Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

Tuesday, February 6, 2018

त्यो त भइहाल्छ नि...! –विजय चालिसे

 
धन्यवाद, मधुपर्क ! धन्यवाद श्रीओम, तुलसीजी ।
(मधुपर्क पूर्णाङ्क ५८५, २०७४ फागुन अङ्कमा प्रकाशित कथा)
“गाउँघरमा आफ्नै उमेरका साथीभाइ ओच्छ्यानमै गुडुल्किइरहने बेला बिहान पाँच बजेदेखि हामी बालभिक्षुको दिनचर्या शुरु हुन्थ्यो ।” पासाङ हामीसामु विगतस्मृतिका बिस्कुन फिजाउन आफैंलाई तयार बनाउँदै थिई ।
छरितो शरीर, हाँसिरहेजस्ता चाम्किला पानीदार अँखा, हिउँरङको गोरो अनुहारको बीच गालाका दुबै पट्टी पाकेका मुस्ताङ्गी स्याउ झैं रक्तिम आभायुक्त फक्रँदो जवानी । पासाङको आकर्षणबाट जो कोहीलाई पनि उम्कन कठिन पथ्र्यो । गाढा रातो अर्थात मरुन रङ्गको मुख्य अङ्गबस्त्रभित्र पहेँलो रङ्गको बाँकटे भोटोको एकनास तेङ्गाकोे पोशाकले गोरो हिमाली कसिलो व्यक्तित्वलाई झनै आकर्षक तुल्याउन सफल थियो । महझैं मीठो बोली र निश्छल प्राकृतिक हिमाली सौन्दर्यको मोहनीयुक्त आकर्षण, साँच्चिकै चमत्कारपूर्ण लाग्थ्यो उसको सौन्दर्य । विजुली चाल र मिजासिलो, मधुर व्यवहारले ममात्र होइन उसलाई देख्ने जोकोही यसरी नै मोहनी आकर्षणमा डुब्न पुगेका थियौं । साँच्चैकी हिमकन्या वा महादेवजस्ता फक्कडलाई समेत मायामोहमा आकण्ठ डुवाउन सक्ने रुपसी पार्वतीको प्रतिरूप लाग्दै थिई त्यो केटी तर परम्पराको कठोर साङ्लोमा बाँधिएकी ऊ भने कसैको प्राप्तिमा तपस्यारत किन्नरकन्या थिइन, सम्पूर्ण मानवीय चाहनालाई आफैंभित्रको अन्धगुहामा धकेल्न वाध्य एउटी प्रतिनिधि युवती मात्र थिई ।
हामी यतिबेला उत्तरी हिमाली भेगको एउटा विश्रामगृहमा थियौं । विश्रामगृह पस्नासाथ एउटा ठूलो साझा कोठा थियो । त्यही साझा पहुना कोठाको बीचतिर चार–छ वटा काठका कुर्सी गोलाकार रखिएका थिए । कुर्सीहरूको माझ टेबिल र टेबिलमुनि गहिरो खाडल देखिन्थ्यो । त्यही खाडलमा भर्भराउँदो गरी बलिरहेको गोलको आगाको रापले पूरै कोठ मज्जाले तताएको थियो । हामी अगेनाको वरिपरि गोलाकार राखिएका कुर्सीमा न्यानो ताप्दै तातो चियाको रमरम आनन्द लिइरहेका थियौं । झ्यालबाट सुुटुक्क छिरेको साँझपखको अस्ताउँदो कलिलो घाम झ्यालको सिसाबाट छिरेर कोठामा छरिएको थियो । त्यसरी छिरेको अस्ताउँदोे घामको रक्तिम सिंदूरे आभाको लुकामारीले वातावरण अरू रोमाञ्चक लाग्थ्यो । अझ लुकामारी गरिरहेको सिन्दूरे घामले यताउता फ¥याक फरुक गरिरहेकी सुन्दरीको गाला चुम्दा झनै मादकता छरिएको थियो उसका निर्दोष र निश्छल हिमाली सौन्दर्यमा । उसलाई भने ती कुनै कुराको मतलब थिएन । ती सबै कुराबाट पूरै अनभिज्ञ देखिन्थी त्यो भिक्षुणी अर्थात, आनी !
पदमार्ग छेउको यो विश्रामस्थल अर्थात प्रचलित भाषाको लजकी मालिक्नी उसकी ठूली आमा थिइन । ठूलोबाबु दावा गुरुङ प्रायः पोखरा वा भारतका सीमावर्ती शहरहरूमा हिमाली जडीबूटीको व्यापार गर्न जान्थे । विश्रामगृहको सम्पूर्ण जिम्मेवारी ठूलीआमाकै काँधमा थियो । कहिलेकाहीँ गुम्बाबाट छुट्टी पाउँदा ऊ पनि ठूली आमाकहाँ एक दुई रात बिताउन आउने गर्थी । अनि आएको बेला ठूली आमालाई सघाउने काम त स्वाभविकै भइ हाल्यो । आज यस्तै मौका परेको थियो सायद । लजमा हमी बाहेक अरु पनि पाँच–सातजना पाहुना थिए । सबैलाई खाना, चिया र अरु फर्मायसी बस्तु तयार गर्ने र ओसार्ने काममा ठूलीआमालाई सघाइरहेकी थिई ऊ ।
“तपाइँ त भिक्षुणीजस्ती देखिनुहुन्छ । यो लजमा किन नि ?” हामीमध्ये कसैको जिज्ञासामा बिस्तारै खुल्दै गएकी थिई ऊ । त्यो पनि एकैपटक होइन, किस्ताबन्दीमा । शुरुमा त बोल्नै चाहेकी थिइन । हुनसक्छ हाम्रो सामान्य र शालिन व्यवहारका कारण होला, बिस्तारै खुल्न थालेकी ऊ ।
“म आनी हुँ, यहीँ नजिकै गुम्बामा बस्छु । गुम्बाको रेखदेख, सरसफाइ र पूजापाठमा जीवन बित्छ सर !” यसरी बिस्तारै हामी उसको विगत र वर्तमानमा प्रवेश गरिरहेका थियौं । विगतस्मृति गर्दा जीवनजस्तै उसको अनुहारमा पनि उतारचढाव देखिन्थे । कहिले उज्यालो आभा फैलँदै जान्थ्यो, कहिले पीडाको ग्रहणले अनुहारको उज्यालोलाई खोसिदिन्थ्यो ।
ऊ आमाबाबुकी माहिली छोरी थिई । उसभन्दा माथि दाजु पेम्वा थियो, पछाडि बहिनी कासाङ । माहिली छोरीलाई देवदासीको रूपमा गुम्बा पठाउने पहिलेदेखि कै चलन थियो । यसरी त्यही माहिली छोरी हुनुको नियति भरजीवन भोग्न अभिशप्त थिई ऊ भिक्षुणीको रूपमा सबै नारीसुलभ चाहनालाई बलि चढाएर ।
“हो...., गाउँघरमा हामै्र उमेरका केटाकेटी उठेका पनि हुँदैनथे । गुम्वामा हामी सात–आठ वर्ष उमेरका बालभिक्षुहरूको दिनचर्या विहान पाँचैबजेबाट शुरु भइसक्थ्यो । त्यसभन्दा अगाडि नै नित्यकर्म सकेर हामी दुई घण्टालामो प्रातकालीन प्रार्थनाका लागि गुम्बाको अग्रभागमा भेला भइसक्नु पथ्र्यो । त्यहीँबाट शुरु हुन्थ्यो हाम्रो दैनिक जीवन । मरुन रङ्गको मुख्य अङ्गबस्त्रभित्र पहेँलो रङ्गको बाँकटे भोटोको एकनास तेङ्गो पोशाकमा सजिएका हामी बाहिरकाले हेर्दा भने एउटै लाग्थ्यौं सायद ! कुनै अलग परिचय थिएन हाम्रो । गुम्बाको फराकिलो प्राङ्गणमा लाम लागेर प्रार्थना सक्नासाथ अर्को लाम शुरु हुन्थ्यो– कौलाका लागि । कौला खाइसक्दा नसक्दै साढे आठ बजेत फेरि पढ्नको लगि आ–आफ्नो कोठामा पुगिसक्नुपथ्र्यो ।”
उसको आँखामा कहिले वाल्यकालीन जीवनमा भोगिएका सीमित खुशीका क्षणले छाडेका उज्याला रेखा छरिन्थे, कहिले सानैमा बाबुआमाको काखबाट खोसिएर गुमाएको वात्सल्य प्रेमको अभावसृजित वाल्यमनोभावजन्य पीडास्पद अनुभूतिका धूमिल ग्रहण । त्यो देखेर अपराधबोधले समेत चिमोट्न खेज्दै थियो हामीलाई – किन बेकारमा कोट्याएछौं उसको विगत !
आमाको न्यानो काखबाट खोसिएर गुम्बाको कठोर अनुशासित जीवनमा प्रवेश गरेका शुरुका दिन त उसलाई चरीजस्तै भुर्र उडेर कहिले आफ्नै घरगाउँ पुगूँजस्तो हुन्थ्यो । हरबखत घरको यादले सताइरहन्थ्यो । आमा भेट्न आउँदा कतिपटक रुँदै पछि नलागेको पनि होइन । आमा भने ललाइफकाइ गुम्बैमा छाडेर जान्थिन । आमाले छाडेर गएपछि धेरै बेर गुम्बाको एउटा कुनोमा रुँदै बस्थी ऊ । महिनौ महिनापछि बल्ल अभ्यस्त हुँदै गएकी थिई गुम्बाजीवनसँग ।
“त्यतिबेला आमाले आफूलाई मायानै गर्दिनन् भन्ने लाग्थ्यो । त्यसैले आँसु लुकाउँदै गएकी आमाको कोमल मनको चित्कार समेतको अनुमान गर्न सकेकी थिइन मैले । धेरै पछि मात्रै बुझेँ – उसकोजस्तो गरिव परिवारमा सन्तान पाल्नुको बोझ कम गहु्रङ्गो थिएन । त्यही बोझबाट बच्नका लागि यस्तै उपाय नै त बाँकी रहन्थ्यो ! हुन पनि आनी वा झुमा र लामा बन्न गुम्बामा पस्ने सबै नै गरीबबाबुआमाका छोराछोरी हुन्थ्यौं । मेरो परिवार पनि यस्तै थियो । भाइ सानै थियो । बाबु वषर््ाभरिको सामल थेग्न पुग्ने कमाइ गर्न आठ महिनाजति घरवरिपर नै सामान खेप्थे । हिउँदमा मङ्सिरदेखि फागुनसम्मका चार महिना हिउँलले बाहिर निस्कनै सकिँदैनथ्यो । हिउँले गर्दा त्यता हुँदी काम पाइँैनथ्यो । पाए नै पनि घरबाहिर निस्कनै नसकिने चिसोमा काम गर्न सक्ने कुरै भएन । त्यसैले हिउँदको बेला उनीजस्ता धेरै मानिस इण्डियातिर लाग्थे । त्यताहँुदो व्यापार वा काम गरेर लाइखाई जोगिने १०–१५ हजार रुपियाँ पनि ठूलै आमदानी ठानिन्थ्यो । तानतुन गरी यसरी नै वर्षदिनको घरखर्च चल्थ्यो ।”
उसको मात्र नएर हिमाली भेगमा बस्ने उसका जस्ता सबै गरीब परिबारको साझा नियति थियो यो । गाउँठाउँमा सामान बोक्ने काम नपाएपछि हिउँद लाग्नासाथ गाउँ रित्तिन्थ्यो । सक्नेजति अबैंसे, बूढापाका र तन्नेरा–तन्नेरीहरु प्राय भारत वा नेपालकै विभिन्न ठाउँतिर लाग्थे । भारत पुगेर केही भाँडामाझ्ने काममा लाग्थे, केही धनी मानी भारतीयको मोटर सफागर्ने काम फेला पार्थे । कोही होटलमा काम पाउँथे, कोही यतैदेखि जम्मा गरी लगेको हिमाली जडिबूटी र शालिग्रामहरुको व्यापार गर्थे । केही वर्ष यतादेखि भारतीयहरू नै यता आएर ती बस्तुको व्यापार गर्न थालेकाले जडीबूटी पनि त्यति बिक्दैनथ्यो । येनकेन चार–पाँच महिना उतै बिताएर धेरैजसो घर फर्कन्थे, कोही उतै बस्थे । त्यसैले गाउँमा बूढाबूढी र साना नानीहरु बाहेक कोही भेटिँदैनन् । हिउँले सबै ढाकेर घरबाहिर निस्कन नसकिने हुनाले हिउँ नपग्लिन्जेलका लागि पुग्नेगरी घरभित्रै पीठो, चिया, सात्तु आदि खानेकुराहरुको व्यवस्था गरिन्थ्यो । त्यही खाएर बूढाखाडा, केटाकेटी र थोरै जवान युवा युवती घरभित्रै बस्थे । खाने पानीसमेत घरको छानाको सानो दूलो पारेर हिउँ झार्दै पगालेर जम्मा गर्नु पथ्र्यो ।
बाबुआमा एकप्रकारले सुकुम्बासी थिए, घडेरी बाहेक खेतबारी केही थिएन । हुने कै पनि फापर, जौजस्ता हिमाली हावापानीमा उब्जने थोरै उब्जनीले वर्षदिनको गुजारा चल्दैनथ्यो । त्यसैले बाबु आमाले पनि मन नमान्दा नमान्दै पठाएका थिए होलान्, उसलाई गुम्बा ।
“त्यसमाथि म परेँ, माहिली छोरी । माहिली छोरीलाई देवदासीको रूपमा गुम्बा पठाउने पहिलेदेखि कै चलन थियो । छोरीलाई गुम्बा पठायो भनेर कसैले औला उठाउने कुरा पनि थिएन ।” ऊ विगतस्मृतिमा पूर्णतया हराइरहेझै लाग्थी । आँखा शून्यमा कतै एकोहोरो गडिरहेका थिए । लाग्थ्यो ऊ वर्तमान छिचोलेर वाल्यकालीन संसार नियालीरहेकी छ ।
“एकरस जीवन बित्यो बाल्यकालमा । दिउँसोको खाना खाएपछि अपरान्हतिर चियाको लागि घण्टी बज्थ्यो । हामी चिया खाने कोठामा लाम लाग्थ्यौं । लगभग सात–आठ वर्षउमेरका हामी केटाकेटीहरू सबै नै सामान्य बालजीवनबाट अलग्याएर बुद्धका अनुयायी बनाउन समर्पित गरिएका जीव थियौं । चाहना विपरित बलात समर्पित बलि ! चियाको समय सकिएको घण्टी बज्थ्यो । हामी फेरि अध्यनका लागि हतार हतार कोठातिर लाग्थ्यौं । साढे चार–पाँच बजे कक्षा सकिए पछि बल्ल बालसुलभ प्राकृतिक संसारमा हराउन र बालस्वरुपमा फर्कन केहीबेर मुक्ति मिल्थ्यो । रातको आठ बजे त विछ्यौनामा पुग्नु परिहाल्थ्यो ।” केही बेर रोकिएर लामो निश्वास छाड्छे ऊ ।
उसका आँखामा विगतकालीन कहालीलाग्दो अन्तरपीडाका मसिना धर्साहरू देखापर्दै जान्छन् । “ठूला धार्मिक मेला बाहेक गुम्बा छाडेर बाहिर निस्कने अनुमति हुँदैनथ्यो । शनिबार एक दिन केहीबेर टेलिभिजन सम्म हेर्ने पाइन्थ्यो, नत्र आधुनिक मनोरञ्जन के हो उसलाई थाहै थिएन । जाडोमा अघिपछि तेङ्गोमाथि ज्याकेट खाप्न पाइए पनि पूजापाठको बेला त्यै पनि लाउन पाइँदैनथ्यो । जाडोले धामी कामेझैं काम्दै पूजामा बस्नुपथ्र्यो ।”
सुन्दैमा पनि द्रवीभूत हुन पुगेका थियो हाम्रो मन । ओहो कसरी खोसिन्छन्ं बल्यकाल मेरा देशका गरीब शिशुहरूको । कुनै जात वा जतिको मात्र होइन यो खोस्ने–खोसिने नियति । हिमाली डोल्मा र पासाङहरू मात्र होइन सुदूर पहाडी राधा, सीता वा गीताले भोगिरहेका नियति पनि यही हो । गरिवी र अज्ञानले परम्पराका नाउँमा तिनका वाल्यकाल मात्र नभएर नारीसुलभ हरेक चाहना र जैविक आवश्यकता समेत खोसिइरहेको छ । चाहे, आनी वा झुमाको् नाउँमा होस्, चाहे देवदासी वा देवकन्या वा देवदासीको नाउँमा– अझै धेरै छन् मैले जोगाएका विकृत विसङ.्गत परम्पराका शिकार ।
“साँच्चै कति कठोर जीवन विताएर आएकी छ हगि यो केटीले । त्यसैले होला, आगोमा पोलिएर निख्खर बनेकी शुद्ध सुनजस्तै लाग्छे यो केटी, कञ्चन, साँच्चिकै कञ्चन ।” उसको यो मोहनी आकर्षण र उसले भोग्दै आएको जीवन देखेर मेरो मुखबाट निस्किन पुगेका थिए सुस्तरी यी शब्द ।
“साह्रै अनुशासित र कठोर थियो होला हगि गुम्वामा त्यतिबेलाको जीवन !” हामीमध्ये कसैले प्रश्न ग¥यो ।
त्यो प्रश्नपश्चात पूर्वस्मृतिमा हराउँदै गई ऊ । उसका दृष्टि सुदूर भूततिर केन्द्रित हुँदै गएझैं लाग्दै थियो । कथावाचकको रूपमा आफ्नै पूर्व कथाको पारायण गर्दै थिई ऊ– हो त कति नरमाइला थिए ती दिन ! सधैं विहान पाँचै बजे उठ, नित्यकर्म सकाउ, विहानको कौलाका लागि लाम लाग । केहीबेर कसरत गर र लामो पट्यारलाग्दो कक्षमा बस । न आफूलाई मन परेको खान पाइन्थ्यो न खेल्न र घुमघाम गर्न । घर समेत वर्षमा एक दुई पल्ट चाडबाडमा मात्रै देख्न पाइन्थ्यो ।
“ओहो, निकै कठोर पो छ हगि गुम्बाको जीवन !” गुम्वाका बानलभिक्षुको दिनचर्या बारे उसले सुनाएका कुरा सुनिरहँदा हाम्रा अगाडि आफ्नै छोराछोरी झल्झली देख्दै थियौं । जो हरबखत वात्सल्यमा सरोबर छन् ।
“आनी र भिक्षु–भिक्षुणीहरूले घरजम गर्न हुँदै रे हो ? यस्तै भन्ने सुनेका थियौं हामीले, हो त ?” आफूले सुनेको कुराको आधारमा जन्मेको जिज्ञासा थियो यो ।
“हो, हामीलाई गुम्वा पसेपछि नै बिहे नगर्नें, एक छाक मात्रै खाने र शीलको पालना गर्ने कुरा सिकाइयो । ्त्यसरी सानैदेखि पालना गर्न सिकाइएको पञ्चशील नराम्रो पनि थिएन । त्यो भनेको हामीले गर्न नहुने पाँच वटा कुरा नै त हो । पालना गर्नु पर्ने ती आचरण झुठो नबोल्ने, जाँडरक्सी नखाने, व्यभिचार नगर्ने, यौन समागम र चोरी नगर्ने हो ।”
अष्टशीलका सबै आचरण वास्तवमा राम्रा थिए, पालनायोग्य । ती मध्ये एउटा आचरणलाई भने हाम्रो दिमागले सहज रूपमा पचाउन सकिरहेको थिएन । सम्यक रूपमा पालना गरिने गृहस्थ जीवन र सम्यक यौन सम्बन्ध सृष्टिको निरन्तरता र सभ्यताको आधार होइन र ? व्यभिचार वर्जित मान्नु अत्यन्त उपयुक्त हो, तर सम्यक र सामाजिक दृष्टिमा स्वीकार्य शारीरिक सम्पर्क अर्थात यौन समागम ? त्यो त सृष्टिमा कुनै पनि जीवको जैविक आवश्यकता हो । सृष्टि र सभ्यताको निरन्तरता हो । यौन समागमको विरुद्धमा गुम्वाको प्रशिक्षण क्रममा जति नै नकारात्मक सोचको विकास गराइए पनि ती भिक्षुणीहरूमा मातृत्वको भोक र यौनको जन्मजात शारीरिक चाहना निर्मूल होला र ? यिनै शाश्वत प्रश्न मडराइरहेका थिए त्यतिखेर हाम्रो दिमागमा ।
यस्तो प्रश्न उठ्नुमा यता आएदेखि सुनिएका विभिन्न कुराको पनि योगदान थियो । सुनिन्थ्यो, यौनसम्बन्धको स्वीकृति नभएकोले प्राय भिक्षु–भिक्षुणी विबाह सम्बन्धमा गाँसिदैनन् । यता आएर भने बदलिँदो समयक्रमसँगै गुम्वाजीवनमा पनि केही खुला पन आएको छ । कहिले काहीँ गुम्वाका भिक्षु–भिक्षुणी पनि विवाह बन्धनमा बाँधिन थालेका छन् । यस्तै सुनेका थियौं हामीले ।
“हो, कहिलेकाहीँ यस्तो पनि देखिन्छ । हाम्रैं गुम्वाबाट पनि यसै वर्ष एकजना आनी साथीले गुम्वा जीवन त्यागिन् । मनमिल्ने भिक्षुसँग परिवार बसाल्न उनले गुम्वा छाडेकी थिइन ।” गाउँमा अरुबाट सुनेको कुराको उसबाट पनि यसरी पुष्टि भएपछि अपत्यार गर्ने कुरै भएन ।
“नरिसाउने भए एउटा कुरा सोधौं ?” उसको जवाफपश्चात सङ्कोच मान्दै दिमागमा मडराइरहेको जिज्ञासा मेट्न हामीबाट अर्को प्रश्न निस्कियो ।
“सोध्नोस् न । के हो त्यस्तो कुरा ?”
“गाउँघरमा आफूसरहका साथीसंगातीले काखमा नानी खेलाइरहेको देख्दा, विहे गरेर लोग्नेसँग सँगै हिँडेको देख्दा आफूलाई पनि बिहे गर्ने इच्छा जाग्दैन ? मन पर्ने कुनै युवकसँग जिन्दगी बिताउँजस्तो लाग्दैन ?” घुमाउरो प्रश्न गरेको थिएँ मैले । एउटी जवान केटीसँग सोझै यौन चाहनाको प्रश्न गर्नु निश्चय नै उपयुक्त हुँदैनथ्यो । त्यसैले परोक्षमा उसको मन चोर्ने प्रयत्न गरेका थिएँ ।
“त्यो त भइहाल्छ नि, हामी पनि त मानिसै हौं !”
अगेनोको आगोको राप र लुकेर उसको उन्नत भाल चुम्न कोठाभित्र पसेको अस्ताउँदा सूर्यको सिन्दूरे प्रकाशका साथै यो प्रश्नले फैलाएको अनुहारको रक्तिम आभा लुकाउन अर्कोतर्फ फर्किइ ऊ । सायद त्यसरी अनुहार लुकाउन खोज्नु आफूभित्रको शास्वत चाहना र वर्जित मातृत्वलाई अनावृत्त हुनबाट जोगाउने असफल प्रयास थियो कि ? हामी अनुमान मात्र गर्न सक्थ्यौं ।
विजय निवास, आरुबारी

Friday, October 7, 2016

कृष्णा

(शब्दाङ्कुर मासिकको भदौ २०७३ अङ्कमा प्रकाशित )
“कृष्णा....कतिबेर लाएको, छिटो आऊ” आपूmलाई पर्दा नौनीझैं कोमल बन्न सक्छे ऊ । अहिले पनि उसको स्वर त्यत्तिनै कोमल सुनिन्थ्यो, मीठो मिश्री घोलेजस्तै ! साविककी दिदी थिइनन् अहिले उनी, न त अघिपछिकोजस्तो कर्कस,थियो उनको स्वर । तर कृष्णालाई भने कानमा पगालेको सिसा पसे झैं लाग्यो त्यो दिदी भनाउँदीको आवाज !
“आएँ....आएँ....कत्ति कराइरा’को ।” त्यसैले झर्किँदै जवाफ फर्काई कृष्णाले ।
यो दिदीको अनुहारबाट मात्र होइन यसका कारण दिदी भन्ने शब्दसँगै वितृष्णा हुने गर्छ उसलाई । यो दिदी अर्थात्, रेडलाइट एरियाकी कोठी सञ्चालिका । त्यसैले हिजो आज दिदी शब्द सुन्दा फिस्स हाँसिदिन्छे ऊ । के यस्तै हुन्छन् दिदीहरू ? कुनै पनि दृष्टिले दिदीको सम्बोधनयोग्य ठान्दिन कृष्णा त्यस अनुहारलाई । उसलाई यो पवित्र शब्दको सम्बोधन गर्नुपर्दा यो शब्दकै घोर अपमान भएजस्तो लाग्छ ।
कृष्णा आफ्नो वाल्यकाल सम्झन्छे, गाउँको सामान्य जीवन सम्झन्छे र सम्झन्छे यो नरकम आउनुपूर्वको धुमिल घामछाया । राजधानीबाट टाढा नभए पनि सबै दृष्टिमा सुविधा विहीन उत्तरी जिल्लाको एउटा आदिम गाउँमा बित्यो उसको बाल्यकाल । गाउँको पुछारमा थियो उसको सानो छाप्रो । साहुको जग्गामा बल्ल तल्ल बनाएको एक पाखे पराले छाप्रो नै उसको संसार थियो । बाबु आमा अर्काको ज्यालामजुरी गरेर जेनतेन परिवारको छाक टार्थे ।
गाउँ प्राय उसकै बाबुकोजस्तै ससाना झुप्राले भरिएका थिए । ठूला पक्की घर मुस्किलैले दुईचरवटा देखिन्थे । र ती दुई चार ठूला पक्की घरमध्येको रोजा भने एउटै मात्र थियो जमिन्दार बाजेको घर । दर्बारजस्तै ठूलो देखिन्थ्यो ती जमिन्दार बाजेको घर । यसरी गाउँ अभावै अभावको पहाड झेल्ने कृष्णाको बाबु मिझार कान्छाजस्तै बहुसङ्ख्यकको झोपडीहरूले भरिएका थिए ।
आमाको न्यानो काख पनि लामो समय पाउन सकिन कृष्णाले । डेढ वर्षजति पछि नै आमाले बहिनी पाउने भइन् । सधैं अभाव र कुपोषणमा हुर्केकी उसकी आमाका लागि त्यो गर्भकाल साँच्चिकै काल बनेर आयो । प्रसवकै समयमा अत्यधिक रक्तश्राव भएर आमाको मृत्यु भयो । पेटभित्रकी बहिनी पनि जीवित जन्मिन सकिन । यसरी आमाको न्यानो काख गुमाएर अलच्छिनी र टुहुरीको संबोधन कमाएकी कृष्णाबाट बाबुको माया पनि अरु बाँडियो । उसलाई लाग्छ, बाँडिएको मात्र होइन वास्तवमा खोसियो नै । अर्थात केही समयपछि बाबु मिजार कान्छाले अर्की आमा ल्याए । अनि त अमा गुमाएकी कृष्णा पूरै उपेक्षित हुन पुगेकी थिई ।
अनि आमा बाबु दुवैको काख गुमाएकी कृष्णाको वाल्यकाल नाताकी एक मात्र फुपूूको सामिप्य र संरक्षणमा बित्यो । सन्तान नभएकी विधवा फुपू पनि एक्लै थिइन्, उनलाई पनि मुखबोलाउ साथी र सानोतिनो सहयोगीको आवश्यकता थियो नै । कृष्णाबाट फुपू त्यो आवश्यकता पूरा गर्थिन् र कृष्णाले पनि एउटा आश्रय पाएकी थिई, एउटा संरक्षण भेटेकी थिई र थिई एक हर लाउन र दुई छाक खाने समस्याबाट मुक्ति ! तर त्यही आश्रय र संरक्षण पनि उसले धेरै समय पाउन सकिन । चौबीस घण्टे म्यादी जरोले फुपूुको ममता समेत खोसियो । त्यसपछि त ऊ संसारमैं नितान्त एक्ली हुन पुगेकी थिई, बीच आकाशमा चुडिँएको चङ्गाजस्तै ।
त्यसैले उसका कुनै दिदी छैनन्, थिएनन् । दिदीकस्ती हुन्छे, वास्तवमै उसलाई थाहा छैन । उसले आज दिदी भन्दै आएकी कोठीकी मालिक्नीजस्तै हुन्छन् त दिदीहरू ? ऊ अनुमान गर्छे, यो द्रव्यपिशाच राक्षसीजस्ता त पक्कै पनि हुँदैनन् होला वास्तवमा दिदीहरू ।
त्यही आश्रयविहीनताकको अवस्थामा फुपूूको गाउँकै एकजना मामा भनिने मानिससँगै ऊ राम्रो कमाउने जागिर खान शहर पुगेकी थिइ । गाउँमा निकै बोलबाला थियो त्यो मामा भनाउने मान्छेको । महिनामा पन्द्र दिन हराउने त्यो मामा सारा गाउँकै शान ठानिन्थे । उसको चुरीफुरी देखेर प्रभावित नहुने कोही थिएन । उसले लामो समयदेखि गाउँका हुर्केका चेलीहरूलाई राम्रो जागिर ख्वाइदिने भनी शहर लग्ने गथ्र्याे । त्यसैले पनि गाउँमा उसको राम्रो प्रभाव थियो, निकै दबदवा थियो ।
जन्मेदेखि अभावै अभावको महासगरमा हेलिँदै आएका विपन्न गाउँलेहरू छोरी बहिनी वा कुनै सन्तानलाई राम्रो जागिर ख्वाएर अभाव र गरिवीको खाल्डो पुर्न पाउँदा खुशी नै हुन्थे । त्यसैले आफ्नी छोरी चेलीलाई कमाउने जागिरमा लगाइदिएर घरमा टीनको छानो हाल्ने सपना पूरा गरिदिने ती कथित मामा किन गाउँकै प्यारो नमानियुन् ?
तर, त्यसरी उनको भनाइमा “राम्रो कमाइ हुने जागिर” खाएर शहर पस्नेहरू भने कहाँ छन्, कुन हालतमा छन् वा कता हराउँथे गाउँलेहरू पत्तै पाउँदैनथे । अर्को अर्थमा गाउँलेलाई त्यसको वास्ता पनि रहँदैनथ्यो । त्यसरी राम्रो काम पाएका बिरलाकोटी चेली मात्रै आक्कलझुक्कल गाउँ फर्कन्थे । गाउँमा गएर पनि आफ्नै बिजोग र मनस्थितिको हत्या गरिएको कुरा कसरी पो बताउन सक्थे र उनीहरू । र बेला बेलामा तिनै मामा गाउँ आएर छोरीले पठाएको कमाइको पैसा भनेर केही नोट थमाइदिन्थे बाबु आमाको हातमा र उनीहरू टीनको छानो र नयाँ नानाको सपना पूरा गर्ने तर्खरमा लाग्थे कसले राखोस उनीहरूको अवस्थाबारेमा चासो ? चासो हुन्थ्यो त चेलीको कमाइबाट लाग्ने टीनको छानो र राम्रैगरी मनाउन पाइने चाडपर्वसँग मात्रै । अहिले त्यस्तै लाग्छ कृष्णालाई !

Wednesday, December 24, 2014

कुमारी चाहना ! –विजय चालिसे

(सुलेख साहित्यिक मासिक–२५, कथा विशेषंक असोज २०७१) 

“येँया पुन्हि पनि आइसक्यो ! केही ग¥या छैन ।” आमा अर्को कोठामा आफैंसँग फतपताइएकी हुन्छिन् । अहिले मात्र होइन, जुनसुृकै चाड पर्व नजिकिनासाथ आमाको व्यस्तता र छट्पटी यसरी नै बढदै जान्छ । आमाले परोक्षमा दिएको इन्द्रजात्रा सङ्घारमैं आइपुगेको सूचनासँगै अनिता विगत स्मृतिकाको सागरमा डुबुल्की मार्न पुग्छे । यो स्मृति उसकालागि केही प्रिय र केही अप्रिय हुने गर्छ । अनि यही इन्द्रजात्राको स्मृतिसँगै विगतमा कुमारी घरमा हराएको आफनै बाल्यकाल खोज्न थाल्छे ऊ ।
सात, सात वर्षसम्म निर्वासित थिई ऊ यस आफू जन्मेको घर, परिवार परिवेशबाट । हो सात वर्षसम्म जीवित देवीको रूपमा बसेर त्यो निर्वासित जीवनबाट बाबुको घर फर्केकी थिई ऊ भर्खरै । बिस्तारै कैशोर्यको खुडकिलो टेक्दै गरेकी अनीता यता आएदेखि नै त्यहाँ बितेको आफ्नोे वाल्यकाल खोज्दै रही । खोज्दैरही आफ्नो गुमेको सात वर्ष ! खोज्दैरही ऊ घरको कुनाकुनामा ती आफूले गुमाएका क्षण । तर अहँ....त्यसपूूर्वको धमिलो किरिङमिङि सम्झनाका अस्पष्ट रेखा बाहेक कुनै स्पष्ट दृश्य र चित्र भने देख्न असमर्थ हुन्थी ऊ । कुनै चिह्न छैन उसले धरती चिह्याएको यस माटोमा हराएको कालखण्डको ।  
त्यो सबै सम्झँदा त्रिशङ्कूजस्तै लाग्छ अनीतालाई आज आफ्नै जीवन । न बाबुको घर आफ्नो लाग्छ उसलाई, न कुमारी घर नै । कुमारी घरले देवत्वको जामा पहि¥याएर बाहिर्यायो, कुमारी घरले परम्पराको नाउँमा उपयोगिता छउन्जेल उपयोग ग¥यो, उपयोगिता सकिनासाथ दूधमा परेको माखो झैं फालिदियो, परित्याग ग¥यो । त्यसरी दुवैतिरको हुननसकेकी ऊ लोग्नेको घरकी हुने त झन कुरै थिएन, मात्र मृगमरिचिका ! कसले बिहे गर्ने आँट गर्छ र पूर्व देवीरूपको बोझबाट अभिशप्त अनीतालाई ? मीठो नमीठो जे भए पनि उसको श्रीसम्पत्ति सपना र विपना सबै नै तिनै त थिए– हिजो यसै छतमुनि बिताएको बालापनको केही धमिलो स्मृतिचित्र । कुमारीघरमा मञ्चित देवी अभिनयको सात वर्ष त मात्र व्युँझिने बेलामा देखेको मीठो, तर छोटो सपना न हो ! आँखा खुल्नासाथ कहँ रहन्छ र साथमा सपना ! त्यसैले लाग्छ, उसको भूत भविष्य र वर्तमान जे हो सबै त्यही हो, त्यही मात्र हो ! 
कहिले सुखद लाग्छ, कहिले दःुखद् उसलाई कुमारी घरमा खोसिएको वाल्यपन । तलेजुका मूल पूजारीद्वारा कुमारी रूपमा हरेक दिन आफ्नो नित्यपूजा हुँदा लाग्थ्यो साँच्चिकै देवी हुँ म ! अहिले लाग्छ कति मिथ्या रहेछ त्यो मञ्चमा गरेको अभिनय । तर के थाहा उसलाई त्यो उमेरमा तीन घन्टा प्रक्षलयमा मञ्चन गरिने अभिनय बाहेक केही होइन ! 
इन्द्रजात्रा आउनासाथ उसको बालमनको रमाइलो बढ्दै जान्थ्यो । कालभैरवअगाडि काठको अग्लो लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरेदेखि नै सधैं विदेशी पर्यटकहरूको बढी चहल पहल हुने वसन्तपुवरिपरि अर्के खालको धार्मिक पर्वको चहलपहल सुरुहुन्थ्यो । ठाउँ ठाउँमा देवी भैरवका मूर्ति सजाइन्थे, राती राती देवी नाचमा स्थानीयजन मस्त हुन्थे । 
जीवित देवीका रूपमा आफ्नै रथारोहणयात्रा हुने इन्द्रजात्राको मुख्य दिनको त झन के कुरा ? विभिन्न देवी देवताको भेषभूष र मुखुण्डोमा सजिएका परम्परागत कलाकारहरूको लाखे र पुलुकिसी नाचको कलात्मक मनोरन्जनसँगै गुर्जुको पल्टनको शाही सम्मान र स्थानीय समुदायको बाजागाजाको सुमधुर परिवेश, अनि सिंगारिएको कुमारीको विशेष रथमा सबैभन्दा विशिष्ट बनेर गणेश र भैरवहरूका रथ अघि पछि लगाउँदै घुमाउँथे उसलाई त्यस दिन । त्यसरी काठमाडौं सहरको भित्री सबै भाग तीन तीन पटक घुम्दा ऊ आफूलाई अर्कै लोककी अनुभव गर्थी । साँच्चै नै तलेजु भवानीकै साक्षात् रूप ! अहिले त्यो अपरिपक्व शिशु कल्पना सम्झँदा मुखबाट फिस्स आफैँप्रतिको व्यङ्गात्मक हाँसो निस्कन्छ  ।   
यसरी नचाहँदा नचाहँदै पनि कहिलेकाहिँ देवी रूपको आफ्नो विगतस्मृति चिह्न  निहार्न पुग्छे ऊ अल्बमहरूमा जोगिएका तस्बिरहरूमा । ठूला मानिसहरू शिर निहुराएर अदबका साथ लामबद्ध छन् उसको हस्तस्पर्शसहितको आशिर्वाद थाप्न । उसका हर आदेश पालनामा होड लगाइरहेछन् चिताइदार र सुसारेहरू । अनि उसको पूजा अर्चनाका लागि यस सहरका सुसभ्य  चपलाअवला सबै खाले नारीजन हातमा सजिएका पूजाका थाली लिएर पालो पर्खिरहेका छन् ! गुर्जुको पल्टनको एउटा टुकडी पूर्ण राजकीय पारामा तैनाथ छ उसैको सम्मानमा । ऊ कुमारीको पोशाकमा ठाँट्टिएर बसेकी छ । बालसुलभ चञ्चलता जबर्जस्ती दबाएर अनुहारभरि गंभीरता पोत्दै आशिर्वाद बाँडिरहेकी छ ऊ !  
अहिले त्यो सम्झेर आफैंलाई सोध्छे अनीता– खोइ कहाँ छ मेरो आफ्नो भागको आशिर्वाद ? कसले दिने मलाई एउटी नारीको स्वाभाविक जीवन भोग्ने–बाँच्ने अधिकार प्राप्तिको आशिर्वाद ? के त्यति पनि छैन मेरो भागमा पर्ने आशिर्वाद ? के कुनै अधिकार छैन मैले त्यो नैसर्गिक अधिकार प्राप्त गर्ने ? अनि कहिले काहीँ ससाक्षात देवीको रूपमा सजिएर बाजागाजासहित ठूला ठूला मानिस पछिलगाउँदै तामझामपूर्ण रथयात्राको आफ्नै विगत तस्बिर हेरेर आफैंसँग प्रश्न गर्थी– खोइ त्यो इज्जत, खोई त्यो मानसम्मान ? किन आज टाढाबाट हेरिने सङ्ग्रहालयमा प्रदर्शित बस्तुझैं भएकी छ ऊ, कसैले छोएर महसुस गर्न नपाउने । मानवीय प्रेम समवेदनामा छुन हुँदैन रे उसलाई, मायालु लोग्नेको न्यानो अँगालोमा आवेष्ठित हुने.अवसर पनि पाउन्न रे ऊ ! यो निषेध थियो कुमारी हुनुको पारितोषिक !   
मात्र चार वर्षकी थिईं ऊ आमाको न्यानो मायालु काखबाट च्वाट्टै चुँडालेर जबरजस्ती हनुमानढोकाको कुमारीघरमा पु¥याइँदा । दशैंको केही अगाडिजस्तो लाग्छ उसलाई । सङ्घारैमा आएको दशैंको आकर्षणमा ठीक त्यही बेला नयाँ नाना र मीठो चिचिको प्रतीक्षासहित दिदीबहिनीसँग मन्दिर जाने कल्पना गर्दागर्दै एक दिन ऊ आमाको मायालु काखबाट त्यसरी चुँडिन पुगेकी थिई । हो, त्यहीबेला जिउँदीे देवी कुमारीको रूपमा प्रवेश गरेकी थिई उसले कुमारी घरमा । के थाहा त्यो अबोध शिशुलाई के हो देवी, केहो कुमारी र के हो रीत धर्म परम्परा ? अनजान मैं जीवित देवीको रूपमा आसिन गराइएकी थिई त्यो रहस्यलोकमा, समाज, परिवार र वाल्यपन सबैबाट निर्वासित गरेर । कुमारी हुँदासम्म निर्वासित थिई ऊ आफ्नो जन्मघरबाट । त्यसपछि अहिले यहाँ फर्किएपछि आज समाज र पारिवारिक जीवनबाटै निर्वासित छ ऊ । त्यतिबेला कुमारी घर छाडेर कतै जानु हुँदैनथ्यो, घर फर्कने त कुरै भएन । ऊ लगभग त्यही दैवी रूपको भ्रमित जीवनको भारी बोकेरै बाँच्न वाध्य छ आज पनि ! लगभग निर्वासित जस्तै नै छ ऊ आज पनि आम युवतीको स्वाभाविक चाहनाको जीवनसंसारबाट ! 
बौद्ध शाक्य कुलमा भर्खरै संसार हेर्न आँखा खोलेकी अबोध अनीतालाई त्यहाँ लानुपूर्व शरीरका कुना कन्दरा कतै बाँकी नराखेर नाङ्गै भुतुङ्गै पारेर जाँचेका थिए । शरीरमा कुनै सानो दाग पनि हुनुहुन्न, जीवित कुमारी बन्नका लागि । त्यो थियो रे पहिलो शर्त ।  खोटरहित हुनुपर्छ जिउँदो कुमारी बन्न ! झिनो सम्झना आझै पनि छ । को को हो कोको आउँदथे, दिनहुँ जाँचबुझ गर्थे । खसी मोलाइगर्ने बगरेले अंग अंग गिजोलेर मासुको अन्दाज गरिरहेको खसीलाईजस्तै गर्थे ती जाँचकीहरू । उसको शरीरमा कुनै दाग र खोट त छैन ? तिनका चनाखा आँखाहरू शरीरभरि घेच्नेगरी गड्थे । त्यतिबेला त लाज के हो थाहै थिएन, अहिले भने त्यो सम्झँदा पनि लाज सरमले पानी पानी हुन्छे ऊ । त्यतिबेला चारै वर्षकी अबोध शिशु न थिएँ ! त्यो बेलाको स्थिति सम्झेर मनमनै लजाउँछे । लज्जामिश्रित मन्द हाँसो फैलन्छ – कहिले काउकुती लागेर बलात् हाँसेको शिशु हाँसो, र कहिले भित्रैसम्म दुःखाइको पीडा मिसिएको रुन्चे हाँसो ! उसको मात्र हो र, बाबु र आमा दुवैतिरका तीन तीन पुस्ताको नालीबाली खोतलेका थिए तिनले । कुल ठीक छ, छैन, चिना मिल्यो मिलेन । सबै कुरा हेरेर ठिक्क मिले पछि बल्ल योग्य ठानिएकी थिई ऊ कुमारीको लागि । पहिले पहिले त अझ राजाको चिनासँग मिल्नु पथ्र्यो रे कुमारीको चिना । अहिले राजा नभएपछि भने देशको ग्रहदशासँग मिलाएको रे !  
सहरको गनाउने चोकको बाबुृको घर छाडेर हनुमानढोकाको ठूलो राम्रो घरमा ल्याउँदा सुरुमा त केही बेर रमाइलै लागेको थियो क्यारे । त्यसैले पटक्कै रोइन रे ऊ । तर केही बेरमैं आमालाई नदेखेर चिच्याउँदै रोएकी उसलाई फुल्याउन हेरचाहमा खटिएका चिताइदार र नयाँ आमाहरूको पल्टनै हाजिर भएको थियो । उता मायालु कान्छी छोरी त्यसरी कुमारी घर लगिँदा आमा, अजी र ठूला दिदीहरू छात्ती पिटी पिटी रोएका दृश्य उसको कलिलो शिशुमनमा अहिलेसम्मै मेटिएको छैन ।   
सुसारे आमाहरू भन्थे– पछि केही दिन त रोएरै बिताइ रे उसले कुमारीघरको त्यो नयाँ जीवन । 
बिस्तारै बानी पर्दै गयो । दिनभर थरी थरीका मान्छे आउँथे, कोही देउतालाई जस्तै विहानै आएर पूजाआजा गर्थे । ऊ जिल्ल परेर टोलाउँथी । कोही उसलाई हेर्न मात्रै आउँथे, चिडियाखानाका जीवजन्तुलाई हेरेजस्तै । विभिन्न कोणबाट झिलीमिली मखमल र साटनका कपडा अनि सुनका गरगहनाले झकीभकाउ उसको पुतलीजस्तै रूपको फोटो खिचेर जान्थे । कहिले गोरा आउँथे, कहिले काला । कहिले नेपाली, कहिले विदेशी । कोही नआएको बेला कुमारी घरको कलात्मक झ्यालमा बसेर तल वसन्तपुरको विशाल चोकमा आउने विदेशी पर्यटक र त्यही बाटो आहोरदोहोर गर्ने टोलबासी हेरेरै समय कटाउँदथी ऊ । केही समय कुमारी घरमैं आएर उसलाई पढाउने गुरुसँग प्रारम्भिक लेखपढमा बित्थ्यो, केही समय सुसारे आमा र चिताइदारहरूसँग सामान्य जिज्ञासा मेटाउनमा ।  
अनि बिस्तारै उमेरजन्य बाहिरी आकर्षणले थिच्दै जाँदा कुमारी घरको सानो कलात्मक झ्यालबाट देखिने त्यही भीडमा आफ्नो मनको राजकुमार खोज्ने प्रयत्न पनि गर्न थालेकी थिई अनीता ! मनमा धुर्मिलो् छवि बन्थ्यो, तदिो नहुँदै तुरुन्तै मेटिन्थ्यो । कति कोशिस गर्दा पनि प्रष्ट चित्र भने कहिल्यै नआउने ! 
समय बित्नुसँगै उमेर बढ्दै गयो । अलि उमेर बढेर केही बुझ्ने हुनथालेपछि  उसलाई जात्राहरूका अवसर सधैंँ आइदिएहुन्थ्यो जस्तो लाग्थ्यो ! यौवनको सङ्घार प्रवेश गर्ने गर्ने बेलाको अल्लारे उमोर नहो ? सम्झँदा पनि ऊ आफैंलाई हाँसो लाग्छ असहले सम्झँदा । त्यतिबेला सुन्दर लुगा, झिलीमिली झरिझुट्ट शिरदेखि पाउसम्ममा सजाएर सम्मानपूर्ण शोभायात्रा र नगर परिक्रमामा लगिँदा अरुभन्दा भिन्न पाउँथी ऊ आफूलाई, सबैभन्दा विशिष्ट ! अनि त्यस्तो बेलामा लाग्थ्यो ऊ यति उचाइमा छ, जसलाई कसैले छुन सक्दैन, भेट्न सक्दैन । ओफ्....त्यो उचाइमा पुगेको भ्रममा गुमाउनु परेका सतहका कति स्वाभाविक जीवन सम्झेर अब चुकचुकाउनु बाहेक के नै गर्न सकिन्छ र ? यसरी नै मनलाई थामथुम पार्न खेज्छे ऊ । 
आखिर त्यो दिन पनि आयो । दश पुगेर एघार वर्ष टेक्न नपाउँदै उसलाई घर फर्काइयो । हिजो कहिल्यै नफुकालूँजस्तो लाग्ने गहना गुरिया र लुगाफाटा सबै छोडाइयो उसबाट । बाँकी सामान्य कपडा र गहना रहे शरीरमा । कुमारी रहँदा पाएका धनसम्पत्ति, देवीघरमा हेर्न आउनेले दिएका उपहार सबै जिम्मा लियो परिवारले । जाँदा पनि ऊ खाली हातै पुगी बाबुको घर, फेरि पनि शरणार्थी नै थिई ऊ !   
चाहनाहरू उसका पनि नभएका होइनन्, छन् । उसभित्र पनि कसैलाई छुने, कसैद्वारा छोइने चाहना छ । आफ्ना आँखाको एकाकी अतल गहिराइमा कोही डुबोस्, कसैको डबुल्की मार्ने चाहना पलाओस्– मनभित्र नपालेकी होइन उसले मीठो चाहना । आफू पनि कसैको आँखाको गहिराइमा पौडन सकोस्, कसैको् सुडोल बाहुमा बेली झैँं बेरिएर सुरक्षाको अनुभूतिगर्न पाओस्.....! 
हो ऊजस्तै उसलाई सपनामा सजाउने पनि छन् । उसको आँखाको अतल गरिहाइमा पौडन चाहने पनि छन्, जो उसको एक झलक पाउन घन्टौं लुकेर मौका ढुक्छन् । तर उसभित्रको देवत्वको भ्रमलाई चिरेर उसलाई छुन, वैवाहिक जीवनको डोरीमा बाँधिन साहस चाहिँ गर्न सक्दैनन् । ओहो...कति गह्रुँगो यो कथित देवत्वको बोझ ! हरबखत त्यही जीवीत देवीप्रतिको धर्मभिरु सामाजिक सम्मानको उठाउनै नसक्ने भारीले थिचिऐर जमिनभित्र धसिए झैं अनुभव हुन्छ उसलाई । के चासो त्यो सबै कुरा परम्परामा धानेर मान्ने बस्ने धर्मभिरु कापुरुषको समाजलाई उसका पनि त चाहाना होलान्, शारीरिक आवश्यकतापूर्तिको प्राकृतिक इच्छा होला ! हो त अरुजस्तै सामान्य बालिका, शिशु र किशोरी युवतीलेजस्तै सामान्य मान्छेको सामान्य जीवन बाँच्ने चाहना पनि होला उसको भन्न्ने किन सोच्दैनन् यी ? ऊसँग यसको कुनै जवाफ छैन । तर अफसोच, जीवित देवीप्रतिको त्यो अन्ध सम्मान र सम्बन्ध राख्न नहुने विश्वासको चिहानभित्र दब्दै जान्थे ती अन्तरमनका सबै चाहनाहरू ।
कुमारी घरबाट बाबुको आश्रयमा आएपछिका वर्षहरूले उसलाई एक पछि अर्को सत्यबोध गराउँदै गएको छ । यी सत्यले मनभित्रका एक एक सपना असमयमैं कुहिएर झरेको चिचिला झैं झरिरहेका छन्, एक एक गर्दै । ओहो....कस्तो अर्थहीन जीवन, कति  प्रयोजनरहित ! यौवनको पूर्ण आवेग थेगेर बाँचन वाध्य छ ऊ । वाल्यकाल र सिंगो भविष्य कुमारीघरको जुवाको खालमा हारे वापत हात थापेर पाउने सीमित मासिक भत्तामा साटिएका छन् उसको सारा यौवनका सपना र मनभित्रका चाहनाहरू ! 
मनभित्र हुरी आँधी चल्छ उसको । 
“आज पनि त्यो केटोले लुकेर हे¥यो !” यिनै मनका आँधीसँग जुध्दाजुध्दै त्यो केटोले आज पनि आफूलाई आँखा चोरेर हेरिहरेको देखी । यस्तो दृश्यले एकातिर रोमाञ्चको अनभव गर्नपुग्थी, अर्कोतर्फ घृणाको ज्वालामुखी फुट्थ्यो खुलेआम उसलाई चाहन नसक्ने यस्ता कमजोरहरूप्रति । किन आँट गर्नसक्दैनन् यी उसको हात समातेर लान ! मनमनै प्रश्नका आँधीबेरी चल्थे ! 
उसलाई थाहा छ, टोलको त्यो केटो उसलाई मन पराउँछ कि केहो, लुकी लुकी हेर्ने गर्छ । त्यो केटो मात्र होइन अरु पनि धेरै छन् उसलाई लुकी लुकी हेर्ने केटाहरू । चोकको बाटो  गरेर हिँड्ने टोलका सबै केटाका आँखा एकपटक पुगिहाल्छ माथि झयालतिर । हुन पनि झन्डै सात वर्षजति शोखसयल र कुमारी घरको आश्रयमा बसेर आएकी उसमा एउटा अलग्गै आर्कण थियो, अनुृहारमा स्वेतधवल चमक ! हरबखत घामपानी र चोकको धूलोमैलोसँग खेलेर हुर्केका उसका कुनै पनि समवयस्कमा थिएन त्यो चमक । त्यसैले पनी सके चुम्वकीय आकर्षण थियो उसको अनुहारमा । सबैका नजर एक झलक देख्न तानिइहाल्थे !  
त्यसरी आज पनि त्यो केटोले उसैलाई लुकेर हेरिरहेको देखेपछि अनायास अनीताको चर्को स्वर सुनियो –“के लुकेर हेर्छौं ? हिम्मत छ भने आऊ न बिहे गरौं !”  
कार्तिक ९, २०७१ 
विजय निवास, आरुबारी

Wednesday, November 30, 2011

लिगलिगकोटको कुर्सीदौड !

(नवयुग २०६८ असोज अङ्कमा प्रकाशित कथा)

“उफ्.....बल्ल सकियो लिगलिगकोटे दौड ! तर के गर्नु आफूलाई दौडबाट नबाहि¥याई धरै दिएनन् ! बेकार दौडियो त्यतिबेला यो कठिन दौड !” आफ्नो टोललाई लिगलिगकोटको नेतृत्वमा पु¥याउन गर्नुपरेको लामै सङ्घर्षले निकै थकाएको थियो उनलाई । उनी अर्थात्, लिगलिगका ठूलोकोटे टोल नेता ! यस अगाडि लिगलिगकोटे मुखियाका लागि भएका दर्जनौं कुर्सी दौडमा उनी आफैं नलडेका होइनन् । तर आफ्ना र अरूतिरका सबै मिलेर उनलाई अनेकौं पटक छिर्के हालेर लडाइदिए । सफल हुनै दिएनन् । आखिर केही नलागेपछि आफैंलाई छिर्के दाउले माथ गर्ने टोलकै अर्का सहयोगीलाई त्यो दौडको लगाम सुम्पनुपरेको थियो । सम्झँदा पनि उनको मनै भरङ्ग हुन्छ । अगाडि पनि त यसरी नै बाहि¥याएका थिए पापीहरू मिलेर ! उनका मनमा अनेकौं कुरा खेलिरहन्छन् । त्यसैले उनी बाहिर खुसी देखिए पनि भित्र अत्यन्तै दुःखी छन् । उनको मन कम रोएको छैन ।
यो पछिल्लो पराजयले उनलाई नराम्ररी थकाउनु स्वभाविक थियो । शरीरभन्दा पनि मन धेरै थाकेजस्तो ! थकान मात्र हात लागी भयो, टोलको हातमा सत्ताको लगाम त ल्याए जसरीतसरी, लगाम समाउने त्यो हात भने उनको आफ्नो हुन पाएन । त्यसैले उनको मन भित्रैसम्म प्रफुल्ल नहुनु पनि त्यत्ति नै स्वाभाविक थियो । उनको अनुहारमा स्पष्ट प्रतिबिम्ब देखिन्थ्यो– उनी खासमा त्यति खुसी थिएनन्, उसको अनुमान ठीकै थियो ।
आज पनि चालकले सधैं झैं बङ्गलाको मूल ढोका छेउमैं लगेर उनको सान्दार पजेरो रोकेको थियो । चालक त्यो विशाल पजेरोको ढोका खोलेर निकै बेरसम्म सतर्क मुद्रामा उभिइरह्यो । त्यसो गर्दा समेत आज उनले हतपति मोटरबाहिर निस्कने जाँगर देखाएका थिएनन् ।
“यसभन्दा अगाडि त कहिल्यै यस्तो भएको थिएन !” आज टोली नेता त्यसरी घर आएर पनि निकै बेर पजेरोबाटै ननिस्केको देखेर उसले सोच्यो “आज मानसिक र शारीरिक दुबै रूपमा निकै थाकेजस्ता छन् हाम्रा नेता ।”
हुन पनि नेताजी निकै बेर विशाल पजेरोभित्रै सुस्ताए । बडो सुस्त चालमा निकै बेरपछि मात्रै उनी बाहिर निस्के । उनको निधार पसिनाले भिजाएको देखिन्थ्यो । वातानुकूलित बङ्गलाभित्र पसिसकेपछि पनि उनको निधारमा पसिनाका सेता दाना ओभाएका थिएनन्, चम्चमाइरहेकै देखिन्थे । 
बङ्गलाभित्र भुइँ बैठकमा पस्नासाथ उनले आफ्नो शरीरलाई सोफामाथि असरल्ल बिसाए । दुबै हातले टाउको समातेर लामो निश्वास फाले । केही वर्षयता बोसो टम्म भरिएर अस्वाभाविक मोटो देखिन थालेको उनको शरीर सोफा भित्रैसम्म धस्सियो । 
“टोली नेतालाई यतिधेरै थकित र निराश त यसअघि कहिल्यै देखेको थिइन !” उसले फेरि मननै सोच्यो । हुन पनि उसले यसअघि आफ्नो टोली नेतालाई यस्तो अबस्थामा, यति निरिह कहिल्यै देखेको थिएन । टोललाई दशकौंदेखि हाँक्दै आएका अत्यन्त शक्तिसाली आफ्ना नेतालाई आज यस्तो दयनीय अवस्थामा देख्दा एक प्रकारले उसलाई दया पनि लाग्यो ।
“कमरेड, चिया मगाउनुहोस् त एक कप । आज साह्रै थाकेको छु !” आवाज पनि निकै थाकेजस्तो ! उनको आवाजमा पहिले जस्तो कुनै ओज थिएन । कहाँको पहाड थर्काउने उनको त्यो सिंह गर्जेजस्तै गरजदार आवाज, कहाँ आजको यो पर...., कतैबाट आएजस्तै कमजोर स्वर ! ठूलासाना विभिन्न विद्रोहहरूको नेतृत्व गर्दै आएका टोलीनेता कमरेडको स्वर आज आफैसँग पनि हारेजस्तो कमजोर लाग्यो उसलाई !
कति घामपानी र भोकप्यास खप्दै दशौं वर्ष टोल छाडेर कहिले जङ्गल र कहिले परदेशबास गरेका थिए उनले । कति समय त आदिम पुर्खालेजस्तै गुरिल्ला जीवन बिताउनु परेको थियो ! त्यसरी लामो कष्टसाध्य जीवनको अभ्यासबाट इस्पात बनेका थिए उनी । त्यस्ता नेता कमरेड आज यसरी यतिबिन कमजोर देखिएलान्, उसले कहिल्यै कल्पना गरेको थिएन । उसले कल्पना गरे पनि नगरे पनि अहिलेको यो यथार्थ थियो ।
“चियामात्रै कि, सँगै केही नास्ता पनि मगाउँ कमरेड !” उसले सोध्यो ।
“होइन, चिया मात्रै । केही खाने मनै छैन !” सायद उनी पहिले तातो चियाको चुस्कीले मन र शरीरको थकान पखाल्न चाहन्थे ।
चिया मगाउन टोली नेताको आधुनिक किचनमा जाउन्जेल पनि उसको मनमा अनेकौं कुरा खेलिरहेका थिए । हुन त उनी बाहिर जति बलिया देखिन्छन्, यथार्थमा भित्रबाट उति नै निफ्फर छन् भन्ने कुरा उतिबेला सशस्त्र आन्दोलनका बेलामा सुन्ने नगरिएको होइन । उनका टोलभित्रकै बिरोधीहरूले ‘उनी बाहिर आफूलाई जे देखाउँछन्, यथार्थमा त्यो होइनन्’ भन्थे । अहिलेको यो अबस्था हेर्दा उनका बारेमा गरिएको त्यो आलोचना पूरै असत्य रहेछ कि भन्ने लागेको थियो उसलाई ।
त्यतिबेला दबिएको आवाजमा भनेको सुनिन्थ्यो– बाहिर जति दरिला देखिन्छन्, भित्र त्यत्तिनै कमजोर छन् उनी । उनको बल भन्नु नै अरुलाई उपयोग गर्न गर्न सक्नु नै हो । अनि अलग अलग दुइवटा गूटलाई एकअर्काप्रति प्रयोग गर्न सक्नु उनको सामथ्र्य ! त्यही गुटीय प्रयोगमा उनी आफ्नो शक्तिको स्रोत आर्जन गर्दथे । त्यसरी नै आफ्नो पक्षमा बहुमत बनाइराख्न सक्षम बन्थे उनी । त्यतिबेला पनि कताकति चुहिएर बाहिर आएका यी कुरा पछि टोल र लिगलिगकोटकै नेतृत्वक्रममा पनि देखिन थालेका थिए ।  
त्यतिमात्र होइन, जङ्गलयुगमा अरु पनि गाइँगुइँ सुनिन्थे– कार्यकर्ताहरूलाई मर्न मार्न लगाएर उनी आफू भने आजका ठूला भनिने अरू नेतालाई समेत लिएर सुरक्षित ठाउँमा ऐसोआराम भोगिरहेका हुन्थे रे । त्यसैले विरोधीहरू भन्थे, उनको त्यो जङ्गलबास र गुरिल्ला जीवन अरुलाई देखाउनका लागि मात्र हो । भोग्नका लागि होइन ।
त्यतिबेला विहड कुनाकन्दरामा खेलिएका मर्नेमार्ने खेलमा हत्केलामाथि ज्यान राखेर भोकप्यास केही नभनी लागिरहेका ऊजस्ता हजारौं कार्यकर्तासम्म पुग्थे ती गाइँगुइँ । तिनलाई कुनै कार्यकर्ता सत्य ठान्थे, कुनैले एक कानले सुनेर अर्कोले उडाइदिन्थे । ऊजस्ता धेरै कार्यकर्ता दन्त्यकथाका धिरोदात्त नायक मानिएका त्यस्ता नेताहरू उनीहरूलाई यता भिडाएर आफू छिमेकीको आरामदायी मेजमानी खाइरहेका होलान् भन्ने कुरामा पत्यारै गर्नसक्दैनथे । त्यसैले त्यस्तो आलोचना धेरैले पटक्कै पत्याउँदैनथे । केही थोरैले पत्याउँथे, र भित्रभित्रै असन्तुष्टि प्रकट गर्थे । ऊजस्ता नपत्याउनेहरूका लागि त त्यो हल्ला आफ्ना महान् टोली नेतालाई नोक्सान पु¥याउन चलाइएको अनर्गल प्रोपोगण्डा मात्र थियो, सत्ताका गोयबल्सहरूले चलाएका प्रोपोगन्डा !
उसलाई त झन् त्यस्ता उडन्ते हल्लाको रतीभर विश्वास थिएन । त्यसैले यस्ता हल्ला सुनेर आफ्नो विश्वास डगमगाउन खोज्ने साथीहरूलाई समेत सम्झाउँथ्यो– “आफ्नो टोलीलाई जोगाउन र टोलीको आत्मबल जोगाई राख्न पनि प्रमुख नेताहरू सुरक्षित रहनु पर्छ । त्यसैले टोलले नै निर्णय गरेर सुरक्षाका लागि परदेशबासको सेल्टर रोजेको हुनुपर्छ । सुरक्षामा त ध्यान दिनै प¥यो नि, कसो । त्यसैले टोली नेता र अरु वरिष्ठ नेताहरूको सुरक्षा कहाँ राम्ररी हुन्छ भन्ने सोच्नु नेतृत्वको काम हो । टोलीको निर्णय अनुसार नै सुरक्षाका लागि लिइने प्रवासको आश्रयलाई अन्यथा ठान्नु हुँदैन, न त यस्ता कुरालाई लिएर बिरोधीले चलाएको हल्लामा लाग्नु नै राम्रो हुन्छ । यो पनि शत्रुहरूको एक प्रकारको आक्रमण नै हो । यस्ता कुराबाट विचलित हुने हो भने कसरी सफल हुन्छ यो हाम्रो महान् मुक्ति आन्दोलन ? त्यसैले विरोधीद्वारा चलाइएको यस्ता दुष्प्रचारलाई अधार बनाएर नेतृत्वपङ्क्तिको आलोचना गर्नु भनेको हामी पनि शत्रुले चलाएको प्रोपोगण्डाको जालमा फस्नु हो, बुझ्नुभो’कमरेड ! यसबाट महान् जनयुद्धलाई क्षति पुग्नुबाहेक केही लाभ हुँदैन । हामी क्रान्तिकारीहरू यस्ता कुरामा सचेत रहनुपर्छ ।”
तर अहिले.......ः ? दशौं वर्ष यिनै नेता कमरेडको निजी सुरक्षामा खटिँदा अहिले भने उसको त्यो पुरानो विश्वास केही खलबलिन थालेको छ । नेताहरूले देखाएका सपना टिप्न लड्दा लड्दै ज्यान गुमाएका साथीहरूलाई सम्झन्छ ऊ, कति सार्थक रह्यो त त्यो वलिदान ? त्यसो भए त्यतिबेला नेता कमरेडका बिरुद्ध चलाइएका हल्ला मात्र हल्ला थिएन त ? अहिलेका तिनै टोली नेताहरूको जीवनशैली र आचारव्यवहार देख्दा ऊसमेत यस्तै सोच्न थालेको थियो । ऊ र ऊजस्तै हिजो नेता कमरेडको पक्षमा चट्टानझैं उभिनेहरू पनि आफैंसँग यस्तै प्रश्न सोध्न थालेका थिए हिजोआज । हिजोकोजस्तो होइन, आज करोडौं रुपियाँको रास लाग्नसक्छ उनको र उनीहरूको एकै आदेशमा ! हिजोजस्तो शुभचिन्तकको सेल्टरमा मकैंभट्मास टोकेर दिन बिताउनु पर्दैन । विशाल बङ्गला र पजेरोका साथै पाँचतारे होटलकै जस्तो बनिसकेको छ उनीहरूको जीवनशैली !
“आध्यक्ष कमरेडलाई सन्चो भएन कि ? केही बेर आराम गर्ने हो कि त !” उनको त्यो अवस्था देखेर भन्यो ।
लिगलिगकोटमा विरोधी टोलका प्रतिस्पद्र्धी नेताहरूसँग पटक पटक गरिएका कुर्सी दौड र ती दौडमा प्राप्त निरन्तरको पराजयका कारण उनी आफूलाई अगाडिदेखि नै केही कमजोर ठान्न थालेका थिए । त्यसमाथि आफ्नै टोलीभित्रको शक्ति सञ्चय गर्ने खेलमा पनि उनीमाथि अनेकौं छिर्के हानिन थालेका थिए । आफ्नै टोलका डाक्टर बैद्यको थरीथरी सल्लाह सुन्दा सुन्दा दिक्क भैसकेका थिए उनी । अस्पतालका डाक्टरहरू भन्थे– तिमी साह्रै कमजोर भयौं, यस्तो कमजोर भएर कसरी टोलको नेतृत्व लिन्छौ ? अरुलाई छाडिदेऊ र भिटामिन खाएर आराम गरी बस । कहिले आयुर्वेदिक उपचारका बैद्य–कविराजजस्ता पण्डितहरू भिटामिन होइन, स्वर्णभष्म सेवन गरेर आराम गर्ने सल्लाह दिन्थे । उनीहरूको भनाइमा यस्तो कमजोरीमा कुर्सीको बसाइ हानिकारक हुन्छ । कहिले भने दुबै एकैमुख लगेर भन्थे– पथपहरेजमा बसेर आराम गर । नेतृत्व गर्ने अरु छँदैछन् नि ! यसरी आप्mनै टोलीमा समेत दरिलोसँग अडिन मुस्किल हुन थालेपछि  मानसिक रूपमा समेत केही थकित देखिन थालेका थिए । लिगलिगकोटका अनेकौं दौडमा कुनै परिणाम निस्किएन । अन्ततः प्रतियोगिताबाटै बाहिरिनु परेको थियो विचरालाई । बाहि¥याउन छिर्के हाल्नेमा आफ्नै भन्नेहरू पनि कम थिएनन् । यस्तो अवस्थामा निराश देखिनु स्वाभाविक थियो । अहिले त उनको सपनाको कुर्सी समेत आफ्नै भनिनेहरूबाट खोसिएको थियो ।
“होइन, केही भएको छैन...। सामान्य शारीरिक थकान मात्रै हो ।” उनले आश्वस्त तुल्याउन खोजे । सोचे, समान्य कार्यकर्ताका अगाडि किन आपूmलाई कमजोर देखाउनु ! उसैत बढी नै भावनामा बग्ने, कूटनीतिक हिसाबले बोल्न नजान्ने जस्ता आरोप लगाउने गर्छन् भित्र र बाहिर दुबैतिरका बिरोधीहरू । आफैंत्रिका बिरोधीहरूले बस्नखान दिएका छैनन् । यस्तोमा कमजोर देखियो भने त झनै पो दपेट्छन् ! त्यसैले भित्र जेजस्तो भए पनि बाहिर त दरिलो देखाउनै प¥यो नि !  
“थकान त हुने नै भयो नि कमरेड !” उसले सहानुभूतिको मलम लगायो । ऊ मनमनै सोच्दथ्यो– विचरा....। कहिले काहीँ दया पनि लाग्छ, यी लिगलिगे दौडका प्रमुख जाँचकी पनि कति निठुरी । बीचको बाटो खोजेर यिनैलाई थपक्क पूरा नम्बर दिएको भए के पो बिग्रन्थ्यो र । खेलै खत्तम हुन्थ्यो । तर के गर्नु र जाँचकीहरूको त कुरै छाडौं, आफ्नै सहयोगीहरू समेत बाउँठिएर पो ! कहिले को बाउँठिए, कहिले को । विचरालाई कहिल्यै सन्तोषले बस्न दिएनन् । मान्छेको जातै यस्तै, अर्कोले राम्रो लाएखाएको त देख्न सक्दैन भने सधैं शक्तिमा हालीमुहाली गरेको कसरी पो देख्न सकोस् ! 
विचरा लिगलिगकोट पसेदेखि नै उनले शक्तिआर्जनमा शीर्षाशन गर्दै आएका छन् । यस टोलका साथै लिगिकोटकामा समेत आसन जमाउन उनलाई कम कसरत गर्नु परेन । साम, दान, दन्ड, भेद कुन कुराको मात्र प्रयोग गरेनन्, उनले ? जहाँ जेको प्रयोग गरेर हुन्छ, त्यसैको प्रयोग गरेर यस कोटमा दरिलो आसन जमाएका थिए । हुन पनि यस टोलमा पसेदेखि नै शक्ति आर्जनका लागि आफ्ना र अर्का दुबैतिरबाट अनेकौं विरोध र व्यवधान बेहोर्नु परेको थियो । शक्ति सुरक्षणको त्यो सङ्घर्षंसँगै उनले आफूलाई लिगलिगकोट र कोटभित्रका बँकी गाउँबस्तीका पुराना टोली नेताहरूको अनुकरण गर्न थालेका थिए । जङगलको जीवनशैली र गाउँबस्तीका साना मुखियाहरूका बसउठको शैलीका निकै अन्तर थियो, पटक्कै केही मिल्दैनथ्यो । उनीहरूजस्तै बसउठ गर्ने अभ्यासको बानी पार्न समेत कठिन परेको थियो उनलाई । तर जङ्गल युगमा नै छिमेकी आतिथ्यका बेला धेरथोर अभ्यास गरेकाले मात्रै, नत्र कहाँबाट सक्नु र ? तर सुरुमा कष्टसाध्य लागेपनि छिटै रस लिन थालेको थिएन । छिमेकका जेठा दाइहरूले त्यतिबेला त्यो अभ्यासको कृपा नगरिदिएका भए आफूलाई त्यति छिटो यसरी रुपान्तरित तुल्याउन कहाँ पो सम्भव हुनथ्यो र ! हुन त यता हुँदो पसेपछि पनि जेठादाइहरूले कम सघाएका छैनन् । नत्र यताका लोभीपापीले काँ गरिखान दिन्थेर । यसरी धेरै छलाङका मार्नुपरेको थियो उनलाई । लामो समय सहयोगी रहेकाले उनका हर अभ्यास र एकपछि अर्को छलाङको ऊ पनि साक्षी थियो । उसलाई थाहा छ, अरु ठूला भनिने सबै नेताहरूले यो रूपान्तरण अभ्यासमा कम काँचुली फेरेनन् । यो रूपान्तरण यात्रा सर्पको काँचुली फेराइभन्दा बढी पनि रोमान्चक थियो, पुतलीको जीवनचक्रजस्तै ! पुतलीको प्युपाबाट झुसिलकिराको रूपान्तरण अर्थात मेटामोर्फोसिसभन्दा बढी रोचक । त्यसरी रुपान्तरित हुने क्रममा हिजोका वर्ग शत्रु आज निकटतम सहयोगी मित्र बनेका थिए । हिजो साम्राज्यवादी र बिस्तारवादी भनिएकाहरूसँग गाला जोडेर अङ्कमाल साटिए । तिनबाट हुनसम्मको सहयोग पाइने गरेको थियो । यसरी हिजोका कुनै शत्रु बाँकी थिएनन् आज । बरु हिजो आफूलाई आश्रय र शक्ति प्रदान गर्नेहरू नै शत्रुवत् व्यवहार गर्थे ! कहिले के, कहिले के भनेर कामै गर्न नदिने । त्यसैले उनीहरूलाई पो शत्रुवत् देख्न थालेका थिए नेताजीहरू ! सर्वाहाराहरूको जति नै पक्षधरता देखाए पनि टोली नेता स्वयम् हुनेखाने वर्गकोभन्दा उपल्लो शिखर आरोहणमा रमिरहेका देखिन्थे ।
त्यो देखेर ऊ सोच्ने गर्दथ्यो– आखिर उनीहरू पनि त मध्यमवर्गीय चिन्तनबाटै संस्कारित थिए क्यार ! तसर्थ मध्यमवर्गीय चिन्तनबाट पूर्ण मुक्तिको संभावना पनि त थिएन । उसले देखेको छ, मध्यमवर्ग  आफू अभ्यन्तरमा माथ्लो वर्गको जीवन शैली बाँच्ने सपना देख्छ । अनि त्यसको प्राप्तिका लागि माथ्लो वर्गको विरुद्ध तल्लो श्रमजीवी वर्गलाई उक्साएर हतियार बनाउँदछ । यो सबैतिरको वर्गसङ्घर्षको यथार्थ हो । हामी पनि यसबाट कहाँ अलग छौं र ! तल्लो श्रमजीवी वर्गको काँध चढेर सफलता पाएपछि तिनैलाई धोका दिई आफू माथ्लो त्यही शोषक वर्गको श्रेणीमा छलाङ मार्नु  मध्यमवर्गीय चरित्र नै हो नि । आफ्ना नेताहरू पनि यो यथार्थबाट कसरी अलग रहनसक्थे ? त्यसैले हिजो र आजको उनको जीवनशैलीमा सगरमाथाको टुप्पोदेखि तलको भुइँजत्तिकै गहिरो खाडल देख्न थालेका थिए ऊजस्ता सामान्य कार्यकर्ता ।
“अँ त कमरेड, के भन्दै थिएँ म ...?” यो नयाँ लिगलिगकोटे दौड र टोलभित्रको ङ्यारङुर सुरु हुनु अगाडि उनले एक दिन हिंड्दाहिंड्दै टक्क अडिएर सोधेका थिए । टलक्क टल्किने चिल्लो भव्य मोटरबाट ओर्लिएर आफ्नो स्वागतमा लामबद्ध कार्यर्ता तर्फ हेर्दै निस्किएको थियो त्यो प्रश्न । रातोपिरो रोबिलो अनुहार र कदकाठीका नेताकमरेडको अनुहारमा त्यतिबेला पूर्ण सन्तुष्टि थियो ।
त्यो देखेपछि उसलाई लागेको थियोे– हिजो त यस्तो थिएन ! हर कुरामा असन्तुष्ट देखिन्थे उनीे । समाजको कुनै पनि व्यवस्था प्रति सन्तुष्ट थिएनन् । बाउबाजेको अलिकति भएको छाला टोलीको नाउँमा सुम्पिएर संसार बदल्ने शपथ खाँदै उनी यस क्रान्तिकारी टोलमा होमिएका थिए । त्यतिबेला उनले सानोतिनो प्राप्तिमा चित्त बुझाउने कुरै थिएन । जेमा पनि आमूल परिवर्तनभन्दा तलको कुरै गर्दैनथे । त्यतिबेला ऊजस्ता धेरैका लागि उनको चरित्र, जीवन, जगत र राजनीतिप्रतिको आदर्शपूर्ण अडान, राष्ट्रियताप्रतिको स्पष्ट दृष्टिकोण पे्ररणा बन्ने गर्थे । तिनै कुराबाट प्रभावित भएर र उनकै प्रेरण पाएर ऊजस्ता सयौं कार्यकर्ता लिगलिगकोटे परिवर्तनमुखी आन्दोलनको अग्निमा आफूलाई समिधा बनाएर होमिएका थिए । त्यतिबेलाको उनको गाम्भीर्य, आगो ओकल्ने क्रान्तिदीक्षा, र वर्गीय पक्षधरता प्रतिको दृढताबाट ऊ आफैं पनि अत्यन्त प्रभावित थियो । तर आज.....कति बिन बदलिएका देखिँदैछन् यी हिजोका दन्त्यकथाका धीरोद्दात्त झैं लाग्ने नेताहरू ! कुनै कुरामा साम्यता देख्दैनथ्यो ऊ । उनका ती सबै कुरा क्रमशः यशऐस्वर्य र सत्तालिप्साका शकुनी पासामा छोपिँदै गएका थिए । नजिकैबाट देखेको थियो उसले उनमा आएका यी परिवर्तनहरू ! त्यसैले ऊ कहिलेकाहीँ अलमलिने गथ्र्यो– आजका यी यथार्थ हुन्, कि हिजोका ती परिवर्तनकामी नेता ? के त हिजोको वलिदान उनी आप्mनै र अफूजस्तै केही माथ्ला तहका नेताको आजको प्राप्तिका लागि मात्र थियो ? मात्र उनलाई यो ठाउँमा पु¥याउने सिँढी मात्र थिए ऊजस्ता लाखौं सीमान्तीकृत श्रमजीवीहरू ?   
“नेता कमरेड, हजूर कार्यकर्ताभित्रको क्रान्तिकारी धारलाई साँध लगाइनै रहनुपर्छ, त्यसमा खिया पर्न दिनुहुन्न मर्जी हुँदैथियो ।” उसले रुपान्तरित टोली नेताकै परिवर्तित भाषाको प्रयोग गरेर अगाडि भन्दै गरेका कुराको सम्झना गराइदिएको थियो ।
शहर पसेदेखि नै उनले आफ्नो टोलीको राजनीतिक अभ्यास र रणनीति दुबैमा फेरबदल गरेका थिए । राजनीतक दर्शन उही छ भन्थे नेताहरू, तर त्यो मात्र सार्वजनिक भाषणमा कार्यकर्ता थामथुम पार्ने सामान्य सूत्रमात्र थियो । शहरी, अझ हिजो दुत्कारेका सामन्ती दर्बारी र तिनकै भाषा तथा जीवन शैलीलाई अवलम्वन गर्दै त्यसैलाई शहरी सत्ताकब्जाको हतियार बनाउने टोलको अबको नयाँ नीति थियो । टोली नेता लगायत सबै ठूला नेताहरू त्यसपछिका प्रशिक्षणहरूमा आफ्ना टोलका कार्यकर्तालाई पटक पटक यिनै कुरा बुझाउन व्यस्त थिए ।
“सामन्ती दर्बारी र तिनकै भाषा तथा जीवन–शैलीलाई शहरी सत्ताकब्जाको हतियार बनाउने भन्दाभन्दै कतै हामी आफू र आफ्नो टोललाई नै आत्मसमर्पणको अवस्थामा पु¥याउने त होइनौं । कतै यो अभ्यास आत्मघाती गोलजस्तै उनीहरूमैं समाहित गराउने साधन बन्यो भने नि ?” कोही कोही नेता कार्यकर्ता झिनो आशङ्का प्रकट गर्नेगथे । ं
“होइन त्यस्तो हुँदैन, हामी त्यसो हुन दिँदैनौं ! यही रणनीतिद्वारा हामीले सतर्कतापूर्वक हिजोका सत्तासीन सम्भ्रान्त वर्गका प्रभावशाली घरानाहरूलाई हाम्रैे क्रान्तिकारी स्प्रिटमा फ्युजन गराउनु पर्छ । यही महान् उद्देश्यबाट प्रेरित र निर्देशित छ हाम्रो यो नयाँ रणनीति । त्यसैले यो पलायन र आत्मसमर्पणबादको प्रश्न होइन । त्यस्तो ठान्ने खालका विश्लेषण कतैबाट सुनिएमा त्यो टोलबिरोधी षडयन्त्र मानिने छ । तपाइँ सबै त्यस्ता भनाइको प्रतिवादमा उत्रनुपर्छ, बुझ्नुभयो कमरेड !” नेता कमरेडहरूको त्यति प्रष्ट भाषामा निर्देशन प्राप्त भएपछि ऊजस्ता कार्यकताले अझै अविश्वास गरी प्रश्न उठाउने आँटै पो कताबाट गर्नसक्थे र !
ऊ र ऊजस्ता सामान्य कार्यकर्तालाई भने टोलीको त्यो नयाँ नीति अनुसार आफूलाई ढाल्ने काम त्यति सजिलो थिएन । हिजोको त्यो सर्वाहारा प्रकृतिको जीवनशैलीबाट आजको शासकीय शैलीमा रूपान्तरित हुनु ऊजस्ता कार्यकर्ताका लागि कम रोमाञ्चक अभ्यास थिएन । त्यो नयाँ जीवनशैलीको अनुसरण नेताहरूका लागि कति कठिन रह्यो, उसलाई थाहा भएन । तर ऊ अनुमान गर्नसक्थ्यो– हिजोको सङ्घर्ष कालमा छिमेकी टोलको आतिथ्यभोगको अभ्यासले अहिलेको यो रुपान्तरण अभ्यासलाई निकै मद्दत ग¥यो होला ! जे होस्, आफ्ना नेता कमरेडको आफूलाई चाँडै नै परिवर्तन गर्नसक्ने क्षमता देखेर ऊ अत्यन्त प्रभावित थियो ।
“हो, ठीक भन्यौ । कार्यकर्तामा बढी सुखसयलको बानी बस्न थाल्यो भने टोल कमजोर हुन्छ । त्यागको भावना हराउँदै जान्छ । अहिले हामी सत्ता सञ्चालनको अभ्यास गर्दै छौं, दौडको राजनीति सिक्दै छौं । यस क्रमा विरोधीको रहनसहन, भाषा भेष र जीवनशैलीमा प्रवेश गरेर त्यसैबाट ती बिरोधीलाई परास्त गर्दै महान् श्रमजीवी जनताको अन्तिम युद्धमा विजयी बन्ने हाम्रोे महान् यात्रा भर्खरै प्रारम्भ भएको छ । त्यस्तोमा कार्यकर्ताको एउटा ठूलो पङ्क्तिलाई हिजैको कठोर जीवन शैलीको अभ्यास गराई राखेर क्रान्तिकारी धारलाई पनि धारिलो बनाइराख्नु पर्छ, बुझ्नुभो’ कमरेड ! कार्यकर्ताभित्रको क्रान्तिकारी धारलाई साँध लगाइनै रहनुपर्छ, मार्नुहुन्न...।” सिलसिला टुटेको अघिको वार्ताक्रम जोड्दै लामै संवाद बोलेका थिए उनले ।
हो यही दुई लाइन नीतिमा टोल चलेको लामै समय भइसकेको थियो । यही अभ्यासको फलस्वरूप टोलभित्रै दुईवटा वर्ग तयार हुँदै थियो । त्यो टोल भित्रको वर्गभेदलाई लिएर चेतनशील कार्यकर्ता केही असन्तुष्टि प्रकट गर्थे । केही नेता त्यसमा साथ दिएजस्तै गर्थे, तर त्यो पनि गूटगत शक्तिआर्जनको हतियारभन्दा अगाडि गएको देखिँदैनथ्यो । त्यही झिनो मात्रामा देखिन थालेको असन्तोष दबाउनैका लागि  पनि त्यतिबेला कार्यकर्ताहरूमा क्रान्तिकारी धार लाउने प्रशिक्षणहरू लामै चल्न थालेका थिए । 
“खोइ....चिया आएन कमरेड ?” नेताकमरेडको आवाजले उसलाई विगतका स्मृतिबाट फेरि एकपटक वर्तमानको यथार्थमा ओरालेको थियो । हुन पनि चिया ल्याउन समेत निकै समय लगाएको थियो आज भान्छेले ।
लिगलिगकोट भित्रको यो मात्र होइन प्राय सबै टोलमा यस्ता कुर्सीदौडका खेल चलिरहन्थे । खेलले कहिले यता उच्चता अर्थात क्लाइमेक्स प्राप्त गथ्र्यो, कहिले उता । कुर्सी दौड पनि यो नै पहिलो थिएन । न त पहिलो कुर्सी तान्ने खेल थियो यो । ती सबै खेल बारम्बार भइ नै रहन्थे र सधैँ नै सान्दार र मनोरञ्जनपूर्ण हुनेगर्थे । प्रतियोगीहरू आफ्नो विजय सुनिश्चित गर्न अरु प्रतियोगीलाई कहिले छिर्को हाल्थे, कहिले धोबीपाट कस्थे । त्यस्ता खेलमा कोही असाध्ये सिपालु हुन्थे, कोही अलि कम । कुस्तीको दाउमा प्रतिद्वन्दीलाई धोवीपिटाइ गर्नमा कुनै यत्न बाँकी राख्दैनथे । प्रतिस्पद्र्धीमाथि हरप्रकारका साम, दान दण्ड, भेदको प्रयोग गरिन्थे । आफ्नो जित सुनिश्चित तुल्याउन जे पनि गरिन्थ्यो, यो र ऊ भनिन्नथ्यो । त्यो शक्ति खोस्ने खेलको प्रयोगमा कोही प्रतिस्पद्र्धीका घर भाँड्थे, कोही फुटाउँथे । कोही कसैलाई विदेश सयरको आनन्द लुटाउँथे, कोही गड्डी नै गड्डीले भरिएका ब्रिफकेस कोसेली पठाउँथे । जे होस, खेलको देखाउने केही नियम भएपनि नदेखाइकनै जसले जति धेरै नियम तोड्न सक्यो ऊ त्यति नै बहादुर ठहरिन्थ्यो । बढी नियम तोड्नेले नै पारितोषिकमा सत्ताको वरमाला प्राप्त गथ्यो । यस्ता काममा खर्चपानी जुटाउन गरिने कुनै पनि काम नराम्रा र बेनियम ठानिँदैनथे ।
ऊ सम्झन्छ, त्यतिबेलाको दौड प्रतियोगिता । कुर्सीको खेल सान्दारसँग विभिन्न चरणमा प्रवेश गर्दै गयो । सबै प्रतियोगिताको तामझाम विज्ञापन मोडल छान्ने बहुराष्ट्रिय निगमद्वारा प्रायोजित सुन्दरी प्रतियोगिताको भन्दा कुनै अर्थमा फरक थिएन । केही मामिलामा अलग्गै विशेषता थिए यसका, केहीमा केही समानता ! त्यो विज्ञापन बजारमा लीलामीका लागि बढाबढलाई नै सौन्दर्य ठान्नेहरूको चमकदमकपूर्ण प्रतियोगिता थियो, यो सत्ता ताजका लागि गरिने लिगलिगे दौड । आफ्नो शिरको ताज कसैले जवर्जस्ती खोसेको आरोप लगाउँदै प्रदर्शन गरिएको लामैं बालहठरूपी कचकच सुन्दासुन्दा वाक्क भएका पूर्व ताजधारीले ताजपोस र कुर्सी दुबै खन्याइदिएदेखि नै सुरुभएको थियो दावेदारहरूबीचको यो लिलिगे सत्तादौड ! बालहठले मुकुट शिरमा पुग्न सक्दैनथ्यो, त्यसका लागि प्रतियोगिता जित्नै पथ्र्यो, अरुको समेत साथ पाउनै पथ्र्यो । त्यसैले जति गर्दा पनि समस्या जहाँको त्यहीँ थियो । जेजति नाटक गरे पनि प्रतियोगिताको नतिजा हेर्ने न्यायाधीशहरूको निर्णय बेगर मुकुट खोसेर लाउ सकिँदैनथ्यो ।
जे होस, भरपुर मनोरञ्जन पाइए पनि लिगलिगकोटका जनता भने ती पुराना खेलबाट सन्तुष्ट थिएनन् । न त उनीहरूले सुखचयन नै पाउन सकेका थिए । त्यसैले उनीहरू त्यो पुरानो चलन छाडेर नयाँ चलनको सुरुआत गर्न भनिरहेका थिए । उनीहरू भन्थे– सबैले सबै कुरा मिलेर गर ! तर मुखले लिगलिगकोट बासीलाई खुसी पार्न मिल्न खोजेजस्ताो देखाए पनि भित्री मनमा उनीहरूको मिल्ने चाहना पटक्कै देखिँदैनथ्यो  ।
सुरुदेखि नै मिलेर जाऊ भन्ने लिगिलिगकोटे आदेशलाई कसैले सुनेन । आखिर कोटको सुखशान्तिका लागि कोही न कोही मुखिया त छानिनु नै पथ्र्यो । त्यसैले लिगलिगकोटेले पहिलोपल्ट यिनै ठूलाटोले नेतालाई मुखिया छानेका थिए । उनीहरूको सोचाइ थियो– ठूलाटोले मुखिया माझाटोले र पुछारटोले नेतासँग सरसल्लाह गरेरै अघि बढ्लान् । त्यति मात्र होइन, कोटको शुख, शान्ति र उन्नतिका लागि माझाटोले र पुछारटालेले पनि राम्रै सघाउन, यो उनीहरूको सोचाई थियो । तर न ठूलाटोले मुखियाले मिलेर जाने कुनै चेष्टा गरे, न अरुले नै दिलैदेखि सघाउने काम गरे । ठूलाटोले मुखियाले आफूलाई सर्वशक्तिमान ठानेर आफूखुशी गर्न थाले । त्यो देखेपछि अरुले पनि बिस्तारै साथ छाड्दै गए । लिगलिग कोटवासीले मिलेरै कोटको काम गर भनेर फेरि पनि नसम्झाएका होइनन् । तर जति बूढो भए पनि बाघले शिकार गर्न छाड्दैन भने झैं, ठूलाटोलेको बानीमा परिवर्तन आएन । जति सम्झाए पनि नमान्ने, अरुलाई गन्दै नगन्ने ! सबैतिर कित्ताकाट । त्यो मनोविज्ञानमा अरुको कुरा सुन्ने कुरै भएन । भित्रकाको कुरा सुन्नै परेन, बाहिरकालाई थामथुम पार्ने सूत्रमा जेठा मुखिया पहिलेदेखि विशारद नै थिए । घुक्र्याउनु परे विस्तारवाद र साम्राज्यवादको क्षेप्यास्त्रभेदन गरिदियो, फकाउन परेमा सहयोगी मित्र शक्तिको पाउमा नरम तेलको मालिस लगाइदियो ! तर कति दिन चल्थ्यो र आखिर त्यसरी ? यसैले ठूलोटोले जेठा मुखिया कुर्सी छाड्न वाध्य भए ! आख्रि केही नलागेर बीचैमा पुच्छर लुकाउँदै बाहिर निस्केका थिए ठूलाटोले जेठा मुखिया । त्यपछिका दौडहरूमा त उनी र उनको टोली झनै पछि पर्दै गयो । कुसी दौडको प्रतियोगितामा पनि केही लागेन, दर्जनौं पटकको दौडमा पसिना बगाउँदा समेत आज्जु भेट्न सकेनन् उनले । आखिर हत्तु भएरः प्रतियोगिताबाटै बाहिरिएको घोषणा गरे ।
कति परिश्रम गरे, के मात्र गर्न बाँकी राखेनन् प्रतियोगिताको परिणाम आफ्नो पक्षमा पार्न । सम्झँदा पनि कहाली लाग्छ ! यो प्रतियोगिता सुरु गराउनै कति पसिना बगाउनु परेको थियो । त्यसपछि विजयी बन्न आवश्यक बलबुता र सामदाम दण्डभेदले नपुगेर फुटनीतिको समेत यथासम्भव शक्ति लगाए भरपुर उपयोग गर्नु परेको थियो । तर केही लागेन !
त्यो दौडबाट फिर्ता हुनासाथ त उनका पक्षमा रहेका उनका आफ्नै समर्थक समेत अर्कै छाता ओढ्न पुगिहाले नि !
“त्यतिबेलै हजूरले टोल मुखियाको कुर्सी छाड्न नहुने !” केही बेरको विश्रामपश्चात टोली नेताको अनुहारमा अलि अलि ताजापन देखियो । त्यही देखेर पुराना कुरा सम्झँदै उसले सहानुभूति देखाएर भन्यो “हाम्रो टोलको चलनै नराम्रो, सत्ताबाट बाहिरिइएपछि आफ्नैले पनि खोइरो खन्ने ! नेता कमरेडले लिगलिगकोटको मुखिया पद नछाडेको भए अहिले आफ्नैले यसरी साथ छाड्दै जान्थे र !” 
“हुन त हो,...तर के गर्नु । त्यतिबेला घुक्र्याउँदा बढी पाइएला भन्ने लाग्यो !” उनको स्वर यतिबेला पश्चातापमा डुबेझैं सुनियो । लाग्थ्यो, योे स्वीकारोक्ति वास्तवमैं उनको इमान्दार अभिव्यक्ति थियो !