइएका स्वामी केवलानन्दबाट त्यतिबेला सुनेका लोककथा र डोटेली जन्ममृत्य ससंस्कारका बारेका पाइएका जानकारी मेरो लागि ठूलै सहयोग बन्नपुग्यो पछि डोटेली लोकसंस्कृति र साहित्य (२०३९) लेखनको क्रममा । यसरी मेरो त्यहाँको स्थानीय लोकसाहित्य र लोकजीवनप्रतिको उत्सुकता मेट्ने काममा मित्र शास्त्रीजी अर्को महत्वपूर्ण प्रेरणा र सहयोगी दुबै बन्नुभयो ।
यो क्रमलाई अरु विभिन्न अवसर र सन्दर्भले अगि बढाउँदै लगे । चाहे मित्र चेतराज जोशीको विवाहका अवसरमा बुझ्न पाएको डोटेली परम्परागत विवाह सस्कार र तीसँग सम्बद्ध संस्कारगीतहरूसँगको परिचय होस, चाहे वैवाहिक संस्कारका अन्य विविध पक्ष हुन्, ती सबै डोटेली सं्रस्कृतिसँग परिचित हुने मेरो अभ्यन्तरको चाहनाकै सहयोगी बन्न पुगे । तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य बमबहादुर कठायत, भूतपूर्व अञ्चल पञ्चायत सभापति अमरबहादुर रोकाया, तत्कालीन गाउँ पञ्चायत सदस्य पद्मराज जोशीको आमन्त्रणमा उहाँहरूसँगै डोटीका प्राय सबै गाउँपञ्चायत घुम्ने अवसर पाउँदा मैले बुझेको डोटी सायद् देहीमाडौंले मात्र बुझाउन सक्दैनथ्यो । केही दिनको त्यो यात्राले डोटेलीहरूको कष्टप्रद जीवनयात्रा र तिनै कष्ट, शोषण र अभावलाई अभिव्यक्ति दिने क्रममा फष्टाएका लोकअभिव्यक्ति– लोकसाहित्यका विविध विधासँगको परिचय मेरालागि निकै महत्वपूर्ण थियो । ती सबै सन्दर्भ र क्षण ममा लोकसाहित्य र लोकजीवन अध्ययनको हुटहुटी जगाउने कारक बन्दै गए । त्यही यात्रामा पुगिएको कौराडीको घट्ट्खोलाका मष्टा र माणौहरूले डोटेली धार्मिक परम्परालाई अरु थप बुझ्न सघाएका थिए । त्यतिबेला सुनेका गाथा र किम्बदन्तीहरूले प्राचिन डोटीको ऐतिहासिक परम्पराको परिचय दिइरहेका हुन्थे । २०३६ साल वैशाख ५ गतेको मध्यान्हमा त्यस्तै एउटा किम्वदन्ती सुनाएका थिए कौराडीका एकजना वृद्धले । सम्वत् १७०० तिर त्यही ठाउँमा डोटी र थलारी राजाकाबीच युद्ध भएको थियो रे ! त्यतिबेला कौराडीका रक्षक देवता तिनै मष्टा–माणौहरूं माहुरी र सर्प बनेर थलारी राजा र थलाराका रक्षक देवताहरूलाई हावाकावा खेलाएका थिए रे ! अन्तमा तिनलाई हराएर कौराडी ल्याएका थलारी राजाका चाँदीका थाली, कलश र बाजाहरू अझै पनि कौराडीमैं छन्, उनी भन्थे । कसरी ती वृद्ध मानिसको नाउँ टिप्न छुटाएछु, डायरीमा ? अहिले थक्क थक्क लाग्छ । सेती कर्णाली अञ्चलका सबै पहाडी जिल्लामा पुजिने मस्टो डेटेलीहरूका पनि स्थानीय देवता थिए । बलि नचढ्ने दूधे र बलि चढ्ने दाह््र्या मष्टोका विभिन्न बाह्र रूप पुज्ने सायद साझा लोकअभ्यास हो त्यताको । यिनलाई कूलदेवताकै रूपमा पनि मान्थे उनीहरू र द्यौरालीजस्तो थुम्कोमा थान हुने मष्टोहरू आफ्ना पुजारी धामीका आँगमा चढेर अस्तित्ववान हुने गर्छन्– यो त्यहाँको लोकविश्वास हो । मैले डोटी नपुग्दै सुनेको द्यौकी प्रथाको अवशेष कौराडीमा त्यतिबेला पनि मेटिएको थिएन ! निःसन्तान नागमल्लले आप्mना सन्तानको चाहनामा देवता भाकी अर्को निरिह मानिसको छोराछोरी मन्दिरमा चढाएका सुगरेका भनिने द्यौकी प्रथाको अवशेषका रूपमा दुईजना द्यौकी अहिले पनि छन् कौराडीमा, तिनै वृद्धले सुनाएका थिए त्यतिबेला । डोटेली समाजमा यस्ता अनेकौं किम्बदन्ती थिए, अनेकौं लोकविश्वास थिए । तीमध्ये कतिपय अन्धविश्वास झैं लाग्थे । छपाली लेक हुँदै पाइला टेकिएको तामागिरीसँग पनि त्यस्तै एउटा विश्वास थियो । त्यहाँको शिवलिङ्गमा सधैं एउटा सर्प बेरिएर बस्छ रे । त्यही यात्राको क्रममा सुनेको थिएँ मैले ।
यस्ता धेरै छन्, डोटीका बारेमा मैले देखेका र भोगेका अनुभव–अनुभूति । त्यस्तै अनुपम अनुभूति गाँसिएका थिए २०३६ सालको जेठ २१ गते ज्येष्ठ शुक्ल दशमीको अघिल्ला रात र पछिल्लो दिनका खप्तडबसाइमा ! बाईस पाटन बाउन्न तालको खप्तडले अत्यतिबेला धेरै तालहरूलाई गुमाइसकेको थियो, खाल्टा र डोबिल्कामा साटेर । सबैभन्दा ठूलो खापर दह (खप्तड ताल)लाई सायद् त्यही ताल छेउका खापरेमष्टोले जोगाएका थिए ? प्रसिद्धि भने बाईस मध्येको केदार पाटन कै सुनेको थिएँ त्यतिबेला । स्वर्ण गङ्गा, नील गङ्गा र आकाश गङ्गा तीन नदीको सङ्गमस्थल त्रिवेणीबाट तर झरेको साइलीगाड नै स्कन्द पुराणको साल्मली नदी थियो थिएन मलाई थाहा छैन । तर त्यही पुराणले खेचराद्री पर्वतको नाम दिएको खप्तडको सौन्दर्यले भने मलाई अभिभूत तुल्याएका थिए ती क्षण ! त्यो वास्तवमैं व्यापक क्षेत्र ओगटेर सृटिको सौन्दर्य र जैविक विविधतालाई आफूमा समेटेर अनुपम पर्वतीय छटाको प्रदर्शन गरिरहेको थियो । होचा डाँडाहरूबीच खप्तड पर्वत, त्यसकै मध्यमा रहेको खप्तड ताल (खापर दह), लेकाली बनस्पतिले ढकप्ककै ढाकेर प्राकृतिक गलैंचाजस्तै देखिने चौर र विविध प्रजातिका चराचुरुङ्गी र वास्पति– लाग्थ्यो यो वास्तवमैं यसका चारैतिर रहेका डोटी, बझाङ, बाजुरा र अछाम जिल्लाको मुकुटको रूपमा सुशोभित छ । प्राकृतिक चुचुराबाट बनेका साढे दश हजार फिटजतिको उँचाइमा अवस्थित तीन चुचुराका संयुक्त संरचना सहस्रलिङ्गको प्राकतिक सौन्दर्य मात्र होइन अभ्रख, तामाजस्ता बहुमूल्य धातुको भण्डारमा समेत धनी छ रे खप्तड क्षेत्र । ती तीन चुचुरामध्ये सबैभन्दा अग्लोेलाई शिव मानेर पुज्थे तीर्थालुहरू र अर्को दोस्रोलाई पार्वती तथा तेस्रोलाई गणेश मानेर ! देउडाको रमझम र खप्तड स्वामीसँगको भेट संभवतः जीवनकै बिर्सन नसकिने लाग्छ मलाई । तर त्यो खापर मेलालाई धार्मिक–सांस्कृतिक भावनाभन्दा मद्यपानको खुला मेला बनाएको देख्दा भने कस्तो कस्तो लागेको थियो मलाई !
लोक साहित्यका दृष्टिले त धेरै नै सम्पन्न थियो मैले देखेको डोटी । संस्कार र दैवी चमत्कारमा विश्वास गर्ने गाथा र भजनहरूमात्र होइन डोटेली समाजका विकृति, विसङ्गति, आर्थिक–सामाजिक असमानता र शोषणलाई अभिव्यक्ति दिन पनि कम थिएनन् डोटेली लोकसाहित्यहरू । यिनका बारेमा मेरो डोटेली लोकसंस्कृति र साहित्यमा विषद् चर्चा भैसकेकोले यो सानो लेखमा तिनलाई दाहो¥याउनु उपयुक्त नहोला । यति चाहिँ भनि हालौं, डोटेली लोकसाहित्यका संस्कारजन्य लोककाव्यहरूका बारेमा त्यसअघि पन केही काम भएका थिए, केही सङ्कलन् भएका थिए । तर डोटेली लोकसाहित्यले पोखेका विरह वेदना, आर्थिक, सामाजिक र धार्मिक शोषण तथा तिनैबाट सिर्जित विपन्नता, विदेशी भरिया र दर्वान बन्नुपर्दाका नारी–पुरुष वेदनाका स्वरहरू डोटेली लोकसाहित्यमा प्रशस्तै अभिव्यक्त भए पनि तिनका खासै सङ्कलन र विश्लेषण भएको पाएको थिइन मैले । न त त्यताका लोक कथा, गाउँ खाने कथा र श्रम तथा बालगीतहरूकै पर्याप्त सङ्कलन, अध्ययन र विश्लेषण भएको पाएको थिइँ मैले । त्यसैले मेरो सर्वाधिक ध्यान तिनै विविध पक्षमा केन्द्रित रह्यो डोटेली लोकसंस्कृति र साहित्य (२०३९) मा । त्यति मात्र होइन, लोकजीवन, परम्परा र किम्बदन्तीमा बाँचेका इतिहास; लोकविश्वास र लोक साहित्य–संस्कृतिका अतिरिक्त कतिपय जीवन्त पात्रहरूले समेत सघाएका छन् मलाई मेरा कथाका पात्र बनेर । मेरो डोटी बसाइका क्रममा देखिएका डोटीका कतिपय परिववेश र सन्दर्भहरू मेरा कतिपय कथाहरूका सन्दर्भ र परिवेश बनेका छन् ।
No comments:
Post a Comment