Showing posts with label Memoir. Show all posts
Showing posts with label Memoir. Show all posts

Sunday, August 9, 2015

छपन्न सेकेन्डको प्रलयानुभूति ! –विजय चालिसे

(सुलेख–३४, वर्ष ४ अङ्क ३, असार २०७२ माप्रकाशित)


हो, मात्र छपन्न सेकेन्डको त्यो भू कम्पनले शब्दकोषमा पढे९सुलेख–३४, वर्ष ४ अङ्क ३, असार २०७२ माप्रकाशित०



हो, मात्र छपन्न सेकेन्डको त्यो भू कम्पनले शब्दकोषमा पढेको प्रलयको तीब्र अनुभूति गराएको थियो– प्रकृतिसामु मानवीय गर्वबोधको बाउन्नेपन अनुभव गराएको थियो त्यो अल्पक्षणले १ इतिहासमैं मैले देखे मध्येको एउटा अत्यन्त कुरुपदिन थियो यो । जीवनमा पहिलोपल्ट शरणार्थीको पीडा अनुभव गरेँ,  पहिलोपल्ट एक कोठाको डेरामा निर्वाह गर्नुपर्दाको कष्ट अनुभव गरेँ, र गरेँ बेघर हुनुको तीब्र पीडाबोध १ भूकम्पले यस अघि पनि नतर्साएको होइन । पकपटक यसको संत्रास भोगेको छ मेरो पुस्ताले । याद भएसम्म २०१८ साल माघतिरको धमिलो सम्झना छ । त्यतिबेला १८÷१९ ग्रह एकै ठाउँमा जुधेर ठूलो भुकम्प आउँछ रे, प्रलय हुन्छ रे भन्ने हल्लाले व्यापकता पायो । अनि सबैले जस्तै  हाम्रो परिवार पनि काँचो इँटाको पराले छानो भएको दुईतले सानो घर समेत छाडेर अगाडिको खाली पाटोमा छाप्रोबासी बनेको थियो केहीदिन । दश वर्षको केटौले उमेर, त्यसरी घर छाडेर छाप्रोमा बस्दा डरभन्दा पनि रमाइलो खालको रोमाञ्च अनुभव भएथ्यो । बस्ती आजकोजस्तो गुचुमुच्च  घरैघरले भरिएको थिएन । आजकोजस्तो पालको चलन थिएन, फराकिला बाटाघाटा थिएन । खाली ठाउँ भने फालाफाल थिए । तिनै खाली ठाउँमध्ये सबै घरअगाडिका बारीका पाटा प्राय साना छाप्राले भरिएका थिए । तर त्यतिबेला भैंचालोको हल्लाले तर्सायो मात्रै, आएन ।  त्यसपछि पनि सानातिना भुइँचालोको धक्का आई नै रहे । ६ रेक्टरभन्दा माथिको पहिलो धक्का २०३७ सालमा अनुभव भयो । त्यसको केन्द्र सुदूर पश्चिमको बझाङजिल्ला भएकोले यता खासै नोक्सान हुन पाएन । २०४५ र २०६८ सालमापनि त्यस्तै भयो । उदयपुर, धरान र पूर्वी नेपालमा ठूलै क्षति पु¥याएका ती दुई भूकम्पले पनि यता खासै असर पारेनन् । २०४५ सालको भूकम्प विहानै गयो, मजैले हल्लाए पनि त्यति लामो समय रहेन । २०६८ सालमा साँझतिर गएको भूकम्पकोबेला भने म कोठैमा थिएँ, लक्ष्मीमाथि छिमेकीलाई दिउँसोको श्राद्धको प्रसाद ख्वाउँदै थिइ । भूकम्प जाँदा ऊ माथि नै भएकीले तलबाट उसलाई बोलाउन माथि पुगेछु । पिङ खेलाएजस्तै रामै्रसँग मच्चाएको सम्झना मात्र छ अहिले । त्यसैले मैले र मेरो पुस्ताले यता अनुभव गरेको अत्यन्त ठूलो भूकम्प त्रासदी यही नै थियो मेरो जीवनको । त्यसमाथि यो ती माथिका भन्दा पनि ठूला र बढी संहारक थियो, १९९० सालको महाभूकम्प पछिको अर्को महा भूकम्पन १ विहान गोविन्द अधिकारीको परिवारलाई खाना खान बोलाएकोले घरमा पाहुना थिए । खानपिन सकेर बैठकमा बसिरहेका थियौं । १ बजे “साहित्यानुरागी समाज” को कार्यक्रममा पुग्नु पर्ने थियो । घोष्टराइटिङ नेपालबाट लेखनमा प्रशिक्षित केही उत्साही मित्रहरू मिलेर बनाएको “साहित्यानुरागी समाज” को पहिलो कार्यक्रम हुँदैथियो । संस्थाका अध्यक्ष मित्र रोशन गिरी डा। सौरभ सुनञारलाई लिएर केही समय अघि भेट्न आउनुहुँदा नै त्यसबारे जानकारी गराउँदै सहभागिताको अनुरोध गर्नु भएको थियो ।  त्यही कार्यक्रममा घोष्टराइटरको वानेश्वर, थापागाउँस्थित कार्यालय पुग्ने तयारीमा थिएँ म । विहान मात्रै “एक बजे समाजको उपहार घोषणा, रचनावाचन र जलपान कार्यक्रम राखेका छौं, बाह्रबजे गाडी लिन आउँछ । तयार भइराख्नू” भन्ने शौरभजीको निर्देशन अनुसार नै यतिबेला फोनको प्रतीक्षा गर्दै थिएँ ।  समय हुनै लागेकोले सोचेँ, किन घरसम्म दुःख दिनु । चोकतिर गइराखे त साथीहरूलाई पनि सजिलो, अलिकति हिँडाइ पनि हुने । यही सोचेर ११ बजेर ५६ मिनेट जाँदाको त्योक्षण बैठक कोठाको सङ्घार नाघ्न मात्रै के लागेको थिएँ एक्कासि खुट्टा लर्बराएर एकैठाउँमा स्थिर रहनै मानेनन् । सिङ्गै कोठा, कोठा मात्र नभएर  सिङ्गै घर उत्तर–दक्षिण झुल्दै पिङजस्तै मच्चिन थाल्यो । एक हातले ढोकाको चौकोस समातेर राम्ररी उभिन समेत नपाउँदै दुईकोठा बीचको मटान अर्थात् प्यासेजको दुवै तर्फ भित्तामा झुन्ड्याएको वारपार ढाक्ने सोकेस गम्य्राङगुम्रुङ खस्यो । सोकेसभित्रका फोटेफ्रेम भुइँमा बजारिँदा सिसा झ¥याम्झुरुम फुटेर भुइँभरि छताछुल्ल भयो । कति सिसाका टुक्रा खुट्टासम्मै आइपुगे । मोजाले गर्दा खुट्टामा घाउ भने हुन पाएन । बाहिर निस्कने आँट गरे पनि सोकेस र सिसा नपन्छाइ प्यासेजमा टेक्ने ठाउँ थिएन । केहीपछि त्यो भावात्मक धक्का अर्थात ट्रमाबाट अलि सामान्य अवस्थामा आएपछि देखेँ, कोठामा हामी दुईजना मात्र छौं । बैठक कोठामैं टेलिभिजन हेरिरहेका गोन्दिका छोराछोरी र सलु कतिबेला, कसरी  घर बाहिर निस्के थाहै भएन । बाहिर कौसीको पिङमा बसिरहेका सीता र नारायणका छोरी छोरापनि सोकेस खस्नु अगाडिनै तल झरिसकेका रहेछन् ।  हामी पूर्ववत् अवस्थामा छौं, महाभूकम्पको ताण्डव नुत्यमा घर मजैसँग पिङ झैं झुलिरहेको छ । कतै आडलिएर नसमाती सिधा उभिन सक्ने अवस्था छैन । म कोठाको ढोका सममातेर संत्रस्त उभिएको छु । लक्ष्मी सोफाबाट उठ्न सकेकी छैन । अरु कतिबेला उपयिँझैं फड्केर घरबाहिर पुगिसकेका छन् । हामी मच्चिरहेको घर कति बेला ढलेर थिच्ने हो भन्न सक्ने अवस्था छैन । वा भूकम्प थामिएर बाहिर निस्कने मौका पाइने हो, होइा – त्यो पनि अनुमान गर्न सक्ने स्थितिमा छैनौं १ ओहो, कति लाचार, कति असहाय भएर उभिएका छौ प्रकृतिको यो विनाशलीला हेर्न अभिशप्त १    सोफामा पल्टिरहेकी लक्ष्मीको मुखबाट भूकम्पन जति बढ्थ्यो त्यति नै तीब्रगतिमा “नारायण।।।।नारायण” को स्वरनाद बढ्दै सप्तममा पुग्यो । लाग्यो, अब यतिनै रहेछ जीवनको भागाइ १ दुवैजना एकैठाउँमा भुतुक्कै भए त ठीकै थियो, दुवै वा दुईमध्ये एक मात्रै पनि घाइते भएर अपङगजीवन बाँच्नुप¥यो भने रु मन यस्तैयस्तै प्रश्नले अताल्लिई रहेको थियो । भूकम्पको कम्पन र अवधि लम्विँदै जाँदा त्यो ५६ सकेन्ड, ५६ युग झैं लाग्दैथियो । त्यो पहिलो संहारकारी महाभूकम्प नथामियुन्जेल त्यही अवस्थामा थियौं । हामी– त्रस्त, स्तब्ध र आतङ्कित १ ऊफ्््।।।कति निस्सार छ जीवन १ प्रकृतिको अजस्र शक्तिका अगाडि कति निरीह छ मानिस । र, पनि ऊ त्यही प्रकृतिलाई तह लाउने असफल उपक्रममा लागिरहेको छ, लागिरहन्छ र लागी नै रहने छ जीवनभर १ यसको अगाडि न कसैको पदको जोर चल्छ, न प्रतिष्ठा र शक्तिको । तर पनि हामी यही पद्, प्रतिष्ठा र शक्ति आर्जनको नसामा झुम्छौं । यही बन्ने बनाउने खेलमा मानवीय स्वार्थ र छुद्रंताको भ्रमपूर्ण संसार निर्माणलाई नै सफलताको शिखर ठान्छौं र अर्को भ्रमित जीवन बाँच्न खोज्छौं ।         ७।८ रेक्टर मापको त्यो विनाशकारी भूकम्पको मूल कम्पन थामिएपछि लाग्यो अब बाँच्यौं १ लक्ष्मीलाई उठाएर तलझरेँ । मेरुदडको समस्या भएकोले बसेको ठाउँबाट उठ्न र छिटो हिँड्न समेत समस्या छ लक्ष्मीलाई । छोराछोरी सबै भएर पनि सबै बाहिर विदेशी मुलुकमा आ–आफ्नो सुन्दर भविष्य खाज्दै भौंतार्रिइ रहेकाले नितान्त एक्लो अनुभव गरिरहेका छौ ंहामी यतिखेर । जसरी तसरी तल पुग्यौं, घरबाहिर । घर छाडेर शरणार्थी बनेका मानिसले भरिएका छन् बारीका खाली पाटाहरू । शनिवार परेकोले  साना केटाकेटी बाबुआमासँगै छन् । ठूलासाना सबैको अनुुहारमा आतङ्क मिश्रित जिज्ञासा देखिन्छन् । सबै संत्रसित छौं, र छौं अन्योलग्रस्त । सबैको मुखमा एउटै प्रश्न छ– के भएको यस्तो रु अब के गर्ने रु   अगाडि छिमेकको एउटा घर भत्किएको थियो । सँगैको अर्को तीनतले घर नराम्ररी चर्केको थियो । घरछेऊको मेरो आफ्नै गाइगोठ माथि छानोदेखि नै दुवैतिरबाट फाटेको थियो । सहरी विकास विभागको सहयोगमा गारो लाउने काम सकेर ढलानको तयारी भइरहेको प्रतिष्ठानको माथिल्लो तला खल्र्यामखुर्लम ढलेको थियो । तलको पुरानो गारो समेत परैबाट नराम्ररी चिरिएको देखिन्थ्यो । छिमेककै अर्को घरको कौसीमा लाएको बार भत्केको थियो । छेउमैं ईश्वरी लामिछानेको बन्दै गरेको घरको कम्पाउन्डवालको एक खण्डका साथै ढोका राख्न भर्खरै ढलान गरेको पिल्लर ढलेर भुुइमा मिलेको थियो । पहिलो हेराइमा देखिएका यी सङंक्षिप्त दृश्य भूकम्पको प्रभाव अनुमान गर्न पर्याप्त थिए । भित्र पस्ने आँट आउने कुरै भएन, आफ्नै घर पनि तल्लो तलाको बीचमा वरिपरि नै चर्केको थियो ।  बाहिर निस्केपछि सबैभन्दा पहिले महेन्द्रलाई फोन गरेँ, लागेन । नेटवर्क नै थिएन । रुपेश लगायत बहिनीहरूलाई फोनगरेँ, लाग्दैन । अच्युत, बालुवाटार, कोपुन्डोल, सबैतिरको हालत उस्तै छ । नेटवर्क नै नभएपछि फोन के लागोस् रु अनि एसएमएस लाग्छ कि भनेर कोशिस गर्दाबल्ल सफल भइयो, महेन्द्रलाई एसएमएस गयो । श्रीधर ज्वाइँ त्यस्तोमा पनि स्निग्धालाई लिएर आउनु भएछ । पाँचखाल सानोबा लगायत केही ठाउँमा उहाँले नै केही फोन सम्पर्क गराउनु भयो ।   परकम्पन एकपछि अर्को गइ नै रह्यो । सञ्चारमाध्यमहरू बहत्तर घन्टा सतर्करहनु पर्ने र घरभित्र नबस्नु राम्रो हुने भन्ने खालका सूचना लगातार दोहो¥याइरहेका थिए ।  निरन्तर भइरहेको परकम्पनको बीच त्यसरी बाहिरैबाट चारैतिर चरक्क चर्केको देखिने घरभित्र पस्ने आँट पनि गर्न सकिएको थिएन भने रात बिताउने त कल्पना बाहिरको कुरा थियो ।   ओफ।।।।घर घर रहेन अब १ आफू अगाडि ठिंग उभिएको सुविधासम्पन्न घर माथि हेर्दा सबै ठीकठाक देखिन्थ्यो । तल्लो तला भने माथिको भार थेग्न नसकेर सबैतिर छ्यिा छ्यिा भई चिर्रिएको देखिन्थ्यो । मूलढोकाको भुइँ  बाहिरदेखि भित्रैसम्म वारपार चरक्क चर्केको थियो । भूकम्पले दायावायाँ हल्लाउँदा र तलमाथि उचाल्दाको प्रभाव थेग्न सकेनछ, बाईस वर्षसम्म घामपानीबाट जोगाउँदै व्यक्तित्व निर्माणमा सघाउँदै आएको मेरो यो घरले । यतिबेला साँच्चि नै बेघर भएको तिखो अनुभूति भयो । यस्तो बेघर हुनुको अनुभूति त २०४४ सालमा परिवारबाट छुट्टिएर एक वर्षसम्म यही घर नबनुन्जेल गाइगोठको माथिल्लो तलामा बस्दा पनि अनुभव भएको थिएन १  अर्को मन भन्दैथियो– धन्न अझै ठडिएको छ मेरो घर । २०४४ सालतिर गोरखापत्रको सानोतिनो जागिरको भरमा साथीभाइ र मित्रहरूसँग सरसापटी गरेर एकतला उठाएको १ माटो जोडाइ गरी बनेको वालसिस्टमको घर धन्न थचक्कै बसेन छ । दशवर्षमा तीन चरणगरी बनाएको घर बडो दुःखमा बनाएको थिएँ त्यतिबेला । आधुनिक प्रविधिको प्रयोग गर्नेकुरै भएन । त्यसमाथि त्यतिबेला आजको जस्तो भूकम्पप्रतिरोधी प्रविधि चलेकै थिएन । भएपनि न सबैतिर परिचित थियो, न सर्वसुलभ । त्यसैले भूकम्पको त्यति ठूलो धक्कामा पनि नढलेर हाम्रो ज्यान नलिएको, हामीलाई अझ अङ्गभङ्ग नतुल्याएकोमा बढी कृतज्ञ थिएँ म यतिबेला विदा लिँदै गरेको मेरो यो घरप्रति १  अबको सबैभन्दा ठूलो चिन्ता थियो, कहाँ बस्ने रु अन्तिम विकल्प त छँदै थियो– बारीको पाटो र त्यसमा शीत छोप्ने प्लास्टिकको छानो । घर चर्किएर बस्नत के पस्न समेत डरमर्दो थियो । एक दुई दिन होइन, नयाँ घर नबनाउन्जेलको लागि छतको प्रश्न थियो यो । हुन त आफ्नै कम्पाउन्ड भित्रै दुई वर्ष अघि मात्रै बनाएको चार कोठा र बाथरुम–ट्वाइलेट भएको एउ टहरो पनि छ । त्योपनि कम्पाउन्ड वाल लाउने क्रममैैं बनेको । पचपन्न सालमा बनेको घर, पैसाकै अभावमा २०६९ सम्म कम्पाउन्ड लाउन सकेको थिइन । जागिरबाट अवकाश पाएपछि प्राप्त उपदानको रकम यसैमा उपयोग गर्ने सोचेर काम थालेको थिएँ । दक्षिणतर्फ निकै गहिरो कान्लो भएकोले निकैबलियो जग हालेर पर्खाल उठाउनु थियो । त्यसैमा खर्च धेरै लागिहाल्यो । त्योदेखेर श्रीमतीले भनिन्– यत्रो खर्च भइहाल्यो, दक्षिण तर्फ चार कोठा उठाउँ न । मान्छे राख्दा साथी पनि हुने, नून तेललाई भरथेग पनि हुने १  कुरा ठीकै थियो । त्यसरी बनेको थियो कम्पाउन्ड वालसँगै यो टहरो । तर यसका चारै कोठा खाली थिएनन् । तीन परिवार बसिरहेको थियो यतिबेला । अब यो आपत्तिको बेला उठेर जाऊ भन्नु पनि ठीक थिएन, उता आफैं शरणार्थी बनिएको छ १   तै छिमेकमैं दावा शेर्पाले बनाएका एकतले मजबूत घर केही भएन । हामी पतिपत्नीले त्यही घरको एउटा कोठामा शरण पायौं । उता ईश्वरीजीको बन्दै गरेको घरमा वरिपरिका घरका बासिन्दाले साझा ब्यारेक बसाइसकेका थिए । हाम्रो  पछाडिको बारी पनि पीडितहरूले भरिएको थियो । खुला चौर र बारीका पाटा कतैखाली थिएनन्, सबैतिर मानिसहरूले आश्रय लिइरहेका थिए । घर केही नभएका पनि घर भित्र पस्ने आँट गरिरहेका थिएनन् । घर पूरै भत्किएका र नराम्ररी चर्किएर बस्नै नहुने भएकाका लागि त झन खुला आकाश बाहेक अर्को विकल्प नै रहेन । घर सबै जनशून्य बनेका छन् । सबै अनुहार अब के हुने हो को अन्योल र भूकम्पको त्रासदीले अताल्लिएका छन् । केही रुन्चे हाँसोले पीडा भुलाउने निष्फल प्रयत्न गरिरहेका देखिन्थे ।   परकम्पनले छाडेन, लगातार गइ नै रह्यो ।  सन्त्रासकै बीच गाउँ टोल र अन्यत्रका खबर आउन थाले । अरु पनि धेरै घर भत्किएछन् । नजिकैको घरमा च्यापिएर एकजना वृद्धाको ज्यान गएछ । उता अर्को अप्रिय समाचारले लखेट्यो– रसुवा गएर फर्कँदै गरेका भाइ काठमाडौं क्षेत्र नम्बर ३ का पूर्वसांसद् चक्रबहादुर ठकुरीको भूकम्पमा परेर घटनास्थलमैं मृत्यु भएछ । साथमा अरु मित्रहरू पनि रहेछन्, चामुण्डा माविका प्रधानाध्यापक यादव पौडेल, सोही विद्यालयका शिक्षक गुणराम आचार्य र शत्रुघ्न सुवेदी । चक्रको समाचार एफएमहरूले पुष्टी गरे पनि अरुको बारेमा यतिबेलासम्म यकिन जानकारी थिएन, मान्छेपिच्छेका हल्ला आरहे ।समाचार टुक्राटुक्रामा आइरहका थिए– गोर्खाको बारपाकलाई केन्द्रबिन्दु बनाएर आएको विनाशकारी भूकम्पले गोर्खा मात्र होइन रसुवा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौंका प्राय उत्तरी पहाडी श्रृङ्खलामा विनाश लीला देखाएछ । काठमाडौंको केन्द्रसमेत नराम्ररी क्षतिग्रस्त भएका थिए । सिंहदरबारदेखि अधिकांश विश्वसम्पदा र सांस्कृतिक निधिलाईसमेत नराम्ररी क्षति पु¥याएकोृ थियो । कतिले तत्काल ज्यान गुमाए, कति भग्नावशेषभित्र अन्तिम सास गन्दै थिए अनि कति अझै बाँच्नका लागि असफल संघर्ष गरिरहेका थिए १ शक्तिसाली परकम्पले निरन्तर तर्साइ नै रहेको छ, पहिलो शक्तिशाली कम्पलने जीर्ण बनाएका घरहरूमा थप क्षति दृष्टिगोचर हुँदैछन् । मानिसमा झनझन डरको मात्रा थपिँदै छ । चारैतिर अन्योल र कोलाहल बढेको छ । भुइँचालोभन्दा बढी उडन्ते हल्ला र यसबारेका भविष्यवाणीले मानिसको मन हल्लाइरहेको छ । केही नभएका घर पनि नरभक्षी बाघजस्तै डरलाग्दो बनेका छन् यतिखेर १ बिजुली छैन, मोवाइल कहिले चल्छ कहिले चल्दैन । सञ्चार सुचारु छैन । लाग्छ, धेरै पछाडिको कालक्रममा फर्काएको छ प्रकृतिले हामीलाई आज ।कोटेश्वर–सूर्यविनायक नयाँ बाटोको लोकन्थली खण्ड भासिएको छ रे । नब्बे सालको भूकम्पले समेत दुई तला मात्रै खसेको धरहरा पूरै ढल्यो रे । काष्ठमण्डप, वसन्तपुर क्षेत्र ध्वस्त भयो रे । पछि थाहा भयो पूर्ण ध्वस्त भएका स्मारकहरूको संख्या नै पाँच दर्जन नाघ्यो, आंशिक रूपमा क्षति पुगेका त दुई सयभन्दा बढी पुगे । उपत्यकाका प्राचिन सम्पदामध्ये ९० प्रतिशतमा क्षति पुगेको अनुमान थियो । भूकम्पको केन्द्र रसुवा र सिन्धुपाल्चोक लगायत काभ्रे जिल्लाका अधिकांश घर भत्केका छन् रे ।  यस्तैयस्तै खबर आइरहे । काठमाडौं कै गोंगबु बस्ने २४ वर्षीय कृष्ण्कुमारी खड्कालाई त्यहीँको जनसेवा लजबाट प्रहरीले इजरायली, फ्रान्सेली र नर्वेजियन टोलीको सहयोगमा १ सय २८ घन्टापछि जीवितै उद्धार ग¥यो । उनी त्यही लजमा भान्छेको काम गरिरहेकी थिइन । यस्तै समाचार आइरहे, आइ नै रहे ।   यिनै समाचारका बीच सुरुका दिन सबैतिर अन्यौल र अन्यमनस्कता रह्यो । सरकार र राजनीतिक दलहको उपस्थिति कतै देखिएन । त्यसको लाभ उठाउने छिमेकी देश र गलत मनसायले उद्धारको नाटकगर्ने धर्मप्रचारक र अरु स्वार्थसमूहको चलखेल अत्यन्तै बढेको अनुभव गरियो । भारतीय विमान र गाडीहले विमानस्थल कब्जागरे । विरामी ओसार्न र अस्पताल पु¥याउन समेत समस्या देखिन थाल्यो। । जताततै अस्तव्यस्तता देखाप¥यो । अरुलाई प्रवेशमा समेत कठिनाइ रह्यो । भारतीय टोलीले आफ्नै नागरिक बाहेक नेपाली पीडितको उद्धारमा खासै वास्ता नगरेको समाचार आउँदैगरे । तिनले राहतका नाउँमा सडेको चाचाउ र पुराना लुगाफाटा ल्याएका र त्यो पनि अपमानजनक तरिकाले बाटोमा छर्दै लिन भनेका भन्नेजस्ता समाचार सार्वजनिक हुँदै गए । यस्ता कुराले आमजनतामा अपाननबोध र आक्रोश फैलिनु स्वाभाविक रह्यो । भारतीय सञ्चारकर्मीको ठूलो संख्या मनवीय सम्वेदनाभन्दा चलचित्र सुटिङको मुडमा रमाएका देखिए । यसले पनि भारतीय उद्धार टोलीको चारैतिरबाट आलेचना सुनिन थाल्यो । नेपाली सुरक्षाकर्मीको समर्पणपूर्ण उद्धारकार्यको जानकारी आउन थालेपछि सरकारको उपस्थितिले आश्वस्त पार्दै गयो । यसले बाहिरी टोलीका नाटकको प्रभाव निस्तेज पार्दै गयो । चिनिया लगायत अरु विदेशी उद्धार टोलीको कामको भने सबैतिर सराहना भयो । उता सरकारको प्रशासन तत्काल राहत वितरण र तथ्याङ्क सङ्कलनको कार्य व्यवस्थित तुल्याउन समेत असफल देखियो । देशीविदेशी राहत टोलीलाई उपयुक्त व्यवस्थापन र अनुगमन गर्न नसक्दा कतै राहत सामग्रीको खातलागे, कतै त्यसको गन्ध समेत पुगेन । गलत तरिकाले कमाउनेका लागि यो अव्यवस्था स्वर्णिम अवसर बन्यो । मुख्य प्रशासकहरू उद्धार, पुस्थापन, सही सूचनाको प्रवाह र सही तथा वैज्ञानिक तथ्याङ्को संकलन र तिनैका आधारमा मुलुकलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन राहत र पुनिर्माणको दूरगामी नीतियोजना तयार गर्ने तर्फ भन्दा जीर्ण घर भत्काउने नौटङ्की मञ्चनमा लागे । देशका मुख्य प्रशासकको नौटंकीमा अरु प्रशासक र निजामती कर्मचारी पछि लाग्ने नै भए, चाकरी जो पु¥याउनु थियो ।    बस्ने कोठाको त व्यवस्था भयो । खाने सुत्ने कसरी रु साथमा कुनै सामान निकाल्न भ्याइएको होइन । लाएको लुगामैं बाहिर निस्किएको– साथमा केही छैन । पूरै असहाय अनु भव गरिरहेको छु म यतिखेर । केही त गर्नै प¥यो । साँझपख घर गएर वरिपरि हेर्ने आँट गरेँ । ढोका खुलैभएकोले पस्न समस्या थिएन । कोठाका भित्ता जताततै चर्किएर उप्किएका प्लास्टर छरपस्ट थिए । बीचको गारो प्लास्टर भत्किएर नांगै देखिए । इँटा चर्किएका देखिन्थे । गारो दक्षिणतिर सरेर चिरिएको देखिन्थ्यो । तल्लो तलाको सबै कोठा र भित्री बाहिरी गारोको अवस्था धेरथोर यस्तै थियो, क्षतिग्रस्त । एक्लै जाने त के आँट आउँथ्यो र । दावा, उनका छोरा र स्याङ्बोले साथ दिएकाले माथि चढ्ने आँट ग¥यौं । अन्त हेर्ने कुरै भएन  एकमात्र उद्देश्य थियो सुत्नका लागि हल्का ओढ्ने, ओछ्याउने, नभइ नहुने लुगाफाटा र अरु आवश्यक कुराका लागि आफू सुत्ने कोठा, बाथरुम र आपत्कालीन भान्छा व्यवस्थापन गर्न सबैभन्दा माथ्लो तलाको भान्छा । भ¥याङभरि खसेका प्लास्टरले बाटो छेक्न खोज्थे । कति बेला फेरि ठूलो कम्प भएर के हुनेहो भन्ने भयले गर्दा पाइला समेत राम्ररी चल्न हिचकिचाउँथे ।  हिँड्न असजिलो थियो । माथि प्यासेजमा सोकेस खसेर फोटोका सिसा असरल्ल फैलिएको थियो । कोठाको ढोका थिचिएर होला, खुल्नै मान्दैन । बल्लबल्ल दुईतीन जनाले धकेलेर अलिकति पस्न हुने बनाउँदै भित्र पस्यौ ं। भित्र आलमारी ढलेको थियो, छेउका ¥याक ढलेर पुस्तक र फाइलहरूले ढोका छेकेका थिए । सकेको पन्छाएर चाहिने कपडा र ओढ्ने ओछ्याउने कुरा निकाल्यौं । कसैले ती सामान उता दावाकोघरतिर लगे, बाँकी हामी माथिल्लो तलातिर आँट गरेर उक्लियौं । त्यहाँकोअवस्था पनिउस्तैथियो । दराज र ¥याकहरू ढलेर सिसाका बोतल, कपप्लेट सबै चकनाचूर, भुइँभरि बिस्कुनझैं फिँजारिएका १ अलि अलि पन्छाएर आवश्यक केही सामान निकाल्यौं र  विपद् व्यवस्थापन ग¥यौ ंहामीले त्यो परकम्पन कै संत्रासबीच । परकम्पनकै संत्रासबीच कहिले बारीको पाटोमा, कहिले दावाको कोठा गर्दै बितायौं संत्रस्त त्यो रात, अनिँदै १ २०७२ जेठ २१ विजय टहरो, आरुबारी ।




Monday, August 30, 2010

साकुरा, गिसा र आत्मसम्मानको देश जापान

अनवरत प्रवाहित जनसागर र सवारी साधनहरूको कमिलाताँति, सधैँ हतारहतारमा दौडिए झैं लाग्ने व्यस्त जापानीहरूको टोकियो देख्दा लाग्थ्यो– हामी आफुू कति सुस्त जीवन बाँच्दैछौं । त्यो व्यस्तता र दौडधूपमा बाँच्न त्यहीँकै मानिसाई समेत त्यति सहज र सरल थिएन सायद् । टोकियोबाहिरको जापान केही सहज थियो, विश्वकै अति महँगो र व्यस्त महानगर टोकियोमा भने बाँच्नु सोचेजति सहज देखिँदैनथ्यो । त्यसैले उनीहरूलाई हाम्रोजस्तो बेफ्वाँकको गफ चुटेर समय खेर फाल्ने फुर्सत छैन । मेसिनजस्तै घोटिनु पर्छ त्यहाँ समयसँग जीवन साट्न । कामको बेला काम र कामबाट फुर्सत पाएकोबेला केही मनोरञ्जन, केही बसिवियाँलो– लाग्थ्यो यो नै आम र बहुसंख्यक जापानीहरूको जीवनदर्शन हो ! हो, सीमित जापानीहरू पश्चिमा भाषा, संस्कृति र संस्कारप्रति आकर्षित हुन थालेका छन्, पपकल्चर र पश्चिमी जीवनशैलीका पूजारी पनि बन्न थालेका छन् । नयाँ पुस्तामा पहिलेकोमाजस्तो मोह देखिँदैन– आफ्नो भाषा–संस्कृतिप्रति र परम्पराप्रति ! त्योभन्दा बढी अङ्ग्रेजी भाषा र पश्चिमी संस्कृतिप्रतिको मोह जाग्दैछ उनीहरूमा । तर पनि ठूलो संख्या अझै पनि परम्परालाई साथै लिएर आधुनिक विश्वमा अग्रणी भविष्यको निर्माण गर्न जुटेको अनुभव हुन्थ्यो । देखावटीपन र पपकल्चरमा होइन आफ्नो पनसहितको परिवर्तनमा जापानको भविष्य खोज्दैछन् उनीहरू !

जापानी विदेशमन्त्रालयको निम्तामा गरिएको लगभग दुईहप्ते जापान भ्रमणको दोश्रो चरणमा थियौं हामी– उद्धब उपाध्याय, केदार शाक्य र मस्वयम् । टोकियो बाहिरका हिरोसिमा, क्योटो, नारा र ओशाकाको भ्रमण सकेर अघिल्लो साँझ फेरि टोकियो प्रत्यागमन भएको थियो हाम्रो । वजापान आएको आठौं दिनको त्यो विहान आसा गोहान अर्थात विहानको खाना वा ब्रेकफास्ट सक्दा नसक्दा सुश्री किहारा टोकियो प्रिन्स होटेल आइसकेकी थिइन् । उनको आजको जिम्मेवारी थिया हामीलाई जापान सोसलिष्ट पार्टीको कार्यालय पु¥याएर भेटघाट गराउनु । टोकियो र टोकियो बाहिर समेत हरबखत साथ रहेको मासारु वातानावेले हिजै भनेको थियो– भोलिको पहिलो कार्यक्रममा उसको साटो उसकै साथी किहाराले साथ दिनेछ ।

बाँच्नमात्र होइन मर्नु पनि कठिन मान्छन् टोकियोबासीहरू । त्यसैले आफू जीवित छँदै आफ्नै मुत्युपछिको योजना बनाउँछन्, मृत्ुयपछिको सेवादायक संस्थाहरूसँग आफ्नै मुत्यु पछिको योजना बारे छलफल गर्छन ! मृत्युसंस्कारको तरिका, प्रयोग गरिने सामग्री, कतिसम्म मोलको मृत अवशेषपात्र (ग्चलक) र कुन पश्चिमी शैलीको शवाधार वा (कफिन) व्यवस्था गर्ने ? मृत्यु संस्कारमा बोलाउने अतिथिसूची, ख्वाइने खाना र साके, कस्तो खालको शोकसंगीत र आफ्नै मृत्युको घोषणा लेखिने टेबल र त्यसको स्थान सबै नै छलफलका विषय हुने गर्छन । आफ्नो त्यो भावि महाप्रयाणका लागि लाग्ने खर्च अनुमान, पनि छलफको मुख्य विषय बन्छ, त्यहाँ । मृत्युसंस्कारका यी सबै काम गर्न कम्तीमा पनि ४० हजार अमेरिकी डलरभन्दा कमले पुग्दैन रे ! त्यो रकम अधिकांश जापानीहरूका लागि थेग्न नसकिने भार हुनजान्छ, जुन बेहोर्नै पर्छ । त्यसैले टोकियोमा बाँच्नु भन्दा कम कठिन छैन मरेपछिको खर्च जगेर्ना गर्नु ! मृत्युसंस्कार पनि कम जटिल छैन उनीहरूको । जहाँ मरेको भए पनि मृत शरीरलाई घरमैं ल्याइन्छ । मलामीहरूले त्यो मृतात्मालाई बौद्ध मन्त्र पढ्दै विदा गर्छन् । मृतकका लागि स्मारकस्थल समेत किन्नुपर्छ – टोकियोको केन्द्रीय भागस्थित आयोमा चिहानमा शव गाड्नका लागि आवश्यक एउटा विच्छ्यौनाजत्रो आकारको जमिनलाई १ लाख ५२ हजार अमेरिकी डलर तिर्नुपर्छ रे !

हामीलाई जापान सोसल डेमोक्रेटिक पार्टीको कार्यलयमा पु¥याएकी थिई किहाराले । काठमाणौं छँदै जापानी दूतावासले उपलब्ध गराएको निर्धारित भ्रमण कार्यक्रम (आइटेनरी) अनुसार त्यहाँ सत्तारुढ सोसल डेमोक्रेटिक पार्टी (एसडीजेपी)बाट माथ्लो सदनमा प्रतिनिधित्व गर्ने सांसद् यामादा केन–इचीसँग भेटघाट गर्नु थियो । केन–इची सार्वजनिक सूचना व्यूरोका निर्देशक र हाउस अफ काउन्सिलरका सदस्य पनि थिए । हामी पुग्दा उनी हाम्रै प्रतीक्षामा थिए । मीठो मुस्कानसहित उठेरै गरेको गरिएको उनको स्वगतबाट हाम्रालागि अप्रत्याशित थियो । आफ्नो देशमा पत्रकार वा अतिथिको उठेर स्वागत गर्नु त परै छाडौं, साधारण व्यक्तिसँग बोल्नु पर्दा समेत ओहदा गुमेको ठान्ने कतिपय मन्त्री र सांसद बेहोरेका हामीलाई त्यो अप्रत्याशित लाग्नु अस्वभाविक थिएन । केन–इचीबाट जापानी संसद् र पार्टीहरू बारे राम्रो जानकारी लिइसके पछि मैले उनीसँग एउटा अन्तर्वार्ता लिएको थिएँ, जुन पछि गोरखापत्रमा छापियो पनि ।

मेइजी काल (१८६८–१९१२) मैं दलीय प्रणाली सुरु भए पनि सन् १९३०–४०को युद्धकालीन जापानमा पार्टीहरू दबाइए । सन् १९४७ को संविधानले जापानी नगरिकहरूलाई पुनः पार्टी खोल्ने अधिकार दिएपछि लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी), सोसल डेमोक्रेटिक पार्टी अफ जापान (एसडीपीजे), क्लिन गभर्नमेण्ट पार्टी (कोमेइतो), डेमोक्रेटिक सोसलिस्ट पार्टी (डीएसपी), र जापान कम्युनिस्ट पार्टी (जेसीपी) अस्तित्वमा आए । वीसौं शताब्दी उत्तरार्धको लगभग सम्पूर्ण समय सत्तामा रहेकोे एलडीपी मूलतः व्यापारी र समाजका प्रभावशाली शक्तिसमूहद्वारा समर्थित अनुदारवादी पार्टी मानिन्छ । सन् १९४१देखि सोसल डेमोक्रेटिक पार्टी अफ जापान (एसडीपीजे) मा बदलिएको पुरानो जापान सोसलिस्ट पार्टी भने श्रमसंगठन र ठूला शहरका वासिन्दाद्वारा समर्थित रहेछ । लामो समयदेखि प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको एसडीपीजेले सन् १९९३मा एलडीपीबाट फुटेर आएका सदस्यहरूसँग मिलेर एसडिपीजे–एलडीपी गठबन्धन बनाएर न्यु फ्रण्टायर पार्टी वा शिनशिन्तो गठन ग¥यो । त्यसपछि मात्र यो पार्टी एलडीपीको लामो प्रभूत्व समाप्त पार्न सफल भयो । बलियो प्रतिपक्षी मानिने कोमेतो भने मूलतः सोका गाक्की नामक धार्मिक संस्थाबाट समर्थित छ । डीएसपीको गठन सन् १९६०मा पुरानो जापान सोसलिस्ट पार्टीबाट फुटेर गएको दक्षिणपन्थी समूहबाट भएको हो भने अर्को जेसीपी सानो भए पनि जापानको प्रभावशाली दल मानिन्छ ।

पश्चिमी प्रशान्त महासागरको बीचमा २४ सय किलोमिटर लामो फैलिएको टापुहरूको श्रृङ्खला हो जापान । तीन लाख ७७ हजार ८३५ क्षेत्रफल भूभाग ओगट्ने जापानका होन्सु, होकाइडो, क्युसू र शिकोकु प्रमुख चार टापु मध्ये सबैभन्दा ठूलो होन्सुको पूर्वी केन्द्रमा रहेको थियो राजधानी टोकियो । बीस वर्ष उमेर पुगेका वालिग जापानी मतदाताहरूद्वारा चुनिएका जनप्रतिनिधिहरूबाट गठन हुने संसद्को प्रतिनिधि सभामा १३० संसदीय क्षेत्रबाट प्रत्येक चार वर्षका लागि ५११ जना प्रतिनिधिहरू छानिन्छन् । छ वर्षका लागि चुनिने सल्लाहकार सभाका २५२ मध्ये आधा संख्यकाको निर्वाचन प्रत्येक तीन–तीन वर्षमा हुने गर्छ ।

सन् १८६८सम्म इडोको नाउँले चिनिँन्थ्यो आजको महानगर टोकियो ! केन्दी्रय जापानको हान्सु टापुस्थित टोकियो खाडीकै उत्तर र पश्चिम किनारामा अवस्थित टोकियोको केन्दीय भाग बाहेक सीमावर्ती प्रिफेक्चरहरू उत्तरको सितामा, पूर्वको सिवा र दक्षिणको कानागावाभित्रका सबै भाग ग्रेटर टोकियोभित्रै समेटिएका छन् । टोकियो नगरले सामान्यता नगरकेन्द्रका २३ वडा (कु) लाई बुझाउँछ । विशाल टोकियोभित्र शहर र बजार मात्र छैनन्, नगरको पश्चिमी क्षेत्र र इजु टापुमा टोकियो खाडीकै मुखबाट दक्षिण तर्फ पसार्रिएको ग्रामीण र पहाडी भाग पनि देखिन्छ । महानगरीय क्षेत्रमा अरु तीन प्रमुख शहरहरू पनि छन्– जापानकै दोश्रो ठूलो शहर योकोहामा, टोकियो र योकोहामाको बीचमा चेपिएको औद्योगिक नगर कावासाकी र सिवा । यामातालाई भेटेपछि घुम्नु बाहेक अर्को काम थिएन, यस क्रममा जापान र टोकियोका बारेमा निकै कुरा जान्ने अवसर पनि पाएका थियौं हामीले । होटेल फर्केर चियापना पछि केहीबेर आफू खुसी नजिकै सायंभ्रमण र हिरु गोहान अर्थात बेलुकीको खाना खानु बाहेक अरु केही थिएन अब आजको कार्यक्रम ।

भोलिपल्ट अर्थात भ्रमणको नवौं दिनका कार्यक्रम प्राय औपचारिक थिए– ठूलो प्रकाशन डायोनिप्पोन जाने, प्रतिनिधिसभा डायट घुम्ने र डायट प्रेस सेण्टर हेर्ने । विहान दश बजेतिर टोकियोस्थित ठूलो प्रकाशन डायोनिप्पोनको अवलोकन पश्चात हामीलाई वातानावेले डायट हाउस र डायट प्रेस सेण्टर पु¥याएकोथियो । डायटमा केही बेर संसद् सञ्चालनका प्रक्रियाहरू हेरेपछि डायट सञ्चालन र यसका बारे थप जानकारीका लागि हामी पुग्यौं डायट प्रेस सेण्टर । त्यहाँका निर्देशक मुराता मात्र होइन आशाही सिम्बुनका स्टाफ राइटर एफ. योसिमुरा र सोही अखबारको क्याविनेट तथा संसदीय रिपोर्टिङ सम्बन्धी सहव्यवस्थापक वाकामियाबाट पनि निकै उपयोगी जानकारी पायौं हामीले । डायटको सूचना केन्द्र र त्यसमा संंसद् तथा क्याविनेट रोपोर्टिङमा खटिएका समाचार संकलनमा धेरै भोटो फटाएका अनुभवी पत्रकारहरूको उपस्थितिले मलाई मेरो संसद भवन र त्यहाँ समाचार संकलनमा रोबदाव देखिने आलाकाँचा सिकारु पत्रकारहरूको चलखेल सम्झाइरहेको थियो । उनीहरू लामो अनुभव र अन्य क्षेत्रमा धेरै काम गरेपछि मात्र वरियताको क्रममा संसद् र सरकारसम्बन्धी समाचार विचार संकलनको जिम्मेवारी पाउँदछन् । त्यसैले सरकार र संसद्मा उनीहरूको मर्यादा पनि निकै उच्च छ, जुन हामी कहाँ अपेक्षा गर्न सकिँदैन ।

औपचारिक कार्यक्रमको समाप्तिपश्चात आज मजासँग घुमियो गिन्जा । टोकियोको चोउ वडामा रहेको यो विश्वप्रसिद्ध प्रमुख व्यापारिक केन्द्र गिन्जाले आफ्नो नाउँ चाँदी अर्थात जापानी भाषामा गिन र गिल्ड वा व्यापारिक समुदाय अर्थात जालाई मिलाएर लिएको रहेछ । सुरुमा चाँदीको व्यापारमा कहलिएको यो ठाउँ सन् १६१२देखि चाँदीको सिक्कामा टकमारी गर्ने सरकारी टकसारमा प्रयोग भएछ । जापानी टकसार गिन्जाले मलाई मेरै काठमाडौं र पाल्पाका टकसारको सम्झना दिलाएको थियो त्यतिखेर । दक्षिणपश्चिमको शाही दरबारस्थित मैदान नजिकैको क्यो पुलदेखि न्युब्रिजसम्म फैलिएको गिन्जा बजारले लगभग अढाई किलोमिटर क्षेत्रफल ओगटेको थियो । फुटकर पसल, बहुकक्षीय शपिङ सेण्टर, बहुतले विशाल बजार र जापान र बाहिर विदेशबाट समेत आकर्षित पर्यटक र खरिदकर्ताहरूको कहिल्यै नटुट्ने ताँति–साँच्चिकै मोहनीरुप थियो गिन्जा । अझ रातको गिन्जा त रङ्गीविरङ्गी बत्तीको उज्यालोमा नयाँ बेहुलीजस्तै सिङ्गारिएर ग्राहक लोभ्याइरहेको देखिन्थ्यो ।

टोकियो टावरपुग्नु अघि विशाल तोसोगु मन्दिर अर्थात टोजाजी टेम्मपल र शिवाकोएन पार्क पर्यटक लोभ्याइरहेका थिए । टोकयो महानगरको मध्यकालीन ती दर्शनीय स्थलहरूले जोकोहीको आँखा तान्थे र मन प्रफुल्लित गराई दिन्थे । विश्वकै सबैभन्दा पुरानो मानिने काष्ठसंरचना वा काठबाट बनेको मन्दिर हो¥युजी अझ कम आकर्षक छैन । भनिन्छ धेरै पुरानो होइन, गगनचुम्बी भवन निर्माणको जापानी परम्परा ! सरकारी मन्त्रालयहरू रहेको ठीक दक्षिणपटि सन् १९६८मा छत्तीस तले कासुमिगासेकी भवन बनेपछि नै सुरु भयो यो परम्परा । १० तलासम्ममा मात्रै सीमित थिए जापानी भवनहरू त्यतिखेर । गगनचुम्बी भवनहरूको ताँति सबैभन्दा बढी भने सिञ्जुकी रेल स्टेसनको दक्षिण तर्फ देख्नपाइन्छ ।

सन् १९७३मा बनेको योकोहामाको ७० तले टोकियो टावर जापानकै सबैभन्दा अग्लो संरचनाको गौरव बनेको छ । फुजी टेलिभिजन भवनको स्पष्ट पहिचानले पनि सिन्जुकु र ओदाइवा क्षेत्रलाई सजिलै चिनाइरहेको देखिन्छ । टोकयो टावरस्थित मैन संग्रहालय अर्थात मैन म्युजियमको अर्कै आकर्षण थियो । विश्वका परिचित अनुहारहरूको पूर्णकद मूर्तिहरू साँच्चै नै बोलिहाल्लान र हातै मिलाउन आउलान् जस्तो ! एक्वेरियम केटाकेटीदेखि ठूलासम्म सबैको अर्को आकर्षण थियो टावरमा । टावरमा रहेका दर्शनीय संग्रहालयहरू, यहाँबाट देखिने आकर्षक टोकियोको दृश्य निहार्दै कसिपको चुस्कीमा पाइने आनन्द, आफैंमा अनुपम अनुभव थियो पर्यटककालागि ।

हाम्रा जापानी सहयोगी केनले प्रतिव्यक्ति चारसय येन तिरेर छिराएका थिए टोकियो नेसनल म्युजियम । जापानको सबैभन्दा ठूलो यो संग्रहालयमा ८० हजार बस्तुहरु प्रदर्शित छन् रे । म्युजियमको मूलढोकादेखि नै अनुपम कलादशर्नको अवसर पाइएको थियो । मूल ढोकाबाट केही पश्चिममा रहेको इडोकालीन कलात्मक कुरोमोन् वा कालो ढोका, त्यो कुरोमोन मूलढोकाबीच छापिएका छानाका कलात्मक टायल सबै नै अरु सामग्री हेर्नका लागि कुत्कुत्याइ रहेका थिए । संग्रहालयको पुरातात्विक बस्तुहरू प्रदर्शित यो ह्योकेइकान ग्यालरी १९०८मा बनेको रहेछ । त्यसको पछाडि, चिनियाँ क्विङ बंशको काल्पनिक सिंहजस्तै देखिने दुईवटा जनावरको शिलामूर्ति– सिसी प्रदर्शित थिए । सिसीको वायाँतर्फ कोरियाली यिन बंशकालीन दुई कर्मचारीको बोल्लानजस्तै शिलामूर्ति उभिएका थिए । जापान र अन्य पूर्वीय मुलुकहरूका कलाकृतिहरूको अनुपम संग्रह रहेको टोकियोको उनेओ पार्कस्थित यो टोकियो नेसनल म्युजियम जापान सरकारद्वारा स्थापित र सञ्चालित, जापानकै ठूलो र पुरानो संग्रहालय मानिँदो रहेछ । चारवटा प्रदर्शन खण्डमा ४२वटा प्रदर्शन कक्ष थिए यसमा । पेन्टिङ, स्कप्चर, क्यालिग्राफी, धातुका कलाकृतिहरू, प्राचिन हात हतियारहरू, मृत्तिकाकला वा सेरामिक्स, ल्याक्योेर आर्ट, टेक्स्टाइल, पुरातत्व, जातीयकला जस्ता जापानी काmलकृतिका साथै जापानबाहिरका अन्य पूर्वि मुलुकहरूका कलाकृति पनि समेटिएका थिए संग्रहालयमा । यसको प्रबन्ध, यसको हेरचाह देख्दा मलाई मेरा संग्रहालयहरूका दुावस्था र निरिहताको हरबखत सम्झना भइरहेथ्यो । उनेओ पार्कस्थित जापानको पहिलो यो टोकियो नेसनल म्युजियम अर्थात टोक्यो कोकुरित्सु हाकुबुत्सुकानमा पहिलो मौलिक संग्रह सन् १८७१मा सुरु भएको थियो र सुरुमा यी बस्तु एउटा आवासीय भवनमा अस्थायी रुपमा राखिएका थिए । सन् १८८२मा यो नयाँ भवनमा सरिएको यो संग्रहालयको रेखदेख त्यसको चार वर्ष पछि शाही हेरचाह मन्त्रालयले गर्न थल्यो । १८८९देखि १९००सम्म टोकियो इम्पेरियल म्युजियमको नाउँबाट चिनिँदै आएको यो संग्रहालयले त्यसपछि सन् १९४७सम्म नै टोकियो इम्पेरियल हाउसहोल्ड म्युजियमको नाउँ पायो ।

टोकियो नेसनल म्युजियम मात्र होइन, टोकियो विश्वविद्यालयद्वारा व्यवस्थित कोइसिकावा असोकुबुत्सुएन बोटानिकल गार्डेन पनि कम दर्शनीय थिएन । ५ हजारभन्दा बढी प्रजातिका बोट विरुवा सहित १६ हेक्टर जमिनमा फैलिएको यो उद्यानको मुख्य विशेषता पूर्वी एसिया र संसारका विभिन्न भागमा पाइने वनस्पतिका प्रजातिहरू देख्न पाइनु रहेछ ।

अन्तिम अन्तिमको दशौं दिनले जापानको उन्नतिका धेरैमध्ये एउटा कारण अनुमान गर्न सघाएको थियो हामीलाई । त्यो भ्रमण कार्यक्रम थियो– विज्ञान तथा प्रविधि केन्द्र । उक्त केन्द्रको कार्यक्रम तथा नीति विभागका सहायक प्रमुख सियोमित्सु, जनसम्पर्क निर्देशक मिनोरु हाकामागी र अनुसन्धान विभागका उपनिर्देशक नोरिको सियोमुत्सुले दिएका जानकारीबाट हामीले त्यो अनुमान गरेका थियौं । जापान विज्ञान र प्रविधिलाई अत्यन्त महत्व दिन्छ, हरेक कार्यलय, उद्योग तथा निकायहरूमा आफ्नै विकास तथा अनुसन्धान निकाय कार्यरत छन् । सबै कार्यालय र औद्योगिक–व्यापारिक प्रतिष्ठानले प्रविधि विकास तथा अनुसन्धानका लागि निश्चित बजेट छुटयाउनु अनिर्वा छ । त्यसैले उनीहरू कुनै पनि कार्यक्रम र उत्पादन व्यापक अध्ययन–अनुसन्धान नगरीकन प्रयोगमा ल्याउँदैनन । हाम्रोजस्ता तदर्थ र हचुवा निर्णय हुँदैन, न त सोचविचार नगरी कुनै काम थान्छि त्यहाँ । विज्ञान–प्रविधि केन्द्रबाट फर्केपछिको नेपाल–जापान संसदीय मैत्री संघका अध्यक्ष तथा तत्कालीन यातायात मन्त्री किया ओकुदासँगको भेट पनि निकै रमाइलो र प्रेरक थियो । नेपालका मित्र मानिने ओकुदालाई नेपालको बारेमा हामीलाई भन्दा बढी जानकारी भएको पाउँदा हामीलाई निकै खुशी लागेथ्यो ! उनीसँग लिएको एउटा अन्तर्वार्ता नेपाल फर्केपछि मैले गोरखापत्रमा प्रकाशित पनि गरेको थिएँ ।

जापान भ्रमणको लगभग पुछारमा आइसकेका थियौं हामी, अब जापानको बसाइ दुई दिनमात्र बाँकी थियो हामीसँग । त्यसैले ओकुदाकहाँबाट फर्केपछि साँझमा विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय प्रेस डिभिजनका निर्देशक मोरीमोतोले हामीलाई दिने विदाई रात्रिभोजमा सहभागी हुनु थियो । उनी, सेइजी तानिगुची र नाम विर्सिएका अर्का एकजना अधिकारीको व्यवहारमात्र होइन जापानी परम्परागत खाना र त्यसको विवरण पनि हाम्रा लागि अविस्मरणीय बनेको थियो । परम्परागत जापानी भोजनालयमा जापानी शैलीको त्यो भोजमा पस्किइने पकिारका क्रमबद्धता, निस्तो भातदेखि प्राय सी फुडको आधिक्यता, कतिपय अवसरमा उनीहरूको भोजन संस्कार र प्रक्रिया नबुझ्दा हामीमा देखापरेको अलमल– सबै नै सम्झन लायक थिए । उनीहरूले खाएको हेरेर आफूपनि त्यसैको सिको गर्दै हामी आफ्नो अलमलबाट मुक्ति लिने प्रयास गरेका थियौं त्यतिखेर । अझ काठमाडौंमै हामी जापान प्रस्थान गर्नुपूर्व नेपालका लागि जापानी राजदूतले दिएका रात्रिभोजमा देखेर सिक्न गरेको केही प्रयासले त्यति बेला निकै केही मदत पु¥याएकोथियो, नत्र त खानुभन्दा जिल्ल परेर बस्नुबाहेक अर्को उपाय थिएन हामीसँग !

नेपाल फर्कने अघिल्लो दिन डिस्नेल्याण्ड देखाउन छुट्याइएको थियो हाम्रा कार्यक्रममा । विहान दशै बजे वातानावे र ओकाजोए माची आइपुगे, डिस्ने ल्याण्ड लैजान । बीसौं शताब्दीभर केटाकेटी र युवाहरूका बीच अत्यन्त लोकप्रिय मनोरञ्जक चलचित्र र पार्कहरूको उत्पादक–व्यवस्थापक मानिएको अमेरिकी वाल्ट डिस्ने कम्पनीका प्रस्तुतीहरू रोचक मात्र नभएर शिक्षाप्रद पनि थिए । सन् १९२९मा चलचित्रका एनिमसन कलाकार वाल्ट डिस्ने र उनका व्यापारी भाइ रोयले क्यालिफोर्नियामा सुरु गरेका यो कम्पनीको जापानस्थित स्निेल्याण्ड एम्युजमेण्ट पार्क टोकियो नजिकै सन् १९८३मा खोलियो । एनिमेसन कार्टुन फिल्मका लागि प्रख्यात डिस्ने कम्पनीका मिकी माउस, मिनी माउस, डोनाल्ड डक र प्लुटो आदिले प्रारम्भमैं विश्वव्यापी लोकप्रियता पाए । त्यसबाट पे्ररित भएर यसले बनाएका स्नो ह्वाइट र सात बामपुड्केहरू, डम्बो, फेण्टेसिया, सिण्ड्रेला, अझै पनि त्यत्तिकै लोकप्रिय देखिन्छन् । त्यसपछि यो कम्पनीले क्यालिफोर्नियाको अनेहिममा सर्वप्रथम डिस्नेल्याण्ड मनोरञ्जन पार्कको स्थापना ग¥यो । लगभग त्यसकै अनुकृति भनिने टोकियो डिस्ने एम्युजमेण्ट पार्कमा विभिन्न विषयमा विभाजित खण्डहरू छन् । स्थल, जल र अन्तरिक्षको रोमाञ्चक यात्रामा स्वयम् सहभागी बनेको अनुभूति आफैंमा रोमाञ्चक अनुभव थियो । त्रिआयामिक माध्यमबाट विचित्रको अनुभव दिने यो मनोरञ्जन पार्कको यात्रा साँच्चि नै अभूतपूर्व थियो हाम्रालागि पनि ।

चेरी र बुद्धिष्ट कलाका लागि मात्र होइन लोग्ने मानिसलाई मनोरञ्जन गराउने कामलाई नै परंपरागत पेशा बनाउने गिसाको बारेमा पनि सुनेको थिएँ मैले । यहाँ गिसाबारे पाएको जानकारीले मलाई दाङ र नेपालगञ्जको गगनगञ्ज सम्झाउन पुगेका थिए । हामी वादी भन्छौं, उनीहरू गिसा– यी दुई उही नभएर पनि उस्तै यस्तै लागेका थिए मलाई ! आखिर दुबै सिमानाका यी नारीहरू एउटै नियति न भोग्दै थिए, भोग्दै छन् । दुबै देशको मूलमा सामन्ती संस्कारछ, जसमा स्वास्नीमान्छेहरू मात्र गिजोलेर आनन्द लिने बस्तु ठानिन्छन् । त्यसैले बाँच्नका लागि मात्र पनि शरीर गिजोल्याएर केही आर्जन गर्ने पेशालाई परंपरा बनाउनु पर्छ तिनले । उदार पश्चिमीहरू पनि चोखा छैनन्, उनीहरू त शरीरलाई गिजोल्ने मात्र होइन सोकेशमा सजाएर पनि फेरि फाइदै लिन खोज्छन् । त्यसैले मानवीय प्रवृत्ति र नारी नियति कमोबेस उस्तै हुन्छ सायद् । समाजको सँगै अहिले गिसाहरूको परम्परागत रुप फेरिंदै गएको छ । हिजो उनीहरू लोग्ने मान्छेको मागमा घरघरै पुग्थे, लोग्ने मान्छे गन्ध सुँघ्दै उनीहरूकोमा आफैं पुग्थे र कार्यव्यापार सम्पन्नहुन्थ्यो । आज पनि उनीहरू त्यही गर्छन । लोग्ने मानिसलाई नै खुसी तुल्याएर बाँच्ने साधनको खोजी गर्छन् । तर घरघरमा होइन, आज उनीहरू व्यापारीहरूको पार्टीमा होटेल, रेष्टुराँ र चियापसलमा आफ्नो त्यो सेवा उपलब्ध गराउँछन्, कलगर्लका रुपमा सेवा दिन्छन् र पारिश्रमिक लिन्छन–साधिकार । यो रुपान्तरण हाम्रा पनि ठूलासाना होटेल, राजमार्ग छेछाउका होटेल–चियापसलतिर देख्न पाइन्छ । समयसँगै सबैकुराले आफ्नो अनुहार बदलेर नवीन रुप लिनु सायद विकासवादको स्वाभाविक गति हो । त्यसैले त्यो जति जापानमा देखिन्छ, उति नै नेपालमा पनि भेटिन्छ ।

गिसाशब्दको जापानी शान्दिक अर्थले चाहिँ यौनजन्य पेशासँग कुनै साइनो राख्दैन । कलाकार बुझाउने यो शब्दले सामिसेना भनिने हाम्रो बाँसुरीजस्तै एकप्रकारको बाजा बजाउँदै गाउने, नाच्ने र लोकनाटक गर्ने कलाकारको बोध गराउँदोरहेछ । गिसाहरू पुष्पउत्सवमा फूल सजाउने, चिया समारोहमा चिया बनाउने र त्यसमा सघाउने, परम्परागथ चित्र तयार गर्नेजस्ता कामका लागि पनि प्रयोग गरिन्छन्, तर पनि उनीहरूको मूल काम भने आफ्ना धनी मालिक वा ग्राहकका लागि रमाइलो र मनोरञ्जक वातावरण बनाइदिनु नै हो । समाजका धनीमानी र तत्कालीन शासक समुराइहरूको यौन चाहना पूरा गराउने तथा मनोरञ्न गराउने परंपरागत समूह तयार पार्ने उद्देश्यबाट शत्रौं शताब्दीतिर सुरुगरिएको रहेछ गिसा परम्परा । सुरुमा यो स्वेच्छिक पेशा मानिए पनि पछि यो यौनपेशा बन्दै गयो ! गरिब बाबुआमा आफैंले आफ्ना छोरीहरू सानैमा गिसागृहमा लगेर बेच्न थाले । ती गृहहरू केही वर्षसम्म तिनलाई लालनपालन गरेर सबै काममा तालिम दिन्थे र गिसा पेशामा लगाउँथे । त्यसपछि उनीहरू कारयुकाई समुदायका सदस्यमा समावेश हुन्थे, आफ्ना बाबुआमाको ऋण तिर्ने र भविष्यका लागि कमाउन थाल्थे ! कारयुकाइको अर्थ हुन्थ्यो–फूल र पुतलीहरूको संसार ! यो सुन्दा मलाई भारतीय यौन बजारमा बेचिने नेपाली चेलीहरूको संझना भइरहेथ्यो– उनीहरू मध्ये पनि त कतिपय बाबुआमाको गरिबीका कारण भारतीय यौन बजारमा लगेर बेचिन्छन्, उनीहरूको ऋण तिर्न र माइती घरमा टिनको छाना लगाइदिन आफू नारकीय यन्त्रणा भोग्छन् । धनी व्यापार र प्रभावशाली राजनीतक व्यक्तिहरूबाट संरक्षित ती गिसाहरू मूलतः टोकियो क्योटोमा केन्द्रित थिए रे ।

भोलिपल्ट विहान सातै बजे होटेल छाड्नुछ, नेपाल फर्कनका लागि । आउनजान प्राय आकामैं विताइएका दुई दिन छाडेर आफ्नै आँखाले भोगेको जापान र आफ्नै कानले सुनेको जापान रोचक थियो र कौतुकमय पनि । हुन त दश दिनमा एउटा देश र तिनका मानिसबारे के र कति नै जान्न सकिन्छ र ! जति जानियो त्यो पनि कम थिएन मेरालागि । त्यसैले त यति पछिसम्म पनि ती दृश्य, ती घटना र जापानले पछ्याउन छाडेका छैनन मेरो स्मृतिलाई !

जेठ २०६१

मिर्मिरे, वर्ष ३३ अङ्क १२, पूर्णाङ्क २५३, चैत २०६१
टोकियोे बाहिरको जापान र हिरोसिमामा मृत्युदर्शन




“ओहो, मानव इतिहास यतिसम्म क्रूर पनि हुनसक्छ !” हिरोसिमा शान्तिस्मृति संग्रहालय (पिस मेमोरियल म्युजियम)ले दोश्रो विश्वयुद्धको बम विभीषिकालाई आँखा अगाडि जीवन्त रूपमा ल्याइदिएपछि मेरो मनमा उठेको पहिलो प्रश्न यही थियो । म्युजियममा प्रदर्शित आँकडा र भिडियो प्रदर्शनले हिरोसिमामाथि अमेरिकी बम विष्फोटपछिको मानवीय पीडालाई जीवन्त रूपमा देखाइरहेको थियो । हो, युद्धमा योद्धाहरू मर्छन, संघर्षमा द्वन्दरत पक्षका मानिसहरू मर्छन् । तर यो युद्धमा खसालिएको बमबाट मर्नेहरू लडाकू सिपाहीँहरूमात्र थिएनन्, त्यहाँ त हज्जारौं निर्दोष जापानी नागरिक थिए, जो कहिल्यै बन्दुक उठाएर उनीहरूसँग लड्न आएका थिएनन । नाबालक, केटाकेटी र अबोध शिशुहरू थिए जो शत्रु र मित्रुको भेद जान्दैनथे । त्यहाँ देखिएको मुत्युको वीभत्सले दृश्यले हाम्रो मात्र होइन, जोसकसैको पनि हृदय द्रवित तुल्याइरहेको थियो ।

म्युजियमले हामीलाई झण्डै साठी वर्ष अघि अर्थात सन् १९४५को अगस्ट ६ तारिखको विनाशकारी क्षणमा पु¥याएको थियो । हो, त्यही बिहानको सवा आठ बजे हिरोसिमाको केन्द्रमा भएको अमेरिकी आणविक बम विष्फोटनले नरसंहारको ताण्डव देखाएको थियो । हिरोसिमा अघिल्लो मध्यरातदेखि नै खतराको घण्टी बजाएर आफना नागरिकलाई आक्रमाको खतराबाट सतर्क रहन जनाउ दिइरहेको थियो त्यो बेला । बारम्बार बजेका ती खतराका साइरनको बीच विहान आठ बजेर तेह्र मिनेटजाँदा जापानी सेनाले खतरनाक आक्रमणको सङ्केत पायो र अन्तिम चेतावनी प्रसारणको तर्खरमा लाग्यो– शत्रुका तीनवटा लडाकु विमानहरू साइजो क्षेत्रमाथिबाट पश्चिमतिर बढ्दैछन्, सुरक्षाको लागि आवश्यक सिर्तकता अपनाउनू ! तर त्यो खतराको सन्देश प्रसार हुन पाि पाएको थिएन, बी–३९, एनोला गे नामको अमेरकी बमवर्षक विमानले खसालेको आणविक बमले हिरोसिमाको धरती रक्तरञ्जित बनाइदियो । सर्वसाधारण नागरिकले सुरक्षितस्थलमा पुगेर आफूलाई बचाउनसमेत समय समेत पाएनन् । चार टन वजनको बीस किलोटन बराबर विष्फोटक क्षमताको त्यो बम विष्फोट भए पछि त्यहाँको तापक्रम एक्कासी बढेर लाखौं डिग्र सेण्टिग्रेड पुग्यो, जताततै आगोको मुस्लोले ढाक्यो । धुवाँको मुस्लो कैर्यौ किलोमिटरमाथिसम्म फैलियो, असैह्य तापक्रम र विकीरणको लहर तुरुन्तै सबैतिर फैलियो । त्यसबाट सन् १९४५ डिसेम्बर अन्त्यसम्ममा मर्नेहरूको सङ्ख्या लगभग डेढलाख पुग्यो । झण्डै असी लाख गैह्र सैनिक नागरिकको मृत्यु भयो, पन्द्रहजार जति सख्त घाइते भए । तेह्र किलोमिटर क्षेत्र आगोले नष्ट तुल्यायो, अणुबमले ३० किलोमिटर क्षेत्रमा प्रत्यक्ष असर पु¥यायो । कुल ७३ किलोमिटर जति क्षेत्रभित्रको क्षतिग्रस्त बस्तीका तीनलाख भन्दा बढी जापानी नराम्ररी प्रभावित भए । बमबाट निश्रित आण्विक विकीकरणले वषौंवर्षसम्म पीडित असर गरि नै रह्यो, त्यसबाट रोग बेसाउने जापानीहरू अझै पनि फेला परिरहेका छन् । हिरोसिमा पिस मेमोरियल म्युजियम मा प्रदर्शित तथ्याङ्क र भिडियो प्रदर्शनहरूले हामीलाई पनि त्यो युद्ध विभीषिकाको पीडा प्रत्यक्ष नै अनुभव गराइरहेको थियो, मानौं हामी स्वयम् त्यस क्षणको मानवीय संहारक प्रत्यक्षदर्शी हौं ।

कार्यक्रम अनुसार टोकियो बसाइको पहिलो चरण सकेर जापान पुगेको चौथो दिन बिहानै हामी टोकियो प्रिन्स होटेल छाडेर बिहानै हिरोसिमाका लागि विमान समाउन टोकियो अन्तर्राष्ट्रिय विमानस्थल हानेदा पुगेका थियौं । हामी अर्थात जापानी विदेशमन्त्रालयको निमन्त्रणामा करिब दुई हप्ते जापान भ्रमणमा आएका गोरखापत्रका तीन पत्रकार उद्धब उपाध्याय, केदार शाक्य र म । टोकियोको कार्यक्रम बाँकी नै थियो, त्यही बीचमा आतिथेय विदेश मन्त्रालयको एसिया मामिलासम्बन्धी व्युरोले हिरोसिमा, क्योटो, ओसाका र नागोयाको भ्रमणको व्यवस्था मिलाएको थियो हाम्रालागि । त्यसैकालागि अन्नाको ६७५ उडानले सबा एघार बजे हिरोसिमा (जसको अर्थ जापानी भाषामा फराक टापु भन्ने लाग्छ) मा ओरालेको थियो । त्यहाँबाट सोझै हिरोसिमा शान्तिस्मृति संग्रहालय वा हिरोसिमा पिस मेमोरियल म्युजियम पुगेका थियौं हामी जोे टोकियोबाटै हाम्रो लागेको सहयोगी मासारु वातानावेको अगुवाइमा ।

त्यसरी नै हिरोसिमाको विगत इतिहासलाई आँखा अगाडि जीवन्त बनाएको थियो हिरोसिमा क्यासलले । लगभग सवाचारसय वर्ष अघि तत्कालीन सामन्त मोरी तोरुमोतोले निर्माण गराएका यो किल्लाको पुरानो नाम कार्प क्यासल थियो, जुन अहिले बदलिएर हिरोसिमा क्यासल बनेको छ । यो किल्लाले मोरी पुनर्जागरण कालमा जापानी सामन्तहरूको राज्य समाप्त भएपछि निकै उपेक्षा बेहो¥यो । यसका कतिपय भाग भत्काइए । सन् १९३१मा यसको ऐतिहासिक महत्व अनुभव गरेर राष्ट्रिय सम्पदामा समावेश गरी संरक्षण थालियो । यसको दुर्भाग्य भने अझै सकिएको थिएन । दोश्रो विश्वयुद्धको बमको प्रकोकले यसलाई पनि छाडेन । ३८ मिटर अग्लो यो पाँचतले किल्लालाई १९५८मा पुरानै वास्तु र संरचनामा पुननिर्माण गरियो । हिरोसिमाको जीवन र प्रगतिको जीवन्त परिचय दिने यो सङ्ग्रहालय मेइजी पुननिर्माण कालसम्मको सग्लो परिचय दिइरहेको थियो । हिरोसिमामा यति नै थियो हाम्रो निर्धारित कार्यक्रम । त्यसैले साँझ साढे छ बजे बुलेट ट्रेन समातेका थियौं, क्योटो जानकालागि । दुई घण्टाको रेल सफरपश्चात क्योटो स्टेसनबाट क्योटोस्थित एएनए होटेल पुगेर थकानपूर्ण यात्राले विश्राम लिएको थियो, त्यसदिन ।

भोलिपल्ट अर्थात सन् १९९२को जुन १४ तारिखको हाम्रो कार्यक्रम थियो क्योटोकोे दृश्यावलोकन ! भ्रमण कार्यक्रममा प्रमुख लक्ष थिए–क्योटोको बोटानिकल गार्डेन, क्योमिजु–डेरा, म्युजियम अफ मोडर्न आर्टस् र साञ्जुसाङ्गेनडो आदि । मियाको ओदोरी अर्थात चेरी नृत्य, कामोगावा अ‍ोदोरी वा कामोगावा नृत्य, कामीगामो र शिमोगामो मन्दिरका आयोयी मात्सुरी वा पवित्र नृत्य, ओई नदीको डुङ्गा मेला वा मिफुने मात्सुरी, हेन मन्दिरको ताकिगो नोह, यासाका मन्दिरको गियोन पर्व, आदि वार्षिक चाड–पर्वमा आफ्नो सांस्कृतिक धरोहर जोगाएर बसेको क्योटो आफैंमा जापानको जीवित सङग्रहालय लाग्छ ।

छेवैको कञ्चन तलाउमा आफ्नो सौन्दर्य निहारीरहेको पश्चिम क्योटोस्थित किंकाकुजी मन्दिर अर्थात तीन तले गोल्डेन पेभिलियन चारैतिर रुखैरुखले घेरिएर बृद्ध तपस्वी झैं हाम्रो स्वागतमा उभिएको थियो । मन्दिरको एक छेउको तलाउ कियोकाकोे किनाराका बारमा अडेसिएर हामीले पन्ध्रौं शताब्दीको अनुपम संरचना त्यस सुन्दर मन्दिरको सौन्दर्यपान ग¥यौ– धित नमरुञ्जेल । हाम्र गाइड भन्थे ऐना जस्तै सफा र प्रतिबिम्ब दिने पोखरी हो रे कियाकाको शाब्दिक अर्थ । पोखरीको बीचमा देखिने एउटा सानो कृत्रिम ढुङ्गे टापुजस्तोमा उभिएका बृक्षद्वय मन्दिरको रखवारीमा डटेका बृद्ध तपस्वी झैं देखिन्थे । सन् १३९७ अर्थात चौद्धौ शताब्दीमा आशिकागा योसिमित्सु नामका सोगुनले बनाएका यो स्वर्ण पेभिलियनको गजुरमाथि एउटा स्वर्ण पंक्षी पखेटा फिँजारेर उड्नै लागेजस्तो मुद्रमा देखिन्थ्यो–विश्वभर शमान्तिको सन्देश फैलाउन । भनिन्छ, काष्ठनिर्मित यस मन्दिरको तेश्रो तलाका बार्दलीका बार, कोठाका भित्ता र सिलिङहरू सबै नै सुनका जलपले मोरिएका छन् रे । सुरक्षाको दृष्टिले होला भित्र गएर हेर्न निषेध रहेछ । यति सुन्दर सिर्जनाले पनि सन् १९५०मा अग्निदाहको पीडा भोग्नु परेछ, एउटा विक्षिप्त जापानी युवक पुरोहितको क्रूर मानसिकताका कारण ! त्यो अग्निदाहको पाँच वर्ष पछि पुनर्निर्माण भएको रहेछ मन्दिरको ।

बादशाह कामाडुले आफ्नो राधानी बनाएपछि सन् ७९४देखि १८६८सम्म को एकहजार वर्षभन्दा बढी समय जापानको शाही राजधानीका रुपमा मात्र रहेन, राजनीतिका साथै संस्कृतिक तथा कलाको पनि केन्द्र बन्यो क्योटो । यो स्थान अझै कायम राख्न सफल देखिन्छ यो शहर ! सुरुमा हेयान–का भनिने उत्तर र पूर्वतिर मनोरम पहाडहरूले घेरिएको यो पुरानो राजधानी क्योटोमा बुद्धधर्मसम्बन्धित १६०० वटा मन्दिरहरू छन् रे ! त्यसरी नै यहाँका २७० वटाजति सिन्तो धार्मिक स्थल–स्राइनहरू पनि उत्तिकै दर्शनीय देखिन्छन् । आकर्षक शाही प्यालेस र त्यसका दुईवटा मणिजस्तै भिल्लाले पनि कुनै बेला जापानको राजनीति र विकासमा क्योटोले खेलेको मूमिकालाई गौरवपूर्ण ढङ्गमा प्रदर्शित गरिरहे झैं लाग्छ । सन् १९८५मा १४ लाख जनसंख्या भएको जापानको सातौं ठूलो यो शहरलाई सुरुमा हेन्क्यो अर्थात शान्तिको राजधानी भनिन्थ्यो रे ! सुरक्षित रुपमा संरण गरिएका यसका परम्परागत कला, हस्तकला, वास्तुकला, कलासंस्कृतिको प्रभाव त विश्व कलामा परेकैछ । कलासंस्कृति बाहेक पनि बिद्युतीय तथा केमिकल उद्योग, क्योटो इण्टरनेसनल कन्फरेन्स हल, प्रसिद्ध विश्वविद्यालय र कलेजहरूले क्योटोलाई आधुनिक विश्व समक्ष परिचित गराइरहेका छन् । पश्चिमी क्योटोस्थित चट्टान र बालुवा सजाइएको सुन्दर बगैंचामा अवस्थित जैनप्रभाव देखिने र्योनाजी मन्दिर अर्को आकर्षण थियो क्योटोका । सन् १४७३मा सोआमीले डिजाइन गरेका यो मन्दिर धार्मिक महत्वका कारण मात्र होइन, वास्तुकलाको हिसाबले पनि महत्वपूर्ण लाग्थ्यो । र्योनाजी मात्र होइन सत्रौं शताब्दीमा निर्मित अर्का निजो र हिमेजी क्यासल पनि कम दर्शनीय थिएनन् ।

क्योटोका कारासुमा सबवेस्थित ओइके स्टेसनबाट तीन मिनेट पर रहेको क्योटो सङ्ग्रहालय हरेक जापानको मुटु मान्छन् जापानीहरू । क्योटो आफै सिङ्गै आफ्नो इतिहास र कलासंस्कृतिको जिवन्त संग्रहालय भए पनि यो सङ्ग्रहालयले छोटै झलकमा क्योटोलाई बुभ्m र सम्झन मदत गरेको छ, तिनको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ । सन् १९९४मा हेयान–को स्थापना (सन् ७९४को) १२सयौ स्थापनादिवस मनाउने क्रममा यसको स्थापना भएको थियो सन् १९८८मा । यसले मनोरञ्जन मात्रै गराउँदैन, क्योटोको सम्वृद्ध सांस्कृतिक परम्पराको अध्ययन गर्नेलाई राम्रो अवसर समेत दिन्छ । क्योटो शहरको केन्द्रमा रहेको यो संग्रहालयले यसको एक हजार वर्षको इतिहास मात्र नभनेर भावि क्योटोको समेत रूपरेखा देखाउँछ । जापानका प्राचीन नगर नारा, क्योटो र कामाकुरा मध्ये क्योटो हेर्ने रहर नसिध्ँिदै दिनले विदा मागिसकेको थियो । अब होटेल एएनए फर्केर भोलिलाई पर्खनु सिबाय हामीसँग अर्को विकल्प थिएन ।

क्योटोभन्दा पनि पुरानो शहर नाराले जापानको पहिलो स्थायी राजधानीको गौरव समेत बोकेकोथियो । पाचौं सम्राट कम्मले सन् ७९४ मा राजधानीलाई क्योटो नसारुञ्जेल नारा राजधानी नै थियो जापानको ! त्यसअघि जुनठाउँको बादशाहले शासन गर्छ, राजधानी पनि त्यहीँ सर्ने गथ्र्यो । जापानको रानीतिक शक्ति वा राजधानी पनि बंशानुगत रुपमा नाराबाट क्योटोहँुदै कामाकुरा र ओसाका तथा अन्तमा इडो वा टोकियो सर्दैगयो । सन् १८९७मा विभिन्न दवाबकाबीच शोगुनले प्रशासनिक शक्ति जापानका १२४औं सम्राट वर्तमान हिरोहितोका बाजे मेइजीलाई हस्तन्तरण गरे । सातशताब्दीभन्दा बढीको शोगुन शासनको त्यसपछि अन्त्य भयो मेइजीले नै राजधानीलाई क्योटोबाट टोकियोको इडो दरबामा सारे । इडो दरबार सुरुमा तोकुगावा शोगुनहरूको आवास थियो । मन्दिर, बौद्ध तथा जैन तिर्थस्थल र सांस्कृतिक निधिको अमूल्य भण्डार नाराले कला–हस्तकला उद्योगको विकासमा सुरुदेखि नै पर्याप्त प्रोत्साहन दियो । यसको उदाहरण अहिले पनि रामै अनुभव गर्न सकिन्थ्यो । जापानी इतिहासमा नारा काल अल्पसंख्यक सिन्तो धर्मका साथै बुद्धधर्मको संस्थापन र दुबैसंग सम्बन्धित संस्कृतिको संबद्र्धनमा पनि महत्वपूर्ण रहेको मान्छन जापानीहरू । राजधानी क्योटो सरेपछि नाराको प्राचिन तेम्पोइ संस्कृति चिनिया र जापानी संस्कृतिबाट प्रभावित हुँदै गएर काव्य, पेण्टिङ, स्कप्चर तथा वास्तुकलामा जापानी विशिष्ट शैलीको स्वरू विकसित हुँदैगयो । सन् ७१९देखि ७९४को पछिल्लो नारा काल मूलतः चिनीया संस्कृतिबाट प्रभावित मानिन्छ र यस कालका अधिकांश सांस्कृतिक निधिहरू नाराको शासोइन ट्रेजर हाउसमा सुंरक्षित छन् । यही समयमा एकजना दरबारी महिलाले लेखेकी उपन्यास “गेञ्जी मोनोगात्री” वा गेञ्जीको कथा विश्वकै सबैभन्दा पुरानोमध्येको उपन्यास मानिन्छ । विश्वकै सबैभन्दा पुरानो विश्वप्रसिद्ध होरयुजी मन्दिर र संसारकै सबैभन्दा ठूलामध्येको एक मानिएको टोडाइजी मन्दिर र तिनका काष्ठसंरचनाले नाराको विगत सांस्कतिक सम्पन्नताको अहिले पनि साक्षी बेकिरहेका छन्, कुनै पनि दर्शकले यस्तै अनुभव गर्छ सायद ।

क्योटोबाट उत्तरबाट पश्चिमतर्फ फैलिएको पहाडले काटेर छुट्याइएको नारा आफैंमा सजिव बौद्ध तपस्वी झैं लागेको थियो मलाई त्यतिखेर । जताततै मन्दिर, तीर्थस्थल र तिनै तीर्थस्थलका पवित्र वनकाननमा विचरण गरिरहेका मृगशावकहरूले हाम्रै प्राचिन काव्यको संझना गराइरहेका थिए । नारा पार्कमा विचरण गरिरहने मन्दिरहरूकै संरक्षणमा पालिएका हरिणहरूको निर्भिक र निर्वाध विच।रण प्राचिन काव्यको कण्वआश्रम तथा मृगशावकसँग खेल्दै दुष्यन्तको प्रेमविरह विर्सने प्रयत्नमा हराएकी शकुन्तलाको सम्झना हुनु स्वभाविक थियो मेरालागि ! नारा पार्क अर्थात हरिण पार्कमा विचरण गरिरहेका हजारभन्दा पनि बढीसङ्ख्यामा अनुमान गर्न सकिने हरिणहरूसँगै आनन्द लिइरहेका सयौं शकुन्तला र दुश्यन्तहरू देखेको थिएँ मैले त्यतिखेर । सयौं शिद्धार्थहरू बुद्धत्व प्राप्तिको कठोर साधनामा लोभ, मोह, मद्, मात्सर्य सबै त्यागेर आत्मलीन देखेथेँ. मैले नारामा र अन्तरमनदेखि नै गुञ्जिएका शान्ति मन्त्रहरू सुनेको थिएँ मैले नाराका आकाशभरि !

नारापर्क र वरिपरिका मन्दिरका कलाकौशलबाट अभिभूत हामी त्यो सम्मोहनबाट नउम्किँदै फेरि सन् ७१०मा शक्तिसाली फुजीवरा परिवारले पारविारिक मन्दिरका रुपमा बनाएका कोफुकुजी मन्दिरदेखि नारा नेसनल म्युजियमसम्मका स्थलहरूले बौद्ध कला र परम्पराको अभूतपूर्व परिचय दिइनै रहन्छन् । आठौं शताब्दीको मध्यतिर बनेको तोइजी मन्दिरको विशाल बुद्धमूर्ति र सन् १७०९मा बनाइएको विश्वकै सबैभन्दा ठूलो दावी गरिने काष्ठनिर्मित विशाल हलले प्रत्येक विदेशी दर्शकलाई जापानको कला–संस्कृतिको महानता दिग्दर्शन गराइरहेका छन्, नाराकोमात्र नभएर जापानकै प्रमुख आकर्षण बनिरहेका छन् । पुनःनिर्मित स्वरूपमा एक तिहाइ आकार गुमाएर त यो यति भव्य देखिएको छ भने मौलिक तोइजी मन्दिर कति विशाल र कति भव्य थियो होला, म मनमनै कल्पना गर्दैथिएँ त्यतिबेला ।

सिन्तोधर्मावलम्बिीहरूकालागि जापानभरकै तीन प्रसिद्ध तीर्थस्थलमध्येको एक कासुगा ताइसा मन्दिरले नारालाई अरू भव्यता प्रदान गरिरहेको थियो । सन् ७६८मा र्मिाण भएको यो स्थलमा देखिने मन्दिरहरूले सिन्तो धर्मावलम्बीहरूका चारै संप्रदायलाई प्रतिनिधित्व गरिरहेका थिए । भनिन्छ, यहाँ साँझपख बजाइने ड्रमको मधुर आवाज सुनेर हरिणहरू झुम्मिन आउँछन । ११औं शताब्दीदेख श्रद्धालु दाताद्वारा राखिएका तीनहजारभन्दा बढी ढुङ्गा, पित्तल र ढलोटका लाल्टिनजस्तै देखिने बत्तीदानीहरूले देख्दा लाग्छ मन्दिर विश्वलाई नै अँध्यारोमुक्त गर्न प्रेरित गरिरहेको छ । हरेक २०–२० वर्षमा गरी ५७औं पटक पुनर्निर्माण गरिए पनि जापानी वास्तुविद्हरूले यसको प्रारम्भिक मौलिक संरचना अर्थात मध्य आठौं शताब्दीको बास्तुकलाको नमूनालाई सधैंनै जोगाइ रहेकाछन् । कासुगा ताइमात्र होइन, कासुगा तिसा मन्दिरको दक्षिण–पश्चिमअवस्थित तीन तले भव्य शिन–याकुसिजी मन्दिरको पूर्वी प्यागोडाले छ तलाको भान दिए झैं लागेथ्यो त्यतिखेर । सन् ७४७मा सम्राज्ञी कोम्योले बनाउन लाएकी यो मन्दिरले जापानी मृत्तिका कलाको सुन्दर नमूना प्रदर्शन गरिरहेको थियो । नवौं शताब्दीको याकुसी–न्योराई कालीन बुट्टा कुँदाइको सिप प्रदर्शन गर्नमा सक्षम शिन–याकुसिजी मन्दिरका १२जना दैवी सरदारहरूको गोलाकार मूर्तिहरूले मृत्तिकाकलाको अनुपम जापानी क्षमता देखाइरहेका थिए । विद्यमान् प्राचिन मन्दिरहरूमध्ये निसिनोक्यो क्षेत्रको अर्को विशाल तोसोदाइजी मन्दिरका निर्माता चिनियाँ पुजारी गान्जिन आपूmभने अन्धा रहेछन् ! सन् ७५९मा निर्मित यो मन्दिरका प्रमुख आकर्षण थिए– बुद्ध र सहस्रबाहु वा हज्जार हात भएका कान्नोनको कलात्मक बृहताकार मूर्ति । नाराकालीन बास्तुकलाको नमूना मानिने यो मन्दिरको वर्तमान प्रवचन कक्ष नारा शासनकालमा अदालत कक्षको रुपमा प्रयोग हुनेगथ्र्यो रे । यसरी नै होरीयुजी मन्दिर परिसर र त्यहाँको होरीयुजी इष्ट मन्दिर इतिहास, वास्तुकला, कलाकृति र भित्तीचित्रका दृष्टिले आफैंमा सिंगो संग्रहालय थियो । यो मन्दिर परिसरका ४५वटा भवनहरू सातदेखि सत्र शताब्दीसम्मको अवधिमा बनेका रहेछन् र तीमध्ये पाँच तले प्यागोडा सहित केही काष्ठ संरचना विश्वकै प्रचिनमध्येका मानिँदा रहेछन् । सम्राज्ञी सुइकोका राजप्रतिनिधि राजकुमार शातोकुद्वारा सन् ६०७मा स्थापित यो परिसरबाटै शातोकुले बुद्धधर्मको प्रबद्र्धन र सत्र धाराकोयुक्त सम्बिधानको घोषणा गरेका थिए रे !

क्योटोजस्तै जापानको यो प्रचिन नगर तथा धार्मिक केन्द्र नारा पनि कान्साईका सातवटा प्रिफ्क्चरमध्ये नै पर्नेरहेछ । ती प्रिफेक्चरमध्ये नारा पछि ओसाका हाम्रो भ्रमण कार्यक्रममैं पथ्र्यो । कान्साईलाई सुरुमा किन्की भनिँदोरहेछ । क्योटोका विशेष दर्शनीय ठाउँहरू हेरेर भोलपिल्ट अर्थात जापान आगमनको छैटौं दिन विहानै नौ बजे होटेल छाडेर हामी लागेका थियौं बाटोमा ओसाका नगर घुम्ने र ओसाकाकै दाइतो–सि स्थित सान्यो–चोमा रहेको सान्यो इलेक्ट्रिक कम्पनी लिमिटेडको डाइतो ल्पाण्ट हेर्ने कार्यक्रम लिएर । सािँझ पाँचबजेसम्म ओसाकामा विताएर फेरि साँझतिर नागोयाका लागि हिकारी सुपर एक्सप्रेस समात्नु थियो हामीलाई ।

योजना अनुरुप नै हामीले क्योटो छाड्यौं, ओसाका दृश्यावलोकनअन्तर्गत हाम्रो कार्यक्रममा परेका थिए ओसाका क्यासल म्युजियम र अरु केही दर्शनीय ठाउँहरू । पार्कसहित करिब १लाख ७हजार वर्गमिटर ठाउँ ओगटेर बसेको ओसाका क्यासल इडो कालमा निर्मित आफ्ना तेह्र आकर्षक भवनसहित गौरवले हिर उठाइरहेको थियो । तीध्येको प्रमुख भवन तेन्सु–काकुमा संग्रहालय र ओसाका क्यासल हल आदि थिए । किल्ला पस्नुपूर्व नै हामीलाई किल्लाको ओते–मोन नामक भव्य पुरातत्विक मूल प्रवेशद्वारले जोकोहीलाई आकर्षित गथ्र्यो । संग्रहालयको तेस्रो तला कामाकुरादेखि सोगुनहरूपूरै समयका सातसय वर्ष समेट्ने जापानी लडाकु वर्ग अर्थात समुराइहरूको जीवन र संस्कृति झल्काउने ऐतिहासिक सामग्रीहरूले भरिएका थिए । समुराजीवन मात्र होइन ती प्रदर्शित बस्तुले प्राचीन जापानको सिङ्गो जीवनलाई सजिव रुपमा प्रस्तुत गरेका थिए । चौथो तला ओसाका क्यासलका निर्माता हिदेयोसी तोयोतामीकालको मोमोयामा संस्कृति झल्काउने फर्निचरहरूले भरिएका थिए, पाँचौं तलामा उनकै जीवनकालका उपलब्धी देखाउने बस्तुले भरिएका थिए । आठौं तलाबाट देखिने ओसाका नगरको भव्यताले यसको समृद्धि स्पष्ट पारिरहेको थियो ।

ओसाकाको सामान्य भ्रमण सकेर वातानावेले हामीलाई मध्यान्हतिर सान्यो इलेक्ट्रिक कम्पनी लिमिटेडको अडियो–भिजुयल विजिनेस हेड्क्वाट्र्स पु¥याएको थियो । टेलिभिजन उत्पादन विभागक अन्तर्गत सामान्य योजना शाखाका मुख्य संयोजक कात्सुयोसी (केन) ताकाहासीको पूर्ण औपचारिक स्वागतपछि हामीलाई कम्पनीका महाप्रवन्धक मासाहिको इवासाको कक्षमा पु¥याइएएको थियो । महाप्रवन्धक टेलिभजनको निर्माणप्रक्रिया र त्यसको विक्री–वितरण प्रणालीबारे बताउँदै जान्थे, केन त्यसलाई अङ्ग्रेजीमा उल्था गरेर हामीलाई बसझाउँथे । पछि थाहा पाएका थियौं ती महाप्रवन्धक आफैं राम्ररी अङ्ग्रेजी बोल्न जान्दथे । तर राम्ररी अङ्ग्रेजी बोल्न जाने पनि यस्ता जिममेवारीमा रहेका जापानीहरू अफिसियल भेटघाटमा जहिले पनि अङ्ग्रेजी नबोलेर आफ्नै राष्ट्रिय भाषा बोल्दारहेछन् । हामीलाई जति पनि ठाउँमा लगियो, भेटघाट गराइयो ती सबै ठाएँमा जिम्मेवार कसैले पनि अङ्ग्रेजी बोलेको सुनिएन, भलै उनीहरू अङ्ग्रेजी नजान्ने थिएनन् । सबै ठाउँमा दोभाषेले त्यसलाई अङ्ग्रेजीमा उल्था गरेर बुझाउने गर्थे । त्यो देख्दा लागेथ्यो, जसले आफ्नो भाषा, भेष र संस्कृतिप्रति गर्व गर्नसक्दैन त्यो जहिले पनि पछौटे मानसिकतामा बाँच्दछ, जस्तो हामी बाँचिरहेका छौं । आफ्ना प्रधानमन्त्रीदेखि सरकारी अधिकृत र नेताहरूसम्मै औपचारिक कार्यक्रममासमेत नेपालीको साटो बरु पाङ्दुरे पाराको सबै हाँस्ने गोर्खाली उच्चारण र शैलीमा नै किन नहोस् अङ्ग्रेजी छाँट्न गौरव मान्ने देखिरहेका हामी जापानीहरूको त्यो राष्ट्रभाषाप्रतिको सम्मान देखेर निकै प्रभावित भएका थियौं । विदेशी सञ्चारमाध्यममा सार्वजािनक अन्र्तावार्ता दिँदासमेत हाम्रा नेताहरू बरु हिन्दी बोल्न रुचाउँछन्, आफ्नो राष्ट्रभाषा नेपाली बोल्न रुचाउाँदैनन् । अरु सबै कुरा विदेशीबाट सिक्न खोज्ने हामी यस्ता कुरा चाहिं किन सिक्न चाहँदैनौं, सायद अध्ययनकै विषय हुनसक्छ । टेलिभिजनको दायतो प्लाण्टबाट फर्केर हामी नागोयाकालागि हिँडेकाथियौ साँझ पाँच बजे ।ं लगभग एक घण्टाको रेल सफरपछि नागोया क्यासल होटेल पुगेर यात्रालाई विश्राम दिएकाथियौं त्यो दिनकालगि !

टोकियो बाहिरको अन्तिम कार्यक्रम अन्तर्गतको हाम्रो निर्धारित योजना थियो– टोयोटा नगरको प्रख्यात टोयोटा मोटर कर्पाेरेसन र जापानको एउटा प्रसिद्ध पोर्सिलिन उद्ययोग रहेको सेतो–सी भन्ने ठाउँ हेर्ने । त्यही अनुरुप जापानभ्रमणको सातौं दिन हामी विहानै नागोया क्यासल होटल छाडेर टोयोटा कर्पोरसनको मुख्य कार्यालय पुगेका थियौं । प्रवेशद्वाराकै माथि राखिएको विद्युतीय संयन्त्रमा हामी तिनै जनाको नामसहित आजका अतिथिलाई टोयोटा कर्पोरेसनमा स्वागत भन्ने विद्युतीय आलेखले एनिमेसन चम्किीईरहेको थियो । कम्पनीको सार्वजनिक सञ्चार विभागका सहायक प्रवन्धक तोसियुकी आसामी, उनका सहयोगी नाओकी सुगावारा र मिस एच. साइतो हाम्रो प्रतीक्षामा थिए । जापानको गौरव मानिने टोयोटा मोटर कम्पनीको बारेमा आवश्यक जानकारी पछि उनीहरूले दिएका स्मृतिचिन्ह त्यो कम्पनीको पहिलो मोटरको प्रतिकृति (मिनीएचर)ले अझै पनि मेरो बैठक कोठामा सजिएर मलाई जापान भ्रमणको सम्झना गराइरहन्छ ।

टोयोटा अटोमोबायल म्युजियम देखाउने जिम्मा दिइएको थियो साइतोलाई । स्वचालित सबारी साधन वा अटोमोबाइलको इतिहास सम्झाउन स्थापना गरिएको यो म्युजियमले ग्यासोलिनबाट चल्ने कारको प्रारम्भिक विकासदेखि इञ्जिनचालित सवारी साधनसम्मका एकसय वर्षको विकासलाई क्रमबद्ध तरिकाले प्रस्तुत गरेको थियो–जीवन्त नमूनासहित । हज्जारौं वर्षसम्म घोडागाडीबाट अघि बढेको मानव यातायात साधनको इहिास आधुनिक युरोपको औद्योगिक क्रान्तिसँगै अघि बढेको थियो । यो विकासको क्रम दिनप्रतिदिन तीब्र हुँदैछ । एउटा पूर्जासम्म नबन्ने मुलुकको नागरिक म आफ्नो सडकमा गुड्ने टोयोटा कारका असंख्य नमूनासँग अपरिचित थिइन । म्युजियममा प्रदर्शित सन् १९३६को पहिलो टोयोटा एए सिडान कारको नमूनाभन्दा अहिले मेरै देशमा गुड्ने टोयोटाहरू पनि आश्चर्यजनक रुपले विकसित देखिन्थे । संग्रहालयकै प्रतीकका रुपमा यो पहिलो कारको नमूनालाई प्रस्तुत गरिएको थियो । सङ्ग्रहालयमा सवारी प्रमुख नमूनामात्र नभएर यसको विकासबारे जानकारी दिने करिब १० हजार पुस्तक र भिडियोको सङ्ग्रह गरिएका थिए सने १९८५मा खोलिएको यहाँको विशाल पुस्तकालयमा । यो मात्र होइन, बेलायतकाजस्तै जापानका हरेक संग्रहालय, पुरातात्विक तथा सांस्कृतिक महत्वका ठाउँहरूमा आवश्यक प्रवेश शुल्क र सवारी विश्रामस्थल शुल्क (पार्किङ शुल्क) लिइन्छ र त्यसबापत आवश्यक सेवा र सूचना प्रदान गरिन्छ । यहाँ त हामी पाहुना नै थियौं, शुल्क तिर्ने कुरा थिएन । लगभग दुईहप्ताको जापान बसाइमा अन्यत्र पनि ती शुल्क तिर्ने, हामीलाई चाहिएको कुरा किनिदिनेदेखि यावत काम हाम्रा सहयोगी वातानावे र उनी नभएका बेला अर्का सहयोगीले नै गर्ने गर्थे । सुन्दा अनौठो लाग्ला, जापान बसाइको त्यो अवधिमा मैले जापानी येन देखिन भन्दा हुन्छ । टोकियोमा एउटा घडी किन्दा आफूले लगेको अमेरिकी डलरको ट्रेभलर चेक साटेपछि मात्रै मेरो हातमा केही एन परेको थियो ।

१९सौं शताब्दीको उत्तराद्र्ध देखि १९४०सम्मका अमेरिकी–युरोपेली ५०भन्दा बढी नमूनालाई सङ्ग्रहालयले पाँच वर्गमा राखेको थियो । पहिलो वर्गमा सन् १८००को अन्त्यदेखि १९१०सम्मको प्राथमिक कालखण्डकका सवारी साधनका नमूना थिए । १९औं शताब्दीको उत्तरार्धमा इण्टरनल कम्ब्युसन इञ्जिनको सफल प्रयोग पछि युरोपमा ग्यासोलिन बाट चल्ने कारको विकास भएको थियो । १८८६मा तीन पाङ्ग्रे बेञ्जकार बनेपछि नै ग्यासोलिन इञ्जिनको जन्म भएको थियो । मूल्यको हिसाबले फोर्डको टी मोडेल सर्वसाधारणको पहुँचसम्म पुग्न सफल भयो । दोश्रो वर्गले १९१०को दशकदेखि १९२०को दशकसम्म आम उत्पादनमा आएका साधनका नमूना राखिएका देखिन्थे । यसबेलादेखि नै यिनको लोकप्रियता निकै बढेको थियो । तेश्रो वर्गमा सन् १९३०को दशकमा अमेरिकामा विकसित बढी सुविधायुक्त र आकर्षक नयाँकारका मोडेलहरू राखिएका थिए, यिनैबाट सवारी साधनको चयन फेसनको रुपमा समेत हुन थालेको मानिन्छ । चौथो वर्गमा सन् १९००देखि १९३०सम्मका रेसिङ कारहरू थिए । यस्ता रेसिङ कारको पहिलो रेस सन् १८९४मा भएको थियो रे ! पाँचौं वर्गमा भने सन् १९१०देखि १९३०सम्म विकसित लक्जरी कारका नमूनाहरू प्रदर्शित थिए । जापानी कारहरू छुट्टै कक्षमा राखिएका थिए । सन् १९३६को पहिलो टोयोडा मोडेल एए सिडानदेखि सन् १९७०सम्मका विभिन्न ५० मोडेलहरू प्रदर्सनमा राखिएका देखिन्थे । भनिन्छ सन् १९००तिर जापानमा विदेशी कार आएदेखि नै जापानीहरू आफ्नै कार बनाउने प्रयासमा लागेका थिए ।

मिहिनेती, स्वाभिमान, केही कोमल तर आत्मसम्मान र संस्कृति जाोगाउने काममा निकै कठोर जापानीहरूको चरित्र यो संग्रहालयले देखाउने उनीहरूको सफलताबाट पनि राम्रै अनुभव भइरहेथ्यो, त्यतिखेर ।

प्रस्तरकलाकोे एउटा अनुपम सङ्ग्रहालय–एलिफेण्टा केभ

“ऊ...स्ट्याण्डर्ड चार्टर बैंङ्ग त्यहाँ रहेछ !” वद्री हो कि रामुमध्ये कसको हो आवाजले हाम्रो सवारी किनानारा लागेर रोकियो । हामी नासिकबाटै दुई–तीन दिनका लागि एउटा ट्र्याक्स भाडामा लिएर अघिल्लो दिन मुम्बई आइपुगेका थियौं ।

२०३६–३७ सालपछि धेरै यो मेरो पहिलो रेल यात्रा थियो । १५०८ किलोमिटर लामो गोरखपुर–नासिकको यो यात्रा भुक्तभोगीहरूका अनुसार चोरीका हिसाबले जोखिमपूर्ण पनि हृुनसक्थ्यो । यात्रा निरापद बिते पनि उनीहरूकै सल्लाह शिरोधार्य गरेर मैले खोजमेल गरेकोेमध्ये आधाभन्दा बढी रकमको बैङ्क ड्राफ्ट बनाएकोथिएँ, जुन त्यही बैङ्कमा साट्नु थियो । त्यही साट्ने, अनि गेट वे अफ इण्डिया र एलिफेण्टा गुफा घुम्न जाने योजनाका साथ हामी रात विताएको चेम्बुर इष्टस्थित होटेल ब्रोड वेबाट विहान साढे आठ बजेतिर प्रस्थान गरेका थियौं । हामीलाई नासिकबाट ल्याउने चालक मुम्बईको सडकजालोसँग त्यति परिचित नभएकोले उसकै साथी रमेशलाई साथ लिनु हाम्रो वाध्यता थियो । त्यसैले उसलाई लिन केही समय गुमाएर हामी सिधै हुतात्माचोक पुगेका थियौं ।

निरन्तर समुद्री लहरसँग लाप्पा खेलेर आफूलाई आधुनिक, समृद्ध र विश्व आकर्षण तथा वाणिज्यकेन्द्र बनाइरहन सफल किल्लाहरूको राज्य महाराष्ट्रको मुम्बईमा यो मेरो दोश्रो पाइला टेकाइ थियो । दुबै भ्रमणका सन्दर्भ नितान्त भिन्न थिए, पहिलो यात्रा आठ वर्षअघि विसं २०५१ को चैत अन्तिम सातामा भएको थियो । त्यतिबेला नेपालकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको औपचारिक भारतभ्रमणका अवसरमा पत्रकार प्रतिनिधिका रुपमा सहभागी थिएँ म ! अहिले, मेरी जेठी सालीकीे छोरीको विवाह समारोहमा सहभागी हुने श्रीमतीको ईच्छा पु¥याईदिन आएको थिएँ म, यो सुन्दर नगरी मुम्बई र मेरो आफ्नै देशको साँ–ग्रिला सम्झाउने नासिक शहर । त्यतिबेला भ्रमण दलका विशिष्ठ सदस्यहरूदेखि प्रेसका वरिष्ठ–कनिष्ठ पत्रकार थियौं, अहिले श्रीमती र छोरी सहित सालो, उसको श्रीमती र मेरी श्रीमतीको मामाको छोरा सहितको विशुद्ध पारिवारिक संलग्नता थियो । त्यो बेला कार्यलयीय जिम्मेवारी पनि थियो, भ्रमणका समाचारहरू प्रेषित गर्ने । अहिले कुनै दायित्व थिएन, म मात्र पर्यटक थिएँ ! नितान्त निजी पारिवारिक भ्रमणमा पूर्ण समय समर्पण गर्न सक्ने आफैं आफ्नो मालिक !

बिच, सिनेमा र सङ्ग्रहालय मात्र होइन, हिन्दु स्वराजका लागि आजीवन युद्धरत शिवाजीको जन्मस्थल महाराष्ट्र किल्लाहरू पछि गुफाहरूका लागि पनि त्यत्तिकै प्रख्यात् थियो । बुद्धपूर्वकालका शिवनेरीजस्ता प्रसिद्ध गुफाहरूका अतिरिक्त लगभग सोह्र सय वर्ष अघि चट्टान कोटर बनाएको विशाल गुफा र विश्व कै उत्कृष्ट शिलाचित्रहरूको एलिफेण्टा आज हाम्रो भ्रमणको लक्ष्य थियो ।

मुम्बईका प्रमुख पाँच मार्गको संगम हुतात्मा चोक अर्थात, फ्लोरा फाउण्टेन नजिकै रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकमा ड्राफ्ट साटेर हामी भारत प्रवेश मार्ग अर्थात गेट वे अफ इण्डिया तर्फ लाग्यों । अरब सागरको अपोलो बन्दरगाहमा पानीसँगै लाप्पा खेल्दै दर्शकको मन लोभ्याइरहेको भारत प्रवेश मार्ग अर्थात गेटवे अफ इण्डिंया पुग्दा दिनको लगभग बाह्रजति बजिसकेको थियो । आजै नासिक फर्कने योजना भएकोले अन्यत्र विताउन हामीसँग धेरै समय थिएन । उता बेलायतकालीन मुम्बईमा निर्मित बेलायतको अन्तिम चिन्ह मानिने जर्ज विटेटद्वारा डिजाइन गरिएको यो स्मारक– गेट वे अफ इण्डिया हामीलाई आफैंसँग भुलाउन चाहन्थ्यो । तत्कालीन बम्बे अर्थात आजको मुम्बईका गभर्नर जनरल लर्ड सिडेनहामद्वारा ३१ मार्च १९१३ मा जगको ढुङ्गो राखिएको यो स्मारकमा ठोस संरचनाका आठवटा खुला प्रवेशद्वार देखिन्थे । प्रवेशद्वारको मुख्य ढोकाभित्र पसेपछि एउटा सानो कालो ढोका आँखा ठोक्किन्छ र त्यसको पछाडि एउटा सिँढी । त्यो सिँढी चढेर प्रवेशमार्गको माथि पुग्दा त्यहाँबाट हार्बोर अर्थात बन्दरगाहको मोहक दृश्य आँखामा ठोक्किन्छन्् रे । हामीसँग समय थिएन, माथि जान पाइने–नपाइने जानकारी पनि लिएनौं । त्यसैले हतारहतार प्रति व्यक्ति भारतीय नब्बे रूपियाँ फेरी भाडाको टिकट लिएर एलिफेण्टा जानेहरूको लाममा मिसियौं हामी !

चारैतिर अनन्त जलराशियुक्त अरब सागरको विशाल छात्ती चिर्दै अरु ठूला–साना जहाजको आउने जाने क्रम निरन्तर थियो । हाम्रो फेरी (चालीस–पचासजना अटाउने छत बाहेक चारैतिर खुला भएको सानो डुङ्गा) पनि त्यही लाममा संलग्न भयो । फेरीभित्र बसेर सागरको छात्ती चिर्दै जलविहारको आनन्द लिईरहेका हामीजस्तै सबै यायावरहरू एकै खाले अनौठो अनुभूति गर्दे थियौं सायद ! सिर्सिर् बहने शितल मन्द पवन, यदाकदा पानीभित्रबाट सतहमा टाउको निकालेर पानीमा पौडिने माछाहरू, अतल–अनन्त जलसागरमाथि नीलो आकाशमा कावा खाइरहेका चराचुरुङ्गी र पानीमाथि टाउको निकाल्ने साना माछा समत्न झम्टिने सेता बकुल्ला यस्तै दृश्यहरूको अनुपम आनन्दमा विभोर थियौं म र मजस्तै असङ्ख्य यात्रुहरू ! भूपरिवेष्ठित हुनुको पीडा भोगिरहेको मुलुकको एउटा अकिञ्चन नागरिकका लागि समुद्रदर्शन सुलभ छैन । भ्रमण क्षमताको अभावले गर्दा त्रिभुवन विमानस्थल छेउको तीनकुनेमा वर्षे पानी जमेर समुद्र र टापुको भान दिने एउटा विभ्रमलाई नै समुद्रको कल्पना साकार गर्न हामी बाध्य छौं ! तर मैले आफूलाई आम नेपालीभन्दा निश्चय नै बढी भाग्यशाली ठान्नुपर्छ, यो भन्दा अघि पनि मैले समुद्र देखेको छु, बेलायत, चीन, जापान र हङकङआदिको यात्राक्रममा धेरैपटक समुद्र टेकेको छु । जहाज र फेरी पनि यो अघि नै चढिसकेको छु । तर ती सबै पूर्व अनुभवहरू विस्मृतिको पर्दामा धुमिल भएर हो कि, यो अहिलेको अनुभूति मेरालागि अभूतपूर्व थियो । सायद अघिपछि त्यो आनन्ददायक अनुभूति बाँड्न मसँग मेरा आफन्त कोही हुँदैन थे, यति बेला म अफ्ना आफन्तहरूसँग यो क्षण राम्ररी बाँड्न पाइरहेको थिएँ । यही अन्तरका कारण हुनु पर्छ यो अनुभूति मलाई अघिकाभन्दा विशेष लागिरहेको थियो ।

लगभग एक घण्टा लाएर हाम्रो फेरीले १० किलो मिटर जतिको यात्रा तय गर्दै प्रस्थानबिन्दुबाट उत्तरपूर्वस्थित एलिफेण्टा टापुको फेदी श्वेतेतबन्दर अवतरणस्थल टेक्यो । हामी ओर्लिएको यो सानो बन्दरगाहबाट गुफा क्षेत्र पुग्ने सिंढीसम्मको करिब चौथाई किलोमिटर बाटो पनि तपाइँ हिंड्न सक्नुहुन्न भने भारतीय रेल सेवामा तयार छ ! केटाकेटी खेल्ने हम्रो भृकृटीमण्डपको बाल रेलजस्तै भए पनि यसले तपाइँलाई सेवा र भारतीय रेल तथा पर्यटन विभागलाई राम्रै श्रोत उपलब्ध गराउन ठूलै योगदान गरेको छ । अझ तल समथरबाट गुफासम्म जान तपाइँमा १२०वटा सिंढी चढ्ने आँट छैन भने आराम कुर्सीजस्तै खटियामा बोकेर तपाइँलाई माथि पु¥याइदिन कुल्ली–भरियाहरू तयार छन् । यी सबैको व्यवस्था भारतीय पर्यटन विभागले गरेको छ, तपाइँले निश्चित शुल्क तिरे पुग्छ ! समय भैसकेकोले खाना खाएर मात्र हाम्रो यात्रा सिंढंी चढ्दै गुफातर्फ अग्रसर भयो । गुफा हेर्न तिर्नु पर्ने प्रतिव्यक्ति दश भारु शुल्क बुझाएर प्रतीक्षित स्थल तर्फ हाम्रा आँखा डोहोरिए ।

अरब सागरको अतल गहिराईका माझ अवस्थित हरियालीपूर्ण एउटा सानो टापु एलिफेण्टा सत्रौं शताब्दीको एउटा आश्चर्य मानिन्छ । घारापुरी अर्थात किल्लाको नगर पनि भनिने यो सानो टापु समुद्री सतहभन्दा लगभग ७६ मिटर माथि रहेको छ । चट्टान काटेर ४ देखि ९ शताब्दी एडीको कालखण्डमा निर्मित सातवटा गुफा र ती गुफाभित्र विशाल शिलामूर्तिहरूको अनुपम थियो यो । यो टापुको वर्तमान नाउँ एलिफेण्टा राख्ने पुरोहित चाहिं डचहरू रहेछन् । सन् १५३४ मा यस टापुको अर्को प्रवेशद्वार वा बन्दरगाह, राजबन्दरमा पहिलोपल्ट उत्रिएका पोर्चुगिजहरूले यो गुफा बाहिर हात्तीको एउटा विशाल मूर्ति देखेर यसको नाउँ एलिफेण्टा केभ राखिदिएछन् ।

दुईवटा साना पहाडयुक्त करिब ८ वर्ग किलोमिटर भूभाग र हाल दुई हजारभन्दा पनि कम बासिन्दाको यो टापु मुम्बईसँगै सम्राट अशोक (२७३–२३२)को नियन्त्रणबाट हटे पछि शतवाहन राजाहरूको नियन्त्रणमा पुगेछ । शतवाहनले यही एलिफेण्टाको मङ्गलपुरीलाई आफ्नो राजधानी बनाएछन् ।

यसरी लगभग एक घण्टाको आनन्ददायी समुद्री यात्रापछि मुम्बई महानगरको कोलाहल र भीडबाट पर...प्राचिन कलाकृतिबाट सिंगारिएको शान्त एलिफेण्टा आइपुग्दा साँच्चिकै स्वर्गीय अनुभव भइरहेको थियो । फेरिबाट ओर्लिएर ढुङ्गे सिंढीचढ्दै माथि गुफा क्षेत्रमा पुगे पछि विशाल विशाल गुफाभित्र प्रस्तर कलाका अनुपम मानवकौसल देख्न पाइयो । यी विशाल गुफाहरूमध्ये प्रमुख भनिने ठूलो गुफालाई कलात्मक बुट्टा कुँदिएका विशाल दुई शिलास्तम्भले काँधमा उचालिरहेका थिए । उत्तर, पूर्व र पश्चिम तीनतिर जाने मार्ग सहितको लगभग ४८ वर्गमिटर ठाउँ ओगट्ने यो विशाल गुफा–हलको करिब पाँच मिटर अग्लो छतलाई ३६ वटा शिलास्तम्भहरूले थेगेका छन् । समयको लामो प्रहार पछि आफ्नो मौलिक रङ्ग र आकार हराएको देखिए पनि पूरै छतमा भित्तीचित्रका रेखाङ्कन देख्न सकिन्छ ।

यो मुख्य हलको पश्चिमी भागतिरको शिवमन्दिरमा चारवटा ढोकाजस्ता शिलास्तम्भ देखिए । ती चारै ढोकाका दुईबटै छेउमा दुई–दुई जनाका दरले आठ द्वारपालका मूर्तिहरू ठडिएका थिए । चार दिक्पालका रूपमा पूर्वाभिमुख मूल मन्दिरको पूर्वपट्टि राजसी पोशाकमा इन्द्र, दक्षिण तर्फ यम, पश्चिम तर्फ वरुण र उत्तर तर्फ कुवेर आ–आफ्ना अस्त्रआयुध र बाहनमा खडा देखिन्छन् । मन्दिरको मध्यमा स्थापित एउटा शिलापीठमाथि एक मिटरजति अग्लो शिवलिङ्ग रहेको छ । प्रमुख धार्मिक महत्वको स्थान मानिने यो शिवलिङ्गको पूजा गर्न प्रशस्त मानिसहरू आउने गर्छन । महाशिवरात्रिका दिन त ठूलै मेला लाग्ने गर्छ, एकजना पथप्रदर्शक यसै भन्थे ।

यही शिव मन्दिरको पछाडि पश्चिमी खण्डमा शिवद्वारा गरिएको अन्धक अर्थात अन्धकाशुर बधको चित्रश्रृङ्खला रहेको छ । यसको साथै शिव–पार्वती विवाहको चित्र अङ्कित अर्को श्रृङखलाले ती अज्ञात शिल्पीहरूको सम्मानमा शिर नुहाउन मन लाग्छ । कन्यादानपूर्व पार्वतीलाई दायाँ राखेर उनको एक हात समातेका शिव, वस्त्राभूषणमा सज्जिएकी दुलही पार्वतीको स्निग्ध रूप, पछाडि पर्वतराज हिमालय, पार्वतीकी आमा मेनकाका साथमा भाइ मैनाक ! छेउमैं विवाह गराइरहेका मुख्य पुजारी ब्रम्हाजीको बेदपाठ र विष्णु तथा अन्य देवताहरूको गरिमामय उपस्थिति– साँच्चिकै शिवपार्वती विवाहको स्वथानी ब्रतकथा सम्झाएका थिए यी दृश्यले ।

यो विशाल गुफाको अर्को प्रमुख आकर्षण त्रिमूर्ति महेश अर्थात त्रिमुख शिवको लगभग छ मिटर अग्लो अर्धकद (बस्ट) मूर्ती हो । शिवका यी तीन मुहारले श्रृष्टि, स्थिति र संहारको चित्रण गरेका छन् । शिवलाई श्रृष्टिकतकर्ता, पालक वा विश्वब्रम्हाण्डको संरक्षक, र संहारक वा संहारकर्ताका रूपमा चित्रित गर्ने यो मूर्ति साँच्चि नै भव्य देखिन्छ । मूर्तिको अर्को दिशामा द्वारपालहरूका विशाल मूर्ति रहेका छन् । पछाडिको अर्को गुफाको विशाल शिलापट्मा शिवका जीवनमा भएका विभिन्न घटनाहरू चित्रित चित्र श्रृङ्खला देखिन्छन् । यो श्रृङ्खलाको केन्द्र्रीय आकृतिमा अष्टभुज नटराज शिव रहेका छन् । ती आठ हातहरूमध्ये अहिले केही हात भाँच्चिएका छन्, र वायाँ गोडा पनि फुटेको छ । फिँजारिएको जटायुक्त शिर ताण्डवनृत्यमा गतिमन देखन्छ । यो शिवमूर्तिको वायाँ शिवपार्वतीको अर्को ठूलो मूर्ति देखिन्छ, जसमा पार्वतीका शरीर गहनाले ढाकिएका छन् । ती शिलाचित्र श्रृङ्खलामा ताण्डव नृत्यका सबै १०८ भावभङ्गी देखिने चित्रहरू चित्रित गरिएका छन् र पार्वती पनि त्यो नृत्यमा सहभागी देखिन्छिन् । शिवले एउटा पाउ उचालेर नृत्यको मुद्रामा आफ्नो शिर छोएको उध्र्वताण्डव आकृति अत्यन्त बेजोड लाग्छ ।

त्यसको दायाँतिर अत्यन्त कुशलतापूर्वक बनाइएको गणपति र कुमार कार्तिकेयका मूर्ति रहेका छन्, साथमा नन्दी–भृङ्गीका आकृतिहरू पनि देखिन्छन् । आफ्नो बाहन नन्दीमाथि हात राखेका पाँच मिटर अग्लो अर्घनारीश्वर नटेश्वर नटराज शिवको अर्को मूर्तिलाई शिल्पकलाको अनुपम उपहार मान्नु पर्छ । पाँचवटा हाँसले बोकेको कमलासनमा बसेका चतुर्मुख ब्रह्माको अर्को शिलामूर्ति पनि त्यहाँ देखिन्छ । कालान्तरमा फुटेर यो ब्रह्मामूर्तिको शिर भग्न भएको देखिन्छन् । दायाँपट्टि पार्वतीको मूर्तिमाथि एक छेउमा गरुडारूढ विष्णुका साथै पृष्ठभूमिमा हात्ती चढेका ईन्द्र, बरुण र अन्य विभिन्न देवीदेवता र ऋषिमुनिहरूका दृश्य कुँदिएका छन् ।

यस्तै अर्को एउटा शिलाचित्र श्रृङखलामा गङ्गा अवतरणका दृश्यहरू देखिन्छन् । पार्वती छेवैमा उभिएकी विशाल शिव–पार्वतीको यो मूर्तिमा शिवका केशमाथि उठेका र शिरमाथि केशमा त्रिवेणी गङ्गा, यमुना र सरस्वती नदीका प्रतीक तीनवटा नारी आकृतिका शिर देखिन्छन् । यी तीनवटा नदी अलाहवाद नजिकै प्रयागमा गएर एक आपसमा मिल्छन् ।

किम्बदन्तीका अनुसार भगीरथको प्रयत्नबाट भगवान शिव खुशी भएर गङ्गालाई स्वर्गबाट धरतीमा पठाएको भनाइ त छँदै छ, एउटा मर्को किम्बदन्ती अनुसार मुम्बईभन्दा लगभग २१५–२० किलोमिटर पर नासिक क्षेत्रको त्रयब्केश्वरमा पर्ने ब्रह्मगिरि पर्वतमा गौतम श्रृषिले भगवान शिवको कठोर तपस्या पछि आशिर्वाद पाएर शिवको जटामा लुकेका गौमती, गङ्गा र गोदावरी नदीलाई स्वर्गबाट धरतीमा ल्याएका थिए रे ! ती नदीको तीब्र बेगका कारण धरतीमा हुने विनाशलाई रोक्न वा वेग मत्थर पार्न उनै गौतमले कुशको माध्यमबाट ब्रत गरेकाले त्यो क्षेत्रलाई कुशब्रत तीथै भनिने गरेको हो रे ! यस्तै एउटा शिलाफलकमा कुँदिएका चित्रहरूको विषय पास्सा खेलिरहेका शिव–पार्वती लगायत शिव–पार्वती विवाह रहेको छ । अर्को अनुपम लाग्ने शिलाफलक शिवको ताण्डवनृत्य र त्यो नृत्य हेरिरहेका पार्वती र गणेश प्रदर्शित चित्र श्रृङ्खला हुन् । यस्तै यस्तै अनुपम शिलाचित्रहरूको जीवित सङ्ग्रहालय झैं लाग्ने यी गुफाहरू मानव सभ्यताको अनन्त यात्राको एउटा जीवन्त प्रमाण रहेका छन् । शिव र उनीसम्बन्धित विशाल प्रस्तर मूर्तिहरूको अनुपम जीवित सङ्ग्रहालय झैं लाग्ने यो प्राचिन धरोहर प्रस्तरकलाकै अनुपम उदाहरण झैं लाग्छ ।

हेर्नु धेरै थियो, आँखाको प्यास मेटिएको थिएन । समय भने चिप्लिएर परै पुगिसकेको थियो । यहाँबाट फर्केर रामु र उसको साथीलाई दिल्लीको लागि छत्रपति शिवाजी स्टेसनमा रेल भेट्न छोडेर हामी नासिक फर्कने योजनामा थियौं । यहाँबाट झण्डै दुई सय दश–बीस किलोमिटरको नासिक यात्रा, त्यसमाथि पनि हाइवे नभेटुञ्जेले मुम्बई महानगरको ट्राफिक जाम ! अब नहतार्रिई सुखै थिएन । त्यसैले आँखा र मनको प्यासलाई आफैंसँग लिएर हामी मुम्बई–नासिक फर्कन एलिफेण्टालाई छाडेर गेट वे पु¥याउने फेरीको खोजीमा लाग्यौंं । हुतात्मा चोकबाट हामी बम्बे सेण्ट्रल रेल स्टेसनको खोजीमा मेरिनड्राइभको बाटो हुँदै सायद घुमौरो बाटो अघि बढ्यौं । पहिलो कुरा त रेल स्टेसन नै गलत भनेछ रामुले, बम्बे सेण्ट्रल नभएर उसले जानु पर्ने रहेछ छत्रपति शिवाजी टर्र्मिनस वा पुरानो भिक्टोरिया टर्मिनस । त्यो स्टेसन गेट वेबाट हुतात्मा चोकहुँदै डा.दादाभाइ नोरोजी मार्ग भएर सोझै अघि बढेको भए केही बेरमैं भेटिने रहेछ । हामी भने सायद जानै नपर्ने चर्चगेट हुँदै आएकै बाटो लागे छौ,ं ं बम्बे सेण्ट्रलको खोजीमा ! बाटोमा प्रधानमन्त्री निवास, भारतीय प्रधानमन्त्री अटलविहारी वाजपेयीको घुँडा अप्रेसन भएको जसलोक अस्पताल (हाम्रोमा भए प्रधानमन्त्री,मन्त्री र ठूलाबडाहरू आफ्नो अस्पताल र डाक्टरहरूमाथि विश्वास नगरेर समुद्रपार पुग्ने थिए रुघाखोकीको मात्रै उपचारका लागिसमेत), बाटैमा देखियो । भारत कोकिल लतामङ्गेसकरको निवास, मुम्बईको प्रशिद्ध महालक्ष्मी मन्दिरकै्र आसपासतिर रहेछ, ड्राइबरले देखाइदियो । मुम्बईको सदाबहार सडकभीडमा आधासमय मार्गमैं अड्किएर बल्लबल्ल बम्बे सेण्ट्रल त पुगियो, पुगे पछि पो थाहा भयो पुग्नु पर्ने यो होइन, अर्कै ठाउँ रहेछ । निकै लामो बाटो फेरि फर्किएर बल्लबल्ल छत्रपति शिवाजी टर्मिनस पुगेपछि सन्तोषको लामो सास फे¥यौ, कमसेकम अब आ–आफ्नो बाटो त लाग्न पाइने भयो । यो बेकार गुमाउनु परेको लगभग दुई घण्टाको अलमलले मुम्बईका अरु केही प्रसिद्धस्थल हेर्ने हाम्रो धोको अपूरै रह्यो ।

आदिवासी कोलीहरूको मौलिक मुम्वादेवी मन्दिरस्थलमा निर्मित छत्रपति शिवाजी टर्मिनस मुम्बईकै एउटा विशिष्ट स्मारकका रूपमा प्रख्यात रहेछ । इटालियन गोथिक र भारतीय वास्तुको प्रभाव सम्मिश्रित यो भवनको निर्माण दश वर्ष लगाएर सन् १९८८मा सम्पन्न भएको रहेछ । प्रवेशद्वारमा विशाल शिलाका सिंह र बाघद्वारा रक्षित यो भवनको प्रमुख आकर्षण भवनको मध्य शिरोभागमा बनेको विशाल डोममा रहेको प्रगतिसूचक बत्ती बोकेकी नारी मूर्ति रहेछ । प्रमुख प्रवेशद्वारमा चारवटा ढोकाहरू थिए । मुम्बईकै सबैभन्दा ठूलो योे स्टेसनबाट दिनहुँ एक हजारभन्दा बढी रेल र बीसलाख जति यात्रुको आवागमन हुन्छ रे !

शिवाजी टर्मिनसमा रामु र उसको साथीलाई छाडेपछि मुम्बईमा साथ लिएका चालक रमेशलाई छाड्न चेम्बुर पूर्व उसको डेरा तर्फ लाग्यौं । बाटामा बङ्गलादेशी शरणर्थीहरू र त्यहींका भूमिहीन गरिबहरूको बस्ती अथवा स्लम क्षेत्रले मुम्बईको वैभवलाई व्यङ्ग गरिहे झैं देखिन्थ्यो ! आखिर हुने–नहुने बीचको चर्को खाडल जतिसुकै सम्पन्न ठाउँले पनि मेट्न सकेको छैन, बरु तिनैको शोषणमा आफ्ना गगनचुम्बी महल र ऐस आरामको जोहो गरिरहेछ । तिनै विषमताका उदाहरण हेर्दे रमेशलाई छाडेर नासिकदेखिको हाम्रो चालक राजु नासिकको लागि हाइवे समात्ने धुनमा लाग्यो । रात छिप्पिंदै थियो, हाइवेको निरापद यात्रामा हाम्रो ट्र्याक्सले तीब्र गति लिंदै यात्रा छिचोल्यो । राती ११ बजे नासिक, जानुका अर्थात मेरी सालीको घर पुगेर बल्ल विश्रामको स्वास फेरियो । मेरा साडुभाइ अशोक लगायत सबै हामीलाई नै पर्खिरहेका थिए । अकशोकले नै निकै आग्रह गरेपछि हल्का ड्रिङ्क्स लिएर खानपिन सक्यौं र एक बजे बल्ल त्यो दिनलाई विदा गर्यौं ।

मधुपर्क, वर्ष ३६ अङ्क ३ पूर्णाङ्क ४१०, साउन २०६०

सागर छेउ उर्लँदो छाल र विडम्बना पचाउँदो मुम्बई

“ए...धेरै उता नजानोस्, छालले हुत्याउला !” श्रीमतीको चेतावनीयुक्त स्वर मलाई सतर्क गराउँदै थियो । नासिकबाट मुम्बई आएर इष्ट चेम्बुरको होटेल ब्रोडवेमा साँझको चिया खाएपछि हामी जुहु बिचको समुद्रदर्शनमा हराइरहेका थियौं ।

“पूर्णिमाको रात भएको भए अझ कति रमाइलो हुन्थ्यो होला !” हाम्रो यात्रा टोलीको अर्को सदस्य रामु पूर्णचन्द्रको समुद्री ज्वारभाटा र त्यसमा खेल्दाको रोमाञ्चको कल्पना गर्दै थियो सायद । यो रात केही जुनेली भए पनि पूर्णचन्द्रको रात थिएन ।

अँध्यारो निष्पट्ट नभए पनि पूरै जुनेली रात पनि थिएन त्यो । जुनको मधुरो उज्यालो र रातको धुर्मिलो अँध्यारोलाई जुहु बिच छेउका पसलहरूमा लहरै बलेको विजुलीको उज्योलोले टाढा भगाइदिएको जस्तो लाग्थ्यो । असङ्ख्य मानिसका नाङ्गा गोडाहरू छिन छिनमा जिस्क्याउन आउने तीब्र समुद्री लहरको प्रहार थेगेर आफूलाई उभ्याउने कोसिसमा आनन्दित देखिन्थे । तिनै रोमाञ्चक अनुभव सँगाल्नेहरूमध्येमा हामी पनि थियों– भूपरिवेष्ठित मुलुकका सात यात्री !

हो, त्यति बेला समुद्रबाट बञ्चित भूपरिवेष्ठित नेपालका हामी सातजना यात्रीहरू जुहु बिचको क्षणक्षणमा पादप्रक्षलन गर्न हुत्तिएर आउने त्यो समुद्री छालको स्पर्शले आल्हादित थियौं । सायद समुद्रलाई आफ्नो अस्तित्वबोध थियो, र आफूलाई जलनिधि बनाइरहन मेरै हिमनदको आलिङ्गन अपरिहार्य छ भन्ने ऊ राम्ररी जान्दथ्यो । त्यसैले त्यही हिमाली मुलुकको हामी यात्रीको स्वगतमा ऊ खुसीले उत्ताउलिँदै थियो त्यतिखेर !

समुद्रदर्शन मेरा लागि पहिलो थिएन यो , बेलायत, जापान र हङ्गकङ आदि ठाउँमा नौका विहारको अवसर यस अघि पनि पाएको हुँ मैले । यही जुहु बीचको स्पर्श पनि मेरा लागि दोश्रो थियो । तर मेरो यात्रा समूहमा मेरी श्रीमतीजस्ता समुद्र नदेखेका अरु पनि थिए । उनीहरूका लागि मात्र होइन, मेरै लागि पनि रातको कृत्रिम बिद्युतप्रकाशका बीच छिनछिनमा उर्लिएर आउने ज्वारभाटा र त्यसमा रमाएर खेल्दाको अनुभव यो पहिलो र नौलो थियो ।

बीचमा परेको एउटा सन्दर्भ मात्र थियो हाम्रो यो जुहु यात्रा । हाम्रो मूल उद्धेश्य थियो नासिकमा महाराष्ट्रको एउटा बैवाहिक समारोहको पाहुना बन्नु । विवाह समारोहको व्यस्तता पछिको हाम्रो योजना थियो नासिकबाट मुम्बईको यात्रा । गाडीको व्यवस्था मिलाउन हाम्रा आतिथेय जानुकाकै घरमा कामकाज सघाइदिने मङ्गेशलाई अघिल्लै दिन अनुरोध गरेका थियौं । जानुकाका श्रीमान् अशोक र मङ्गेशले सुविधाजनक टाटा सुमोको व्यवस्था मिलाई दिएका, मुम्बई आउन जानका लगि । साढे बाह्र बजे नासिकबाट हामीलाई लिएर हिँडेको टाटा सुमो नासिक–मुम्बई हाइवेको फराकिलो सडक हुँदै अघि ढेको थियो । लगभग आधि बाटोसम्म साना तिना डाँडा–पहाडको छेउछाउ हल्का उकालो–ओरालो र घुम्ती–मोडहरू हुँदै सल्ल बग्ने यो सडक यात्राले हामीलाई कता कता हाम्रै राजमार्गहरूको सम्झना गराइरहेथ्यो । नासिकदेखि १८५ किलोमिटर पश्चिम स्थित मुम्बई महानगरीको यात्रा लगभग सोढे तीन घण्टामा पूरा भएपछि हाम्रो पहिलो गन्तव्य थियो टाटा मेमोरियल क्यान्सर अस्पताल । मेरी एकजना नातेदार स्तनक्यान्सरको उपचारमा थिइन् । त्यही सन्दर्भमा उनको स्लाइड परीक्षणकालागि सके सिनियर प्रोफेसर प्यथोलोजिस्ट डाक्टर अनीता भर्गिजसँग भेटेर, नसके परीक्षण पछि नेपाल पठाएदिने अनुरोध गरेर बुझाउनु थियो । अस्पतालको काम सकेर बल्ल हामी होटेलको खोजीमा लागेका थियों । दादर इस्टतिर भनेजस्तो एसी कोठा नपाए पछि हामी चेम्बुर तिर लागेका थियौंं ड्रइभरकै सल्लाहमा । चेम्बुरमा नपाइएको होइन, ठूलो बजेटको चार–पाँच तारे होटेल हाम्रो पहुँचमा थिएन । उता एसीविहिन साना लजहरूमा त्यो गर्मीको रात विताउन सक्ने आँट पनि थिएन । चेम्बुर आएर होटेल ब्रोडवेमा सुहाँदो कोठा लिएर केही बेरको विश्राम पछि जुहु तर्फ लागेका थियौं हामी–खाना जुहु किनारामैं खाने योजना सहित !

मुम्बई शहरको केन्द्रबाट लगभग ३० किलोमिटर पर बान्द्रा –खार मार्गमा लमतन्न तेर्सिएको लामो बलौटे यो सागर तटमा हामी पुग्दा लगभग पाइलो राख्ने ठाउँ थिएन । आज मङ्गलबार, विदाको समय नपर्दा त यति बिन भीड छ भने विदा र पूर्णचन्द्रको समय कति व्यस्त होला जुहु, म आफैंसँग सोध्दै थिएँ । हाम्रो ड्राइबरको साथी रमेश भन्थ्यो, यो तट समुद्री ज्वारभाटा आउँदा पनि अरु तटभन्दा सुरक्षित भएकोले मानिसको बढी आवागमन हुन्छ । रमेश मुम्बई घुमुञ्जेल गाडी चलाउने र हामीलाई आवश्यक जानकारी दिने पथप्रदर्शक थियो । मुम्बई महानगरको भूलभूलैयासँग राम्ररी परिचित नरहेको नासिक विासी हाम्रो ड्राइबर राजुले खोजेको उसकै साथी थियो ऊ । आफूलाई स्थानीय एउटा अखबारको प्रतिनिधि बतानउने रमेश पेशाले भने पत्रकार लाग्दैनथ्यो । जे होस् मुम्बई घुमुञ्जेल उसबाट राम्रै सहयो पाएकाथियौं हामीले ।

हल्का गर्मीमा चिसो नरिवलपानीको मीठो चुस्कि लिँदै समुदी्र लहरको आनन्द लिइरहेको जलसागर छेउको समानान्तर जनसागरमा हामी पनि विन्दुविन्दु बनेर मिसिएका थियौं । दिनहुँ हजारौं पर्यटक र स्थानीय बासिन्दाको सायंकालीन भ्रमणस्थल जुहु बीच भने लाग्थ्यो आफ्नो सौन्दर्य क्रमशः गुमाउँदै छ, आफूलाई प्रदूषणको खाडलमा खसाल्दै छ । साँझ खस्दानखस्दैदेखि मध्यरातसम्मै व्यस्त रहने जुहु किनार छेउका स्थायी अस्थाई चमेनागृह र पसलहरू अत्यन्त व्यस्त थिए, मानिसहरू एक–दुई र समूह–समूहमा खानपिनको आनन्दमा रमिरहेका थिए । सधैं घर र होटेलको खानाको एकरसता मेटाएर समुद्री छाल निहार्दै खुला आकाशमुनिको प्रकृति–काखमा भोजनको आनन्द साँञ्चि नै रोमाञ्चक थियो ! जुहु बिचमा अरु सरह नै धेरैबेर समुद्री छालसँगै लुकामारी खेलेर विताएका थियौं हामीले पनि त्यो साँझ । लामो समय पानीसँग खेलेर थाकेपछि खुला आकाशमुनि विच्छ्याइएको टाटमाथि विजुलीको मन्द प्रकाशमा पल्लेटी कसेर स्वादिलो महाराष्ट्रिय खाना खानुको त्यो अनुभव हाम्रालागि त झनै नौलो थियो । मानिसको चाप र चमेनागृह, विभिन्न बस्तुका व्यापारी, सार्वजनिक सञ्चार केन्द्रहरू, जुहु र मुम्बई भ्रमण सम्झाउने सम्झौटा बस्तुहरू अर्थात सोभेनियर विक्रेता, यी सबैको गतिविधि, चाप र बेवास्ताले सुन्दर सागर किनारालाई भने कता कता कुरुप बनाउन थाले झैं अनुभव हुन्थ्यो।

निरन्तर समुद्री लहरको थपेडासँग लाप्पा खेल्दै आफूलाई सिङ्गै भारतको वित्त–वाणिज्यको केन्द्र बनाउन सफल बनिरहेको छ ३५० किल्लाभित्र सुरक्षित रहेको महसुस गर्ने महाराष्ट्रको राजधानी यो मुम्बई शहर ! यसका लागि लामो समयदेखि राख्दै आएको कपास र कपडा उद्योगको केन्द्रको पूर्वपहिचान भने यसले गुमाइसकको छ । पुरानो पहिचान गुमाएर पनि मुम्बई आफनो नयाँ पहिचानमा फुरुक्क देखिन्छ । परम्परालाई त्यागेर रूपजीवी सिनेनगरीको नाउँमा अनुवाद हुँदै बाह्य सौन्दर्य र चमकदमकलाई नै सबै थोेक मान्न थालेको छ मुम्बईले, धेरै यसै भन्छन् । विश्वकै ठूलो र घनीमध्यको एउटा महानगर मुम्बईले आफ्नो नाउँमा भने चलचित्रको प्रभाव पार्न दिएको छैन, स्थानीय मुम्वा देवी (महादेवी पार्वतीकै एक रूप) कै नामबाट आफ्नो नाम ग्रहण गरेको छ । बेलायती उपनिवेशकालीन अङ्ग्रेजी जिभ्रोले बटारेर आफूलाई बम्बे बनाइदिएकोमा यसलाई चित्त बुझेन र संभवतः आफ्नो उपनीवेसीय भूत भुलाउन फेरि मुम्बाई भनाउन थालेको छ यसले । उता भौगोलिक–राजनीतिक हिसाबले उपनिवेश नभएर पनि मानसिक र संस्कृतिक उपनिवेश बन्न रुचाउने हामी नवशिक्षित अङ्गे्रजीवाजहरू चाहिँ आफ्नो काठमाडौं र काष्ठमण्डपलाई क्याट्माण्डु बनाउनमा मरिमेट्दै छौं । मुम्बई बाहिर देख्दा जति सुखी छ, जति खुसी छ, र जति सम्पन्न र लावण्यमयी मोहनी रुपको मादकता छलचल्काउन सफल देखिन्छ भित्रभित्रै यो पनि जराग्रस्त बन्दै जाँदै छ । मुम्बई बासीहरू नै यसो भन्छन् । मुम्वाईको बाहिरी मोहिनी रुपभित्र हतपत नदेखिने अभावहरू पनि छन्, कुरुपताहरू पनि छन् । धनवैभवको प्रदर्शनभित्र लुकिरहेको गरिबीको असह्य मार सहँदै बाँच्न बाध्य जनताको ठूलो संख्या पनि छ । यसैले मुम्बईको बाहिरी रुपलाई चुनौती दिँदै उभिएका छन् – असंख्य भोपडपट्टीहरू पनि । जल, वायु र ध्वनि प्रदूषणका विकराल समस्या लुकाउन खोजेर पनि सकेको छैन मुम्बई ! मानवसागरको अपार भीडयुक्त कङ्क्रिटको महाजङ्गलले छोप्दै गएको आफ्नोे आन्तरिक सौन्दर्य यसले अब जोगाउन सक्दैन सायद । असंख्य गरिबहरूको ठूलो सङ्ख्यामा उपस्थित झोपडबस्तीहरूले वर्षइरहेका विदू्रप व्यङ्ग्यबाँणको सामना गर्न पनि मुस्किलै छ यसका वैभव र गगनचुम्बी अट्टालिकाहरूले ! अरु पनि धेरै छन् पर्यटकीय बिहङ्गावलोकनले ठम्याउन नसक्ने विकृति र विडम्बनाहरू स्वप्ननगरी मुम्बईसँग । त्यसैले महाराष्ट्रको राजधानी यो आधुनिकतम शहर विडम्बना नै विडम्बना भित्र बाँचेको छ । यो भारतको आर्थिक शक्तिकेन्द्र हो, अर्थ, व्यापार, सञ्चार र यातायातको समेत प्रमुख केन्द्र हो ! भारतीय बिदेश व्यापारको ४६ प्रतिशत जति आयात–निर्यात विशाल समुद्री बन्दरगाहको यही शहरले गर्छ । तर गगनचुम्बी भवन र सिनेनगरीको स्वप्न व्यापारमा रमाउने विलाशीहरूको मात्र होइन मुम्बई, दारिद्र्य, दैन्य र अभावमा बाँच्न विवस हज्जारौं झोपडवस्तीवालाहरूको पनि बासस्थल हो यो । मुम्बई जसरी आफूलाई मायानगरीको सम्बोधनमा गर्व गर्छ सायद त्सरी नै एसियाकै सबैभन्दा ठूलो झोपडबस्तीको संज्ञाकाट उत्पन्न पीडामा दुःको आँसु चुहाउन पनि वाध्य छ यो मायानगरी ! मुम्बई सायद यिनै विडम्वनामा आफ्नो अश्तित्व देख्ने गर्छ र त्यसैमा रमाउँछ ।

सागरपरिवेष्ठतताले सिर्जना गरेको सिमाका कारण यो आफैंमा खुम्चिन पनि वाध्य छ । नगरविस्तार गरेर मानव सागरको चाप र विग्रँदो पर्यावरणीय सुधारलाई गति दिन त्यति सजिलो छैन यसका लागि । सक्दो नगरेको होइन यसले आफूलाई फैलाउन । समुद्रभित्र समेत आफूलाई फैलाएर विशाल बन्न मुम्बईले दक्षिणको कोलावादेखि उत्तरको महिम र सिहोनसम्मको भूभागमा मात्र सीमित आफ्नो प्रारम्भिक आकारलाई फैलाउँदै पनि गयो । सन् १९५० तिर यसले पानीमाथि बाटो (कजवे) बनाएर अर्को एउटा ठूलो टापू सास्लेटलाई आफूमा मिलाएर उत्तरतर्फ फैलियो । त्यतिले पनि चित्त नबुझेर त्यसरी नै ससाना सातवटा अरु टापूहरू मिलायो आफूमा र आजको विशाल मुम्बईको स्वरूप ग्रहण ग¥यो । यसरी पश्चिम भारतको कोङ्कण तटका सातवटा साना टापु मिलेर बनेको मुम्बईको एक चौथाई जति भूभाग त समुद्रसतहभन्दा तलै छ ।

सप्तद्विप वा टापु कोलावा, फोर्ट, बाइकुला, परेल, वर्ली, मातुङ्गा र महिम को वर्तमान स्वरुप महानगर मुम्बई त्योभन्दा पनि अझ पर मुलुन्ददेखि दहिसारसम्म फिंजारिएको छ । रात्रिजीवनमा मस्त लगभग एक करोड जनसंख्याको यो महानगर भनिन्छ, कहिल्यै निदाउँदैन ! लगभग एक चौथाई भूभाग समुद्री सतहभन्दा तल रहेको मुम्बईले नरिमन प्वाइण्टमा आफ्नै पौरखले माटो भरेर समुद्रको केही अंश खोसेको पनि छ । मुम्बई अब त्यहाँका आदिवासी गुफामानव र माझी जाति कोलीहरूको सांस्कृतिक नियन्त्रण र प्रभावमा छैन । पूर्वी र पश्चिमी कोलावा हिल तथा ५५ टिर अग्लो मालावार हिलले छेकेर समुद्री जलप्रवाहको प्रकोपबाट मुम्बईका समुद्रमुनिका भूभागलाई बचाएको यो अनौठो महानगरले आज आफ्नो आदिवासी माझी संस्कतिलाई बहुसंस्कृतिको महासागरमा समाहित गरिसकेको छ । अब आफ्ना आदिवासी गुफामानव र कोलीहरूको सांस्कृति र जनजीवनलाई शोध र अनुसन्धानको सीमाभित्र खुम्च्याइुकेको छ मुम्बाइले !

यसले बेलायती उपनिवेश हुनुभन्दा अघि सन् १५३४ तिर नै पोर्तुगिजहरूको हैकम भोग्यो । उनीहरूले यसलाई बोम्बाइम नाम दिए, जसको अर्थ हुन्थ्यो–असल खाडी । भारतीय शासकहरूमात्रै होइन विभिन्न विदेशीहरूबाट समेत शासित हुने नियति भोगेको मुम्बईले दाइजो बनेर पोर्तुगलबाट बेलायतको अधिनायकत्व पनि भोग्नु प¥यो । बेलायतका राजा चाल्र्स द्वितीयले पोर्चुगलकी राजकुमारी क्याथरिन दे ब्रागाञ्जासँग बिहे गरे पछि मुम्बई राजकुमारीको दाइजोमा बेलायतको सम्पत्ति बन्यो र पछि इष्ट इण्डिया कम्पनीलाई सुम्पिइयो ।

चौपाटी र जुहु बीचको भेलपुरी, मेरिन ड्राइभको भिक्टोरिया राइड, ह्याङ्गिङ गार्डेन र कमला नेहरु पार्कको सफर, गेटवे अफ इण्डिया र नौका विहारमा रमाउने मुम्बईका आफ्नै खालका पीडाहरू पनि कम छैन् । अफगान चर्च; प्रिन्स अफ वेल्स म्युजियम, नेसल ग्यालरी अफ मोडर्न आर्ट, जहाँगिर आर्ट ग्यालरी, भिक्टोरिया एण्ड अल्बर्ट म्युजियम, नेहरु प्लेनिटोरियम, महालक्ष्मी मन्दिर आदि को सुरुचिपूर्ण स्थापत्य र कलासंस्कृतिको पर्याय मुम्बईसँग सिनेनगरीको ग्लामरपूर्ण अर्धनङ्गनताले छोपिँदै जानुको लज्जाबोृध पनि बाँकी नै देखिन्छ !

पुस ५, २०६०

मुम्बई छेउको साँ–ग्रिला र पुराकथाका विम्बहरू

यो यात्राक्रममा भारतको अतिव्यस्त शहर मुम्बई र शान्त–सुन्दर भए पनि नागरी भौतिकतामा थिचिँदै गएको नासिकबाट त्रयम्बकेश्वर पुग्दा जेम्स हिल्टनको साँ–ग्रिला र पुराकथाका विम्बहरू जतातै फिँजारिएका थिए । आँखा अघिल्तिर मेरो आफ्नै देश नेपालको सादृश्य शान्त प्रकृति नाच्दैथियो । नासिकको मूल नगरकेन्द्रबाट जति उता लाग्यो प्रकृतिको अर्कै छटा, अर्कै मोहकता, र पौराणिकताको स्पर्श र सुवासले हामीलाई लठ्याउन थालिसकेको थियो । नेपाली पर्वतीय सौन्दर्यको लघुरुप– मिनिएचर झैं लाग्थ्यो नासिकको नगरकेन्द्रबाट ३६ किलोमिटर जति मात्र परस्थित गोदावरी नदीको उद्गमस्थल त्रयम्बक !

यहाँको ब्रह्मगिरि पर्वतमा गौतम श्रृषिले शिवजीको कठोर तपस्या गरेका थिए रे, यो एउटा किम्बदन्ती ! शिवको आशिर्वाद पाएर तिनै गौतम श्रृषिले गौमती, गङ्गा र गोदावरी नदीलाई स्वर्गबाट धरतीमा ल्याएका थिए रे ! ग्रिक मिथक प्रमिथियसले स्वर्गबाट आगो ल्याएजस्तै मानवहितमा जलशक्ति–प्रयोगको यो मानवीय प्रयत्न त्यस्तै एउटा अर्को मिथक थियो सायद । स्वर्गबाट झर्दाको तीब्र गङ्गा–बेग मत्थर गरी संभाव्य धरती–विनाश रोक्न उनै गौतमले कुश–ब्रत गरेका थिए रे त्यहाँ । त्यसैले जलनियन्त्रणको मानवीय प्रयत्नको पनि कथा थियो यो किंवदन्ती । त्यहीँदेखि नै कुशब्रत तीर्थ भनेर चिनिन थाल्यो , यो क्षेत्र । सहयाद्री पर्वत ऋङ्खलामा ब्रम्हगिरि पर्वतको काखमाथि थुपुक्क बसेकोे यो सानो नगर त्रयम्बकेश्वर सँच्चिकै सुन्दर थियो । महाराष्ट्रका थोरै ठण्डा जलवायुयुक्त सुन्दर प्राकृतिक स्थानमध्येको एउटा यो सानो नगर मुम्बईको कोलाहल नजिकै रहेर पनि त्यसबाट अछुतो थियो ।

भारतभर फैलिएका प्रमुख बाह्रमध्येको एक मानिने ज्योतिर्लिङ्ग र त्रयम्बकेश्वर मन्दिर यसका प्रमुख आकर्षण थिए । सोमबारका दिन त्रिनेत्रयुक्त शिव अर्थात त्रयम्बकेश्वरको मूर्तिलाई खटमा बोकेर पुजारीहरू मन्दिर प्रदक्षिणा गराउँछन्– यो नित्यचलन हो । पेशवा शासन कालमा जीर्णोद्वार गरिएको त्रम्व्यकेश्वर मन्दिरमो दिव्य ३१ वर्षसम्म ७६८जना शिल्पकारको परिश्रम पोखिको थियो रे ! यो जीर्णोद्वार भएको थियो, सन् १७५५देखि १७८५ अर्थात नानासाहेब पेशवाको शासनकालमा । मन्दिर परिशरमा रहेको शिलालेखले यस्तै भन्थ्यो । पूर्व–पश्चिम १६० र दक्षिण–उत्तर १३१ फिट फैलिएको थियो यो पूर्वाभिमुख मन्दिर । १८५ फिट गोलाकार व्यास र ५६ मिटर अग्लो यो मन्दिरको संरचना यन्त्राकार थियो । मन्दिर शिखरमा पाँच स्वर्ण कलस र पाँचै गोपुरवाला मन्दिरको निर्माण ढुङ्गैढुङ्गाबाट भएको छ, ध्वजाहरू पञ्चधातुले बनेका छन् । मन्दिरको पश्चद्वारको पाश्र्वमा उत्कीर्ण कमलले सजिवताको भ्रम दिन्थ्यो । मानिसहरू प्रर्थनामा रमाइरहेका थिए, प्रज्वलित द्वीपसमूहको मन्दप्रकाशबीच शिवजीको स्वयम्भूस्थान दर्शनमा हराइरहेका देखिन्थे । सौभाग्यशाली भनिने केहीले त्रम्व्यकेश्वर–शिवलिङ्गमा आसिन ब्रह्मा, विष्णु र महेशको दर्शन पाउँछन् रे ! शिवलिङ्ग मुनिको एउटा सानो खोपिल्टोजस्तोमा स–साना आकृति देखिन्थे, त्रिदेवका लघुआकृति । यिनै ईश्वरत्रयका नाउँमा मन्दिरको नाउँ नै त्रम्व्यकेश्वर रहे छ । त्रिनेत्रयुक्त शिवको मन्दिर भएकोले पनि यही नाम प्रचलित बन्यो हाम्रा मार्गदर्शक मेरा साढु भाइ अशोक यस्तै सनाउँदै थिए । स्वर्णभूषण सज्जित यो मन्दिरका त्रयम्बकेश्वर शिव–मूर्तिको पञ्चमुखी स्वर्ण मुकुटलाई हरेक सोमवार, परेवा तिथि, कार्तिक पूर्णिमा र शिवरात्रिका अवसरमा कुशावत तीर्थमा लगी स्नान गराएर शोभायत्रासहित ल्याएर फेरि मूर्तिमा पहिराइन्छ, अशोक भन्दै थिए ।

यो साल नासिक र त्रयम्बकेश्वर निकै व्यस्त छन् । आउँदो वर्ष वर्षभर नै चल्ने कुम्भ मेलाको मुख्य अर्थात शाही स्नानपर्व अगष्ट १७ तारिख (२०६० साउन ३२) मा पथ्र्यो । मेलाकोे चहलपहल भन्दा सात–आठ महिना अगाडि नै आइपुगेका हामी परदेशी त्यो मेलाको झलक टेलिभिजनको पर्दामा हेरेर चित्त बुझाउन वाध्य थियौं । प्रत्येक १२ वर्षमा सिंहस्त वृहस्पतिका अवसरमा मनाइने कुम्भ मेला सुरु हुने लगभग छ महिना अगाडि हामी पुगेको नासिक र त्रयम्बकेश्वर त्यसको तयारीमा अहिलेदेखि नै व्यस्त थियो । त्यतिबेला गोदावरी नदी र रामकुण्डमा डुबुल्की मारेर मोक्ष खोज्ने लाखौं श्रद्धालु भक्तहरूलाई उपयुक्त सुविधा दिन सिङ्गो नगर प्रशासन क्रियाशील थियो । आन्तरिक पर्यटन बृद्धिको यो अवसरलाई कसरी स्थायी अवसरमा ढाल्ने उसको गंभीर चिन्त थियो । मूल स्नानका दिन यहाँ स्नानार्थ आउने अनुमान गरिएका पन्ध्र–बीस लाख मानिसलाई उपयुक्त सुविधा पु¥याउनु त्यति सलिजो पनि थिएन । गोदावरी नदीको किनारको कुशाब्रत तीर्थ त्रयम्बकेश्वर र नासिककको रामघाट (पञ्चवटी) वा कुण्डमा मुख्य स्नानका लागि भारतमात्र होइन नेपाल र अन्य मुलुकबाट समेत असङ्ख्य यात्रीहरू आउने गर्छन् ।

यो सबै देखेर मैले थोरै भए पनि पीडाबोध भएको थियो मलाई । मेरै गोदावरीमा पनि त ठीक यही समय बाह्रवर्षे उही सिंहस्त लाग्दै छ । मेरो गोदावरी मेलाको उद्भव पनि तिनै पौराणिक किंवदन्ती नै हुन् । एकजना नेपाली श्रृषि सधैं योगवलद्वारा दक्षिण भारतको गोदावरी पुगी नित्य गङ्गास्नान गर्थे । ती श्रृषिको कष्ट देखेर गङ्गा खुशी भईन् । उनले भनिन्–अबदेखि यहाँ आउने कष्ट गर्नुपर्दैन । म तिम्रो नजिकै उत्पत्ति हुनेछु । त्यही वचन अनुसार ललितपुरको गोदावरी क्षेबमा कुण्डको रुपमा गङ्गा उत्पत्ति भइन् । यो किंवदन्ती सुनिन्छ । त्यसैले म पनि त मेरो गोदावरी मेलाको आवश्यक प्रचारप्रसार गरी सुव्यवस्थित गरेर स्वदेशी विदेशी तीर्थयात्री आकर्षित गर्न सक्थें । खोई सिकेको मैले यताबाट यस्ता कुरा ? के यताका खराब कुरामात्र सिक्नुपर्ने मेरो नियति हो ? नभए मैले भारतीय धार्मिक–सांकृतिक महत्वका स्थलहरू आफूलाई कति व्यवस्थित राख्छन् र त्यबाट प्रत्यक्ष–परोक्ष लाभ लिनसक्छन् भन्ने सिक्नु पर्ने होइन र ? हाम्रा पनि त छन् यस्ता ठाउँहरू, जहाँ राम्रो व्यवस्था गरेर लाखौं यात्रुहरू आकर्षित गर्न सकिन्छ । तर हामी दृष्टिहीन नेपाली सोच्छौं मात्र, गर्देनौं । यो मेरो यथार्थ हो । अहिले यी कुराहरू सोच्नुको सायद कुनै अर्थ छैन ।

जे होस् मेरो अहिलेको एक मात्र अभीष्ट मुम्बईबाट ११० किलोमिटर पर को पश्चिम काशी, नासिकलाई संपूर्णमा आफूभित्र समाहित गर्नु । अनेकौं नामधारी नासिकले आफूलाई पद्मनगर पनि भनाउँछ, कारण सत्य युगमा ब्रम्हाजीले यही नासिकमा पद्मासन कसेर सृष्टिको खाका खिचेका थिए रे ! त्रेतायुगका रामले यही नासिकमा केही समय विताए थे रे । त्यही बेला नासिकको पञ्चवटीले एउटा सभ्य भनिने आर्यजातिले गरेको असभ्य व्यवहारको साक्ष्य बन्नुपरेको थियो–प्रेम याचनारत एउटी नारीको नाक काटिनुको त्रासदीपूर्ण घटनाको द्रष्टा भएर ! सुर्पणाखाले लक्ष्मणसँग प्रेमको याचना गर्दा उसले पाउनु पर्ने दण्ड के आफ्नो नाक कटाउनु नै थियो त ? के आफूलाई सभ्य र असुरलाई असभ्य भनाउने आर्य आदर्शपुरुष मानिएका रामका आज्ञाकारी भाइ लक्ष्मणको त्यो कार्य क्रूरतापूर्ण थिएन ? कू्रर असभ्यतालाई रोक्नु आर्यसभ्ताका आदर्श मानिने रामको दायित्वमा पर्दैनथ्यो र ? त्यसैले लाग्छ यो ठाउँ सुर्पणखाले स्वाभाविक चाहनाको प्रतिकूल भोग्नु परेको अन्यायद्रष्टा बन्नुपर्दाको अपराधबोधबाट केही पीडित पनि छ । आर्य जातिले अन्य अर्थात रक्षसंस्कृति विरुद्ध देखाएको असहिष्णुताको अर्को गलत उदाहरण रेखाङ्कित भएको साक्ष्य भोग्नुको यो पीडाबाट सके यसले कहिल्यै मुक्ति पाउने छैन । त्यसैले सुर्पणखाको नाक काटिएकैले नासिक भनाएर यो ठाउँले आफूलाई कुनै बेला एउटी असहाय नारीले प्रेमचाहनाको प्रतिफल अपमानित हुनुपुेको दृष्टान्त जीवित राख्यो । रामायणको त्यो प्रकरण र साक्षीे यो ठाउँको किम्बदन्तीले मेरो मनमा अनेकौं प्रस्न जन्माइदिएका थिए !



कुम्भ मेलाको आफ्नै किम्वदन्ती पाइन्छ । धार्मिक साहित्य अनुसार यो कथा मृत्युमाथिको विजय अर्थात अमृत चाहना र प्राप्तिप्रयासको कथा हो– समुद्रमन्थन अर्थात मानवसौर्यको गाथा हो । यो दुई सभ्यताबीचको सङ्घर्ष र जालझेलपूर्ण श्रमशोषणको पनि कथा हो । देव–दानव मिलेर समुद्रमन्थन गरे । शारीरिक श्राममा देवभन्दा दानवले बढी पसिना खर्चे । दुई संस्कृतिको साझा श्रमको परिणति समुद्रबाट अमृत निस्कियो । त्यसपछि सुरु भयो श्रमशोषण र प्राप्तिलाई जाति–सभ्यताको एकाधिकारमा सीमित गर्ने प्रपञ्च, जसले द्वन्द र संघर्ष निम्त्यायो । त्यसैले त्यो वर्ग वर्ग बीचको संघर्ष थियो, जाति जाति बीचको संघर्ष थियो र थियो सभ्यता सभ्यता बीचको संघर्ष । त्यो संघर्षबाट पनि मानिसले कुनै गतिलो पाठ भने सिकेन । त्यो सिकेको भए फेरि युद्ध, संघर्ष, द्वन्द र शोषणका इतिहास लेखिने थिएनन् । अगडिदेखि प्रथम, द्वितीय, र अझ निकट भूतका इराक युद्धका विभीषिका मानिसले भोग्नु पर्दैनथ्यो सायद् ! जे होस समुद्रमन्थनबाट निस्किएको अमृत आफ्नै मात्र जातिले पाओस् भन्ने स्वार्थपूर्ण सङ्घर्षबाट सिर्जित द्वन्द कुम्भ–किंबदन्तीको मूलमा रहेको छ । सत्य युगमा देवदानव मिलेर गरेका समुद्रमन्थनबाट प्राप्त अमृत घडा वा कुम्भ आफ्नै जातिले मात्र उपभोग गर्न पाउन्, दानवको हात नपरोस् देवताहरूको दुरभिसन्धी थियो । त्यही बमोजिम योजना बन्यो । अमृतको घडा लिएर इन्द्रपुत्र जयन्त आकाशमार्गबाट भागे । आफूहरूमाथि धोका भएको थाहा पाएर दानवहरूल पिछा गरे । बाह्र दिनसम्म देव–दानका बीच भीषण युद्ध भयो । यही क्रममा जयन्तले बोकेका कुम्भबाट छचल्किएर पृथ्वीका हरिद्वार, प्रयाग, उज्जैयनी र यही श्रीक्षेत्र पनि भनिने त्रम्व्यकेश्वरमा अमृतका केही थोपा खसे । दानवले अमृत नपाउन् भनी चन्द्रमा, सूर्य, र बृहस्पितिले खसेका थोपा र अमृत भरिएको घडाको सुरक्षा गरे । यसैले जव सूर्य,चन्द्र र बृहस्पति कुंभराशिमा प्रवेश गर्छन् त्यही बेला कुम्भ मेला लाग्छ । देवता र दानवका बीच १२ दिनसम्म युद्ध भएको र उनीहरूको बाह्र दिन मानिसको १२ वर्ष हुने भएकोले प्रत्येक बाह्र वर्षमा कुम्भ मेला लाग्ने गर्छ –किम्बदन्तीको भनाइ हो यो । वैष्णव संम्प्रदायले रामघाटमा जय श्रीराम र त्रयम्बकेश्वर कुशावर्तक क्षेत्रमा शैवहरूले शिवको जयघोषसहित मनाउने यो कुम्भमेलामा यो वर्ष यी दुई संप्रदायका बीच अस्वथ प्रतिस्पद्र्धा समेत देखियो । यसले पनि हामी हिन्दुहरूमा कति पातलो सहिष्णुता छ, सिद्ध गर्छ ।

भनिन्छ– त्रयम्व्यकेश्वरको प्रवेशद्वार अञ्जनेरी छैठौं शताब्दीमा चालुक्य राजवंशको आधिपत्यमा थियो । त्यस पछि त्यहाँ राठौर, यादव, मुसलमान र पेशवाहरूले क्रमैले शासन गरे । मुस्लिम शासन कालखण्डमा ध्वस्त गरिएका अनेकौं मन्दिर र धर्मस्थलहरू त्यसपछिको पेशवा शासनकालमा जिर्णोद्वार गरियो । लगभग पाँच सय वर्ष अघिसम्म पनि त्रयम्बकेश्वर र अञ्नेरी बाक्लो जङ्गलले ढाकिएको विकट स्थल थियो । चौद्धौं शताब्दीपूर्व यो अञ्जनेरी ठूलो शहर थियो रे । त्यसपछि यो नगर नासिक सहित बहामिनी राज्यमा गाभियो र जागिरको रुपमा शाहजी भन्ने भारदारललाई दिइयो । पछि शाहजहाँले महाराष्ट्रबाट आफ्नो अधीनमा लिएर यो जागिरलाई सैनिक आधार क्षेत्रका रुपमा विकसित गरे । औरङ्गजेवको शासनकालमा अकाली खान भन्नेले यहाँका धेरै मन्दिर भत्काएर मस्जिद बनाए । निजाम पछि सन् १९२०मा कोलीहरू यसका शासक बने । अन्त्यमा आएर सन् १७७२मा फेरि यसलाई महाराष्ट्रले आफ्नो नियन्त्रणमा लिएर धार्मिक क्षेत्रका रुपमा विकसित ग¥यो । यसरी अनेकौं आरोह–अवरोह भोगेर पनि नासिक र अञ्जनेरीले आफ्नो गौरवपूर्ण विगत इतिहासलाई सुरक्षि राखेको छ । अञ्जनेरीको आजको प्रमुख आकर्षण मुद्रा अध्ययनसम्बन्धी भारतीय अध्ययन संस्था ( क्ष्लमष्बल क्ष्लकतष्तगतभ ायच ल्गmष्कmबतष्अ क्तगमष्भक) नै हो । सन् १९८० तिर निर्मित यो संग्रहालय एसियामैं एकमात्र मानिन्छ मुद्रा संग्रहालय मानिन्छ ।

हामी नासिक रोडबाट प्रस्थान गरे पछि सडकको दुबैकिनारामा अङ्गूर, स्ट्रबेरी र प्याजको लहलहाउँदो बालीले ढकमक्क देखिने अञ्जनेरी पुगेका थियौं । हनुमानकी आमा अञ्जनीको मन्दिर रहेको यो सानो नगर उनकै नामबाट अञ्जनेरी क्षेत्र बन्यो । यहीं नै हनुमानको जन्म भएको किम्बदन्ती रहेको छ । यही नासिक क्षेत्रमा रामले चौद्ध वर्षको वनबास विताएकाले यसलाई रामभूमि पनि भनिन्छ । अशोक, हाम्रा आतिथेय, हामीलाई एकएक बृतान्त सुनाउँदै थिए । स्कन्द पुराण भन्छ, भगवान रामले कश्यप ऋषिको आदेश अनुसार यही नासिकस्थित गोदावरीको किनारमा आफ्ना पिता दशरथको श्राद्धकर्म गरेका थिए । आज पनि भारतका सबै ठाउँबाट यहाँ आएर मानिसहरू आफ्ना मृतक आत्मीयहरूको आत्माको शान्तिका लागि श्राद्धकर्म गर्ने गर्छन ।

समुद्री सतहभन्दा लगभग ४२०० फिटको उँचाईमा रहेको पाँच शिखरयुक्त प्रसिद्ध ब्रम्हगिरि पर्वतको १८०० फिटजतिमा भूभागमा त्रयम्बकेश्वर नगर फैलिएको छ । यही ब्रम्हगिरि पर्वतमा अहिल्या र वैतरणा नामका नदीहरूको उद्गम भएको मानिन्छ । शिद्धपुरुष गोरखनाथले साधना गरेर सिद्धि प्राप्त गरेको भनिने गुफा र ब्रह्मगिरिको मध्यभागस्थित गङ्गाद्वार, हिरण्याक्षको विनाश गरेपछि वराह अवतार विष्णुले स्नान गरेको भनिने वराहकुण्ड यहाँका अन्य प्रसिद्ध स्थान रहेछन् । यहाँ रहेका १०८ शिवलिङ्ग गौतम श्रृषिले स्थापना गरेका हुन् भन्ने किम्बदन्त पनि पाइन्छ । यहाँको पञ्चवटी अर्थात गङ्गाद्वारको ठीक मध्यमा राममन्दिर र रामकुण्ड भनिने एउटा पवित्र कुण्ड छ, भनिन्छ यहाँ वनवास विताउँदा राम–सीता यही कुण्डमा स्नान गर्थे । अहिले २७ मिटर चौडा र १२ मिटर गहिरो यो रामकुण्ड नै कुम्भका अवसरमा स्नान गरिने प्रमुख स्थान हो । यो कुण्डमा मृतकको अवशेष वा खरानी विसर्जन गरेमा मोक्ष प्राप्त हुने विश्वास गरिन्छ । पण्डित नेहरु, इन्दिरा गान्धी, यशवन्त चौहान जस्ता विविशिष्ठ भारतीय व्यक्तिहरूको मृतभष्म यही कुण्डमा प्रवाहित गरिएको थियो रे । रामकुण्डकै छेउमा लक्ष्मण र सीताकुण्ड रहेका छन् । यस्तै श्रीराम मन्दिरको छेउमैं सीता गुफा रहेछ । भनिन्छ, यही गुफामा सीताजी निवास गर्थिन रे । तपोवन पनि भनिने यो क्षेत्रमा यहाँ गोदावरी नदीको जलप्रवाहले बनाएका अनेकों गुफा पाइन्छन् । वर्ष याममा पानी भरिएर छोपिनेभए बाहेक अरुसमयमा यी गुफा देख्न सकिन्छ । यी गुफालाई ब्रम्हयोनी पनि भनिन्दो रहेछ ।

प्राय नन्दी विनाका शिवमन्दिर भेटिँदैनन । यहाँको कपालेश्वर मन्दिरमा भने नन्दीको उस्थिति थिएन । गोदावरी घाटको दृश्य स्पष्ट देखिने यो मन्दिरमा नन्दीको उपस्थिति नरहनुको कारणसम्बन्धी एउटा किंम्बदन्ती रहेछ । एकपटक क्रोधावस्थामा शंकरजीले ब्रम्हाजीको पाँचौं शिरभञ्जन गरिदिएछन् । क्रोध शान्त भएपछि शिव आपूmलाई ब्रम्हहत्या लागेकोमा दुखित हुँदै मुक्तिलोक पुगे । त्यति नै बेला शिवले गंगाजीको किनारमा एउटा बहरद्वारा ब्रह्महत्याबाट मुक्त हुने उपाय थाहा पाए । आफूलाई ज्ञान दिने त्यो बयललाइ गुरु मानी अब बाहन बनेर आफ्नो सामुन्ने नबस्नू भनेकाले यो मन्दिरमा नन्दी वा बसाहाको मूर्ति नराखिएको रे !

पुराणमा यस्ता अनेकौं उल्लेख फेला पर्छन् । यस्तै एउटा किम्वदन्ती छ, गौतम–अहिल्या र गङ्गात्रिसन्ध्यासंबन्धी पौराणिक कथाको । प्रयाग क्षेत्र नजिकै यज्ञगर्न भनी ब्रम्हाजीले जमिन खन्दा एउटा स्वर्णजडित मञ्जूषा फेला पारेछन् । त्यो मञ्जूषाभित्र ब्रह्मा आफूले गरेका आफ्नो सृष्टिभन्दा पनि अति सुन्दर एउटी रुपवती युवतीलाई सुतीरहेकी देखे छन् । त्यो देखेर उनी चिन्तित भए–यति सुन्दरी युवतीलाई सुहाउने लोग्ने कहाँ पाउनु ? त्यही बेला आकाशवाणी भएछ–जसले पर्वत–द्वीप सहित पृथ्वीको तीनपल्ट परिक्रमा गरेर सबैभन्दा पहिले तपाइँसमक्ष आइपुग्छ, त्यसैैलाई यो कन्या दानमा दिनु । त्यो आकाशवाणी सुने पछि ऋषिमुनि र देवताहरूमा सबैभन्दा पहिले पृथ्वीको परिक्रमा गरेर ती कन्या प्राप्त गर्ने प्रतिस्पद्र्धा चलेछ । यही कारण ब्रंह्माजीको यज्ञकार्यमा बाधा आउनु स्वभाविक थियो ।

गौतम ऋषि पनि पृथ्वी परिक्रमाको लागि प्रयासरत थिए । त्यही क्रममा उनले बाटामा एउटी कपिला गाईलाई प्रसव अस्थामा भेटे । बैदिक सूक्तिको प्रमाणलाई आधार मानेर उनले त्यही प्रसवग्रस्त गाईको तीन पल्ट परिक्रमा गरेर ब्रह्मा कहाँ फर्के । आफूले तीनपल्ट पृथ्वीको परिक्रमा गरेर सबैभन्दा अगाडि आइपुगेकाले ती भूमिपुत्रीको विवाह आफूसँगै हुनुपर्छ, उनको दाबी थियो । ब्रह्माको मनमा शंका उठेकै बेला फेरि गौतम ऋषिले प्रसवावस्थाकी कपिलाको तीनपल्ट परिक्रमा गरेर उनको शर्त पूरा गरेकाहुँदा गौतमको भनाइ सत्य छ भन्ने आकाशवाणी भए छ । त्यसै अनुसार उनले ती धरतीपुत्रीको विवाह गौतमसँग गरिदिएका थिए रे । नारीको इच्छा, चाहनाको त्यहाँ पनि कनै मूल्य थिएन । पुरुषले प्रतिष्पद्र्धामा जितेर पाउने पारितोषिजसले जित्थ्यो, ऊ उसैको स्वामित्वमा हुन्थी । तिनै भूकन्या अहिल्या थिइन, किम्दन्तीको भनाइ छ । ब्रह्माजीको यज्ञ पूर्ण भएपछि गौतम ऋषिले आप्mनो आश्रम फर्कने आज्ञा मागे । ब्रह्माजीले भगवान सङ्कर देवगणसहित यही त्रम्व्यकेश्वर क्षेत्रमा निवास गरेकाले गौतमलाई पनि त्यही पहाडमा आश्रम बनाएर तपस्या गर्न भने, उनले त्यसै गरे । त्यसैले यो ठाउँलाई गौतमाश्रम पनि भनिन थाल्यो ।

त्रम्व्यकेश्वर क्षेत्रलाई त्रिसन्ध्या क्षेत्र पनि भनिंदो रहेछ । यससम्बन्धी पौराणिक किम्वदन्ती भन्छ– प्रारम्भमा समस्त सृष्टि जलमग्न थियो । नागशैय्यामा निद्रावस्थित प्रकृति र पुरुष अर्थात भगवान विष्णुले जागृत भएपछि यनीहरूले ब्रह्माजीलाई पुनः सृष्टि र पुननिर्माण गर्न अनुरोध गरेछन् । त्यो आग्रह अनुसार ब्रह्माजी लागे । तर आफ्नो इच्छा अनुसारको सृष्टि गर्न तीन पल्टसम्म असफल भएपछि ती पूर्वसृष्टिलाई नष्ट गरिदिछन् । त्यो असफलताले मानसिक रुपमा अशान्त ब्रह्माले त्यही त्रम्व्यकेश्वर क्षेत्रमा गएर तपस्या गरे । एकै साथ तीनवटी तेजस्वी कन्या देखापरे पछि ब्रह्माजीले सोधे छन्–तिमीहरू कोहौ ? तिनले भने– हामी कर्मकन्या हौं । तपाइँको तपस्याबाट प्रसन्न भएर तपाइँकै कर्म बनी अधीनस्थ हुन आएका हौं । त्यसपछि तिनै तीनकन्याको सहयोगमा ब्रह्माजीले आफ्नो चाहना अनुसारको सृष्टि गरे रे । त्यही बेलादेखि यो त्रम्व्यकेश्वर क्षेत्रको नाम त्रिसन्ध्या क्षेत्र पनि बनेछ । यो किम्बदन्ती सृष्टीयोगमा प्रकृति–पुरुषको अपरिहार्यताको प्रतीक कल्पना पनि हुनसक्छ ।

किंबदन्ती अरु पनि धेरै छन् । गङ्गा धरती अवतरणसंबन्धी अर्को एउटा पौराणिक किंवदन्ती पनि कम चाखलाग्दो छैन । यसका दुई पाठरुप भेन्छिन् । पहिलो, शिव–पार्वतीको विवाहमा ब्रह्माजीले पुरोहितको काम गरेका थिए । सप्तपदीको क्रममा ब्रम्हाजीले पार्वतीको पाउ छुँदा उनमा कामवासना जाग्रत भएछ । त्यो अवस्थामा वीर्यपात अस्वाभाविक थिएन । त्यसरी पतन भएको वीर्य अरुले नदेखून भनेर उनले त्यसलाई आफ्नै खुट्टाले पुछेछन् । तर वीर्यको अधिकांश भाग पुछिएन । नपुुछिएको त्यो वीर्य ६० हजार अणुमा विभाजित भई त्यसबाट ६० हजार बालऋषिको उत्पत्ति भएछ । यो लज्जास्पद स्थितिबाट बच्न ब्रम्हाजी त्यहाँबाट भाग्न खोजेछन् । शिवजीले त्यो कुरा बुझी हाले । उनले ब्रम्हाजीलाई रोके । पृथ्वीको सारतत्व निकाली आफ्नो कमण्डलुमा राखेर त्यसमा पवित्र जल भरे । प्रणव मन्त्रोच्चार गर्दै कमण्डलु ब्रम्हाजीलाई दिएर भने– अब फेरि काम वासना उत्पन्न भयो भने यही कमण्डलुको जल आचमनी गर्नू, ब्रम्हहत्या जस्ता सबै पाप नाश हुनेछ । गङ्गाजीको उत्पत्ति सम्बन्धी यो एउटा किम्वदन्ती हो । यो किम्बदन्ती सायद कामवासना र सौन्दर्य प्रतिको आकर्षण कसैको पनि नियन्त्रणमा रहँदैन भन्ने सत्यको परोक्ष पाठ पनि हो ।

दोश्रो, दानबीर बलिले सयौंपल्ट अस्वमेध यज्ञको प्रारम्भ गरे । इन्द्र र अन्य देवताको मनमा तपस्याको बलमा वलिले इन्द्रपद प्राप्त गर्लान भन्ने भय जन्म्यो । उनीहरू विष्णुकहाँ गएर यशोगान गर्न थाले । विष्णु खुसी हुँदै वामन अवतार लिएर वलिको यज्ञमण्डपमा पुगे । त्यहाँ उपस्थित दैत्यगुरु शुक्राचार्य लगायत ठूला बेदज्ञाता ऋषिहरूलाई शास्त्रार्थमा परास्त गरे । त्यसबाट प्रभावित भएका वलिले वामनको अभ्यर्थना गर्दै उनको इच्छा अनुसारको माग पूरा गरिदिने वचन दिए । वामनले तीन पाउ जमिन दानमा मागे । वामनले वलि अधिनस्थ भूलोक र देवलोक आफ्ना दुई पाइलामैं आफ्नो पारे पछि वचनका धनी वामनले तेश्रो पाउ आफ्नै शिरमाथि राख्न भने । विष्णुले दोश्रो पाउ सत्यलोकमा राख्नलाग्दा वलिले शिवजीबाट पाएको पवित्र जलले वामनको पाउ धोए । त्यसो गर्दा खसेको जल जमिनबाट चुहिंदै पाताल नपुगोस् भनी शिवले आफ्नो जटा थापेछन् शिवको जटामा धारण गरिएको त्यही पवित्र जल पछि गङ्गाजलको रुपमा प्रवाहित भएको हो रे !

यस्तै एक पटक शिवजी र गङ्गाजी एकान्त वार्ता गरिरहेका देखेरे पार्वतीमा सौतेनीभावका इष्र्या जागेछ । उनले मनमनै गङ्गाजीलाई आफ्नो मार्गबाट हटाउने विचार गरी गणेशसँग परामर्श गरिछन् । गणेशले आमाको चिन्ता समाप्त पार्न शिवजी सुतेको बेलामा उनको जटा काटिदिने सुझाव दिए । जटा काटेपछि गङ्गाजी आफैं आफ्नो बाटो लाग्छिन भन्ने उनको सोचाइ थियो । तर त्यो थाहापाएर शिवजी क्रोधित भएभने रिसको झोकमा सम्पूर्ण संसार नष्ट गर्लान् भन्ने पार्वतीलाई डर लागेछ । गणेशले सबै संसारको पनि कल्याण हुने र शिवले स्वयम् गंगाजीलाई मुक्त गरिदिने अर्को उपाय निकाल्ने विश्वास दिलाए । त्यही योजना अनुसार उनले वरुणलाई पानी नपार्ने आदेश दिए । धरतीमा हाहाकार मच्चियो, सबै ऋषिगण गौतम श्रृषिको आश्रममा शरण लिन पुगे । गौतम श्रृषि आफ्नो मन्त्र शक्तिले प्रत्येक दिन अन्न तयार गरेर उनीहरूलाई भोजन गराउँथे । गणेश पनि बृद्ध तपस्वीको भेष गरेर त्यही आश्रममा बस्न थाले । निकै वर्ष पछि गणेशजीले वरुणलाई वर्षा गराउने आदेश दिए । पानी परेपछि श्रृषिहरू आश्रम फर्कन चाहे, गौतम मानेन् । गौतमले बृद्ध तपस्वी रुपधारी गणेशलाई आफ्नो चिन्ता बताए । गणेशले उनको चिन्ता हटाउन उपाय गर्ने विश्वास दिलाए ।

गणेशले जया र स्कन्धलाई बोलाएर बृद्ध गाईको रुप लिई गौतम श्रृषिको सबै बाली नष्ट गर्ने आदेश दिए । बाली नष्ट गरेको देखेर गौतम रिसाएर तिमीहरूमाथि प्रहार गर्लान्, तिमीहरू चाहिँ मरेको अभिनय गर्नू । जया र स्कन्धले भनेजस्तै गरे । गाई मरे देखेर गौतमलाई गौहत्याको भ्रम प¥यो । गणेशकै सल्लाहअनुसार गङ्गलाई धरतीमा ल्याएर स्नान गरी पापबाट मुक्ति पाउन त्यहींको ब्रह्मगिरी पर्वतमा शिवजीको तपस्या गरे । वरदानमा शिवजीले गङ्गालाई जटाबाट निस्केर गौतम र लोककको हितगर्ने आदेश दिए । पार्वतीको मृुटुको काँडो पनि हट्यो, पृथ्वीमा गङ्गाको पनि उत्पत्ति भयो ।

आफ्नो प्रशंसासुनेर खुसी नहुने को होला ? विष्णु त यसमा कहलिएकै थिए । पुराणकथाका कुनै पनि अवतारमा विष्णु छलछाम र कूटनीतिका गुरु देखिन्छन् । इन्द्रहरू आफू पौरख गर्दैनथे, अरुले पौरख गरेर आफ्नो सिंहासन खोस्ला भनेर निरन्तर सशंकित भएर सुरक्षा होइन, षडयन्त्रमा लाग्थे । जब आफ्नो सत्तामाथि खतरा अनुभव गर्थे त्रिदेब, विषेष गरी विष्णुको चाप्लुसीमा लाग्थे । यी किम्बदन्तीहरूले के हाम्रो आफ्नै प्रबृत्ति र चरित्रको कथा हाल्दैनन् ? ब्रह्मा हुन् वा शिव वा राम, ती सबैसँग सम्बन्धित किंबदन्ती के हाम्रा आदिमानवका संघर्ष, सफलता–विफलता, आशक्ति–विरक्ति, छलप्रपञ्च, ईष्र्या, सौतेनीभाव आदिका कथा होइनन् ?

ब्रह्मगिरी पर्वतको उचाइ ४२४८ फिट र त्रम्व्यकेश्वर नगरभन्दा १८०० फिट अग्लो छ । सद्योजात, वामदेव, ईशान आदि नाम गरेका शिखरहरू भएका यो पर्वतमा धर्नशाला र त्यहाँ जानका लागि ५००वटा सिंढी बनाइएका छन् । त्रम्व्यकेश्वर नगरको उत्तरमा नील पर्वत नामक अर्को एउटा पहाड पनि छ । नीलाम्विका देवीको स्वयम्भू प्राकृतिक प्रतिमा रहेको यो पर्वतमा नागा दिगम्वर साधुको अखाडा पनि रहेको छ । यहीँबाट गङ्गाको उद्भव भएको छ र त्यहाँबाट केही परको कुशावत तीर्थमा पुगी विशाल बनेर ९०० माइल परको सागरमा मिल्छ । मुम्बई यात्राको सर्वाधिक आनन्खको क्षण मेरालागि त्रयम्केश्वर भ्रमण नै हुनपुग्यो । सुन्दर शान्त प्रकृतिदर्शन, किंवदन्तीहरूको जङ्गलमा मानवसभ्यताका आरोह–अवरोह, मानवीय संघर्ष र सभ्यताको द्वन्दका पूराकथाहरूको पुनस्मरण– आत्मनिरीक्षणको पनि अपूर्व अवसर थियो यो आर्यसभ्यताको लामो यात्राको !

मधुपर्क, वर्ष ३६, अङ्क ११, पूर्णङ्क ४१८, चैत २०६०