Saturday, August 17, 2013

मानवीय शौर्य र प्रकृतिको कोपभाजन ! –विजय चालिसे

(रचना पूर्णङ्क १२५, असार–साउन २०७० मा प्रकाशित ियात्रा )

सेतुबन्ध ! होइन क्यारे, सागरबन्ध ! आज जापान आइपुगेको नवौं दिनबिहानै खाना खाएर यही सागर बाँधेर बनाइएको नयाँ सहरमा आइपुगेको छु । समुद्र पुरेर गरेर बसाइएकोजस्तै लाग्ने यो नयाँ सहर सियोहामामागायत्रीबस्छिन् । टोकियो महानगरभित्रको यो तोयोहासी नगर समुद्र बाँधेर बनाइएको शहर थियो र अहिले गायत्री यही तोयोचुको पार्क होम्स–१३०२ मा बस्थिन। गायत्री अर्थात् मेरी पत्नी लक्ष्मीकी साहिँली बहिनी । मेरी पत्नीका चार दिदी बहिनीमध्ये नेपाल बस्ने ऊ मात्रै थिई । ऊ पछिकी माहिली जानुकी भारतको नासिकमा बसोबास गर्थिन्, साहिँली गायत्री जापान र कान्छी कल्पना अमेरिकामा । उही साहिँली बहिनी गायत्री केही अघिमात्रै टोकियोको केन्द्रमा पर्ने हिरोको पुरानो घर बेचेर यहाँ आएकी थिइन्। त्यसैले आज २०६८ सालको असोज १५ गते अर्थात् सन् २०११ को अक्टोबर २ तारिख हामी गायत्रीको नयाँ आवासमा थियौं । उनको आवास अहिले यहीँको एउटा गगनचुम्बी भवन अर्थात् सत्ताइस तले विशाल म्यान्सनका को १३ औं तलामा रहेको प्mल्याट थियो । टोकियोलाई चरक्क चिरेर बग्ने सुमिदानदी यतैभएर टोकियो खाडीमा मिसिन अघि बगिरहेको देखिन्थ्यो । केही पर पुरानो टोकियो टावरलाई बाउन्ने तुल्याउन खडा भएको अर्को नयाँ गगनचुम्वी मिनार टोकियो स्काइ ट्रीे गौरवले शिर उठाएर उभिएको थियो ।
हो, समुद्र बाँधेर–पुरेर बसाइएको रे यो सहर–बस्ती । बाँध बाँधेर समुद्रदेखि ल्याइएको ठूला नहरद्वारा निर्मित नदीसञ्जाल ओन्दाको किनारामा बसेका थिए यी अट्टालिका अर्थात् म्यान्सनहरू ! बन्दरगाहदेखि टोकियोसम्म साना जहाज र डुङ्गामा सामान ढुवानीका लागि जलमार्गका रूपमा समेत प्रयोग भइरहेका देखिन्थे ती साना कृत्रिम नदीहरू । ती कृत्रिम नदीका दुबैतिर विशाल विशाल बहुतले भवनहरूको गगनचुम्वी सञ्जाल देखिन्थ्यो । त्यही सञ्जालको एउटा अंश थियो गायत्री बसेको फ्ल्याट र म्यान्सन । तोयोहासी नदीका ठाउँठाउँमा जतातै आकर्षक पुलहरू थिए। पार्कहोम्सकै नजिकै नदीकोएउटा किनारामा थियो स्काइ फर्फेक्ट टेलिभिजन स्टेसन र अर्कोमा रिको घडीको कार्खाना ।
लाग्थ्यो यो नयाँ सहर भनिरहेको छ– तिमीहरूभन्दा पनि पछाडि त हो नि मैले अमेरिका र पश्चिमा संलग्न राष्ट्र (एलाइन पावर कन्ट्री) बाट ध्वस्त भएर तिनैको दादागिरीबाट मुक्ति पाएको ।  तिनैको भुक्तमान मैले पछिसम्म पनि सहेँ । तिनको पञ्जाबाट मुक्त भएर दिनरात नभनी इमान्दारीपूवक पसिना बगाएर आजको अवस्थाम आइपुको छु म ! हेर मैले कसरी समुद्रलाई आफ्नो मुठीमा कैद गरेको छु, आफ्नो नियन्त्रणमा राखेर सीमाबन्धन गरेको छु !
हो त, मैले पाएको कथित स्वतन्त्रताभन्दा पनि पछि विजित संलग्न राष्ट्रको लुछाइबाट बल्लतल्ल मुक्ति पाएको यो देश यिनै मानवीय शौर्यकै कारण त हो नि आजको सम्पन्न जापान बन्न सकेको । कसरी आफ्नो मुठीमा राख्न सफल भएका छन् यिनीहरू समुद्रलाई, प्रकृतिलाई ! तिनै कुनै बेलाका विजेता घमन्डी मुलुकहरूसँग आज आर्थिक सम्पन्नतामा कुम जोड्न आइपुगेको छ जापान । अनि लाग्थ्यो उनीहरूको त्यही मानवीय शौर्यको उदाहरण बनेर खडा थियोसमुद्र बाँधेर–पुरेर बसाइएको यो सहर–सियोहामा !
खानपिनपछि दिन खाली थियो हामीसँग । अबेरसम्म खर्चनुपर्ने टाढाको घुमाइ आजका लागि सम्भव थिएन । नेपाली दूतावासका कार्यवाहक राजदूत दुवसु क्षेत्रीका तर्फबाट जापानस्थित नेपाली दूतावासमा रात्रिभोज सहितको दशैं भेटघाट तथा राजदूत गणेश योन्जनको विदाइ कार्यक्रमको निम्तो थियो आजै साँझ । त्यसैले अलि टाढा जाँदा फर्कन अबेर भएर दूतावासको कार्यक्रम छाड्नु पर्ने हुनसक्थ्यो । दूतावासको निम्तो, त्यसमाथि आफ्नो कार्यकाल सकेर नेपाल फर्कने तर्खरमा रहेका मित्र गणेश योञ्जनको विदाइसमेत गाँसिएको दशैं भेटघाट ! त्यसैले यो कार्यक्रम छोड्ने कुरै भएन ।साँझ दूतावास जान बाटैमा मिसिने गरी आलोक अफिस गइसकेकोले हामीलाई दूतावास पु¥याउने जिम्मा उसले सानिमा गायत्रीलाई नै दिएको थियो । स्वयम् गायत्री कार्यक्रममा आमन्त्रित रहेकी हुँदा उसकालागि यो असहज थिएन । त्यसैले दूतावास जानेक्रममा यहीँबाट एबिसु गार्डेन प्लेसस्थित हेर्ने योजना पनि तयार थियो हामीसँग ।
धेरै कुरामा प्रसिद्ध थियो रोपोङ्गी र केन्द्रीय सिबुया नजिकैको पश्चिमी टोकियो । युवापुस्ताको आकर्षण मानिने सहर सिवुया यही क्षेत्रमा पथ्र्यो । प्रसिद्ध व्यापारिक क्षेत्र सिन्जुकु यहीँ थियो । यही पश्चिमी टोकियोमा थिएवादशाह मेइजीको नाममा समर्पित मेइजी सम्राटहरूकाचिहान अर्थात् स्राइन र सिन्जुकु, योयोगीजस्ता सुन्दर पार्कहरू !  के थिएन यस क्षेत्रमा ? एनिमेसनको प्रसिद्ध सपिङ मल नाकानो ब्रोट वे, अवलोकन मिनार ट्विीन टावर, जापानी टेलिभिजन टावर एन.एच. के.को स्टुडियो पार्क आदि अनेक । आजको हाम्रो दूतावास रुपी पशुपति जाने मेसोमा सिद्राको व्यापार गर्ने थलो भने यही एबिसु गार्डेन प्लेस थियो । यसका पनि प्रमुख आकर्षण थिए वियर म्युजियम र टोकियो फोटो म्युजियम !
एबिसु स्टेसनको पूर्वीद्वारनजिकैको अत्यन्त मनोहारी उपनगर थियो यो एबिसु । गगनचुम्वी भवनहरूको सञ्जाल, रेस्टुराँहरूको श्रृङ्खला विशाल विशाल डिपार्टमेन्टल स्टोरहरूकोचेन अर्थात् लहर एविसुका विशेषता थिए ! एविसुको विशेष आकर्षण मानिने यो एविसु गार्डेन प्लेसले आफैंभित्र एउटा नगर बसाएको थियो । यही सिङ्गो नगर बसालेको विशाल भवनभित्रै थिए एविसु वियर म्युजियम र टोकियो मेट्रोपोलिटन म्युजियम अफ फोटोग्राफी ! एविसु सहरको नामै यही एबिसु वियर कार्खानाको परिचयसँगै गाँसिएको रे । १९२८ तिर बियर कार्खानाको बिस्तारसँगै सिङ्गो सहरको बनेछ एविसु । यो गार्डेन प्लेस चाहिँ त्यही पुरानो वियर फ्याक्टरी रहेको ठाउँलाई समेत आफैंभित्र समाहित गरेर बनेको रहेछ । यो भवनको सबैभन्दा अग्लो संरचना ४७ तला अग्लो थियो । दर्शकहरूमाझमा टोकियो सहरको अवलोकनका लागि अत्यन्त लोकप्रिय थियो यो अग्लो संरचना । अनि यही एविसु गार्डेन प्लेसको एविसु वियर म्युजियमले वियर प्रेमी दर्शकलाई लोभ्याइरहेको थियो वियरका स्वाद चाख्न दिएर ।बियरको नसालु चु्ुस्कीमा हराउने बियरप्रेमीहरूका लागि यसको स्वादमा हराउने मात्र होइन, आफूले प्रेमपूर्वक पिष्उने गरेका त्यही पेयको निर्माण इतिहास समेत जान्न पाउने अवसर निश्चय नै रमाइलो थियो ! संंसारभर नै वियर कसरी बनाइन्छ, वैज्ञानिक हिसाबले यो कसरी फर्मेन्टेसन हुन्छ भन्नेजस्ता चाखलाग्दा जानकारी दिइरहेका थिए बियर म्युजियमका विज्ञहरू । अनि वियर स्टेसन रेस्टुँरेन्टमा वियरखान नलोभ्याउने त कुरै भएन यसका शोखिन ।
यो एविसुगार्डेनको प्लेसको अर्को आकर्षण थियो मेट्रोपोलिटन म्युजियम अफ फोटोग्राफी । टोकियो म्युजियम अफ फोटोग्राफीनामको यो म्युजिम आफूसँग प्रसिद्ध जापानी छविकार हाताकेयामा नाओयाले खिचेका तस्बीरहरूको विशेष प्रदर्शनीमा गमक्क फुलिरहेको थियो यतिखेर । दर्शक झुम्मिइरहेका थिए, मन खिचिएरै त होला ?नहोस् पनि किन, “नेचुरल स्टोरिज” शीर्षकमाभइरहेको यो प्रदर्शनीलेटोकियोबाट २६० किलो मिटर बाहिरको फुकुसिमा प्रिफेक्चरमा छ महिना अघिमात्र  प्रकृति सिर्जित मानवीय त्राशदीको जीवन्त कथावाचन गरिरहेको थियो । ओहो,अठार हजारभन्दा बढी मानिसको बली खाएको थियो थियो लगभग छ महिनाअघिको त्यो महाभूकम्पले । भूकम्प र भूकम्पपछि सय फिटभन्दा माथिसम्म उठेर सिङ्गा–सिङ्गा गाउँबस्तीलाई आफ्नो पेटभित्रको जठराग्निमा भष्म तुल्याउने समुद्री–सुनामीको महाविनाशसिर्जित मानवीय त्राशदीको जीवन्त अभिव्यक्ति लाग्थ्यो यो तस्बिर प्रदर्शनी ! हुन त प्रत्यक्ष देखेका थिएनौं हामीले त्यो महाविनाश । मात्र टेलिभिजनका पर्दाहरूमा हेरेका थियौं हामीले त्यो महाभूकम्प र सुनामीले ल्याएको महाविनाशको संहारक–शिव–ताण्डव ! त्यतिबेला टेलिभिजनका पर्दामा ती दृश्य देख र समाचरमा पढ्दा सुन्दा समेत आङ जिरिङ्ग हुन्थे भने तस्बीरका रूपमा आँखैले जीवन्त देख्नुको अनुभूति नितान्तः अर्कै हुनु स्वाभाविक थियो–रोमाञ्चक र त्रासदीय ! तस्बिर हेर्दाकोअनुभवले दर्शकलाई प्रत्यक्ष तिनै त्रासददृश्यमा लगेर झ्वाम्मै मिलइदिन्थ्यो सायद् छ महिना अगाडिको त्यही मनोदशामा । ओहो....कति रोमाञ्चक थियो होला यो अनुभूति ! जापानमा गएको भर्खरैको महाभूकम्पपछि खिचिएका ती तस्बिरहरू दर्शकलाई त्यही मानवीय त्राशदीको स्मृति गराइरहेका थिए । विश्वप्रसिद्ध जापानी फोटोग्राफर हाताकेयामा नायोया मूलतः प्रकृतिलाई क्यामामरामा कैद गर्नमा सिपालु मानिन्दारहेछन् । उनी तस्बिरका माध्यमबाट खानी र पहाडहरूसँग साक्षात्कार गराउँदै प्रकृतिर मानिसबीचको संबन्धको अन्वेषण गर्नमा माहिर थिए । उनकै क्यामरा र संवेदनशील आँखा र मनका प्रतिफल थिए यी महाभूकम्प–सुनामी तस्बिर !
ओहो...कति भ्रान्त रहेछ मान्छेको यो समुद्रलाई, प्रकृतिलाई आफ्नो मुठीमा कैद गरेको छु भन्ने भ्रम ! समुद्र बाँधेर बसाइएको टोकियो महानगरभित्रको तोयोहासी नगरजस्ता मानवीय शौर्य पनि आखिर प्रकृतिले चाहेमा मात्र हुने रहेछ क्यार । त्यही बताउन त भएको थिएन त्यो फुकुसिमाको महाभूकम्प र सुनामीले ल्याएको महाविनाशको संहारक–शिव–ताण्डव ! अनि लागेथ्यो प्रकृतिलाई धरै जिस्क्याउनु ठीक होइन सायद ! तर यति भएर पनि हार खाएको थिएन जापानले प्रकृतिको झापडसँग । अहिले लगभग पुरानै अवस्थामा आइसकेको छ रे त्यो प्रकोप क्षेत्र । ओहो...यति छोटो समयमा सम्पूर्ण पुनःनिर्माण ! कसरी सम्भव भयो ? बनाएको महिनाभित्रै भत्केर हिँड्न नहुने सडक र सडकपेटी त वषौं वर्ष मर्मत गर्न नसक्ने मेरालागि त्यो असम्भवै थियो, चमत्कारजस्तै । तर हर कुरा समयलाई  छाडेर राजनीति र विकासको गफ हाँक्ने म नेपालीका लागि असम्भव भए पनि हर कुरा र काम सायास अघि बढाउने यी जापानीहरूका केही असम्भव थिएन । त्यही भएर त छ महिना नपुग्दै सबै भौतिक स्वरूप पूर्ववत बनाउन सकेका यिनीहरूले !

हाताकेयामा नायोयाले क्यामरामार्फत सिर्जना गरेका फुकुसिमाको त्रासदीपूर्ण अनुभूतिबाट बिस्तारै मुक्त हुँदै हामी पनि अरु दर्शकजस्तै प्रदर्शनी कक्षबाट बाहिरियौं । यहाँबाट जापानभित्रको मेरो सार्वभौमिकताको प्रतीक दूतावास मेगुरो कु पुग्नु थियो हामीलाई । त्यसैले लाग्यौं नेपाल, बंगलादेशजस्ता केही अति कम विकसित मुलुका दूतावास रहेको मेगुरो कुतर्फ । कम खर्चमा कामकाज चलाउनु पर्ने हामीजस्तै गरिव मुलुका दूतावास मात्र छन् रे यहाँ । अरु ७२ वटा धनी देशका दूतावास र तीनवटा वाणिज्य दूतावास भने मिनातो सहरमा छन् रे ! टोकियोकै अति समृद्ध विदेशी आकर्षणको उपनगर मिनातो कु, जहाँ रोपोङ्गी टाउन, रोपोङ्गी हिल, टोकियो टावर, मिनातो मिराइ र ओसनावासी पायरजस्ता चर्चित र प्रसिद्ध कुराहरू छन् पर्यटक लोभ्याउन !
आलोक अफिसबाट एविसु गार्डेन प्लेस आइसकेको थियो । त्यसैले हामी सँगै लाग्यौं टोकियोको मेगुरो कुमा रहेको सिमोमेगुरोको फुकुकानवा होम नजिकैस्थित राजदूत निवासमा । कार्यक्रम यही आवासमा थियो । एविसुबाट हिँड्दै अलि अबेर भयो, त्यहाँ पुग्दा सवा छ बजिसकेछ  । हामी केही ढिलै भएर होला, पाहुनाहरू लगभग आइसकेका थिए ।
कार्यवाहक राजदूत दुवसुक्षेत्री पाहुनाहरूको स्वागतमा खटिएका देखिन्थे । उनी आगन्तुकहरूलाई स्वागत गर्थे र आगन्तुकको हैसियत र आफ्नो सम्बन्ध अनुरूप कसैलाई भित्रै कार्यक्रम कक्षसम्मै पु¥याएर उपयुक्त आसनमा बसाउँथे, कसैलाई सामान्य हात मिलाएर पठाउँथे र कसैलाई...। पहिलो जम्काभेट हाम्रो उनैसँग भयो । उनको स्वागतपश्चात हलमा पुग्नासाथ गण्ोशजीले खुशी प्रकट गरे, उठेरै गला लगाएर स्वागत गरे । साथमा श्रीमती राजदूत अर्थात् मीनाबहिनी छँदै थिइन् । उनको “दाइलाई जापानमा स्वागत छ” चार शब्दभित्रको आत्मीयता विदेशमा आफन्त भेटिनुको सुखद आत्मीयता थियो मेरोलागि । अझ मेरी श्रीमती लक्ष्मी र मीनाको समेत राम्रै पूर्वपरिचय हुनुको अर्को रमाइलो गाँसिएको थियो यतिबेला ! लक्ष्मी र उनको लामै कुराकानी भयो, मीना आरुबारी घरमा आएदेखिका पूर्वस्मृतिका कुरा ।
हामी अर्थात् म र लक्ष्मी पहिलो लहरको राजदूत सँगैको सिटमा राखियौं । जमघट ठूलै थियो– जापानका प्रतिष्ठित नेपाली र थोरै सङ्ख्यामा जापानीहरू ! जापानका लगभग सबै प्रतिष्ठित मानिसको उपस्थिति थियो सायद् । आफ्नो कार्यकाल समाप्त गरेर स्वदेश फर्कने तयारी गर्दै गरेका राजदूतको विदाइ र दशैं शुृभकामना आदानप्रदानको समेत संयुक्त कार्यक्रम भएकाले पनि सहभागिता ठूलै गराइएको हुनुपर्छ, मेरो अनुमान थियो यो ।
कार्यवाहक राजदूत दुबसुले कार्यक्रमा सबैलाई स्वागत गरे । कार्यक्रमको औचित्य र सान्दर्भिकताको चर्चा गरे । त्यसै क्रममा “नेपालबाट पाल्नुभएका वरिष्ठ पत्रकार, साहित्यकार विजय चालिसेर उहाँका परिवारलाई दूतावासका तर्फबाट हर्दिक स्वागत छ” भन्ने सुनेर मेरो पनि चुच्चे नाक फुलेर झनै चुच्चो बन्यो । म दूतावासद्वारा साहित्यकार–पत्रकारमा गणना गरिएर निम्त्याइएको साहित्यकार र पत्रकार भने दुवैथिइन । त्यो हैसियत राख्ने अरु नै थिए, दूतावासको मेजमानी पाउने ! सुनिन्थ्यो यसरी निम्त्याइने सौभाग्यशाली केही पत्रकार र साहित्यकार थिए, जो दूतावासको पाहुना बन्ने् हैसियत राख्थे, र वदलामा स्वदेश फर्केर आफूलाई निम्त्याउने सम्बन्धितहरूको छवि निर्माणको कार्खाना खेलिदिन्थे, पुरस्कारका उर्वर वातावरण निर्माण गर्थे र मेजमानीको गुन तिर्थे । त्यो हैसियतको आफू नभए पनि कार्यवाह राजदूतको त्यो सम्बोधन र विषेणले भित्रभित्रै खुसी नलाग्ने कुरा थिएन, आखिर मान्छे नै त हौं हामी जो लोकाचारकै लागि भए पनि गरिएको आत्मचर्चा र प्रशंसाबाट प्रशन्न हुनेगर्छ ।
“विजयजी, ११ तारिख साँझ डिनरका लागि समय मिलाउन सकिन्छ ? मेरो २१ तरिख साँझ नेपाल फर्कने योजना छ र भोलिदेखि टोकियो बाहिरका आफ्नै विदाइ कार्यक्रको निम्तामा जाँदैछु । १० तारिख मात्र टोकियो फर्कने हुँदा आजै कन्फर्म गर्दा कसो होला ?” कार्यक्रमकै बीचमा गणेशजीबाट डिनरको निम्तो पाएपछि हुन्न भन्ने कुरै थिएन । त्यसो भन्नु शिष्टता पनि हुँदैनथ्यो । त्यसैले तत्कालै मैले मित्र गणेशजीको त्यो निमन्त्रणा स्वीकारेँ । उहाँले थप्नुभयो– म फर्कनासाथ कन्ट्याक्ट गर्छु, भाउजु सहित परिवारै आउनुपर्छ ।
कार्यक्रम रोचक थियो । महामहिम राजदूतबाट टोस्ट प्रस्ताव । सबै हातहातमा पेयपदार्थ लिएर उभिए टोस्ट प्रस्तावका लागि । गणेशजीले मेरो हातको गिलासमा गिलास जोडेर भने चियर्स ! हामीले एक अर्काको सुस्वास्थ्यको कामना ग¥यौं, दशैंको शुभकामना भन्यौं र ग¥यौं निवर्तमान राजदूत महोदयको सुस्वास्थ्य र भावी जीवनको सफलताको कामना !
केहीबेर संबोधनमा वित्यो, अर्काे केहीबेर फोटो सेसनमा । त्यसपछिको कार्यक्रम भने साँच्चिकै मन जित्ने खालको रह्यो । विदेशी भूमिमा नेपाली लोकगीत र नृत्यले हामी सबैको मन नजितोस् पनि कसरी ? त्यसमाथि ती गीत नृत्यका नृत्याङ्गनाका साथै नृत्य निर्देशक समेत नेपाली थिएनन्, जापानी थिए । । त्यो सुनेपछि त हामी झनै आनन्दित बन्यौं । ती जापानी महिलाहरूले नृत्यमार्फत देखाएका नेपालप्रतिको स्नेहबाट झनै अभिभूत बन्यौं हामी । ती नृत्यनिर्देशक जापानी महिलाले नेपालमैं संगीत सिकेकी रहिछन् । पद्यकन्या क्याम्पसमा नृत्य र गायन सिकेकी रे उनले । अहिले टोकियोमैं नेपाली नृत्य सिकाउने प्रशिक्षणकक्षा सञ्चालन गरेकी छन् रे उनले ! ओहो....कति महान् छन् यी जापानी महिला ! एकातिर मेरा लाहुरे पुस्ताका कतिपय नेपाली विदेश पलायन भएर आफ्ना सन्तानलाई नेपाली भाषा–संस्कृतिबाट विमुख बनाइरहेछन् । अर्कातिर यी जापानी महिला विदेशमा नेपाली लोकगीत–नृत्यका माध्यमद्वारा मेरो नेपाली भाषा–संस्कृतिको उज्यालो दीप प्रज्वलन गरिरहेकी छन् । दिलैदेखि श्रद्धापूर्वक नमन गरेँ मैले ती जापानी महिलालाई, तीप्रतिको श्रद्धाले शिर झुक्या मेरोे !
कार्यक्रमपछिको रात्रिभोज र यो उपस्थिति वास्तवमैं मेरालागि जापानमा रहेका धेरै नेपालीहरूसँग परिचय प्राप्त गर्ने सुन्दर अवसर रह्यो । जापान निवासी अपरिचित मित्रहरू क्रमशः आउँथे, परिचयका साथै मीठा कुराकानी हुन्थे । एकपछि अर्को गर्दै हामीबीचको परिचयको घेरा अरु फराकिलो बन्दैजान्थ्यो । कतिले मेरो नाम पहिल्यै सुनेका थिए, कतिको नाम मैले नेपाल छँदै सुनेको थिएँ । अझ कति अनुहार पूर्वपरिचित हुनुको सुखद् आश्चर्यसग समेत साक्षत्कार हुँदै दियो यदाकदा । विदेशमा भएको नेपाली समुदायसँगको यति फराकिलो भेटघाट धेरै वर्ष पछिको पहिलो थियो मेरो । त्यसैले झनै रमाइलो थियो यो समय ।
त्यस्तैमा सूर्य पाठकसँग परिचयभयो र परिचयसँगै एउटा कार्यक्रमको प्रमुख अतिथिको लागि निम्तो समेत प्राप्त भयो । एमाले सम्पर्क विदेश कमिटि, जापानसँग आबद्ध रहेछन् सूर्यजी । जापान बस्ने लोकतान्त्रिक राजनीतिक संस्कृतिका समर्थक नेपालीहरूबीच क्रियाशील नेपाली डेमेक्रेटिम फोरम जापानमा बस्ने प्रगतिशील खेमाका नेपालीहरूको साझा मंचको रूपमा क्रियाशील संस्था थियो । त्यही नेसनल डेमेक्रेटिम फोरम (एनडीएफ)का तर्फबाट आयोजना हुने दशैंको टीका लगत्तै ९ तारिखका दिन दिउँसोको दशैंको शुभकामना आदानप्रदान तथा सम्मान अर्पण कार्यक्रमको प्रमुख अतिथिका लागि सूर्यजीमार्फत संस्थाका तर्फबाट अनुरोध आएकोरहेछ यो । त्यसैगरी नेपाल जापान डटकम र टोकियोस्थित पत्रकार महासंघ जापान शाखाका पत्रकार मित्रहरूबाट पनि सम्मानमा रात्रिभोज र भेटघाटका लागि समय मिलउने अनुरोध आएको छ । अझ त्यस्तै अनुरोध छ अर्को दिन अन्तर्राष्ट्रिय साहित्य समाज जापान च्याप्टरका तर्फबाट डिनर तथा सम्मान कार्यक्रमको ।
नेपाली मित्रहरूको त्यो आत्मीयतापूर्ण आमन्त्रण मेरालागि लोभलाग्दा थिए, नहुने कुरै भएन । उता मेरो घुमन्ते मनको प्रामिकता र आकर्षण भने बढी घुमघाममैं रमाउन चाहन्थ्यो । यो चाहना पनि अस्वाभाविक थिएन सायद् । त्यसैले यी आमन्त्रण र मेरो रुचिको घुमघाम बीच समयको तालमेल कसरी मिलाउने केही समस्या हुनसक्थ्यो । यो जापान भ्रमणको मेरो सबै समय व्यवस्थापन आलोकको भएकोले उससँग सल्लाह नगरी म अहिल्यै केही भन्ने अवस्थामा पनि थिइन । त्यही बेला उसले कतै बाहिर जाने पो कार्यक्रम बनाएको छ कि ? त्यसैले तिनै कुरामा अलमलिएर यतिबेला मैले केही भन्न सकिन । सबैलाई मेरो एउटै जवाफ रह्यो– आलोकसँग सल्लाह गरेर खबर गरौंला नि हुन्न ? हुन्न भन्ने कुरै थिएन । त्यसमाथि आलोक स्वयम् ती सबै संस्थासँग आबद्ध थियो र सबैसँग परिचित पनि । त्यसैले ऊसँग सल्लाह गरेर कार्यक्रम र दिन तय गर्नु उनीहरूका लागि पनि सहज थियो ।
वास्तवमा म पार्टीफ्रेन्ड्ली छैन, न त भीडभाडमैं त्यति रमाउन सक्छु म । काठमाडौंमैं पनि सकभर म पार्टीहरूबाट बच्ने गर्थेँ र गर्छु । पत्रकारिता जीवनका विभिन्न भूमिका र जिम्मेवारीका क्रममा विदेशी दूतावासदेखि अन्य विभिन्न कार्यक्रम र सरकारी गैरसरकारी संघसंस्थाका यस्ता रात्रिभोज, भेटघाट र भोजभतेरमा लौ त भने हरेक दिन आमन्त्रित हुनेगरिन्थ्यो । अहिले पनि आउँछन् कहिलेकाहीँ यस्ता निम्ता । तर म प्राय जान्नँथें र जानै परेमा पनि पूरा समय बिताउनै सक्दिन थेँ । पार्टी फ्रेन्ड्ली हुनका लागि पिउने र समय अनुकूल गफगाफ गर्ने सीप र कला आवश्यक पथ्र्यो, जुन दुबै सीप मसँग थिएन । यो कुराले यो जापानस्थित दूतावासको रात्रिभोजमा पनि छाडेन मलाई । त्यसैले म सकभर छिटै फर्कन चाहन्थें, उता श्रीमती सहित अरु समूह बनएर गफगर्नबाट अघाएका देखिँदैनथे । त्यसैले अलि अलि गर्दा गर्दैं पनि अबेर भए नै हाल्यो खानपिन, भेटघाटबाट निस्केर फर्कन । घर फर्कंदा त मध्यरातै पो भइसकेछ !


1 comment:

  1. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to aiico insurance plc.you can also contact us by email(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete