Sunday, April 15, 2012

नाइँ, मलाई त डर लाग्छ–विजय चालिसे

(अन्नपूर्णपोस्ट २०६९ वैशाख २ गते प्रकाशित बालकथा)
 खैरी गौंथली मुखभरि आहारा च्यापेर गुँडमा फर्किन् । गुँडभित्र पस्नासाथ भोकाएका बचेराले आँ...आँ...गर्दै उनलाई घेरे । चिरबिर गर्दै उनीहरू चारा माग्दै थिए ।
 खैरीले सबैलाई पालैपालो चारा ख्वाइन् । बचेरा बिस्तारै हुर्किँदै थिए । तिनका पखेटा बिस्तारै उड्न सक्ने हुन लागेका थिए । 
 चारा ख्वाएपछि आमाले गैंथलीले भनिन्– “अब केही दिनमा तिमीहरू उड्न सक्छौ । अनि त आकाशमा उडेर आफ्नो चारा आफैं खोज्नु पर्छ नि बुझ्यौ ?”
 “आहा आमा बाजस्तै आकाशमा उड्दा कति रमाइलो होला ?” आमाको कुरा सुनेर उनीहरू खुसी भए ।
 कान्छो धुर्से भने उड्ने कुराले मनमनै डराएको थिया । ओहो...गुँडबाट निस्केर आकाशमा कसरी उड्ने होला ? कतै ठोक्किएर खसियो भने...!”
 त्यत्तिकैमा केही दिन बित्यो । जेठोलाई भने कहिले उडौंजस्तो भएको थियो । त्यसैले आमासँग भन्यो– “आमा आज त उड्ने है ?”
 आमाले पालैपालो सबलाई हेरिन् । कान्छो धुर्से भने आफैंलाई उड्न भन्नुहोला भनी डराइरहेको थियो । आमाले तिमीहरूको पखेटा अझै दरिलो भैसकेको छैन । केही दिन पर्ख भनेपछि बल्ल धुर्से ढुक्क बन्यो । 
 केही दिनपछि आमाले सबै बचेरालाई उड्न तयार हुनु भन्नुभयो । आमाको कुराले कान्छो फुर्सेबाहेक सबै खुसी थिए– आहा...हामी पनि आमाजस्तै आकाशमा उड्ने...!
 साने भने गुँडबाहिर हेर्दैमा कहाल्लिन थाल्यो । गुँड निकै अग्लो ठाउँमा थियो ।
 आमाले केहीबेर कसरी पखेटा चलाउने, कसरी माथि जाने, कसरी तल झर्ने भनेर सिकाउनुभयो । अनि सबै कुरा सिकाएर भन्नुभयो, “ल...अब उड्न तयार छौ होइन ? मैले उडेको त हे¥यौ नि राम्ररी ?”
 आमाका् कुरा सुनेर साने फुसे्र बाहेक अरुले खुसी हुँदै भने– हे¥यौं...आमा, अब हामी पनि उड्ने !   
 बचेराहरू गुँडबाट निस्केर एक पछि अर्को गर्दै हावामा उडे । सबै उडिसक्दा पनि साने भने बसेको ठउँबाट डेग चलेन ।
 “सानु... तिमी किन त्यहाँ बसिराखेको ? उड्न पर्दैन ।” सानेले उड्ने सुर नै नगरेको देखेर आमाले सोध्नुभयो ।
 “आमा नाइँ, मलाई त डर लाग्छ । म नउड्ने है आमा...!” साने डरले कालोनीलो देखिएको थियो । 
 यसको डर कसरी भगाउने होला ? साने डराएको देखेर आमालाई साहै्र चिन्ता लाग्यो । सम्झाउँदै भन्नुभयो– “कस्तो डरछेरुवा तिमी त ! गुँडबाट फाल हालेर पखेटा फटपटाएपछि त आफैं उडिहालिन्छ नि । उड्नै जानेन भने के खाने नि ? यसरी डराएर पनि हुन्छ । ल...नडराइ उड् त, कति रमाइलो हुन्छ ।”
 “अहँ... म त सक्दिन । मलाई उड्न डर लाग्छ ।” सानेले अझै उड्ने आँट गरेन ।
 “नडराऊ न, कोसिसै नगरी कसरी जानिन्छ त ? नडराऊ न, खस्यौ भने म समाउँला नि !” आमाले फेरि सम्झाउनुभयो ।
तर आमाले जति सम्झाए पनि उसले उड्ने आँटै गरेन । छोरो त्यसरी उड्न डराएको देखेर आमालाई झनै चिन्ता बनिन् । यसरी नै डरायो भने त कहिल्यै उड्न नसक्ने भयो यसले ! त्यस्तो सोचेर सानेलाई च्याप्प चुच्चोमा च्यानि ।
साने आत्तिँदै करायो– “नाई...नाई...म गुँडबाहिर जान्न !”
आमाले उसको कुरै सुनिन् । “रुने होइन..., पखेटा खोल ...!” भन्दै गुँडबाहिर हावामा छाडिदिइन् ।
साने अताल्लिँदै हावामा ठाडै तल खस्न थाल्यो । डरले गर्दा पखेटा चलाउन समेत बिर्सियो । आमा र दाजु दिदी “पखेटा चलाऊ...पखेटा चलाऊ..”.भन्दै कराइरहेका थिए । त्यो सनेर सानेले दुवै पखेटा फट्फटाउँदै चलायो । त्यसरी पखेटा चलाउन थालेपछि ऊ तलतिर खस्न छाड्यो । अनि त हावामा मज्जाले उड्न पो थाल्यो । त्यसरी उड्न सकेको देखेपछि उसलाई बेकार डराएछु भन्ने लाग्यो ।
 केही बेरपछि त साने अरुजस्तै रमाइ रमाइ आकाशमा उडिरहेका देखियो !
२०६८ चैत २९
रमेश विकल साहित्य प्रतिष्ठान
आरुबारी

No comments:

Post a Comment