Showing posts with label Interview. Show all posts
Showing posts with label Interview. Show all posts

Saturday, March 11, 2017

सरकारसँग पुस्तक तथा साहित्य प्रकाश्नसम्बन्धीस्पष्ट नीति नै छैन

४।   मध्यान्ह        शनिवार २८ फागुन २०७३, ११ मार्च २०१७, Saturday


काठमाडौंको आरुबारीमा जन्मिएर सोही ठाउँलाई कर्मथलो बनाउँदै आएका वरिष्ठ साहित्यकार विजय चालिसे
चार दर्जाभन्दा बढी कृतिका कृतिकार हुन् । गोरखापत्र संस्थानको अध्यक्षसमेत भएर काम गरिसकेका
सर्जक, वरिष्ठ साहित्यकार चालिसेसँग मध्यान्ह शनिवारका लागि रामकुमार पण्डित क्षेत्रीले लिएको
न्तर्वार्ता ।
साहित्यको कुन चाहिँ विधामा लेख्न र पढ्न रुचि राख्नु हुन्छ ?

मेरो लेखनको मूल पक्ष आख्यान (कथा) नै हो । कथापछि नियात्रा र बालसाहित्य पनि मैले अत्यन्त रुचिपूर्वक लेख्दै आएका विधा हुन् । मैले साहित्यका पं्राय सबै विधा– कथा, उपन्यास, लोकसाहित्य अनुसन्धान, निबन्ध, नियात्रा, नाटक, हास्यव्यङ्ग्य, कविता,  आमसञ्चार र पत्रिकारिताका साथै समीक्षा तथा समसामयिक राजनीतिक विषयमा पनि कलम चलाएको छु । ती सबै सङ्गृहीत गर्ने हो भने हरेक विधा–उपविधाका छुट्छुट्टै कृति तयार हुन्छन् । त्यसो भए पनि म आफूलाई मूलतः कथाकार ठान्दछु र अनि नियात्राकार र बालसाहित्यकार । त्यसपछि मात्र अरु । नेपाली साहित्यको इतिहास लेखक र समालोचकहरूको मूल्याङ्कनमा पनि मेरो कथाकार र नियात्राकार र बालसाहित्यकार व्यक्तित्व नै अरुभन्दा अगाडि छन् ।

सुरु सुरुमा कविता लेखेर साहित्य साधना सुरु गरे पनि समाज, परिवेश र चरित्रको यथार्थपरक चित्रणमा र अभिव्यक्तिका लागि मलाई कथा विधा नै सर्वाधिक सहज र प्रभावकारी लाग्छ । यसैले प्रमुख विधाका रूपमा म कथा लेख्ने गर्छु । साहित्यका विविध विधाका आफ्ना आफ्ना अलग महत्व छन् । कहिले आफूले भन्न खोजेको कुरालाई कथाका माध्यमद्वारा प्रभावकारी अभिव्यक्ति दिनसकिनेजस्तो लाग्छ, र कथा लेख्छु । कथामा पनि आधुनिक विज्ञानको अधारमा भावी विश्वको परिघटना हेर्दा तिनलाई विज्ञानकथाबाट प्रकट गर्न सकिने विश्वासमा म विज्ञानकथा पनि समान रूपमा लेख्छु । कहिले कतै घुम्ने अवसर पाउँछु, अनि मनमा उठेका अनुभव र अनुभूतिलाई निजात्मक अनुभवका रूपमा नियात्रा निबन्धमा पोखिन खोज्छु । सबैको विवरण लेख्नु सायद जरुरी नहोला ।

यसैले मेरो पठन  अभिरुचि पनि आख्यन् (कथा उपन्यास) मैं बढी छ । त्यसपछि म जीवनी संस्मरण, नियात्रा र बिन्धहरू पढ्न बढी रुचाउँछु ।

भनिन्छ एउटा रचना राम्रो लेख्न अरूका सयवटा रचना पढ्नु पर्छ । यस भनाइसँग कत्तिको सहमत हुनुहुन्छ ?

एकदमैं सत्य लाग्छ यो भनाइ । नेपाली लगायत विश्वसाहित्यका उत्कृष्ट र स्तरीय साहित्यको अध्यनले कुनै पनि लेखकको दृष्टिकोणलाई फराकिलो र गम्भीर बनाउँछ ।

एउटा लेखकले भएजति सबैको पुस्तक पढ्न सम्भव हुँदैन । पुस्तकै मात्र पढ्ने हो भने लेख्ने कुन बेला भन्ने समस्या आउन सक्छ । यसलाई यहाँले कसरी लिनु भएको छ ?

यसैले त छनोटको महत्वपूर्ण भूमिका रहन्छ । स्रष्टा र सृजना दुवैका आधारमा प्रतिनिधिमूलक कृतिहरूको सूची बनाएर पठनअभ्यासलाई अगि बढाउनु उपयुक्त होला कि ? संसारभरमा प्रकाशित त के कुरा नेली भाषाकैं पनि सबै कृति पढ्न सकिँदैन । त्यसैले मानवीय दृष्टिकोण र साहित्यिक मूल्यका कृतिको छनोट गर्नु आवश्यक छ । यसका लगि पूजीँवादी अर्थतन्त्रको प्रमुख हतियार विज्ञापनबजारमा पोखिएका भ्रमबाट भने मुक्त पर्छ । बढी चर्चामा आउनु र ठूला ठूला सञ्चारमाध्यमका प्रायोजित विज्ञापनजन्य टिप्पणी, समीक्षा र स्तम्भ भरमार लेखिनु–लेखाइनु र छापिनुले मात्र स्तरीयताको निर्धारण गदैन । यसको आधारमा मात्रै कुनै कृति मात्र मानवीय दृष्टिकोण र साहित्यिक मूल्ययुक्त छ भन्न सकिँदैन । हो, तपाइँ हामी कतिजना आफैंले कुनै बेला स्तरीय र आदर्श मानेका कतिपय व्यक्तित्वसमेत पूजीबजारको तिनै विज्ञापन निर्माताहरूसँग बिकिरहेको देख्दा तिनले गरेका कृतिको धुवाँदार प्रशंशालाई नै सत्य ठान्ने भ्रममा पर्ने सम्भावना पनि नरहेको होइन । यस्तै भ्रममले सही अर्थमा मूल्यमा आधारित नेपाली माटोको सुगन्ध बोक्ने कृति र व्यक्तित्व भिल्लका देशका मणि बनिरहेका छन् । रातारात प्राज्ञत्वको थेग्नै नसक्ने भारी बोकाएर वरिष्ठ बनाइने दलीय राजनीतिको कसीजस्तै रातारात महान् लेखक जन्माउने वर्तमान अभ्यास कतिपय सही ठाउँमा परेपनि अधिकांश विज्ञापन कलाको बल छउन्जेलमात्र प्रभावकारी हुन्छ भन्नु अनुपयुक्त नठानिएला ! हाम्रो छनोट यो भ्रमबाट मुक्त रहनुपर्छ । यसका लागि पुराना लेखकका कालजय कृति र यस्ता अत्यधिक चर्चामा आएका र नआएका समकालीन साहित्यकारका प्रतिनिधिमूलक केही पुस्तकको आध्ययन गरेर आफैं पनि सही छनोटको अभ्यास गर्नसकिन्छ कि जस्तो लाग्छ ।

भर्खरै लेख्न सुरु गरेकाहरूले अध्ययन कम गरेको भरमै धेरै लेखेका देखिन्छ । यसरी लेख्नेहरूको लेखाइमा गुणात्मकता नभएको भन्ने पाठकीय गुनासो सुनिन्छ । उनीहरूलाई कस्तो सुझाउ उपयुक्त होला ?

धेरै लेख्नु खराब कुरा होइन तर धेरै लेख्नुभन्दा थोरै लेखे पनि रामै्र लेखूँ भन्ने सोच राख्नु बढी आवश्यक होजस्तो लाग्छ । आखिर धेरै लेखे पनि थोरै लेखे पनि लेखिएका सबै कृति वा रचना उत्तिकै स्तरीय र उत्कृष्ट हुन्छन् भन्न सकिन्न, हुँदैन पनि ! त्यसैले लेख्ने र पढ्ने दुवै कुरा समय खोज्ने बौद्धिक कार्य हुन् । यी दुवैलाई यथासम्भव समय दिनु स्तरीय लेखनका लागि निश्चय नै उयुक्त हुनजान्छ । स्तरीय  र गम्भीर लेखनका लागि अवश्य नै बढीभन्दा बढी अध्ययनको खाँचो रहन्छ । यसबाट आफ्नो लेखनमा शैली, विचार र कला पक्षमा सुधार ल्याउन सहयोग मिल्छ । तर यस प्रक्रियामा सोझो प्रभाव र शैलीग्रहणको अनुकरणबाट भने जोगिनु जरुरी छ ।

विशेष गरी युवा पुस्ता र नारी स्रष्टाहरूले प्रेमको विषयलाई जोड दिएका पाइन्छन् । उनीहरूले माया प्रेममै लेख्नु पर्ने हो कि देश प्रेममा पनि ?

प्रेम शाश्वत छ । आफू, आफ्ना परिवार, समाज र देशलाई माया गर्ननसक्ने मान्छे यथार्थमा न इमानन्दार र समर्पित लेखक  बन्न सक्छ, न आफूलाई जन्माइ हुर्काइ योग्य बनाउने माटो र राष्ट्रको सपुत नै बन्न सक्छ । त्यसैले प्रेमका विषयमा लेखिनुलाई अस्वाभाविक र असान्दर्भिक भन्न हुन्न । तर त्यो प्रेम विषयको लेखनलाई “आधुनिक, उदार र खुलासमाजको लागि” भन्दै लेखिएका आजका केही नाङ्गा लेखनजस्तो भने हुनुहुन्न । मात्र शारीरिक आकर्षण र यौनभावनाको उत्प्रेरक बन्ने लोभबाट मुक्त भई शाश्वत प्रेम विषयलाई आख्यानको विषबस्तु बनाइन्छ भने त्यसलाई बेठीक भन्न सकिँदैन ।
 
यहाँको रचनाहरूमा देश प्रेम प्रशस्तै पाइन्छन् । एउटा लेखकले आफ्नो रचनाबाट राजनीतिज्ञलाई प्रभाव पार्न सक्ला ? सक्छ भने कसरी ?
राजनीतिज्ञ भनिनेहरूमा पठनशीलता छ र तिनीहरूसम्म यस्ता साहित्यबारे जानकारी पु¥याउन सहयोग गर्ने इमान्दार तथा बिकाउ मनोविज्ञानबाट मुक्त निष्पक्ष समीक्षक र समालोचनाको अभ्यास हुने हो भने नेपाली सािहत्यमा लेखिएका राष्ट्रिय स्वाभिमानप्रति  सचेत जुनसुकै लेखनबाट प्रभाव पुग्न सक्छ । हिजो हेर्नुहोस्, धरणीधर कोइराला, गोपालप्रसाद रिमाल, महाकवि देवकोटा, ह्रृदयचन्द्र सिंह, सिद्धिचरण श्रेष्ठ, युद्धप्रसाद  रिमाल, रमेश विकल पारिजात, मोदनाथ प्रश्रित लगायतका अग्रगामी सृजनाहरूकै जगमा विकसित राजनीतिक आन्दोलनहरूले ठूला ठूला परिवर्तन ल्याएको हाम्रै इतिहास छ । युरोपेली साहित्यमा पनि यस्ता अनेकौं दृष्टान्त पाइन्छन् ।

विकसित देशको तुलनामा हाम्रो देशमा साहित्यिक पाठक कम छन् । झन् आजकालको आधुनिक प्रविधिले धेरैको पढ्ने बानी नै हटेको छ । यस्तो चुनौतीलाई सामना कसरी गर्ने होला ?
निश्चय नै हाम्रो देशमा पढ्ने बानी बसेको जनसङ्ख्या अत्यधिक न्यून छ । एक त साक्षरताको सङ्ख्या नै कम छ, अर्को पढ्न चाहनेको पनि इच्छा अनुसार क्रय क्षमता हुँदैन । हो, हिजोको तुलनामा विशेष गरी बोर्डिङ नामधारी अङ्ग्रेजी माध्यमका उत्पादन र एघार–बाह्र कक्षाका विद्यार्थीहरूमा अलि बढी पठनशीलता देखिन्छ, तर तिनको रुचि नेपालीभन्दा बढी अङ्ग्रेजी भाषामा लेखिएका विदेशी लेखकका कृति तर्फ एकोहारिएको छ । यसले नेपाली साहित्यको पाठकमा अझै ह्रास आइरहेको तर्फ तथ्यले इङ्ति गर्छ । विज्ञापन कला नबुझेका प्रकाशक र तिनका सहयोगी लेखक–टिप्पणीकर्ताहरूको पुस्तकले प्रकाशनको उज्यालो देख्न पाएको छैन । “फलानो लेखकको फलानो कृति यति लाख बिक्यो, यति दिन वा महिनामैं यति संस्करण छापियो, फलानो लेखकसँग यस्तो कृति लेखाउन यति यति लाखको सम्झौता गरियो” भन्नेजस्ता “विज्ञापनस्टन्ट” को विश्वास गर्ने हो भने मात्रै, नत्र कुनै पनि बस्तुगत तथ्याङ्कले केही मात्रामा पाठक बढे पनि त्यस्तो नाटकीय वृद्धि भएको देखिन्न । यस पृष्ठभूमिमा भोलिका पाठक निर्माण तर्पm नै बढी ध्यान जानु पर्लाजस्तो लाग्छ । यसका लागि सरकारी नीतिमैं टोलटोलमा पुस्तकालय र अध्ययन केन्द्रहरूको निर्माण, दुर्गम गाउँघरमा घुम्ती पुस्तकालयको अभ्यास, अभिवाकमा आफ्ना छोराछोरीलाई पाठ्यपुस्तकका अतिरिक्त स्तरीय र उपयुक्त अतिरिक्त पुस्तक पढ्ने तर्फ प्रेरित गर्ने उत्प्रेरणा, प्रकाशकहरूमा रातारात कमाउने लोभका अतिरिक्त नेपाली साहित्यका नयाँ–पुराना स्तरीय र कालजयी शाश्वत साहित्यिक कृतिहरूको बालक र युवाउपयोगी सारसङंक्षेपीकृत संस्करण र सस्तो सुलभ मूल्यमा पुस्तक प्रकाशनका लागि सस्ता गोजी संस्करणको प्रकाशनमा सक्दो योगदान गर्नु पर्छ । सरकारले पनि नेपाली साहित्यका नयाँ–पुराना स्तरीय कालजयी शाश्वत साहित्यिक कृतिहरूको बालक र युवाउपयोगी सारसङंक्षेपीकृत संस्करण र सस्तो सुलभ मूल्यमा पुस्तक प्रकाशन गर्ने प्रकाशकलाई प्रकाशन सामग्रीमा भन्सार छूट दिने र निश्चित प्रतिको खरिद गर्नुका साथै आयकरमा केही प्रतिशत कमी गर्ने नीति अख्तियार गरेर सहयोग पु¥याउनु राम्रो हुने छ ।  

यहाँले बाल साहित्यमा धेरै कलम चलाउनु भएको छ । यसको खास कारण के होला ?

पहिलो त हाम्रो पालासम्म पाइने कथावाचनको परम्परागत अभ्यासले नै यसतर्फ लाग्न प्रेरित गरेको हो । हिउँदमा मकै स¥याउँदा साँझ वा राती ननिदाउन्जेल काम सघाउन आउने बूढापाले सुनाएका दन्ते कथा, लोकथा केही भए पनि सुन्ने अवसर पाइन्थ्यो । ती कथाहरूले कल्पनाशीलताका साथै जीवन र जगतका बारेमा औपचारिक पाठ्यपुस्तकले भन्दा बढी ज्ञान दिन्थे । अर्कोतिर तिनका कथा भन्ने शैलीले लेखन र शैलीगत विकासमा समेत मार्गदर्शंन गर्थे । तिनैबाट प्रभावित भएर “मैले पनि लेखे त होला नि ?” भन्ने लाग्थ्यो । घरमा पिताजीलाई भेट्न ठूलाठूला साहित्यकारहरू आउनुहुन्थ्यो । उहाँहरूलाई देख्दा अहो लेख्यो भने त यस्तो भइनेरहेछ भन्ने लाग्थ्यो । त्यतिमात्र नभई पत्रपत्रिकामा अरूको नाम छापिएको लेखहरू पढ्दा आफ्नो पनि यसरी नै नाम छापिएहुन्थ्यो भन्ने रहर जाग्थ्यो । यिनै कुराहरूले लेख्न प्रेरित गरे सायद र लेख्न थालेँ, पहिलो बालकथा २०२८ सालमा गोर्खापत्र दैनिकमा छापियो ।

अर्को कारण हामीले आफ्नो बाल्यकालमा धेरै बालसाहित्यका पुस्तक देख्न पाएनौ । पछिल्लो पुस्तामा त्यो अभाव पूरा गर्न आफ्नो तर्फबाट पनि केही सहयोग गर्न सकिन्छ कि भन्ने लागेर पनि यतातिर लागेको हुँ । साथै बालसाहित्यको नाउँमा अधिकांश लेखन कि त पुराना सहित्यका पुनर्कथनमा सीमित भएजस्तो लाग्यो, कि त प्रयोगका नाउँमा विदेशी आइएनजिओद्वारा निर्देिशत लेखनलाई नै मूलधारको बालसाहित्य ठान्नु पर्ने खतरा बढ्दै गएको देखियो । यस पृष्ठभूमिमा बालबालिकालाई वैज्ञानिक दृष्टि र चेतयुक्त कुराका साथै राष्ट्रिप्रेमको भावना पनि बालसाहित्यको माध्यमद्वारा दिन सकिन्छ कि भनेर पनि यसतर्फ लागेको हुँ ।  

बाल साहित्यको बजार राम्रो हुनुको मतलब, अब बिस्तारै साहित्यको भविष्य तयार हुँदै गरेको त होइन ?

हो, बाल साहित्यको बजार राम्रो हुनुको अर्थ बिस्तारै साहित्यको भविष्य तयार हुँदै गर्नुको सङ्केत मान्न सकिन्छ । अहिले बालसाहित्यका पाठक केही भए पनि बढेकै देखिन्छन् । अभिभावकहरूमा छोराछोरीलाई पाठ्यपुस्तक बाहेक अरु पढ्न दिनुहुँदैन भन्ने पुरानो धारणा फेरिन थालेको छ । विद्यालयहरूमा पुस्तकालय स्थापना गर्ने र बालसाहित्य पठनमा प्रोत्साहन दिने प्रवृत्ति बढ्दै गएको छ । बालसमूह, बालक्लबजस्ता बालकेन्द्रित तथा सञ्चालित संस्थाहरूको विकास हुनुका साथै बालसाहित्यका भित्ते पत्रिका, बालपत्रिका आदि प्रंकाशनको अभ्यासका कारण बालबालिकामा बालसाहित्यप्रतिको आकर्ष बढिरहेको छ । यो अवश्य नै भविष्यमा साहित्यका पाठक बढने सङ्केत हो । केटाकेटीमा बालसाहित्य पढ्ने बानी बसिसकेको बालपाठक भोलि ठूलो भएपछि प्रौढ साहित्यको गम्भीर पाठक बन्छ भन्ने अनुमान सुखद् अनुमान हो र साहित्यको विकासका लागि सकारात्मक सन्देश हो ।    

नेपाली साहित्यलाई विश्वमाझ पु¥याउन के गर्नु पर्ला ?

मूल्यमा आधारित स्तरीय नेपाली साहित्यको स्तरीय अनुवाद र ती अनुवादको स्तरीय मुद्रण तथा विश्वबजारमा पुग्ने गरी  बजारप्रणालीको विकास । सरकारी टीकामा नेतृत्व र प्राज्ञ छानिने सरकारी प्रतिष्ठानहरूका साथै साझाजस्ता सहकारी प्रकाशनले स्तरीय अनुवाद गराउने र प्रकाशनमा सहयोग गर्ने तर्फ ध्यान दिनु पर्ने हो । हुन त त्यसरी हुने कृति चयन र अनुवादमा स्तरीयताभन्दा कथित कार्यकर्ता लेखकको दलीय भागबण्डाबढी प्रभावी हुनसक्ने संभावना पनि उत्तिकै छ । तर पनि लाजगालले एक दुई भए पनि कालजयी स्तरीय साहित्यले अनुवाद हुने अवसर पाउने छन् । सरकारले पनि यस्ता स्तरीय मूल्यवान कृतिको अनुवादमा निजी प्रकाशलाई प्रोत्साहन मिल्ने खालको पुस्तक नीति ल्याउनु आवश्यक छ ।  

यहाँलाई मन परेका साहित्यिक कृतिहरूको नाम बताइदिनुस् न !

सङ्ख्याका दृष्टिले पाँच सात हजार पुस्तक पढियो होला । ती सबैको सम्झना राख्नु सम्भव छैन । पढिएकामध्ये समकालीन कृतिको कुरा नगरौं, केहीको नाम लिँदा अरुमाथि अन्याय हुनजाने डर रहन्छ । पढ्दाखेरीको तात्कालिक प्रभावको भरमा मन परेको वा नपरेको भन्नु पनि बस्तुगत नहोला । त्यसैले तिनलाई समयको कसीमा घोटिन दिउँ । जहाँसम्म हामीभन्दा अगिल्लो पुस्ताको सृजना हो, तिनमा केही नाम लिनुपर्दा मलाई मन परेका नेपाली पुस्तकमा लेखनाथको तरुणतपसी, समको मुटुको व्यथा र मेरो कविताको आराधना, महाकवि देवकोटाका मुनामदन लगायत निबन्ध शाकुन्तलजस्ता महाकाव्य, गोपालप्रसाद रिमालको कविता र मसान नाटक, भूपि शेरचन, सिद्धिचरण र युद्धप्रसाद मिश्रका कविता, वीपीका तीन घुम्ती र सुम्निमा, गोविन्द गोठाले, विजय मल्ल, दौलत विक्रम बिष्ट रमेश विकलका कथा उपन्यास, भैरव अर्यालका हास्यव्यङ्ग्य निबन्ध आदि धेरै छन् । यी सबैबाट प्रेरणा लिन सकिन्छ । सबै नाम उल्लेख गर्नु सम्भव पनि छैन ।

विदेशी साहित्यमा शेक्सपियरको ह्यामलेट, मोपासाका र चेखबका कथा, गोर्कीका माँ, मेरा विश्वविद्यालयजस्ता जीवनपरक उपन्यास र जीवनी, छिमेकी साहित्यमा लुसुनका कथा उपन्यास, उर्दूका महान् लेखक प्रेमचन्दका कथा, शरदजोशी, श्रीलाल शुक्लाका मोहन राकेश आदिका कृति झट्ट सम्झनामा आउने केही नाउँ हुन् ।
   
अचेल पुरस्कारमा धाँधली हुने गरेको धेरै सुनिन्छ । पुरस्कारले साहित्यिक वातावरणमा कस्तो खालको असर पु¥याएको छ ? के साहित्यकारको लागि पुरस्कार अपरिहार्य हो र ?

सबैलाई एकै टोकरीमा राख्दा पनि निष्पक्ष रूपमा सदासयपूर्वक दिइने जनस्तरका पुरस्कारमाथि अन्याय हुनजान्छ । किन भने सबै पुरस्कारमा धाँधली हुन्छ नै भन्ने पनि होइन । कतिपय निजी स्तरका पुरस्कार रकम र प्रभावमा ठूला राशिका पुरस्कारजति चर्चामा नआए पनि बिना पक्षपात प्रदान गरिँदै आएका देखिन्छन । कति ठूला भनिने चर्चित पुरस्कारमा भने धाँधली हुने, आफ्ना र अर्का भनी छुट्याइने गरेको पाइन्छ । सरकारी भनिने पुरस्कार जतिमा चाहिँ सरकार वा सम्बन्धित मन्त्रालयको आशिरवाद पाउन सफल भएका, पार्टीका साहित्यकार वा पार्टी निकट कार्यकर्ता आदि हुने गरेको आरोप लाग्ने गरेको छ । ती व्यक्तिको छनोट पार्टीभित्रकै नेताका चम्चा कथित साहित्यकार आदि नै हुन्छन् । यो आरोप धेरै हदसम्म सत्य पनि देखिन्छ । प्राय यस्ता पुरस्कार पाउन चाकडी र भनसुनको दण्डबैठक निकै नै हुने पनि सुनिने गर्छ, जसमा सत्यको मात्रा धेरै छ । निजी संस्थाका हुन् वा सरकारी–अर्धसरकारी, कथित सत्ता, शक्ति र तिनको निकटतालाई नै योगदान, ज्येष्ठता र वरिष्ठता मानिने भए पनि जनस्तरका निजी साधन स्रोतमा सञ्चालित सबैमा यस्तै हुन्छ भन्ने होइन । त्यसैले सबैलाई एकै दृष्टिले हेर्नु हुन्न कि ?

साहित्य प्रति सरकारी नीति कस्तो पाउनु हुन्छ ? साहित्य उन्नयनको लागि सरकारले कस्तो नीति अबलम्बन गर्नु पर्ला ?

केही कुरा माथि बालसाहित्य र अनुवादका सन्दर्भमा कुरा गर्दा पनि राखि सकेको हुँ । पहिलो कुरा त सरकारसँग स्पष्ट पुस्तक तथा साहित्यिक प्रकाशनसम्बन्धी नीति नै छैन । यस्ता नीत बनाइँदा पनि पार्टी र सरकारनिकट कथित ब्रान्डेड बुद्धिजीवी (जसको अनुहार बाहेक सरकार र पार्टीले अरुलाई कहिल्यै चिन्दैन) र स्वार्थसमूहका प्रकाशकहरूको सोचलाई नै सर्वाङ्ग ठान्छ । यसैले यस्ता नीति प्राय एकाङ्गी बन्ने गरेका छन् । त्यसैले भएको पुस्तक नीतिमाथि गम्भीर पुनर्मूल्याङ्कन हुनु आवश्यक देखिन्छ ।

सबै कुरा यो सानो वार्तामा उपयुक्त नहोला । त्यसैले व्याख्यातिर नलागी सङ्क्षेपमा यति मात्रै भनौं– नेपालको पुस्तक नीतिमा प्रकाशन, प्रवद्र्धन र प्रोत्साहनका त्रिपक्षीय दृष्टिकोण आवश्यक छ ।

यहाँले कथा, निबन्ध, नियात्रा, उपन्यास, बाल साहित्य आदिमा कलम चलाइरहेको पाइन्छ । समग्रमा रचना लेख्नलाई कुन चाहिँ विधा सजिलो र प्रभावकारी होला ?

साँच्चिकै साहित्य लेख्ने हो भने कुनै पनि विधा सजिलो छैन । समय, चिन्तन र व्यापकताका कारण आख्यान, महाकाव्य, नाटक, गम्भीर खालका ललित निबन्ध आदि अलि कठिन होला भन्ने लाग्छ । त्यस्तै सृजना नभए पनि गम्भीर समालोचनाका ग्रन्थ लेख्नु पनि  सायद सजिलो छैन होला । प्रभाव र त्यसको प्रभावकारिताको कुरा गर्ने हो भने असल साहित्य जुनसुकै विधाको भए पनि उत्तिकै प्रभावकारी हुन्छ जस्तो लाग्छ ।

यहाँ गोरखापत्र संस्थानको महाप्रबन्धक र अध्यक्ष दुबै भइसक्नु भएको छ । त्यस अनुभवमा समग्र मिडियाको चुनौती के होला ?

अहिले मिडियालाई मात्र नाफामुखी उद्योग ठान्ने प्रवृत्ति बढिरहेको छ । सञ्चार गृहलाई बहुमाध्यम चलाउने दिने र पूँजीगत लगानीको भोलुमले प्रकाशन–प्रशारणको प्रसारप्रभाव निर्धारण गर्ने भएकोले सञ्चारमा बहुलवादको सिद्धान्त ओझेल पर्दै जान थालेको छ  । कमाउने होडमा मिडिया राष्ट्रिय संस्कति र सोचविरोधी वाह्यसंस्कृतिको संवाहक बन्दै जाने खतरा बढिरहेको छ । त्यसैले सञ्चार क्षेत्रलाई विशुद्ध उद्योगभन्दा पनि सामाजिक दायित्वसहितको जिम्मेवार क्षेत्रका रूपमा परिभाषित नगरिनु र वाक् तथा प्रकाशन स्वतन्त्रतालाई राष्ट्र र समाजप्रतिको उत्तरदायित्वभन्दा माथि राख्ने अहिलेको प्रवृत्तिबाट छुटकारा पाउनु राष्ट्रिय सञ्चारको प्रमुख चुनौति हो जस्तो लाग्छ ।

साझा संस्थामा वि. सं.२०४५–४८ को अवधितिर अंसियारको तर्फबप्रतिनिधित्व गर्ने निर्वातित सदस्य समेत हुनु भएको थियो । यस सम्बन्धमा केही प्रकाश पारीदिनु हुन्छ कि ?

निजी प्रकाशन अहिलेजस्तो व्यपक रूपमा नआएको अवस्थामा नेपाली साहित्य र समस्त वाङ्मयको उन्नयनमा नाफामुखी सोच मात्र नराखी राष्ट्रको सेवा गर्ने पवित्र संस्था थियो साझा प्रकाशन । त्यति बेला पनि अनियमितताहरू हुने गर्थे । त्यस्तो अनियमितामा सहभागी गराउन सञ्चलकहरूलाई पनि जिल्ला भ्रमण, जापान यात्रा, कृतिप्रकाशनमा प्राथकिताजस्ता प्रलोभनमा पारिने प्रयत्न गरिन्थे । त्यसमा फस्नेहरू आफ्नै कामले जिल्ला घुम्दा पनि साझाको सुविधा लिन्थे । सञ्चालक, त्यसमाथि पनि निर्वाचित सदस्य एक भएर सही कुरा अगि बढाउने र गलत कामको बिरोध गर्ने हो भने व्यवस्थापनले मात्र अनियमितता र भ्रष्टाचार गर्न सक्दैन । सञ्चालक, त्यसमाथि पनि निर्वाचित सदस्यको मिलेमतो भएपछि नै साझा मात्र होइन कुनै पनि संस्थाको दुर्गति सुरु  हुन्छ, जुन पछिल्लो समयमा साझा प्रकाशनल आफैंले देखाएको छ । विभिन्न संस्थाको नेतृत्व र सञ्चालनक्रममा पाएको मेरो अनुभव यही नै हो ।  

हालसालै प्रकाशमा आएको यहाँको ओह ... नेपारु नियात्राको बारेमा पाठकहरूलाई केही बताइदिनुस् न ।

कृतिगत प्रकाशनको हिसाबले यो मेरो अठ्चालीसौं पुस्तक हो, र तेस्रो नियात्रा सङ्ग्रह । यसमा पछिल्लो पटकको जापान भ्रमण गर्दाका अनुभव र अनुभूति समेटेको छु । पुस्तक पाठक सामु आएको छ, यसको बारेमा बोल्ने अधिकार पनि अब पाठक कै हो । म आफैंले आफ्नो कृतिको बारेमा भन्नु उपयुक्त नहोला कि ?
 
  अन्त्यमा सोध्न छुटेको तर भन्न चाहेको केही छ कि ?

सबै कुरा आइसके । भन्न बाँकी यति मात्र हो– मलाई सम्झनुभयो । त्यसका लागि युवा साहित्यकार–पत्रकार भाइ रामकुमार पण्डित र मध्यान्ह दैनिक परिवारप्रति हार्दिक धन्यवाद !  




Friday, April 11, 2014

स्रष्टा÷संवाद: मेरा कथाका पात्र समाजका यथार्थ पात्रहरू नै हुन् –विजय चालिसे, साहित्य स्रष्टा

(अग्निचक्र राष्ट्रिय मासिक२०७० चैत अङ्कमा प्रकाशित)
तपाईंको साहित्यिक विधा कुन हो र किन ?
–मेरो लेखनको मूल पक्ष आख्यान (कथा) नै हो । कथापछि नियात्रा र बालसाहित्य पनि मैले अत्यन्त रुचिपूर्वक लेख्दै आएका विधा हुन् । मैले साहित्यका पं्राय सबै विधा– कथा, उपन्यास, लोकसाहित्य अनुसन्धान, निबन्ध, नियात्रा, नाटक, हास्यव्यङ्ग्य, कविता, आमसञ्चार र पत्रिकारिताका साथै समीक्षा तथा समसामयिक राजनीतिक विषयमा पनि समान रूपले कलम चलाएको छु । ती सबै सङ्गृहीत गर्ने हो भने हरेक विधा–उपविधाक छुट्छुट्टै कृति तयार हुन्छन् । त्यसो भए पनि म आफूलाई मूलतः कथाकार मान्दछु र अनि नियात्राकार र बालसाहित्यकार । त्यसपछि मात्र अरु । नेपाली साहित्यको इतिहास लेखक र समालोचकहरूको मूल्याङ्कन पनि मेरो कथाकार र नियात्राकार र बालसाहित्यकार व्यक्तित्व नै अरुभन्दा अगाडि छन् । 
सुरु सुरुमा कविता लेखेर साहित्य साधना सुरु गरे पनि समाज, परिवेश र चरित्रको यथार्थपरक चित्रणमा र अभिव्यक्तिका लागि मलाई कथा विधा नै सर्वाधिक सहज र प्रभावकारी लाग्छ । यसैले प्रमुख विधाका रूपमा म कथा लेख्ने गर्छु । साहित्यका विविध विधाका आफ्ना आफ्ना अलग महत्व छन् । कहिले आफूले भन्न खोजेको कुरालाई कथाका माध्यमद्वारा प्रभावकारी अभिव्यक्ति दिनसकिनेजस्तो लाग्छ, र कथा लेख्छु । कथामा पनि आधुनिक विज्ञानको अधारमा भावी विश्वको परिघटना हेर्दा तिनलाई विज्ञानकथाबाट प्रकट गर्न सकिने विश्वासमा म विज्ञानकथा पनि समान रूपमा लेख्छु । कहिले कतै घुम्ने अवसर पाउँछु, अनि मनमा उठेका अनुभव र अनुभूतिलाई निजात्मक अनुभवका रूपमा नियात्रा निबन्धमा पोखिन खोज्छु । सबैको विवरण लेख्नु सायद जरुरी नहोला ।
मेरा कथाका पात्रहरू मेरै समाजका यथार्थ पात्रहरू हुन्, मेरो अर्थात मेरै समाजका मानिसहरूको चरित्र हुन् । मेरा प्राय सबै कथा समाजबाटै टिपिएका पात्र, घटना र परिवेशबाट प्रेरित रहन्छन् । ती पात्र मेरै समाजका पात्र हुन् । म यही समाजको स्वभाव, चरित्र र चापबाट निर्मित एउटा सदस्य हुँ  र समाजका हर कुराले मलाई प्रभावित गर्नु स्वभाविक छ । तिनैमध्ये कुनै पनि विशेष घटना वा कुराले मेरो मनमा तीब्र प्रभाव पारेर उद्वेलित तुल्याएपछि मेरो मनबाट त्यो विषय वा घटना लामै समयसम्म मेटिन सक्दैन । कहिले त्यसलाई तुरुन्तै कथाको रुप दिइन्छ, कहिले लामो समयसम्म त्यसै रहन्छ । त्यो घटना वा विषय मनमा धेरै मन्थन भएपछि त्यसलाई लेखनमा उतार्ने गर्छु म ।

साहित्यमालाग्नु पछाडि कुनै प्रेरणा स्रोत छ कि ?
–मेरो घरको वातावरण साहित्यिक थियो । म सानैदेखि त्यही वातावरणमा हुर्किएँ । घरमा विभिन्न पत्रपत्रिका र पुस्तकहरूको उपलब्ध थिए । म साहित्यमा लाग्नुको पछाडि त्यो घरेलु वातावरणका साथै पिताजीको साहित्यिक व्यक्तित्व, घरमा आउनुहुने साहित्यकारहरूको आकर्षण आदि सबैको केही न केही प्रभाव परेको छ, सबै नै कुनै न कुनै तहमा प्रेरक बनेका छन् । तर पनि सुरुमा साहित्य लेखनतर्फ प्रवृत्त हुनुमा मूलतः पिताजीको लेखकीय व्यक्तित्व नै मेरो प्रेरणा थियो, पछि त्यसमा भैरव दाइ (भैरव अर्याल) प्रेरणा र प्रोत्साहन थपियो ।
घरमा नयाँ नयाँ पुस्तक र पत्रपत्रिकाहरू उपलब्ध हुने हुँदा सानैदेखि बसेको पढ्ने बानी र ती पुस्तक पत्रिकामा छापिने लेखकका नामको आकर्षणले पनि लेखक बन्नका लागि थप प्रेरणा दिए । किताव पत्रिपत्रिकामा लेखकका नाम छापिएको देख्दा आफ्नो नाम पनि त्यसरी नै छापिए कस्तो हुन्थ्यो होला ? भन्ने लाग्थ्यो । त्यही आकर्षणले सुरुमा कविताहरू लेख्ने हुटहुटी जगयो । केही पछि गाउँमा हामीले चलाएको चारपाते क्लबको नियमित बैठकमा सकेसम्म सबैले केही न केही सुनाउनु पर्ने नियम म आफैंले बनाएको थिएँ । अरुले नसुनाए पनि आफूले सुनाउन लेख्नै प¥यो । त्यही क्रममा स्कुल कलेजका साथै अन्य पत्रिकामा पनि कविता, कथा बाल साहित्य छापिँदै गए । अनि बिस्तारै लेख्ने बानी बस्दै गयो ।
तपाईंको विचारमा बालकले लेखेको बालसाहित्यहो कि ? बालकका लागि लेखिएका ?

–दुवै नै बालसाहित्य हुन् । तर सिर्जनामा बालसुभलभ भाषा शैली, मनोविज्ञान र विषबस्तु छैनन् भने न बालकले लेख्दैमा बालसाहित्य हुन्छ, न ठूलाले लेख्दैमा ! बालसाहित्यका तत्व र विशेषता छन् भने बालक प्रौढ जसले लेखे पनि बलसाहित्य बन्छ । हाम्रो मात्र नभएर विश्वसन्दर्भमै बालसाहित्य लेखनको सुरुआत प्रौढ सर्जकहरूबाटै भयो । बालसाहित्य सिर्जनामा बालस्रष्टाको सहभागिता पछि मात्रै देखिएको हो । पछि सुरु भए पनि अहिले हाम्र्रो नेपाली बालसाहित्यको सिर्जनामा बालसर्जकहरूको सङ्ख्या निरन्तर वृद्धि भइरहेको छ । अभिभावकहरूमा पठ्पुस्तक बाहेक अरु पढ्न हुँदैन भन्ने पुरानो धारणामा आउन थालेको परिवर्तन, विद्यालयहरूमा पुस्तकालय स्थापना गर्ने र बालसाहित्य पठनमा प्रोत्साहन दिने प्रवृत्तिमा आएको विकास, बालसमूह, बालक्लबजस्ता बालकेन्द्रित तथा सञ्चालित संस्थाहरूको विकास र बालसाहित्यका भित्ते पत्रिका पत्रिका प्रंकाशनको अभ्यास आदिका कारण बालबालिकामा पनि लेख्ने बानीको विकास हुँदै गएको देखिएको छ र अहिले बालसाहित्यमा बालस्रष्टाहरूको उपस्थिति पनि पाठकका साथै स्रष्टाका रूपमा समेत निरन्तर बढिरहेको छ । बालकले नै लेखेका कतिपय रचनामा बालसाहित्यका तत्वको अभाव नदेखिने होइन, तर पनि यो सङ्ख्याको वृद्धि बालसहित्य लेखनका लागि सकारात्मक सन्देश हो ।     

बाल साहित्यका पुस्तकमा उमेर निर्धारण भए राम्रो होलाकि नहोला ? जस्तो एउटै संग्रहमाकुनै पाँचवर्षकालाई र कुनै १२ वर्षकालाई हुने कथा समेटिएको पुस्तकले त दुवै उमेरकालाई ठगे वा झुक्याए जस्तो भएको देखिन्न र ?
–अति राम्रो कुरा सोध्नुभयो । अवश्य पनि सकेदेखि बालसाहित्यका हरेक पुस्तकमा त्यो पुस्तक कुन उमेरको पाठकका लागि उपयुक्त छ भन्ने स्पष्टसाग उल्लेख हुनु अत्यन्त राम्रो कुरा हो । तर हाम्रा आफ्नै समस्या पनि छन् । विकसित मुलुकमा कुन कक्षा वा उमेरमा बालकको शब्दभण्डार क्षमता कति हुन्छ, उसलाई कतिसम्म कुन र कस्तो संरचानाका नयाँ शब्द सिकाउँदा उपयुक्त हुन्छ, भन्नेजस्ता वैज्ञानिक र प्रयोगात्मक अध्ययन अनुसन्धानबाट निकालिएका निश्चित आधार तयार छन् । उनीहरू कुनै पनि बालसाहित्यका पुस्तकमा प्रयुक्त भाषा, शैली, विषयबस्तु आदिका आधारमा त्यो कुन उमेर वा कक्षाका बालक बालिकाकालागि लेखिएको हो सजिलैस्ँग भन्न सक्छन् । अर्थात् उनीरूसँग वैज्ञानिक आधार छ र त्यो अध्ययनलाई उनीहरू निरन्तर अद्यावधिक पनि गर्दै जान्छन् ।
हाम्रो सन्दर्भमा भने यस्तो छैन । केही बालसाहित्यका अध्येता र स्वयम् बालसाहित्य स्रष्टाले धेरथोर प्रयास गरे छन्, नगरेको होइन । यति भएर पनि ती अध्ययनहरू क्षेत्रगत हिसाबले विकसित र अविकसित वा सुविधा प्राप्त खुला छानामुनि पढ्न वाध्य क्षेत्रका बालबालिका, नेपालको मात्रै नभएर विश्वकै बालसाहित्यसँग पहुँच भएका र पाठ्यपुस्तकको अनुहार समेत देख्न नपाएका बालबालिका, जन्मेदेखि नै आधुनिक सञ्चार माध्यमका कम्प्युटर र आधुनिक ग्याजेटसँग खेल्ने अवसर पाएका र त्यस्ता बस्तुको अनुहारसमेत देख्न नपाएका  बालबालिकाको बीचम रहने भाषिक क्षमताबीचको अन्तरलाई समेट्न सकेका छैनन् । यो निजी प्रयासमा व्यक्ति अध्येताबाट सम्भव हुने कुरा पनि होइन ।
यस पृष्ठभूमिमा तपाइँले भन्नुभएजस्तै स्पष्ट उमेर किटानी त्यति सम्भव नभए पनि उमेर समूहका दृष्टिले लेखिनु वा स्तर निधारण गरिनु र एउटा कृतिमा त्यही मात्र उमेर समूहलाई उपयुक्त हुने मात्र रचना राख्नु भने राम्रो मात्र नभएर आवश्यक कुरा पनि हो । त्यसो भएमा यहाँले भन्नु भएजस्तै एउटै सङ्ग्रहमा कुनै रचना पाँच वर्षकोले उमेरलाई र कुनै किशोर वयको सिँढी उक्लने तर्खरमा रहेका चौध पन्द्र वर्ष उमेरका पाठकलाई सुहाउने रचना एकै कृतिमा राखेर झुक्किने झुक्याउने काम गर्नु पर्ने अवस्था न आउला ।
यस दृष्टिमा बालसाहित्य लेख्दा वा उमेर समूहमा विभाजन गर्दा विद्यालयपूर्वको ३–५ वर्षका लोरीखाले सरल र श्रव्य चित्रात्मक बालसाहित्य, तथा विषय, भाषा, अनुभव, परिवेश जस्ता तत्वका दृष्टिले ६–८, (कक्षा १–३), ९–१० (कक्षा ४–५), ११–१३ (कक्षा ६–८) र १४–१५ (कक्षा ९–१०) उमेर समूहका लागि उपयुक्त सामग्रीलाई समूहगत विभाजन गरेर उल्लेख गर्न सके राम्रो हुनुहु न्थ्यो जस्तो लाग्छ । तर यो सरल काम भने होइन ।     
के साहित्यले आत्म सन्टुष्टि दिन्छ ?
–हाम्रोसन्दर्भमा त साहित्यले आत्म सन्तुष्टि बाहेक अरु के नै दिनसक्छ र ? केही प्रकाशकहरूको व्यवसायिक चटकी विज्ञापन कलाले साहित्य रातारात अनेकौं संस्करण प्रकाशित हजारौं सङ्ख्यामा विक्नथालेको भ्रमजाल फैलाइए पनि स्कुल कलेज विश्वविद्यालयका पाठ्यपुस्तक, गाइड, नोट्स र लोकसेवा वा यस्तैका लागि थयनर गरिने परीक्षा सहयोगी कृति लेखनबाहेक विशुद्ध साहित्य वर्षमा हजार प्रतिभन्दा बढी बिक्ने अवस्था अझै बनिसकेको छैन । त्यसैले लेखकका लागि साहित्य लेखनबाट पाइने सन्तुष्टी र पाठक तथा समाजबाट माया र सम्मान नै प्रमुख कुरा हो ।
साहित्य मेरालागि सोख र पेशा दुवै नभएर एउटा जिममेवारीपूर्ण काम भएकाले पनि म यसबाट सन्तुष्टि बाहेक व्यवसायिक वा आर्थिक लाभको धेरै अपेक्षा राख्दिन । म साहित्यलाई एउटा अति नै जिम्मेवारीपूर्ण अभिभारा ठान्दछु । त्यसैले यो मेरो स्वान्तसुखाय सोख मात्र होइन । साहित्य पेशा त बन्नै सकेको छैन, त्यमाथि पेशा बन्नासाथ यसले जिम्ेवारीबोध गुमाउन पुग्छ । लेखन सही अर्थमा लेखन रहनसक्दैन, व्यवसाय बन्छ । व्यवसायको अर्थ विज्ञापन कला र बजार अर्थशास्त्रको प्रयोगद्वारा चमत्कारीपूर्ण विक्री प्रबद्र्धनको चक्रलाई नै सफलता ठान्ने भ्रमको सिर्जनालाई सफलता असफलतामा जोख्ने प्रवृत्ति हो । त्यस अवस्थामा लेखकीय स्वायत्तता, जिम्मेवारी र सामाजिक दायित्वको हत्या हुन्छ । जुन आज बिस्तार बिस्तार देखिन थालेको छ अनुभव हुँदैछ ।  
सात्यिले समाजलाई के दिनु पर्ने हो जस्तो लाग्छ तपाईंलाई
–म साहित्य साहित्यको लागि भन्ने स्वान्तसुखायको दर्शनलाई सम्पूर्णमा स्वीकार गर्न सक्दिन । हो, साहित्य लेखनबाट म अर्थात् लेखकले आनन्दबोध गर्छ । लेखकमा अरूले पढिदेऊन् र मेरो पनि नाम होस्, प्रतिष्ठा होस् भन्ने भित्री चाहना पनि हुन्छ, यो स्वभाविक पनि हो । यो जोसुकै मानिसमा हुन्छ । यस अर्थमा लेखन स्वान्तसुखाय र आफ्नो लागि हुने गर्छ भन्ने धारण सर्वांशमा असत्य नहोला, तर त्यो प्रकाशित हुनासाथ व्यक्तिगत सोख, सुखानुभूति र लहडको मात्र विषय नबनेर समाजको बन्छ, सार्वजनिक बन्दछ । त्यसैले पाठक र समाजप्रति समर्पित हुने लेखन निश्चय पनि जिम्मेवार हुन पर्छ, समाजलाई सही बाटोमा हिँड्न सघाउने हुनुपर्छ, अराजक, असंस्कृत र छाडा मूल्यमान्यताको प्रसारक होइन । यस अर्थमा लेखन स्वन्तसुखाय भनेर जिम्मेवारी विहीन हुन पाउँदैन । लेखन समाज र पाठकका लागि समर्र्पित हुन्छ भने स्वभाविक रूपमैं त्यो जिम्मेवार हुनु आवश्यक छ । तसर्थ मेरो स्पष्ट धारणा छ– मेरो लेखन मेरै कथा हो, म भनेको जीवन हुँ । जीवन समाज र परिवेशभन्दा बाहिर हुनसक्दैन । त्यसैले मैले लेखेका कथा हुन् वा साहित्यका अन्य विधा, ती समाजनिरपेक्ष हँुदैनन् । त्यसैले यो म अर्थात जीवनको लागि हुनुपर्छ, म बाँचेको समाज, राष्ट्र र अझ व्यापक परिवेश समेट्ने हो भने मेरो युगको सुन्दर भविश्यको चाहनाबाट पे्ररित र सिर्जित हुनुपर्छ । त्यसैले यो निरुद्देश्य होइन उद्देश्यमूलक हुन्छ । यो मेरो धारणा हो, यसमा अरूको सहमति रहनै पर्छ भन्ने आग्रह पनि छैन । यो स्वान्तसुखायकै लागि हो भने पनि यो मेरो अर्थात सर्जकको लागि हुनासाथ स्वतः मान्छेको लागि हुनुपर्छ । किनभने साहित्य मानिस स्वयम् केन्द्रविन्दुमा नरही सिर्जना हुँदैन । त्यसैले मेरो दृष्टिमा मेरो साहित्यले समाजलाई दिने भनेको सामाजिक यथार्थको चित्रणद्वारा प्रगतिशील वा अग्रगामी समाज निर्माणको चाहना र सकारात्मक परिवर्तनका लागि यथास्थिति र विभेदपूर्ण सोच व्यवहार विरुद्धको चेतना जागरणको सानो भए पनि झिल्को नै हो । त्यसैले मलई लाग्छ, साहित्यले समाजलाई दिने भनेको रचनात्मक अग्रगामिताको सोच हो, राष्ट्रियता प्रतिको सम्मानको भावना हो र, हो मानवीय तथा र राष्ट्रिय स्वाभिमानको अभिप्रेरणा ।  
आजकल चलेको सस्तो साहित्य र साहित्यिक गतिविधिबाट तपाईं सन्तुष्ट हुनुहुन्छ ? सन्तुष्ट हुन के गर्नु पर्ला ?
–सबै साहित्य र साहित्यिक गतिविधि सस्तो र चटकी चटकमटकयुक्त मात्र छैनन् । नेपाली साहित्यको संसारमा स्तरीय प्रकाशनहरू पनि भएका छन्, हुँदैछन् । तिनको चर्चा मात्र नभएको हो । आज सबै कुरा केही ठूला भनिने छापा, प्रसारण माध्यमका केही कथित साहित्यिक चर्चाकारहरूको रातारात आइकन तयार गर्ने खेलबाट नेपाली साहित्य जगत आक्रान्त रहेकोले मात्रै यस्तो देखिएको हो । यस्ता बजारमुखी माध्यम र तिनका इशारामा कलम चलाउने साहित्यिक स्तम्भकार वा चर्चाकारहरूको आँखामा परोक्ष परोक्ष हिसाबले चर्चा गरिदिएवापतको मूल्य व विज्ञापन दिनसक्ने वा परोक्ष रूपमा लाभ दिलाउन सक्ने राजनीति, पत्रारिताजस्ता क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध, सम्पर्क हुने लेखक र तिनका कृति मात्र पर्ने गरेको देखिनुले गर्दा तपाइँको यो प्रश्नले सङ्केत गरेजस्तो अवस्था देखिएको सत्य हो । तर यस्ता उपभोक्तावादी चिन्तन व्यवहारलाई आदर्श ठान्ने माध्यम र तिनै माध्यमले पढाकु, चिन्तक, ठूला लेखक साहित्यकार भनेर गोयबल्स शैलीमा बारम्बार प्रक्षेपण गर्दै आएका एउटा सीमित समूहका मानिसहरूका कारण देखिएको अवस्था हो यो । यस्ता कथित व्यक्तिहरूको प्रचारलाई मात्रै आधार नमानेर हेर्ने हो भने मूल्यमा आधारित गहन कृति को लेखन–प्रकाशन र प्रेरक गतिविधिहरूको सञ्चालन पनि भइ नै रहेका छन् । आजको यो भ्रम अर्थशास्त्रको पुरानो भनाइ “खराब मुुद्राले असल मुद्रलाई धपाउँछ” भनेजस्तै हो । पाठक सधैं कथित ठूला सञ्चारमाध्यमहरूका आत्मवञ्चक लेखक र स्तम्भकार तथा साहित्यिक पत्रकारहरूको अहोरूप अहोध्वनि खाले स्यालहुइँयालाई कै पछि लाग्ने मस्तिष्कशोध (ब्रेनवास) को कृत्रिम प्रभावमा अवश्य नै रहिरहँदैन । सबै कुरा सधैं स्वविवेक र स्वाध्यायबाटभन्दा बढी बजार अर्थशास्त्रको विज्ञापनकला र विज्ञापनमा लागेको लागतको अनुपातद्वारा प्रभावित रहन्छ भन्ने छैन । 
यो समयमा नेपाली साहित्यलाई स्तरमुखीभन्दा प्रचारमुखीभन्ने आरोप आइरहेको छ । तपाईं के भन्नुहुन्छ ? र यसलाई जीवन उपयोगी, समाज उपयोगी, मानव उपयोगीबनाउन के गर्नु पर्ला ?
–अघि नै भनियो आजको समयमा प्रचारमुखी मात्र नभएर स्तरीय कृति र रचनाहरूको प्रकाशित भएका छन् । हल्ला र चर्चामा प्रचारमुखी साहित्यको पकड रहनुका कारण तिनको वर्चस्व देखिए पनि स्तरीय सिर्जना नभएका होइनन्, भइरहेका छन् । सरसरती देख्दा बजारमा बेचिने विज्ञापनकलाको कारण चाउचाउ र केन्टुकी फ्राइडजस्तै फैलिएको देखिने साहित्य मात्र होइन गम्भीर साहित्यलाईपनि गम्भीरतापूर्वक रुचाउने पाठकको सङ्.ख्या कम छैन, ती यस्ता मध्यम र चर्चाैकारको आँखाबाट आझेल परेका–पारिएका मात्र हुन् । यथार्थमा  समाजलाई दिग्भ्रमित गर्ने, नभइ सही मूल्यमान्यताको विकास र प्रसारमा सहयोगी बन्ने साहित्य यही पछिल्लो श्रेणी कै हुन् । 
विनयजी यहाँको प्रश्नको दोस्रो खण्डलाई सम्बोधन गर्नुपर्दा मलाई लाग्छ, हल्लाको भरमा मात्र नपरी सही पाठकीय क्षमता र चेतको विकास भएका पाठक र समीक्षकहरूको यतातिर ध्यान आकृष्ट गर्नु जरुरी छ । यो काम व्यवसायिकताका नाउँमा सबै कुराको “मात्र व्यापार” गर्ने केही ठूला सञ्चार माध्यम र तिनै माध्यममा कार्यरत पत्रकार हुनुको लाभको कारण समीक्षक र चर्चाकार बनेका केही चर्चाकार अनि त्यस्तै केही साहित्यकारबाट साहित्यको चर्चाकारमा रुपान्तरित सीमित व्यक्तिहरू यो भ्रामक गोयवलियन अहोरुप अहोध्वनिको व्यापारकलाको यथार्थबाट पाठकलाई भ्रममुक्त गराउने काममा आजको पहिलो आवश्यकता होजस्तो लाग्छ । यसो गर्ने सामथ्र्य स्तरीय साहित्यिक पत्रिका र आवधिक प्रकाशनहरूमा नै निहित छ । यस्ता माध्यमले यो काम गर्न सक्छन् । यिनको पहुँच सीमित भए पनि यिनको प्रभाव दीर्घकालीन रहन्छ र भविष्यको सही इतिहास लेखनमा यिनैले सहयोग गर्छन् । तर केही प्रभावशाली संस्थागत प्रकाशनका साहित्यिक पत्रिकाहरू समेत अखबारी साहित्यक पत्रकारिताको प्रभावमा आएर नवीनता र बोल्डनेसका नाउँमा तिनै प्रवृत्ति तर्फ प्रवृत्त हुन थालेको देखिँदा दुःख लाग्छ । आजको आवश्यकता मानवीय आत्मसम्मान, आत्मविश्वास र आन्तरिक क्षमताको विकासका लागि आत्मबोधको उद्बोधनमा सहयोगी साहित्यको हो जुन हल्लामुखी कथित प्रयोगका नाउँमा हुने एब्सर्ड र मूल्यहीन सिर्जनाबाट संभव छैन । 
आध्यात्म दर्शनलाई तपाईं कसरी हेर्नुहुन्छ ?
–आत्मचिन्तको भाव आध्यात्मिक पक्ष हो भने कुनै पनि बस्तुलाई हेर्ने काम, प्रकृति, जगत, ज्ञानविज्ञानलगायत बस्तु, जीवन र चेतनालाई विवेचन–विश्लेषण गर्ने दृष्टिकोण दर्शन हो । त्यसैले आत्मज्ञानका सम्बन्धमा हुने विश्वास वा आस्था आमचिन्तनका लागि समेत अपरिहार्य पक्ष हो आध्यात्म दर्शन । चाहे विश्वलाई हेर्ने वृहत् दृष्टिकोणको अर्थमा होस् चाहे सामान्य जीवनदर्शनको अर्थमा, हरेक सर्जकको आत्मपरिक्षणको आधार हो आध्यात्म दर्शन भन्ने मेरो धारणा छ । यस अर्थमा पनि यो मानव सभ्यतामा सहयोगी सोपान हो र समयानुकुल समयले यसका परिमार्जन गर्दैजान्छ, नवीन जीवनदर्शनको प्रतिपादन गर्छ । यो मेरो धारणा हो ।    
१० तपाईं त प्रशासन पनि चलाएको मान्छे । गोरखापत्रमा रहँदा के के नयाँ योजनाल्याउनुभयो त ?
—कुनै पनि संस्थाको सञ्चालन सामूहिक भावना अर्थात् टिमवर्कबाट मात्र सफल हुन्छ । त्यसो भए पनि त्यो संस्थाको नेतृत्वमा रहने इमान्दारी, प्रभावकारिता, स्वच्छता र क्रियाशीलताले निर्याणक भूमिका खेल्दछ भन्ने कुरा स्पष्ट छ । त्यस अर्थमा मेरो दुई वर्षको मेरो नेतृत्वदायी कार्यकालमा जे जति काम भए तिनमा मन्त्रीज्यू र सचिवज्यूको पूर्ण सहयोग र समर्थन, सञ्चालक समितिका सदस्य, महाप्रबन्धक, विभागीय प्रममुख र कर्मचारीहरूको सहयोग बिना सम्भव थिएन । त्यति भएर पनि सहकर्मीहरूको मौकामा कमाउनैपर्छ भन्ने मानवीय कमजोरीजन्य सोचले समस्या नल्याएको होइन । विद्यमान् कमिसन र भ्रटाचरको अपत्यारिलो चक्रव्यूह र पदाधिकारी तथा स्वार्थ समूहको नाजायज लाभ लिने मनोवृत्तिले कतिपय अवस्थामा जटिल चुनौती पनि बेहोर्नु प¥यो तर मेरो इमान्दारीप्रति रहेको मन्त्रीज्यूको विश्वासले गर्दा त्यस्ता कपिय चुनौतीपूर्ण षडयन्त्र निष्फल पनि हुँदै गए । 
यिनै पृष्ठभूमिमा मैले सबैभन्दा पहिले मेरा विभागीय मन्त्री शङ्कर पोखरेल र सचिव सुशील कोइरालाका साथै अर्थमन्त्रालयका सचिवद्वय त्यतिबेला अर्थमन्त्रालयमा कर हेर्नेहुने सचिव कृष्णहरि बास्कोटा र अर्थमन्त्रालयकमा सचिव रामेश्वर खनालको सहयोगमा २०३४–३५ देखि नतिरेर जम्मा हुन पुगेको ९ करोड ६७ लाख रकम सुरुमा नेपाल सरकारको सफ्ट लोन र लगत्तै त्यो श्रृणलाई अनुदान सहयोगमा परिणत गराउन सफलता पाएँ । यसबाट संस्थान झण्डै १० करोडको आर्थिक दात्यिबाट मुक्त भयो । यो बाटो देखाउनुका साथै कार्यान्वयनलाई अघि बढाइदिएर सचिव वास्कोटाजीले लगाउनु भएको गुन संस्थान र मेरालागि समेत कहिल्यै तिरिनसक्नु श्रृण हो भन्ने म ठान्दछु ।
कार्यभार सम्हालेपछि सबैभन्दा पहिले विहान चारै बजे दैनिक अखबार छापेर परीक्षणका रूपमा बुटबल र वीरगञ्जसम्म विहानै पु¥याउने व्यवस्था मिलाउनु गोरखापत्रको सुधारका लागि मेरो उल्लेख्य काम होजस्तो लाग्छ । त्यसभन्दा अघि विहान पाँच–सात बजेसम्म छपाइको काम चलिरहने वस्थाका कारण बस बाट पठाउँदा बुटबल, भैरहवा, वीरगन्त्र र अरु यस्तै नजिकका सहरमा समेत भोलिपल्ट मात्र अखबार बाँडिन्थ्यो । मेरो नेतृत्वमा चार बजेभित्रै छपाइ कार्य सकेर सकभर उही दिन प्रमुख सहरमा पु¥याउन बस र प्राय यात्रु नभएमा मात्रै गोरखापत्र बोक्ने प्लेनको मात्र भर नपरी भाडामा लिएर आफ्नै गाडीबाट बुटवल र वीरगन्जसम्म पु¥याई त्यहाँबाट पूर्व र मध्यपश्चिमका जिल्लाहरूमा आजको आजै अखबार पु¥याउने योजनाले गोरखापत्रलाई केही भए पनि प्रतिस्पद्र्धी बनाउन सघायो । यसलाई अझ प्रभावकारी बनाउन बुटबल र वीरगञ्जमा सम्पर्क कार्यालय खोलेर त्यहाँबाट पूर्वाञ्चल र मध्यपश्चिमाञ्चलका जिल्लाहरूमा पठाउने व्यवस्था मिलाउँदा सोचेजति नभए पनि पहिलेभन्दा अखबार चाँडै पुग्न थाल्यो । प्रतिस्पद्र्धात्मक बजारका लागि यो अपरिहार्य कदम थियो ।
त्यति गर्दा पनि महँगो गाडी भाडा, सधैंको बन्द हडतालले गर्दा काठमाडौंबाट बाहिरका जिल्लामा छिटो र सुलभ तरिकाले अखबार पठाउने काम सजिलो थिएन । त्यसैले मैले दुईवटा योजना अगि बढाउन मन्त्रीज्यूबाट सहमति लिएँ । त्यसपछि बाहिरबाट क्षेत्रीय संस्करण प्रकाशन गर्न जग्गाप्राप्तिकोलागि एउटा काम अघि बढाएँ । तत्कालका लागि भाडाकै प्रेसमा छापेर पनि इटहरीबाट क्षेत्रीय संस्करण निकाल्ने योजना अघि बढ्यो । नेकपा एमालेका नेता विष्णु पौडेलको सहयोगमा बुटवलमा रहको सार्वजनिक जग्गा अधिग्रहणका गरेर गोरखापत्र संस्थानको नाउँमा भोगाधिकार प्राप्त गर्ने काम पनि साथ साथै अघि बढ्दै थियो पश्चिमाञ्चल क्षेत्रीय प्रकाशनका लागि । मन्त्री परिषद्मा प्रस्तावको लागि मन्त्रालयमा कुराकानी चल्दैथियो । उता इटहरीमा जग्गा किन्नका लागि कार्यदल पठाएँ । सबै कुरा हुृँदा हुँदै पनि जजसलाई विश्वास गरेर जिम्मा दियो तिनैको गलत स्वार्थप्रेरित मानसिकता र क्रियाकलाप अनि परिश्रमबाट भाग्ने मनोवृत्तिका कारण समयमा सबै काम हुन सकेन, क्षेत्रीय प्रकाशन र जग्गाप्राप्तिको काम अधुरै रह्यो । 
यसै गरी सधैं कमिसनको खेलमा ग्लोबल टेन्डर पन्छाएर एकाधिकार बजारको महँगो कागजबाट आआफ्नो भागशान्ति जयनेपाल गर्ने परम्परा बाट मुक्त गरी ग्लोबल टेण्डरद्वारा १००० मे.ट. कागज किन्दा मसी कागजमा किनिरहेको मूल्यको आधारमा २ करोड रुपियाँ जोगाउन सफल भएँ, त्यो मेरो कार्यकालको अर्को महत्वपूर्ण उपलब्धी हो । तर यसवापत संस्थान भित्रैका यस विरोधी शक्तिकेन्द व्यक्तिहरूबाट अनेकौं विरोध र व्यवधान पनि खप्नु प¥यो ।
वर्षेनी ठूलो सङ्ख्यामा कर्मचारी पद निवृत्त हँुदा पाउने उपदान समयमै पाउने र वर्षेनी थोत्रिँदै जाने प्रेसलगायत मेसिनरी सामान बजेटको अभावमा कुनै पनि बेला काम नगर्ने अवस्थामा पुग्दा समेत नयाँ किन्न नसकिने अवस्थाबाट छुटकारा दिने स्थायी उपायको सुरुआतका रूपमा संस्थानकै इतिहासमा पहिलोपल्ट विज्ञापनबाट हुने आमदानीको निश्चित प्रतिशत हरेक महिना अनिवार्य जम्मा गर्ने वाध्यात्मक प्रावधानसहित उपदान र ह्रासकट्टी कोषको व्यवस्था गरेँ । यसलाई म मेरो कार्यकालको अर्को महत्वपूर्ण उपलब्धी ठान्दछु ।
यस अतिरिक्त मेरो नेतृत्व र प्रकाशकालमा गोरखापत्रको इतिहास लेखनमा सहयोग पुग्ने गरी प्रकाशित गोरखापत्रको इतिहास, पच्चीस वर्षसम्म मधुपर्कमा प्रकाशित हास्यव्यङ्ग्य निबन्ध, नियात्रा र कविताका प्रतिनिधिमूलक ग्रन्थहरूको प्रकाशनका साथै नेपाली पत्रकारिताकै इतिहासमा सर्वाधिक अङ्क प्रकाशित गर्न सफल मधुपर्क मासिकको ५०० औ वृहत विशेषांकको प्रकाशन पनि मेरो कार्यकालका उपलब्धी हुन् भन्ने म ठान्दछु ।
    
तपाईं चर्चित साहित्यकार रमेश विकलको छोरा ! बुबाको बारेमा बाहिर नआएका नबताई नहुने केही छन् कि?
–रमेश विकललाई नेपाली यशस्वी साहित्यकारका रूपमा चिन्ने धेरै छन्, चित्रकला र संगीतमा पनि उहाँको उत्तिकै रुचि थियो भन्ने भने धेरैलाई थाहा नहुन सक्छ । तर फुर्सदको समयमा उहाँ रवि चालिसेको नाउँमा पनि त्यत्तिकै मनोयोगपूर्वक चित्रकलाको साधना गर्नुहुन्थ्यो । उहाँलाई मुहारचित्र बनाउने पनि निकै शोख थियो । आमा बा, बाजे, बज्यै, साहित्यकार, कलाकार, वैज्ञानिक तथा नेताहरूका उहाँले धेरै मुहारचित्र बनाउनु भएको छ र यसरी पानी रंग, तेलरंग, पेन्सिल, चकआदि माध्यमबाट उहाँले बनाएका चित्रहरूको प्रदर्शनी नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानसँगके सहकार्यमा यही फागुन २४ गतेदेखि ३० गतेसम्म प्रदर्शनको तयारी भइरहेको छ ।
रमेश विकलले चित्रकला बाहेक संगीतको पनि धेरै साधना गर्नु भएको थियो । त्यतिमात्रै नभएर उहाँ नाटकको लेखन निर्देशन र पौडीखेल्नमा पनि उत्तिकै शोख राख्नुहुन्थ्यो । यो उहाँका समकालीन बाहेक पछिल्लो पुस्ताका पाठकको जानकारीमा नरहेको पक्ष हो । उहाँले आफैंले लेख्नुभएको “मेरो जीवन अविरल जीवन गीत” मा यसको उल्लेख भएको छ र वरिष्ठ कलाकार मनुजबाबु मिश्र, वरिष्ठ साहित्यकार प्रा.डा कुमारबहादर जोशी हरूका अनुसार पनि उहाँको निर्देशनमा चावहिल, महाकांलतिर विभिन्न नाटक खेलाइएका थिए । पछि आरुबारी, गोकर्णमा त्यसरी नै चापाँच वर्ष लगातार उहाँकौ लेखन निर्देशनमा नाटक प्रदर्शनी हुन्थे र ती कार्यक्रम हेर्न टाढा टाढाबाट मानिसहरू आउँथे ।
गायनमा त एकपटक रेडियो नेपालमा स्वरपरीक्षा नै दिन जानु भएको थियो रे उहाँ ! उहाँको अर्को शोख पौडी खेल्नु थियो । यस्तै शोखका कारण एकपटक पौडीखेल गंभीर दुर्घटना हुनपुगेको थियो । त्यतिबेला वागमती अहिलेकोजस्तो ढलमती बनिसकेको थिएन । पौडी खेल्न पुग्ने पर्याप्त पानी बग्थ्यो वागमतीमा । त्यस्तैमा एकपटक २०२० सालतिरको समय हुनुपर्छ, बाबा, भैरव अर्याल, हरिप्रसाद अर्याल, देवीबहादुर थापा (जनक थापा), वलराम अर्यालहरू हो क्यार गोकर्णको सेतोसत्तल मुनि (अहिले त भीमसेन थापाले बनाएका त्यो ऐतिहासिक ऐतिहासिक सेतो सत्तलको नाम निशान छैन । हाल त्यो सत्तललाई भत्काएर सानो आकार दिइएको छ र त्यहाँ अहिले एउटा संस्थाले अपङ्ग असहायहरूलाई संरक्षण दिएको छ ।) बाँध थुनेर टम्म जमाएको सफा स्वच्छ वागमतीको पानीमा पौडी खेल्न पुगे । पहिले ती साथीमध्ये संभवतः जनक दाइलाई हो क्यारे (त्यतिबेला ११–१२ वर्ष उमेरको म पछि बोकएर ल्याइनु भएका बाबालाई अलि अलि सम्झन्छु, अरु कुराको सम्झना छैन ।) भन्नु भएछ म तिमीलाई उचालेर पानीमा फाल्छु, तिमी पौडन सक्छौं ? उनले पनि हुन्छ भनेछन् । बाबाले पर पानीको बीचमा पुग्नेगरी फाल्नु भएछ । उनी मजाले पौडी खेलेर आए । अनि त्यसपछि उनलाई पनि त्यसै गर्न मन लागेछ र बाबालाई भनेछन्– अब म विकललाई पौडन पानीमा फाल्छु ! बाबाले भन्नु भएछ सक्छौं, नसके त कडा ढूगाको गारोमा ठोकिएर ज्यान समेत जान सक्छ नि । त्यो सुनेर पनि उनले पानीको बीचमा पुग्ने गरी फाल्छु भएन ? भन्दै निकै कर गरेपछि सहमतिमा उनले बाबालाई जुरुक्क उचालेर नदीमा फालेछन् । तर बल नपुगेर पानीको बीचमा त भित्तोको कडाृउन समेत सकेन छन् र बाबा गारोमा बज्रिँदै घिसार्रिंदै पानीमा पुगुन्जेल बेहोस भइसक्नु भएछ । अनि सबै मिलेर नजिकैको स्वास्थ्यचौकीमा सामान्य उपचारपछि बोकाएर घर ल्याएका थिए । यसरी शोख र शोखको प्रयोगले झण्डै मृत्युको मुखमा पु¥याएनछ । बागमतीदेखि अमेरिका बस्दा प्रशान्त महासागरमा पौडी खेलेका अनेक तस्बिर अझै पनि सुरक्षित छन् । सास थुनेर पाँच–दश मिनेटसम्म निश्चेष्ट पानीमाथि अडिरहनसक्ने पौडीको विशेष सिप थियो उहाँमा ।              
तपाईंका बुझाइमा जीवन के रहेछ  त ?
–म प्रसिद्ध जनवादी सांगीतिक समूह रामेशहरूले गाउनु भएको एउटा गीतको पङ्क्ति सापट लिएर भन्छु –संघर्ष हो जीवन, जीवन संघर्ष हो ! निरन्तर सङ्घर्ष र सफलता असफलताकोबीच फेरि पनि संघर्ष, यही हो मेरो दृष्टिमा जीवन ! त्यसैले सुखः–दुःको सम्मिश्रण हो जीवन, नयाँ मार्गतर्फ प्रवृत्त हुने र त्यसका लागि गतिशील रहने चाहना सार्थक प्रयन्त हो जीवन मेरो दृष्टिमा । एउटा नयाँ उज्यालोको खोजीमा निरन्त चलायमान पाइला हो जीवन जुन मानव सभ्यताको सोपान बनिरहेको हुन्छ ।         
अन्य केहीभन्ने कुरा छन् कि ?
–यति महत्वपूर्ण अवसर दिनुृभयो, भन्नेजति सबै भनिसकेँ र यही नै लामो भइसक्यो । त्यसैले यहीँ बिसाउँ होला, नियजी अब ! यहाँ र अग्निचक्र

Tuesday, May 21, 2013

शीर्जनशील नेपाली पत्रकारहरू भाग २,


शीर्जनशील नेपाली पत्रकारहरू भाग २(का लागि पत्रकार ऋतुवर्ण पराजुलीलाई प्रेषित प्रश्नका जवाफहरू)


१. तपाइँको जन्म कहाँ र कहिले भएको हो ? मेरो जन्म काठमाडौं जिल्लाको जोरपाटी गाउँ विकास समिति वडानम्बर ९ (जोरपाटी–९, आरुबारी) मा विक्रम सम्वत् २००८ साल असार २२ गते (६ जुलाई १९५१) शुक्रबारका दिन भएको हो ।  

२. तपाइँको पारिवारिक पृष्ठभूमि , परिवार सङ्ख्या र आर्थिक हैसियत के हो ? म निम्न मध्यमवर्गीय अर्ध किसान परिवामा जन्मिएको हुँ । मेरा पिता, प्रपितामह र मसमेत पनि जागिरे पृष्ठभूमिका भए पनि जागिरले मात्र परिवारको भरणपोषण र शिक्षा–दीक्षा सम्भव थिएन । त्यसैले जीविकाको साधन जागिर र आंशिक रूपमा खेती थियो । मातापिताका हामी छ सन्तान छौं– चारजना दिदी वहिनी र दुई भाइ । २०४६ सालमा परिवार अलग भए यता मेरो परिवारमा म र श्रीमती लक्ष्मी चालिसेका साथै हामा एक छोरी र दुई छोरा छन् । हाल छोरी र दुवै छोराका परिवार विदेशमा रहेका छन्, यहाँ हामी दुई मात्र । मेरो आर्थिक अवस्था निम्न मध्यम वर्गीय हो । जीवन निर्वाहको आधार मूलतः जागिर र केही लेखनबाट प्राप्त हुने आर्जन ।

 ३. तपाइँलाई पत्रकारितामा लाग्ने प्रेरण बारे ःखासमा त्यस्तो कुनै प्रेरणा थिएन, तर रचनाहरू लिएर प्रकाशनार्थ कहिले कहीँ गोरखापत्रमा जाँदा त्यहाँ स्वर्गीय गोपालप्रसाद भट्टराई, भैरव अर्याल, केशवराज पिँडाली, दाताराम शर्मा, ऋषभदेव शर्माजस्ता नाम सुनेका विद्वान् र साहित्यकारहरू देख्दा मन मनै यस्त मानिसहरूसँग काम गर्न पाए कस्तो हुँदो हो भन्ने चाहिँ लाग्ने गथ्र्यो ।

४. तपाइँको शैक्षिक योग्यताको आधार के हो ? मेरो शैक्षिक योग्यताको आधार सरकारी र निजी साधारण स्कुलको माध्यमिक शिक्षा र त्रिभुवन विश्वविद्यालय अन्तर्गका कलेजहरूको उच्चशिक्षा नै हो । एसएलसी परीक्षा उत्तीर्ण गरेपश्चात त्यसपछिका सबै शिक्षा मैले जागिर खाएरै आर्जन गरेको हुँ । उच्च शिक्षा तर्फ बी.ए., बी.एड. र एम.ए. उपाधि हासिल गरेको छु । यस अतिरिक्त सन् १९८५ मा सरकारबाट कोलम्बो योजना अन्तर्गत मनोनीत भई बेलाइतको क्याम्ब्रिज विश्वविद्यालयबाट अङ्ग्रेजी भाषामा र टमसन फाउन्डेसनबाट पत्रकारिता विषयमा डिप्लोमाको उपाधि प्राप्त गरेको छु ।  

५. पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुको खास उद्देश्य के हो ? पत्रकारिता किन गर्नुहुन्छ ? पत्रकारिता तपाइँको दृष्टिमा के हो ? निजी क्षेत्रको पत्रकारिता नफस्टाइसकेको त्यो कालखण्डमा पत्रकारिता आजको जस्तो ‘करियर’ र ‘ग्ल्यामर’ को विषय बनिसकेको थिएन । त्यसैले माथि नै उल्लेख गरे अनुसार सानैदेखि लेखनप्रति अभिरूचि रहेकाले पत्रकारिता प्रवेशको अप्रकट चाहना थियो होला, प्रकटमा त्यस्तो केही थिएन । सुरुमा जागिरको रूपमा पत्रकारिताम प्रवेश गरेको हुँदा जागिरकै लागि पत्रकारिता गरेँ भन्दा हुन्छ । केही पछि जब पत्रकारिता बुझ्दै गएँ, कार्यगत अनुभव प्राप्त गर्नुका साथै बेलाइत गएर यस सम्बन्धमा नयाँ व्यवहारिक तथा सैद्धान्तिक ज्ञान प्राप्त गर्ने अवसर पाएँ । त्यसपछि पत्रकारिता सही सूचना, ज्ञान–विज्ञान र अग्रगामी समाज निर्माणका आवश्यक जानकारी प्रवाह गर्ने महत्वपूर्ण माध्यम रहेकोले जिम्मेवारीपूर्वक यसलाई तिनै कामको मिसनका रूपमा लिँदै आएको छु ।मेरो दृष्टिमा सही पत्रकारिता राज्यका सबै संरचना र निकायहरू र आम जनताबीचको पुल हो र हो समाजलाई सही बाटोमा हिँड्नका लागि सधैं सचेत गराइरहने जिम्मेवार सचेतक । तर यसका लागि पत्रकारिता पत्रकारिता नै हुनुपर्छ, देखिने–नदेखिने पेशा, व्यापार जमाउने आवरणका लागि गरिएको कार्यव्यापार हुनुहुँदैन । 

 ६.  पत्रकारिताप्रति रूचि, प्रवेश गर्दाको क्षण तथा संयोग, अठोट तथा वाध्यात्मक परिस्थितिका कारण यस क्षेत्रमा लाग्नुभएको हो ?अखबारी पत्रकारिता क्षेत्रसँग राम्ररी परिचित नहुँदै लेखनप्रतिको अभिरूचिका कारण मधुपर्क, रूपरेखा, रचनाजस्ता साहित्यकि पत्रिका र गोरखापत्रकै साहित्यप्रधान शनिवासरीय परिशिष्टाङ्कसँग केही परिचित थिएँ । पिताजी रमेश विकल स्वयम् साहित्यकार हुनुभएकाले यी र यस्ता पत्रपत्रिका घरमा आइरहन्थे । कहिलेकाहीँ गोरखापत्र, नयाँ सन्देशआदि पनि देखिन्थे । घर शहरभन्दा ११ किलोमिटर उत्तरपूर्वको गाउँमा पर्ने हुँदा त्यतिबेला गाउँमा पुस्तक पत्रिका पसल हुने कुरै थिएन । म पढ्ने चावहिलमा पनि त्यस्ता पुस्तक–पत्रपत्रिका विक्रीमा राखिख्दैनथे । न त स्कुल कलेजमा पत्रकारिता विषय नै पढाइन्थ्यो । त्यसैले त्यतिबेला ममा सचेत रूपैं पत्रकारितामा प्रवेश गर्ने कुनै सोच र उद्देश्य थिएन । त्यसैले मेरो पत्रकारिता प्रवेशको घटना सचेत चाहनाभन्दा पनि बढी मात्रामा संयोग नै थियो । आइए पास गरेर निम्नमाध्यमिक शिक्षको रूपमा काम गर्दागर्दै वि.सं. २०३० मा बीए पास गरेपछि स्थायी माध्यमिक शिक्षकमा रूपमा कार्यरत थिएँ । २०३७ सालमा एम.ए.  पनि उत्तीर्ण गरिसकेको थिएँ । त्यति बेलै लोकसेवा आयोगले प्रशासन सेवामा शाखाअधिकृत र शिक्षा सेवामा माध्यमिक शिक्षा निरीक्षक पदका लागि दर्खास्त माग्यो । ती दुवैमा परीक्षा दिएर दुवैतिर लिखितमा नाम पनि निस्कियो । लोकसेवाको लिखित परीक्षा नहुँदै गोरखापत्र संस्थानले पनि अधिकृत सातौं तहको उपसम्पादक पदमा दर्खास्त माग्यो । गोरखापत्रको त्यस पदका लागि पनि दर्खास्त दिउँ । गोरखापत्रले परीक्षा लिनु अगाडि नै लोकसेवाको अन्तवार्ता समेत सकियो । आफ्नो हिसाबमा अन्तर्वार्ता पनि राम्रो भएकोले म ढुक्क थिएँ । त्यसैले गोरखापत्रको परीक्षाप्रति ममा उदासीनता देखिँदै थियो । परिक्षा साँझ चार कि पाँच वजेदेखि थियो । त्यही दिन परीक्षा दिउँ कि नदिउँको दोमनमा दिउँसोका कक्षा सकेर बौद्धको एउटा चियापसलमा अलमलिइरहेको थिएा म । चिया खाँदा  खाँदै हरिप्रसादजीले गोरखापत्रको परीक्षा बारे सम्झनुभएछ । सम्मिलित नहुने मेरो आशय बुझेर सम्झाउनुभयो–पैसा तिरिसक्नुभयो, दिनोस् न अनुभवै भए पनि हुन्छ । नभए यही निहुँमा घुमघाम त होला ! मलाई पनि होजस्तो लाग्यो हतारिँदै समयभन्दा १५ मिनेट पछि पुगेको गिएँ परीक्षा केन्द्र आरआर क्याम्पस । त, त्यसरी दिएको थिएँ पहिलो दिनको परीक्षा । आखिर पुलिस रिपोर्टका कारण लोकसेवाका दुवै अन्तार्वातामा मेरो नाम निस्किएन । उता आशै नगरेको गोरखापत्रको लिखित र मौखिक दुवै परीक्षामा मेरो नाम निस्कियो ! लोकसेवाको पुलिस रिपोर्ट बिग्रनुको कारण रहेछ २०२८–२९ सालतिर कीर्तिपुरको शिक्षा शास्त्र क्याम्पसमा नर्मल तालिम लिँदा तालिमका सहपाठी मोहन दुवाल, नेमकिपाका आशाकाजी वासुकला आदिसँगै हडताल गराउने अग्रपङ्क्तिमैं रहनु । त्यतिबेला शङ्करदेव कलेजको रात्रिकक्षामा वीए पनि पढ्दै थिएँ । सिआइडीहरू पिछागर्दै आउँथे र मुृस्किलले जोगिनु पथ्र्यो । त्यही घटना पर्याप्त भएछ मेरो पुलिस रिपोर्ट बिगार्न । यसरी राम्रो भन्ने लागेको दुवै अन्तर्वातामा नामै निस्किएन, आशै नभएको गोरखापत्रमा भने निस्किएछ । आशा नगर्नुको कारण थियो– गोप र राइजिङ नेपाल दुवैका लागि जम्मा ४÷४ स्थानका लागि उम्मेद्वार मागिएको थियो र सुने अनुसार प्रत्याशी ७०–७५ जनामध्ये एक दर्जनभन्दा बढी त गोरखापत्रमैं काम पत्रकारहरू थिए त्यो पदका प्रत्याशी ! त्यसैले न पत्रकारिता पढेको, न त कामकै अनुभव भएको मजस्ताले आशा नगर्नु स्वाभाविकै थियो । प्रतिस्पद्र्धीमा थिए– दुर्गानाथ शर्मा, शंकरदेवका मेरा सहपाठी मित्र ध्रुवहरि अधिकारी, केदार शाक्य, उद्धव उपाध्याय लगायत अरु पनि धेरै गोरखापत्र भित्रका र शरदराज गौतम आदि आदि बाहिरबाट । माथि नै भनेँ, मेरो पत्रकारिताको अनुभव थिएन । मेरो योग्यता भनेको सो पदको विज्ञापनमा भनिएको “पत्रकारिता शिक्षा वा पत्रपत्रिकाहरूमा लेखरचनाहरू प्रकाशित भएको” मा मात्र सीमित थियो । लेखरचना त मेरा त्यतिबेलासम्ममा निकै छापिएका थिए गोरखापत्र, गोरखापत्रकै शनिवासरीय परिशिष्टाङ्क र मधुपर्क मासिक तथा बालक, कोपिला र ध्रुवताजस्ता बालपत्रिकामा । जे होस्, परीक्षा भयो, अन्तर्वार्ता पनि सकियो र गोरखापत्रमा छैटौं तहमा स्थायी रहनुभएका दुर्गानाथ शर्मा, अस्थायी काम गरिरहुनभएका ध्रुवहरि अधिकारी र संभवतः रेडियो नेपालतिर पत्रकारिता नै समाचार वचन गरिरहुनभएका न्युज रिडर शरद्राज गौतम र म गरी चारजना सफल भयौं नियुक्ति पाउन । त्यतिबेला सम्म संस्थानहरूको परीक्षा पनि लोकसेवाको निर्देशनमा लाकसेवाकै प्रतिनिधि बसेर सम्पन्न हुने गथ्र्यो । राइजिङ नेपालमा कुन्द दीक्षत, गोपाल शर्मा, गोपाल भट्टराई, र संभवतः जवाहर माननन्धरले नियुक्ति पाउनु भएको थियो त्यसबेला । संस्थान प्रमुखमा अध्यक्ष तथा महाप्रबन्धक वरिष्ठ पत्रकार भारतदत्त कोइराला हुनुहुन्थ्यो भने गोरखापत्र र राइजिङ नेपालका सम्पादकमा क्रमशः गोकुलप्रसाद पोखरेल र मनरञ्जन जोशी ।  त, यसरी मेरो गोरखापत्र र पत्रकारितमा प्रवेश भएकाले यो मात्र संयोगका रूपमा लिएको छु । यसमा सुरुदेखि नै लेख्ने, पढ्ने र प्राज्ञिक कार्यप्रतिको आफ्नो रूचिले यसतर्फ लाग्न अज्ञात आकर्षणको काम गरेको हुनुपर्छ, यो बेग्लै कुरा हो ।

 ७. पत्रकारिता पेशाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ? आफूले निर्वाह गरेको पत्रकारिता पेशाप्रति सन्तुष्ट छु । २०४६ अघि र पछि पनि पत्रकारितालाई आफू संलग्न संस्था र समग्र पत्रकारिता क्षेत्रलाई नै बदनाम गराई आफ्नो व्यक्तिगल स्वार्थ पूरा गर्नेहतियार बनाउने व्यापक गलत अभ्यासबाट अलग्गै रहेर पत्रकारिताको धर्म निर्वाह गर्दैं आएँ र यसैलाई नै म अफ्नो सफलता ठान्दछु । पत्रकारितमा तीस वर्ष सक्रिय पत्रकारिता गरेर सम्पादक, कार्यकारी अध्यक्षजस्ता जिम्मेवारीका पदमा रहे पनि आफ्नो व्यक्तिगत लाभमा यसलाई सचेततापूर्वक प्रयोग गरिन जस्तो लाग्छ । अज्ञानवश त्यस्तो हसुन गएको भए क्षमा चाहन्छु । चाहेको भए मिडियामैं भएका कारण तिनै मिडियामा र आफ्ना वरिपरिका कथित प्रशंसकहरूद्वारा रातारात चचकिो शिखरमा पुगेका कतिपय मिडियाकर्मी साहित्यकार र एनजिओ, आइएनजिओ र देशी विदेशी विभिन्न प्रभावशाली शक्तिकेन्द्रका गणेश परिक्रमा गरेर आर्थिक र अन्य सम्वृद्धि हासिल गरेका कति पत्रकारजस्तै हैसियत बनाउन सकिन्थ्यो होला । यिनै कारणले पनि पूर्ण रूपमा आत्मिक सन्तुष्टि छ मलाई आफूले गरेको पत्रकारिता पेशा प्रति ।

 ८. तपाइँ कस्तो पत्रकारिता रुचाउनुहुन्छ ?  स्वच्छ, राष्ट्र, राष्ट्रिय स्वाभिमान, र राष्ट्रिय सीमा र अखण्डताप्रति इमान्दार; आवाजहीनहको सच्चा आवाज, जनता र राज्य सञ्चालनका संयन्त्रहबीचको सचेतनतापूर्ण पुल र स्वच्छ, सुसंस्कृत र आफ्नो भाषा, संस्कृति र स्भ्यताको संरक्षणमा सहयोगी सही सूचना प्रवाहक माध्यमका रूपमा पत्रकारितयाको विकास मेरो रुचिको पक्ष हो । पत्रकारितालाई शालीन, शिष्ट र जिम्मेवारप्पूर्ण काम ठान्ने शैक्षिक र प्रायोगिक परम्परामा दीक्षित हुँदै आएकाले पनि म पत्रकारितालाई समाज रूपान्तरणको माध्यम र राष्ट्रिय संस्कृतिको निर्माणमा सहयोगी साधन ठान्दछु, कथित पश्चिमा सभ्यता र संस्कृतिका रूपमा नव–उपनिवेशको विस्तारक अभियत्नाका रूपमा होइन । 

९. पत्रकारिता क्षेत्रमा लाग्नु भएपछि जीवन वृत्त कसरी चलिरहेछ ? मथि नै भनेँ, निम्नमध्यम वर्गीय परिवारको भएका कारण सानैदेखि काम गरेरै करियर बनाउँदै अएँ । सुरुमैं गोरखापत्र स्रंस्थानमा पत्रकारिताको सेवामा प्रवेश गर्न पाएकोले संस्थानको नियम अनुसार नियमित तलब भत्ता प्राप्त हुन्थ्यो र त्यसैबाट जीवन वृत्त चलाउँदै आएको हुँ । त्यसका अतिरिक्त २०४२ सालदेखि २०६८ मङसिर महिनामा राजिनामा नछाडुन्जेलसम्म पशुपति क्याम्पसमा प्राध्यापन समेत गर्दै आएकोले त्यताबाट पनि केही भरथेग हुँदै आयो । त्यस अतिरिक्त मेरा प्रकाशित साहित्य बाल साहित्यका लगभग तीन दर्जन कृति, तिनमा पसिन विशेष पत्रकारिता र आमसञ्चारका पुस्तकहरूको लेखकस्व, समय समयमा कार्यपत्र आदि र अन्य सहयोगी काम बावत हुने दुईचार पैसाको आमदानी नै जस्वनवृत्तिको आधार रह्यो । यसमाथि पैतृक जग जमिनबाट प्रप्त हुने केही आमदानी पनि सहयोगी रह्यो । मद्यपान, तास–जुवा र अन्यखाले खर्चालु आदत र आर्थिक तथा अन्य महत्वाकाङ्क्षा नरहेको कारण पनि जे जति प्राप्त छ, र थियो म त्यसैमा पूर्ण सन्तुष्ट रहँदै आएको छु । तर अहिले आएर अवकाशको बेला भने नियमित आयको अभावमा नयाँ समस्याहरू पनि देखिँदनरहेछन् । पति–पत्नीको गरी उमेरजन्य रोगहरूका नियमित औषधि खर्च नै पनि महिनाको पाँच छ हजार कम्तिमा लाग्दो रहेछ । यी र यस्ता कुराका साथै एकै पल्ट ठूला समस्या आए अर्थात् उपचार खर्च आदिको जरुरत प¥यो भने चाहिँ समस्या पर्दोरहेछ । नत्र जसोतसो चलिरहेको छ । 

१०. मेरी पत्नी पूर्णतः घरेलु महिला हुन् । उनले घरव्यवहार, परिवार र छोराछोरीको हेरविचार, लालनपालन र शिक्षा दीक्षामा पूर्ण ससमय दिएकी ले नै मैले पत्रकारिता र साहित्य सिर्जनाका साथै अन्य काामा पूर्ण समय र लगनशीलताको प्रयोग गर्न पाएँ । त्यसैले दाम्प्त्य जीवन मेरो पेशामा अत्यन्त सहयोगी र प्रेरक पनि रह्यो । परिवारमा पनि मेरा पिताजी स्वयम् सनहित्यकार हुनुभएकाले लेखन र पत्रकारिता दुवैमा मैले प्ररणा र सहयोग पायनु स्वाभाविक थियो । सबैभन्दा महत्वपूर्ण कुरा मादक पदार्थ सेवन नगर्ने, जुवा तास नखेल्ने र चारित्रिक रूपमा सचेत रहने पिताजीका गुणहरू मलाई पनि ती कुरामा सचेत र सावधान रहनमा अत्यन्त प्रेरक र मार्गदर्शक रहे । कमादक पदार्थ सेवन नगर्ने र फुर्सतमा तास नखेल्ने पनि पत्रकार हुन्छ, साहित्यकार हुन्छ र भन्ने निकै दह्रो चिन्तन भएको त्योबेला कठिनतापूगर्वक आफूलाई अलग राख्न तिनै पारिवारिक र दाम्पत्य जीवनका वातावरण, परिवेश र मनोविज्ञानले सघायाृजस्तो लाग्छ । यी सबै कुराको प्रभाव निश्चय पनि मेरो पत्रकारिता र लेखन दुवै जीवनमा परेको छ । 

११. पत्रकारिता पेशामा रहँदा आफ्नो कार्यले आफूलाई गर्व महसुु गर्नुभएको त्यस्तो क्षण बारे बताउन चाहनुहुन्छ ? निश्चय नै तीस वर्ष लामो पत्रकारिता जीवनमा त्यस्ता धेरै अवसर र काम छन् जसमा साँच्चिै नै गर्व गर्न सकिन्छ । तिनैमध्ये एउटाको उल्लेख गरौं । राष्ट्रिय शिक्षा पद्धतिको योजना लागू भएपश्चात प्राथमिकदेखि माध्यमिक तहका सबै कक्षका लागि नयाँ पाठ्यक्रम अनुसारका विभिन्न पाठ्यपुस्तक तयार भएका थिए । थपिने नयाा विषयहरूका लेखिने क्रम चलिरहन्थ्यो । ती पाठ्क्रम लेख्न आह्वान गरी सार्वजनिक प्रस्ताव र टङ्कण गरिएको पाँच पाँच प्रति पाण्डुलिपि मागिन्थ्यो । तीमध्ये छनेट समितिले उत्कृष्ट ठानेको पाण्डुलिपिलाई पाठ्पुस्तकका रूपमा स्वीकृत गरिन्थ्यो । कक्षा नौ दशको नेपाली विषयको पनि परिमार्जित पाठ्यपुस्तक लेख्नक लागि पनि त्यसरी नै प्रस्ताव मागियो । कैयौं विज्ञहरूले महिनौंको समय टाइप गराउनका लागि पैसा समेत खर्च गरी पाण्डुलिपि तयार गरी पेश गरे । तर अन्त्यमा ती सबै खारेज गरेर प्रस्तावक बाहिरका एकजना सुप्रसिद्ध लेखकलाई अनुबन्धन गरियो । त्यो जानकारी पाएपछि मैले खोजविन गरी गोरखापत्रमा एउटा लेख लेखेँ । लेखमा उठाइएको विषय थियो, अनुबन्धित लेखकको योग्ता, क्षमता र सामथ्यैका बारेमा कुनै प्रश्न उठउन सकिँदैन, उहाँजस्ता व्यक्तिलाई सार्वजनिक सूचना गरेर आह्वान गर्नुपूर्व नै अनुबन्धित गरेर लेखाएको भए कसैले कुनै प्रश्न पनि उठउने थिएन । तर सूचना छाप्न लाग्ने विज्ञापन अर्थात जनताको करका रूपमाप्राप्त रकम खर्च गरिसकेपछि र अझ त्यही सूचनाका आधारम पाडुलिपि पेश गर्ने अरु धेरै लेखकहरूको श्रम, साध र बौद्धिक क्षमतामाथि खेलवहाड भइ राष्ट्रिय रूपमैं शोषण, पक्षपात र राष्ट्रिय रकमकोदुरुपयोग भएको जस्ता कुरा उठाएको थिएँ । त्यो लेख छापिएपछि त हलचल नै मच्चिएछ । तत्कालीन शिक्षमन्त्री केशरबहादुर विष्ट, दर्बारका सञ्चारसचिव नाराणप्रंसाद श्रेष्ठ आदिको तारन्तारको स्पष्टीकरण मागले गोकुल दाइलाई पनि समस्यामैं पारेको रहेछ ।  अफिस पुग्नासाथ सम्पादक गोकुलप्रसाद पोखै्लले बोलाउने भयो । उहाँ निकै रिसाउनुभएको थियो मसँग किन त्यस्तो लेख लेखेर छापेको भन्दै । दाइ, मैले नीतगत प्रश्न मात्र उठाएको हुँ । एकपल्ट पढेर तपाइँलाई पनि मैले ठूलै गल्ती गरेकाजस्तो लाग्छ भने पनि कार्वाही खुशीसाथ बेहोर्छु भनेपछि उहाँले सो लेख गंभीरतापूर्वक पढ्नुभयो । पढेर भन्नुभयो– त्यस्तो त केही देखिँदैन । ती दर्बारका सचिव श्रेष्ठको निर्देशन र आदेशमा मन्त्रालयकै निर्णयबाट भएका रहेछन् । यस बारे अरु पनि धेरै कुरा छन्, पछि संस्मरण लेख्दा आउने नै छन् । त्यपछि त्यहस् लेखको कुरालाई स्पष्टीकरण दिने उद्देश्यले एउटा पत्रकार सम्मेलन गरियो र गोकुल दाइले “तपाइँले गर्दा गाल खाएँ, तपाइँ नै जानेस् प्रेस कन्फरेन्समा भनेर पठाउनुभएको म कहिल्यै बिर्सन्न । त्यतिबेलाका शक्तिसाली दर्वारका सचिव र दर्बारसँग त्यत्रि नै पहुँच बनाएका अर्को प्रभावशाली लेखकसम्बद्ध यो घटनामा अब तेरे यो घटना   यथार्थ सार्वजनिक गर्ने त्योलेखको ण्डन गर्ने सचिव श्रेष्ठले लेखेका आठ कक्षकजागिर वmनि गयो, कुनै निहुँ र बहानामा पसाएर जेल खाँद्न बेर लाएँदैनन् भनेर तर्साउने पनि निकै थिए । 

१२. नेपाली पत्रकारिता विकास र सम्वद्र्धनका लागि के के समस्या छन् र त्यसका समाधानका उपाय हुनसक्छ ?विगत दशकमा नेपाली मूलधार पत्रकारिता प्रतिस्पद्र्धात्मक र प्रभावकारी हुँदै गएको भए पनि यदाकदा सामाजिक उत्तरदायित्व र आफ्नो जिम्मेवारी प्रति भने उदाशीन देखिने गरेको छ । बजारको माग, कथित युगीन सभ्यता र स्वतन्त्रताको नाउँमा सन्तुलनबिहीन उत्तेजनात्मक सूचना प्रवाह तथा चमकदमक अर्थात ग्ल्यामरलाई नै पत्रकारिता र यसको मूल आदर्श ठान्ने सोचले वास्तविक पत्रकारिता प्रतिस्थापित हुने आशङ्का देखिँदैछ । पत्रकारिताले व्यवसायिकताका नाउँमा व्यापारिक उद्धेश्यलाई प्राथमिकता दिने र सनसनीखेज पत्रकारितालाई प्रोत्साहन दिने यो प्रवृत्ति नै वास्तवमा आजको वास्तविक पत्रकारिताको विकासका समस्या बन्न सक्ने देखिँदैछ । यस्ता प्रवृत्तिबाट नेपाली प्रेसलाई मुक्त राख्न सञ्चार अनुगमनको संयन्त्र विकसित गरी सचेत गराउने प्रयासको आवश्यकता देखिन्छ । यसरी नै सञ्चारमा विदेशी भित्रिनु र एकै सञ्चारगृहलाई आमसञ्चारका विभिन्न माध्यम चलाउने अनुमति दिने नीतिले गर्दा बहुलवादी सञ्चारको अवधारण कुण्ठित हुने सम्भावना देखिँदै छ । त्यसैले यस दिशामा नीतिगत स्पष्टता र केही नियामक नियन्त्रणको पनि आवश्यकता देखिन्छ । प्रजातन्त्रमा प्रेस स्वतन्त्रताको मूल आधार नै विचार र आवाजको विविधता वा बहुलवाद हो । प्रेस र सञ्चारमाध्यमको स्वामित्वमा एकाधिकारको प्रवृत्ति र वृहत् पुँजी तथा प्रविधिको प्रभावले यो खाले प्रतिस्पद्र्धालाई खुम्च्याइदिन्छ । त्यसरी नै प्रेस स्वतन्त्रता प्रकाशकमा सीमित हुुन नपाउने खालको अवस्था कानुनी रूप निर्माण गरिनुपर्छ जिम्मेवारी र सामाजिक उत्तरदायित्वबोध बेगरको स्वतन्त्रता अराजक हुन्छ, यसबाट बहुलवादी संस्कृतिको निर्माण गर्न सकिँदैन ।  साथै अखबार र सञ्चारमाध्यमलाई “उत्तरदायित्व पूरा गर्ने संस्था” को साटो “नाफा कमाउने संस्था” का रुपमा हेर्नेप्रवृत्तिमा सुधार हुनु जरुरी छ । उपभोग्य बस्तु उत्पादन गर्ने उद्योग र विचार तथा समाचार उत्पादन गर्ने संस्थालाई एउटै दृष्टिले हेर्ने यो घातक प्रवृत्तिले प्रेस र सञ्चारलाई उत्तरदायित्वपूर्ण संस्थाको भूमिकाबाट विस्थापित गरेर सामान्य उद्योगको दर्जामा सीमित गर्ने खतरा बढिरहेको छ । 

१३. नेपाली पत्रकारताका विभिन्न कालखण्डलाई कसरी मूल्याङकन गर्नुभएको छ ?नेपालभित्र वि.सं. २०५८ वैशाख २४ गते गोरखापत्रको प्रकाशनसँगै प्रारम्भ भएको नेपाली अखबारी पत्रकारिता २००७ को एतन्त्रीय शासन प्रणालीको विरुद्धमा भएको आन्दोलन सफल नहुन्जेल गोरखापत्रकै सेरोफेरोमा रह्यो । त्यसरी लगभग ११० वर्षको नेपाली अखबारी पत्रकारिताको इतिहास सरकारी नियन्त्रणमा प्रकाशित गोरखापत्रको इतिहास हो । वि.सं. २००७ फागुन ४ गते ह्रृदयचन्द्र सिंह प्रधान र केदारनाथ न्यौपानेको सम्पादकत्वमा प्रकाशित जागरण साप्ताहिक र २००७ साल फागुन ८ गते सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर गोठालेको सम्पादनमा प्रकाशित आवाज दैनिकबाट नेपाली पत्रकारिता निजी क्षेत्रमा प्रवेश ग¥यो । अरु नयाँनयाँ पत्रिकाहरूको प्रकाशन हुुँदै गए । तर २००७ फागुन ७ गतेको शाही घोषणाले दिएको वाक् तथा प्रकाशन स्वतन्त्रताका कारण बनेको त्यो खुला वातावरण २०१७ पुस १ गते प्रजातन्त्रको अपहरण सँगै पुःन नियन्त्रित बन्यो । २०४६ को जनआन्दोलनसम्म नै कहिले नियन्त्रण, कहिले केही खुकुलो हुँदै चल्यो नेपाली पत्रकारिताको यात्रा । नेपाली पत्रकारिताको स्वर्णकाल भने हुने २०४६ को जाआन्दोलन १ पछिको सबैभन्दा पछिल्लो कालखण्ड नेपाली पत्रकारिताको संस्थात्मक विकास, पत्रकारिता शिक्षा, ठूला प्रकाशन गृहहरूको स्थापना र आमसञ्चार र पत्रकारिताका छापा तथा प्रसारण दुवै क्षेत्रमा ठूलो आर्थिक लगानीका साथै प्रकाशन, प्रसारण र नवमाध्यमहरूका सङ्ख्यात्मक वृद्धिले पनि उल्लेख्य गति लियो । यसले एकातिर बहुलवादी प्रतिस्पद्र्धामा वृद्धि ल्यायो, अर्कोतिर गलत प्रतिस्पद्र्धामा एकले अर्कालाई उछिन्ने क्रममा पत्रकारिता, व्यवस्थापन र आर्थिक स्रोत जुटाउने कुृराहरूमा गलत प्रवृत्तिले पनि प्रवेश पाए । राजनीतक, आर्थिक र अन्य पक्षधरताबाट मुक्ति पाउन अझै सकेका छैनन् । यस्तै यस कालखण्डको अर्को प्रवृत्ति ज्ञात–अज्ञात स्रोतबाट विदेशी आर्थिक लगानी भित्रिनु, दूतावास, वाह्य सरकारी तथा गैरसरकारी नियोग र ती सँगसम्बद्ध सस्थाहरूद्वारा संरण प्राप्त पत्रकारहरूको वर्चस्व बढ्दै गएको देखियो । यसरी नै सञ्चार स्वतन्त्रताका नाउँमा सञ्चार गृहहरूलाई बहुसञ्चारमाध्यम सञ्चालनको अनुमति दिइनुले पनि प्रतिस्पद्र्धा र बहुलवादी सञ्चारको अवधारण प्रभावित हुँदै गयो । प्रकाशन उद्योगलाई मात्र उद्योगका दृष्टिले हेर्ने प्रवृत्तिले बढ्दै जाँदा बजारको मागका नाउँमा सामाजिक उत्तरदायित्व र राष्ट्रिय जिम्मेवारीलाई गौण ठान्ने मानसिकताको विकास भयो । प्रतिस्पद्र्धाले निश्चय नै अपेक्षित रुपमा सन्तुलित र विश्वसनीय समाचार—विचार संप्रेषणलाई अवसर दिन्छ । तर संख्या बढ्नुलाई स्तरवृद्धि मान्न सकँदैन न त यसबाट मात्रै गहनता र विविधता प्राप्त हुनसक्छ । 

१४. पञ्चायतकालीन पत्रकारिता र बहुदलपछिको पत्रकारितामा के कति तात्विक अन्तर देख्नुभएको छ ?प्रवृत्तिगत दृष्टिले हेर्ने हो भने प्रारम्भिक नेपाली पत्रकारिताको सुरुआत साहित्यिक पत्रकारिताबाट भयो र त्यसपछि २००७ सालसम्म नै नेपाली पत्रकारिता एक प्रकारले निर्देशित रूपमा सञ्चालित रह्यो । सातदेखि सत्र सालसम्मको नेपाली पत्रकारितामा प्रजातान्त्रिक प्रतिस्पद्र्धा र बहुलवादी प्रवृत्तिका लक्षण देखिँदै गएका थिए भने तिनको पूर्ण विकास हुनुपूर्व नै २०१७ को अनुदार राजनीतिक प्रणालीको सुरुदेखि नै यसमा गतिरोध आयो । नेपाली प्रेस निरङ्कूश पञ्चायतको समर्थक र विरोधी गरी दुई खेमा र प्रवृत्तिमा विभाजित रहे । पक्षधरता दुवै खेमामा रह्यो । त्यतिबेला यसको आवश्यकता पनि थियो । राजनीतिक दलहरू अबैध घोषणा गरिएका थिए । पार्टी र नेताहरू जनतासम्म आफ्ना विचार र कार्यक्रम लिएर जान सक्ने अवस्था थिएनन् । त्यसैले तिनका विचार तथा भूमिगत कर्यक्रमहरूलाई जनतासम्म पु¥याउने एकमात्र माध्यम तिनै काङ्ग्रेस–कम्युनिस्ट निकटका निजी क्षेत्रबाट प्रकाशित हुने अखबारहरू थिए । राजनीतिक आन्दोलनलाई जनतासम्म पु¥याउने एकमात्र साधन पत्रिकारिता नै थियो ।बहुदलपछिको पत्रकारितामा पनि धेरथोर यो प्रवृत्ति कायमै रहेको देख्निछ । तर ठूला प्रभावशाली ठूला प्रकाशनहरूमा भने राजनीति र वैचारिक मिसनभन्दा पनि आर्थिक मिसन अर्थात प्रवल रूपमा नाफाको प्रवृत्ति बढ्दै छ र यो प्रवृत्ति स्वस्थ पत्रकारिताका लागि सकारात्मक छैन ।

 १५. जन–आन्दोलन भाग १ देखि भाग २ सम्मको स्थितिमा आइपुग्दा आम नेपाली जनताको चाहनाको उत्कर्षको परिपूर्ति कस्तो रहेको छ ?वि.सं. २०४६ र २०६२÷६३ पहिलो तथा दोस्रो जनआन्दोलन नेपालको मात्रै नभएर विश्व राजनीतिमैं अत्यन्त कम रक्तपातबाट सम्पन्न अभूतपूर्व राजनीतक परिवर्तन थिए । पहिलो जनआन्दोलले संवैधानिक राजन्त्र सहितको संसदीय शासन प्रणाली सहितका जनताका विभिन्न ऐतिहासिक अधिकारहरू स्थापित ग¥यो । तर आफूलाई प्रजातान्त्रिक भनाएर नथाक्नेबाटै देखिएका अप्रजातन्त्रिक संस्कार र अभ्यास, सत्ता हत्याउने खेलमा दलहरूका निर्माण–विघटन, सांसद् किनबेच र मूल्यमान्यता विपरित सङ्ख्याको खेलकै वर्चस्व र भ्रष्टाचारका विगविगी आदिले गर्दा राजावादीहरूको हिम्मत बढाउँदै गयो । यिनै कारण माओवादी शसस्त्र आन्दोलनको परिस्थिति सिर्जना भयो । माओवादी दबाउने नाउँमा प्रजातान्त्रिक भनिने सरकारहरूबाटै दमन र अत्याचारका श्रृङ्खला चलाइए । यसले ज्ञाननेन्द्रलाई दुःस्साहसी बन्न उक्सायो र त्यसपछिके निर्णयक आन्दोनले लामो समयको सामन्ती राज्यसत्ता समाप्त पारी मुलुकलाई गणतन्त्रको ऐतिहासिक मोडमा ल्याइपु¥यो । यी दुवै आन्दोलनक्रमा दलहरूले जनसमर्थन जुटाउन नागरिकलाई ठूला ठूला सपना देखाए, जुन मुलुकको आर्थिक–सामाजिक र परम्परागत परिस्थितिमा  तत्काल पूरा हुन सक्ने कुरै थिएन । त्यसमाथि दलहरूकै कारण आन्दोलनमा सहयोग गरेका नाउँमा वाह्य शक्तिहरूको हस्तक्षेप बढ्दै गयो । आफूलाई खाँटी कम्युनिस्ट ठान्नेहरू नै समर्थक जुटाउने नाममा जातीय र भाषिक दृष्टिले राज्यको अंशबण्डा गर्न थाले । जुन न समाजवादी अर्थशास्त्रीय वर्ग विभाजनका दृष्टिले उपयुक्त थियो, न यति सानो मुलुकको यथार्थसँग मेल खाने नै । त्यसरी न पहिलो जनआन्दोलन १ ले देखाएका नेपाललाई सिङ्गापुर बनाउने देखि मेलम्चीको पानीले सडक पखाल्ने भनी देखाइएका सपना पूरा भए, न देखाइएका सपनाजस्तै समतावादी समाज र जाति र भाषापिच्छेको राज्य अंशबण्डा गर्ने वाचा नै पूरा हुनसक्ने अबस्था बन्नु सम्भव छ । बरु हिजो सर्वाहारा वर्गको राज्यव्यवस्थाको वकालत गर्दै समतामूलक समाजको सपना देखाउनेहरूकै बीचं शासक र शासित अर्थात् राजा र प्रजाको नयाँ वर्ग सिर्जना हुँदै गएको देखिँदैछ । यसरी संभावनाभन्दा ठूला ठूला सपना देखाइएकाले नेपाली जनताको आम चाहनाको मूर्तिकरण हुन सकेको छैन । आमजनताको अपेक्षा आर्थिक उन्नति, राजनीतिक स्थिरता, भ्रष्टाचारमुक्त प्रभावकारी राज्य संयन्त्र, रोजगारी र आजीवीकाको सुलभता, स्वाभिमानपूर्ण राष्ट्रिय गौरवबोध गर्न पाउने परिस्थिति र अखण्ड नेपाल नै हो । उनीहरू न त जातीय–भाषिक राज्यको वकालत गर्छन् न मुलुकलाई विखण्डित तुल्याउने खेल नै चाहन्छन् । उनीहरूका नाउँमा भाषा र राजनीतिको खेल त आफूलाई पालनपोषण गर्ने एनजिओ आइएनजिओले बोल्ने अङ्ग्रेजी बिग्रने डरले घरमा समेत मातृभाषा नबोल्ने कथित भाषा आन्दोलनकारी नेताहरूको नचाहिँदो खिचलोप्रति कुनै चासो छैन उनीहरूलाई । संघीयता जन चाहना हो, तर मुलुक विखण्डन हुने खालको भाषा, जाति र भूगोलको सङ्घीयता जनताको चाहना पक्कै होइन । सारमा जनचाहनाको पूर्ति हुन नसकको र जनताको चाहनालाई गलत व्याख्या गरेर भ्रमित तुल्याउने प्रयास भएको देखिए पनि यी दुवै आन्दोलनले जनताको अधिकार सुनिश्चित गरेका छन्, जान्न र साशसन व्यवस्थामा सहभागी हुन पाउने आधारभूत अधिकारको स्थापना गरेको छ, बोल्ने र लेख्ने स्वतन्त्रता स्थापित भएको छ । तर समयमैं संविधान बन्न नसक्दा यी पनि संस्थागत हुन नसक्ने हुन् कि भन्ने आशङ्का पनि प्रबल बन्दै गएको छ ।

 १६. पञ्चायतकालीन–माओवादी जनयुद्ध–ज्ञानेन्द्रका शासनकाल हुँदै बहुदलीय व्यवस्थाको पुस्र्थापनासम्म आइपुग्दा धेरै पत्रकारको हत्या भएको छ, धेरै बेपत्ता पारिएका छन् । हत्याराको खोजीमा ढिलासुस्ती उचित क्षतिपूर्तिको अभाव आदिबारे एवं जिम्मेवारी जवाफदेही कस्तो किसिमको हुनुपर्छ ? निश्चय नै पञ्चायतकालदेखि माओवादी जनयुद्ध हुँदै ज्ञानेन्द्रका शासनकाल र जनआन्दोलन १ र २ सम्म आइपुग्दा धेरै पत्रकारको हत्या भएको छ र कैयौं बेपत्ता पारिएका छन् । तिनमा सबै कालखण्डका राज्य सरकार, सुरक्षाकर्मी, र सशस्त्र जनयुद्धकालीन नेकपा माओवादी सबै नै धेरथोर जिम्मेवार रहेका छन् । त्यतिबेलाका उत्पीडक पक्ष सबैजसो आजका शासन संयन्त्रमा परोक्ष–प्रत्यक्ष संलग्न रहेका ले पनि  यी विभिन्न कालखण्डमा आन्दोलनमा ज्यान गुमाउने र वेपत्ता परिएकाहरूको हत्यारा तथा बेपत्ता पार्नेहरूको  खोजीका साथै उचित क्षतिपूर्ति दिने कामा ढिलासुस्ती भइरहेको छ । त्यसैले सबै राजनीतक दलका नेतृत्वमा दृढ इच्छाशक्ति बिना यसले मूर्त रूप लिनसक्दैन र त्यो भएमा मात्र अन्तरिम संविधानले व्यवस्था गरेको दलीय भागबण्डा विहीन उच्चस्तरीय निष्पक्ष खालको आयोग गठन गरेर यस कामको थालनी हुनसक्छ । 

१७. मुलुक यसबेला जुन मोडमा आइपुगेको छ यस पृष्ठभूमिमा मुलुकको स्वतन्त्रता, तथा स्वाधीनतालाई निरन्तरता दिनका लागि पत्रकारको भूमिका कस्तो हुनुपर्छ ?आजको नेपाली राजनीति, कथित नागरिक समाज र बुद्धिजीवी सबै नै दलीय समूहमा विभाजित छन् । यसले गर्दा संविधान निर्माणमा संघीयता, राज्य पुनःसंरचना, शासकीय स्वरूपका साथै वैदेशिक सम्बन्ध, वाह्य हस्तक्षेप जस्ता कुरामा पनि यिनका दृष्टि विभाजित छन् । यही विभाजित दृष्टिकोणले गर्दा वृहत्तर राष्ट्रिय स्वार्थलाई सम्बोधन गर्ने समान राष्ट्रिय धारणा र दृष्टिकोण निर्माण हुन सकिरहेका छैन । यस अबस्थामा पत्रकारको दायित्व यस्तो धारणा र दृष्टिकोणको निर्माण गर्न सहयोग गर्ने खालको हुनु आवश्यक छ ।

 १८. महँगी, भ्रष्टाचार संस्थागत स्वरूपमा अघि बढिरहेको सन्दर्भमा पत्रकारको दायित्व र कर्तव्य के हुनुपर्दछ ?महँगी, भ्रष्टाचारको बिरुद्धमा खोजपूर्ण समाचारका माध्यमबाट जनमतको सिर्जना गर्ने पत्रकारले महत्वपूर्ण भूमिका हुनसक्छ । तर यो बस्तुगत हुुनुपर्छ । विज्ञापनको राजनीति, निकटताको मनोविज्ञान र आफू नजिकका व्यापार उद्योगका अनियमिततामाथि आँखा चिम्लने प्रवृत्तिबाट प्रेस र पत्रकार दुवै नै मुक्त हुनुपर्छ । प्रेस आफैं अखबारको मूल्यवृद्धि गर्नमा कार्टेलिङको आधार लिन्छ भने त्यही प्रेसले अरुले गरेको कार्टेलिङ र त्यसबाट हुने अप्राकृतिक मूल्य बिरोधको अर्थरहँदैन । त्यसैले सर्वप्रथम पत्रकार र प्रेस जगतले आपूmप्रतिको विश्वास आर्जन गर्नु जरुरी छ ।

 १९. मुलुकभित्र बाहिर स्वायत्ताका नाउँमा शान्तिलाई धमिल्याउने तथा जातीय हिंसा भड्काउने किसिमका गतिविधि तीब्र रूपमा बढिरहेको सन्दर्भमा यसका निराकरणका उपाय के हुनसक्छ ?  प्रेसले यस्ता प्रवृत्तिलाई नङ्ग्याएर यस बिरुद्ध जनमत निर्माण गर्न सक्छ । यसका लागि प्रेसले सामाजिक उत्तरदायित्व र राष्ट्रिय जिम्मेवारीप्रति गंभीरता देखाएर बस्तुगततालाई प्राथमिकतामा राख्नु पर्छ ।

२०. बहुदलीय व्यवस्थाको आगमनपछि मुलुक झन् झन् भारतपरस्त रूपमा अघि बढिरहेको सन्दर्भमा पत्रकारको दायित्व र कर्तव्य कस्तो हुनुपर्छ ? यो सत्य हो । नेपाली राजनीतिमा भारत मात्र होइन, अरु शक्तिराष्ट्रका प्रभाव र हस्तक्षेप पनि उत्तिकै बढिरहेको छ । यसमा विदेशीलाई दोष दिनुभन्दा हामीले आफ्नै कमजोरी स्वीकार्नुपर्छ । जहाँ मुलुकका सभामुखजस्तो व्यक्ति एउटा सामान्य विदेशी राजदूतलाई समकक्षीको स्थानमा राखेर सहप्रमुख अतिथि बनाउने आयोजकहरूको कुचेष्टामा आफू सम्मानीत भएको ठान्छन्, जहाँ सरकारका जिम्मेवार मन्त्रीदेखि सांसद् र सरकारी अधिकारीहरू दूतावासका राजदूतदेखि प्रथम सचिवसम्मका निम्ता मान्न लामबद्ध हुन्छन्, जहाँ सरकारमा पु¥याइदेऊ भनेर दल र नेताहरू विदेशी सरकार र राजदूत गुहार्छन् त्यस मुलुकमा विदेशीले हेप्नु कुन अनौठो भयो र ? विदेशीको हस्तक्षेप र अपमान रोक्ने हो भने पहिला हामी आफैंले आफ्नो इज्जत, स्थान र स्वाभिमान बचाउनुपर्छ । यसमा प्रेसको महत्वपूर्ण भूमिका रहनसक्छ । तर प्रेस र पत्रकार स्वयम् पनि यस्ता विदेशी प्रलोभन र लाभबाट मुक्त हुनसक्नुपर्छ ।  

२१. नेपाल पत्रकार महासङ्घको उपादेयता त्यसमा पत्रकारको सहभागिताको व्यापकता बारे के भन्नुहुन्छ ?जुन संस्था पत्रकारिताको
नाउँमा मात्र राजनीति गर्छ, पेशागत हकहित र क्षमता विकासका नाउँमा आफू संलग्न निजीस्तरका ठूला प्रकाशन गृहका मालिक पत्रकार र प्रकाशकहरूको गोटी बन्नबाट जोगाउने कुनै प्रयत्न गर्दैन, कहिल्यै कुनै गोष्ठी तालिम र रचनात्मक कार्यक्रम सञ्चालन गर्दैन, त्यस्ता संस्थाको बारेमा थप मेरो कुनै टिप्पणी छैन । निश्चय नै यसको प्रभवकारिता जेजस्तो हुसक्थ्यो र हुनुपथ्र्यो त्यस्तो हुन सकेको देखिँदैन । आम पत्रकारका नाउँमा दलीय समूहको भोट बटुलेर राजनीतिक माउ पार्टीका एजेन्डा अनुसार काम गर्नुको नियतिले महासङ्मा न त दक्षता, वरिष्ठता को कुनै महत्व छ, न पेशागत सीप सम्वद्र्धनप्रतिको कुनै जिम्मेवारीबोध !     

२२. नेपाल पत्रकार महासङ्घको झन्डामुनि निरङ्कुशता बिरोधी आन्दोलनको अग्रभागमा पत्रकारहरूले निर्वाह गरेका भूमिकाको साथै शाही सासनका बिरुद्ध चरणबद्धरूपमा चलाएको सङ्घर्ष बारे के भन्नुहुन्छ ? निरङ्कुशता बिरोधी आन्दोलनको अग्रभागमा रहेर पत्रकारहरूले निर्वाह गरेका भूमिकाका साथै शाही शासनका बिरुद्ध चरणबद्धरूपमा चलाएको सङ्घर्ष समयको आवश्यकता थियो र थियो बृहत्तर राष्ट्रिय स्वार्थ अर्थात् मुलुकलाई निरङ्कुशतामुक्त तुल्याई ऐतिहासिक युगीन राजनीतिक परिवर्तको निर्णयक मोडमा ल्याइपु¥याउ आवश्यक भूमिका । पत्रकारहरूले खेलेको त्यतिबेलको भूमिका आवश्यक थियो, त्यसैले स्वागतयोग्य पनि ! तर यस्तो अबस्था सधैं रहँदैन । कुनैबेला भूमिका खेलेकै कारण यस्ता व्यवसायिक संस्थाले राजनीति गर्ने स्थायी अधिकारपत्र प्राप्त भएको नै ठान्नुहुन्छ । जब राजनीतिक दलहरू प्रतिबन्धित थिए, निरङ्कुशता बिरुद्धको लडाइँलाई निरन्तरता दिएर उत्कर्षमा पु¥याउनु आवश्यक थियो त्यतिबेला पत्रकार मात्र होइन विद्यार्थी, कर्मचारी, अन्य पेशागत समूह सबैको सहभागिता र निर्णायक भूमिका अपेक्षित र आवश्यक थियो । आवश्यकता अनुसार नै पत्रकार जगतले अत्यन्त सह्राहनीय भूमिका निर्वाह पनि ग¥यो । यस्तो भूमिका वृहत्तर राष्ट्रिय उद्देश्यका लागि हुनुपर्छ, दलीय हित र ठूला प्रकाशनगृहका आर्थिक स्वार्थबाट निर्देशित रहेर होइन । 

२३. तपाइँले पत्रकारिता जीवनमा आफूले सिर्जना गर्नुभएका रचनाप्रति कत्तिको गौरव महसुस गर्नुभएको छ ?पत्रकारिता जीवनको मेरो लेखन अखबारी समसामयिक लेखन, आमसञ्चार तथा पत्रकारिताको सैद्धान्तिक तथा प्रवृत्तिगत विश्लेषणका पुस्तक लेखन र बालसाहित्य, साहित्यिक लेख रचना तथा सिर्जनात्मक लेखनमा गरी विभिन्न विषय र विधामा बाँडिएको छ । अखबारी लेखनका हजारौं लेखरचना, स्तम्भ लेख र रिपोर्टिङहरू प्रकाशित छन् । गोरखापत्रका अतिरिक्त नयाँ नेपाल पोस्ट, एक्काइसौं शताब्दी, सम्बोधन आदि साप्ताहिक, मासिक र अन्य आवधिक प्रकाशनमा विजयन्त, विक्रान्त आदि नाउँमा लामो समय स्तम्भलेखन गरेको छु । आमसञ्चार र पत्रकारिताका पाँचवटा कृति प्रकाशित छन् । आज पत्रकारिताका अनेकौं कृति देखा परे पनि २०४५ तिर मैले पत्रकारितको पुस्तक लेख्दा पुराना लेखकका अप्राप्य एक दुई पुस्तक बाहेक थिएन । मेरा साहित्यका गद्य विधा र बालसाहित्यका गरी तीन दर्जन कृति प्रकाशित छन् । यस्तै साहित्यिक समालोचना, टिप्पणी, अन्तवार्ता र अन्य षियगत लेखहरू सयौं प्रकाशित छन् । अब तीमध्ये के कति गौरव गर्न लायक छन् र कति छैनन्, मैले भन्ने कुरा होइन । आफ्नो मूल्याङ्कन आफूले नभएर अरुले् गर्दा राम्रो होला कि ?

 २४. तपाइँले मोफसलको पत्रकारितालाई कसरी हेर्नुभएकोछ ? मोफसलको पत्रकारिता स्तरीय र सुदृढ एवं सक्षम बनाउन के के उपायहरू हुनसक्छन् ।  पत्रकारितालाई राष्ट्रिय र मोफसलको भनी विभाजन गर्नुभन्दा पनि मेरो दृष्टिमा राष्ट्रिय, क्षेत्रीय र स्थानीय भन्नु उपयुक्त होला । यसरी हेर्दा पहिले मुद्रण प्रविधिका उपलब्धता र केन्द्रको दृष्टि पर्ने हुँदा राजधानीबाट प्रकाशित पत्रिका विज्ञापन, पाठक सङ्ख्या र प्रभावका दृष्टिले बढी सुविधासम्पन्न देखिन्थे । अझै यो स्थिति छँदै छ । अलिे मुद्रण प्रविधिमा आधुनिक सञ्चार प्रविधिको विकासका कारण गुणस्तरीय प्रकाशनका लागि मोफसल पनि खासै बाधक नबन्न सक्छ । तर प्रसार, विज्ञापनको पहुँचजस्ता कुरामा राज्यले स्थानीय वा मोफसलको पत्रकारितालाई विकसित गर्न विशेष नीति अख्तियार गर्नु आवश्यक देखिन्छ । यसका लागि सरकारका क्षेत्रीय र जिल्लास्तरीय कार्यालयका सरकारी सूचना, विज्ञापन प्राथमिकतापूर्वक स्थाानीय र क्षेत्रीय प्रकाशनले पाउनसक्ने व्यस्था लागू हुन उपयुक्त होला । त्यसरी नै पत्रकारिता तालिम प्रदान गर्ने संस्थाहरूको स्थापना वा अन्य आवधिक कार्यक्रमहरूको व्यवस्थाले पनि मोफसलको पत्रकारितालाई थप गुणस्तरीय तुल्याउन सहयोग पुग्नेछ ।

 २५. पत्रकारिता जीवनमा तपाइँले पाउनुभएको सम्मान, अपमान, घृणा, द्वेष तथा तपाइँप्रति कसैले गरेको दुव्र्यवहारबारे केही भन्न चाहनुहुन्छ ?खासै त्यस्तो अपमान त बेहोर्नु परेको छैन, तर त्यस्तो अपमान गर्नखोज्नेसँग बारम्बार टक्कर परेर धेरै अवसरहरू भने गुमाउनु परेको छ ।

 २६. “देश र जनताका लागि २५–३० वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा लागिरहेको पत्रकारलाई कुनै भेदभाव नगरी सरकारले पेन्सन व्यवस्था गर्नुपर्छ” यो अभिव्यक्तिप्रति के भन्नुहुन्छ ?   यो आजको आवश्यकत पनि हो । राज्यले आफूलाई समाज र जनताप्रति जिम्मेवार र उत्तरदायी ठान्ने हो भने सम्पूर्ण जीवन पत्रकारितामा होमेर राष्ट्र सेवा गर्ने पच्चीस वर्ष निरन्तर पत्रकारिता गरेका ज्येष्ठ पत्रकारहरूलाई जीवन यापनका लागि पुग्ने गरी न्यूनतम पेन्सनको व्यवस्था हुनु अत्यन्त आवश्यक छ ।
 २७. वर्तमान मुलुकको स्थिति र त्यसबाट निकास पाउनका लागि पत्रकारको दायित्व तथा जिम्मेवारी बारे के भन्न चाहनुहुन्छ ?  पत्रकारले दल, आस्था र जातिगत, भाषिक सङ्कुचितताको सीमाबाहिर रही राजनीतिक सङ्क्रमण यथाशीघ्र समाप्त पार्न दलहरूलई नैतिक दवाबको वातावरण निर्माण गर्नु आवश्यक छ । 

२८. पत्रकारिता पेशाको समुचित विकासका लागि विषयगत उच्च शिक्षाको आवश्यकता कत्तिको ठान्नुहुन्छ ?  पत्रकारिता मूलतः अभ्यासबाट खारिने र कामबाट सिकिने पेशा हो । तर पनि पत्रकारिताको अधारभूत शिक्षाले यसलाई अरु उजिल्याउने र माझिन सघाउने भएकोले एउटा सफल पत्रकारका लागि पत्रकारिता सम्बन्धी विशेष शिक्षा र प्रायोगिक अभ्यासको निरन्तरता– दुवै नै उीत्तकै जरुरी हुन्छ । यो मध्यमार्गी दृष्टिकोण आजको यथार्थ हो । त्यसमाथि आजका पत्रकारले आफूलाई प्रश्नकर्ता, असल स्रोता र द्रष्टामा मात्र सीमित राख्दैन । ऊ आफैं पनि गंभीर प्रश्नहरूको उत्तर खोज्छ । आजका पत्रकार आफूले रिपोर्ट गर्ने विषयमा विशेषज्ञता समेत राख्ने गर्छन् । यस दृष्टिले आज पर्यावरण, अर्थ–वित्त, संस्कृतिजस्ता विशेष विषयमा रिपोर्ट गर्ने पत्रकारले आफ्नो विषयमा राम्रो ज्ञान राख्नु आवश्यक छ र यसका लागि विशेष शिक्षा जरुरी हुन्छ । यस दृष्टिले पत्रकार शिक्षित हुनु जरुरी छ, तर त्यो शिक्षा विश्वविद्यालयीय शिक्षा नै हुनु पर्छ भन्ने होइन । त्यसैले पत्रकारिता र आमसञ्चारका क्षेत्रमा आजका चुनौतीहरूको सामना गर्न कठिन श्रमबाट निर्मित पत्रकारिताको असल प्रयोगपरक व्यक्तित्वलाई सैद्धान्तिक ज्ञानको पालिसले अरु प्रभावकारी तुल्याउन सक्नेछ । यी दुवै पक्षको आपसी सम्बन्ध झनै उपयोगी हुनसक्छ । 

२९. नयाँ पीँढीका सञ्चारकर्मीहरूको लेखनक्षेत्र तथा भविष्य कस्तो देख्नुभएको छ ? उनीहरूप्रति के भन्न चाहनुहुन्छ ? नयाँ पुस्ताका पत्रकारहरूसँग चुनौती छ, र छ साथ साथै अवसर र नयाँ नयाँ ज्ञान, शिक्षा र साधन–उपकरण । त्यसैले उनीहरूको लेखनमा नयाँ पन, नयाँ शैली र प्रभाव पनि देखिँदै छ । तर नयाँ देखिने होडमा पत्रकारिता लेखनले कहिले काहीँ सीमा र मर्यादा पनि उल्लङ्घन गरिरहेको देखिँदैछ । यस्ता कुरामा सचेत हुने हो भने नयाँ पुस्ताको लेखन क्षेत्र व्यापक, विस्तृत र प्रभावशाली हुँदै जाने निश्चित छ । तर राष्ट्रियता, राष्ट्रिय भाषा, साहित्य र संस्कृतिका पक्षमा यदाकदा देखिने जिम्मेवारीबोधको कमी हटाउन भने यो पुस्ता बढी सचेत हुनु आवश्यक देखिन्छ ।  

 ३०. एउटा पत्रकारका नाताले आफ्नातर्फबाट थप केही कुराहरू भन्न चाहनुहुन्छ कि ? भन्ने सबै भनिसकिएका छन्, पत्रकारिता क्षेत्रको स्वस्थ र सन्तुलित विकासले गति प्राप्त गर्दै जाओस्, यही कामना छ मेरो ।