Monday, August 30, 2010

बेइजिङ, मनमोहन र नमेटिएका डोबहरू



रेशम, पङ्खा, कागज र मुद्रणका आविष्कारक महान् छिमेकी चिन छिमेकमैं भएर पनि मेरालागि अगम्य थियो । अर्कातिर लुसुन, सनयात सेन र युगपुरुष माओको देश पुग्ने सपना भने मनभरि तैरिइरहेका थिए । दूतावास धाउने र रिझाउन सक्नेका लागि त्यो कुनै कठिन कुरा थिएन । वर्षको एकपल्ट सिन्ह्वा र दूतावासको निम्तोमा आउजाउ गर्ने पत्रकारहरू पनि हाम्रो सामु नै थिए । त्यो बाटो मेरालागि परिचित र अभीष्ट बाटो थिएन, त्यसैले मेरा लागि चिन भ्रमण सुदूरको सपना मैंै सीमित थियो ।

तर त्यस्तैमा नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको छिमेकी दुई मुलुक भारत र चीनको औपचारिक राजकीय भ्रमण निर्धारण भयो । पत्रकारको टोलीमा गोरखापत्रबाट म र युवनाथ लम्साल समावेश गरियौं । प्रधानमन्त्रीको भ्रमण टोलीमामा भारत छँदै चिनका लागि कूटनीतिक राहदानी र प्रवेशाज्ञा बनाउन तुरुन्तै नागरिकताको प्रतिलिपि उपलब्ध गराउनू भनी काठमाठौंबाट आएको खबरले आफ्नो त्यो लामाने सपना पूरा हुने आशा पलाएको थियो । त्यसले ममा हर्षको लहर फैलिनु स्वाभाविक थियो ।

२०५२ सालको पहिलो दिन अर्थात नयावर्षको राति नौ बजेतिर भारतभ्रमणबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएको पर्सिपल्टै चिनकालागि प्रस्थान गर्ने कार्यक्रम तय थियो । पर्सिपल्टै चिनकालागि हिड्नु पर्नें भएकोले एकै दिनमा सबै तयारी गर्नु कम समस्या थिएन । त्यसमाथि त्योदिन शनिवार परेकोले झनै समस्या थियो । तर शनिवारको विदा भएपनि परराष्ट्र मन्त्रालय र चिनिया दूतावास खोलेर सहयोग गरेकाले सोचेजति समस्या भने भएको थिएन । सुनाइ र पढाइमा मात्रै सीमित त्यो महान् साम्यवादी मुलुकलाई आफ्नै आँखाले हेर्न र आफ्नै पाइलाले छुन पाउने खुसीका अगाडि त्यो हतारो र दौडधूप केही थिएन । थोरै दिनमा गर्नुपरेको तयारीको त्यही हडबडीकै बीच वैशाख तीन गते हामीले प्रधानमन्त्री अधिकारीको भ्रमणदलको सदस्यका रुपमा काठमाणौं छाडेर हङकङको कोलुनस्थित नाथन रोडको इम्पेरियल होटेलमा रात विसायौं ।

वैशाख ४ गते हङकङबाट ड्रागन एयर को विमानले स्थानीय समय अनुसार एघार बजे बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा ओराल्दा प्रधानमन्त्रीको स्वागतका लागि चिनिया कोइलामन्त्री वाङ सेन हाव र सहायक विदेशमन्त्री दाङयिङ फङ विमानस्थलमैं उपस्थित हुनुहुन्थ्यो । साथमा हुनुहन्थ्यो, दुईपक्षीय मन्त्रीस्तरीय बैठकमा सहभागी हुन अगाडि नै चिन पुग्नुभएका अर्थमन्त्री भरतमोहन अधिकारीे र चिनका लागि नोपाली राजदूत तुलसीलाल अमात्य । सामान्य औपचारिक स्वागत पश्चात हाम्रो यात्रा टोलीको गन्तव्य थियो–दिआयोउताइ स्टेट गेस्ट हाउस अर्थात त्याओ यु थाई राजकीय अतिथिशाला । बाह्रवटा विशेष सवारीको त्यो ताँती बेइजिङको फराकिलो सफा सडकमा निर्वाध अघि बढिरहेको थियो । सडक–पेटीमा हिँडिरहेका बेइजिङबासीहरू जहाँछन् त्यहीँ टक्क रोकिएर सम्मान्य अतिथिको स्वगतमा आआफ्ना हात हल्लाइरहेका थिए । त्यहाँ न त हाम्रोमाजस्तो घण्टौं अगाडिदेखि सडक रोकेर अस्तव्यस्ताको सिर्जना गरिएको देखिन्थ्यो, न कुनै आतुरता देखिन्थ्यो ! सबै कुरा स्वाभाविक थिए, सामान्य र स्वतःस्फूर्तता बाहेक औपचारिकता र देखावटीपनको कतै कुनै गन्ध थिएन । सडक छेउमा ठाउँठाउँमा चिनका राष्ट्रिय ध्वजासँगै मेरो आफ्नै सूर्यचन्द्र अङ्कित रातो राष्ट्रिय झण्डा फर्फराइरहेका थिए । त्यो विदेशी भूमिमा त्यसरी गर्वोननत फहराइरहेको आफ्नो प्रिय सूर्यचन्द्राङ्कित राष्ट्रिय ध्वजा देख्दामात्रै पनि मनमा अनौठो आनन्द लाग्दोरहेछ, त्यस्तै अनुभव भएको थियो मलाई ।

हाम्रो सवारीको ताँती अतिथिशालातर्फ गतिमान थियो । माइलौं फैलिएको अत्याधुनिक शैलीका गगनचुम्बी भवनहरूको श्रृङ्खला र सवारी साधनहरूद्वारा खचाखच भरिएका फराकिला सुकिला–सफा सडक– यही थियो मेरो बेइजिङ देखेपछिको पहिलो प्रतिक्रिया । त्यति भीड र व्यस्तताका बीच पनि आफूलाई अति नम्र, इमान्दार र सौहाद्र्र देखाउने चिनीयाहरूमा हामीमाजस्तो अनुशासन भत्काएर त्यसको सीमाबाहिर जाने छटपटी कतै देखिँदैनथ्यो । सुनेको थिएँ, वैयक्तिक सम्बन्ध अर्थात उनीहरूको भाषामा ग्वाङ्सी विना कसैसँग निकटसम्बन्ध राख्न नचाहने चिनियाहरू सामान्यतया सोझै नाइँ वा हुँदैन भन्दैनन् रे ! तर उनीहरूको शिष्ट अस्वीकृति नै यति दृढ र दरिलो हुन्छ, त्यो सुनेपछि कसैले पनि दोहो¥याएर आग्रह गर्नसक्दैन ।

बेइजिङको सान लि हे लुरोडको पूर्वी प्रवेशद्वारबाट अतिथिगृह भित्र पस्नासाथ अर्कै संसारमा पुगेझैं लागेथ्योे मलाई– शान्त, सुन्दर, मनोरम । अतिथिशालाका विभिन्न शैलीका ठूलासाना १५वटा भिल्ला अर्थात नगरबाहिरका शान्त आवासले मात्र होइन, मनोरम बगँैचा, ताल–तलाउ र जीववनस्पतिका मोहक उपस्थिति देख्दा त्यो सिङ्गो क्षेत्र नै कल्पनाको स्वर्ग झैं भान हुन्थ्यो । सन् १९५९देखि मित्रराष्ट्रबाट आउने राष्ट्रप्रमुख, सरकारप्रमुख, तथा अन्य सम्मान्य अतिथिहरूका लागि अतिथिशालाको रुपमा प्रयोग हुन थालेको यो पुरानो सुन्दर आवासले आफ्नो पुरानो प्रभाव र रुप पनि त्यागेको छैन । क्विङ बंशका बादशाह क्विङ लङको लगभग ८०० वर्ष पुरानो यो शाही निवासलाई मूलतः उही रुपमा राखिएको छ रे । अहिले भने सम्मान्य अतिथिमात्र नभएर विष्ोष पर्यटक टोलीका लागि पनि उपलब्ध गराइन थालिएको रहेछ यो आतिथि सदन । सुन्दर वाटिकामा तपस्यारत वृद्ध तपस्वी जस्तै देखिन्थ्यो– सुन्दर वार्दलीले घेरिएको याङयुआन हलसहित देवदार र बाँसका हरियालीपूर्ण शितल छहारीमार्गमा थकाइ मारेर बसिरहेको क्विङलु चोक । सुदूर पश्चिमी पहाडबाट बगेर यु उआन तलाउहुँदै आइपुगेको छहरे पानीले सबै भिल्ला र घरहरूलाई फनक्कै फन्को मारिरहेका थिए । बोटरिुवा र तिनमा पुष्पितपल्लवित सुवासित फूल र तिनका डालीडालीका नाच्दै स्वागत गानमा मग्न चराचुरुङ्गिको चिर्विरले सिङ्गै वातावरणलाई सङ्गीतमय तुल्याइरहेका थिए । ती सबै देख्दा लाग्थ्यो, हाम्रा धर्मग्रन्थमा सिपलाएर बयान गरिएको इन्द्रको कानवनभन्दा रत्तिभर कम छैन यो अतिथिशालाको सिङ्गो उपवन । अतिथिशाला परिसरभित्रै क्लब, उपहार पसल, हुलाक, विदेशी मुद्रा सटही काउण्टर, ट्याक्सी बिसौनी र सूचना तथा सञ्चारका आवश्यक सबै सुविधा उपलब्ध थिए । निकै पर पश्चिम पहाडको मिया यु युआन तालदेखि ल्याइएको पानीद्वारा बनाइएका झरना, फोहरा र पुष्पसरोबर कुनै पनि कृत्रिम लाग्दैनथे । यो नै यहाँको धेरैमध्येको एउटा विशेषता हो उनीहरू यसै भन्थे । देवदारु र अन्य विभिन्न वनस्पतिका शीतल छहारी र तिनै छहारीमा लुकेर चिर्विराइरहेका चरचुरुङ्गी– साँच्चि नै बडो आनन्दमय थियो त्यो वातावरण ।

सबैभन्दा ठूलो १८ नम्बरको भिल्लामा प्रधानमन्त्री मनमोहन अधिकारी र उहाँकी श्रीमती साधना अधिकारीका साथै अङ्गरक्षक–सुरक्षाकर्मी, शिष्टाचारमहापाल र अशोक राई, ईश्वर पोख्रेल, मुख्यसचिव ईश्वरप्रसाद उपाध्याय, राजदूत तुलसीलाल अमात्य, डा. अरुण सायमी आदिलाई राखिएको थियो । त्यसैको पश्चिम पटिको ८ नं भिल्लामा हामी थियौं– भरतमोहन अधिकारी, सांसद् शरद्सिंह भण्डारी, खोमारी राय, वामदेव गौतम, काशीनाथ अधिकारी, विष्णु पौडेल, गोल्छे सार्की, तथा श्री ५को सरकारका अधिकारी र व्यापारीहरूका साथै हामी पत्रकार !

अतिथशालाको खानपिन र केही छिनको विश्राम पछि पहिलो कार्यक्रम थियो प्रधानमन्त्रीद्वारा छिङ्ह ऊनी कार्खानाको निरीक्षण । सन् १९०८मा स्थापना भएको त्यो कार्खानाले विश्वका ६०भन्दा बढी मुलुकमा आफ्नो उत्पादन निर्यात गर्छ रे । मेरो आफ्नै देशमा पनि कोदारीहुँदै चारैतिरका बजारमा फिँजारिएका थिए ती सामान ! त्यसैले ती उनी सामान र चिनका अनेकौं उत्पादन मेरालागि नौला थिएनन् । हिजो एकतर्फी भारतीय बस्तुकोमात्र ओइरोहुँदा तिर्नुपर्ने एकाधिकारपूर्ण चर्को मूल्य र वञ्चित रहनु पर्ने छनौटको अवसरबाट पनि आम नेपाली उपभोक्ताको बोझ हलुको बनाइरहेका थिए ती चिनिया उत्पादनले । म आफू किलो बनाउन नसक्ने लाचार नेपालीलाई सियोदेखि कम्प्युटरसम्म, कपडादेखि सौन्दर्य प्रसाधनसम्म सस्तो मोलमा उपलब्ध गराइरहेको थियो चिनिया बजारले ।

ऊनी कार्खाना र त्यस्तै एकदुई ठाउँको अवलोकन भन्दा अरु खासै कार्यक्रम थिएन त्यो दिन । भोलिपल्ट दुईदेशका प्रधानमन्त्रीको उपस्थितिमा हस्ताक्षर गर्ने आपसी सहयोग–सहमतिका विषयलाई अन्तिम रुप दिन दुई देशका मन्त्रीस्तरीय बैठक सम्पन्न भैसकेको थियो । हामी सँग केही समय खाली थियो, कोही त्यो समयलाई आफूखुसी घुमफिरमा उपयोग गर्दै थिए, कोही आराम र गफगाफमा । हामीलाई भने घुम्नुभन्दा बढी आवश्यक थियो आआफ्ना माध्यममा समाचार पठाउनु । त्यसैले टेलिभिजन र रेडियोका साथीहरू भूउपग्रहीय सम्पर्कको खोजीमा चाइनिज टेलिभिजन स्टेसन, दूरसञ्चार र सिन्ह्वा समाचार संस्था तर्फ लागे, हामी छापामाध्यमका साथीहरू दिनभरको समाचार लेखेर फ्याक्स गर्नेतिर व्यस्त भयौं । काठमाणौंको समय यहाँकोभन्दा तीनचार घण्टा अगाडि भएकोले समय छोप्न अर्थात डेटलाईन भेट्न भने त्यति चटारो परेन ।

त्यो साँझ बेइजिङको प्रसिद्ध परम्परागत रेष्टुराँ हेपिङमेन क्वान्जुदे डक रेष्टुरेण्टमा स्वागत समितका अध्यक्षले रात्रिभोजको आयोजना गरेका रहेछन् । त्यसैले त्यो साँझ अतिथिशालामा खानपिनको व्यवस्था पनि थिएन । तर हामी पत्रकारले भने त्यस्तो कुनै निम्तो पाएका थिएनौं । निमन्त्रणका लागि अतिथिहरूको सूची उपलब्ध गराउँदा हाम्रो दूतावासले पत्रकार जतिको नामै छुटाएछ, त्यसैले हाम्रो नाममा निम्ता आउने कुरै भएन ।

निम्तै आउनु नपर्ने भएकोले हामीलाई पनि सँगै जाने हाम्रो टोलीकै केही जिम्मेवार सदस्यहरूको आग्रह थियो । तर त्यो उपयुक्त नहुने हाम्रो निक्र्योल थियो र अग्न्शििखा र मैले भन्यौं– विदेशमा प्रत्ेयक नेपाली आफ्नो राष्ट्रको प्रतिनिधि हो । हामी पत्रकारमात्र होइनौं, पाहुना पनि हौं । त्यसैले बिना निम्ता हामी सहभागी हुँदैनौ, यो राष्ट्रिय स्वाभिमानको पनि कुरा हों । हाम्रा कुरासँग सुरुमा अरु पत्रकार साथीहरू पनि सहमत देखिन्थे, तर पछि भने उनीहरू विना निम्तो नै सहभागी भए, नजानेमा हामी दुईभाइ रह्यौं– अग्निशिखा र म स्वयम् । आज उपवास नै बस्ने निधो सहित कतै निस्केनौं हामी, त्यो साँझ । बेलुका भोजबाट फर्केर टेलिभिजनका किरण चित्रकारले आफूसँग भएका केही फलफूल खान दिए, त्यसैमा वितायौं हामीले त्यो रात ।

किनमेलका लागि प्रसिद्ध बेइजिङका दुई प्रसिद्ध क्षेत्र ल्यू–ली चाङ र तिएन–छिआओ बजारमध्ये पहिलो क्युरियो, पुरातात्विक बस्तु, पुराना पुस्तक, पेण्टिङ, चिनिया क्यालिग्राफका प्राचिन कलाकृतिका साथै परम्परागत कलाकृतिहरूका लागि कहलिएको रहेछ भने अर्को चाहिँ सोह्रौं शताब्दीतिरै पुराना बस्तुहरूको किनबेचबका लागि प्रख्यात रहेछ । पछि भने त्यसले मासु, फफूल, तर्कारीका लागि मात्र होइन, गरिबहरूको सस्तोमा मनोरञ्जन गर्ने ठाउँका रुपमा समेत प्रसिद्धि पाउँदै गएछ ।

मुख्य कार्यक्र नै भोलिपल्ट भोलिपल्ट थियो । विहानको चमेनापछि प्रधानमन्त्रीसँगै यात्रादल ग्रेटहल अफ द पिपुल तर्फ लाग्योे– निर्धारित कार्यक्रम अनुसार नै । पहिलो कार्यक्रम नै त्यो हलको पूर्वी चोक वा प्लाजामा हाम्रा प्रधानमन्त्रीको औपचारिक स्वगतका कार्यक्रम थिए । जल, स्थल र वायु सेनाका संयुक्त टुकडीको तोपसलामी तथा गारत सम्मानप्रदान पश्चातका अरु नियमित औपचारिक कार्यक्रमहरू पश्चात हाम्रा प्रधानमन्त्री र चिनिया प्रधानमन्त्री लि पेङका बीचमा विनासहयोगी लामै वार्ता भयो । त्यसको लगत्तै दुबै प्रतिनिधिमण्डलकाबीच सामूहिक वार्ता र सम्झौता–सहमतिपत्रहरूमा हस्ताक्षर गर्ने काम पनि सकियो ।

त्यसपछि त्यहीँ नै चिनिया प्रधानमन्त्रीले दिवाभोजको आयोजना गर्नुभएको थियो– हाम्रा प्रधानमन्त्रीको सम्मानमा । अप्रिल १८, १९९५को अपरान्ह ११.३० वजे प्रधानमन्त्री मानमोहन अधिकारीको सम्मानमा चिनिया प्रधानमन्त्री लि फङले दिनुभएको त्यो दिवाभोजको निम्तो भने हामीलाई अघिल्लैदिन प्राप्त भइसकेको थियो । चिनियाँ र अङ्ग्रेजी भाषामा छापिएको प्रधानमन्त्री लि फङको नामको त्यो निम्तोसँगै डिनरको मिनु पनि उपलब्ध गराइएको थियो र खाना प्राय समुद्री परिकारहरू नै थिए– सार्क फिन, माछा, प्राउन, क्य्राबका साथै चिकन सुप, भेजिटेबल, हरिया र खाँदेको बाँसका टुसा , फलफूल, आदि । चिनिया जनमुक्तिसेनाको सैनिक व्याण्डद्वारा सञ्चालित संगीतको मधुर आवाज हलभरि गुञ्जिएको छ । निम्तोपत्रमैं निर्दिष्ट नम्बरका टेविलमा हामी यात्रादलका सदस्य र चिनिया विशेष अधिकारी तथा प्रतिनिधिहरूलाई एक अर्कासँग घुलमिल हुनसक्ने गरी व्यवस्था मिलाइएको छ । दुई सम्मान्य व्यक्तित्व– दुवै देशका प्रधानमन्त्रीसँग एउटै कक्षमा चिनिया मित्रसँग कुराकानी गर्दै दिवाभोजको आनन्द लिईरहेका थियौं हामी ! त्यो दिवाभोज मेरो जीवनकै अविस्मरणीय अवसर थियो, भारतमा प्रधानमन्त्रीसँगको यात्रामा यस्तो अनुभव पाउन सकेको थिइन मैले ! अझ विभिन्न चिनिया धून र परंप।रागत संगीतको बीचबीचमा नेपाली लोक र आधुनिक गीतहरूसंगीत बजिरहेको सुन्न पाउँदाको आनन्दै अर्क थियो त्यतिखेर ! चिनिया राष्ट्रपति र प्रधानमन्त्रीद्वारा विदेशी विशिष्ट अतिथिहरूको औपचारिक स्वागत गरिने प्रसिद्ध थलोमात्र होइन यो तियानमेन चोकको पश्चिमपटि रहेको यो ग्रेटहल अफ द पिपुल । हरेक वर्ष चिनिया राष्ट्रिय जनकांग्रेसको अधिवेसन हुने महत्वपूर्ण थलो पनि हो हो यो । १० हजार सिट भएको बैठक कक्ष, ५ हजार मानिसले एकैसाथ खाना खानसक्ने विशाल भोजनकक्ष वा ब्याङ्क्वेट हलका साथै असंख्य साना बैठक कक्षहरू पनि छन् यसभित्र ।

हामी तियानमेन चोक मैं थियौं । त्यो चोक र त्यसकै अर्को एक छेउमा रहेको माओ त्सेतुङको स्मारक हेर्ने भने कुनै कार्यक्रम थिएन हामीलाई उपलब्ध गराइएको प्रधानमन्त्रीको अ‍ैपचारिक भ्रमण कार्यक्रमसूचीमा । प्रधानमन्त्री मनमोहन अधिकारी धेरैपल्ट चीन आइसक्नुभएकोले उहाँका लागि ती ठाउँ अपरिचित थिएनन् सायद । त्यसैले कार्यक्रम तय गरिँदा उहाँले हेरिसक्नुभएका बाहेकका नया ठाउँ र चिनिया विकासका परिचायक उद्योगधन्दाहरूले प्राथमिकता पाएका थिए होलान् । हाम्रोलागि त यो नै पहिलो अवसर थियो, पछि यस्तो अवसर आउँछआउँदैन निश्चित थिएन । यहाँ आएर पनि पश्चिमा प्रेसले चर्चाको शिखरमा पु¥याइदिएका त्यो ऐतिहासिक चोक र लाखौं विश्व नागरिकले तीर्थको रुपमा हेर्नेगरेका माओ स्मारक एकपटक नहेरी चिनबाट फर्कनु पर्ने अवस्था हाम्रालागि सुखद अनुभव हुनसक्दैनथ्यो । तर जाने पो कसरी, कार्यक्रमको बीचमा हिँड्न पनि नहुने, कार्यक्रम सकिएपछि अरु नै कार्यक्रमा लाग्नुपर्दा समय नपाइने । त्यसमाथि भोलिपल्ट बिहानै सांघाइकालागि उड्नु थियो । हामी त्यही चिन्तामा थियौं र त्यही बीच दुई प्रधानमन्त्रीको छलफलको समय हाम्रो खास काम थिएन । केही समयका लागि हामी खाली थियौं । अग्निजी र मैले त्यही सीमित समयको मौका छोप्ने अठोट ग¥यौं र खुसुक्क निस्कियौं कसैलाई पत्तै नदिई त्यहाँबाट । मनमा भने डर थियो, थाहा पाए भने कसैले केही भन्ने हो कि ? जे त पर्ला, मसक्क आँटेर औपचारिक समारोहस्थल छाडी तियानमेनभ्रमणमा निस्केका थियौं हामी त्यतिबेला ।

तियानमेन नामक विशाल शिलाबाटै आफ्नो नाउँ ग्रहण गरेको बेइजिङको केन्द्रीय भागस्थित तिएन–आन मेन क्वाङ–छाङ खुला चोक चिनको मात्र नभएर विश्वकै ठूलामध्येको एउटा सार्वजनिक चोक मानिन्थ्यो । तिएन–आन मेनको शाब्दिक अर्थ हुन्छ रे– स्वर्गीय आनन्दको द्वार । सन् १६५१मा बनेको यो चोकलाई पछि विस्तार गरेर चारगुण ठूलो पारियो रे । ४०.५ हेक्टर भूभाग ओगटेको थियो अहिले यसले । चोकको बीचमा बनेको दुईतले सिंहमर्मरको वेदीले चिनिया मुक्ति र स्वतन्त्रताका जननायकहरूको सम्मान र सम्झना गराइरहेको थियो । अर्कातिर सन् १९६१देखि सर्वसाधारणका लागि खुला गरिएको चोकको पूर्वतर्फ रहेको संग्रहालयले चिनिया क्रान्ति र चिनको गौरवमय इतिहासलाई आँखा अगाडि जीवन्त तुल्याइरहेको थियो । चोकको दक्षिण तर्फ रहेको माओ स्मृतिकक्षमा आधुनिक चिनका निर्माता माओ त्सेतुङको जीवित झैं लाग्ने सुंक्षित शवको दर्शनले एउटा अर्कै अनुभूति दिइरहेको थियो । विश्वकै ठूलोमध्येको एउटा नागर चोक र सबैभन्दा भीडभाडको पर्यटकीय क्षेत्र तियान्मेन चोकमा माओको स्मारकभन्दा पनि दक्षिण तर्फ मिङ वादशाहको शासनकाल अर्थात सन् १४०२–१४२४ तिर बिनेको एउटा विशाल मूल द्वार देखिन्थ्यो भने पश्चिमपटि ग्रेटहल अफ द पिपुल सगौरव उभिइरहेको थियो ।

चोकको अर्को पर्यटकीय आकर्षण केन्द्र थियो– जु–छिन् छेङ् वा जिजिन छेङ् शाही दरबार परिसर । सन् १४०६ तिर निर्मित यो दरबार परिसर निषेधित वा वर्जित नगर (फर्विडेन सीटी) का नाउँले पनि विश्वभर प्रसिद्ध थियो । कुयाङ बंश (१६४४–१९११) का सम्राटहरूको दरबारका रुपमा प्रयोग हुँदै आएको यो दरबार क्षेत्रमा आमजनताका लागि प्रवेशको अनुमति नभएकोले नै निषेधित वा वर्जित नगर अर्थात फर्विडेन सिटी बन्यो यो । हुन पनि बादशाह बाहेक शाही परिवारका सदस्य र सरकारी अधिकारीहरूले समेत इच्छा अनुसार सबै ठाउँमा प्रवेश पाउँदैनथे रे । लगभग पाँच शताब्दीसम्म चिनिया शक्तिको प्रतीक रहेको १७८ हेक्टर क्षेत्रफलमा विस्तिारित यो थलो विशिष्ठ वास्तुकला, र वर्तमानमा बंशानुगत कलाकृति र इतिहास संग्रहालयको रुपमा प्रयोग भएकाले पनि अहिले युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश छ ।

यो पुरानो वर्जित दरबार परिसर पश्चिमाहरूका लागि पछि गएर बन्द समाज अर्थात साम्यवादी चिनको प्रतीक बन्न पुग्यो, उनीहरूले सिङ्गै चिनलाई वर्जित शहरका रुपमा प्रचार गरे । निकै अगाडि पढेको एकजना पश्चिमा लेखकको फर्विडेन सिटी शीर्षकको उपन्यासको घरिघरी संझना आइरहेथ्यो मलाई त्यतिखेर ! उनीहरूको उद्धेश्य नै साम्यवादी चिनलाई नागरिक स्वतन्त्रताविहीन बन्द समाजको रुपमा चित्रण गर्नु हुन्थ्यो सायद । त्यसैले नै त्यो र पश्चिमाहरूले लेखेका अरु पनि चिन र चिनिया समाजलाई विषयबस्तुृ बनाएर लेखेका युरोपेली कृतिहरूमा मैले त्यहाँको धमिलो चित्र मात्र पाएको थिएँ । यतिबेला आफ्नै आँखाले चिन र यसको राजधानी बेइजिङल हेर्दा भने पश्चिमाहरूको फर्विडेन सिटीको विम्ब त्यही परिसरको ऐतिहासिकतामा बाहेक अन्त फेला पार्न सकेको थिइन मैले । जसरी पश्चिमाहरूले स्वतन्त्रता विरोधीको प्रतीकका रुपमा उभ्याएको तियानमेन चोक त्यति स्वतन्त्रता विरोधी होलाजस्तो लागेन मलाई । साम्यवादी समाजको विरोधमा भएभरको शक्ति लगाएर युद्धघोष गर्दै आएको पश्चिमा पुँजीवादी समाज र तिनैका विचारमा दीक्षित पश्चिमीहरूको एकपाटे चिन्तन, बनीबनाउ दृष्टिकोण त थिएन त्यो– त्यतिबेला भर्खरै आर्थिक र सामाजिक खुलापनको प्रयोग गरिरहेको चिनको बेइजिङ र लगत्तै साङ्घाई देखेपछि मेरो मनमा उब्जेको प्रश्न थियो यो ! बेइजिङ र सांघाई धमाधम रात्रिक्लब र डिस्कोहरूमा जाग्राम बस्न थालिसकेको थियो । चिनिया किशोर किशोरीहरू सार्वजनिक बागबगँैचामा लठार्रिंदै निर्धक्क म्वाइसाटासाट गर्दै कथित पश्चिमा स्वतन्त्रताको निर्वाध उपभोग गर्न थालिसकेका थिए । युवतीहरूका पोशाक छोट्टिँदै संवेदनशील अङ्गहरूको झलक दिएर युवामनका लोभी आँखाहरूलाई कृतार्थ तुल्याउन थािलसकेका थिए । त्यो स्वतन्त्रताउन्माद कतिसम्म पर जाने हो, चिनले आधुनिकता र खुला समाजको नाउँमा यसलाई कतिसम्म बढाउने हो केही भन्न सकँदैनथ्यो । तर केही चिनियाहरू भने तीब्र गतिमा बढिरहेको यो प्रवृत्तिबाट चिन्तित देखिँदैथिए । उनीहरूको मौन आँखामा नाचिरहेका प्रश्न देखिन्थे– के यही हो पश्चिमाहरूले भनेको स्वतन्त्रता ? के यही हो आधुनिक विकासको परिचय ? यिनै प्रवृत्तिबाट आफ्नो पन गुमाउँदै गएको म नेपालीलाई उनीहरूको त्यो मौन प्रश्न मेरो आफ्नै अन्तर्मनले मसँगै गरेको प्रश्न जस्तै लागेको थियो त्यसबेला !

माओपछिको चिनलाई विश्वसामू अजेय आर्थिक र राजनीतिक शक्तिका रुपमा स्थापित गर्नेमा सायद् धेरैको पसिना चुहिएको छ । क्रमशः खुलापनको महायात्रामा निरन्तर अघि बढिरहेको महाचिनलाई विना कृुनै अवरोध विश्वसामू प्रतिस्पद्र्धी रुपमा उभ्याउन बन्द समाजको पूर्वरुप सायद् उपयुक्त हुँदैनथ्यो । त्यसैले चिनीया नेताहरूले क्रमशः संक्रमणको विन्दुलाई थेग्न सक्ने हिसाबले अघि बढाए, चिनियाहरू यसै भन्थे । पश्चिमी पूँजीवादी आक्रमणको निरन्तर संगठित प्रहारका बीच सोभियत रुसमा गोर्भाचोभले विचार नपु¥याई एकैपल्ट पश्चिमी नमूनाको पूँजीवादी प्रजातन्त्रका लागि सबै ढोका खोलिदिँदा कुनै समयको शक्तिसाली र गौरवमय रुसले आप्mना सबै गौरव र शक्ति गुमाएको इतिहास थियो चिनका अगाडि । पुरानो संरचना र संयन्त्र र एकैचोटी भत्काएर नया संरचना र संयन्त्र निर्माण गर्ननसक्दा देखिएको रुसी नियति चिनको अगाडि ठूलो पाठका रुपमा पनि खडा थियो । त्यसैले उसले आफ्नो प्रणाली र संरचनाभित्रै थेग्न र व्यवस्थापन गर्न सकिने हिसाबले आर्थिक र अन्य खृुलापनलाई प्रवेश गराउँदै गयो । त्यसकै फलस्वरुप आज अर्थिक र अन्य हिसाबले एक मात्र शक्तिराष्ट्र भनिने विश्व शक्ति अमेरिकालाई उछिन्ने होडमा सफलतापूर्वक अघि बढिरहेको छ चिन । तर राम्रोसँगै नराम्रा कुरा पनि हुलमुलमा छिर्छन्, राम्राभन्दा नराम्रा कुराले नै मानिसलाई बढी लोभ्याउँछ । त्यही नियतिको पूर्वाभ्यास गर्दै थियो सायद चिन पनि । खुलापन र स्वतन्त्रताको नाउँमा क्रमश नाङ्गिँदै गएको आफ्नो अस्मितालाई पनि टुलुटुलु हेर्दै वाध्य बन्दै थियो त्यो ! धेरै हेर्ने र बुझ्ने समय थिएन हामीसँग, मूल उद्देश्यबाट केही समय चोरेर सुटुक्क आएका हाम्रालागि मन फुकाएर घुम्न पाउने कुनै संभावना थिएन । त्यसैले हतारहतार ग्रेटहलको समारोहस्थल फर्केका थियौं हामी । उता औपचारिक हस्ताक्षर कार्यक्रम सुरु भइसकेको थियो, साथीहरू हामीलाई खोज्दै थिए । जे होस् कार्यक्रम पनि भ्याइयो, एउटा दुइटा भए पनि हेर्नै पर्ने ठाउँ हेरियो । चिन घुमेर चिनको विशाल पर्खाल नहेरी फर्कनु पर्ने हाम्रो वाध्यता भने आफ्नो ठाउँमा छँदैथियो । जे प्राप्त भयो त्यसैमा चित्त बुझाउन वाध्य थियौं हामी ।

त्यस अपरान्हको अर्को कार्यक्रम थियो– तयारी पोशाक कार्खाना अर्थात बेइजिङ सर्ट फ्याक्ट्रीको हेर्ने । त्यहाँबाट फर्केपछि प्रधानमन्त्री मनमोहन अधिकारी चिनिया राष्ट्रपति चियाङ च मिनसँग शिष्टाचार भेटका लागि यिङताई जोङ्नानहाइ राष्ट्रपति भवन जानुभयो । त्यहाँ यात्रादलका सीमित सदस्यहरुको मात्र सहभागिता रहने भएकोले हामी दिनभरका कार्यक्रमको समाचार बनाएर आआफ्ना संस्थामा पठाउने तर्खरमा लागेका थियौं । राष्ट्रपतिसँगको भेट सकिएपछि प्रधानमन्त्री र भ्रमणदलको सम्मानमा हाम्रो दूतावासले आयोजना गरेको रात्रिभोजमा जाने तर्खरमा थिए सबैजना । अग्निजी र मेरो भने हिजोको रात्रिभोजमा दूतावासले पत्रकारको नाम छुटाएकोमा सांकेतिक विरोधकोस्वरुप त्यो रात्रिभोजमा सहभागी नहुने सल्लाह थियो । त्यो कार्यक्रमको समाचार पठाउनु पर्ने वाध्यताका कारण टेलिभिजनका साथीहरू गए पनि हाम्रोसाथै पत्रकार साथीहरू पनि नजाने सुरुको सहमति भने पालना भएन, नजानेमा म र अग्निशिखा मात्रै प¥यौं । दूतावासको रात्रिभोजमा बीबीसी नेपादली सेवाका तर्फबाट भ्रमणबारे आफ्नो अनुभव सुनाउन लण्डनबाट खगेन्द्र नेपालीले मसँग सम्पर्क राख्न खोजेका रहेछन् । भोलिपल्ट भेट्दा बल्लभमणि दाहालले उक्त जानकारी दिएर त्यहाँ भेट हुन नपाएकोमा खिन्नता प्रकट गर्नुभएको थियो ।

भोलिपल्ट बिहानै चमेना पछि सांघाइ प्रस्थान गर्ने तयारीमा लाग्दै थियौं । एउटा खबर आयो– म र अग्निजीलाई प्रधानमन्त्रीले भेट्न खोज्नु भएको छ । सुरुमा त केही डर पनि लाग्यो, हिजो र अस्तिको रात्रिभोज वहिष्कार गरेकामा हव्प्काउन त बोलाउनु भएको होइन प्रधानमन्त्रीले ? जे भए पनि प्रधानमन्त्रीले बोलाउनुभएपछि जानै पथ्र्यो, डराउँदै पुग्योैं हामी उहाँको अगाडि । ईश्वर पोख्रेल र डाक्टर सायमी लगायत धेरै हुनुहुन्थ्यो त्यहाँ । त्यहाँ पुगे पछि थाहा भयो– अघिल्लो रात्रिभोजमा हामी पत्रकारलाई निम्ता नआएको र त्यही कारण हामी नेपाली दूतावासको रात्रिभोजमा नगएको जानकारी भएपछि उहाँलाई पनि नमज्जा लागेछ । दूतावासका नेपाली अधिकारीहरूको त्यो लापर्वाही प्रति म तपाइँहरूसँग क्षमा चाहन्छु भन्ने त्यो महान् व्यक्तित्वको भनाइले हामी आफैंलाई लज्जित तुल्याएको थियो त्यतिखेर । मुलुकको सम्माननीय प्रधानमन्त्रीको त्यो विनम्रताले हामी पानी पानी भएका थियौं । मनमनै लागेको थियो, त्यो विरोध गरेर हामीले ठीक गरेनछौं कि ? तर आत्मसम्मान गुमाएर त्यहाँ जानु अन्तरात्माले ठीक ठानेको थिएन र हामीले त्यही अन्तरात्माको अवाज सुनेका थियौं । मुलुकको सर्वोच्च कार्यकारी प्रमुखले त्यो घटनालाई त्यति संवेदनशील ठानेर हाम्रो आत्मसम्मनाको रक्षा गर्दा समेत दूतावासका अधिकारी र परराष्ट्रका अधिकारीहरूले भने त्यसबारे कुनै गल्ती महसूस गरेको पाइएन, सामान्य शिष्टाचार निर्वाह गरेको देखिएन । त्यो चाहिँ अनौठो लागेको थियो हामीलाई । हाम्रो ब्युरोक्रेसीको विशेषता नै हो त्यो सायद् । मनमोहन अधिकारीको त्यो सादापन, महानता र अर्काको आत्मसम्मानप्रतिको संवेदनशीलता अनुपम थियो । तिनै स्वभाव, आदर्शले नै त मनमोहनलाई महान बनाएको थियो सायद ।

साङ्घाइ प्रस्थान गर्ने क्रममा आआफ्ना झोलातुम्बा चिनिया अधिकारीहरू

जिम्मालाएर अन्तिम चमेनाको स्वाद लियौं हामीले बेइजिङमा । प्रधानमन्त्रीको ग्रेटहलमा चिनिया जनराजनीतिक परामर्श सम्मेलन राष्ट्रिय समितिका अध्यक्ष ली रुइह्यानसँग भेटवार्ता सकेर सोझै विमानस्थल आउनुहुने कार्यक्रम थियो । चिनभ्रमण सकिएपछि प्रधानमन्त्री मङ्गोलिया को औपचारिक भ्रमणमा जानुहुने कार्यक्रम थियो । सन् १९६१मा स्वर्गीय श्री ५ महेन्द्रको राजकीय भ्रमण पछिको यो उच्चस्तरीय औपचारिक मङ्गोलिया भ्रमणमा प्रधानमन्त्री र श्रीमती अधिकारीका साथमा अशोककुमार राई, प्रमुख सल्लाहकार ईश्वर पोख्रेल, सांसद् द्वय शरद्सिंह भण्डारी र खोभारी राय, परराष्ट्रका सहसचिव जनक शहादुर शाह, चिकित्सक अरुण सायमी र अङ्गरक्षकहरू मात्र सहभागी हुनुन्थ्यो । बाँकी हामी साङ्घाइबाटै काठमाडौंका लागि हङकङ उड्ने कार्यक्रम भएकोले बेइजिसँग अन्तिम विदा लियौं हामीले– विदा बेइजिङ, विदा !

२०६१ जेठ १९

आरुबारी

गरिमा, वर्ष २२ अङ्क १०पूर्णङ्क २६२ असोज २०६१

No comments:

Post a Comment