–विजय चालिसे
ह्युगो गन्र्सब्याकले विज्ञान कथा साहित्य के हो भन्ने विषयमा स्पष्ट भनेका छन्– साइण्टिफिक्सन भन्नुमा मेरो आशय जुल्स बर्न, एच. जी वेल्स, र एडगर एलेनका कथामा पाइने आकर्षक रोमान्सको साथसाथै वैज्ञानिक तथ्य र युगद्रष्टाको दूरदर्शिताको सम्मिश्रण हो । यिनीहरूका विज्ञान कथा पढ्दा अत्यन्तै रोचक लाग्नुका साथै शिक्षाप्रद पनि छन्, यिनले ज्ञानलाई अत्यन्त सुग्राह्य रुपमा प्रस्तुत गरेका छन् । विज्ञानकथामा आज चित्रण गरिएका कुनै आविष्कार भोलि सत्य हुनु असंभव छैन । साइन्स फिक्सन भन्ने नामको प्रारम्भ गर्ने श्रेय यिनै ह्युगो गन्र्सब्याकलाई दिइन्छ र यिनकौ नाउँमा विज्ञान कथाका क्षेत्रमा अत्यन्त सम्मानित मानिने ह्युगो पुरस्कार स्थापना भएको छ । विज्ञान कथा साहित्यलाई साइण्टी फिक्सन नाम दिनुकासाथै एउटा छुट्टै विधाका रुपमा प्रस्तुत गरेकाले यिनको प्रयासलाई विज्ञानकथाको इतिहासमा कोसे ढुङ्गो मानिन्छ ।
स्मरणीय छ परमाणुबमको विष्फोटको भविष्यवाणी तथा अन्तरिक्ष उडानको घटनालाई अघि बढाउने हर्बर्ट जर्ज वेल्सको भनाइ थियो– विज्ञानकथाको उद्देश्य भय र उत्तेजा सिर्जना गर्ने नभई मानवकल्याण र प्रलयोन्मुख भाविस्थितिबाट मानव समाजको रक्षाकामना गर्ने हो । यिनै सिद्धान्तमा लेखिएका द टाइम मेसिन (१८९५), द वण्डरफुल भिजिट (१८९५), द फस्र्ट मेन अन द मुन (१९०१), द आइल्याण्ड अफ डा. मोरो (१८९६), द इन्भििजिबल मेन (१८९७), द वार अफ द वल्र्डस् (१८९५) जस्ता उपन्यास र स्टोलन बेसिलस (१८९५), द प्लेटिनर स्टोरी (१८९७( र द टेल्स अफ स्पेश एण्ड टाइम्स (१८९९) जस्ता कथासङ्ग्रहहरू उनका अमर कृति मानिन्छन् । १८६६ मा बेलायतमा जन्मिएका वेल्स १९४६मा दिवङ्गत नहुञ्जेल नै निरन्तर यस क्षेत्रमा साधनारत रहे, दर्जनौं कृतिहरूको रचना गरे ।
विज्ञान कथाको क्षेत्रमा क्रँन्ति ल्याउने अमेजिङ्ग स्टोरिज नामक पत्रिकाको प्रवेशांकमा गन्र्सब्याकल माथि उल्लिखित विज्ञान कथाको परिभाषा दिएका थिए । उनको यो परिभाषाले कता कता हाम्रा वैदिक–पौराणिक आख्यानलाई संझाइदिन्छ जहाँ पूर्वीय मनीषीहरूले कल्पना गरेका विभिन्न ग्रहउपग्रह र आकाशवाणीजस्ता दूरभाष, सञ्जयले धृतराष्ट्रलाई महाभारत युद्धको विवरण सुनाउने क्रममा प्रयोग गरेका दूरदर्शक, शब्दभेदी शस्त्रास्त्र र गगनगामी वायुयानहरू आजको यथार्थ बनिसकेका छन् । त्यो हेर्ने हो भने विज्ञानकथाको अस्तित्व पश्चिमी विज्ञानकथाभन्दा कता हो कता अगाडि नै पूर्विय साहित्यमा विकसित भैसकेको मान्नुपर्छ । तर पनि आधुनिक विज्ञान कथाको विकास भने उन्नाइसौंं शताब्दीको अन्त्यितिर आएर भएको पश्चिमी विद्वानहरूको धारणा पाइन्छ ।
विज्ञान कथामा योगदान दिने पनि प्राय वैज्ञाकिहरू नै देखिएकाले पश्चिमी प्राय विज्ञान कथाहरू गन्र्सब्याकको भनाइसँग मेल खान्छ जुन हामीकहाा कमै पाइन्छ । नेपालीमा लेखिएका विज्ञान कथाको मूल विषयबस्तु मूलतः मानवकेन्द्रित रहने गरेका छन्, तिनले वैज्ञानिक प्रगति र मानवीय संवेदना र सामाजिक सिद्धान्तको पारस्पिरिक प्रभाव देखाए पनि विज्ञानका तत्वहरूलाई भने कमै समाहित गर्न सकेका छन् । गन्र्सब्याक पछि एड्गर एलेन पो, विलियम विल्सन, तथा उड्गर फसेटजस्ता प्रारम्भिक चरणका प्रख्यात बुद्धिजीवी र साहित्यकारले विज्ञानकथाको परिकल्पना स्पष्ट गर्ने प्रयास गरे ।
इन्साक्लोपिडिया ब्रिटानिकाको २००४ संस्करण अनुसार बीसौं शताब्दीमा आएर विकसित विज्ञान कथा मूलतः वास्तविक वा काल्पनिक विज्ञानले व्यक्ति वा समाजलाई पार्ने प्रभावसँग सम्बन्ध राख्दछ । यो अङ्ग्रेजीको साइन्स फिक्सन भन्ने शब्दावलीले मूलतः विज्ञानका तत्व समाविष्ठ साहित्यिक कल्पना वा रचनाशक्ति अर्थात् फेण्टासीलाई संबोधन गरेको देखिन्छ । यस्ता साहित्यमा विज्ञानका तथ्यगत सिद्धान्त र यथार्थ जानकारीपनि संलग्न हुनसक्छ र यस्ता सिद्धान्त र तथ्यसँग पूर्ण विमति राख्ने कुरासँग पनि । दुबै स्थितिमा विज्ञानसम्मत धारणाको भने आवश्यकता पर्छ नै । नेपाली विज्ञान कथाले यो प्रस्थापनालाई आदर्श ठानेको अमुमान गर्न सकिन्छ । यस अनुसार मेरी शेलीको फ्र्याङ्केन्स्टाइन वा मोडर्न प्रोमिथियस (१८१८), रोबर्ट लुइस स्टिभेन्सनको स्टे«न्जर केस अफ डा.जेकिल एण्ड मिस्टर हाइड (१८८६) विज्ञान कथाका परिभाषाभित्र परे पनि ब्राम स्टोकरको ड्राकुला (१८९७) पूर्णतः अलौकिक विषयमा केन्द्रित रहेकोले विज्ञान कथा मानिँदैन । विज्ञान कथामा विलक्षणता र दूरदर्शिताका साथै अद्भूत कल्पनाशक्तिको अपेक्षा गरिएकाले यो धारणा मान्ने हो भने छद्म विज्ञानको नाउँमा कल्पनाको कुनै पनि उडानलाई विज्ञान कथा साहित्यको रुपमा स्वीकार्नु पर्ने संभावना रहेको भन्ने आलोचना पनि पाइन्छ । त्यसैले केही आलोचकहरू विज्ञान कथा भन्नुभन्दा अनुमानात्मक वा भविष्यद्रष्टा कथा साहित्य भन्नु उपयुक्त हुने धारणा प्रकट गका थिए ।
बीसौं शताब्दीको दोश्रो दशकमा जोन क्याम्पवेलले आइज्याक आसिमोभ र रोबर्ट हेनलिनसँग मिलेर तत्कालीन विज्ञान लेखकका लागि एउटा नीतिपत्र तयार गरे । यसबाट विज्ञानकथा लेखनले सशक्तता ग्रहण ग¥यो । भारतीय विद्वान बाल फोंकडेले बिता हुआ भविष्य शीर्षक विज्ञान कथा सङ्ग्रहमा उल्लेख गरे अनुसार क्याम्पबेलको प्रस्ताव थियो– विज्ञानकथा साहित्यलाई विज्ञान परिवारको साहित्यिक माध्यम मानिनु पर्छ । विज्ञान वैज्ञानिक कार्यपद्धति एउटा यस्तो संभाव्यता हो, जसले सोचिसम्झी सिद्धान्तको व्याख्या मात्र नगरेर नयाँ र अज्ञात बस्तुका बारेमा पनि आफ्नो मत व्यक्त गर्छ । विज्ञान कथा साहित्य पनि यस्तै खालको काम हो जुन कथाका रुपमा प्रस्तुत गरिन्छ र यसको परिणाम ले त्यस्तो आकार ग्रहण गर्छ जुन मेसिनमा मात्र लागु नभएर मानव समाजमा पनि लागु हुन्छ । विज्ञान कथालाई गन्र्सब्याकले दिएका सायण्टिफिक्सनबाट साइन्स फिक्सनको नाम पनि यिनै जोन क्याम्पवेलले दिएका हुन् ।
विज्ञानकथाको स्वरुप निर्धारण गर्ने क्रममा अरु पनि परिभाषाहरू थपिँदैगए । यसै क्रममा थियोडोर स्टर्जिआनले आफ्नै कथाहरूको आधारमा यसको परिभाषा तयार गरे– विज्ञानकथा साहित्य यस्तो कथा हो जसमा चौतर्फी मानवीय समस्या र त्यसको समाधानको तानाबाना बुनिन्छ र त्यो तानाबाना वैज्ञानिक विषयबस्तु बिना घटित हुनसक्दैन । यो परिभाषाले विज्ञान र साहित्यलाई एकै ठाउँमा ल्याउन महत्वपूर्ण योगदान गरेको मानिन्छ, किन कि यसले विज्ञानको तर्क बाहेक अरु कुरा नमान्ने प्रवृत्ति र कथासाहित्यको भावावेष तथा कल्पनाजस्तो मानवीय शक्तिप्रतिको झुकावका बीच सामञ्जस्य ल्याउने प्रयास गरेको छ । यसले गन्र्सब्याक र क्याम्पबेलको प्रस्थापनाको जग हल्लाइदियो र स्टर्जिआनको मान्यता अनुसरण हुन थाल्यो । यो मतको अनुसरण गर्ने लेखकहरूले विज्ञान कथामा कल्पनालाई सधैं विज्ञानको नियन्त्रणमा राख्न आवश्यक ठानेनन् । यही धारणबाट अर्को लोकप्रिय परिभाषाको जन्म भयो– विज्ञानकथा साहित्यक वर्णनात्मक गद्यको त्यो रुप हो जसको पृष्ठभूमि हाम्रो ज्ञात विश्वमा आधारित नभएर हाम्रो जानकारीमैं नभएको एउटा छुट्टै काल्पनिक जगतमा आधारित रहन्छ । यो मान्यताले पनि वास्तविक विज्ञानको पुट कम रहेका विज्ञानकथाको बाढी ल्याउन मद्दत ग¥यो ।
पश्चिमी दृष्टिकोण अनुसार विज्ञानकथा साहित्यको विभिन्न चरण हुँदै आजको स्थितिमा आएको हो । केहीले यो विधाको प्रारम्भ गिल्सामेसको बेबिलोनियाई महाकाव्यबाट भएको बताएका छन् । यो भनाइलाई मान्ने हो भने पूर्विय वैदिक तथा पौराणिक साहित्यसम्म पुग्न पर्ने हुन्छ जुन बेबिलोनियाभन्दा पनि अघिका हुन् । माथि भनेजस्तै हाम्रा वेद्, पुराण, रामायण, महाभारतमा वर्णित आजका विज्ञानसँग मेल खाने अधिकांश कुराहरूको आख्यानात्मक भविष्यवाणी आज आएर सत्य भएका छन् र तिनलाई प्रारम्भिक विज्ञान कथा मान्दा फरक पर्दैन । जे होस पश्चिमाहरूबाट विकास भएकोआधुनिक विज्ञान कथाको प्रारम्भ मेरी शेलीको फ्र्याङ्केन्स्टाइनबाटै भएको भन्ने अधिकांश पश्चिमी विद्वान्हरूको धारणा देखिन्छ । फ्र्याङ्केन्स्टाइन नामक वैज्ञानिकको अनौठो प्रयोगबाट प्रार्दुभाव भएको दैत्यको कल्पनामा लेखिएको यो उपन्यासले वास्तवमा मानवीय नयाँ प्रयोगको अतिमोहबाट विज्ञानभित्रको मानवविरोधी पक्षसमेत बाहिर आउनसक्ने संभावना देखाएको थियो । आजको अण्ुाबम र विज्ञानले विकास गरेको मानवीय संहारका सहयोगी आमसंहारका हतियार शेलीको भविष्यवाणी सत्य भएको मान्नुपर्छ । मेरी शेलीको यो विज्ञान कथामा देखिएको साहसिक तथा रोमाञ्चकारी प्रयोगको प्रभाव पछि जोन क्याम्पबेल, आसिमोभ र हेन्लिनको प्रयासमाबाट भएको आमूल परिवर्तनपश्चात हट्दै गयो । त्यसैले यस विधाको दोश्रो चरणको प्रारम्भ र विकास यिनै क्याम्पबेल, आसिमोभ र हेन्लिनबाट भएको मानियो ।
विज्ञानकथाको तेश्रो चरणमा पहिलो र दोश्रो विश्वयुद्ध, हिरोेसिमामा खसालिएको परमाणु बम, रोबोटजस्ता नयाँ नयाँ यन्त्रको आविष्कार तथा खगोल–अन्तरिको क्षेत्रमा भएका नयानयाँ खोजले मानव कल्पनाशक्तिलाई अरु व्यापकता मात्र दिएन मानिस विश्वपरिपे्रक्षमा गंभीर चिन्तनको लागि पनि बाध्य हुँदै गयो । यिनै कुराले विज्ञान कथाको तेश्रो चरणलाई निम्त्याउनुका साथै प्रभावित समेत ग¥यो । अबका विज्ञान कथाले विज्ञान र उद्योगको विकास तथा त्यसबाट सम्पूर्ण मानव समाजमाथि पर्ने प्रभावको परिणामको खोजी गर्नथाल्यो । विज्ञान कथाले दोश्रो विश्वयुद्धपछि नै व्यापक लोकप्रियता पाउँदै गयो र यसको विस्तार सोभियत संघ र अन्य पूर्वी युरोपका मुलुकमा हुँदै गयो । अमेरिकाका कलेज विश्वविद्यालयमा यसका बारेमा पठनपाठन हुनथाले ।
आधुनिक विज्ञान मूलतः खगोल र भौतिक विज्ञानको विकासले नै विज्ञान कथालाई विकसित हुन संभव तुल्यायो । युगौंदेखि प्रचलित वैज्ञानिक सिद्धान्तसँग मेल नखाने कल्पनाशीलता अर्थात् फेण्टासीको विपरित १८ शताब्दीमैं भोल्टायरको माइक्रोमेगाज (१७२६) र जोनाथन स्विफ्टको गुलिभर्स टे«भल (१७२६) माजस्तै चन्द्रमा र अन्य ग्रहका साथै जीवहरूको जम्काभेट र काल्पनिक यात्रा तथा अन्तरिक्ष यात्रालाई कथाको विषय बनाइन थालियो । पछि एडगर एलेन पो, नथानिएल होथ्रोन र फिट्ज–जेम्स ओब्रिएनका कथामा विज्ञानका तत्वहरू प्रवेश गर्दै गए । उता इन्साक्लोपिडिया ब्रिटानिका चाहिँ आधुनिक विज्ञान कथाको प्रयोग सर्वप्रथम सन् १९२६मा प्रकाशित गर्नस्व्याकको अनौठा विज्ञान कथा पत्रिकाबाट र वास्तविक विज्ञान कथाको सुरुआत १९सौं शताब्दीको अन्त्यतिर जुल्स भर्नेबाट भएको मान्दछ ।
गर्नस्व्याकको विज्ञान कथा पत्रिकामा प्रकाशित कथाहरू सुरुमा उत्तेजना फैलाउने पाठ्यसाम्रीका रुपमा आलोच्य रहे । पछि सन् १९३०मा जोन डब्लु क्याम्पवेल जुनियरले विज्ञानपत्रिका प्रकाशित गरेर आइज्याक आसिमोभ, आर्थर सी क्लर्क रोबर्ट ए हेन्लेनजस्ता लेखकको कथा उपन्यास प्रकाशित गर्न थालेपछि मात्र विज्ञानकथा गंभीर साहित्यको कोटीमा गणना गरिन थाल्यो । पूरै विज्ञानकथामा नलागे पनि एल्डोस हक्सले, सी.एस.लेइस र कुर्त भोनेगटआदिले समेत यस क्षेत्रमा रामै्र योगदान दिए ।
यस क्षेत्रका विख्यात् प्रतिभा क्लार्क, हेन्लेन र आसिमोभका अतिरिक्त दोश्रो विश्वयुद्धपश्चात ए.ई.भान गोट, जे.बी. बल्लार्ड, रे ब्राडबरी, फ्र्यान्क हर्बर्ट, हर्लान एलिसन, पाउल एण्डर्सन, स्यामुएल आर. डेलानी, उर्सुला के. लेगुइन, फ्रेडरिक कोहल, अक्टोभिया इ.बट्लर र ब्रेन एल्डिसजस्ता प्रतिभा यसको विकासमा कस्सिएर लागे । यी लेखकले पृथ्वीमा भावि समाजको भविष्यवाणी गरे, अन्तरिक्ष यात्राको परिणमहरूको बौद्धिक विश्लेषण गरे र जेहेन्दार जीवहरूका बारेमा काल्पनिक खोजी सुरु गरे ।
नेपालको सन्दर्भमा हेर्ने हो भने विज्ञानकथाको नितान्त अभाव महसुस हुन्छ । स्रष्टा र साहित्यको अन्तरवार्तामा “एकपटक नेपालमा वैज्ञानिक कथा छैेनन् भन्ने चर्चा चल्यो, वैज्ञानिक कथा लेखें” भन्ने गद्य साहित्यका प्रख्यात साधक शङ्कर लामिछाने नै संभवतः नेपाली साहित्यका प्रथम आधुनिक विज्ञान कथाका प्रयोक्ता हुन् । टेष्टट्यु शिशुको विषयबस्तरुलाई लिएर लेखिएको उनको विज्ञान कथा माया नं ६५३ नेपाली विज्ञानकथाको उत्कृष्ट उदारहण बनेको छ भने मस्तिष्क प्रत्यारोपणलाई विषबस्तु बनाएर लेखिएको उनकै ऊ कसको हो ? शीर्षक अर्को कथा पनि उत्तम विज्ञान कथा हो । अलौकिक र तान्त्रिक शक्ति लाई वैज्ञानिक मान्यतामा विवेचना आधारित परामनोविज्ञानपरक उनकै अर्को आत्माको मीमांसा शीर्षक कथालाई पनि विज्ञान कथामा लिनसकिन्छ । नेपाली कथासाहित्यको विकासक्रम हेर्दा मैनाली–वीपी, गोठाले–मल्ल–भीक्षु–विष्ट–विकल पछिको तेश्रो पुस्ताका कविताराम र सरुभक्त विज्ञानकथाको क्षेत्रमा सर्वाधिक समर्पित प्रतिभा हुन् र बाल साहित्यलाई छाड्ने हो भने विज्ञान कथा र उपन्यासका सिंगो कृति नै प्रकाशित गर्ने संभवतः यिनै दुईजना साहित्यकार देखापर्छन । कवितारामका अस्वत्थामा उवाच, गिनीपिग, २०३५ र फ्र्याङ्केस्टाइन आदि कथाकाल साथै स्वभावगीठन शीर्षक उपन्यास प्रकाशित देखिन्छन् भने सरुभक्तका एक अभियानको आत्मकथा (विज्ञान उपन्यास) र छोरी ब्रह्माण्ड विज्ञान कथा) दुई सिङ्गै कृति प्रकाशित देखिन्छन् । यसरी नेपाली विज्ञान कथाको फाँट अझै फराकिलो हुनसकेको नदेखिए पनि प्रख्यात् कथाकार रमेश विकललगायत अन्यकेही र यिनै पङ्क्तिका लेखकका पनि छिटफुट विज्ञान कथाहरू विज्ञान कथाको पश्चिमी मान्यता र पभिाषाभित्र पर्नसक्ने देखिन्छन् । यी बाहेक पनि अन्य केही कथाकारको धेरथोर प्रयास नदेखिएको होइन, तर तिनलाई विशुद्ध विज्ञानकथा मान्न अलि समस्या देखिन्छ । उदाहरणका लागि धेरै अघिको विजयमल्ल लिखित अन्तिम भोज विज्ञानको महाविष्फोट अर्थात विग व्याङ सिद्धान्तबाट पे्ररित देखिए पनि त्यसमा विज्ञानका तत्वहरूको अभाव छ । त्यस्तै पछिल्लो उदाहरण हेर्ने हो भने २०६१ सालमैं प्रकाशित धु्रवचन्द्र गौतमको कथा प्रिक्लोन–७० सुरुमा हेर्दा विज्ञानकथाजस्तो लागे पनि विज्ञानकथा होइन ।
यी बाहेक पनि नेपाली कथाकारका विज्ञान कथा प्रकाशित भएका हुनसक्छन्, यो लेखक समालोचक नभएकाले यदि छन् भने पनि ती कथाहरू यसको सम्झनामा नरहेको हुनसक्छ । यो नेपाली विज्ञानकथाको साङ्गोपाङ्ग अध्यन नभएकोले पनि अन्य त्यस्ता कथाकारको उल्लेख हुन छुट्नुलाई अन्यथा नठानिएला । यो लेखको उद्देश्य विज्ञानकथा पनि एउटा छुट्टै उपविधाका रुपमा मूल्याङ्कित हुनु पर्छ र यस क्षेत्रका विद्वान समालोचकहरूको यस तफर्m पनि ध्यान जानु आवश्यक छ भन्ने सङ्केत गर्नु मात्र हो ।
२०६१ भदौ २०
आरुबारी
No comments:
Post a Comment