Friday, November 25, 2011

खर्दारबाजे !

 

 

लुँ बुदिं स्मारिकाको २०६८ असोजमा प्रकाशित कथा।
“सर नमस्कार ! म शिशिर....।” मेरो अगाडि उभिएको आकर्षक युवकले अगाडिदेखि नै चिनेजानेको मानिसले जस्तै आप्mनो् परिचय दियो । मेरो अगाडिको त्यो युवक खाइहाल्दो देखिन्थ्यो । गलामा सुनको सिक्री, हातमा घुमाइरहेको गाडीको साँचो, मुखमा सन्तुष्टिको चमक ! देख्दा लाग्थ्यो, यो कि त कुनै सफल व्यवसायी हुनुपर्छ, कि गरिब नेपालीको नाउँमा विदेशीको चाकरी गरेर अरुलाई मूर्ख बनाउन अत्यन्त सफल कुनै एनजिओको सञ्चालक । यो उसलाई देख्दाको मेरो तात्कालिक अनुमान मात्र थियो ।
“शिशिर....?” यस केटोलाई कता कता देखेजस्तो लागेपनि मैले झट्ट ठम्याउन सकिन । त्यसैले मनमा जोड दिएर ठम्याउने प्रया गर्दागर्दै मेरो मुखबाट निस्कियो ।
“म क्यात सर....खर्दार बाजेको छोरा !” उसले आप्mनो थप चिनारी दियो ।
“खर्दार बाजे....! को खर्दार बाजे ?” म अझै अलमलिएको थिएँ । जागिरको सिलसिलामा कति खर्दार बाजेसँग काम गरियो, कतिसँग परिचय भयो । यसको लेखाजोखा थिएन । अनि कुन, कहाँका खर्दार बाजे हुन्, कसरी जान्नु । 
“श्यामेश्वर खर्दार.....सरकै कर्मचारी त हुनुुुहुन्थ्यो नि ! सानोमा बासँगै म पनि अफिस आउँथे नि !” उसले थप प्रस्ट्यायो । अनि मेरो मानसबिम्बमा खर्दार बाजेसँगका पुर्वस्मृतिका पन्नाहरू एकपछि अर्को खुल्दै गएका थिए ।
”विचरा खर्दार बाजे त बेवारिसेजस्तै भएर मरिराखेको पो भेटिए रे, माड्साब !” स्मृतिको त्यो क्षण अत्यन्त अप्रिय थियो । त्यसदिन अफिस पुग्नासाथ चिसोले हिउँझैं जमेको हातलाई हिटर बालेर सेकाउन समेत नपाउँदै कृष्णबहादुरले सुनाएको पहिलो खबर थियो त्यो । मनमा लागेको थियो, पहिलो खबर नै यति अप्रिय ! दिन पनि अति चिसो, नरमाइलो लागिरहेको थियो बिहानै देखि । शिशिर आफ्नो उग्र रूप लिएर उपस्थित थियो । बूढापाका भन्थे– धेरै वर्षपछि यत्ति धेरै जाडो भएको छ, यस पालि ।
“ह्वैन के भन्छन् यीे ? चाहिने कुरामा पो ठट्टा गर्नुपर्छ ! यस्तो उट्प्याङ कुरा पनि गर्ने हो !” मैले कृष्णबहादुर अर्थात किस्नेको कुरामा विश्वास गर्न नसकेर भनेको थिएँ ।
“माड्साबलाई पत्यार नलागेर के गर्नु र, आफ्नै आँखाले देखेर आउँदैछु खर्दार बाजेको लास ! मेरा त छिमेकी पनि, घाटतिर नगइ भएन । जाउँ है माड्साब ? यहाँको काम हेर्न साने छँदैछ ।” उसले लामै विवरण सहित खर्दार बाजेको मृत्युको खबर सुनाएर बिदा मागेको थियो ।
उसको कुरा पत्याउन त्यतिबेला मलाइ निकै कठिन भएको थियो । त्यो सुनेर म दोधारमा परेको थिएँ । यो कृष्णे पहिला पनि यस्तै झुटो बहाना बनाएर अफिसबाट गायब हुने गथ्र्यो । त्यसैले उसको कुरामा हतपति कोही विश्वास गर्दैनथ्यो । तर.....आफ्नै अफिसको मान्छेको बारेमा यति झुटो कुरा सुनाउने आँट त पक्कै नहुनु पर्ने हो उसमा । भेलि नै पोल खुल्ने कुरामा झुटो बोल्ने आँट कसरी गर्ला त कृष्णेले ? 
“कसरी मरेछन् त, के भएको रहेछ खर्दार बाजेलाई ?” त्यही द्विविधा र आशङ्काकै बीच मेरो थप प्रश्न थियो त्यो ।
“आज बिहानै टोल नजिकैको चौरमा बेवारिस फेला परेछन्, कठ्याङ्ग्रिएर मरिराखेको अबस्थामा । त्यो हल्ला सुनेर हामी सबै पुगेका थियौं । पुलिसले पोसमाटम कि के हो गर्न भनी अस्पताल ल्याएको ।” उसले थप प्रस्ट्याएको थियो ।
अब मेरा लागि उसको कुरामा विश्वास गर्नु बाहेक अर्को विकल्प थिएन । मन भने अझै मानिरहेको थिएन, जतिसुकै जाडो चम्किए पनि कठ्ययाङ्ग्रिएर मान्छे मर्ने तहको चिसो छ भन्ने पनि पत्याउन कठिन थियो । त्यसमाथि घरबार, भरपुर परिवार भएका खर्दार बाजे मनग्गे न्यानो ओढ्ने ओछ्याउनेको व्यवस्थागर्न नसक्ने अबस्थाका पनि थिएनन् । सदरमुका छेउमा प्रशस्त पुख्र्यौली जग्गाजमिन भएका, जागिरबाट पनि धेरथोर कमाउने ! के भएर यसरी घरबाहिर बेवारिस मृत्यु मरे त, कठ्याङ्ग्रिएर ? त्यसैले पनि विश्वास गर्नु मेरालागि कठिन थियो, सजिलै पत्याउनै नसकिने ! तर खर्दार बाजेको छिमेकी समेत भएकोले कृष्णेको कुरा नपत्याइ धरै थिएन ।
सुरुका केही वर्ष म पनि खर्दार बाजेकै टोलमा डेरा गरी बस्थेँ । खर्दार बाजे सदरमुकामभन्दा अलि बाहिरको एउटा सहरोन्मुख गाउँका स्थायी बासिन्दा थिए । म यस ठाउँमा सरुवा भएर आउँदा उनैले खोजिदिएका थिए मलाई त्यो डेरा । केही वर्षपछि सरदरमुकाममैं घडेरी किनेर मैले सानो बास जोरेपछि भने हाम्रो बसाइ छुट्टाछुट्टै ठाउँमा भएको थियो । खर्दार बाजे र कृष्णेको घर भने त्यहिँको एउटै टोलमा थियो । त्यसैले कृष्ण र खर्दार बाजेबाट उनीहरूका हर कुरासँग हामी कर्मचारी परिचित थियोैं । सदरमुकामको सानो ठाउँ भएकोले थोरै कर्मचारी पनि थोरै नै थियौं । त्यसमाथि सार्वजनिक सम्पर्क हुने अफिस नपरेकोले काम पनि होलै हुन्थ्यो । त्यसैले अफिसमा हरेकको कुरा हरेकलाई थहा हुन्थ्यो । अझ नजिकका गाउँ र टोलका जानकारी समेत आइपुग्थे सदरमुकामसम्म ।
बाहिरबाट हेर्दा खर्दार बाजेको परिवारसानो र सुखी देखिन्थ्यो । केही वर्षदेखि उनी दाजुभाइसँग छुट्टिएर अलग्गै बस्न थालेका थिए । बाउआमा दुबै वितिसकेका थिए । श्रीमती, बिबाह गरेर गइसकेकी एउटी छोरी र हुर्कीसकेको एउटा छोरो । त्यसैले घरमा मात्र तीन प्राणी– खर्दार बाजे, श्रीमती र छोरो । छोरो एक्लो भएकोले हो कि अलि बढी नै पुलपुलिएजस्तो लाग्थ्यो, भनेको कुरा पु¥याइदिनै पर्ने । 
“होइन, खर्दारबाजे, अफिस जानु पर्दैन र बिहानै डोको बोकेर हिँड्नुभा’को ?” म भर्खर भर्खर त्यो नयाँ ठाउँमा डेरा सर्दाको कुरा हो । खर्दार बाजेलाई एकाबिहानै त्यसरी डोको नाम्लो भिरेर खेत–बारी धाएको देख्दा अचम्म मानेर सोधेको थिएँ । टोलका अरु घुम्न निस्क्केका देखिन्थे, चिया पसलमा बसेर चियासँगै गफ साटिरहेका देखिन्थे । तर खर्दार बाजेले भने कहिल्यै त्यसरी समय खेर फालेको देखिएन । साँझ बिहान उनी कामैमा घोटिएका हुन्थे । त्यो देखेर एक पटक मन थाम्नै नसकेर निस्कएकोे थियो त्यो प्रश्न ।
“के गर्नु माड्साब्, घरभरि गाईबस्तु छन् । बुढियालाई बाहिर घाममा निस्कनै हुन्न, बिरामी परिहाल्छे । अरु छैनन् घाँसपराल गर्ने । अलिअलि स्याहारसुसार नगरे दही दूध देख्न पाइन्न त ! अनि खेतीपाती, बस्तुभाउ नहेरेर के पो गर्नु माड्साब । खर्दारको जागिरले मात्र धान्दैन !” मेरो प्रश्नमा उनी लामै बेलीबिस्तार सुनाउँथे ।
“साँझ बिहान त त्यतिबिन घाम चर्केको हुँदैन नि ! नभए कसैलाई लगाए पनि त भयो । आफैं यसरी बिहान बिहान डोको बोक्दैन हिँड्दा अफिस पुग्न ढिलो हुँदैन ?” उनको बेलीबिस्तार सुनेर पनि अझै म तर्क गर्नेगर्थे ।
“को पाउनु र माड्साब काम लाउनलाई ! अनि आफैंले नगरेर कसले गरोस ?” उनको गुनासो हुन्थ्यो ।
बिस्तारै थाहा पाउँदै गएको थिएँ, उनले त्यसरी आफूलाई चौबीसै घन्टा काममा डुबाउनुको कारण त्यति मात्र थिएन । उनले भनेजस्तो बाध्यता मात्र नभएर उनको घर बाहिरै व्यस्त रहनुको कारण थियो घरभित्रको उपेक्षालाई बिर्सनु ! अति माया गरेर राखेकी श्रीमती र पुल्पुल्याएको एक्लो छोरोद्वारा हुने आफूप्रतिको उपेक्षालाई बिर्साउन पनि उनी घरबाहिरै काममा भुल्ने गर्दा रहेछन् । त्यसैले त्यो उनको दुखःमैं रमाउने कोसिस रहेछ । हुन पनि आफूले अति माया गरेका स्वास्नी छोराबाटै कहिल्यै मायाप्रेम र सम्मान पाउन नसक्नुजस्तो पीडा अरु के नै हुनसक्छ र ! त्यसकै अभाव रहेछ उनको जीवनमा । स्वास्नी र छोराको आँखामा कामले मात्र होइन व्यवहारमा समेत नोकरकै थान्कोमा बसेका रहेछन् उनी । तिनका आँखामा उनी आवश्यकता पूरा गर्ने एउटा मिसिन मात्र थिए !
यो जोइटिङ्ग्रेपन थियो कि वाध्यताजन्य कमजोरी, मैले यकिन गर्न सकेको थिइन । अरु कुरामा भने उपत्यको काँठका निम्नमध्यम वर्गीय परिवारको ज्वलन्त दृष्टान्त लाग्थे उनी । सानो तिनो जागिर, थेरथोर खेतीपाति । त्यसमाथि समय उभ्रेको खण्डमा पुख्र्यौली जजमानी ! बिहान बेलुकी खेतीपातिको काम, दिउँसो सानोतिनो जागिर ! न त जागिर मैं मन लाएर काम गर्न पाउने, न खेतीपातीमैं चाहिँदो समय दिन सक्ने । काँठको यो आम चरित्रमा उनको अलिकति भने भिन्नता थियो । अरुको पूरै परिबार काममा खटिएको देखिन्थ्यो, खर्दार बाजेका स्वास्नी छोराछोरी खेतबारीसम्म पनि टेक्दैनथे । हुनेखाने परिवारकाजस्तै सोखमा बसेका देखिन्थे उनीहरू– वरको सिन्को पर नसार्ने ।
विचरा खर्दार बाजे ! उनीहरूको झर्कोफर्कोे नसुनी बिहान–बेलुकीको दुई छाक खान पनि पाउँदैनथे रे ! हर कुरामा आमा र अति पुल्पुल्याइएको छोरा दुबै उनलाई होच्याउन, उनलाई कज्याउन एक मुख लाग्थे रे ! उता खर्दार बाजे भने तिनै स्वास्नी छोरा भनेर हुरुक्कै हुन्थे । आफू भोकै बसेर पनि मुख बाट निस्कन नपाउँदै तिनका हरतरहको माग पूरा गरिदिन्थे । आफू चाहीँ काम, कामै काम ! जहिले पनि मटमैलो घस्टिएको कमिज–सुरुवाल, घस्टिएको भोटो सुरुवाल र कठालो र कुम फाटेको कोट भिरेर थोत्रो साइकलमा दीनहीन ख्याउटे अनुहार ! अनेकौं वसन्त बिताइसकेका ती घस्टिएको कपडा पनि कुनै जजमानाको जडौरी हुने संभावना नै बढी लाग्थ्यो ।
छिमेकीहरूले भन्थे– कस्तो दुखी कर्म लिएर आएका रहेछन्, यी जोइटिङ्ग्रे खर्दार बाजे !
त्यहाँ बसुन्जिेल एकै टोलको बासिन्दाका नाताले पनि खर्दार बाजेसँग बेलाबखत देखभेट भइरहन्थ्यो । अफिसमा त हुने भैहाल्यो । तर जहाँ देख्दा उनी पनि हतारैमा हुन्थे । नत अफिसमा कहिल्यै खाजा खाएको देखियो, न कहिल्यै टोलमा यसो साथी दौतरीसँग भेटघाट गफ गाफ गरेको नै देखियो । न लवाइमा सोख, न खान पिनमैं । उता घरपरिवार भने सधैं शोखसयलपूर्ण जीवनमा देखिन्थे । उनले जे भने पनि पु¥याइदिएका थिए तिनलाई । स्वास्नी छोरालाई मौसम अनुसारको फलफूल, स्वाद अनुसारको मिठाइ, माछामासु, समय अनुसारका पोशाक कुनै कुराको अभाव हुन दिएका थिएनन् ।
”होइन खर्दार बाजे, कति दुःख गर्नुहुन्छ ? अफिस, खेतीबारी, घर धन्दा ! अलि अलि त आराम पनि गर्नु पर्छ नि !” तै पनि मन नमानेर म फेरि पनि भन्थेँ । विचरा, बिहानभरि गाइबस्तुको भकारो–पानी, घाँसपात र खेतीबारी, जहानले ठस्कोफस्को गर्दै पस्किदिएको रुखोसुखो गाँस च्यापेर सकीनसकी थोत्रो साइकगुडाउँदै अफिसको यात्रा ! बेलुका घर फर्कन पाएको छैन, फेरि घरकै कोते धन्दा– यही थियो उनको दैनन्दिन ! ”
त्यसरी खर्दार बाजेले स्वास्नी छोराको लागि जति ज्यान फाले पनि उनीहरू भने उनले खाए नखाएको समेत वास्ता गर्दैनथे । घरमा छन्, छैनन् कुनै वास्ता हुँदैनथ्यो । सँगै हिँडेको पनि देखिएन कहिल्यै । उनीहरू नयाँ राम्रो लुगामा ठाँट्टिएर हिँड्ेका देखिन्थे, खर्दार बाजे त्यही पुरानो घस्टिएको दौरा सुरुवालमा ! सके सँगै हिँड्न लाज मान्थे कि !
“किन खर्दार बाजे, निकै गल्नुभएको देख्छु नि हिजो आज । सञ्चो छैन कि ?” पाँच छ महिनादेखि उनी निकै कमजोर र गल्दै गएको देखेर मैले सोधेको थिएँ ।
“खोई, केहो केहो माड्साब...। कडै रोगले पो छोएको हो कि !” कहिल्यै आफ्नो बारेमा चिन्ता नदेखाउने खर्दार बाजेलाई त्यतिबेला भने निकै चिन्तित देखेको थिएँ । यति निराश र चिन्तित यस अघि उनी कहिल्यै देखिएका थिएनन् ।
“रोगले छोयो कि भनेर मात्रै त हुँदैन नि खर्दार बाजे । अस्पताल गएर डाक्टर देखाइहाल्नुहोस् । ज्यानै नभए के हुन्छ र !” त्यतिबेला सम्झाउन खोजेको थिएँ ।
“के गर्नु माडसाब, आफ्ना लागि अहिलेसम्म कहिल्यै अस्पताल टेकिएन । अब भने जानुपर्ला !” अनि बल्ल उनी जचाउन अस्पताल गएछन् ।
त्यसपछि केही महिनाका लागि म मन्त्रालयमा काज लिएर काठमाडौं गएँ । झन्डै तीन महिना काठमाडौं बस्दा खर्दार बाजेसँग भेटघाट भएन ।
”के छ, खर्दार बाजे सन्चै हुनुहुन्छ ? डाक्टरले के भन्यो त ?” अफिस फर्केपछि उनलाई देख्नासाथ सोधेको थिएँ ।
”होला नि, माड्साब । औषधि खाँदैछु । डाक्टरले छ महिना नछुटाइ खाने औषधि दिएको छ । अलि पोषिलो खानु पनि भनेको छ, डाक्टरले ।” त्यतिबेला उनले बेलीबिस्तार लगाएका थिए । उनको कुराबाट मैले अनुमान गरेको थिएँ– भोकभोकै रातदिन पसिना बगाउने गर्दा गर्दै खर्दार बाजेलाई त टिबी पो भएछ कि क्या हो । पक्कै पनि टिबीको औषधि दिएको होला डाक्टरले । पोषिलो खाना र छ महिना नछुटाइखाने औषधि टिबी रोगीले खाने औषधि हो । डाक्टर नभए पनि यति सामान्य ज्ञान मलाई पनि थियो ।
कृष्णे भन्थ्यो, टोलमा पनि सुब्बा बाजेलाई टिबी भयो भन्ने हल्ला थियो रे ! टिबी आज दशकौं अगाडिकोजस्तो उपचारै हुन नसक्ने रोग थिएन । यो नियमित उपचारबाट सजिलै निको हुने रोग प्रमाणि भैसकेके थियो । चेतनशील समाजमा यसलाई सरुवा भनेर डराउने चलन समाप्त भैसकेको थियो । यो रोग सामान्य छुवाछूत र सँगै बसेर खाँदैमा सर्दैन भन्ने प्रमाणित भैसकेको थियो । तर पनि जिल्लाका कतिपय गाउँका मानिसमा अझै त्यो धारणा बाकी नै थियो । खर्दारबाजेको परिवार पनि यसको अपवाद थिएन क्यार । उनलाई टिबी रोग लागेको थाहा भएदेखि नै स्वास्नी–छोराबाट समेत अछुतको व्यवहार हुनथालेको थियो रे भन्थ्यो कृष्णे । म सदरमुका फर्केपछि उसैले सुनाएको थियो– “त्यसपछि त अछूतजस्तै पो व्यवहार गर्न थालेकाछन् त स्वास्नी छोराले खर्दार बाजेलाई ।”
“के भन्या तिम्ले ? अरुले छिछिःदूरदूर गरे पनि आफ्नै स्वास्नी छोराले किन त्यस्तो व्यवहार गर्थे र ।” कृष्णेको कुरा सुनेर म छाँगाबाट खसेझैं भएको थिएँ । मलाई उसको कुरामा अझै विश्वास भने थिएन । 
“तपाइँले नपत्याएर के गर्नु र, मैले आफ्नै आँखाले देखेको पनि झुटो होला त ? विचरा अहिले सुत्न पनि मझेरीमा पो सुत्छन् रे मझेरिमा, भान्छै छेऊको ढोकासँगै ! माथि सँगै सुत्दा आफू र छोरालाई रोग सर्छ भनेर उनकी श्रीमतीले त्यो व्यवस्था गरेकीे रे । टोलभरि यसै भन्छन्, कसरी नहोला भन्नु र ! सुन्दैमा नमज्जा लाग्ने, कति निर्दयी रे’छिन् यी खर्दारनी बज्यै त !” खर्दार बाजेप्रति सहानुभूति देखाउँदै उसले सुनाएको थियो ।
त्यसपछि खर्दार बाजेलाई निकै दिन देखिएन । उनी अफिस पनि आउन छाडेका थिए । केही दिन अघि बिहानै आएर पियनको हातमा छुट्टीको निवेदन छाडेर गएका थिए । विदा पनि लामै लिएका थिए । त्यसपछि विदा स्वीकृत भए नभएको समेत बुझ्न आएका थिएनन् ।
त्यसरी आफ्नै स्वास्नी–छोराबाट उपेक्षि र परित्यक्त हुन पुगेका खर्दार बाजे कहिले कता कहिले कता भौंतार्रिन थालेछन् । कति दिन त घरै फर्कँदैनथे रे । कहिले कता भौंतार्र्रिँदै दिन रात बिताउँदा रहेछन । कहिले दुईचार दिन, कहिले पाँच सात दिनमा झुलुक्क देखापर्थे रे, घरतिर । उही उपेक्षाको अनुभूतिपछि फेरि हराउँथे रे ! खर्दार बाजेको बाँच्ने जिजीविषा समेत समाप्त हुँदै गएको थियो सायद् । यस पल्ट पनि उनी घर नगएका दुई दिन भैसकेको थियो रे ! पुसको अत्यन्त चिसो रात, खानपनि छैन कमजोरी र चिसोमा कठ्याङ्ग्रिएरै बिदा भएछन् उनी यस संसारबाट !
”के भो’ माड्साब, कहाँ हराउनु भएको ? अझै पत्यार लागेन जस्तो छ माड्साबलाई ! तर के गर्नु अब खर्दार बाजे फर्केर आउने होइनन् त !” उसको आवाजले म झसङ्ग भएको थिएँ । मलाई विगत स्मृतिबाट वर्तमानमा ल्याउनका लागि त्यो आवाजले म२त गरेको थियो ।
ख्र्दार बाजेको त्यस्तो दुखदः मृत्युको केही समयपछि पछि अहिले तिनै खर्दार बाजेको खाइलाग्दो छोरोलाई आफ्नो अगाडि देख्दा मेरो मानसबिम्बमा उनको दुःखी जीवन र दःखान्त अवसानका घटनाहरू एकपछि अर्को गर्दै साकार भएका हुन पुगेका थिए ।
“को रे ? म त खर्दार बाजेका कुनै स्वास्नी, छोरालाई चिन्दिन त । उनीहरू त खर्दारबाजे छँदै वितिसकेका थिए भन्ने पो सुनेको थिएँ मैले त !” खर्दार बाजेको छोरा भन्नासाथ काउसो देखेजस्तै हुन पुगेको थियो मलाई । मैले उपेक्षाका साथ व्यङ्ग्य गर्दै भनेँ । मेरो दृष्टिमा आफ्नै बाबुको उपेक्षा गरेर आत्महत्याजस्तै मृत्यु भोग्न बाध्य पार्ने स्वास्नीछोरा मर्नु र बाँच्नुमा फरक थिएन । त्यसैले यो केटोले खर्दार बाजेको छोरो भनेर चिनाउँदा नै मभित्र उसप्रति घोर घृणा उब्जु स्वाभाविक थियो ।
“होइन, माड्साब म उहाँको एक मात्र छोरो हुँ नि ! आमा र म नै त हौं, उहाँको हकवाला । यी नाता प्रमाणित पनि गराएर ल्याएको छु ।” उसले हकवालामा निकै जोड दिएर भन्यो । ऊ यति बेला बाबुका बाँकी सञ्चयकोष, पेन्सन आदि रकमहरूमा आमाको हक जनाउन आएको थियो ।
“ए, हो र ! मैले त खर्दार बाजे स्वास्नी छोरा कोही नभएकाले घरबाहिर लावारिस मृत्य मरेका रे भन्ने सुनेर परिवार कोही पनि छैन होला भन्ने पो ठानेको थिएँ त ! कहाँ हुनुहुनुहन्थ्यो त तपाइँहरू बाबुको हेरचाह गर्नुपर्ने बेलामा ?” मेरो प्रश्नभित्रको प्रहार सके उसका लागि असह्य थियो, र ऊ  अबीर दलेजस्तै रातो अनुहार लाएर थचक्क अगाडिको कुर्सीमा बस्यो । म उसलाई कुनै वास्ता नगरीकनै टेबिलमाथिको फाइलमा हराएँ ।    
२०६८ भदौ २७
विकल प्रतिष्ठान,आरुबारी

No comments:

Post a Comment