Friday, November 25, 2011

सरल भइकन पनि अत्यन्त गहन व्यक्तिका धनी भवानी दाइ !

(भानु अङक १४५, असोज–कार्तिक २०६८, भवानी घिमिरे विशेषाङ्कमा प्रकाशित)

सुरु कताबाट गरौं ? भवानी दाइसँगका थोरै भए पनि मेरा मानस विबम्बमा सम्झनाका बहुमूल्य क्षणहरू छन् । मेरो भवानी दाइसँग त्यतिबिन लामो र निरन्तरको बसउठ हुन पाएन । केही भए पनि त्यस्तो पहिलो बसउठ, भेटघाट र सरसङ्गतको अवसर २०४५ सालको साझा प्रकाशन सञ्चालक समितिका लागि भएको निर्वाचनले जुटाएइदिएको थियो । त्यसअघि भवानी दाइसँग सामान्य परिचय थियो । तर सँगै हिँड्ने र नजिकबाट सङ्गत गर्ने अवसर भने पाएको थिइन । उत्साहको  साहित्यिक गोष्ठी, साहित्यिक पत्रकार सङ्घको आयोजनामा हुने गरेका बनभोज र अन्य गोष्ठी–कार्यक्रम आदिमा उहाँसँग छिटपुट भेट हुनेगथ्र्यो । ती भेट मात्र अल्प र औपचारिक थिए ।
उहाँका बारेमा दन्त्यकथाजस्तै अनेकौं कुराहरू सुनिन्थे । उहाँको खाना प्रेम, मधुरस प्रेम, जहाँ बस्यो, जहाँ पुग्यो त्यहीँ रमाउने रमाउने फक्कड स्वभाव आदि आदि । उहाँका पछिल्तिर यस्तै अनेकौं कुरा रस लिई लिई सुनाइन्थे, उहाँका अन्तरङ् भनिने मित्रहरूबाटै ! यस्ता भवानी पुराणमा अरुका लागि मरिमेट्ने बानी र अफूपनि अरुबाट त्यस्तै निःस्वार्थ व्यवहारको अपेक्षा राख्ने साधुचरित्रका बारे कमै चर्चा हुन्थे । नजिकबाट आनी बानी नपाउन्जेल त त्यस्ता कुरा सुन्दा हामी पनि राम्रै रस लिन्थ्यौं । तर जब भवानी दाइलाई नजिकबाट जान्दथ्यौं, ती सबै कुरामा अतिरञ्जनाका बाक्लै लेप लगाएका हुन्थे भन्ने बुझ्न कठिन पर्दैनथ्यो । ती चर्चामा उहाँलाई कतै खञ्चुवा पात्रका रूपमा अतिरञ्जित वर्णन हुन्थे, कतिमा दन्त्यकथा र मिथकीय पात्रका अतिमानवीय चरित्र र पात्रका रूपमा चित्रित गरिन्थे । त्यसैले उहाँका बारेमा सुनिने ती अधिकांश आख्यानमा म भवानी दाइभित्रको एउटा सशक्त द्रष्टा व्यक्तित्व र मान्छेलाई सामाजिक संरचनाको सबैभन्दा तल्लो धरातलमा रहेर श्रम, स्वतन्त्रता र मानवको पक्षमा निरन्तर समर्पित आम मान्छेका पक्षधरतामा सदा चिन्तनशील भवानी घिमिरेलाई मात्र विदूषकीय चरित्र र स्वरूपमा प्रचारित गर्ने कसरत नै बढी देख्ने गर्दथेँ ।
भवानी दाइसँग त्यस्तो खालको अन्तरङ्ग सम्पर्कमा नरहे पनि नेपाली साहित्यको विद्यार्थी हुनुका साथै आफू पनि सानैदेखि केही लेख्ने भएकाले उहाँको कविता र अझ प्रभावशाली वाचन शैली अर्थात् रिसाइटेनसँग अपरिचित थिइन । त्यति बेला वाचन शैलीमा भवानी घिमिरे र तुलसी दिवस निकै चर्चित थिए । त्यसैले धेरै कविहरू मञ्चमा कविता वाचन गर्दा उनीहरूका वाचन शैलीको अनुकरण गर्ने निकै प्रयास गर्थे ।
वि.सं.१९७७ असोज नवरात्र चौथीका दिन विराटनगरको एटा सम्पन्न अर्थात् मझौलो खालको जमिन्दार परिवारमा जन्मिएका भवानी दाइ सानैदेखि विद्रोही स्वभावका थिए रे ! यसरी भवानी दाइको विद्रोहको प्रथम भूमि परिवारभित्रैको सामन्ती व्यवहार बन्न पुग्यो । उनी घरका सबै सुखसुविधा त्यागेर त्यही विद्र्रोही जीवन बिताउन थाले कहिले नेपाल, कहिले वनारस गर्दै । बनासर प्रवासमैं उनले बीएसम्मको अध्ययन पूरा गरे । यी केही सुनेका र केही पढेका कुराले ममा भवानी दाइप्रति सुरुदेखि नै श्रद्धा र आदरको भावना विकसित भयो । त्यसैले निकटको परिचय पाउनुपूर्व नै भवानी दाइ मेरा आदरणीय थिए, श्रद्धेय थिए र थिए प्रेरणास्पद व्यक्तित्व !
विद्यार्थीकालमा वनारसबाटै लेखन प्रारम्भ गरेका भवानी दाइको पहिलो रचना उनकै भनाइमा “दो मित्र” शीर्षक हिन्दी रचना हो । नेपालीमा प्रकाशित पहिलो रचना युगावाणीको वर्ष ५ अंक ६ मा प्रकाशित “समता” थियो । यो उहाँको पहिलो निबन्ध रचना हो भने पहिलो कविता “नारी” (२०१०) । उहाँको पहिलो कथा “विधवा” पनि युगवाणीमैं प्रकाशित भयो । भवानी दाइ मूलतः कविका रूपमा स्थापित मानिनु भए पनि उहाँका शुरुका प्रकाशित कृति कथा सङ्ग्रह थिए । “आत्मज्वाला” (२००९) र “नानी” (२०१३) उहाँका सुरुका कथा सङ्ग्रह हुन् । उहाँले “माक्र्स र माक्र्सवाद” (२०२६) का साथै “माओत्सेतुङ बारेको जीवनी” समेत अनुवाद गर्नु भएको देखिन्छ । “महानन्द जीवनी” र “राष्ट्र र राष्ट्रियता” उहाँका अन्य कृति हुन् । “स्मृतिका रेखाहरू” (२०४५) उहाँको चर्चित कविता सङ्ग्रह हो । भवानी दाइको व्यक्तित्व र लेखन बहुमुखी रहे पनि उहाँको परिचय भने विशेष गरी वरिष्ठ कवि र साहित्यिक पत्रकारका रूपमैं बढी चर्चित र प्रतिष्ठित रहन पुग्यो । कवितामा सरल भाषा–शैली र शक्तिशाली भाव तथा बिम्बको प्रभाव उहाँका विशेषता हुन् । यिनैका माध्यमबाट पाठक र स्रोताको मनमा झ्वाम्मै प्रभाव पार्ने भवानी दाइको आफ्नै शैलीगत विशेषता रहेको छ । प्रगतिशील–प्रगतिवादी लेखनमा अग्रणीस्थान राख्ने भवानी दाइ यस धाराका अग्रज व्यक्तित्व हुन् । साहित्यिक पत्रकार सङ्घका संस्थापक अध्यक्ष भवानी दाइ “प्रगतिशील लेखक सङ्घ”का सल्लाहकारको गरिमामय जिम्मेवारीमा समेत रहनुभयो । यिनै योगदान स्वरूप उहाँले “साहित्यिक पत्रकारिता पुरस्कार” (२०४५), “गणेश स्मृति पुरस्कार” (२०५१), “गोरखा दक्षिण बाहु तेस्रो”, “राजवंशी साहित्य पुरस्कार तथा अभिनन्दन” २०५० जस्ता पुरस्कारका साथै “देवकोटा स्मृति भवन समिति” २०४०, “झापाली समाज” २०४५ आदिबाट सम्मान प्राप्त गर्नुभयो । जीवनको अधिकांश समय यायावरीमा फक्कड जीवन विताउने विशिष्ट व्यक्तित्व भवानी घिमिरेले जीवनको लगभग अन्तिम कालखण्डमा कुमारीगाल, चावहिलमा सानो बास जोड्नुभएको थियो । भएको पैत्रिक जमिन्दारीलाई समेत लात हानेर सङ्घर्षमय जीवनलाई पूजा गर्दै आएका भवानी दाइको अभीष्ट घरजग्गा आदि भौतिक सम्पत्ति र सुख सयलको प्राप्ति पटक्कै थिएन । असल मान्छेका रूपमा बाँच्ने अभ्यासमैं समर्पित भवानी घिमिरेको जीवन समाज परिवर्तनका निमित्त विभिन्न कालखण्डका आन्दोलनका नेतृत्वमा नै बित्यो, चाहे त्यो बुट पालिस होस् चाहे गणतान्त्रिक आन्दोलनका पक्षमा भएको कालो पट्टी आन्दोलन । साहित्य जीवनजस्तै हुनुपर्छ, जीवनलाई उठाउने हुनुपर्छ भन्ने विश्वास गर्ने भवानी घिमिरेको समग्र जीवन नै जीवनलाई अग्रगामी मार्गमा उठाउने साहित्यको लेखन–प्रबद्र्धनमा बित्यो । वाल्यकालमैं आफ्नै घरभित्रको सामन्तवाद विरुद्ध विद्रोह गर्ने घिमिरे नेपाली साहित्यको प्रगतिशील आन्दोलनका समेत अत्यन्त प्रेरक व्यक्तित्व हुन् । 
लेखन, साहित्यिक पत्रकारिता र सक्रिय आन्दोलनको नेतृत्वगरी भवानी दाइले तिनैवटा  मोर्चाबाट उत्तिकै सशक्त र प्रभावकारी ढङ्गमा परिवर्तनमुखी सांस्कृतिक–साहित्यिक आन्दोलनलाई लामो सयसम्म हाँक्नुभयो । भानु मासिकको सम्पादन–प्रकाशन, साहित्यिक पत्रकारसङ्घ, र सडक कविताक्रान्ति–२०३६ आदिको प्रत्यक्ष–परोक्ष नेतृत्वमा भवानी दाइ मूल केन्द्रमा हुनुहुन्थ्यो । यो आन्दोलनले साहित्यलाई राजनीतिक परिवर्तको सहयोगीकारूपमा प्रत्यक्ष सहयोग मात्र नपु¥याएर भूपि शेरचनको सरल, सहज र संप्रेष्य काव्य लेखनबाट दिशान्तर हुँदै क्लिष्ट काव्यशैलीमा दिग्भ्रमित हुन पुगेको नेपाली कविता लेखनलाई पुःन सरलतातर्फ मोड्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । यति मात्र होइन कवितालाई आम मानिससँग जोडेर आम मानिसको जीवनवादी सङ्घर्षमा साहित्यको प्रत्यक्ष सरोकार समेत सिद्ध गर्न पनि सघायो । यस अभियान अन्तर्गत भवानी दाइले यस अघि नै झापाबाट भोक कविता लेखनको आन्दोलन सुरु गरिसकेका थिए ।   
नेपाली सांस्कृतिक आन्दोलनका यति महत्वपूर्ण हस्ती भवानीदाइसँग लामो समयसम्म मेरो निकटतम सम्बन्ध रहन सकेन । त्यसको प्रमुख कारणमा मेरै सङ्कोची स्वभाव थियो । म आफैं उहाँसँग घनिष्ट भएर नजिकिन सकेको थिइन, न त त्यति अन्तरङ्ग खालको भेटघाट र कुराकानी नै हुन सकेको थियो ! त्यत्तिकैमा २०४५ सालमा साझा प्रकाशनको सञ्चालक सदस्य निर्वाचन हुने भयो । साझाको चुनाव मूलतः प्रगतिशील र प्रजातान्त्रिक समूहको शक्तिपरीक्षणका रूपमा चर्चित हुने गथ्र्यो । त्यतिबेलासम्म चावहिलभन्दा यताको मत लगभग निर्णयक हुनेगथ्र्यो र यस क्षेत्रको भोट भनेको बहुमत वामप्रगतिशील भोट नै थियो । अहिले त्यो गणित र समीकरणमा फेरबदल आइसकेको छ, तर त्यतिबेलासम्म यो नै सत्य थियो । मित्र विमल निभा अघिल्लो निर्वाचनबाट निर्वाचित सदस्य हुनुहुन्थ्यो । विमलजी र अन्य साथीहरूकै सल्लाहमा त्यस पटक म उम्मेद्वारा बनेको थिएँ । भनिहालेँे, साझाको चुनाव काङ्ग्रेस र कम्युनिस्टबीचको शक्ति परीक्षण नै मानिने हुँदा यसमा प्रजातान्त्रिक र प्रगतिशील साहित्यकारहरू समेत पुरै ध्रुवीकृत हुने गर्थे । तटस्थ केही र विभिन्न कारणले अभिन्न रहेका केही बाहेक सबैमा यो ध्रुवीकरणको मनोविज्ञानले काम गथ्र्यो । यो सैद्धान्तिक ध्रुवीकरणका अतिरिक्त कतिलाई चुनावका नाउँमा उम्मेद्वारले गर्ने खर्च र गराउने खानपानले आकर्षित गथ्र्यो, कतिलाई के ले । अनि कतिलाई जतीय–भाषिक साम्प्रदायिकताको सीमाले आफ्नो बन्धनमा पाथ्र्यो । त्यो अबस्थामा मेरा प्रतिद्वन्दी कृषि विकास बैकका अधिकृत एकजना जोशी थिए र त्यहाँ साझा प्रकाशनको निर्वाचनमा प्रभाव पार्न सक्ने साहित्यकारको एउटा झुण्ड नै थियो । त्यही झुण्डको चुनावी रणनीति अनुसार ती प्रतिनिधिलाई कहिल्यै वितरण नगरिएको पुरस्कार त्यही बेला घोषणा गर्न लगाइयो, उनलाई रातारात महान् साहित्यकार सावित गराउने अनेकौं कसरतहरू भए र त्यतिबेलाका साहित्यिक महारथिहरू धेरैलाई उनका पक्षमा खुलेरै बोल्न लगाइयो । अर्थात् यो सबै कुराले निर्वाचनमा उनको स्थान बलियो देखिँदै गयो । यो देख्दा सुरुमा त विमल निभा, श्यामल, राजव आदि साथीहरू चिन्तित पनि देखिनुभयो–उता हेवीवेटहरूको जमात छ । हामी सीमित । कतै हारिने त होइन चुनाव ? कहाँ  प्रतिद्वन्दीप्रतिको त्यो हेवीवेट समर्थन र उनको गतिवान विलिस हो कि के हो जिपमा सर्र गुड्दै पिकनिकको मुडमा भइरहेको चुनाव प्रचार ! कहाँ आफ्नो ९० सीसीको टुर्टुरे होन्डा मोटरसाइकलमा मस्वयम् र धेरैजसो मित्र विमल निभा अनि कहिले काहीँ राजव, श्यमालको पालोफेरोको साथ ! सहयोगको अपेक्षा उतापटि समेत रहेपनि मित्र ज्ञानुवाकरले सकेको सहयोग गरे । तर पनि कति मात्रै भ्याउने टुर्टुरे होन्डा मोटरसाइकलमा ? जे होस् हामी त्यही टुर्टुरे होन्डा मोटरसाइकलमा सकभर मतदाताको घरघर पुग्ने प्रयत्न गरिरह्यौं ।
त्यही बीच भवानी दाइको सहयोग बिना हाम्रो युद्ध मोर्चा बलियो नहुने भएकोले उहाँको सहयोग लिने कुरामा हामीबीच सल्लाह भयो । सुरुमा विमलजी र म गयौं क्यारे भवानी दाइलाई भेटेर सहयोगको लागि अनुरोध गर्न । उहाँले सहजै र निःस्वार्थ रूपमा हाम्रो अनुरोध स्वीकार्नुभयो र अनि सुरुभयो भवानी दाइ र मेरो टुर्टुरे यात्राको अर्को चरण । यो नै मेरो उहाँसँगको नजिकको सम्पर्क र सम्बन्धको प्रारम्भबिन्दु थियो । उहाँले त्यतिबेला त्यस्तोत्यस्तो ठाउँमा लानुभयो, जहाँ उहाँ बाहेक अरु कसैको पनि सम्पर्क थिएन र भएनै पनि उहाँले भनेको बाहेक अर्कोलाई मरे भोट जाँदैनथ्यो । झम्सीखेलदेखि नाराणचौर हुँदै भवानी दाइसँगको ज्ञानेश्वरसम्मका यस्ता अनेकौं यात्रा वास्तवमा मेरो विजयकालागि महत्वपूर्ण यात्रा बने र अन्ततः महारथिहरूको समर्थन रहेको उम्मेद्वारलाई परास्त गरी निकै ठूलो अन्तरको मतमा हाम्रो पक्षले निर्वाचनमा विजय हासिल ग¥यो । त्यो परिणाम विमल निभा लगायतका मित्रहरू र भवानी दाइको सहयोग बिना कुनै हालतमा सम्भव थिएन । भवानी दाइसँग हिँडेका ती क्षण, साँझ–बिहान र मध्याह्नका घामहरू मेरो जीवनका नबिर्सनेमध्येका थोरैमध्येका अत्यन्त महत्वपूर्ण दिनहरूमा पर्दछन् !
त्यस्ता प्रेरणदायी अग्रजसँगको अर्को एउटा अनौठो संयोग पनि परेको छ मेरो । त्यसको सङ्क्षिप्त चर्चा गर्दै यो सानो संस्मरणको बिट मार्न चाहन्छु ।
यकिन तिथि–मिति बिर्सें । २०६६ सालको कुनै एक दिन हुनुपर्छ । मेरो जीवनमा एउटा अनौठो अवसर आइप¥यो । मित्र प्रयागराज भट्टराईको अनुरोध र चावहिल चुच्चेपटीस्थित बाबा बोर्डिङ स्कुलको अनुरोधमा त्यही स्कुलको एउटा आन्तरिक प्रतियोगिता र वरिष्ठ व्यक्तित्व सम्मान कार्यक्रमको प्रमुख आतिथ्य स्वीकारेको थिएँ मैले । अफिसको कामको चापमा थिएँ, कार्यक्रमको डिटेल सोध्न पनि भ्याएको थिइन । त्यसैले स्कुलकै कुनै शिक्षकको सम्मान होला भन्ने मेरो अनुमान थियो । कार्यक्रममा गएपछि पो थाहा पाएँ, मैले स्कुलका तर्फबाट सम्मान गर्नु पर्ने वरिष्ठ व्यक्ति त मेरै अग्रज भवानी दाइ पो हुनु हुँदो रहेछ । भवानी दाइको सम्मान कार्यक्रममा म आफूलाई प्रमुख अतिथिकालागि उपयुक्त पात्र ठान्दिनथेँ । तर अब उम्कने पनि कुनै ठाउँ थिएन । त्यसैले सङ्कोचवश नै भए पनि भवानी दाइजस्ता मभन्दा हर दृष्टिमा वरिष्ठ, अग्रज र कतिपय कुरामा मेरा पनि गुरु व्यक्तित्वलाई स्कुलका तर्फबाट प्रदान गरिएको सम्मान, सम्मानपत्र र दोसल्ला प्रदान गरेर आफूलाई नै अहोभाग्य सम्झेको थिएँ । यथार्थमा भवानी दाइकोभन्दा पनि मजस्ता कनिष्ठको सम्मान थियो त्यो । आफूभन्दा कनिष्ठबाट प्रदान गरिएको त्यो सम्मान उहाँले सहर्ष स्वाभाविक रूपमा स्वीकार गरेर मलाई समेत अनुग्रहित गराइदिनुभयो । जीवनमा त्यो सुखद् क्षण म कहिल्यै बिर्सिन्नँ !
२०६८ असार १७
आरुबारी

No comments:

Post a Comment