“के हो व्यासजी, बाटोलाई पानी भर्दै हुनुहुन्छ कि क्याहो हो ?” झोलाबाट सिसी निकालेर महाकालीको पानी भर्दै गरेका निर्माेही व्यासतर्फ लक्षित यो प्रश्न थियो हामीमध्येकै कुनै एकजनाको । सबैको आँखा कौतुहलताकासाथ व्यासजीतिरै केन्द्रित थिए त्यतिबेला । के गर्दैछन् व्यासजी ? केही वार्षअघि श्रीमतीको असामयिक निधनले व्यथित बनेका व्यासजी पत्नी वियोगको पीडाले केही अव्यवस्थित थिए त्यतिबेला, मानसिक रुपमा केही डिस्टब्र्ड । अनिद्राको समस्याले केही एकोहोरोपन पनि जन्माइदिएको थियो सायद् । त्यसैले व्यासजीको त्यो क्रियाकलापप्रति सबैको जिज्ञासा र कौतुहल अस्वभाविक थिएन ।
“होइन, म घरमा सधैं महसुस गर्न चाहन्छु महाकालीलाई । यस सिसीभित्र पहिले नै राखेको मेचीको जलमा अहिले म महाकाली मिसाउँदैछु । सधैं अनुभव गर्न चाहन्छु, म मेरो अक्षुण्ण राष्ट्रलाई, आफ्नै घरभित्र, आफ्नै मनभित्र !” व्यासजीका शब्द शब्दशः यिनै थिएनन, भाव भने यिनै थिए प्रत्युत्तरमा । व्यासजीको संवेदनशील साहित्यकारको भावुक मनभित्रबाट उम्लिएर निस्किएको त्यो राष्ट्रप्रेममा सरोबर भावनाबाट साँच्चै नै भित्रैसम्म छोइएका थियौं हामी सबै । यसले समकालीन साहित्यकार मित्र व्यासप्रतिको श्रद्धा अरु बढेको थियो मेरो मनमा ।
हो, मेची र महाकाली, टनकपुर ब्रह्मदेव मण्डी र जङ्गेपिल्लार गौरव र पीडा दुबै बनेका छन् मेरो नेपाली मनमा । राजनीतिक स्वार्थ र छिमेकी क्षुद्रताको शिकार बनिरहेका मेरा सीमाहरूमाथि एकपछि अर्को गर्दै कोपरिएका नङ्ग्र्राहरूले नराम्ररी कोतरिरहेका छन् । प्रत्येक राष्ट्रभक्त स्वाभिमानी नेपाली मनमा गाडिएको त्यही पीडाको सार्थक अभिव्यक्ति थियो व्यासजीको त्यो भावनामा । मेची र महाकाली, टनकपुर–ब्रह्मदेव र कालापानी मेरो अस्मिता हो, मेरो पहिचान हो । त्यही अस्मिता, त्यही पहिचान र त्यही गौरव पराइ अतिक्रमणमा परेर घाउ बन्नेगरेको छ मेरो मनभित्र– कहिले कोशी सम्झौता बनेर, कहिले कालापानी बनेर । अझ कहिले टनकपुर ब्यारेज बनेर, कहिले जङ्गे पिल्लार विस्थापित भएर त कहिले महली सागर बाँध बनेर पनि त्यही पीडा बल्झाइरहेको छ ! पुर्खाको आर्जन टिस्टा र काँगडा पहिले नै गुमाइसक्यौं हामीले । अब कालापानी, टनकपुर र जङ्गेपिल्लारको विस्थथापनहुुँदै महाकाली र मेचीलाई पनि खुम्च्याउन खोजिँदैछ । त्यही राष्ट्रिय निरिहताप्रतिको चोटिलो व्यङ्ग्य अभिव्यक्त भएको पाएको थिएँ मैले व्यासजीको त्यो अभिव्यक्तिमा । विडम्बना, त्यो चिथोर्ने पराई प्रयासलाई म आफैंले सहयोग पु¥याएको थिएँ र पु¥याइरहेको छु, अहिले पनि शक्ति र सत्ताका जोगउने कुत्सित उद्देश्यका लागि !
यस अघि भद्रपुरमा व्यासजीले त्यही सिसीभित्र मेची अटाउँदा मैले याद गरेको थिइन, जवकि संयोगले त्यो अवसरमा पनि हामी दुबै साथासाथै थियौं । मित्र निर्मोही व्यासले महाकाली र मेचीको जल मिलाएर मेरो नेपालको अक्षुण्णताको जुन सांकेतिक चाहना राखेकाथिए महेन्द्रनगर र भद्रपुर यात्राको क्रममा, त्यो पूरा होस् यो कामनाभन्दा अरु बढी केनै गर्नसक्थेँ र म एउटा निरिह नेपालीले !
संयोग, व्यास र मसंगै नै सहभागी बनेका थियौं पूर्र्वी र पश्चिमी दुबै सीमान्त नेपालको यात्रामा । दुबैले समान अनुभूति र पीडाबोध गरेका थियौं ती दुबै ठाउँका घाउहरू सुम्सुम्याउँदै । ती दुबै अवसर नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले जुटाइदिएको थियो– भद्रपुरको लघुकथा गोष्ठी (२०५३ फागुन) र महेन्द्रनगरको निबन्ध गोष्ठी (२०५५ फागुन) को सहभागी बनाएर । तिनै दुई अवसरमा राम्ररी सुम्सुम्याउने अवसर पाएको थिएँ महाकाली र मेचीलाई । महाकालीलाई त्यस अघि पनि पटक पटक भेटिसकेको थिएँ मैले । २०३६ सालमा राष्ट्रिय विकास सेवाको विकासे मास्टर बन्दा डोटीबसाइको क्रममा सुदूरपश्चिमका सबै जिल्ला घुम्ने अवसर पाएको थिएँ । पछिल्लो वर्ष प्रवेशिका परीक्षाको प्रश्नपत्र लिएर बझाङ, बैतडी र दार्चुला पुग्नुपर्दा पनि महाकालीलाई रामैसँग स्पर्श गर्न भ्याएको थिएँ । मेचीको शीतलता भने अघुकथा गोष्ठीको अवसरमा पहिलोपल्ट अनुभव गर्ने अवसर पाएको थिएँ मैले । त्यसैले म प्रतिष्ठानप्रति कृतज्ञ थिएँ– ती अवसर जुटाइदिएकोमा !
महेन्द्रनगर पुगेको तेश्रोदिन मात्रै चर्चित टनकपुर बाँध र महाकालीनदीलाई नजिकैबाट हेर्ने अवसर मिलेको थियो । महेन्द्रनगरसम्मको निकै लामो यात्रा बसबाट पूरा गर्ने आँट नआएर आफ्नै हिसाबले प्लेनद्वारा पुगेको थिएँ म नेपालगञ्ज । मित्र अमरकुमार प्रधानको सौजन्यबाट मिलेको नेपालगञ्जको सिक्टा सिचाइ क्याम्पको अतिथिगृहमा रातविताएर भोलिपल्ट बिहानै बसबाट महेन्द्रनगर पुग्दा अनुभव गरेको शारीरिक थकान त्यो उपलब्धिका अघिल्तिर सामान्य लागेको थियो मलाई । सात चालीसमा महेन्द्रनगर छाडेको बसमहाकालीको पुलसम्म त बडो फुर्तीले दौडिँदै थियो, त्यसउता भने भर्खरै बन्न सुरुगरेका पुलहरूका कारण लिनु पर्ने अतिरिक्त मार्ग अर्थात डाइभर्सनले मजैसँग त्यसको मेख मारिदियो । महाकालीपारिको नेपाली भूभागलाई बाह्रैमहिना नेपालसँग जोड्न आवश्यक पर्ने राजमार्गको सुदूर पश्चिम खण्डमा पर्ने २२ वटा पुल अझै बनिसकेको थिएनन् । ती पुल नबनुन्जेल त्यसभन्दा उताको आवागमन सहज थिएन । वर्षा याममा त सबै सम्पर्क ठप्प हुन्थ्यो । भारतीय सहयोगमा बन्ने पुल समयमैं नबन्नु स्वभाविक थियो, आखिर उनीहरूको र हाम्रो कार्यशैली उस्तै नहो । त्यतिबेला भर्खरै काम थालिएको थियो– कहिले पूरा होला अनुमान गर्न कठिन थियो ।
आठ घण्टाको थकानपूर्ण बसयात्राबाट बाँके, वर्दिया, कैलाली छिचोल्दै कञ्चनपुरको महेन्द्रनगर बसपार्क पुग्दा कार्यक्रम थलोको बारेमा त्यहाँ कसैलाई कुनै जानकारी थिएन । काठमाडौंबाट हिजै बिहान यता लाग्नुभएका सहभागीहरू संभवतः आजै बिहान आइपुग्नुभएकाले स्थानीय आयोजकहरू उहाँहरूको स्वागतसत्कारमा व्यस्त थिए होलान् । मेरो त्यहाँ आइपुग्ने समय निश्चित नभएकोले कोही लिन आउने संभावना नहुनु स्वभाविक थियो । संपर्कसूत्रका रुपमा प्राप्त फोननम्बरमा भाउपन्थीजीसँग केहीगरे पनि संपर्क हुन सकेन, अरु कुनै संपर्क सूत्र थिएन मसँग । केही नलागेर महेन्द्रनगरकै बहिनी नारा जोशीको घरमा फोन गरें । उनी पनि घरमा रहिनछन् । उनी छोरीको नाकको अप्रेसन गराउन पिलीभित गएकी रहिछन्, भोलि वा पर्सिमात्र फर्कने रे ! नारा मेरी बहिनी पर्थिन्– मीतबा खिमानन्द अवस्थीकी जेठी छोरी । निराश भैसकेको थिएँ, फोन उठाउने नाराका भतिजाले आफू बसपार्कमा आउने बताएपछि केही आश्वस्त भएँ । नभन्दै केहीबेरपछि नै उनी आइपुगे भानिज अर्थात नाराका छोरालाई साथै लिएर । उनीहरूले पनि आयोजनास्थल वा अतिथिहरूको बस्ने थलो पत्तालाउन सकेनन् । भानिज उनकै घर जान कर गर्दैथिए । घरैबाट कार्यक्रमस्थल पत्तालाएर भालि साझै त्यहीँ जाने उनको प्रस्ताव थियो । आफूलाई चिन्ने एकमात्र बैनी घरमा नभएको बेला त्यहाँ जानु पनि ठीक लागेन मलाई । त्यसैले केही नलागेर देवीप्रसाद ओझाजीको नाउँलिएर भनेँ– उहाँलाई पक्कै थाहा होला । ओझाजीसँग उनीहरूको पनि राम्रै परिचय रहेछ, फोन नम्बर भने भने उनीहरूसग् पनि थिएन । घर भने देखेका रहेछन् । ती भाइ ओझाजीको घरमैं गएर ठाउँ सोध्न भनी त्यतै गए । संयेगले उहाँ घरमैं हुनुहुँदो रहेछ । आफैं आउनुभयो बसपार्कमा र बल्ल सन्तोषको सास फेर्दे सहभागीहरूको लागि व्यवस्था गरिएको आनन्द होटेल तिर लागेका थियौं हामी । अलिअलि गरेर काठमाडौंबाट आएका अग्रज साहित्यकार र समकालीन साथीहरूसँग हुँदैगएको भेट र साँझ होटेलको छतमा शीतल ताप्दै भएको लामो गफले भने दिउँसोको थकानपूर्ण बस यात्रा राम्रैसँग विर्साइदिएको थियो ।
भोलिपल्ट अपरान्हतिर मात्रै गोष्ठी सुरुहुने भएकोले विहानको समय खाली नै थियो । सबैले आआफ्नै योजना बनाएका थिए– कोही महाकाली सीमा हेर्न हिँडे, कोही सीमावर्ती भारतीय बजारको आनन्द लिन । बाबा रमेश विकल र मैले त्यो खाली समय ऐंठ पुगेर मीतबा खिमानन्द अवस्थीलाई भेटेर बिताएका थियौं । त्यहाँबाट फर्केर बाबा होटेल लाग्नु भएपछि म भने नन्दाभाउजुलाई लाई भेट्न धामीजीको घर खोज्न थालेको थिएँ । मेरो एक किसिमले पारिवाकि सम्बन्ध थियो स्वर्गीय प्रेमसिंह धामीसँग । धामीजी सांसद. हुँदा र पछि राज्यमन्त्री हुँदा समेत हामी दुई परिवारमा राम्रै सम्बन्ध कायम थियो । राजमार्ग छेउकै खाद्य गोदाम अगाडि बन्दै रहेछ भाउजु नन्दादेवी धामीको घर । उहाँ आफू भने चुनावी अभियानका लागि दार्चुला जानुभएकोले भेट हुन सकेन । महाकाली सन्धिलाई लिएर एमालेभित्र ठूलै विखण्डन आएपछि सन्धि विरोधी समूह वामदेव गौतमको नेतृत्वमा विभाजित भएको थियो, नेकपा मालेको गठन गरेर । धामीजी सवारी दुर्घटनामा परेर दिवंगत भएपछिको त्यो घटनाक्रममा उहाँको लोकप्रियतालाई आफ्नो पक्षमा पार्न नवगठित मालेले नन्दा भाउजुलाई राजनीतिमा उतारेको थियो । मलाई भने कौतुहल थियो– त्यति सोझी र सरल विशुद्ध गृहिणीका रुपमा मैले देखेकी नन्दा भाउजुले राजनीतिमा कसरी अभ्यस्त तुल्याउनुभयो होला आफूलाई ?
धामीजीसँगको मेरो परिचय पनि अप्रत्याशित र अनौठै थियो । कोषराज न्यौपाने राष्ट्रिय विकास सेवामा जानुहुँदा धामीजी विद्यालय नीरिक्षक हुनुहुँदो रहेछ । त्यही क्रममा मित्र कोषराज न्यौपाने र धामीजीका बीच अत्यन्त राम्रो सम्बन्ध बनेछ । राजनीतिक आस्था एकदमै अलग भएपनि साहित्यप्रतिको रुचिले दुबैबीच अत्यन्त घनिष्ट मित्रता कायम हुनु स्वभाविक थियो । मेरा केही कथा तथा डोटेली लोकसंस्कृति र साहित्य शीर्षक कृति पनि पढ्नुभएको रहेछ धामीजीले । प्रत्यक्ष परिचय नभए पनि तिनै कृतिहरू मार्फत उहाँले मलाई पनि चिन्नुभएको रहेछ !
धामीजी पछि नेकपा एममालेका तर्फबाट राष्ट्रिय सभामा मनोनीत भएर काठमाडौं आउनुभयो । काठमाणौं आएको केही दिनपछि नै कोषराजीसँग भन्नुभएछ– विजय चालिसेसँग भेट्न मन लागेको छ एकपल्ट, तपाइँ चिन्नुहुन्छ ?
“वियजी, प्रेमसिंह धामीले तपाइँसँग भेट्न चाहनुभएको छ के भनौं ?” धामीजीको चाहना सुनेपछि एकदिन कोषराजजीको फोन पाएँ मैले ।
“एकजना अपरिचित सुभचिन्तकले त्यसरी संझेर भेट्न खोज्नु मेरोलागि त सौभाग्यै हो नि ! एकदिन शनिवार पारेर मैकहाँ खाना खाने बस्ने योजन मिलाउन सकिन्न ? तपाइँ पनि त खाना खाने गरी मकहाँ कहिल्यै आउनुभएको छैन नि !” न्यौपानेजीबाट पृष्ठभूमिसहितको त्यो कुरा सुनेपछि मैले त्यो प्रस्ताब राखेको थिएँ । त्यसको लगत्तै एउटा शनिबार उहाँहरुसँग बडो आनन्दपूर्वक वितेको थियो मेरो एउटा सिङ्गो दिन र हामीबीचको मित्रता क्रमशः पाविारिक सम्बन्धमा बदलिन पुगेको थियो ।
नन्दाभाउजुको खोजीबाट फर्केर केही सम्र्प राख्नु थियो मलाई– काठमाडौंबाट निस्कने सूर्यका लागि सुदूर पश्चिमाञ्चलको निर्वाचनसम्बन्धी एउटा सर्वेक्षण आधारित लेख तयार गर्न त्यसका सम्पादक अग्निशिखाले दिनुभएको जिम्मेवारी पूरा गर्न । त्यसका लागि मैले केही मानिसहरूसँग भेटेर जानकारी पनि लिनु थियो त्यतिबेला । फोन सम्पर्क हुँदा उर्वादत्त पन्त, ऋषिराज लुम्साली, तारिणीदत्त चतौट आदि त्यहाँका राजनीतक नेताहरू प्राय सबैनै षेष्ठीमा आउनुहुने भएकाले त्यहँी नै कुराकानी गर्ने सल्लाह भएकोले समय र झण्झट दुबैको बचत भएको थियो । पछि केही सर्वसाधारणसँग समेत यसबारे विचार बुझेर तयार गरेको त्यो लेखमा मेरो आकलन सत्यको धेरै नजिक रहेको थियो ।
त्योदिन अपरान्हपछिको सबै समय गोष्ठीले लियो । भोलिपल्ट विहान गोष्ठि सकिएपछि सहभागीहरू काठमाडौं फर्कने योजना भएकोले अरु कार्यक्रमको लागि धेरै समय थिएन । त्यो सीमित समय टनकपुर बाँध हेरेर सदुपयोग गर्ने सहमति भयो सबैको । विवादास्पद टनकपुर बाँध देखाउन सवारी साधनदेखि आवश्यक जानकारी दिनेसम्मका काममा अग्रसर हुनुभयो तत्कालीन जिल्लाविकास समितिका सभापति ऋषिराज लुम्साली । धामीजीमार्फत नै म परिचित थिएँ लुम्साजीसँग । उहाँको सरलता, इमान्दारी र आफूले हातमा लिएको कामफत्ते नगरी नछनड्ने लगनशीलताबाट प्रभावित पनि थिएँ म । महाकाली सन्धिले नेकपा एमालेमा ल्याएको विभाजनमा लुम्सालीजी मालेतिर संगठित हुनुभएको थियो । त्यसैले महाकाली सन्धि र टनकपुर बाँधका बारेमा जानकारी दिने क्रममा उहाँ एमालेप्रति अलि बढी नै आक्रामक देखिनु स्वभाविक थियो । त्यसमाथि एमालेकै भोट खोसेर आसन्न निर्वाचनमा विजयी बन्ने मालेको एकमात्र त्यतिबेलाको प्रयासको पृष्ठभूमिमा यसलाई झनै अस्वाभाविक भन्न सकिँदैनथ्यो ।
हो, लुम्सालीजीको अभिव्यक्तिमा केही बढी नै कटुता थियो । उहाँहरूबीच रहेको सैद्धान्तिक र अरु पनि मतभेद पार्टीभित्रै बसेर मिलाउनु पथ्र्यो, पार्टीभित्रै सङ्घर्ष गर्नु पार्टी फुटाउनुभन्दा राम्रोहुन्थ्यो भन्ने मेरो आफ्नो धारणा रहेकाले पनि लुम्सालीजीको अभिव्यक्तिहरू बढी बटु लागेको हुनसक्थ्यो मलाई त्यतिखेर । बाँध र त्यसको अवस्थिति देखेपछि भने उहाँको त्यो कटुता अस्वाभाविक लागेन मलाई । साँच्चै नै दुखेको थियो मुटु टनकपुर बाँध देखेपछि । हज्जारौं हेक्टर नेपाली जमिन भारतीय मुट्ठीमा परेको छ, बदलामा दिइएको भनिएको जमिन डुबानको संभावनाबाट मुक्त छैन । त्यसैले हामीले पनि महाकाली सन्धी नेपालका लागि न्यायसंगत छ भन्ने दावीको खासै आधार फेला पार्न सकेका थिएनौं । हो, त्यो सन्धिले सीमानदीको मान्यता कायम गरायो, सीमा नदीमाथिको हकमा समान अधिकारको मान्यता कायम ग¥यो । यसलाई केही उपलब्धी मान्न सकिएला, तर यो उपलब्धीलाई आफ्नो राष्ट्रिय हित र लाभमा परिणत गर्न हामी आफूमा पनि क्षमता र अडान आवश्यक पथ्र्यो । त्यो क्षमता र कूटनीतिक शक्तिको हामी राम्ररी उपयोग गर्न सक्छौं भन्ने कुरामा हामी विश्वस्त हुन सकिरहेका थिएनौं । इतिहासका विभन्न घटनाले यसमा हाम्रो असक्षमता सिद्ध गरिसकेको थियो । त्यो हक भारतले सहजै दिँदैन भन्ने कुराको पुष्टी विस्तृत परियोजना प्रतिवेदन आजसम्म बन्न नसक्नुले गरिसकेको पनि छ । फोटो खिच्न मनाही थियो– मेरै भूमिमाथि बनेको भनिने बाँधमा । यो विडम्बनाले पीडाबोध गराएको थियो हामीलाई । तर पनि हामीले केही पेलेर, केही आँखा छलेर क्यामराको आँखामा कैद गरेका थियौं टनकपुर बाँधलाई ।
त्यतिबेला महाकाली हेरेर व्यासजीमा जन्मेको भावुकता अनुभव गर्दा हाम्रो आँखाअगाडि मेची पनि गाँसिन आइपुगेको थियो । दुई वर्ष अगाडि मेरो मनको क्यामराले खिचेका मेचीका तस्बिरहरू त्यतिबेला महाकालीले फेरि एकपल्ट झल्झली आँखा अगाडि ल्याइदिएको थियो । यी दुई सीमाना मात्र थिएनन् मेरा । मेरो भाषा, संस्कृति र सभ्यताको सर्जक थियो महाकाली । मेची त्यही भाषा, संस्कृति र सभ्यताको बिस्तारक । मेची अमरंिसंहहरूको पौरखविस्तारको साक्षी थियो, महाकाली दशरथचन्दहरूको स्वतन्त्रताचेत । यी दुबै ठाउँले दिगन्तसम्म फैलाउन सघाएका थिए मेरो गौरवलाई । त्यसैले तिनको दर्शनसँगै, मेची र महाकालीको पवित्र जलस्पर्शसँगै त्यहाँका हावाले कानमा पूर्खाका मधुर यशोगान सुनाउँथे । त्यो स्मृति र त्यो पवनगानले इतिहासका विभिन्न कालखण्डहरू सम्झाइ दिएका थिए त्यतिखेर । साथै बीर पुर्खाको आर्जन समेत जोगाउन नसक्ने मेरो निर्वियताप्रति कठोर व्यङ्ग्य पनि गरिरहेका थिए मेची र महाकालीहरू ! त्यो नालायकी र निहित स्वार्थजन्य सत्ताखेलकालागि स्वाभिमान तथा आत्मसम्मान बिर्सँदै आफूभन्दा पराई स्वार्थको गोटी बनाउने मेरो आफ्नै प्रवृत्ति संझेर आफैंलाई धिक्कारेको पनि थिएँ मैले ती क्षणहरूमा ! सधैं छिमेकी नङ्ग्र्राबाट कोतरिनु पर्ने नियतिभोग्नुको वाध्यता मेरा तिनै प्रवृत्तिले नै त जन्माएका थिए ! त्यसैले आफ्नो निरिहता र कायरताप्रति माफी माग्नेसम्म साहस जुटाउन सकेको थिइन मैले ती कालखण्डमा । ती दुबै क्षणले पीडा बाहेक केही दिएको थिएन मलाई र सायद सहभागी अरुलाई पनि । आजको म नेपालीको वीर्यहीनता देखेर के भनिरहेका होलान् अमरसिंहहरू आकाशको एक कुनाबाट ? असंख्य झुमा, म्याउची र धनेहरू आज पनि बाँच्नैका लागि मेची र महाकाली तरेर पराइ भूमिमा बसाइँ सरिरहेको दृश्य देख्छु म मेची–महाकाली नदीको तस्बीरसँगै । सुरुमा वीरका पाइलाहरूको डोबले भरिएका मेची–महाकाली अहिले आफैंबाट धपाइएका नेपाली पाइलाका घाउहरूले छियाछिया बनेको देख्छु म । आफ्नो भूमिलाई टाढाटाढासम्म फैलाउन र मेचीपारि टिष्टा र काँगडासम्म पु¥याउन उत्साहले चालिएका ती पाइलाहरू पछि आफन्तहरूकै शोषण, सामाजिक असमानता र अन्य उत्पीडनबाट लखेटिएर हेलिन वाध्य भएको स्पष्टै देखिरहेको थिएँ म !
पूर्वको भद्रपुरमा ठोकिएको नया सीमास्तम्भले चर्चरी चिरेको मेरो छात्ती पश्चिमको टनकपुर र कालापानीले अझै गहिरो घाउमा बदलिदिएको थियो त्यतिखेर । उता भद्रपुर माध्यमिक विद्यालयको प्राङ्गणमा ठोकिएको नक्कली सीमास्तम्भले नदीपारिको सक्कली जङ्गेपिल्लारलाई विस्थापित गर्ने प्रयास गरिरहेको थियो । यता त्यतिबेला म उभिएको टनकपुर बाँधमाथिको पुलले पनि मेरै अस्मितामाथि आक्रमण गरिरहेको थियो । यी दुबै मेरो मुलुकको गौरवविस्तारमा आफ्नो प्राण उत्सर्ग गर्ने मेरा वीर पुर्खाहरूलाई गिज्याएर हाँसििसरहेका थिए, उपहासको विदु्रप अट्टहास हाँसिरहेका थिए । पुर्खाले आर्जेको सीमासम्मको रक्षा गर्न नसकने आफ्नो लाचारीमा आफैंलाई धिक्कार्नु बाहेक के नै गर्न सक्थेँर म त्यतिबेला ! छिमेकीले बलपूर्वक नक्कली सीमास्तम्भ गाडुञ्जेल पनि कुनै प्रतिवाद गर्न नसक्ने मैल त्यतिबेला लज्जानत शिरको बोझ थेग्नुबाहेक लाज पचाउने अर्को बाटो पनि थिएन मसँग । त्यही अपराध र हीनताबोधमा मेचीको आत्मीय स्पर्श अनुभव गर्दै नदी पारको जङ्गेपिल्लारलाई केहीबेर सुम्सुम्याएर मनमनै माफी मागेको थिएँ मैले– मलाई माफ गरिदेऊ, तिम्रो सुरक्षा गर्न सकिन मैले ! व्यासजीले सिसीमा मेची भरेको क्षण तिनैमध्ये कुनै थिए होलान् ।
मेचे जाति र मेची नदीको पहिचान बोकेको झापाको सदरमुकाम भद्रपुर र महाकालीको महेन्द्रनगरका घाउ समान थिए, लगभग छिमेकी निर्भरता पनि समानै थिए । दुबै आफ्ना उपभोग्यबस्तुको लागि छिमेकमैं भर पर्थे । आफू आफ्नो उत्पादन नपाएर अर्को छिमेकी चिनका उत्पादनको विलौचिया बन्थे भद्रपुर र महेन्द्रनगर । भद्रपुरको आफ्नै पुरानो इतिहास थियो, आफ्नै पुरानो सभ्यता थियो । उता सुदुर पश्चिमका र अझ नेपालका अरु भेगका समेत आन्तरिक आप्रवासीको नयाँ शहर महेन्द्रनगर भर्खरै आफ्नो इतिहास र सभ्यताको प्रारम्भिक रेखांकन गर्दैथियो । अर्थात नेपालका विभन्नि भूगोल, विभिन्न भाषिका, र विभिन्न संस्कृतिको साझा स्वरुप निर्माण गर्ने तर्खरमा थियो– अर्थात आफूलाई मेल्टिङ पटको रुपमा विकसित गर्दैथियो महेन्द्रनगर । यही प्रयासको क्रममा यसले आफूलाई सुदुूर पश्चिमको घोषित–अघोषित प्रमुख केन्द्र बनाइसकेको थियो, आवागमन र व्यापार–व्यवसायको मेरुदण्ड बनाइसकेको थियो । दुबैमा केही समानता पनि थिए– भारतीय सीमावर्ती यी शरहरहरूमा । दुबैको प्रमुख व्यवसाय थियो भारतीय उपभोक्ताहरूलाई खास्सादेखि ओसारिएका चिनिया बस्तु आपूर्ति गरेर व्यापार चलाउनु । मेचीकिनारको भद्रपुर बजार जसरी भारतीय उपभोक्तासम्म चिनिया उत्पादनको आपूर्ति गर्ने विलौचियाको भूमिका पूरा गर्दैथियो, ठीक त्यसरी नै विलौचियाको भूमिका पूरा गरिरहेक थिए महाकालीपारिका चाँदनी र दोधारा । हामी छिमेककबाट उनीहरूको आफ्नै उत्पादन ल्याउँछौं र आफू विदेशी बस्तुको फौबञ्जार बन्छौं । यसको ज्वलन्त उदाहरण थिए–तिनै भद्रपुर, चाँदनी र दोधाराहरू । आफू सियोसम्म बनाउन नसक्ने म नेपालीका लागि यो वाध्यता स्वभाविक थियो । हामीले उत्पादन गरेका जाँडरक्सी उता जाँदैनन्, जुन हाम्रो प्रमुख उत्पादनको ठाउँलिन अग्रसर हुँदैछन् । निकासी गर्न सक्ने संभावना बनिसकेका कन्फेक्सनरी, सूती धागो, पश्मिना, छालाजुत्ता आदि उद्योग हामीले छिमेकीलाई नै बेचेर विश्वबैंक र छिमेकी रिझाउने पौरख ग¥यौं । बाँकी बचेका सिमेण्टआदि उद्योगलाई विदेशी ठूला उद्योगसँग खुला कुस्ती खेलाएर घाइते तुल्याइसक्यौं । अब हामीसँग पठाउन सकिने एउटै कुरा बाँकी छ युवा रगत र त्यसलाई नै बडो उत्साहका साथ पठाइरहेकछौं विदेशी बजारमा । त्यसैबाट रमाइरहेका छौं रेमिटेन्सद्वारा देश बनाउने मिथ्या सपना देख्दै ! मूर्ख लोभीले एकै पटक धनीबन्न सुनको फुल पार्ने कुखुरीको पेट चिर्दाको नियति दोहो¥याइरहेका छौं वर्तमानमा । यसैलाई शासकीय सफलता ठान्ने नसामा लट्ठिदै जाँदै छौं हामी, यसैलाई गौरव र उपलब्धि मानेर कुम्भकर्णे निद्रा निदाइरहेछौं हामी ।
चाँदनी दोधरा पुग्ने अवसर जुटेको थियो मित्र अमरको सहयोगमा महाकाली सिँचाइ परियोजनाको सौजन्यम्बाट । काठमाणैंबाटै अमरले महेन्द्रनगर र चाँदनीदोधारा घुम्नका लागि साधन जुटाइदिन परियोजनाका ठेकेदार गणेशचन्द्रसँग अनुरोध गरेका थिए । महेन्द्रनगरको निबन्ध गोष्ठी सकिएपछि टनकपुर बाँध हेरेर फर्केकोे लगत्तै अरू सहभागीहरू काठमाणौं हिँडीसक्नुभएको थियो । उहाँहरूको विदाइपूर्व विदेशी रक्सी सेवनको बिल कसले तिर्ने भन्ने प्रश्नलाई लिएर सिर्जित केही क्षणको असजिलो मेटिइसकेको थियो । मद्यपानको बिल आफैंले भुक्तान गर्नुपर्ने एकेडेमीको अनुरोध विर्सिनु वा बेवास्ता गरिनुले त्यो असजिलोको सिर्जना गरेको थियो । नगर्नु भनेको कुरा नगरी नछोड्ने र त्यसैलाई इज्जतको सबाल बनाउने नेपाली बानी जहाँ गए पनि आखिर साथै जानु स्वभाविक थियो, भयो पनि त्यस्तै । केही मद्यप्रेमी साहित्यकारहरूले आतिथ्यकै अङ्ग सम्झेर १४–१५ सय रुपियँको मद्यसेवन गर्नुभएछ । होटेलवालाले के छाड्थ्यो ! निस्कने बेलामा गलफत्ती परिहाल्यो । आखिर एकेडेमीले नै ति¥यो क्यार त्यो बिल र विदाई सहज बनेको थियो ।
नेपालगञ्जबाट काठमाडौं फर्कने मेरो ल्पेनको फिर्ती टिकट पर्सिपल्टको मात्र भएकोले बाँकी एकदिन पनि महेन्द्रनगरमैं बिताउने योजना बनाएको थिएँ मैले । त्यही अनुरुप भोलिपल्ट बिहान १०–११बजेतिर होटेलमैं सबारी साधन पठाइदिन अनुरोध गरिसकेको थिएँ गण्ोशचन्द्रजीसँग । गोष्ठीका सहभागीलाई विदा गरेपछि महसुस गर्ना थालेको एक्लोपनलाई श्यामसुन्दर ढकाल र उहाँका दाजुको आगमनले मेटाइदिएको थियो । उहाँहरूले नै त्यो साँझको योजना बनाउनुभयोे– क्याम्पस र केही नजिकैका ठाउँ घुम्ने र त्यसपछि बहिनी नाराको घर पुग्ने । महेन्द्रनगर घर भएका श्यामसुन्दरजी पशुपति क्याम्पसमा बीए तृतीय वर्षकी मेरी एकजना छात्राका दाजु थिए, काठमाणौंदेखिकै परिचित । प्राय काठमाणौं बस्ने ढकालजी त्यतिबेला महेन्द्रनगर आएका थिए । संयोगले गोष्ठीमैं भेट भएकोथियो उनीसँग ा
केही ठाउँ घुमेर मितिनी बहिनीको घरपुग्दा बहिनी पनि पिलीभितबाट भर्खरै घर आइपुगेकी रहिछन् । भोलिबिहानै होटेल छाडेर उनीकहाँ नै बस्ने गरी आउने सर्तमा मात्र बल्लबल्ल उम्किएको थिए त्यहाँबाट खानपिन पछि । अघिल्लो रात होटेलसम्म छाडेर जानुभएका ज्वाई नन्दराज जोशी भोलिपल्ट विहानै लिन आउनुभएपछि होटेल छाडेर उहाँसँगै निस्कन वाध्य घएको थिएँ म ।
चाँदनी दोधारा र महाकाली जलाधार घुमाउन योेजनका इन्जिनियरले पठाइदिएका सवारी साधनलाई होटेलवालाले नाराको घर पठाएदिएछ र चाँदनी दोधारा जान सम्भव भएको थियो त्यतिबेला । एउटा छुट्टै टापुजस्ता लाग्थे महाकाली पारिका ती नेपाली बस्तीहरू ! पुलको अभावमा वर्खाभरि महेन्द्रनगरसँग पूरै सम्पर्क विच्छेद हुने ती बस्तीसँगको सम्पर्कका साधन हिउँदमा पनि डुङ्गा मात्रै देखिन्थे । परियोजना र व्यापारीहरूका केही सबारी साधन कम पानी भएको ठाउँ खोज्दै नदीमैं हेलिन्थे र पार गर्थे । चाँदनीकोे सिङ्गो हाट र स्थायी बजार खास्साका सामानले भरिएका थिए, ग्राहक प्राय सबै नै सीमापारिका भारतीयहरू । राजधानीको मुटु नयाँसडक त भारतीय रुपियाँ र हिन्दीसम्वादले भारतीय बजारको भ्रम दिइरहेको छ भने नेपालभन्दा भारतीय भूमिमा आउनजान सहज यो सीमान्त नेपालमा भारुको विगविगी अस्वाभाविक थिएन । यिनै कारणले ती बजार भारतीय रुचिको केन्द्र र चोरीनिकासीका प्रमुख नाका बन्नु पनि स्वभाविक थियो ।
भोलिपल्ट अपरान्ह पाँचबजेको विमान भेट्टउन नेपालगञ्ज पुग्नै पथ्र्यो । परियोजनकै सहयोगमा नेपालगञ्जसम्म पु¥याइदिने गाडी आइपुग्नासाथ महेन्द्रनगरसँग बिदा लिएको थिएँ मैले– मुटुभरि टनकपुरको घाउ बोकेर !
समकालीन साहित्य ५५, २०६१
No comments:
Post a Comment