अभिनव साहित्यमा प्रकाशित,वर्ष १अङ्क १ २०५९ चैत
आफैं विकृत भइरहेको त छैन हाम्रो साहित्यिक क्षेत्र ?
–विजय चालिसे
समाज र राजनीतिको समेत मार्गदर्शक बन्नुपर्ने साहित्यकार र साहित्यिक संघसंस्था आफैं विकृति,विसङ्गति,प्रदूषण र निष्ठाको किनबेचजस्ता विकारहरुबाट ग्रस्त रहन थालेका छन् भन्ने आरोप लाग्न थालेको छ । निश्चय नै सबै साहित्यकार साहित्यिक संघसंस्थालाई सामान्यीकरण गरेर यो आरोप लगाउनु न्यायसङ्गत हुँदैन । सबै यो विकृतिलाई रुचाउँछन् र यस्तै कार्यव्यापारलाई एकमात्र सफलताको कसी ठान्छन् भन्ने पनि होइन । तर यो आरोपलाई पूर्ण असत्य ठानेर पन्छाउन पनि मिल्ने देखिंदैन । पुस्कार, सम्मान तथा सरकारी–गैह्र सरकारी लाभहरूजस्ता प्रलोभनको जालो ंिफंजाएर बसेका साहित्यिक व्यापारीहरुको हाटबजारमा आफै बिक्न जाने कथित केही ठूलासाना अनुहारबाट गरिएका अर्चना, गायन, बन्दना र स्तुति तथा पुरस्कार–सम्मानको मोलभाउका कार्यव्यापार आदि कारणले समग्र नेपाली साहित्य नै माथि भनिए झंै आरोपित भइरहेको छ,आलोचनाको विषय बनिरहेको छ । अहिलेसम्म यीे विकृतिहरुबाट उठ्नै नसक्ने गरी मूल्यविघटन भइसकेको छैन,सिर्जना र स्वाभिमानपूर्ण आत्मसम्मानलाई हाटबजारमा लिलाम गर्न नचाहने यथेष्ट श्रष्टाहरु रहेकाले समग्र साहित्यिक क्षेत्र अझै विकृतिको खाडलमा त्यति नराम्ररी परिसकेको छैन । तर यही पवृत्तिले अरु प्रोत्साहन पाउँदै जाने हो र अखबारी मूल्याङ्कनकनको सतही चार्चा र विमोचन व्यापारको खोटो सिक्का चलाउने विज्ञापनलाई नै साहित्यको यथार्थ मूल्याङ्कन ठान्ने अहिलेको प्रवृत्ति अरु फस्टाउँदै जाने हो भने खराब मुद्राले असल मुद्रालाई विस्थापित गरे झैं नेपाली साहित्यको इतिहास पनि विकृत हुने आशंका चाहिं निराधार होइन । सिर्जनाभन्दा विज्ञापनकलामा लगानी गर्नसक्ने धसम्पन्नहरु जसरी मांंस,मदिरा र मुद्राको मादकतामा लठ्याएर आफूलाई समाजका अन्य क्षेत्रमा स्थापति गररिहेका छन्,साहित्यमा पनि यो प्रवृति फस्टाउँदो छ । यस्ता चरित्रहरुको जयगानमा हाम्रा केही ठूला भनिने महानुभावहरु समेत माहुरीमा भन्किएका झिङ्गा झैं भुनभुनाइरहेका देखिन थालेका छन् ।
धनी साहित्यकारको धनप्रभावले सही साहित्यिक योगदान र व्यक्तित्व छायामा पर्नथाल्नु अहिलेको समकालीन साहित्यको एउटा नकारात्मक प्रंवृत्ति हो भने पुरस्कार–मानसम्मान पाउनका लागि जे पनि गर्न तयार केही सदाबहार नयाँपुराना नेपाल चिनेका चालु अनुहारहरूको शीर्षासानले ल्याएको विकृति अर्को नकारात्मक प्रवृत्ति हो । भन्छन् यस्तो प्रवृत्तिलाई मलजल गरेर हुर्काउनमा पुरस्कार, मानसम्मानको खटनपटन र निर्णयको ठेक्कापट्टा सधैं आफ्नो मुट्ठीमा बन्द गरेर हिड्ने केही वरिष्ठ–कष्ठिहरूको विशेष समूहको विशेष योगदान रहन्छ । भन्न परोइन, यस्ता व्यक्ति र समूह आफ्नो अन्तरात्माबाट सञ्चालित भने हुँदैनन् । उनीहरूको अन्तरात्मा र विवेक भन्ने बस्तुलाई दन्त्यकथामा जस्तै सुनको छडी छुवाएर,चाहनेहरुको इच्छाअनुसार चाहेको बेलामा जगाउनसक्ने गरी निष्कृय सुताइएको हुन्छ । पर्दाभित्रबाट डोरी समातेर नचाउनेहरूले यस्तो कठपुतली नाचको वास्तविक निर्देशन गरिरहेका हुन्छन् । यसरी पर्दाभित्रबाट निर्देशन गर्ने निर्देशकहरूमा प्राय गुठी–पुरस्कारका सञ्चालक,आयोजक,साहित्यका ठूला मठाधीश,सत्ताशीन र तिनका चारणहरू हुने गर्छन । यिनीहरूको विवेकशील आँखा अर्थात मूल्याङ्कनमा पर्न योगदान, विशिष्ठता र निस्वार्थ सेवा होइन,गणेशसंस्कृतिको मर्म जान्नुपर्छ । भनिन्छ,कुमारको पृथ्वी परिक्रमा अर्थात काम नै पूजा होइन,गणेशको शक्तिपरिक्रमा अर्थात दातापूजन संस्कृतिको मर्म बुझेर तिनै शक्तिबृत्तको सेवा र परिक्रमामा आफूलाई समर्पित गर्ने गुणको विकास गर्नसक्नु पर्छ । यस्ता शक्तिवृत्तका दाता–निर्णायक मण्डलीका स्वनामधन्य महापुरूषहरूलाई प्रत्यक्ष–अप्रत्यक्ष किसिमले खुसी पारेर बरदान प्राप्त गर्न आफूमा उनीहरुका हरकुरालाई मनासिब ठानेर समर्थन गर्नसक्ने खुबीको विकास गर्नसक्नु पर्छ । उनीहरुले शिलाजितलाई अलकत्रा भने भनेपनि हो,हजूर,कति महान् शब्दमर्मज्ञ भनेर आरती गर्न जान्नुपर्छ । भुक्तभोगीहरूको यस्तो भनाइ कति सत्य छ,त्यो भित्र पसेर हेर्नेले मात्रै बुझ्ने कुरा हो । यो प्रवृत्तिलाई मलजल गर्नेमा केही कथित साहित्यिक पत्रकार,अखबारी समीक्षक र साहित्यस्तम्भ लेखकहरूको महत्वपूर्ण योगदान रहने गरको छ ।
हाम्रो अर्को समकालीन प्रवृत्ति आफैंले खर्च बेहोरेर कुनै संस्थालाई सिखण्डीका रुपमा उभ्याउँदै सम्मान,अभिनन्दनका नाउँमा दोसल्ला ओढ्ने कार्यव्यापार हो । अहिले साहित्यको क्षेत्रमा एड्सजस्तै संक्रामक रहेको यही प्रवृत्तिभित्रको अर्को थप प्रवृत्तिमा दातालाई रकम फर्काउने बोलकबोल गरेर पुस्कार हात पार्ने नवीनतम कला पनि फस्टाउँदो छ भनिन्छ । थोकमा मानसम्मान बाँडेर नाम–दाम दुबै हात पार्ने नयाँ व्यवसायले पनि निकै प्रगति गरिरहेको चार्चा प्रशस्तै सुनिन्छ । यस्ता नवव्यवसायको संख्याबृद्धिले होइन भन्ने आधार समेत खोसिदिएको छ । हो, सबै मानसम्मान र पुस्कारलाई एकैकोटीमा राख्न निश्चय नै मिल्दैन । योग्य व्यक्तित्वले पुरष्कार पाएर स्वयम् पुरस्कार नै गरिमामय बनेका पनि छन्,पुरस्कारले व्यक्तिको मानसम्मान बढाएका पनि उदाहरण छन् । साथै पुरस्कार र सम्मान पाएपछि स्पष्टीकरण द्रिदै हिंड्नु परेका उदाहरणहरू पनि कम छ्रैनन् । व्यापक जनसहयोग जुटाएर सार्वजनिक स्वरुप ग्रहण गरेका सीमित संस्था वाहेककका अन्य प्राय संस्थाबाट दिइने अधिकांश पुरस्कार र सम्मान मथिका प्रवृत्तिबाट मुक्त नरहेको भन्ने चार्चालाई रचनात्मक टिप्पणीका रुपमा लिएर शुद्धिकरण तर्फ लाग्नु उपयुक्त हुने छ । हाम्रा प्राय कोष,गुठी,प्रतिष्ठानहरुमा खासै भिन्नता देखिंदैन । तिनका श्रोत,सञ्चालन विधि,चयन,पुरस्कारनाम र सञ्चालकहरुद्वारा देखाइने विधिव्यवहार तथा अभिव्यक्ति र दाता–याचक बीचको कार्यव्यापार आदिले यिनमा प्राय समानता देखिनु स्वभाविक पनि हो । तसर्थ यस्तो आम धारणा सुनेर आफ्नो विधिव्यवहार सुधार्ने तर्फ नलागी चित्त दुखानु र अरुलाई धारे हात लगाउनुको खास अर्थ पनि रहँदैन । सम्मानित संस्थाद्वारा अभिनन्दन र पुस्कारयोग्य स्रष्टाहरुको सम्मानमा हुने रचनात्मक तथा सकारात्मक गतिविधिको निश्चय नै स्वगत गर्नु पर्छ । मान्य मानदण्ड बाहिर गएर गूट,हल्ला र विज्ञापनकलाको उच्चतम उपयोग र अन्य प्रभावका भरमा चर्चामा आउन सफल अनुहारहरु नै सम्मानित,अभिनन्दित र पुरस्कृत हुने लहर चलेकोले नै पुरस्कार लिएर पछिं स्पष्टिकरण छपाउँदै हिंडनुपर्ने वर्तमानका उदाहरणहरुबाट मुक्त हुन सकिने हो भने पुस्कार प्रोत्साहन पनि हो,मान्यता र मूल्याङ्कन पनि हो । यसो नहुँदा सडेको एउटा माछाले सिङ्गै पोखरी दुर्गन्धित तुल्याएजस्तै नेपाली सात्यिको क्षेत्रमा अहिले देखिन थालेका आरोपहरु प्छि झनै संस्थागत हुने खतरा प्रति आँखा चिम्लनु हुँदैन भन्ने अधिकांशको सोचइको सम्मान गरिनु राम्रै हुने छ ।
अहिले नेपाली साहित्यको क्षेत्रमा देखिन थालेको अर्को प्रवृत्ति अङ्ग्रेजीमा लेखिने नेपाली साहित्यलाई नै नेपाली साहित्यको समग्र मूल धार मानेर गरिने मूल्याङ्ककन हो । अङ्ग्रेजीमा लेख्ने र नेपाली साहित्यलाई अङ्ग्रेजीमा अनुवाद गर्ने प्राय एउटैसमूह हुने भएको पृष्ठभूमिमा आफू अनुवादित हुने मोहबाट डोहो¥याइएका कथित बरिष्ठहरूनै यो प्रवृत्तिलाई काँध थापेर नेपाली साहित्यको मूलधार अर्थात नेपालीमा लेखिएका साहित्यको अवमूल्यन र विदेशी भाषामा लेखिएकाको अधिमूल्यन गर्ने खेलमा आँखा चिम्लेर लागेका छन् । यो प्रवृत्तिलाई आमसञ्चार सञ्जालले निकै मलजल गरिरहेको अनुभवलाई निराधार मान्न सकिदैन । यसका साथै कतिपय सञ्चार माध्यमका समीक्षक वा स्तम्भलेखकहरुमा नेपाली साहित्यको हचुवा र गूटपरस्त पुर्वाग्रही मूल्याङ्कनको प्रवृत्तिले नेपाली साहित्यको यथार्थ इतिहास धमिल्याएर अर्को विकृति बढाइरहेका छन् । यो आरोप पनि असत्य मान्ने आधार फेला पर्दैन ।
हो,समाजका प्राय सबै क्षेत्रमा यस्ता विकृतिहरु विद्यमान रहेकाले साहित्यिको क्षेत्र पनि यसबाट अअछुतो रहन नसक्नु स्वाभाविक हो । हर क्षेत्रलाई यस्तै विकृतिको पञ्जाबाट छुटाउने काम आज ठूलै चुनौती बनिरहेको छ । साहित्यको क्षेत्रका मानिसहरुमा पनि यसको प्रभाव पर्नु स्वभाविक हो । तर यसो हो भने साहित्यले आफूलाई समाजको मार्गदर्शक र चेतनाको संवाहक मान्न छाड्नु पर्छ । साहित्यकारले आफू समाजको अग्रणी हुँ त्यसैले समाजले आफूलाई सम्मान र मान्यता प्रदान गरेर उचित मूल्याङ्कन गर्नु पर्छ भन्ने दावी पनि छाड्नु पर्छ । होइन भने ऊ आफू यस्ता विकृतिहरुबाट मुक्त रहनैपर्छ ।
विकृति–विसङ्गति विरुद्ध चेताको संवाहक साहित्य र साहित्यसर्जक आफैं यसरी विकृति तर्फ उन्मुख हुँदैछ भन्नेकुरा पत्यारिलो लाग्दैन । तर राजनीतिजस्तै साहित्यको क्षेत्र पनि विकृति, विसङ्गति,आत्मविज्ञापन तथा ठेकेदारी प्रथाबाट नराम्ररी प्रभावित हुन थालेको अनुभव संपूर्णमा असत्य होइन । यो प्रवृत्तिको विकासमा मूलतः पुरष्कार गुठी–प्रतिष्ठान आदि,नेपाली साहित्यको संस्थागत विकास र वातावरण प्रदान गर्नेे घोषित उद्देश्य सहित आएका भनिने संस्था र त्यसका वरिपरि झुम्मिने स्वयम् सर्जकहरुले नै मदत पु¥याइरहेका छन । यो आरोप तीतो लागे पनि सर्वांशमा असत्य देखिंदैन । सरकारीदेखि निजीस्तरसम्मका पुरस्काहरु विकृतिहरुका कारण आलोचनामुक्त रहनसकेका छैनन् । यिनै कारणले यस्तै प्रवृत्तिमाथि व्यङ्ग्यस्वरुप दिइएको एक रुपियाको पुरस्कारले आवश्यकताभन्दा बढी चार्चा पाएको हुनुपर्छ । साहित्य मात्र होइन सिंंगो सांस्कृतिक फाँटलाई नै यस्तो दुष्प्रभावबाट बचाउन सचेत हुनै पर्छ र यसमा सबैभन्दा बढी दायित्व आफूलाई समाजको चेतनशील र सचेतक मान्ने साहित्यको क्षेत्रले नै लिन अग्रेसरता देखाउनु पर्छ ।
ड्ड
No comments:
Post a Comment