Friday, April 11, 2014

स्रष्टा÷संवाद: मेरा कथाका पात्र समाजका यथार्थ पात्रहरू नै हुन् –विजय चालिसे, साहित्य स्रष्टा

(अग्निचक्र राष्ट्रिय मासिक२०७० चैत अङ्कमा प्रकाशित)
तपाईंको साहित्यिक विधा कुन हो र किन ?
–मेरो लेखनको मूल पक्ष आख्यान (कथा) नै हो । कथापछि नियात्रा र बालसाहित्य पनि मैले अत्यन्त रुचिपूर्वक लेख्दै आएका विधा हुन् । मैले साहित्यका पं्राय सबै विधा– कथा, उपन्यास, लोकसाहित्य अनुसन्धान, निबन्ध, नियात्रा, नाटक, हास्यव्यङ्ग्य, कविता, आमसञ्चार र पत्रिकारिताका साथै समीक्षा तथा समसामयिक राजनीतिक विषयमा पनि समान रूपले कलम चलाएको छु । ती सबै सङ्गृहीत गर्ने हो भने हरेक विधा–उपविधाक छुट्छुट्टै कृति तयार हुन्छन् । त्यसो भए पनि म आफूलाई मूलतः कथाकार मान्दछु र अनि नियात्राकार र बालसाहित्यकार । त्यसपछि मात्र अरु । नेपाली साहित्यको इतिहास लेखक र समालोचकहरूको मूल्याङ्कन पनि मेरो कथाकार र नियात्राकार र बालसाहित्यकार व्यक्तित्व नै अरुभन्दा अगाडि छन् । 
सुरु सुरुमा कविता लेखेर साहित्य साधना सुरु गरे पनि समाज, परिवेश र चरित्रको यथार्थपरक चित्रणमा र अभिव्यक्तिका लागि मलाई कथा विधा नै सर्वाधिक सहज र प्रभावकारी लाग्छ । यसैले प्रमुख विधाका रूपमा म कथा लेख्ने गर्छु । साहित्यका विविध विधाका आफ्ना आफ्ना अलग महत्व छन् । कहिले आफूले भन्न खोजेको कुरालाई कथाका माध्यमद्वारा प्रभावकारी अभिव्यक्ति दिनसकिनेजस्तो लाग्छ, र कथा लेख्छु । कथामा पनि आधुनिक विज्ञानको अधारमा भावी विश्वको परिघटना हेर्दा तिनलाई विज्ञानकथाबाट प्रकट गर्न सकिने विश्वासमा म विज्ञानकथा पनि समान रूपमा लेख्छु । कहिले कतै घुम्ने अवसर पाउँछु, अनि मनमा उठेका अनुभव र अनुभूतिलाई निजात्मक अनुभवका रूपमा नियात्रा निबन्धमा पोखिन खोज्छु । सबैको विवरण लेख्नु सायद जरुरी नहोला ।
मेरा कथाका पात्रहरू मेरै समाजका यथार्थ पात्रहरू हुन्, मेरो अर्थात मेरै समाजका मानिसहरूको चरित्र हुन् । मेरा प्राय सबै कथा समाजबाटै टिपिएका पात्र, घटना र परिवेशबाट प्रेरित रहन्छन् । ती पात्र मेरै समाजका पात्र हुन् । म यही समाजको स्वभाव, चरित्र र चापबाट निर्मित एउटा सदस्य हुँ  र समाजका हर कुराले मलाई प्रभावित गर्नु स्वभाविक छ । तिनैमध्ये कुनै पनि विशेष घटना वा कुराले मेरो मनमा तीब्र प्रभाव पारेर उद्वेलित तुल्याएपछि मेरो मनबाट त्यो विषय वा घटना लामै समयसम्म मेटिन सक्दैन । कहिले त्यसलाई तुरुन्तै कथाको रुप दिइन्छ, कहिले लामो समयसम्म त्यसै रहन्छ । त्यो घटना वा विषय मनमा धेरै मन्थन भएपछि त्यसलाई लेखनमा उतार्ने गर्छु म ।

साहित्यमालाग्नु पछाडि कुनै प्रेरणा स्रोत छ कि ?
–मेरो घरको वातावरण साहित्यिक थियो । म सानैदेखि त्यही वातावरणमा हुर्किएँ । घरमा विभिन्न पत्रपत्रिका र पुस्तकहरूको उपलब्ध थिए । म साहित्यमा लाग्नुको पछाडि त्यो घरेलु वातावरणका साथै पिताजीको साहित्यिक व्यक्तित्व, घरमा आउनुहुने साहित्यकारहरूको आकर्षण आदि सबैको केही न केही प्रभाव परेको छ, सबै नै कुनै न कुनै तहमा प्रेरक बनेका छन् । तर पनि सुरुमा साहित्य लेखनतर्फ प्रवृत्त हुनुमा मूलतः पिताजीको लेखकीय व्यक्तित्व नै मेरो प्रेरणा थियो, पछि त्यसमा भैरव दाइ (भैरव अर्याल) प्रेरणा र प्रोत्साहन थपियो ।
घरमा नयाँ नयाँ पुस्तक र पत्रपत्रिकाहरू उपलब्ध हुने हुँदा सानैदेखि बसेको पढ्ने बानी र ती पुस्तक पत्रिकामा छापिने लेखकका नामको आकर्षणले पनि लेखक बन्नका लागि थप प्रेरणा दिए । किताव पत्रिपत्रिकामा लेखकका नाम छापिएको देख्दा आफ्नो नाम पनि त्यसरी नै छापिए कस्तो हुन्थ्यो होला ? भन्ने लाग्थ्यो । त्यही आकर्षणले सुरुमा कविताहरू लेख्ने हुटहुटी जगयो । केही पछि गाउँमा हामीले चलाएको चारपाते क्लबको नियमित बैठकमा सकेसम्म सबैले केही न केही सुनाउनु पर्ने नियम म आफैंले बनाएको थिएँ । अरुले नसुनाए पनि आफूले सुनाउन लेख्नै प¥यो । त्यही क्रममा स्कुल कलेजका साथै अन्य पत्रिकामा पनि कविता, कथा बाल साहित्य छापिँदै गए । अनि बिस्तारै लेख्ने बानी बस्दै गयो ।
तपाईंको विचारमा बालकले लेखेको बालसाहित्यहो कि ? बालकका लागि लेखिएका ?

–दुवै नै बालसाहित्य हुन् । तर सिर्जनामा बालसुभलभ भाषा शैली, मनोविज्ञान र विषबस्तु छैनन् भने न बालकले लेख्दैमा बालसाहित्य हुन्छ, न ठूलाले लेख्दैमा ! बालसाहित्यका तत्व र विशेषता छन् भने बालक प्रौढ जसले लेखे पनि बलसाहित्य बन्छ । हाम्रो मात्र नभएर विश्वसन्दर्भमै बालसाहित्य लेखनको सुरुआत प्रौढ सर्जकहरूबाटै भयो । बालसाहित्य सिर्जनामा बालस्रष्टाको सहभागिता पछि मात्रै देखिएको हो । पछि सुरु भए पनि अहिले हाम्र्रो नेपाली बालसाहित्यको सिर्जनामा बालसर्जकहरूको सङ्ख्या निरन्तर वृद्धि भइरहेको छ । अभिभावकहरूमा पठ्पुस्तक बाहेक अरु पढ्न हुँदैन भन्ने पुरानो धारणामा आउन थालेको परिवर्तन, विद्यालयहरूमा पुस्तकालय स्थापना गर्ने र बालसाहित्य पठनमा प्रोत्साहन दिने प्रवृत्तिमा आएको विकास, बालसमूह, बालक्लबजस्ता बालकेन्द्रित तथा सञ्चालित संस्थाहरूको विकास र बालसाहित्यका भित्ते पत्रिका पत्रिका प्रंकाशनको अभ्यास आदिका कारण बालबालिकामा पनि लेख्ने बानीको विकास हुँदै गएको देखिएको छ र अहिले बालसाहित्यमा बालस्रष्टाहरूको उपस्थिति पनि पाठकका साथै स्रष्टाका रूपमा समेत निरन्तर बढिरहेको छ । बालकले नै लेखेका कतिपय रचनामा बालसाहित्यका तत्वको अभाव नदेखिने होइन, तर पनि यो सङ्ख्याको वृद्धि बालसहित्य लेखनका लागि सकारात्मक सन्देश हो ।     

बाल साहित्यका पुस्तकमा उमेर निर्धारण भए राम्रो होलाकि नहोला ? जस्तो एउटै संग्रहमाकुनै पाँचवर्षकालाई र कुनै १२ वर्षकालाई हुने कथा समेटिएको पुस्तकले त दुवै उमेरकालाई ठगे वा झुक्याए जस्तो भएको देखिन्न र ?
–अति राम्रो कुरा सोध्नुभयो । अवश्य पनि सकेदेखि बालसाहित्यका हरेक पुस्तकमा त्यो पुस्तक कुन उमेरको पाठकका लागि उपयुक्त छ भन्ने स्पष्टसाग उल्लेख हुनु अत्यन्त राम्रो कुरा हो । तर हाम्रा आफ्नै समस्या पनि छन् । विकसित मुलुकमा कुन कक्षा वा उमेरमा बालकको शब्दभण्डार क्षमता कति हुन्छ, उसलाई कतिसम्म कुन र कस्तो संरचानाका नयाँ शब्द सिकाउँदा उपयुक्त हुन्छ, भन्नेजस्ता वैज्ञानिक र प्रयोगात्मक अध्ययन अनुसन्धानबाट निकालिएका निश्चित आधार तयार छन् । उनीहरू कुनै पनि बालसाहित्यका पुस्तकमा प्रयुक्त भाषा, शैली, विषयबस्तु आदिका आधारमा त्यो कुन उमेर वा कक्षाका बालक बालिकाकालागि लेखिएको हो सजिलैस्ँग भन्न सक्छन् । अर्थात् उनीरूसँग वैज्ञानिक आधार छ र त्यो अध्ययनलाई उनीहरू निरन्तर अद्यावधिक पनि गर्दै जान्छन् ।
हाम्रो सन्दर्भमा भने यस्तो छैन । केही बालसाहित्यका अध्येता र स्वयम् बालसाहित्य स्रष्टाले धेरथोर प्रयास गरे छन्, नगरेको होइन । यति भएर पनि ती अध्ययनहरू क्षेत्रगत हिसाबले विकसित र अविकसित वा सुविधा प्राप्त खुला छानामुनि पढ्न वाध्य क्षेत्रका बालबालिका, नेपालको मात्रै नभएर विश्वकै बालसाहित्यसँग पहुँच भएका र पाठ्यपुस्तकको अनुहार समेत देख्न नपाएका बालबालिका, जन्मेदेखि नै आधुनिक सञ्चार माध्यमका कम्प्युटर र आधुनिक ग्याजेटसँग खेल्ने अवसर पाएका र त्यस्ता बस्तुको अनुहारसमेत देख्न नपाएका  बालबालिकाको बीचम रहने भाषिक क्षमताबीचको अन्तरलाई समेट्न सकेका छैनन् । यो निजी प्रयासमा व्यक्ति अध्येताबाट सम्भव हुने कुरा पनि होइन ।
यस पृष्ठभूमिमा तपाइँले भन्नुभएजस्तै स्पष्ट उमेर किटानी त्यति सम्भव नभए पनि उमेर समूहका दृष्टिले लेखिनु वा स्तर निधारण गरिनु र एउटा कृतिमा त्यही मात्र उमेर समूहलाई उपयुक्त हुने मात्र रचना राख्नु भने राम्रो मात्र नभएर आवश्यक कुरा पनि हो । त्यसो भएमा यहाँले भन्नु भएजस्तै एउटै सङ्ग्रहमा कुनै रचना पाँच वर्षकोले उमेरलाई र कुनै किशोर वयको सिँढी उक्लने तर्खरमा रहेका चौध पन्द्र वर्ष उमेरका पाठकलाई सुहाउने रचना एकै कृतिमा राखेर झुक्किने झुक्याउने काम गर्नु पर्ने अवस्था न आउला ।
यस दृष्टिमा बालसाहित्य लेख्दा वा उमेर समूहमा विभाजन गर्दा विद्यालयपूर्वको ३–५ वर्षका लोरीखाले सरल र श्रव्य चित्रात्मक बालसाहित्य, तथा विषय, भाषा, अनुभव, परिवेश जस्ता तत्वका दृष्टिले ६–८, (कक्षा १–३), ९–१० (कक्षा ४–५), ११–१३ (कक्षा ६–८) र १४–१५ (कक्षा ९–१०) उमेर समूहका लागि उपयुक्त सामग्रीलाई समूहगत विभाजन गरेर उल्लेख गर्न सके राम्रो हुनुहु न्थ्यो जस्तो लाग्छ । तर यो सरल काम भने होइन ।     
के साहित्यले आत्म सन्टुष्टि दिन्छ ?
–हाम्रोसन्दर्भमा त साहित्यले आत्म सन्तुष्टि बाहेक अरु के नै दिनसक्छ र ? केही प्रकाशकहरूको व्यवसायिक चटकी विज्ञापन कलाले साहित्य रातारात अनेकौं संस्करण प्रकाशित हजारौं सङ्ख्यामा विक्नथालेको भ्रमजाल फैलाइए पनि स्कुल कलेज विश्वविद्यालयका पाठ्यपुस्तक, गाइड, नोट्स र लोकसेवा वा यस्तैका लागि थयनर गरिने परीक्षा सहयोगी कृति लेखनबाहेक विशुद्ध साहित्य वर्षमा हजार प्रतिभन्दा बढी बिक्ने अवस्था अझै बनिसकेको छैन । त्यसैले लेखकका लागि साहित्य लेखनबाट पाइने सन्तुष्टी र पाठक तथा समाजबाट माया र सम्मान नै प्रमुख कुरा हो ।
साहित्य मेरालागि सोख र पेशा दुवै नभएर एउटा जिममेवारीपूर्ण काम भएकाले पनि म यसबाट सन्तुष्टि बाहेक व्यवसायिक वा आर्थिक लाभको धेरै अपेक्षा राख्दिन । म साहित्यलाई एउटा अति नै जिम्मेवारीपूर्ण अभिभारा ठान्दछु । त्यसैले यो मेरो स्वान्तसुखाय सोख मात्र होइन । साहित्य पेशा त बन्नै सकेको छैन, त्यमाथि पेशा बन्नासाथ यसले जिम्ेवारीबोध गुमाउन पुग्छ । लेखन सही अर्थमा लेखन रहनसक्दैन, व्यवसाय बन्छ । व्यवसायको अर्थ विज्ञापन कला र बजार अर्थशास्त्रको प्रयोगद्वारा चमत्कारीपूर्ण विक्री प्रबद्र्धनको चक्रलाई नै सफलता ठान्ने भ्रमको सिर्जनालाई सफलता असफलतामा जोख्ने प्रवृत्ति हो । त्यस अवस्थामा लेखकीय स्वायत्तता, जिम्मेवारी र सामाजिक दायित्वको हत्या हुन्छ । जुन आज बिस्तार बिस्तार देखिन थालेको छ अनुभव हुँदैछ ।  
सात्यिले समाजलाई के दिनु पर्ने हो जस्तो लाग्छ तपाईंलाई
–म साहित्य साहित्यको लागि भन्ने स्वान्तसुखायको दर्शनलाई सम्पूर्णमा स्वीकार गर्न सक्दिन । हो, साहित्य लेखनबाट म अर्थात् लेखकले आनन्दबोध गर्छ । लेखकमा अरूले पढिदेऊन् र मेरो पनि नाम होस्, प्रतिष्ठा होस् भन्ने भित्री चाहना पनि हुन्छ, यो स्वभाविक पनि हो । यो जोसुकै मानिसमा हुन्छ । यस अर्थमा लेखन स्वान्तसुखाय र आफ्नो लागि हुने गर्छ भन्ने धारण सर्वांशमा असत्य नहोला, तर त्यो प्रकाशित हुनासाथ व्यक्तिगत सोख, सुखानुभूति र लहडको मात्र विषय नबनेर समाजको बन्छ, सार्वजनिक बन्दछ । त्यसैले पाठक र समाजप्रति समर्पित हुने लेखन निश्चय पनि जिम्मेवार हुन पर्छ, समाजलाई सही बाटोमा हिँड्न सघाउने हुनुपर्छ, अराजक, असंस्कृत र छाडा मूल्यमान्यताको प्रसारक होइन । यस अर्थमा लेखन स्वन्तसुखाय भनेर जिम्मेवारी विहीन हुन पाउँदैन । लेखन समाज र पाठकका लागि समर्र्पित हुन्छ भने स्वभाविक रूपमैं त्यो जिम्मेवार हुनु आवश्यक छ । तसर्थ मेरो स्पष्ट धारणा छ– मेरो लेखन मेरै कथा हो, म भनेको जीवन हुँ । जीवन समाज र परिवेशभन्दा बाहिर हुनसक्दैन । त्यसैले मैले लेखेका कथा हुन् वा साहित्यका अन्य विधा, ती समाजनिरपेक्ष हँुदैनन् । त्यसैले यो म अर्थात जीवनको लागि हुनुपर्छ, म बाँचेको समाज, राष्ट्र र अझ व्यापक परिवेश समेट्ने हो भने मेरो युगको सुन्दर भविश्यको चाहनाबाट पे्ररित र सिर्जित हुनुपर्छ । त्यसैले यो निरुद्देश्य होइन उद्देश्यमूलक हुन्छ । यो मेरो धारणा हो, यसमा अरूको सहमति रहनै पर्छ भन्ने आग्रह पनि छैन । यो स्वान्तसुखायकै लागि हो भने पनि यो मेरो अर्थात सर्जकको लागि हुनासाथ स्वतः मान्छेको लागि हुनुपर्छ । किनभने साहित्य मानिस स्वयम् केन्द्रविन्दुमा नरही सिर्जना हुँदैन । त्यसैले मेरो दृष्टिमा मेरो साहित्यले समाजलाई दिने भनेको सामाजिक यथार्थको चित्रणद्वारा प्रगतिशील वा अग्रगामी समाज निर्माणको चाहना र सकारात्मक परिवर्तनका लागि यथास्थिति र विभेदपूर्ण सोच व्यवहार विरुद्धको चेतना जागरणको सानो भए पनि झिल्को नै हो । त्यसैले मलई लाग्छ, साहित्यले समाजलाई दिने भनेको रचनात्मक अग्रगामिताको सोच हो, राष्ट्रियता प्रतिको सम्मानको भावना हो र, हो मानवीय तथा र राष्ट्रिय स्वाभिमानको अभिप्रेरणा ।  
आजकल चलेको सस्तो साहित्य र साहित्यिक गतिविधिबाट तपाईं सन्तुष्ट हुनुहुन्छ ? सन्तुष्ट हुन के गर्नु पर्ला ?
–सबै साहित्य र साहित्यिक गतिविधि सस्तो र चटकी चटकमटकयुक्त मात्र छैनन् । नेपाली साहित्यको संसारमा स्तरीय प्रकाशनहरू पनि भएका छन्, हुँदैछन् । तिनको चर्चा मात्र नभएको हो । आज सबै कुरा केही ठूला भनिने छापा, प्रसारण माध्यमका केही कथित साहित्यिक चर्चाकारहरूको रातारात आइकन तयार गर्ने खेलबाट नेपाली साहित्य जगत आक्रान्त रहेकोले मात्रै यस्तो देखिएको हो । यस्ता बजारमुखी माध्यम र तिनका इशारामा कलम चलाउने साहित्यिक स्तम्भकार वा चर्चाकारहरूको आँखामा परोक्ष परोक्ष हिसाबले चर्चा गरिदिएवापतको मूल्य व विज्ञापन दिनसक्ने वा परोक्ष रूपमा लाभ दिलाउन सक्ने राजनीति, पत्रारिताजस्ता क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध, सम्पर्क हुने लेखक र तिनका कृति मात्र पर्ने गरेको देखिनुले गर्दा तपाइँको यो प्रश्नले सङ्केत गरेजस्तो अवस्था देखिएको सत्य हो । तर यस्ता उपभोक्तावादी चिन्तन व्यवहारलाई आदर्श ठान्ने माध्यम र तिनै माध्यमले पढाकु, चिन्तक, ठूला लेखक साहित्यकार भनेर गोयबल्स शैलीमा बारम्बार प्रक्षेपण गर्दै आएका एउटा सीमित समूहका मानिसहरूका कारण देखिएको अवस्था हो यो । यस्ता कथित व्यक्तिहरूको प्रचारलाई मात्रै आधार नमानेर हेर्ने हो भने मूल्यमा आधारित गहन कृति को लेखन–प्रकाशन र प्रेरक गतिविधिहरूको सञ्चालन पनि भइ नै रहेका छन् । आजको यो भ्रम अर्थशास्त्रको पुरानो भनाइ “खराब मुुद्राले असल मुद्रलाई धपाउँछ” भनेजस्तै हो । पाठक सधैं कथित ठूला सञ्चारमाध्यमहरूका आत्मवञ्चक लेखक र स्तम्भकार तथा साहित्यिक पत्रकारहरूको अहोरूप अहोध्वनि खाले स्यालहुइँयालाई कै पछि लाग्ने मस्तिष्कशोध (ब्रेनवास) को कृत्रिम प्रभावमा अवश्य नै रहिरहँदैन । सबै कुरा सधैं स्वविवेक र स्वाध्यायबाटभन्दा बढी बजार अर्थशास्त्रको विज्ञापनकला र विज्ञापनमा लागेको लागतको अनुपातद्वारा प्रभावित रहन्छ भन्ने छैन । 
यो समयमा नेपाली साहित्यलाई स्तरमुखीभन्दा प्रचारमुखीभन्ने आरोप आइरहेको छ । तपाईं के भन्नुहुन्छ ? र यसलाई जीवन उपयोगी, समाज उपयोगी, मानव उपयोगीबनाउन के गर्नु पर्ला ?
–अघि नै भनियो आजको समयमा प्रचारमुखी मात्र नभएर स्तरीय कृति र रचनाहरूको प्रकाशित भएका छन् । हल्ला र चर्चामा प्रचारमुखी साहित्यको पकड रहनुका कारण तिनको वर्चस्व देखिए पनि स्तरीय सिर्जना नभएका होइनन्, भइरहेका छन् । सरसरती देख्दा बजारमा बेचिने विज्ञापनकलाको कारण चाउचाउ र केन्टुकी फ्राइडजस्तै फैलिएको देखिने साहित्य मात्र होइन गम्भीर साहित्यलाईपनि गम्भीरतापूर्वक रुचाउने पाठकको सङ्.ख्या कम छैन, ती यस्ता मध्यम र चर्चाैकारको आँखाबाट आझेल परेका–पारिएका मात्र हुन् । यथार्थमा  समाजलाई दिग्भ्रमित गर्ने, नभइ सही मूल्यमान्यताको विकास र प्रसारमा सहयोगी बन्ने साहित्य यही पछिल्लो श्रेणी कै हुन् । 
विनयजी यहाँको प्रश्नको दोस्रो खण्डलाई सम्बोधन गर्नुपर्दा मलाई लाग्छ, हल्लाको भरमा मात्र नपरी सही पाठकीय क्षमता र चेतको विकास भएका पाठक र समीक्षकहरूको यतातिर ध्यान आकृष्ट गर्नु जरुरी छ । यो काम व्यवसायिकताका नाउँमा सबै कुराको “मात्र व्यापार” गर्ने केही ठूला सञ्चार माध्यम र तिनै माध्यममा कार्यरत पत्रकार हुनुको लाभको कारण समीक्षक र चर्चाकार बनेका केही चर्चाकार अनि त्यस्तै केही साहित्यकारबाट साहित्यको चर्चाकारमा रुपान्तरित सीमित व्यक्तिहरू यो भ्रामक गोयवलियन अहोरुप अहोध्वनिको व्यापारकलाको यथार्थबाट पाठकलाई भ्रममुक्त गराउने काममा आजको पहिलो आवश्यकता होजस्तो लाग्छ । यसो गर्ने सामथ्र्य स्तरीय साहित्यिक पत्रिका र आवधिक प्रकाशनहरूमा नै निहित छ । यस्ता माध्यमले यो काम गर्न सक्छन् । यिनको पहुँच सीमित भए पनि यिनको प्रभाव दीर्घकालीन रहन्छ र भविष्यको सही इतिहास लेखनमा यिनैले सहयोग गर्छन् । तर केही प्रभावशाली संस्थागत प्रकाशनका साहित्यिक पत्रिकाहरू समेत अखबारी साहित्यक पत्रकारिताको प्रभावमा आएर नवीनता र बोल्डनेसका नाउँमा तिनै प्रवृत्ति तर्फ प्रवृत्त हुन थालेको देखिँदा दुःख लाग्छ । आजको आवश्यकता मानवीय आत्मसम्मान, आत्मविश्वास र आन्तरिक क्षमताको विकासका लागि आत्मबोधको उद्बोधनमा सहयोगी साहित्यको हो जुन हल्लामुखी कथित प्रयोगका नाउँमा हुने एब्सर्ड र मूल्यहीन सिर्जनाबाट संभव छैन । 
आध्यात्म दर्शनलाई तपाईं कसरी हेर्नुहुन्छ ?
–आत्मचिन्तको भाव आध्यात्मिक पक्ष हो भने कुनै पनि बस्तुलाई हेर्ने काम, प्रकृति, जगत, ज्ञानविज्ञानलगायत बस्तु, जीवन र चेतनालाई विवेचन–विश्लेषण गर्ने दृष्टिकोण दर्शन हो । त्यसैले आत्मज्ञानका सम्बन्धमा हुने विश्वास वा आस्था आमचिन्तनका लागि समेत अपरिहार्य पक्ष हो आध्यात्म दर्शन । चाहे विश्वलाई हेर्ने वृहत् दृष्टिकोणको अर्थमा होस् चाहे सामान्य जीवनदर्शनको अर्थमा, हरेक सर्जकको आत्मपरिक्षणको आधार हो आध्यात्म दर्शन भन्ने मेरो धारणा छ । यस अर्थमा पनि यो मानव सभ्यतामा सहयोगी सोपान हो र समयानुकुल समयले यसका परिमार्जन गर्दैजान्छ, नवीन जीवनदर्शनको प्रतिपादन गर्छ । यो मेरो धारणा हो ।    
१० तपाईं त प्रशासन पनि चलाएको मान्छे । गोरखापत्रमा रहँदा के के नयाँ योजनाल्याउनुभयो त ?
—कुनै पनि संस्थाको सञ्चालन सामूहिक भावना अर्थात् टिमवर्कबाट मात्र सफल हुन्छ । त्यसो भए पनि त्यो संस्थाको नेतृत्वमा रहने इमान्दारी, प्रभावकारिता, स्वच्छता र क्रियाशीलताले निर्याणक भूमिका खेल्दछ भन्ने कुरा स्पष्ट छ । त्यस अर्थमा मेरो दुई वर्षको मेरो नेतृत्वदायी कार्यकालमा जे जति काम भए तिनमा मन्त्रीज्यू र सचिवज्यूको पूर्ण सहयोग र समर्थन, सञ्चालक समितिका सदस्य, महाप्रबन्धक, विभागीय प्रममुख र कर्मचारीहरूको सहयोग बिना सम्भव थिएन । त्यति भएर पनि सहकर्मीहरूको मौकामा कमाउनैपर्छ भन्ने मानवीय कमजोरीजन्य सोचले समस्या नल्याएको होइन । विद्यमान् कमिसन र भ्रटाचरको अपत्यारिलो चक्रव्यूह र पदाधिकारी तथा स्वार्थ समूहको नाजायज लाभ लिने मनोवृत्तिले कतिपय अवस्थामा जटिल चुनौती पनि बेहोर्नु प¥यो तर मेरो इमान्दारीप्रति रहेको मन्त्रीज्यूको विश्वासले गर्दा त्यस्ता कपिय चुनौतीपूर्ण षडयन्त्र निष्फल पनि हुँदै गए । 
यिनै पृष्ठभूमिमा मैले सबैभन्दा पहिले मेरा विभागीय मन्त्री शङ्कर पोखरेल र सचिव सुशील कोइरालाका साथै अर्थमन्त्रालयका सचिवद्वय त्यतिबेला अर्थमन्त्रालयमा कर हेर्नेहुने सचिव कृष्णहरि बास्कोटा र अर्थमन्त्रालयकमा सचिव रामेश्वर खनालको सहयोगमा २०३४–३५ देखि नतिरेर जम्मा हुन पुगेको ९ करोड ६७ लाख रकम सुरुमा नेपाल सरकारको सफ्ट लोन र लगत्तै त्यो श्रृणलाई अनुदान सहयोगमा परिणत गराउन सफलता पाएँ । यसबाट संस्थान झण्डै १० करोडको आर्थिक दात्यिबाट मुक्त भयो । यो बाटो देखाउनुका साथै कार्यान्वयनलाई अघि बढाइदिएर सचिव वास्कोटाजीले लगाउनु भएको गुन संस्थान र मेरालागि समेत कहिल्यै तिरिनसक्नु श्रृण हो भन्ने म ठान्दछु ।
कार्यभार सम्हालेपछि सबैभन्दा पहिले विहान चारै बजे दैनिक अखबार छापेर परीक्षणका रूपमा बुटबल र वीरगञ्जसम्म विहानै पु¥याउने व्यवस्था मिलाउनु गोरखापत्रको सुधारका लागि मेरो उल्लेख्य काम होजस्तो लाग्छ । त्यसभन्दा अघि विहान पाँच–सात बजेसम्म छपाइको काम चलिरहने वस्थाका कारण बस बाट पठाउँदा बुटबल, भैरहवा, वीरगन्त्र र अरु यस्तै नजिकका सहरमा समेत भोलिपल्ट मात्र अखबार बाँडिन्थ्यो । मेरो नेतृत्वमा चार बजेभित्रै छपाइ कार्य सकेर सकभर उही दिन प्रमुख सहरमा पु¥याउन बस र प्राय यात्रु नभएमा मात्रै गोरखापत्र बोक्ने प्लेनको मात्र भर नपरी भाडामा लिएर आफ्नै गाडीबाट बुटवल र वीरगन्जसम्म पु¥याई त्यहाँबाट पूर्व र मध्यपश्चिमका जिल्लाहरूमा आजको आजै अखबार पु¥याउने योजनाले गोरखापत्रलाई केही भए पनि प्रतिस्पद्र्धी बनाउन सघायो । यसलाई अझ प्रभावकारी बनाउन बुटबल र वीरगञ्जमा सम्पर्क कार्यालय खोलेर त्यहाँबाट पूर्वाञ्चल र मध्यपश्चिमाञ्चलका जिल्लाहरूमा पठाउने व्यवस्था मिलाउँदा सोचेजति नभए पनि पहिलेभन्दा अखबार चाँडै पुग्न थाल्यो । प्रतिस्पद्र्धात्मक बजारका लागि यो अपरिहार्य कदम थियो ।
त्यति गर्दा पनि महँगो गाडी भाडा, सधैंको बन्द हडतालले गर्दा काठमाडौंबाट बाहिरका जिल्लामा छिटो र सुलभ तरिकाले अखबार पठाउने काम सजिलो थिएन । त्यसैले मैले दुईवटा योजना अगि बढाउन मन्त्रीज्यूबाट सहमति लिएँ । त्यसपछि बाहिरबाट क्षेत्रीय संस्करण प्रकाशन गर्न जग्गाप्राप्तिकोलागि एउटा काम अघि बढाएँ । तत्कालका लागि भाडाकै प्रेसमा छापेर पनि इटहरीबाट क्षेत्रीय संस्करण निकाल्ने योजना अघि बढ्यो । नेकपा एमालेका नेता विष्णु पौडेलको सहयोगमा बुटवलमा रहको सार्वजनिक जग्गा अधिग्रहणका गरेर गोरखापत्र संस्थानको नाउँमा भोगाधिकार प्राप्त गर्ने काम पनि साथ साथै अघि बढ्दै थियो पश्चिमाञ्चल क्षेत्रीय प्रकाशनका लागि । मन्त्री परिषद्मा प्रस्तावको लागि मन्त्रालयमा कुराकानी चल्दैथियो । उता इटहरीमा जग्गा किन्नका लागि कार्यदल पठाएँ । सबै कुरा हुृँदा हुँदै पनि जजसलाई विश्वास गरेर जिम्मा दियो तिनैको गलत स्वार्थप्रेरित मानसिकता र क्रियाकलाप अनि परिश्रमबाट भाग्ने मनोवृत्तिका कारण समयमा सबै काम हुन सकेन, क्षेत्रीय प्रकाशन र जग्गाप्राप्तिको काम अधुरै रह्यो । 
यसै गरी सधैं कमिसनको खेलमा ग्लोबल टेन्डर पन्छाएर एकाधिकार बजारको महँगो कागजबाट आआफ्नो भागशान्ति जयनेपाल गर्ने परम्परा बाट मुक्त गरी ग्लोबल टेण्डरद्वारा १००० मे.ट. कागज किन्दा मसी कागजमा किनिरहेको मूल्यको आधारमा २ करोड रुपियाँ जोगाउन सफल भएँ, त्यो मेरो कार्यकालको अर्को महत्वपूर्ण उपलब्धी हो । तर यसवापत संस्थान भित्रैका यस विरोधी शक्तिकेन्द व्यक्तिहरूबाट अनेकौं विरोध र व्यवधान पनि खप्नु प¥यो ।
वर्षेनी ठूलो सङ्ख्यामा कर्मचारी पद निवृत्त हँुदा पाउने उपदान समयमै पाउने र वर्षेनी थोत्रिँदै जाने प्रेसलगायत मेसिनरी सामान बजेटको अभावमा कुनै पनि बेला काम नगर्ने अवस्थामा पुग्दा समेत नयाँ किन्न नसकिने अवस्थाबाट छुटकारा दिने स्थायी उपायको सुरुआतका रूपमा संस्थानकै इतिहासमा पहिलोपल्ट विज्ञापनबाट हुने आमदानीको निश्चित प्रतिशत हरेक महिना अनिवार्य जम्मा गर्ने वाध्यात्मक प्रावधानसहित उपदान र ह्रासकट्टी कोषको व्यवस्था गरेँ । यसलाई म मेरो कार्यकालको अर्को महत्वपूर्ण उपलब्धी ठान्दछु ।
यस अतिरिक्त मेरो नेतृत्व र प्रकाशकालमा गोरखापत्रको इतिहास लेखनमा सहयोग पुग्ने गरी प्रकाशित गोरखापत्रको इतिहास, पच्चीस वर्षसम्म मधुपर्कमा प्रकाशित हास्यव्यङ्ग्य निबन्ध, नियात्रा र कविताका प्रतिनिधिमूलक ग्रन्थहरूको प्रकाशनका साथै नेपाली पत्रकारिताकै इतिहासमा सर्वाधिक अङ्क प्रकाशित गर्न सफल मधुपर्क मासिकको ५०० औ वृहत विशेषांकको प्रकाशन पनि मेरो कार्यकालका उपलब्धी हुन् भन्ने म ठान्दछु ।
    
तपाईं चर्चित साहित्यकार रमेश विकलको छोरा ! बुबाको बारेमा बाहिर नआएका नबताई नहुने केही छन् कि?
–रमेश विकललाई नेपाली यशस्वी साहित्यकारका रूपमा चिन्ने धेरै छन्, चित्रकला र संगीतमा पनि उहाँको उत्तिकै रुचि थियो भन्ने भने धेरैलाई थाहा नहुन सक्छ । तर फुर्सदको समयमा उहाँ रवि चालिसेको नाउँमा पनि त्यत्तिकै मनोयोगपूर्वक चित्रकलाको साधना गर्नुहुन्थ्यो । उहाँलाई मुहारचित्र बनाउने पनि निकै शोख थियो । आमा बा, बाजे, बज्यै, साहित्यकार, कलाकार, वैज्ञानिक तथा नेताहरूका उहाँले धेरै मुहारचित्र बनाउनु भएको छ र यसरी पानी रंग, तेलरंग, पेन्सिल, चकआदि माध्यमबाट उहाँले बनाएका चित्रहरूको प्रदर्शनी नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानसँगके सहकार्यमा यही फागुन २४ गतेदेखि ३० गतेसम्म प्रदर्शनको तयारी भइरहेको छ ।
रमेश विकलले चित्रकला बाहेक संगीतको पनि धेरै साधना गर्नु भएको थियो । त्यतिमात्रै नभएर उहाँ नाटकको लेखन निर्देशन र पौडीखेल्नमा पनि उत्तिकै शोख राख्नुहुन्थ्यो । यो उहाँका समकालीन बाहेक पछिल्लो पुस्ताका पाठकको जानकारीमा नरहेको पक्ष हो । उहाँले आफैंले लेख्नुभएको “मेरो जीवन अविरल जीवन गीत” मा यसको उल्लेख भएको छ र वरिष्ठ कलाकार मनुजबाबु मिश्र, वरिष्ठ साहित्यकार प्रा.डा कुमारबहादर जोशी हरूका अनुसार पनि उहाँको निर्देशनमा चावहिल, महाकांलतिर विभिन्न नाटक खेलाइएका थिए । पछि आरुबारी, गोकर्णमा त्यसरी नै चापाँच वर्ष लगातार उहाँकौ लेखन निर्देशनमा नाटक प्रदर्शनी हुन्थे र ती कार्यक्रम हेर्न टाढा टाढाबाट मानिसहरू आउँथे ।
गायनमा त एकपटक रेडियो नेपालमा स्वरपरीक्षा नै दिन जानु भएको थियो रे उहाँ ! उहाँको अर्को शोख पौडी खेल्नु थियो । यस्तै शोखका कारण एकपटक पौडीखेल गंभीर दुर्घटना हुनपुगेको थियो । त्यतिबेला वागमती अहिलेकोजस्तो ढलमती बनिसकेको थिएन । पौडी खेल्न पुग्ने पर्याप्त पानी बग्थ्यो वागमतीमा । त्यस्तैमा एकपटक २०२० सालतिरको समय हुनुपर्छ, बाबा, भैरव अर्याल, हरिप्रसाद अर्याल, देवीबहादुर थापा (जनक थापा), वलराम अर्यालहरू हो क्यार गोकर्णको सेतोसत्तल मुनि (अहिले त भीमसेन थापाले बनाएका त्यो ऐतिहासिक ऐतिहासिक सेतो सत्तलको नाम निशान छैन । हाल त्यो सत्तललाई भत्काएर सानो आकार दिइएको छ र त्यहाँ अहिले एउटा संस्थाले अपङ्ग असहायहरूलाई संरक्षण दिएको छ ।) बाँध थुनेर टम्म जमाएको सफा स्वच्छ वागमतीको पानीमा पौडी खेल्न पुगे । पहिले ती साथीमध्ये संभवतः जनक दाइलाई हो क्यारे (त्यतिबेला ११–१२ वर्ष उमेरको म पछि बोकएर ल्याइनु भएका बाबालाई अलि अलि सम्झन्छु, अरु कुराको सम्झना छैन ।) भन्नु भएछ म तिमीलाई उचालेर पानीमा फाल्छु, तिमी पौडन सक्छौं ? उनले पनि हुन्छ भनेछन् । बाबाले पर पानीको बीचमा पुग्नेगरी फाल्नु भएछ । उनी मजाले पौडी खेलेर आए । अनि त्यसपछि उनलाई पनि त्यसै गर्न मन लागेछ र बाबालाई भनेछन्– अब म विकललाई पौडन पानीमा फाल्छु ! बाबाले भन्नु भएछ सक्छौं, नसके त कडा ढूगाको गारोमा ठोकिएर ज्यान समेत जान सक्छ नि । त्यो सुनेर पनि उनले पानीको बीचमा पुग्ने गरी फाल्छु भएन ? भन्दै निकै कर गरेपछि सहमतिमा उनले बाबालाई जुरुक्क उचालेर नदीमा फालेछन् । तर बल नपुगेर पानीको बीचमा त भित्तोको कडाृउन समेत सकेन छन् र बाबा गारोमा बज्रिँदै घिसार्रिंदै पानीमा पुगुन्जेल बेहोस भइसक्नु भएछ । अनि सबै मिलेर नजिकैको स्वास्थ्यचौकीमा सामान्य उपचारपछि बोकाएर घर ल्याएका थिए । यसरी शोख र शोखको प्रयोगले झण्डै मृत्युको मुखमा पु¥याएनछ । बागमतीदेखि अमेरिका बस्दा प्रशान्त महासागरमा पौडी खेलेका अनेक तस्बिर अझै पनि सुरक्षित छन् । सास थुनेर पाँच–दश मिनेटसम्म निश्चेष्ट पानीमाथि अडिरहनसक्ने पौडीको विशेष सिप थियो उहाँमा ।              
तपाईंका बुझाइमा जीवन के रहेछ  त ?
–म प्रसिद्ध जनवादी सांगीतिक समूह रामेशहरूले गाउनु भएको एउटा गीतको पङ्क्ति सापट लिएर भन्छु –संघर्ष हो जीवन, जीवन संघर्ष हो ! निरन्तर सङ्घर्ष र सफलता असफलताकोबीच फेरि पनि संघर्ष, यही हो मेरो दृष्टिमा जीवन ! त्यसैले सुखः–दुःको सम्मिश्रण हो जीवन, नयाँ मार्गतर्फ प्रवृत्त हुने र त्यसका लागि गतिशील रहने चाहना सार्थक प्रयन्त हो जीवन मेरो दृष्टिमा । एउटा नयाँ उज्यालोको खोजीमा निरन्त चलायमान पाइला हो जीवन जुन मानव सभ्यताको सोपान बनिरहेको हुन्छ ।         
अन्य केहीभन्ने कुरा छन् कि ?
–यति महत्वपूर्ण अवसर दिनुृभयो, भन्नेजति सबै भनिसकेँ र यही नै लामो भइसक्यो । त्यसैले यहीँ बिसाउँ होला, नियजी अब ! यहाँ र अग्निचक्र

Thursday, April 10, 2014

सविनाको डायरी- (आशाका किरण राष्ट्रिय मासिक वर्ष १, अंक १, चैत २०७० मा प्रकाशित बालविज्ञानकथा)

सविनाले नोटप्याड खोलिन । उनी सुत्नु अघि सधैं दिनभरका चाखिला कुरा टिपेर डायरी लेख्थिन । उनलाई पुरानो पुस्ताको ल्यापटपमा लेख्न झर्को लाग्थ्यो । सबै कुरा औंला चलाएर किप्याड थिच्दै लेख्नुपर्ने ! उनी अहिले नयाँ पुस्ताको नोटप्याड चलाउँथिन् । आवाजबाट टाइप गर्न सकिने यो नोटप्याडमा लेख्नुको मजै अर्कै ! कानमा हेडफोन लाएर त्यसलाई कम्प्युटरमा जोडेपछि मुखले बोले पुग्थ्यो । नोट प्याडले आफैं टाइप गर्दै जान्थ्यो । लेखिसकेर पनि ठीक भयो, भएन उसैले सुनाउँथ्यो । एक्सप्रेसिङ प्रोग्रामले गर्द त्यो कुरा सम्भव भएको थियो ।बाबाले यो नोटप्याड उसलाई जन्मदिनमा उपहार दिनुभएको थियो । यो नोटप्याड उपहार पाएदेखि लेख्न झनै सजिलो भएको थियो । वेभसाइट हेर्नुप¥यो भने कम्प्युटरले गर्ने अरू सबै काम गरिहाल्थ्यो ।सविनाले आज पनि सुत्नुअघि नोट प्याडको डायरी पृष्ठ खोलिन् । मिति आफूले लेख्नै पर्दैनथ्यो । नोट प्याड खोल्नासाथ डायरीको पेजमा आजको मिति अङ्कित भइसकेको थियो–शनिवार, १२ वैशाख २२०१,राती १० बजे,आरुवारी ।   त्यसमुनि लेख्नका लागि खाली ठाउँ थियो । उनले स्पिकर मुख छेउ पर्ने गरी शिरमा हेडफोन रिसिभर भिरिन । उनी बेल्दै गइन, नोटप्याड लेख्दै गयो–“ओहो...त्यस्तो बेला पनि रहेछ ! त्यतिबेलाका पुस्तक हाम्रो कम्प्युटरको इ–बुकभन्दा बेग्लै पो हुँदोरहेछ । कागजमा लेखिएको किताव....! कस्तो देख्दै अनौठो, कागजमा अक्षर छापिएको किताब ! रमेशले ‘ल हेर पुरानो पुस्तक’ भनेर आजै मलाई त्यो अनौठो पुस्तक देखाएको थियो । देखेर म त छक्क परेँ । रङ खुइलिएर धमिलो–पहेँलो भएको किताब दिँदै रमेशले भनेको थियोे– बाजेको पुरानो म्युजियमजस्तै कोठामा फेला पारेको !नभन्दै धेरै पुरानो थियो त्यो पुस्तक । राम्ररी नराखेकोले होला, ठाउँठाउँमा कीराले खाएर प्वालैप्वाल थिए । रङ खुइलिएर धमिलो मटमैलो– पढ्न पनि मुस्किलैले सकिने ।यस वर्ष छुट्टीमा मामाघर जाँदा मलाई हजुरबाले सुनाउनुभएको थियो– ‘उहाँका पालामा काजगम छापेका पुस्तक हुन्थे । हातैले पल्टाएर पढ्नुपथ्र्यो ।’ त्यतिबेला हजुरबाका कुरा पत्यारै लागेको थिएन ।तर अहिले त्यस्तो किताब आफ्नै हातमा आइपुग्यो ।सविता नोट प्याडमा लेख्नै गइन– मैले पढ्ने इ–बुकका पाना चलायमान हुन्छन्, आफैं सर्र सर्दै जाने ! तर रमेशका बाजेको यो पुस्तकको पेज त हातैले पल्टाउनु पर्ने । नभए जहाँ छ, त्यहाँको त्यहीँ ! यस्तो किताबको के काम ? एकपल्ट पढिसकेपछि राख्ने ठाउँको मात्रै समस्या ! रमेशले यस्तै सोचेर त मलाई दिएको होला यो किताब । उसले त्यतिबेलै भनेको थियो, “मैले त फाल्न लागेको !”होत, रमेशले ठीकै त भन्यो नि ! आज कम्प्युटरमा इन्टरनेटबाटै भनेकेजस्तो पुस्तक पाइन्छ भने यस्तो पुस्तक जम्मा गरेर कोठामा राख्नु नै किन प¥यो र ! कम्प्युटरमा लाखौं पुस्तक राख्दा पनि न ठाउँको अवश्यक पर्ने न त यसरी औंला चलाइ चलाएर पन्ना पल्टाउँदै पढ्नुको झन्झट ।मन नलागी नलागी यसमा के रहेछ त भनेर पल्टाएकीे थिएँ । धमिला अक्षर, पहिले त पढ्ने जाँगरैचलेन । कितावका चित्र पनि सादा सादा एकै रङ्का । च्यातिने डरले होसियारीपूर्वक पाना पल्टाएँ र कनीकुथी पढेँ । तर पहिलो पेज पढिसकेपछि अरु पनि पढुँ, पढुँ लाग्यो । पढ्दै जाँदा रङ न ढङ्गको त्यो थोत्रो किताब साँच्चिकै रमाइलो लाग्दै आयो । म त एकदमै नया संसारमा पुगेजस्तै भएँ....! जति जति पढ्दै गयो उति छाड्नै मन नलाग्ने । मनमनै लाग्यो– ई–बुक पढ्दा कहाँ यस्तो मजा आउँथ्यो र !सुरुमा कितावको जन्मकथा लेखिएको थियो । पहिलेका मान्छे वर्र्षाैं लाएर हातैले पुस्तक लेख्थे रे ! ती पुस्तक तिखारेको सिन्कोमा मसी चोप्दै रुखको बोक्रामा लेखिन्थे । त्यसरी लेख्ने मसी पनि थरीथरीका रुखका बोक्रा पिनेर निकालेको राता, नीला, पहेँला र काला रङ्का हुन्थे । ओहो...कति अनौठो ! कति पट्यारलाग्दो त्यतिबेला पुस्तक लेख्ने काम ! वर्षांै लगाएर ताडपत्रमा हातैले बल्लबल्ल एउटा पुस्तक लेखिसक्नु पर्ने रे ! धेरै वर्षपछि बल्ल किताव छाप्ने छपाइ मिसिनको आविष्कार भएछ । जर्मनीका जोन गुटेनबर्ग भन्ने मान्छेले सिसाको अक्षरमा मसी दलेर छाप्ने मिसिन तयार गरेपछि किताब तयार गर्न केही सजिलो भएछ । कागज पनि कमलो रुख पेलेर मिसिनले नै बनाउ थालेछ । त्यसपछि भने मानिसले कागतमा हातले लेखेर तयार गरेको पुस्तक तिनै मिसिनले धेरै छापेर ठाउँ ठाउँमा पठाउन थाले छन् । ओहो कस्तो सुन्दै अनौठो पुस्तको कथा ! अहिलेजस्तो कम्प्युटर खोलेर इन्टरनेटबाट चाहेको पुस्तक खोज्दै पढ्न कहाँ पाइँदो रहेछ र त्यतिबेला ! डायरीमा त्यति लेखिसकेपछि सविना केहीबेर आँखा चिम्लेर बसिन् ।उनी पुरानो संसारको कल्पनामा डुबिरहेकी थिइन् ।केहीबेर त्यही पुरानो किताबमा पढेको सन्सारमा हराएपछि सविनाले त्यो अनौठो पुस्तक फेरि पढ्न थालिन् । किताबको कथा सकेपछि पुस्तकमा त्यतिबेलाका स्कुलका बारेमा पनि अनौठ अनौठा कुरा लेखिएका थिए । सुन्दै अचम्म लाग्ने ! उनले डाण्रीमा टिपिन्– ‘मलाई त स्कुलको नाम सुन्दैमा झर्को लाग्छ । कम्प्युटरमा इन्टरनेट खोल्यो, ट्युटोरियल खोल्यो । अनि आफू सुहाउँदो कक्षा र विषयको पाठ खोजेर पढ्यो, अभ्यास ग¥यो । न साथमा साथी छन्, न पढाउने कुनै मानिस ! सबैतिर यन्त्र बाहेक केही छ्रैन, कोही छैन ।’‘त्यतिबेला अहिलेजस्तो यन्त्र गुरुले कम्प्युटरबाट घरघरमैं पढाउने होइन रहेछ । त्यतिबेला त गुरुकुल, स्कुल, पाठशाला, विद्यालयजस्ता नाम गरेका घरहरू हुँदारहेछन् । सबै केटाकेटी तिनै घरमा जम्मा हुन्थे रे । अनि साँच्चैका गुरु आएर एकैसाथ पढाउँदारहेछन् । आहा... कस्तो मज्जा हुन्थ्यो होला सबै साथी एकै ठाउँमा बसेर हाँस्दै खेल्दै पढ्दा ! अहिले त कोठामा एक्लै धुम्धुम्ती बस्यो, कम्प्युटरमा यन्त्रगुरुको निर्देशन हेर्दै नयाँ कुरा सिक्यो । कहिले काहीँ त बोरै लाग्छ मलाई !’सविता डायरी लेख्दै गइन्– ‘विद्यार्थीहरू विहान स्कुल जान्थे । बेलुका पढिसकेर आ–आफ्नै घर फर्कन्थे । विद्यार्थीहरू स्कुलमा लहरै लाम लागेर बस्थे । गुरुहरू पनि पालै पालो विभिन्न विषय सिकाउँथे । भनेको नमान्ने, अल्छी गर्ने, र नपढ्ने विद्यार्थीलाई गुरुहरूले हातमा सुम्लै उठ्ने गरी लठ्ठीले पिट्थे !’ओहो...कति दुख्थ्यो होला त्यसरी पिटाइ खाँदा । अहिले त त्यसरी पिट्यो भने यन्त्रपुलिसले समातेर लगिहाल्छ नि ।सविना डायरीका पन्नासँगै अघि पढेको त्यो पुस्तकका पुरानो संसारमैं हराइरहिन् । कल्पनामा तिनै केटाकेटीसँग मिसिएर रमाइरहेकी थिइन् उनी । रात धेरै छिप्पिइएको थियो । उनलाई त्यसको पनि पत्तो भएन । निद्राले आँखा राता भएपछि बल्ल डायरी लेख्न बन्द गरिन् !