प्रधानमन्त्री मनमोहनको औपचारिक चिन भ्रमणको पहिलो चरण पूरा गरेर दोश्रो चरणमा सांघाइतर्फ लाग्दैथियौं हामी । सामाजवादी बन्द चिनको राजधानी बेइजिङ आफैं नै पढेको र सुनेकाभन्दा कता हो कता खुला र आधुनिकतामा रङ्गिएको पाएको थिएँ मैले । त्यसैले मेरो मनमा तीब्र कौतुहल थियो– नखुलेको बेइजिङ त त्यति खुला छ भने चिनकै खुला अर्थव्यवस्थाको प्रतीक मानिन थालेको सांघाइले कति खुलाएको होला आफूलाई ! त्यही हेर्न बेइजिङलाई विदा गरेर हामी चिनिया औद्योगिक विकास र खुला अर्थव्यवस्थाको प्रतीक सांघाइ तर्फ लाग्दै थियौं ।
ग्रेटहलमा चिनिया जनराजनीतिक परामर्श सम्मेलन राष्ट्रिय समितिका अध्यक्ष ली रुइह्यानसँग भेटवार्ता सकेर प्रधानमन्त्री मनमोहन अधिकारी आइपुग्नुहुनासाथ चिनिया वायुसेनाको विशेष विमान हामीलाई बोकेर सागरमा कावा खान थालिसकेको थियो । चिनिया अधिकारीहरूले विमानमा मीठो खाना मात्र ख्वाएनन्, यात्रा दलका प्रत्येक सदस्यहरूलाई साङ्घाइको होङ्क्विआओ विमानस्थलमा ओराल्नु अगाडि नै संझनाको चिनो उपहार पनि दिए । उपहार देखाउने मात्र होइन, राम्रा र निकै उपयोगी पनि थिए । बेलामौकामा कतै जानुपर्दा काम दिइरहेको त्यही उपहारमध्येको एउटा राम्रो र बलियो हवाइ व्यागमा देख्नासाथ अहिले मेरा आँखा अगडि बेइजिङ र साङ्घाईका संझनाहरू एकपछि अर्को तरेली खेल्दै दृश्यपटमा आउने गर्छन । व्याग मात्रै होइन, व्यागभित्र अरु पनि उपयोगी उपहार थिए– अटुट ृंझनाका कोसेलीहरू । यस्तै उपहार बेइजिङबाट हिँड्नु अघि पनि पाएका थियौं– चिनिया प्रधानमन्त्रीको नामबाट । चिनिया प्रधानमन्त्रीको नाउँबाट पाएका दामी चिनिया शिल्कको टाइ, स्कार्फ र अन्य बस्तुहरूको न्यानोमाथि यो अर्को पनि कोसेली थपिएको थियो, यात्रालाई अविस्मरणीय तुल्याउने क्रममा । त्यो अनुभव पनि आफैंमा एकप्रकारको रमाइलो अनुभव थियो हाम्रालागि ।
विमानस्थलको सामान्य स्वागतसत्कारको कार्यक्रा पछि सोझै साङ्घाइको जिङजियाङ टावर होटेल पुग्यौं हामी । बेइजिङमा सबै ठाउँ देख्न नपाएकोले होकी भन्न सक्दिन, विमानस्थलबाट होटेल पुगुञ्जेलको यात्रामा त्यहाँकाभन्दा अग्ला गगनचुम्बी भवनहरूको उपस्थिति निकै बढी जस्तो लागेको थियो मलाई साङ्घाइमा । कुनै बेला साइकलै साइकलको शहर भनिने बेइजिङ आफै त कारैकारले ढाकिएको देखिएको थियो भने, सांघाइमा त साइकललाई कारले उछिन्ने नै भयो । सुविधानजक व्यापारिक केन्द्रमा रहेको ४३ तले त्यो पाँचतारे होटेलको तीसौं तलाको ३०२२ नम्बरको भव्य कोठा मेरो प्रतीक्षामा थियो, सांघाइमा रहुञ्जेल दुइरातको आश्रय दिन ! होटेलकासबैभन्दा माथ्लो दुई तलामा रहेको ब्लु हेभेन घुम्ने रेष्टुरेण्टबाट सङ्घाइलाई सबै कोणमा नियाल्दै खाना खानुको आनन्दै अर्को थियो ।
चिनको सबैभन्दा लामो नदी याङ्त्से चिनको यही पूर्वीतटीय नगर सांघाइमा आएर समुद्रसँग एकाकार भएको थियो । कूल क्षेत्रफल १७ हजार ९सय वर्गकिलोमिटर भएको बेइजिङको तुलनामा एकतिहाइभन्दा कम अर्थात ६३४० वर्ग किलोमिटर क्षेत्रफलभन्दा केही बढी ठाउँ ओगटेको सांघाइंभित्रै चिनको तेश्रो ठूलो टापु छोङमिङ पनि रहेको थियो । याङ्त्से मात्र होइन स्याङ्सु प्रान्तको ताइहु तालबाट बग्दै आएका प्रमुख दुई नदी ह्यवाङपाओ र उसोङले पनि यसका भित्री भागहरूसँग सम्पर्क राख्नमा सघाएका थिए, सांघाइको समृद्धिमा सहयोग गरिहेका थिए । लामो ऐतिहासिक परम्परा रहेको विश्वकै अति घनामध्ये एउटा महानगर सांघाईको प्रशासनिक क्षेत्र १३औं शताब्दीको मध्यतिरै स्थापना भइसकेको थियो । त्यतिखेरबाटै यसको व्यापारिक बन्दरगाहका रुपमा विकासत हुँदै गयो । सोह्रौं शताब्दीको सुरुमा चिनकै ठूलो कपडा उद्योगका रुपमा प्रतिष्ठा पाइसकेको साङ्घाइ अहिले चिनकै ठूलो खुला नगर बनेको छ । साङ्घाइले आफूलाई महत्वपूर्ण औद्योगिक, वित्तीय, वाणिज्य तथा सूचना र प्रविधि केन्द्रको रुपमा पनि स्थापित गरेको छ । विश्वकै १० ठूलामध्येको एउटा विशाल बन्दरगाह नगर पनि हो साङ्घाइ !
यही गौवमय नगरका फुदोङ क्षेत्र, उर्जा, स्टिल र यस्तै केही विशाल फ्याक्टरी, प्रख्यात पुल र टावरहरूको अवलोकन हाम्रा औपचारिक कार्यक्रम अन्तर्गत पर्दथे । त्यसैले दिउँसोको खाना होटेलमैं खाएर हामी लागेका थियौं नापु पुल हुँदै फुदोङनयाँ क्षेत्रतर्फ । सन् १९९०को दशकमा चिनले खुला उदार आर्थिक नीति अवलम्वन गरेपछि एक दशकमैं आफ्नो स्वरुप परिवर्तन ग¥यो अर्थिक विकासमा विश्वलाई चकित तुल्याउँदै फड्को मा¥यो । भनिन्छ अहिले यसको वार्षिक विकास दर लगभग नौप्रतिशत रहेकोछ, जुन विश्वमैं सर्वाधिक मानिन्छ । सांघाई यो विकासको जीवन्त प्रतीक बनेकोछ । साङ्घाई आज विश्वकै अग्रणी औद्योगिक तथा व्यापारिक केन्द्रका रुपमा स्थापित भएको छ । लगभग ५२३ वर्गकिलोमिटरमा फैलिएको पूर्वीसाङ्घाईको न्यु फुदोङ क्षेत्रअन्तर्गत रहेको यो छिन्छिआओ निर्यात प्रशोधन केन्द्र (व्ष्लत्रष्बय भ्हउयचत एचयअभककष्लन श्यलभ० खुला अर्थव्यस्थाप्रतिको चिनिया यात्राको प्रतीकस्थल झैं लाग्थ्यो । सो क्षेत्र विकास कम्पनीका महाप्रबन्धक झु सियाओेमिङले उक्त क्षेका बारेमा विस्तृत जानकारी दिएका थिए हामीलाई । विश्वकै आर्थिक, व्यापारिक र वित्तीय केन्द्रका रुपमा यो क्षेत्रलाई विकसित तुल्याउने चिनिया लक्ष्य सहित सन् १९९०मा स्थापना गरिएको यो फुदोङ नयाँ क्षेत्र विकास कम्पनी आफ्नो लक्ष्यमा धेरै अगाडि बढिसकेको देखिन्थ्यो पनि । त्यस क्षेत्रभित्रका केही उद्योग तथा प्रशोधन केन्द्रहरू घुमेपछि हामी एसियामै कहलिएको विशाल याङ्पु सस्पेन्सन ब्रिज हेर्न केही समय अलमलिएका थियौं ।
वाङफो नदीको पूर्वी किनारामा अवस्थित फुदोङ औद्योगिक क्षत्रकैभित्रै पर्ने ४६८ मिटर अग्लो साङ्घाइ ओरियण्टल पर्ल टावर सांघाइको गौरवका रुपमा आकाश भेट्ने होड गरिरहे घmैं लाग्थ्यो । विश्वमै तेस्रो अग्लो मानिने यो टिभी टावर अग्लो मिनार मात्र थिएन, आफैंमा सिङ्गो र पूर्ण संसार थियो यो । साइन्स फेन्टासी वल्र्डदेखि विशाल सभा कक्ष, घुम्ने रेष्टुराँ, वजार, पसल र डिस्को हल; के मात्रै थिएन त्यहाँ । टावरको ६३ मिटर माथिको उचाइमा उभिएर चारैतिर घुम्दै साङ्घाइलाई संपूर्णमा ाियाल्नु आफैंमा एउटा अभूतपूर्व अवसर थियो, सुखद् अनुभव थियो ।
सांघाइको ग्रामीण तथा शहरी विकास र प्राचिन जनजीवनको इतिहासलाई जीवन्त रुपमा आँखा अगाडि ल्याइरहेको थियो टिभी टावरको भुइँतलामा रहेको संग्रहालयले। । १०हजार वर्ग मिटरमा फैलिएको यो प्रदर्शनीस्थलले सांघाइको इतिहास, संस्कृति र कलापरम्परालाई मात्र जीवन्त पारेको थिएन, चिनको ग्रामीण तथा आधुनिक शहरी जीवनलाई समेत जीवन्त रुपमा सुरक्षित राखेको थियो । चिनका सबै क्षेत्र र भागका परम्परागत जीवनशैली देख्न पाइन्थ्यो त्यहाँ । पराले छाप्रामा बसेका चिनिया र पसलमा किनबेच गरिरहेका आमनागरिकहरूको झाँकीले हामी कतै चिनकै कुनै पुरानो गाउँमा त छैनौं भन्ने भ्रम पारिरहेका थिए । त्यो देख्दा लाग्थ्यो– हामी आफैं अहिले चिनिया गाउँको प्राचिन जीवनशैलीका प्रत्यक्ष द्रष्टा हौं ! उत्तम परिधानमा सुसज्जित जोडीहरू, बारमा नृत्य गरिरहेका संभ्रान्त चिनिया नागरिकहरू– सबै झाँकीहरू झाँकी नभएर यथार्थको आभाष दिन सफल थिए ।
सन् १९३०को दशकमा चिनमा आधुनीकिकरण प्रारम्भ शुरु भयो । आधुनिकतासँगै पुरानो संस्कृति र जीवन शैली लोप हुने खतरा स्वभाविक हो । चिनमा पनि त्यो संभावना देखियो । आफ्नो परम्परागत जीवनशैली, कला संस्कृति र स्वामिानमाथि गौरव गर्नेहरू ती परम्परालाई सकभर व्यवहारमैं जीवित राख्ने प्रयास गर्छन, नभए स्मारक, संग्रहालय आदिका रुपमा भविपुस्ताका लागि सुरक्षित राख्ने प्रयत्न गर्छन् । यही प्रत्नको प्रतिफल थियो यो सङ्ग्रहालय । सर्वसाधारणका लागि भने भर्खरै मात्र खुला गरिएको थियो यो सङ्ग्रहालय । हरेक दिन १० हजार मानिस आउँछन् रे यो संग्रहालय हेर्न । ती मध्ये ८० प्रतिशत दर्शक चिनियाहरू नै हुन्छन् रे । त्यो देख्दा लाग्थ्यो आफ्नो परम्परागत संस्कृतिको जगेर्नामा पनि पछि छैन चिन, जसबाट हामीले सिकेदेखि सिक्नु पर्ने कुरा असंख्य छन् । हामीकहाँ पनि कहिलेकाहीँ खबरहरू आउने गर्छन– कुन्नि कहाँ जनतीय संग्रहालय खुल्दै छरे, अनि कता परम्परागत बाजाहरूको संग्रहालय बन्दै छ रे ! तर राज्यबाट खासै ध्यान नदिइने यस्ता कुराहरू प्राय समाचामैं सीमित हेने गर्छन, यथार्थमा अनुवाद भएका देखिँदैनन् । यो हाम्रो विडम्बना नै हो ।
सांघाइकै एउटा भाग– बण्ड ! विश्वभरका मुस्लिम, एसियन, युरोपियन र अन्य संरचनाहरू रहेका छन् रे त्यही बण्डमा । यात्रीहरू ह्वाङ्पु नदीको किनारामा रहेको त्यही बण्डको फराकिलो पैदलमार्गमा बहिरहेको मन्दमन्द शीतल हावामा टहलिंदै स्वर्गीय आनन्दको अनुभव लिइरहेका देखिन्थे । रातको समयमा रङ्गीविरङ्गी प्रकाश फालिरहेका त्यहाँका बत्तीहिरू बण्डलाईनै रङ्गिन तुल्याइरहेका हुन्छन् रे, अविस्मरणीय र रोमाञ्चक बनाइ दिन्छन् रे त्यो ठाउँलाई ।
आधुनिक चिनका राष्ट्रपिता सनयात सेनको बारेमा मैले धेरै अगाडि पढेको थिएँ । बाल पाठकका लागि उनको जीवनी पनि लेखेको थिएँ धेरै अगाडि बालक पत्रिकामा । तिनै सनयात सेन १९१८ देखि १९२४सम्मको छ वर्षसमम बसेका घर पनि सुरक्षित राखेको छ सांघाइले स्मारकको रुपमा । सरकार आफैंले त्यो घरलाई उनको मृत्युपश्चात राज्यकै सांस्कृतिक निधिका रुपमा स्मारक बनाएर सुरक्षित ग¥यो । त्यो देख्दा मलाई आफ्ना राष्ट्रपुरुषहरूको संझनाले कटक्क चिमोट्यो– मैले पनि त्यसरी नै जीवन्त राख्नु राख्नुपथ्र्यो मेरा पृथ्वानारायण शाह, मेरा भानुभक्त, मेरा लेखनाथ, सम, देवकोटा र अरु पनि राष्ट्रिय गौरवहरूलाई । जे होस्, बाहिरैबाट भए पनि ती महान् प्रतिभाको त्यो पुरानो निवास हेर्ने अवसर विर्सन नसकिने क्षणहरूमध्येकै एउटा थियो मेरा लागि । त्यस्तै अर्को अवसर थियो–साहित्यकार लु सुनको स्मारक दर्शन ! ती महान् लेखक साङ्घाइ आउँदा भाडामा लगभग १० वर्ष बिताएका घर र क्षेत्रलाई नै स्मृति हलको रुपमा सुरक्षित राखेको छ सांघाइले । सन् १९३६ अक्टोबर १९ को साँझ पाँच बजेर पच्चीस मिनेट जाँदा त्यही घरमा भएको थियो रे उनको मुत्य । ती महान् साहित्यकारको त्यो पवित्र तीर्थस्थल टाढैबाट भए पनि देख्ने अवसर मेरा लागि फेरि खोजेर नपाइने अमूल्य अवसर थियो । त्यसबाट मैले अनौठो तृप्तिको अनुभव गरेको थिएँ त्यतिखेर । उनको शाओशिङको मूल घरकै नमूनामा बनाइएको त्यो स्मारक भवनमा लु सुनका पाण्डुलिपि, उनले छाडेका बस्तुहरू, र साहित्य का साथै उनको जीवनवृत्त आदि सुरक्षित राखिएका छन्– उनको मृत्युको समयसूचक पाँच पच्चीस बजाइरहेका घडी सहित ।
धेरै थिए सांघाइमा हेर्नुपर्ने दर्शनीय स्थलहरू । हेर्नका लागि समय भने निकै थोरै थियो हामीसँग । लोङ्घुवा रोडको लोङ्घुवा बुद्धमन्दिर र इँट र काठबाट बनाइएको त्यस अगाडिको सातले प्यागोडा तिनैमध्येको एउटा थियो । धार्मिक दृष्टिलेमात्र होइन, पुरातत्व र वास्तुकलाका दृष्टिले पनि चिनकै प्राचिन सांस्कृतिक निधि मानिन्थ्यो सन् २५२ बनेका त्यो प्यागोडा ! चिनकै प्रमुखमध्यको उउटा मानिने जेड बुद्धमन्दिर अर्को त्यस्तै महत्वपूर्ण सांस्कृतिक निधि थियो सांधाइको । सन् १८८२मा बनेको त्यो मन्दिरले जेड पत्थरबाट बनेका दुई बुद्धमूर्तिबाटै आफ्नो नाम पाएको थियो– जेडमन्दिर । हेनान रोडको सांघाइ म्युजियम पनि चिनकै ठूलोमध्येको एउटा अलासंग्रहालय थियो । भनिन्छ यहाँ धातु र माटोका कलाकृतिकलाकृतिका साथै सबै कालका क्यालीग्राफी र पेण्टिङहरू लगायत प्राचिन चिनिया स्कप्चरहरूको १ लाख १२ हजार वटा बस्तु राखिएका छन् । त्यो हेर्ने अवसर भने थिएन हामीसँग ।
साँझमा हामी बसेकै होटेलको मङ्गोलिया हलमा प्रधानमन्त्री मनमोहन अधिकारीको सम्मानका आयोजित रात्रिभोज थियो– सांघाइका मेयर स्यु खाङ्दीले दिनुभएको । त्यही उनको शिष्टाचार भेट र रात्रिभोजका अवसरमा मेयरले दिएका स्वागतभाषणले नेपालप्रति चिनको सद्भाव मात्र होइन चिनको विकासप्रयास र त्यो विकासक्रममा आफ्नो पन गुम्लाभन्ने कुरामा रहेको अत्यधिक सचेतता पनि स्पष्ट अनुभव भएको थियो । रात्रिभोजका अवसरमा स्वगत गर्दा मेयरले भनेका थिए– क्रान्तिपश्चात चिनमा धेरै सकारात्मक परिवर्तन भएका छन् र चिनका नेता दङ सियाओ फङको नया नीतिअन्तर्गत चिनले गरेको तीब्र विकास देखेर पश्चिमी मुलुकहरू समेत आश्चर्यचकित छन् । यो चिनको मूलभूत सिद्धान्त समाजवाद अन्तर्गत चिनिया चरित्र अनुरुपको खुला पन तथा विकासको गतिलाई समेट्ने मौलिकतापूर्ण नितिगत कार्यक्रमको सफलता हो । हामी विकास चाहन्छौं, तर त्यसको मूल्यका रुपमा हामी आफ्नो नैतिक स्तर र सभ्यताका मूल्यमान्यतालाई गुमाउन चाहँदैनौं । सामाजिक विकास र खुला अर्थव्यवस्थालाई सहकारी भूमिका खेल्न सक्ने अवस्थामा मात्र विकसित गर्न चाहन्छौं हामी !
रात्रिभोजपश्चात सांघाइको दृश्यावलोकन र सांघाइ फ्रेण्डसिप स्टोरमा किनमेलको कार्यक्रम थियो । चिनिया सिल्क र छालाका सामानहरूका साथै अन्य सामान किनमेलका लागि प्रसिद्ध यो स्टोर निकै सस्तो पनि लागेको थियो मलाई । किन्न पर्ने धेरै कुरा थिए, किन्ने चाहना पनि थियो । तर वाधा थियो भाषाको । प्रधानमन्त्रीकालागि त दोभाषे तम्तयार थिए, हामीलाई त्यो सुविधा उपलब्ध हुने कुरै भएन । खुला अर्थव्यवस्थामा प्रवेश गरेर अमेरिकी ग्ल्यामरप्रति आकर्षित हुनथालेका चिनिया किशोर किशोरीहरूमा अङ्ग्रेजी भाषा सिक्ने लहर चलेको थियो त्यतिबेलाको चिनमा । अङ्ग्रेजी सिकाउने भाषाशिक्षण केन्द्रहरूको निकै व्यापार चल्दै थियो रे चिनमा । तर यो भर्खरै सुरुको अवस्था थियो, त्यसैले हरेक पसलमा अङ्ग्रेजी बुझने मानिस थिएनन् । हामी चिनिया बुझ्दैनथ्यौं । त्यही समस्याले आआफ्ना रुचि र आवश्यकताका सामान किन्न समस्या परेको थियो हामीलाई । तै पनि दुईतीनवटा चिनिया सिल्क सारी र एउटा कोट र एउटा छालाको ज्याकेट भने किनेको थिएँ मैले सांघाइमा । मेरो लागि ज्याकेट छानिदिने काममा भने सांसद् अर्जुन नर्सिह केसीबाट सहयोग पाएको थिएँ । हरेक हिउँदमा मलाई त्यो छालाको ज्याकेटले चिन र केसीजीको सहयोग सम्झाइदिने गर्छ ।
भोलिपल्ट बिहान बाओसान आाइरन एण्ड स्टिल फ्याक्ट्रीको भ्रमण मेरालागि खासै रुचिको विषय नभए पनि त्यसले चिनको विकासको एउटा रामै्र झल्को दिएको थियो । त्यसपछिका दुई कार्यक्र भने मेरालागि रुचिकर र स्मरणीय बनेका थिए । पहिलो थियो याङ्त्सेको नान्सीस्थित गड टेम्पलसँगै संरक्षित यु गार्डेन अर्थात युउआन निकुञ्ज । त्यो निकुञ्जलाई मिङ र क्विङ बंशका बादशाहहरूका समयको निकुञ्जको संरचना र सजावट शैलीलाई नै जीवन्त रुपमा राखिएको बताइएको थियो हामीलाई । सभ्यता सौन्दर्यसँग सम्बन्धित छ र सभ्यजातिको परिचय यस्तै सौन्दर्यसूचक पार्क बगाँचा, वनउपवन र मानिकालागि नभैनहुने खुला ठाउँको प्राचूर्यले नै दिन्छ सायद् । मैले घुम्ने अवसर पाएका मध्ये जापान र हङकङ मात्र होइन मेरै छिमेकी भारतका नयादिल्ली लगायतका शहरहरूमा समेत जता गए पनि त्यस्ता पार्क र खुला ठाउँहरू भेटेको थिएँ । तर मेरो देश यसको अपवाद थियो– पुर्खाले जोगाएर राखेका सार्वजनिक खुला ठाउँलाई हामीले त्यस्तै पार्क, बगौचा र उद्यानका रुपमा विकसित गर्न सकेनौं । बरु निहति लाभ लिएर निजी बनाउन सहयो ग¥यो मेरो प्रशासनले । राजधानीबीच देखिने टुडिखेल समेत चौटालाम्टा भयो, कुनै चौटा कसले लुछे, कुनै कसले । त्यसरी खुला सास लिन नपाएर पनि बाँचिरहेको छ मेरो राजधानी, त्यसबाहिरको त कुरै भएन । सांघाइको यो युउआन निकुञ्ज मात्र नभएर कहिँको पनि सभ्यतासूचक यस्ता उद्यमानहरू देखेपछि हीनताबोधले थिच्ने गर्छ मलाई । तर यही हिनताबोधमा बाँचनु मेरो नियति नै हो, धेरै कुरामा यसरी नै हीनताबोध गर्नु परेको छ मैले कुनै विदेशीसँग आमनेसामने हुनुपर्दा !
त्योभन्दा बढी आनन्द आएको थियो मलाई साङ्घाइनगरसँगै जोडिएको एउटा एउटा चिनिया गाउँ छि–छोङ् पृुग्न पाउँदा ! हामीजस्ता निर्धारित कार्यक्रममा सीमित समय विदेश जाने अवसर पाएकाहरूका लागि कुनै पनि देशका ग्रामीण जनजीवजन देख्ने अवसर कमै मात्र मिल्ने गर्छ । त्यस्तै कमै मात्र पाइने मध्येको एउटा अवसर थियो त्यो मेरालागि । भर्खरै सामूहिक सम्पत्तिको उपभोगबाट निजी संम्पत्तिको उपभोग गर्न प्रयोगमा रहेको यो एउटा चिनिया गाउँ, गाउँजस्तै लाग्दैनथ्यो । मेरो शहरको उन्नत भनिने टोल–बस्तीमा नपाइने सुविधा भोगिरहेबको देखिन्थ्यो त्यो सानो चिनिया गाउँ । सम्पन्न देखिन्थ्यो त्यो– के सबै चिनिया गाउँहरू यत्तिकै सम्पन्न र सुविधाजनक होलान् ? त्यो गाउँ देखेपछि मेरो मनमा उठेको स्वाभाविक प्रश्न थियो त्यो । उत्तर पाउन कठिन थियो, नभए पनि यस्ता कुरा उनीहरू एउटा विदेशी पाहुनाका अगाडि निश्चय नै भन्न चाहँदैनथे । त्यसैले प्रश्न अनुत्तरित नै रह्यो । तर पनि चिनले गरेको समानुपातिक विकासलाई हेर्दा परिमाण र गुणस्तरमा केही कमोबेस भएपनि मेरोजस्तै विपन्न छैनन् होला चिनिया गाउँहरू भन्ने अनुमान गरेरै मैले आफ्नो चित्त बुझाएको थिएँ त्यति खेर । साँचिच नै त्यो नमूना गाउँ गाउँजस्तै लागेको थिएन मलाई । गाउँ भए पनि सबै सुविधाहरु उपलब्ध थिए त्यहाँ– विद्यालय थियो, स्वाथ्थ्य केन्द्र थियो, सामुदायिक सांस्कृतकि स्थल थियो, इन्डोर र आउटडोर खेलकूद स्थल थिए र थिए क्याफे, र्ष्टुरेण्ट सबै आधुनिक सुविधाका कुराहरू । मेरो शहरले पनि पाउन सकेको छैन, ती सबै कुरा । लगभग तीनसय परिवारको बस्ती त्यो छि–छोङ् गाउँमा प्रत्येक परिवारका लागि एकैखाले सुविधाजनक दुईतले घर उपलब्ध थिए । हरेक घरमा आधुनिक स्नानगृह, शौचालय, र खानाखाने कोठासहितका भान्छा उपलब्ध थिए । सबै मिलाएर छःसात कोठा थिए देखिन्थे ती प्रत्येक घरहरूमा । पछि मित्र प्रमोद प्रधानको चिनसम्बन्धी एउटा संस्मरण पढेर फेरि एकपटक सम्झन पुगोको थिएँ मैले त्यो सुन्दर छि–छोङ्लाई ! हामीभन्दा केही वर्ष पछि त्यही गाउँमा पुग्नुभएका मित्र प्रमोदले प्रधानले त्यहाँको एउटा सामुदायिक बैठक कक्षमा मनमोहन अधिकारीलाई नेपालका प्रधानमन्त्रीका रुपमा चिनाइएको उहाँको फोटो टाँगिएको देख्नु भएको उल्लेख गर्नुभएको थियो आफ्नो संस्मरणमा । निश्चय नै त्यो फोटो हामी त्यही गाउँमा छँदाको थियो । उहाँको त्यो संस्मरण पढेपछि नै यति पछि चिन यात्रालाई आफ्नो मनको चित्रपटमा एकएक गरी फुकाउने जाँगर चलेको थियो मलाई !
यसोउसो गर्दैमा सांघाइमा दुई दिन वितिसकेछ, पत्तै नभई । भोलिपल्ट स्वदेश फर्कने क्रममा हङकङप्रस्थान गर्नु थियो सांघाइबाटै हामीलाई । मङ्गोलिया जाने प्रधानमन्त्रीको भ्रमण टोली फेरि बेइजिङभएर त्यसतर्फ लाग्ने कार्यक्रम भएकोले आजै बेइजिङ प्र्रथान गर्दै थियो । उहाँहरूलाई विमानस्थलमा विदा गरेर हामी मङ्गोलिया जान नपाउनेहरू भोलि विहानको प्रतीक्षामा पर्केका थियौं, त्यही जिङ्जियाङ टावर होटेल । भोलिपल्ट प्रधानमन्त्रीको टोली १०.३५मा मङ्गोलियाको राजधानी उलान बाटोरका लगि उड्दै थियो भने त्यसको एक घण्टा पछि हामीले सांंघाइबाटै चिनसँग दिा लिएका थियौं ।
२०६१ जेठ १६, आरुबारी
गोरखापत्र शनिवासरीय, १२ असार २०६१
No comments:
Post a Comment