(सुलेख साहित्यिक मासिक–२५, कथा विशेषंक असोज २०७१)
“येँया पुन्हि पनि आइसक्यो ! केही ग¥या छैन ।” आमा अर्को कोठामा आफैंसँग फतपताइएकी हुन्छिन् । अहिले मात्र होइन, जुनसुृकै चाड पर्व नजिकिनासाथ आमाको व्यस्तता र छट्पटी यसरी नै बढदै जान्छ । आमाले परोक्षमा दिएको इन्द्रजात्रा सङ्घारमैं आइपुगेको सूचनासँगै अनिता विगत स्मृतिकाको सागरमा डुबुल्की मार्न पुग्छे । यो स्मृति उसकालागि केही प्रिय र केही अप्रिय हुने गर्छ । अनि यही इन्द्रजात्राको स्मृतिसँगै विगतमा कुमारी घरमा हराएको आफनै बाल्यकाल खोज्न थाल्छे ऊ ।
सात, सात वर्षसम्म निर्वासित थिई ऊ यस आफू जन्मेको घर, परिवार परिवेशबाट । हो सात वर्षसम्म जीवित देवीको रूपमा बसेर त्यो निर्वासित जीवनबाट बाबुको घर फर्केकी थिई ऊ भर्खरै । बिस्तारै कैशोर्यको खुडकिलो टेक्दै गरेकी अनीता यता आएदेखि नै त्यहाँ बितेको आफ्नोे वाल्यकाल खोज्दै रही । खोज्दैरही आफ्नो गुमेको सात वर्ष ! खोज्दैरही ऊ घरको कुनाकुनामा ती आफूले गुमाएका क्षण । तर अहँ....त्यसपूूर्वको धमिलो किरिङमिङि सम्झनाका अस्पष्ट रेखा बाहेक कुनै स्पष्ट दृश्य र चित्र भने देख्न असमर्थ हुन्थी ऊ । कुनै चिह्न छैन उसले धरती चिह्याएको यस माटोमा हराएको कालखण्डको ।
त्यो सबै सम्झँदा त्रिशङ्कूजस्तै लाग्छ अनीतालाई आज आफ्नै जीवन । न बाबुको घर आफ्नो लाग्छ उसलाई, न कुमारी घर नै । कुमारी घरले देवत्वको जामा पहि¥याएर बाहिर्यायो, कुमारी घरले परम्पराको नाउँमा उपयोगिता छउन्जेल उपयोग ग¥यो, उपयोगिता सकिनासाथ दूधमा परेको माखो झैं फालिदियो, परित्याग ग¥यो । त्यसरी दुवैतिरको हुननसकेकी ऊ लोग्नेको घरकी हुने त झन कुरै थिएन, मात्र मृगमरिचिका ! कसले बिहे गर्ने आँट गर्छ र पूर्व देवीरूपको बोझबाट अभिशप्त अनीतालाई ? मीठो नमीठो जे भए पनि उसको श्रीसम्पत्ति सपना र विपना सबै नै तिनै त थिए– हिजो यसै छतमुनि बिताएको बालापनको केही धमिलो स्मृतिचित्र । कुमारीघरमा मञ्चित देवी अभिनयको सात वर्ष त मात्र व्युँझिने बेलामा देखेको मीठो, तर छोटो सपना न हो ! आँखा खुल्नासाथ कहँ रहन्छ र साथमा सपना ! त्यसैले लाग्छ, उसको भूत भविष्य र वर्तमान जे हो सबै त्यही हो, त्यही मात्र हो !
कहिले सुखद लाग्छ, कहिले दःुखद् उसलाई कुमारी घरमा खोसिएको वाल्यपन । तलेजुका मूल पूजारीद्वारा कुमारी रूपमा हरेक दिन आफ्नो नित्यपूजा हुँदा लाग्थ्यो साँच्चिकै देवी हुँ म ! अहिले लाग्छ कति मिथ्या रहेछ त्यो मञ्चमा गरेको अभिनय । तर के थाहा उसलाई त्यो उमेरमा तीन घन्टा प्रक्षलयमा मञ्चन गरिने अभिनय बाहेक केही होइन !
इन्द्रजात्रा आउनासाथ उसको बालमनको रमाइलो बढ्दै जान्थ्यो । कालभैरवअगाडि काठको अग्लो लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरेदेखि नै सधैं विदेशी पर्यटकहरूको बढी चहल पहल हुने वसन्तपुवरिपरि अर्के खालको धार्मिक पर्वको चहलपहल सुरुहुन्थ्यो । ठाउँ ठाउँमा देवी भैरवका मूर्ति सजाइन्थे, राती राती देवी नाचमा स्थानीयजन मस्त हुन्थे ।
जीवित देवीका रूपमा आफ्नै रथारोहणयात्रा हुने इन्द्रजात्राको मुख्य दिनको त झन के कुरा ? विभिन्न देवी देवताको भेषभूष र मुखुण्डोमा सजिएका परम्परागत कलाकारहरूको लाखे र पुलुकिसी नाचको कलात्मक मनोरन्जनसँगै गुर्जुको पल्टनको शाही सम्मान र स्थानीय समुदायको बाजागाजाको सुमधुर परिवेश, अनि सिंगारिएको कुमारीको विशेष रथमा सबैभन्दा विशिष्ट बनेर गणेश र भैरवहरूका रथ अघि पछि लगाउँदै घुमाउँथे उसलाई त्यस दिन । त्यसरी काठमाडौं सहरको भित्री सबै भाग तीन तीन पटक घुम्दा ऊ आफूलाई अर्कै लोककी अनुभव गर्थी । साँच्चै नै तलेजु भवानीकै साक्षात् रूप ! अहिले त्यो अपरिपक्व शिशु कल्पना सम्झँदा मुखबाट फिस्स आफैँप्रतिको व्यङ्गात्मक हाँसो निस्कन्छ ।
यसरी नचाहँदा नचाहँदै पनि कहिलेकाहिँ देवी रूपको आफ्नो विगतस्मृति चिह्न निहार्न पुग्छे ऊ अल्बमहरूमा जोगिएका तस्बिरहरूमा । ठूला मानिसहरू शिर निहुराएर अदबका साथ लामबद्ध छन् उसको हस्तस्पर्शसहितको आशिर्वाद थाप्न । उसका हर आदेश पालनामा होड लगाइरहेछन् चिताइदार र सुसारेहरू । अनि उसको पूजा अर्चनाका लागि यस सहरका सुसभ्य चपलाअवला सबै खाले नारीजन हातमा सजिएका पूजाका थाली लिएर पालो पर्खिरहेका छन् ! गुर्जुको पल्टनको एउटा टुकडी पूर्ण राजकीय पारामा तैनाथ छ उसैको सम्मानमा । ऊ कुमारीको पोशाकमा ठाँट्टिएर बसेकी छ । बालसुलभ चञ्चलता जबर्जस्ती दबाएर अनुहारभरि गंभीरता पोत्दै आशिर्वाद बाँडिरहेकी छ ऊ !
अहिले त्यो सम्झेर आफैंलाई सोध्छे अनीता– खोइ कहाँ छ मेरो आफ्नो भागको आशिर्वाद ? कसले दिने मलाई एउटी नारीको स्वाभाविक जीवन भोग्ने–बाँच्ने अधिकार प्राप्तिको आशिर्वाद ? के त्यति पनि छैन मेरो भागमा पर्ने आशिर्वाद ? के कुनै अधिकार छैन मैले त्यो नैसर्गिक अधिकार प्राप्त गर्ने ? अनि कहिले काहीँ ससाक्षात देवीको रूपमा सजिएर बाजागाजासहित ठूला ठूला मानिस पछिलगाउँदै तामझामपूर्ण रथयात्राको आफ्नै विगत तस्बिर हेरेर आफैंसँग प्रश्न गर्थी– खोइ त्यो इज्जत, खोई त्यो मानसम्मान ? किन आज टाढाबाट हेरिने सङ्ग्रहालयमा प्रदर्शित बस्तुझैं भएकी छ ऊ, कसैले छोएर महसुस गर्न नपाउने । मानवीय प्रेम समवेदनामा छुन हुँदैन रे उसलाई, मायालु लोग्नेको न्यानो अँगालोमा आवेष्ठित हुने.अवसर पनि पाउन्न रे ऊ ! यो निषेध थियो कुमारी हुनुको पारितोषिक !
मात्र चार वर्षकी थिईं ऊ आमाको न्यानो मायालु काखबाट च्वाट्टै चुँडालेर जबरजस्ती हनुमानढोकाको कुमारीघरमा पु¥याइँदा । दशैंको केही अगाडिजस्तो लाग्छ उसलाई । सङ्घारैमा आएको दशैंको आकर्षणमा ठीक त्यही बेला नयाँ नाना र मीठो चिचिको प्रतीक्षासहित दिदीबहिनीसँग मन्दिर जाने कल्पना गर्दागर्दै एक दिन ऊ आमाको मायालु काखबाट त्यसरी चुँडिन पुगेकी थिई । हो, त्यहीबेला जिउँदीे देवी कुमारीको रूपमा प्रवेश गरेकी थिई उसले कुमारी घरमा । के थाहा त्यो अबोध शिशुलाई के हो देवी, केहो कुमारी र के हो रीत धर्म परम्परा ? अनजान मैं जीवित देवीको रूपमा आसिन गराइएकी थिई त्यो रहस्यलोकमा, समाज, परिवार र वाल्यपन सबैबाट निर्वासित गरेर । कुमारी हुँदासम्म निर्वासित थिई ऊ आफ्नो जन्मघरबाट । त्यसपछि अहिले यहाँ फर्किएपछि आज समाज र पारिवारिक जीवनबाटै निर्वासित छ ऊ । त्यतिबेला कुमारी घर छाडेर कतै जानु हुँदैनथ्यो, घर फर्कने त कुरै भएन । ऊ लगभग त्यही दैवी रूपको भ्रमित जीवनको भारी बोकेरै बाँच्न वाध्य छ आज पनि ! लगभग निर्वासित जस्तै नै छ ऊ आज पनि आम युवतीको स्वाभाविक चाहनाको जीवनसंसारबाट !
बौद्ध शाक्य कुलमा भर्खरै संसार हेर्न आँखा खोलेकी अबोध अनीतालाई त्यहाँ लानुपूर्व शरीरका कुना कन्दरा कतै बाँकी नराखेर नाङ्गै भुतुङ्गै पारेर जाँचेका थिए । शरीरमा कुनै सानो दाग पनि हुनुहुन्न, जीवित कुमारी बन्नका लागि । त्यो थियो रे पहिलो शर्त । खोटरहित हुनुपर्छ जिउँदो कुमारी बन्न ! झिनो सम्झना आझै पनि छ । को को हो कोको आउँदथे, दिनहुँ जाँचबुझ गर्थे । खसी मोलाइगर्ने बगरेले अंग अंग गिजोलेर मासुको अन्दाज गरिरहेको खसीलाईजस्तै गर्थे ती जाँचकीहरू । उसको शरीरमा कुनै दाग र खोट त छैन ? तिनका चनाखा आँखाहरू शरीरभरि घेच्नेगरी गड्थे । त्यतिबेला त लाज के हो थाहै थिएन, अहिले भने त्यो सम्झँदा पनि लाज सरमले पानी पानी हुन्छे ऊ । त्यतिबेला चारै वर्षकी अबोध शिशु न थिएँ ! त्यो बेलाको स्थिति सम्झेर मनमनै लजाउँछे । लज्जामिश्रित मन्द हाँसो फैलन्छ – कहिले काउकुती लागेर बलात् हाँसेको शिशु हाँसो, र कहिले भित्रैसम्म दुःखाइको पीडा मिसिएको रुन्चे हाँसो ! उसको मात्र हो र, बाबु र आमा दुवैतिरका तीन तीन पुस्ताको नालीबाली खोतलेका थिए तिनले । कुल ठीक छ, छैन, चिना मिल्यो मिलेन । सबै कुरा हेरेर ठिक्क मिले पछि बल्ल योग्य ठानिएकी थिई ऊ कुमारीको लागि । पहिले पहिले त अझ राजाको चिनासँग मिल्नु पथ्र्यो रे कुमारीको चिना । अहिले राजा नभएपछि भने देशको ग्रहदशासँग मिलाएको रे !
सहरको गनाउने चोकको बाबुृको घर छाडेर हनुमानढोकाको ठूलो राम्रो घरमा ल्याउँदा सुरुमा त केही बेर रमाइलै लागेको थियो क्यारे । त्यसैले पटक्कै रोइन रे ऊ । तर केही बेरमैं आमालाई नदेखेर चिच्याउँदै रोएकी उसलाई फुल्याउन हेरचाहमा खटिएका चिताइदार र नयाँ आमाहरूको पल्टनै हाजिर भएको थियो । उता मायालु कान्छी छोरी त्यसरी कुमारी घर लगिँदा आमा, अजी र ठूला दिदीहरू छात्ती पिटी पिटी रोएका दृश्य उसको कलिलो शिशुमनमा अहिलेसम्मै मेटिएको छैन ।
सुसारे आमाहरू भन्थे– पछि केही दिन त रोएरै बिताइ रे उसले कुमारीघरको त्यो नयाँ जीवन ।
बिस्तारै बानी पर्दै गयो । दिनभर थरी थरीका मान्छे आउँथे, कोही देउतालाई जस्तै विहानै आएर पूजाआजा गर्थे । ऊ जिल्ल परेर टोलाउँथी । कोही उसलाई हेर्न मात्रै आउँथे, चिडियाखानाका जीवजन्तुलाई हेरेजस्तै । विभिन्न कोणबाट झिलीमिली मखमल र साटनका कपडा अनि सुनका गरगहनाले झकीभकाउ उसको पुतलीजस्तै रूपको फोटो खिचेर जान्थे । कहिले गोरा आउँथे, कहिले काला । कहिले नेपाली, कहिले विदेशी । कोही नआएको बेला कुमारी घरको कलात्मक झ्यालमा बसेर तल वसन्तपुरको विशाल चोकमा आउने विदेशी पर्यटक र त्यही बाटो आहोरदोहोर गर्ने टोलबासी हेरेरै समय कटाउँदथी ऊ । केही समय कुमारी घरमैं आएर उसलाई पढाउने गुरुसँग प्रारम्भिक लेखपढमा बित्थ्यो, केही समय सुसारे आमा र चिताइदारहरूसँग सामान्य जिज्ञासा मेटाउनमा ।
अनि बिस्तारै उमेरजन्य बाहिरी आकर्षणले थिच्दै जाँदा कुमारी घरको सानो कलात्मक झ्यालबाट देखिने त्यही भीडमा आफ्नो मनको राजकुमार खोज्ने प्रयत्न पनि गर्न थालेकी थिई अनीता ! मनमा धुर्मिलो् छवि बन्थ्यो, तदिो नहुँदै तुरुन्तै मेटिन्थ्यो । कति कोशिस गर्दा पनि प्रष्ट चित्र भने कहिल्यै नआउने !
समय बित्नुसँगै उमेर बढ्दै गयो । अलि उमेर बढेर केही बुझ्ने हुनथालेपछि उसलाई जात्राहरूका अवसर सधैंँ आइदिएहुन्थ्यो जस्तो लाग्थ्यो ! यौवनको सङ्घार प्रवेश गर्ने गर्ने बेलाको अल्लारे उमोर नहो ? सम्झँदा पनि ऊ आफैंलाई हाँसो लाग्छ असहले सम्झँदा । त्यतिबेला सुन्दर लुगा, झिलीमिली झरिझुट्ट शिरदेखि पाउसम्ममा सजाएर सम्मानपूर्ण शोभायात्रा र नगर परिक्रमामा लगिँदा अरुभन्दा भिन्न पाउँथी ऊ आफूलाई, सबैभन्दा विशिष्ट ! अनि त्यस्तो बेलामा लाग्थ्यो ऊ यति उचाइमा छ, जसलाई कसैले छुन सक्दैन, भेट्न सक्दैन । ओफ्....त्यो उचाइमा पुगेको भ्रममा गुमाउनु परेका सतहका कति स्वाभाविक जीवन सम्झेर अब चुकचुकाउनु बाहेक के नै गर्न सकिन्छ र ? यसरी नै मनलाई थामथुम पार्न खेज्छे ऊ ।
आखिर त्यो दिन पनि आयो । दश पुगेर एघार वर्ष टेक्न नपाउँदै उसलाई घर फर्काइयो । हिजो कहिल्यै नफुकालूँजस्तो लाग्ने गहना गुरिया र लुगाफाटा सबै छोडाइयो उसबाट । बाँकी सामान्य कपडा र गहना रहे शरीरमा । कुमारी रहँदा पाएका धनसम्पत्ति, देवीघरमा हेर्न आउनेले दिएका उपहार सबै जिम्मा लियो परिवारले । जाँदा पनि ऊ खाली हातै पुगी बाबुको घर, फेरि पनि शरणार्थी नै थिई ऊ !
चाहनाहरू उसका पनि नभएका होइनन्, छन् । उसभित्र पनि कसैलाई छुने, कसैद्वारा छोइने चाहना छ । आफ्ना आँखाको एकाकी अतल गहिराइमा कोही डुबोस्, कसैको डबुल्की मार्ने चाहना पलाओस्– मनभित्र नपालेकी होइन उसले मीठो चाहना । आफू पनि कसैको आँखाको गहिराइमा पौडन सकोस्, कसैको् सुडोल बाहुमा बेली झैँं बेरिएर सुरक्षाको अनुभूतिगर्न पाओस्.....!
हो ऊजस्तै उसलाई सपनामा सजाउने पनि छन् । उसको आँखाको अतल गरिहाइमा पौडन चाहने पनि छन्, जो उसको एक झलक पाउन घन्टौं लुकेर मौका ढुक्छन् । तर उसभित्रको देवत्वको भ्रमलाई चिरेर उसलाई छुन, वैवाहिक जीवनको डोरीमा बाँधिन साहस चाहिँ गर्न सक्दैनन् । ओहो...कति गह्रुँगो यो कथित देवत्वको बोझ ! हरबखत त्यही जीवीत देवीप्रतिको धर्मभिरु सामाजिक सम्मानको उठाउनै नसक्ने भारीले थिचिऐर जमिनभित्र धसिए झैं अनुभव हुन्छ उसलाई । के चासो त्यो सबै कुरा परम्परामा धानेर मान्ने बस्ने धर्मभिरु कापुरुषको समाजलाई उसका पनि त चाहाना होलान्, शारीरिक आवश्यकतापूर्तिको प्राकृतिक इच्छा होला ! हो त अरुजस्तै सामान्य बालिका, शिशु र किशोरी युवतीलेजस्तै सामान्य मान्छेको सामान्य जीवन बाँच्ने चाहना पनि होला उसको भन्न्ने किन सोच्दैनन् यी ? ऊसँग यसको कुनै जवाफ छैन । तर अफसोच, जीवित देवीप्रतिको त्यो अन्ध सम्मान र सम्बन्ध राख्न नहुने विश्वासको चिहानभित्र दब्दै जान्थे ती अन्तरमनका सबै चाहनाहरू ।
कुमारी घरबाट बाबुको आश्रयमा आएपछिका वर्षहरूले उसलाई एक पछि अर्को सत्यबोध गराउँदै गएको छ । यी सत्यले मनभित्रका एक एक सपना असमयमैं कुहिएर झरेको चिचिला झैं झरिरहेका छन्, एक एक गर्दै । ओहो....कस्तो अर्थहीन जीवन, कति प्रयोजनरहित ! यौवनको पूर्ण आवेग थेगेर बाँचन वाध्य छ ऊ । वाल्यकाल र सिंगो भविष्य कुमारीघरको जुवाको खालमा हारे वापत हात थापेर पाउने सीमित मासिक भत्तामा साटिएका छन् उसको सारा यौवनका सपना र मनभित्रका चाहनाहरू !
मनभित्र हुरी आँधी चल्छ उसको ।
“आज पनि त्यो केटोले लुकेर हे¥यो !” यिनै मनका आँधीसँग जुध्दाजुध्दै त्यो केटोले आज पनि आफूलाई आँखा चोरेर हेरिहरेको देखी । यस्तो दृश्यले एकातिर रोमाञ्चको अनभव गर्नपुग्थी, अर्कोतर्फ घृणाको ज्वालामुखी फुट्थ्यो खुलेआम उसलाई चाहन नसक्ने यस्ता कमजोरहरूप्रति । किन आँट गर्नसक्दैनन् यी उसको हात समातेर लान ! मनमनै प्रश्नका आँधीबेरी चल्थे !
उसलाई थाहा छ, टोलको त्यो केटो उसलाई मन पराउँछ कि केहो, लुकी लुकी हेर्ने गर्छ । त्यो केटो मात्र होइन अरु पनि धेरै छन् उसलाई लुकी लुकी हेर्ने केटाहरू । चोकको बाटो गरेर हिँड्ने टोलका सबै केटाका आँखा एकपटक पुगिहाल्छ माथि झयालतिर । हुन पनि झन्डै सात वर्षजति शोखसयल र कुमारी घरको आश्रयमा बसेर आएकी उसमा एउटा अलग्गै आर्कण थियो, अनुृहारमा स्वेतधवल चमक ! हरबखत घामपानी र चोकको धूलोमैलोसँग खेलेर हुर्केका उसका कुनै पनि समवयस्कमा थिएन त्यो चमक । त्यसैले पनी सके चुम्वकीय आकर्षण थियो उसको अनुहारमा । सबैका नजर एक झलक देख्न तानिइहाल्थे !
त्यसरी आज पनि त्यो केटोले उसैलाई लुकेर हेरिरहेको देखेपछि अनायास अनीताको चर्को स्वर सुनियो –“के लुकेर हेर्छौं ? हिम्मत छ भने आऊ न बिहे गरौं !”
कार्तिक ९, २०७१
विजय निवास, आरुबारी
No comments:
Post a Comment