“सरकारी अधिकारीले यसरी धनको खुला प्रदर्शन गर्दा यहाँका जनता र प्रेसले कुनै प्रश्न गर्दैनन् ?” दिनमा सुसंस्कृत र सरलखालको एउटा विवाहमा भाग लिएर फर्केकै साँझ विहारी शैलीको भड्किलो अर्को एउटा विवाह देखेर अनायास निस्किएको प्रश्न थियो मेरो । पूरै नासिक शहर पटाका र भड्किलो बाजागाजाले गुञ्जाउँदै अघि बढेको विवाहको त्यो जन्ती यस अघि अनुभव गरेको नासिकको सरलता र शालीनतासँग पटक्कै मेल खाँदैनथ्या । त्यसको चरित्र र प्रवृत्तिसँग कतै तालमेल देखिँदैनथ्यो । त्यसैले मेरो मुखबाट अनायास निस्किएको थियो, त्यो प्रश्न ।
कुनै व्यापारी वा उद्योगपति परिवारको विवाह भएको भए त्यो देखेर पनि अनौठो लाग्दैनथ्यो सायद् । भित्रीभन्दा बाहिरी सौन्दर्यलाई महत्व दिने बलिउडका कसैको विवाहको जन्ती हुँदो हो त्यो, आश्चर्य लाग्दैनथ्यो होला । त्यो ग्ल्यामर र आडम्बरपूर्ण बैभवप्रदर्शनको मायानगरी मुम्बईका चलचित्रकर्मीहरूको विवाह पनि थिएन ! त्यो जन्ती थियो नासिकका पाँच जिल्लाका हाकिम राजस्व आयुक्त वा रेभेन्यु कमिस्नरको छोराको बिहेको । जे भए पनि तिनी थिए एकजना कर्मचारी नै । ताजप्यालेस होटेलबाट सुरु भएको त्यो जन्ती नासिककै एउटा अर्को होटेलमा रहेका बेहुलीपक्ष बसेका अर्को होटेल जाँदै थियो । ती दुई होटेल बीचको बाटो सर्वसाधारणका लागि एक घण्टाभन्दा बढी पूरै रोकिएको थियो–जन्तीलाई बाटो दिनका लागि । दुबै होटेल बीचका सडकपेटीभरी पटाका, रकेट, भुइँचम्फा, आदि विष्फोटक पदार्थहरू (फायरवक्र्स)सजाउने क्रम निकै अगाडिदेखि जारी थियो । सडकपेटीमा पटाकाको अटुट लहर देखिन्थ्यो, दुई–तीन, दुई–तीन मिटरको अन्तरमा ठडिएका बृक्ष झैं पटाका, भुइँचम्फ र रकेटहरू सजाएका थिए । एक–डेढ किलोमिटरको अन्तरमा रहेका ती दुबै होटल बीचको सडक जन्ती हिँड्ने क्रमसँगै पटाका आवाज र धूवाँ तथा चर्को आवाजले पूरै रङ्गिएको थियो त्यतिखेर ! लाग्थ्यो पूरै शहर त्यो धूवाँ र चर्को आवाजले निसास्सिएर निद्राबाट ब्युँझिएको छ । राजस्व अन्तर्गतका सबै सरकारी कर्मचारी र प्रहरीहरू बाटो पन्छाउने, पटाका पड्काउने र हामिकपुत्रको जन्ती व्यवस्थित रुपमा सवारी गराउने महान् कर्तव्य पूरा गर्दै थिए । सर्वसाधारण चोकचोकमा रोकिएका थिए, यातायात पूरै ठप्प थियो ।
“पटाकामा मात्रै कति खर्च भयो होला ?” त्यो भद्दा प्रदर्शन देखेर मेरो जिज्ञासु प्रश्न थियो एकजना स्थानीय जिम्मेवार व्यक्तिसँग । उनी मात्रै होइन, उनीसँगै रहेका अरुको पनि अनुमान थियो– पटाखा कम्तीमा दुई–तीन लाखको पड्कियो होला । यो आडम्बरपूर्ण प्रदर्शन एउटा सरकारी अफिसरको नियमित आयबाट मात्र संभव भयो होला? त्यसमा उनको सरकारी हैसियतको दुरुपयोग भएन होला ? यिनै प्रश्नहरूको एक पछि अर्को प्रहारकाबीच मैले ती परिचित नासिक निवासीहरूसँग राखेको अर्को जिज्ञासा थियो– “सरकारी अधिकारीले यसरी धनको खुला प्रदर्शन गर्दा जनता र प्रेसले कुनै प्रश्न उठाउँदैनन् ?”
“अहँ कसैले कुनै चासो राख्दैन, प्रेसले पनि !” संक्षिप्त उत्तर थियो उनको । विश्वकै ठूलो प्रजातन्त्र भनाउने हामीभन्दा विकसित महाराष्ट्रको एउटा सभ्य शहर नासिकले शक्ति हुनेहरू कसरी व्यक्तिगत काममा त्यसको दुरुपयोग गर्छन्, धनको तुजुक देखाउँछ भनी देखाएको त्यो उदाहरणले मलाई विश्मित तुल्याएको थियो । कर हाकिमको छोराको विबाहमा लागेका पटाकादेखिका यावत खर्च के उसकै जायज कर्मबाट गरिएको आर्जनबाट सम्भव होला ? प्रश्न निरर्थक थियो, यसको सम्भावना कल्पनातीत हुन्थ्यो सायद ! व्यापारी, उद्योगपति, करदाहरूबाट सौजन्य–उपहारमा देखाइँदै थियो सायद त्यो भड्किलो आडम्बरप्रदर्शन । दिउँसोको सरल खाले विवाह र अहिलेको यो प्रदर्शनले विपरित धु्रवका दुई उदाहरण प्रस्तुत गरिरहेका थिए हाम्रो अगाडि । कुन चाहिँ नासिककलाई सच्चा नासिक ठानौं म, त्यो सरल र सादापन मनपराउने शालीन नासिकलाई वा यो दम्भप्रदर्शन गर्ने आडम्बरी नासिकलाई ? सुनेको थिएँ भारतका विहार–उत्तरप्रदेशतिर यस्ता आडम्बर देखाइने गर्छन, वैभव प्रदर्शनका रमिता हुने गर्छन– सामाजिक व्यवहारहरू । तिनका नक्कल हाम्रोतिर पनि विस्तारै हुन थालेको छ । बिहे, व्रतबन्ध, न्वारन, पास्नी र जन्मदिनजस्ता अवसरलाई परिश्रमविना ठूलो कमाइ गर्नेहरू सहज आर्जनको प्रदर्शनीका लागि उपयुक्त अवसर ठान्छन् । त्यही अवसरको रुपमा लिइएको थियो सके कलेक्टरपुत्रको यो विवाहलाई पनि !
आफूलाई निकै विकसित, व्यवसायिक र पूर्ण ठान्छ भारतीय प्रेस, तर पनि यस्ता सामाजिक विकृति र विडम्बनामा स्थानीय अखबार पटक्कै आवाज उठाउँदैन । सुनेर अनौठो लागेको थियो मलाई । आफूलाई छिमेकीहरू भन्दा सभ्य, विकसित र सुसंस्कृत ठान्छन् छिमेकी बन्धुहरू, तर पनि यस्ता विडम्बना विरुद्ध चूँसम्म गर्दैनन् ! यो सुनेर पनि मलाई अनौठो लागेको थियो । हामी आकारमा साना छौं, आर्थिक विकासमा पछाडि छौं, तर पनि मेरो समाज गलत कामको विरोधमा पछाडि छैन । कठोर आलोचना गर्न पछि पर्दैन यस्ता प्रबृत्तिको, कसैले नसुने पनि । यो संझेर आफैंले सन्तुष्टीबोध गरेको थिएँ मैले ।
मलाई नेपालको एउटा बिहेको सम्झना आएको थियो त्यो देखेर । हामीकहाँ सायद् पिहिलो वामपन्थी कम्युनिष्ट सरकार थियो त्यतिबेला । वा वाम पार्टी संलग्न सरकार थियो, एकिन भएन । त्यही सरकाका एकजना मन्त्रीपुत्रको विवाह समारोहको सम्झना थियो त्यो । मन्त्री महोदय पञ्चायतको तीस वर्षे निर्दलीय कालखण्डमा कम्युनिष्ट आदर्श, क्रान्तिकारिता, चरित्र र सरल व्यवहारका ज्वलन्त उदारहण थिए । लामो समय जेलको कालकोठरीमा विताएका थिए आफ्नो आदर्शकालागि । तिनै मन्त्रीपुत्रको विवाह भोज पुलिस क्लबमा आयोजना गरिएको थियो । निम्तालुहरूको संख्या ठूलो हुनु अस्वाभाविक पनि थिएन सायद, आखिर एकजना बहालवाला मन्त्रीको छोराको विवाह थियो त्यो । तर पनि हाम्रो प्रेसले त्यो महाभोजको कडा आलोचना गरेकोथियो–समाजका अगुवाहरू नै सामाजिक व्यवहारमा यस्तो तडकभडक गर्छन भने समाजले कसरी सरलताको अनुसरण गर्छ ? के यो भव्यता प्रदर्शन मध्यम वित्तिय आर्थिक स्तरका मानिसको सीमाभित्र पर्न सक्छ ? यस्तै र यस्ता प्रश्नहरू नेपाली प्रेसले त्यति बेला मात्रै होइन अघिपछि पनि उठाउँदै आएको छ । यसकै दवाबले शक्तिमा हुनेहरू केही सचेत पनि हुने गरेका छन् ।
दिउँसो देखेको विवाहले ममा पारेको प्रभाव भने नितान्त बेग्लै थियो– नासिकजस्ता भारतका सभ्य शहरहरू भद्दा प्रदर्शनमा भन्दा सरल, सभ्य र शालीन व्यवहारमा विश्वास गर्छन् भन्ने विश्वास पारेको थियो त्यसले ममा ! हामीले अनुकरण गरे हुने धेरै कुरा थिए त्यो महाराष्ट्रिय विवाहमा । श्रीमन्त पूजन भनिने स्वयम्बर समारोहदेखि विवाहका हरेक चरणमा देखिएका वर–वधू दुबैपक्षको समान भूमिका र मानमर्यादा, भौतिक–मानसिक सहभागितामा समान सहभागिता त्यो बिहेको सबैभन्दा सकारात्मक पक्षा लागेको थियो मलाई । हाम्रो विवाहमा दुलहा–दुलहीका आमाको प्राय कुनै भूमिका र स्थान देखिँदैन, सके पुरुषप्रधनाताको विकृतिले छोपेर यस्तो भएको हुनसक्छ । तर महाराष्ट्रिय परम्परागत त्यो विवाहमा श्रीमन्त पुजनदेखि सबैभन्दा पछिल्लो सहभोजसम्मका सबै विधिमा दुबै परिवारका महिलापुरुषहरूको समान सहभागिता र संलग्नता देखिन्थ्यो । लाग्थ्यो यसले सद्भाव र एकआपसमा परिचय दिने कुरामा सकारात्मक भूमिका खेलेको थियो । हाम्रो जन्ती पर्सनेजस्तै आरतीस्याँलीमा दुलहीकी आमाले मिठाइ खुवाएदेखि नै हरेक विधिमा दुबै पक्षका आमा, दिदी–बहिनी, दाजु–भाइ र निकटतम आफन्तहरूको समान सहभागिता र सक्रियता रहेको थियो । सेतो टोपी, फूलको मालाको साथ दुलहा–दुलहीको शिरमा निधारसम्म आउने फूलको झुम्का मुण्डाको परम्परागत पोसाकले उनीहरू जति नै आधुनिक भए पनि हामीजस्तो आफ्नो जातीय पहिचान भाषा, भेष र सकारात्मक परम्परालाई छाडेर पश्चिमी अन्धानुकरण गर्दैनन् भन्ने देखाइरहेको भान हुन्थ्यो । दुलहा–दुलहीका बाबुहरूको शिर पनि सेतै टोपीमा सजिएका थिए । दुलहादुलही दुबै र दुबैका परिवारलाई दुबैथरिले पूजा–सम्मान र र उपहार दिने उनीहरूको परम्परा दुलहीका बाबुआमा र नातागोबाट एकतर्फी रुपमा दुलहा र उसका आमाबाबु, नातागोता र इष्टमित्रहरूले मात्र पाउने उपहार र मानमनितोको परम्प हाम्रोभन्दा निकै राम्रो लागेको थियो मलाई । भारतका छिमेकी जिल्लाहरूबाट गरिने नकारात्मक कुराहरूकोभन्दा यस्ता राम्रा कुराको सिको गर्न सके नहुने त थिएन होला । त्यो विवाहका विधिविधानहरूमा मात्र होइन महिला–पुरुष र बर–बधू दुबैपक्षले एक अर्कोलाई बराबर आदर दिनेदेखि विवाहभोजको खर्च समेत दुबै पक्षले बराबर बाँडेर गर्ने उनीहरूको अभ्यास साँच्चिकै अनुकरणीय छैन त ! आफैंलाई सोधेको थिएँ मैले त्यतिखेर । भोजदेखि विवाहका सबै कुरा बडो सादा थिए, कुनै आम्बरपूर्ण तडकभडक बिना । बरबधुका दुबै परिवार आर्थिक हिसाबले कमजोर पनि होइनन् । बधुका बाबु त्यहाँका व्यस्त आर्किटेक्ट इञ्जिनियर, आमा आफैं अत्यन्त चल्तीको व्उुटी पार्लरको मालिक–सञ्चालक । केटा पक्ष पनि उद्योग व्यवसायमा रामै ठाउँ ओगटेका । केटो आफैं गोवामा रामै व्यवसाय सम्हालेर बसेको । गरौ भने धेरथोर देखावटी खर्च गर्न नसक्ने नै थिएनन् सायद । तर त्यो देखाएनन्, मलाई प्रचावित तुल्याउने मूल पक्ष नै त्यही थियो ।
अन्तरविरोध र विडम्बनाले कतै–कसैलाई छाड्दैन सायद । आफूलाई ठूलो प्रजातन्त्र र प्राचिन सभ्यताको केन्द्र ठान्ने भारतको सुन्दर–शान्त पौराणिक नगर नासिकले पनि यसबाट मुक्ति पाउनसकेन । त्यसैले उदाहरण यी दुई विवाहमा प्रदर्शित सरलता र तामझामका रुपमा अघिसा¥यो नासिककले ।
नासिक पहिलो भए पनि भारतको सिने–नगरी मुम्बईको योे दोश्रो यात्रा थियो मेरो । पहिलो यात्रामा म पूर्ण पर्यटक बन्न पाएको थिइन । आफूखुसी घुम्ने र त्यहाँको जनजीवन, संस्कृति र रहनसहनसँग परिचित हुने अवसर प्राप्त थिएन त्यतिबेला । नेपालका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको औपचारिक भारत भ्रमणको अवसर थियो त्यो– २०५१ चैतको अन्तिम साता । त्यही यात्रामा मैले दिल्ली चौथो र गुजरात, मुम्बई, कलकत्ताजस्ता भारतीय शहरहरूमा पहिलोपल्ट पाइला टेक्ने अवसर पाएको थिएँ । त्यस पछि पनि भारतीय रादूतावासकी तत्कालीन द्वितीइ सचिब मोनिका मोहतोले दुईतीन पल्ट विभिन्न कार्यक्रमको सन्दर्भ मिलाएर भारतीय शहर घुम्ने अवसर जुटाइदिन नखोजेकी हाइनन् । तर दूतावासको अनुग्रह लिन चाहिन मैले र ती कार्यक्रमहरूमा गोरखापत्रकै सहकर्मीहरूलाई पठाएको थिएँ, आफू संस्थानको संपादकीय र व्यवस्थापकीय संलग्नतामा रहँदा । प्रधानमन्त्रीको यात्रादलको एउटा सामान्य सदस्यका रुपमा सहभागी हुँदा भने अहिलेजस्तो आफू खुसी घुम्न पाउने कुरै थिएन । त्यसमाथि भ्रमणकार्यक्रम सकिएपछि अरू आफूखुसी घुम्न–डुल्न र खानपिनमा लाग्थे, मलगायत सक्रिय सञ्चारकर्मीहरू दिनभरको समाचार तयार गरेर आ–आफ्ना अखबार वा माध्यममा पठाउने धामेलीमा लाग्थ्यौं । एउटा पत्रकारको नाताले आफ्नो अखबारका लागि भ्रमणका सबै समाचार आफैं नपठाई रष्ट्रिय समाचार संस्थाको भर पर्न पनि मन मान्दैनथ्यो । त्यसैले घुम्ने–डुल्ने चाहनालाई समाचारप्रेषणको कर्तव्यले सधैँ उछिन्थ्यो ।
एउटा अप्रिय तर विर्सन नसक्ने घटनाको भने अहिले पनि सम्झना आइरहन्छ त्यतिबेलाको । मुम्बईको घटना थियो त्यो, सायद त्यतिबेला मुम्बई मुम्बई नभएर बम्बे नै थियो । प्रधानन्त्रीको दिनभरका कार्यक्रम सकेर होटेल पर्किएपछि अरु सहभागीहरू खानपिन र घुमघाममा लागे, हामी मूलत दैनिक अखबार र समाचार संस्थाका पत्रकारहरू समयमैं आ–आफ्नो संपादकीय कक्षमा समाचार पठाउने धुनमा लाग्यों । म र राइजिङ नेपालका युवनाथ लम्सालले आ–आफ्नो समाचार लेखेर काठमाडौं पठाउन होटलेकै फ्याक्स सेवामा जिम्म लगाएर पेट पूजा गर्नभनी केही समयको फुर्सद लियौ–उसले पठाउँदै गर्छ, केही बेरपछि आएर बुझौंला भन्ने हाम्रो सोचाइ थियो । केही खान खाएर त्यहाँ फर्कँदा त फ्याक्सवाला भन्छ तुरुन्तै आएर तिमीस्ले नै केही थप्नु प¥यो भनी लगेको होइन ? समय भिड्किँदै थियो, समयमा नपुगे भोलिको गोरखापत्रमा समाचार आउन सक्दैनथ्यो । आए पनि राससको आउँथ्यो, खान समेत माया मारेर गरेको आफ्नो त्यत्रो मिहिनेत खेर जान्थ्यो । आफू सिङ्गुलै आएर पनि त्यति महत्वपूर्ण समाचार अर्काको छाप्नु भनेको एउटा पत्रकारको लागि लज्जास्पद कुरा हुनजान्थ्यो ।ं त्यो स्थितिमा छट्पटाउनु स्वभाविकै थियो, फेरि लेखेर पठाउँदा धेरै ढिला हुन्थ्यो । म रन्थनिँदैं थिए, लम्सालले अनुमान गरेछ– यो काम पक्कै फलानोको हुनु पर्छ । उनी त्यतिबेला कान्तिपुरका जिल्ला सम्वाददाता थिए । युवलाथले त्यो अनुमान गरे पछि हामी दुबैजना उनको कोठातिर लाग्यौं । नभन्दै उनी त ढोका थुनेर मेरा समाचार धमाधम सार्दै पो रहेछन् । फ्याक्स गएपछि लिएर सारेको भए पनि हुन्थ्यो, मैँसँग केही प्वाइण्ट टिप्न छुटेछ एकपल्ट तपाइँको हेरौं है भनेको भएपनि अखिर म हुन्न भन्दिन थिएँ । त्यति पनि बुद्धि नआएर बेमानीमा उत्रिएछन्– रिसको झोकमा जति झपारे पनि आखिर नकचराको ओखती थिएन । आफ्नो समाचार लिएर फ्याक्स पठाए पछि बल्ल त्यो वित्ति टरेको थियो । बसटबलतिरका अहिले सम्पादक नै बनिसकेका उनको नाम चाहिँ नभनीहालौं ।
तर यस पटकको मेरो मुम्बईको दोश्रो, र नासिकको पहिलो यात्रा नितान्त पारिवारिक भएकोले त्यहाँ मैले पूरा गर्नुपर्ने कुनै दायित्व थिएन, खास कुनै जिम्मेवारी थिएन । यो भ्रमणको कारक आफन्तको एउटा विवाह समारोह भएकोले त्यसमा सहभागी बनेपछि हामी आफूखुसी घुाफिर गर्न स्वतन्त्र थियौं ! यात्राको योजनाकार पनि हामी आफैं थियौं ।
२०५९ सालको मंसिर १८ गते काठमाडौं छाडेर गोरखपुर–नासिक बीचको १५०८ किलोमिटर यात्रा पूरा गरी मध्यरात्रीमा नासिक टेकेदेखि नै यसको शान्तसौन्दर्य र शालीनताबाट साँच्चिकै अभिभूत थियौं हामी । तीस घण्टाको त्यो रेल यात्राको थकान, तनाव र अन्य चिन्ता रातको सबा बाह्रबजे नासिक रेल स्टेसनमा हाम्रो स्वगतार्थ उपस्थित मेरा साढुभाइ अशोक र छोरा जयालाई देखेपछि बल्ल हटेको थियो ।
भारतकै अत्याधुनिक महानगर मुम्बईबाट २१० किलोमिटर सडकमार्गको यात्रा गरेर पुगिने नासिक आफ्नो प्राचीन गौरव र आधुनिक वैभव दुबैलाई सन्तुलित रूपमा अगाडि लैजान सफल देखिन्थ्यो । आधुनिकता र प्रचीनताको सम्मिश्रित जीवन्तता बोकेको नासिक रामायणकालीन मिथकीय पात्रहरूको सम्झनालाई जीवन्त तुल्याउँदै अत्यन्त प्राचिन सांस्कृतिक विरासतलाई बोकेरै आधुनिक समयमा पनि महत्वपूर्ण धार्मिक क्षेत्रका रुपमा प्रख्यात रहेको छ । किल्ला र विशाल मन्दिरहरूको शहर नासिक धार्मिक मात्र होइन महाराष्ट्रका मुम्बई र पुना पछि तीब्र औद्योगिक विकास तर्फ लम्की रहेको औद्योगिक क्षेत्र पनि हो । भनिन्छ, यो सधैं नै व्यापार वाणिज्यको केन्द्र रहँदै आएको छ । प्रख्यात् फ्रेञ्च दार्शनिक तोलेमीले इशापूर्व १५० वर्ष तिरै नासिकको उल्लेख गरेका छन् । त्यति बेला नै यो ठाउँ ठूलो बजार क्षेत्रका रुपमा विकसित थियो यो शहर । स्ट्रबेरी, प्याज र अङ्गूरजस्ता फलफूलका लागि प्रख्यात नासिक क्षेत्र सिङ्गै हरितपट्टी झैं देखिन्थ्यो । भारत सरकारको भारतीय मुद्रा छाप्ने प्रेस– सुरक्षा मुद्रण (सेक्युरिटी प्रिण्टिङ प्रेस) तथा संग्रहालय यही नासिकको नासिक–त्रम्बयकेश्वर मार्गमा पर्ने अञ्जनेरी नगरमा रहेको छ, केन्द्रबाट १८ किलो मिटर पर । सन् १९८०मा स्थापित यो क्राउन म्युजियममा सुरुदेखि अहिलेसम्मका भारतीय सिक्काको विकासक्रम, इतिहास र विवरणहरू राखिएका छन् । सक्कली र नक्कली सिक्काको नमूना सहित निर्माण प्रविधिको विरण पाइने यो सङ्ग्रहालयको प्रवेशद्वारको सामुन्ने सिक्कैसिक्काबाट बनेको गोलाकार सूर्याकृति देखिन्छ । भनिन्छ यहाँ नक्कली र सक्कलीको परीक्षण गर्न विदेशबाट समेत सिक्का पठाइन्छ । यही नासिक सिबीएस रोडबाट नौ किलोमिटर परगंगापुर गाउँको नजिकै माटो भरेर बनाइएको महाराष्ट्रकै पहिलो बाँध गोदावरी नदीमा बाँधिएको छ– २१५.८८ घनमिटर क्षमताको । नदी सतहबाट ३६.५७ मिटर अग्लो र ३८११ मिटर लामो यो बाँधको प्रथम चरणको निर्माण कार्य १९५४मैं पूरा भएर पनि दोश्रो चरणको काम सन् १९९६ मा मात्र सकिएको थियो रे ।
नासिकको सातपुर औद्योगिक क्षेत्र नासिक सीर्बीसबाट सात किलोमिटर पर त्रम्व्यक रोडमा ३० वर्ष अघि नै स्थापना भै सकेको थियो । मायको, भीआईपी, महिन्द्रा एण्ड महिन्द्रा, सिएट, एक्स्लो, क्रम्पटनजस्ता ठूला कम्पनीहरूका कार्खाना समेत गरी ७०० भन्दा बढी कलकार्खाना रहेको नासिक क्षेत्र अग्रणी औद्योगिक क्षेत्रका रुपमा हज्जारौंलाई रोजीरोटी दिन पनि सक्षम देखियो । पन्द्र वर्ष अघि नासिकको केन्द्रीय भागबाट ६ किलोमिटर पर स्थापना गरिएको अर्को औद्योगिक क्षेत्र अमबडले गरबरे, समिन्स, ग्ल्याक्सो, सुमित, क्रम्पटनजस्ता सयौं सानाठूला कार्खानाहरू चलाइरहेको छ । यही नासिक शहरको २०देखि २४ किलोमिटर परका ठाउँहरूमा अन्य अनेकौं महत्वपूर्ण औद्योगिक तथा निर्माण संयन्त्रहरू सञ्चालनमा देखिन्छन् । रेमण्ड स्टिलको उत्पादन गर्ने गाेंन्दे, दिन्दोरी र मालेगाउँ आदि औद्योगिक क्षेत्र मात्र होइन नासिक शहरभन्दा २२ किलोमिटर पर एउटा मिग विमान बनाउने कार्खाना समेत बनाइएको छ रे तीस वर्ष पहिले । भारतीय पूर्व रक्षा मन्त्री यसवन्त राव चौहानको प्रयासबाट रुसी प्राविधिज्ञको सहयोगमा यो कार्खानामा करिब १०हजार मानिस काम गर्छन् र भारत सरकारको योजना यसलाई अरु विकसित गरेर अन्य रक्षा सामग्री बनाउने छ रे ! तर यी सबै औद्योगिक गतिविधिले आफ्नो वर्तमान वातावरणीय र शान्त–सुन्दर स्वरुपलाई जोगाउन समर्थ बन्छ बन्दैन नासिक, अहिले नै भन्न सकिने अवस्था छैन । अहिले नै पनि नासिक शहरको व्यस्त ठाउँहरू फोहर देखिन थालिसकेका छन् ।
पश्चिम काशी पनि भनिने नासिक पौराणिक आख्यान र किम्बदन्तीहरूसँग पनि गाँसिएको छ । सत्य युगमा ब्रम्हाजीले यहीं पद्मासन कसेर सृष्टिको खाका तयार गरेकाले पद्मनगर भनिन्थ्यो रे यसलाई ! त्रेतायुगमा यही नासिकको पञ्चवटीमा लक्ष्मणसँग विवाहको याचना गरेकी थिई रे सुर्पणाखाले, रामले केही समय विताउँदा । यही ठाउँमा उसको त्यो चाहनाको अपमान गरेर लक्ष्मणले अन्य संस्कृति अर्थात रक्षसंस्कृति विरुद्ध एउटा असभ्य व्यवहार गरेका थिए । त्यो याचनाका विरुद्ध सुर्पणखा अर्थात एउटी नारीको नाक काटिदिएर उनले पक्कै सभ्यताको उदाहरण प्रस्तुत गरेका थिएनन् ! सुर्पणखाको नाक काटिएकैले यो ठाउँको नाम नासिक रहेको हो, किम्बदन्ती यसै भन्छ ।
चौद्ध वर्षे राम वनबाससँग पनि गाँसिएको छ यसका किम्बदन्ती । नासिकमा अनेर्कों मन्दिरहरू छन्, जसमध्ये कालो रङ्गको ढुङ्गाले बनेको स्वर्णकलशयुक्त चार ढोके कालेराम मन्दिर निकै प्रसिद्ध मानिँदो रहेछ । वनवासको क्रममा रामहरू पञ्चवटी आउँदा यही मन्दिरमा विश्राम गरेका थिए रे, प्रमाणस्वरुप मन्दिरको नजिकै एकजनामात्र छिर्न सक्ने सीता गुफाभित्र राम, सीता र लक्ष्मणका मूर्ति देखाउँछन् नासिक बासीहरू । मन्दिरको नजिकै पाँचवटा बटबृक्ष थिए रे, जसबाट यो ठाउँको नाउँ नै पञ्चवटी रह्यो । यसको केही पर कपिला र गोदावरी नदीको सङ्गम तथा कपिलमुनिको तपस्थल, तपोवन आदि छन् । अर्को अग्नि तीर्थको कथा पनि रायणसँगै जोडिएको छ– सीताहरणपूर्व सक्कली सीतालाई यही अग्नितीर्थमा सुरक्षित राखेका थिए रे रामले ! यिनका साथै मुक्तिधाम, गङ्गागोदावरी, कपालेश्वर, गायत्री, गोरेराम, पञ्चमुखी हनुमान आदि अनेकौं मन्दिरहरू छन्, धर्मावलम्बीहरूका लागि नासिकमा ! वनवासका समयमा राम–सीताले स्नान गर्ने तलाउ रामकुण्ड, नासिक स्टेसन नजिकै नगरबाट मात्र सात किलोमिटर परको स्वेत सिङ्गमर्मरबाट बनेको मुक्तिधाम मन्दिर (जसको भित्तामा गीताका अठाह्रै अध्याय उत्कीर्ण छन), कालाराम मन्दिर, जैन राजाहरूले लगभग २००० वर्ष अघि बनाएका त्रिभास्मी डाँडास्थित पाण्डवलेनी गुफा, प्रसिद्ध तीर्थस्थल त्रयम्बकेश्वर, त्रयम्बकेश्वरको प्रवेशद्वार अञ्जनेरी नगर– जुन हनुमानकी आमा अञ्नेरीको नामबाट रहेको मानिन्छ, सप्तश्रृङ्गी देवी मन्दिर आदि अनेकौं छन् नासिकका आकर्षण ।
ईशा पूर्व २०० देखि ईशाको २०० सम्मको चारसय वर्षसम्म बौद्ध धर्मावलम्बी ‘आन्ध्र भृत्य’ हरूले शासन गरेको भनिने नासिक र महाराष्ट्र का प्रथम राजवंश रामचन्द्रका वंशज थिए, यो भनाइ पनि सुनिन्छ । छत्रपति शिवाजीको समयमा बहादुरहरूको भूमि भनिने नासिक सन् १४८७ पछि मुगलहरूले शासनमा गयो । वादशाह अकवरले आफ्नो मुकाम बनाएका नासिक त्यो कालखण्डमा गुलछानावागको नामले चिनिन्थ्यिो रे ! नासिकको उल्लेख उनको प्रख्यात कृति ऐन–ए–अकबरीमा विस्तिृत रुपमा गरेका थिए भनिन्छ । महाकवि बाल्मीकिको रामायणमा मात्र होइन, प्राचिन संस्कृत साहित्यका प्रसिद्ध कृतिहरूमा पनि उल्लेख छ नासिक । यो कालिदासका कृतिमा भेटिन्छ, भवभूतिका कृतिमा पनि देखिन्छ । अनेकौं नाम छन् नासिकका– किरातयुगमा त्रिकान्तक, भनिने नासिक द्वापरमा जनस्थान र कलीमा नवनासिक वा नासिक भनिन थाल्यो । अढाई हजार वर्ष भन्दा पुरानो किम्बदन्ती र इतिहास बोकेको पुरानो मानिने मुम्बई–आगरा मार्गमा अवस्थित पाण्डब गुफामा पाइएको ईशापूर्व ५० को शिलालेखले यसै भन्छ रे !
हम्रो यात्राको अर्को गन्तव्य थियो– नासिकबाट ११२ किलो मिटर पर अहमदानगर जिल्लास्थित प्रसिद्ध तीर्थस्थल सिर्डी । १६० करोड कोष रहेको यो ट्रष्टका वर्तमान ट्रष्टीहरूमध्ये एकजना पूर्व मुख्यसचिव डी एम शुखभाष्कर पनि थिए । महाराष्ट्रका प्रख्यात् सन्त सिर्डी साइँबाबाले विश्वभ्रतृत्वको आदर्श फैलाएका यो प्रसिद्ध तीर्थस्थल धेरै तीर्थालुहरूको आकर्षणको केन्द्र रहेको छ । यताका मानिस सच्चा साइँबाबा यिनैलाई मान्दा रहेछन्, पुट्टपर्तीका वर्तमान साइँ बाबालाई होइन । यी साइँबाबाको प्रारम्भिक जीवनबारे खासै जानकारी पाइँदैन, भक्तहरू चाहिँ दत्तात्रयको अवतार मान्छन् उनलाई । सिर्डीका सबै गतिविधि र क्रियाकलापहरू साइँँबाबाकै नाउँमा निर्मित एउटा विशाल मन्दिर परिशरको परिवृत्तमा केन्द्रित रहँदो रहेछ, जसको सञ्चालन एउटा बोर्ड अफ ट्रष्टीले गर्दो रहेछ । बिहान झिसमिसेदेखि नै भक्तजन साइँबाबाको पूर्णकद शालिक वा मूर्तिको दर्शन र आशिर्वादको अपेक्षामा लामलाग्दा रहेछन् । प्राय सधैं भीड भए पनि विहिबार विशेष पूजामा ताँति छुट्दैन । त्यस पछि यहाँका दर्शनीय ठाउँ रहेछन् साइँबाबाले ध्यान गर्ने र एकदिन बिराएर रात्रिविश्राम गर्ने द्वारकामणि आश्रम, अहोरात्र जलिहने अखण्ड धुनी, गुरूस्थान, खण्डोवा, शनी र नर्सिंह मन्दिर, छङ्गदेव महाराज समाधि, र शाकोरी आश्रम !
यही सभ्य र प्राचिन र नवऔद्योगिक सभ्यता–केन्द्र नासिकका धेरै कुरा चिरस्मरणीय रहे, त्यो भड्ािलो विवाहको पाखण्ड बाहेक !
गरिमा, वर्ष २२ अङ्ग ३ पूर्णाङ्क २५५, माघ २०६०,
No comments:
Post a Comment