“ऊ...स्ट्याण्डर्ड चार्टर बैंङ्ग त्यहाँ रहेछ !” वद्री हो कि रामुमध्ये कसको हो आवाजले हाम्रो सवारी किनानारा लागेर रोकियो । हामी नासिकबाटै दुई–तीन दिनका लागि एउटा ट्र्याक्स भाडामा लिएर अघिल्लो दिन मुम्बई आइपुगेका थियौं ।
२०३६–३७ सालपछि धेरै यो मेरो पहिलो रेल यात्रा थियो । १५०८ किलोमिटर लामो गोरखपुर–नासिकको यो यात्रा भुक्तभोगीहरूका अनुसार चोरीका हिसाबले जोखिमपूर्ण पनि हृुनसक्थ्यो । यात्रा निरापद बिते पनि उनीहरूकै सल्लाह शिरोधार्य गरेर मैले खोजमेल गरेकोेमध्ये आधाभन्दा बढी रकमको बैङ्क ड्राफ्ट बनाएकोथिएँ, जुन त्यही बैङ्कमा साट्नु थियो । त्यही साट्ने, अनि गेट वे अफ इण्डिया र एलिफेण्टा गुफा घुम्न जाने योजनाका साथ हामी रात विताएको चेम्बुर इष्टस्थित होटेल ब्रोड वेबाट विहान साढे आठ बजेतिर प्रस्थान गरेका थियौं । हामीलाई नासिकबाट ल्याउने चालक मुम्बईको सडकजालोसँग त्यति परिचित नभएकोले उसकै साथी रमेशलाई साथ लिनु हाम्रो वाध्यता थियो । त्यसैले उसलाई लिन केही समय गुमाएर हामी सिधै हुतात्माचोक पुगेका थियौं ।
निरन्तर समुद्री लहरसँग लाप्पा खेलेर आफूलाई आधुनिक, समृद्ध र विश्व आकर्षण तथा वाणिज्यकेन्द्र बनाइरहन सफल किल्लाहरूको राज्य महाराष्ट्रको मुम्बईमा यो मेरो दोश्रो पाइला टेकाइ थियो । दुबै भ्रमणका सन्दर्भ नितान्त भिन्न थिए, पहिलो यात्रा आठ वर्षअघि विसं २०५१ को चैत अन्तिम सातामा भएको थियो । त्यतिबेला नेपालकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको औपचारिक भारतभ्रमणका अवसरमा पत्रकार प्रतिनिधिका रुपमा सहभागी थिएँ म ! अहिले, मेरी जेठी सालीकीे छोरीको विवाह समारोहमा सहभागी हुने श्रीमतीको ईच्छा पु¥याईदिन आएको थिएँ म, यो सुन्दर नगरी मुम्बई र मेरो आफ्नै देशको साँ–ग्रिला सम्झाउने नासिक शहर । त्यतिबेला भ्रमण दलका विशिष्ठ सदस्यहरूदेखि प्रेसका वरिष्ठ–कनिष्ठ पत्रकार थियौं, अहिले श्रीमती र छोरी सहित सालो, उसको श्रीमती र मेरी श्रीमतीको मामाको छोरा सहितको विशुद्ध पारिवारिक संलग्नता थियो । त्यो बेला कार्यलयीय जिम्मेवारी पनि थियो, भ्रमणका समाचारहरू प्रेषित गर्ने । अहिले कुनै दायित्व थिएन, म मात्र पर्यटक थिएँ ! नितान्त निजी पारिवारिक भ्रमणमा पूर्ण समय समर्पण गर्न सक्ने आफैं आफ्नो मालिक !
बिच, सिनेमा र सङ्ग्रहालय मात्र होइन, हिन्दु स्वराजका लागि आजीवन युद्धरत शिवाजीको जन्मस्थल महाराष्ट्र किल्लाहरू पछि गुफाहरूका लागि पनि त्यत्तिकै प्रख्यात् थियो । बुद्धपूर्वकालका शिवनेरीजस्ता प्रसिद्ध गुफाहरूका अतिरिक्त लगभग सोह्र सय वर्ष अघि चट्टान कोटर बनाएको विशाल गुफा र विश्व कै उत्कृष्ट शिलाचित्रहरूको एलिफेण्टा आज हाम्रो भ्रमणको लक्ष्य थियो ।
मुम्बईका प्रमुख पाँच मार्गको संगम हुतात्मा चोक अर्थात, फ्लोरा फाउण्टेन नजिकै रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकमा ड्राफ्ट साटेर हामी भारत प्रवेश मार्ग अर्थात गेट वे अफ इण्डिया तर्फ लाग्यों । अरब सागरको अपोलो बन्दरगाहमा पानीसँगै लाप्पा खेल्दै दर्शकको मन लोभ्याइरहेको भारत प्रवेश मार्ग अर्थात गेटवे अफ इण्डिंया पुग्दा दिनको लगभग बाह्रजति बजिसकेको थियो । आजै नासिक फर्कने योजना भएकोले अन्यत्र विताउन हामीसँग धेरै समय थिएन । उता बेलायतकालीन मुम्बईमा निर्मित बेलायतको अन्तिम चिन्ह मानिने जर्ज विटेटद्वारा डिजाइन गरिएको यो स्मारक– गेट वे अफ इण्डिया हामीलाई आफैंसँग भुलाउन चाहन्थ्यो । तत्कालीन बम्बे अर्थात आजको मुम्बईका गभर्नर जनरल लर्ड सिडेनहामद्वारा ३१ मार्च १९१३ मा जगको ढुङ्गो राखिएको यो स्मारकमा ठोस संरचनाका आठवटा खुला प्रवेशद्वार देखिन्थे । प्रवेशद्वारको मुख्य ढोकाभित्र पसेपछि एउटा सानो कालो ढोका आँखा ठोक्किन्छ र त्यसको पछाडि एउटा सिँढी । त्यो सिँढी चढेर प्रवेशमार्गको माथि पुग्दा त्यहाँबाट हार्बोर अर्थात बन्दरगाहको मोहक दृश्य आँखामा ठोक्किन्छन्् रे । हामीसँग समय थिएन, माथि जान पाइने–नपाइने जानकारी पनि लिएनौं । त्यसैले हतारहतार प्रति व्यक्ति भारतीय नब्बे रूपियाँ फेरी भाडाको टिकट लिएर एलिफेण्टा जानेहरूको लाममा मिसियौं हामी !
चारैतिर अनन्त जलराशियुक्त अरब सागरको विशाल छात्ती चिर्दै अरु ठूला–साना जहाजको आउने जाने क्रम निरन्तर थियो । हाम्रो फेरी (चालीस–पचासजना अटाउने छत बाहेक चारैतिर खुला भएको सानो डुङ्गा) पनि त्यही लाममा संलग्न भयो । फेरीभित्र बसेर सागरको छात्ती चिर्दै जलविहारको आनन्द लिईरहेका हामीजस्तै सबै यायावरहरू एकै खाले अनौठो अनुभूति गर्दे थियौं सायद ! सिर्सिर् बहने शितल मन्द पवन, यदाकदा पानीभित्रबाट सतहमा टाउको निकालेर पानीमा पौडिने माछाहरू, अतल–अनन्त जलसागरमाथि नीलो आकाशमा कावा खाइरहेका चराचुरुङ्गी र पानीमाथि टाउको निकाल्ने साना माछा समत्न झम्टिने सेता बकुल्ला यस्तै दृश्यहरूको अनुपम आनन्दमा विभोर थियौं म र मजस्तै असङ्ख्य यात्रुहरू ! भूपरिवेष्ठित हुनुको पीडा भोगिरहेको मुलुकको एउटा अकिञ्चन नागरिकका लागि समुद्रदर्शन सुलभ छैन । भ्रमण क्षमताको अभावले गर्दा त्रिभुवन विमानस्थल छेउको तीनकुनेमा वर्षे पानी जमेर समुद्र र टापुको भान दिने एउटा विभ्रमलाई नै समुद्रको कल्पना साकार गर्न हामी बाध्य छौं ! तर मैले आफूलाई आम नेपालीभन्दा निश्चय नै बढी भाग्यशाली ठान्नुपर्छ, यो भन्दा अघि पनि मैले समुद्र देखेको छु, बेलायत, चीन, जापान र हङकङआदिको यात्राक्रममा धेरैपटक समुद्र टेकेको छु । जहाज र फेरी पनि यो अघि नै चढिसकेको छु । तर ती सबै पूर्व अनुभवहरू विस्मृतिको पर्दामा धुमिल भएर हो कि, यो अहिलेको अनुभूति मेरालागि अभूतपूर्व थियो । सायद अघिपछि त्यो आनन्ददायक अनुभूति बाँड्न मसँग मेरा आफन्त कोही हुँदैन थे, यति बेला म अफ्ना आफन्तहरूसँग यो क्षण राम्ररी बाँड्न पाइरहेको थिएँ । यही अन्तरका कारण हुनु पर्छ यो अनुभूति मलाई अघिकाभन्दा विशेष लागिरहेको थियो ।
लगभग एक घण्टा लाएर हाम्रो फेरीले १० किलो मिटर जतिको यात्रा तय गर्दै प्रस्थानबिन्दुबाट उत्तरपूर्वस्थित एलिफेण्टा टापुको फेदी श्वेतेतबन्दर अवतरणस्थल टेक्यो । हामी ओर्लिएको यो सानो बन्दरगाहबाट गुफा क्षेत्र पुग्ने सिंढीसम्मको करिब चौथाई किलोमिटर बाटो पनि तपाइँ हिंड्न सक्नुहुन्न भने भारतीय रेल सेवामा तयार छ ! केटाकेटी खेल्ने हम्रो भृकृटीमण्डपको बाल रेलजस्तै भए पनि यसले तपाइँलाई सेवा र भारतीय रेल तथा पर्यटन विभागलाई राम्रै श्रोत उपलब्ध गराउन ठूलै योगदान गरेको छ । अझ तल समथरबाट गुफासम्म जान तपाइँमा १२०वटा सिंढी चढ्ने आँट छैन भने आराम कुर्सीजस्तै खटियामा बोकेर तपाइँलाई माथि पु¥याइदिन कुल्ली–भरियाहरू तयार छन् । यी सबैको व्यवस्था भारतीय पर्यटन विभागले गरेको छ, तपाइँले निश्चित शुल्क तिरे पुग्छ ! समय भैसकेकोले खाना खाएर मात्र हाम्रो यात्रा सिंढंी चढ्दै गुफातर्फ अग्रसर भयो । गुफा हेर्न तिर्नु पर्ने प्रतिव्यक्ति दश भारु शुल्क बुझाएर प्रतीक्षित स्थल तर्फ हाम्रा आँखा डोहोरिए ।
अरब सागरको अतल गहिराईका माझ अवस्थित हरियालीपूर्ण एउटा सानो टापु एलिफेण्टा सत्रौं शताब्दीको एउटा आश्चर्य मानिन्छ । घारापुरी अर्थात किल्लाको नगर पनि भनिने यो सानो टापु समुद्री सतहभन्दा लगभग ७६ मिटर माथि रहेको छ । चट्टान काटेर ४ देखि ९ शताब्दी एडीको कालखण्डमा निर्मित सातवटा गुफा र ती गुफाभित्र विशाल शिलामूर्तिहरूको अनुपम थियो यो । यो टापुको वर्तमान नाउँ एलिफेण्टा राख्ने पुरोहित चाहिं डचहरू रहेछन् । सन् १५३४ मा यस टापुको अर्को प्रवेशद्वार वा बन्दरगाह, राजबन्दरमा पहिलोपल्ट उत्रिएका पोर्चुगिजहरूले यो गुफा बाहिर हात्तीको एउटा विशाल मूर्ति देखेर यसको नाउँ एलिफेण्टा केभ राखिदिएछन् ।
दुईवटा साना पहाडयुक्त करिब ८ वर्ग किलोमिटर भूभाग र हाल दुई हजारभन्दा पनि कम बासिन्दाको यो टापु मुम्बईसँगै सम्राट अशोक (२७३–२३२)को नियन्त्रणबाट हटे पछि शतवाहन राजाहरूको नियन्त्रणमा पुगेछ । शतवाहनले यही एलिफेण्टाको मङ्गलपुरीलाई आफ्नो राजधानी बनाएछन् ।
यसरी लगभग एक घण्टाको आनन्ददायी समुद्री यात्रापछि मुम्बई महानगरको कोलाहल र भीडबाट पर...प्राचिन कलाकृतिबाट सिंगारिएको शान्त एलिफेण्टा आइपुग्दा साँच्चिकै स्वर्गीय अनुभव भइरहेको थियो । फेरिबाट ओर्लिएर ढुङ्गे सिंढीचढ्दै माथि गुफा क्षेत्रमा पुगे पछि विशाल विशाल गुफाभित्र प्रस्तर कलाका अनुपम मानवकौसल देख्न पाइयो । यी विशाल गुफाहरूमध्ये प्रमुख भनिने ठूलो गुफालाई कलात्मक बुट्टा कुँदिएका विशाल दुई शिलास्तम्भले काँधमा उचालिरहेका थिए । उत्तर, पूर्व र पश्चिम तीनतिर जाने मार्ग सहितको लगभग ४८ वर्गमिटर ठाउँ ओगट्ने यो विशाल गुफा–हलको करिब पाँच मिटर अग्लो छतलाई ३६ वटा शिलास्तम्भहरूले थेगेका छन् । समयको लामो प्रहार पछि आफ्नो मौलिक रङ्ग र आकार हराएको देखिए पनि पूरै छतमा भित्तीचित्रका रेखाङ्कन देख्न सकिन्छ ।
यो मुख्य हलको पश्चिमी भागतिरको शिवमन्दिरमा चारवटा ढोकाजस्ता शिलास्तम्भ देखिए । ती चारै ढोकाका दुईबटै छेउमा दुई–दुई जनाका दरले आठ द्वारपालका मूर्तिहरू ठडिएका थिए । चार दिक्पालका रूपमा पूर्वाभिमुख मूल मन्दिरको पूर्वपट्टि राजसी पोशाकमा इन्द्र, दक्षिण तर्फ यम, पश्चिम तर्फ वरुण र उत्तर तर्फ कुवेर आ–आफ्ना अस्त्रआयुध र बाहनमा खडा देखिन्छन् । मन्दिरको मध्यमा स्थापित एउटा शिलापीठमाथि एक मिटरजति अग्लो शिवलिङ्ग रहेको छ । प्रमुख धार्मिक महत्वको स्थान मानिने यो शिवलिङ्गको पूजा गर्न प्रशस्त मानिसहरू आउने गर्छन । महाशिवरात्रिका दिन त ठूलै मेला लाग्ने गर्छ, एकजना पथप्रदर्शक यसै भन्थे ।
यही शिव मन्दिरको पछाडि पश्चिमी खण्डमा शिवद्वारा गरिएको अन्धक अर्थात अन्धकाशुर बधको चित्रश्रृङ्खला रहेको छ । यसको साथै शिव–पार्वती विवाहको चित्र अङ्कित अर्को श्रृङखलाले ती अज्ञात शिल्पीहरूको सम्मानमा शिर नुहाउन मन लाग्छ । कन्यादानपूर्व पार्वतीलाई दायाँ राखेर उनको एक हात समातेका शिव, वस्त्राभूषणमा सज्जिएकी दुलही पार्वतीको स्निग्ध रूप, पछाडि पर्वतराज हिमालय, पार्वतीकी आमा मेनकाका साथमा भाइ मैनाक ! छेउमैं विवाह गराइरहेका मुख्य पुजारी ब्रम्हाजीको बेदपाठ र विष्णु तथा अन्य देवताहरूको गरिमामय उपस्थिति– साँच्चिकै शिवपार्वती विवाहको स्वथानी ब्रतकथा सम्झाएका थिए यी दृश्यले ।
यो विशाल गुफाको अर्को प्रमुख आकर्षण त्रिमूर्ति महेश अर्थात त्रिमुख शिवको लगभग छ मिटर अग्लो अर्धकद (बस्ट) मूर्ती हो । शिवका यी तीन मुहारले श्रृष्टि, स्थिति र संहारको चित्रण गरेका छन् । शिवलाई श्रृष्टिकतकर्ता, पालक वा विश्वब्रम्हाण्डको संरक्षक, र संहारक वा संहारकर्ताका रूपमा चित्रित गर्ने यो मूर्ति साँच्चि नै भव्य देखिन्छ । मूर्तिको अर्को दिशामा द्वारपालहरूका विशाल मूर्ति रहेका छन् । पछाडिको अर्को गुफाको विशाल शिलापट्मा शिवका जीवनमा भएका विभिन्न घटनाहरू चित्रित चित्र श्रृङ्खला देखिन्छन् । यो श्रृङ्खलाको केन्द्र्रीय आकृतिमा अष्टभुज नटराज शिव रहेका छन् । ती आठ हातहरूमध्ये अहिले केही हात भाँच्चिएका छन्, र वायाँ गोडा पनि फुटेको छ । फिँजारिएको जटायुक्त शिर ताण्डवनृत्यमा गतिमन देखन्छ । यो शिवमूर्तिको वायाँ शिवपार्वतीको अर्को ठूलो मूर्ति देखिन्छ, जसमा पार्वतीका शरीर गहनाले ढाकिएका छन् । ती शिलाचित्र श्रृङ्खलामा ताण्डव नृत्यका सबै १०८ भावभङ्गी देखिने चित्रहरू चित्रित गरिएका छन् र पार्वती पनि त्यो नृत्यमा सहभागी देखिन्छिन् । शिवले एउटा पाउ उचालेर नृत्यको मुद्रामा आफ्नो शिर छोएको उध्र्वताण्डव आकृति अत्यन्त बेजोड लाग्छ ।
त्यसको दायाँतिर अत्यन्त कुशलतापूर्वक बनाइएको गणपति र कुमार कार्तिकेयका मूर्ति रहेका छन्, साथमा नन्दी–भृङ्गीका आकृतिहरू पनि देखिन्छन् । आफ्नो बाहन नन्दीमाथि हात राखेका पाँच मिटर अग्लो अर्घनारीश्वर नटेश्वर नटराज शिवको अर्को मूर्तिलाई शिल्पकलाको अनुपम उपहार मान्नु पर्छ । पाँचवटा हाँसले बोकेको कमलासनमा बसेका चतुर्मुख ब्रह्माको अर्को शिलामूर्ति पनि त्यहाँ देखिन्छ । कालान्तरमा फुटेर यो ब्रह्मामूर्तिको शिर भग्न भएको देखिन्छन् । दायाँपट्टि पार्वतीको मूर्तिमाथि एक छेउमा गरुडारूढ विष्णुका साथै पृष्ठभूमिमा हात्ती चढेका ईन्द्र, बरुण र अन्य विभिन्न देवीदेवता र ऋषिमुनिहरूका दृश्य कुँदिएका छन् ।
यस्तै अर्को एउटा शिलाचित्र श्रृङखलामा गङ्गा अवतरणका दृश्यहरू देखिन्छन् । पार्वती छेवैमा उभिएकी विशाल शिव–पार्वतीको यो मूर्तिमा शिवका केशमाथि उठेका र शिरमाथि केशमा त्रिवेणी गङ्गा, यमुना र सरस्वती नदीका प्रतीक तीनवटा नारी आकृतिका शिर देखिन्छन् । यी तीनवटा नदी अलाहवाद नजिकै प्रयागमा गएर एक आपसमा मिल्छन् ।
किम्बदन्तीका अनुसार भगीरथको प्रयत्नबाट भगवान शिव खुशी भएर गङ्गालाई स्वर्गबाट धरतीमा पठाएको भनाइ त छँदै छ, एउटा मर्को किम्बदन्ती अनुसार मुम्बईभन्दा लगभग २१५–२० किलोमिटर पर नासिक क्षेत्रको त्रयब्केश्वरमा पर्ने ब्रह्मगिरि पर्वतमा गौतम श्रृषिले भगवान शिवको कठोर तपस्या पछि आशिर्वाद पाएर शिवको जटामा लुकेका गौमती, गङ्गा र गोदावरी नदीलाई स्वर्गबाट धरतीमा ल्याएका थिए रे ! ती नदीको तीब्र बेगका कारण धरतीमा हुने विनाशलाई रोक्न वा वेग मत्थर पार्न उनै गौतमले कुशको माध्यमबाट ब्रत गरेकाले त्यो क्षेत्रलाई कुशब्रत तीथै भनिने गरेको हो रे ! यस्तै एउटा शिलाफलकमा कुँदिएका चित्रहरूको विषय पास्सा खेलिरहेका शिव–पार्वती लगायत शिव–पार्वती विवाह रहेको छ । अर्को अनुपम लाग्ने शिलाफलक शिवको ताण्डवनृत्य र त्यो नृत्य हेरिरहेका पार्वती र गणेश प्रदर्शित चित्र श्रृङ्खला हुन् । यस्तै यस्तै अनुपम शिलाचित्रहरूको जीवित सङ्ग्रहालय झैं लाग्ने यी गुफाहरू मानव सभ्यताको अनन्त यात्राको एउटा जीवन्त प्रमाण रहेका छन् । शिव र उनीसम्बन्धित विशाल प्रस्तर मूर्तिहरूको अनुपम जीवित सङ्ग्रहालय झैं लाग्ने यो प्राचिन धरोहर प्रस्तरकलाकै अनुपम उदाहरण झैं लाग्छ ।
हेर्नु धेरै थियो, आँखाको प्यास मेटिएको थिएन । समय भने चिप्लिएर परै पुगिसकेको थियो । यहाँबाट फर्केर रामु र उसको साथीलाई दिल्लीको लागि छत्रपति शिवाजी स्टेसनमा रेल भेट्न छोडेर हामी नासिक फर्कने योजनामा थियौं । यहाँबाट झण्डै दुई सय दश–बीस किलोमिटरको नासिक यात्रा, त्यसमाथि पनि हाइवे नभेटुञ्जेले मुम्बई महानगरको ट्राफिक जाम ! अब नहतार्रिई सुखै थिएन । त्यसैले आँखा र मनको प्यासलाई आफैंसँग लिएर हामी मुम्बई–नासिक फर्कन एलिफेण्टालाई छाडेर गेट वे पु¥याउने फेरीको खोजीमा लाग्यौंं । हुतात्मा चोकबाट हामी बम्बे सेण्ट्रल रेल स्टेसनको खोजीमा मेरिनड्राइभको बाटो हुँदै सायद घुमौरो बाटो अघि बढ्यौं । पहिलो कुरा त रेल स्टेसन नै गलत भनेछ रामुले, बम्बे सेण्ट्रल नभएर उसले जानु पर्ने रहेछ छत्रपति शिवाजी टर्र्मिनस वा पुरानो भिक्टोरिया टर्मिनस । त्यो स्टेसन गेट वेबाट हुतात्मा चोकहुँदै डा.दादाभाइ नोरोजी मार्ग भएर सोझै अघि बढेको भए केही बेरमैं भेटिने रहेछ । हामी भने सायद जानै नपर्ने चर्चगेट हुँदै आएकै बाटो लागे छौ,ं ं बम्बे सेण्ट्रलको खोजीमा ! बाटोमा प्रधानमन्त्री निवास, भारतीय प्रधानमन्त्री अटलविहारी वाजपेयीको घुँडा अप्रेसन भएको जसलोक अस्पताल (हाम्रोमा भए प्रधानमन्त्री,मन्त्री र ठूलाबडाहरू आफ्नो अस्पताल र डाक्टरहरूमाथि विश्वास नगरेर समुद्रपार पुग्ने थिए रुघाखोकीको मात्रै उपचारका लागिसमेत), बाटैमा देखियो । भारत कोकिल लतामङ्गेसकरको निवास, मुम्बईको प्रशिद्ध महालक्ष्मी मन्दिरकै्र आसपासतिर रहेछ, ड्राइबरले देखाइदियो । मुम्बईको सदाबहार सडकभीडमा आधासमय मार्गमैं अड्किएर बल्लबल्ल बम्बे सेण्ट्रल त पुगियो, पुगे पछि पो थाहा भयो पुग्नु पर्ने यो होइन, अर्कै ठाउँ रहेछ । निकै लामो बाटो फेरि फर्किएर बल्लबल्ल छत्रपति शिवाजी टर्मिनस पुगेपछि सन्तोषको लामो सास फे¥यौ, कमसेकम अब आ–आफ्नो बाटो त लाग्न पाइने भयो । यो बेकार गुमाउनु परेको लगभग दुई घण्टाको अलमलले मुम्बईका अरु केही प्रसिद्धस्थल हेर्ने हाम्रो धोको अपूरै रह्यो ।
आदिवासी कोलीहरूको मौलिक मुम्वादेवी मन्दिरस्थलमा निर्मित छत्रपति शिवाजी टर्मिनस मुम्बईकै एउटा विशिष्ट स्मारकका रूपमा प्रख्यात रहेछ । इटालियन गोथिक र भारतीय वास्तुको प्रभाव सम्मिश्रित यो भवनको निर्माण दश वर्ष लगाएर सन् १९८८मा सम्पन्न भएको रहेछ । प्रवेशद्वारमा विशाल शिलाका सिंह र बाघद्वारा रक्षित यो भवनको प्रमुख आकर्षण भवनको मध्य शिरोभागमा बनेको विशाल डोममा रहेको प्रगतिसूचक बत्ती बोकेकी नारी मूर्ति रहेछ । प्रमुख प्रवेशद्वारमा चारवटा ढोकाहरू थिए । मुम्बईकै सबैभन्दा ठूलो योे स्टेसनबाट दिनहुँ एक हजारभन्दा बढी रेल र बीसलाख जति यात्रुको आवागमन हुन्छ रे !
शिवाजी टर्मिनसमा रामु र उसको साथीलाई छाडेपछि मुम्बईमा साथ लिएका चालक रमेशलाई छाड्न चेम्बुर पूर्व उसको डेरा तर्फ लाग्यौं । बाटामा बङ्गलादेशी शरणर्थीहरू र त्यहींका भूमिहीन गरिबहरूको बस्ती अथवा स्लम क्षेत्रले मुम्बईको वैभवलाई व्यङ्ग गरिहे झैं देखिन्थ्यो ! आखिर हुने–नहुने बीचको चर्को खाडल जतिसुकै सम्पन्न ठाउँले पनि मेट्न सकेको छैन, बरु तिनैको शोषणमा आफ्ना गगनचुम्बी महल र ऐस आरामको जोहो गरिरहेछ । तिनै विषमताका उदाहरण हेर्दे रमेशलाई छाडेर नासिकदेखिको हाम्रो चालक राजु नासिकको लागि हाइवे समात्ने धुनमा लाग्यो । रात छिप्पिंदै थियो, हाइवेको निरापद यात्रामा हाम्रो ट्र्याक्सले तीब्र गति लिंदै यात्रा छिचोल्यो । राती ११ बजे नासिक, जानुका अर्थात मेरी सालीको घर पुगेर बल्ल विश्रामको स्वास फेरियो । मेरा साडुभाइ अशोक लगायत सबै हामीलाई नै पर्खिरहेका थिए । अकशोकले नै निकै आग्रह गरेपछि हल्का ड्रिङ्क्स लिएर खानपिन सक्यौं र एक बजे बल्ल त्यो दिनलाई विदा गर्यौं ।
मधुपर्क, वर्ष ३६ अङ्क ३ पूर्णाङ्क ४१०, साउन २०६०
No comments:
Post a Comment