Monday, January 9, 2017

बालकथा भगवान पनि आएनन् मन्दिरमा !

(तोतेबोली, वार्षिक बालपत्रिका वर्ष १, अङ्क १, २०७३ मा प्रकाशित)
एकादेशमा एउटा मन्दिर थियो । मन्दिरका पूजारी हरेक दिन मन्दिरको सरसफाइ र पूजाआरती गर्थे । मानिस मानिसबीच पनि छुनहुने र नहुने भनी भेदभाव गर्थे । उनीहरूलाई मन्दिरभित्र पसेर पूजा गर्न दिँदैनथे ।
त्यही गाउँमा गाउँलेलाई भाँडाकुँडा बनाएर सघाउने एकजना परिश्रमी मान्छे बस्थे । उनी हरेकदिन त्यही बाटो ओहोरदोहोर गर्थे ।
ती परिश्रमी मानिसले एक् दिन आँट गरेर पुजारीसँग मन्दिर दर्शन गर्ने अनुमति मागे । तर पूजारीले “तिमी अछुत भएकोेले जन्मैदेखि अशुद्ध छौं । त्यसैले मन्दिर भित्र पस्न मिल्दैन । पहिले दुई वर्षसम्म एकान्तमा गएर फलफूल मात्र खाई तपस्या गर अनि शुद्ध भएर दर्शन गर्न आऊ” भनी फर्काइदिए ।
ती मान्छे पुजारीको कुराले नरमाइलो मान्दै घर फर्के ।
संयोगवश तीन वर्ष पछि तिनै पुजारीले त्यही मान्छेलाई मन्दिरबाहिर देखे । ती मान्छे मन्दिर र पुजारी कसैको पनि वास्ता नगरी गइरहेका थिए । त्यो देखेर पुजारीले सोधे– किन आज त मन्दिरको दर्शन दर्शन गर्न खोजेनौ नि ? तपस्या पुरा गरेका छैनौ कि कसो ?
उसको कुरा सुनेर परिश्रमी मानिसल जवाफ दियो – धन्यवाद पुजारीजी । तपाइँले भनेजस्तै तपस्या गरेँ ।  भगवानको दर्शन पनि पाएँ । भगवानले नै मलाई यो मन्दिर अपवित्र छ, त्यहाँ नजानू भन्नुभएकोछ । भगवान आफैं भन्नुहुन्थ्यो–म आफैं वर्षैंदेखि त्यो मन्दिर पसेको छैन !
त्यो सुनेर पुजारीको अनुहार लाज र अपमानले रातो भयो । उसले आप्mनो गल्ती अनुभव ग¥यो– मान्छेको अपमान गरेर ढुङ्यो पुजेरमात्र भगवान खुशी हूँदारहेनछन् !    
                

चामुण्डामा ती दिन.... !

(चामुण्डा उच्च माध्यमिक विद्यालय स्वर्ण महोत्सव–२०७३ मा प्रकाशित)
मेरो शिक्षण जीवनको एउटा महत्वपूर्ण कालखण्ड चामुण्डा माध्यमिक विद्यालयसँग पनि गाँसिएको छ । चौबीस सालदेखि तीस सालसम्म आरुबारीकै अरुणोदय विद्यालयमा प्राथमिक शिक्षकको रूपमा स्वयम्सेवा  गरेँ मैले । २०२९ साल फागुनदेखिजस्तो लाग्छ, त्यतिबेलाको गोकर्णस्थित सहयोगी निम्नमाध्यमिक विद्यालयमा सरकारी शिक्षककको नियुक्ति लिएर पढाउन थालेको थिएँ । वासुदेव पौडेल, श्याम सिग्देल, गोविन्द श्रेष्ठ, मोहन बास्कोटा, रामचन्द्र ढुङ्गाना लगायतका शिक्षकहरूसँग रमाइलो बितेको थियो त्यो छोटो समय । दुई वर्ष जति त्यहाँ पढाएर त्रि वि बाट स्नातक उपाधि प्राप्त गरेपछि २०३० को अन्त्य वा २०३१ को प्रारम्भतिर माध्यमिक शिक्षकका रूपमा प्रवेश गरेथँे म चामुण्डा माध्यमिक विद्यालयमा । २०३७ साल जेठमा पत्रकारका रूपमा गोरखापत्र प्रवेश नगरुन्जेल यही विद्यालय थियो मेरो कर्मथलो । विद्यालय शिक्षणमा चामुण्डा मेरो अन्तिम कर्मथलो भए पनि पाँच वर्षजतिको अन्तरालमा २०४२ सालदेखि फेरि शिक्षणस्ाँग गाासिए म । पशुपति क्याम्पसमा प्राध्यापन गर्दै अर्को पच्चीस वर्ष बितेछ । मूल पेशा शिक्षण नभएर पत्रकारिता भए पनि पूर्णकालीन र आंशिक शिक्षणमा जीवनको लगभग साढे चार दशक बितेको छ मेरो ।
अहिलेजति सम्पन्न थिएन त्यतिबेलाको चामुण्डा विद्यालय । कक्षाकोठाको अभाव थियो । त्यसैले गर्दा दुई सिफ्टमा चल्थे कक्षाहरू । भएका पनि जीर्ण– वर्षाभर बाहिरभन्दा भित्रै बढी पानी ओइरिने । होचा जस्ताका छाना, गर्मीको समय भित्र बस्नै कठिन । दुईजना कार्यालय सहयोगी अर्थात् पियन, एकजना लेखापाल र दश बाह्रजना शिक्षक । कुल त्यति नै थियो विद्यालयको जनशक्ति । विद्यार्थी सङ्ख्या पनि खासै थिएन, तर पनि साना साना कोठामा टन्नै हुन्थे । कालो राम्ररी नपोतिएको धसिएको कालोपाटी, कम गुणस्तरका जति घोट्दा पनि नलेखिने चक, आवश्यक विषयशिक्षकको सधैं अभाव । पुस्तकालय कुन चराको नाम हो, थाहा थिएन । जिल्ला शिक्षा कार्यालयबाट कहिल्यैै समयमा बजेट नआउने । विद्यार्थीबाट उठेको मासिक शुल्कले स्टेसनरी सामान र अरु आकश्मिक खर्च नै धान्न कठिन । त्यसैले समयमा तलब समेत पाउन मुस्किल । अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको कोटा भए पनि प्राय खाली नै हुने । अनि अन्य विषय शिक्षकले जानी नजानी कोर्ष सक्नुपर्ने वाध्यता सामान्य थियो त्यतिबेलाको चामुण्डामा । त्यही वाध्यतामा नेपाली विषयको शिक्षक भएर पनि अङ्ग्रेजीको कक्षा लिनुपथ्र्यो मजस्ताले । पनि मिहिनेत गरेरै भए पनि जिम्मेवारी पुरा गर्ने प्रयत्न गथ्र्यौं हामी । केही पछि रत्नदास श्रेष्ठ प्रधान अध्यापक भएर आउनुभए पछि ठूला कक्षामा उहाँ आफैंले लिन थाल्नुभयो ङ्ग्रेजीको कक्षा र उहाँले नभ्याएका माध्यमिक केही कक्षामा सघाए पुग्थ्यो ।
रत्नदासजस्त आदरणीय प्रधानाध्यापकसँग काम गर्नु निश्चय नै एउटा राम्रो अवसर थियो । प्रगतिशील लेखक संघका संस्थापक सदस्यमध्येका रत्नदास बैद्य पुराना कम्युस्टि राजनीतिक कार्यकर्ता र विद्वान तथा सुरुचिपूर्ण व्यक्ति हनुहुन्थ्यो । म उहाँलाई आदर गर्थेँ ।
भर्खरै राष्ट्रिय शिक्षा योजा लागु भएकोले तालिम प्राप्त शिक्षक तयार गर्ने क्रममा सरकारले स्नातकको उपापाधि लिएर शिक्षण गरिरहेका हामीजस्ता तालिम नगरेका वा शिक्षा शास्त्रको. अध्ययन नभएका माध्यमिक शिक्षकहरूलाई एक वर्षे बीएडको अध्ययन गर्न प्रोत्साहन गरिरहेको थियो । तलवमान मैं परक थियो । बीएड गरेका शिक्षकले नगरेकाको भन्दा एक सय रुपियाँ बढी तलब पाउँथ्यो । ३२ सालतिर सय रुपियाँ भनेको ठूलै रकम हुन्थ्यो । साढे चार–पाँच सय रुपियाँमा एक तोला सुन आउँथ्योजस्तो लाग्छ । त्यसैले हामीजस्ताका लागि सय रुपियाँले धेरै अर्थ राख्थ्यो त्यस समयमा । यसैले गर्दा शिक्षणमैं लाग्न चाहनेहरूमा यो लाभकै लागि भए पनि बीएड गर्ने चाहना बढ्नु स्वाभाविक थियो । माध्यमिक शिक्षक हुन बीएडको उपाधि अनिवार्य गराउने सरकारको दीर्घकालीन लक्षमा अगि बढ्न यो प्रलोभनले रामै्र काम गरेको थियो । त्यसैले हामी केही मद्यमिक शिक्षक दिउँसोको कक्षा सकेर साँझ छ बजेदेखि चल्ने पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालयको भवनमा चलेको एक वर्षे बीएड कार्यक्रममा भर्ना हुने अठोट ग¥यौं । समूहमा रत्नदस बैद्य स्वयम्, हरिप्रसाद अज्र्याल, जयन्ती लम्साल, ऋषिराम पौडेल थियौं । रत्नदास माड्साव र हरिदाइ हामीभन्दा अगिल्लो पुस्ताका थिए । जयन्ती महिला शिक्षक । अहिले त रातको समयमा सार्वजनिक यातायातको सुविधा पाइन्न, त्यतिबेला त यसको कुरै भएन । रत्नदास कोटेश्वर बस्नुहुन्थ्यो, जयन्ती चावहिल चुच्चेपाटी । हरिप्रसाद बौद्ध किनीदोबाटो र म अझ टाढा त्यतिबेलाको अनकन्टार आरुबारीमा । बस गौशालभन्दा यता आउँदैनथ्यो । हिउँदको छोटो दिनमा त सात बजे उता पाउनै सकिँदैनथ्यो । त्यो अवस्थामा रत्नदास बैद्य, हरिप्रसाद र जयन्ती म्याडमले रातीको कक्षामा पढेर बीएडको अध्ययन पूरा गर्ने हिममत देखाउनु कम साहसको कुरा थिएन । मेरा पिताजीका समवयी साथी रत्नदास सर र हरिप्रसाद दाइको उमेर अनि त्यो कालखण्डमा पनि महिलाहरूले सामना गर्नुपर्ने विविध जिम्मेवारी, समस्या र तत्कालीन समाजको साँधुरो दृष्टिकोण हेर्दा यी तीनैजनाको त्यो आँट साँच्चिकै सम्मानयोग्य थियो ।
रत्नदास श्रेष्ठ, हरिप्रसाद  अर्याल, जयन्ती लम्साल, भोलानाथ चालिसे, अनन्त पौड्ल, गोविन्दप्रसाद घिमिरे, ऋषिराम पौडेल लगायत माध्यमिक शिक्षकका रुपमा कार्यरत थियौं । भोला २०३३–२०३४ तिर लोकसेवा दिएर निजामती सेवातिर लागे । नेपाल सरकारको सचिव भएर अवशाक प्राप्त भोलाको अघिल्लो वर्ष निधन भयो । त्यसको केही वर्षपछि अनन्त त्रिभुवन विश्वविद्यालयतिर गएर प्राध्यापक भएका डा. अनन्त पनि अब यस संसारमा छैनन् । अरु शिक्षकको पनि आउने जाने क्रम चलिरह्यो । म आफैं २०३७ जेठतिर चामुण्डा छाडेर गोरखापत्रतिर लागँे, गोविन्द घिमिरे लोकसेवा दिएर निजामति सेवा तिर र ऋषिराम आनन्दकुटीतिर होक्यार । सम्झना भएसम्म प्राथमिकदेखि निम्नमाध्यमिक कक्षा लिने अरु साथीहरूमा शीला बस्नेत, निर्मला अर्याल, ज्योति भट्टराई, ध्रुवराज शर्मा आदि भए जस्तो लाग्छ त्यतिबेला । फणीन्द्र दाइ (फणीन्द्रराज भट्टराई) का कान्छा छोरा ज्योति अत्यन्त क्षमतावान थिए । उनले पनि असमयमैं संसार छाडे ।  
पहिले बाहिर बाटैबाट देखिन्थ्यो अलि अग्लो ढिस्कोमा बनेको चामुण्डा स्कुलको एकतले भवन । जसमा विद्यालयका कक्षा सञ्चलन हुन्थे । अहिले स्कुलले  नै निर्माण गरेर आयवृद्धिका लागि भडामा लगाएका अग्ला घर, स्थनीय बासिन्दाका गगनचुम्वी भवनहरूले छोपेर सडकबाट लुकाएको छ विद्यालयलाई । विशाल विशाल आधुनिक भवन र कक्षा कोठाले सुसज्जित छ आजको चामुण्डा माध्यमिक विद्यालय ।
भौतिक वातावरणमा गरिब भए पनि आत्मीय र बडो रमाइलो थियो त्यतिबेलाको चामुण्डाको वातावरण । अहिलेकोजस्तो धुवाँ, धूलो र ध्वनि प्रदूषणको चपेटामा परिसकेको थिएन यो ठाउँ । न जोरपाटी, न चामुण्डा नै अहिलेजस्तो व्यापारिक केन्द्र बनिसकेको थियो । सडकछेउ छिटपुट घरहरू, केही सीमित कम चलाउ किराना र र चियापसल । साँखु चल्ने सीमित सार्वजनिक बस । पानी जमेका खाल्टखुल्टी बाटो । अलि उता कलकल बगिरहने बागमतीको कञ्चन सफा पानी ! सााच्चिकै सफा र शान्त थियो नारायणटार, विद्यालयलाई सुहाउँदो वातावरण ।  
अहिले त्यही बाटो हिँड्दा ताजा हुनेगर्छन् पुराना याद । मेरो जीवनको एउटा कार्यथलो र महत्वपूर्ण कालखण्ड सम्झेर भावनामा बग्न पुग्छु म । अहिले मे्नका म्याडमको मार्फत नै भए पनि धेरै वर्ष पछि चामुण्डाले सम्झेर प्रकाशनको निमित्त केही पठाउने आग्रह गरेपछि एक पटक फेरि पूर्वस्मृतिको मीठो संसारमा विचरण गर्न पुगेको छु म । यो अवसर दिएकोमा धन्यवाद, चामुण्डा, धन्यवाद मेनका वहिनी !

२०७३ जेठ ११
विजय निवास आरुबारी

Sunday, January 8, 2017

भाषाले देश बन्दैन........!

(सुलेख मंसिर २०७३ निबन्ध अङ्मा प्रकाशित)
कुनै बेला चुनाव प्रचारको सिलसिलामा भारतकी काङ्ग्रेस नेतृ सोनिया गान्धीले भनेकी थिइन–“कविताले देश चल्दैन, न त सुशासन नै दिन सक्छ ।”
विपक्षी नेता अटलविहारी वाजपेयी कवि पनि भएकाले, उनको भावुकताप्रति कटाक्ष गर्दै भनिएको यो भनाइको भाव निश्चय नै भावुकताले देश चल्दैन, सुशासन दिन सक्दैन भन्ने नै हो । राज्यसञ्चालनको सन्दर्भमा त्यो भनाइ ठीकै पनि होला । सोनिया गान्धीको त्यो धारणा भाषा–साहित्यलाई निरर्थक र अनुत्पादक ठान्ने हाम्रा अधिकांश राजनीतिकर्मी, नीतिनिर्माता, योजनाकार र उच्चपदस्थ अधिकारीहरूको सोचाइसँग ठ्याम्मै मेल खान्छ । उनको त्यो भनाइ सम्झँदा निकै वर्ष अघि हाम्रो सरकारी प्रसारण माध्यमका एकजना तत्कालीन प्रमुखको त्यस्तै भनाइको याद आउँछ ।
गोखापत्र दैनिककै संपादकको कार्यकक्षमा नेपाली सञ्चारमाध्यमहरूमा देखिने भाषिक असावधानी अर्थात लेखन–उच्चारणमा पाइने अशुद्धिका बारेमा चर्चा चरिहेको थियो । त्यही क्रममा ती सरकारी सञ्चारमाध्यमका प्रमुखले सोनिया गान्धीको त्यही शैलीमा भनेका थिए– छाड्नोस् यस्ता कुरा, भाषाले देश बन्दैन ।
रमाइलो के थियो भने उनी आफैं प्रतिष्ठित चलचित्रकर्मी र निर्देशक  थिए । अझ त्यतिबेला उनी सरकारी सार्वजनिक प्रसारण माध्यमको प्रमुखको जिम्मेवारी समेत समालिरहेका थिए । एउटा चलचित्रकलाकार स्वयम् भाषा–संस्कृतिको संवाहक मानिन्छ । त्यसमाथि उनी त नेपाली भाषा, साहित्य, संस्कृति र सूचनाको सम्बद्र्धन गर्ने घोषित उद्देश्यबाट सञ्चालित सार्वजनिक सञ्चारमाध्यमकै  हर्ताकर्ता ! उनमा त्यस्तो धारणा हुनु हामी सबैका लागि आश्चर्यको कुरा थियो । पछि नेपाली भाषा, संस्कृति र साहित्यको संबद्र्धन गर्न भनी स्थापित एउटा अर्को सरकारी प्रतिष्ठानको सदस्य बने पछि उनको त्यो धारणामा परिवर्तन आयो कि आएन, थाहा भएन ।
हो भाषाले मात्र देश बन्दैन, साहित्यले मात्र देश चल्दैन । भाषा–साहित्य आफैंले सुशासन पनि ल्याउँदैन । तर देशबनाउँछु भन्नेहरूलाई भाषा–साहित्यले माटो र मानिसप्रति संवेनशील बनाउँछ । देश बनाउँछु भन्नेहरूमा उचित–अनुचित कुनै पनि तरिकाले धन कमाएपछि समाजमा सम्मानित र शक्तिसाली होइन्छ भन्ने सोचाइमा गुणात्मक परिवर्तन ल्याउन भने भाषा र साहित्यले नै सघाउँछ । देशको विकास भनेको भौतिक विकास मात्र नै होइन । जति नै धनी भए पनि देशले आफ्नो पहिचान खोज्छ, आफ्नो पनको विशिष्टता खोज्छ र आफ्नो जातीय पहिचान पनि खोज्छ । यसो नभएमा उसले आफूलाई चिनाउन सक्दैन । यो पहिचान, यो आफ्नोपनको विशिष्टता, यो जातीय पहिचान राष्ट्रिय भाषा, साहित्य र संस्कृतिले नै दिन्छ  । बन्दुकले होइन विचारले, भावनाले परिवर्तन ल्याउन पे्ररित गर्छ । त्यसैले भाषा, साहित्य संस्कृति आफैंमा विकास नहोला, सुशासनको साधन नहोला, शान्ति, परिवर्तन, विकास र सुशासनलाई बलियो आधार भने यसैले दिन्छ ।
हामीले वास्ता नगरे पनि विदेशीहरू कसरी साना साना कुरालाई समेत गहिरिएर हेर्छन भन्ने एउटा उदाहरण राखौं । नेपालमा नेलीहरूको हिन्दु संस्कार विषयमा विद्यावारिधि गर्ने क्रममा निकै वर्ष अघि एउटी जापानी विद्यार्थी नेपाल आएकी थिइन् । त्यही सिलसिलामा उनी मकहाँ पनि आइपुगिन् । त्यतिबेला उनले एउटा प्रश्न गरेकी थिई– के नेपालको सरकारी कामकाजको राष्ट्र भाषा अङ्ग्रेजी हो ?
उसको कुरा सुनेर म पहिले त म अलमलिएको थिएँ– के भन्छे यो केटी ! तर कुरा बुझेपछि आफैंलाई लागेको थियो– हो त राजधानीका जतासुकै देखिने सूचना पाटी, सङ्केत पाटी, नाम पाटी, विज्ञापन पाटी आदि हेर्दा नेपालको राष्ट्रिय र कामकाजी भाषा कतै अङ्ग्रेजी वा हिन्दी त होइन भनेर अलमलमा पर्नु अनौठो होइन । त्यसैले राजधानीका सडक छेऊ, पसल, कार्यालय, सार्वजनिक स्थल प्राय सबैतिर देखिने नामपट्, सूचना, विज्ञापन, प्रचारसामग्रीहरूमा अङ्ग्रेजी भाषाको मात्र प्रयोग देखेर उसलाई नेपालको सरकारी र कमाकाजी भाषा अङ्गे्रजी हो कि भन्ने लाग्नु स्वाभाविकै थियो । हुन पनि  विदेशीहरू प्रवेश गर्ने थानकोट नाका होस कि त्रिभुवन विमानस्थल, बाटाका सबै तिर शतप्रशितजस्तै साधारण र बिद्युतीय विज्ञापन पाटी, सूचना सामग्रीमा एक मात्र अङ्ग्रेजी को. प्रयोग गरिएको देखिन्छ । हुँदाहुँदा राष्ट्रिय शिक्षाका संवाहक भनिने अधिकांश स्कुल कलेजका नाउँ सुन्दा ती नेपाली हुन् भनेर कसैले भन्न सक्दैन । ९० प्रतिशतभन्दा बढी नै होलान् अङ्ग्रेजीमा मात्रै लेखिएका यस्ता सामग्री । महानगरपालिकाले आफ्नै निग्रानीमा भाडामा ठाउँ उपलब्ध गराएर राख्न दिएका सडक छेउका खम्बा, सडक पेटी र सार्वजनिक ठाउँहरूका सबैजसो विज्ञापन र प्रचार सामग्रीमा समेत अङ्ग्रेजी बाहेक नेपाली भाषा कतै भेटिँदैन ।
राजधानीका सडक छेउ देखिने विज्ञापन, सूचना र प्रचार सामग्री हेर्ने होभने बडो मुस्किलले मात्रै एक–दुई शुद्ध नेपाली भाषामा लेखिएका पाइएलान् । यस्ता साग्री तीन प्रकारका देखिनेगर्छन–पहिलो हिन्दी र नेपालीको ठिमाहा, दोश्रो नेपाली र अङ्ग्रेजीको ठिमाहा र तेश्रो नेपालीको कतै नामनिशाना नभएको अङ्ग्रेजी मात्र प्रयोग भएका । कमसेकम अरु जुन भाषाको प्रयोग गरे पनि नेपालीमा चाहिँ अनिवार्य गरिनु पर्छ भन्ने चेतना कहिल्यै आएन हामीमा । रेडियो सुन्नुहोस्, टेलिभिनजन हेर्नुहोस् अखबार पढ्नुहोस् जतासुकै तपाइँ यिनै ठिमाहा भाषाका विज्ञापन र सूचना सामग्री पाउनु हुनेछ । वाटिका स्याम्पु लाएर “भित्रैदेखि निखार ÷मुहारमा सदाबहार” ल्याउन उक्साउने विज्ञापन होस् कि, दाँतलाई स्वस्थ राखेर “गजबको ताजगी” ल्याउने क्लोज अप दन्तमञ्जन वा “टुथपेष्ट” होस् हिन्दी नेपालीको ठिमाहा स्वाद पाइन्छ । एक्टिभ ह्विल डिटर्जेन्ट वा धूलो साबुनको “अफरमा यस्तो जोर छ, हात्ती पनि हुन्छ कमजोर”को भाषा होस् कि “२००० जना पार्टी, ५०० जना क्याटरिङ, र २२८ जना बफेटको क्षमता भएको चाइना एण्ड वल्र्ड रेष्टुरेण्ट प्रालि”को सन्देश होस् सबैमा यही ठिमाहापन पाइन्छ । “आज भोलि मेरो परिवार कन्हैयाको दिवाना” हुनु त सामान्य भैसक्यो । भनिन्छ, कुनै पनि राष्ट्रको पहिचान, जातीय चिनारी र पनको नामोनिशान मेटाउनु छ भने सबैभन्दा पहिले त्यो राष्ट्रको भाषा–संस्कृति ध्वस्त पार्नुहोस् । हाम्रो सन्दर्भमा भाषा–संस्कृतिमाथि भइरहेको प्रहार र त्यसको रोकथाममा राज्यको उदासीनता देख्दा लाग्छ कतै हामी आफ्नै पहिचान मेटाउन लागिपरिरहेका त छैनौं ! अनि ती नेपाली प्रशासक–कलाकर्मीले भनेको “भाषाले पनि कतै विकास हुन्छ” भन्ने भनाइको सम्झना हुन्छ ।
आज राष्ट्र भाषा नेपालीमा बोल्ने–लेख्ने र पढ्ने समेत पाखे र गाउँले ठहरिन्छ, मुखिया–खर्दार भन्दा बढी योग्य ठानिँदैन । अब त पालेको जागिर खान पनि अङ्ग्रेजी जान्नुपर्ने भैसकेको छ, जो पर्रर अङ्ग्रेजी बोल्छ, लेख्छ ऊ जताततै राम्रै मोलमा बिक्छ । भाषा ज्ञानको माध्यम हो, बृहत् ज्ञान–विज्ञानको भण्डारमा पस्न हिन्दी–अङ्ग्रेजी मात्र होइन अरु भाषा–माध्यमको पनि आवश्यकता पर्छ । तर अहिले भाषालाई नै ज्ञान ठान्ने जुन प्रवृत्तिको विकास भइरहेछ त्यो चाहिँ स्वागतयोग्य मान्न सकिँदैन । ज्ञानको खोजीमा भन्दा आफूलाई महङ्गो मोलमा विकाउने र विदेशी, त्यसमा पनि गोरा छालाई रिझाएर योजना–परियोजना फुत्काउने स्वार्थले नै हामी विदेशी भाषाको अन्धमोहमा धकेलिरहेको छ । त्यसैले होला हाम्रा सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू, राजनीतिक नेताहरूमा विदेशी भाषामोह अझ बढी देखिन्छ । देशविदेश जहाँका पनि कार्यक्रमहरू हुन् उनीहरू सजिलै आफ्नो कुरा राख्न सकिने आफ्नै राष्ट्र भाषामा बोलेर आवश्यक भए बरु त्यसको अनुवाद प्रति उपलब्ध गराउनु भन्दा टुटेफुटेको  विदेशी भाषामा लाजलाग्दो अभिव्यक्ति दिनैमा गौरव ठान्छन् । मन्त्री–प्रधानमन्त्रीहरूका औपचारिक भ्रमणमा राज्यको ढुकुटीबाट लाखौं खर्च हुन्छ । चहिने भन्दा नचाहिने असेपासे र कथित सल्लहकार–सहयोगीको लर्केा लाग्छ ।  त्यो खर्चबाट एकजना दोभाषे र अनुवादकको खर्च जुटाउन नसकिने पक्कै हुँदैन होला । विदेशी सञ्चारमाध्यममा प्राय आउने उनीहरूको यस्तै अल्पज्ञानी भाषामोहले राष्ट्रिय स्वाभिमान घाइते हुनपुगेका अनेकों उदाहरण पाइएलान् । यस्तोमा भाषाले देश बन्दैन भन्ने सोच बलियो हुनु स्वभाविक होइन र ?

कस्तो आदर्श ?

मानिस कुनै न कुनै आदर्शको खोजीमा हुन्छ । संभवतः हामी पनि त्यस्तै आदर्श खोजिरहेका छौं । तर यो आदर्शको खोजीमा कतै हामी आफैंलाई बिसँदै त छैनौ ? केलाइ र कसलाई आदर्श मान्ने ? के हामीले छनोट गरेका आदर्श वास्तवमैं आदर्श हुन् ? समय समयमा आन्दोलित पार्न थालेका छन् मलाई यस्ता प्रश्नहरूले ।
पश्चिमी संस्कृति, खानपान र रहनसहनतर्फ सर्वाधिक आकर्षित केही हामी सहरी युवा आफ्ना व्यवहार र आदर्शमा पनि तिनै कुरालाई महत्व दिन चाहन्छौं । विगत जनआन्दोलनमा एकातिर हज्जारौं नेपाली युवा आँखाभरि नयाँ नेपालको सपना बुन्दै ज्यान हत्केलामा राखेर सङ्घर्षमा होम्मिए, अर्कोतिर तिनै युवामध्ये केही आफूले मानेका तिनै आदर्श अर्थात् भौतिक चमकदमकको सन्सारतिर पलायित हुने उपक्रममा व्यस्त रहे । अरु त अरु आन्दोलन हाँक्नेहरू समेत सत्ता र अकूत सम्पत्ति आर्जनको अन्धदौडमा आदर्श र सपनाको लीलाम गर्दै गए ! विदेश पलायन हुनेहरूको आदर्श भाँडा माजेरै भएपनि कुस्त ग्रिन डलर कुम्ल्याउने रुमानी सपना थियो । भौतिक सुखको पर्याप्त सुखानुभति नै तिनको आदर्श थियो ! यता क्रान्ति र युगान्तकारी परिवर्तनको लागि नेतृत्व गरिरहेछौ ंभन्नेहरू डन÷स्मगलर विदेशी एजेन्टहरूका ब्रिफकेसहरूमा कैद हुँदै गए । यो क्रम अझै रोकिएको छैन । भौतिक सुखानुभूतिको मृगमरीचिका पछि दौडिने यो दौडका सहभागीहरू दिनानुदिन बढिरहेकै छन् ।
आज हामी आफ्ना सबै कुरा बिर्सँदै छौं । हामी पश्चिमाभिमुख भएर आदर्शको खोजी गरिरहेछौं । तिनै पश्चिमा चमकदमक र टेलिभिजनका पर्दामा बलात् उभ्याइएका व्यक्तित्व अनि लादिएको संस्कृतिलाई आदर्श ठान्न थालेका छौं ? पश्चिम र पूर्वका विकट गाउँमा जन्मेर व्यक्तित्व विकास गर्दै तिनै पश्चिमी समाजमा आफूलाई इज्जतसाथ उभ्याउन सक्ने सामथ्र्य भएर पनि आफ्नै गाउँ र समाजको सेवा र विकासमा रमाउने महावीर पुन र सन्दुक रुइतहरू हाम्रा आदर्श बन्न सकेका छैनन् । न त खेलाडीको नाउँमा विदेश पुगेर देशकै बेइज्जत गर्दै लुकेर भौतिक सुख खोज्ने कतिपय कलाकार–खेलाडीलाई नैतिक थप्पड दिँदै विजयी–चर्चित बनेर आफ्नै देशको गौरव राख्न स्वदेश फर्कने खेलाडी–कलाकार पारसहरू नै हाम्रा आदर्श बन्न सकेका छन् । आफ्नै कोहीलाई आदर्श माने पनि ती कि टेलिभिजनको पर्दामा मुकुण्डो भिरेर चमकदमक साथ देखिने सोजिवका चम्किला अनुहार हुन्छन्, कि त राजनीति र कथित समाज र अधिकारवादी नक्कली मुखौटाहरू ! तिनै नाउँमा विदेशी स्वार्थका झण्डा बोक्ने सुकिला अनुहार कै बिगबिगी छ अहिले । भानु,, मोती, धर्मभक्त, शुक्रराज, दशरथचन्द र गङ्गाला, देवकोटा, लेखनाथहरूलाई समेत आदर्शको श्रेणीबाट विस्थापित गरिसक्यौं हामीले ।
वास्तवमा म्याग्दीको बिकट गाउँमा जन्मेर आजका धेरै नेपाली युवाको सपनाको देश अमेरिका पुगेर उच्च शिक्षा हासिल गरिसक्दा पनि त्यहाँको चमकदमकपूर्ण जीवनसँग नलोभिई स्वदेशकै सेवामा समर्पित हुने महावीर पुनहरू हामी नेपाली युवाका वर्तमान आदर्श बन्नु पर्ने हो । विदेशमा इज्जतको जीवन बाँच्न सक्ने भएर पनि स्वदेशका निमुखा नेपालीलाई जीवनदृष्टि बाँडिरहेका रुइतहरूले हाम्रो आदर्श बन्ने सामथ्र्य राख्नुपर्ने हो । यी केही उदाहरण मात्र हुन्, जो हाम्रा आदर्श बन्न सक्ने सामथ्र्य राख्छन्, –यस्ता आदर्श व्यक्तित्व समाजका प्रत्येक क्षेत्रमा पाइन्छन् चाहे त्यो राजनीति होस्, मूल्यपरक कला–साहित्य होस्, विज्ञान र प्रविधि होस वा समाजका अन्य क्षेत्र हुन् ।
कति विडम्बनापूर्ण समय बाँचिरहेछौं हामी । विश्वका अरु युवाहरुजस्तै सरहरबजारका अवशरप्राप्त हामी जतिबेला “भ्यालेण्टाइन डे” को ज्वरग्रस्त उन्मादमा हराउँदै थियौं । हामी जतिबेला उन्मादमा उन्मुक्त प्रेम साट्न व्यस्त थियौं ठीक त्यति नै बेला हाम्रा दिदीवहिनीका यौवन स्वदेशर विदेशी माटोमा लुटिँर्दै थियो । प्रेमले शाश्वतता गुमाएको छ । भ्यालेन्टाइन प्रेममा यौवनको कच्चा मस्तीलाई नै यथार्थ प्रेम मान्न थालेकेछे म आजको भ्यालेन्टाइन पुस्ता ।
समाज एकातिर सहरी सभ्यताको नाउँमा बाहिरी संस्कृतिको अन्धानुकरणमा आँखा चिम्लिएर दौडिरहेको छ, अर्कातिर यही समाजको ठूलो हिस्सा सामान्य स्वतन्त्रतासमेत उपभोग गर्न नपाएर अझै सभ्यताको आदिम जीवन भोग्न वाध्य बनिरहेको छ । एकातिर हाम्रो समाज आफ्रनो बहुमूल्य निधि र संस्कृतिक पक्षहरुलाई बाहिरी लहैलहैमा लागेर त्यग्दै स्वच्छन्दता र नियन्त्रणहीन उन्मुुक्ततालाई आधुनिक सभ्यताको पहिचान ठान्दैछ, अर्कातिर बोक्सी र छूवाछूतजस्ता सामाजिक सभ्यताका अभिशापबाट मुक्त हुन निरन्तर छट्पटाइरहेको छ । आफ्नो इतिहासका हरेक गर्वसूचक घटनाहरूलाई विस्मृतिको चिहानमा पुरेर सात समुद्र पारिका सन्त भ्यालेण्टाइनको प्रेमगाथा घोकेर आयातीत प्रेमदिवशको नशामा उन्मादग्रस्त बन्ने गरेको छ अहिले सहरी युवा पुस्ता  ।
प्रेम मानवीय सौन्दर्य हो, जीवनको शाश्वत पक्ष ! यो सडक प्रदर्शनको कुरा पनि होइन सायद्, यो त दुईजनाबीचको समर्पणको नितान्त व्यक्तिगत कार्यव्यापार हो । यसलाई सडक, पार्क र होटेल केविनका मधुरो रोमाञ्चक प्रकाश तथा उत्तेजक संगीतको रमाइलोमा रागात्मक शारीरिक आर्षणसँग साटेर प्राप्त गर्न सकिंदैन । हाम्र आफ्ना पनि पे्रमाभिव्यक्ति गर्नेे धेरै संस्कृतिक अवसरहरु छन्,पर्व र दिवशहरु छन् । रोदी घरमा शाश्वत मायाप्रीति साट्ने हाम्रो आफ्रनै संस्कृतिक परम्परा छ । दोहरीमा मन जितेर जीवन साथी रोज्ने हाम्रो आफ्नै अभ्यास छ । देउडामा मन मिल्ने साथी रोज्ने र उसलाई जीवन साथी बनाउने नेपाली संस्कृतिकै सुन्दर अभयास छ । ऋतुराज वसन्तको यो उत्सव हाम्रो आफ्नै प्रेम दिवश होइन र ? बहुसंस्कृतियुक्त हाम्रो समाजमा खोजिपसे युवाह्रदयका प्रेम भावना साटासाट गर्नेे यस्ता अरु पनि धेरै अभ्यास र अवसरहरु प्रसस्त फेला पर्नेछन् । यिनमा यौनजन्य आकर्षणभन्दा बढी भावात्मक प्रेमको शाश्वतता हुने गर्छ, जुन पश्चिमी बजार नियन्त्रित उपभोक्तवादी समाज र संस्कृतिको खुलापनमा पाइन सहज छैन । चाहे त्यो खुला बजारमा गरिने प्रेम प्रदर्शन होस् वा शारीरिक आशक्तिको जालो फाल्ने स्वअस्मिता गुमाएर आफूलाई उपभोग्य बस्तुमा अनुवाद गर्ने कथित आधुनिकता !
हाम्रो पूर्वीय समाज खोलेर उदाङ्गो पार्नुमा होइन आवश्यक मात्रामा छोपिनुबाट सौन्दयको आकर्षण तथा कौतुहलको सिर्जना हुन्छ भन्ने विश्वास गर्छ । ठीक ढङ्गमा छोपिएको शरीरले जति आकर्षित गर्छ, सर्वाङ्ग खुला शरीरले त्यो आकर्षण दिन सक्तैन । यसले यौन उत्तेजना बढाउला, क्षणिक रतिरागात्मक आकर्षण देला । चिरस्थायी आकर्षण र शाश्वत सौन्दर्यको चिरस्थायी प्रभाव भने यसले दिन सक्तैन । अश्लीलता यौनविकृतिको विकासमा सहयोगी बन्ला, सौन्दर्यको मानक बन्न सक्तैन । प्रेम नितान्त निजी कुरा हो, यसको अर्थ गहन हुन्छ । यसले सडक, होटेल र पार्कको खुला प्रदर्शनबाट सही अर्थग्रहण गर्न सक्तैन । तसर्थ पश्चिमा शैलीका प्रेम दिवशहरुका नाउँमा उपहार साटासाट गर्नु र आफूले मनपराएकाहरुसँग प्रेम प्रकट गर्नुसम्म ठीकै हो, वाहिरी नै भए पनि यस्ता अवसरलाई प्रेमको भावना फैलाउने तर्फ संयमित अनुकरणसम्म राम्रै होला । तर यस्ता अवसरहरुमा देखिन थालेका उपहारसँगै एकआपसमा धेरैकुराहरु साट्ने प्रवृत्तिले विकृति मात्र बढ्ने कुरामा समयछँदै ध्यान पु¥याउन नपर्ला र ?
विज्ञापनमा सुन्दर शरीरको बिस्कुन फिंजाउने बहुराष्ट्रिय भपभोक्तामुखी व्यापारिक जालोका खेलौना बनेर हामीले आफ्नो पूर्वीय मूल्य विपरित लज्जालाई त्याग्न थालेका छौं, आदर्श विशर्जन गर्न थालेकाछौं । मिस हजुरआमादेखि मिस नातिनीसम्मका सौन्दर्य प्रदर्शनमा आफूलाई उपभोग्य बस्तुमा अनुवाद गर्नुलाई नारी स्वतन्त्रताको आदर्श ठान्न ठालेकाछौं । लाग्छ, यस्तै आदर्शको खोजी गर्दैजाँदा इडियटबक्सका पर्दामा उभ्याइएका कृत्रिम आदर्श नै भोलिका यथार्थ आदर्श बन्न बेर छैन । प्रेमदिवशको नाउँमा भित्रिएको भ्यालेण्टाइन डेजस्तै अब तिनै पर्दा मार्फत हाम्रा शहरी बैठककोठामा ब्राजिलियन कार्निभलमा देखिने नाङ्गा महिलाहरुको उन्मुक्त र उत्तेजक साम्भा नृत्यको नेपालीसंस्करण सुरुहुन बेर छैन । कतिपय कुरा समाज, परंपरा र जातीय संस्कारसापेक्ष हुनेगर्छन् । युरोपेली समाजमा बीच सडकमा युवायुवती आलिङ्गनबद्धभएर ओठ, गाला र शरीरका अङ्ग–प्रत्यङ्ग चाटाचाट र चुसाचुस गर्नु तिनको सभ्यता सुहाउँदो होला, संस्कृतिअनुकूल होला ! के तिनै कुरा पूर्वीय समाज र सभ्यतामा सुसंस्कृत मानिन सक्छ ? हामी नाङ्गिनुलाई अश्लील मान्छौं, उनीहरु नमान्न सक्छन् । यसबाट भूगोल र संस्कृतिको पार्थक्य प्रष्ट हुँदैन र ?
परिवर्तित मान्यता र पश्चिमी संस्कृतिको भेलले बगाइएका आजका हामी नवपुस्ताका “सभ्य आधुनिक” नेपालीहरुको दृष्टिमा गुप्ताङ्ग र कुचाङ्गमात्र छोपिएको शरीरमा देखिने ब्राजिलका साम्भा नृत्याङ्गनाहरुको त्यो रुप नाङ्गो नमानिन सक्छ । “सहरी सभ्यहरु” को बहुसङ्ख्यामा स्वसंस्कृति र स्वमूल्यको कुरागर्नेहरु गँवार र असभ्य पनि ठहरिन सक्छन् । आजको मोहनी अर्थात “ग्ल्यामर”को उन्मादले राजनीतिदेखि पेशा–व्यवसाय सबैलाई बेसरी गाँजिरहेको छ । आज हरेक संपादक आफ्नो प्रकाशन विकाउने मूल मन्त्र ग्ल्यामरलाई ठान्दछ । आजका हामी लेखक ग्ल्यामर कै खोजीमा भौंतार्रिंदै छौं । हामी पाठक गंभीर कुराबाट परै बस्न रुचाउँछौं र ग्ल्यामरको नाउँमा हल्काफुल्का कुरालाई आजको आवश्यकता सिद्धगर्न कम्मर कसेर शीर्षासन गर्छौं । लाग्छ, गंंभीर कुराको कुनै आवश्यकता छैन ! काकाकुल झैं ग्ल्यामरको खोजीमा छौं, ग्ल्यामरको मृगमरीचिकामा भौंतार्रिंदै छौं । हामी समवेत स्वर सुनिरहेका छौं– ग्ल्यामर चाहियो, ग्ल्यामर ! लोभ्याउने, आकर्षित गर्ने र लैङ्गिक भेदबाट आकर्षण जागृत गर्ने विपरित लिङ्गप्रतिको रागात्मक आकर्षण अर्थात ग्ल्यामर प्रति हामी निकै आशक्त हुँदै छौं, व्यामोहित छौं र यस कै प्रतिफल आफ्ना मूल्य–मान्यतामा भन्दा अरुका  कुराहरुमा बढी लोभिन थालेका छौं ।
अरुको प्रति हाम्रो अत्यधिक मोह र सूचना साम्राज्यको मोहनी जालले दशैं तिहारलाई कप्लक्कै निलेर क्रिसमस डे र गुड फ्राइ डेको जालोमा पार्न सुरु गरिसकेको छ । दियो जलाएर बत्तीजस्तै अँध्यारो मास्ने उज्जल र दीर्घ तथा भावि जीवनको कामना गर्ने जन्मदिवसले उज्यालोको खोजी गर्न छाडेको छ । आज बलेको मैनबत्ती समेत निभाउँदै पश्चिमी धूनमा जिउ मर्काएर कस्तो जीवनको कामना गरिरहेका छौ ? यसो भन्नेको नामको पछाडि “सभ्यता नजानेको गँवार” विशेषण जोडिन सक्छ । हाम्रा सनही, मुर्चुङ्गा, मुरली, नर्सिङ्घा र मादलहरु अर्केष्ट्रा र व्याण्डको भीडमा हराउन थालेका छन् । पप, डिस्को, क्याब्रे, ब्रेकजस्ता “डान्स” हाम्रा रूचिमा परिणत भइरहेकाछन् । हाम्रा मारुनी, रोदी, द्यौडा, दोहोरी, मारुनी, रत्यौली सबै विस्थापित बनिरहेकाछन् । ठूला माछाले साना माछालाई कप्लक्कै निल्नुको मत्स्यन्याय शाश्वत सत्य हो । विश्वसूचना साम्राज्यका नियन्ता पश्चिमी संस्कृतिको सुरसामुखमा राष्ट्रिय–जातीय संस्कृति एकपछि अर्को निलिँदैछन् । हामी साना माछाहरु रमाई, रमाई तिनको मुखभित्र खुसीखुसी प्रवेश गरिरहेका छौं ।
हामी खोज्नसक्दैनौं हाम्रो परिचय पश्चिमी अभ्यास र अनुकरणमा । रङ्गीन प्वाँख घुसारेर जसरी कौवा मयुर बन्न सक्दैन, अर्काको जडौरी भिरेर निश्चय पनि हामी हामी बन्न सक्दैनौं । हामीले हाम्रो आफ्नै आदर्शको निर्माण गर्नुपर्छ !
२०७१ चैत ५
विजयनिवास, आरुबारी ।

धर्म के हो ? – विजय चालिसे

युगौंदेखिको चिरन्तन प्रश्न हो– धर्म के हो ?
एउटै उत्तर सायद अझै पाइँदैन । खोजीकै विषय बनेको छ यसको सर्वमान्य र सर्वस्वीकृत उत्तर । यस प्रश्नको जवाफ खोज्ने क्रममा हजारौं ग्रन्थ लेखिएका छन्, हजारौं धर्मशास्त्री र विद्वान्  दार्शनिकहरूले जीवन व्यतीत गरेका छन् धर्मचिन्तनमा ! संसारमा जति लेखिएका छन्, जति सोचिएका छन्, संभवतः धर्म कै विषयमा सबैभन्दा बढी लेखिएका छन्, सोचिएका छन् ।
प्राकृतिक गतिविधिबाट सिर्जित प्रकोपद्वारा धनजनको क्षति नहोस् भनी आदि मानवसमाजले भयवश गर्नथालेको प्रकृतिपूजा र अदृश्य शक्तिको आराधनाबाट ईश्वर र धर्मको आविष्कार भयो सायद् । त्यही ईश्वर र धर्मलाई तत्कालीन समाजले सामाजिक संहिताको रुप दिँदै गयो । अर्थात प्रारम्भिक धर्मशासित समाजले समाज सुसञ्चालनका गर्नका लागि तय गरेको नियम यथार्थमा धर्म थियो । त्यही  धर्मले अघोषित कानुनको रूपमा लिँदै गयो ।
मानिस आफूले बनाएको नियम कानुनको अधीनमा आफैं बस्न रुचाउँदैन । त्यसैले त्यो नियमलाई ईश्वर र धर्मको नाउँमा अघि सारेर त्यतिबेलाको विद्वत् समाजले मानिसलाई धर्मको नाउँमा सामजिक बन्देजभित्र बाँध्यो । चोरी नगर्नू, झुट नबोल्नू, हिंसा नगर्नू भन्नेजस्ता समाजको त्यो धार्मिक नियमन सामाजिक कानुन बन्यो । धर्मभीरु समाजमा मानिसले त्यसको उल्लंघन गर्ने साहस गर्दैनथे ।
 निर्गुण–निराकार सम्पूर्ण ब्रह्माण्डका शासक–नियामक ईश्वरप्रदत्त संहिताका रूपमा समाजलाई दिइएको धर्मरुपी सामाजिक संहिता उल्लंघन गरी त्यही संहिताले देखाएको पाप र नर्कजस्ता दण्ड भोग्न त्यो. समाजमा हतपति कोही तयार थिएन । अहिलेको समाजमा समेत यो सोच उत्तिकै बलियो देखिन्छ । राज्यले लगाएको कानुनको भन्दा बडी  यही पुरानो सामाजिक नियम अर्थात् धर्मको डर मान्छ । त्यसबेलाको त झन कुरै भएन । संसारका प्रमुख ११ धर्म सनातन, बौद्ध, जैन, यहुदी, मुस्लिम, क्रिश्चियन, कन्फुसियस, सिन्तो, पारसी, एमिनिष्ट र फेटिष्टका का साथै तिनका यावत् सम्प्रदायमा सार रुपले धर्मको मूलभूत तत्व समान नै छन् । चोरी नगर्नू, झुट नबोल्नू, हिंसा नगर्नू नै त यी सबै धर्मका मूलभूत मर्म हुन् ।  अठार पुराणाको निचोड– अष्टादश पुराणेषु व्यासस्य वचान द्वयम । परोपकार पुण्याय पापाय परपीडनम । अर्थात् अरुको उपकार गर्नु पुण्य र अरुलाई पीडा दिनु वा मर्का पार्नु नै पाप हो भन्ने भनाइलाई सबै धर्मले कुनै न कुनै अर्थमा मानेकै देखिन्छ ।
सनातनीले यमनियममा धर्म देखे । अहिंसा अर्थात मन वचन र कर्मले अरुको शारीरिक वा मानसिक हानि नोक्सानी नगर्नु, सत्य, अस्तेय अर्थात चोरी नगर्नु, ब्रह्मचर्य र अपरिग्रह (संग्रह हीनता) जस्त मूलतः यमका पाँच अंग र शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वरभक्ति जस्ता  नियमका पाँच भेदको पालनामैं मानव धर्म विद्यमान रहन्छ भन्ने यो दृष्टिकोण संसारका अरु धर्ममा पनि कुनै न कुनै रुपमा रहेको भेटिन्छ ।  
बुद्धले बस्तु मात्र क्षणिक र दुःखका रूप हुन्, संसारका क्षणिक पदार्थहरूको तृष्णा दुःखको मूल हो, तृष्णा नष्ट भएपछि दुःखको अन्त्य हुन्छ र मानव हृदयबाट अहंको भाव र रागद्वेषका वृत्तिहरूको निवृत्तिबाटै निर्वाण प्राप्त हुन्छ भनी देखाएका चार सत्य अर्थात आर्यसत्यमा पनि प्रकारान्तरले सायद् यिनै मानव धर्मका मूलभूत पक्षहरू अन्तर्निहित छन् ।
तिनैै निर्गुण–निराकार सम्पूर्ण ब्रह्माण्डका शासक–नियामक मानिने ईश्वरचिन्तनले गहनता लिने क्रममा दर्शनको विकास हुँदै गयो र संसारमा अनेकौं दार्शनिक चिन्तनबाट जीवनपरक ज्ञानको निचोडहरू बेद्, उपनिषदलगायत धार्मिक काव्यहरूको सृजना हुँदै गए । यिनैको सृजना धर्मचिन्तनमा धर्मशास्त्री, विद्वान्, दार्शनिकहरूले जीवन बिताइका छन्, पुस्तौं पुस्ता समर्पित भएका छन् यसका लागि ।
धर्म न्यायका पक्षमा हुँदा त्यो कहिल्यै धर्मको प्रतिकुल हुँदैन भन्ने ग्ल्याडस्टोनको धारणा आज धर्मकै नाउँमा भइरहेका हत्या, हिंसा, आतङ्कले खण्डित गरिरहेका छन् । धर्मलाई राजनीतिक हतियार र शक्तिविस्तारको माध्यमका रुपमा प्रयोग गरिँदा धर्मका नाउँमा अन्धविश्वास र विभेद मात्र होइन हत्या र हिंसाको समेत प्रवेश गराइयो । धर्मान्धताले धर्मको शाश्वत अर्थ र मनवतावादको मूल मर्ममाथि नै प्रहार ग–यो, गरिरहेको छ । धर्मान्धताद्वारा मानवजातिको उन्नति हुन्छ भन्ने सोच्नु भूल हो । धर्मान्धता त मन्छेलाई पछाडि धकेल्ने शक्ति हो, जसबाट घृणा उत्पन्न हुन्छ र यसले मनुष्यलाई एकअर्कासँँग लड्भिड गर्न उक्साएर सहानुभूतिशून्य बनाउँछ । कुनै पनि सच्चा धर्मले अन्यधर्ममाथि विद्वेष राख्दैन ।
धर्म यो बाधते धर्मः, नस धर्म कुधर्मतत् ।
अर्थात् जुन धर्मले अरुको धर्ममा बाधा पु¥याउँछ, त्ये धर्म नभएर कुधर्म हो ।
महर्षि याज्ञवल्क्य ।  
हुन पनि मानिसले सारा संसार पाए पनि आत्मा गुमायो भने उसले के पायो ? संसारै पाए पनि मरेपछि ती केही साथ जाँदैनन्, जाने कीर्ति मात्र हो । किन भने हामी यथार्थमा व्यक्ति वा बस्तुमा सधैं रहने गुण वा मूल वृत्ति, प्रकृति वा स्वरूपलाई नै धर्म मान्ने गर्दै आएका छौं ।
धर्म कहिल्यै कसैलाई बदलाको भावले हेर्दैन । तर आज क्रिश्चियानिटी, मस्लिम, हिन्दु आदि धर्मका बीच शक्तिआर्जनको होडमा आपसी विद्वेषको विष छरिँदै छ । यही विद्वेषका कारण असङ्ख्य जातीय हिंसा भइरहेका छन्, धर्मका नाउँमा धर्मयुद्ध–जेहाद छेडिँदै आएका छन् । सीमित स्वार्थप्रेरित समूहको रणनीतिमा हजारौं निर्दोष मानवले ज्या गुमाउनु परेको छ । हिजै मात्र अर्थात् २०७३ असार १८ गते छिमेकी देश बंगलादेशमा यस्तै र्धािमक कट्टताले सिर्जना गरेको आतङवादी हिंसामा २० जना विदेशी नागरिकले ज्यान गुमाउनु प¥यो । यो घटनाले सम्झाएको एकजना युुनानी दार्शनिक डायोजिनिस सम्बन्धी एउटा कथन उल्लेख गर्दै यो छोटो चर्चालाई विश्राम दिन चाहन्छु ।
एकजना मित्रले एकपटक युुनानी दार्शनिक डायोजिनिसलाई सोधेछन्– कुनै तरिका बताउनोस् जसबाट म आफ्ना शत्रुसँग बदला लिन सकूँ ।
डोयोजिनिसले भनेछन्– तरिका अत्यन्त सजिलो छ, आफ्नो शत्रुभन्दा बढी सज्जन बन्ने प्रयास गर्नुहो ।
 हुन पनि कुनै पनि सद् मानव धर्मले सिकाउने यही नै हो ।
२०७३ असार १९
विजय निवास, आरुबारी