Showing posts with label Sansmaran. Show all posts
Showing posts with label Sansmaran. Show all posts

Monday, August 20, 2018

कसरी व्यक्त गरौं म त्यो असहनीय पीडा ! विजय चालिसे


(सुलेख–७१, साउन २०७५ मा प्रकाशित)
अन्ततः पचास वर्षको साथ छाडिन लक्ष्मीले ! २०७४ सालको चैत २८ विहानै छ बजे अस्तालबाट सन्देश आयो– आमाले तपाइलाई खोजिरहनु भएको छ । जतिसक्यो चाँडो आउनोस् ।
आफ्नै स्वास्थ्यको कारण धेरै समयदेखि मोटरसाइकल चलाउन छाडिसकेकोले आफ्नो अर्के साधन छैन । अस्पता ल लाने ल्याउने काममा पुत्रसमान गोविन्द अधिकरीले सघाइरहेक छन् । अघिपछि पनि बिरामीलाई अस्पताल लाने ल्याउन गाडी आवश्यक पर्दा सघाउँदै आएका छिमेकी भतिज निर्मललाई बोलाएर भक्तपुर अस्पताल पुग्दा पौने आठ बजिहाल्यो । लक्ष्मी छट्पटाइरहेकी थिइन । एकोहोरो घ्वार घ्वारको आवाजले भित्रैदेखिको पीडा व्यक्त भइरहेको थियो । अक्सिजन, सलाइन आदिमा जेलिएको शिथील शरीरमा घ्वार घ्वारको गतिसँगै  छात्ती आरनको खलाती झैं मुटु नै बाहिर निस्केला जसरी तलमाथि गरिरहेको देखिन्थ्यो । बोली चार बजेदेखि नै बसिसकेको रहेछ । आँखा टम्म थियो –मानौं उनलाई अब यो संसार हेर्नु छैन, कसैलाई देख्नु छैन । चिकित्सकको टोली प्रयत्नरत रहे पनि तिनको अनुहारमा निराशा प्रष्ट देखिँदै थियो ।
रात बाह्र बजेदेखि नै मलाई खोजेकी रहिछन् । अघिल्लो दिन अस्पतालबाटै साँझ सात आठ बजे घरफर्केको र अलि विसञ्चो पनि भएकोले आधा रातमा बोलाउनु उचित ठानेनछन् अस्पतालमा कुर्न बसेका सहृदयी सहयोगी बन्धुद्वय गोविन्द र भवानीले । म पुग्दा लक्ष्मी बोल्न सक्ने अवस्थामा थिइनन् । प्याक प्याक भइरहेको मुखमा मात्र दुई चम्चा पानी ख्वाउन पाएँ मैले अन्त्यमा । केही भन्न खोजेकी थिइन् होला, त्यो अवसर समेत पाउन सकिन । आठ पचन्नमा त पञ्चतत्वमा विलीन हुन लामो साथ छाडेर महाप्रस्थमा गइहालिन् । साधारण रुघाबाट शुरु भएको क्यान्सर रूपी दानवको एघार महिना लामो यन्त्रणापूर्ण सङ्घर्षमा आखिर पराजित भइन उनी । मेरो सारा संसार अन्धकारमय भयो, जीवनमा अब साँच्चिकै एक्लो अनुभव गरेँ मैले, नितान्त एक्लो  ! त्यस घडी मभित्रको प्रलय कसरी वर्णन गर्ने, उपयुक्त शब्द समेत छैन मसँग !
पाँच दिनको नेपाल मेडिकल कलेज बसाइपछि जेठ २४ गते लक्ष्मीलाई लिएर उपचारार्थ नयाँदिल्ली पुगेको थिएँ म । शुरुमा समस्या ठूलो थिएन, सामान्य रुघाखेकीले दुःख दिएको थियो । रुघाखोकीबाट सुरु भएको सानो समस्या क्यान्सरजस्तो घातक रोगको कारण होला भन्ने के थाहा ? त्यसैले केही दिन घरेलु उपचारमा खर्चनु स्वाभाविक थियो । त्यो घरेलु उपचारले बीसको उन्नाइस पनि नभएपछि पछि अस्पताल धाउने क्रम सुरु भयो । केही समय यो हो कि, त्यो हो को चिकित्सकीय अनुमानमैं समय चिप्लियो । एक्सरेले फोक्सोमा देखाएको दागको निक्र्योल गर्न गरिएको सिटिस्क्यानले पनि यसै हो नभने पछि चिकित्सकको सल्लाहमा नमूना परीक्षण (बायोप्सी) का लागि अर्को पाँच दिन अस्पतालको शैय्यामैं बितिहाल्यो । सीटीस्क्यान गर्दा फोक्सोको वायाँपटि तल्लो खण्डको माथिल्लो भागमा विभाजक नलीलाई समेत च्यापेर बढ्दै गएको सानो मासुको डल्लो देखियो । अरु निश्चि हुन चिकित्सक टोलीका प्रमुख कन्सल्ट्यान्ट डा. के. सी. (कृष्णचन्द्र) देवकोटाले ब्रोन्कुल बायोप्सी गरेर हेर्नु पर्ने सुझाउ दिए, नाइँ भन्ने कुरै भएन ।
उनी बायोप्सीको लागि नमूना (स्याम्पल) निकाल्ने अभियानमा जुटे । म हेर्न चाहन्नथेँ, आफ्नी अति प्रियपत्नीको मुखबाट मोटो नली पसाएर फोक्सोसम्म पु¥याउँदै मासु निकालेको हेर्ने शहस नै जुटाउन सकेको थिइन मैले । तर डाक्टर देवकोटाले नडराउनोस्, म तपाइँलाई सबै देखाउँछु भनेपछि उनकै साथ उभिएर हेरेँ, त्यो प्रक्रिया । डाक्टरले त्यो डल्लोसम्म यन्त्र पु¥याएर नमुना लिन निकै कोसिस गरे । लामो प्रयासपछि बल्ल सफलता मिल्यो सायद । ह्याम्समा नमूना परीक्षणको लागि पठाइएको रिपोर्टका लिन अर्को एक हप्ता लागे पनि रिपोर्ट “निगेटिभ फर मेलिग्नेन्ट सेल” भन्ने आएपछि ढुक्क भएँ । शङ्का गरेजस्तो अर्बूद होइन भन्ने त्यो रिपेर्टको एक एक अक्षर मेरो लागि जीवनदायी शब्द थिए । रातभर आफन्तसग खुशी बाँडेँ मैले ।
त्यो खुशी भनने धेरै लामो समयसम्म टिकेन । भोलिपल्टै डाक्टरलाई रिपोर्ट देखाए पछि डाक्टरले मलाई बिरामी कक्ष (वार्ड) बाहिर बोलाए ।
“धेरै खुशी भइनहाल्नोस्, विजयजी ! रिपोर्टमा निगेटिभ अर्थात मेलिग्नेन्ट सेल होइन भने पनि त्यसमा केही पक्कै छ । मेरो अनुमानमा त्यो मेलिग्नेन्ट क्यान्सर नै हुनुपर्छ । त्यो डल्लो (लम्प) निकै असजिलो ठाउँमा छ, बडो मुस्किलसँग त्यसको नजिक पुग्न सकेको देखिहाल्नुभयो । त्यहिँसम्म उपकरण पठाएर नमूना निकाल्न सकेँ कि सकिन भन्ने कुरामा म आफैं निश्चित छैन । त्यसको लागि चाहिने उपकरण नेपालमा अन्त पनि छैन । सोझै अपरेसन गरेर फालौं भने पनि त्यसले माथिल्लो खण्ड छुट्याउने नलीलाई माथि धकेलिरहेकोले सम्भव छैन । पूरै आधा फोक्सो काटेर फाल्दा शरीरले धान्छ धान्दैन भन्न सकिन्न । त्यसैले विदेशतिर लानु भए राम्रो हुन्छ ।”
क्यान्सर.....! उफ सुन्दा पनि कति पीडादायक । समाजमा क्यान्सरलाई असाध्य र मृत्युको पयार्य मानिँदै आएकोले होला, डाक्टरको कुरा सुन्नासाथ मभित्र एउटा नजानिँदो भयको आतङ्क फैलिएको थियो । चारैतिर अँध्यारो फैलियो, ठूलो पहिरो गयो मभित्र । लगभग पचास वर्ष एकअर्काको छाया बन्दै सबै कुरामा मलाई उन्मुक्त र स्वतन्त्र छाडेर उनले मेरो आजको व्यक्तित्व निर्माणमा सर्वाधिक योगदान गरिन । यसरी आफ्नो अस्तित्वको आधा अंश जीवनसङ्गीनीसँगको विछोडको कल्पना मात्रै पनि मेरोलागि असह्य पीडादायी कल्पना थियो । त्यसैले डाक्टरबाट घातक रोगको आशङ्का सुन्नासाथ डाँको छाडेर रुन चाहन्थेँ म । मेरो पौरूषको झुठो अहंले मलाई त्यसरी डाँको छाडेर रुनबाट पनि रोकिरहेको थियो । अत्यन्त निरिह थिएँ म त्यो क्षण ।
मैले क्यान्सरको क्रूर आक्रमण कति पीडादायक हुन्छ भन्ने नजिकबाट देखिसकेको थिएँ । साथै समयमैं सही उपचार हुन सकेमा यसलाई परास्त गर्न सकिन्छ भन्ने पनि त्यही अनुभवले सिकाएको थियो । यतिखेर श्रीमतीलाई फोक्सोको क्यान्सर हुनसक्ने आशङ्कासँगै ३७ वर्ष अघि स्तनक्यान्सर र त्यसको उपचारमा दिइएको केमोको असरबाट छटपटाइरहनु हुने आमाको अनुहार घरी घरी आँखा अगाडि ठोक्किन आइरहेको थियो । हो त, त्यतिबेला पीडाले छटपटाइरहनु भएकी आमालाई देखेर हामी आफैं छट्पटाउँथ्यौं । आमाको  दायाँ स्तनमा यही दुष्ट क्यान्सरले घातक आक्रमण गरेको थियो । यिनै लक्ष्मीले समयमैं क्यान्सरको त्यो गिर्खो फेला पारेर वीर अस्पताल पु¥यएकी थिइन । त्यहीँ अपरेसन भयो । त्यतिबेला स्वदेशमा केमोको सुविधा नभएकोले बनारस लाग्नु परेको थियो । अहिलेजस्तो उन्नत औषधि र उपचार विधिको विकास नभइसकेको भए पनि समयमैं पत्ता लागेकोले होला आमा त्यसपछिको अठाह्र वर्ष स्वस्थ्य जीवन व्यतीत गर्न सफल हुनु भयो । उपचार क्रममा हुने पीडालाई त कसले रोक्न सक्थ्यो र ? तर के गर्नु ? यसरी लामो समय पिताजीसहित हामी सबै सन्तानले मानसिक पीडाको रौरवमा पौडन परे पनि चिकित्सक र चिकित्सा विज्ञानको सफलताले डेढ दशकसम्म परास्त झैं शरीरको कुनै कुनोमा लुकेर बसेको त्यही कर्कटले १८ वर्षपछि फेरि शिर उठायो । अर्कोपटिको स्तनमा फेरि आक्रमण ग¥यो । त्यतिबेला हामी अलग्याइसकेका थियौं, बाबाआमा भाइको परिवारसँग बस्नुहुन्थ्यो । फेलापारुन्जेलमा रोगले शरीरका विभिन्न ठाउँमा कब्जा जमाइसके छ । फैलिइसकेको त्यही कर्कटले विजयको कर्कस अट्टहास छाड्यो वि.सं. २०५७ असारमा । आमाको भौतिक देह रहेन ।
त्यसैले मन आर्फैंलाई सम्झाउँदै थियो– अहिले नै निराश बन्नु आवश्यक छैन, आफैंलाई सम्हाल । आशङ्का मात्र न हो । सबै आशङ्का सत्य नै हुन्छ भन्ने पनि त होइन । दिल्ली पुगेर थप परीक्षण गर्दा डाक्टर देवकोटाको यो आशङ्का असत्य ठहरिन पनि त सक्छ । सत्य नै भए पनि आज चिकित्सा विज्ञानले हिजोकोभन्दा धेरै फड्को मारिसकेको छ । त्यसैले नडरा । हो नै भने पनि निको हुन्छ । केही समय दुख पाउने भइन, त्यति नहो !
जति नै सान्त्वना दिए पनि मन आतङ्ति थियो, आशङ्कित थियो । त्यही आशङ्का, तिनै आतङ्ककाबीच उपचारका लागि अस्पतालबाट फर्केको तेस्रो दिन अपराह्न दिल्ली उडियो । आधुनिक सञ्चार प्रणालीको प्रयोग गरी दिल्लीको अपोलो अस्पतालमा घरैबाट विशेषज्ञ डाक्टरसँग समय मिलाइसकिएको थियो । नजिकैको होटेल रामपाल प्यलेस बुक भइसकेको थियो । केही समय अघि मात्रै मित्र तेजप्रकाश श्रेष्ठ त्यही अस्पतलमा प्रोष्टेट अपरेसन गरेर फर्केकाले पनि अस्पताल र होटेल बारे पर्याप्त जानकारी र सूचना प्राप्त हुनसकेको थियो । त्यसले गर्दा दिल्ली भ्रमण र अस्पताल तथा होेटलको व्यवस्थापन सहज हुन पुग्यो । अपोलो अस्पतालको अन्तर्राष्ट्रिय विमार सहयोग कक्ष (इन्टरनेशनल पेसेन्ट लाउन्ज– आइपीएल) सँगको विद्युतीय सञ्चारको आदानप्रदानले सबै कुरा व्यवस्थित गर्दै गयो । आइपिएलले दिएको पूर्व सूचना अनुसार नै विमानस्थलमा उनीहरूले पठाएका प्रतिनिधि हातमा लक्ष्मीको नाम लेखिएको परिचायक चिह्न सहित स्वागत गर्न उपस्थित थिए । भन्सारदेखि अध्यागमनसम्मका सम्पूर्ण प्रक्रियामा तिनै प्रतिनिधको पूर्ण सहयोग रह्यो, हाम्रो काम थियो उनको पछि पछि लाग्नु र उनले भनेजस्तै गर्दै जानु ! विमानस्थलको सबै प्रक्रिया पूरा गरेर बाहिर निस्कँदा होटेल पु¥याउने सवारी साधन तम्तयार थियो । ती सहयोगी प्रतिनिधि सवारी साधनको जिम्मा लाएर विदा भए । होेटेल पुग्दा रातको साढे दश बजिसकेको थियो । आलोक पनि टोकियोबाट चार घण्टापछि होटल आइपुग्यो । 
एक साताको नेपाल मेडिकल कलेज अस्पताल बसाइपछि जेठ २४ गते नयाँदिल्लीस्थित अपोलो अस्पतालमा परीक्षण प्रारम्भ भयो । वाथरोग र अन्य समस्याको पनि सामान्य परीक्षण गरिए पनि भयो । मुख्य उपचार अर्बूदकै थियो । त्यसैले अस्पतालको अन्तर्राष्ट्रिय विमार सहयोग कक्षको परामर्श र व्यवस्थामा अर्बूद रोग विभागका कन्सल्ट्यान्ट विशेषज्ञ (सल्यचिकित्सक) प्रोफेसर डाक्टर विश्वनाथ प्रताप सिंह र डा.रुकैया अहमद मिरको टोलीले उपचार प्रारम्भ ग¥यो । नेपालमा हुन नसकेको पेटस्क्यान, युरिया र क्रेटिनाइनको परीक्षणका अतिरिक्त नेपाल मेडिकल कलेजमा गरिएका एकहप्ताभित्रका सबै परीक्षण रिपोर्ट  मान्य भए । त्यसले गर्दा खर्च र समय दुवैको बचत भयो । हामीकहाँ भए एउटा अस्पतालमा गराएको पक्षरीक्षण अर्कोले नमानेर, भोलिपल्टै भए पनि दोहो¥याउन लगाउँथे । महङ्गा परीक्षणलाई नाफाको पेशा बनाउँछन् हाम्रा अस्पताल ।     
भोलिपल्टै पेटस्क्यान गरिए पनि रिपोर्ट आउन अर्को चार दिन लाग्यो । त्यो रिपोर्ट नआउँदै बायोप्सीको लागि दुई दिनका लागि जेठ २७ गते अस्पताल भर्ना गरियो । बायोप्सीको रिपोर्ट ७२ घन्टा कल्चर गर्नु पर्ने भएकोलेफेरि पर्खनै पथ्र्यो । 
“बायोप्सी रिपोर्ट हेरेपछि अपरेसन गर्नु पर्ने भए दुई दिनभित्र गर्छौं । चारपाँच दिन अस्पतामैं बस्नुपर्ला । डिस्चार्ज भएको एक हप्तामा फलोअपका लागि आउनुपर्छ ।” एक प्रकारले डा. रुकैया उपचार यही अनुसार अगि बढ्नेमा विश्वस्त जस्तै देखिइन् । त्यसो भएमा ढिलै भए पनि असारको आधाआधिमा घर फर्कन पाइने संभावना थियो ।
भी. पी. सिंहसँग सल्लाहनै नगरी रुकैयाले त्यो सोच बनाएकी रहिछन् । डा. सिंहले एकपटक अर्को विशेषज्ञसँग डा. अवधेश वंशलसँग सल्लाह गरेर मात्र उपचार योजना अघि बढाउने निर्णय गरेर डा.वंशलकहाँ पठए । उनले रिपोर्ट र बिरामी हेरे पछि कार्वन स्क्यान हो कि, के भन्ने अर्को एउट विशेष न्युक्लियर गामा एक्सरे गराए । एक्सरे सक्नासाथ अपरेसन गरिहाल्ने निर्णयमा पुग्यो चिकित्सक टोली । त्यही दिन भर्ना गरियो अपरेसनको लगि ।
असार २ गते ठीक २  बजे कोठाबाट अपरेसन कक्षमा थेटरमा लगेको, आधा घन्टापछि नै अपरेसन थालिएको भन्ने खबर पाइए पनि घन्टौं घन्टासम्म थप जानकारी पाइएन । एक एक सेकेन्ड सिंगो युग झैं लाग्दै थियो । ठूलो अपरेसन, अपरेसन टेबलमैं जे पनि हुनसक्थ्यो । के भयो, कसो भयो ? कस्तो हुँदैछ ? भन्ने जिज्ञासाले मसहित छोरा छोरी अञ्जु र आलोक पलपल छटपटाइरह्यौं । आठबजेतिर बल्ल साढे पाँच घन्टापछि अपरेसन सकेर आइसयिुमा लगेको खबर पाइयो । डाक्टरले दिएको जानकारीमा अपरेसनलाई पूरापुर पाँच घन्टा लागेछ । वायाँ तर्फको फोक्सो पूरै काटेर फालिएछ । फालिएको भागको नमूना बायोप्सीको लागि पठाइएको छ । त्यो सुनेर हामीले बल्ल निश्चिन्तताको लामो सास फे¥यौं ।
आठबजे तिर डाक्टरले बोलाएपछि आइसियुमा बल्ल देख्न पाइयो । लक्ष्मीको अवस्था देख्दा भने केही क्षण अगाडिको त्यो निश्चिन्तता र सन्तोषको अनुभूति फेरि  भुइमा बज्रिएको पानीको फोकाझैं चकनाचूर हुन पुग्यो । अत्यन्त पीडा भइरहेको थियो उनलाई । एकातिर कोखा चिरेर आधा फोक्सो निकाल्दाको घाउ र त्यसको दुखाइ, कल्पना गर्दा पनि आङ जिरिङ्ग गथ्र्यो । अर्कोतिर आइसियुको रहस्यमय झैं लाग्ने वातावरण, आफन्त देख्न नपाउँदाको अत्यास र अन्य विरामीको पीडायुक्त चित्कार ! यिनै कुराले उनलाई अत्यन्तै निराश बनाएको अनुमान गरेँ मैले । उनी त्यहाँको वातावरण र हेरचाह गर्ने परिचारिकाहरूको शान्त–चीसो व्यवहारले बढी डराएके देखिन्थिन । त्यसैले अपरेसन गरेका ठाउँमा घाउको दुःखाइभन्दा पनि आफ्ना कसैलाइृ भनेको बेलामा भेट्न नपाउनुको न्यास्रो र पूरै पराइपनको वातावरणमा सिर्जना हुने उच्चाहटले उनमा निरनशा छाएको हो कि भन्ने लागेको थियो । डा. रुकैयाको अनुमान पनि त्यस्तै थियो । त्यहाँबाट बाहिरको जनरल वार्ड वा केबिनतिर लान पाउँदा निश्चय नै उनको अवस्था बदलिनसक्थ्यो । चिकित्सकको रायमा अझै आवश्यकता अनुसार आइसियुको रेखदेख जरुरी थियो । भोलिपल्ट पनि डाक्टरले अझै राम्रो नभइसकेकोले आइसीयुमैं राख्दा ठीक हुन्छ भनेपछि अर्को विकल्प रहेन । 
  “लौन मलाई दुख्यो....। मार्छन यिनीहरूले मलाई ! पानी समेत खान नदिएर मार्न लागे । खान पनि दिँदैनन् ।” डाक्टरले होशमा आएको भनेका भए पनि उनी  भोलिपल्ट सम्म पूर्ण होसमा थिइनन्, । तन्द्रामैं जस्तो बर्बराइरहेकी थिइन् । अर्धचेतनमा के के भन्दै थिइ, के के । उनको अवस्था देखेर आँसु थाम्न मुस्किल पर्दैथियो मलाई । त्यत्तिकैमा उनको मुखबाट निस्कियो, “के मलाई साथै घर लान्छु भन्ठान्नुभा’छ ? अब मेरो आश छाडिदिनोस् !”
बेसुरको बर्बराइबीच निस्किएको उनको यस्तो भनाइले मेरा मेरा आँखा नजानेरै बर्सिन थाले, कति गर्द पनि रोक्न सकिन मैले । उनको अवस्था र निराश निराश अभिव्यक्तिबाट मेरा नौनारी गले । म दुवै हातले बिरामीको बेड समातेर अस्पतालको चिसो भुइँमा थुचुक्कै बस्न पुगेछु ।
उनलाई मैले आजभन्दा अगाडि कहिल्यै यति निराश देखेको थिइन । उनले अनेकौं रोगका आक्रमण नखेपेकी पनि होइन । २०३० सालतिरै मेनिन्जइटिसले हप्तौ बेहोश भएर त्यतिबेलाको शान्तभवनमा ढाडबाट पानी झिकेपछि नवजीवन पाएकै हो । आकश्मिक रुपमा अपेन्डिसाटिसको अपरेसन गर्दको पीडा पनि बेहोरेकै हो । पाठेघरको अपरेसन गरेर हप्तौं अस्पतालमा बिताएकै हो । हुँदा हुँदा मेरुदण्डके प्र्mयाक्चर भएर ६ महिनासम्म विछ्यौनामा एकै आशनमा बिताएकी पनि हो । ती कुनै पनि अवस्थामा उनले यसरी आत्मबल गुमाएकी थिइन । तर अहिले.....? त्यतिबेला उनको गुमेको आत्मबल र निराश निराश मनस्थिति देख्दा म भित्रभित्रै अताल्लिएको थिएँ । धेरै समय झेल्न नसकेर त्यो स्थिति म उनलाई त्यही हालतमा छाडी बाहिरिएँ, आइसियुबाट ।
जे होस डाक्टरले एनेस्थेसिया र अरु कुराको असरले गर्दा यस्तो भएके हो, बिस्तारै भोलि पर्सिसम्ममा पुरै होस आउँछ र सबै ठीक हुन्छ भनेका छन् । अझ उपचारपछि बाँकी दाया फोक्सोले ८० प्रतिशत काम गर्छ भनेकाले मन बुझाउन सकिएको छ । चार गते क्याविनमा सारेपछि बल्ल उनको मनस्थितिमा बिस्तारै फरक देखिन थाल्यो । आइसीयुमा  देखिएको निराशामा पनि कमी देखिँदैछ । जीवनप्रतिको आशा बढेझैं लाग्दैछ उनमा । लाग्छ यो आत्मबलले पनि रोग र डिप्रेससँग लड्न मद्दत गर्ला । वार्डमा आएपछि बीचमा कफ निकाल्दा अत्यन्तै कष्ट हुने नयाँ समस्या देखिए पनि स्वस्थ्यमा अरु खलको राम्रो सुधर आएको छ । ठोस केही खानेकुरा खान थालेकी छ । केही पाइला हिँड्न् थालेकी छ । यी सबै कुराले हामीमा पनि उत्साह पलाएको छ ।
अपरेसनको आठौं दिन तीनदिनपछि फलोपमा लानेगरी लक्ष्मीलार्ई लिएर होटेल गइयो । त्यसको भोलिपल्ट आलाके टोकियो फर्कियो, तेस्रो दिन अरुण क्यानाडाबाट आइपुग्यो ।   
अपरेसन पछि दश दिन पछि असार नौ गते बोलाइएको फलोअपमा पुग्दा अर्को बायोप्सी टेस्ट गर्नस्लाइड अन्यत्रै पठाउनु पर्ने पो भन्छन् । त्यसले गर्दा टेस्टको रिपोर्टका लागि अर्को एक हप्ता पर्खनु पर्ने भयो । डाक्टर सिंहको भनाइमा केमोको सुइ नै लाउने कि मुखबाट (ओरल केमो) दिए पनि हुन्छ भन्ने निक्र्योल गर्न यो परीक्षण जरुरी थियो ।
टेस्ट गर्नु नै थियो भने, पहिले गरेको भए पनि हुँन्थ्यो । अलमल्याउने चाल त होइन यो ? मनमा चिसो पस्नु स्वभाविक भए पनि उनैको अनुसार चल्नुको विकल्प थिएन । रिपोर्टको लागि असार २९ सम्म पर्खनु प¥यो । भोेलिपल्टै ३० गते भर्ना गरेर केमो शुरु गरियो । निर्धारित मात्राको औषधी एक वा दुई दिनमैं दिँदा बिरामीलाई सहन गाह्रो पर्ने भएकोले डा. दासले प्रत्येक चरण तीन दिन लगाएर दिने योजना बनाए । नेपालमा पनि त्यसरी नै एक चरणको केमो तीनदिल लगाएर दिने सल्लाह दिए । डा. सिंहले नेपालमैं बाँकी चार चरणको केमो सकेर सबै रिपोर्ट पाठाएर फोन वा इमेलबाट फलोअपको लागि आउनु पर्ने, नपर्ने सल्लाह दिने बताए ।
चारदिनको बसाइपछि अस्पताल छाडेर बल्ल साउन ३ गते विहानै काठमाडौंको लागि विमानस्थल हिँडियो । त्यसरी विमानस्थल पुग्दा मन उमङ्गले सिमलको भुवा झैं हलुको थियो । धेरै तनावबाट मुक्ति थियो त्यो मेरो । पहिलो केमोको नराम्रो असर नदेखिएर लक्ष्मी त्यति चाँडै घरफर्कन सक्ने भएकीमा मन प्रशन्न थियो । साथै अपरेसनको क्रममा र त्यसको अघि पछि पनि क्यान्सरको मानसिक भूतले तर्साउँदा घर फर्काउन पनि पाइने हो होइन भन्ने मानसिक त्राशबाट पनि मुक्ति मिलेको थियो । हामीलाई मात्र होइन, लक्ष्मीमा पनि अब केही हुँदैन भन्ने आत्म विश्वास जागेको थियो । लामो विदेश बसाइबाट न्यास्रिएको मन आफ्नै देशको माटोको सुवासमा लटपटिन पाउँदाको आनन्दानूभूतिले दिएकाो अर्को खाले रमाइलो लाग्नु छँदै थियो । 
त्यही हलुकापनमा विमानस्थलको सम्बन्धित काउन्टरमा पुग्दा भने ती पूर्व उमङ्ग सबै चकनाचूर हुन पुगे । सवारी सुविधादेखि स्टाफलगायत सबबाट पाइएको सहयोग र सेवाबाट अस्पतालले कमाएको मेरो मनभित्रको कृतज्ञताभावमा ग्रहण लाग्यो । टिकट दिन्छु त  बिरामी हवाइ सफरका लागि तन्दुरुस्त छ भन्ने चिकित्सकको प्रमाणपत्र नभई लैजान मिल्दैन पो भन्छन् । त्यो कुरा हामीलाई के थाहा ? अस्पतालले दिनु पर्ने हो, आइपिएलले यस्तो पनि लिनु है भन्नु पर्ने हो । दुबैले त्यसो गरेनन् । मारमा हामी पर्ने भयौं ।
अब के गर्ने ? बोर्डिङ हुुने बेला भइसक्यो । कन्ट्याक्ट गर्न पनि विमानस्थलमा आफ्नो मोवाइलमा इन्टरनेट चल्दैन । काउन्टरकै कर्मचारीको सहयोगमा अस्थायी नेट जोडिपछि अस्पतालमा फोन गरेँ । डाक्टरको फाने मरे लाग्दैन । आइपिएलमा गरेँ, हामी कुरा गछौं भन्छन् । समय मिनेट मिनेटमा चिप्लिँदै छ । अन्नततः डाक्टरको सहयोगी मुकेशसँग सम्पर्क भयो । ऊ भन्छ, डाक्टरकै सही नभई हुँदैन । डाक्टर अपरेसनमा भएकोले कतिबेला निस्कने हो भन्न सकिन्न । उसको कुरा सुनेर पहिलोपल्ट म पनि चर्कै रिसाउन पुगेछु । जतिसक्यो उति चाँडो इमेल गर्छु हेर्दै गर्नु भनेपछि सम्पर्क टुट्यो । नभन्दै त्यसो भनेको दश–पन्द्र मिनेटजति पछि इमेलमा आयो डा. भी.पी. सिंहले हस्ताक्षर गरेको “फिट टु फ्लाइट” को निस्सा । त्यसबीच झेलेको तनाव भने अत्यन्त कष्टकर थियो । त्यो निस्सा नआएको भए उडान छुट्ने संभावना रहन्थ्यो । हुन त अस्पताल सम्पर्क हुन नसक्दा अगाडि नै काउन्टर कर्मचारीले विमान सेवाका चिकित्सक कहाँ मेडिकल रिपोर्टहरू पठाइसकेका थिए । त्यो फिर्ता मगाएर बोर्डिङ पास लिए पछि बल्ल ढुक्क हुन सकियो । विदेशबाट उपचार पश्चात बिरामी घर फर्काउँदा लिनै पर्ने कुरा रहेछ यो, जसको ज्ञान नहुँदा थोरै समयको भए पनि तनाव बेहोर्नु प¥यो ।
       तीन हप्ता बित्यो दोस्रो चरणको केमो दिने समय आयो । नेपाल मेडिकल कलेजका डा. देवकोटाको परामर्श अनुसार नै भक्तपुर क्यान्सर अस्पतालमा बाँकी चरणको केमो दिने तय गरियो । डा. उज्ज्वल चालिसेको सहयोग र आत्मीय व्यवहार अनि सम्पूर्ण परिचारिका टोलीले प्रदान गरेको घरेलू वातारणको अनुभवले कुनै समस्या अनुभव गर्नु परेन ।
तर फर्केको दुई तीन दिनदेखि नै केमोले आफ्नो करामत देखाउन थालिहाल्यो । खाना पटक्कै नरुच्ने, देख्यो कि बमन हेलाजस्तो हुने । पेट हुँडलिएर आउने । कपाल त पूरै झरिहाल्यो । उनको छटपटी देख्दा हामीलाई समेत सहन कठिन पथ्र्यो । आठौं दिन भनिए अनुसारको रक्त परीक्षण गर्दा प्लेटलेट, टोटल ब्लडकाउण्न्ट र हेमोग्लोविन स्वाट्टै घटेको रहेछ । डाक्टरको सल्लाहमा चुकन्दर, पाकेको फर्सी उसिनेर ख्वाउनुका साथै भने अनुसार कै एन्टिबायोटिक्स दिँदा पनि सुबिस्ता नभए पछि डा. उज्ज्वलको सल्लाह अनुसार घरमैं औषधि मिलाएर सलाइन दिने व्यवस्था मिलाइयो । डा. चालिसेसँग हरेक दिन मोवाइमा सम्पर्क हुन्थ्यो, इमेलमा रक्तपरीक्षणको रिपोर्ट पठाउँथेँ । त्यो हेरेर पाइने निर्देशन अनुसर नै थप औषधि दिँदै गयौं । अहँ, कुनै सुधार देखिएन । भदौ १ गते त रातो र सेतो रगत चढाउन भर्नै हुन परिहाल्यो । उनमा दिल्लीमा अपरेसन पछि देखिएको निराशा फेरिए देखिन थाल्यो । फेरि जिन्दगीबाट आशा मार्न थालिन उनले । जे होस् रातो २ र सेतो ९ पिन्ट रगत दिएपछि अवस्था सुध्रियो, एउटा अर्को खड्गो ट¥यो । डाक्टर उज्जवलले मुटुमा समस्या हो कि भन्ने शङ्का गरे । त्यहाँ कार्डियोलोजिस्ट र त्यससम्बन्धी उपचारको सुविधा थिएन । त्यसैले एम्बुलेन्समा ओम अस्पताल लग्यौं, इको र विशेष प्रकारको रगत परीक्षण भयो । मुटुमा केही समस्या नै देखियो । त्यसै अनुसारको औषधि दिँदा पनि नभएपछि पर्सिपल्ट फेरि महाजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टर भर्ना नगरी सुख्खै पाइएन । सिट नभएर इमजेन्सी कुर्दा कुर्दै आधारात वित्यो । ज्वाइँ डा. राजेन्द्र गुरागाईको प्रयासबाट रातको १२ बजे बल्ल एउटा केबिन उपलब्ध हुनसक्यो ।
भर्ना हुन, बेड पाउन  र सिनियर चित्किको सेवा लिन समेत भनसुन नै चाहिने साबिक रोगको शिकार हुनु परेरेै त होला, राज्यकोषको ढुकुटी सिध्याएर उपचारका नाउँमा विदेश धाउने बाहेक हामी निरीह जनता समेत घरखेत बेचेर आवश्यक उपचारको लागि विदेशिन बाध्य पारिन्छौं । सार्वजनिक सरकारी अस्पतालहरूको सेवा, व्यवहार र सुविधा विदेशी अस्पतालमैं जस्तो हुँदो हो त यस्तो बाध्यता रहँदैनथ्यो होला ।
एक हप्ताको मनमोहन बसाइबाट अवस्थामा सुधार आयो । तेस्रो चराणको केमो दिन मिल्ने भएकोले घरै नगई त्यतैबाट फेरि भक्तपुर लगियो बिरामीलाई । यस पल्ट अस्पलातमा पूरै तीन हप्ता बिताउनु प¥यो ।
अब त कुनै समस्य नआउला भनेको, सेचेजस्तो के हुन्थ्यो । प्लेटलेट फेरि ६ सयमा झरेछ । डाक्टरले भने अनुसार रातारात भक्तपुर पुगेर गोविन्दले (गोविन्द अधिकारी) प्लेटलेट बढाउने सुइ ल्याएर दिएपछि प्लेटलेटको समस्या ठीक भए पनि अर्को समस्या देखाप¥यो । पिसाबमा संक्रमण देखिएर नेपाल मेडिकल कलेजको इमर्जेन्सी वार्ड नपु¥याइ धरै पाइएन । 
अशोजको पहिलो हप्ता दिनु पर्ने केमो सेतो रगतको मात्रा लगायत अन्य तत्व चाहिनेभन्दा बढी देखिएपछि दिन मिलेन । दुई तीन दिन अस्पताल बसेर दशैंपछि आउने गरी फूलपातीको अघिल्लो दिन घर फर्किनु प¥यो । दशैंको टीका सकेर फेरि अस्पताल भर्ना भएर बल्ल चौथो केमो दिन सकियो । १९ गते घर फर्केका थियौं, तेस्रो दिनदेखि फेरिे अनेकौं जटिलता देखिन थाल्यो ।
भक्तपुरले यस पटक पनि कार्डियाक समस्या नै देखाएर मनमोहन  पठायो । उता मनमोहनका डक्टर कार्डियाक सम्बन्धी समस्या होइन, यहाँ भर्ना गर्न मिल्दैन भन्छन् । केही नलागेपछि टिचिङ अस्पताल लग्नु प¥यो । त्यहाँ पनि क्यान्सरको समस्या हो, भक्तपुर नै लानोस् भन्छन् । के गर्ने कसो गर्नेको बीच छट्पटाउनु बाहेक अर्के उपाय थिएन । एउट नागरिकले शिुल्क होइन लागेको सबै खर्च बोहेर्छौं, भर्ना गरेर उपचार गर्देऊ भन्न्दा समेत नपाइने यस्तो अवस्थाले न हो सिंगो सरकारप्रति वितृष्णा फैलने । अनि त्यो वितृष्णाले विद्रोहजन्य तोडफोडको निकास नखोजेर के गरोस् त ? धन्न हामी नेपाली अत्यन्त सहनशी रहेछौं, जेजस्तो अव्यवस्था पनि सजिलै सहिदिने । एउटा सरकारी अस्पतालले नै सिफारिस गरेर पठाएको गंभीर बिरामीको समेत यस्तो रमिता बनाउने मनमोहन र टिचिङ अस्पतालका केही चिकित्सकको अमानवीय र असंवेदनबील व्यवहार नै त हो सबै सरकारी अस्पताल र डक्टरहरूप्रति वितृष्णा र घृृणा उत्पन्न गराउने !
यी अस्पतालहरूमा बेला बखत रोगीका आफन्तहरूले तोडफोड गरेको समाचार सुनिन्थ्यो । अस्पतालजस्तो ठाउँमा किन त्यसो गरेको होला भन्ने लग्थ्यो । यतिबेला आफ्नै बिरामीले बेहोर्न परेको अमानवीय व्यवहारबाट लाग्यो यस्तै भएर त होला ! मनमोहनमा भक्तपुरबाट डा. उज्ज्वलले पठाएका थिए । त्यहाँ भर्ना नलिएको जानकारी गराएको केही बेरपछि डा. उज्जवलको फोन आयो– डा. अच्यूतसँग कुरा गरेको छु, पठाइदिनोस् भनेका छन् । लानु भए हुन्छ । उनले इमर्जेन्सीमा भनिसकेका छन् ।
मलाई भने त्यहाँका डाक्टरको सुरु व्यवहार देखेर लानै मन लागेन । किन माथिल्लो पदाधिकारीलाई भन्नु भनेर मात्र, नभए टिचिङमा भर्ना गर्न खासै समस्या थिएन । अर्को सुरुमा डा. गुरागाईसँग फोन कन्ट्टयाक्ट हुन सकेन । उहाँसँग सम्पर्क भएर समस्या राखेको केही बेरपछि त पहिले भर्ना गर्न पर्दैन लैजानोस् भन्ने डाक्टर आफैं आएर भर्ना प्रक्रिया अघि बढाइहाले । यो थियो हाम्रो सरकारी÷सामुदायिक अस्पतालहरूको यथार्थ । सोर्सफोर्स बिना रोगीले उपचार समेत पाउन नसक्ने ! ठूलाबडाहरू रुघा लागेर अस्पताल आउँदा पनि डाक्टर र नर्सको लाम लाग्ने मेरो देश, सार्वभौम भनिने एउटा नागरिक सिकिस्त भएर अस्पताल पुग्दा पनि भर्ना हुन नपाएर फर्कनु परेर अकाल मृत्युको यथार्थ भोग्छ । हाय रे मेरो डिम्बना ! निजी र विदेशका अस्पतालको दाना पानी पो खेल पो हो ?
जे होस् भर्नाको महाभारत जसरी तसरी जितियो । डा. उज्जवललाई पनि जानकारी गराएँ । डा. गुरागाइँको अनुरोधमा मनमोहनका डा. अच्युत पौडेल र अर्का एक जना विशेषज्ञ टिचिङमै आएर हेरिदिने भए । यसरी अशोज ३१ गते भर्ना भएर एघार दिन त्यहीँ बिताएपछि बल्ल घर पर्किन पाइयो ।
भक्तपुर छँदै माछा खाँदा लक्ष्मीको जिब्रोमा काँडाले घोचेको थियो । त्यतिबेलैदेखि कहिले कहिँ चस्कियो भने पनि ठूलो यसले ठूलो ल्याउला भन्ने न डाक्टरले सोचे, न हामीले सोच्यौं । केही पछि कान दुख्यो भनेर टिचिङ अस्पतालमा परीक्षण गराउँदा पो कान नभएर काँडा बिझेको जिब्राको त्यही गिर्खोको कारण पीडा भएको थाहा भयो । निश्चित हुन गिर्खोबाट पानी निकालेर जाँचियो । त्यतिले नपुगेर बायोप्सी गर्दा त्यसको रिपार्टले जिब्रोमा क्यान्सर देखाए पछि फेरि मैले टेकेको धैर्यको जमिनमा ठूलो पहिरो खस्यो । फोक्सोको क्यान्सलाई पराजित गरेको मेरो मिथ्या भ्रमको पर्दा च्यातियो ।
अपोलोका अस्पतालका चिकित्सहसँग निरन्तर सम्पर्कमा थियौं । उनीहरूले केमो दिँदा समस्या आएको भए चौथो पछि थप रोक्नेसल्लाह दिएका थिए । डा. उज्ज्वल र डा. गुरागाइले पनि टिचिङ अस्पतालका क्यान्सर विशेषज्ञहरूसँग सल्लाह गरेर पनि एक पटक पेट सिटी गरेर मात्रै निर्णय गर्नुपर्ला भन्ने राय दिनुभयो । पेटसिटीको लागि सौर्य डाइनेस्टिकले दिएको समयमा नैे परीक्षण भयो । निर्धारित समयं चैतको शुरुमा पेट सीटी स्क्यानको रिपार्टले हातप¥यो । फोक्सोमा डराउनु पर्ने क्यान्सरको ग्रन्थीहरू नदेखिए पनि जिब्रोमा भने क्यान्सर देखियो । त्यसले घाँटीतिर पनि जरो फैलाइसकेछ । फेरि अर्को पहाड खस्यो हाम्रो विश्वासमाथि । दिल्लीदेखि दुष्ट क्यान्सरलाई परास्त गरेको  अनुमान त मात्र भ्रम पो रहेछ । आखिर खोस्ने नै भयो जीवनसंगिनीलाई । मनमा यस्तै कुरा खेलाउनु बाहेक के नै गर्न सकिन्थ्यो र ?
पेट सीटीको रिपोर्ट हेरेपछि डा. गुरागाइँले फेरि अन्कोलोजिस्टसँग सल्लाह गरेर हल्का खालको कम मात्राको केमो दिनु राम्रो हुने सल्लाह दिनुभयो । फेरि भक्तपुर कै शरणमा पुगियो डा. उज्ज्वलसँगको सल्लाहपछि । चैत १४ गते शुरु गरेर सात दिनभित्र तीन चरण पुरा गरियो एक दिने केमो । अफसोच, कुनै उपाय लागेन । असह्य पीडासँगै शरीर क्षीण हुँदै गयो । असह्य पीडा र समस्याका बीच २७ गते अस्पताल पु¥याए पनि असह्य पीडा र वेदना मेरो भागमा छाड्दै भोलिपल्ट विहान ८. ५५ बजे उनी कार्डिक एरेस्टको प्रहारबाट बिदा भइन् संसारबाटै । पचास वर्ष पुग्न ठीक एकहप्ता बाँकी थियो, त्यति पनि पनिन् उनले !


Monday, August 17, 2015

प्रतिबद्ध व्यक्तित्वका धनी बलराम दाइ ! –विजय चालिसे


-अभिनव साहित्य समाजद्वारा प्रकाशित बलराम अर्याल स्मारिका २०७२ मा प्रकाशित
=====कता हरायौं, विजय < धेरैभयो यो प्रश्न नसुनेको बलराम दाइले हामीलाई छाडेदेखि नै सुन्नछाडेको छु मैले यो प्रश्न हो, केही समयको अन्तरालपछि भेट्दा हरेकपल्ट यस्तै प्रश्न रहन्थ्यो बलराम दाइको
२०२०÷२२ सालतिर देखेको हुँला सबैभन्दा पहिला मैले बलराम दाइलाई त्यतिबेला नौ दश वर्षको उमेर थियो मेरो तीनजना अग्रजहरू बाबालाई भेट्न भनी घरतिर आइरहनु हुन्थ्यो उहाँहरू बाहिरपनि साथै हिँडिरहेको देख्थेँ मेरो केटौले आँखामा ती सबैको व्यक्तित्व भव्यथिए, आकर्षक ! ती तिनैजना उचाइमा फरक देखिन्थे एकजना अग्ला, टंगरे एकोहोरो जिउका दोस्रा मझौला तेस्रा अरु दुईभन्दा होचा सबै नै एकोहोरो आङका, पातलो कसिलो शरीरका स्वामी सबै हँसिला, कुराकानी सुन्दा पनि रसिला लाग्ने त्यसैले केटौले समझका हामी उनीहरू आउँदा रमाउँने गथ्र्याैं बाबासहित उहाँहरूको कुरा सुनेर बिस्तारै चिनेको थिएँसबैभन्दा अग्ला भैरवअर्याल हुनुहुन्थ्यो, मझौला बलराम अर्याल सबैभन्दा होचा हरिप्रसाद अर्जेल  
आज रमेश विकल लगायत ती चारैजना  प्रिय श्रद्धेय व्यक्ति हामीबीच रहेनन् विकल स्वयम मेरा पिताजी सबैभन्दा अगाडि भैरव अर्यालले सिंगो समाज  मानवीय स्वार्थलिप्त प्रवृत्तिमाथि विदु्रप व्यङ्ग्य गर्दै यो संसार छाड्नुभयो चारदशक अगाडि हरिप्रसाद अर्जेलले पछिसम्म शिक्षा सेवामा सक्रिय रहँदै स्वाभाविक मृत्यु वरण गर्नु भएको थियो रमेश विकलले छाडेर जानुभएको पनि सात वर्ष भैसक्यो सबैभन्दा पछाडि जानेमा बलराम दाइ उमेरपनि संभवतः कान्छै पर्नुभयो उमेरमा कान्छा भएर पनि नातामा भने भैरव अर्यालका काका हुनुहुनथ्यो त्यसैले प्राय सबैका काका ! कतिका काका बलराम दाइ धेरैका बलराम दाइ कतिका बलरामजी .
अनौठो संयोग थियो बाबासहित जोरपाटीका यी चारै व्यक्तित्व सबैमा साहित्य प्रति रुचि थियो रमेश विकल भैरव अर्यालको कुरै भएन बलराम दाइ हरिदाइ पनि साहित्यमा रुचि राख्नुहुन्थ्यो अझ अर्को रोचक संयोग हरिदाइमा हास्यचेत प्रबल थियो, बलराम दाइमा व्यङ्ग्यचेतको बाहुल्य ! सम्झाउन नपर्ला रमेश विकल भैरव अर्याल नेपाली वाङ्मयकै यशश्वी गद्यशिल्पी एकजना नेपाली आनख्यानका शीर्षस्थ प्रतिभा अर्को आधुनिक नेपाली हास्यव्यङ्ग्य निबन्धका शिखर व्यक्तित्व बलरामदाइ व्यङ्ग्य निबन्धका साथै कविता समसामयिक लेखरचनामा समेत कलम चलाउने, हरिदाइ आफूभित्र प्रचूर हास्यव्यङग्य लेखन क्षमता भएर पनि प्राय कलम नचोप्ने आफू वरिपरिका सीमित स्रोतालाई सुनाएरै चित्त बुझाउने, आनन्द लिने जसले जति नै कर गर्दा पनि लेख्न भने जाँगर नचलाउने भैरवदाइको बारेमा विभिन्न ठाउँमा (गोरखापत्र २०३२ कार्तिक २८; संझना २०३७; सुलेख फागुन २०६९) लेखेको छु, हरिदाईको बारेमा  आँखा (पुस २०४१) साहित्यिक पत्रिकामा प्रकाशित मेरो एउटा निबन्धमा केही कोरएको
अन्तिमसम्म पनि सक्रिय जीवन बिताएर क्यान्सरजस्तो घातक रोगसँग कुस्ती खेल्दाखेल्दै जानुभयो बलराम दाइ ! बलराम अर्याल सृजन, सम्पादन समाजसेवा तीनैवटा क्षेत्रमा आफ्नो पहिचान बनाएर जानु भएको सृजन प्रखर रुपमा अगाडि आएको नेखिए पनि यताउता छरिएका विविध रचनाहरूको सङ्ग्रह गर्ने तिर कसैले जाँगर चलाइदिने हो भने नेपाली साहित्य संसारमा समेत दर्बिलो उपस्थिति दर्ता गर्नसक्ने सामथ्र्य जस्तो लाग्छ, बलराम दाइका रचनामा सामान्य कुराकानीदेखि कविता लेखन होस वा हास्यव्यङ्ग्य निबन्ध सबैमा राष्ट्र राष्ट्रियताप्रतिको अत्यन्त तीब्र सम्वेदनशीलता, समाजका बेथितिप्रतिको कठोर व्यङ्ग्यचेत रचनात्मक सामाजिक उन्नति प्रतिको तीब्रचाहना प्रतिबिम्बित छन् कर्ममा प्रजातन्त्रवादी आस्थाका प्रबल हिमायती बलरामदाइ त्यसैको प्राप्तिका लागि बूढेसकालमा समेत तरुना तन्नेरीसँगै सडकदेखि वैचारिक सङ्घर्षसम्म काँधमा काँध जोडेर हिँड्नुको इतिहास सबैकालागि प्रेरक इतिहास बनेको चाहे विद्यालय संस्थापनमा क्रियाशील भएर होस्, चाहे शान्ति समाजजस्ता संस्थामा सक्रिय सहभागिता जनाएर होस् बलराम अर्यालको एकमात्र अभिष्ट थियो, सुन्दर, शान्त, जनअधिकार सम्पन्न समृद्ध प्रजातान्त्रिक समाजको निर्माण .  
बलरामदाइ साझा केन्दीय कार्यालमा जागिर खाँदा त्यहाँबाट निस्कने स।झा पत्रिकासँग सम्बद्ध हुनुहुन्थ्यो सरकारी संरचनामा संपादकको नाम अर्कैको देखिए पनि खासमा सम्पादनको प्रसववेदना खप्ने अर्कैहुन्थ्यो, बलराम दाइजस्तै  . त्यतिबेला चामुण्डा माध्यमिक विद्यालयमा हाइस्कुल शिक्षकका रूपमा कार्यरत थिएँ चिया खाने ठाउँ बलराम दाइकै घर भाडामा लिएर राखिएको चिया पसल हुन्थ्यो
त्यहाँ प्राय भेट हुनासाथ बलराम दाइको आदेशात्मक अनुरोध आइहालथ्यो विजय, एक हप्ताभित्र साझा सहकारी बारे एउटा लेख तयार गरिदेऊ निस्कन ढिला भैसक्यो, रचना नै पुगेको छ्रैन
२०३६ ३७ सालभरि नै यो आदेशात्मक अनुरोध आइरह्यो जानी नजानी बलरामदाइको त्यो अनुरोध पूरा गर्दै रहेँ २०३७ सालमा चामुण्डा स्कुल छाडेर गोरखापत्रमा उपसम्पादकको जागिर खान पुगेपछि भने बलराम दाइसँगको भेटघाट पातलियो तर पनि गोरखापत्र सम्पादकीयको फोनमा बलरामदाइको त्यही आदेशात्मक अनुरोध आइहाल्थ्यो विजय, =======एक हप्ताभित्रमा मलाई एउटा सानो लेख दिइहाल पे्रसमा पठाउन ढिलो भयो
 त्यतिबेला घरमा फोन आएकै थिएन बलराम दाइकाँ नै फोन थियो चवालीसपैंतालीस सालमा बल्ल मेरो घरमा फोन जोडियो

बलरामदाइको यसरी भेटदा आउने आग्रह पछिपछि फोनबाट पाइने आदेश मेरा लागि सधैं शिरोधार्य हुन्थ्यो अनि त्यस्तो आग्रह अउनासाथ पनि साझा सहकारी सम्बन्धी लेखको तयारीमा जुृटिहाल्थेँ   अर्को आकर्षण पारिश्रमिक छँदैथियो गोरखापत्रमा एउटा लेखको त्यतिबेला पचास रुपियाँ पारिश्रमिक पाइन्थ्यो, साझाले त्योभन्दा दशदेखि पच्चीस रुपियाँसम्म बढी दिन्थ्यो अर्थात् एउटा लेखको पचासदेखि पचहत्तर रुपियाँसम्म शाखाअधिकृतको तलब सय साठी रुपियाँजति हुने त्यतिबेला यो रकम कम थिएन त्यतिबेला सम्पादकाई पनि रचना जम्मा गर्न सधैंको समस्या हुन्थ्यो कलम चलाउने मान्छे कमै हुन्थे्, भए पनि खोजेजस्तो लेख नभेटिने त्यसमाथि सहकारीजस्तो आर्थिक÷प्राविधिक विषयमा कलम चलाउने झन कति नै हुन्थे ? अनि साझा थियो त्यतिबेलाको साझा सहकारी मार्फतराष्ट्रिय अर्थतन्त्रलाई अभियान कै रुपमा अगि बढाउन सञ्चालित वैचारिक प्रकाशन यसमा साझा सहकारीकै विषय बाहेक अरु कुरा छापिँदैनथे त्यसैले सम्पादकहरूलाई पेज भर्न सधैंको समस्या अनि त्यस्तोमा बलरामदाइको आग्रहमा मैले पनि साझा सहकारी सम्बन्धी धेरै रचना लेखेँ बलराम दाइले पटक पटक आदेशात्म ताकेता नलाउनु भएको भए, मबाट साझा सहकारीका विषयमा लेखिँदैनथ्यो कि, के थाहा <