Monday, August 20, 2018

कसरी व्यक्त गरौं म त्यो असहनीय पीडा ! विजय चालिसे


(सुलेख–७१, साउन २०७५ मा प्रकाशित)
अन्ततः पचास वर्षको साथ छाडिन लक्ष्मीले ! २०७४ सालको चैत २८ विहानै छ बजे अस्तालबाट सन्देश आयो– आमाले तपाइलाई खोजिरहनु भएको छ । जतिसक्यो चाँडो आउनोस् ।
आफ्नै स्वास्थ्यको कारण धेरै समयदेखि मोटरसाइकल चलाउन छाडिसकेकोले आफ्नो अर्के साधन छैन । अस्पता ल लाने ल्याउने काममा पुत्रसमान गोविन्द अधिकरीले सघाइरहेक छन् । अघिपछि पनि बिरामीलाई अस्पताल लाने ल्याउन गाडी आवश्यक पर्दा सघाउँदै आएका छिमेकी भतिज निर्मललाई बोलाएर भक्तपुर अस्पताल पुग्दा पौने आठ बजिहाल्यो । लक्ष्मी छट्पटाइरहेकी थिइन । एकोहोरो घ्वार घ्वारको आवाजले भित्रैदेखिको पीडा व्यक्त भइरहेको थियो । अक्सिजन, सलाइन आदिमा जेलिएको शिथील शरीरमा घ्वार घ्वारको गतिसँगै  छात्ती आरनको खलाती झैं मुटु नै बाहिर निस्केला जसरी तलमाथि गरिरहेको देखिन्थ्यो । बोली चार बजेदेखि नै बसिसकेको रहेछ । आँखा टम्म थियो –मानौं उनलाई अब यो संसार हेर्नु छैन, कसैलाई देख्नु छैन । चिकित्सकको टोली प्रयत्नरत रहे पनि तिनको अनुहारमा निराशा प्रष्ट देखिँदै थियो ।
रात बाह्र बजेदेखि नै मलाई खोजेकी रहिछन् । अघिल्लो दिन अस्पतालबाटै साँझ सात आठ बजे घरफर्केको र अलि विसञ्चो पनि भएकोले आधा रातमा बोलाउनु उचित ठानेनछन् अस्पतालमा कुर्न बसेका सहृदयी सहयोगी बन्धुद्वय गोविन्द र भवानीले । म पुग्दा लक्ष्मी बोल्न सक्ने अवस्थामा थिइनन् । प्याक प्याक भइरहेको मुखमा मात्र दुई चम्चा पानी ख्वाउन पाएँ मैले अन्त्यमा । केही भन्न खोजेकी थिइन् होला, त्यो अवसर समेत पाउन सकिन । आठ पचन्नमा त पञ्चतत्वमा विलीन हुन लामो साथ छाडेर महाप्रस्थमा गइहालिन् । साधारण रुघाबाट शुरु भएको क्यान्सर रूपी दानवको एघार महिना लामो यन्त्रणापूर्ण सङ्घर्षमा आखिर पराजित भइन उनी । मेरो सारा संसार अन्धकारमय भयो, जीवनमा अब साँच्चिकै एक्लो अनुभव गरेँ मैले, नितान्त एक्लो  ! त्यस घडी मभित्रको प्रलय कसरी वर्णन गर्ने, उपयुक्त शब्द समेत छैन मसँग !
पाँच दिनको नेपाल मेडिकल कलेज बसाइपछि जेठ २४ गते लक्ष्मीलाई लिएर उपचारार्थ नयाँदिल्ली पुगेको थिएँ म । शुरुमा समस्या ठूलो थिएन, सामान्य रुघाखेकीले दुःख दिएको थियो । रुघाखोकीबाट सुरु भएको सानो समस्या क्यान्सरजस्तो घातक रोगको कारण होला भन्ने के थाहा ? त्यसैले केही दिन घरेलु उपचारमा खर्चनु स्वाभाविक थियो । त्यो घरेलु उपचारले बीसको उन्नाइस पनि नभएपछि पछि अस्पताल धाउने क्रम सुरु भयो । केही समय यो हो कि, त्यो हो को चिकित्सकीय अनुमानमैं समय चिप्लियो । एक्सरेले फोक्सोमा देखाएको दागको निक्र्योल गर्न गरिएको सिटिस्क्यानले पनि यसै हो नभने पछि चिकित्सकको सल्लाहमा नमूना परीक्षण (बायोप्सी) का लागि अर्को पाँच दिन अस्पतालको शैय्यामैं बितिहाल्यो । सीटीस्क्यान गर्दा फोक्सोको वायाँपटि तल्लो खण्डको माथिल्लो भागमा विभाजक नलीलाई समेत च्यापेर बढ्दै गएको सानो मासुको डल्लो देखियो । अरु निश्चि हुन चिकित्सक टोलीका प्रमुख कन्सल्ट्यान्ट डा. के. सी. (कृष्णचन्द्र) देवकोटाले ब्रोन्कुल बायोप्सी गरेर हेर्नु पर्ने सुझाउ दिए, नाइँ भन्ने कुरै भएन ।
उनी बायोप्सीको लागि नमूना (स्याम्पल) निकाल्ने अभियानमा जुटे । म हेर्न चाहन्नथेँ, आफ्नी अति प्रियपत्नीको मुखबाट मोटो नली पसाएर फोक्सोसम्म पु¥याउँदै मासु निकालेको हेर्ने शहस नै जुटाउन सकेको थिइन मैले । तर डाक्टर देवकोटाले नडराउनोस्, म तपाइँलाई सबै देखाउँछु भनेपछि उनकै साथ उभिएर हेरेँ, त्यो प्रक्रिया । डाक्टरले त्यो डल्लोसम्म यन्त्र पु¥याएर नमुना लिन निकै कोसिस गरे । लामो प्रयासपछि बल्ल सफलता मिल्यो सायद । ह्याम्समा नमूना परीक्षणको लागि पठाइएको रिपोर्टका लिन अर्को एक हप्ता लागे पनि रिपोर्ट “निगेटिभ फर मेलिग्नेन्ट सेल” भन्ने आएपछि ढुक्क भएँ । शङ्का गरेजस्तो अर्बूद होइन भन्ने त्यो रिपेर्टको एक एक अक्षर मेरो लागि जीवनदायी शब्द थिए । रातभर आफन्तसग खुशी बाँडेँ मैले ।
त्यो खुशी भनने धेरै लामो समयसम्म टिकेन । भोलिपल्टै डाक्टरलाई रिपोर्ट देखाए पछि डाक्टरले मलाई बिरामी कक्ष (वार्ड) बाहिर बोलाए ।
“धेरै खुशी भइनहाल्नोस्, विजयजी ! रिपोर्टमा निगेटिभ अर्थात मेलिग्नेन्ट सेल होइन भने पनि त्यसमा केही पक्कै छ । मेरो अनुमानमा त्यो मेलिग्नेन्ट क्यान्सर नै हुनुपर्छ । त्यो डल्लो (लम्प) निकै असजिलो ठाउँमा छ, बडो मुस्किलसँग त्यसको नजिक पुग्न सकेको देखिहाल्नुभयो । त्यहिँसम्म उपकरण पठाएर नमूना निकाल्न सकेँ कि सकिन भन्ने कुरामा म आफैं निश्चित छैन । त्यसको लागि चाहिने उपकरण नेपालमा अन्त पनि छैन । सोझै अपरेसन गरेर फालौं भने पनि त्यसले माथिल्लो खण्ड छुट्याउने नलीलाई माथि धकेलिरहेकोले सम्भव छैन । पूरै आधा फोक्सो काटेर फाल्दा शरीरले धान्छ धान्दैन भन्न सकिन्न । त्यसैले विदेशतिर लानु भए राम्रो हुन्छ ।”
क्यान्सर.....! उफ सुन्दा पनि कति पीडादायक । समाजमा क्यान्सरलाई असाध्य र मृत्युको पयार्य मानिँदै आएकोले होला, डाक्टरको कुरा सुन्नासाथ मभित्र एउटा नजानिँदो भयको आतङ्क फैलिएको थियो । चारैतिर अँध्यारो फैलियो, ठूलो पहिरो गयो मभित्र । लगभग पचास वर्ष एकअर्काको छाया बन्दै सबै कुरामा मलाई उन्मुक्त र स्वतन्त्र छाडेर उनले मेरो आजको व्यक्तित्व निर्माणमा सर्वाधिक योगदान गरिन । यसरी आफ्नो अस्तित्वको आधा अंश जीवनसङ्गीनीसँगको विछोडको कल्पना मात्रै पनि मेरोलागि असह्य पीडादायी कल्पना थियो । त्यसैले डाक्टरबाट घातक रोगको आशङ्का सुन्नासाथ डाँको छाडेर रुन चाहन्थेँ म । मेरो पौरूषको झुठो अहंले मलाई त्यसरी डाँको छाडेर रुनबाट पनि रोकिरहेको थियो । अत्यन्त निरिह थिएँ म त्यो क्षण ।
मैले क्यान्सरको क्रूर आक्रमण कति पीडादायक हुन्छ भन्ने नजिकबाट देखिसकेको थिएँ । साथै समयमैं सही उपचार हुन सकेमा यसलाई परास्त गर्न सकिन्छ भन्ने पनि त्यही अनुभवले सिकाएको थियो । यतिखेर श्रीमतीलाई फोक्सोको क्यान्सर हुनसक्ने आशङ्कासँगै ३७ वर्ष अघि स्तनक्यान्सर र त्यसको उपचारमा दिइएको केमोको असरबाट छटपटाइरहनु हुने आमाको अनुहार घरी घरी आँखा अगाडि ठोक्किन आइरहेको थियो । हो त, त्यतिबेला पीडाले छटपटाइरहनु भएकी आमालाई देखेर हामी आफैं छट्पटाउँथ्यौं । आमाको  दायाँ स्तनमा यही दुष्ट क्यान्सरले घातक आक्रमण गरेको थियो । यिनै लक्ष्मीले समयमैं क्यान्सरको त्यो गिर्खो फेला पारेर वीर अस्पताल पु¥यएकी थिइन । त्यहीँ अपरेसन भयो । त्यतिबेला स्वदेशमा केमोको सुविधा नभएकोले बनारस लाग्नु परेको थियो । अहिलेजस्तो उन्नत औषधि र उपचार विधिको विकास नभइसकेको भए पनि समयमैं पत्ता लागेकोले होला आमा त्यसपछिको अठाह्र वर्ष स्वस्थ्य जीवन व्यतीत गर्न सफल हुनु भयो । उपचार क्रममा हुने पीडालाई त कसले रोक्न सक्थ्यो र ? तर के गर्नु ? यसरी लामो समय पिताजीसहित हामी सबै सन्तानले मानसिक पीडाको रौरवमा पौडन परे पनि चिकित्सक र चिकित्सा विज्ञानको सफलताले डेढ दशकसम्म परास्त झैं शरीरको कुनै कुनोमा लुकेर बसेको त्यही कर्कटले १८ वर्षपछि फेरि शिर उठायो । अर्कोपटिको स्तनमा फेरि आक्रमण ग¥यो । त्यतिबेला हामी अलग्याइसकेका थियौं, बाबाआमा भाइको परिवारसँग बस्नुहुन्थ्यो । फेलापारुन्जेलमा रोगले शरीरका विभिन्न ठाउँमा कब्जा जमाइसके छ । फैलिइसकेको त्यही कर्कटले विजयको कर्कस अट्टहास छाड्यो वि.सं. २०५७ असारमा । आमाको भौतिक देह रहेन ।
त्यसैले मन आर्फैंलाई सम्झाउँदै थियो– अहिले नै निराश बन्नु आवश्यक छैन, आफैंलाई सम्हाल । आशङ्का मात्र न हो । सबै आशङ्का सत्य नै हुन्छ भन्ने पनि त होइन । दिल्ली पुगेर थप परीक्षण गर्दा डाक्टर देवकोटाको यो आशङ्का असत्य ठहरिन पनि त सक्छ । सत्य नै भए पनि आज चिकित्सा विज्ञानले हिजोकोभन्दा धेरै फड्को मारिसकेको छ । त्यसैले नडरा । हो नै भने पनि निको हुन्छ । केही समय दुख पाउने भइन, त्यति नहो !
जति नै सान्त्वना दिए पनि मन आतङ्ति थियो, आशङ्कित थियो । त्यही आशङ्का, तिनै आतङ्ककाबीच उपचारका लागि अस्पतालबाट फर्केको तेस्रो दिन अपराह्न दिल्ली उडियो । आधुनिक सञ्चार प्रणालीको प्रयोग गरी दिल्लीको अपोलो अस्पतालमा घरैबाट विशेषज्ञ डाक्टरसँग समय मिलाइसकिएको थियो । नजिकैको होटेल रामपाल प्यलेस बुक भइसकेको थियो । केही समय अघि मात्रै मित्र तेजप्रकाश श्रेष्ठ त्यही अस्पतलमा प्रोष्टेट अपरेसन गरेर फर्केकाले पनि अस्पताल र होटेल बारे पर्याप्त जानकारी र सूचना प्राप्त हुनसकेको थियो । त्यसले गर्दा दिल्ली भ्रमण र अस्पताल तथा होेटलको व्यवस्थापन सहज हुन पुग्यो । अपोलो अस्पतालको अन्तर्राष्ट्रिय विमार सहयोग कक्ष (इन्टरनेशनल पेसेन्ट लाउन्ज– आइपीएल) सँगको विद्युतीय सञ्चारको आदानप्रदानले सबै कुरा व्यवस्थित गर्दै गयो । आइपिएलले दिएको पूर्व सूचना अनुसार नै विमानस्थलमा उनीहरूले पठाएका प्रतिनिधि हातमा लक्ष्मीको नाम लेखिएको परिचायक चिह्न सहित स्वागत गर्न उपस्थित थिए । भन्सारदेखि अध्यागमनसम्मका सम्पूर्ण प्रक्रियामा तिनै प्रतिनिधको पूर्ण सहयोग रह्यो, हाम्रो काम थियो उनको पछि पछि लाग्नु र उनले भनेजस्तै गर्दै जानु ! विमानस्थलको सबै प्रक्रिया पूरा गरेर बाहिर निस्कँदा होटेल पु¥याउने सवारी साधन तम्तयार थियो । ती सहयोगी प्रतिनिधि सवारी साधनको जिम्मा लाएर विदा भए । होेटेल पुग्दा रातको साढे दश बजिसकेको थियो । आलोक पनि टोकियोबाट चार घण्टापछि होटल आइपुग्यो । 
एक साताको नेपाल मेडिकल कलेज अस्पताल बसाइपछि जेठ २४ गते नयाँदिल्लीस्थित अपोलो अस्पतालमा परीक्षण प्रारम्भ भयो । वाथरोग र अन्य समस्याको पनि सामान्य परीक्षण गरिए पनि भयो । मुख्य उपचार अर्बूदकै थियो । त्यसैले अस्पतालको अन्तर्राष्ट्रिय विमार सहयोग कक्षको परामर्श र व्यवस्थामा अर्बूद रोग विभागका कन्सल्ट्यान्ट विशेषज्ञ (सल्यचिकित्सक) प्रोफेसर डाक्टर विश्वनाथ प्रताप सिंह र डा.रुकैया अहमद मिरको टोलीले उपचार प्रारम्भ ग¥यो । नेपालमा हुन नसकेको पेटस्क्यान, युरिया र क्रेटिनाइनको परीक्षणका अतिरिक्त नेपाल मेडिकल कलेजमा गरिएका एकहप्ताभित्रका सबै परीक्षण रिपोर्ट  मान्य भए । त्यसले गर्दा खर्च र समय दुवैको बचत भयो । हामीकहाँ भए एउटा अस्पतालमा गराएको पक्षरीक्षण अर्कोले नमानेर, भोलिपल्टै भए पनि दोहो¥याउन लगाउँथे । महङ्गा परीक्षणलाई नाफाको पेशा बनाउँछन् हाम्रा अस्पताल ।     
भोलिपल्टै पेटस्क्यान गरिए पनि रिपोर्ट आउन अर्को चार दिन लाग्यो । त्यो रिपोर्ट नआउँदै बायोप्सीको लागि दुई दिनका लागि जेठ २७ गते अस्पताल भर्ना गरियो । बायोप्सीको रिपोर्ट ७२ घन्टा कल्चर गर्नु पर्ने भएकोलेफेरि पर्खनै पथ्र्यो । 
“बायोप्सी रिपोर्ट हेरेपछि अपरेसन गर्नु पर्ने भए दुई दिनभित्र गर्छौं । चारपाँच दिन अस्पतामैं बस्नुपर्ला । डिस्चार्ज भएको एक हप्तामा फलोअपका लागि आउनुपर्छ ।” एक प्रकारले डा. रुकैया उपचार यही अनुसार अगि बढ्नेमा विश्वस्त जस्तै देखिइन् । त्यसो भएमा ढिलै भए पनि असारको आधाआधिमा घर फर्कन पाइने संभावना थियो ।
भी. पी. सिंहसँग सल्लाहनै नगरी रुकैयाले त्यो सोच बनाएकी रहिछन् । डा. सिंहले एकपटक अर्को विशेषज्ञसँग डा. अवधेश वंशलसँग सल्लाह गरेर मात्र उपचार योजना अघि बढाउने निर्णय गरेर डा.वंशलकहाँ पठए । उनले रिपोर्ट र बिरामी हेरे पछि कार्वन स्क्यान हो कि, के भन्ने अर्को एउट विशेष न्युक्लियर गामा एक्सरे गराए । एक्सरे सक्नासाथ अपरेसन गरिहाल्ने निर्णयमा पुग्यो चिकित्सक टोली । त्यही दिन भर्ना गरियो अपरेसनको लगि ।
असार २ गते ठीक २  बजे कोठाबाट अपरेसन कक्षमा थेटरमा लगेको, आधा घन्टापछि नै अपरेसन थालिएको भन्ने खबर पाइए पनि घन्टौं घन्टासम्म थप जानकारी पाइएन । एक एक सेकेन्ड सिंगो युग झैं लाग्दै थियो । ठूलो अपरेसन, अपरेसन टेबलमैं जे पनि हुनसक्थ्यो । के भयो, कसो भयो ? कस्तो हुँदैछ ? भन्ने जिज्ञासाले मसहित छोरा छोरी अञ्जु र आलोक पलपल छटपटाइरह्यौं । आठबजेतिर बल्ल साढे पाँच घन्टापछि अपरेसन सकेर आइसयिुमा लगेको खबर पाइयो । डाक्टरले दिएको जानकारीमा अपरेसनलाई पूरापुर पाँच घन्टा लागेछ । वायाँ तर्फको फोक्सो पूरै काटेर फालिएछ । फालिएको भागको नमूना बायोप्सीको लागि पठाइएको छ । त्यो सुनेर हामीले बल्ल निश्चिन्तताको लामो सास फे¥यौं ।
आठबजे तिर डाक्टरले बोलाएपछि आइसियुमा बल्ल देख्न पाइयो । लक्ष्मीको अवस्था देख्दा भने केही क्षण अगाडिको त्यो निश्चिन्तता र सन्तोषको अनुभूति फेरि  भुइमा बज्रिएको पानीको फोकाझैं चकनाचूर हुन पुग्यो । अत्यन्त पीडा भइरहेको थियो उनलाई । एकातिर कोखा चिरेर आधा फोक्सो निकाल्दाको घाउ र त्यसको दुखाइ, कल्पना गर्दा पनि आङ जिरिङ्ग गथ्र्यो । अर्कोतिर आइसियुको रहस्यमय झैं लाग्ने वातावरण, आफन्त देख्न नपाउँदाको अत्यास र अन्य विरामीको पीडायुक्त चित्कार ! यिनै कुराले उनलाई अत्यन्तै निराश बनाएको अनुमान गरेँ मैले । उनी त्यहाँको वातावरण र हेरचाह गर्ने परिचारिकाहरूको शान्त–चीसो व्यवहारले बढी डराएके देखिन्थिन । त्यसैले अपरेसन गरेका ठाउँमा घाउको दुःखाइभन्दा पनि आफ्ना कसैलाइृ भनेको बेलामा भेट्न नपाउनुको न्यास्रो र पूरै पराइपनको वातावरणमा सिर्जना हुने उच्चाहटले उनमा निरनशा छाएको हो कि भन्ने लागेको थियो । डा. रुकैयाको अनुमान पनि त्यस्तै थियो । त्यहाँबाट बाहिरको जनरल वार्ड वा केबिनतिर लान पाउँदा निश्चय नै उनको अवस्था बदलिनसक्थ्यो । चिकित्सकको रायमा अझै आवश्यकता अनुसार आइसियुको रेखदेख जरुरी थियो । भोलिपल्ट पनि डाक्टरले अझै राम्रो नभइसकेकोले आइसीयुमैं राख्दा ठीक हुन्छ भनेपछि अर्को विकल्प रहेन । 
  “लौन मलाई दुख्यो....। मार्छन यिनीहरूले मलाई ! पानी समेत खान नदिएर मार्न लागे । खान पनि दिँदैनन् ।” डाक्टरले होशमा आएको भनेका भए पनि उनी  भोलिपल्ट सम्म पूर्ण होसमा थिइनन्, । तन्द्रामैं जस्तो बर्बराइरहेकी थिइन् । अर्धचेतनमा के के भन्दै थिइ, के के । उनको अवस्था देखेर आँसु थाम्न मुस्किल पर्दैथियो मलाई । त्यत्तिकैमा उनको मुखबाट निस्कियो, “के मलाई साथै घर लान्छु भन्ठान्नुभा’छ ? अब मेरो आश छाडिदिनोस् !”
बेसुरको बर्बराइबीच निस्किएको उनको यस्तो भनाइले मेरा मेरा आँखा नजानेरै बर्सिन थाले, कति गर्द पनि रोक्न सकिन मैले । उनको अवस्था र निराश निराश अभिव्यक्तिबाट मेरा नौनारी गले । म दुवै हातले बिरामीको बेड समातेर अस्पतालको चिसो भुइँमा थुचुक्कै बस्न पुगेछु ।
उनलाई मैले आजभन्दा अगाडि कहिल्यै यति निराश देखेको थिइन । उनले अनेकौं रोगका आक्रमण नखेपेकी पनि होइन । २०३० सालतिरै मेनिन्जइटिसले हप्तौ बेहोश भएर त्यतिबेलाको शान्तभवनमा ढाडबाट पानी झिकेपछि नवजीवन पाएकै हो । आकश्मिक रुपमा अपेन्डिसाटिसको अपरेसन गर्दको पीडा पनि बेहोरेकै हो । पाठेघरको अपरेसन गरेर हप्तौं अस्पतालमा बिताएकै हो । हुँदा हुँदा मेरुदण्डके प्र्mयाक्चर भएर ६ महिनासम्म विछ्यौनामा एकै आशनमा बिताएकी पनि हो । ती कुनै पनि अवस्थामा उनले यसरी आत्मबल गुमाएकी थिइन । तर अहिले.....? त्यतिबेला उनको गुमेको आत्मबल र निराश निराश मनस्थिति देख्दा म भित्रभित्रै अताल्लिएको थिएँ । धेरै समय झेल्न नसकेर त्यो स्थिति म उनलाई त्यही हालतमा छाडी बाहिरिएँ, आइसियुबाट ।
जे होस डाक्टरले एनेस्थेसिया र अरु कुराको असरले गर्दा यस्तो भएके हो, बिस्तारै भोलि पर्सिसम्ममा पुरै होस आउँछ र सबै ठीक हुन्छ भनेका छन् । अझ उपचारपछि बाँकी दाया फोक्सोले ८० प्रतिशत काम गर्छ भनेकाले मन बुझाउन सकिएको छ । चार गते क्याविनमा सारेपछि बल्ल उनको मनस्थितिमा बिस्तारै फरक देखिन थाल्यो । आइसीयुमा  देखिएको निराशामा पनि कमी देखिँदैछ । जीवनप्रतिको आशा बढेझैं लाग्दैछ उनमा । लाग्छ यो आत्मबलले पनि रोग र डिप्रेससँग लड्न मद्दत गर्ला । वार्डमा आएपछि बीचमा कफ निकाल्दा अत्यन्तै कष्ट हुने नयाँ समस्या देखिए पनि स्वस्थ्यमा अरु खलको राम्रो सुधर आएको छ । ठोस केही खानेकुरा खान थालेकी छ । केही पाइला हिँड्न् थालेकी छ । यी सबै कुराले हामीमा पनि उत्साह पलाएको छ ।
अपरेसनको आठौं दिन तीनदिनपछि फलोपमा लानेगरी लक्ष्मीलार्ई लिएर होटेल गइयो । त्यसको भोलिपल्ट आलाके टोकियो फर्कियो, तेस्रो दिन अरुण क्यानाडाबाट आइपुग्यो ।   
अपरेसन पछि दश दिन पछि असार नौ गते बोलाइएको फलोअपमा पुग्दा अर्को बायोप्सी टेस्ट गर्नस्लाइड अन्यत्रै पठाउनु पर्ने पो भन्छन् । त्यसले गर्दा टेस्टको रिपोर्टका लागि अर्को एक हप्ता पर्खनु पर्ने भयो । डाक्टर सिंहको भनाइमा केमोको सुइ नै लाउने कि मुखबाट (ओरल केमो) दिए पनि हुन्छ भन्ने निक्र्योल गर्न यो परीक्षण जरुरी थियो ।
टेस्ट गर्नु नै थियो भने, पहिले गरेको भए पनि हुँन्थ्यो । अलमल्याउने चाल त होइन यो ? मनमा चिसो पस्नु स्वभाविक भए पनि उनैको अनुसार चल्नुको विकल्प थिएन । रिपोर्टको लागि असार २९ सम्म पर्खनु प¥यो । भोेलिपल्टै ३० गते भर्ना गरेर केमो शुरु गरियो । निर्धारित मात्राको औषधी एक वा दुई दिनमैं दिँदा बिरामीलाई सहन गाह्रो पर्ने भएकोले डा. दासले प्रत्येक चरण तीन दिन लगाएर दिने योजना बनाए । नेपालमा पनि त्यसरी नै एक चरणको केमो तीनदिल लगाएर दिने सल्लाह दिए । डा. सिंहले नेपालमैं बाँकी चार चरणको केमो सकेर सबै रिपोर्ट पाठाएर फोन वा इमेलबाट फलोअपको लागि आउनु पर्ने, नपर्ने सल्लाह दिने बताए ।
चारदिनको बसाइपछि अस्पताल छाडेर बल्ल साउन ३ गते विहानै काठमाडौंको लागि विमानस्थल हिँडियो । त्यसरी विमानस्थल पुग्दा मन उमङ्गले सिमलको भुवा झैं हलुको थियो । धेरै तनावबाट मुक्ति थियो त्यो मेरो । पहिलो केमोको नराम्रो असर नदेखिएर लक्ष्मी त्यति चाँडै घरफर्कन सक्ने भएकीमा मन प्रशन्न थियो । साथै अपरेसनको क्रममा र त्यसको अघि पछि पनि क्यान्सरको मानसिक भूतले तर्साउँदा घर फर्काउन पनि पाइने हो होइन भन्ने मानसिक त्राशबाट पनि मुक्ति मिलेको थियो । हामीलाई मात्र होइन, लक्ष्मीमा पनि अब केही हुँदैन भन्ने आत्म विश्वास जागेको थियो । लामो विदेश बसाइबाट न्यास्रिएको मन आफ्नै देशको माटोको सुवासमा लटपटिन पाउँदाको आनन्दानूभूतिले दिएकाो अर्को खाले रमाइलो लाग्नु छँदै थियो । 
त्यही हलुकापनमा विमानस्थलको सम्बन्धित काउन्टरमा पुग्दा भने ती पूर्व उमङ्ग सबै चकनाचूर हुन पुगे । सवारी सुविधादेखि स्टाफलगायत सबबाट पाइएको सहयोग र सेवाबाट अस्पतालले कमाएको मेरो मनभित्रको कृतज्ञताभावमा ग्रहण लाग्यो । टिकट दिन्छु त  बिरामी हवाइ सफरका लागि तन्दुरुस्त छ भन्ने चिकित्सकको प्रमाणपत्र नभई लैजान मिल्दैन पो भन्छन् । त्यो कुरा हामीलाई के थाहा ? अस्पतालले दिनु पर्ने हो, आइपिएलले यस्तो पनि लिनु है भन्नु पर्ने हो । दुबैले त्यसो गरेनन् । मारमा हामी पर्ने भयौं ।
अब के गर्ने ? बोर्डिङ हुुने बेला भइसक्यो । कन्ट्याक्ट गर्न पनि विमानस्थलमा आफ्नो मोवाइलमा इन्टरनेट चल्दैन । काउन्टरकै कर्मचारीको सहयोगमा अस्थायी नेट जोडिपछि अस्पतालमा फोन गरेँ । डाक्टरको फाने मरे लाग्दैन । आइपिएलमा गरेँ, हामी कुरा गछौं भन्छन् । समय मिनेट मिनेटमा चिप्लिँदै छ । अन्नततः डाक्टरको सहयोगी मुकेशसँग सम्पर्क भयो । ऊ भन्छ, डाक्टरकै सही नभई हुँदैन । डाक्टर अपरेसनमा भएकोले कतिबेला निस्कने हो भन्न सकिन्न । उसको कुरा सुनेर पहिलोपल्ट म पनि चर्कै रिसाउन पुगेछु । जतिसक्यो उति चाँडो इमेल गर्छु हेर्दै गर्नु भनेपछि सम्पर्क टुट्यो । नभन्दै त्यसो भनेको दश–पन्द्र मिनेटजति पछि इमेलमा आयो डा. भी.पी. सिंहले हस्ताक्षर गरेको “फिट टु फ्लाइट” को निस्सा । त्यसबीच झेलेको तनाव भने अत्यन्त कष्टकर थियो । त्यो निस्सा नआएको भए उडान छुट्ने संभावना रहन्थ्यो । हुन त अस्पताल सम्पर्क हुन नसक्दा अगाडि नै काउन्टर कर्मचारीले विमान सेवाका चिकित्सक कहाँ मेडिकल रिपोर्टहरू पठाइसकेका थिए । त्यो फिर्ता मगाएर बोर्डिङ पास लिए पछि बल्ल ढुक्क हुन सकियो । विदेशबाट उपचार पश्चात बिरामी घर फर्काउँदा लिनै पर्ने कुरा रहेछ यो, जसको ज्ञान नहुँदा थोरै समयको भए पनि तनाव बेहोर्नु प¥यो ।
       तीन हप्ता बित्यो दोस्रो चरणको केमो दिने समय आयो । नेपाल मेडिकल कलेजका डा. देवकोटाको परामर्श अनुसार नै भक्तपुर क्यान्सर अस्पतालमा बाँकी चरणको केमो दिने तय गरियो । डा. उज्ज्वल चालिसेको सहयोग र आत्मीय व्यवहार अनि सम्पूर्ण परिचारिका टोलीले प्रदान गरेको घरेलू वातारणको अनुभवले कुनै समस्या अनुभव गर्नु परेन ।
तर फर्केको दुई तीन दिनदेखि नै केमोले आफ्नो करामत देखाउन थालिहाल्यो । खाना पटक्कै नरुच्ने, देख्यो कि बमन हेलाजस्तो हुने । पेट हुँडलिएर आउने । कपाल त पूरै झरिहाल्यो । उनको छटपटी देख्दा हामीलाई समेत सहन कठिन पथ्र्यो । आठौं दिन भनिए अनुसारको रक्त परीक्षण गर्दा प्लेटलेट, टोटल ब्लडकाउण्न्ट र हेमोग्लोविन स्वाट्टै घटेको रहेछ । डाक्टरको सल्लाहमा चुकन्दर, पाकेको फर्सी उसिनेर ख्वाउनुका साथै भने अनुसार कै एन्टिबायोटिक्स दिँदा पनि सुबिस्ता नभए पछि डा. उज्ज्वलको सल्लाह अनुसार घरमैं औषधि मिलाएर सलाइन दिने व्यवस्था मिलाइयो । डा. चालिसेसँग हरेक दिन मोवाइमा सम्पर्क हुन्थ्यो, इमेलमा रक्तपरीक्षणको रिपोर्ट पठाउँथेँ । त्यो हेरेर पाइने निर्देशन अनुसर नै थप औषधि दिँदै गयौं । अहँ, कुनै सुधार देखिएन । भदौ १ गते त रातो र सेतो रगत चढाउन भर्नै हुन परिहाल्यो । उनमा दिल्लीमा अपरेसन पछि देखिएको निराशा फेरिए देखिन थाल्यो । फेरि जिन्दगीबाट आशा मार्न थालिन उनले । जे होस् रातो २ र सेतो ९ पिन्ट रगत दिएपछि अवस्था सुध्रियो, एउटा अर्को खड्गो ट¥यो । डाक्टर उज्जवलले मुटुमा समस्या हो कि भन्ने शङ्का गरे । त्यहाँ कार्डियोलोजिस्ट र त्यससम्बन्धी उपचारको सुविधा थिएन । त्यसैले एम्बुलेन्समा ओम अस्पताल लग्यौं, इको र विशेष प्रकारको रगत परीक्षण भयो । मुटुमा केही समस्या नै देखियो । त्यसै अनुसारको औषधि दिँदा पनि नभएपछि पर्सिपल्ट फेरि महाजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टर भर्ना नगरी सुख्खै पाइएन । सिट नभएर इमजेन्सी कुर्दा कुर्दै आधारात वित्यो । ज्वाइँ डा. राजेन्द्र गुरागाईको प्रयासबाट रातको १२ बजे बल्ल एउटा केबिन उपलब्ध हुनसक्यो ।
भर्ना हुन, बेड पाउन  र सिनियर चित्किको सेवा लिन समेत भनसुन नै चाहिने साबिक रोगको शिकार हुनु परेरेै त होला, राज्यकोषको ढुकुटी सिध्याएर उपचारका नाउँमा विदेश धाउने बाहेक हामी निरीह जनता समेत घरखेत बेचेर आवश्यक उपचारको लागि विदेशिन बाध्य पारिन्छौं । सार्वजनिक सरकारी अस्पतालहरूको सेवा, व्यवहार र सुविधा विदेशी अस्पतालमैं जस्तो हुँदो हो त यस्तो बाध्यता रहँदैनथ्यो होला ।
एक हप्ताको मनमोहन बसाइबाट अवस्थामा सुधार आयो । तेस्रो चराणको केमो दिन मिल्ने भएकोले घरै नगई त्यतैबाट फेरि भक्तपुर लगियो बिरामीलाई । यस पल्ट अस्पलातमा पूरै तीन हप्ता बिताउनु प¥यो ।
अब त कुनै समस्य नआउला भनेको, सेचेजस्तो के हुन्थ्यो । प्लेटलेट फेरि ६ सयमा झरेछ । डाक्टरले भने अनुसार रातारात भक्तपुर पुगेर गोविन्दले (गोविन्द अधिकारी) प्लेटलेट बढाउने सुइ ल्याएर दिएपछि प्लेटलेटको समस्या ठीक भए पनि अर्को समस्या देखाप¥यो । पिसाबमा संक्रमण देखिएर नेपाल मेडिकल कलेजको इमर्जेन्सी वार्ड नपु¥याइ धरै पाइएन । 
अशोजको पहिलो हप्ता दिनु पर्ने केमो सेतो रगतको मात्रा लगायत अन्य तत्व चाहिनेभन्दा बढी देखिएपछि दिन मिलेन । दुई तीन दिन अस्पताल बसेर दशैंपछि आउने गरी फूलपातीको अघिल्लो दिन घर फर्किनु प¥यो । दशैंको टीका सकेर फेरि अस्पताल भर्ना भएर बल्ल चौथो केमो दिन सकियो । १९ गते घर फर्केका थियौं, तेस्रो दिनदेखि फेरिे अनेकौं जटिलता देखिन थाल्यो ।
भक्तपुरले यस पटक पनि कार्डियाक समस्या नै देखाएर मनमोहन  पठायो । उता मनमोहनका डक्टर कार्डियाक सम्बन्धी समस्या होइन, यहाँ भर्ना गर्न मिल्दैन भन्छन् । केही नलागेपछि टिचिङ अस्पताल लग्नु प¥यो । त्यहाँ पनि क्यान्सरको समस्या हो, भक्तपुर नै लानोस् भन्छन् । के गर्ने कसो गर्नेको बीच छट्पटाउनु बाहेक अर्के उपाय थिएन । एउट नागरिकले शिुल्क होइन लागेको सबै खर्च बोहेर्छौं, भर्ना गरेर उपचार गर्देऊ भन्न्दा समेत नपाइने यस्तो अवस्थाले न हो सिंगो सरकारप्रति वितृष्णा फैलने । अनि त्यो वितृष्णाले विद्रोहजन्य तोडफोडको निकास नखोजेर के गरोस् त ? धन्न हामी नेपाली अत्यन्त सहनशी रहेछौं, जेजस्तो अव्यवस्था पनि सजिलै सहिदिने । एउटा सरकारी अस्पतालले नै सिफारिस गरेर पठाएको गंभीर बिरामीको समेत यस्तो रमिता बनाउने मनमोहन र टिचिङ अस्पतालका केही चिकित्सकको अमानवीय र असंवेदनबील व्यवहार नै त हो सबै सरकारी अस्पताल र डक्टरहरूप्रति वितृष्णा र घृृणा उत्पन्न गराउने !
यी अस्पतालहरूमा बेला बखत रोगीका आफन्तहरूले तोडफोड गरेको समाचार सुनिन्थ्यो । अस्पतालजस्तो ठाउँमा किन त्यसो गरेको होला भन्ने लग्थ्यो । यतिबेला आफ्नै बिरामीले बेहोर्न परेको अमानवीय व्यवहारबाट लाग्यो यस्तै भएर त होला ! मनमोहनमा भक्तपुरबाट डा. उज्ज्वलले पठाएका थिए । त्यहाँ भर्ना नलिएको जानकारी गराएको केही बेरपछि डा. उज्जवलको फोन आयो– डा. अच्यूतसँग कुरा गरेको छु, पठाइदिनोस् भनेका छन् । लानु भए हुन्छ । उनले इमर्जेन्सीमा भनिसकेका छन् ।
मलाई भने त्यहाँका डाक्टरको सुरु व्यवहार देखेर लानै मन लागेन । किन माथिल्लो पदाधिकारीलाई भन्नु भनेर मात्र, नभए टिचिङमा भर्ना गर्न खासै समस्या थिएन । अर्को सुरुमा डा. गुरागाईसँग फोन कन्ट्टयाक्ट हुन सकेन । उहाँसँग सम्पर्क भएर समस्या राखेको केही बेरपछि त पहिले भर्ना गर्न पर्दैन लैजानोस् भन्ने डाक्टर आफैं आएर भर्ना प्रक्रिया अघि बढाइहाले । यो थियो हाम्रो सरकारी÷सामुदायिक अस्पतालहरूको यथार्थ । सोर्सफोर्स बिना रोगीले उपचार समेत पाउन नसक्ने ! ठूलाबडाहरू रुघा लागेर अस्पताल आउँदा पनि डाक्टर र नर्सको लाम लाग्ने मेरो देश, सार्वभौम भनिने एउटा नागरिक सिकिस्त भएर अस्पताल पुग्दा पनि भर्ना हुन नपाएर फर्कनु परेर अकाल मृत्युको यथार्थ भोग्छ । हाय रे मेरो डिम्बना ! निजी र विदेशका अस्पतालको दाना पानी पो खेल पो हो ?
जे होस् भर्नाको महाभारत जसरी तसरी जितियो । डा. उज्जवललाई पनि जानकारी गराएँ । डा. गुरागाइँको अनुरोधमा मनमोहनका डा. अच्युत पौडेल र अर्का एक जना विशेषज्ञ टिचिङमै आएर हेरिदिने भए । यसरी अशोज ३१ गते भर्ना भएर एघार दिन त्यहीँ बिताएपछि बल्ल घर पर्किन पाइयो ।
भक्तपुर छँदै माछा खाँदा लक्ष्मीको जिब्रोमा काँडाले घोचेको थियो । त्यतिबेलैदेखि कहिले कहिँ चस्कियो भने पनि ठूलो यसले ठूलो ल्याउला भन्ने न डाक्टरले सोचे, न हामीले सोच्यौं । केही पछि कान दुख्यो भनेर टिचिङ अस्पतालमा परीक्षण गराउँदा पो कान नभएर काँडा बिझेको जिब्राको त्यही गिर्खोको कारण पीडा भएको थाहा भयो । निश्चित हुन गिर्खोबाट पानी निकालेर जाँचियो । त्यतिले नपुगेर बायोप्सी गर्दा त्यसको रिपार्टले जिब्रोमा क्यान्सर देखाए पछि फेरि मैले टेकेको धैर्यको जमिनमा ठूलो पहिरो खस्यो । फोक्सोको क्यान्सलाई पराजित गरेको मेरो मिथ्या भ्रमको पर्दा च्यातियो ।
अपोलोका अस्पतालका चिकित्सहसँग निरन्तर सम्पर्कमा थियौं । उनीहरूले केमो दिँदा समस्या आएको भए चौथो पछि थप रोक्नेसल्लाह दिएका थिए । डा. उज्ज्वल र डा. गुरागाइले पनि टिचिङ अस्पतालका क्यान्सर विशेषज्ञहरूसँग सल्लाह गरेर पनि एक पटक पेट सिटी गरेर मात्रै निर्णय गर्नुपर्ला भन्ने राय दिनुभयो । पेटसिटीको लागि सौर्य डाइनेस्टिकले दिएको समयमा नैे परीक्षण भयो । निर्धारित समयं चैतको शुरुमा पेट सीटी स्क्यानको रिपार्टले हातप¥यो । फोक्सोमा डराउनु पर्ने क्यान्सरको ग्रन्थीहरू नदेखिए पनि जिब्रोमा भने क्यान्सर देखियो । त्यसले घाँटीतिर पनि जरो फैलाइसकेछ । फेरि अर्को पहाड खस्यो हाम्रो विश्वासमाथि । दिल्लीदेखि दुष्ट क्यान्सरलाई परास्त गरेको  अनुमान त मात्र भ्रम पो रहेछ । आखिर खोस्ने नै भयो जीवनसंगिनीलाई । मनमा यस्तै कुरा खेलाउनु बाहेक के नै गर्न सकिन्थ्यो र ?
पेट सीटीको रिपोर्ट हेरेपछि डा. गुरागाइँले फेरि अन्कोलोजिस्टसँग सल्लाह गरेर हल्का खालको कम मात्राको केमो दिनु राम्रो हुने सल्लाह दिनुभयो । फेरि भक्तपुर कै शरणमा पुगियो डा. उज्ज्वलसँगको सल्लाहपछि । चैत १४ गते शुरु गरेर सात दिनभित्र तीन चरण पुरा गरियो एक दिने केमो । अफसोच, कुनै उपाय लागेन । असह्य पीडासँगै शरीर क्षीण हुँदै गयो । असह्य पीडा र समस्याका बीच २७ गते अस्पताल पु¥याए पनि असह्य पीडा र वेदना मेरो भागमा छाड्दै भोलिपल्ट विहान ८. ५५ बजे उनी कार्डिक एरेस्टको प्रहारबाट बिदा भइन् संसारबाटै । पचास वर्ष पुग्न ठीक एकहप्ता बाँकी थियो, त्यति पनि पनिन् उनले !