Sunday, December 28, 2014

के नै दिनुृ सक्छु र म गुरूदक्षिणा ! –विजय चालिसे

(अक्षरका पुजारीः रममणि रिसाल, स्मृतिग्रन्थ कात्तिक २०७१मा प्रकाशित)

२०२८–२०२९ सालतिर पछिल्लोपल्ट नेपाल नेसनल कलेजको रात्रिकक्षमा पहिलोपल्ट सुनेको ‘राममणि रिसाल’ नाम पछिल्लो चारदशकसम्मै बिर्सन नसकिने नाम र व्यक्तित्व बन्नेछ भन्ने त्यतिबेला मलाई कुनै अनुमान थिएन । स्कुल र कलेज जीवनमा मलाई शिक्षाको उज्यालो देखाउने र आदर्शपूर्ण जीवनमार्गमा अघि बढ्ने प्रेरणा दिने गुरुहरू अरु पनि धेरै हुनुहुन्थ्यो । हुनसक्छ, कलिलो उमेरमा गुरूप्रभावलाई मैले मानसको वर्णपटमा नमेटिने गरी अङ्कित गर्न सकिन सायद् । त्यसैले तीमध्ये कतिपय आदरणीय गु्रूहरूको नाम र आकृतिसमेत घुर्मैलो लाग्छ स्मृतिबिम्बमा ! तर यस्ता केही गुरू व्यक्तित्व छन्, जो मेरा स्मृतिबिम्बमा कहिल्यै नमेटिने गरी कोरिएका छन्, अङ्कित भएकाछन् । तिनै गुरूहरू मध्ये मैले लामो समय निरन्तर प्रेरणा प्राप्त गर्दै आएका अघिल्लो पङ्क्तिमा टडकारोसँग देखिने आदरणीय गुरुवरको नाममा भने राममणि रिसालको नाम सबैभन्दा माथिल्लो लहरमा आउँछ । यो नाम कहिले र कसरी गुरूबाट स्नेही दाइको रूपमा परिणत भयो, सम्झना छैन । हो, कहिले देखि ‘सर’ बाट ‘दाइ’ मा परिण हुनुभयो र मैले गुरूको सट्टा उहाँलाई दाइको सम्बोधन गर्न थालेँ, त्यो पनि मलाई थाहा छैन । यसरी मेरो जीवनमा राममणि रिसालका बहुविध भूमिका छन्– मलाई मार्गदर्शन गर्ने श्रद्धेय र आदर्श गुरूको, स्नेही दाजुको र लेखकीय प्रेरणास्रोत अग्रज सहधर्मी साहित्यकारको !
यसरी सर्वप्रथम नेपाल नेशनल कलेको सूचनापाटीमा टाँसिएको कक्षा तालिकामा नेपाली विषका गुरूको रूपमा अङ्कित नाम ‘राममणि रिसाल’ र उहाँको शालीन–सौम्य व्यक्तित्व मेरे जीवनको पछिल्लो चालीस वर्षभन्दा पनि बढी समय आदर श्रद्धा, र अपनत्वको साकार व्यक्तित्व बनिरह्यो र पे्ररणा प्रदान गर्दै आयो ।
राममणि रिसाल स्नातक कक्षामा नेपाली साहित्यका गुरू हुनुहुन्थ्यो । उहाँको गलाबाट महाकविको सुलोचना महाकाव्य सस्वर सुनेर कक्षामा हामी विद्यार्थी मन्त्रमुग्ध बन्दथ्यौं । उहाँको बुझाउने शैली, व्यख्या गर्ने तरिका र सहीअर्थबोध गराउने एउटा सफल शिक्षकको गुण त्यतिबेला रोटीरोजीका लागि गोकर्णको सहयोगी निम्नमाध्यमिक विद्यालयमा शिक्षकको भूमिका समेत निर्वाह गर्दै आएको मेरा लागि अत्यन्त अनुकरणीय प्रेरणा समेत बन्यो । राती कलेजबाट घर फर्कँदा सात बजेपछि गौशालासम्मको बस समेत नपाइने समय थियो, आज सुन्दा एकादेशको कथाजस्तो लाग्ने ! बस पाइएमा अलिकति भए पनि हिँडाइ कम पथ्र्यो, नभए कलेजबाट घर (आरुबारी) पुग्न पसिनाका धारा बगाउँदै पैदल दुई घन्टा हिँड्नु पथ्र्यो– लगभग १० किलोमिटरको दूरी तय गर्दै । सँगै आउने यतातिरका साथी समेत कोही थिएनन् । त्यस अवस्थामा गौशालसम्म मात्र चल्ने बस चढेर अलिकति भए पनि हिँडाइ कम गर्न प्राय कक्षाहरू नछाडी सुखै थिएन । राममणि सरको कक्षा भएको दिनमा भने उहाँको कक्षा छाड्नुभन्दा मेरालागि निर्जन अँध्यारोमा हिडेरै घर पुग्ने चुनौती सहर्ष स्वीकार हुन्थ्यो । त्यो उहाँको शिक्षणकला र शैलीकै चमत्कार हो ।  
भर्खरभर्खरै बालपत्रिकाहरूमा छापिन सुरुभएको मेरो सिकारु बालसाहित्यकारको परिचय साहित्यको कथा विधामा पनि पखेटा फैलाउने रहर गदै गर्दै थियो । त्यस क्रममा मधुपर्क मासिकले २०२७ साल कात्तिक अङ्कमा मेरो ‘दुई शत्रु’ शीर्षक अनुवाद कथा छापेर मलाई सर्वप्रथम उत्साहित बनाएको थियो । त्यसपछि गोरखापत्रले आफ्नो २०३० साल साउन ६ गतेको अङ्कमा पहिलो मौलिक कथा ‘कुहिरोमा रुमल्लिएको जिन्दगी’ छापेर कथालेखनमा मलाई पहिलो मौका दियो भने त्यसलाई अरु अघि बढ्ने हौसला दिएको थियो ‘आँशुमा रुझेको जीवन’ शीर्षक मेरो दोस्रो मौलिक कथा छापेर २०३० असोजको जमरा ले । मेरो शिरमा यी आशिर्वादपूर्ण हात राख्नुहुने यी प्रकाशनका सम्पादक हुनुहुन्थ्यो– भैरव अर्याल र राममणि रिसाल ! त्यो समयमा गोरखापत्रको शनिवासरीय परिशिष्टाङ्क र मधुपर्क मासिकको सहसम्पादन भैरव अर्यालदाइले गर्नुहुन्थ्यो भने शंकरदेव कलेजको वार्षिक प्रकाशन जमराका प्रधानसम्पादक हुनुहुन्थ्यो गुरूवर रामणि रिसाल । मलाई लाग्छ आजको मेरो कथाकार व्यक्तित्वको यो यात्रा निरन्तर साधनारत रहनमा यी दुई श्रद्देय सम्पादक व्यक्तित्वहरूको उत्तिकै हौसलापूर्ण प्रेरणा रहेको छ । रिसाल सरले विभिन्न समयमा जमराका अतिरिक्त पनि ललिता, अरुणोदय, झङ्कार, जिज्ञासा आदि पत्रिकाको सम्पादन गरेर सशक्त निबन्धकार र समालोचक मात्र होइन साहित्यिक पत्रकारिताको क्षेत्रमा समेत योगदान दिनुभएको छ कुशल सम्पादकका रूपमा । त्यसरी राममणि दाइको साहित्यक पत्रकारितासँग पनि जोडिन पुगेको थिएँ म, र त्यो संयोग मेरो. कथाकार व्यक्तिको विकासमा एउटा महत्वपूर्ण चरण बन्न पुगेको छ ।
थोरै मानिसँग मात्र पछिसम्म सुरुको परिचय र अकर्षण कायम रहन्छ । कतिपय परिचय र सम्बन्ध बीचैमा हराउँछन्, विस्मृतिको गर्भमा विलुप्त हुन्छन् । थोरैसँग मात्र सुरुदेखि जीवनयात्राको लामो कालखण्डसम्मै आदरपूर्ण आकर्षण कायम रहन्छ । म अलि सङ्कोची स्वभावको, सजिलै सबै
वातावरणमा घुलमिल गर्न नसक्ने कमजोरीका कारण थोरैसँग मात्र निकटताबोध गर्नसक्छु । त्यसैले रिसालसरसँगको यो लामो सम्बन्धको कारण उहाँकै उदात्त व्यक्तित्वको प्रतिफल हो । कलेजमा मात्र होइन, बाहिरफेर भेट हुँदा पनि रोकिएरै भलाकुसारी गर्ने मात्र होइन ‘के कसो गर्दै छौ ? के लेख्दै छौ ? लेख...लेख्न नछाड’ जस्ता आत्मीय प्रोत्साहनका वचन र व्यवहारले कति बेला ‘रामणि गुरू’ नै ‘राममणि दाइ’ मा रूपान्तरित हुनुभएछ; मन खोलेर कुरा गर्न सकिने नजिकको अभिभावकका रूपमा  परिणत भइसक्नु भएछ, पत्तै भएन । वास्तवमा विद्यार्थीको अभिवादनको उत्तर दिँदासमेत अपमान ठान्ने गुरूहरूको भीडमा राममणि रिसालको त्यो अपनत्वपूर्ण निश्छल (हो, त्यो व्यवहारमा कुनै छल हुँदैनथ्यो, देखावटी भलादमीपन देखिँदैनथ्यो र हुँदैनथ्यो बाहिरि आडम्बर) व्यवहार देख्दा आफैँसँग प्रश्न गर्थेँ सुरुसुरुमा– ‘ए आफ्ना छात्रहरूसँग यस्तो साथीभाइको झैं व्यवहार गर्ने गुरूहरू पनि हुँदारहेछन् ?’ त्यसैले त्यतिबेला चेलाहरूसँग जहाँ जतिबेला भेट्दा पनि केहीबेर रोकिएर आफ्नै साथीभाइसँग झैं कर्णप्रिय मृदु स्वरमा प्रेरणाका आशिर्वचनको वर्षा गर्ने राममणि रिसाल मलाई अर्केा ग्रहबाट आएका दुर्लभ जीवझैं लाग्नुहुन्थ्यो, एउटा आदर्श गुरूको रूपमा ! उहाँको त्यो व्यवहार त्यसरी नेशनल कलेजको कोठामा सुरु भएर पछिको लगभग चादशकको जीवन यात्रामा निरन्न्तर आत्मीय सम्बन्धका रूपमा कायम रह्यो । यसलाई म आफ्नो जीवनको एउटा प्राप्ति ठान्दछु, जुन उहाँकै व्यक्तित्वका कारण सम्भव भएको थियो ।
दोहोरो आङको डम्म परेको अग्लो शरीर, शरीरजस्तै फैलिएको ठूलो छात्ती, ठूलै भिउँटे अनुहारमा जतिखेर देख्दा पनि हाँसिरहेझैं लाग्ने मोटा ओठ, चम्किला नबिझाउने शीतल आँखा, र अत्यन्त मृदुृबोली– हो पहिलोपल्ट कक्षामा देखेदेखि लगभग चालीस वर्षपछिको वार्धक्यसम्मै मेरो स्मृतिबिम्बमा अमिट भएर रहेको छवि हो यो मेरा प्रिय गुरू, स्नेही दाइ र प्रेरक अग्रज स्रष्टा राममणि रिसालको !
राममणि रिसालका झण्डै साढे तीन दशकको राष्ट्रिय जीवन शिक्षण, प्रशासन र सृजनाका खण्डखण्डमा विभक्त देखिए पनि एकाकार छन्– एक अर्काका परिपूरक ! प्राध्यापनबाट प्रंशासनिक सेवामा लाग्नुभएका राममणि रिसालको शिक्षक–प्रशासक दुवै व्यक्तित्वको योगदान रहेको छ उहाँको स्रष्टा व्यक्तित्वमा । दूधमा घोलएको चिनी झैं घुलमेल भएका छन् राममणि रिसालको अभौतिक जीवनलाई अमरत्व दिलाउने अक्षरब्रह्मका समग्र सिर्जनामा उहाँका प्रशासनिक र शैक्षणिक जीवनका अनुभव–अनुभूतिहरू ! त्यसैले यी तीन व्यक्तित्वमध्ये सबैभन्दा शिखरमा छ राममणि रिसालको सर्जक व्यक्तित्व । हुन त प्रशासन सेवामा रहेरै पनि उहाँले रेडियो नेपालको उपनिर्देशक र गृह मन्त्रालय अन्र्तर्गत रहँदा नेपालका जेलको अवस्था सुधार्ने क्रममा दिनुुभएको उल्लेखनीय योगदान त्यत्तिकै स्मरणीय छ ।
यति भएर पनि राममणि दाइ सबैभन्दा पहिले सर्जक हुनुहुन्छ र त्यसपछि प्राध्यापक अनि मात्र राष्ट्रसेवक प्रशासक ! नेपाली काव्य र प्रकृति कृतिले गंम्भीर द्रष्टा अर्थात् समालोचकको श्रेणीमा उभ्याएको भए पनि राममणि रिसालको मूल धर्म समालोचना नभएर सिर्जना हो । त्यो पनि निबन्ध ! ‘कुनै गुटमा नभएर अभिव्यक्तिवादमा विश्वास गर्ने’  राममणि रिसाल अध्येताहरूका मूल्यङ्कनमा पनि २०४० सालपछि निबन्धमा विचारशील र संवेदनशील स्वच्छन्दतावादी धाराका निबन्धकारमध्ये स्पष्ट पहिचान लिएर आउने निबन्धकार व्यक्तित्व हो र उहाँका निबन्धमा नै मानवीय संवेदनाले पूर्ण कलात्मक तथा स्वच्छन्द निजात्मक अभिव्यक्ति पाइन्छ ।
नेपाली साहित्यका अध्येताहरूको भनाइमा नेपाली निबन्धको आधुनिक चरणको प्रारम्भ महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘आषाढको पन्ध्र’ (शारदा १९९३) बाट भएको हो । यो भनाइ मान्ने हो भने उनले सुरु गरेका आत्मपरक निबन्धको धारामा देखिने प्रमुख स्रष्टहरूमध्ये राममणि रिसालको निबन्धकार व्यक्तित्व शीर्ष स्थानमैं सुरक्षित छ । राममणि दाइको साहित्यिक क्षेत्र निबन्ध हो र यसैमा उहाँले लेखकीय विशिष्टता हासिल गर्नुभएको छ । उहाँका सङ्ग्रहहरूमा ललित, नियात्रात्मक र संस्मरणत्मक तीनै प्रकारका निबन्धहरू रहेका छन् ।
यहाँका अधिकांश निबन्धहरू आत्मपरक निजात्मक छन् । संस्मारणत्मक–नियात्रात्मक निबन्धहरूमा थरी थरीका पात्रहरू आउँदछन्, थरी थरीका चरित्रहरू आउँदछन् र आउँदछन संस्थाहरू । ती संस्थाहरूसँग गासिएका, जोडिएका व्यक्ति–व्यक्तित्वहरू आउँदछन्, लेखकले घुमेडुलेका ठाउँहरू आउँदछन् र निर्माण हुँदै जान्छन् विशाल चित्रफलकमा  जीवन्त चित्रहरू ! सिंगो नेपाली जीवनक्रमका प्रवृत्ति, चरित्र, संस्कार र संस्कृतिले आख्यान जस्तै लाग्ने वाणी पाउँदै जान्छन् । ती ठाउँहरूमा लेखकले देखेका भोगेका जीवन अथ्र्याउने बहुआयामिक बिम्बात्मक चित्रहरू जीवन्त हुँदै जान्छन् उहाँका चित्रात्मक अभिव्यक्तिको स्पर्श पाएर ! यसरी उहाँका कलम पाठकलाई जीवन र जगतका बहुविध दृश्यघटनालाई निजात्मक अनुभूतिको चास्नीमा चुर्लुम्म डुबाएर मीठो स्वाद दिनमा अत्यन्त पोख्त छन् ।    
त्यसैले मोन्टेँले “मेरो निबन्धको विष मैं हुँ, किन भने मैले सबैभन्दा बढी मलाई नै चिनेको छु ।” भनेजस्तै राममणि रिसालका निबन्धहरूका विषय पनि स्वयम् उहाँ नै हुनुहुन्छ, उहाँ अर्थात् आजको मान्छे ! हो उहाँको निबन्धका विषय मानिस रहेका छन् र तिनमा आजको अर्थात् उहाँले भोगेको जीवनका सिङ्गो युग समेटिएको छ । यस अर्थमा जीवनवादी अर्थात् जीवनोन्मुखी साहित्यका प्रवक्ता बनेको छ रामणि दाइको निबन्धकार व्यक्तित्व, साहित्यकार व्यक्तित्व !
यिनै शब्द श्रद्धा बाहेक के नै दिनुृ सक्छु र म गुरूदक्षिणामा !          

Thursday, December 25, 2014

राष्ट्रिय संस्कृति, भूमण्डलीकृत सांस्कृतिक साम्राज्य र सञ्चारमाध्यम –विजय चालिसे

(भृकुटी–१९,समालोचनात्मक एवं अनुसन्धानात्मक साहित्यिक–सांस्कृतिक सङ्ग्रह, सांस्कृतिक अध्ययन विशेशाङ्क असार, २०७०)


१. राष्ट्रिय संस्कृति र लोकसंस्कृति तथा लोकजीवनः

संस्कृतिमा ‘लोक’ पूर्वपद मिलेर समस्तपदका रुपमा ‘लोकसंस्कृति’ र ‘साहित्य’मा ‘लोक’ पूर्वपद लागेर ‘लोकसाहित्य’ बनेको छ । संस्कृति, साहित्य अदि शब्दमा पूर्वपदका रुपमा मिलेर जनता र जाति विशेषको अर्थ दिने ‘लोक’ शब्दको व्युत्पत्ति संस्कृत व्याकरण अनुसार लोक दर्शने धातुमा घञ् (अ) प्रत्यय लागेर (लोक+घञ् (अ)=लोक) बनेको मानिन्छ । यो धातुको अर्थ देख्नु वा हेर्नु हो । त्यसैले यो हेर्ने वा देख्ने जनसमुदाय नै लोक हो । ‘लोक’ शब्दको सामान्य अर्थ हुन्छ लोकजगत वा ग्राम्यजगत । तिनै सामान्यजनको जीवनलाई ग्राम्यजीवन भनिन्छ र तिनै सामान्य लोकजनद्वारा स्वतस्फूर्त स्वभाविक रूपमा गर्ने गरेका अभिव्यक्ति, सिर्जना, विधिव्यवहार, रहनसहन, अर्थात् लोकजीवनका सामान्य जनसमुदायको समष्टिगत ज्ञानवैभव लोकसंस्कृति वा लोकवार्ता हो भने लोकको उपभोगका लागि, लोकलाई उपभोक्ता बनाउन औद्योगिक उत्पादनसमान निर्मित भौतिक तथा अभौतिक संस्कृति लौकिकसंस्कृति वा पपुलर कल्चर हो । यो लौकिक संस्कृति यथार्थमा संस्कृतिको व्यापारीकरण गर्ने सशक्तमाध्यम हो ।    
लोकसंस्कृति लोेकजीवनको सचेत सिर्जना र व्यवहारका यावत कुराहरू समाहित गर्ने समग्र लोकशिल्पचातुर्य हो, जुन भाषा, चिह्न, सङ्केत, विश्वास, परम्परा, वेषभूष, खानपान, रहनसहन आदिका रूपमा मूर्तिकरण हुन्छ । यसैबाट जातीय तथा समष्टिगत राष्ट्रिय सभ्यताको निर्माण हुन्छ । अर्थात् कुनै पनि राष्ट्र वा जातिको सर्वाङ्गीण प्रतिविम्ब देखिने शिल्प, विचार, दर्शन, आदि कार्यकलापको परिष्कृत स्वरूप त्यसको मौलिक संस्कृति हो । अनन्तपूर्वदेखि आचारविचार आदिमा विकसित हुँदै आएको समाजको यथार्थ स्वरुप झल्कने मौलिक संस्कृति कलासाहित्य, दर्शनभाषा, धर्म, सामाजिक रीतिस्थिति आदि मूल्यपरम्पराको माध्यमबाट विकसित राष्ट्रिय सभ्यताको बाहक पनि हो । 
नेपाली साहित्यकोश भन्छ, “लोकजीवनसँग युगानुकूल भएर आफ्नै आत्मा र आफ्नै मुटुको स्पन्दनमा आफ्ना जीवनशैलीलाई सरस र सुन्दर तथा सुखमय र कल्याणामय बनाउनका खातिर तिनीहरूद्वारा सिर्जना गरिएको मनोवैज्ञानिक अभिव्यक्तिले लोकसंस्कृतिको रूपधारण गर्न पुग्यो जसभित्र थरीथरीका लोकविश्वास, लोकमान्यता र लोकपरम्पराहरू, लोकरीतिरिवाज र लोकप्रथाहरू तथा उखानटुक्का, गाउँखानेकथा, दन्त्यकथा, लोकगीत आदि समावेश हुन आउँदछन् ।” प्रत्येक जाति, प्रत्येक ठाउँ र प्रत्येक देशको आफ्नै परम्परागत व्यवहार हुन्छ । सङ्क्षेपमा यही  व्यवहारलाई नै लोकसंस्कृति भन्न सकिन्छ । यिनै व्यवहारबाट आआफ्नो जाति, धर्म, राष्ट्र आदिको परिचय गराउन सहयोग मिल्छ । अनि अनेकतामा विस्तारित यिनै संस्कृतिले एकतामा समाहित भएर राष्ट्रिय संस्कृतिको स्वरूप लिन्छ । देशको भौगोलिक तथा जातीय विविधताद्वारा निर्मित बहुविध रीतिरिवाज, चालचलन, रहनसहन, बोलीबचन, धर्मकर्म, कला–साहित्य, दैनिक उपभोग्य सामानको प्रयोग, जीवनशैलीजस्ता मानवका दैनिक जीवनमा परम्परादेखि प्रवाहित लोकमान्यता, धारणा र सम्पदाले एउटा सिंगो संस्कृतिको निर्माण हुन्छ । 
निचोडमा, संस्कृति कुनै पनि राष्ट्र वा जातिको सर्वाङ्गीण प्रतिबिम्ब देखिने शिल्प, विचार, दर्शन, आदि कार्यकलापको परिष्कृत रुप हो । समाजको यथार्थ स्वरुप झल्कने संस्कृति लामो समयदेखि मानिसका आचार–विचार, कला–व्यवहार आदिमा विकसित हुँदै आउँछन् । त्यसैले कला–साहित्य, दर्शन–भाषा, धर्म–सामाजिक रीतिस्थिति आदि मूल्यपरम्पराले नै सभ्यताको निर्माण गर्छन् । 

२. दोहोरो चुनौतीमा राष्ट्रिय संस्कृतिः

हाम्राजस्तो विकासका दृष्टिले पछिडिएका राष्ट्रले सांस्कृतिक दृष्टिमा दोहोरो चुनौती बेहार्नु परिरहेको छ । पहिलो, सामन्ती संस्कृतिका संवाहक जनविरोधी संस्कृतिलाई जनसंस्कृतिमा रूपान्तरण गर्ने चुनौती । दोस्रो, सोभियत सङ्घको विघटनसँगै विश्व बैंक र अन्तर्राष्टिय मुद्राकोषलाई अघि सारेर अमेरिकी नेतृत्वले अघि बढाएको खुला बजार अर्थव्यवस्था र भूमण्डलीकरण प्रक्रियासँगै विकसित भएको उपभोक्तावादको छद्म भेषमा प्रसारित साम्राज्यवादी लौकिक संस्कृतिको दुष्प्रभावबाट सिर्जित बाह्यसंस्कृतिको आक्रमणबाटजोगिने चुनौती । 
नेपाली समाजमा सहरी जनसंख्याको सम्पन्न र नवधनिक वर्गको एउटा हिस्सा आधुनिकताका नाउँमा बाहिरी संस्कृतिको अन्धाधुन्द अनुकरण गरिरहेको छ । यही समाजको अर्को सर्वाधिक ठूलो हिस्सा आर्थिक सामाजिक शोषणको हतियारका रूपमा विकसित गलत संस्कार र व्यवहारलाई नै वास्तविक संस्कृति ठानेर अझै शोषण–उत्पीडनको जीवन भोगिरहेको छ । यसरी एकथरी आप्mनो मूल्यमा आधारित सांस्कृतिक पक्षहरुलाई लहैलहैमा त्याग्दै स्वच्छन्दता र नियन्त्रणहीन उन्मुुक्ततालाई आधुनिक सभ्यताको पहिचान ठान्ने गल्ती गरिरहेका छन् भने, अर्काथरी राष्ट्रिय र जातीय संस्कृतिका नाउँमा सामन्ती सत्ता टिकाउन हतियारका रूपमा प्रयोग गरिँदै आएको आर्थिक–सामाजिक शोषण र विभेदको पर्खाल खडा गर्न सघाउने विभिन्न रीतरिवाज र धर्मपरम्पराहरूबाट अझै शोषण तथा अन्धविश्वासबाट मुक्त हुनसकिरहेका छैनन् । फलतः एकातिर हाम्रो राष्ट्रियजातीय संस्कृतिलाई हलिउड र बलिउडकासाथै बहुराष्ट्रिय निगमद्वारा उत्पादितप्रवद्र्धित बाह्य संस्कृतिबाट विस्थापित हुने खतराम पुगिरहेका छ, अर्कातिर बोक्सी र छूवाछूतजस्ता सभ्यताकै अभिशापहरुबाट नेपाली समाज मुक्त हुन सकिरहेको छैन । यस बारेमा बेलाबखत चिन्ता प्रकट गर्ने विज्ञजनबाट पनि संस्कृतिका नाउँमा चलाइएका गलत विधिव्यवहारको संस्कार र परिमार्जन गर्ने तर्पm त्यति चासो राखेको पाइँदैन । यसरी नेपाली संस्कृतिमा घुसेका गलत व्यवहारको परिमार्जन हुननसक्नु र बाह्य  सांस्कृतिक अतिक्रमणको अन्ध अनुसरणमा होमिनुको दोहोरो चापमा नेपाली सभ्यता र संस्कृति अहिले नराम्ररी चेपिएको अनुभव हुन्छ । 

२.१.आन्तरिक चुनौती र अपेक्षित सांस्कृतिक आन्दोलन

आज नेपाली जनताले राजनीतिक क्षेत्रमा प्राप्त गरेका अभूतपूर्व ऐतिहासिक उपलब्धिलाई जोगाउनका लागि पनि अबको हाम्रो आन्दोलन सांस्कृतिक आन्दोलनको दिशा तर्फ लक्ष्यित हुनु जरुरी छ । सांस्कृतिक क्रान्तिकै जगमा राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरण र अग्रगमनले दिगो स्वरूप ग्रहण गर्दछ । राजनीतक सन्दर्भमा सांस्कृतिक आन्दोलनको प्रभावको उदाहरण भर्खरै प्राप्त गणतन्त्रको पृष्ठभूमिलाई मान्न सकिन्छ । संस्कृतिक रूपमा फैलाइएको  अवतारवादको भ्रमबाट नेपाली जनताले मुक्ति पाएपछि नै सात सालदेखिको गणतन्त्रको नेपाली चाहनाले मूर्त रूप लिनसक्यो । 
नेपाली समाजले यस दिशामा केही चासोे देखाउन थाले पनि राज्य र राजनीतिक पक्षले यसतर्फ अझै आवश्यक मात्रामा ध्यान दिएको छैन । परिवर्तित राष्ट्रिय राजनीतिको सन्दर्भमा आज संंस्कृतिका विविध प्रश्न, समस्या र चुनौतीबारे गंभीर छलफलबाट नै स्पष्ट नीति–कार्यक्रम अवलम्बन गर्न सकिन्छ । तसर्थ अहिले लोकतान्त्रिक संस्कृति निर्माणको दिशा, नेपाली संस्कृतिमा बाह्य संस्कृतिको प्रभाव तथा त्यसको परिणाममाथि नियन्त्रणको उपायका साथै भावी सांंस्कृतिक आन्दोलन र त्यसको दिशा के कस्तो हुने भन्ने विविध प्रश्नका उत्तर खोज्नु अत्यन्त आवश्यक छ । लामो समयदेखि  नेपाली राज्यसत्तामा नियन्त्रण राख्दै आएको सामन्ती राजतन्त्र राजनीतिक रुपमा समाप्त भए पनि लामो समय यसलाई जोगाउन सफल देखिएका संस्कृतिकाअनेकौं पक्षहरू अझै जीवित छन् । यिनबाट छुटकारा पाउनका लागि सांस्कृतिक आन्दोलनको आवश्यकताछ । राजनीतिक मात्र होइन आर्थिक–सामाजिक कुनै पनि क्षेत्रले उपयुक्त सांस्कृतिक शुद्धिकरण बिना सही दिशा र गति लिन सम्भव देखिँदैन ।
वल्र्ड कमिसन अन कल्चर एन्ड डेभलपमेन्ट (१९९५) ले “संस्कृतिलाई साध्यको दास होइन, यो ती साध्य स्वयम्का लागि सामाजिक आधारका रूपमा हेरिनुपर्दछ । (culture is to be considered not as a servant of ends, but as the social basis of those ends themselves) भन्ने स्वीकार गरेर संस्कृतिले मानवीय अस्तित्वको अर्थ दिन्छ र विकासका आधुनिक आयाममा मानव विकासका अभौति अर्थात् सांस्कृतिक पक्षको त्यत्तिकै महत्व छ भन्ने कुरालाई महत्व दिएको यहाँ स्मरणीय छ ।
यस क्रममा विभिन्न प्रश्न खडा हुनसक्छ के हामी आफ्नो सांस्कृतिक मूल्य कायमै राखेर आर्थिकसामाजिक तथा मानवीय विकासलाई गति दिन सक्छौं ? आधुनिकतालाई कसरी हेर्ने ? हाम्रोजस्तो राष्ट्रले नेपाली राष्ट्रिय मूल्यलाई कायम नै राखेर आधुनिकतामा प्रवेश गर्न सम्भव छ ? भूमण्डलीकरणको युगमा राष्ट्रियताको सन्दर्भलाई हेर्ने दृष्टिकोणकस्तो हुनुपर्छ ? आदि...आदि....। यी प्रश्न र सन्दर्भलाई राष्ट्रियतामा आधारित पहिचानको सन्दर्भमा हेरिनु जरुरी छ । आजको गणतान्त्रिक नेपालमा म को हुँ ?, हामी को हौं ? जस्ता पहिचान सम्बन्धी प्रश्न तीब्रताका साथ उठिरहेका छन् । यस पृष्ठभूमिमा समग्र राष्ट्रिय पहिचानयुक्त जाति, भाषा, लिंगजस्ता समूहपहिचान र विकासको अवधारणसँग राष्ट्रिय संस्कृतिको सुदृढीकरणका बाटाहरू पहिल्याउनु अत्यन्त जरुरी भएको छ । वि.सं. २०६२÷६३ को जनआन्दोलन पश्चातको संघीय गणतन्त्रात्मक नेपालमा सबैभन्दा चर्कोसँग उठेको वर्तमानका यी पहिचानको खोजीलाई सही तरिका र उद्देश्यबाट उठाउन र संवोधन गर्न नसिकँदा विभिन्न जटिलताहरू देखा परिरहेका छन् । यी जटिलताबाट कसले र कसका लागि उठाइरहेको छ यस्ता प्रश्न ? कसप्रति संबोधित छ यो प्रश्न ? कुन सन्दर्भ र पृष्ठभूमिमा यो उठाइँदै छ ? र कुन अवस्था र उद्देश्यका लागि उठाइँदैछ ? भन्नेजस्ता विभिन्न प्रश्नहरू उठिरहेका छन् । यी प्रश्नहरूको सही उत्तर नखोजुन्जेल यो जटिलताको गुत्थी सुल्झिन कठिन छ । इतिहास भन्छ युरोपेली साम्राज्यवादको भौगोलिक–सांस्कृतिक विस्तारसँगै अतिक्रमित भूगोलका जातीय भाषा, संस्कृति र राष्ट्रिय पहिचान समाप्त हुँदै जान थालेपछि त्यसको दुष्प्रभावबाट ग्रसित पश्चिमी संस्कृति र भाषा आदिका विरुद्धमा बिस्तारै उठ्दै गएको प्रश्न हो विश्वसन्दर्भमा यो ‘म को हुँ’ को सांस्कृतिक प्रश्न । त्यही कुरा अहिले हामीकहाँ सांस्कृतिक भन्दा पनि राजनीतिक रूपमा बढिरहको छ । नाम, लिङ्ग, पहिचान, जातिगत पहिचान, राष्ट्रियता, भाषा, धर्मजस्ता कुरा समाहित हुने “म को हुँ” भन्ने सांस्कृतिक प्रश्न वास्तवमा राजनीतिसँग भन्दा संस्कृति र समग्र मानव विकाससँग गाँसिएको प्रश्न हो ।
सांस्कृतिक रूपान्तरण सोचेजति सजिलो नहुने भएकोले यसका लागि निरन्तरको गम्भीर छलफल आवश्यक रहन्छ । नेपाली जातीय संस्कार र संस्कृतिका विविध पक्षमा कतिपय असल र आवश्यक तत्वहरू विद्यमान् भए पनि यसभित्र धर्मका नाउँमा घुसाइएका कार्मकाण्डीय विकृतिहरूले प्रत्यक्ष र परोक्ष रूपमा समेत अवतारवाद र सामन्ती राजतन्त्रलाई टिकाउन मद्दत गर्दै आयो । त्यो कर्मकाण्डीय सोच अभ्यासमा अझै पनि अत्यन्त दरिलो छ । आज यो भ्रमबाट नेपाली जनताले राजनीतिक रूपमा मुक्ति पाए पनि सांस्कृतिक रूपमा अझै लोकजीवनका कर्मकाण्डीय पद्धति र बरव्यवहारमा यो कायमै छ । तसर्थ २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनको उपलब्धिलाई नगुम्ने गरी सुरक्षित राख्ने हो भने अब सबैको ध्यान समयानुकूल अग्रगामी संस्कृतिको संवद्र्धन तर्फ लाग्नु अपरिहार्य छ ।
यसका लागि नेपाली संस्कृतिमा अन्तर्भूत जनसंस्कृति वा जनमुखी लोकसंस्कृतिको पहिचान पहिलो आवश्यकता हो भने हाम्रा संस्कार संस्कृति र व्यवहारमा विद्यमान् त्याज्य पक्षहरूको पहिचान र तिनको उपयुक्त र वैज्ञानिक प्रतिस्थापन अर्को आवश्यकता । हाम्रा व्यवहारमा रहेका मूल्यपरक मानवीय पक्ष र जनविरोधी सामन्ती सोचका आधारहरूको पहिचानविश्लेषण बिना यो संभव छैन । त्यसपछि मात्रै हाम्रा संस्कार र संस्कृतिका अग्राह्य पक्ष र अन्तरबस्तुलाई प्रतिस्थापन गर्नउपयुक्त विकल्पको निकास खोज्न सम्भव हुन्छ । त्यो विकल्पको अभावमा सिर्जना हुने खाडल तत्काल पुर्न नसकिए बाह्य विकृत संस्कृतिका अग्रह्यले कुराले त्यो खाली ठाउँ भर्नखोज्नु स्वाभाविक हुन्छ । 
हाम्रा परम्परागत संस्कार र संस्कृतिमा सबै कुरा नकारात्मक र अवैज्ञानिक मात्र छैनन् । न त ती सबै सकारात्मक र ग्राह्य मात्रै छन् । कतिपयमा मानवीय संस्कार, संस्कृति र वैज्ञानिक चेतनायुक्त सकारात्मक शाश्वत पक्षहरू छन् भने, कति पुरातन रुढीआधारित सामन्ती सोच र सत्ताका हतियार बन्दै आएका जनविरोधी पक्ष । ती शाश्वत पक्षलाई छोप्दै आएका रुढी र अन्धविश्वास मिल्काएर लोकसंस्कृति र संस्कारका उज्याला रूपको परिमार्जन सकारात्मक बन्न सक्छन् । त्यसरी नै आज नयाँ संस्कृति निर्माणको प्रश्न उठिरहँदा दैवी सिद्धान्त, परलोक र पुनर्जन्मवाद, जातिवादी वर्णव्यवस्था र भाग्यवादजस्ता अग्राह्य पक्षका अतिरिक्त अन्य सकारात्मक पक्षको खोजी पनि त्यत्तिकै जरुरी छ ।
यस यथार्थका बीच विभिन्न प्रश्न उठ्नु स्वाभाविक छ । यस आलेखको उद्देश्य यी समग्र प्रश्न र पक्षहरूको विस्तृत अध्ययन गर्नु होइन, यसतर्फ विद्वत् वर्गको ध्यान आकृष्ट गर्नु मात्र हो । किन भने हाम्रो सन्दर्भमा गर्नु पर्ने धेरै काम बाँकी नै छ । आजसम्म हामीले सबै कुरा अरुकै धारणा, दृष्टिकोण र सन्दर्भमा विकसित सिद्धान्त–अवधारणको आधारमा गर्दै आएका छौं । त्यसैले हाम्रो आफ्नो सन्दर्भमा विकास र संस्कृतिको सम्बन्ध राम्ररी केलाइनु जरुरी छ, हाम्रो आफ्नो सामाजिक–सांस्कृतिक मूल्यको आधारमा विकास अवधारणलाई विश्लेषण गरिनु जरुरी छ अनि मात्र विकासलाई हेर्ने हाम्रो दृष्टिकोण र अवधारणा आफ्नो राष्ट्रिय वा एसियाली मूल्यका आधारमा निर्धारण गर्न सम्भव हुनेछ ।

२.२. बाह्य चुनौतीः

आजको सबैभन्दा ठूलो चुनौती बाह्य संस्कृतिको प्रभावबाट राष्ट्रिय तथा जातीय संस्कृतिलाई कसरी जोगाइराख्ने भन्ने हो । बाह्य संस्कृति भन्नाले नेपाली संस्कृतिमा रहेको विचारधारा, व्यवहार मूल्यका अतिरिक्त जनताले निर्माण गरेको प्रतिपक्षीय चेतनाद्वारा प्रचलित जनसंस्कृतिलाई ध्वंश गर्न चाहने विदेशी हस्तक्षेपकारी नकारात्मक संस्कृतिलाई बुझ्नु आवश्यक छ । यीमध्ये आध्यात्मिक रहस्यवादका नसाका रूपमा यथास्थितिलाई टेवा दिएर विकासको गतिलाई ऋणात्मक प्रभाव पारिरहेकोभारतीय सांस्कृति पहिलो हो । नेपाली संस्कृतिमाथि सुरुदेखि नै पर्दै आएको छिमेकी प्रभावले धाकिर्मक र अन्य सम्प्रदायहरूका आधारमा आध्यात्मिक रहस्यवादका विविध रूपको प्रभाव विस्तार हुँदै आएको छ । हामीलाई पुँजीवादी भावधारामा उपभोक्तावादी सोच र संस्कृतितर्फ आकर्षित गरिरहेको छ । हाम्रो अर्को चुनौती भनेको पश्चिमी र त्यसमा पनि मूलतः अमेरिकी लौकिक संस्कृतिको विस्तारले पुँजीवादी भावधारामा उपभोक्तावादी सोच र संस्कृतिको प्रसार गर्दै राष्ट्रिय भावधाराबाट युवापुस्तालाई विमुख गराउने रणनीतिमाथि कसरी सन्तुलित नियन्त्रण कायम गर्ने भन्ने नै हो । यी दुवै प्रवृत्तिले काल्पनिक भ्रम र सपनाको सन्सारमा भुलाएर वास्तविक समस्या र तिनको समाधानबाट दिशान्तर गर्ने काम गरिरहेका छन् । यो प्रवृत्तिमा अन्तर्निहित उद्देश्य संस्कृतिलाई आमउपभोग्य बस्तुको रूपमा उत्पादन र प्रसार गरेर आमसंस्कृति (Mass Culture) को बजार प्रबद्र्धन गर्नु हो । यीे आम उत्पादनले संस्कृतिको उपभोगजन्य रुपान्तरण गरेर सही संस्कृतिक मूल्यलाई गलत ढङ्गमा अर्थान्तरण गरिरहेका छन् । यसरी विशेषज्ञता प्राप्त उद्योगका रुपमा संस्कृतिको बजारीकरण वा उपभोक्ताकरण (modification of culture) ठूलै चुनौती बनेर स्थानीय अल्पसङ्ख्यक संस्कृतिमाथि खतरा बनिरहेको छ । यी चुनौतीलाई विभिन्न आधारमा हेरिनु जरुरी हुन्छ ।
भूमण्डलीकरण र विश्वग्रामको अवधारणामा फैलँदो पश्चिमी सांस्कृतिक साम्राज्यले बजारीकरण वा उपभोक्ताकरजस्ता रणनीतिद्वारा विकासोन्मुख साना अर्थतन्त्र भएका राष्ट्रहरूमा बहुराष्ट्रिय निगमहरू मार्फत चुनौतीको सिर्जना गर्ने काम सञ्चारमाध्यम र अन्य सम्बन्धका कारण तीब्र गति लिइरहेको छ । सांस्कृतिक अतिक्रमणका कारण साना कमजोर राष्ट्रका आफ्ना मूल्य, मान्यता र संस्कृतिको भूमिका गौण हुँदैछ । यसबाट आजको पुस्तामा आफ्नो राष्ट्रिय तथा जातीय संस्कृतिका साथै राष्ट्र र राष्ट्रियता समेत गौण ठान्ने प्रवृत्ति बढिरहेको देखिँदैछ । 
पश्चिमी एकाधिकारका विश्वसञ्चार संयन्त्र, बहुराष्ट्रिय निगम, पुँजीवादी अर्थतन्त्रका प्रसारक विश्वसंस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू यो नयाँ खाले साम्राज्यवादी संस्कृतिको प्रसारका प्रमुख अभियन्ता बनेर भूमिका निर्वाह गरिरहेका छन् । काल्पनिक भ्रम र सपनाको सन्सारमा भुलाएर वास्तविक समस्या र तिनको समाधानबाट दिशान्तर गर्ने यो नयाँ साम्रज्यवादी अभियान अन्तर्गत सांस्कृतिक उत्पादनद्वारा सांस्कृतिक मूल्यको गलत अर्थान्तरण भइरहेका छन् । पश्चिमी मूल्यका ती आमसांंस्कृतिक उत्पादसँग स्थानीयतामा आधारित संस्कृतिले प्रतिस्पद्र्धा गर्नसक्ने क्षमता हुँदैन र राष्ट्रिय संस्कृतिका सही मूल्यहरू विस्थापित हुँदै जान्छन् । जाति, समाज र राष्ट्रकै जीवन्त स्वरुप संस्कृतिमाथि यसरी उपभोक्तावादी बाह्य संस्कृतिको प्रभाव बढ्दो छ । भाषा, साहित्य, आमसञ्चार, श्रव्यदृश्य माध्यमबाट आउने चलचित्र, संगीत, र कम्प्युटर प्रविधिले फैलाउने कम्प्युटर गेमजस्ता लोकप्रिय उत्पादनले केटाकेटीदेखि नै मानसकि रुपमा गरिहरो प्रभाव पारिरहेको छ । पश्चिमी बहुराष्ट्रिय उत्पादन खानेकुरादेखि पहिरनसम्मका उपभोग्य बस्तुसँगै भित्रिइरहेका नयाँ खाले पश्चिमी संस्कृतिले हाम्रा विधिव्यवहार, खानपान र जीवनपद्धतिलाई उनीहरूकै जीवनपद्धति अनुरुप मोड्दै छ ।
सञ्चारमाध्यमको विकास र तिनको पश्चिमा नियन्त्रणले ठूला र सम्पन्न धनी मुलुकको संस्कृतिलाई संसारभर फैलाएर पश्चिमा सांस्कृतिक साम्राज्य खडा गर्न सघाइरहेको छ भने साना गरिब मुलुकका मौलिक राष्ट्रिय संस्कतिमाथि तीब्र अतिक्रमणका कारण ती संस्कृति विलुप्त हुने दिशामा अग्रसर हुँदै छन् । अन्तर्राष्ट्रिय पुँजीवाद र सांस्कृतिक साम्राज्यवादलाई मलजल गर्दै आएको शीतयुद्धको अन्त्यपछि विकसित नयाँ विश्वव्यवस्थाले भू–मण्डलीकरणको माध्यमबाट बहुराष्ट्रिय निगम र आइएनजिओका आडमा पश्चिमा शक्तिसाली समाजको आर्थिकसांस्कृतिक वा समाजको उच्चतम संरचनामाथि नियन्त्रण गर्ने प्रयासमा सफलता पाए । सञ्चार क्रान्तिद्वारा निर्मित विश्वग्रामले यो प्रक्रियालाई अरु तीब्र बनायो । यसरी आज संस्कृतिको बजारीकरणजस्ता नयाँ रणनीति प्रयोग गरेर वैचारिक असर विस्तार गर्दै मानिसलाई तिनका अनुभवको गलत व्याख्या गर्न प्रेरित तुल्याइरहेका छन् । जर्मनअमेरिकी सञ्चार सिद्धान्तकार हन्नाह आर्डेन्टको ‘बजारनिर्देशित आमसञ्चारमाध्यमले निर्देशित मनोरन्जनको माध्यमद्वारा संस्कृतिलाई विस्थापनको बाटोमा लैजान्छ’ भन्ने भनाइ सत्य सिद्ध गरेको छ । 
प्रारम्भिक सामाजिक प्रणालीमा दैनिक जीवनको संस्कृति भौगोलिक रूपमा एक्लिएका समुदायद्वारा निर्माण र नियन्त्रित हुन्थे । त्यतिबेला राजा र ठूला जमिन्दारबाट समग्र सामाजिक प्रणाली नियन्त्रित हुने भए तापनि ती समाज र समुदायका अलग्गै आफ्नै संस्कृति हुन्थे । लोक–संस्कृतिद्वारा नै तिनका दैनिक जीवन निर्देशित हुने गर्थे । तर आधुनिक सामाजिक प्रणालीमा प्रवेश गर्दै जाँदा दैनिक जीवनको संस्कृतिमाथि उच्च वा कुलीन वर्ग अर्थात एलिटहरूद्वारा हस्तक्षेप गरिएको आमसंस्कृतिको सुरुआत हुँदै गयो । यसैलाई विज्ञहरू संस्कृतिको बजारीकरण वा उपभोक्ताकरण भन्छन् । यी नयाँ स्वरूपहरूले प्रभावकारी रूपमा वैचारिक असर फैलाएर मानिसलाई तिनका अनुभवको गलत व्याख्या गर्न प्रेरित गरेर आम मानिसलाई आफ्नै रूचि र स्वार्थका विपरित लाग्न हौस्याउने गरेका छन् । यसरी उनीहरू विकासोन्मुख समाज र तिनका सामाजिक प्रणालीलाई आफ्नो मुठीभित्र बन्द राख्नुका साथै संस्कृतिलाई नाफामूलक उद्योगमा परिणत गर्ने काममा अभूतपूर्व सफलता पाइरहेका छन् ।
यसबाट सिर्जित अवस्थाको गाम्भीर्यलाई बुझेर नै होला युनेस्कोको विश्व घोषणापत्र ‘आवर क्रिएटिभ डाइभर्सिटी–१९९५’ मा यस्तो भनिएको हुनुपर्छ “संस्कृतिलाई उपभोग्य बस्तुको रूपमा उत्पादन गर्ने प्रवृत्तिले कला र संस्कृतिलाई आयआर्जनको उत्पादित तत्वका रूपमा प्रस्तुत गरेर लोकसंस्कृतिको अमूर्त भावात्मकता, इतिहास र संस्कृतिक मूल्य, मूल्य निर्माण गर्ने अन्तर्निहित केन्द्रीय अङ्ग र सीमान्तीकृत लोकजीवनका समुदायको परम्परा  आदिको असान्दर्भिकरण गर्दै सांस्कृततिक अभ्यासको खास अर्थलाई नष्ट गर्दछ (The commodification of culture and the creative arts decontextualizes and destroys the meaning of cultural practices. Equating the arts as income-generating products eliminates the spirituality, history and value of cultural practices, the central ingredient that maintains values and celebrates the traditions of disadvantaged communities.)” भनिएको  हुनुपर्छ ।

२.३. भूमण्डलीकरण र राष्ट्रिय संस्कृतिमा यसको प्रभावः 

विश्वसमाजका सामाजिकसांस्कृतिक, आर्थिकराजनीतक र प्राविधिक सबै क्षेत्रमा एकीकृत विश्वव्यापी सञ्चालनद्वारा वैचारिक नियन्त्रण समेतको विश्वव्यवस्था भूमण्डलीकरणलाई सर्वप्रथम प्राध्यापकरोल्याण्ड रोबर्ट्स ले “विश्वको सङ्कुचन र विश्वलाई समष्टीगत एकाइका रूपमा बुझ्ने दृष्टिकोण (All the processes by which the peoples of the world are incorporated into a single world society)” भनी परिभाषित गरे भने अर्का विद्वान् एन्थोनी गिडेन्सले “सुदूर स्थानीयतलाई जोड्ने विश्वव्यापी सम्बन्धहरूको विस्तारीकरण” भने । 
हुन पनि आज पुँजीवादकै साम्राज्यवादी विस्तारको नयाँ रूप भूमण्डलीकरणका कारण राष्ट्रिय सीमारेखा भत्किँदै गएको छ । खुला बजार र व्यापारव्यवस्था, बजारद्वारा निर्देशितनियन्त्रित पुँजी र जनसङ्ख्याको विश्वव्यापी खुलापन तथा आवागमनले सिर्जना गरेको अन्तर्निभरता निरन्तर बढ्दो छ । परिणास्वरूप सबै साना मुलुक, समाज र जातिका संस्कृतिहरू पश्चिमा बहुुराष्ट्रिय निगमका विश्वव्यापी उत्पादन तथा सांस्कृतिक उद्योगद्वारा उत्पादिक आमसंस्कृतिबाट नराम्ररी प्रभावित भइरहेका छन् । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोद्वारा सन् २००१ को नोभेम्बर २ मा जारी सांस्कृतिक विविधतासम्बन्धी विश्व घोषणापत्रले यो यथार्थलाई केही हदमा स्वीकारेको छ ।
माथि नै भनियो शीतयुद्धको अन्त्यपछि विकसित भएको यो नयाँ विश्व व्यवस्था अर्थात् भूमण्डलीकरण यथार्थमा अन्तर्राष्ट्रिय पुँजीवाद र पुँजीतथा सूचना र सञ्चारको अनियन्त्रित सीमापार प्रवाहमा आधारित छ । त्यसैले भूमण्डलीकरणको प्रशंशा मात्र होइन आलोचना पनि हुने गरेका छन् । साना मुलुकहरू यो विश्वव्यवस्था अन्तर्गत बहुराष्ट्रिय निगम तथा विरानो मूल्य र मान्यतायुक्त विषयको प्राधान्य रहने विदेशी सञ्चार माध्यमहरूले आफ्नो शक्ति र क्षमतालाई चुनौती दिनुका साथै अवमूल्यन गरिहेको अनुभव गरिरहेका छन् । भूमण्डलीकरणका विरुद्ध स्थानीय संस्कृतिको अवमूल्यन गरेर जताततै हलिउड उत्पादित बहुसंस्कृतिको साम्राज्य स्थापना गरिरहेको आरोप लाग्ने गरेको छ । यो आरोपका पछाडि पर्याप्त आधारहरू पनि छन् । टेड टर्नरको सीएनन, रुपर्ट मोर्डखको अमेरिकी फक्स न्युज र टेलिभिजन च्यानल र माइकल आइजनरको डिस्ने इण्टरनेसनलका साथै हलीउड नियन्त्रित बहुराष्ट्रिय सञ्चारनिगमका साथै पश्चिमा उपभोक्ता बहुरष्ट्रिय उद्योहगहरूको मुठीमा आजको सिङ्गो विश्व कैद हुँदै गइरहेकोछ । यही पृष्ठभूमिमा स्यामुयल हण्टिङटनले भूमण्डलीकरणले यथार्थमा परम्परागत जातीय तथा सांस्कृतिक सामाजिक आन्दोलन बढाएको धारणा प्रकट गरेका हुनुपर्छ ।
सोभियत संघको विघटन र शीतयुद्धको अन्त्यपश्चात बजार अर्थतन्त्र र प्रजातन्त्र प्रमुख केन्द्रमा आएकाछन् । बजार व्यापारको विस्तारले संसारभरकै समाजमा सामाजिकआर्थिक अवस्था र संस्कृतिको क्षेत्रमा तीब्र परिवर्तन ल्याएको छ । वास्तवमा सञ्चार प्रविधि र मुद्राकोष, विश्वबैंक आदिद्वारा प्रबद्र्धित सरकारी नीतिबाट प्रोत्साहित बजार बिस्तारको स्तर र प्रभावले नयाँ उँचाइ प्राप्त गरिरहेको छ र पुँजीवाद तथा बजार बिस्तारको निरन्तरताले सर्वाेच्चता प्राप्त गरिरहेको छ । यो भूमण्डलीकृत सामाजिक जीवनको अधिकांश भाग विश्वव्यापी प्रक्रियाद्वारा निर्धारित हुने भएकोले राष्ट्रिय संस्कृति, राष्ट्रिय सीमा र राष्ट्रिय  अर्थतन्त्र लोप हुँदै छन् । खुृला बजार अर्थतन्त्रका प्रवक्ताहरूले जति नै यसबाट विकासगति तीब्र भएको दावी गरेपनि अङटाडकै प्रतिवेदनले त्यो देखाउँदैन । विश्व अर्थतन्त्र अति सुस्त गतिमा अघि बढेकोले पर्याप्त रोजगारी सिर्जना हुन सकेको छैन, धनी र गरीवबीचको खाडल बढ्दैछ । सञ्चार प्रविधिको अभूतपूर्व विकासले सिंगो संसारलाई खुम्च्याएर सञ्चारविद् मार्सल म्याक्लुहानको विश्वग्रम अवधारणालाई यथार्थमा परिणत गरेसँगै पश्चिमी तथा अमेरिकी उपभोक्तावादी संस्कृतिको भूमण्डलीकृत स्वरूपले अभूतपूर्व तीव्रता ग्रहण ग¥यो । यसबाट आन्तरिक आर्थिकसामाजिक क्षमतामा कमजोर रहेका हाम्राजस्ता राष्ट्रको सांस्कृतिक जीवन बिस्तारै प्रभावित हुँदै गएको देखिंँदै छ ।
संस्कृतिलाई उपभोग्य बस्तुको रूपमा उत्पादन गर्ने प्रवृत्ति (commodification of culture) अर्थात संस्कृतिको आम उत्पादनद्वारा स्थानीयतामा आधारित संस्कृतिको प्रत्यक्ष प्रंतिस्पद्र्धात्मक वितरण हुँदा के हुन्छ भन्ने विषयलाई लिएर विभिन्न विद्वानहरूले अध्ययन गरेका छन् । आलोचनात्मक सांस्कृतिक अध्ययनका क्रममा देखा पर्ने एउटा महत्वपूर्ण र चुनौतीपूर्ण पक्ष संस्कृतिको बजारीकरण वा उपभोक्ताकरण (commodification of culture) नै हो । यस दृष्टिले आमसञ्चार माध्यम उभोग्य संस्कृतिको उत्पादन तथा वितरणमा विशेषज्ञताप्राप्त उद्योग हो । आजको हाम्रो यो अवस्थालाई सन् १९७३ तिर अमेरिकी सञ्चार सिद्धान्तकार हर्बर्ट सिलरले अगाडि सारेका सांस्कृतिक सम्राज्यवादी सिद्धान्तले राम्रै सँग प्रष्ट्याएको छ । उनले भनेका थिए पश्चिमी मुलुकका सञ्चारले विश्वलाई दबाएका छन् र यसबाट पश्चिमी दृष्टिकोण लादिएर तेस्रो विश्वको राष्ट्रिय संस्कृतिमाथि शक्तिसाली दवाब सिर्जना हुनगई तिनलाई नष्ट पार्ने संभावना प्रवल छ । हुन पनि उनले भनेजस्तै पश्चिमा बहुराष्ट्रिय निगमका उपभोग्य उत्पादन, हलीउड उत्पादित लोकप्रिय संस्कृति र तिनैद्वारा नियन्त्रित विश्वसञ्चार संयन्त्रहरूद्वारा तेस्रो विश्व भनिने हामी तिनै पश्चिमी जीवन शैली, विश्वास र सोचाइमा व्यामोहित हुँदै छौं । यसरी बिस्तारै तिनकै जीवनशैली र संस्कृति अनुसरण गरेर आफ्नो राष्ट्रिय र जातीय संस्कृतिबाट विमुख बन्दैछौं । यसरी उनीहरू संस्कृतिक वा समाजको उच्चतम संरचनामाथि नै नियन्त्रण गरेर आफ्नो प्रभाव बिस्तारमा निरन्तर सफल बन्दै गएका छन् । यसबाट विकासोन्मुख राष्ट्रहरूको संस्कृति र राष्ट्रिय उत्पादनलाई पश्चिमा तथा क्षेत्रीय विकसित राष्ट्रका बहुराष्ट्रिय निगमका उत्पादनले निलेर राष्ट्रिय उत्पादन समाप्त पार्नुका साथै आफ्नो मूल्यगत मैलिकता र स्वरूप समाप्त पार्ने निश्चित छ ।
औद्योगिक स्तरको सांस्कृतिक आमउत्पादनसँग स्थानीयतामा आधारित संस्कृतिको प्रतिस्पद्र्धा गर्ने क्षमता नहुनु स्वाभाविक हो । यसर्थ संस्कृतिको उपभोगजन्य रुपान्तरण, उत्पादन र व्यापक वितरण गर्ने क्रममा संस्कृतिको सही मूल्यहरूको समेत गलत तरिकाबाट अर्थान्तरण गरिने प्रवृत्तिले गर्दा राष्ट्रिय र जातीय संस्कृतिमाथि गम्भीर चुनौती सिर्जना भइरहेको छ । जर्मी टस्टेलले ‘टिन प्यान एलीले न्युयोर्कमा लोकगीतबाट धुन वा मेलोडी लिएर त्यसलाई छोटा आकर्षक गीतमा परिवर्तन गरी लोकप्रिय तुल्याएर आमउत्पाद गरेको ढाँचाले अमेरिकी सञ्चार उद्यमीहरूले विश्वव्यापी रूपमा आकर्षक सांस्कृतिक उपभोग्य बस्तुहरूको निर्माण गर्ने रणनीतिको विकास कसरी गर्छन भन्ने राम्रो उदाहरण हो’ भनेका छन् । यसरी दैनिक जीवनका लोकसांस्कृतिक पक्षलाई टुक्रा टुक्रामा लिएर पुनर्संरचना गर्नुबाट पार्ने असरका सम्बन्धमा आलोचनावादी सञ्चार सिद्धान्तकारहरूले मूलतः पाँचवटा बुँदा उल्लेख गरेका छन् । ती हुन्  पहिलो, दैनिक संस्कृतिका तत्वहरूलाई यसरी सजावट वा प्याकेजिङका लागि छान्दा त्यसलाई ज्यादै सीमित परिधिमा मात्र लिएर महत्वपूर्ण पक्षलाई वेवास्ता गरी जानाजान छाडिन प्रवृत्ति । दोस्रो, सजावटी प्रक्रिया अन्तर्गत संस्कृतिका ती छानिएका पक्षमा नाटकीय प्रक्रिया संलग्न गरिँदा कुनै एक पक्षको अतिशयोक्तिपूर्ण ढङ्गमा बढाइचढाइ गरिने र अरु त्यत्तिकै महत्वपूर्ण पक्षको उपेक्षा गरिने । तेस्रो, बजारव्यवस्थापन गरिँदा सांस्कृतिक उपभोग्य उत्पादनलाई दैनिक सांस्कृतिक जीवनमा हस्तक्षेपकारी ढङ्गबाट गरिनु । चौथो, प्राय सांस्कृतिक उद्योगको सञ्चालन÷नियन्त्रण आफ्नो हातमा राख्ने उच्च वा कुलीन पूजीपति वर्ग आफ्नो कामबाट आउन सक्ने दुष्परिणमबारे अनभिज्ञ रहनु र जानकारी भए पनि अनभिज्ञता देखाउनु । पाँचौं, यसरी दैनिक जीवनमा आउने व्यवधानले विभिन्न रूपमा दीर्घकालीन प्रभाव छाड्दै जान्छ । 

२.४. बाह्यसंस्कृतिको प्रभावबिस्तारमा सहयोगी सञ्चारमाध्यमः

सञ्चारप्रविधिको अभूतपूर्व विकासका कारण साँघुरिएको विश्वले सानो गाउँको स्वरूप लिएर बढीभन्दा बढी आम जनताको पहुँचसम्म सञ्चार सुविधा पु¥याउन जति सम्भव बनाएको छ, त्यति नै ठूला र सम्पन्न धनी मुलुककोसंस्कृति संसारभर फैलाएर पश्चिमा सांस्कृतिक साम्राज्य खडा गर्न सहयोग पु¥याइरहेको छ । सांस्कृतिक अध्ययन अन्तर्गत र्चिर्चत शब्द ‘सञ्चार संस्कृति’ ले सञ्चारको प्रभावबाट बीसौ शताब्दींदेखि शुरुभएर आजसम्मै विकसित पश्चिमा पुँजीवादी समाजको यही सन्दर्भलाई सङ्केत गर्दछ । सांस्कृतिक अध्ययनका अध्येताहरू उपभोक्तावादी संस्कृतिको नामले समेत सम्बोधन गरिने सञ्चार संस्कृतिलाई नै ‘आमसंंस्कृति’ वा ‘लोकप्रिय संस्कृति’ मान्दछन् । आमसंस्कृति आमसञ्चारको उत्पादन भएकोले लोप्रिय संस्कृति र आमसञ्चारका बीच सहजीवी सम्बन्ध रहन्छ; यी एकअर्काको अत्यन्त निकट सहयोगमा निर्भर रहन्छन् ।
संस्कृतिको अध्ययन गर्ने अनेकौं विद्वान्ले सांस्कृतिक रूप (अधिसंरचना वा सुपरस्ट्रक्चर) र राजनीतिक अर्थव्यवस्था (आधार वा बेस) काबीच अध्ययन गर्न माक्र्सेली विश्लेषण पद्धतिप्रयोग गरे । अध्येताहरू एउटा विशेष माध्यम वा सन्देश शब्दकोशीय परिभाषाको साटो कसरी विचारधारा, सामाजिक वर्ग, राष्ट्रियता, जातीयता र लिङ्गजस्ता कुरासँग सम्बन्धित हुन्छ भन्ने कुराको अध्ययन तर्फ केन्द्रित रहे । विभिन्न समाजमा विद्यमान् सांस्कृतिक प्रक्रियाको अध्ययन गर्ने यो सांस्कृतिक अध्ययन अन्तर्गत नारीवादी सिद्धान्त, सामाजिक सिद्धान्त, राजनीतिक सिद्धान्त, इतिहास, दर्शन, साहित्य सिद्धान्त, सञ्चार सिद्धान्त, चलचित्र÷भिडियो अध्ययन, राजनीतिक अर्थप्रणाली, सङ्क्रमण अध्यन, सङ्ग्रहालय अध्यन र कलाइतिहास÷आलोचनाजस्ता विविध विषय समाहित रहेका छन् । सांस्कृतिक अध्ययनले अर्थकसरी निर्माणहुन्छ, कसरी संप्रेषण हुन्छ, र विद्यमान् संस्कृति अनुसार सामाजिक, राजनीतक तथा आर्थिक क्षेत्रमा  निसृत हुन्छ भन्ने बुझ्ने प्रयास गर्दछ । भूमण्डलीकरणको पृष्ठभूमिमा सांस्कृतिक शक्तिको व्याख्या गर्दा सांस्कृतिक हैकमवादी सिद्धान्त (थ्योरी अफ हेजीमोनी) वा नायकत्व सिद्धान्तका साथै गुमस्तासंस्था वा एजेन्सीजस्ता नयाँ सिद्धान्तहरू विकास हुँदै गए ।
दोस्रो विश्वययुद्धको अन्त्यपश्चात शुरु आमसञ्चारले ल्याएको वृहत्तर सांस्कृतिक तथा सामाजिक परिवर्तनका कारण आमसंस्कृतिलाई सञ्चारसंस्कृति अर्थात् मिडिया कल्चरका रूपमा समेत बुझ्न थालियो । यथार्थमा उपभोक्ता  संस्कृति वा आम उपभोगको संस्कृतिको अर्थमा आमसंस्कृतिको विकास भयो र यसले मूल्यमा आधारित जनसंस्कृतिमाथि नियन्त्रण गर्दै गयो । त्यही देखेर नै हुनुपर्छ, रोजेनबर्ग र ह्वाइट सम्पादित मास कल्चर शीर्षक पुस्तकमा अमेरिकी सञ्चारविद् ड्वाइट म्याक्डोनाल्ड (Dwight MacDonald) ले ‘लोकप्रिय संस्कृति सही संस्कृतिको मूल्य घटाउने भ्रष्टिकरण हो र यसभित्र मूल्यमा आधारित उच्चसंस्कृतिक साथै लोककलाका लागि समेत गम्भीर चुनौती अन्तरनिहित छ (ःबकक अगतिगचभ अयलकतष्तगतभक ब नचबखभ, गलचझष्ततष्लन तजचभबत तय ज्ष्नज अगतिगचभ, बक धभिि बक ँयपि ब्चत।) ’ भनेका हुनुपर्छ । ड्वाइटजस्ता आलोचकहरूका अनुसार रुचि र मूल्यहीन औद्योगीकृत बहुउत्पादनका कलाबस्तुले उच्चमूल्ययुक्त कलाकृति र वास्तविक लोकसंस्कृतिलाई विस्थापित गरिरहेका छन् । यो आमसंस्कृति दोस्रो विश्वयुद्धपश्चात देखाप¥यो र चलचित्र, टेलिभिजन र अखबारजस्ता भूमण्डलीकृत आमसञ्चार प्रणालीको शक्तिसँगै शक्तिशाली बन्दै हलिउड संस्कृतिको विश्वव्यापी प्रसार गर्दैगयो । नभन्दै सन् १९५० यता आम जनताले नभएर टेलिभिजनले जनमतको निर्माणमा प्रमुख भूमिका खेल्न थाले । अमेरिकी बहुराष्ट्रिय निगमका प्राधिकारमा रहेका उपभोक्तावादी विचारधाराद्वारा निर्देशित एक्काइसौं शताब्दीको पश्चिमी विश्व निरन्तर पुनरावृत्त आमसञ्चार संस्कृतिका माध्यमकै सहयोगमा सर्वसाधारणलाई सूचनामाथि विचार गर्ने समय नै नदिएर वास्तविक आमसञ्चार उपभोक्ताको न्यूनीकरण गरिरहेको छ । अघिल्ला शताब्दीहरूमा आमसञ्चारले राष्ट्रिय चरित्र र पहिचान निर्माण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोमा यस शताब्दीमा भने माथिको प्रवृत्तिका कारण राष्ट्रिय सीमा असान्दर्भिक बन्दै गएको छ । राष्ट्रिय संस्कृति र पहिचानलाई पार्ने असर कम गर्नका लागि लिइनु पर्ने सतर्कताका साथै राष्ट्रिय सञ्चार माध्यमलाई बाह्य माध्यहरूसँग प्रतिस्पद्र्धामा जानसक्ने वातावरणको निर्माण गर्न नसकेमा हामीजस्ता साना मुलुकहरूको राष्ट्रिय पहिचान नै लोप हुनसक्ने खतरा टाढा छैन ।
यसरी संस्कृतिको संवद्र्धन, विस्तार र अतिक्रंमणजस्ता सबै पक्षमा सबैभन्दा सहयोगीको भूमिका आमसञ्चार माध्यमले खेलिरहेको छ । सञ्चार क्रान्तिले सिर्जना गरेको विश्वग्रामले ठूला र संपन्न धनी मुलुकको संस्कृतिलाई संसारभर फैलाएर पश्चिमा सांस्कृतिक साम्राज्य खडा गर्न सघाइरहेको छ । हो केही सीमित मात्रामा यसले राष्ट्रिय संस्कृतिलाई प्रचारप्रसार गर्न सघाएको छ, तर सम्पन्न ठूला संस्कृतिको व्यापक उत्पादन र प्रसारको भेलमा यो प्रयास अर्थपूर्ण बन्न सकिरहेको छैन । फलतः आजको युग साना गरिब मुलुकका राष्ट्रिय संस्कतिमाथि तीब्र अतिक्रमण गरेर समाप्त पर्ने दिशा तर्फ अग्रसर हुँदै छ भन्ने भनाइ पूर्ण असत्य देखिँदैन । वेषभूषा र खानपिनमा त यिनको प्रभाव नराम्ररी देखिइनै सकेको छ, अब भाषा र पर्व, चाड र रहनसहनका क्षेत्रमा पनि तिनैको वर्चस्व देखिन थालेको छ । यसरी यिनै सबै कारणले नेपाल लगायत विकासोन्मुख साना मुलुकका आफ्ना संस्कृति लोपोन्मुख अवस्थामा पुगिरहेका छन् । ठूला माछाले साना माछालाई कप्लक्कै निल्नुको मत्स्यन्याय शाश्वत सत्य हो । त्यसैले ठूला माछाले सानालाई निलेजस्तै विश्वसूचना साम्राज्यका नियन्ता पश्चिमी संस्कृतिले हाम्रा राष्ट्रिय–जातीय संस्कृतिहरुलाई धमाधम निल्ने क्रम सुरु गरिसकेको छ । बच्ने कोसिस नै नगरी ठूला माछाको मुखमा आफैं पस्नु र बच्नका लागि उपाय र केही भए पनि प्रतिकार गर्नुमा निश्चय नै अन्तर रहन्छ । त्यसैले पनि विभिन्न रुप र रङ्गमा पसिहेका बाहय संस्कृतिलाई सकभर नियन्त्रण गर्ने खालको उपयुक्त नीति कार्यान्वयन गर्ने तर्फ हाम्रो  गम्भीर ध्यान जानु आवश्यक छ भन्दा बढी नहोला । 

३. निष्कर्षः
परिवर्तित समाज र राजनीतिक परिस्थितिमा नयाँ सांस्कृतिक मूल्य र विद्यमान वैचारिक द्वन्द्वलाई सही निष्कर्षमा पु¥याउन नयाँ सोच, समझदारी र योजनाका साथ मिलेर अघि बढ्नु आवश्यक छ । वर्ग समाजमा संस्कृति विचारधाराको सम्वाहक हुने गर्छ र सांस्कृतिक आन्दोलन पनि वैचारिक आन्दोलनबाहिर रहन सक्दैन । विचारधात्मक परिवर्तन सांस्कृतिक क्रान्तिकै एउटा पाटो हुने हुँदा सांस्कृतिक क्रान्ति र रूपान्तरणको कुरा गर्दा परिवर्तनको बिन्दुमा पहिलो प्रहार र प्रतिस्थापन सामन्ती संस्कृतिमा हुनु पर्ने निश्चित छ । सांस्कृतिक क्रान्ति कै जगमा राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरण र अग्रगमनको संभावना रहन्छ । यसका लागि उपुयुक्त सांस्कृतिक नीति र कार्यक्रम अपेक्षित हुन्छ । राजनीतिक सन्दर्भमा सांस्कृतिक आन्दोलनको प्रभावको उदाहरण भर्खरै प्राप्त गणतन्त्रको पृष्ठभूमिमा विकसित अवतारवादको भ्रमबाट नेपाली जनताले पाएका मुक्तिले दिइसकेको छ । यसर्थ परिवर्तित राष्ट्रिय सन्दर्भ र समय सुहाउँदोे राष्ट्रिय संस्कृति, नेपाली जातित्वको पहिचान, र गौरवको संबद्र्धन गर्न सक्षम हुने किसिमले सांस्कृतिक नीतिको तर्जुमा र कार्यान्वयन गर्दै सामान्य मानिस र अल्पसङ्ख्यक समुदायलाई शसक्त तुल्याएर तिनको संस्कृतिलाई महत्व दिँदै सांस्कृतिक बहुलवादलाई प्रोत्साहन गर्ने खालको नयाँ नीतिको खोजी अहिलेको टडकारो आवश्यकता हो ।
राष्ट्रिय संस्कृति र संस्कारका असल पक्षहरूलाई जोगाउन र खराब कुराको परिमार्जन गर्दै जानुका साथै  आफ्नो पन र जातीय सभ्यता जोगाउँदै नियन्त्रित रुपमा बाह्य संस्कृतिको सकारात्मक प्रभाव मात्र ग्रहण गर्ने अनुकुल वातावरणका बनाउनु अत्यन्त जरुरी छ । अवको हाम्रो राष्ट्रिय सांस्कृतिक नीतिकार्यक्रम नेपाली जनतालाई आफ्नो सस्कृति, राष्ट्रिय सम्पदा र असल परम्पराको जगेर्ना गर्ने जिम्मेवारी बारे सचेत र जागरुक बनाउन पे्ररित गर्ने गरी समयसुहाउँदो र आफ्नो राष्ट्रि संस्कृति, नेपाली जातित्वको पहिचान, र गौरवको संबद्र्धन गर्न सक्षम हुने किसिमको हुनु जरुरी छ । सामान्य मानिस र अल्पसङ्ख्यक समुदायलाई शसक्त तुल्याएर तिनको संस्कृतिलाई महत्व दिई सांस्कृतिक बहुलवादलाई प्रोत्साहनगर्नुका साथै नेपाली जनतामा आफ्नो सस्कृति, राष्ट्रिय संपदा र असल परम्पराको जगेर्ना गर्ने जिम्मेवारी बारे सचेत र जागरुक बन्न प्रेरित गर्ने नीति–कार्यक्रमबाट वाह्य अतिक्रमणलाई  केही मात्रामा भए पनि नियन्त्रण गर्न सफलता पाइने छ । यसबाट यावत राष्ट्रिय सांस्कृतिक विविधतालाई नीतिगत हिसाबमा नै एकीकृत गर्नुका साथै साँघुरिँदै गएको आजको विश्वमा सञ्चार माध्यमबाट आयातित बाह्य संस्कृतिको अतिक्रमणका कारण पर्दै गएको तीब्र चापलाई नियन्त्रण गरी आफ्नो राष्ट्रिय तथा जातीय संस्कृतिमाथिको खतरालाई नियन्त्रण गर्न सहयोग मिल्ने स्पष्ट छ । नेपालभित्रका सबै भाषा, रहनसहन, सकारात्मर र रचनात्मक रीतिरिवाज, चालचलन, खानपान, सकारात्मक धार्मिक प्रचलनको सम्मिश्रित स्वरूप नै सग्लो नेपाली संस्कृति हो भन्ने यथार्थलाई हृदयङ्गम गरेर आफूबीचको प्रतिस्पर्धालाई भन्दा सहकार्य र समानतापूर्ण विकासलाई प्रोत्साहन गर्ने खालको सांस्कृतिक–भाषिक नीति बेगर बाह्य संस्कृतिको अतिक्रमण नियन्त्रण सम्भव हुनसक्दैन । 
नेपाली संस्कृतिमा अन्तर्भूत जनसंस्कृति वा जनमुखी लोकसंस्कृतिको पहिचान पहिलो आवश्यकता हो । यो पहिचानका लागि सर्वप्रथम हाम्रा संस्कार संस्कृति र व्यवहारमा विद्यमान् त्याज्य पक्षहरूको पहिचान गरी तिनको प्रतिस्थापनका लागि पर्याप्त अध्ययन हुनु जरुरी छ । हाम्रा विधि–व्यवहारमा रहेका मूल्यपरक मानवीय पक्ष र जनविरोधी सामन्ती सोचका आधारहरूको पहिचानविश्लेषण बिना यो संभव छैन । यसो हुनसकेमा मात्र हाम्रा संस्कार र संस्कृतिका अग्राह्य पक्ष तथा अन्तरबस्तुलाई प्रतिस्थापन गर्नका लागि आवश्यक उपयुक्त विकल्पको विकास तथा खोजी सम्भव हुनेछ । यो निरन्तरको प्रक्रिया हुँदा नीतिगत रूपमैं स्थायी प्रकारको उच्चस्तरीय अध्ययन–अनुसन्धान संयन्त्रको निर्माण जरुरी हुनसक्छ । 

सन्दर्भ सामग्री

चाम्लिङ, पवन, (सं.), निर्माण, संस्कृति विशेषाङ्क सन् १९९९, निर्माण प्रकाशन सिक्किम ।
चालिसे, विजय, डोटेली लोकसंस्कृति र साहित्य, संस्करण २०५९, साझाप्रकाशन । 
नेराप्रप्र, नेपाली साहित्यकोश, २०५५ ।
शर्मा, मोहनराज खगेन्द्रप्रसाद लुइँटेल, २०६३, लोकवार्ताविज्ञान र  लोकसाहित्य, विद्यार्थी पुस्तक भन्डार । 
सुवेदी, हंसपुरे, नेपालीलोकजीवनः लोकविश्वास, २०५५, साझा प्रकाशन ।
Ardent, Hannah,the Crisis of Culture, 1961 (online).
Chalise,Vijaya, Media and Culture, BibekSirjanshil Publication P. Ltd, 2008.
Gidens, Anthony, the Consequences of Modernity, Stanford University Press, 1990.
Huntington, Samuel P., the Clash of Civilizations and the Remaking of World Order, New York,    Simon &            Schuster, 1996.
Lindolf, Thomas R., and Taylor, Bryan, C., Qualitative Communication Research Methods, Sage Publication, 2002.
Losito, Christina; Culture and Development: a new Paradigm, Centre for Creative Communities (Online)
Robertson, Roland, Globalization, Knowledge and society: readings from International sociology,(edited by             Martin Albrow, Elizabeth King) Sage publications, London, 1990.
----------            Social Theory and Global Culture, Sage publication, London, 1992.
Rosenberg, Bernard, andDavid Manning White (Ed.), Mass Culture, The popular Arts in    America, Glencoe, Free             Press, 1957.
Sardar, Ziauddin, Introducing Cultural Studies, Totem Books, 1994.
Schiller, Herbert Irving, Communication and cultural domination, International Arts and Sciences Press, New York,             1976.
Thomas, P.L. (Edit.), Ignoring Poverty in the U.S. the Corporate Takeover of Public Education,    Amazon.Com, 2012,(online).
Tunstall, Jeremy, the Media Are American, Oxford University Press, 2008.
UN, Human Development Report, 1999.
UNSCO,Our Creative Diversity-1995.
UNSCO, Universal Declaration on Cultural Diversity, 2001.
Wikipedia and othe concerning Wavesites.

Wednesday, December 24, 2014

कुमारी चाहना ! –विजय चालिसे

(सुलेख साहित्यिक मासिक–२५, कथा विशेषंक असोज २०७१) 

“येँया पुन्हि पनि आइसक्यो ! केही ग¥या छैन ।” आमा अर्को कोठामा आफैंसँग फतपताइएकी हुन्छिन् । अहिले मात्र होइन, जुनसुृकै चाड पर्व नजिकिनासाथ आमाको व्यस्तता र छट्पटी यसरी नै बढदै जान्छ । आमाले परोक्षमा दिएको इन्द्रजात्रा सङ्घारमैं आइपुगेको सूचनासँगै अनिता विगत स्मृतिकाको सागरमा डुबुल्की मार्न पुग्छे । यो स्मृति उसकालागि केही प्रिय र केही अप्रिय हुने गर्छ । अनि यही इन्द्रजात्राको स्मृतिसँगै विगतमा कुमारी घरमा हराएको आफनै बाल्यकाल खोज्न थाल्छे ऊ ।
सात, सात वर्षसम्म निर्वासित थिई ऊ यस आफू जन्मेको घर, परिवार परिवेशबाट । हो सात वर्षसम्म जीवित देवीको रूपमा बसेर त्यो निर्वासित जीवनबाट बाबुको घर फर्केकी थिई ऊ भर्खरै । बिस्तारै कैशोर्यको खुडकिलो टेक्दै गरेकी अनीता यता आएदेखि नै त्यहाँ बितेको आफ्नोे वाल्यकाल खोज्दै रही । खोज्दैरही आफ्नो गुमेको सात वर्ष ! खोज्दैरही ऊ घरको कुनाकुनामा ती आफूले गुमाएका क्षण । तर अहँ....त्यसपूूर्वको धमिलो किरिङमिङि सम्झनाका अस्पष्ट रेखा बाहेक कुनै स्पष्ट दृश्य र चित्र भने देख्न असमर्थ हुन्थी ऊ । कुनै चिह्न छैन उसले धरती चिह्याएको यस माटोमा हराएको कालखण्डको ।  
त्यो सबै सम्झँदा त्रिशङ्कूजस्तै लाग्छ अनीतालाई आज आफ्नै जीवन । न बाबुको घर आफ्नो लाग्छ उसलाई, न कुमारी घर नै । कुमारी घरले देवत्वको जामा पहि¥याएर बाहिर्यायो, कुमारी घरले परम्पराको नाउँमा उपयोगिता छउन्जेल उपयोग ग¥यो, उपयोगिता सकिनासाथ दूधमा परेको माखो झैं फालिदियो, परित्याग ग¥यो । त्यसरी दुवैतिरको हुननसकेकी ऊ लोग्नेको घरकी हुने त झन कुरै थिएन, मात्र मृगमरिचिका ! कसले बिहे गर्ने आँट गर्छ र पूर्व देवीरूपको बोझबाट अभिशप्त अनीतालाई ? मीठो नमीठो जे भए पनि उसको श्रीसम्पत्ति सपना र विपना सबै नै तिनै त थिए– हिजो यसै छतमुनि बिताएको बालापनको केही धमिलो स्मृतिचित्र । कुमारीघरमा मञ्चित देवी अभिनयको सात वर्ष त मात्र व्युँझिने बेलामा देखेको मीठो, तर छोटो सपना न हो ! आँखा खुल्नासाथ कहँ रहन्छ र साथमा सपना ! त्यसैले लाग्छ, उसको भूत भविष्य र वर्तमान जे हो सबै त्यही हो, त्यही मात्र हो ! 
कहिले सुखद लाग्छ, कहिले दःुखद् उसलाई कुमारी घरमा खोसिएको वाल्यपन । तलेजुका मूल पूजारीद्वारा कुमारी रूपमा हरेक दिन आफ्नो नित्यपूजा हुँदा लाग्थ्यो साँच्चिकै देवी हुँ म ! अहिले लाग्छ कति मिथ्या रहेछ त्यो मञ्चमा गरेको अभिनय । तर के थाहा उसलाई त्यो उमेरमा तीन घन्टा प्रक्षलयमा मञ्चन गरिने अभिनय बाहेक केही होइन ! 
इन्द्रजात्रा आउनासाथ उसको बालमनको रमाइलो बढ्दै जान्थ्यो । कालभैरवअगाडि काठको अग्लो लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरेदेखि नै सधैं विदेशी पर्यटकहरूको बढी चहल पहल हुने वसन्तपुवरिपरि अर्के खालको धार्मिक पर्वको चहलपहल सुरुहुन्थ्यो । ठाउँ ठाउँमा देवी भैरवका मूर्ति सजाइन्थे, राती राती देवी नाचमा स्थानीयजन मस्त हुन्थे । 
जीवित देवीका रूपमा आफ्नै रथारोहणयात्रा हुने इन्द्रजात्राको मुख्य दिनको त झन के कुरा ? विभिन्न देवी देवताको भेषभूष र मुखुण्डोमा सजिएका परम्परागत कलाकारहरूको लाखे र पुलुकिसी नाचको कलात्मक मनोरन्जनसँगै गुर्जुको पल्टनको शाही सम्मान र स्थानीय समुदायको बाजागाजाको सुमधुर परिवेश, अनि सिंगारिएको कुमारीको विशेष रथमा सबैभन्दा विशिष्ट बनेर गणेश र भैरवहरूका रथ अघि पछि लगाउँदै घुमाउँथे उसलाई त्यस दिन । त्यसरी काठमाडौं सहरको भित्री सबै भाग तीन तीन पटक घुम्दा ऊ आफूलाई अर्कै लोककी अनुभव गर्थी । साँच्चै नै तलेजु भवानीकै साक्षात् रूप ! अहिले त्यो अपरिपक्व शिशु कल्पना सम्झँदा मुखबाट फिस्स आफैँप्रतिको व्यङ्गात्मक हाँसो निस्कन्छ  ।   
यसरी नचाहँदा नचाहँदै पनि कहिलेकाहिँ देवी रूपको आफ्नो विगतस्मृति चिह्न  निहार्न पुग्छे ऊ अल्बमहरूमा जोगिएका तस्बिरहरूमा । ठूला मानिसहरू शिर निहुराएर अदबका साथ लामबद्ध छन् उसको हस्तस्पर्शसहितको आशिर्वाद थाप्न । उसका हर आदेश पालनामा होड लगाइरहेछन् चिताइदार र सुसारेहरू । अनि उसको पूजा अर्चनाका लागि यस सहरका सुसभ्य  चपलाअवला सबै खाले नारीजन हातमा सजिएका पूजाका थाली लिएर पालो पर्खिरहेका छन् ! गुर्जुको पल्टनको एउटा टुकडी पूर्ण राजकीय पारामा तैनाथ छ उसैको सम्मानमा । ऊ कुमारीको पोशाकमा ठाँट्टिएर बसेकी छ । बालसुलभ चञ्चलता जबर्जस्ती दबाएर अनुहारभरि गंभीरता पोत्दै आशिर्वाद बाँडिरहेकी छ ऊ !  
अहिले त्यो सम्झेर आफैंलाई सोध्छे अनीता– खोइ कहाँ छ मेरो आफ्नो भागको आशिर्वाद ? कसले दिने मलाई एउटी नारीको स्वाभाविक जीवन भोग्ने–बाँच्ने अधिकार प्राप्तिको आशिर्वाद ? के त्यति पनि छैन मेरो भागमा पर्ने आशिर्वाद ? के कुनै अधिकार छैन मैले त्यो नैसर्गिक अधिकार प्राप्त गर्ने ? अनि कहिले काहीँ ससाक्षात देवीको रूपमा सजिएर बाजागाजासहित ठूला ठूला मानिस पछिलगाउँदै तामझामपूर्ण रथयात्राको आफ्नै विगत तस्बिर हेरेर आफैंसँग प्रश्न गर्थी– खोइ त्यो इज्जत, खोई त्यो मानसम्मान ? किन आज टाढाबाट हेरिने सङ्ग्रहालयमा प्रदर्शित बस्तुझैं भएकी छ ऊ, कसैले छोएर महसुस गर्न नपाउने । मानवीय प्रेम समवेदनामा छुन हुँदैन रे उसलाई, मायालु लोग्नेको न्यानो अँगालोमा आवेष्ठित हुने.अवसर पनि पाउन्न रे ऊ ! यो निषेध थियो कुमारी हुनुको पारितोषिक !   
मात्र चार वर्षकी थिईं ऊ आमाको न्यानो मायालु काखबाट च्वाट्टै चुँडालेर जबरजस्ती हनुमानढोकाको कुमारीघरमा पु¥याइँदा । दशैंको केही अगाडिजस्तो लाग्छ उसलाई । सङ्घारैमा आएको दशैंको आकर्षणमा ठीक त्यही बेला नयाँ नाना र मीठो चिचिको प्रतीक्षासहित दिदीबहिनीसँग मन्दिर जाने कल्पना गर्दागर्दै एक दिन ऊ आमाको मायालु काखबाट त्यसरी चुँडिन पुगेकी थिई । हो, त्यहीबेला जिउँदीे देवी कुमारीको रूपमा प्रवेश गरेकी थिई उसले कुमारी घरमा । के थाहा त्यो अबोध शिशुलाई के हो देवी, केहो कुमारी र के हो रीत धर्म परम्परा ? अनजान मैं जीवित देवीको रूपमा आसिन गराइएकी थिई त्यो रहस्यलोकमा, समाज, परिवार र वाल्यपन सबैबाट निर्वासित गरेर । कुमारी हुँदासम्म निर्वासित थिई ऊ आफ्नो जन्मघरबाट । त्यसपछि अहिले यहाँ फर्किएपछि आज समाज र पारिवारिक जीवनबाटै निर्वासित छ ऊ । त्यतिबेला कुमारी घर छाडेर कतै जानु हुँदैनथ्यो, घर फर्कने त कुरै भएन । ऊ लगभग त्यही दैवी रूपको भ्रमित जीवनको भारी बोकेरै बाँच्न वाध्य छ आज पनि ! लगभग निर्वासित जस्तै नै छ ऊ आज पनि आम युवतीको स्वाभाविक चाहनाको जीवनसंसारबाट ! 
बौद्ध शाक्य कुलमा भर्खरै संसार हेर्न आँखा खोलेकी अबोध अनीतालाई त्यहाँ लानुपूर्व शरीरका कुना कन्दरा कतै बाँकी नराखेर नाङ्गै भुतुङ्गै पारेर जाँचेका थिए । शरीरमा कुनै सानो दाग पनि हुनुहुन्न, जीवित कुमारी बन्नका लागि । त्यो थियो रे पहिलो शर्त ।  खोटरहित हुनुपर्छ जिउँदो कुमारी बन्न ! झिनो सम्झना आझै पनि छ । को को हो कोको आउँदथे, दिनहुँ जाँचबुझ गर्थे । खसी मोलाइगर्ने बगरेले अंग अंग गिजोलेर मासुको अन्दाज गरिरहेको खसीलाईजस्तै गर्थे ती जाँचकीहरू । उसको शरीरमा कुनै दाग र खोट त छैन ? तिनका चनाखा आँखाहरू शरीरभरि घेच्नेगरी गड्थे । त्यतिबेला त लाज के हो थाहै थिएन, अहिले भने त्यो सम्झँदा पनि लाज सरमले पानी पानी हुन्छे ऊ । त्यतिबेला चारै वर्षकी अबोध शिशु न थिएँ ! त्यो बेलाको स्थिति सम्झेर मनमनै लजाउँछे । लज्जामिश्रित मन्द हाँसो फैलन्छ – कहिले काउकुती लागेर बलात् हाँसेको शिशु हाँसो, र कहिले भित्रैसम्म दुःखाइको पीडा मिसिएको रुन्चे हाँसो ! उसको मात्र हो र, बाबु र आमा दुवैतिरका तीन तीन पुस्ताको नालीबाली खोतलेका थिए तिनले । कुल ठीक छ, छैन, चिना मिल्यो मिलेन । सबै कुरा हेरेर ठिक्क मिले पछि बल्ल योग्य ठानिएकी थिई ऊ कुमारीको लागि । पहिले पहिले त अझ राजाको चिनासँग मिल्नु पथ्र्यो रे कुमारीको चिना । अहिले राजा नभएपछि भने देशको ग्रहदशासँग मिलाएको रे !  
सहरको गनाउने चोकको बाबुृको घर छाडेर हनुमानढोकाको ठूलो राम्रो घरमा ल्याउँदा सुरुमा त केही बेर रमाइलै लागेको थियो क्यारे । त्यसैले पटक्कै रोइन रे ऊ । तर केही बेरमैं आमालाई नदेखेर चिच्याउँदै रोएकी उसलाई फुल्याउन हेरचाहमा खटिएका चिताइदार र नयाँ आमाहरूको पल्टनै हाजिर भएको थियो । उता मायालु कान्छी छोरी त्यसरी कुमारी घर लगिँदा आमा, अजी र ठूला दिदीहरू छात्ती पिटी पिटी रोएका दृश्य उसको कलिलो शिशुमनमा अहिलेसम्मै मेटिएको छैन ।   
सुसारे आमाहरू भन्थे– पछि केही दिन त रोएरै बिताइ रे उसले कुमारीघरको त्यो नयाँ जीवन । 
बिस्तारै बानी पर्दै गयो । दिनभर थरी थरीका मान्छे आउँथे, कोही देउतालाई जस्तै विहानै आएर पूजाआजा गर्थे । ऊ जिल्ल परेर टोलाउँथी । कोही उसलाई हेर्न मात्रै आउँथे, चिडियाखानाका जीवजन्तुलाई हेरेजस्तै । विभिन्न कोणबाट झिलीमिली मखमल र साटनका कपडा अनि सुनका गरगहनाले झकीभकाउ उसको पुतलीजस्तै रूपको फोटो खिचेर जान्थे । कहिले गोरा आउँथे, कहिले काला । कहिले नेपाली, कहिले विदेशी । कोही नआएको बेला कुमारी घरको कलात्मक झ्यालमा बसेर तल वसन्तपुरको विशाल चोकमा आउने विदेशी पर्यटक र त्यही बाटो आहोरदोहोर गर्ने टोलबासी हेरेरै समय कटाउँदथी ऊ । केही समय कुमारी घरमैं आएर उसलाई पढाउने गुरुसँग प्रारम्भिक लेखपढमा बित्थ्यो, केही समय सुसारे आमा र चिताइदारहरूसँग सामान्य जिज्ञासा मेटाउनमा ।  
अनि बिस्तारै उमेरजन्य बाहिरी आकर्षणले थिच्दै जाँदा कुमारी घरको सानो कलात्मक झ्यालबाट देखिने त्यही भीडमा आफ्नो मनको राजकुमार खोज्ने प्रयत्न पनि गर्न थालेकी थिई अनीता ! मनमा धुर्मिलो् छवि बन्थ्यो, तदिो नहुँदै तुरुन्तै मेटिन्थ्यो । कति कोशिस गर्दा पनि प्रष्ट चित्र भने कहिल्यै नआउने ! 
समय बित्नुसँगै उमेर बढ्दै गयो । अलि उमेर बढेर केही बुझ्ने हुनथालेपछि  उसलाई जात्राहरूका अवसर सधैंँ आइदिएहुन्थ्यो जस्तो लाग्थ्यो ! यौवनको सङ्घार प्रवेश गर्ने गर्ने बेलाको अल्लारे उमोर नहो ? सम्झँदा पनि ऊ आफैंलाई हाँसो लाग्छ असहले सम्झँदा । त्यतिबेला सुन्दर लुगा, झिलीमिली झरिझुट्ट शिरदेखि पाउसम्ममा सजाएर सम्मानपूर्ण शोभायात्रा र नगर परिक्रमामा लगिँदा अरुभन्दा भिन्न पाउँथी ऊ आफूलाई, सबैभन्दा विशिष्ट ! अनि त्यस्तो बेलामा लाग्थ्यो ऊ यति उचाइमा छ, जसलाई कसैले छुन सक्दैन, भेट्न सक्दैन । ओफ्....त्यो उचाइमा पुगेको भ्रममा गुमाउनु परेका सतहका कति स्वाभाविक जीवन सम्झेर अब चुकचुकाउनु बाहेक के नै गर्न सकिन्छ र ? यसरी नै मनलाई थामथुम पार्न खेज्छे ऊ । 
आखिर त्यो दिन पनि आयो । दश पुगेर एघार वर्ष टेक्न नपाउँदै उसलाई घर फर्काइयो । हिजो कहिल्यै नफुकालूँजस्तो लाग्ने गहना गुरिया र लुगाफाटा सबै छोडाइयो उसबाट । बाँकी सामान्य कपडा र गहना रहे शरीरमा । कुमारी रहँदा पाएका धनसम्पत्ति, देवीघरमा हेर्न आउनेले दिएका उपहार सबै जिम्मा लियो परिवारले । जाँदा पनि ऊ खाली हातै पुगी बाबुको घर, फेरि पनि शरणार्थी नै थिई ऊ !   
चाहनाहरू उसका पनि नभएका होइनन्, छन् । उसभित्र पनि कसैलाई छुने, कसैद्वारा छोइने चाहना छ । आफ्ना आँखाको एकाकी अतल गहिराइमा कोही डुबोस्, कसैको डबुल्की मार्ने चाहना पलाओस्– मनभित्र नपालेकी होइन उसले मीठो चाहना । आफू पनि कसैको आँखाको गहिराइमा पौडन सकोस्, कसैको् सुडोल बाहुमा बेली झैँं बेरिएर सुरक्षाको अनुभूतिगर्न पाओस्.....! 
हो ऊजस्तै उसलाई सपनामा सजाउने पनि छन् । उसको आँखाको अतल गरिहाइमा पौडन चाहने पनि छन्, जो उसको एक झलक पाउन घन्टौं लुकेर मौका ढुक्छन् । तर उसभित्रको देवत्वको भ्रमलाई चिरेर उसलाई छुन, वैवाहिक जीवनको डोरीमा बाँधिन साहस चाहिँ गर्न सक्दैनन् । ओहो...कति गह्रुँगो यो कथित देवत्वको बोझ ! हरबखत त्यही जीवीत देवीप्रतिको धर्मभिरु सामाजिक सम्मानको उठाउनै नसक्ने भारीले थिचिऐर जमिनभित्र धसिए झैं अनुभव हुन्छ उसलाई । के चासो त्यो सबै कुरा परम्परामा धानेर मान्ने बस्ने धर्मभिरु कापुरुषको समाजलाई उसका पनि त चाहाना होलान्, शारीरिक आवश्यकतापूर्तिको प्राकृतिक इच्छा होला ! हो त अरुजस्तै सामान्य बालिका, शिशु र किशोरी युवतीलेजस्तै सामान्य मान्छेको सामान्य जीवन बाँच्ने चाहना पनि होला उसको भन्न्ने किन सोच्दैनन् यी ? ऊसँग यसको कुनै जवाफ छैन । तर अफसोच, जीवित देवीप्रतिको त्यो अन्ध सम्मान र सम्बन्ध राख्न नहुने विश्वासको चिहानभित्र दब्दै जान्थे ती अन्तरमनका सबै चाहनाहरू ।
कुमारी घरबाट बाबुको आश्रयमा आएपछिका वर्षहरूले उसलाई एक पछि अर्को सत्यबोध गराउँदै गएको छ । यी सत्यले मनभित्रका एक एक सपना असमयमैं कुहिएर झरेको चिचिला झैं झरिरहेका छन्, एक एक गर्दै । ओहो....कस्तो अर्थहीन जीवन, कति  प्रयोजनरहित ! यौवनको पूर्ण आवेग थेगेर बाँचन वाध्य छ ऊ । वाल्यकाल र सिंगो भविष्य कुमारीघरको जुवाको खालमा हारे वापत हात थापेर पाउने सीमित मासिक भत्तामा साटिएका छन् उसको सारा यौवनका सपना र मनभित्रका चाहनाहरू ! 
मनभित्र हुरी आँधी चल्छ उसको । 
“आज पनि त्यो केटोले लुकेर हे¥यो !” यिनै मनका आँधीसँग जुध्दाजुध्दै त्यो केटोले आज पनि आफूलाई आँखा चोरेर हेरिहरेको देखी । यस्तो दृश्यले एकातिर रोमाञ्चको अनभव गर्नपुग्थी, अर्कोतर्फ घृणाको ज्वालामुखी फुट्थ्यो खुलेआम उसलाई चाहन नसक्ने यस्ता कमजोरहरूप्रति । किन आँट गर्नसक्दैनन् यी उसको हात समातेर लान ! मनमनै प्रश्नका आँधीबेरी चल्थे ! 
उसलाई थाहा छ, टोलको त्यो केटो उसलाई मन पराउँछ कि केहो, लुकी लुकी हेर्ने गर्छ । त्यो केटो मात्र होइन अरु पनि धेरै छन् उसलाई लुकी लुकी हेर्ने केटाहरू । चोकको बाटो  गरेर हिँड्ने टोलका सबै केटाका आँखा एकपटक पुगिहाल्छ माथि झयालतिर । हुन पनि झन्डै सात वर्षजति शोखसयल र कुमारी घरको आश्रयमा बसेर आएकी उसमा एउटा अलग्गै आर्कण थियो, अनुृहारमा स्वेतधवल चमक ! हरबखत घामपानी र चोकको धूलोमैलोसँग खेलेर हुर्केका उसका कुनै पनि समवयस्कमा थिएन त्यो चमक । त्यसैले पनी सके चुम्वकीय आकर्षण थियो उसको अनुहारमा । सबैका नजर एक झलक देख्न तानिइहाल्थे !  
त्यसरी आज पनि त्यो केटोले उसैलाई लुकेर हेरिरहेको देखेपछि अनायास अनीताको चर्को स्वर सुनियो –“के लुकेर हेर्छौं ? हिम्मत छ भने आऊ न बिहे गरौं !”  
कार्तिक ९, २०७१ 
विजय निवास, आरुबारी

Monday, December 22, 2014

यो त मान्छे नै होक्यार ! –विजय चालिसे

(कल्पतरुका, द्वैमासिक–५४, वर्ष १३, अंक ३ २०७१असोज–कार्तिक)

“यो त मान्छे नै होक्यार, दुरुस्तै छ त बोलिहाल्ला जस्तै !” महात्मा गान्धी, मदर टेरेसा र लेडी डायनाको मैनमूर्तिसँगै बसिरहेको सुट टाइमा सजिएको जापानीजस्तै एउटा आकृतिलाई देखेर लक्ष्मीले अचम्म मान्दै भनी । हुन पनि सबै आकृति जीवन्त थिए । त्यसमा पनि त्यो जापानी त जुरुक्कै उठेर हात मिलाउन आउलाजस्तै !
हामी वाक्स म्युजियममा थियौं, टावरभित्रको तेस्रो तलामा । टोकियो टावरको यही तलामा थिए भूत घर, गिनेज बुक अफ वल्र्ड रेकर्डको म्युजियम र टावर ग्यालरी ! टावरकै विशेष आकर्षण थिए यी । हामी १९७० देखि सञ्चालित मैन मूर्तिहरूको सङ्ग्रहालयमा थियौं । सुरुमा लण्डनमा बनाएर यहाँ ल्याइएका थिए रे मैनका मूर्तिहरू । यी मूर्ति र मैनमूर्ति सङ्ग्रहालयले मलाई २६ वर्ष अगाडिको कालखण्डमा पु¥याएका थिए– त्यतिबेला हेरिएको लण्डनस्थित म्याडाम टुसादको मैनमूर्ति सङ्ग्रहालयमा ।
हुन पनि टोकियो टावरको म्याडम टुसादको मैनमूर्ति सङ्ग्रहालय कक्षामा जता हे¥यो त्यतै यस्तै विश्मित तुल्याउने दृश्य थिए । कतै दुरुस्त आइन्स्टाइन थियोरी अफ रिलेटीभिटीको व्याख्या गरिरहेजस्तै  देखिन्थे, कतै  माओ, लेनिन र होचिमिन्हहरू आ–आफ्नो युग हाँकिरहेजस्तै लाग्थे । अनि कतै बसिरहेका थिए बेलायतका चर्र्चित प्रधानमन्त्री चर्चिल ! राजनीतका गुरुगम्भीर व्यक्तित्व मात्र थिएनन् त्यहाँ सन्सारका लाखौं युवा मनका धड्कन स्वप्नसुन्दरी र सपनाका राजकुमारहरू पनि थिए । रजतपटका कलाकार मेरिलिन मुन्रो लगायतका विश्वप्रसिद्ध स्वप्नसुन्दरी सिनेनायिका र नायकहरू थिए ! विश्वप्रसिद्ध ललितकलाका मास्टरहरूका कmाकृति थिए, कलाकार थिए थिए उनीहरूको क्रियाशील दृश्यहरू । कतै विश्वप्रसिद्ध कलाकार लियोनार्दो द भिन्सीको कालजयी कृति द लास्ट सपरको प्रतिकृतिले लोभ्याइरहेका थियो, कतै मोनालिसाको रचनाक्रममा एकातर्फ चित्रफलकमा तयार हुँदै गरेको १६ औं शताब्दीको विश्वविख्यात तैलचित्र मोनालिजाको तयार हुँदै गरेको चित्रले । अनि अर्कोतिर मोनालिजाको पोजमा देखिने एउटी सुन्दरी मोडेल अर्थात कला इतिहासकाहरूका अनुसार तत्कालीन ल्फोरेन्सका धनी व्यापारीकी पत्नी लिजा मोडेल बनेर उभिएकी, अचल र अर्को छेउमा मोडेल मोनालिजालाई गौरसँग हेरिरहेका दा भिन्सिीको तैलचित्र ! दा भिन्सीले मोनालिसाको सिर्जना गरिरहँदाको मुड समात्ने प्रयास गर्ने त्यो चित्र आफैंमा पनि सुन्दर थियो, कालजयी ! अरु पनि धेरै थिए यहाँ यसरी मन लोभ्याउने कलाका सुन्दर अनुकृति र मैनका जीवन्त मूर्तिहरू ! तीसँगै बसेर, उभिएर फोटो खिचाउँदै क्यामरामा कैद गर्दै गयौं हामी ती सुन्दर क्षणलाई । अहिले बीस वर्ष अघिका सम्झना पनि तिनै मैनका अनुकृतिजस्तै जीवन्त भएर उघिएका थिए मेरा अगाडि । हो बीस वर्ष अघि पनि यसरी नै अभिभूत तुल्याएका थिए यी मैनका यी जीवन्त कलाकृतिले ।
यस अघि नै जापान पुगेकोपाचौं दिन रातको समयमा बाहिरैबाट केहीबेर हेरेर फर्केको टोकियो टावरमा आज २०६८ असोज १७ (४ अक्टोबर २०११) दिन बिताउने गरी आएका छौ हामी यात्राको एघारौं दिन अपराह्न । चाँडै भन्दा भन्दै पनि पुग्दा साढे बाह्र जति भइहाल्यो ।
विगत आधा शताब्दीदेखि लाखौं दर्शकलाई मनोरन्जन दिँदै आएको थियो टोकियो टावरले ।  फ्रान्सको एफिल टावरकै प्रेरणाबाट नाइएको रे यो ३३३ मिटर अग्लो सुन्दर मिनार ! टोकियोको मिनातोमा स्थित सन् १९५८ मा निर्मित यो मिनार झट्ट हेर्दा मनोरञ्जन टावर लाग्दथ्यो । यथार्थमा यति मात्र थिएन यो । मनोरञ्जन दिनुका साथै जापानी जापानी टेलिभिजन र रेडियो स्टेसनहरूलाई प्रसारण सुविधा दिइरहेको थियो यसले । त्यसैले यो जापानी विकास यात्रालाई आधुनिक सञ्चार प्रणालीको मेरुदण्ड बनेर सघाइरहेको थियो ।
मिनारको फेदीमा बनेको “फुट टाउन” सहर नभए पनि उटा सहरजस्तै थियो यात्रुले खोजेका सबै कुरा पाइने । आफूभित्र स्रग्रहालय, रेस्टुराँ र  पसलहरू थापेर ग्राहक बोलाइरहेका थियो यसको चार तले भवन संरचना । पहिलो तलामा थिए अक्वेरियम, ग्यालरी, रिसेप्सन हल, ४०० जना अटाउने टावर रेस्टुरा, ठूलो सपिङ कम्प्लेक्स र सोभेनियर पसलका साथै फेमिली मार्टहरू ! माथिल्लो तलाको १५० मिटर उँचाइसम्म पहिलो अवलोकन केन्द्र भनिन्थ्यो र यहीँ थिए यसभन्दा माथिल्लो अवलोकन कक्षमा पु¥याइने तीनवटा विजुली भ¥याङ । निरन्तर आन्तरिक र वाह्य दर्शनार्थी पर्यटक बोकेर तलमाथि गरिरेहेका थिए यी विजुली भ¥याङ ।
“ऊ...देख्नुभयो, संसद्भवन भवन डाइट र शाही दर्बार ?” २–३ किलोमिटर उत्तरतिर देखाउँदै  निस्केको आलोकको आवाजले हामी सबैको ध्यान खिच्यो । हामी पनि लाम लागेर विजुली भ¥याङ भित्रिएको एकै छिनमा मुख्य अवलोक कक्षमा पुगिसकेका । आहो कति तीब्र गति– आँखा झिमिक्क गर्न नपाउँदै त्यति माथि चढाउने ! चारैतिर सफा चहकिलो पारदर्शी सिसाबाट लगभग ३६० डिग्रीको कोणमा ठोक्किँदै थिए समग्र टोकियोका वैभव र भौतिक विकासका गगनचुम्वी संरचाहरू ! विज्ञान–प्रविधिकै क्षेत्रमा युरोप अमेरिकालाई चुनौती दिइरहेको आफ्नै एसियाको देश जापानको टोकियोलाई यसरी नियाल्नु आफैंमा रोमान्चक अनुभव थियो ! अनि बडो सानले गजधम्म बसिरहेका थिए आलोकले देखाएका संसद् भवन र जापानी सम्राटको प्रसिद्ध आवास ।.... अरु अरु असङ्ख्य गगनचुम्बी भवनहरू !
टावरको दक्षिणतिर समुद्र छेउको टोकियो खाडीमा विशाल पंखा फिँजाएर बसिरहेजस्तै देखिन्थ्यो नयाँ सहर ओदाइवा । ओदाइवा क्षेत्रको गौरव रेन्वो ब्रिज र फुजी टेलिभिजनको मुख्य कार्यालय टडकारै देखिन्थे । त्यहाँबाट अलि वर समुद्री किनारामा रहेको मेरिटाइम साइन्स म्युजियमको भव्य भवन, अनि विमानहरू उडउँदै ओलराल्दै गरिरहेका टोकियो अन्तर्राष्ट्रिय विमानस्थल (हानेदा) ! उता सिनागावाको कुनोमा सगौरव उभिएको जापानकै सबैभन्दा अग्लो भवन ल्यान्डमार्क टावर र पश्चिमतर्फको योकाहामा, एबिसु गार्डेन प्यालेसको विशाल गनचुम्बी भवन ! सिवुया तर्फ देखिने आशाही टेलिभिजन, रोपोङ्गी हिल र एनएचके टेलिभिजन केन्द्रका भव्य दर्शन । अनौठो अनुभूतिको सिर्जना गरिरहेथ्यो यी सबै कुराका दृश्यले । उत्तरतर्फको टोकियो मिडटाउनको टोकियोकै सबैभन्दा अग्लो गर्वोन्नत भवन, सिन्जुकुका आकास छुँला झैं गरिरहेका गगनचुम्बी भवनसंरचना सबै नै विश्मयकारी देखिन्थे मजस्ता गरिव देशका झुपडबासीहरूका लागि !
माथिबाट देख्दा बामपुड्के लाग्थे टोकियोका यी गगनचुम्बी भवनहरू । साना बिन्दुजस्ता देखिन्थे सबै संरचना र विशाल नगरहरू । पूर्वतर्फको युएनो पार्क, आसाकुसा सबै नै साना थिए, मुस्किलैले ठम्याउनु पर्ने । हो त विशाल संसारमा सबै एउटा बिन्दु नै त हुन् । नजिकबाट देख्दा जति नै विशाल देखिए पनि टाढाबाट हेर्दा आखिर सबै नै सना बिन्दु नै त हुन् । विशाल ब्रह्माण्डमा आखिर सबैको नै एउटा बिन्दुकोभन्दा बढी अस्तित्व कसको नै छ र ?
त्यहाँका प्रमुख कुरा औंल्याएर अवलोकन कक्षका चारैतिर राखिएका नक्साले दिशानिर्देश गरिरहेका थिए । नक्सा केही पर एकातिर माउन्ट सुकुवा देखाएइरहेको थियो । गिन्जातिरको टोकियोमा फुजी टेलिभिजन टावर र त्यसको विपरीततिर देखिँदैथियो टोकियो डिस्ने रिजोर्ट र वल्र्ड ट्रेडसेन्टरहरू ! त्यतैतिर देखिएको टेकियो प्रिन्स होटेलले केहीबेर नोस्टाजिक तुल्यायो मलाई । बीस वर्ष अगाडि यसैको एउटा कोठामा केही दिन आश्रय लिएको सम्झना आँखा अगाडि झल्झली आइरहे ।
“मौसम अलि सफा नभएर हो, नत्र यहाँबाट माउन्ट फुजी पनि देखिन्छ ।” ओहो...कति अग्लो रहेछ त यो लगभग सन् २०११ सम्म नै जापानको दोस्रो अग्लो मानवनिर्मित संरचनाका रूपमा परिचित टोकियो टावर ! आसाकुसाकै छेउमा निर्मित नयाँ टावर टोकियो स्काइलाई टोकियो टावरको यो अवलोकन कक्षबाट हेर्दै झट्ट लाग्यो– अब भने यसले आफ्नो त्यो परिचय गुमाउने छ । स्काइ ट्रीले खोस्नेछ अब यसको यो परिचय !
 हो, आसाकुसाकै छेउको अर्को गगनचुम्बी मिनार स्काइ ट्री उद्घाटन पर्खिदै सर्वसाधारणलाई टोकियो टावरकोभन्दा दुई गुना अग्लोबाट टोकियो देखाउन आतुर थियो यतिबेला । तलबाट देख्दा टोकियो टावरलाई बामपुड्के तुल्याउने प्रयास गर्दै खिज्याइरहेझैं लाग्थ्यो ।
सुरुमा नयाँ टोकियो टावरको नामले परिचित टोकियोको सुमिदामा निर्र्मित स्काइ ट्री टोकियो टावरभन्दा झन्डै दुई गुनाले अग्लो छ, ६३४ मिटर ! टेलिभिजन र रेडियो प्रसारण, दृश्यावलोकन र खानपनि लगायतका मनोरन्जनकै लागि बनाइएको हो यो स्काइ ट्री मिनार पनि ! दिन दुईगुना रात चौगुना भौतिक विकासको सगर छुन दौडिरहेको जापान र टोकियोका प्रसारण संयन्त्रलाई अब टोकियो टावरले धान्न नसक्नु स्वाभाविक हो । टोकियो टावरभन्दा अग्ला अग्ला भवन संरचनाको निर्माण हुन थालेपछि त्योभन्दा अग्लो टेलिभिजन टावरको आवश्यकता अनुभव भयो टोकियोलाई । अनि शुरुभयो २००८ मा यो स्काइ टावरको निर्माण । आजको लगभग चार महिना पछि सन् २०१२ को फेबु्रअरीमा निर्माण सम्पन्न भएर मई २२ तारिखका दिन उद्घाटन पर्खेर बसेको छ स्काइटावर पर्यटक भित्र्याउन आतुर बनेर ! कार्यक्रम समेत तय भइसकेको छ । यसको एन्टेनाको टुप्पोको उँचाइ ६३४ र छानाको उचाइ ४९५ मिटर छ रे । सबैभन्दा माथिल्लो तला नै ४५० मिटरको उचाइमा छ यसको । सजावट र बत्तीको साजसज्जा मात्र पूरा हुन बाँकी थियो यतिबेला । चवालीस करोड अमेरिकी डलर त खर्चै लाग्यो रे यो बनाउन । अहिलेसम्मकै संसारको सबैभन्दा दोस्रो अग्लो टावर मानिन्छ यो, चिनको गान्झाउस्थित क्यान्टोन टावर पछि । क्यान्टोन टावर स्काइ ट्रीभन्दा पनि ३४ मिटर अग्लो छ रे ! विश्वकै सबैभन्दा अग्लो युनाइटेड अरब इमिरेट्सको दुवइमा बनेको १६० तले मानवनिर्मित बुर्ज खलिफा टावर ले अझ यी दुवैलाई होभ्याउँदै छ । सन २०१० मा सर्वसाधारणका निमित्त खुला गरिएको बुर्ज खलिफा  ८२९.३४ मिटर अग्लो छ, स्काइ ट्रीभन्दा पनि १९५ मिटरजति अग्लो !
स्काइ ट्री सञ्चालनमा आएपछि जापानी टेलिभिजन प्रसारणको क्षमतामा निकै बृद्धि आउनेछ । प्रसारण टावरको रूपमा प्रयोग भइरहेको टोकियो टावर गगनचुम्वी भवनहरूले घेरिँदै गएकाले डिजिटल टेरेस्टियल टेलिभिजन प्रसारणका लागि त्यति प्रभावकारी बन्न सकेको छैन । जापानी टेलिभिजन अहिलेसम्म मोनोलग र टेरेस्ट्रियल दुबै प्रणालीमा चलिरहेका भए पनि सन् २०१२ देखि टेरेस्ट्रियल प्रणालीमा मात्रै प्रसारण हुने सरकारले निर्णय गरिसकेकोले पनि यो नयाँ टावरको आवश्यकता देखिनु स्वाभाविक थियो सायद् ।
हो, मौसम सफा हुँदा जापानको सान फुजी पर्वतदेखि तोसुकुवा पहाडसम्म सबै नै छर्लङ्ग देखिन्छन् रे यहाँबाट ! हामीले भने देख्न पाएनौं । कक्षको भुइँ रहेको सिसाबाट टावरको तलको रमाइलोदृश्यका साथै यही कक्षको सिन्तो मन्दिर र सोभेनियर पसलहरू हेर्दै हामी चढ्यौं माथि पुग्न अर्को बिजुली भ¥याङ । विजुली भ¥याङले मिलिक्क गर्दा नगर्दै पु¥याएको २५० मिटर माथिको विशेष अवलोकन कक्षबाट हेर्दा देखिएको दृश्य पनि लगभग तिनै थिए, मात्र उचाइको अन्तर । सिंगो टोकियोको दृश्यावलोकन साँच्चि नै रमाइलो अनुभव थियो ।
त्यो दोस्रो अवलोकन कक्षबाट तल झरेर हरायौं हामी तेस्रो तलाका विभिन्न आकर्षहरूमा ।  वाक्स म्युजियम र गिनेज बुक अफ वल्र्ड रेकर्डको म्युजियम र केही टावर ग्यालरी हेरे पनि भूत घरभने. हेर्न चाहेनौं ।
चार बजेछ, टावरबाट ओर्लँदा । खानपिनपछिको अबको हाम्रो गन्तव्य थियो जोजोजी मन्दिर । टोकियो टावर नजिकैको सिवा पार्कमा रहेको थियो यो मन्दिर । मलाई सम्झना थियो, म यस अगाडि जापान आउँदा बसेको टोकियो प्रिन्स होटेलकै केही उता छ जोजोजी अर्थात् जोडो सु मूल मन्दिर । यही मन्दिरको वरिपरि फैलिएको छ टोकियो टावरदेखि यो मिनातो सहरको नगरपालिका भवनसम्म विस्तारित सिवा कोएन अर्थात् सिवा पार्क । टोकियोकै प्रसिद्ध नगरमध्ये पर्छ मिनातो । टोकियो टावर, रोपोङ्गी हिलजस्ता पर्यटन आकर्षषका केन्द्र मात्र नभएर विश्वका अधिकांश दूतावासहरू रहेको अन्तराष्ट्रिय आवागमनको समेत केन्द्र थियो यो । नेपाल, बंगलादेशजस्ता केही अति कम विकसित बाहेक विश्वका ७२ वटा धनी देशका दूतावास र तीनवटा वाणिज्य दूतावास बसेका छन् रे यो मिनातो सहरमा !
टोकियो टावरबाट निस्केदेखि नै यही सिवा पार्कबीचको सडकपेटी हुँदै बढेका थियौं हामी जोडो–बौद्ध सम्प्रदायको प्रमुख मन्दिर जोजोजी तर्फ । टोकियो टावरबाट मन्दिर तर्फं अघि बढिरहँदा झ्वाट्ट आका परेको टोकियो प्रिन्स होटेलले मलाई पूर्वस्मृततिमा पु¥याइदियो, केही बेर नोस्टाल्जिक बनँे । मलाई बीस वर्ष अगाडिको सम्झना व्युँताइदियो यो टोकियो प्रिन्स होटेलले ! त्यतिबेला जापान आउँदा यही होटेल थियो हाम्रो टोकियो रहुन्जेलको आवास ।
मन्दिर बाहिरै मूल प्रवेशद्वार नजिकै बौद्ध भीक्षु–भीक्षुणीहरूका रंगीन चिवरमा सजिएका सयौं स–साना पुतलीजस्ता मूर्तिहरू देखिए । बुद्धदर्शन अन्तर्गतको विशुद्ध भूमि सम्प्रदायमा पर्छ रे यो जोडो सु सम्प्रदाय । मन्दिर करिव ६ सय वर्ष पुरानो रहेछ, सन् १३९३ मा निर्माण भएको । सुरुमा जोडो स्कुलका रूपमा निर्माण भएको यो मन्दिरको वास्तविक नाम भने सानयेन–जान कोडो–इन जोजोजी रहेछ । अमिदा अर्थात अमिताभ बुद्धको विशाल मूर्ति मन्दिरको मूल मूर्तिका रूपमा स्थापित थियो । मन्दिरका अरु विभिन्न खण्ड र कक्षमा शाक्यमुनि बुद्धका तीन र अर्हतका सोह्रवटा मूर्तिहरू देखिन्थे । यसरी नै यस संप्रदायका संस्थापक होनेन शोनिनको पनि एउटा आकर्षक मूर्ति स्थापना गरिएको देखिनथ्यो । मूर्तिहरू बौद्धकला परम्परामा जापानी शैलीको प्रयोग देखिन्थ्यो र कलात्मक थिए सबै नै । मन्दिरको मुख्य द्वारका साथै दाइबोन्सो (विशाल घन्टा) जस्ता कलाका अनुपम कृतिहरू जापानी राष्ट्रिय सम्पदाकै अभिन्न अङ्ग मानिँदा रहेछन् । जापानी भाषा खान्जीमा अमितास्यु भनिने अमिताभ बुद्धको शाव्दिक अर्थ अपरिमित जीवन अर्थात इन्फिनिट लाइफ र अमिताभ को अर्थ अपरिमित प्रकाश (इन्फिनिटिभ लाइट) भनिन्छ ।
गौरवले छात्ती ढक्क फुल्यो ! नफुलोस् किन ? आखिर नेपाली भूमिले नै त जन्माएको हो गौतम बुद्धलाई, अमिताभ बुद्धलाई ! मेरा नेपाली बुद्धहरू यो विदेशी भूमिमा यसरी पुजिनु आखिर मेरै पुजा त हो, मेरै नेपाल आमाको पुजा ! तर आजको म के यो पुजा ग्रहण गर्ने सत्पात्र बन्ने प्रयत्नमा छु ? साथसाथै मन आफ्नै अन्तर्मनसँग प्रश्न गरिरहेका थियो यतिबेला ।
२०६९ माघ २२
विजय निवास, आरुबारी