Tuesday, August 17, 2010

अनौपचारिक
चरित्रहीनताको उद्घोष विरोधको सही बाटो हुनसक्ला ?
–विजय चालिसे
पछ्यौरीलाई च्यातचुत पार्ने आह्वानसहित ‘चरित्रहीन चेली’ को लैङ्गिक असमानताका विरुद्ध ‘मुक्ति घोषणा’ को नाउँमा गरिएको एउटा घोषणा सञ्चारमाध्यममा देखापरेको छ । पितृसत्तात्मक नेपाली समाजमा मात्र होइन आफूलाई उन्नत र सभ्य ठान्ने पश्चिमा समाजमा पनि लैङ्गिक विभेद सखाप हुन सकेको देखिँदैन । उपभोक्तावादी पश्चिमा समाजले त झन नारीलाई सजावटी वा ग्यालमरको विषयका रूपमा हेर्ने गरेकोछ भन्ने गुनासो पनि नयाँ होइन । हाम्रोजस्तो अर्धसामन्ती समाजमा यो समस्या अरू चर्को रहनु स्वभाविक हो । यो यथार्थलाई आँखा चिम्लन भने निश्चय नै सकिँदैन । यस्ता कुराको विरोध गरेर शिक्षा, रोजगारी, सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक हिसाबले समतापूर्ण समाजको निर्माणमा सकारात्मक र रचनात्मक आन्दोलनहरू चलाइनु पर्छ, यी यावत विषयमा नारी चेतनाको विकास गर्नु सभ्य समाजका कुनै पनि नागरिकको दायित्व पनि हो । तर यस्तो उद्देश्का लागि चलाईने आन्दोलन, अभियान र त्यसका लागि लिइने बाटो भने मूल उद्देश्यप्रति नै शंका उब्जाउने क्षणिक आवेश र उत्तेजनाका प्रतिक्रियाजन्य गतिविधिबाट पे्ररित हुनुहुन्न । हो, हाम्रो समाज भिन्न लिङ्गका मात्र होइन, समान लिङ्गवर्ग बीचको भेदभावबाट समेत उत्तिकै उत्पीडित र असामान रहेको छ । यसको अन्त्य हुनुपर्छ भन्ने एक्काइसौं शताब्दीको यात्रामा लम्किएको कुनै पनि प्रजातान्त्रिक समाजको अभीष्ट हुनै पर्छ । त्यसैले यसमा अत्यधिक पीडा भोगिरहेको नारी समाज अरू बढी अग्रसर रहनु अत्यन्त स्वभाविक पनि हो । यसमा पुरुष समाजको पनि साथ भने अपेक्षित रहन्छ । यसका लागि चलाइने चेतनामूलक गतिविधि र विरोध–आन्दोलनका कार्यक्रमहरू भने आफ्नो मूल उद्देश्यबाट भट्किनु हुँदैन, त्यसो भएमा आवश्यक सामाजिक समर्थन जुटाउने काममा समस्या ल्याउनुका साथै समाजलाई अराजकतातर्फ धकेलेर सही मूल्यमान्यताबाट विमुख गराउन सक्छ । यसर्थ यस्ता आनन्दोलनका गतिविधि गलत बाटोमा होइन समाजलाई अग्रगमनको बाटोमा हिँडाउने खालको हुनुपर्छ, सही उद्देश्यबाट विमुख हुनुहुँदैन ।
हो, मागेको भारमा अधिकार दिइएको कतै पाइँदैन, खोसेर लिनेले नै यसको उपभोग गर्न सकेको इतिहासका अनेकौं उदाहरण छन् । यस अर्थमा पितृसत्तात्मक समाजले निर्धारण गरेका आफू अनुकूलका सीमा र परिधिहरू तोडेर नेपाली चेलीको हक, हित र अधिकारको संरक्षणमा नारी जागरण निश्चय नै स्वागतयोग्य कुरा हो । झट्ट हेर्दा यिनै मूल उद्देश्यबाट पे्ररित देखिने सञ्चारमाध्यममार्फत आएको चरित्रहीन चेलीको मुक्ति घोषणाका कतिपय बुँदाले यसको पुष्टी नगर्ने पनि होइन । तर उनीहरूको एजेण्डाका कतिपय विषय अति उत्तेजक र अराजक देखिकोले यो कथित आन्दोलन सस्तो हल्ला चलाउनुको मनोविज्ञानबाट मात्र पे्ररित त छैन भन्ने शङ्का समेत उब्जाइदिन्छ । विरोधका धेरै पाटाहरूहुन्छन्, पुरुषप्रधान समाजले आफूलाई सधैं चोखो र नारीलाई मात्र चरित्रहीन देख्यो भनेर त्यसको विरोधमा आफैंलाई पुरुषभन्दा तलको चरित्रहीनतामा डुबाएर बदला लिन्छु भन्ने मनोविज्ञानले सही समाधान दिनसक्तैन । उनीहरूको घोषणाले भनेजस्तै नारी हकहितका निम्ति सार्वजनिक ठाउँमा पान चपाएर, टाटेपाङ्ग्रे अङ्गबस्त्र (ब्रा र पेण्टी ) लगाएर मुक्का हानेर पुरुषजस्तै भट्टीमा चुरोट र मादकपदार्थ खुल्लमखुल्ला सेवन गर्दे मातिएर नारी समानताको उद्देश्य प्राप्त हुन सक्तैन । अर्को, यी सबै कुरा गर्न शारीरिक बलका साथै कामै नगरी बाँच्नसक्ने आर्थिक सम्पन्नता र सामथ्र्यको आवश्यक पर्छ । यस्तो क्षमता भएकाले त सक्लान्, रातदिन पसिना चुहाएर छाक टार्नुपर्ने नब्बेप्रतिशत नेपाली नारीकालागि विरोधको यो उपाय के व्यङ्ग्य मात्र नठहर्ला ? यथास्थिति र गलत अभ्यास–परम्पराबाट मुक्ति पाउन के यस्तै अभियाले सफलता देला ? नारीलाई मात्र प्रदर्शन र ग्यामरका निर्जीव बस्तु ठान्ने पुरुष मानसिकताकै आविष्कार पश्चिमी उपभोक्तावादी सभ्यतामा आकण्ठ डुबेर नाङ्गिनुलाई नै सौन्दर्य र स्वतन्त्रता ठान्ने केही ‘आधुनिक सभ्य’हरूलाई ब्रा र पेण्टी मात्र लाएर सार्वजनिक ठाउँमा हिँड्डुल गर्ने काम असहज नहोला, पान, चुरोट र मादकपदार्थको दुव्र्यसनमा चुर्लुम्म डुब्नुमैं आनन्द लाग्ला । शहरी क्षेत्रका केही सम्पन्न वर्ग, गैरसरकारी संस्थाको उपज नवसभ्य र धनिक वर्गका महिलाले यस्ता कामलाई सहज रूपमा लिन सक्लान्, उनीहरू आर्थिक स्तरले पनि समर्थ होलान् तर बहुसङ्ख्यक नेपाली नारीका लागि यस्तो व्यवहार कति ग्राह्य होला र उनीहरूको आर्थिक स्तरले कति देला भन्ने प्रश्न पनि उत्तिकै विचरणीय देखिन्छ । अशिक्षा, गरिबी, चेतनाहीनता र अभावमा बाँच्न बाध्य सयमा नब्बेभन्दा बढी नेपाली नारीले यस्तै क्षमता र साहस जुटाउन सक्लान् ? प्रश्न धेरै कोणबाट उठ्न सक्छ । रचनात्मकताको साटो विरोधमा निहित उत्तेजक प्रस्तुतीले समाजमा विखण्डन समेत ल्याउन सक्ने यथार्थलाई बिर्सनुहुन्न ? विभेद र उत्पीडनको मूल कारक गरिबी, अशिक्षा, अज्ञान र अन्यखाले पछौटेपन भएको यथार्थलाई नबिर्सने हो भने सही अर्थमा नारी मुक्ति र समानताकालागि नारी शिक्षा, आयमूलक रोजगारीका अवसर, सही ज्ञान र चेतनाको विकास आवश्यक पर्छन् । यसका लागि अराजकता र उछृङ्खलता होइन महिला चेतना र आर्थिक–सामाजिक स्तर तथा क्षमता वृद्धि गराउने चेतनामूलक आन्दोलनको आवश्यकता रहन्छ । कुनै पनि कुरा क्षणिक आवेशको प्रतिक्रियाबाट अगाडि सार्दा त्यसले दीर्घकालीन सफलता दिनसक्तैन, न त समाजलाई नै सही बाटोमा डोहो¥याउन सक्छ । यस अर्थमा पनि जिम्मेवार सबै पक्षले आफूलाई क्षणिक प्रतिक्रियाको उत्तेजना प्रेरित समूहका रुपमा नभएर सही उद्देश्यप्राप्तिमा समर्र्पित गर्न सकेमा मात्रै समाजबाट त्यसले स्वीकृति पाउँछ ।
लोग्ने मान्छेले बहुविवाह ग¥यो भनेर स्वास्नीमान्छेले पनि धेरै लोग्ने फेर्दै जानु समस्याको समाधान हुन सक्तैन । यसका लागि स्वास्नीमान्ेमा पनि कसैको सौता बन्न जानुहुन्न भन्ने चेतनाको व्यापक विकास हुनु पर्छ र त्यस्ता पुरुषलाई सबै मिलेर कानुनी दण्ड दिलाउने सामाजिक आन्दोलनका साथै सामाजिक बहिष्कार गरेर समाजमा मुख देखाउन नसक्ने परिस्थितिको सिर्जना गर्नुजस्ता अनेकौं अभियान अघि बढाउन सकिन्छ । लोग्ने मान्ेछले भट्टी पसेर जाँँडरक्सी खाँदै घरमा स्वास्नी–छोराछोरी पिट्यो भनेर स्वास्नीले पनि त्यसरी नै भट्टी धाउने खाले विरोधले नारी उत्पीडन र असमानता हट्दैन । यो समस्या हटाउन त्यस्ता लोग्नेलाई समाजका सबै मिलेर बहिस्कार गर्ने, कानुनी उपचारद्वारा दण्ड दिलाउने अभियान चलाउन सकेमात्र अपेक्षित लक्ष्यमा पुग्न सकिनेछ । कतिपय पिछडिएका गाउँमा समेत आमा समूहजस्ता महिला समूहले जुवातास खेल्ने, जाँडरक्सी खाएर घरमा अशान्ति फैलाउने, व्यभिचार गर्ने लोग्नेमान्छेहरूलाई बहिस्कार गर्नेका साथै सार्वजनिक दण्ड र भत्र्सनाको उपाय प्रयोग गरेर सुधारेका समाचारहरू प्रकाशमा आइरहेकाछन् । इमान्दार र सही समाधानको खोजी नै आन्दोलनको उद्देश्य हो भने नारी आन्दोलनका प्रवक्ता र आफूलाई नेता ठान्ने महिलाहरूले आफूलाई चरित्रहीनहरूको समूह भनाउनुमा गर्व ठान्नुभन्दा यस्तै सकारात्मक अभियानलाई राष्ट्रिय आन्दोलनका रूपमा अघि बढाउनु उपयुक्त हुनेछ । तर सञ्चारमाध्यममा आएको भूमिगत महिला आन्दोलनकारीहरूको ‘चरित्रहीन चेलीको मुक्तिघोषणा’ देख्दा लाग्छ आजको हाम्रो एउटै आवश्यकता चरित्रहीनताको आन्दोलन हो । सार्वजनिक स्थानमा पानचपाउनेदेखि अर्धनग्न भएर सार्वजनिक स्थलमा देखापर्नु, आवश्यक परे मुक्का हान्नु र चाहे अनुसार खाने, मद्यपान र धूमपान जेसुकै गर्ने घोषणाका उपायले नारी मुक्तिको सही मार्ग निर्देश गर्न सक्तैन । यो घोषणाले विद्रोही नारीको सम्मानमा ‘हामी खराब हौ’ भन्न लाज नमान्नुलाई नै गौरव र आफूलाई ‘चरित्रहीन’ ठान्नुमैं गर्व ठान्ने उद्घोष गरेको छ, जसलाई स्वयम् नारी स्वतन्त्रता, समानता र सम्मानका हिमायती चेतनशील नारीले समेत स्वीकार्न कठिन देखिन्छ । यस्ता कुराले त्यही घोषणामा रहेका कसैसँग नझुकी स्वाभिमान र आत्मसम्मानको रक्षा गर्ने, आफनै व्यक्तिगत पहिचान कायम गरी पारिवारिक भूमिकालाई परिभाषित गर्ने तथाल स्वतन्त्र मस्तिष्कको विकास गर्नेजस्ता उद्देश्य नै पूरा हुन सक्छ । शरीरमाथिको आफ्नो अधिकार सुरक्षित गर्ने, यौन दुराचार र शोषणको अन्त्य गर्ने, विरोधमा निहित आफ्ना सन्तानलाई आमाको नाउँमा नागरिकता दिलाउने, अभिभावकको नामविना नागरिकता, राहदानीजस्ता कुरा लिन नपाउने व्यवस्थाको अन्त्य गर्नेजस्ता राम्रा कुराको मागलाई पनि हलुका बनाइदिन्छ । श्रमको समान पारिश्रमिक पाउने अधिकारको सुरक्षा गर्ने, दाइजो प्रथाजस्ता सामाजिक कलङ्क नामेट पार्नेजस्ता अत्यन्त सकारात्मक कुरालाई समेत यसले हलुका बनाइदिएको अनुभव हुन्छ । यसर्थ कुनै पनि सार्थक आन्दोलन समस्याको जरोलाई उखेल्ने तर्फ लक्ष्यित हुनुपर्छ, सतही आन्दोलनले सामाजिक क्रान्ति ल्याउन सक्तैन । यो सत्यलाई गंभीरतापूर्वक मनन गर्नुमै आन्दोलनको सफलता निहित रहन्छ ।

No comments:

Post a Comment