टिङ्...टिङ्....घण्टीको आवाजले सिङ्गो वातावरण सङ्गतीमय बनाइ रहेको थियो ।
हिंडाइको गतिमा घाँटीमा बाँधिएका घण्टीहरू बजाएर खच्चर र घोडाका लाम एकपछि अर्को गर्दै आउँछन्,जान्छन् । तिनको निकट आगमनले सिङ्गो वातावरणलाई नै संगीतमय बनाएर हामीलाई टाढैबाट आफ्नो आगमनको जनाउ दिइरहेको हुन्छ । साँघुरो बलौटे गोरेटोमा धूलो उडाएर कृत्रिम पर्दा खडा गर्दै वातावरणमा एउटा अनौठो गन्ध छाडेर खच्चर–घोडाको एक पछि अर्को लाम आउँछ,जान्छ । यस्तै हो,गतिवानहरूले गतिहीनहरूलाई पछाडि छाड्दै जान्छन् प्रकृतिको यो नियमय नै हो ।
“हिंड्न सकेनौ कि क्या हो !” तेज र भाउजु पनि हामीभन्दा निकै गतिवान छन् । उनीहरूको हिंडाइको गति छोप्न म र अझ मेरी श्रीमतीलाई हम्मे परिरहेको छ । केही पर पुगेर पर्खिरहेको तेज हाम्रो कठिनाइ राम्ररी बुझ्छ । उसलाई थाहाछ लक्ष्मी मुटुको रोगी,खुट्टाको पनि केही समस्या ।
“अघि नै घोडा लिउँ भनेका,मान्नुभएन त भाउजुले !” तेजले सम्झायो । तेज र मैले निकै कर नगरेका होइनौं,लक्ष्मीको लागि घोडा लिन । उसले मरिगए मानिन । आराम गरेर गरेको धर्म फलिफाप हुँदैन भन्ने उसको धारणले काम गरेथ्यो सायद् । अथवा हिंड्न नसके उसलाई जोमसोममैं राखेर हामी मुक्तिनाथ गएर आउने मेरो ठट्टालाई उसले गंभीरतापूर्वक लिएर आफूलाई कमजोर देखाउन चाहेकी थिइन । हिजो घरबाट प्रस्थान गरेदखि ने ऊ आफूलाई निकै फुर्तिलो देखाइरहेकी थिई । नयाँ यात्राको उमङ्गले उसमा निकै उत्साह पनि जगाएदिएको थियो । त्यसैले उसको त्यो भावनाको अनादर पनि गर्न चाहेनौं हामीले,र सबै पैदलै अघि बढ्यौं–ं कालीगण्डकीको तीरैतीर,प्रवाहको विपरित दिशामा ।
पोखराबाट साँङ्ग्रिला एयरको सानो विमानले हामीसहित स्वदेशी–विदेशी यात्रु सम्मिलित सोह्रजनाको टोलीलाई आफ्नो गर्भगृहभित्र राखेर बिहानै साढे सात बजे उडेको थियो । त्यहाँबाट उत्तरतिरको यात्रा थालेदेखि नै कतै विमानबाटै हात पसार्दा छोइएला झैं स्वेतधवल हिमशिखर र कतै चट्टानी पहाडमाथिको कठोर यथार्थले हामीलाई रोमाञ्चित बानइरहेको थियो । विमान माछापुछ«ेलाई दाहिनेतिर छाडेर प्रसिद्ध धौलागिरि र अन्नपूर्ण हिमटाकुराहरूको बीचकालीगण्डकीको खोंचतर्फ प्रवेश गर्दाको रोमाञ्च कहिले बिर्सन नसकिने अनुभव थियो मेरा लागि ।
“आहा कति मोहक दृश्य हगि तेज !”म तेजलाई त्यो अनुपम सौयन्दर्यको साक्षी बकाउन चाहन्छु । सायद ऊ पनि यस्तै सोचिरहेको हुनुपर्छ,उसभित्रको सात्यिकारलाई रसप्लावित गरिरहेको हुनुपर्छ यो प्रकृतिको अछूतो सौन्दर्यले,म मनमनै अनुमान गर्छु ।
“होे त कति अनुपम सौन्दर्य !”तेजको संक्षिप्त पतिकृया हुन्छ त्यो ।
“तर,माथिबाट देखिने सबै यथार्थ त हुँदैन नि होइन ? हामीले माथिबाट देखेको यो सौन्दर्य सधैं यिनै हिमश्रृङ्खला र पहाडमुनि जीवन विताउनु पर्नेहरूका लागि पनि त्यत्तिकै रसमय हुनसक्ला र !” मेरो अर्को मन यथार्थलाई पनि भुल्न मान्दैन । सौन्दर्य टाढाबाट मात्र प्रिय लाग्छ,जीवनको यथार्थका बीच त्यसलाई त्यही रूपमा भोग्न भने सायद त्यति सहज हुँदैन होला । यो दूर्गम भीरपाखामा जीवनयापन गर्नुपर्नेहरूका लागि कति कठिन र चुनौतीपूर्ण होला यहाँको यो कठोर यथार्थ !
पोखराको उडानदेखि नै समुद्रको पिंधदेखि कोसौं कोस माथि उठेका गर्वोन्नत हिमश्रङ्खलाका अक्षत यौवनले हामीलाई टाढैबाट आमन्त्रण गरिरहेका थिए । फेदीबाट आकाश छुने होडमा कतै नाङ्गा र कतै हिउँ र हिउँमा ठोकिएको घामको सुनौलो किरण पोतिएर सिन्दूरे रङ्गमा नुहाएकी लज्जाशील नवयौवनाजस्तै लाग्छन् मलाई ती हिमशिखरहरू ! लाग्छ, खस्रा–चिल्ला चट्टानका चूनौतीपूर्ण पहाडी सिंढीमाथि उभिएर शान्त,शुभ्र हिमालहरू मानिसको पौरखलाई चुनौतीपूर्णआमन्त्रण गरिरहेका छन्,आफ्नो जादूगरी आकर्षणको मोहनीको डोरीले तानिरहेका छन् । त्यसरी उभिएका हिम चुचुराहरू कतै पूर्णवस्त्रा र कतै अर्धविमोचित परिधानमा सद्यःस्नानबाट निस्किएकी सुन्दरी झैं लाग्छन् । लाग्छ,हिमाल–पहाडको यो मौन निमन्त्रणाको आकर्षण पूर्णयौवना किशोरीको प्रणयप्रस्तावभन्दा अलिकति पनि कम स्वप्निल छैन ।
“कस्तो लाग्यो तपाइँलाई जोमसोम र यो पहाडी उडान ?”जोमसोम विमानस्थलमा सामान पर्खुञ्जेलको विश्राममा म विमानको एउटी विदेशी सहयात्रीलाई प्रश्न गर्छु ।
“ओहो,अभूतपूर्व ! स्वर्गीय !”स्विट्जरल्याण्डबाट पहिलोलपल्ट नेपाल आएकी ती प्रौढ सहयात्रीको अङ्ग्रेजीमा व्यक्त अभिव्यक्ति ठीक यही थियो ।
“अनि तपाइँलाई नि,कस्तो लाग्यो ?”हिमाली सौन्दर्यमा मन्त्रमुग्ध तिनै प्रौेढ महिलाको साथमा आएकी अर्की स्विससुन्दरीलाई मेरो प्रश्न थियो यो ।
तपाइँ पत्याउनुहुन्छ,यो मेरो दशौं भ्रमण हो तपाइँको देशमा ! म जतिपटक नेपाल आउँछु,मुस्ताङ र सोलु कहिल्यै छुटाउँदिन । यसैबाट अन्दाज लाउन सक्नुहुन्छ,मलाई कत्ति मन पर्छ,तपाइँको देश !”मुस्ताङकै पाकेको सिन्दुरे रङ्गको स्यउझैं रसपूर्ण मादकता भरिएकी ती स्विस सुन्दरीको विदेशी लवजमा आएको मीठो नेपाली जवाफबाट चकित थिएँ म । ममात्र होइन,मेरो यात्रासमूहका सबै सहयात्रीहरू पनि रमाइलो मानिरहेका देखिन्थे उसको जवाफबाट ।
लाग्थ्यो ती दुई स्विस महिला मात्र होइन हाम्रो विमानका सहयात्री सबै यात्रुहरू अभिभूत देखिन्थे मुस्ताङको त्यो हिमाली मादक आकर्षणबाट ।
“तपाइँ त बारम्बार आउनुहुन्छ होला पहाड र हिमाल हेर्न ! पहाड पनि चढ्नु भएको होला नि,छैन ?” मँ काठमाडौंमा बस्छु भन्ने थाहा पाए पछिको उसको यो प्रश्नले अत्यन्तै लज्जाबोध गराएदिएको थियो त्यति बेला ।
मेरो देश,प्रकृतिको रहस्य–रोमाञ्चले भरिएको देश अर्थात साङ्ग्रिला ! यी गौराङ्गहरूले सातसमुद्र पारिबाट दो¥याई–तेह¥याई टेकेर मेरो प्रथम दर्शनको अवशरलाई खोसिसकेका छन् । बिटुल्याइसकेका छन् मेरो हिमाल र पहाडको सौन्दर्यलाई मभन्दा धेरै अगाडि नै । त्यसैले मेरो प्रकृतिको प्रथमदर्शनको कल्पना पूरा हुने कुरै छैन,यो मलाई राम्ररी थाहा छ ! यही मुक्तिनाथको पहाड पनि त मैले लामै सपना सजाए पछि मात्र बल्ल अहिले पाथेय,समय र अनुकूलता मिलाएर पहिलो पल्ट टेक्ने अवसर प्राप्त गरेको छु ! त्यस्तोमा के जवाफ दिने मैले यो विदेशी सुन्दरीलाई ?
“अँ केही पल्ट !”मनका यी व्यथालाई मनैमा गुम्स्याएर मेरो राष्ट्रिय गौरव र स्वभिमान जोगाएको थिएँ मैले ती युवती समक्ष सत्य लुकाउँदै,गोलमटोल जवाफको आडमा । आफूलाई लज्जाबाट बचाउन आंशिक झूठ बोलेको थिएँ मैले त्यति बेला ।
विचरी त्यो स्विस केटीलाई के थाहा,सातसमुद्र पारबाट जृुन आकर्षणले तनिएर ऊ सजिलै नेपाल आउँछे,त्यही आकर्षणबाट तानिएर मलाइृ यहाँ आउन त्यति सहज र अनुकूल छैन । यस्तो भ्रमण मेरा लागि सामथ्र्यबाहिरको सोख हुनजान्छ भन्ने के थाहा,बिचरी यो सातसमुद्र पारकी सम्पन्न केटीलाई ! अरुको सौजन्यमा र अफिसको काममा आक्कलझुक्कल जिल्ला भ्रमणको योग परेपनि यसरी आफूखुशी आफूले चाहेको ठाउँको आनन्द लिने विलासिता कसरी धान्न सक्छु र मैले ! यो कुरा के थाहा होस् यो विदेशी महिलालाई ! म मनमनै सोच्छु र केही सत्य,केही झूठ मिसिएको जवाफ दिएर उसको जिज्ञासा शान्त गर्ने प्रयास गर्छु । यसरी म अलिकति आफ्नो लाज पनि बचाइरहेको हुन्छु ।
विदेशीलाई यहाँको भ्रमण सहज छैन । अझ माथिल्लो मुस्ताङको भ्रमण त अझैसम्म नियन्त्रित नै छ । सन् १९४०देखि मात्र बाहिरी विश्वका लागि खुला भएको मुस्ताङ तिब्बती खम्पा विद्रोहीहरूले चिन सरकार विरूद्ध यहींबांट सशस्त्र गतिविधि बढाएपछि सन् १९७०को मध्यतिर चीन सरकारकै अनुरोधमा प्रवेशका लागि निषेध गरिएको थियो । त्यति बेला सुरक्षाका दृष्टिले मुस्ताङको जोमसोम मात्र होइन तिब्बतका चारवटा सीमावर्ती क्षेत्रमध्ये ओलाङचुङ गोला,जुम्लाको सेरु बर्फ र दार्चुलालाई उतरी सीमाप्रशासन क्षेत्रको घोषणाद्वारा प्रतिबन्धित गरिएको थियो । खम्पा बिद्रोह दमन भएपछि जोमसोम वा तल्लो मुस्ताङ पर्यटनका लागि खुला गरिए पनि माथिल्लो मुस्ताङ वा लोमान्थाङ भने बन्द नै रह्यो । जनआन्दोला पश्चात सरकारले आंशिक वा नियन्त्रित रुपमा उपल्लो मुस्ताङ लगायत हुम्लाका केही भाग,मनासलु र उपल्लो डोल्पा समेत चार हिमाली क्षेत्रमा पदयात्राका लागि खुला ग¥यो । त्यस पछि सन् १९९२मा बल्ल विदेशी पर्यटकहरुको पहिलो खेप माथिल्लो मुस्ताङ प्रवेश ग¥यो । यसरी असहज भए पनि लामो समयसम्म प्रवेश निषेधित यो क्षेत्रको भ्रमण विदेशीहरुका लागि चुम्बक झैं आकर्षणको केन्द्र बनिरहेको छ । उनीहरु अनेकौंं बाधा झेलेर पनि यसलाई हेर्न,अनुभव गर्न भीड लागेर आइरहेकाछन् । तर हामी....! हाम्रो लागि यहाँ आउन समेत ठूलै साइत जुर्नुपर्छ,यो भन्दा अर्को विडम्बना के हुुन्छ,म आफैंसँग प्रश्न गरिरहेको हुन्छु ।
यात्रामा गतिवान भएर हामीलाई पछाडि छाड्दै अघि बढ्ने घोडा र खच्चरहरू आफूमात्र छैनन्,उनीहरूका साथमा तिनका मालिक र रखवाला सयसहरूका साथै पर्यटकहरूका पथप्रदर्शक र भरियाहरू पनि त्यत्तिकै संख्यामा देखिंदैछन् । घोडा–खच्चरसँगै ती पनि हामीलाई यात्रामा पछाडि पार्दै अघि बढिरहेका हुन्छन् । हिमाली कदकाठी र विशिष्ठता बोकेका स्थानीय अनुहारहरू परिश्रमले थकित देखिएपनि हँसिला छन्,फरासिला छन् । मीठो बेलीबचनले उनीहरू यदाकदा हाम्रो स्वागत पनि गरिरहेका हुन्छन् । लाग्छ,हिमाल जस्ता चीसा छैनन् यिनीहरू !
आफ्नो उद्गमबाट उत्तर–दक्षिण हुँदै बेगले हान्निएर आइरहेको कालीगण्डकीको प्रवाहलाई छाड्दै हामी त्यसको विपरित प्रवाहतर्फ लागिरहेका छौं । कालिगण्डकीको वारिपारि रातो–रातो, पहेंलो–पहेंलो माटैमाटोका फुस्रो भीरदेख्दा कहाँ कता पढेको एउटा किम्वदन्तीे याद आयो मलाई । प्रचीन कालमा तिब्बततिरबाट एउटा विकराल राक्षसले यस ठाउँमा आएर उत्पात मच्चाएछ । त्यसले साह्रै उत्पात मच्चाएको देखेर पद्मसम्भव बुद्धले यही मुस्ताङ उपत्यकाको कुनै एक ठाउँ त्यसलाई मारिदिए छन् । वरिपरकिा डाँडामा त्यसको रगत परेकाले त्यतिबेला देखि नै यहाँको माटो यस्तो रातो भएको रे !
“दिन चढे पछि हावा अरु जोडले चल्छ,अहिले बाटो पनि त्यति खराब छैन । सकभर अगाडि नै बढ्नु पर्छ,बुझ्यौ !”तेज यात्रामा निकै अनुभवी र भरपर्दो साथी हो । यात्रामा मात्र होइन,हर कुरामा ऊ भरपर्दो र अत्यन्त सहयोग मित्र हो । अझ यात्रामा उसको अनुभव र योजना त अरु उपयोगी सिद्ध हुँदै आएको मेरा धेरै अनुभवहरु छन् । हाम्रो गतिशिथिलताले उसलाई समयमै सुरक्षित बास भेट्न मुस्किल पर्ला भन्ने चिन्ता छ,त्यसैले ऊ घुमाउरो पारामा छिटो हिंड्ने अनुरोध हो यो उसको ।
नभन्दै हावाको गति बिस्तारै तेज हुँदै जान्छ । कालीगण्डकीको तेज तर धीरगंभीर अविरल प्रवाहलाई समेत रोकुँला झैं बालहठ देखाउनें हावाको विपरित दिशातर्फको त्यो प्रवाहको तीब्र लहर हाम्रो गतिलाई पनि रोक्न भरमग्दुर प्रयत्न गरिरहेको हुन्छ । त्यो हावाको तीब्र प्रवाहसँगै
बालुवा र धूलोको बाक्लो पर्दा धरतीदेखि आकाशसम्मै उभिएर हाम्रो बाटो छेक्ने प्रयास गरिरहेको हुन्छ । धूलो र बालुवालाई सँगै लिएर उडेको हावाको त्यो तीब्र लहरले आँखा समेत हेर्न नदिएर हााम्रो गतिमा अवरोध खडा गरिरहेको हुन्छ । हावाले उडाएको त्यो धरुलोको विशाल पर्दा देख्दा लाग्छ, यो धरती छाडेर वायुमण्डलमा प्रवेश गरी अग्ला पहाड र हिमाल भेट्ने लालसामा माथिमाथि उठ्दै छ ।
हावा र धूलोको लहर केही बेर थकाइ मार्न रोकिंदा वारिपारी कताकतै देखिने केही हरिया थुम्काथुम्की र तिनै थुम्काथुम्कीका रुपमा दुर्लभप्राय हरिया झाडी–बुट्यान देखिन्थे । तिनै झाडी–बुट्यान चरेर जीवन साटिरहेका भेडा–च्याङ्ग्राका साना–ठूला बथानले हाम्रो यात्राभन्दा अरु कठिन जीवनको संक्षिप्त झाँकी दिइरहेजस्तो लाग्थ्यो । ती बथानका गोठाला स्थानीय युवा–युवती–कतै गीतको माध्यमबाट जीवनका पीडा पोखिरहेका देखिन्थे,कतै आपसी कुराकानीमा दुखःसुख साटिरहेका । हामीले यस्तै अनुमान गरेका थियौ,त्यतिखेर ।
चौडा बाटुला अनुहार,धर्के तिब्बती खालका पोशाक,मोटो चुल्ठो पारेर बाटिएका केशविन्यासका ती महिला र भोटो,कछाड वा सुरुवालमाथि कम्मरमा छुरीजस्ता हतियार भिरेका स्थानीय युवा त्यसरी भीरपाखासँग लाप्पा खेल्दै जीवन बाँचिरहेका छन्,देख्दा समेत हामी रोमाञ्चित बन्छौंैं । यता हामी अवसर प्राप्त थोरै नै भए पनि सुधिाभोगी सुकिला शहरियाहरु अवसर र सुविधाको अभावको गीत गाइरहेका छौं । अझ बढी सुविधाको खोजीमा भरिया बनेर यही माटोले दिएको ऊर्जालाई विदेशी माटोमा पोख्ने होडमा लागिरहेका छौं । लाग्छ, केही क्षण मात्र यिनको अनुहार,संघर्ष र यहाँको माटो सम्झने हो भने सायद हाम्रो गुनासोमा केही भए पनि कमी आउन सक्थ्यो कि !
“यतातिर दुर्लभ जीबूटीहरू पाइन्छ भन्ने सुनेको थिएँ,यहाँ त चारैतिर पहेंलो फुस्रो माटोको भीर–चट्टान बाहेक केही देखिंदैन ।“चरैतिरको भीर–चट्टान देपछिको मेरो प्रतिक्रिया थियो यो ।
“होला नि भित्र–भित्र बाक्ला झाडीबुट्यानहरू ।”तेजलाई पनि यकिन छैन,म उसको जवाफबाट यही अनुमान गर्छु ।
मेरो मनमा यो प्रतिक्रिया जन्माउने कारण मैले सुनेको पौराणिक कथाको घटनासँग यस क्षेत्रलाई जोड्ने एउटा पुराकथा पनि थियो । राम–रावण युद्धमा लक्ष्मण मुच्र्छित भएपछि उनको उपचारका लागि सञ्जिवनी बुटी खोज्न हनुमान धन्वन्तरीको निर्देशनमा यतै आएका थिए रे । अनेकौं जरिबूटीहरुको बीच सञ्जिवनी बूटी नचिनेर उनले सिङ्गै पहाड उचालेर लगेका थिए रे ! पुराणले समेत यति महत्व दिएको यो ठाउँमा निश्चय पनि बहुमूल्य वनस्पति पाइएलान्,यहाँबाट यस्तै जडीबूटी जम्मा गरेर यहाँका स्थानीय मानिसहरू भारतका विभिन्न ठाउँमा गई व्यापार समेत गर्छन भन्ने वर्तमान कै जानकाीले पनि त्यो कुराको पुष्टी गरिरहेका थिए । तर....मेरा आँखामा भने फुस्रा भीर–चट्टान बाहेक केही परिरहेका थिएनन् ।
चरैवेती...मानिसको चिरन्तन सत्य हो नवीन सभ्यताको अन्वेषणको प्रेरणा ! मानव विकासको प्रारम्भिक कालदेखिकै यही चरैवेतीको आदिम प्रबृत्तिले मानिसलाई नयाँ सन्सारको अन्वेषणमा डोहो¥याइरहेको छ,ंनवीन सभ्यताको खोेजी गर्न पे्ररित गरिरहेको छ । यही प्रबृत्तिले हामीलाई पनि यो हिमाल पारिको नेपाल हेर्न डोहो¥याएको थियो,मुस्ताङयात्रामा प्रबृत्त गराएको थियो । निकै समयदेखि सुसुप्त मेरो यायावरी प्रबृत्तिमा यसपल्ट मलजल गर्ने मेरी श्रीमती थिई–लक्ष्मी । मुक्तिनाथ दर्शन उसको धेरै अगाडिदेखिको चाहना थियो । नेपालका चार प्रमुख तीर्थ वा धाम अर्थात बराह क्षेत्र,पशुपति क्षेत्र,र रुरु क्षेत्रका साथै एक मानिने यो मुक्तिनाथ क्षेत्रको तीर्थाटन उसको धेरै अगाडि देखिको सपना थियो,र मेरो देशदर्शनको चाहना पनि ! त्यसका लागि लामो समयसम्म अनुकूलता भने मिलेको थिएन । यसपालि चाहिं हामीले मसक्कै आँटेर यात्राको तारतम्य मिलाएका थियौं । हामी अर्थात मित्र तेजप्रकाश श्रेष्ठ र मैले ! सहभागी थियौं,हामी दुईका अतिरिक्त श्रीमती तेज अर्थात भाउजु प्रतिभारश्मि र मेरी श्रीमती लक्ष्मी ।
“ए बैनी यहाँ लट्ठी किन्न पाइन्न ? हेर्नोस् न,एउटा लट्ठी नभई यो हिंड्नै नसक्नेभई ।” एक्लेभट्टी पुग्दा ढुङ्गेन बगरको लामो पट्यरलाग्दो यात्रा र हावाको धकेल्याइ,धूलोको संपूर्णस्नानले हाम्रो,विशेष गरी लक्ष्मीको चुरीफुरी ओइलाइसकेको थियो । त्यहींको एउटा होटेलमा विदेशी चिज र चिया खाएर केहीबेर विश्राम लिएपछि लक्ष्मीतिर देखाउँदै मैले होटेल मालिक्नी केटीसँग सोधेको थिएँ । जोमसोममा किन्ने भन्दाभन्दै भसुक्कै बिर्सिए छ । अहिले लक्ष्मीलाई हिंड्न समस्या परेपछि पो फेरि लट्ठीको खोजी भयो । रश्मि भाउजुलाई भने त्यस्तो कुनै समस्या थिएन,मभन्दा पनि तगडा !
“बेच्न त छैन,मसँग भएको लैजानोस् बरु फर्कँदा फिर्ता दिन चाहिं नबिर्सनु होला !”ती केटीले बडो उदार मनले हाम्रो समस्याको सहज समाधान गरिदिइन् ।
साँच्चिकै सहयोगी भावनाका रहेछन् मुस्ताङ्गीहरू,मैले मुखले धन्यवाद भनेर पनि मनमनै थप सह्राना गरें तिनको !
“के गर्ने फर्कंदा जाने कागबेनी कि,अहिले नै पुगेर उकालो लाग्ने ?” एक्लेभट्टीबाट केही पर पुग्दा दुईटा बाटो छुट्टिएपछि तेजको प्रश्न थियो यो ।
कागबेनी नजाने भए कालीगण्डकीलाई तलै छाडेर सिधै माथि लागेको उकालोबाटो लाग्नु पर्ने रहेछ उत्तरपूर्व तर्फ । कागबेनी जाने भए कालीको तीरैतीर तेर्सो बाटो समाउनु पर्दोरहेछ सिधा उत्तर तिर । त्यसैले हामीले निर्णय गर्नुपर्ने थियो यतिखेर,कुन बाटो समाउने ।
“फर्कंदाभन्दा अहिले नै जाऊँ,अहिले भए भात पनि खाएका छैनौं,कागबेनीमा तर्पणसर्पंण गरेर उकालो लागौंला हुन्न दाइ ?”यो लक्ष्मीको सुझावभन्दा पनि परोक्ष अनुरोध थियो ।
“हो,त्यसै गर्नुपर्छ !यहाँसम्म आएर भोकै तर्पण दिने मौका फेरि कहिले पाइन्छ र !”रश्मिी भाउजुको पनि सहमतिभएपछि हामीले बोल्ने कुरै थिएन । धर्मभीरू मध्येकै हामी हिन्दुधर्मावलम्वी नेपालीहरूमा कागबेनीको त्यो पवित्र कालीतटमा भोको पेट श्राद्ध–तर्पण गरेमा पितृ तर्छन् भन्ने विश्वास अझै जीवित छँदैथियो । संभवतः यो विश्वासको जड पनि रामायणको आख्यानसम्म नै पुगेको हुनुपर्छ । रावणले सीतालाई हरण गरेर लङ्का लैजाँदै गर्दा यही ठाउँमा काकभुसुण्डीले रोक्ने प्रयाश गरेका थिए रे । रावणसँग युद्ध पनि गरे,तर उनको बलले भ्याएन । रावणद्वारा घाइते बनाइएका काकभुसुण्डी मुत्युको मुखमा पुगे,र प्रतीक्षारत राम आएपछि उनको मुत्यु भयो रे । रामले यही ठाउँमा उनको दाहसंस्कार र श्राद्ध–तर्पण गरेका थिए रे । त्यसैले यो तीर्थमा श्राद्ध–तर्पण गरेमा पितृ तर्छन् अर्थात भौतिक जीवनबाट मुक्ति पाउँछन् भन्ने विश्वासका बारे मैले कतै सुनेको पनि थिएँ ।
यहाँबाट सिधै उत्तर यही नदीको एउटा उद्गमस्थल काकभुसुण्ढी सरोवरको बारेमा अझ अर्को पनि किम्वदन्ती पढेको थिएँ मैले । रामायण अर्थात रामकथा चार ठाउँमा सुनाइएको थियो रे–तिब्बतको मानसरोबरमा शिवजीद्वारा,नेपालस्थित मुस्ताङको काकभुसुण्डी सरोवरमा काकभुसुण्डीद्वारा, भारतका प्रयाग र अयोध्यामा क्रमशः याज्ञवल्क्य र स्वामी तुलसीदासद्वारा । भारतीय प्रसिद्ध हिन्दी दैनिक पञ्जावकेसरीमा भारतीय एकजना स्वमीले काकाभुसुण्डी सरोवरको तीर्थाटन गरेपछि गएको वर्ष मात्रै लेखेका एउटा लेखमा उल्लेख भएको त्यो किम्वदन्ती सत्य होस्,नहोस् यो हिमाली क्षेत्र मुस्ताङको प्रचीनतामा भने कुनै शंका छैन ।
किम्ंवदन्तीहरू धेरै छन्,चर्चा गर्नुपर्ने कुरा पनि धेरै छन् । तर यो अनुभूति–कोलाजको सानो चित्र फकमा श्रृङ्खला र विस्तृतताको मोहलाई त्याग्नै पर्छ । त्यसैले हामी हाम्रा विश्वासलाई ५.
सम्मान गर्देै कागबेनीको हातै काट्लाजस्तो चिसो पानीको ठिहि¥याई र आफैंलाई उडाउलाझैं हावाको थपेडा झेल्दै त्यहाँको काम सकेर फेरि उकालो लागेका थियौं,मूल लक्ष्यविन्दु मुक्तिनाथको यात्रामा !
कागबेनीबाट माथि लागेपछिको हाम्रो यात्रा अतिकठिन हुँदै गयो । पछाडि धकेल्ने हावाको तिब्र वेग,मसिना ढुङ्गानै ढुङ्ग्यान बाटोको ठाडो उकालो र जति माथि गयो उति उच्चचाप वा हाइअल्टिच्युडको कारण स्वासप्रशासमा देखापर्ने नयाँ समस्या ! लक्ष्मीलाई त धेरै खालका समस्याले आपतै पा¥यो । म पनि केही प्रभावित थिएँ नै । कालै टरेजस्तो बल्ल बल्ल झारकोटको प्रकाश लज पुगेर थकित शरीर विसाएपछि हामी दुईले बल्ल बाँचेको अनुभव गरेका थियौं । लजका मालिक छेवाङ आङ्मा गुरुङ र उनकी श्रीमतीकोे राम्रो व्यवहार र आतिथ्यले बाटोका दुख बिर्साउन ठूलै मदत पु¥यएथ्यो त्यति बेला ।
“तपाइँहरु कुन गुम्बामा नि ?”लजममा हामीलाई खाना खुवाउन लजकी मालिक्नीलाई सघाइरहेका दुईजना आनीसँग तेजले गरेको प्रश्न थियो यो ।
“म...मुक्तिनाथको मन्दिरमा पूजा गर्छु,ऊ गुरू ढाक्पो रिम्पोछेको गुम्बाको पूजारी हो । यो गुम्बालाई तपाइँहरुले नरसिंह भनी पूजा गर्छ ।”दुईमध्ये अलि पाकीचाहिंले जवाफ दिइन् ।
आनी अर्थात,बौद्ध भिक्षुणी ! यताका शेर्पा,तामाङ आदि बौद्धधर्मावलम्बीे परिवारका माहिली छोरी देवपुत्री बनेर सानैमा गुम्बा जानु पर्ने चलन बारे हामीले पहिले नै सुनेका थियौं । त्यही चलन अनृुसार गुम्बा पसेका रे ती दुई महिला । एउटी त बैंसको सिंंढी चढ्दै गरेकी तरुनी,भर्खर मनमा प्रणयको मीठो सपना बुन्ने उमेरकी ! त्यो उमेरका प्राय युवतीमा हुने पुरुष र सन्तानको न्यानो माया–वात्सल्यमा सरोवर स्नानको चाहाना स्वभाविक रुपमैं हुन्छ भन्छन्,मनोवैज्ञानिकहरू ! यौवनको सिंढी पार गरिनसकेकी त्यो आनीमा यस्तो खालको स्वभाविक चाहना थियो,थिएन हामी अनुमान गर्न सक्दैनथ्यौं । हामीसँग कुरा गर्दाको उसको अनुहारमा देखिने भावपरिवर्तनले भने यस्तो अनुमानका लागि झिनो आधार दिन खोज्थ्यो । त्यतिबेला उसको अनुहारमा देखापर्ने लज्जाका पातला रेखाहरूले प्राय पूर्णयौवना युवतीभित्र पाइने पुरुषप्रतिको समर्पणभावको आन्तरिक चाहना र नैसर्गिक अभीप्सा उसभित्र पनि पटक्कै थिएन भन्न सक्ने आधार भने दिंदैनथ्यो । यो मेरो गलत अनुमान पनि हुनसक्छ,तर त्यतिबेला मैले यस्तै सोचेको थिएँ ।
“हामी सानैमा गुम्बा पसेका ! गुम्बामा तीन वर्ष ध्यान ग¥यांै,गुरुले सिकाएको पढ्यौं,अनि पञ्चशील पायौं ।”उनीहरुले हाम्रो जिज्ञासा यसरी शान्त पारेका थिए ।
तीन वर्षसम्म गुम्बामा अध्ययन पूरा गरेर पञ्चशील ग्रहण गरेपछि बल्ल औपचारिक रुपमा आनी बनेका थिए रे उनीहरू । पञ्चशील अर्थात,काटमार नगर्ने,पुरुषसँग शारीरिक सहबास नगर्ने,झुठो नबोल्ने,नचोर्ने,अरुको चित्त नदुखाउने,अग्लो असनमा नसुत्ने,मध्यान्ह पछि खाना नखाने,अम्मल र नसासु पदार्थबाट परै बस्ने,विवाह पछि आनी बनेको हो भने त्यसपछि लोग्नेसँग समेत सहबास नगर्ने जस्ता बाचाबन्धन अर्थात सङ्कल्प गरेर पञ्चशील लिएपछि मात्रै आनी अर्थात भिक्षुणी बन्ने कुरा कतै पढेको थिएँ मैले यस अघि नै !
मुक्तिनाथको काखमा रहेको यो झारकोटको प्रकाश लज र त्यसका मालिक–मालिक्निी मात्र होइन आनीहरुको समेत न्यानो आतिथ्यले दिभरिको थकाइ बिर्सन मदत गरेपनि खासमा हाम्रो शारीरिक थकान मेटिएको थिएन । त्यैले हामी भोलि सबेरै मुक्तिनाथ दर्शनका लागि फेरि उकालो लाग्ने सल्लाह पछि हिमाली चिसो सिरेटोलाई पराजित गर्ने र थकित शरीरलाई पूर्ण विश्राम दिन न्यानो कम्बलमा गुटमुटिएर निद्रादेवीको अराधनामा लागेका थियौं,त्यस दिनको विसाउनीमा !
गरिमा, वर्ष २०अङ्क ६ पूर्णङ्क २२४ जेठ २०५९
No comments:
Post a Comment