(नवप्रज्ञापन–६७,माघ–चैत २०७१ म प्रकाशित नियात्रा )
पराइदेश पुगेपछिको पाँचौं विहान आज । ओछ्यान छाड्दा २०६८ साल असोज ११ गतेको सूर्यले छरेको कोमल प्रकाश आफ्नो साम्राज्य फैलाउन अग्रसर थियो । मध्यरातसम्म जागेर विहान अबेरै व्युँझने महानगरीय अभ्यासले जापान आएदेखि नै हामी पनि धेरथोर प्रभावित थियौं । घरमा छँदा चारै बजे उठेर पाँच बजे प्रातःभ्रमणमा हिँडिसक्ने म, यहाँ आएर अल्छी भएको थिएँ । ओछ्यान छाड्दै सात बज्थ्यो । अनि चियानास्ता पछि केहीबेर नजिकैको पार्क घुम्यो, फर्केर खानपिनपछि केही बेर आराम ग¥यो र त्यसपछि कतै नयाँ ठाउँ घुम्न हिँड्यो । टोकियोबाहिर जाने कार्यक्रम नहुँदा प्राय यही थियो मेरो टोकियो बसाइको दैनिन्दिनी ।
खासै घुमफिरको योजना थिएन आजको लागि । साँझ पाँच वजेतिर आलोकको अफिस पुग्ने र त्यतैबाट टोकियो टावर हेर्ने कार्यक्रम थियो । टोकियो टावरबाट रातीको झिलीमिली टोकियोको दृश्य हेर्ने चाहना पनि पुरानै थियो । बत्तीको झिलिमिली उज्यालोमा बीस वर्ष अगाडि हेरेको टोकियो सहरको सुन्दर दृश्य मनको कुनै कुनोमा अझै पनि धमिलो सम्झना बनेर रहेको थियो ।
मध्यान्हपछि मात्रै निस्कियौं हामी रोपोङ्गी तिर । मिनातो उपनगरको सर्वाधिक चर्चित ठाउँ थियो मिनातो । आफैमां सम्पन्न उपनगर ! विदेशी दूतावास र अन्तराष्ट्रिय अफिसहरूको सञ्जाल रहेको सहर थियो यो । अनि यही मिनातोमा पर्ने रोपोङ्गी के कम, टोकियोभर प्रख्यात थियो यो पनि । हाम्रो ठमेलजस्तै विदेशीहरूमा सर्वाधिक प्रिय । आलोकको अफिस यही रोपोङ्गीको मिडटाउनमा थियो ।
टोकियोका २३ वटा विशेष वार्डमध्येको एउटा सिबुया । फेसन र रात्रि जीवनको प्रमुख राजधानी । टोकियोभर नै सर्वाधिक युवा आकर्षणको थलो ! रोपोङ्गी जाने क्रममा हामी यही सिबुया स्टेसन आइपुगेका थियौं यतिखेर ।
टोकियोमै अति व्यस्त थियो यो सिबुया रेल स्टेसन । एबुसु गार्डेन ठाउँठाउँमा झरना र फोहराको कृत्रिम जलप्रपात फालेर मोतीमालाझैं स्वेतलहर छरिरहेको देखिन्थ्यो । स्टेसनको तिलस्मी संजालबाहिर तिनै जलप्रपातको आनन्द लिँदै विश्वप्रसिद्ध कलाकारहरूका मूर्तिकला (स्कप्चर) र प्रकृतिको आनन्द लिइरहेका हुन्थे सयौं दर्शकहरू । कलाकार ताकेसी सुचितानीको हात मिलाइरहेका मानिसहरू, अगस्ते रोदिनको जेनी दु रेपोस इटर्नल, अन्तोनियो बोरडेल्लेको ल फ्रुइट जस्ता कलाकृति कलापारखीका लागि आकर्षण बनिरहेका थिए । जो नागाहाराको पल्फाइङ क्रोसियन्ट, क्योक्यो कुमाइका से म्यान ना यु ता, मिनो शिरीको विन्डोज, केन्जी पमिसावाको वियोन्ड द कस्मोस, एरिस्टोडे मइलोटको पोमोने ड्रपी, हिरोसी मासुदाको वियोन्ड द बाल्कोनीदेखि मारी नोगुचीको फोनिक्स इटर्नल क्रिएसन शीर्षकका अनेकौं स्क्प्चर दर्शलाई त्यत्तिकै मोहनी लगाइरहेका थिए । अनि यही एबुसु गार्डेन छेउमैं सिबुयाको सानका रूपमा कलाकृतिको भण्डार बोकेर खडा थियो, टोकियो मेट्रोपोलिटन म्युजियम ।
रेलमार्गको प्रयोग गरेर जता पुग्न पनि सिबुया स्टेसन हुनै पथ्र्यो । त्यसैले सिनोकासिराबाट स्थानीय रेल समातेर आइपुगेका थियौं यहाँ । यताबाट रोपोङ्गी पुग्न कठिन थिएन । रेल वा बस कुनै समातेर सजिलै पुग्न सकिन्थ्यो । त्यसैले पनि स्टेसनकै रमाइलोमा भुल्यौं धेरबेर । इन्द्रजाली भुलभुलैयाजस्तो लाग्थ्यो स्टेसन– माकुराको जालोजस्तै । अलि ख्याल गरिएन भने त हामीजस्ता नौला मान्छे त्यसै हराउने । गर्भगृहदेखि तलामाथि तला ! सिङ्गो सहर लाग्थ्यो थियो स्टेसन आफैंमा ।
भवनबाहिर निस्कनै लाग्दा स्टेसनभित्रको एउटा भित्तोले हाम्रो आँखा तान्योे । एउटा विशाल भित्तिचित्र थियो त्यस भित्तोको वारपार । भित्तिचित्र अर्थात्– म्युराल ! अलिकति कलाचेत भएका जोकोहीलाई आकर्षित गर्न सफल थियो यो विशाल चित्र । त्यसको शीर्षक– “द मिथ अफ टुमोरो” ले नै जादुझैं तानिएँ म !
चित्रसँगै अङ््ग्रेजी भाषामा सामान्य विवरण अङ्कित थियो । आणविक बमद्वारा क्षतविक्षत मानव शरीरको प्रतीक रहेछ विशाल भित्तिचित्र । साथमा तीनवटा आकर्षक अभिव्यक्ति थिए –“द मिथ अफ टुमोरो” ! “कला जादू हो” र “कला विष्फोट हो” । मूर्तिकार तारो ओकामोतो (१९११–१९९६) ले बनाएका रहेछन् । तीस वर्ष मेक्सिकोमा बिताएर सन् १९६९ मा जापान फर्केपछि बनाएका रे । त्यतिबेलादेखि नै स्टेसनकमा आकर्षण बन्दै आएको ! आहा कति सुन्दर चित्र, लगभग आधा दशकदेखि यहाँ आवागमन गर्ने कराडौं आगन्तुकलाई युद्धको विभीषिका पढाउँदै निरन्तर शान्ति–सन्देश प्रवाहित गर्दै आएको छ यसले !
जापानी कलामा रहस्यवादका बारे गहिरो अध्ययन गरेर उनले दुईवटा महत्वपूर्ण ग्रन्थ पनि लेखेका रहेछन् – सिनपी निहोन अर्थात् जापानमा रहस्य (क्जष्लउष् ल्ष्जयल) र निहोन साइ–हाकेन, गेइजुत्सु फुदोकी अर्थात् जापानको पुनःआविष्कार र कलाको रेखाङ्कन (ल्ष्जयल क्बष्(जबपपभल(न्भष्वगतकग ँगमयपष्) शीर्षकमा । उनकै अर्को प्रसिद्ध कलाकृति “टावर अफ द सन” ओसाका एक्सपो–७० को प्रतीक चिह्न थियो ! यसको तल्लो खण्डले मानवजातिको भूत, बीचको खण्डले वर्तमान र माथिल्लो खण्डले भविष्यको दिग्दर्शन गराएको छ । यो कलाकृति अहिले पनि टोकियोको एक्सपो स्मृति पार्कको केन्द्रमा सबैलाई आकर्षित गरिरहेकै छ ।
जापान हामीजस्तो होइन । आफ्नो सभ्यताका उन्नायक साहित्यकार–कलाकारको सम्मान गरेर कृतज्ञता जनाउन जान्दछ । त्यसैले त तारो ओकामोतोको स्मृतिमा टोकियोको कावासाकी नगरले सिङ्गै सङ्ग्रहालय निर्माण गरेको छ– तारो ओकामोतो म्युजियम !
त्यो देख्दा मेरो मनमा जता हे¥यो शासक र नेताहरूको सालिक, प्रतिष्ठान र तिनका लागि सरकारी बजेटको रेलो देखिने मेरो देशमा परिवारजन र जनस्तरले स्थापना गरेका साहित्यकार–कलाकारका प्रतिष्ठान, स्मारक, सालिक आदिको संरक्षणमा समेत स्थानीय भलाद्मी भनाउँदा र शासकहरूको अनुदारपूर्ण कृतघ्नता बिझाइरहेको थियो । हामीकहाँ सरकारले सम्मानको नाउँमा वर्षेनी आर्थिक सहयोग बाँड्छ, नबाँड्ने पनि होइन । साहित्यिक पुरस्कारहरू पनि प्रदान गर्छ । तर ती सहयोग, ती पुरस्कार पाउन योगदान होइन, शासनको बाग्डोर समालिरहेको दलको कोटेरीभित्रको साहित्यकार–कलाकार कार्यकर्ताको पहिचान चाहिन्छ । कति कृतघ्न छ मेरो देश, जहाँ साहित्यकार–कलाकारको मूल्याङ्कन समेत योगदानले नभएर सत्तारूढ पार्टीसक्रियताको कोटाले निर्धारण गर्दछ ।
त्यो चित्ताकर्षक भित्तिचित्रको आकर्षणबाट बलजफती मुक्त भएर हामी स्टेसन भवनबाहिर निस्कियौं । अब हाम्रा पाइला अग्रसर थिए हाचिको पार्कतिर ! ए...यही पो रहेछ कतै कुनैबेला अत्यन्त भावुक भएर पढेको–हेरेको एउटा स्वामीभक्तिको अभूतपूर्व दृष्टान्त कथा र चलचित्रको रचनागर्भ ! त्यही हाचिको नामको एउटा स्वामीभक्त जापानी कुकुरप्रति कृतज्ञता प्रकट गर्न बनाएका रहेछन् जापानीहरूले यो हाचिको पार्क । त्यो देखेर उनीहरूको कृतज्ञता ज्ञापन गर्ने उदारमना शैलीप्रति फेरि एकपटक नतमस्तक बनाएको थियो हामीलाई ।
त्यही देखेर लक्ष्मीको मुखबाट निस्किएको थियो– आहा...कति गुनिला यी जापानी !
सिबुयासँग अभिन्न रूपमा गाँसिएको थियो ‘हाचिको’ । अनि उसैको नाउँमा बनेको यो पार्क सिबुयासँग नगाँसिने कुरै भएन ! ‘हाचिको’ मानिस थिएन, तर थियो मानिसभन्दा पनि भरपर्दो र इमान्दार मित्र ! यस्तो मित्र जो मित्रको हात र साथ कुनै हालतमा छाड्दैन । छुकेन हाचिको नामको त्यही स्वामिभक्त कुकुरको सत्य कथा सुनाइरहेको थियो यो पार्क ।
अकिता प्रिफेक्चरको ओदाते नगर नजिकैको एउटा फार्ममा जन्मेको थियो हाचिको । त्यसैले यहीँबाट सुरु हुन्छ यसको सत्यकथा । टोकियो विश्वविद्यालयको कृषि विभागका प्राचार्य हिदेसाबुरोले उसलाई ओएनो ल्याएछन् । स्वामीभक्त हाचिको अलि ठूलो भएपछि उनी बिहान बेलुका अफिस जाँदा र फर्कने बेलामा सधैं सिबुया स्टेसनसम्मै लिन पु¥याउन पुग्थ्यो रे !
दुर्भाग्य, एकदिन विश्वविद्यालयमैं मस्तिष्कघात भएर प्रोफेसर हिदेसाबुरोले अस्पतालमैं प्राण छाडे । उता हाचिको भने मालिकआउाछन्भनेर स्टेसनमा बसि नै रह्यो । विचरो उसलाई अब मालिक कहिल्यै फर्कँदैनन् भन्ने के थाहा ? एक सेकेन्डलाई पनि छाडेन उसले त्यो ठाउँ । नमरुन्जेल नै पर्खिरह्यो ! स्टेसनमा नियमित आउने जाने यात्रीहरूको ध्यान बिस्तारै हाचिको तर्फ तानिँदै गयो, तिनैले दिएको खानेकुरा खाएर केही दिन बाँच्यो ।
त्यही बेला ओएनो विश्वविद्यालयकै एकजना पूर्व विद्यार्थीले उसको स्वामीभक्तिका सम्बन्धमा एउटा लेख छपाए । अनि त के थियो र, उसको स्वामीभक्ति बारेमा एकपछि अर्को लेख–समाचारहरू छापिँदै गए । १९३२ मा टोकियोको प्रतिष्ठित राष्ट्रिय दैनिक ‘आसाही सिम्बुन’ ले उसको अपूर्व स्वामीभक्तिका बारेमा छापेपछि त जापानभर हाचिकोलाई नचिन्ने कोही भएन ! अनि राजादेखि रङ्कसम्मको परिचित बन्यो हाचिको । केही समयपछि मालिकलाई पर्खँदा पर्खँदै सिबुया स्टेसनको सडकछेउको त्यही कुनोमा मरिहेको भेटियो, मार्च १९३५ को एक दिन । स्वामीभक्तिको अभूतपूर्व कथासहित संसार छाडे्यो हाचिकोले ।
आहा कस्तो समर्पण, कस्तो स्वामीभक्ति ! टोकियाबासी पनि इमान्दारीको कदर गर्न चुक्दैनन् । कृतज्ञता प्रकट गर्न पछि पदैनन् । त्यसैले त १९३४ को अप्रिलमा हाचिको जीवित छँदै सम्मानमा उसको ढलोटे सालिक स्थापना गरे ! यो मात्र होइन, अरु पनि छन् उसको स्वामीभक्तिको सम्मान गर्दै राखिएका सालिकहरू ! ऊ जन्मेको ठाउँ नजिकै ओदाते स्टेसन लगायत अरु अरु ठाउँमा ।
सिबुया स्टेसन बाहिर हाचिकोले आफ्ना मालिकलाई पर्खने गरेको ठाउँमैं ढलोटद्वारा बनेको हाचिकोको पाइलाछाप प्रतीकचिह्न छ ! त्यसैमा लेखिएको छ उसको स्वामीभक्तिको कथा । वर्षेनी ८ अप्रिलको दिन हाचिकोको सम्झनामा त्यहाँका स्थानीय मानिसहरू हाचिको पार्कमा भेला हुन्छन् र उसप्रति सम्मान अर्पण गर्नेगर्छन् ।
सिबुया स्टेसनको पश्चिमोत्तर कुनोमा स्टेसनसँगै जोडेर बनाइएको यो हाचिको चोकको सालिक अगाडि उभिएर हामीले पनि उसको सम्मान र सम्झनामा फोटो खिचायौं ! चोक मानिसहरूलाई भेटघाट, समय कटनी र कुराकानीको अवसर दिएर असाध्यै रमाएको थियो । पार्कको छेवैमा सिबुयाको चौबाटोमा वारपार गरिरहेका हजारौं मानिसको हुलले मानव सागरको भान गराइरहेको थियो । ओहो, कति विशाल मानवसागर ! मानौं सिंगो टोकियो उर्लिएको छ यो चौबाटोमा । साँच्चै हेर्न लायक थियो त्यो मानवसागर ।
अब रोपोङ्गी आलोकको अफिस पुग्न हामीसँग धेरै समय बाँकी थिएन । रोपोङ्गी पुग्ने दुई विकल्प मध्ये रेल नचढेर बस समात्यौं र रोपोङ्गी ८० माइलमा ओर्लियांै । बाटो देखाउने अगुवा सीता छँदै थिइन् ।
रोपोङ्गी ! के होला यो रोपोङ्गीको अर्थ ? खुलदुली अस्वाभाविक थिएन । पछि जानियो, छवटा रुखको अर्थमा बनेको रहेछ यो नाउँ । सन् १९६०को दशकदेखि जापानी नागरिक र विदेशीहरूबीच लोकप्रिय बन्दै गएको रे यो ठाउँ । मूलतः डिस्कोका लागि प्रसिद्ध थियो विदेशीहरूका लागि । अहिले नगरभित्रको एउटा सानो उपनगर बनेको थियो यो टोकियो मिड टाउन । मिडटाउन टावर र रोपोङ्गी हिल रोपोङ्गीका दुई बलिया खम्बा थिए यसका ।
इजुमी गार्डेन टावर र रोपोङ्गी हिलमा क्षेत्रमा सन् २००० को प्रारम्भतिर गगनचुम्बी भवनहरूको सञ्जाल निर्माण हुनथाल्यो । त्यसपछि त दिन दुईगुना रात चौगुना विकास गर्दै यो ठाउँले । मिडटाउन कम्प्लेक्स रोपोङ्गीको सबैभन्दा अग्लो भवन थियो ! छवटा कलात्मक गगनचुम्बी भवनहरूको विशाल समूह थियो यो । सबैभन्दा अग्लो संरचनाको उचाइ २४८.१ मिटर थियो । कार्यालय भएका भवनहरूमध्ये टोकियोकै सबैभन्दा अग्लो यो ५९ तले भवन अङ्ग्रेजीको एम आकारमा बनेको देखिन्थ्यो । यसमा जमिनभित्र पाँच र जमिनमाथि ५४ तला थिए । आलोक यसैको ४२ औं तलामा रहेको हेक्सकोडमा कार्यरत थियो अहिले । यो अवलोकन केन्द्र नभएर कर्यालय भवन भएकोले ३३ तलाभन्दा माथिबाट बाहिर हेर्न र फोटो खिच्न निषेध थियो । हामीले छोराको अफिस हुनुको फाइदा उठायौं र आलोकको साथ लागेर ४२ औं तला पुग्नासाथ क्यामरामा कैद ग¥यौं लगभग अढाइ किलोमिटर परको टोकियो टावर र टोकियो सहरको विहङ्गम दृश्य ! यो पनि यथार्थमा नियमभङ्ग नै थियो । आखिर नेपाली न हांै, यस्ता सानातिना कुरामा कहाँ पो नियम हेर्छौं र ?
राम्रा मात्र हुँदैनन् सबैको सबै कुरा । हो, रोपोङ्गी पनि कुनै बेला केही कुरामा वदनाम थियो । धेरै अगाडि जापानी संगठित अपराधि समूह ‘याकुजा’ को गढ थियो यो । पछि त्यो समूह यताबाट अरु ठाउँमा छरियो र रोङ्गी जापानकै अत्यन्त प्रतिष्ठित र महँगो ऐयासीपूर्ण थलो बन्यो । विदेशी आकर्षणको प्रमुख केन्द्र ! टोकियो मिडटाउन जापानी युवाहरूको समेत “ड्रिम” थियो , आहा टोकियो मिड टाउनमा काम गर्न पाए यस्तै सपना पाल्छन् रे जापानी युवा !
हेर्दा हेर्दै रोपोङ्गीको मिडटाउन मैं साँझको छ बज्यो । बाहिरै खाना खाने योजना बनाएका थियौं आज । त्यसैले अफिसबाट निस्केपछि नजिकैको एकजना भारतीयको “सिया साउथ इन्डियन होटेल” मा खाइयो खाना । टोकियो टावर नजिकै भएकोले मेरो हिँडेरै पुग्ने प्रस्तावमा लक्ष्मीको पनि सहमति मिल्यो । उसले पनि हिँडेरै जान सक्छु भनेपछि त के थियो र ?
हिँड्दा नयाँ ठाउँ र नयाँ नयाँ कुरा देखिन्छन्, तिनको अन्तरङ्ग परिचय पाइन्छ । नभन्दै मिड टाउन टावरको केही उता जानासाथ नयाँ कुरा देखियो– एउटा विशाल सोरुममा न्याना लुगामा लुटुपुटु पारेर राखिएका कुकुरका अनेकौं मायालाग्दा छाउराहरू ! हरेकको छेउमा मूल्य सूची टाँसिएको थियो । विक्रिका लागि राखिएका ती छाउराहरू छेउछेउमा टाँसिएका एक लाख डेढ लाखसम्मका मूल्य सूची देखेर हामी सबैले जिभ्रो टोकेका थियौं । आहा कति भाग्यशाली यी कुकुरका छाउरा ! दूधभात खाएर न्याना लुगामा लुटुपु गरिहेका यिनलाई देख्दा मेरा आँखा अगाडि इँटाभट्टादेखि सडकको धूलोमैलोमा भविष्य खोजिरहेका मेरा शिशुहरूको अबोध आँखा भलझली अगाडि आइरहे ।
आठ बजेतिर खाना खएर हिँडेका थियौं, लगभग आधा घन्टामा पुग्यौं टोकियो टावर । सिन्दुरे रंगको नियनलाइटको उज्यालोमा नुहाएको टोकियो टावरको राजसी छटा हेर्नेहरूको भीड बाक्लै थियो । हुन त सिंगो टोकियो नै बत्ती नै बत्तीको उज्यालोमा नुहाएर उज्यालोकै महासागरजस्तो देखिन्थ्यो रातमा । रातको टोकियोलाई यही टावरबाट बीस वर्ष अघि नियालिसकेकोले रातमा नभएर दिनमा चढ्ने चाहना जाग्यो र अर्कोपल्ट दिउँसै आएर टावर चढ्ने सल्लाह गर्दै फक्यौं हामी । रेल समात्न अघि बढ्दा बीस वर्ष अघिको जापान भ्रमणको सम्झना ताजा बनाइदिएका थिए जोजोजी मन्दिर र टोकियो प्रिन्स होटेलले । हो त्यतिबेला हामी बसेको होटेल यही थियो ।
No comments:
Post a Comment