नेपाली सञ्चारमाध्यम र साहित्य
–विजय चालिसे
प्रस्तावना ः
नेपाली पत्रकारिताको प्रारम्भ साहित्यिक पत्रकारिताबाट नै भएको पृष्ठभूमिमा साहित्य, साहित्यिक पत्रकारिता र अखबारी पत्रकारिता तीनै पक्षबीच घनिष्ठ सम्बन्ध रहेको छ । नेपाली साहित्यको विकासमा पत्रकारिता र आमसञ्चारमाध्यमले जति सहयोग पु¥याए, त्यति नै साहित्यिक क्षेत्र र साहित्यकारहरूले नेपाली पत्रकारिता तथा आमसञ्चारको विकासमा सहयोग गरेका छन् । त्यसैले पनि यी दुई क्षेत्रबीचको यो अन्योन्याश्रित सम्बन्ध अत्यन्तै महत्वपूर्ण रहँदै आएको स्पष्ट छ ।
सुरुमा नेपाल बाहिरबाट प्रारम्भ भएको नेपाली साहित्यिक पत्रकारिताले नेपाली साहित्यको विकास, प्रसार र संप्रेषणमा योगदान गर्नुका साथै जनचेतना बढाएर एकतन्त्री राणा शासनका विरुद्ध विद्रोहको स्थिति निर्माण गर्न सघायो । गोरखा भाषा प्रकाशिनी समितिको स्थापना हुनु अगाडिसम्म नेपाल भित्रको साहित्यिक गतिविधि, यसको प्रचारप्रसार र नेपाली भाषामा सहित्य लेखन तथा अनुवादजस्ता काममा साहित्यिक र अखबारी पत्रकारिता बाहेक अरु कुनै माध्यम थिएन । साहित्यलाई सर्वसाधारणसम्म पु¥याएर पठन रुचिको विकास गर्नुका साथै साहित्यका सबैविधाहरूलाई लोकप्रिय तुल्याउन पनि तिनै अखबारहरूले सघाए । यस्तै स्थिति विश्व सन्दर्भमां पनि देखिन्छ । बेलायत र अमेरिककाका विख्यात अखबारहरूले पनि आपसी सहकार्यद्वारा नै पत्रकारिता र साहित्यको विकास गरेका हुन् । त्यता पनि पत्रकारिताले साहित्यको विकासमा जति योगदान दियो, त्यति नै पत्रकारिता क्षेत्रले आफ्नो विकासमा साहित्यकारहरूबाट सहयोग लियो । सुरुको अङ्ग्रेजी पत्रकारितामा ठूलाठूला साहित्यकारहरूको सक्रिय सहभागिता र योगदान रह्यो । डानियल डेफो, जोन मिल्टन, मिल, लक तथा थोमस जेफर्सनजस्ता ख्यातिप्राप्त साहित्यकार सुरुमा अखबारबाटै प्रकाशित–प्रचारित भए । पछि तिनैले पत्रकारिताको माध्यमबाट वाक् तथा प्रकाशन स्वतन्त्रताको पक्षमा जोरदार आवाज उठाए, तिनिहरूलाई पत्रकारिता र साहित्यमा विचार स्वतन्त्रताका प्रवक्ता सावित गर्ने काम पनि अखबार ले नै गरे । मिल्टनको एरोप्याजेटिका अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी विचारको जनक नै बन्यो । त्यसमा उनले भनेका थिए– मलाई सबै स्वतन्त्रताभन्दा माथिको स्वतन्त्रता अर्थात विवेक अनुरुप जान्न पाउने, भन्न पाउने र मुक्त ढङ्गमा तर्क गर्न पाउने अधिकार देऊ । अभिव्यक्ति स्वतन्त्रतासम्न्धी उनको यो आवाज पत्रकारितामा मात्र होइन साहित्यमा समेत स्वतन्त्र चिन्तन र अभिव्यक्तिको आधार बन्यो ।
प्रारम्भिक सञ्चार र साहित्यः
विसं १९०८मा छापाखानाको प्रवेशका साथै १९३८मा हुलाक गोश्वाराको स्थापना भएपछि नेपालले आधुनिक सञ्चारको युगमा पाइलो हाल्यो । त्यही गिद्देप्रेसबाट मुद्रण इतिहासको प्रारम्भ भएको देखिए पनि नेपालभित्र छापामाध्यमको सुरुवातका लागि भने त्यस पछिको झण्डै आधा शताब्दी कुर्नु प¥यो । सुधासागरसँगै सुरुभएको नेपालभित्रको नेपाली पत्रकारितामा त्यसको लगत्तै विसं १९५८मा निस्किएको गोरखापत्रले लामो नेतृत्व दियो । १९७०मा टेलिफोन एक्सचेञ्जको स्थापनाले पत्रकारितालाई समेत केही सजिलो तुल्यायो । लामो समय छापामाध्यममा सीमित नेपाली आमसञ्चार विसं २००७ मा नेपाल रेडियोको माध्यमद्वारा प्रसारण युग र २०४२मा नेपाल टेलिभिजनको स्थापनासँगै अत्याधुनिक विद्युतीय सञ्चारमाध्यमको युगमा प्रवेश ग¥यो । विगत दशकहरूमा भएको विश्व सञ्चार क्रान्तिको लाभ हामीकहाँसम्म आइपुग्नु स्वभाविक थियो र आज हामी बहुसञ्चार माध्यमहरूको निर्वाध प्रयोग गरिरहेको छौं । विश्वसन्दर्भमा जस्तै यसबाट नेपाली सहित्यमा अवसरका साथै चुनौतीहरू पनि थपिएका छन् ।
सुधासागर तथा गोरखापत्रपूर्वको पत्रकारिता इतिहास नेपाल बाहिरबाटै सुरुहुन्छ । नेपाल बाहिर बनारसबाट प्रकाशित मोतीराम भट्टको गोर्खा भारत जीवन (विसं १९४२) पहिलो नेपाली पत्रिका मनिँदै आएको छ । यसको मुद्रित प्रति फेला पर्न नसके पनि नेपाली भाषाको पहिलो पत्रिका गोर्खा भारत जीवन र नेपाली पत्रकारिताका आदिपुरुष मोतीराम भट्ट हुन् भन्ने कुरामा मतभेद देखिँदैन ।
जङ्गबहादुरले बेलायत बाट फर्कँदा १९०८मा नेपाल भित्र्याएका पहिलो छापाखाना गिद्धे प्रेसको आगमन पछि छापाखानाको संख्या बढ्दै जानुका साथै नेपालमैं पनि यस्ता छापाखानाहरू निर्माण हुन थाले । यसबाट मुद्रण कार्यमा सरलता आएर नेपालभित्रैबाट प्रकाशन संभव हुन पुग्यो । यही क्रममा मोती राम भट्टले नेपालमा व्यवसायिक छापाखाना खोले र त्यही छापाखानाबाट सुधासागर निकाले । त्यसको लगत्तै गोरखापत्रको प्रकाशन प्रारम्भ भयो र नेपाल बाहिर अरु धेरै पत्रपत्रिका प्रकाहित भए । यसरी नेपाल बाहिर प्रकाशित पत्रपत्रिकामा गोर्खे खबर कागज(१९५८, दार्जलिङ), उपन्यास तरङ्गिणी( १९५९, वनारस), सुन्दरी(१९६३, वनारस), माधवी(१९६५,वनारस), चन्द्र(१९७१,वनारस), गोर्खाली साप्ताहिक(१९७२,वनारस), चन्द्रिका(१९७२,खर्साङ), , गोर्खा सन्सार साप्ताहिक(१९८३,देहरादुन), तरुण गोर्खा(१९८५, देहरादुन) आदिको उल्लेख भेटिन्छन् । यी बाहेक नेपाल बाहिर तरुण गोर्खा(१९९२,सिलाङ), उदय (१९९३, वनारस), गोर्खा पाक्षिक (२००१, कालिम्पोङ), गोर्खा(२००२,कलकत्ता) उल्लेख्य देखिन्छन् र यिनले नेपाली साहित्यको विकासमा पनि उत्तिकै महत्वपूर्ण योगदान दिए । नेपालबाहिका तरुण गोर्खा र उदयभन्दा अगाडि नै नेपालमा शारदा(१९९१) र उद्योग(१९९२) प्रकाशित भइसकेका थिए । नेपाली साहित्यको सिङ्गो युग निर्माण गर्न सफल शारदाभन्दा पछि पनि नेपालबाट साहित्य श्रोत(२००४), घरेलु इलम पत्रिका(२००४), काठमाण्डौं म्युनिसिपल पत्रिका (२००४), आँखा(२००५), पुरुषार्थ(२००६) आदि साहित्यिक पत्रिकाहरू प्रकाशित भए । यसरी गोरखापत्रलाई केही बेर विर्सिदिने हो भने नेपाली सञ्चारमा सुरुदेखि २००७ सालसम्म नै साहित्यिक पत्रकारिताको प्रभूत्व रह्यो । यसबाट स्पष्ट हुन्छ गोरखाभाषा प्रकाशिनी समितिको स्थापना हुनुपूर्व नेपाली साहित्यको प्रकाशन, प्रचारप्रसार र संवद्र्धनका लागि एकमात्र सहयोगी माध्यम पत्रकारिता थियो र त्यसमा पनि साहित्यिक पत्रकारिताको सर्वाधिक योगदान रह्यो ।
संभवतः मोहन शम्शेरको पालामा जारी गरिएको छापाखाना तथा प्रकाशनसम्बन्धी ऐनले नेपाली प्रकाशनमा केही होलोपन ल्याइदियो र माथि उल्लेख गरिएका साहित्यिक पत्रिका प्रकाशनका लागि ढोका खोलिदियो । २००७ फागुन ७ गतेको शाही घोषणाले वाक् तथा प्रकाशन स्वतन्त्रता प्रदान गरेपछि त यस क्षेत्रमा विकासको नयाँ चरण नै प्रारम्भ भयो । यसकै फलस्वरुप निजी क्षेत्रबाट प्रकाशित मुलुककै पहिलो अखबार साप्ताहिक जागरण (२००७ फागुन ४) र पहिलो दैनिक आवाज ( २०७ फागुन ८) का साथै समाज दैनिक (२०११) अस्तित्वमा आए । ती अखबारले नेपाली साहित्यका रचना र समाचारलाई के कति स्थान दिन्थे भन्ने जानकारी नभए पनि नेपाली साहित्य र विशेष गरी हास्यव्यङ्ग्य विधामा हालखबर (२०१३ कार्तिक २८) ले भने २०२० सालसम्म नै गहकिलो योगदान दिएको मानिन्छ । यस अघि र पछिका विभिन्न कालखण्डमा प्रकाशित असंख्य अखबारहरूमध्ये जनमतसङ्ग्रहपूर्वको समयमा समीक्षा(२०१७), मातृभूमि(२०२१), नयाँ सन्देश(२०१८), आदि साप्ताहिक अखबारहरूले नेपाली साहित्यको विकासमा धेरथोर सहयोग गरे । जनमत सङ्ग्रहपछि त पत्रत्रिकाको बाढी नै आयो र तिनले पनि साहित्यको संवद्र्धनमा केही न केही सहयोग गरे । रुपरेखा, रचना, इन्द्रेणी, मुकुट, मधुपर्क, अभिव्यक्ति, गरिमा आदि साहित्यिक पत्रिकाले साहित्यकै सेवाकै लक्ष्य लिएका हुँदा ती पत्रिकाहरूबाट साहित्यको क्षेत्रमा सर्वाधिक योगदान पुग्नु त स्वभाविकै हो । यसै बीच एक मात्र प्रसारण माध्यम रेडियो नेपालले पनि समय समया साहित्यिक कार्यक्रमको सञ्चालन गर्नुका साथै विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरेर नेपाली भाषा साहित्यमा योगदान गर्दै आयो ।
साहित्यिक पत्रिकाका अतिरिक्त मुलुककै जेठो अखबार गोरखापत्रले नेपाली साहित्यको क्षेत्रमा एक शताब्दीसम्मै अनवरत सहयोग पु¥यायो । नेपाली पत्रकारिताको प्रारम्भिक प्रयोगभूमि गोरखापत्रले लामो समयसम्म साहित्य र साहित्यिक समाचारलाई आफ्ना पृष्ठहरूमा स्थान दिँदै आएको देखिन्छ भने २०१९ साल असारदेखि शनिवासरीय परिशिष्टाङ्क र २०२५ देखि साहित्यप्रधान सहप्रकाशन मधुपर्कको प्रकाशन सुरु गरेर साहित्यलाई विकसित तथा लोकप्रिय तुल्याउने दिशामा अग्रणी भूमिका खेल्यो । यस अघि समाचारप्रधान छापामाध्यममा साहित्यलाई अलग्गै परिशिष्टाङ्कका रुपमा प्रकाशित गर्ने प्रचलन थिएन । उपलब्ध स्रोत–सामग्रीका दृष्टिले पनि सायद त्यो संभव थिएन । त्यस अवस्थामा सीमित पृष्ठको गोरखापत्र लगायत अन्य साना दैनिक र साप्ताहिक अखबारहरूमा आक्कलझुक्कल केही साहित्यिक सामग्री, समाचार र सूचना छापिनु नै ठूलो कुरा थियो । तै पनि गोरखापत्रले आप्mनो सामथ्र्यले भ्याएसम्म र उपलब्ध भएसम्म कथा, कविता, निबन्ध, सिशक्षामूलक लेखहरू मात्रै होइन उपन्यास समेत छाप्ने साहस गरेको देखिन्छ ।
नेपाली साहित्य र सञ्चारबीचको अन्तरसम्बन्धः
माथि नै भनियो, नेपाली साहित्य र आमसञ्चार पत्रकारिताका बीच भावनात्मक मात्र नभएर क्रियात्मक अन्तरसंबन्ध समेत रहँदै आएको छ । नेपाल भित्र र बाहिर पनि साहित्यिक पत्रकारिताको श्रीगणेश गर्ने मोतीरामभट्ट स्वयम् साहित्यकार थिए । सुरुको इतिहास स्पष्ट नभए पनि नेपालकै पहिलो र सबैभन्दा पुरानो छापामाध्यम गोरखापत्रमा कुनै कालखण्डमा संपादककको भूमिका निर्वाह गर्ने बैजनाथ सेढाइँ र पछिका विभिन्न कालखण्डमा सक्रिंय योगदान गर्ने बालकृष्ण सम, माधव घिमिरे, धर्मराज थापा, भैरव अर्याल, श्रृषभदेव शर्मा दाताराम शर्मा, बलराम श्रमजीवी, बालमुकुन्द देव पाण्डे, कृष्णभक्त श्रेष्ठ, किशोर नेपाल, शिव अधिकारी, लगायत यिनै पङ्क्तिका लेखकसम्म पत्रकारभन्दा पनि बढी साहित्यकारको परिचयबाट चिनिन्छन् । यो यथार्थले पनि यसको पुष्टि हुन्छ । अखबारी पत्रकारितमा मुलुककै पहिलो निजी क्षेत्रको छापा साप्ताहिक जागरण (२००७ फागुन ४) को संपादनमा प्रसिद्ध साहित्यकार हृदयन्द्रसिंह प्रधान सलग्न हुनुहुन्थ्यो भने मुलककै पहिलो दैनिक आवाज ( २०७ फागुन ८) अर्का प्रसिद्ध साहित्यकारद्वय सिद्धिचरण श्रेष्ठ र गोविन्दबहादुर मल्ल गोठालेको संपादनमा प्रकाशन भएको थियो । प्रकाशनको सीमितता, अल्पायुको पीडा आदिका हिसाबले नेपाली पत्रकारिताको इतिहासमा साहित्यको श्रीवृद्धि तर्फ सर्वाधिक योदान गोरखापत्रको रह्यो भने २०१३ कार्तिक २८ गतेदेखि प्रकाशित भई २०२० असारसम्म अस्तित्वमा देखिएको हालखबरले यस क्षेत्रमा राम्रो सहयोग ग¥यो ।साहित्यिक क्षेत्रका स्तम्भ मानिने श्यामप्रसाद, मदनमणि दीक्षित, भैरव अर्याल, दाताराम शर्मा आदिको संलग्नता रहेको हालखबरले नेपाली हास्यव्यङ्ग्य साहित्यको विकासमा निकै गहकिलो योगदान पु¥एको मानिन्छ । यी बाहेक पनि नेपाली पत्रकारितामा तारिणीप्रसाद कोइराला, भवानी भीक्षु, श्यामप्रसाद, धनुषचन्द्र गौतम, हरि अधिकारी, नारायण ढकाल, श्यामल, धु्रव मधिकर्मी, राजेन्द्र पराजुली, विवश वस्ती जस्ता प्रशस्त साहित्यकारहरूको उपस्थिति रहँदै आएको छ । यो सानो पत्रमा सबैको नाम लिनु संभव छैन ।
अखबारी पत्रकारिता र साहित्य
लामो समयसम्म गोरखापत्र र केही साप्ताहिक तथा साहित्यिक पत्रिकाले धानेको साहित्य सेवामा रेडियो नेपाल र नेपाल टेलिभिजनको समेत योगदान रहँदै आएको छ । जाआन्दोलन पछि ठूलो सङ्ख्यामा थपिएका छापा तथा विद्युतीय सञ्चारमाध्यमहरूमा साहित्यिक सामग्रीहरूले प्रशस्त ठाउँ पाउन थालेका छन् । जनआन्दोलनको परिणमस्वरुप आएको नेपाल अधिराज्यको संविधानले वाक् तथा प्रकाशन स्वतन्त्रतालाई पूर्ण प्रत्याभूति दिए पछि नेपाली सञ्चार क्षेत्रमा अभूतपूर्व विकासको लहर देखियो । निजी स्तरका विभिन्न प्रकाशन तथा प्रसारण संस्थाहरू अस्तित्वमा आए । फलस्वरुप अहिले ६वटा ठूला आकारका नेपाली दैनिक, तीनवटा अङ्ग्रेजी दैनिक, बीसवाइसवटा एफएम प्रसारण, ६वटा टेलिभिजन च्यानल र नेपाल, हिमाल, एक्काइसौं शताब्दीजस्ता निकै सङ्ख्यामा साप्ताहिक पाक्षिक समाचारपत्रिकाका साथै असंख्य साप्ताहिक समाचारपत्रहरूको प्रकाशन भइरहेका छन् । यी सबै प्रकाशन र प्रसारणले साहित्यलाई राजनीतिक समाचारकोृ जति नै महत्व नदिए पनि कथा, कविता, समालोचना, साहित्यकार परिचय, अन्तर्वार्ता, पुस्तक परिचय, साहित्यिक समाचार, आदि सामग्रीका रुपमा धेरथोर स्थान भने दिँदै आएका छन् । कतिपय ठूला दैनिकले आफ्नो साप्ताहिक परिशिष्टाङ्कमा साहित्यलाई स्थायी सामग्रीको रुपमा स्थान दिइरहेका छन् । राइजिङ नेपाल, काठमाणौं पोष्ट, द हिमालयन टाइम्स जस्ता अङ्ग्रेजी दैनिक र नेपाल टाइम्सजस्ता अङग्रेजी पाक्षिकहरूले नेपाली साहित्य र साहित्यकारहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने अवसर दिनुका साथै अङ्ग्रेजी भाषमा लेख्ने नेपाली लेखकलाई आवश्यक माध्यम समेत उपलब्ध गराइरहेका छन् । अनलाइनजस्ता नवसञ्चारका माध्यमहरूले नेपाली साहित्य र साहित्यकारलाई विश्वभर नै सहज पहुँचको सुनौलो अवसर प्रदान गर्न थालेको छ । यस अर्थमा आज सञ्चारमाध्यम विना साहित्यको कल्पना समेत गर्न नसकिने हुन पुगेको छ ।
यसरी नेपाली सञ्चार माध्यमहरूले विभिन्न तरिकाबाट साहित्यको सेवा गरिरहेका देखिन्छन् । नेपाली आमसञ्चारका छापा तथा प्रसारण माध्यमहरूले मूलतः साहित्य सम्बन्धी समाचार; कथा, कविता, निबन्ध, समीक्षा आदि साहित्यक विधाका सामग्रीहरू; नयाँ कृतिहरूको समीक्षा, चर्चा परिचर्चा र अन्य खालको जानकारी; साहित्यिक प्रतिभाहरूको जीवनवृत्त, अन्तर्वार्ता, परिचयआदि प्रकाशित गरेर यस क्षेत्रमा योगदान गरिरहेको देखिन्छन् । छापा माध्यमको जस्तै रेडियो, टेलिभिजन र एफएमहरूलो पनि सात्यिसम्बन्धी कार्यक्रमहरूको प्रसारण गरेर लगभग यिनै तरिकाले साहित्यलाई लोकप्रिय बनाउन सहयोग गरिरहेकाछन् । प्रसारण माध्यम बढी सहभागितामूलक हुने भएकाले लेखकको आफ्नै आवाजमा रचनाहरू श्रोतासम्म पुग्ने र साहित्यका विविध पक्षमा संवाद वार्ता र चर्चापरिचर्चा सञ्चालन गर्न सहज हुने हुँदा यिनको प्रभाव अझ बढी देखिँदैछ ।
अवसर र चुनौती
आधुनिक सञ्चारको विकासले भाषा, साहित्य र संस्कृतिको विमकास तथा प्रसारमा जति अवसर र संभावनाको ढोका खेलेको छ, त्यति नै चुनौतीहरू पनि ल्याएको छ । अत्यधिक श्रव्यदृश्य माध्यका पहुँचसँगै मानिसको पठन अभ्यास, आफ्नो विशिष्ठ सांंस्कृतिक पहिचान, मातृभाषा र रहनसहनजस्ता कुराहरूमाथि प्रतिकूल प्रभाव पर्दै जानुले साहित्य पनि प्रभावित हुने आशङ्का गरिँदै छ । यो दुष्प्रभावबाट सकभर बच्ने उपायको खोजी त छंदैछ, केही समय यता नेपाली सञ्चार माध्यममा देखिन थालेका केही प्रवृत्ति समेतले नेपाली साहित्यलाई हानि पु¥याउन सक्ने संभावना देखिँदैछ । सञ्चारमाध्यमहरूको प्रसार, पहुँच र प्रभावविस्तारसँगै साहित्यलाई दिइने स्थानमा समेत वृद्धि देखिए पनि सामग्री चयन, पक्षधरता, र हचुवा दृष्टिकोण आदिका कारण सकारात्मक भन्दा नकारात्मक प्रभाव पर्ने आशङ्का बढ्दै छ । सञ्चार माध्यमको प्रभाव, पहुँच र क्षेत्रविस्तारसँगै दायित्व र जिम्मेवारीबोध पनि बढ्दै जानु पर्ने कुरा स्वतः सिद्ध छ । अहिले नेपाली सञ्चार माध्यमले साहित्य र साहित्यसम्बन्धी समाचारहरूलाई उपेक्षा गर्न नसक्ने अवस्थाको सिर्जना भएता पनि साहित्यलाई अझै पनि गौण ठान्ने प्रवृत्ति मेटिएको छैन । हाम्रा सञ्चार माध्यमको प्राथमिकतामा पर्ने, राजीनिति, अपराध, हत्या, द्वन्द, साहित्यि, अर्थ–व्यापार, मनोरञ्जनजस्ता विषयका सामग्रीको अभावमाअझै स्थानपूर्तिका साधन मात्र ठानिन्छन् साहित्यिक रचना र समाचारहरू ! साहित्यका समाचारले प्रथम पृष्ठमा स्थान पाउन त्यस्ता कार्यक्रमहरूमा सत्ताशीन र प्रभावशाली व्यक्तिहरूको सहभागिता अनिवार्य ठान्ने मानसिकतामा खासै सुधार आएको देखिँदैन । यही प्रवृत्तिका कारण साहित्यिक कार्यक्रमहरूमा पनि साहित्यिक प्रतिभाको उपेक्षा गरेर राजनीति र सत्ताका ठूला पदाधिकारीहरूलाई शीर्षस्थ स्थान दिने अभ्यास बढ्दो छ ।
साथै सञ्चार माध्यमको प्रभाव विस्तारसँगै यसले साहित्यको स्वस्थ, स्वच्छ र निष्पक्ष विकासमा योगदान गर्न वर्तमानमा देखिएका केही विचलन र विकृतिहरूबाट मुक्त हुनु पनि त्यत्तिकै आवश्यक देखिन्छ । नेपाली सञ्चार माध्यममा स्थान पाउने साहित्यिक कार्यक्रम, साहित्यिक स्तम्भका अभिव्यक्ति र प्रस्तुतीहरू सन्तुलन, निष्पक्षता र रचनाको शक्ति वा गुणलेभन्दा व्यक्तिगत प्रभाव, गूट र समूहगत पहुँच, स्तम्भकार–कार्यक्रम प्रस्तोता–सञ्चालकको निकटताजस्ता कुराले प्रभावित हुने गरेकोे स्पष्ट अनुभव हन थालेको छ । यो प्रवृत्तिले सम्यक दृष्टि र निष्पक्ष मूल्याङ्कनको प्राथमिक शर्त पालना हुन सक्दैन र यस्ता खाललका अभ्यासले साहित्य र साहित्यकारको हचुवा मूल्याङ्कन हुनगई नेपाली साहित्यको इतिहासलाई नै विकृत तुल्याउ सक्छ । अखबारी र रेडियो(एफएम) तथा टेलिभिजनका साहित्यिक स्तम्भलेखन, चर्चापरिचर्चा, समाचारको प्रस्तुती, पुस्तक समीक्षा र पुस्तक चर्चाहरू पूर्णतः मनोगत र कसैलाई उचाल्ने कसैलाई पछार्ने प्रवृत्तिबाट प्रेरित हुन थालेको आरोपलाई संभवतः असत्य मान्ने आधार देखिँदैन । यस्ता व्यक्तित्व उकास्ने निहित लक्ष्य लिएर तयार गरिएका चर्चा, समाचार, समीक्षा आदिमा अग्राह्य र जनस्वीकृति प्राप्तहुन नसक्ने खालका विषेषणहरूको भरमार प्रयोग देखिन्छन् र यिनले साहित्य क्षेत्रमा अराजकता र अन्योल बढाउन बाहेक रचनात्मक योगदान गर्न सक्दैनन् । यस्ता अधिकांश स्तम्भकार–साहित्यिक संवाददाताहरू लेखन क्षमता र निरन्तरतालाई भन्दा मेडियामा पहुँच पु¥याउन सक्षम लेखकहरूको व्यक्तित्व निर्माणमा मरेर लागिरहेका देखिन्छन् । सम्पादकहरू लेख्य सामग्रीको उचित मूल्याङ्कन विना नै तिनै स्तम्भकार र संवाददाताले दिएका सामग्री आँखा चिम्लेर छापिरहेका छन् । लेखक लेखन क्षमताले बाँच्दछ, सस्तो प्रचारप्रसारले होइन भन्ने कुरा न त साधनालाईभन्दा प्रचारलाई सफलता ठान्ने लेखकहरूले संझन खोजेका देखिन्छन् न सञ्चारकर्मीहरूले नै । यो सत्य नबुझ्दा अखबार र प्रसारण माध्यमका साहित्यिक स्तम्भ र कार्यक्रमहरू स्तम्भकार र संवाददातालाई पार्टी, भोज र प्रत्यक्ष–परोक्ष लाभ पु¥याउन सक्ने अर्थसम्पन्न लेखकहरूको गोजीका हतियार बनिरहेको प्रतीत हुन थालेको छ ।
साहित्यिक स्तम्भ, पुस्तकर व्यक्तित्व चर्चा, साताका उत्कृष्ट पुस्तक चर्चा समेत यही प्रवृत्तिको शिकार बन्न थालेको अनुभव गरिन थालेको । मेडिया निकटका र गूटउपगुट विशेषका कृतिहरूको छापिनुपूर्व नै र छापिएपछि धुँवादार प्रशंसाको पुल बाँधिएका देखिएक छन् र नकराउने, गुट उपगुटमा नबाँधिई निरन्तर साधनामा विश्वास गर्ने दीर्घसाधकहरूका मूल्यवान कृतिहरू समेत प्रेसले चार्चायोग्य समेत नठान्ने गरेको अनेकौं उदाहरण देखिन्छन् । हालसालै नेपाल पाक्षिकको भदौ २० अङ्कमा प्रकाशित एउटा पुस्तक विमोचनको समाचारको यो पङ्क्तिले पनि यसको पुष्टि गर्छ । त्यसमा भनिएको छ– अकबरी सुनलाई कसी लाउनु पर्दैन भनेझैं फलानो (कृतिका लेखकको नाम) को कथा कवितालाई उत्कृष्ट भन्न सायदै कुनै समीक्षाको आवश्यकता नै थिएन । यो हचुवा मूल्याङ्कको प्रवृत्ति विवेच्य कथाको भन्दा बढी कथाकारको पहुँचबाट प्रभावित छ भन्न कठिन पर्दैन । लेखकको अन्तर्राष्ट्रिय संस्थासँगको संबद्धता र त्यो संस्थाबाट प्राप्त हुनसक्ने प्रत्यक्ष–परोक्ष लाभको मनोविज्ञानबाट यस्ता समीक्षा बढी प्रभावित हुने गर्छन, यो आजको यथार्थ हो । होइन भने अनवरत साधनाबाट लेखनको फँटमा स्तम्भ बनिसकेका लेखकका कृतिलाई त विना अध्ययन उत्कृष्ट छ छैन भन्न सकिँदैन भने एकजना नवोदित साहित्यकारको विवेच्य कृतिलाई उत्कृष्ट भन्न समीक्षाको आवश्यकता नै नपर्ने भन्नु कस्तो दृटिकोण हो, स्पष्ट छ । समकालीन नेपाली अखबारी र प्रसारण समीक्षा साहित्यिक सूचनाप्रवाह कसरी केही गरिदिनसक्ने सामथ्र्यवान पदीय प्रतिभाहरू तर्फ मात्र एकोरिन थालेको छ भन्ने यो एउटा उदाहरण मात्रै हो । यिनै प्रवृत्तिका कारण कसैलाई आधुनिक मोतीरामको टीका लगाइँदैछ, कसैलाई गद्य पुरुष, पद्य पुरुष, कथा सम्राट, गजल सम्राट कविसम्राट आदिको पगरी छानी छानी गुताइँदैछ । यसले गलत इतिहासको निर्माण हुनसक्ने र एउटालाई अतिसम्मान गर्दा अर्को त्योभन्दा बढी र त्यति नै योगदान भएको प्रतिभाको अपमान हुने यथार्थलाई भने हाम्रो सञ्चार माध्यमले बिर्सिन थालेको अनुभव हुन्छ ।
यिनै प्रवृत्तिका कारण धनसम्पन्न साहित्यकार–प्रकाशक तारे होटलमा स्कचको खोलो बगाएको भरमा कनीकुथी लेखेको एउटै कृतिबाट चर्चाको शिखरमा पुगेर महान बनिरहेका छन् र संवाददाता, स्तम्भकारमा यस्तै लेखक प्रकाशक र यस्तै तडकभडकपूणर््ा कार्यक्रम बाहेक अन्यत्र नहेर्ने बानीको विकास भइरहेको छ । यस्तै आडम्बरपूर्ण विमोचन, चर्चापरिचर्चालाई लेखन सफलताको मापदण्ड मानिन थालेको छ । पैसा खर्च गरेको भरमा रातारात प्रख्यात र महान बन्ने बनाउने खेलको अभ्यास तीब्रगतिमा फष्टाउँदै छ । यसरी आज लेखेर मात्र हुँदैन आमसञ्चारमा छाउन सक्नुपर्छ, अनिमात्र सफल हुनसकिन्छ भन्ने गलत मानिसकताको विकास गर्नमा आमसञ्चारले विशेष योगदान गरिरहेको आरोप सुनिने गरेको छ । यसलाई सञ्चार माध्यमले नसच्याउने हो भने यसबाट गलत इतिहासके निर्माण हुने संभावना प्रवल देखिन्छ । आमसञ्चारले साहित्यको विकासमा लामो समयदेखि खेल्दै आएको सकारात्मक र रचनात्मक भूमिकाको जगेर्ना गर्नका लागि पनि वर्तमानका यस्ता प्रवृत्ति सुधार्नु आवश्यक हुन्छ र यो सुधारको चुनौतीलाई राम्ररी सामना गर्न सकियो भने आधुनिक सञ्चार माध्यमले नेपाली साहित्यको विकासमा ठूलो योगदान दिनसक्ने स्पष्ट छ ।
२०६१ असोज २
आरुबारी
No comments:
Post a Comment