सविनाले नोटप्याड खोलिन । उनी सुत्नु अघि सधैं दिनभरका चाखिला कुरा टिपेर डायरी लेख्थिन । उनलाई पुरानो पुस्ताको ल्यापटपमा लेख्न झर्को लाग्थ्यो । सबै कुरा औंला चलाएर किप्याड थिच्दै लेख्नुपर्ने ! उनी अहिले नयाँ पुस्ताको नोटप्याड चलाउँथिन् । आवाजबाट टाइप गर्न सकिने यो नोटप्याडमा लेख्नुको मजै अर्कै ! कानमा हेडफोन लाएर त्यसलाई कम्प्युटरमा जोडेपछि मुखले बोले पुग्थ्यो । नोट प्याडले आफैं टाइप गर्दै जान्थ्यो । लेखिसकेर पनि ठीक भयो, भएन उसैले सुनाउँथ्यो । एक्सप्रेसिङ प्रोग्रामले गर्द त्यो कुरा सम्भव भएको थियो ।बाबाले यो नोटप्याड उसलाई जन्मदिनमा उपहार दिनुभएको थियो । यो नोटप्याड उपहार पाएदेखि लेख्न झनै सजिलो भएको थियो । वेभसाइट हेर्नुप¥यो भने कम्प्युटरले गर्ने अरू सबै काम गरिहाल्थ्यो ।सविनाले आज पनि सुत्नुअघि नोट प्याडको डायरी पृष्ठ खोलिन् । मिति आफूले लेख्नै पर्दैनथ्यो । नोट प्याड खोल्नासाथ डायरीको पेजमा आजको मिति अङ्कित भइसकेको थियो–शनिवार, १२ वैशाख २२०१,राती १० बजे,आरुवारी । त्यसमुनि लेख्नका लागि खाली ठाउँ थियो । उनले स्पिकर मुख छेउ पर्ने गरी शिरमा हेडफोन रिसिभर भिरिन । उनी बेल्दै गइन, नोटप्याड लेख्दै गयो–“ओहो...त्यस्तो बेला पनि रहेछ ! त्यतिबेलाका पुस्तक हाम्रो कम्प्युटरको इ–बुकभन्दा बेग्लै पो हुँदोरहेछ । कागजमा लेखिएको किताव....! कस्तो देख्दै अनौठो, कागजमा अक्षर छापिएको किताब ! रमेशले ‘ल हेर पुरानो पुस्तक’ भनेर आजै मलाई त्यो अनौठो पुस्तक देखाएको थियो । देखेर म त छक्क परेँ । रङ खुइलिएर धमिलो–पहेँलो भएको किताब दिँदै रमेशले भनेको थियोे– बाजेको पुरानो म्युजियमजस्तै कोठामा फेला पारेको !नभन्दै धेरै पुरानो थियो त्यो पुस्तक । राम्ररी नराखेकोले होला, ठाउँठाउँमा कीराले खाएर प्वालैप्वाल थिए । रङ खुइलिएर धमिलो मटमैलो– पढ्न पनि मुस्किलैले सकिने ।यस वर्ष छुट्टीमा मामाघर जाँदा मलाई हजुरबाले सुनाउनुभएको थियो– ‘उहाँका पालामा काजगम छापेका पुस्तक हुन्थे । हातैले पल्टाएर पढ्नुपथ्र्यो ।’ त्यतिबेला हजुरबाका कुरा पत्यारै लागेको थिएन ।तर अहिले त्यस्तो किताब आफ्नै हातमा आइपुग्यो ।सविता नोट प्याडमा लेख्नै गइन– मैले पढ्ने इ–बुकका पाना चलायमान हुन्छन्, आफैं सर्र सर्दै जाने ! तर रमेशका बाजेको यो पुस्तकको पेज त हातैले पल्टाउनु पर्ने । नभए जहाँ छ, त्यहाँको त्यहीँ ! यस्तो किताबको के काम ? एकपल्ट पढिसकेपछि राख्ने ठाउँको मात्रै समस्या ! रमेशले यस्तै सोचेर त मलाई दिएको होला यो किताब । उसले त्यतिबेलै भनेको थियो, “मैले त फाल्न लागेको !”होत, रमेशले ठीकै त भन्यो नि ! आज कम्प्युटरमा इन्टरनेटबाटै भनेकेजस्तो पुस्तक पाइन्छ भने यस्तो पुस्तक जम्मा गरेर कोठामा राख्नु नै किन प¥यो र ! कम्प्युटरमा लाखौं पुस्तक राख्दा पनि न ठाउँको अवश्यक पर्ने न त यसरी औंला चलाइ चलाएर पन्ना पल्टाउँदै पढ्नुको झन्झट ।मन नलागी नलागी यसमा के रहेछ त भनेर पल्टाएकीे थिएँ । धमिला अक्षर, पहिले त पढ्ने जाँगरैचलेन । कितावका चित्र पनि सादा सादा एकै रङ्का । च्यातिने डरले होसियारीपूर्वक पाना पल्टाएँ र कनीकुथी पढेँ । तर पहिलो पेज पढिसकेपछि अरु पनि पढुँ, पढुँ लाग्यो । पढ्दै जाँदा रङ न ढङ्गको त्यो थोत्रो किताब साँच्चिकै रमाइलो लाग्दै आयो । म त एकदमै नया संसारमा पुगेजस्तै भएँ....! जति जति पढ्दै गयो उति छाड्नै मन नलाग्ने । मनमनै लाग्यो– ई–बुक पढ्दा कहाँ यस्तो मजा आउँथ्यो र !सुरुमा कितावको जन्मकथा लेखिएको थियो । पहिलेका मान्छे वर्र्षाैं लाएर हातैले पुस्तक लेख्थे रे ! ती पुस्तक तिखारेको सिन्कोमा मसी चोप्दै रुखको बोक्रामा लेखिन्थे । त्यसरी लेख्ने मसी पनि थरीथरीका रुखका बोक्रा पिनेर निकालेको राता, नीला, पहेँला र काला रङ्का हुन्थे । ओहो...कति अनौठो ! कति पट्यारलाग्दो त्यतिबेला पुस्तक लेख्ने काम ! वर्षांै लगाएर ताडपत्रमा हातैले बल्लबल्ल एउटा पुस्तक लेखिसक्नु पर्ने रे ! धेरै वर्षपछि बल्ल किताव छाप्ने छपाइ मिसिनको आविष्कार भएछ । जर्मनीका जोन गुटेनबर्ग भन्ने मान्छेले सिसाको अक्षरमा मसी दलेर छाप्ने मिसिन तयार गरेपछि किताब तयार गर्न केही सजिलो भएछ । कागज पनि कमलो रुख पेलेर मिसिनले नै बनाउ थालेछ । त्यसपछि भने मानिसले कागतमा हातले लेखेर तयार गरेको पुस्तक तिनै मिसिनले धेरै छापेर ठाउँ ठाउँमा पठाउन थाले छन् । ओहो कस्तो सुन्दै अनौठो पुस्तको कथा ! अहिलेजस्तो कम्प्युटर खोलेर इन्टरनेटबाट चाहेको पुस्तक खोज्दै पढ्न कहाँ पाइँदो रहेछ र त्यतिबेला ! डायरीमा त्यति लेखिसकेपछि सविना केहीबेर आँखा चिम्लेर बसिन् ।उनी पुरानो संसारको कल्पनामा डुबिरहेकी थिइन् ।केहीबेर त्यही पुरानो किताबमा पढेको सन्सारमा हराएपछि सविनाले त्यो अनौठो पुस्तक फेरि पढ्न थालिन् । किताबको कथा सकेपछि पुस्तकमा त्यतिबेलाका स्कुलका बारेमा पनि अनौठ अनौठा कुरा लेखिएका थिए । सुन्दै अचम्म लाग्ने ! उनले डाण्रीमा टिपिन्– ‘मलाई त स्कुलको नाम सुन्दैमा झर्को लाग्छ । कम्प्युटरमा इन्टरनेट खोल्यो, ट्युटोरियल खोल्यो । अनि आफू सुहाउँदो कक्षा र विषयको पाठ खोजेर पढ्यो, अभ्यास ग¥यो । न साथमा साथी छन्, न पढाउने कुनै मानिस ! सबैतिर यन्त्र बाहेक केही छ्रैन, कोही छैन ।’‘त्यतिबेला अहिलेजस्तो यन्त्र गुरुले कम्प्युटरबाट घरघरमैं पढाउने होइन रहेछ । त्यतिबेला त गुरुकुल, स्कुल, पाठशाला, विद्यालयजस्ता नाम गरेका घरहरू हुँदारहेछन् । सबै केटाकेटी तिनै घरमा जम्मा हुन्थे रे । अनि साँच्चैका गुरु आएर एकैसाथ पढाउँदारहेछन् । आहा... कस्तो मज्जा हुन्थ्यो होला सबै साथी एकै ठाउँमा बसेर हाँस्दै खेल्दै पढ्दा ! अहिले त कोठामा एक्लै धुम्धुम्ती बस्यो, कम्प्युटरमा यन्त्रगुरुको निर्देशन हेर्दै नयाँ कुरा सिक्यो । कहिले काहीँ त बोरै लाग्छ मलाई !’सविता डायरी लेख्दै गइन्– ‘विद्यार्थीहरू विहान स्कुल जान्थे । बेलुका पढिसकेर आ–आफ्नै घर फर्कन्थे । विद्यार्थीहरू स्कुलमा लहरै लाम लागेर बस्थे । गुरुहरू पनि पालै पालो विभिन्न विषय सिकाउँथे । भनेको नमान्ने, अल्छी गर्ने, र नपढ्ने विद्यार्थीलाई गुरुहरूले हातमा सुम्लै उठ्ने गरी लठ्ठीले पिट्थे !’ओहो...कति दुख्थ्यो होला त्यसरी पिटाइ खाँदा । अहिले त त्यसरी पिट्यो भने यन्त्रपुलिसले समातेर लगिहाल्छ नि ।सविना डायरीका पन्नासँगै अघि पढेको त्यो पुस्तकका पुरानो संसारमैं हराइरहिन् । कल्पनामा तिनै केटाकेटीसँग मिसिएर रमाइरहेकी थिइन् उनी । रात धेरै छिप्पिइएको थियो । उनलाई त्यसको पनि पत्तो भएन । निद्राले आँखा राता भएपछि बल्ल डायरी लेख्न बन्द गरिन् !
No comments:
Post a Comment