Tuesday, August 24, 2010

मुस्ताङको गुफा बाल उपन्यास

यात्राको तयारीमा

श्

”आमा...आमा....भोलिदेखि त हामीलाई स्कुुलमा छुट्टी भयो ! यो एक महिनाको दशैं बिदामा त बाबाकहाँ लैजान्छु भन्नुभएको होइन ?” अभिनवले झोला फुत्त भुइँमा फ्यालेर भन्यो ।

“ल...हेर.... त्यसरी झोला फाल्ने हो ! पुस्तकहरु जतन गरेर पो राख्नुपर्छ । यति पनि थाहाछैन तिमीलाई ? यस्तो नराम्रो बानी ग¥यौ भने कसले लान्छ तिमीलाई बाबाकहाँ,भनत ! ” आमाले उसलाई सम्झाउँदै भन्नुभयो ।

“अब यस्तो गर्दिन आमा ! यसपालिको विदामा त बाबाकहाँ लैजानुहोस् है । बाबाले पनि त ल्याउनु भन्नुभा’ होइन र !” अभिनवले भन्यो ।

ऊ नयाँ ठाउँमा घुम्न असाध्यै मन पराउँदथ्यो । त्यसमाथि पनि आफ्नो कक्षा पाँचको पुस्तकमा मुक्तिनाथ र मुस्ताङको बारेमा पढेदेखि त उसलाई कहिले त्यहाँ पुगुँजस्तो भइरहेको थियो ।

सञ्जोगले अभिनवका बाबा अफिसबाट सरुवा भएर एक वर्षदेखि जोमसोममैं हुनुहुन्थ्यो । बाबा कृषिविकास अधिकारी हुनुहुन्थ्यो । त्यसैले जिल्लाभरिका गाउँघर घुमेर त्यहाँका किसानलाई खेतीपाती र फलफूल खेती गर्न सिकाउने,सघाउने गर्नुहुन्थ्यो ।

जोमसोम मुस्ताङ जिल्लाको सदरमुकामको नाम हो । जिल्लाका अड्डा–अदालतहरु रहेको ठाउँलाई सदरमुकाम भन्दछन । त्यहाँंबाट मुक्तिनाथ पुग्न एकदिनको बाटो हिँड्नु पर्दथ्यो । त्यतातिरका मानिस भने एकै दिनमा मुक्तिनाथ पुगेर जोमसोम फर्कन सक्थे रे । उसले पढेको थियो,नेपाल आउने विदेशी पर्यटकहरुले स्वर्ग ठान्ने गरेको मुस्ताङमा समुद्रको सतहभन्दा कम्तीमा १३७२ मिटर र बढीमा ८१६७ मिटरसम्मका अग्ला ठाउँहरु रहेछन् । नेपालकै सबैभन्दा उत्तरको सिमानाको यो जिल्ला मनाङ,डोल्पा,म्यग्दी र चिनको तिब्बतले घेरिएको रहेछ । तिब्बती पठारमा घुसेको यसको तीनै तिरको जमिनको भाग तिब्बतसाग जोडिएको रहछ । आधा भाग हिमाल पारि र अधा भाग वारि रहेको मुस्ताङ धवलागिरि र नील गिरिको काखमा थुपुक्क बसेको जस्तै देखिन्थ्यो । नदीनालाले जमिन चिरेर बनाएका कैयौं गल्छीहरु उसले विमानबाटै देखेको थियो । यस्ता गल्छी पहिरोमध्ये एउटा थाप्ला भन्ने गल्छी संसारकै सबैभन्दा गहिरो छ रे । मुस्ताङ असाध्यै राम्रो छ भनेर बाबाले भन्नुभएकोे कुरा उसले आफ्नै आँखाले देख्योे । यो जिल्लामा पानी पर्दाेरहेनछ,परेमा पनि अत्यन्तै थोरै पर्ने रहेछ । हिउँदमा भने असाध्यै हिउँ पर्दाेरहेछ । सो जिल्लाको जम्मा क्षेत्रफल ३लाख ६३हजार ९सय ५८ हेक्टर रहेछ । यहाँको जनसंख्या पन्द्र हजार जति रहेछ । सय जनामा चौधजना जतिले मात्र लेखपढ गर्न जान्दारहेछन् ।

घरमा अभिनव बाहेक हजुरबा,हजुरआमा, आमा, नविन काका र निसा काकी, रविन काका र रीता काकी हुनुहुन्थ्यो । अभिनवको पढाइ बिग्रने डरले बाबा एक्लै मुस्ताङ जानुभएको थियो । अभिनव नयाँ ठाउँमा घुम्न असाध्यै मन पराउँछ भन्ने बाबालाई थाहा थियो । नयाँ ठाउँमा घुम्दा धेरै नयाँ कुरा सिक्न सकिन्छ भनेर बाबाले नै सिकाउनु भएको थियो । त्यसैले केही दिन अघिमात्र बाबाले यो पल्टको दशैं बिदामा अभिनवलाई लिएर आउनु भनी आमालाई चिटठी् लेख्नु भएको थियो । केही दिन घुमेर दशैं मान्न बाबापनि सँगै घर आउने भनेर लेख्नुभएको रहेछ । यो बेला त्यहाँ घुम्नको लागि सबैभन्दा राम्रो समय भएकोले बाबाले दशैं अगाडिको समय छान्नुभएको रहेछ ।

“अभिनव मुस्ताङ जान कर गर्दै छ । उसको बाबाले पनि यसपाली ल्याउनु भनी चिट्ठी लेख्नुभएको थियो । स्कुल छुट्टी भइहाल्यो, पु¥याएर ल्याउँ कि ?” बेलुका सबैजना जम्मा भएपछि आमाले भन्नुभयोे ।

“हुन्छ नि त, पु¥याएर ल्याऊ । उसको रहर पनि पुगोस्, नयाँ ठाउँ पनि हेरेर आओस् । बरु कहिले जान्छौ ?” हजुरबाले पनि अनुमति दिनुभयो ।

“जान त जाऊ बुहारी, यो अलि चकचके छ । राम्ररी होस पु¥याउनू । हराउला, चोटपटक लाउला ।” सधैं आफूसँगै रहेको नाति बाहिर जानलाग्दा हजूरआमाले अलि पिर मान्दै भन्नुभयो ।

“हजूरआमा पिर नगर्नाेस् न, हामी चाँडै फर्किहाल्छौ नि । म चकचक गर्दिन क्या, आमाबाबालाई पनि पिराउन्न ।” हजुरआमाले पिर गर्नुभएको देखेर अभिनवले भन्यो ।

“हजुर पिर नगर्नोस आमा, यसको मनखुुसी गर्न म कहाँ दिन्छु र ! त्यसमाथि हामी चाँडै आई हाल्छौं नि । बरु जाने पो कहिले र कसरी हो,त्यो पो मिलाउनु प¥यो, रविन बाबु ।” आमाले पनि हजूरआमालाई सम्झाउँदै भन्नुभयो ।

“तपाइँ चिन्तै नगर्नाेस् न भाउजू,म भोलि नै आइतबारको लागि ल्पेनको टिकट ल्याउँछु । बसबाट जाँदा धेरै हिँड्नुपर्छ, केटाकेटी लिएर तपाइँ जान सक्नुहुन्न । बरु आइतबारलाई हिंड्ने तयारी गर्नाेस् । ल नि अभिनव मनपर्दाे गरेर आमालाई पिराउने होइन नि ! त्यसो हो भने त टिकटसिकट ल्याउन्न नि म,बुझ्यौ होइन ?” काकाले अभिनवलाई फेरि पनि संझाउँदै भन्नुभयो ।

आज शुक्रबार, पर्सि त बाबालाई भेट्न जोमसोम जाने ! खुसीले अभिनवको भुइँमा खुट्टा नै थिएन । ऊ रातभर राम्ररी निदाउन पनि सकेन । भोलि त साथीहरुसँग विदावारी पनि हुनुपर्छ ।

सधैं आमाले उठाउनु पर्ने अभिनव भोलिपल्ट आफैं सबेरै उठ्यो । चिया नास्ता गरेर ऊ भोलि मुस्ताङ जाने कुरा सुनाउन साथीहरुलाई भेट्न हिंड्यो ।

“होइन कहाँ गइराखेको यति अबेरसम्म ! भोक पनि लागेन कि कसो ?” आमाले अलि रिसाए जसरी भन्नुभयो ।

“साथीहरुलाई भेट्न गएको,अलि अबेर भयो ।”अभिनवले डराउँदै जवाफ दियो ।

“ल...ल...खाना खाऊ । आफ्नो कति काम बाँकी छ । भोलि विहान सबेरै हिंडनुपर्छ । सरसामान मिलाउन बाँकी नै छ ।” आमा फतफताउँदै काममा लाग्नुभयो । काकीले उसलाई खाना खान दिनुभयो ।

कहिले भोलि होला भन्ने छट्पटीमा नैं उसले दिन र रात बितायो ।

ड्ड













चिलगाडीमा सरर



“भोलि त चाँडै उठ्नु पर्छ नि अभिनव ! विहान सातै बजे एयरपोर्ट पुगिसक्नु पर्छ ।” काकाले हिजै राती भन्नुभएको थियो ।

जोमसोम विमानस्थलमा दिउँसो एघार–बाह्रबजे पछि जोडले हावा चलेर हवाइजहाज बस्नै सक्तैन रे ! काठमाडौंको त्रिभुवन विमान स्थलबाट हवाइजहाज विहान आठै बजे उड्छ रे । त्यसैले काकाले विहान साढे छ बजे नै ट्याक्सी ल्याइ पु¥याउनुभयो ।

“ल....राम्रोसँग जानू । जानासाथ फोन गरेर पुगेको खबर गर्नु नि । बेलाबेलामा फोन गर्दैगर्नू ! अभिनव, चाँडै फर्कनु है बाबु । आमा–बाबालाई दुखः नदिनुू । नौलो ठाउँमा आफूखुसी यताउती नंिहंड्नू !” हजुरबा–हजुरआमाले एकैसाथ भन्नुभयो ।

सबैसँग बिदावारी भई अभिनव आमा र काकासंगै ट्याक्सीमा त्रिभुवन विमान स्थलतिर लागे । काका उनीहरुलाई हवाइजहाज चढाउन सँगै जानुभएको थियो ।

ट्याक्सी अभिनवको घर कुपण्डोलबाट थापाथली हुँदै माइतीघरबाट अरनिको राजमार्ग तिर लाग्यो । बिहान सबेरै भएकोले सडकमा मानिसहरु कमै मात्र देखिंन्थे । त्यसैले सुनसान सडक हुँदै ट्याक्सी नयाँ बानेश्वर, तीनकुने भएर एयरपोर्टतिर मोडियो । केही बेरमैं उनीहरु विमान स्थलभित्र पसे । विमान स्थलमा सामानहरु जँचाएर पास लिई अभिनव आमासँगै भित्रपटिको अर्काे कोठामा गयो । हवाइजहाज चढ्ने बाहेक त्यो कोठामा अरु मानिसहरु पस्न पाउँदैनथे । त्यसैेले काका बाहिरैबाट फर्कनुभयो ।

“सबैले आ–आफ्नो सिटमा रहेको पेटी बाँध्नोस्, अब विमान उड्दैछ ।” विमान भित्रकी परिचारिका दिदीले त्यसो भन्नुभएपछि आमाले उसलाइ पेटी बाँधिदिएर आफ्नो पनि बाँध्नुभयो ।

“पेटी किन बाँधेको हँ आमा ?” अभिनवले नबुझेर सोध्यो ।

“हवाइजहाज उड्दा यताउता हल्लिन सक्छ, त्यसरी हल्लिंदा हामी पनि हुत्तिएर चोटपटक लाग्नसक्छ । यो बाँधेको पेटीले हुत्तिएर ठोक्किन दिँदैन, बुझ्यौ !” आमाले बुझाउनु भयो ।

“आमा.... !” हवाइजहाज उड्नका लागि बेतोडले दौडिंन थाले पछि अभिनव डरले करायो । त्यसमाथि घच्याक्क गर्दै जहाज जमिन छाडेर माथि आकाश तिर उड्न लाग्दा त अभिनवले डराएर आमालाई च्याप्पै समात्यो ।

“नडराऊ न...., एक छिन आँखा चिम्म गर, अनि डर त्यसै भाग्छ । बरु अघि तिमीलाई दिएको चकलेट खाऊ ।“ आमाले सम्झाउनु भयो ।

प्लेनमा बसेपछि एकजना दिदीले सबै यात्रीलाई जस्तै उसलाई पनि चारवटा मीठो चक्लेट दिनुभएको थियो । त्यतिमात्रै होइन हवाइजहाज उड्दा त्यसको चर्काे आवाजले कान दुख्छ भनेर कानमा राख्न कपास पनि दिनुभएको थियो । कपास चाहिं आमाले नै उसको कानमा हावा नछिर्ने गरी राखिदिनुभएको थियो । आमाले भनेजस्तै ऊ चक्लेट मर्मरी चपाउन थाल्यो । त्यसो गर्दा आमाले मुख चलेर कान चर्किंदैन भन्नुभएको थियो । अब विस्तारै उसको डर कम हँुदै गयो । त्यस पछि त ऊ हवाइ जहाजको झ्यालबाट बाहिर देखिएका दृश्य हेर्दै रमाउन थालिहाल्यो ।

हवाइजहाज जति अक्कासिंदैं गयो उति उसलाई आफू वादलमाथि उडिरहेको जस्तो लाग्यो । आकाशबाट तल हेर्दा जमिनमा कतै नागबेली धर्साहरु देखिन्थे,कतै डाँडाकाँडा र बनजंङ्गलहरु । नदीहरुको किनार नै किनार सर्प हिंडे झैं नागबेली पर्दै सलल्ल बगेको देखिने त्यो पक्कै पोखरा जाने पृथ्वि राजमार्ग हुनुपर्छ, उसले मनमनै अडकल काट्यो । अनि ती चाहिं त्रिशूली, गण्डकी, सेती नदीहरु होलान् । हो रहेछ, आमासँग सोध्दा उहाँले ती नदीहरु एकएक गर्दै चिनाइदिनु भयो । हवाइ जहाजबाट आकाश मुनिको संसार हेरेर अभिनव चकित प¥यो–आहा कति रमाइलो ! कतै अग्ला डाँडा देखिन्छन्, कतै गहिरा खाेंच र तिनै खाेंचहरुबाट निस्किएको देखिने नदी, खोला र खहरेहरु ! कतै हरिया रुखहरुले ढाकेका रमाइला बनजंगल, कतै फुङ्ग उडेका राता–फुस्रा नाङ्गा डाँडाहरु ! अझ कतै बादलमाथि भएर प्लेन उडेको बेला त आफूभन्दा मुनि भुवादारी कपासको सागरमाथि उडिरहेको झैं लाग्ने !

आश्चर्यलाग्दा यी दृश्यहरु हेर्दाहेर्र्दै विमानले पोखरा नाघिसकेछ ,परिचारिका दिदीले भनेपछि उनीहरुले थाहा पाए । पोखराबाट जति जति उत्तरतिर लाग्यो हवाइजहाजबाट देखिने दृश्य उति नै झनझन रमाइलो हँुदै गयो । हिउँले ढाकिएका अग्लाअग्ला हिमालका चुचुराहरुमा घाम ठोक्किएर सुनौलो रंगमा पोतिंदा ती असाध्यै राम्रा देखिएका थिए । जहाज जति उत्तर तर्फ लाग्थ्यो ती सुन्दर हिमालहरु उतिउति हातैले छोइएलान झैं नजिकै आएजस्ता लाग्थे ।

हेर्दाहेर्दै कतिबेला जोमसोम आइसकेछ, उसलाई पत्तै भएन । विमान परिचारिका दिदीले “अब हामी जोमसोम एयरपोर्टमा उत्रिंदैछौं, कृपया सबैले आ–आफ्नो सिटको पेटी बाँध्नुहोला” भनेपछि पो उसले जोमसोम आइसकेको थाहा पायो । नभन्दै केहीबेर पछि नै ऊ आकाशबाट धरतीमा ओर्लिसकेको रहेछ । ओर्लेको केहीबेर पछि नै विमानको ढोका खुल्यो र एकएकजना गर्दै उनीहरु बाहिर निस्किए ।

ड्ड















बाबासँगको भेट



“बाबा !” विमानको ढोकाबाटै बाबालाई देखेर अभिनव एक्कासी चिच्यायो । आफूलाई असाध्यै माया गर्नु हुने बाबालाई धेरै समय पछि देख्दा ऊ खुसीले चिच्याउनु स्वाभाविकै थियो ।

“के उत्ताउलो भएको, लड्लास् ! अब आफ्नो बाबासँग भेट भैहाल्यो नि ।” आमाले भन्नुभयो ।

“मँ तिमीहरुलाई नै लिन आएको । अभिनव, कस्तो छ तिमीलाई ? अनि अञ्जु तिमीलाई, घरमा बा–आमा सबैलाई सञ्चै छ होइन ?” बाबाले अभिनवको कपाल मुसार्दै मायालु स्वरमा भन्नुभयो । अभिनव बाबाको हात समातेर उभिइरह्यो ।

“सबैलाई सञ्च्ौछ । तपाइँलाई नि, राम्रै छ होइन ।” आमाले पनि बाबाको सञ्चोविसञ्चो सोध्नुभयो ।

दुई अग्ला पहाडको बीचमा पूर्व पश्चिम लम्बिएर तेर्सिएको सम्म मैदान रहेछ जोमसोम विमानस्थल । कालीगण्डकी नदीको किनारको मैदानमा बनेको यो विमानस्थलको पक्की भवनको भर्खरै सन् २००१ मा मनाइएको मुस्ताङ महोत्सवका अवसरमा उद्घाटन भएको रहेछ । यसको उद्घाटन प्रधानमन्त्री शेरबहादुुर देउवाले २०५८ साल असोजमा गर्नुभएको रहेछ । यो विमानस्थल नेपालका सबै जिल्लाहरुको सदरमुकामहरु मध्ये नै सबैभन्दा अग्लो ठाउँमा रहेको विमानस्थल भनेर उसले कितावमा पढेको सम्झ्यो । जोमसोम मुस्ताङ जिल्लाको सदरमुकाम भन्ने उसलाई थाहा थियो । नेपालकै सबैभन्दा अग्लो ठाउँमा रहेको यो सदरमुकाम समुद्रको सतह भन्दा २७१० मिटर जति माथि रहेछ !

“अभिनव, हेर त...ऊ त्यो हिमालको नाम नीलगिरि हो ! विमानस्थलको ऊ त्यहींं छेउबाट कालीगण्डकी नदी बगेको छ ।” बाबाले विमानस्थलको भन्दा दक्षिणतिर देखाउँदै भन्नुभयो । देख्दै राम्रो लाग्ने हिमाल र छेउमैं बगिरहेको सुनिने कालीगण्डकी नदी देखाउँदै भन्नुभयो । यो हेर्दा जोमसोम र यो विमानस्थल दुबै नीलगिरि र कालीगण्डकीको काखमा थुपुक्क बसेको जस्तो देखिन्थ्यो –आमाको काखमा ज्ञानी भएर बसेको सानो बालकजस्तै ।

“आहा, कति रमाइलो ठाउँ ! बजार पनि विमानस्थलसँगै जोडिएको जस्तो देखिन्छ नि बाबा ?” अभिनवले विमानस्थल बाहिरका घरहरु देखाउँदै भन्यो ।

“हो,बाबु...यो जोमसोमको नयाँ बस्ती हो । यो मैदानदेखि सुरुभएको घरहरुको दोहोरो ताँती जोमसोमको पुरानो बजारसम्म नै पुग्छ । यो नयाँ बस्ती काटेर पुलको मुहानमा पुगेपछि मात्रै जोमसोमको पुरानो बस्ती भेटिन्छ, बुझ्यौ !” बाबाले एकएक कुरा उसले बुझ्नेगरी बताउनुभयो ।

उनीहरु विमानस्थल बाहिर निस्के । ठूलो फराकिलो मूलबाटोको दायाँ–वायाा दुबैतिर घरहरु बनेका थिए । केही घरहरु त काठमाडौ ंकै जस्ता देखिन्थे–सिमेण्टी पोतेका,आधुनिक बङ्गलाजस्तै । यो बाटो जोमसोमको पुलवारि सम्मै पुगेको छ रे ।

सडक वारिपारिका घरहरुमा थरिथरीका साइनबोर्डहरु टाँगिएका देखिन्थे । साइनबोर्डहरु पढेर अभिनवले ती घरहरु कुनै अड्डा–अदालत, कुनै कमैचारीहरु बस्ने आवाश(क्वर्टर), र कुनै होटेल–पसलहरु रहेछन् भन्ने बुझ्यो । यो ठाउँ उसलाई सफा सुघ्घर र रमाइलो लाग्यो ।

त्यही नयाँ बस्तीको पल्लो छेउतिर बाबा बस्नुभएको घर रहेछ । अफिसकै मान्छेहरु बस्न भनी बनाए जस्तै कोठाहरु फराकिला र प्रशस्त उज्यालो आउने खालका रहेछन । घरको तल्लो तलामा अफिसमा बाबासँगै कामगर्ने बोगटी काकाको परिवार बस्दोरहेछ ।

घरभित्र पसेपछि आमाले सामानहरु मिलाएर राख्नुभयो । उनीहरु आउने भनेर बाबाले सुत्नेठाउँको सबै व्यवस्था मिलाइसक्नु भएकोरहेछ ।

“तिमीहरुलाई भोक पनि लागिसक्यो होला, ल...लुगासुगा फेर । म खानेकुराको बन्दोबस्त मिलाउँछु ।” बाबा त्यति भनेर बाहिर निस्कनुभयो ।

अभिनव आमासँगै लुगा फेरेर हातमुख धोइ ताजा भएर बस्यो । त्यसको केही बेरमै बाबा फर्कनु भयो । अर्काे एकजना मान्छे पनि बाबासँगै आउनुभयो । सँगै आउनुभएको मानिसको हातमा तीनवटा थाल थिए । उहाँले ती थालहरु हाम्रो अगाडि राखिदिनुभयो । थालमा मीठामीठा खानेकुराहरु थिए ।

“उहाँ को नि बाबा ?”अभिनवले सोध्यो ।

“ए..उनी, उनी हामै्र अफिसमा काम गर्ने रामप्रसाद हुन् । उनी हामै्र भान्सामा खान्छन्, खाना बनाएर हामीलाई मदत पनि गर्छन्, बुझ्यौ ! ”बाबाले बताउनुभयो ।

“बाबुलाई भोक लागेको होला, पहिला खानेकुरा खानोस् अनि कुरा गरौला नि कसो ! त्यस पछि मनलागे बाहिर घुम्न पनि लैजाउँला ।” ती रामदाइ असाध्यै बेस रहेछन् । उनको मिज्यासिलो बोलीबचन र व्यवहार देखेर अभिनवलाई धेरै खुसी भयोे ।

“आज थाकेको होलाउ, खाजा खाएर केहीबेर आराम गर । अनि अलिबेर पछि यहीं नजिकै बजारतिर घुमुँला ।

खाजा खाएर केहीबेर आराम गरेपछि बाबाले अभिनवलाई बजार घुमाउन लैजानुभयो । आमा घरमैं बस्नुभयो । नयाँ मानिसहरु सँग भेटघाट गरेर बजार घुमी ऊ बाबासँगै फर्कियो । नयाँ ठाउँ हेर्न र नयाँ मानिसहरुसँग भेटघाट गर्न पाएकोमा अभिनव असाध्यै खुसी थियो ।

ड्ड





















नयाँ साथी



“जोमसोमको पुरानो नाम जोङसाम्ब हो, बुझ्यौ अभिनव ?” अभिनवकोे नयाँ साथी सोमप्रसाद सेरचनले नयाँ कुरा सुनाए । उनकी आमा र साथीहरु उनलाई मायाले सोमु भन्ने गर्दारहेछन । सोमुकी आमाले होटेल चलाउनु भएको रहेछ । होटेल ऊ बसेको घरछेउमैं भएकोले उनीहरुको चिनजान भएर साथी बनेका थिए । सोमुका बाबा काठमाडौंमा व्यापार गर्नुहुन्छ रे । होटेल चाहिं उसका आमा र दिदी भएर चलाउनु हँुदो रहेछ ।

सोमुकोे कुराबाट अभिनवले जोमसोम भन्ने नाम जोङसाम्बबाट बिग्रिएर आएको रहेछ भन्ने बुझ्यो । जोङसाम्ब तिब्बती भाषाबाट बनेको नाम रहेछ । तिब्बती भाषामा नयाँ किल्लालाई जोङसाम्ब भन्दा रहेछन् । चारैतिरबाट घेरेर बाहिरको मान्छे पस्न नसक्ने गरी सुरक्षित बनाइएको ठाउँ वा घरलाई किल्ला भन्छन् भन्ने उसलाई थाहा थियो । यस्ता किल्ला कोट र गढी भनेर पनि चिनिन्छन् । अरुसँग लडाइँ झगडा हुँदा जोगिन वा आफ्नो ठाउँको सुरक्षा गर्न पहिला पहिलाका राजाहरुले यस्तो किल्ला बनाउँथे । योे कुरा उसले सामाजिक शिक्षाको आजको नेपाल कसरी बन्यो भन्ने पाठ पढ्दा थाहापाएको थियो । पृथ्वीनारायण शाह र त्यसभन्दा पछिका बहादुर सिपाहींहरुले टुक्राटुक्रामा बाँडिएका धेरैं सानातिना राज्यहरुलाई गाभेर नेपाललाई कसरी एउटै बनाए भन्ने पाठमा यी कुराहरु लेखिएका थिए । त्यो पाठमा यस्ता किल्ला र गढीहरुको नाम लेखिएको थियो । जोमसोम पनि चारै तिर अग्ला अग्ला हिमाल,पहाडहरुले घेरेर प्रकृतिले नै बनाइदिएको किल्ला जस्तै देखिन्थ्यो ।

कुनैबेला जोमसोमलाई ठिनी पनि भन्दा रहेछन् । अहिले पनि जोमसोम बजारको मास्तिर ठिनी नामको गाउँ र गुम्बा रहेछ । बुद्ध धर्म मान्ने नेपालीहरुको मन्दिरलाई गुम्बा भनिन्छ । यिनै गुम्बाहरुमा पढाउने पाठशालाहरु पनि हुन्छन् । मुस्ताङ जिल्लाभरमा ठूलासाना गरी ३९वटा गुम्बाहरु छन् रे । अभिनवले काठमाडौंमा यस्ता गुम्बाहरु देखेको थियो । बाबाले उसलाई स्वयम्भू, बौद्ध, कपन आदि ठाउँका गुम्बाहरु देखाउनु भएको थियो । मुस्ताङ जिल्लाका सोह्रवटा गाउँविकास समितिहरु मध्ये माथिल्लो मुस्ताङमा सात र तल्लो मुस्ताङ अर्थात जोमसोम क्षेत्रमा ९वटा पर्दारहेछन् । माथिल्लो मुस्ताङलाई लोमान्थाङ भनिंदो रहेछ । यहाँ १२ गाउँ रहेछन् ।

“तिमीलाई यस्तो पुरानो कुरा कसरी थाहा भयो, सोमु ?”अभिनवले सोध्यो ।

“मेरो बाबाले भन्नुभएको । बाबा घर आउनु भएको बेलामा मलाई यहाँका पुराना कुराहरु बताउनु हुन्छ,बुझ्यौ ! घुमाउन पनि लैजानुहुन्छ । हाम्रो पुख्र्यौली ठाउँ भनें यहाँ होइन ।” सोमुले भन्यो ।

“के रे ? अनि तिम्रो मूल पुख्र्यौली थलो कुन होत ?” अभिनव छक्क प¥यो ।

“हाम्रो पुख्र्यौली थलो थाक खोलाको कोवाङ भन्ने ठाउँमा पर्छ । यो मुस्ताङ जिल्लाको नाउँ चलेको ठाउँ हो । यहाँबाट राम्ररी हिंड्न सक्ने मान्छ चार–पाँच घण्टामा पुगने सक्छन् । भ्याउँछौ भने पछि घुम्न जाउँला नि,हुन्न । हामी जानेभए घोडामा जाऔंला,कसो ? उ पारिको पुरानो बजारहेर्न जाने हो ?” सोमुले पुरानो जोमसोम बजार भएतिर देखाउँदै भन्यो ।

“हुन्छ नि, म त आएकै यस्तै नयाँनयाँ ठाउँहरु हेर्नै भनेर त हो नि !” अभिनव खुसी हुँदै भन्यो ।

अभिनव र सोमु नयाँ बस्तीबाट अघि बढे । नयाँ बस्ती काटे पछि पुल भेटियो । पुल भन्दा यतै सेनाको व्यारेक रहेछ । सरकारी अफिसहरु चाहिं नदी पारि रहेछन् । त्यहाँ जान लामो झोलुङ्गे पुल बनाएको रहेछ । कालीगण्डकी नदीको माथि काठे पुल तरेर पारि गएपछि सम्म परेको अग्लो ठाउँमा पुरानो बजार देखियो । यो पुरानो जोमसोम बस्तीलाई नै झुम्सा शहर भन्दा रहेछन् ।

जोमसोमलाई पहिला पहिला झुम्सा भनिन्थ्यो रे । बजार सुरु हुनासाथ गल्ली देखिए । दुई ठूला गल्लीमध्ये एउटा पूर्वबाट पश्चिम र अर्काे उत्तरबाट दक्षिण लागेका देखिन्थे । दुबै गल्लीको किनारामा सेतो कमेरोले छिरबिरे पारी पोतिएका मुण्डा घरहरु थिए ।

“हाम्रा घरमा त झ्याल–ढोका ठूला हुन्छन । यहाँ किन यति साना हँ ? अनि घर पनि सबै मुण्डा मात्रै पो देखिन्छन् ?” अभिनवले सबै घरहरुमा सडक तर्फमात्र स–साना झ्याल–ढोका देखेर सोध्यो ।

“तिम्रो शहराँ’जस्तो हो र, हामीकहाँ त सधैें हावा चल्छ र जाडै हुन्छ । हिउँ पनि परिरहन्छ । त्यसैले यहाँ ठूला झ्याल–ढोका राख्नु पर्दैन । हिउँदमा हिउँले पुरिने भएकोले छाना पनि मुण्डै हुन्छ ।”सोमुले बेलीबिस्तार लायो ।

गल्ली फोहोर देखिन्थ्यो । बाटा भरि घोडा,खच्चर र भेडा आदिका गोबर–बड्कौंला देखिन्थे ।सबैजसो घरका छानाको एक कुनामा राता,पहेँला,सेता ध्वजाहरु हावामा फर्फराइरहेका थिए । छतमा टम्म चाङ लाएर दाउराहरु राखिएका थिए ।

“ती कपडामा के लेखेको नि ?”ध्वजाहरुमा अक्षर पनि लेखेको देखेर अभिनवले सोध्यो ।

“ए, त्यो ! त्यो मन्त्र लेखेको । तिब्बती अक्षरमा लेखेको भएर तिमीले थाहा नपाएका हौ । त्यसमा बुद्धधर्म मान्नेहरुको मन्त्र ॐ मणि पद्मे हुँ लेखिएको हुन्छ । अरु पनि के के हुन्छ भनेर बाबाले भन्नुहुन्थ्यो ।”आफूले जानेको कुरा सोमुले भन्यो ।

“म पढ्ने स्कुल यही हो, देख्यौ अभिनव !”उनीहरु घुम्दै शहरको उत्तरी भागमा पुगे । त्यहाँ सम्म परेको मैदानमा रहेको स्कुल देखाएर सोमुले भन्यो । यो जिल्ला मैं यहीमात्र एउटा हाइस्कुल रहेछ । यो जनहित माध्यमिक विद्यालय भर्खरै उच्चमाध्यमिक विद्यालय बनेको रहेछ ।

सोमुले अभिनवलाई झुम्सा शहरको एउटा घरमा लग्यो । त्यो घर उसको बजुको घर रहेछ । घर भित्र भुइँ र भित्ता रातोमाटोले सफासँग पोतेको थियो । सफासँग टलक्क टल्किने गरी माझेका भाँडाकुँडा तखतामा राम्ररी तहलाएर राखिएका थिए । बजुले मीठो खाजा दिनुभयो । अभिनवले मीठो मानेर सोमुसँगै खाजा खायो ।



ड्ड

कागबेनीको उकालो



“भोलि मुक्तिनाथ दर्शन गर्न जाने । विहान अलि चाँडै हिड्नु पर्छ, अब सुत ।”बेलुका भात खाएर केही बेर कुराकानी गरेपछि बाबाले भन्नुभभएको थियो ।

“हुन्छ बाबा,म भोलि बिहानै उठ्छु । बाबा,सोमुलाई पनि लैजाउँ न हुन्न ?” अभिनवले बाबासँग अनुरोध गरेको थियोे ।

“तिमी यसै भन्छौ भन्ने मलाई पहिल्यै थाहा थियो । त्यसैले मैले उसलाई भनिसकेको छु ।” बाबाकको कुरा सुनेर उसलाई असाध्यै खुसी लाग्यो–आहा कति माया गर्नुहुन्छ बाबा मलाई ।

आमा र उसलाई भनेर बाबाले दुईवटा घोडाको पनि व्यवस्था गर्नुभएको रहेछ । उनीहरु बिहान सबेरै मुक्तिनाथ जान हिंडे । साथमा सोमु र रामप्रसाद पनि थिए । नुहाएपछि फेर्न चाहिने लुगा र अरु केही सामनकोे झोला घोडाले बोक्यो । आमा घोडामा चड्नुभयो । पहिले त उहाँ घोडा चढ्न मान्दै मान्नुभएको थिएन । आमाको घुँडा दुख्ने रोग भएकोले हिंडेर जान नसक्नेहुँदा बाबाले बर गरेपछ बल्ल मान्नुभयो ।

“बाबा,आहिे हिंड्छु, नसकेपछि मात्रै घोडा चढौंला हुन्न ?”अभिनवले बाबालाई भन्यो ।

“ठीक छ नि त,केहीबेर हिंड्नु,केही बेर चढ्नू । अञ्जुले पनि त्यसै गरे हुन्छ ।”बाबाले पनि अभिनवको अनुरोधलाई मान्नुभयो ।

अभिनवको टोली मुक्तिनाथ यात्रामा हिंड्यो । झुम्सा अर्थात पुरानो जोमसोमको जनहित माध्यमिक विद्यालय रहेको मैदान छाडेपछि बगरै बगरको बाटो आयो । बाटामा मुक्तिनाथ जाने आउनेकोे दोहोरो ताँती थियो । नेपालीहरु भन्दा बढी संख्यामा विदेशी देखिन्थे । सबै विदेशी टोलीमा नेपाली पनि देखिन्थे । विदेशीहरु सरकारले खटाएको नेपालीलाई साथ नलिई यतातिर एक्लै घुम्न पाउँदा रहेन छन् ।

“के को आवाज हो यो ?” पर कतै घण्टी बजेको टिङ्...टिङ्..सुनेर अभिनव छक्क प¥यो ।

“घोडा र खच्चरको आवाज हो यो । परको छेकोमा रहेकाले नदेखिएको हो । केही बेरमैं हामी छेउ आइपुग्छन । घोडा–खच्चरको लाम आउँदा छेउलाग्नु नि है,नत्र माथि उकालो तिर त तिनले घच्याडेर लड्न पनि बेर लाग्दैन ।”सोमुले बतायो । सोमु र अभिनव अरुभन्दा केही अघि पुगेका थिए ।

नभन्दै केही बेरमै नेपाली र विदेशीहरुसँगै घोडा र खच्चरको लाम आइपुग्यो । ती सबैको घाँटीमा घण्टी झुण्ड्याएका थिए । अझ कुने कुनैको टाउकोमा त रङ्गीबिरङ्गी कपडाले सिंगारेको देखिन्थ्यो । आफूले कहिल्यौ नदेखेका त्यस्ता कुरा देख्न पाउँदा अभिनव असाध्यै खुसी थियो । उनीहरु कालीगण्डकीको तीरैतीर बगरको ढुग्यान घोडेटो बाटो हुँदै अघि बढे । बिहान सबेरै भएकोले हावा त्यति जोरले चलेको थिएन ।ं तै पनि बगरको ढुङ्गा र बालुवामा हिंड्न असजिलो थियो । बाटोको बायाँतिर कालीगण्डकी आफ्नो सुरमा हामीलाई पछि छाडेर बगिरहेको थियो । नदी पारि सुनौला माटाका अग्ला अग्ला भिराला पहाडहरु असाध्यै राम्रा देखिन्थे । हामीमाथिको पहाड पनि त्यस्तै । सिधै माथि चढेका अग्ला ठाडे भीर खसेर थिच्ला जस्तो । बिस्तारै अलिअलि हावा पनि चल्न थाल्यो । हावासँगै ती ठाडा अग्ला भीरबाट बालुवा,माटो र सानासाना ढुङ्गाहरु प्नि बगेर तल झरिरहेका थिए ।

बिहान आठबजे जोमसोमबाट हिंडेकोे, बाह्र बजेतिर एउटा बस्ती नजिकै पुगियो । जति जति दिन चढ्दै गयो हावा पनि उत्ति नै जोडले चल्नथाल्यो । हावाले हामीलाई अगाडि धकेलेर हुत्याउँथ्यो । हावाको बेग जति बढ्थ्यो त्यति नै हामीलाई हिंड्न असजिलो भएको थियो । मलाई हिंड्न रमाइलो लागेकोले सोमुले घोडा चढ्न भन्दा पनि मानेको थिइन ।

जे होस् त्यो देखिएको बस्तीभन्दा यतैको झोलुङ्गे पुललाई छाडेर हामी नदी वारिकै बाटो अघि बढ्यौं । बाटैमा एकजना बूढी आमा र सानी दिदी स्याउ बेचिरहेका थिए । बाबाले उनीहरुसँग खाठदश दाना स्याउ किन्नुभयो । पहेंला सुन झै देखिने स्याउ रुपियाँ गोटा । जोमसोम बजारमैं यस्ता स्याउ पन्ध्र रुपियाँ केजीमा पाइने । यही स्याउ काठमाणौंमा साठी रुपियाँ केजीभन्दा कममा पाइँदैनथ्यो । स्याउ पनि कति मीठा,कति रसिला । बेही बेरमा हामी त्यो अघि देखिएको बजारमा पुग्यौं । त्यसको नाउँ एक्लेभट्टी रहेछ । सके कुने बेला त्यो ठाउँमा एउटामात्रै भट्टी पसल थियोहोला र यो नाउँ रहेको हुनुपर्छ,उसले अनुमान लगायो । यो ठाउँ समुद्र सतहभन्दा २७४० मिटर अग्लो ठाउँमा रहेछ । यस हिसाबले हामी जोमसोमबाट चालीस मिटरमात्र माथि चढेका रहेछौं । यहाँ चियासिया खाएर एकछिन थकाइ मारेपछि हामी फेरि अगाडि बढ्यौं । बाटाभरि कतै हरिया रुखबोट देखिएनन् । बोटबिरुवाका नाउँमा अग्ला भिर पाखामा एक डेढ फिटसम्मका भुइँथाकलका बुट्यानहरु मात्र देखिन्थे ।

केही समय हिंडेपछि दुइवटा बाटा देखा परे । एउटा हामी आएको सिधै केही उकालो परेको बगरै बगरको बाटो,अर्कोे बगरबाट छुट्टिएर ठाडै माथि चढेको उकालो बाटो । त्यो उकालो बाटो मुक्तिनाथ पुग्ने छोटो बाटो रहेछ । तल्लो तेर्साे बाटो चाहिं कागबेनी भन्ने ठाउँ भएर मुक्तिनाथ पुग्दोरहेछ ।

“आएको बेला कागबेनी पनि पुग्नु पर्छ,फेरि आउन पाइने हो,होइन कसलाई थाहा छ र !” बाबाको कुन बाटो जाने भन्ने प्रश्नमा आमाले कागबेनी गएर मुक्तिनाथ जाने इच्छा गर्नुभयो । त्यसपछि हामी फेरि केही उकालो बगरको बाटो भएर अघि बढ्यौं । बाबा र रामप्रसाद बगरैभरि सालिग्राम खेज्दै हुनुहुन्थ्यो । कालीगण्डकीको बगरमा जताततै सालिग्राम भेटिंदो रहेछं । हिन्दुहरुले देउता मानेर पूजा गर्ने सालिग्राम त्यतैबाट ल्याइएका रहेछन् । अभिनवको घरमा पनि कुनैमा शंख,कुनैमा चक्र,कुनैमा सूर्य आदि विभिन्न आकृतिहरु देखिने धेरै सालिग्रामहरु थिए । हजुरबा, बाबा र काकाहरु ती सालिग्रामको सधैं पूजा गर्नुहुन्थ्यो । करोडौं वर्ष अघि मरेका जीवजन्तुहरु पुरिएर चट्टानमैं मिंिसंदा तिनका आकार ढुंगामा कुँदिएर यस्ता अनौठा बुट्टा र आकृति बन्दछन् भन्ने अभिनवले पढेको थियो ।

एक्लेभट्टीबाट हिंडेको डेढ घण्टामा केही उकालो,केही तेर्साे बाटो हुँदै उनीहरु कागबेनी आइपुगे । एक्लेभट्टीभन्दा साठी मिटरमात्र अग्लोमा रहेको कागबेनीमा हावा धेरै जोडले चलिरहेको थियो । लज र होटेलका गुचमुच्च बस्तीको मुनिबाट कालीगण्डकी बगिरहेको थियो । पहिला हामी त्यही काीगण्डकीकोे कागबेनी तीर्थ मानिने बगरमा झ¥यौं । हावा त्यहाँ झनै बेजोडले चलिरहेको थियो । चिसोले पानीमा हात हाल्नै नसकिने थियो । आमाले त्यही नदीमा पूजा गर्नुभयो,धूपबत्ती बाल्न खोज्दा हावाले मरिगए सलाई कोर्नै दिएन ।

त्यहाँबाट उक्लेर फेरि माथि बस्तीको एउटा होटेलमा चिया खाजा खायौं । केही बेर सुस्ताएर फेरि उकालो लाग्यौं । अब भने बाटो साँच्चिकै उकालो र असजिलो थियो । बेतोडले चलेको हावा,त्यो पनि अगाडिबाट पछाडि धकेल्दै । त्यमाथि छिनछिनमा आइरहने घोडा र खच्चरको दोहोेरो लामले धकेलेर तल पु¥याइदेला भन्ने डर । हावाले धूलो र मसिना बालुवा उडाएर आँखा हेर्नै नदिने । घोडामा हिंड्न हौसिने मेरो चुरिफुरी अगाडि नै सकिइसकेको यियो । त्यसैले म अघि नै घोडामा चढिसकको थिएँ । सोमु भने बडो मज्जाले हिंडिरहेको थियो । धेरै पटक मुक्तिनाथ ओहोरदोहोर गरिसकेको सोमु यस्तो कठिन उकालो पनि फिस बराबर मानेर मज्जाले हिंडिरहेको थियो । बाटो पारि सुनैसुनको पहाडझैं देखिने डाँडाहरुका बीचको पहराहरुमा जताततै खोपिल्टै खोपिल्टाहरु देखिन्थे । ती सबैमा चिल,गिद्ध र कागहरु बस्दारहेछन् । यताका काग त हेर्दा पनि अर्कै,कराएका पनि अर्कै सुनिने ।

निकै थाकेर हामी बेलुका सातबजेतिर बल्ल झारकोट भन्ने ठाउँमा पुग्यौं । त्हाँ बास बसेको प्रकाश लजमा अभिनवले दुईजना साथी पनि बनायो । कासाङ र छेवाङ नाम गरेका ती दिदीभाई दुबै नै असल रहेछन् । छेवाङ जोमसोममा पढ्दो रहेछ,कासाङ चाहिं होटेलमैं आमालाई सघाउँदी रहिछन् । त्यो सुनेर अभिनवलाई नरमाइलो लाग्यो । छोरोलाई पढ्न पठाउने,छोरीलाई चाहिं काम सघाउनुपर्छ भनेर घरैमा राख्ने । कासाङ पनि पढ्न चाहन्थी भन्ने ऊसँग कुरा गर्दा अभिनवले थाहा पाइसकेको थियो । थाकेकाले उनीहरु खाना खाएर चाँडै नै सुते ।



मुक्तिनाथको मन्दिर



असाध्यै जाडो भए पनि होटेलमा चाहिने जति न्यानो ओढ्ने ओछ्याउने दिएकोले अभिनवलाई राम्रैसँग निद्रा प¥यो । बाबाले नउठाउनुभएको भए ऊ अबेर सम्मै सुत्नेथियो होला । बिहान सबेरै मुक्तिनाथ जाने कुराभएकोले ऊ जाडो मानीमानी भए पनि चाँडै नै उठ्यो ।

“ल...मैले चिया बनाइदिएकी छु सेलाउला फेरि । खानोस् है बाजे !” हातमुख धोएर बिहानका सबै काम सक्नासाथ कासाङ कोठामैं चिया लिएर आइन । कासाङको त्यो जाँगर देखेर सबै खुसी भए । अभिनवलाई त झन खुसी लाग्यो । याति टाढा,नचिनेको ठाउँमा त्यस्तो जाडोमा बिहानै तातो चिया ख्वाउने साथी पाएपछि किन खुसी नहोओस् । सबै भन्दा खुसी त बाबा पो हुनुभयो होला,उहाँलाई बिहान उठ्नासाथ चिया चाहिने–अभिनवले मनमनै सोच्यो । उनीहरु बिहानै माथि चढ्ने कुरा भएकोले कासाङले सबेरै मीठो र तातो चिया बनाइसकेकी रहिछन् ।

“धन्यवाद,कासाङ । यति सबेरै तातो चिया खान दियौ ।”बाबाले धन्यवाद दिनुभयो । अभिनवले पनि नयाँ साथी कासाङलाई धेरैधेरै धन्यवाद भन्यो ।

चिया खाएर अभिनव बाबाआमासँगै मुक्तिनाथको दर्शन गर्न निस्कियो । हेटेलबाट केही बेर तेर्साे बाटो हिंडेपछि उकालो बाटो सुरु भयो । असाध्यै चिसो थियो । बाटो पनि उकालो भएकोले उनीहरु बिस्तारै उकालो लागे । हिउँको चिसो सिरेटोले हात झर्लाजस्तो हुन्थ्यो । बाटो पातलो हिउँले भिजेको थियो । कतैकतै झारपातमा बाक्लो हिउँ बसेको देखिन्थ्यो । उनीहरु चिसो र उकालोले गर्दा बल्लबल्ल रानीपौवा पुगे । मुक्तिनाथको काखैमा रहेको यो बस्तीमा ठूलाठूला लज र होटेलहरु रहेछन् । बस्ति बाक्लै देखिन्थ्यो । उत्तर र पूर्वतिरको खुला ठाउँमा हिउँले ढाकेका अग्लाअग्ला हिमालहरु एकदमै नजिक देखिन्थे । जाडो र हिउँको चिसोले कठ्याङ्ग्रिए पनि अभिनवलाई रानीपौवा असाध्यै रमाइलो लाग्यो । यो ठाउँ झारकोटभन्दा डेढसय मिटर जति उँचाइमा रहेछ । यहाँबाट केही मिटर उक्लेपछि मुक्तिनाथको मन्दिर पुगिन्थ्यो । दर्शन गरेर फर्कने र दर्शन गर्न जानेहरुको दोहोरो लाम थियो । हिजै रानी पौवा बास बस्नेहरु दर्शन सकेर फर्कँदै थिए । रानी पौवाभन्दा तलै बास बस्नेहरु दर्शन गर्न उकालो चढ्दै थिए । रानी पौवाभन्दा उता ऊनका ओढ्ने–पछ्यौरा,गहनाका रुपमा लाउने नीला,हयिा,राता पत्थर र सालिग्रामहरु बेच्न बसेका मानिसहरु बाटोभरि नै सामान फिंजाएर बसेका थिए । त्यहीं रानी पौवा र मुक्तिनाथ मन्दिरको बीचतिर हेलिकोप्टर बस्ने ठाउँ पनि रहेछ । मानिसहरु हेलिकोप्टर चढेर पनि दर्शन गर्न आउँदा रहेछन । हामी भएको बेलामा भने कुनै हेलिकोप्टर आएन ।

साढे नौ बजेतिर हामी बल्ल मुक्तिनाथ मन्दिरको सुन्दर बगैंचाको ढोकामा पुग्यौं । त्यहाँबाट केही माथि उक्लिएपछि समुद्री सतहबाट ३८०२ मिटर अग्लोमा रहेको मुक्तिनाथको मन्दिरमा पुगियो । यहाँ हिन्दु र बुद्धधर्म मान्ने दुबै थरी मानिसले आ–आफ्नै देउता मानेर पूजाआजा गर्दा रहेछन् । पुजारी पनि बुद्धधर्म मान्ने आनी र हिन्दु पुरोति दुबै थरी हुँदारहेछन् ।

“आनी भनेको केहो नि सोमु ?” लजमा आनीहरुलाई देखे पछि अभिनवले हिजै सोमुसँग सोधेको थियो ।

“ सानै देखि गुम्बा पसेर धर्मकर्ममा जीवन बिताउने स्वस्नी मान्छेलाई आनी र त्यसै गर्नेे लोग्नेमान्छेलाई लामा भन्छन् ।” सोमसले भनेको थियोे । यतातिर बुद्धधर्म मान्नेहरु आफ्ना माहिला छोरा र माहिली छोरीलाई सानैमा गुम्बा पठाएर धर्मकर्ममा लगाउँदा रहेछन । यस्ता आनी र लामाहरुले बिबाह नगरी गुम्बा र मठमन्दिरहरुमा पूजाआजा,धर्मकर्म र हाम्रा पुरोहितले जस्तै गाउँका मानिसहरुको धार्मिक कामहरु गराउँदा रहेछन् ।

मन्दिर पछाडि १०८ धारा रहेछन् । सबैबाट पानीको ठूलो धारो खसिरहेको थियो । पानी असाध्यै चिसोभएकोले अभिनवले धारोमा हात थाप्न पनि सकेन । आमाले भने त्यस्तो चिसो पानीमा पनि सबै धारामा पानी थापेर नुहाउनुभयो । त्यो देखेर बाबा पनि आमा विरामी पर्ने डरले चिन्तिित हुनुहुन्थ्यो । मुक्तिनाथलाई हिन्दुहरु विष्णु र बुद्धधर्ममान्नेहरु बुद्धभगवान भनेर मान्दा रहेछन् ।

“भगवानको मूर्तिमुनि गहिरो कुण्ड छ रे नि ! त्यहाँ हात हाल्दा केही नकेही पाइन्छ रे भन्थे,कता होला ?” मुक्तिनाथको दर्शन गर्दा आमाले सोध्नु भयो । पुजारीले त्यो ठाउँ देखाइदिएपछि आमाले त्यो कुण्डमा हात हाल्नुभयो । नभन्दै उहाँले एउटा स्याउ निकाल्नु भयो । सँगै दर्शन गरिरहेका अर्का एकजनाले भने केही फेला पारेनन् । मुक्तिनाथको पूजा गर्दा चढाएका फलफूल,भेटी,गरगहना आदि कुण्डभित्र खसे र हातहाल्दा तिनै मध्ये केही नकेही हात पर्ने अभिनवको अनुमान थियो । ती अर्का मानिसले हात हाल्दा त्यहाँ केही नभएकोले फेला पार्न सकेनन् होला ।

“तैंले भनेर हुन्छ, दर्शन गर्नेसँग खुसी भएमात्रै भगवानले यस्तो प्रसाद दिनुहुन्छ रे । तेरा बाबु छोरालाई विश्वास भएपो यस्तो कुरामा ।”अभिनवले आफ्नो अनुमान सुनाएर बाबाले पनि उसैको कुरामा सही थाप्नुभएपछि आमाले केही रिसाएर भन्नुभयो ।

“कहिले बनेको होला हगि यो मन्दिर ?”अभिनवलाई खुल्दुली लागेकोले सोधिहाल्यो ।

“मन्दिर त कहिले बन्यो मलाई यकिन छैन यसको पूजाआजा भने रणबहादुर शाहले वि.सं.१८५५ देखि गुठी राखेर सुरु गराएका हुन् ।” मन्दिरका पुजारी नारायणदत्त सुबेदीले अभिनवको प्रश्नको जवाफ दिए । उनैले भने–यहाँ हिउँदमा बाक्लै हिउँ परेर असाध्यै जाडो हुनेहुँदा पहिले वर्षको चैत महिनाको औशीदेखि असोजसम्म छमहिना मात्रै पूजाहुन्थ्यो । हिउँदमा मासिहरु बस्नै मुस्किल भएकोले यस्तो चलन चलाएको रहेछ । वि.सं.२०२१ देखि मात्र बाह्रैमहिना पूजाआजा हुनथालेको हो ।

मुक्तिनाथको दर्शन गरेपछि उनीहरु त्यहाँभन्दा केही माथिको अर्कै मन्दिरमा गए । त्यो मन्दिरको पुजारी चाहिं आनी मात्र रहिछन् । त्यहाँ हिन्दु पुजारी हुँदारहेनछन् । यो मन्दिरका देउतालाई हिन्दुहरुले नरसिंह अवतार र बुद्धधर्म मान्नेहरुले पद्मनाभ बुद्ध,गुरु ढाक्पो,गुरु रिम्पोछे आदि विभिन्न नाउबाट पुज्दारहेछन् । हामी त्यहाँको दर्शन सकेर उत्तर तिर लाग्यौं । केही पर पुगेपछि पहाडको फेदीमैं ढुङ्गाको सानो मन्दिरजस्तोमा ओढारजस्तो देखियो । त्यसलाई पातालगङ्गा भन्दारहेछन् । त्यहाँ कान थापेर सुन्दा भित्र पानी बगेको जस्तै कलकल अआवाज सुनियो । यहींको जमिनमुनिबाट कालीनदी बगेकी रहिछन् । पछि गण्डकीसँग मिसिएपछि यसको नाम कालीगण्डकी भएको रहेछ । जे होस् कालीगण्डकीको उत्पत्ति यहींबाट भएको रहेछ । त्यहाँभन्दा अलि पर गएपछि अर्काे मन्दिर देखियो–ज्वालामाइको मन्दिर । हिन्दुहरुले शिव र बुद्ध धर्ममान्नेहरुले बुद्ध मानेर पूजागर्ने त्यो मन्दिरमा मूर्तिको तल छेउको गहिरो अँध्यारो गुफमा नीलो बत्तीको ज्वाला बलिरहेको देखिया ।

“यो बलेको ग्याँस त होला नि,होइन बाबा ?” त्यो ज्वाला देखेपछि अभिनवले सोध्यो ।

”हो,बाबु,यो पानीसँगै मिसिएर आएको ग्याँस बलेको हुनुपर्छ । कुनै कुनै ठाउँको जमिनमुनि बग्ने पानीमा ग्याँस मिसिएको हुन्छ । यो ज्वाला कहिलेदेखि बल्न थालेको हो भन्ने चाहिं कसैलाई पनि थाहा छैन रे भन्छन् । मानिसले देखेदेखि नै यसरी नै कहिले ननिभीं बलिरहेको छ रे ।”बाबाले भन्नुभयो । अभिनवले काठमाडौंका पनि कोटेश्वर,टेकु आदि ठाउँमा यस्तै जमिन मुनि ग्याँस फेला परेको समाचार पढेको थियो ।

म्ुक्तिनाथ र अरु सबै ठाउँको दर्शन सकेर उनीहरु ओरालो झरे । रानीपौवाको एउटा होटेलमा चिया र खाजा खाएर उनीहरु झारकोट फर्के ।

ड्ड

No comments:

Post a Comment