Friday, August 14, 2015

भूकम्प त्रासदीे– विजय चालिसे

(लोकभावना पूर्णङ्क ३० वर्ष ९, अंक १असार–भदौ २०७२माप्रकाशितभस्कम्प त्रासदीको दोस्रो अंश)

 वैशाख १२ गते गएको ७.८ रेक्टरको मभहाभूकम्प—विनाशको पीडा र लगातार परकम्पनकै संत्रासबीच केही रात बारीको पाटो र दावाको कोठा गर्दै अनिँदो बित्योे– संत्रस्त । ज्यान गुमाउने, घाइते भएर जीवनसँग संघर्ष गरिरहेका पीडाग्रस्त अनुहारका साथै मंैजस्ता क्षणभरमैं बनिबनाउ घर गुमाएर शरणार्थी बनेकोहरूको सङ्ख्या लगातार वृद्धिभइरहेको समाचार आइरहेको थियो । यिनै समाचारका बीच परकम्पनका थप शक्तिशाली झोक्काहरूले एकपछि अर्को गर्दै पछिसम्म पछ्याइ नै रहेका छन् । लगभग २४ घन्टा बीचमा गएका चार रेक्टर माथिका ६४ वटा परकम्पनले थप कहाँ के कति नोक्सानी पु¥याउने हो, अनुमान गर्न सकिने अवस्था छैन । यस्तैयस्तै भयले क्षणप्रतिक्षण तर्साइरहेका छन्, तर्साइ नै रहेका छन् !  ओफ्.....झनै पो तर्सायो पहिलो दिनकै सम्झना गराउने दोस्रो शक्तिसाली भूकम्पले ! पहिलो महाभूकम्प गएको ठीक पच्चीस घन्टापछि आएको अर्को यो ठूलो भूमिकम्पन ६.७ रेक्टर मापनको थियो । पहिलो भूकम्पले चर्काएका मन, मस्तिष्क र जमिन–भौतिक संरचनालाई अझै नराम्ररी चर्कायो यो घातक धक्काले । अगाडि नै थिल्थिलो भएका घरहरू अरु भत्कनु स्वाभाविक थियो, भत्के । मानिसले सतर्क बन्दा बन्दै पनि थप ज्यान गुमाए । त्यसभन्दा पनि मानिसमा थप त्रास र आतंकको मानसिक प्रभाव छाड्यो । त्यतिले नपुगेर साँझपछिको दर्के पानीले विपत्तिमाथि थप विपत्ति थपिदियो । बालक, वृद्ध, रोगी र प्रसूती महिलाको विजोग भयो, सबै माथि खुला आकाश र परिरहेको पानीको भिजाइले थप चिसोको अर्को मार खप्न बाध्य बने । प्रकृति झन झन निष्ठुर बन्दै गयो । त्यसमाथि साना ठूला भूकम्पका धक्काले रातभर तर्साइरहे, तर्साइ नै रहे ।  महाभूकम्पको तेस्रो दिन दिउँसो १२ बजेबाट घोषित सचेतताको ७२ घन्टे समय त्रासमैं गुज्रिएपनि विहानैसम्म आइरहेका हल्का परकम्पनले घर केही नभएका समेत पाल र खुला आकाशको बास छाडेर घरजाने आँट गर्न सकेका छैनन् ।  घर भत्केर आश्रय गुमाउनु परेकाहरूको कुरै भएन, के नै विकल्प छ र तिनका लागि !राहतको जति नै गुड्डी हाँके पनि आवश्यक परेका अधिकांश ठाउँमा सरकारको उपस्थिति देखिएको छैन । कपनजस्तो राजधानीको केन्द्रनिकट ठाउँमा समेत भूमिसात भएका पाँचतले र साततले भवनमा पुरिएकाहरूको पछिसम्म उद्धार हुन सकेन । सुगमठाउँका सडकछेउ भेटिएका र पहुँच हुनेलाई केही पाल बाँडिएको देखिए पनि मूल सडकभित्र कसैको आँखा परेको छैन । राजधानीभित्र त यस्तो अवस्था छ भने, बाहिर जिल्ला र दुर्गम भेगको अवस्था झन के कस्तो होला ? अघिपछि विकासयोजना र निर्माणका नाउँमा भागशान्ति जय नेपाल गर्न हौसिने सर्वदलीय प्रतिनिधिहरू तिनै भागबन्डा मिलाउन व्यस्त होलान्, धेरै समयसम्म बाहिर देखिएनन् ।  आज नौ दिनपछि भूकम्पले जगैमाथि छियाछिया पारेर झन्डै दुईतीन सेन्टिमिर पूर्व र दक्षिण गारो सरेको घरै अगाडि दुई वर्ष अघि पर्खालमाथि उठाएको चारकोठे टहरोमा सरेर सुत्ने खाने व्यवस्था मिलाएँ । जीवनमैं पहिलोपल्ट बसेको भाडाको कोठा नौ दिनपछि आज छाडेँ । त्यस बीच अन्योलमैं ंबित्यो । त्यै टहरो पनि खाली थिएन । त्यसमा तीन परिवार बसिरहेको थियो । अब तिनलाई यो विपत्तिको घडीमा छाडेर जाऊ कसरी भन्ने ? नभन्ने हो भने आफू कता जाने ? घरभन्दा केही पछाडि आमाले जग्गा दान दिएर पुरोहितले बनाएको एउटा घर छ । त्यसको तलो फ्ल्याट खाली नै भएकोले सुरुमा त त्यहीँ पो सर्ने होकि भन्ने पनि सोचियो । तर यत्रो मालसान त्यति परसम्म कसरी लाने ? कहाँ अटाउने ? त्यो सम्भव नदेखेपछि बिस्तारै समस्या राखियो । परोक्ष कुरापछि उनीहरूले नै भने “तपाइँहरू बूढाबूढीलाई अन्त पठाएर हामी बस्न मिल्दैन । सात दिनभित्र हामी कोठा खोजेर जान्छौं ।” बल्ल शिरबाट ठूलो बोझ हटेको अनुभव भयो । अनि नवौ ंदिनमा एउटा कोठाको कष्टकर बसाइ छाडेर टहरै भएपनि आफ्नै थलो फर्किएँ । हुनत यो टहरो पनि धेरै ठाउँमा चर्केको छ । तर एकतले र होचो समेत भएकोले के नै भईहाल्ला ? डराएर पनि त सजिलो विकल्प थिएन । भत्केको घरका सबै सामान भने त्यसमा पनि अटाउँदैनथ्यो । एउटा कोठा सुत्न चाहियो, अर्को पकाउन खानका । बाँकी दुईमध्ये, एउटा पुस्तकले नै भरियो, अर्कोमा अत्यावश्यक लुगाफाटा र सरसामग्री पनिअट्दैन । अनि बाँकी लत्ताकपडा, खाट, सोफा, अरु फर्निचर र यस्तै सामान अझैै कहाँ राख्ने ? समस्या बाँकी नै थियो । यतिन्जेल बल्ल बल्ल छतदेखि माथिल्ला दुइतलाका सामान भुइँ तलामा ल्याएर असरल्ल थुपारेका थियौं । यत्तिकै राख्दा कुनै बेला पनि घर भत्केर पुरिन सक्थ्यो । त्यसमाथि आफैंले भत्काएमा इँटा र झ्यालढोका सबुतै निकाल्न सकिने हुँदा भोलि बस्न घर बनाउँदा खर्च घट्थ्यो । त्यसैले त्यहीँ राखिराख्न पनि मिलेन । यही सोचेर भत्केको घरको कौसीबाट निकालेको हलुका संरचनाको ट्रसकै सामान उपयोग गरी बाहिर गोठ अगाडि जस्ताको टहरो बनाउन लागेँ । पन्छाउनु पर्ने अझ अर्को पनि असुविधा थियो । साथीभाइ आउँदा कहाँ राख्ने ? त्यसैले टहराकै छेउ पहिले नै बनाएको अर्को खुला ट्रसलाई घेरघार गरेर अस्थायी बैठक बनाउनु आवश्यक थियो । यिनै बन्दोबस्तमा समय चिप्लियो, न त कतै जान पाइएको छ, न केही गर्नै सकिएको छ । कलम समाउने त  न मन छ, न मनस्थिति ! यो खल्बलिएको मनस्थितिमा के सोच्ने, के पो लेख्ने ?   साथी भाइ, इष्टमित्रहरूको दुःख बाँड्न भेट्न आउने क्रम जारी छ । देश विदेशबाट फोन र इमेलपनि आइ नै रहेका छन् । आजै फेसबुक म्यासेन्जरमा एउटा इमेल आयो । मेसेज त्रि वि अंग्रेजी विभागका प्राध्यापक केशव सिग्देलले पठाउनु भएको रहेछ । मेसेज थियो– “आदरणीय दाजु नमस्कार, भूकम्पले तपाइँको घर नोक्सान भएको तपाइँको फेसबुक पोष्टबाट देख्न सकें । यसमा हामी दुखी छौं । मलाई एकजना मेरा कवि साथीले कवि लेखकलाई केही सहयोग गर्न सकिने कोषको बारेमा बताएका छन् । यहाँलाई स्वीकार्य हुन्छ भने रु. पचास हजार उक्त कोषबाट उपलब्ध गराउन सकिने थियो । यो एकदमै सामान्य सहयोग हो । विपतमा हामी सँगै छौं भन्ने भावना व्यक्त गर्न यो प्रस्ताव गरेको हुँ । कृपया यहाँको स्वीकृति पाए म त्यो उपलब्ध गराउन सक्ने थिएँ ।” उहाँल ेआफ्नो मोवाइल नम्बर र परिचय समेत पठाउनु भएको रहेछ । उहाँ त्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी विभागमा प्राध्यापन गर्नुका साथै एउटा अङ्ग्रेजी पत्रिका “.......” को समेत सम्पादन गर्नुहुँदोरहेछ, जुन कुरा पछि थाहा पाएको थिएँ । त्यो पत्रिकाको म पनि ग्राहक छु । मैले उहाँको यो सदभावापूर्ण सहयोगको स्वागत गर्दै जवाफ पठाएँ ”यो प्रस्तावले मात्रैले पनि मलाई मलाई ठूलो भरोसा मिलेको छ तर यस् महाविपत्तिमा मभन्दा पनि बढी सहयोगको जरुरत हुने अरु कसैले पाउन सकेमा म आफैंले पाएसरह ठान्नेछु ।”  


इमेलपछिको फोनवार्तामा उहाँकोले भनाइ रह्यो– “यहाँको भावनाको उच्च कदर गर्छु, तर यो रकम भूकम्प प्रभावित लेखक कविकालागि मात्र भएको हुँदा यहाँले नलिए पनि अरुलाई दिन मिल्दैन । अरुका लागि प्रधानमन्त्री राहत कोषमा पचास लाख जम्मा गरिसकेका छौं । हामी सूचना संग्रह गर्दैछौं, सकभर प्रभावित सबै लेखक कविलाई पु¥याउने हाम्रो चाहना छ । त्यसैले लिँदा नैराम्रो होला ।”


अनि त्यो सबै कुरा सुनिरहेकी लक्ष्मीले मलाई कोट्याउँदै भनिन्, “आपूmले नलिने भए प्रतिष्ठानलाई दिनु भन्नोस् न त ।”


उनको कुराले मलाई झल्याँस्स पा¥यो, हो त बनाउँदा बनाउँदैको प्रतिष्ठान भवन पनि त काम नलाग्ने गरी भत्केको छ । अनि मैले केशवजीलाई प्रतिष्ठानको बारेमा बताएर भनेँ– “उसो भए त्यो रकम रमेश विकल साहित्य प्रतिष्ठानका नाउँमा सहयोग गर्न मिल्छ त ?”


उहाँको जवाफ थियो– “यो व्यक्तिका लागि गरिने सहयोग भएकोले संस्थालाई मिल्दैनकि ? म यो कुरा कोषका संचालकसँग सोधौंला । नभए यहाँ आफूले लिएर प्रतिष्ठानलाई दिनुभए त भैहाल्छ नि । अरु केही गर्नै परेन ।” 


केशवजीको कुरामा मैले सहमति प्रकट गरेँ र हामीबीचको संवाद रोकियो, हामीले दूरभाषबाट विदा लियौं । यसबीच क्षतिमूल्याङ्न गर्न भनी सर्वदलीय भनिने दलका प्रतिनिधिहरूको घेरामा नगरपालिको टोली आयो । एकजना अधिकारीले फाराम भरे । प्रतिष्ठान र आफ्नो घर दुवैको बारे सोधेको जानकारी दिएँ । देखेका छन्, घर बस्नै नहुनेगरी क्षाति पुगेर आफू अन्तै बसेको छु । सर्वदलीय भनिने दलका प्रतिनिधिहरूलाई पनि यो थाहै छ । पक्कै सही मूल्याङ्कन भयो होला भन्नेमा ढुक्क रहेँ । पछि पो जिल्ल पर्नुप¥यो– मेरो घरको क्षति न पूर्ण, न त आंशिक रूपमैं क्षतिग्रस्त हुनेको सूचीमा छ । नगरपालिका वडामा उता मानिस बसिनै रहेका कतिपय ठाडा घर, पूर्ण क्षतिग्रस्तको सूचिमा सूचीकृत गरिएको सूचना टाँसिएको छ रे । अझ कतिमा त एउटै घर समेत चार पाँचजनाको नाममा पूर्णग्रस्त भनी सूचीकृत भएका छन् रे ! यो अनौठो देशमा सबै कुरा सम्भव छ । यस्ता कति अनौठा कुरा देखिन्छन्, सुनिन्छन– लेखाजोखा पनि त छैन । लाग्यो भूकम्पले घर भत्काएर शरणार्थी भएर पनि सरकारी आँकडामा म अझै त्यही घरको मालिक बनिरहेकै रहेछु । मजस्ता अरु पनि होलान ! यो मेरो विडम्बना हो, मेरो देशको बिडम्बना हो । लोकतन्त्र र सरकारी संयन्त्र केही दलीय प्रतिनिधिको हातका बन्दी बनेपछि यो भन्दा अर्को आशा पनि के गर्नु ? अरु त कुनै अपेक्षा थिएन, राहत लिन्न नै भनिसकेको नै थिएँ । सबैतिर पीडितको परिचयपत्र पेश गर्नुपर्ने रे, आफूसँग त्यै नभएपछि अब भोलि सरकारले दिने भनेको ऋणको अधिकार समेत नरहने भयो क्यार । यो देशमा एउटा इमान्दार नागरिकको नियति यही नै  त हो !          


१२ र १३ गतेका ठूलाका साथै त्यस पछिका विनाशकारी भूकम्पको त्रासदी बिर्सन नपाउँदै वैशाख २९ गते सत्रौं दिन त्यत्तिकै शक्तिशाली भूकम्पले फेरि धेरैको सातो लियो, कतिको ज्यान ! दोलखा र सिंधुपाल्चोकको सीमानालाई केन्द्रबिन्दु बनाएर अपराह्न ठीक १२ बजेर ५० मिनेट जाँदा भएको त्यो ७.३ रेक्टर स्केलको भूकम्पनले सिंगो पृथ्वीलाई नै डोलायमान तुल्यायो । त्यतिबेला हामी बस्दै आएको एकतले कटेरोमैं थियौं । म कम्प्युटरमा थिएँ । लक्ष्मी सँगैको कोठामा चिया बनाउँदै थिइन्न् । भूकम्पले सिंगो धरती नै डोलाउन थाल्यो । भुइँ तलाको कोठा समेत साह्रै हल्लाउन थालेपछि म पनि बाहिर निस्केँ । लक्ष्मी मेरा लागि बनाएको चियाको गिलासै हातमा बाकेरै कोठा बाहिर निस्केर इनार छेउको बाटोमा थचक्क बसेकी थिइन् । त्यो ठाउँ सुरक्षित थिएन । हामी बसेको होचो टहरै पनि ढल्यो भने नजिकै भएको हुँदा थिच्थ्यो । उठाउन खोज्छु, लक्ष्मी उठ्नै सक्दिन । मेरुदण्डको समस्याले गर्दा बसे्पछि हत्पत्ति उठ्न मुस्किल पर्ने लक्ष्मीको अवस्था थियो । बल्ल्तल्ल उठाएर घर परिसर बाहिर निस्क्यौ । अलि सुरक्षित बारीको खुला पाटोमा कतिबेला पुगियो, त्यो पनि हेक्का रहेन । सबै खृुला ठाउँ मनिसले भरिएका थिए । कति जम्मा हुँदै पनि थिए । सबैको अनुहारमा आतङ्क र मृत्युभयको छाया स्पट तैरिरहेको देखिन्थ्यो । यसरी मैले धेरै मानिसको अनुहारमा एकैचोटि यस्तो मृत्युको छाया देखेको दोस्रो पल्ट थियो । यस्तै पहिलोपल्ट देखेको थिएँ, जेठको १२ गते ! लाग्यो, मेरै अनुहारमा पनि त देखिँदै थियो होला भूकम्पन सिर्जित यो मुत्युृसन्त्रास !


यसरी फेरि अर्को त्रासको सिर्जना ग¥यो ठूलै रेक्टरको पछिल्लो भूकम्पले आमजनमानसमा । यसले अघिल्लो भूकम्प र त्यसका हजारौ ंपरकम्पनबाट जीर्ण बनेका संरचनालाइ थप क्षतिग्रस्त तुल्यायो । पहिले नै चर्किएका कमजोर भूसंरचना अझै कमजोर भए । यसले सुख्खा पहिरो जाने क्रमलाई तीब्रता दियो । यसले थप १३६ जनाभन्दा बढीको ज्यानलियो, ३१३५ भन्दा बढीलाई थप घाइते बनायो । त्यसपछि पनि चार रेक्टरभन्दा बढीका भूकम्पन भइ नै रहेका छन् । मानिस रातदिन त्रासमा बाँच्न विवश बने, सबैको सातो लियो एकपछिको अर्को भूकम्पनले । 


आफ्नै टहरो र अन्य कुराको व्यवस्थापन गर्दैमा दिनहरू बितिरहेका छन् । घरबाट कतै निस्कन सकेको छैन । सुरुका केही दिन भत्कन लागेको घरबाट फर्निचर र अरु सामान थन्क्याउन नयाँ ट्रस निर्माण र पुरानै ट्रसलाई बैठक कोठाको रुपमा सुधार गर्ने काममैं बित्यो । क्षतिग्रस्तघरले अरुलाई  त्यसको असर नपरोस् र थप नोक्सान नपु¥याओस् भनेर भत्काउने काममैं बित्यो । यी काम बल्ल अन्तिम चरणमा पुग्दै छन् । दावा र निमा शेर्पाले धेरै कराएकाले सवा लाखमा भत्काउन भनी दिएको ठेक्का उनीहरूले बीचैमा धोका दिएर छाडे । पछि प्रतिष्ठान भत्काउनेहरूलाई नै त्यसको जिम्मा पनि दिएर काम चलिरहेको छ । 


भेट्न आउने मित्रहरूको क्रम पनि चलिरहे कै छ । यसले आफू एक्लो नभएको र साथमा मेरा मित्रहरू छन् भन्ने भरोसा उब्जँदोरहेछ । त्यस्तै अनुभव भइरहेछ मित्रहरूको आगमनमा । अझ दुई हप्ताकै लागि भए पनि जापानबाट कान्छो छोरो आलोक आएपछि त झनै भरोसा मिलेको छ । 


लाग्छ, प्रकृति पनि झनझन क्रूर बनिरहेको छ ! म्याग्दीको भगवती र राम्चेमा गएको विशाल पहिराले कालीगन्डकी थुनिएर भूकम्पछिको अर्को प्राकिृतिक त्रासदी सिर्जना ग¥यो । कालीगण्डकीको बहाव सुचारुगर्न गरिएको मानवीय प्रयास असफल भयो । घन्टापछि प्रकृति आफैंलाई टिढ लाग्यो सायद र साँझतरि नदी आफै खुलेर आफ्नो बाटो बनायो । नदी स्वाभाविक गतिमा बग्न थाल्यो । अनि बल्ल माथिल्लो र तल्लो तटीय क्षेत्रका बासिन्दा ढुक्क हुन पाए । समयमै ंथाहा भएकोले संभाव्य दुर्घटनाबाट मानवीय क्षति नियन्त्रणगर्न संभव भयो । सूचना प्रसार गरेर घरहरू खाली गरियो । यसलेगर्दा २६ घर पुरिएर पनि मानवीय क्षति हुन पाएन । विहान १ बजेर १० मिनेटजाँदा थुनिएको नदीमा साँझसम्म ३० लाख घनमिटर पानी भरिइसकेको थियो । त्यत्रो मात्रामा थुनिएको कृत्रिम बाँध फुटेर पानी एकैसाथ ह्वात्तै बगेको भए ? कतिगाउँ बगाउँथ्यो होला, कतिको ज्यान जान्थ्यो होला !  ंआज पहिलो विनाशकारी भूकम्पको ठीक एक महिना । आजसम्ममा ४ र ४ भन्दा माथिका २६८ वटा परकम्पन गइसकेकाछन् । चारभन्दा साना मापका परकम्पन त ३० हजारभन्दा बढी भइसकेका छन् । चर्किएका जमिन र घरहरू कति छियाछिया भए, अनुमान गर्न सकिँदैन । यसले आसन्न मनसुनी वर्षपछि बाढीपहिरोको अवस्था कति गंभीर बनाउला– अनुमान मात्रै गर्दा पनि आङ जिरिङिग गर्छ । ओफ....के कस्तो ताण्डव खेल्ने हो भूकम्पले चिरा चिरा पारेको पहाडी भूसंरचनामा आसन्न बर्षा र बाढी पहिरोले । अहिले नै ताप्लेजुङमा भूकम्पले थिल्थिलो पारेको जमिनमा सुख्खा पहिरो जाँदा थप हजारौं बेघर बन्नपुगे, लालाबाला सबैको कत्रो बिचल्ली हुनपुग्यो ।  


भूकम्प हाम्रा पुर्खाले भोगे, हामी भोगिरहेका छौ ं। उनीहरू यसको त्रासदी अनुभव गरे, हामी अहिले गरिरहेका छौं । । ंबयासी वर्ष अगाडि १९९० को भुइँचालो यो भन्दा पनि ठूलो थियो, ८.३ रेक्टरको । त्यतिबेला पनि धेरै पुरातात्विक संरचना ध्वस्तभए । १८ हजार घर माटोमा मिले । त्यसपछिको मैले भोगेको यो महभूकम्पले  २ लाख ८८ हजार ७ सय ९८ घरलाई  पूरै क्षति पु¥यायो, २ लाख ५४हजार ५ सय १२ वटा घर आंशिक रूपमा क्षतिग्रस्त बने । १० हजार ७ सय ९० वटा सरकारी कार्यालय भवन मात्रै नोक्सान भए । १४ हजार ९ सय ९७ शैक्षिक संस्थामा क्षति पुग्यो ! मृत्यु हुनेको संख्या नै ८ हजार ०१९ पुगिसकेको छ । ७ हजार ७ सय ९ जना सर्वसाधारणका साथै ९ जना सैनिक, ५ जना प्रहरी, ११ जना निजामती कर्मचारी र ६७ जना विदेशी नागरिकले ज्यान गुमाउनुप¥यो । यसरी मापनमा सानो भएर पनि १९९० सालको भन्दा धेरै ठूलो नोक्सान ग¥यो यो महाभूकम्पले । ओहो, कति शक्तिशाली यो प्राकृतिक विचलन । राजधानी काठमाडौंको भौगोलिक बनावट मैं फेरबदल ल्याइदिएको छ रे यसले । काठमाडौंको जमिन लगभग ३ मिटर (१० फिट ) जति दक्षिणतर्फ सरेको अनुमान गरिँदै छ । हिमालय क्षेत्रमा जाने गरेका यस्ता भुकम्प विशेषतः उत्तरी प्लेटमा ठोक्किएर पैदा हुन्छ । दक्षिणीभन्दा उत्तर तर्फको तिव्वती प्लेट बढी शक्तिशाली भएकाले त्यसको प्रभावस्वरूप यस्तो असर परेको रे ! वैज्ञानिकहरू यस्तै अनुमान गर्छन क्यारे । यति शक्तिसाली मेरो धरती, मेरो गौरवशाली शहरलाई यती सजिलै तीनतीन मिटर पर धकेल्न सक्ने यो प्राकृतिक गतिको अगाडि कति अकिञ्चन छु म, कति निरिह, कति बबूरो ! यति बबूरो भएर पनि  हरदम आफैंभित्र गर्व र घमन्डको सगरमाथा उभ्याउँछु म मान्छे । सोच्दा पनि आफैंसँग लाज लाग्छ ! २०७२ असार ८विजय कटेरो, आरुबारी


No comments:

Post a Comment