-अभिनव साहित्य समाजद्वारा प्रकाशित बलराम अर्याल स्मारिका २०७२ मा प्रकाशित
“ए=====कता हरायौं, विजय <” धेरैभयो यो प्रश्न नसुनेको । बलराम दाइले हामीलाई छाडेदेखि नै सुन्नछाडेको छु मैले यो प्रश्न । हो, केही समयको अन्तरालपछि भेट्दा हरेकपल्ट यस्तै प्रश्न रहन्थ्यो बलराम दाइको ।
२०२०÷२२ सालतिर देखेको हुँला सबैभन्दा पहिला मैले बलराम दाइलाई । त्यतिबेला नौ दश वर्षको उमेर थियो मेरो । तीनजना अग्रजहरू बाबालाई भेट्न भनी घरतिर आइरहनु हुन्थ्यो । उहाँहरू बाहिरपनि साथै हिँडिरहेको देख्थेँ । मेरो केटौले आँखामा ती सबैको व्यक्तित्व भव्यथिए, आकर्षक ! ती तिनैजना उचाइमा फरक देखिन्थे । एकजना अग्ला, टंगरे एकोहोरो जिउका । दोस्रा मझौला र तेस्रा अरु दुईभन्दा होचा । सबै नै एकोहोरो आङका, पातलो कसिलो शरीरका स्वामी । सबै हँसिला, कुराकानी सुन्दा पनि रसिला लाग्ने । त्यसैले केटौले समझका हामी उनीहरू आउँदा रमाउँने गथ्र्याैं । बाबासहित उहाँहरूको कुरा सुनेर बिस्तारै चिनेको थिएँ – सबैभन्दा अग्ला भैरवअर्याल हुनुहुन्थ्यो, मझौला बलराम अर्याल र सबैभन्दा होचा हरिप्रसाद अर्जेल ।
आज रमेश विकल लगायत ती चारैजना प्रिय र श्रद्धेय व्यक्ति हामीबीच रहेनन् । विकल स्वयम मेरा पिताजी । सबैभन्दा अगाडि भैरव अर्यालले सिंगो समाज र मानवीय स्वार्थलिप्त प्रवृत्तिमाथि विदु्रप व्यङ्ग्य गर्दै यो संसार छाड्नुभयो चारदशक अगाडि । हरिप्रसाद अर्जेलले पछिसम्म शिक्षा सेवामा सक्रिय रहँदै स्वाभाविक मृत्यु वरण गर्नु भएको थियो । रमेश विकलले छाडेर जानुभएको पनि सात वर्ष भैसक्यो । सबैभन्दा पछाडि जानेमा बलराम दाइ उमेरपनि संभवतः कान्छै पर्नुभयो । उमेरमा कान्छा भएर पनि नातामा भने भैरव अर्यालका काका हुनुहुनथ्यो । त्यसैले प्राय सबैका काका ! कतिका काका बलराम दाइ धेरैका बलराम दाइ र कतिका बलरामजी .
अनौठो संयोग थियो । बाबासहित जोरपाटीका यी चारै व्यक्तित्व सबैमा साहित्य प्रति रुचि थियो । रमेश विकल र भैरव अर्यालको त कुरै भएन बलराम दाइ र हरिदाइ पनि साहित्यमा रुचि राख्नुहुन्थ्यो । अझ अर्को रोचक संयोग हरिदाइमा हास्यचेत प्रबल थियो, बलराम दाइमा व्यङ्ग्यचेतको बाहुल्य ! सम्झाउन नपर्ला रमेश विकल र भैरव अर्याल नेपाली वाङ्मयकै यशश्वी गद्यशिल्पी– एकजना नेपाली आनख्यानका शीर्षस्थ प्रतिभा अर्को आधुनिक नेपाली हास्यव्यङ्ग्य निबन्धका शिखर व्यक्तित्व । बलरामदाइ व्यङ्ग्य निबन्धका साथै कविता र समसामयिक लेखरचनामा समेत कलम चलाउने, हरिदाइ आफूभित्र प्रचूर हास्यव्यङग्य लेखन क्षमता भएर पनि प्राय कलम नचोप्ने । आफू वरिपरिका सीमित स्रोतालाई सुनाएरै चित्त बुझाउने, आनन्द लिने । जसले जति नै कर गर्दा पनि लेख्न भने जाँगर नचलाउने । भैरवदाइको बारेमा विभिन्न ठाउँमा (गोरखापत्र २०३२ कार्तिक २८; संझना २०३७; सुलेख फागुन २०६९) लेखेको छु, हरिदाईको बारेमा आँखा (पुस २०४१) साहित्यिक पत्रिकामा प्रकाशित मेरो एउटा निबन्धमा केही कोरएको छ ।
अन्तिमसम्म पनि सक्रिय जीवन बिताएर क्यान्सरजस्तो घातक रोगसँग कुस्ती खेल्दाखेल्दै जानुभयो बलराम दाइ ! बलराम अर्याल सृजन, सम्पादन र समाजसेवा तीनैवटा क्षेत्रमा आफ्नो पहिचान बनाएर जानु भएको छ । सृजन प्रखर रुपमा अगाडि आएको नेखिए पनि यताउता छरिएका विविध रचनाहरूको सङ्ग्रह गर्ने तिर कसैले जाँगर चलाइदिने हो भने नेपाली साहित्य संसारमा समेत दर्बिलो उपस्थिति दर्ता गर्नसक्ने सामथ्र्य छ जस्तो लाग्छ, बलराम दाइका रचनामा । सामान्य कुराकानीदेखि कविता लेखन होस वा हास्यव्यङ्ग्य निबन्ध– सबैमा राष्ट्र र राष्ट्रियताप्रतिको अत्यन्त तीब्र सम्वेदनशीलता, समाजका बेथितिप्रतिको कठोर व्यङ्ग्यचेत र रचनात्मक सामाजिक उन्नति प्रतिको तीब्रचाहना प्रतिबिम्बित छन् कर्ममा । प्रजातन्त्रवादी आस्थाका प्रबल हिमायती बलरामदाइ त्यसैको प्राप्तिका लागि बूढेसकालमा समेत तरुना तन्नेरीसँगै सडकदेखि वैचारिक सङ्घर्षसम्म काँधमा काँध जोडेर हिँड्नुको इतिहास सबैकालागि प्रेरक इतिहास बनेको छ । चाहे विद्यालय संस्थापनमा क्रियाशील भएर होस्, चाहे शान्ति समाजजस्ता संस्थामा सक्रिय सहभागिता जनाएर होस् बलराम अर्यालको एकमात्र अभिष्ट थियो, सुन्दर, शान्त, जनअधिकार सम्पन्न समृद्ध प्रजातान्त्रिक समाजको निर्माण .
बलरामदाइ साझा केन्दीय कार्यालमा जागिर खाँदा त्यहाँबाट निस्कने स।झा पत्रिकासँग सम्बद्ध हुनुहुन्थ्यो । सरकारी संरचनामा संपादकको नाम अर्कैको देखिए पनि खासमा सम्पादनको प्रसववेदना खप्ने अर्कैहुन्थ्यो, बलराम दाइजस्तै . त्यतिबेला म चामुण्डा माध्यमिक विद्यालयमा हाइस्कुल शिक्षकका रूपमा कार्यरत थिएँ । चिया खाने ठाउँ बलराम दाइकै घर भाडामा लिएर राखिएको चिया पसल हुन्थ्यो ।
त्यहाँ प्राय भेट हुनासाथ बलराम दाइको आदेशात्मक अनुरोध आइहालथ्यो– ए विजय, एक हप्ताभित्र साझा सहकारी बारे एउटा लेख तयार गरिदेऊ न । निस्कन ढिला भैसक्यो, रचना नै पुगेको छ्रैन ।
२०३६ र ३७ सालभरि नै यो आदेशात्मक अनुरोध आइरह्यो र म जानी नजानी बलरामदाइको त्यो अनुरोध पूरा गर्दै रहेँ । २०३७ सालमा चामुण्डा स्कुल छाडेर गोरखापत्रमा उपसम्पादकको जागिर खान पुगेपछि भने बलराम दाइसँगको भेटघाट पातलियो । तर पनि गोरखापत्र सम्पादकीयको फोनमा बलरामदाइको त्यही आदेशात्मक अनुरोध आइहाल्थ्यो– ए विजय, ल===ल====एक हप्ताभित्रमा मलाई एउटा सानो लेख दिइहाल त । पे्रसमा पठाउन ढिलो भयो ।
त्यतिबेला घरमा फोन आएकै थिएन । न त बलराम दाइकाँ नै फोन थियो । चवालीस –पैंतालीस सालमा बल्ल मेरो घरमा फोन जोडियो ।
त बलरामदाइको यसरी भेटदा आउने आग्रह र पछिपछि फोनबाट पाइने आदेश मेरा लागि सधैं शिरोधार्य हुन्थ्यो । अनि त्यस्तो आग्रह अउनासाथ म पनि साझा सहकारी सम्बन्धी लेखको तयारीमा जुृटिहाल्थेँ । अर्को आकर्षण पारिश्रमिक छँदैथियो । गोरखापत्रमा एउटा लेखको त्यतिबेला पचास रुपियाँ पारिश्रमिक पाइन्थ्यो, साझाले त्योभन्दा दशदेखि पच्चीस रुपियाँसम्म बढी दिन्थ्यो । अर्थात् एउटा लेखको पचासदेखि पचहत्तर रुपियाँसम्म । शाखाअधिकृतको तलब ४ सय साठी रुपियाँजति हुने त्यतिबेला यो रकम कम थिएन । त्यतिबेला सम्पादकाई पनि रचना जम्मा गर्न सधैंको समस्या हुन्थ्यो । कलम चलाउने मान्छे कमै हुन्थे्, भए पनि खोजेजस्तो लेख नभेटिने । त्यसमाथि सहकारीजस्तो आर्थिक÷प्राविधिक विषयमा कलम चलाउने त झन कति नै हुन्थे र ? अनि साझा थियो त्यतिबेलाको साझा सहकारी मार्फतराष्ट्रिय अर्थतन्त्रलाई अभियान कै रुपमा अगि बढाउन सञ्चालित वैचारिक प्रकाशन । यसमा साझा सहकारीकै विषय बाहेक अरु कुरा छापिँदैनथे । त्यसैले सम्पादकहरूलाई पेज भर्न सधैंको समस्या । अनि त्यस्तोमा बलरामदाइको आग्रहमा मैले पनि साझा सहकारी सम्बन्धी धेरै रचना लेखेँ । बलराम दाइले पटक पटक आदेशात्म ताकेता नलाउनु भएको भए, मबाट साझा सहकारीका विषयमा लेखिँदैनथ्यो कि, के थाहा <
No comments:
Post a Comment