प्रधानमन्त्री मनमोहन अधिकारी भारतको औपचारिक भ्रमणमा आउनुपूर्व नै हामी सोही भ्रमण दलको सदस्यका रुपमा सहभागी हुन नयाँदिल्ली पुगिसकेका थियौं । त्यसको दुई दिपछि उहाँ भारतीय प्रधानमन्त्री पी.भी. नरसंिह रावको मैत्रीपूर्ण निमन्त्रणामा पाँचदिवसीय औपचारिक भ्रमणका लागि नयाँदिल्ली आउनुभएको थियो– २०५१ साल चैत २७ गते अर्थात १० अप्रिल १९९५को बिहान । सञ्चार मन्त्रालयले भ्रमण सुरुहुनु अगाडि नै त्यससम्बन्धी भारतीय धारणा र तयारीबारे पूर्वजानकारीको समाचार पठाउन हामीलाई अगाडि नै त्यसतर्फ पठाउने निर्णय गरेको थियो । यसरी अगाडि नै नयाँदिल्ली पुग्नेमा थियौं रेडियो नेपालबाट कुन्दन अर्याल, राइजिङ नेपालबाट युवनाथ लम्साल र गोरखापत्रबाट मआफैं । त्यहीबीच हामीले तत्कालीन भारतीय प्रमुख प्रतिपक्षी भारतीय जनता दलका नेता लालकृष्ण आणवाणी लगायत स्वतन्त्र पत्रकार आनन्दस्वरुप वर्मा, इण्डियन एक्सप्रेसका व्युरोप्रमुख अरुण श्रीवास्तव, नवभारत टाइम्सका विशेष प्रतिनिधि ओमप्रकाश तापस, तथा सोही अखबारका प्रतिनिधि विलोन अग्निीहोत्री आदि भारतीय पत्रकारहरूलाई भेटेर प्रतिक्रिया लिएका थियौं । प्राय पत्रकारहरूको धारणा थियो मुलुकको सार्वभौमिकतामा आकारको ठूलो सानोपनले फरक पार्दैन । सन् १९५०को नेपाल–भारत मैत्री तथा शान्ति संझौता समायानुसार पुनरावलोकन गरिनुपर्छ भन्ने पनि केहीको धाराणा थियो । नेपालले यो विषय प्रधानमन्त्रीको भ्रमणका अवसरमा दरिलैसँग उठाउने सोच बनाइरहेको पनि थियो । अघिल्लो दिनको जनसत्ताले पनि आफ्नो संपादकीयमा उक्त सन्धि ४५ वर्ष पुरानो भएकाले यसमाथि नया दृष्टिकोणबाट विचार गर्नु भारतका लागि पनि आपत्तिको विषय नहुनु पर्ने उल्लेख गरेको थियो । स्मरणीय छ, भारत त्यस अघि उक्त संझौता पुनरावलोकनको कुरा सुन्नसम्म पनि चाहँदैनथ्यो । प्रधानमन्त्री अधिकारीले आफ्नो भ्रमणक्रममा उक्त कुरालाई तर्कपूर्ण र प्रभावकारी ढङ्गले राख्नुभएपछि भारत समयानुकुल सुधारका लागि पुनरावलोकन गर्न सहमत भएको थियो ।
प्रधानमन्त्रीको भ्रमणकार्यक्रमबाट समय निकालेर घुमफिर गर्नु त्यति सजिलो र संभव हुने कुरा थिएन, त्यसैले प्रधानमन्त्रीको औपचभारिक भ्रमणपूर्व नयादिल्ली आगमन निकै लाभदायी सिद्ध भएको थियो मेरालागि । यसरी नै अगाडि आएबाट थोरै नै भए पनि दिल्लीलाई राम्ररी हेर्ने अवसर पाएका थिएँ मैले । हुन त दिल्ली अपरिचित र नैलो थिएन, यस अघि पनि निकै पटक आएको थिएँ म । २०४० सालतिर लगभग दुईहप्तै बसेको थिएँ–भारतको प्रेस इन्स्टिच्युट र आइडीआरसी क्यानाडाको आयोजनामा भएको विज्ञान लेखन कार्यशालामा सहभागी बन्न । त्यसैले अहिलेको यो भ्रमण पुराना संझनाहरूलाई ताजा बनाउन पनि सहयोगी भएको थियो ।
ईशापूर्व १४००तिर युधिष्ठिरको निर्देशनमा बसालिएको महाभारतकालीन इन्द्रप्रस्थ नै आजको नयादिल्ली हो भन्ने दावी कति सत्य हो, मलाई थाहा छैन । तर पनि दिल्लीको प्राचिनताबारे भने कुनै शंका थिएन । इशापूर्व पहिलो शताब्दीतिर बाटै इतिहासले दिल्लीको प्रामाणिक चर्चा गर्दै आएको हो । त्यही कालखण्डमा राजा ढिल्लुले अहिलेको कुतुब मिनार नजिकै एउटा सानो शहर बसाए, र आफ्नै नाउँबाट यसको नाउँ राखे दिल्ली ! त्यसपछि दिल्लीको निर्माण–पुर्निर्माण र विस्तारको क्रम पछिसम्मै चलिरह्यो । ढिल्लोपछि पृथ्वीराज तृतीयको हातबाट बाह्रौं शताब्दीको अन्त्यतिर मुसलमानहरूले दिल्लीको शासन खोसे । तिनै मुसलमान शासक कुतब–उद्दीनले त्यहाँ कुतुब मिनारको निर्माण गराउनुका साथै दिल्लीलाई राजधानी बनाए । उनीपछिका अलाउद्दीन खिल्लिजले दिल्लीको दोश्रो नगर बसाले– कुतुब मिनारको तीन माइल उत्तरपश्चिमस्थित सिरीमा । त्यसलाई अझ बढाए मोहममद तुगलकले । उनैले जनपथ नाउँमा नगरवरिपरि किल्ला निमर्काण गरे । कुतुबमिनार नजिकैको पुरानो शहर र सिरीको किल्लाबीच विस्तारै नया बस्तीहरू थपिँदैगए । पछि फिरोज शाहले भने सन् १३५४मा केही परको प्राचीन इन्द्रप्रस्थ नजिकै पाचौं शहरबनाएर राजधानी पनि त्यहीँ सारे । यो क्रम चल्दै गयो, अकबरका नाति शाहजहाँले सातौ शहर थपे शाहजहाँवादमा ! त्यही शाहजाहाँवाद हो आजको पुरानो दिल्ली । अंग्रेजले नयादिल्लीको निर्माण गरेर कलकत्ताबाट यहाँ राजधानी नसारुञ्जेल यही पुरानो दिल्लीले नै धानेको थियो, भारतको प्राचिन सहरको गौरव !
१६सय वर्षअघिको गुप्तकालीन भारतदेखि ब्रिटिस शासनसम्मका कलाकृति र वास्तुकलाबाट प्रसिद्ध पाएको छ दिल्लीले । भारतीय मुस्लिम वास्तुकलाको अनुपम भण्डार मानिन्छन् सुन्दर सिंहमर्मर र टायलको गुम्बज वा डोमका अनुपम कृति पुस्तुन तथा मुगल शैलीका मस्जिद, मिनार र विभिन्न स्मारकहरू ! दिल्लीकै गौरव हुन् उत्तरमुगलकालीन वास्तुकलाको प्रतिनिधित्व गर्ने लालकिल्ला र जामेमस्जिद ! अनुपम ठान्छन् वास्तुकलाका पारखीहरू लालकिल्ला र यसका रातो पत्थरले बनाइएको विशाल पर्खाल, बँगैचा, सैनिक व्यारेक, र अरु भवनहरू । ऐतिहासिक पुराना किल्ला र हुमायु मकवराको बीचमा रहेको नयादिल्लीका केन्द्रीय सचिवालय, संसद्भवन र राष्ट्रपति भवनका वास्तुले भने बृटिस उपनिवेशकालको संझना गराइरहेको अनुभव गराएथ्यो मलाई !
बिहानै साढे नौ बजे इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको प्रधानमन्त्रीको यात्रादल त्यहाँको सामान्य औपचारिकता पछि राष्ट्रपति भवनतर्फ प्रस्थान गराइएको थियो– औपचारिक स्वागत–सम्मानका लागि । यही राष्ट्रपति भवन उपनिवेशकालीन भारतका ब्रिटिस भायसरायको निवास थियो । जल, स्थल तथा वायु सेनाको संयुक्त सम्मानगारतसहितको औपचारिक स्वगत र परिचय कार्यक्रमपछि हाम्रा प्रधानमन्त्री र भारतीय राष्ट्रपति डा.शंकरदयाल शर्माका बीच द्वारका बैठक कक्षमा भेटवार्ता संपन्न भयो । पछि विदेशमन्त्री प्रणव मुखर्जीहरूले भेट गरेपछि प्रधानमन्त्रीका सार्थ हामी सबै लागेका थियौं विठ्ठलभाइ भवनतर्फ । त्यहाँ भारतीय स्वतन्तत्रा सेनानीहरूले आयोजना गरेका स्वगतसमारहोमा प्रधानमन्त्रीको स्रवोधनको कार्यक्रम थियो । आफू पनि भारतीय स्वतन्त्रता संग्राममा सहभागी रहनृुभएका मनमोहन अधिकारीप्रति निकै राम्रो सम्मानको भावना देखिएको थियो त्यहाँ । भावुक भनाइका बीच प्रभावशाली शैलीमा राखिएका उहाँको भाषण बेजोड थिए । त्यही संबोधनक्रममा उहाँले आफ्ना राष्ट्रिय हितका पक्षमा राख्नुभएको दरिला तर्कबाट त्यहाँ उपस्थित सबै भारतीय अत्यन्तै प्रभावित देखिन्थे । त्यहाँमात्र होइन त्यसपछिको इण्डियन इण्टरनेसलन सेण्टरमा जम्माभएका भारतीय विद्वत समुदायले पनि अधिकारीले सन् १९५० को सन्धि पुनरावलोकनको आवश्यकता बारे राख्नुभएको तर्कपूर्ण दृष्टिकोणको खुलेरै प्रशंशा गरेको थियो । तिनै कुरालाई हैदरावाद हाउसमा संपन्न दुई प्रधानमन्त्रीबीचको वार्तामा समेत बडो स्पष्ट रुपमा नेपालको धारणा राख्नुभएको थियो । त्यसकै फस्वरुप भारत पहिलोपल्ट सन् १९५०को सन्धिको पुनरावलोकन गर्न सहमत भएको थियो । त्यसै दिन भारतीय प्रधानमन्त्रीले आयोजना गर्नुभएको शान्त दिवाभोज भने दिउँसोतिरै भारतीय पूर्व प्रधानमन्त्री मोराजी देसाइको निधन भएकाले स्थगित गरियो, शोक मनाउन ।
विहानै राजघाटस्थित महात्मा गान्धीको समाधितर्फ लागेकबा थियौं हामी भोलिपल्ट । प्रधानमन्त्रीद्वारा गान्धी समाधिमा माल्यार्पण र वृक्षारोपण पश्चात भारतका केही मन्त्रीहरूको शिष्टाचार भेट थिए आजका प्रारम्भिक कार्यक्रमा । राष्ट्रपति र उहाँकी श्रीमती विमला शर्माद्वारा आयोजित दिवाभोज पछि विज्ञानभवनमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । मैले यस अघि त्यति शसक्त र प्रभावशाली पत्रकारसम्मेलन देखेको थिइन । नेपाली राजनेताहरूमा प्रभावशाली ढङ्गबाट तर्कपूर्ण रुपमा प्रेसको सामना गर्न सक्ने संभवतः मनमोहन र कृष्णप्रसाद भट्टराई नै हुनुहोला । कहिलेकाहीँ गम्भीर विषयलाई पनि हल्का ठ्टामा उडाइदिने भट्टराइजीको बानीले उहाँको त्यो क्षमतालाई कमजोर तुल्याइदिन्थे, तर मनमोहनजीमा त्यस्तो कुनै कमजोरी देखिँदैनथ्योे । वीपीको प्रेस कन्फरेन्स देखिएन । कस्तो हुन्थ्यो, भन्ने कुरै भएन । हामी नेपाली पत्रकारको जस्तो विना सोच, विना अध्यन र विना तयारी जतिबेला जे मनमा आयो त्यही सोध्ने अभ्यास हेर्दा ती प्रश्नको चित्तबुझ्दो जवाफ दिनु त्यति कठिन नहोला । तर धेरै भोटो फटाइसकेका अनुभवी भारतीय पत्रकारहरूका अध्ययनपूर्ण गम्भीर प्रश्नको जवाफ त्यति सहज हुँदैन । त्यसमाथि कतिपय सन्दर्भमा आफ्नै दरिलो पूर्वधारणामा आधारित पूर्वाग्रहप्रेरित प्रश्नको चित्त बुझ्दो स्पष्ट जवाफ दिनुसक्नु निश्चय नै खेलाँची होइन । त्यसैले जस्तोसुकै प्रश्नमा पनि प्रभावशाली भाषामा छोटो, तर्कपूर्ण र चित्त बुझ्ने प्रधानमन्त्री अधिकारीको जवाफ सुनेपछि त्यसबाट प्रभावित नहुने त्यहाँ सायद कोही थिएन । भारतीय प्रेस र विद्वत जगतबीच निकै चर्चित रहेको थियो त्यो पबकार सम्मेलन । विद्वतापूर्ण (विट्टी) उहाँका स्पष्ट धारणाबाट भारतका उच्चस्तरीय नेता, पत्रकार, बुद्दिजीवी, उद्योगव्यापारी सबै नै प्रभावित देखिन्थे । दिल्लीमा मात्र होइन, भ्रंमणक्रममा कलकत्त प्रेसक्लब, मुम्वई सबैतिरको सम्बोधनमा उहाँले राम्रो प्रभाव छाड्नुभएको थियो । नेपालका धारणा स्पष्ट र कुशलतापूर्वक राख्नु भएर आफ्नो विद्वताको परिचय दिनुभएको थिो । भारतीय प्रेस र बौद्धिक समुदायका आक्रामक प्रश्नहरूको दृढतापूर्वक बुद्धिमत्तापूर्ण जवाफबाट प्राय सबै आश्चर्यचकित देखिन्थे । उनीहरूको मुखमुद्राबाट लाग्थ्यो, नेपालमा बौद्धिक नेताहरू छैनन् भन्ने उनीहरूको धारणा भत्किएको छ । तिब्बतीहरूलाई नेपालमा किन जृुलुस निकाल्न दिइएन भन्ने प्रश्नमा दिइएको तिब्बती मात्र होइन, हामीले काश्मिरीहरूलाई पनि नेपालमा गतिविधि गर्न दिएका छैनौं भन्ने जवाफबाट निरुत्तर बनेको उनीहरूको अनुहार हेर्न लायक लागेको थियो मलाई त्यतिखेर । सन् १९५०को नेपाल–भारत सन्धिमाथि पुनरावलोकनको आवश्कता, सुरक्षा छाताको भारतीय अवधारणाको दृढ अस्वीकृतिजस्ता पक्षमा अधिकारीका तर्कपूर्ण प्रस्तुतीको भारतमा निकै चर्चा र प्रशंशा भएका थिए । यही सफलताको फलस्वरुप नै भारत इतिहासमैं पहिलोपल्ट उक्त सन्धि पुनरावलोकन गर्न सहमत भएको थियो । भ्रमणक्रममा जारी संयुक्त विज्ञप्तिमा उक्त सन्धिका विषयमा छलफ जारी राख्ने दुबैपक्षबीच सहमतिका पछाडि नेपाली प्रधानमन्त्री अधिकारीको कम परिश्रम थिएन । प्रधानमन्त्रीको दिनभरको भेटघाट र सभासम्मेलनको थकान साँझमा भारतका लागि नेपालका राजदूत हर्षनारायण धौभडेलले आयोजना गर्नुभएको भेटभाट र रात्रिभोजले रामै्रसँग मेटाइदिएको थियो ।
रात्रिभोजपश्चात प्रधानमन्त्रीज्यूको नयँदिल्लीस्थित नेपाली राजदूतावास निरीक्षणक गर्ने कार्यक्रम थियो । त्यही बेला भारतबाट फर्केपछि लगत्तै हुने प्रधानमन्त्रीज्यूको जनगणतन्त्र चिन भ्रमणमा समाभागी सदस्यहरूको नामावली आइपुगेको थियो दूतावासमा ! गोखापत्रबाट हामी नै अर्थात म र युवनाथ लम्साल परेका रहेछौं चिन भ्रणमा पनि ! कूटनीतिक राहदानी र प्रवेशाज्ञाका लागि आवश्यक पर्ने नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पठाउन त्यहीँ नै भनियो हामीलाई । भारतका लागि राहदानी नचाहिने भए पनि नागरिकताका प्रमाणपत्र लिएर जानु राम्रो भन्ने साथीहरूको सल्लाहले त्यो बोकेको हुँदा राम्रै भयो–नत्र असजिलो पथ्र्यो ।
विज्ञानभावन, राजघाट, शान्तिभवन र सुन्दरवाटिका आदि स्वतन्त्रता पछिको भारतीय वास्तुकलाका नमूना मानिन्छन् नयादिल्लीमा । यमुना किनारको गान्धीस्मारक राजघाट, नेहरुस्मारक शान्तिभवन, लालबहादुर शास्त्रीे स्मारक र विजय भवन सबै नै सुन्दर वाटिका सहितका हेर्नलायक ठाउँ हुन्, नयादिल्लीका । सधैं व्यस्त रहने झण्डै एक करोड बासिन्दाको शहर दिल्लीका सडक छात्तिमाथि चल्ने लाखौं सवारी साधनहरूले सुविधा मात्र होइन कर्कस आवाजको ध्वनि र पिरो धुवाँको वायु प्रदूषण पनि बढाइरहेका छन् । दिल्लीका स्मारक, सुन्दर पार्क र सुन्दर तलाउहरूले दिनखोज्ने शान्ति र स्वच्छता र शीतलता ती असंख्य सवारीबाट निस्कने कर्कस आवाज र कालाधुवाँसँग लाप्पा खेःदाखेल्दै शिथिल बन्छन् सायद् । मेरो सहरमाजस्तो ती पनि नहुँदाहुन् त कति कति कुरुप र शिादग्रस्त हुन्थ्यो होला यो महानगर ? कति जटिल हुन्थ्योहोला यहाँको जीवन ! यस्ता केही कुरा छाडेरै पनि धेरै छन् दिल्लीमा हेर्ने ठाउँहरू–रेडफोर्टको दक्षिणपूर्वमा मुगल सामथ्र्यको साक्षी बनेर ठडिएको छ छैटौं शताब्दीको हुमायुको मकबरा । त्यसैको छेउमा सहअस्तित्वबोध गराइरहेछ जीवजन्तु र वनस्पतिको सुन्दर संसार चिडियाघर । नजिकै यमुना नदीको किनारैको सुन्दर बगैँचा र त्यसकै उत्तरपटिको पुरानो किल्ला अर्थात ओल्ड फोर्ट । ती सबैले नै दिल्ली र यसको विगत–वर्तमानका सम्वृद्धि र सभ्यताको गाथा गाइरहेका देखेको थिएँ मैले । ! तीमध्ये पनि अझै सुन्दर लागेको थियो १५औं शताब्दीका चिहानहरू सहितको सुन्दर पार्क– लोदी गार्डेन । यस अगाडि दुई हप्ता दिल्ली बस्दा यही लोदी गार्डेन बनेको थियो मेरो खाली समय बिताउने रुचिको ठाउँ । चाँदनीचोक त छँदैथियो, साँझ–रातको चकाचौंधमा किनमेल र खानपिनको आकर्षक थलो । नयाँ दिल्लीलाई सफा राख्न जति नयाँ दिल्ली महानगर पालिका सफल देखिन्थ्यो, त्यति नै असफल थियो देल्ही म्युनिसिपल कर्पोरेसन पुरानो दिल्लीलाई सफा र सुन्दर राख्न !
लगभग डेढकरोड बासिन्दाका बीच यी सौन्दर्य, यी रमझम र सम्पन्नतापूर्ण भीडभाडमा दारुण जीवन विताइरहेका झोपडपट्टीका ३० लाख जति दिल्लीवासीहरूको कथा भने हतपति देखिँदैनथ्यो सामान्य हेराइमा ! बाहिरी तडकभडकमा छोपिएका ती विपन्नहरूले भोगेका यथार्थ कतै मेल खाएको देखिँदैनथ्यो सभ्य–स्म्पन्न दिल्लीको यो सिङ्गापटारयुक्त अनुहारसँग । सायद् बेग्लै थिए तिनका यथार्थ, अलग्गै थिए तिनका कथाव्यथा । त्यो यथार्थ र त्यो विडम्वना दिल्लीको मानवसभ्यता र वैभवप्रति नै गंभीर चुनौती झैं लागेका थिए मलाई प्रत्येक पल्टको दिल्ली भ्रमणमा ।
बेलायती शासकले कलकत्ताबाट यही दिल्लीमा राजधानी सारेर रेसिना हिलमा बनाएका भायस रायनिवास नै अहिलेको राष्ट्रपति भवन थियो । यसकै वरिपरि नयाँ दिल्लीको निर्माण गरेकाथिए एड्विन ल्युटेन्स र हर्बट बेकरलेले । यसको हर्टिकल्चर विभागले अहिले पनि नयादिल्लीलाई हराभरा तुल्याउन भरमग्दुर प्रयास गरिरहेको छ– सातवटा पार्क र लगभग ५० वटा राउण्डएबाउट्स सहित १०३१ एकड जमिनमा हयिालीपूर्ण वातावरण कायम राखेर । लोधी गार्डेन तिनैमध्येको एउटा सुन्दर पार्क थियो । ब्रिटिस शासकहरूले व्यवस्था गरिदिएका कनाट प्लेस वरिपरिका रुखहरूको लहरले घेरिएको सडक देखेर सधैं गर्व गथ्र्यो नयादिल्ली । रोबर्ट टोर रसेलको परिकल्ना थियो भनिन्छ यो कनाटप्लेस । ट्राफिक र मानव सागरको भीडमा सधैं जाम हुने नयाँ दिल्लीको यो प्रमुख व्यापारिक केन्द लर्ड कनाटर बेलयाती उपनिवेशको सम्झना गराउने उपनिवेशकालीन स्मारक र पूर्वीय तथा पश्चिमी वास्तुकलाको सम्मिश्रित नमूनाका रुपमा अझै गौरव मानिरहेझै लाग्थ्यो । दिल्लीलाई हेर्ने धोको हत्पति मेटिने कुरा थिएन, तर पनि सीमित समयको घुमन्ते मेरा लागि आफ्नो सबै धोको पूरा गर्न कसरी सम्भव हुन्थ्यो र ! त्यसैले चाहनाहरू अधुरै छाडेर दिल्लीसँग विदा लिँदैथिएँ म यसपटकको यात्राबाट । अब हामी कलकत्ता लाग्ने तर्खरमा थियौं ।
सास्कृतिक चेतनाको नगर
द्विपक्षीय–बहुपक्षीय वार्ता, संझौता–सहमतिमा हस्ताक्षरजस्ता प्रधानमन्त्रीको औपचारिक भ्रमणका प्राय सबै महत्यपूर्ण कामहरू सकिइसकेका थिए । प्रधानमन्त्रीको साथसाथ हामी सबै नै नयादिल्लीसँग यसपटककालागि विदाइको हात मिलाउँदैथियौं । बिहानै राष्ट्रपति भवनको विदाइ चियापान पछि दिल्लीको पालम विमानस्थलबाट साढे दश बजे उडेको भारतीय वायु सेनाको विशेष विमानले कलकत्ता विमानस्थलमा उतारिसकेको थियो हामीलाई दुई घण्टाको उडानपछि । होटेल ताज बङ्गालको खानासँगै प्रधानमन्त्रीज्युका औपचारिक कार्यक्रमहरू सुरु भैसकेका थिए । पश्चिम बङ्गालका मुख्यमन्त्रीद्वारा शिष्टाचार भेट, गभर्नरसँगको भेटवार्ता र गभर्नरद्वारा आयोजित रात्रिभोजमा सहभागिता, यिनै थिए कलकत्तामा पहिलो दिनका प्रमुख औपचारिक कार्यक्रम । त्यसदिन साँझमा कलकत्तास्थित हामै्र वाणिज्यदूतावाले आयोजना गरेको स्वागत कार्यकमले भने आफ्नै घरेलु वातावरणको आभास पाएका थिर्यौ हामीले । सायद त्यसकै प्रभावले होला, अलि बढी नै अनौपचारिक र उन्मुक्त देखिएका थिए हाम्रा नेपालीहरू त्यतिबेला । अघिपछि विदेशीहरूले दिएका भोजमा सङ्कोचका कारण अलि संयमित र सन्तुलित देखिएका यात्रासहभागीहरू नेपालीकै यो कार्यक्रममा भने आफूलाई नियन्त्रण गर्न सकिरहेका देखिँदैनथे । विदेशी तरल पेयमा झुम्मिएका हम्रा विशिष्ठ अनुहारहरूको गतिविधि र भावभङ्गी देख्दा कस्तोकस्तो लागेको थियो, हामीमध्ये केहीलाई ! यात्राका सहभागी केही पत्रकार अनुहारको तरलपेयप्रेमका बारे त म पहिलेदेखि नैं परिचित थिएँ । तर त्यतिबेला एक जना माननीय ती पत्रकारलाई पनि पछि पार्ने होडमा देखिएको घटना मेरालागि नितान्त नौलो थियो ।
उपनिवेशकालीन भारतका मालिक अङ्ग्र्रेजहरूले युरोपेली राजधानीकै शैलीमा विकास गर्ने प्रयत्न गरेका थिए कलकत्तालाई । त्यही महानगर कलकत्ता अहिले भारतकै अति घनामध्येको एउटा महानगर बनेको थियो । त्यसैले बलियो युरोपेली संस्कृतिको प्रभावका बीच आफ्नो विशिष्ठ पहिचान र सम्वृद्ध बंगाली कलासंस्कृतिलाई जोगाउन सधैं संघर्षशील रहनुप¥यो कलकत्तालाई । त्यसैले तीब्र विरोधाभाषमा बाँचेको स्पष्ट देखिन्थ्यो यो प्राचिन सांस्कृतिक गौरवको प्रतीक वृद्ध नगर । त्यही संघर्षको क्रममा पश्चिम बंगालले रविन्द्रनाथ ठाकुरजस्ता कवि र विद्वानहरूलाई जन्म दियो, असंख्य साहित्यकार, कलाकार र चिन्तकहरूलाई हुर्कायो । त्यही संघर्ष र कलासंस्कृतिप्रतिको तीब्र चेतनाले नै भारतका अन्य नगर र राज्यहरूभन्दा अग्रपङ्क्तिमा राख्नसक्यो यसले आफूलाई । फलस्वरुप १९सौं शताब्दीमा कलकत्ताले रवीन्द्रनाथ ठाकुरको नेतृत्वमा थालेको साहित्यिक अभियानले सिङ्गो भारतलाई प्रभावित तुल्यायो । सन १९१३मा नोवेल पुरस्कारद्वारा सम्मानित ठाकुरको त्यो नेतृत्वमा बंगाली तथा सिङ्गो भारतीय साहित्य, संगीत, नाट्य र ललितकलामा नया तरङ्ग आयो । रवीन्द्र नाट्य–संगीत मात्र होइन, पश्चिमा मञ्चीय प्रविधिको बंगाली परम्परागत नृत्यमञ्चको सफल प्रयोगभूमि पनि हो उदयशङ्करको यो कलकत्ता ! गिरिश चन्द्र घोष र दिराबन्धुमित्र जस्ता नाटककारले नवीन नाट्य प्रविधिको विकास गरेका यही कलकत्तामा सत्यजीत रायर मृणल सेनजस्ता प्रतिभाले भारतीय चलचित्रलाई कलात्मकताको शिखरमा पनि पु¥याए । यिनै सबै प्रयासले यो नगरलाई सिङ्गो भारतकै सांस्कृतिक केन्द्रको् रुपमा स्थापित ग¥यो । एसियाटिक सोसायटी, बङ्गाल साहित्य परिषद्, रामकृष्ण मिसन इन्स्टिीच्युट अफ कल्चर, ललितकला एकेडेमी, बिरला कलासंस्कृति एकेडेमी र महाबोधी सोसायटीका साथै संग्रहालय र संपन्न पुस्तकालयहरू कलकत्ताको सांस्कृतिक–शैक्षिक चेतनाको साक्षी बकी रहेका छन् । यिनै कला–साहित्य र संस्कृति चेतका कारण राजनीतिक तथा बौद्धिक चेतनामा पनि अगाडि रहन सफल भयो पश्चिम बङ्गालको राजधानी यो कलकत्ता ! भनिन्छ यहाँका पुस्तक मेला, कलाप्रदर्शनी र सांगीतिक कार्यक्रममा जति सङ्ख्यामा दर्शक ओइरन्छन्, कुनै पनि अरु भारतीय शहरमा त्यो देख्न पाइँदैन । वास्तविक सम्पन्नता के हो, मुम्बई वा दिल्लीको भौतिक तडकभडक अथवा कलकत्ताको बौद्धिक–सांस्कृतिक चेत ? यी तीन ठाउँ देखेपछि मेरो मनमा उठेको प्रश्न थियो यो । कलकत्ताका विशाल र असंख्य सार्वजनिक पुस्तकालय–संग्रहालयहरू देखेर मेरा आँखा अगाडि मेरो आफ्नै राजधानीको नियतिले पीडाबोध गराइरहेथ्यो । खोई त्यस्तै सार्वजनिक पुस्तकालयहरूको स्थापना र संरक्षण गर्न सकेको मेरो देशले ! भएका पुराना पुस्तकालयहरू समेत सर्वसाधारणको पहुँचमा छैनन् ।
यो सांस्कृतिक वैभव र परम्परा जोगाउने काममा अहिले कलकत्ता पनि अनेकौं चुनौतीहरू बेहोर्दै छ । आफ्नो प्राचिन वैभव र संस्कृतिक गौरव विस्तारै गुम्दै जान थालेकोमा यसको अनुहारमा पनि गंभीर चिन्ताका रेखाहरू देखिन थालेका छन् । तर यो हाम्रोजस्तो जिन्ता मात्र गर्दैन, विगत गौरवका किम्बदन्तीहरूलाई वर्तमानमा पनि जीवित राख्न संघर्ष पनि गरिरहन्छ ! अहिले पनि यसका बासिन्दा आफू सुरुचिपूर्ण सांस्कृतिक नगरका नागरिकको रुपमा गौरव महसुस गर्न रुचाउँछन्् । त्यसैले आफूलाई चमकदमकपूर्ण मुम्बईको ग्ल्यामर र पैसाकै लागि मरिमेट्ने बहुसंस्कृतिको दिल्लीभन्दा बेग्लै सांस्कृतिक चेतनाको नगर देखाउन प्रयत्नरत देखिन्छन् नीहरू आफ्नो कलकत्तालाई । बङ्गालले आफ्ना विशिष्ट कवि–साहित्यकार मात्र जन्माएन, संगीतकार, नृत्याङ्गना मात्र जन्माएन, औपनिवेशिक शक्तिविरुद्ध आगो ओकल्ने बहादुर र मानवीय संस्कृतिका प्रवक्ताहरू पनि यथेष्ट जन्मायो ।
कालीक्षेत्रबाट अपभ्रंश बङ्गाली कालिकाता अङ्ग्रेजी जिब्रोले कोलकोता बनाए पनि मेरो नेपाली जिब्रोमा सधैं कलकत्ता नै भएर झुण्डिइरह्यो । सन् १९१२मा दिल्ली सारिनु अघिसम्म सिङ्गो भारतकै राजधानीको गौरव बोकीरहेको कलकत्ताले विभाजनको नमिठो पीडा पनि भोग्नुप¥यो । सन् १९०५सम्म आजको पूर्र्वी बङ्गाल अर्थात बङ्गलादेश, आसाम र पश्चिम बङ्गाललाई समेत आफूभित्रै समाहित गरेको थियो यसले । तिनै विभाजनबाट दुखका दिन देख्न सुरु गरेको कलकत्ताले दोश्रो विश्वयुद्धमा जापानी बमको नराम्रो प्रहार पनि सहनु प¥यो ।
कार्यालय, होटेल र ठूलाठूला पसलहरूले भरिएको कलकत्ताको चौरङ्गी क्षेत्र कुनैबेला शाहीभवनहरूको श्रृङ्खलाले भरिएका थियो रे । गगनचुम्बी भवन निर्माणतर्फ विस्तारै आकर्षित हुन थालेको उत्तरी र केन्द्रीय कलकत्तामा भने अझै प्राय दुईतले भवनहरूकै बाहुल्य देखिन्थ्यो । मानिसहरूको भीडैभीडले भरिएको कलकत्ता आफ्नो जनसंख्याको तीब्र चाप मात्र होइन, बङ्गालको विभाजन र बङ्गलादेशको युद्धका कारण असंख्य शरणार्थीको चाप समेत थेग्न बाध्य भएको छ । त्यसमा अरू भीड थपेकाछन् कामको खोजीमा आउने उत्तरप्रदेश, विहार र उडिसाजस्ता छिमेकी राज्यका आप्रवासीहरूले । गङ्गा नदीको एउटा पाखुरो हुग्ली नदी कलकत्ताको सभ्यता मात्र होइन बङ्गालको खाडीसम्म पुग्ने सहज पहुँच पनि हो यसको । हेर्ने धेरै थिए, आँखा र मन अघाएको थिएन । तर हामी थियौं समयका कैदी, त्यसैले अतृप्त मन लिएरै विदा लिएका थियौं हामीले यो भारतीय सांस्कृतिक चेतनाको महानगरीसँग !
गान्धको सेवाग्राम
कलकत्ताको सङ्क्षिप्त यात्रापछि २०५१ सालको चैत ३० गते अर्थात सन् १९९५को अप्रिल १३ तारिख बिहानै हामीले होटेल छाड्यौं । अब हाम्रो गन्तव्य अहमदावाद हुँदै मुम्बई थियो ! हामी अबको यात्रामा दुई टोलीमा बाँडियौं । प्रधानमन्त्री भारतीय वायुसेनाको विशेष विमानद्वारा गुजरात राज्यको हैदरावाद हुँदै मुम्बई जानुहुने कार्यक्रम थियो । अरु बाँकी सदस्यहरू नियमित उडानद्वारा कलकत्ताबाट सोझै मुम्बई । यात्रादलका हामी ५४सदस्यमध्ये प्रधानमन्त्रीसँग हैदरावाद जाने टोलीमा श्रीमती अधिकारी त हुनुहुन्थ्यो नै, मन्त्री सीपी मैनाली, राज्यमन्त्री हरिप्रसाद पाण्डे, मुख्यसचिव–र सचिवहरू, राजदूतद्वय हर्षनारायण धौभडेल र केभी राजन, सांसद् हृदयेश त्रिपाठी, ढुण्डीराज शर्मा, बुद्धिमान तामाङ, शाहना प्रधान र रामकुमार ज्ञवालीकासथै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुनिल पौडेललसँगै हामी तीन पत्रकार म, युवनाथ लम्साल र राससका एकजना मित्र ।
दमदम विमानस्थलबाट सवा आठ बजेतिर उडेको भारतीय वायुसेनाको विशेष विमानले अढाइ घण्टाजतिको उडानपछि भारतीय पश्चिमी समुद्रतटमा रहेको गुजराती राजधानी अहमदको जमिन टेकेको थियो । अहमदावाद ओर्लिँदा सूर्यदेव आफ्नो प्रचण्ड रुप देखाइरहेका थिए । अरव सागर, पाकिस्तान र भारतकै राजस्थान, मध्यप्रदेश तथा महाराष्ट्रद्वारा घेरिएको गुजरात राज्य १६ सय किलोमिटरजति लामो समुद्री तटमा फैलिएको थियो । राज्यकै सबैभन्दा ठूलो शहर मानिन्थ्यो अहमदावादको उत्तरतिर अवस्थित यसको पूर्वराजधानी गान्धीनगर । भारतकै प्रमुख सूती कपडाको केन्द्र मानिन्थ्यो यो राज्य । हुणहरूकै एउटा उपजाति गुर्जरबाट नामाकरण भएको गुजरातका शासक तिनै हुण थिए, आठौ र नवौं शातब्दीतिर । सन् १९६०मा बम्बैलाई भाषाका आधारमा महाराष्ट्र र गुजरात राज्यका रुपमा छुट्याएपछि यसले वर्तमान राज्यको स्वरुप पाएको थियो ।
गुजरात राज्यका गभर्नर, उद्योग तथा वाणिज्य मन्त्री र अन्य विषिष्ठ अधिकारीहरूद्वारा गरिएको विमानस्थलको स्वागत पछि हाम्रो यात्रा टोली सिधै सावरमती आश्रम तर्फ लागेको थियो । यही सावरमती आश्रम भारतीय स्वतन्त्रता आन्दोलन सञ्चालन गर्ने महात्मा गान्धीको मुख्य कार्यालय बनेको थियो । सन् १९३४मा आफ्नो पार्टी भारतीय राष्ट्रिय काङ्ग्रेसले सत्याग्रहलाई स्वतन्त्रता, जातिभेद तथा विपन्न जनताको आमूल परिवर्तनको आधार बनाउनुभन्दा बढी राजनीतिक हतियार बनाउन थाले पछि महात्मा गान्धीले चित्त दुखाए । त्यही कारण उनले नेतृत्वबाट मात्रै होइन, कांग्रेस सदस्यताबाटै राजिनामा दिए । त्यसपछि सावरमती नदीको किनारामा अवस्थित मध्यभारतस्थित यही अहमदावादको सेवाग्रामलाई आफ्नो आश्रम बनाए उनले । दोश्रो विश्व युद्ध सुरुभएपछि उनले फेरि एकपटक स्वतन्त्रता आन्दोलनमा सक्रियता देखाए । मुम्बइबाट ४४० किलोमिटर उत्तरमा रहेको अहमदावादको यही आश्रमबाट फेरि आन्दोलनको नेतृत्व गर्नथाले ।
मुसलमान शासक सुल्तान अहमद शाहले सन् १४११मा विकास गरेका अहमदावाद नगरले बढी प्रसिद्धि भने गान्धीको यही सावरमती आश्रम र सेवाग्रामका कारण पायो । महात्मा गान्धीबाटै सेवाग्रामको नाउँ पायो पूर्वी महाराष्ट्रको यो सेगाउँले ! सन् १९३६ तिर सावरमती आश्रम छाडेर महात्मा गान्धी यस ठाउँमा आश्रम बनाएर बस्नगाले, यहीँबाट स्वतन्त्रता आन्दोलन हाँके । नइ तालिम संघ नाममा उत्पादनमूलक शैक्षिक संस्था खोलेर त्यहाँका मानिसमा आफ्नो आवश्यकता आफैं पूरा गर्न सक्षम तुल्याउने आत्मनिर्भर समाजको जग हाले । लगभग अढाई घण्टाको निकै छोटो अहमदावाद भ्रमणमा सावरमती आश्रम र सेवाग्रामका सुन्दर स्थल, महात्मा गान्धीसँग सम्बन्धित बस्तुरू, महात्मा गान्धीका कृतिहरूको सुन्दर संग्रह, खादी उद्योगका गान्धी प्रयासहरू हेर्न पाउनु निकै उपलब्धिपूर्ण रह्यो मेरालगि ! महात्मा गान्धीको घर गुजरातमैं थियो । आफ्ना बाबु करमचन्दसँग पोरबन्दरमैं विताएका थिए गान्धीले आफ्नो वाल्यकाल । गान्धीका बाबु दिवानका रुपमा कार्यरत थिए त्यही गुजरातको पोरबन्दरमा ।
पूर्वनिर्धारित कार्यक्रम नभएपनि प्रधानमन्त्री अधिकारीसँगै केहीदिन अघिमात्रै दिवङ्गत हुनुभएका भारतका पूर्व प्रधानमन्त्री मोरारजी देसाइको समाधिमा श्रद्धासुमन अर्पण ग¥यौं हामीले । अहमदावाकै गोसालास्थित देसाइको समाधिस्थलमा श्रद्धासुमन चढाउने पहिलो विदेशी सरकारप्रमुखमा अधिकारी नै हुुनुहुन्थ्यो । विमानस्थलको विदाइपछि विशेष विमानले मुम्बईका लागि अहमदावाद छाड्यो, दिनको साढे एक बजे ।
अन्तरविरोधपूर्ण महानगर
एक घण्टाको उडानपछि अहमदाबादबाट मुम्बई विमानस्थल उत्रिएका हामी होटेल ओबेराय आइपुग्दा अगाडि आउने साथीहरू पुराना भैसकेका थिए । कति घुमघाममा निस्किएका थिए, कति होटेलमैं थकाइ मारिरहेका थिए हामी पुग्दा । मुम्बई आगमन पछि प्रधानमन्त्रीको त्यस दिनका कार्यक्रथिए– महाराष्ट्रका मुख्यमन्त्रीद्वारा शिष्टाचार भेट र मुम्बईका गभर्नर स्मृति अलेक्जेण्डरसँगको भेटवार्ता आदि । त्यसपछि थियो गभर्नरद्वारा प्रधानमन्त्रीको सम्मानमा रात्रिभोजको आयोजना । यी औपचारिक कार्यक्रमहरूमंै वित्यो मुम्बईमा पहिलो दिन ।
अरब सागरको प्रमुख बन्दरगाहनगर मुम्बई अर्थात मराठी जिब्रोको मुम्बाइ भारतकै व्यापारिक राजधानी मानिन्थ्यो– प्रमुख व्यापारिक तथा औद्योगिक केन्द्रका रूपमा । जनघनत्व र आकारका दृटिले विश्वकै ठूलोमध्येको एक मानिने महानगर मुम्बईले आफ्ना् नाउँ लिएको थियो नगरकी प्रसिद्ध देवी मुम्बाको नाउँबाट ! नगरको दक्षिणपूर्वी केन्दीय भागमा रहेको मुम्वादेवीलाई पार्वतीको स्वरुप ठान्छन् मुम्बईवासीहरू । मैले यिनको उत्पत्तिको बारेमा एउटा किंवदन्ती सुनेको थिएँ आफ्नो पछिल्लो मुम्बई भ्रमणमा । एकजना आदिवासी कोली (मछेरा)ले बजारगेटको सामुन्ने सपनामा एउटी देवी उत्पत्ति भएको देखेछ । बिहानै उठेर सपनामा देखेको ठाउँ हेर्न जाँदा त्यहाँ उसले साँच्चि नै एउटी देवीको मूर्ति देखे छ । त्यसपछि त्यहीँ बसेर ऊ ती देवीको पूजाआजा गर्न थालेछ । दुई साँझ पेटभर्न धौधौ पर्ने त्यो गरिब मछेरा देवीको कृपाले हेर्दाहेर्दै सम्पन्न हुँदै गएछ । त्यो कुरा विस्तारै सबैतिर फैलिँदैगयो, टाढाटाढाबाट मानिसहरू दर्शन गर्न आउन थाले !
२०० वर्ष पुरानो यो मन्दिर यस ठाउँमा भने पछि मात्रै सरिएको थियो रे । यो सुरुमा अहिलेको शिवाजी टर्मिनल रेलस्टेसन रहेको ठाउँमा थियो रे । त्यहाँ रेल स्टेसन बनाउँदा अङ्ग्रेजहरूले देवीलाई यस ठाउँमा सारेका रहेछन् । यो मन्दिरको हेरचाह र व्यवस्था गर्न सन १८१८मैं मुम्बादेवी कोष खडा भइसकेको थियो । नित्यपूजाकालागि १०जना पूजारी खटिएका छन् मन्दिरमा । ती पूजारी छजना उत्तरप्रदेश र दुइदुर्ईजना महाराष्ट्र तथा गुजरातका र दुईजना मुख्य पुजारी चाहिँ श्रृङ्गेरका शङ्कराचार्यबाटै दीक्षित हुनुपर्छ रे !
धार्मिक आस्था, आधुनिक विलिसताको चरमप्रदर्शन र झोपडबस्तीको दारुण गरिवीका बीच अत्यन्त अन्तरविरोधपूर्ण विडम्बनाबोकेर बोँचिरहेझैं लाग्छ मुम्बई ! यो विडम्बनापूर्ण अन्तर्विरोधको बीच मुम्बई कसरी सन्तुष्ट रहन सकेकोछ, यति छोटो र आयोजित भ्रमणमा थाहा पाउन सकिने संभावना थिएन । सन् १९६०देखि आफूलाई महाराष्ट्रको राजधानीका रुपमा गौरव मान्दै आएको मुम्बाईले आफ्नो छात्तीभरि पीडा पनि लुकाएको छ भन्ने थाहा पाउन भने यसभन्दा निकै पछिको आप्mनो व्यक्तिगत भ्रमणलाई पर्खनु परेको थियो । आधुनिक युगमा बलिउडबाट बढी परिचित मुम्बई गंभीर यात्रीका लागि भने संग्रहालय, पुस्तकालय, अस्पताल र विश्वविद्यालयको माध्यमबाट पनि त्यत्तिकै चिनिएको छ, आफ्नो पहिचान बनाइरहेको छ !
भोलपल्ट हाम्रो नयाँवर्षको पहिलो दिन थियो । एकआपसमा शुभकामना आदानप्रदान गर्नु बाहेक स्वदेशमा अनुभव गरिने नववर्षको उल्लास यहाँ हुने कुरै थिएन । हिन्दुस्तान लिभर लिमिटेडको अनुसन्धान तथा तालिम केन्द्र भ्रमण र भारतीय उद्योग वाणिज्यसंघलाई हाम्रा प्रधानमन्त्रीको सम्बोधनका साथै संघद्वारा आयोजित दिवाभोजको औपचारिक कार्यक्रममैं वित्यो नयावर्षको सिङ्गगो दिन ! साँझ विमानस्थलको विदाइ कार्यक्रम पश्चात काठमाणौंका लागि उडेका थियौं हामी त्यही साँझ साढे पाँच बजेतिर ।
नौलो कोसेली–२०, २०६३ कात्तिक
२०६१ असार २२
आरुबारी
No comments:
Post a Comment