(नवप्रज्ञापन, बालसाहित्य विशेषाङ्क पूर्णङ्क ६०, वैशाख–असार २०७० मा प्रकाशित)
चिनारीः
विक्रम सम्वत् २००८ साल असार २२ गते आषाढ शुक्ल तृतीयका दिन काठमाडौँ जिल्लाको उत्तरपूर्वी गाउँ आरुबारी भन्ने ठाउँमा जन्मेका विजय चालिसेको पिताको नाम रामेश्वर शर्मा चालिसे (साहित्यिक नाम रमेश विकल) र माताको नाम सुशिला चालिसे हो (विजय चालिसेसँगको कुराकानीबाट प्राप्त जानकारी) । पिता रमेश विकल साहित्यिक एवम् राजनीतिक गतिविधिमा संलग्न भएकाले गर्दा प्रायः घरबाहिरकै कार्यमा व्यस्त भएकाले लामो समयसम्म यिनको बाल्यजीवन पिताजीको सानिध्यबाट टाढा रहन पुगेको थियो । तथापि पिताजीले बेलाबखतमा घरमा ल्याउने पुस्तक, पत्रपत्रिका पल्टाएर हेर्ने, पढ्ने गर्दा र यिनको आफ्नो जग्गा जमिन कमाएर बसेका गुल्चादाइ, मोहनलाल दाइ आदिले बेलाबेलामा सुनाउने लोककथा, गाउँखाने कथाहरूबाट विजय चालिसेको बाल्यकालमा साहित्यिक रसाबोधको प्रारम्भिक बीजारोपण भएको थियो (पूर्ववत्) ।
विजय चालिसेको अक्षरारम्भ आफ्नै पिता रमेश विकलबाट ६ वर्षको कलिलो उमेरबाटै भएको थियो । औपचारिकरूपमा भने यिनको शिक्षारम्भ वि.सं. २०१५ सालदेखि गाउँकै अरुणोदय प्राथमिक विद्यालयबाट भएको थियो । २०२५ सालमा एस्.एल्.सी. उत्तीर्ण गरेका विजयले २०३७ सालमा स्नातकोत्तर तह उत्तीर्ण गरेका थिए (पूर्ववत्) । यस अतिरिक्त विक्रम सम्वत् २०४२ सालमा बेलायतको लण्डनस्थित तमसन फाउण्डेसनबाट एड्भान्स जर्नलिजम कोर्शमा डिप्लोमा गर्नुमा साथै पत्रकारिता क्षेत्रमा नेपाल, भारतलगायत अन्य देशहरूमा आयोजित गोष्ठी कार्यशाला आदिमा पनि सहभागी भइ थुप्रै अनुभवहरू बटुलेका विजय चालिसे आज पनि स्वाध्ययनबाट विभिन्न विषयमा गहन अध्ययन गरिरहेका देखिन्छन् । उनको स्वाध्ययनको प्रभाव उनका हरेक रचनाहरूमा छचल्किएको देख्न सकिन्छ ।
कार्यक्षेत्र र सेवा ः
स्वाबलम्बी स्वभावका विजय चालिसेले विक्रम सम्वत् २०२३÷२४ सालदेखि नै क्रमशः प्राथमिक, नि.मा.वि. हुँदै मा.वि.तहको शिक्षकको रूपमा काम गर्दै आफ्नो अध्ययन अघि बढाएका थिए । यसरी हेर्दा वि.सं. २०२३÷२४ देखि वि.सं. २०३६ सम्म अविच्छिन्नरूपमा स्कुल तहको शिक्षणमा लागेका विजयले २०३७ सालदेखि भने गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाको उपसम्पादक पदमा कार्यारम्भ गरे । यसो भए पनि वि.सं. २०४२ सालदेखि हालसम्म विजय पशुपति बहुमुखि क्याम्पस चावहिलमा आंशिकरूपमा प्राध्यापन गरिरहेका छन् (पूर्ववत्) ।
यसरी नियाल्दा पत्रकारिता र प्राध्यापन पेसालाई सँगसँगै अघि बढाएका विजय चालिसे विभिन्न सङ्घसंस्थाहरूमा समेत संलग्न रहेका छन् । चारपाते युवा क्लब आरुबारी, ग्राम निर्माण बन्धुमण्डल क्लव, आरुबारी ०२४, बन्धु पुस्तकालय– २०२४, नेपाल बालसाहित्य समाज (२०४४), नेपाल विज्ञान लेखक सङ्घ ९क्ध्ब्ल्० २०४४, नेपाल मानव अधिकार पत्रकार मञ्च (२०४६), नेपाल प्रेस सेन्टर (२०४७), प्रेस चौतारी (२०५५) जस्ता संस्थाहरूको स्थापना कार्यमा महत्वपूर्ण काम गरेको देखिन्छ ।
यसका साथै चालिसेले साझा प्रकाशन सञ्चालक समितिको निर्वाचित सदस्य (२०४५–०४८), गरिमा साहित्यिक मासिक तथा उत्साह साहित्यिक त्रैमासिकमा सल्लाहकार सम्पादक, अरुणोदय माध्यमिक विद्यालय आरुबारीको सञ्चालक समितिको अध्यक्ष (२०५०), गोरखापत्र संस्थान सञ्चालक समितिको सदस्य (२०५४) र सम्पादक भएर सेवा पु¥याएका थिए भने उनी आज पनि मधुपर्क साहित्यिक मासिक पत्रिकाको प्रधान सम्पादक भएर सेवा गरिरहेका छन् । यी विभिन्न कार्यहरू गर्दागर्दै पनि विजय चालिसेले आफ्नो बचेको समयमा साहित्य सिर्जना गरेर आफ्नो साहित्यिक व्यक्तित्वलाई निरन्तररूपमा अघि बढाउँदै आएका छन् । समसामयिक विषयमा साहित्य सिर्जना गर्न रुचाउने चालिसेको कार्यक्षेत्रमा पत्रिकारिता र शिक्षण बाहेकको अर्को महत्वपूर्ण पाटो साहित्य सिर्जना हो । साहित्यका कथा, उपन्यास, निबन्ध, नाटक, आदि विधामा कलम चलाउने चालिसे बालसाहित्यको क्षेत्रमा समेत उत्तिकै सवल देखिन्छन् (पूर्ववत्) ।
बालसाहित्यकार व्यक्तित्व ः
मूलतः नेपाली बालसाहित्यमा आफ्ना अग्रजहरूले स्थापना गरेको परम्पराभन्दा पृथक अर्थात् वैज्ञानिक, चेतनापरक र युगानुकूल सोँचजस्ता विषयवस्तुमा बालसाहित्य सिर्जना गर्ने विजय चालिसे बालसाहित्यको क्षेत्रमा पनि बेग्लै पहिचान हुन् । उनले आफ्नो स्थापित भइसकेको शिक्षक, पत्रकार, सम्पादक, सङ्घसंस्था स्थापकजस्ता व्यक्तित्वको विकाससँगै साहित्यकार व्यक्तित्वभित्र बालसाहित्यकार व्यक्तित्वलाई समेत यिनले स्थापित गरिसकेका छन् । यसर्थ के भन्न सकिन्छ भने विजय चालिसेको साहित्यिक व्यक्तित्वभित्र भेटिने एउटा अर्को महत्वपूर्ण पाटो बालसाहित्यकार व्यक्तित्व पनि हो ।
आफ्ना पिता रमेश विकल साहित्यभित्र चुर्लुम्म डुबेका व्यक्तित्व भएकोले गर्दा विजयले आफ्नो बाल्यकालदेखि नै आफ्नै घरमा बाबुले ल्याएका विभिन्न विधाका पुस्तक तथा पत्रपत्रिकाहरू हेर्ने तथा पढ्ने अवसर पाए । यसरी बाल्यकालदेखि पुस्तकहरूसँग रमाउन पाएका विजय पिताजीको साहित्यिक सङ्गतले गर्दा पनि शनै शनैः विभिन्न विधाका साहित्यिक रचनाबाट प्रभावित हुँदै गए । अझ यसमा पनि आफ्ना पिता रमेश विकल बालसाहित्यको क्षेत्रमा ख्याति प्राप्त भएकोले गर्दा त्यसबाट समेत प्रभावित भई विजयमा पनि बालसाहित्यप्रतिको चाख पलाएको हुनुपर्छ । फेरि यिनी आफू स्वयम्ले भोगेको बाल्यकाल, अलिपछि प्रावि तथा निमाविमा पढाउँदा बालबालिकाहरूसँग भोगेको बालसङ्गतका साथै आफू बाँचेको समाजमा बालबालिकाप्रतिको आफ्नो दायित्व बोध हुँदा ती बालबालिकाहरूको लागि मूलतः विशुद्ध बालसाहित्यिक सामग्रीको अभाव देखेर बालसाहित्य सिर्जनामा प्रेरित भएका हुन् ।
स्पष्टै छ कि कुनै पनि बालबालिकाको रचनात्मक कल्पनाशीलता विकसित गर्नका लागि तथा नयाँ युगको आउँदा दिनहरूमा बालबालिकाहरूले गर्नुपर्ने जीवनका चुनौतिहरूको सामना गर्न सक्ने सोच विकसित गर्न सघाउने गरी मानसिकरूपमा तयार हुन मद्दत गर्न सक्नु आजको बालसाहित्यको अपेक्षित पक्ष हो । बालबालिकाले देखेको, बेहोरेको विषयवस्तु तथा व्यवहार आदिको वैज्ञानिक दृष्टिबाट हेर्न सघाउने रचनाले बालबालिकाको त्यस किसिमको व्यक्तित्व विकासमा मद्दत पु¥याउँछ । यसै मूल सिद्धान्तलाई आफ्नो बालसाहित्य सिर्जनाको मूल आदर्श मानेर साधनारत चालिसेको दयालु राजकुमार, अनौठो भूमिमा एलिस, हाम्रो वरिपरिको विज्ञान, बादलका बुट्टाहरू, हराएको मूर्ति, टाटेपाङ्ग्रे, विश्वका प्रसिद्ध बालकथाहरू खण्ड १, खण्ड २, मङ्गलग्रहमा विज्ञान, किसानबाट शिक्षा, चटकीको बाँदर, अमूल्य उपहारजस्ता बालसाहित्यिक कृतिहरूले उनको बालसाहित्यिक व्यक्तित्वलाई स्थापित गरेका छन् । यसका साथै विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित रचनाहरू तथा विविध बालसाहित्यिक कार्यक्रममा देखिने सहभागिता र प्रसिद्ध बालपत्रिका ‘मुना’ को सम्पादक अनि बालसाहित्य समाजको संस्थापक सदस्य हुनजस्ता कुराहरूले पनि चालिसेको बालसाहित्यिक व्यक्तित्वलाई चिन्न सहयोग पु¥याउँछ । बालसाहित्यिक क्षेत्रमा विजयले बालकथा, उपन्यास, नाटक, निबन्ध, चित्रकथा, अनुवाद आदिजस्ता विधामा किलम चलाएर महत्वपूर्ण योगदान गरेको कुरा उनका यी बालसाहित्यका विविध विधालाई नियाल्दा प्रस्ट हुन आउँछ । समग्रमा विजय चालिसेका साहित्यिक रचनाहरूलाई नियाल्दा उनका रचनाहरूका सरल भाषाशैली, मनोरञ्जनको साथसाथै शिक्षा प्रदान गर्न सक्ने हुनु र वैज्ञानिक चेतनामा समसायिक विषयवस्तुको परिधिभित्रैबाट सिर्जना तयार भएको पाइन्छ । यो नै विजयको बालसाहित्यिको विशेषता हो । यसै विशेषताले गर्दा विजयको बालसाहित्यकार व्यक्तित्वलाई परम्परागत बालसाहित्यिक लेखनभन्दा भिन्नरूपमा उभ्याएको छ ।
यसरी नियाल्दा माथि उल्लेख गरिएका बालसाहित्यिक क्रियाकलाप, कृतिहरू तथा फुटकर रचनाहरू एवम् विभिन्न विशेषताहरूले विजय चालिसेलाई बालसाहित्यकारका रूपमा स्थापित गरेको प्रस्ट हुन्छ । यसर्थ चालिसेको तिनै कृति, रचना क्रियाकलाप एवम् विशेषताहरूबाट उनको बालसाहित्यिक व्यक्तित्वलाई चिन्न र मूल्याङ्कन गर्न सकिन्छ ।
प्रकाशित बालसाहित्य कृति ः
(क) दयालु राजकुमार (चित्रकथा) २०४३, (ख) सेवाका प्रतिमूर्ति (जीवनी) ग. अनौठो भूमिमा एलिस (अनुदित उपन्यास) २०५०, (घ) हाम्रो परिवारको विज्ञान (विज्ञान प्रबन्धसङ्ग्रह) २०५२, (ङ) बादलका बुट्टाहरू (नाटकसङ्ग्रह) २०५२, (च) हराएको मूर्ति (कथासङ्ग्रह) २०५६, (छ) टाटेपाङ्ग्रे (संयुक्त कथासङ्ग्रह) २०५७, ((ज) विश्वका प्रसिद्ध बालकथाहरू (अनुदित कथासङ्ग्रह) खण्ड १ २०५७, (झ) विश्वका प्रसिद्ध बालकथाहरू (अनुदित कथासङ्ग्रह) खण्ड २ २०५८्र, (ञ) अमूल्य उपहार (कथासङ्ग्रह) २०५८, (ट) किसानबाट शिक्षा (बालकथा) २०५८, (ठ) प्रसिद्ध चिनिया बालकथाहरू (संयुक्त), २०५८, (ड) चटकीको बाँदर (बालकथा) २०६०, (ढ) मङ्गलग्रहमा विज्ञान (बाल विज्ञान उपन्यास), २०६०, (ण) मुस्ताङको गुफा (बाल उपन्यास), २०६१, (त) विजय चालिसेका बालकथाहरू, २०६५, (थ) विश्वका बालकथा सङ्ग्रह–१, (सम्पादन) २०६, (द) कप्तान कुक, २०६६, (ध) हाम्रा एकाङ्की–२, (सम्पादन) २०६६, (न) लोखर्केको जिद्दी, २०६६, (प) म नेपाली, २०६६, (फ) यती, अन्तरिक्ष र गाउँघरका कथा, २०६७, (ब) का का काग, चित्रकथा, (भ) ल्ष्mब ँयगलम थ्भतष्, द्दण्ज्ञद्द ९द्दण्टढ०, (म) चङ्खे मन्त्री, २०६९ ।
यस अतिरिक्त पनि विजयका विभिन्न विधाका विभिन्न कृतिहरू पाण्डुलिपिका रूपमा तयार भइसकेका छन् र ती प्रकाशनको क्रममा रहेका छन् भने आज पनि उनी लेखनकार्यमा उत्तिकै सक्रिय देखिन्छन् । यसर्थ अझ पनि विजय चालिसेका थुप्रै कृतिहरू नेपाली साहित्यमा भित्रिने संभावना प्रायः निश्चित नै रहेको देखिन्छ ।
बालसाहित्यिक यात्रा
सिर्जना पृष्ठभूमि
यसो त नेपाली साहित्यमा अनेकन विधाहरू रहेको पाइन्छ तर ती सबै विधाहरू उत्तिकैरूपमा फस्टाएर गएको पाइँदैन । त्यसमा पनि तुलनात्मकरूपमा बालसाहित्य कमै मात्र फस्टाएको विधाको रूपमा रहेको छ । के कुरा सत्य होभने आजका बालबालिका नै भोलिका देश हाँक्ने सारथी हुन् । यसरी उनीहरू समाजका महत्वपूर्ण पक्ष भएकाले गर्दा पनि उनीहरूको रुचिअनुरूप विविध विषयको खुराक प्रदान गर्नु आजका बुद्धिजीविहरूको दायित्य पनि हुन आउँछ । यस सिलसिलालाई नियाल्ने हो भने बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहबाट श्रीगणेश भएको नेपाली बालसाहित्यले झण्डै सय वर्षको समयावधि पूरा गरिसकेको छ । यसबीचमा कैयौँ बालसाहित्यकारहरूको जन्म भइसकेको छ । यिनै साहित्यकारहरूमध्ये वर्तमान नेपाली बालसाहित्यमा निरन्तर साधनारत प्रतिभाभित्र विजय चालिसेलाई पनि भेट्न सकिन्छ ।
बाल्यकालबाट आफ्नै घरमा साहित्यिक वातावरण पाइ हुर्किएका विजय चालिसेले आफ्ना पिताजीको घरमा सङ्कलन गर्ने पुस्तकहरू तथा पत्रपत्रिकाहरू हेर्ने मोका पाएका थिए । यसरी नियाल्दा काठमाडौँ नै भए पनि यसको एउटा गाउँ आरुबारी भन्ने ठाउँमा रहेको अत्यन्त मनोरम प्राकृतिक वातावरणले पनि विजयमा प्रभाव पारेको बुझ्न सकिन्छ । फेरि आफ्नो माध्यमिक तहको शिक्षा उत्तीर्ण गर्नेवित्तिकैदेखि शिक्षक पेसामा लागेकाले पनि नेपाली बालबालिकाहरूको साहित्यप्रतिको रुचिसँग कलिलै उमेरदेखि परिचित हुने मौका यिनले पाए । परिणामतः बालसाहित्य लेखनमा यिनी सहजरूपमा लागिपरे ।
आफ्नो घरमा एवम् आफ्ना पिताजी नेपाली बालसाहित्यमा साधनारत रहेकाले नेपाली बालसाहित्यको वास्तविक अवस्थासँग परिचित हुने वातावरण विजयले पाएका थिए । यसो त समाजका लागि केही गर्नुपर्छ र भोलिको सभ्य समाज निर्माणका लागि आजका बालबालिका सुशिक्षित हुनुपर्छ भन्ने चेतना विजयमा उर्वर बनेर रहेको बुझिन्छ । जसले गर्दा यिनमा समयसापेक्ष एवम् प्रामाणिक कुराहरूमा विश्वास गर्ने बानी भएकाले काल्पनिकभन्दा वास्तविक साहित्यमा यिनको आकर्षण बढेको देखिन्छ । जसबाट भोलिका कर्णधार मानिने बालबालिकाको मानसिक चुस्तता बढेर जाओस् । यसरी यथार्थको नजिक बसेर बालसाहित्यको सिर्जना गर्नुपर्छ भन्ने मान्यतामा अडिग बन्दै सोहीअनुरूपको साहित्य रचनामा तल्लिन रहे ।
यसरी विजयका प्रारम्भिक दिनहरूलाई नियाल्दा आफ्नै पिताजीको सङ्कलनबाट आफ्नै घरमा बालसाहित्यिक पत्रपत्रिका एवम् विविध विषयका पुस्तकहरूको अध्ययन गर्न पाउनु, घरैमा राम्रो साहित्यिक वातावरण पाउनु, आफ्नै पिताजी नेपाली साहित्यका प्रखर प्रतिभा भएकाले उहाँका साहित्यकार साथीहरूसँग बाल्यकालबाटै हेलमेल गर्न पाउनुका अतिरिक्त आफू कलिलै उमेरबाट शिक्षण पेसामा लाग्दा बालबालिकाहरूको साहित्यप्रतिको रुचिसँग परिचित हुनु, आफ्नै घरपरिवारको अत्यन्त रमणीय प्राकृतिक वातावरणमा बाल्यकाल बित्नु र सृजनकर्मतर्फ लागेपछि बालसाहित्यिक पुस्तकहरूको न्यूनतामा ध्यान पुग्नु अनि काल्पनिकभन्दा यथार्थ र सत्य कुराले बालमस्तिष्कमा खुराक पुग्छ भन्ने मान्यताहरूकै पृष्ठभूमिमा विजय चालिसेको बालसाहित्य सिर्जना प्रारम्भ भएको देखिन्छ । विज्ञानसम्मत नयाँ युगानुकूल बालसाहित्यले वर्तमान विश्वमञ्चमा नेपाली बालबालिकाहरूलाई फक्रन सक्ने गराउँछ भन्ने आधारमा पछिल्ला बालसाहित्य साधनासम्ममा पनि रहिरहेकै देखिन्छ । जसलाई सुखदरूपमा ग्रहण गर्नुपर्ने हुन्छ ।
प्रेरणा र प्रभाव
सामान्तया रचनाकारलाई उसले आफ्नै बालजीवनको भोगाइले प्रभाव तथा प्रेरणा दिएको हुन्छ । विजय चालिसेलाई बालसाहित्य लेख्ने प्रेरणा प्राप्त हुनुमा मुख्यतः यिनको पनि बाल्यजीवनको भोगाइ नै हो । लोकजीवनको प्रभाव, प्राकृतिक वातावरणको प्रभाव आदिले पनि विजयलाई बालसाहित्य सिर्जनामा प्रेरित गरेको अनुभव हुन्छ । विजयको आफ्नै स्वीकृतिअनुसार बालबालिकाहरूको साहित्यप्रतिको तीव्र अभिरुचि तथा बालसाहित्यको न्यूनताले पनि उनलाई बालसाहित्य सिर्जनामा प्रेरणा प्राप्त भएको उनको आफ्नै स्वीकृति पाइन्छ । यसरी मूलतः बालबालिकाहरूको लागि सामग्री उपलब्ध गराउन सकौँ भन्ने आन्तरिक चाहनाबाट विजयको बालसाहित्य सिर्जना प्रेरित भएको देखिन्छ यिनको आफ्नै स्वीकृतिअनुसार यिनी धेरथोर विदेशी साहित्यका साथै उनको पिताजी रमेश विकल र कृष्णप्रसाद पराजुलीबाट बढी प्रभावित भएका छन् साथै नेपाली बालसाहित्यका यिनीभन्दा अग्रज साहित्यकारहरूबाट पनि धेरथोर प्रभावित बनेकै देखिन्छन् ।
यसरी समग्रमा भन्ने हो भन्ने नेपाली बालसाहित्यको अविकसित स्थिति र नेपाली बालबालिकाको साहित्यप्रतिको तीव्र अभिरुचि यिनको बालसाहित्य सिर्जनाको प्रेरणाका स्रोत हुन् । यथार्थपरक तथ्यपरक समयसापेक्ष जीवनपरक दृष्टिकोणले यिनको बालसाहित्य सिर्जना प्रभावित हुन पुगेको देखिन्छ ।
लेखन यात्राको प्रारम्भ
विजय चालिसे नेपाली बालसाहित्य क्षेत्रमा विद्यालयकालबाट नै लागेका भए तापनि औपचारिकरूपमा भने वि.सं. २०२७ सालबाट यिनले बालसाहित्य सिर्जनाको प्रारम्भ गरेको देखिन्छ । वि.सं. २०२७ साल कार्तिक महिनाको वर्ष ६, अङ्क ७ को ‘बालक’ पत्रिकामा ‘हातिम’ शीर्षकको कथा छपाएर यिनी नेपाली बालसाहित्यका क्षेत्रमा विधिवतरूपमा प्रवेश गरेका हुन् ।
त्यसपछि विभिन्न पत्रपत्रिकाहरू जस्तैः बालक, गोरखापत्र, आँखा, महेन्द्रमाला आदिमा यिनका बालसाहित्यिक रचनाहरू प्रकाशित हुँदै आए । यसरी वि.सं. २०२७ सालबाट औपचारिकरूपमा सुरु भएको हो । विजय चालिसेको बालसाहित्यिक यात्रामा सर्वप्रथम वि.सं. २०४३ सालमा दयालु राजकुमार नामक पुस्तक देखाप¥यो । यो नै उनको बालसाहित्यिक सिर्जनाको प्रथम पुस्तकाकार कृति हो । त्यसपछि उनले बालसाहित्यलेखनभित्रै अनुवादतिर कलम चलाए र विदेशी भाषामा लेखिएका उत्कृष्ट कृतिहरूलाई नेपाली बालबालिकाहरूका लागि आफ्नै भाषामा सुलभ बनाउने क्रममा वि.सं. २०५० सालमा अनौठो भूमिमा एलिस र विज्ञान विषयक निबन्धहरूको सँगालो ‘हाम्रो वरिपरिको विज्ञान’ नामक पुस्तक वि.सं. २०५२ सालमा प्रकाशित भयो । त्यसैगरी नेपाली बालसाहित्यमा खडेरी परेको बालनाट्य विधालाई उकास्ने ध्येयले वि.सं. २०५२ सालमा ‘बादलका बुट्टाहरू’ नामक बालनाटक सङ्ग्रह उनले प्रकाशित गराए । यसैक्रममा प्रकाशित विजयको अर्को कृति हराएको मूर्ति (२०५६ सालको उत्कृष्ट बालसाहित्यिक कृति पुरस्कारबाट पुरस्कृत) बालकथासङ्ग्रह २०५६ प्रकाशन गराए । नेपाली बालचित्रकथाको क्षेत्रमा पनि यिनको विशेष खालको प्रयास देखिँदै आएको छ । यिनका सयौँ बाल चित्रकथाहरू ‘मुना’ लगायतका विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भइसकेका हुन् ।
यसरी वि.सं. २०२७ सालबाट औपचारिकरूपमा नेपाली बालसाहित्यमा प्रवेश गरेका चालिसेको हालसम्म एक दर्जनभन्दा बढी बाल कृतिहरू पुस्तकाकाररूपमा प्रकाशित भइसकेका छन् र ती सब कृतिहरू पृथकपृथक पहिचानका साथ आएका छन् । जसले गर्दा विजयलाई नेपाली बालसाहित्यको फाँटमा स्थापित गराइदिएको छ । यसरी विजय चालिसेको बालसाहित्यिक सिर्जनाहरूलाई सूक्ष्मरूपमा नियाल्दा अध्ययन सुलभताका लागि उनका रचनाहरूलाई तीन चरणमा विभाजन गरेर हेर्न सकिन्छ । जसअनुसार हेर्दा उनले रचना गरेका वि.सं. २०२७ देखि २०४२÷४३ सालसम्मका रचनाहरू प्रथम चरण २०४४ देखि २०५२ सालसम्मका रचनाहरूलाई दोश्रो चरण र २०५३ देखि हालसम्मका रचनालाई तेस्रो चरण मानेर अध्ययन गर्नु मनासिव देखिन्छ ।
(क) पहिलो चरण (२०२७–२०४३)
वि.सं. २०२७ सालको कार्तिक महिनाको बालक पत्रिकाको वर्ष ६ अङ्क ७ पत्रिकामा ‘हातिम’ शीर्षकको बालकथा प्रकाशित गरेपछि विजयको बालसाहित्य यात्रा प्रारम्भ हुन्छ । तथापि यसभन्दा पहिले पनि उनले विद्यालयमा अध्ययन गर्दाका समयमा बालसाहित्यिक रचनाहरू लेख्ने र विद्यालयकै पत्रिकामा छपाउने गरे तापनि तिनलाई उनले सामान्य प्रयास मात्र ठानेका छन् ।
विजयको बालसाहित्यिक यात्राको प्रारम्भिक दिनहरूमा उनले फुटकर रचना मात्रै प्रकाशन गराएको देखिन्छ । यसक्रममा बालक, गोरखापत्र, ध्रुवतारा, महेन्द्रमाला आदिजस्ता पत्रपत्रिका पुस्तक एवम् सङ्कलनका माध्यमबाट बालकथा, बालनाटक, बालजीवनी, विज्ञान विषयक प्रबन्ध आदि विविधखाले बालरचनाहरू लिएर उनी यस क्षेत्रमा आएका हुन् । यस चरणमा देखिएका उनका केही उल्लेख्य रचनाहरूमा हातिम, ढुङ्गाको मुद्दा, मणिको बोटजस्ता कथाहरू, सनयात्सेन, भोल्टेयर, तोल्सतोयजस्ता जीवनीहरू, पानीद्वारा समय नाप्ने, आगोको आविष्कारजस्ता विज्ञान रचनाहरू आदि उल्लेख्य देखिन्छन् । उनको बालसाहित्य यात्राको पहिलो चरण यी रचनाहरूमा राष्ट्रिय अन्तर्राष्ट्रिय लगायत समाजमा प्रचलित लोकजीवनका कथाहरू, किंवदन्तीहरू र यस्तै सामग्रीका सरलीकृत प्रस्तृति रहेको पाइन्छ । महान् व्यक्तिहरूको जीवनको प्रस्तुति, विज्ञान विषयक रचनाहरूबाट बालबालिकाहरूलाई सुशिक्षित पार्ने चेतना पनि उनको यस चरणका रचनाहरूमा भेट्न सकिन्छ ।
जे होस् विजय चालिसेको प्रथम चरणका रचनाहरूले विजयलाई राम्रोसँग खार्दै लगेको कुरा उनका रचनाहरूको अध्ययनपश्चात बुझ्न सकिन्छ । यसर्थ पनि प्रथम चरण उनको बालसाहित्यिक यात्राको महत्वपूर्ण चरण हो भन्न सकिन्छ ।
(ख) दोस्रो चरण (२०४४–२०५२)
विजयको दयालु राजकुमार (चित्रकथा ०४३) कृतिको प्रकाशनबाट उनको फुटकर रचनामा सीमित बालसाहित्यिक यात्राले दोस्रो चरण प्रवेश गर्दछ । यस चरणमा विजयका दयालु राजकुमार (चित्रकथा २०४३), हाम्रो वरिपरिको विज्ञान (विज्ञान विषयक प्रबन्धसङ्ग्रह) २०५२ र बादलका बुट्टाहरू (बालनाटक सङ्ग्रह २०५२) जस्ता तीन मौलिक कृतिहरू प्रकाशित छन् । यस चरणका रचनाहरू निकै खारिएका देखिन्छन् । यस चरणका उनका रचनाहरूमा महान् तथा ठूलो व्यक्तिहरूका जीवनका प्रेरणादायी तथा रोचक घटनाहरूद्वारा बालबालिकाहरूलाई मनोरञ्जनका साथै नैतिक ज्ञान दिने, विज्ञानका विभिन्न विषयको तथ्यपूर्ण जानकारी गराई सुसूचित तुल्याउने जस्ता प्रयासहरू पाइन्छन् ।
जे होस् यस चरणमा उनले बालमनोविज्ञानलाई नजिकैबाट हेरी प्रभावकारी र मनोरञ्जनात्मक ढङ्गमा आफ्ना रचनाहरूलाई प्रस्तुत गरेका छन् । दयालु राजकुमार जस्तो नैतिक शिक्षा दिने चित्रकथा, नेपाली बालसाहित्यमा अत्यन्त न्यून रहेको नाट्य विधामा बादलका बुट्टाहरू, बालबालिकालाई विज्ञान विषयमा आकर्षित गर्ने हाम्रो वरिपरिको विज्ञानजस्ता कृतिहरूको प्रकाशनले उनको बालसाहित्य यात्राको यो चरण उपलब्धिका हिसावले महत्वपूर्ण छ ।
(ग) तेस्रो चरण (२०५३ देखि हालसम्म)
यस चरणमा विजयको हराएको मूर्ति कथासङ्ग्रह (२०५६) टाटेपाङ्ग्रे कथासङ्ग्रह (२०५७ सहलेखन) अमूल्य उपहार कथासङ्ग्रह (२०५८ सहलेखन) र चटकीको बाँदर (२०५९)जस्ता चार कथा कृति आएका देखिन्छन् । यसका साथै मङ्गलग्रहमा विज्ञान नामक बालविज्ञान उपन्यास लेखी मुना पत्रिकामा धारावाहिकरूपमा प्रकाशित गरिसकेको देखिन्छ । यस चरणमा आइपुग्दा बालसाहित्यकार विजय चालिसेका बालसाहित्यिक रचनाहरू अझै परिष्कृत र खारिएका देखिन्छन् । यस चरणका उनका कथा नयाँ बान्की र नयाँ रूपरङ्गमा आएका देखिन्छन् । यस चरणमा उनको सिर्जनशीलता र बालसुलभ अभिव्यक्ति उत्तरोत्तर खारिँदै अघि बढेको देखिन्छ ।
विजयको बालसाहित्य यात्राको यस चरणमा मङ्गलग्रहमा विज्ञान नामक उपन्यास सिर्जना हुनुले बालबालिकालाई विज्ञान विषयमा सुसूचित पार्ने उनको पहिलो र दोस्रो चरणको प्रयासको विकसित रूपको सङ्केत मिल्दछ र उनको बालसाहित्य यात्राको यस चरणमा साना पात्रहरूले खेल्दाखेल्दै राम्रा र ठूलो काम गरेका कथाहरू देखाई बालपाठकहरूलाई हामी पनि राम्रा र ठूला काम गर्न सक्छौँ भन्ने आत्माविश्वासको अभिवृद्धिमा सघाउने खालका, बालपाठकहरूमा स्वास्थ्य विज्ञानजस्ता विषयमा जागरुक र जिज्ञासु बन्न हौस्याउनेजस्ता प्रवृत्तिहरू अँगालिएका रचनाहरू भेटिन्छन् ।
यसरी बालसाहित्यकार विजय चालिसेका बालसाहित्य यात्राका मोडहरूमा आएका यी कृतिहरूले नेपाली बालसाहित्यको उत्थानमा गहकिलो योगदान दिएका छन् । सानैदेखि नेपाली बालसाहित्यको सिर्जनामा संलग्न र समर्पित हुने चालिसे हालसम्म पनि सिर्जनात्मक लेखनमा व्यस्त देखिन्छन् । त्यसैले भविष्यमा पनि उनीबाट नेपाली बालसाहित्यले अझ परिष्कृत र उत्कृष्ट रचनाहरू पाउन सक्ने आशा एवम् विश्वास गर्न सकिन्छ ।
No comments:
Post a Comment