किन यपयोग का लागि मात्र प्रगोग गरिन्छन् अग्निहरू !
–विजय चालिसे
अग्निजी आजीवन लक्ष्यपरक वा उद्देश्यमूलक पत्रकारिता (मिसन वा एडभोकेसी जर्नलिजमा) को पक्षधर रहनुभयो । अफूलाई व्यवसायिकताका प्रवक्ता ठान्नेहरू उद्देश्यमूलक पत्रकारितालाई “विशेष सामाजिक वा राजनीतिक उद्देश्यका लागि प्रवाह गरिने अबस्तुगत दृष्टिकोण” का रूपमा आलोच्य ठान्दै आएका छन् । हो, अग्निीजीको पत्रकारिता सधैं समतामूलक समाज निर्माणको विशेष लक्ष वा उद्देशयका लागि समर्पित रह्यो, तर त्यो कहिल्यै बस्तुगतताको विक्षमा उभिएन । जहाँसम्म पत्रकारितामा विशेष उद्देश्यको प्रश्न छ, कथित व्यवसायिक पत्रकारिता पनि उद्देश्य रहित हुनसक्दैन । यसको अन्तर्निहित उद्देश्य वा लक्ष्य पनि कि त यथास्थितिको पक्षपोषण गर्दै समतामुखी समाजको चाहना राख्ने समाजवाद र साम्यवादका पक्षधरहरूको विरुद्ध पुँजीवादी अर्थतन्त्र र खुला र स्वतन्त्र समाजका नाउँमा पश्चिमा उपभोक्तवादी संस्कृतिको प्रवक्ता बन्नु नै हो । अग्निको पत्रकारिता समाचार–विचार लेखनमा होस् वा सम्पादनमा तर्कपूर्ण थिए, तथ्यपरक दृष्टान्तको प्रवृष्टिका उदाहरण थिए । सधैं सीमान्तीकृत वर्गीय पक्षधरताको अग्रगामी समाज निर्माणमा प्रेरक समाचार, चरित्र र घटनाहरूको खोजी र प्रस्तुतीमैं अग्निीको पत्रकारितां समर्पित रह्यो । जहाँसम्म निरपेक्ष निष्पक्षता र बस्तुगतताको प्रश्न छ, त्यो कहीँ कतै पनि सम्भव हुँदैन । सबै कुरा सापेक्ष हुन्छन्, निरपेक्ष होइन । बरु उद्देश्यपरक पत्रकारिता बजार, शासकीय समूह र शोषणपरक सामन्ती व्यवहार तथा प्रणलीको विरुद्धमा सार्वजनिक स्वार्थप्रति समर्थित रहन्छ, जुन अग्नि शिखाको पत्रकारिताले राम्ररी पुष्टि गरेको छ । खोजीपस्ने हो भने मूलधारका भनिने सञ्चार माध्यमहरूका समाचार–विचारमा पनि यिनै कुराको प्रयोग गरिएकै भेटिन्छ ।
वैकल्पिक पत्रकारिताका प्रवक्ता मानिने पत्रकारहरू पनि पत्रकारिताका शास्त्रीय मान्यता अनुसरण गर्नुपर्छ भन्ने पत्रकार र सञ्चारविदहरू बस्तुगता र निरपेक्षता (अब्जेक्टिभिटी र न्युट्रालिटी) को आवश्यकता देख्छन् । हुन पनि हामी विश्वव्यापी दृष्टिमैं अस्तित्वमा नरहेको सिद्धान्तबाट मात्रै पनि त डोहोरिन सक्दैनौं ! हामी अर्थपूर्ण परिवर्तन चाहन्छौं भने त्यसको आवश्यक संगठनमा उद्देश्यपरक पत्रकारिता एक मात्र आधारभूत तत्व बन्न सक्छ । सफल उद्देश्यपरक पत्रकारहरूबाटै यो सम्भव हुन्छ र यसको उदाहरण अग्निजीले देखाउनु पनि भएको छ ।
क्यानाडियन पत्रकार संघलाई सन् २००मा संबोधन गर्ने क्रमम एकजना पत्रकार स्यु केयरलेस (क्गभ ऋबचभभिकक) उद्देश्यपरक पत्रकारहरूलाई दिएका सल्लाह लाग्छ अग्निजीले सुरुदेखि नै अवबम्बन गर्दै आउनु भएको छ । उनी भन्छन्– उद्देश्यपरक पत्रकारिता गर्ने पत्रकार सफल बन्न इमान्दार, तथ्यपरक र विश्वसनीय हुनु आवश्यक छ । झुठो प्रंचार नगर्नुहोस्, सन्दर्भभन्दा बाहिरको उद्धरण र सूचना–तथ्याङ्क नदिनुहोस्, सत्यलाई बङ्ग्याएर कृत्रिम तथ्याङ्क र कथनको निर्माण नगर्नुहोस् र आधा सत्य मात्र प्रस्तुत गरेर महत्वपूर्ण तथ्य नलुकाउनुहोस्– उनले सल्लाह दिएका थिए ।
अग्निीजीले जे जति पत्रकारिता गर्नुभयो यिनै मान्यता र मर्यादाको सीमामा रहेर गर्नुभयो, थिनका विपरीत गएर होइन । आफ्ना विश्वास र आस्थामाथि चुनौती दिने विचारहरूका प्रतिरोधमा उहाँको कलम निराधार प्रतिरोधका माध्यमले होइन, तर्कपूर्ण वैचारिक प्रतिरोधको तहमा दरिलोसँग डटेर अघि बढ्यो । साथै आफ्ना धारणा प्रति असहमत बिरोधीहरूलाई धेरै महत्व नदिए पनि अग्निजीले पूर्ण उपेक्षा गर्नुभएन, न त आफ्नो आलोचना सुनेर विचलित र अर्धेर्य नै बन्नुभयो । बरु आफूलाई मूलधारका निष्पक्ष र व्यवसायिक ठान्ने कतिपय पत्रकार र सञ्चारमाध्यमहरू आर्थिक स्वार्थपरक द्वन्द, विशेष सार्वजनिक हित र स्वार्थप्रतिको उदासीनता तथा असन्तुलित र राजनीतिक पक्षधरताका निरन्तर अभ्यास गरिरहेका देखिन्छन्, जुन अग्निजीका कलम र पत्रकारितामा बरु देख्न पाइँदैन । अग्निजीबाट उद्देश्यमूलक पत्रकारिता गर्छु भन्ने हाम्रा धेरै पत्रकारहरूले सिक्नुपर्ने पक्ष पनि यिनै हुन् सायद् !
प्रदीप नेपालले मधुपर्कमा लेख्नुभएको छ– जसले प्रतिदान लिएन । अग्निशिखाको सन्दर्भमा प्रकट त्यो अभिव्यक्तिले अग्निशिखाको एउटा स्वाभिमानजन्य प्रवृत्तिको प्रकटीकरण गरेको छ, त्यो निश्चय नै हो । तर प्रतिदान शब्द आफैंले दाता र याचकको मानसिकता प्रकट गर्छ भन्ने बिर्सनुहुन्न । अग्नि र अग्निजस्ताहरू कुनै प्रतिदानको अभीष्ट प्राप्तिका लागि मात्र भनेर आस्थाप्रति समर्पित हुँदैनन् । न त त्यो प्रतिदानका लागि नेताहरूको गुटगत घेराभित्रको गोटी नै बन्ने कुनै चाहना राख्छन्, जो वास्तविक योगदानको मूल्याङ्कनलाईभन्दा आफ्नो वरिपरि गणेशपरिक्रमालाई नै योज्ञता, क्षमता र विशेषज्ञता ठान्ने गर्छन ।
अग्नि र अग्निहरू लाग्छ, धेरैबाट आफू शिखर चढ्ने सिँढीका रूपमा प्रयोग हुन्छन्, भइरहेछन् । उनीहरू दधीचिजस्तै हाड घोटिन्छन् र आफू प्रतिदान नमागेरै हराउँछन् । प्रतिदान माग्ने कुरा होइन, हाड घोट्नेहरूले कृतज्ञतास्वरूप दिने कुरा हो यो, सही मूल्याङ्काबाट प्रेरित हुने कुरा हो यो । यो सत्यको चेत नआउन्जेल अग्निहरू घोटिइनै रहने छन् र आफूहरू जीवन निर्वाहका लागि श्रम र बुद्धि बेचेरै पनि प्रतिफल बेगर बाँच्न बाध्य भइरहन्छन् । त्यसैले अग्निहरू क्षमता र विशेषज्ञता भएर पनि गूटगत मूल्याङ्कनको शिकार बनेर कहिल्यै त्यस्ता संस्थाहरूको प्रतिनिधित्व गर्न योग्य ठानिँदैनन् । न त प्रचार विभाको मूल्याङ्कनमा उनीहरू प्रेस काउन्सिल प्रतिनिधित्व गर्न योग्य ठानिन्छन्, न संस्कृति विभागले उनीहरूलाई कुनै प्रज्ञा–प्रतिष्ठानजस्ता साहित्यिक–सांस्कृतिक निकायको नेतृत्व र प्रतिनिधित्व गर्नका लागि योग्य ठान्छ । उनीहरू बुद्धिजीवी को कोटीमा त झनै दरिँदैनन् ।
अग्निले.पार्टीकै नेताहरूको आग्रहमा एउटा निश्चित आयस्रोत रहेको पाठ्यक्रमको सरकारी जागिर छाडेर विशिष्ट लक्ष्यका लागि पत्रकारितालाई नै पेशा बनाउनुभयो । आर्थिक अनिश्चितताको चुनौती बेहार्दै नेपाल कम्युनिस्ट पार्टी एमाले सम्बद्ध प्रकाशनहरूमा उद्धेश्यमूलक पत्रकारिताको सुरुआत गर्नुभयो । नेपाली पत्रकारिता, चाहे त्यो ठूला लगानीका व्यवसायिक प्रकाशन हुन्, चाहे पार्टी समर्थित विशेष उद्देश्यका साना प्रकाशन तिनमा गूट बिहीन निष्पक्ष र बस्तुगत पत्रकारिता धर्मले फल्ने फुल्ने अवसर अझै विकसित हुन सकेको छैन । त्यसैले उद्देश्यमूलक पत्रकारिताको नाउँमैं पत्रकारिता गरेर पनि आफूलाई आर्थिक मात्र होइन राजनीतिक प्रभाव क्षेत्रमा समेत प्रभावशाली तुल्याउन सक्नेहरूका बीच अग्निजी भने बाहिरै रहनु भयो । उहाँको मूल्य, मान्यता र आदर्शले पत्रकारितालाई निहित स्वार्थसाधनाको माध्यम र गूटपरस्त दलीय उपयोगमा प्रयोग गर्न कहिल्यै दिएन । बिडम्बना, त्यसो नगरी आर्थिक र पदीय दुबै लाभ प्राप्त हुन सक्ने मूल्याङ्कन पद्धतिको विकास भने पार्टी पङ्क्तिभित्र र बाहिर पनि कहिल्यै हुन सकेन । त्यही कारण विसं २०४७ पछि नेकपा एमाले सम्बद्ध र निकटका छलफल, दृष्टि, प्रतिपक्ष, सम्बोधनजस्ता विभिन्न साप्ताहिकका साथै एक्काइसौं शताब्दीजस्तो अत्यन्त प्रभावशाली मासिक पत्रिका र पार्टी मुखपत्र नवयुगको कार्यकारी सम्पादकका रूपमा तिनको सफल सम्पादन गर्दागर्दै पनि अन्तमा आर्थिक सुरक्षाकै लागि अग्निले आफ्नो जीवनको उत्तरार्धमा एउटा सामान्य जागिरे पत्रकारको जीवन बिताउनु प¥यो–नयाँ पत्रिकामा ! उता पत्रकारिताका अग्निजीकै समकालीन, कनिष्ठ र समकक्षी कतिपय पात्रहरू कोही पार्टी उच्च नेतृत्वमा अग्नजीहरूकै नेता बनिसकेका हुन्थे, कोही सांसद्जस्ता लाभ र सुविधाका पदमा नियुक्ति लिएर सुरक्षित जीवन व्यतीत गरिरहेका देखिन्थे । अग्निजीहरूको भागमा भने कहिले रेडियो नेपालको सञ्चालक र कहिले त्यहँीका आफ्नै सक्षम समर्थकहरूलाई जिम्मेवारी दिए हुने पार्टी कोटाअन्तर्गतको गोरखापत्रको सञ्चालकमा सीमित हुने नियति भोग्नु पथ्र्यो । यस्ता नियुक्तिमा न त नियमित आयको कुनै व्यवस्था हुन्थ्यो, न जीवन निर्वाहका लागि आवश्यक आधार नै ! त्यही कारण नै त हुनुपर्छ पार्टीसम्बद्ध उदेश्यमूलक पत्रकारितामा डेढ दशकभन्दा लामो समय बिताएर सम्पादकीय नेतृत्वमा पुगेका अग्नि शिखा पछिल्लो समयमा त्यही आर्थिक सुरक्षाको खोजीमा गर्दै डेढ दशकसम्म सम्हालेको पार्टी प्रचारविभाग सचिवको जिम्मेवारी समेत छाडेर एउटा व्यवसायिक दैनिकको सामान्य सम्पादनकर्मी भूमिका स्वीकार्ने परिस्थितिमा पुग्नुभयो । उद्देश्यमूलक पत्रकारिता (मिसन जर्नलिजम) पनि गूटीय नेतृत्वको धुरीमा गणेश पत्रकारिको पत्रकारिता गर्ने कतिपयलाई निकै फापेको देखिएको छ, देखिँदै पनि छ । तर अग्निको मिसन पत्रकारिता कुनै गूट र नेता विशेषको गणेश परिक्रमाका लागि थिएन । त्यसैले अग्नि शिखा त्यसमा बाँधिन सक्नुहुन्नथ्यो । अग्निहरूजस्ता सिद्धान्तनिष्ठ र समर्पित मानिसहरू निहित व्यक्तिगत लाभहानि को नापोेमा आफूलाई उपयोग गर्न कहिल्यै सक्दैनन्, र सधैं असुरक्षित नै रहन्छन् पनि । त्यसैले अग्निहरूजस्ता दलीय अनुशासन भित्रको बौद्धिक आलोचना र विश्लेषणभन्दा तल झरेर कसैलाई उचाल्ने, कसैलाई पछार्ने खेलमा रम्नै सक्दैनन् । त्यसो नगरी उनीहरू कसैको आँखामा पनि पर्नसक्दैनन् ।
पत्रकारितामा अग्नि सधैं पद्धतिको पक्षमा अडिग रहनु भयो, प्रणालीको पक्षमा अविचलित रनु भयो, र रहनु भयो पार्टी नीति र सिद्धान्तको सजग पहरेदारका रूपमा । नेता र नेतृत्वको प्रियताको लागि त्यो मात्र पर्याप्त हुँदैनथ्यो, थिएन । त्यसका लागि पार्टी, नीति, पद्धति र अनुशासित मर्यादाभन्दा पनि आफ्नाको व्यक्तित्व निर्माण गर्ने ठेक्का र अर्कालाई खुइल्याउने दुःस्साहसको भरपूर उपयोग गर्न सक्नुपथ्र्यो । मिसनलाई आस्था र जनताको पक्षमा समर्पित गरेका अग्नि शिखाजस्ताका लागि त्यो आचरण र प्रवृत्त स्वीकार्य थिएन । त्यसैले पत्रकारितामा पनि अग्नि र अग्निहरूजस्ता मात्र प्रयोग गरिने पात्र ठहरिन्थे, मूल्याङ्कनकर्ताका आँखामा अग्निहरू क्षमता, योग्यता र सामथ्र्यविहीन ठानिन्थे । तर पाठक र पत्रकारिताका अध्येताहरूका दृष्टिमा कलमलाई कहिल्यै आफ्नो स्वार्थ र लाभमा प्रयोग नगर्ने अग्नि शिखाको त्यो प्रवृत्ति सधैंका लागि उच्च मूल्याङ्कित रहेकोछ, रहने छ ।
२०६५ माघ १२ गते
आरुबारी
No comments:
Post a Comment