–विजय चालिसे
(बहुआयाम कार्तिक २०७२ मा प्रकाशित)
विषप्रवेशः
लोकवार्ता वा लोसंस्कृति नयाँ कुरा नयाँ अवधारणा होइन । यो मानव समाजको विकासक्रमसँगै सामान्य लोकजीवनले भोगेका यथार्थ, गरेका अनुभव भएबेहोरेका असमानता, पीडा र उत्पीडन आदि लोक अनुभवको जीवन्त अभिव्यक्ति हो । मौखिक शब्द, दृष्टान्त वा अनुकरणद्वारा प्रंक्षेपित आदिम समाजको साहित्य, भौतिक संस्कृति तथा रीतिरिवाजलाई लोकवार्ता भनिन्छ१ भन्ने भनाइले पनि लोकवार्ता वा लोकसंस्कृति श्रुतिपरम्पराबाट एकबाट अर्को पुस्तामा सर्दै विकसित भएको तथ्य पुष्टि गर्दछ । यसैले लोकसाहित्य वा लोकवार्ताको अस्तित्व अति प्राचिन कालदेख नै रहँदै आएको प्रष्ट छ । उता आजको सन्दर्भमा बहुचर्चित रहेको नारीवाद जोन स्टुअर्ट मिलजस्ता स्वतन्त्रताप्रेमी दार्शनिकबाट नारीको दमन (१८६९) कृतिमार्फत धेरै पछि उठन् थालेको विषय हो । यो आन्दोलनले अठारौं शताब्दीतिर शुरु भएर सन् १९६० पछि मात्रै साइमन द बुभाजस्ता नारीचिन्तकहरूको. नेतृत्वमा स्पष्ट पहिचान प्राप्त ग¥यो । त्यसैले “यस शताब्दीको उत्तरार्ध यता प्रारम्भ भएर सशक्तरूप धारण गर्ने पाश्चात्य मुलुकका अनेक आन्दोलनहरूमध्ये एक हो स्त्री स्वातन्त्र्यवाद”२ । उता लोकवार्ता नारीवादी आन्दोलनभन्दा धेरै अगाडिदेखि मानव सभ्यताको प्रारम्भदेखि नै विकसित हुँदै आएको अभौतिक सम्पदा हो ।
हाम्रो जस्तो पिछडिएको राष्ट्रको अध्ययन परम्परा सुदीर्घ र वैज्ञानिक दृष्टिले व्यवस्थित हुन सकेको पाइँदैन । यही कारणले गर्दा सहजमार्ग अवलम्वन गर्ने क्रममा हामी सबै कुरा पश्चिमबाट आएको भन्ने मान्यतालाई नै अन्तम सत्य मान्दै आएको छौं । कुनै पनि पश्चिमा अध्यनको साँचो वा मापदण्डमा ढालेर गरिने अध्ययन प्रणालीले हाम्रो राष्ट्रियतामा आधारित मूल्यपरम्परालाई पूर्ण न्याय गर्न सक्दैन । नारीवादी दृष्टिकोण तथा नारीशोषण, लिङ्गभेद र मुक्तिका सम्बन्धमा पनि यो कुृरा लागू हुन्छ । त्यसैले पश्चिमी नारीवादी आन्दोलनभन्दा धेरै अगाडिदेखि श्रुतिपरम्पराहुँदै प्रचलनमा रहेको लोकवार्तामा नारीवादी दृष्टिकोण वा नारी शोषण र नारी मुक्तिको कामना मुखरित भएको छ कि छैन ? यो प्रश्नको उत्तर खोजिनु आवश्यक छ । नारीवादी लेखन पश्चिमबाट शुरुभएको भन्ने मान्यता रहे पनि हाम्रो लोकवार्तामा नारीवादी दृष्टिकोणको प्रशस्त मात्रामा अभिव्यक्त भएका छन् । यस तथ्यले पनि गम्भीर अध्ययनको अपेक्षा गर्दछ । हाम्रा लोवार्ताविद्हरूको ध्यानाकर्ष गर्नु मात्र हो यो आलेखको ।
लोकवार्ता, लोकजीवन र अभौतिक सांस्कृतिक सम्पदा
अङ्ग्रेजी भाषामा प्रयुक्त ‘फोकलोर’ शब्दको पर्यायका रूपमा नेपाली भाषामा प्रयोग हुँदै आएको लोकवार्ताले लोककला, लोकअनुष्ठान, लोकव्यवहार लोकसाहित्य, लोकविश्वास आदि पक्षलाई समेट्दछ भने समकालीन विश्वमा विकसित प्रभावशाली सिद्धान्तहरूमध्ये एउटा प्रमुख समाजवैज्ञानिक सिद्धान्त मानिने ‘नारीवाद’ ले नारीको सामाजिक, आर्थिक, राजनीति र समग्र अवस्थाको सुधारका लागि उपयोगर्ने उद्देश्यका साथ समाजमा नारी र पुरुषको विद्यमान् अवस्थाको विश्लेषण गर्दछ ।
‘लोक’ पूर्वपद लागेर ‘लोकवार्ता’, ‘लोकसंस्कृति’, ‘लोकजीवन’, ‘लोकसाहित्य’ जस्ता समस्तशब्दहरूको निर्माण भएको छ । ‘लोक’ शब्दको प्रयोग जनता र जाति विशेषको अर्थमा हुँदै आएको छ । संस्कृत व्याकरण अनुसार लोक दर्शने धातुमा घञ् (अ) प्रत्यय लागेर (लोक+घञ् (अ)=लोक) बनेको यो धातुको अर्थ ‘देख्नु’ वा ‘हेर्नु’ हुन्छ । त्यो हेर्ने वा देख्ने समस्त सामान्यजनको आमजीवनलाई नै यथार्थमा ‘लोकजीवन’ भन्न सकिन्छ । त्यसैले त्यही ‘लोक’ का समान्य जनीवनले स्वतःस्फूर्त रूपमा गर्ने गरेका अभिव्यक्ति, सिर्जना, विधिव्यवहार, रहनसहन, अर्थात् लोकजीवनका सामान्य जनसमुदायको समष्टिगत ज्ञानवैभव लोकसंस्कृति वा लोकवार्ता हो । लोकवार्ता अन्तर्गत भौतिक संस्कृति (भाँडावर्तन, कलाकौशल, आवास, पोशाक आदि) र अभौतिक संस्कृति (चाडवाड, नृत्य, रीतिथिति, र अनुष्ठान तथा तिनमा अभिव्यक्त लोकसाहित्य आदि) दुवै पर्दछन् । ३
लोकजीवनसँग युगानुकूल भएर आफ्नै आत्मा र आफ्नै मुटुको स्पन्दनमा आफ्ना जीवनशैलीलाई सरस र सुन्दर तथा सुखमय र कल्याणामय बनाउनका खातिर तिनीहरूद्वारा सिर्जना गरिएको मनोवैज्ञानिक अभिव्यक्तिले लोकसंस्कृतिको रूपधारण गर्न पुग्यो जसभित्र थरी थरीका लोकविश्वास, लोकमान्यता र लोकपरम्पराहरू, लोकरीतिरिवाज र लोकप्रथाहरू तथा उखानटुक्का, गाउँखानेकथा, दन्त्यकथा, लोकगीत आदि समावेश हुन आउँदछन् ।४
सङ्क्षेपमा भन्नुपर्दा संस्कृति मानवीय सचेत सिर्जना र व्यवहारका यावत कुरा समाहितगर्ने समग्र मानवीय शिल्पचातुर्य हो, जुनभाषा, चिह्न, सङ्केत, विश्वास, परम्परा, भेषभूष, खानपान, रहनसहनआदिका रूपमा मूर्तिकरणहुन्छ । प्रत्येक जाति, प्रत्येक ठाउँ र प्रत्येक देशको आफ्नै परम्परागत व्यवहार हुन्छ र यसैबाट जातीय तथा समष्टिगत राष्ट्रिय सभ्यताको निर्माण हुन्छ । अनन्तपूर्वदेखि आचारविचार आदिमा विकसित हुँदै आएको समाजको यथार्थ स्वरुप झल्कने मौलिक संस्कृति कला–साहित्य, दर्शन–भाषा, धर्म–सामाजिक रीतिस्थिति आदि मूल्यपरम्पराको माध्यमबाट विकसित लोकवार्ता राष्ट्रिय सभ्यताको बाहक पनि हो ।
नारीवाद र लोकवार्ता ः
नारी अस्मिता र नारी स्वतन्त्रताप्रति प्रतिबद्ध मान्यता; सिद्धान्त वा आन्दोलन (फेमिनिजम)५ । यस शताब्दीको उत्तरार्ध यता प्रारम्भ भएर सशक्तरूप धारण गर्ने पाश्चात्य मुलुकका आन्दोलनहरूमध्ये एक हो । समकालीन विश्वमा विकसित प्रभावशाली सिद्धान्तहरूमध्ये एउटा प्रमुख समाजवैज्ञानिक सिद्धान्त मानिने नारीवादले नारीको सामाजिक, आर्थिक, राजनीति र समग्र अवस्थाको सुधारका लागि उपयोगर्ने उद्देश्यका साथ समाजमा नारी र पुरुषको विद्यमान् अवस्थामागि विश्लेषण गर्दछ ।६
नारी अधिकारको खोजीमा जोन स्टुअर्ट मिल लिखित “नारीको दमन (१८६९)” बाट अठारौं शताब्दीतिर शुरु भएको यो नारीवादी आन्दोलनले सन् १९६० पश्चात साइमन द बुभाजस्ता नारीचिन्तकहरूको नेतृत्वमा स्पष्ट पहिचान प्राप्त ग¥यो । आज नेपाली सन्दर्भमा प्रचलित यो पश्चिमा नारीवादी आन्दोलन सम्भवतः छिमेकी देश भारत हुँदै हामीकहाँ प्रवेश गरेको हुनुपर्दछ । यसरी लोकवार्ताको विकासका लागि अत्यन्त आवश्यक पक्ष रहे पनि नारीवादी सिद्धान्त र यसको पहुँचको निकटतालाई भने भर्खरैजस्तो मात्रै मान्यता दिइएको पाइन्छ ।७
अहिले आएर लोकवार्ताविद्हरू महिला अनुभवमाथि केन्द्रित हुँदै विभिन्न सांस्कृतिक सन्दर्भहरूमा उनीहरूले गरेका विविध अनुभव र अभिव्यक्ति बारे अध्ययन गर्न थालेका छन् । सन् १९६० को नारी स्वातन्त्रतावादी आन्दोलनबाट आएका नारी आन्दोलनका पक्षधर लोकवार्ता अध्ययेताका साथै नारीलोकवार्ताकारहरूले लोकवार्ता अध्ययनको क्षेत्रबिस्तार तथा यसको कार्यप्रक्रियाको पुनःपरिभाषित गर्ने उद्देश्यबाट पूर्वस्थापित मान्यतामाथि प्रश्न उठाउन थाले ।
यसरी प्रवेश गरेको नारीवादी आन्दोलनलाई यदाकदा नेपाली समाजमा नारीले भोग्दै आएका सही अर्थका समस्या नारी सशक्तिकरण, शोषण अत्याचारबाट मुक्ति, स्वास्थ्यशिक्षा र अवसरका समानताजस्ता नारी स्वतन्त्रताको अर्थमा भन्दा बढी उपभोक्तावादी जीवनशैली, अभ्यास र उन्मुक्तततालाई नारीवादी आन्दोलन ठान्ने प्रवृत्ति बढिरहेको देखिएको छ ।
“संस्कृतिलाई साध्यको दास होइन, यो ती साध्य स्वयम्का लागि सामाजिक आधारका रूपमा हेरिनुपर्दछ ।” भन्ने स्वीकार गर्दै वल्र्ड कमिसन अन कल्चर एन्ड डेभलपमेन्ट (१९९५) ले संस्कृतिले मानवीय अस्तित्वको अर्थ दिने हुँदा विकासका आधुनिक आयाममा मानव विकासका अभौति अर्थात् सांस्कृतिक पक्षको समान महत्व रहने कुरालाई महत्व दिएको यहाँ स्मरणीय छ ।
यिनै पृष्ठभूमिमा वर्तमान नारीवादी आन्दोलनले उठाएका विषहरूमा नेपाली लोकवार्ताले कतिसम्म आवाज दिएको छ, तिनमा नारीआवाजको प्रतिनिधित्व भएको छ छैन भन्ने जस्ता प्रश्न स्वाभाविक हुन् । सामान्य अध्ययनमा समेत यसको उत्तरमा सकारात्मक सङ्केत पाइन्छ । नेपाली जातीय संस्कार र संस्कृतिका विविध पक्षमा कतिपय असल र आवश्यक तत्वहरू विद्यमान् रहेका छन् । तर पनि यस भित्रका पितृसत्तात्मक चिन्तन र शक्ति नियन्त्रणको मनोविज्ञानले उत्पन्न गरेको नारी तथा पुरुषबीचको असमानता, द्वन्द्व, नारी उत्पीडन, हिंसा, बालविवाह, बहुविवाह, अनमेल विवाहजस्ता दमन र थिचोमिचोलाई थोरै भए पनि नेपाली लोकवार्ताले स्वर दिएको प्रष्ट छ । समाजमा जुन मात्रामा उत्पीडन र अत्याचार हुन्छ, त्यही मात्रामा नभए पनि यस्ता चिन्तनप्रवृत्तिका विरुद्ध केही न केही विरोध र विद्रोहले निकास खोजेकै हुन्छ । लोकजीवनका अनुुभव, अनुभूति र समस्याहरूको परम्परागत अभिव्यक्तिका माध्यम लोकसाहित्यका विविध विधामा झिनै भएपनि ती असमानता, उत्पीडन आदिलाई लिएर आवाज उठ्नु स्वाभाविक हो; र ती आवाज पश्चिमी नारीवादको आन्दोलन उठ्नुभन्दा धेरै अगाडिदेखि नै मुखरित हुँदै आएका हुन् ।
यस आलेखको उद्देश्य यी समग्र प्रश्न र पक्षहरूको विस्तृत अध्ययन गर्नु होइन, यसतर्फ विद्वत् वर्गको ध्यान आकृष्ट गर्नु मात्र हो । किन भने हाम्रो सन्दर्भमा गर्नु पर्ने धेरै काम बाँकी नै छ । आजसम्म हामीले सबै कुरा अरुकै धारणा, दृष्टिकोण र सन्दर्भमा विकसित सिद्धान्त–अवधारणाको आधारमा गर्दै आएका छौं । त्यसैले हाम्रो आफ्नो सन्दर्भमा विगत केलाउनु र सांस्कृतिक–सामाजिक आन्दो्लनको इतिहासमाथि थप र गंभीर अध्ययन विश्लेषणको आवश्यकता बारे ध्यानाकर्षण गर्नु नै यसको उद्देश्य हो ।
नेपाली लोकवार्तामा नारीवादी चेतना र सशक्तिरण ः
लोकसाहित्य जनह्रृदयको उद्गार८ भएकोले यसमा नरी शोषण र त्यसरी शोषित नारीको मुक्तिकामी स्वरले वाणी पाउनु अत्यन्त स्वाभाविक छ । मानिसले आफ्नो भूल गल्तीबाट पाएका शिक्षाहरू तथा आफूले जीवनसङ्घर्षमा पाएका अनुभवहरूलाई लोकसाहित्यको रूपमा सँगालिदिएको छ ।९ यसले लोकजनको सुख–दुःख, हर्ष विस्मात र समाजका आर्थिक, सामाजिक विसङ्गतिहरूलाई लोकवार्ताका विभिन्न विधा मार्फत वाण्ीा दिँदै आएको छ । तिनै लोकसाहित्यका मध्यमबाट प्राचिन लोकजीवनले भोग्दै आएका मनका विषाद्, सामाजिक विसङ्गति, नारीले भोग्नु परेका कष्ट र प्रताडना आदिलाई मनग्गे आवाज दिएर लोकसाहित्यले यस विपरित जनचेतना वृद्धि गर्दै सुधारका लागि जनमत निर्माण गर्नमा सहयोग पु¥याउँदै आएको छ । लोकथाजस्ता लोकसाहित्यले परम्परा निर्वाह मात्र नगरेर परम्पराको निर्माण पनि गर्ने गर्दछ ।१०
कुनै पनि समाज जड हुँदैन । त्यसमा गलत परम्परालाई विस्थापित गर्ने नयाँ परम्परा निर्माणको प्रक्रिया निरन्तर चलि नै रहेको हुन्छ । त्यो परम्परा निर्माणको यात्रा नेपाली समाजमा पनि निरन्तर चलिरहेको छ र त्यसमा आवश्यक विरोध र विद्रोहको बीजरूपलाई लोकसाहित्यले यथार्थपरक तथा अनुभूतिजन्य लोकवाणीका माध्यमले सिञ्चन गर्दै आएको छ । समाजमा कुनै पनि नयाँ परम्परा निर्माणका लागि विरोध र विद्रोह आवश्यक हुन्छ र नेपाली लोकसाहित्यमा प्रकट भएका आवश्यक नारी छट्पटी, असन्तुष्टी, विरोध र विद्रोहको स्वरले पनि प्रत्यक्ष–परोक्षमा गलत परम्पराको विरोधमा सचेतता निर्माण गर्दै आएकोछ; नयाँ परम्पराको निर्माणमा लोकचेतना बढाउने काम गर्दै आएको छ ।
महाभारतको जुवाको खालमा हारिएकी द्रैपदीको “आफैं हारेर दास बनेका पतिले आफूलाई खालमा थाप्ने अधिकार कसरी पाए” भन्ने आशयको विद्रोही प्रश्नदेखि आजका चेलीबेटी बेचबिखन र वैदेशिक रोजगारीमा पराइ भूमि पुगेर भोगेका यातनाका लोकअभिव्यक्तिहरूलाई के हाम्रो पूर्वीय सन्दर्भमा नारीवादी चेतनाको स्वर मान्न सकिँदैन ? लोकसाहित्यका विधा लोककथा, लोकगीत–लोकपद्य, लोकगाथा, लोकनाट्य, लोकोक्ति, उखान, टुक्का, गाउँखाने कथालगायत सबैमा नारी शोषण र विद्रोहको केही न केही झिल्को भेटिन्छ ।
लोकसाहित्यमा जनजीवनको पीडा–सङ्र्षको सामाजिक यथार्थ समाहित हुन्छ । झ्याउरे गीत, देउडा, घाँसेगीत, आदिमा अभिव्यक्त नारी जीवनका दुःख–पीडा र त्यसबाट खोजिएका मुक्तिकामनाका भावले नारी आन्दोलन शङ्खघोष गरेका छैनन् र ? हेरौं तलका दुई लोकगीत जसले जन्मदेखि नै दुःःख भोग्दै आएका नारीजीवनको यो असन्तुष्टिमा त्यसबाट मुक्तिको छट्पटी प्रष्टै देखिन्छ ः
एउटा दानो जामिरैको तीन बिसौची चुक,
जम्र्याइदेइ दुःखैछन् मङ्न कैल हुनन् सुख ।११
×
और सबै बझाङकी मै एक्ली छान्नाकी,
कैलै सुदिन फर्कन्ना कि इसाइ दिन् जान्ना कि ?१२
अगाडि नै उल्लेख गरियो– लोकगीत–लोकगाथामा बहुविवाह, बालविवाह, दाइजोप्रथा र जारीप्रथा, चेलीको धन खाने प्रचलन, एकलमहिलाको अवस्था, सतीप्रथा घरेलु हिंसा आदि नारी समस्याका प्राय सबै पक्षको सजीव चित्रणद्वारा सामाजिक यथार्थको प्रकटीकरण गरिनुका साथै तिनका माध्यमबाट यस्ता असमानताजन्य नारी उत्पीडनको विरोधमा समेत लोकमतको सिर्जना गर्न प्रत्यक्ष–परोक्ष योगदान पु¥याएका छन् । जस्तो गण्डकी प्रदेशमा प्रचलित लोकनाटक घाटुमा पति राजाको मृत्युपश्चात रानी अम्वावतीको शतीगमन जस्ता प्रसङ्गले कालान्तरमा शती प्रथा उन्मूलन गर्ने चेतनाको विकासमा केही न केही योगदान गरेन होला त ? यसरी नै हरिमल्ल राजा र भव मल्ली रानीको गाथा होस् वा मनकोइला रानीको गाथा, यस्ता प्राय लोकसाहित्यले नारीवादी आन्दोलन चासोका विषय बालविवाह र वहुविवाहजस्ता लोजीवनका नकारात्म पक्षले राम्ररी अभिव्यक्ति पाएका छन् । जस्तोः
एकबीस पाँचैका हरिमल्ल राजा
चर पुगी पाँचैकी भव मल्ली रानी
यी दुईको विवाह भयो ।१३
माथि नै उल्लेख गरियो, गरीवीले ल्याएका खरावीहरूमध्ये जारी प्रथा र चेलीको धन खाने प्रचलन पनि हो । जारी बुझाउने वाध्यतामा कतिले घरबार गुमाउनु परेको छ, कतिले यसको नाजायज फाइदा उठाइरहेका पनि छन् । यरी नै चेलीको धन खानेजस्ता कुप्रथले अनमेल विवाह मात्र होइन मुखमोजिमको धन बुझाउन नसक्ने बाबसआमाका कति चेलीहरू वर नपाएर अविवाहितै रहनु परेका घटना नेपाली समाजका यथार्थ हुन् । यी कुप्रथा र तिनका दुष्प्रभावहरूलाई नेपाली लोकगीतले प्रशस्त मात्रामा स्थान र वाणी दिएका छन् । ती आवाजले नारीमाथि भइरहेका यस्ता कुप्रथाको अन्त्यका लागि परोक्ष जनमत सिर्जना गर्ने काममा अवश्य नै धेरथोर सहयोग पु¥याएको हुनुपर्छ । यो प्रयासलाई नेपाली सन्दर्भमा पश्चिमा नारीवादी आन्दोलनभन्दा पनि अगाडिदेखि चलेको लोकआन्दोलन मान्दा फरक नपर्ला ? जारी प्रथा र चेलीको धन खाने प्रथासम्बन्धी यी दुई लोकगीतका उदहरण हेरौं ः
काँलाई छ बालेको बत्ती काँलाई छ देवती
पैसा छन् ता छन्काई लैजा मेरा नाउँको खेती । १४ ×
कलेना मुख्येकी चेली मालभन्नी मालै हो
मुख्खेकी धनचडी भै गै अरुखी कालै हो । १५
टुङ्ग्यौनी
सुरुमैं भनेजस्तो हाम्रो जस्तो पिछडिएको राष्ट्रको अध्ययन परम्परा सुदीर्घ र वैज्ञानिक दृष्टिले व्यवस्थित हुन नसकेको कारणले गर्दा सहज मार्गको अवलम्वन गर्ने क्रममा हामी सबै कुरा पश्चिमबाट आएको भन्ने मान्यतालाई सहजै स्वीकार गर्दै आएका छौं । नारीवादी दृष्टिकोण तथा नारी शोषण, लिङ्गभेद र मुक्तिका सम्बन्धमा पनि यो कुृरा लागू हुन्छ । यही पृष्ठभूमिमा यहाँ श्रुतिपरम्पराबाट पश्चिमी नारीवादी आन्दोलनभन्दा धेरै अगाडिदेखि प्रचनमा रहेको लोकवार्तामा नारीवादी दृष्टिकोण वा नारी शोषण र नारी मुक्तिको कामना मुखरित भएको छ कि छैन भन्ने कुरा सरसरती हेर्ने सामान्य उद्देश्य राखिएको छ ।
नेपाली समाजमा सहरी जनसंख्याको सम्पन्न तथा नवधनिक वर्गको एउटा हिस्सा आधुनिक नारीवादका नाउँमा बाहिरी संस्कृतिको अन्धाधुन्द अनुकरण गरिरहेको छ । यही समाजको अर्को सर्वाधिक ठूलो हिस्सा आर्थिक सामाजिक शोषणको हतियारका रूपमा विकसित गलत संस्कार र व्यवहारलाई नै वास्तविक संस्कृति ठानेर अझै शोषण–उत्पीडनको जीवन भोगिरहेको छ । अमेरिकी नेतृत्वले अघि बढाएको खुला बजार अर्थव्यवस्था र भूमण्डलीकरण प्रक्रियासँगै विकसित भएको उपभोक्तावादको छद्म प्रभाव नारीवादी आन्दोलनमा समेत पर्दै गएको छ । तसर्थ यस्ता दुष्प्रभावबाट बच्न र सही अर्थमा नारी मुक्तिका लागि सशक्तिकरण प्रयासका साथै नारीवादी आन्दोलनलाई हाम्रो आफ्नै सामाजिक धरातलीय मूल्य अनुरुपको सही बाटो दिन हाम्रा आफ््नै परम्परागत प्रयासबारे शोधखोज र अध्ययन तर्फ थप प्रयास जरुरी छ ।
सन्दर्भ
ज्ञ। त्जभ ल्भध भ्लअष्अयिउभमष्ब द्यचष्तबलष्अब, खय।ि ष्ख, ीयलमयलस ध्ष्ििष्बm द्यभलतयल एगदष्किजभचक, ज्ञढडज्ञ।
२. भट्टराई, गोविन्दप्रसाद (डा.), नारीवादी समालोचना, पश्चिमी बलेसीका बाछिटा,नेराप्रप्र २०६१ ।
घ। त्जभ ऋबmदचष्मनभ भ्लअष्अयिउभमष्ब, द्धतज भमष्तष्यल, ग्।प्।, ऋबmदचष्मनभ ग्लष्खभचकष्तथ एचभकक, ज्ञढढज्ञ।
४. नेपाली साहित्यकोश, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, २०५५ ।
५. नेपाली बृहत् शब्दकोष (२०६०), नेराप्रप्र ।
ट। ऋचयककmबल, ब्कजभिथ, ब् ँझष्लष्कत त्जभयचथ बलम ँयपियिच, ब्कप।ऋयm, जततउस्ररअबिककष्अष्ति ।
ठ। प्यगकबभियक, ल्ष्अयभि, बक त्रगतभम दथ ष्ल ँझष्लष्कत त्जभयचथ बलम ँयपियिचभ, बकप।अयm, जततउस्ररअबिककष्अष्ति।)
८. उपाध्याय, कृष्णदेव, लोकसाहित्यकी भूमिका २०३४, साहित्य भवन प्रालि. इलाहवाद ।
९. चालिसे, विजय, डोटेली लोकसंस्कृति र साहित्य (दोस्रो संस्करण २०६५), साझा प्रकाशन काठमाडौं
१०. दिवस, तुलसी, नेपाली लोककथाः केही अध्ययन २०३३, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, काठमाडौं ।
११. गिरी, जीवेन्द्रदेव, लोक साहित्यको अवलोकन २०६७, एकता प्रकाशन, काठमाडौं ।
१२. चालिसे, विजय, ऐ....ऐ........।
१३. गिरी, जीवेन्द्रदेव, ऐ.....ऐ.....।
१४ चालिसे, विजय ऐ.....ऐ.....।
१५ चालिसे, विजय ऐ.....ऐ.....।
No comments:
Post a Comment