Sunday, August 29, 2010

मुराइन, तौलिहवा र उन्मुक्तिको खेजी

त्जभ दभकत या उचयउजभतक या तजभ ागतगचभ ष्क उबकत। – एयभत द्यचथबल

यात्रा आफैंमा शिक्षा हो, अनुभव हो र हो भविष्यको मार्गदर्शक । यात्राहरूमा स्थानहरूमात्र होइन विभिन्न रोचक पात्र–चरित्रहरूसँग पनि जम्काभेट हुने गर्छ । ती कति मेरा कथाका चरित्र बनेर आउने गर्छन, कति नियात्राका सहयोगी । सँधै सँगै भएका पात्रको भित्री पाटो पनि सहयात्राका अवसरमा उदाङ्गो हुने गर्छन, जुन त्यसअघि देखापरेको हुँदैन । यस्तै चरित्र, पात्र र परिवेशलाई महान् साहित्यकार गोर्कीले जनताको विश्वविद्यालय माने, जुन वास्तविक अर्थमा व्यवहारिक विश्वविद्यालय हो नै । कवि वायरनको माथिको वाणी पनि प्राय मेरो सम्झनामा आउने गर्छ । यसैले प्रेरित गरेर विगतलाई वर्तमानमा सम्झने गर्छु म । यस्तै यात्राको अनुभूति हो झण्डै तीन दशक पुरानो मेरो तौलीहवा यात्रा !

२०३४ पुस १७ गते जीवनमैं दोश्रोपल्ट काठमाणौं उपत्यका छाडेर यो खाल्डोभन्दा बाहिर जाँदै थिएँ म । यस अघि एकपल्ट पोखरा जानु बाहेक उपत्यका बाहिरको नाउँमा काभ्रेको इन्द्रावती छेउ रहेको मण्डन चण्डेनीसम्म मात्र पुगेको थिएँ म । त्यो पनि मामाघर भएकोले । नत्र यस्तोअवसर आएको थिएन मेरो जीवनमा । हरिदाइ अर्थात् हरिप्रसाद अर्याल र म जोरपाटीको चामुण्डा माध्यमिक विद्यालयमा पढाउँछौं त्यतिबेला । हरिप्रसाद र जनकदाइ अर्थात देवीबहादुर थापा उमेर र अरु सबैकुराले मेरा अग्रज हुनुहुन्थ्यो । उहाँहरू दुबैजना मेरा पिताजीका साथी हुनुहन्थ्यो । अझ जनकदाइ त मेरा गुरु नै हुनुहुन्थ्यो– जसबाट मैले आफ्नो प्राथमिक शिक्षा प्राप्त गरेको थिएँ गाउँकै पाठशालामा । पछि उहाँ शिक्षण पेशा छाडेर वनविज्ञानसम्बन्धी तालिम लिएर वन विभागमा फरेष्टरको जागिरमा लाग्नु भयो । त्यतिबेला रेञ्जर पदमा कार्यरत हुनुहुन्थ्यो क्यारे ! त यसरी पिताजीका साथी उहाँहरू पछि आएर मेरा पनि साथीबन्नुभएको थियो । जनक दाइले आफू रेञ्जर भएर बस्दा तौलीहवामा घर र केही जमिन जोर्नुभएको थियो र भाउजु त्यहीँ बस्ने गर्नुहुन्थ्यो । त्यसैले वर्षेनी एकपल्ट तौलीहवा जाने वाध्यता नै थियो जनक दाइको । यो हिउँदमा उहाँ त्यता जाँदा सँगै घुम्न जाने प्रस्ताव राख्नुभएको थियो उहाँले हामी दुईलाई । यसरी बनेको थियो त्यो यात्राको संयोग ।

”अरे मालिक तुम, कब आए !“ जनक दाइले तौलिहवा पुगेको दोस्रोदिन लिएर गएका बावी अर्थात मदिसे गाउँको एउटा छाप्रोमा पुगेर हाम्रा पाइला अडिनासाथ उहाँको स्वागतमा निस्किएको त्यो स्वरले हाम्रो ध्यान पनि राम्रैसँग तानेको थियो ।

निकै काली तर अत्यन्त हिस्सी परेको त्यो अनुहामा एउटा अव्यक्त आकर्षण अनुभव गरेको थिएँ मैले । त्यो मुराइन अर्थात मदेसिनी स्वास्नीमान्छे उमेर ढल्केर अर्धवयको सङ्घार टेक्दै गरेकी देखिए पनि आकर्षक थिई । शरीर अझै भरिलो थियो, केही मांसल । उसैको मुखबाट निस्किएको थियो त्यो आवाज । कृष्णवर्णको उसको आकर्षक सौन्दर्य र कालो अनुहार हाँस्दा ओठ खुलेर देखिने सेता दाँतका लहरहरूको अर्कै आकर्षण थियो । उसको हाँसोमा देखिएको निश्छलता र अभिव्यक्तिमा पाएको प्रफुल्लता स्वभाविक थियो वा वाध्यताले जन्माएको व्यवहारकुशलता– त्यतिबेला छुट्याउन सकेको थिइन मैले । सौन्दर्यको मुख्य विन्दु थियो उसका दुई आँखाका तीब्र आकर्षण, जसमा पर्याप्त सेक्स अपील भेटिन्थ्यो । ती आँखामा एकपल्ट आँखा पर्ने जोकोहीलाई तिनैका अतल गहिराइभित्र डुबुल्की मार्ने चाहना जाग्नु अस्वाभाविक थिएन ।

कालो अनुहारको त्यस्तै आकर्षण पछि बेलायत बस्दा अनुभव गरेको थिएँ मैले– एउटी अफ्रिकी युवती रुकिया अवालेमा । रुकियाको कालो न कालो टल्किने शरीर र अनुहार भएपनि त्यो कालो अनुहार भित्रको आकर्षणले मलाईमात्र होइन अरू पनि धेरैलाई मोहित तुल्याउने गरेको थियो त्योबेला पनि ।

यो मुराइनको कालो सौन्दर्य र उन्मुक्त व्यवहार भने मैले देखेको र भोगेको पहिलो नबिर्सने अनुभव थियो । लाग्थ्यो जनकदाइ र यो निकै अन्तरङ्ग थिए । उनीहरूका यौनजन्य खुला कुराकानी र हाउभाउसँगै दुबैका आँखामा आपसी आकर्षणका सिन्दुरे धर्साहरू कोरिँदै मेटिँदै गरेका स्पष्टै देखिन्थे । छेवैमा सुताइएकी सानी छोरी र हाम्रो उपस्थितिले मुराइनमा पनि कुनै फरक पारेको देखिएन । लाग्थ्यो दुई प्रेमीहरू लामो विछोडपछि भेटिएका छन्– तर कुराकानी र गफको माध्यमबाट भएका ती छेडछाड कुनै पे्रमीपे्रमिकाका बीच हुने खालको प्रेमालाप भने थिएन ।

त्यो कार्यव्यापार र वातावरणले हरिदाईको सन्तव्यवहारभित्र छोपिएको यौनआशक्तिलाई पनि उदाङ्गो तुल्र्यादिएको थियो । त्यतिबेला हरिदाइको आवेग र उत्तेजना प्रस्टै देखिन्थ्यो । उहाँ पनि मुराइनसँगको त्यस्तै गफमा सहभागी बनिसक्नुभएको थियो । हरिदाइको आवेग र उत्तेजना जनक दाइको भन्दा अरुm बढी देखिएको थियो । त्यो देख्दा लाग्थ्यो– उहाँभित्रको यौन आवेग नियन्त्रणभन्दा बाहिर पुग्दैछ, त्यो आवेगमा कुनैपछि क्षण उनले मुराइनलाई झम्टिए भने आश्चर्य हुने छैन, त्यही सोचेको थिएँ मैले त्यतिखेर । मुराइन पनि दुबैको उत्तेजना बढाउने काममा समान सहयोग पु¥याइ रहेकी थिई । दुबैसँग उत्साहित रुपमा समान रुपाले संलग्न बनाइरहेकी थिइ आफूलाई, यौनप्रेरक कुराकानीमा ।

उसको मुख मात्र होइन हात पनि सँगसँगै चलिरहेको थियो– मेवा तास्दै हामीलाई खृुवाइरहेकी पनि थिई ऊ । त्यो देख्दा छुट्याउन सकिरहेको थिइन मैले– यथार्थमा मुराईन के हो ? के यौन व्यवसायी हो ऊ वा यौनजन्य यस्ता चोखा ठट्टा सामान्य सामाजिक मान्यताभित्रैका कुरा हुन् यहाँको बाजी समाजमा । हेर्दा लाग्थ्यो ऊ यी सबै कुरालाई सामान्य रुपमा लिइरहेकी थिइ । त्यो वातावरण र उनीहरूका कुराकानी तथा अनुहारका देखिने यौन उत्तेजना आदिले सुरुमा उसलाई देख्दा पलाएको उभित्रको सौन्दर्यनिश्रित तीब्र आकर्षण भने विस्तारै कमहुँदै गएको थियो मभित्र । यतिबेला ऊ पुरुषले जसरी खेलाउन चाहे पनि खेलिदिने निर्जीव खेलौनाभन्दा फरक लागेकी थिइन !

“अबेर भैसक्यो, जाउँ अब ।” वातावरणको कामुकताले लाग्थ्यो कुनै बेला केही पनि हुनसक्थ्यो त्यहाँ । त्यसैले म यो वातावरणबाट जतिसक्यो चाँडै छुट्कारा पाउन चाहन्थें । त्यो वातावरबाट आन्तरिक रुपमा म पनि अप्रभावित पक्कैथिइन । तर संस्कार र स्वभावले मलाई सीमाबाहि जानबाट रोक्दै थियो त्यतिखेर ! त्यसैले यौन आवेगमं। चुर्लुम्म डुबेका साथीहरू र आफैंलाई पनि जोगाउन चाहन्थेंम त्यतिबेला । त्यसैले त्यहाँबाट फर्कने प्रस्ताब राखेको थिएँ मैले । मेरो आग्रहपछि हामी विदा भएका थियौं उसको तेलमालिस गराउने निम्तो पछिका कुनै दिनको लागि थाती राखेर । भर्खरै निद्राबाट उठेकी मुराइनकी छोरीको हातमा दशबीस रुपियाँ हालिदिएर त्यो रोचक चरित्र मुराइनसँग विदा लिएका थियौं हामीले– उसको घर अर्थात सानो छाप्रोबाट ।

पछि जनक दाइबाट थाहा पाएको थिएँ– पुरुषहरूलाई तेलमालिस गरेर जीविका चलाउँछे मुराइन । लोग्ने मरेको निकै वर्ष भैसक्यो, आठ वर्षकी एउटै छोरी मात्र छ परिबारमा । मुराइनजस्तै तेलमालिस गरेर जीविका चलाउने स्वास्नीमान्छे अरु पनि छन् । यी स्वास्नीमान्छेहरू यस्तो खुला व्यवहार, ख्यालठट्टा र शारीरिक स्पर्शसम्मलाई सामान्य रुपमैं लिने गर्छन् । यिनीहरूको यो खुला व्यवहार र यौनजन्य ठट्टाको आनन्द लिँदै तेलमालिस गराएर परोक्ष यौन आनन्द लिने ठूलाठालु पुरुषहरूको कमी पनि छैन । त्यसैले यसैलाई पेशा बनाएर जिन्दगी गुजार्ने वाध्यता भिरिरहेका छन् यो र योजस्तै धेरै मुराइनहरू । यसो गर्न उनीहरू सङ्कोच मान्दैनन, तर शारीरिक रुपमा बाहिरी छेडछाड र मुखको ठटको सीमा हत्तपत्त उल्ल्ंघन गर्न दिँदैनन् मुराइनहरू ! आखिर उत्तेजनाबीचको यस्तो सीमा यदाकदा भत्किनु अस्वभाविक हुँदैन, अनि परिणाम कतिपय अबोध सन्तानहरू विनाबाबुका सन्तान भनाएर बाँच्नु पर्ने नियतिमा अनुबाद हुन्छन् ।

त्यो सुनेपछि आफैंसँग प्रश्न गरेको थिएँ मैले कुन रुपमा हेर्ने मैले यो स्वास्नीमान्छेलाई ? केही सहानुभूति पनि उब्जेको थियो ममा मुराइन र मुराइनजस्तै ती स्वास्नीमानछेप्रति । यस्तो खेलौनाको जीवन बाँच्नु अवश्य पनि रहर थिएन होला तिनको, वाध्यताकै उपज थियो होला । वाध्यता नभए के कुनै स्वास्नीमान्छे पसरपुरुषसँग यस्तो व्यवहार गर्न सक्छे ? मनभरि कति पीडालुकाएर आफूलाई खेलौना बनाइरहेकी होली यो मुराइन ! यसको यो वाध्यताको फाइदा उठाउने हामी अर्थात लोग्ने मान्छे नै थियौं । हामी अर्थात जो पहिले यस्तै वाध्यताको जाल फाल्छौं र पछि त्यही बाध्यताबाट फाइदा उठाउँछौं ।

जनक दाइका प्रेम प्रसंग र यौनप्रतिको धारणा खुला थियो । उनी मुखले एउटा र कामले अर्को गर्दैनथे । पहिली श्रीमती छँदाछँदै आफ्नै चेली भगाउने जनकदाइ यौनचरित्रमा अलि कमजोरै मानिन्थे, त्यो मलाई थाहा थियो । तर हरिदाइ ? उनी त सँधै आफूलाई बडो संयमी र सदाचारी देखाउँथे ! यौनलाई नर्कको द्वार भन्ने गर्थे उनी र बारम्बार मातृवत् परदारेषुको अर्तिवर्षा गरिरहेका सुनिन्थे अरुलाई । आफूलाई परम नैष्ठिक, दार्शनिक र एकपत्नीब्रता देखाउने हरिदाइमा देखिएको आजको यो कामुक व्यवहार मेरालागि आश्चर्यको कुरा थियो । उनको बाहिरी चरित्र र कुराकानीको एकदमै प्रतिकूल थियो आजको यो रुप । यसले मानिसको ढोंगी र आडम्बरको प्रत्यक्ष अनुभव गराएको थियो मलाई ! यो थियो हाम्रो तौलिहवा यात्राको एउटा परिच्छेद ।

“बाबु हो, यो हरि ज्यादै सोझो छ । भीडभाडमा त्यसै आत्तिन्छ । यसको भाइ यज्ञ पनि मदेश गएर फर्के पछि बौलायो । यो पनि त्यस्तै होला भन्ने मलाई असाध्यै डर लाग्छ ।” तौलीहवा हिँड्ने अघिल्लोदिन हरिदाइको घर पुग्दा उहाँकी आमाले व्यक्त गर्नुभएको यो चिन्ताले एककिसिमको अव्यक्त भय जन्माइदिएको थियो हामीभित्र । हुनपनि उहाँका तीन छोरामध्ये माइला यज्ञ पागल थिए । आमाको कुरा सुनेर हामी दुबैमा नजानिँदो भय जन्मनु स्वभाविक थियो– हरिदाइमा पनि त्यही घटनाको पुनारवृत्ति भयोभने ! तर अर्को मनले सोचेको थियो– दर्शनशास्त्रका यति विद्वान हरिदाइ आमाले सोचेजस्तै कमजोर पक्कै छैनन् । यो एउटी ममतामयी आमाको मनको हाउमात्रै हो । हाम्रो योजना बनिसकेको थियो, अब त्यसलाई पर सार्ने कुरा थिएन । त्यसैले हामी त्यसको भोलिपल्टै अर्थात् २०३४ सालको पुस १७ गते तौलिहवाको लागि काठमाडौं छाडेका थियौं ।

सुरुको हाम्रो योजना थियो त्रिभुवन राजपथहुँदै जाने । तर हरिदाइको बस दुर्घटनाको संभावित आशङ्काजन्य भयले यात्रामार्ग परिवर्तनको वाध्यता ल्याइदियो । दामनमा हिउँ परेकाले बस दुर्घटना भएर मरिने डरले हरिदाइ त्यो बाटो जान मरे मान्नु भएन । वाध्यताबस यात्रा मार्ग बदलेका थियौं हामीले त्रिभुवन राजपथको साटो पृथ्वीराजमार्गबाट पोखरा जाने बस समातेर । यो बाटो अगाडि पनि एकपटक आइसकेकोले मेरालागि पनि नौलो थिएन । नदी किनारै किनार सलल्ल बगेर गन्तव्य समात्न नागबेली हिँडेको पृथ्वी राजमार्गका दृश्य बसको गतिसँगै बग्दै थियो । मेरा आँखा सकेसम्म तिनलाई समात्ने प्रयास गरिरहेका हुन्थे । नौबीसेमा एक हुल विदेशी पर्यटक पनि आआफ्ना क्यामरामा नेपालको सौन्दर्र्य कैद गर्दै थिए । त्यो देखेर मलाई लागेको थियो– कहाँ कहाँदेखि आउँछन् यिनीहरू मेरो देश हेर्न । मलाई भने आफ्नै देशदर्शन गर्न साइत जुराउन महाभारत पर्छ !

त्रिशुलीको किनारै किनार सल्ल बगेको चिनिया सहयोगको बाटाले यात्रालाई कतै पट्यारिलो हुन दिएको थिएन । मुग्लिमा त्यहाँको ठूलो पुल यो बाटोसँगै चिनिया मित्रता र सहयोगको सार्थक पताका फहराइरहेको थियो । उता चिनकै सहयोगमा मुग्लिन नारायणघाट राजमार्ग तीब्रताकासाथ निर्माण गर्न रातोदिन क्रियाशील थिए १४–१५ हजार मजदुरका कर्मठ हातहरू ! आठदश ठाउँमा एकैसाथ काम भइरहेको थियो त्यो बाटोमा । चिनिया सहयोगमा बनेका आयोजनाहरू निकै राम्रा र हाम्रालागि निकै उपयोगी सिद्ध भएका छन्, यो बाटोको महत्व त झनै बढी थियो । काठमाडौंलाई मध्य तराइ र त्यसमार्फत पूर्वि नेपालसँग जोड्ने यो वैकल्पिक मार्ग त्रिभुवन राजमार्गको निर्भरता कम गर्न भरपर्दो विकल्प बन्ने निश्चित थियो ।

“आउनोस्...आउनोस्...मासुसहितको खाना ६–६ रुपियाँ, बास बस्न एक बेडको दुई रुपियाँमात्रै ।” काठमाडौंबाट २०० किलोमिटर बाटो छिचोलेर बसले पोखरा बिसौनीमा विश्राम लिन पाउँदा नपाउँदै पछ्याएको एउटी आकर्षक थकाल्नीकोे मीठो आमन्त्रणले सहजै आकर्षित गरेको थियो हामीलाई । कृत्रिमता रहित स्वभाविक सौन्दर्यले भरिएकी त्यो रुपसी थकाल्नीको मीठो बोली र व्यवसायिक मुस्कानको मोहनी आर्फैमा पर्याप्त थियो हामीलाई आकर्षित गर्न । त्यसमाथि होटेलको सरसफाई र अरुभन्दा तुलनात्मक शान्त प्रकृति थप आकर्षण थियो । खाना र सुत्ने विच्छ्यौना पनि महँगो थिएन । नेवारजस्तै थकालीहरू पनि नेपालका व्यवसायिक जाति हुन् । व्यवसायपरक सीप र जाँगरमा सबैभन्दा कमजोर मलाई मेरो आफ्नै जात छेत्रीबाहुन नै लाग्नेगर्छन् । यो जातले जानेको एउटै काम छ कर्मकाण्ड र खेतीपाति । त्यसमा पनि नयाँ प्रविध र सीपको खोजी गरेको देखिँदैन कहिल्यै, जसरी त्यही पेशामा पनि नेवार किसानहरू गर्ने गर्छन । त्यसमाथि स्वास्नीमानछेलाई त आफ्नै घरधन्दा र खेतीपातिबाहेक बाहिर निस्केर गर्ने कुनै कामै दिइँदैन मेरो जातमा । त्यसैले यथास्थितिमैं मात्र बाँच्न वाध्य छ यो जाति । नेवारहरू खेतिपाती, बन्दव्यापार, सिलाइबुनाई, कलात्मक र सीपिमूलक कामहरू सबैतिर हात हाल्छन् र केही हदसम्म सफल पनि छन् । त्यस्तै उद्यमशीलता र व्यवसायिक प्रवृत्ति नेपालका अरु जातिमा पनि भेटिन्छ, जसमध्ये एउटा हो यही थकाली । व्यापारमा प्राय सफल यो जातिको व्यवसायिक दक्षता र जाँगरबाट सिक्नु पर्ने धेरै थियो मेरो जातिले, तर भोकै बस्नु परे पनि व्यापार व्यवसाय गर्नुहुन्न भन्ने त्यतिबेलासम्म पनि जमेको मेरो जातिभित्रको विकृत सोचाइले त्यसो गर्न दिँदैनथ्यो । यतिबेलाको त्यो प्रवृत्ति र सोचमा निकै सकारात्मक पवर्तन आइसकेको छ, जुन त्यतिबेला देखिँदैनथ्यो ।

यिनै एक्ली थकाल्नीले चलाएकी छन् यो होटेल– फगत दुईतिनजना सहयोेगी कामदारको भरमा । आफू मालिक्नी भएर हुकुम मात्र चलाउँदै बसेकी कहिल्यै देखिन मैले ! आफैं भरपूर खटिएकी देखिन्थिन् उनी । कामको खटाइसँगै ग्राहकहरूको चोखो ठट्टामा उनको मीठो जवाफ साथसाथै फर्किरहेका हुन्थे । फरासिलो र संकोचरहित खुलापनको सरल व्यवहारले आफ्ना सबै ग्राहकको मन जितीरहेकी देखिन्थी ऊ । लोग्ने जोमसोममा व्यापार गर्छ, थाकखोलाको घरबार पनि सम्हाल्नै पर्छ । तर उनीहरू ती बसै काम भ्याउँछन् । छोराछोरीको भविष्य सुनौलो पार्न जतिसुकै कष्ट र परिश्रम पनि खुशीखुशी स्वीकार गर्छन् उनीहरू । यो नेपाली चरिच हो, र हो मानवीय सभ्यताको कठिन यात्रा पनि । साँझ केही समय नजिकैका केही ठाउँ हेरेरै पोखरा घुमेको थप सन्तुष्टी लिन्छौं हामी र त्यो रातलाई पोखराकी थकाल्नीको त्यही होटेलको एकएकवटा विच्छ्यौनामा घुस्रिएर कटाइदिन्छौं, भोलिको प्रतीक्षामा ।

“लौलौ भाञ्जी, आफूजस्तै मीठो खाना ख्वाउनुहोस् हामीलाई !” जनकदाइ मीठो ठट्टा गर्न पनि सिपालु हुनुहुन्छ । पोखराको बासमा बिहान सबेरै चिया खाएर ६ बजे बसचढेका थियौं हामी तीनभाइ । स्याङ्जा, पर्वत, म्याग्दी आदि विभिन्न जिल्ला छुने सिद्धार्थ राजमार्गका अनेर्कौ खण्डहुँदै प्राय नागबेली हिंड्दै थियो हामीलाई बोकेर हिँडेको बस । पाल्पापस्ने गौंडाबाटै श्रीनगरको झल्को दिएर अझै उता राम्दी पुलपारि केराघारीमा आएर खानपिनको लागि विश्राम लिएको थियो हाम्रो बसले । त्यही विश्रामकालमा गरिएको जनक दाइको संवोधन थियो त्यो अर्की होटेलवाल्नी थकाल्नीप्रति । प्राय होटेल व्यवसाय गरेर बसेका तरुनी थकाल्नीहरूलाई ग्राहकहरू भाञ्जीको सम्बोधन गर्दारहेछन्, त्यहीँ गएर थाहा पाएको थिएँ मैले । प्राय ड्राइबरहरूको देखासिकी अरुले पनि यही संबोधन गरेको हुनपर्छ, मेरो अनुमान थियो । जे होस थकाल्नीहरू जुनठाउँमा बसेर व्यवसाय चलाए पनि उनीहरूको स्वभाव, व्यवहार र बोलीबचन उस्तै आकर्षक र मोहक हुन्छ । केराघारीकी यो थकाल्नी पनि फरक थिइन यसमा ।

थकाल्नी युवतीको मीठोमुस्कानको चटनीसँग स्वादिलो खाना खाएर हामी पुनः आफ्नो गन्तव्यतिर हानिएका थियौं । उकालो–ओरालो, भीर–पखेरो, बस्ती–शहरहुँदै अघि बढेको हाम्रो यात्रा बुटबल खस्यौली र बुटबल औद्योगिक क्षेत्रहुँदै अझै अघि बढिरहेको थियो । बुटबल खस्यौली एउटा प्रमुख नाका थियो भैरहवा, तौलिहवा, पोखरा, पाल्पा, कृष्णनगर, नारायणघाट, हेटौंडाआदि प्रमुखस्थलको । तिनै स्थलको प्रस्थानविन्दुका रुपमा रहेको बुटवल निकै व्यस्त र केही भव्य पनि देखिन्थ्यो त्यतिबेलै । मुङ्लिङ नारायणघाट बाटो बनेपछि भैरहवा–बुटबल आउन जान पोखराको साटो नया बाटो प्रयोग हुन थालेपछि केही फरक परे पनि अझै व्यस्त देखिन्छ बुटवल । पाल्पा भने बढी प्रभावित भएको छ नया बाटोबाट ।

बुटबलबाट अझै पश्चिम लाग्नु थियो हामीलाई निर्माणाधीन महेन्द्र राजमार्गहुँदै । यहाँदेखि पश्चिमको राजमार्ग खण्ड भारत सरकारको सहयोगमा बन््दै थियो । भारतीय काम र नेपाली कामको शैली प्राय उस्तै नहो, त्यसको अगाडि पछाडिका खण्ड बनिसके.पनि निर्माण कार्य भर्खरै चल्दै थियो यो खण्डमा त्यतिबेला । त्यसैले त्यही निर्माणाधीन राजमार्गको छेउछेउ बुङ्बुङ्ती धूलो उडाएर हिँड्ने बसको प्रतीक्षामा धुलाम्मे भएर उभिएका थियौं हामी ! लामो प्रतीक्षापछि आएको बसमा धूलो खाँदै अघि बढेको हाम्रो यात्रा लगभग तीन घण्टाको सफर पछि एउटा त्राश जन्माएर केही बेर अवरुद्ध हुन पुगेको थियो । पानबाटी झिमझिम भन्ने ठाउँको खाल्डाखुल्डीले भरिएको धुलाम्मे सडकबीच उभिएर बस राकिरहेका चारपाँचजना मानिस नै हाम्रो त्यो त्राशको कारण बनेका थिए ।

“लौ मा¥यो, डाँकाले बाटो रोकेजस्तो छ !” सहयात्री एउटा स्वरले सबैलाई चिसो बनाएको थियो । सुनेका थियौं, यो सुनसान र एकलास ठाउँमा प्राय दिउँसै डाँका लाग्ने गर्छ । यस भेगका अन्य क्षेत्रमा पनि डाँकाहरूले दुःख दिइरहन्छन् । सत्य जे होस् यतिबेला बसका हामी सबै यात्री आतङ्कित थियौं–ती बीच बाटोमा उभिएर बस रोक्ने मानिसहरूको गतिविधिका कारण । यो ठाउँमा हतपति कसैले बस नरोक्ने भएकोले यसरी बाटोमा उभिएर रोक्न वाध्य भएका रहेछन् ती यात्री । पछि त्यो कुरा थाहा पाएपछि सन्तोषको सास फेर्दै आतङ्कमुक्त भएका थियौं हामी ।

राति साढे छ बजेको थियो बुटबलबाट ३५ किलोमिटर मात्रै परको बाँणगङ्गा पुल छेउकै एउटा सानो बजार भेट्दा । भर्खरै बनेको त्यो पुल निकै लामो थियो । नेसनल कन्स्ट्रक्सन कंपनीले आफ्नौ इन्जिनियरहरूद्वारा बनाएको भन्ने सुनेपछि केही गर्व पनि महससुुस भएको थियो मलाई– हाम्रा नेपाली पनि कम छैनन्, अवसर पाएभने ।

तौलीहवा जानका लागि यहाँबाट अर्को बस समात्नु थियो हामीलाई । बस आउने नआउने कुनै ठेगान थिएन । त्यसैले खानपिनको काम सकेर प्रतीक्षा गर्नुमैं बुद्धिमानी थियो । बस नआएमा रात यही होटेलको खुला फलैँचामा विताउनु थियो, दोश्रो कुनै उपाय थिएन । भर्खरै बन्दै गरेको राजमार्ग छेउको यो ठाउँमा त्यति बेला अहिलेकोजस्तो होटेल र कुनै आश्रयस्थल थिएन । नौबजे आएको एउटा बस करबलले हामीलाई लैजान मञ्जुर भयो । राजमार्गको छेउछेउ डरलाग्दो जङ्गलको बाटो हुँदै बस अघि बढ्यो, मनमा अज्ञात भय जमिरहेको थियो । त्यसमाथि खुबै डाँका लाग्छ रे भन्ने सुनेपछि आतङ्कित हुनु अस्वभाविक थिएन । भन्थे, दिउँसो कुल्ली भएर रोडा कुट्ने केही भारतीय मजदूर नै रातिराति डकैती गर्छन् रे ! त्यो सत्य थियो थिएन, तर बसका हामी सबै यात्री भने त्रशित थियौं– डाँकाको संभाव्य आक्रमणबाट । बस जान गाह्रो मान्नुको कारण पनि त्यही थियो । रातको ११ बजे बल्लबल्ल बसले गोरुसिङ्गेको सानो बस्ती भेटेपछि हामीले सुरक्षाको सास फेरेका थियौं । त्यो क्षेत्रमा निकै राम्रो प्रभाव रहेछ जनक दाइको । उनी यो ठाउँमा रेञ्जर भएर कामगर्दा यहाँ बसाइँ सरेर आउने पर्वते नेपालीहरूलाई सक्दो सहयोग गरेका रहेछन् । त्यही भएर त्यहाँ उनलाई सबैले आदरको दृष्टिले हेर्दारहेछन् । एकजना बाहुनको सानो होटेलमा काट्यौं त्यो रात ।

त्यहाँबाट तौलिहवा १४ किलोमिटर पर छ रे । पुल भत्किएकोले बस आउन सक्दैन भन्ने सुनेपछि हिँडेरै त्यो यात्रा पूरा गर्नुको विकल्प थिएन । अघिल्लो दिन धूले सडकको पटयारलाग्दो लामो बस यात्राबाट थाकेको भए पनि विहान सबेरै आँखा खुलेको थियो भावी यात्राको तयारीका लागि । सामान बोक्न भनी जनक दाइले खबर पठाउनु भएको थारु निकै बेरसम्म आएन । त्यसैले हामी आआफ्ना समान बोकेर आफैं लागेका थियौं थारु गाउँतिर उसको खोजीमा ।

थारुको जातै सोझो । त्यसैले यिनीहरू सबैतिर दबाइएका छन् । यहाँको अवस्था पनि फरक थिएन । बाजी अर्थात मदिसे र पछि आएर यहाँ बसोबास गरेका पहाडी मूलका मानिसको शोषणबाट अछुतो थिएनन् ती थारुहरू पनि । त्यस ठाउँमा ठूलाठालु र त्यहाँ आउने आगन्तुकको भारी उनीहरूले चाहेको ठाउँसम्म पु¥याइदिनु पर्ने वाध्यता त्यही शोषणको एउटा परम्परागत रुप थियो ! यस प्रयोजनकालगि गाउँमा एउटा चौकीदारको नियुक्ति हुन्थ्यो । त्यस वापत गाउँलेले वार्षिक रुपमा केही अन्न ठेकेका हुन्थे उसलाई । आफ्नो भारी बोके वापत पारिश्रमिक दिनु पर्ने वाध्यता थिएन भारी बोकाउनेहरूलाई । कोही मन लाग्यो भने केही दिइ पनि हाल्थे, नभए माग्ने अधिकार थिएन तिनीहरूलाई ।

शोषणका अनेकौं रुपको परिचय पाएको थिएँ मैले त्यतिबेला । थारुहरू रातो दिन पसिना बगाउँथे, पसिना चुहाएर फलाएको अन्नपात भने अधिकांश ठूला ठालु र ठगहरूका मुठीमा पुग्थे । तिनको सोझोपनका कारण चलाक नेपाली र भारततिरबाट आउने मदिसेहरू तिनलाई दङ्ग्याएर आफ्नो मुठीमा पार्थे । धूर्त शोषकहरू धान कटनी, दाइँ आदिको समयमा एक बिरा पान र एक फाँक सूर्ति ख्वाएर बदलामा सोझा थारुहरूसँग आठदश–आठदश पाथी धान उठाउने गर्छन् रे । विचरा थारुहरू एक विरा पान र एक फाँक सूर्तीको मूल्य त्यति धेरै चुकाउनुपर्दा पनि आफूमाथिको शोषण बुझ्न सक्दैनथे ा सजिलै तिनीहरूको धुत्र्याइँमा विश्वास गरिँिदन्थे ती थारुहरू ा

नेपालीहरूबाट मात्रै नभएर भारततिरकाबाट समेत शोषण हुने गथ्र्यो तिनीहरूमाथि । बेलाबेलमा नाचगान र रामलीला देखाउन आउने गर्थे भारतीय रामलीला र नौटङ्कीवालाहरू । नाचगान देखाएर वर्षेनी सयौं मन अन्न लैजान्थे रे तिनीहरूयिनै गरिब थारुहरूबाट । नौटङ्कीवाला मात्र होइन भारतीय पण्डाहरूबाट अझ नराम्ररी सोसिन्थे थारुहरू । यो शोषणको मूलमा उनीहरूको धार्मिक आस्था र अन्ध विश्वास रहने गथ्र्यो । उनीहरू नेपाली पण्डित–पुरोहितलाई विश्वास गर्दैनथे, भारतीय पण्डा नै चाहिन्थ्यो तिनीहरूलाई । त्यसैले दुई–तीन वर्षको अन्तरमा पण्डाहरू त्यहाँ आउनेगर्थे ा गरिब थारुहरू राजसी हिसाबमा तिनको स्वगतसत्कार गर्थे । फर्कंँदा कुस्त दस्तुर र उपहार दिन्थे । आफू र आफ्ना बालबच्चाको मुखमा कहिल्यै घिउदूधको थोपा पार्न नसक्ने ती थारुहरू पण्डाको खातिरदारीमा दूध, घिउ र फफूलको वर्षा गरिदिन्थे । आफ्नो भएको एक टुक्रा जमिन पनि तिनै ठग पण्डाहरूलाई दान गर्थे र काल्पनिक स्वर्ग तथा मृत पुर्खाको कथित मुक्तिको सपना देख्थे ! पछि आफूले दान दिएको त्यही जमिन पण्डाबाट किन्न लागि सेठसँग ऋणको भारी बोक्थे ! अनवरत चलिरहेको छ तिनको जीवनमा यो शोषणको चक्र ! यसरी हरेक पाइलामा, हरेक व्यवहारमा ठगिँदै आएका छन् विचरा धरतीपुत्रहरू ! यतिसम्म कि तिनीहरू माछामार्न जाँदा समेत तिनलाई बोरा, कोदालो, भाँडा र यस्तै कुनै बस्तुदिएर ठग्ने धूर्तहरूको कमी थिएन त्यहाँ । माछा मार्न निस्केको बेला कसैले केही बस्तु दियोभने आफूले मारेको माछाको बराबर भाग लाउनुपर्छ भन्ने तिनको विश्वास नै ती ठगहरूको हतियार बनिरहेको हुन्थ्यो । यसलाई शोषण र अन्धविश्वास ठान्ने चेतना विकास हुन सकेको थिएन उनीहरूमा त्यतिबेलासम्म ।

“पुर्खाको चलन हो, नमानी कहाँ हुन्छ” हाम्रो सामान बोक्ने त्यो थारुको जवाफ यही थियो र यो जवाफले त्यतिबेलाका आम थारुहरूको जवाफको प्रतिनिधित्व गरिरहेको थियो ! यथार्थमा तिनको अति सोझोपन नै शोषणको सबैभन्दा ठूलो कारण बन्थ्यो, त्यही सोझोपनले तिनको चेतनामा पनि खिया लगाइदिएको थियो ।

पिछडिएका सोझा थारुहरूको परिवार प्रणालीमा भने अरु नेपाली जाति र समाजले पनि सिक्नुपर्ने कुराहरू थिए् । २५–३० जनासम्मको संयुक्त परिवारमा रहने थारुहरू आफ्ना परिवारका सबै सदस्यको भावनाको उत्तिकै सम्मान गर्छन् । त्यसैले जति सानो–ठूलोको बीच परिवारमा कुनै भेदभाव हुँदैन, मनोमालिन्य रहँदैन । बालकदेखि बृद्धसम्म विरामीदेखि सुत्केरीसम्म सबैको खानपिन र बरव्यवहार फरक हुँदैन । परिबारको सबैभन्दा सानो सदस्यले गरेको भए पनि त्यो बरव्यवहारले सबैको मान्यता पाउँछ । नाम राख्ने तरिका भने अनौठो थियो उनीहरूको– बालक जन्मेको बेला जुन जीव अगाडि आइपुग्यो त्यही नाम राखिदिने । त्यसैले कुकुरवा, स्यालवा, बाँदरवाजस्ता नाम आम सुनिन्थे त्यहाँ । डाक्टरभन्दा धामी र ओझाहरूमा विश्वास गर्थे थारुहरू ।

“विरामी भए पछि डाक्टरकहाँ जानु पर्दैन ? डाक्टरकहाँ गए पो रोग बिसेक हुन्छ” पछि सामान बोक्ने थारुसँग सोधेको थिएँ मैले ।

“के विश्वास डाङ्डरको, ओखती भनेर विष दियो भने नि ? डाक्टरले त पैसा पनि आफैंमात्र लान्छ । धामीओझालाई दस रुप्पें दियो भने दशपल्ट आउँछ, त्यही रुप्पेँले सबैलाई भोडा पनि ख्याउँछ । डाक्टर आएपिच्छे पैसा माग्छ, अनि कसले बोलाओस् डाक्टर !“ त्यतिबेला उसको प्रतिप्रश्नको कुनै जबाफ थिएन मसँग । विचरा सोझा थारुहरू आफैंले दिएको पैसाबाट ओझाले अलिकति भोडा अर्थात जाँडरक्सी ख्वाइदिए पछि मख्ख पर्छन र सधैं तिनको मुठीको माखो बन्छन् ! यो नियतिबाट उनीहरूको मुक्ति त्यति सहज थिएन, आज पनि सायद् उनीहरू त्यही नियति भोगिरहेका होलान् ।

गाउँभन्दा केहीपरको देवीथानले तिनको धार्मिक आस्था र विश्वासको झण्डा फहराइरहेको थियो । गाउँमा भूतप्रेत पस्न सक्दैन भन्ने विश्वासले देवीमन्दिरमा बाँधेझैं देखिने गरी राखिएका पोलेको माटाका हात्ती–घोडा, गाई–गोरु उनीहरूको कृषिनिर्भरता र जीवहरूबीचको अन्तरसम्बन्धको सङ्केत गरिरहेका थिए । थारु समाज मेरोभन्दा बढी स्वतन्त्र र समान थियो । ठूलासाना जोसुकै होस् एक आपसमा ठट्टा गर्नु सामान्य कुरा थियो तिनकालागि । कुनै कठोरता थिएन, निकै उदार र स्वतन्त्र लाग्थे उनीहरू यौनव्यवहारमा समेत ! यसले गर्दा यौनको नाउँमा महिलाउत्पीडन र भेदभावको संभावना कम देखिन्थ्यो । समाजमा महिलाको समान स्थान देखाउँथ्यो यो अभ्यासले । पोइल जाने, फेरि पुरानै लोग्नेकहाँ फर्कने कुरा समान्य थियो । एउटा बुरभोजले सबै कुरालाई चोख्याइदिन्थ्यो !

मुख्य पेशा खेतिपाति नै भए पनि उनीहरूको जीविकाको अर्को साधन थियो जिमिन्दारको हली र नोकरी । कति थारुहरूले मालिकको हली–नोकरीमैं पुस्तादरपुस्ता जीवन गुमाइरहेका थिए, संभवतः आज पनि विताइरहेकै होलान् । शोषणको यो कुरुप अनुहारले रुप फे¥यो होला, प्रवृत्ति पक्कै फेरेको छैन । घरको मुसा स्वास्नीमान्छेलाई, खेतको मुसा लोग्ने मान्छेलाई भन्ने उनीहरूको उखानले नै भन्थ्यो– मुसा उनीह्रूको प्रिय खाना थियो । स्ववलम्बन र आत्मनिर्भरताको अभ्यास वा पैसाको अभाव जे कारणले होस् टाढाटाढा जाँदा दाउरा, नून, आवश्यक सामलतुमल र ओढने ओच्छ्याउने सबै नै घरैबाट बोक्थे विचरा थारुहरू ।

राति कसैले टर्च बालेर गाउँतिर देखायोभने पनि डाँका आयो भनेर थर्थर काम्दै गाउँ छाडेर भाग्ने ती विचरा थारुहरूको त्यो स्वभाव र कायर देखिने व्यवहार युगौंदेखि जमिन्दार र ठूलाठालुबाट सोसिँदै आउँदा जन्मिएको स्वभाविक यथार्थ थियो सायद् । त्यसैले धन जम्मा गर्न हुन्न, डाँका लाग्छ भन्थे तिनीहरू ! तिनको त्यो बालसुलभ सोचाइ गाउँका शोषहरूका लागि सुनौलो हतियार बनिरहेको थियो– डाँकाबाट जोगिने होभने तिमीहरूसँग भएको धेरथोर सम्पत्ति हामीलाई देऊ, हामी सुरक्षित राखिदिन्छौं । अनि लिँदा हजार, पर्कँदा सय हुन्थ्यो कि पचास त्यति पनि हेक्का राख्न सक्दैनथे उनीहरू ! उनीहरूले लिएका ऋण भने हजारको सय–पचास होइन, सयपचासको हजार पन्ध्रसय हुनेगथ्र्यो । त्यसरी शोषण गर्नेमा बाहुन–क्षत्री र मधिसे–पहाडी मात्र थिएनन् । सङ्ख्यामा अवश्य नै बढी थिए ती, तर स्वयम् ठूलाठालु थारु जमिन्दारहरू पनि कम थिएनन आफ्नै जातिको शोषणमा । त्यो देख्दा लागेथ्यो वर्ग शोषण जात–जाति र भाषामूलमा नभएर आर्थिक वर्गीयतामा बढी निर्भर रहन्छ । हुन पनि उनीहरूको सोझोपनबाट तराइका जमिन्दार र सानाठूला जग्गाधनीले प्रशस्त फाइदा लुटिरहेका थिए । भूमिसुधार कार्यक्रम अन्तर्गत आफूले कमाएका जग्गामा सरकारले मोहियानी कायम गरिदिए पनि जग्गाधनीको एकै बचनमा फिर्ता गरिदिन्थे उनीहरू आफ्नो अधिकार ।

थारुगाउँबाट एकजना थारु लिएर हामी अघि बढ्यौं त्यहाँबाट । गोरुगाढाको अटुट लस्करले उडाएको कुहिरीमण्डल धूलोमा सम्पूर्ण धुलिँदै मध्यान्हतिर तौलिहवा जनक दाइको घरमा पसेपछि बल्ल मुक्तिको सास फेरेका थियौं हामीले । खानपिन पछि हाट बजार घुम्न निस्कँदा बाटैमा पर्ने जिल्ला अदालतमा कार्यरत मेरा भिनाजुलाई पनि भेटयौं हामीले । एउटा अर्को सुखद जम्काभेट भयो केशवराज अर्यालसँग । काठमाडौंमा २५–२६ सालतिर नर्मल तालिम लिँदादेखिकै परिचय थियो मेरो उहाँसँग । उहाँ स्वास्थ्य शिक्षा अर्थात पीटीका प्रशिक्षक हुनुहुन्थ्यो । गुरु–चेला भए पनि हामीबीच राम्रो संबन्ध थियो । एक छाक खाना खाने उहाँको निम्तो स्वीकारेर हामी अघि बढेका थियौं । यात्राको लाभ नयाँ मानिसहरूसँगको भेटघाट र परिचयका साथै माक्र्सवादी विचारधाराबाट प्रभावित भरत र चिन्तामणि ज्ञवालीसँगको भेट र परिचय नविर्सने बनेको थियो त्यतिखेर । सिद्धार्थ गौतमको पुख्र्यौली दरबार रहेको पं्रसिद्ध तिलौराकोटमा भइरहेको उत्खननस्थल हेर्नु त महत्वपूर्ण उपलब्धि छँदैथियो ।

तौलेश्वर महादेवको दर्शन र त्यहाँबाट बाणगङ्गाको छेउमा रहेको रामघाटका बूढा पूजारी अर्को नबिसैने सम्झना थियो त्यतिबेलाको । त्यो बूढो पूजारी अहिरले वाल्मीकि सम्झाइदिएको थियो मलाई त्यतिबेला । पहिले डाँका गथ्र्याे रे ऊ, जसरी वाल्मीकि हुनुपूर्व उनी व्याधागिरी गर्थे ! अनेकों ज्यान लिएको थिये रे यसले डकैतीको क्रममा । पछि वैराग्य लागेपछि घरबार छाडेर साधु बनेको रे ऊ । पाखुरामा गोली र तिघ्रामा भाला लागेको खत देखाएर ऊ आफैंले भनेको कुरामा विश्वास नगरी धर थिएन । संझनामा अरु पनि धेरै विम्बहरू चलमलाइरहेका छन् । तर सीमा अतिक्रमण सायद ठीक हुन्न, त्यसैले अरू लामो बनाउने अनुमति दिँदैन मेरो चेतनाले ।

साउन १६,२०६१

आरुबारी ।

उन्नयन, पूर्णङ्क ५७, २०६२कार्तिक–मंसिर–पुस

No comments:

Post a Comment