Monday, August 30, 2010

जातीय संस्कृतिको निर्माणमा जुटेको छ सिक्किम




अरु तीन प्रतिष्ठित नेपाली साहित्यकार, संगीतकार र गायिकासँगै यो लेखकको पहिलो सिक्किम यात्रा साँच्चि नै कहिल्यै नविर्सने सम्झना रह्यो । यात्राको सन्दर्भ बनेको थियो सिक्किमका वर्तमान मुख्यमन्त्री पवन चाम्लिङले रोपेर गोडमेल गर्दै हुर्काएका एउटा साहित्यिक वृक्ष निर्माण प्रकाशन । त्यही प्रकाशनको सम्मान तथा पुरस्कार वितरण समारोह मा आमन्त्रित थियौं हामी ! २०६० असोज ४ गतेको त्यो अविस्मरणीय समारोहमा सहभागी हुनकै लागि हामी भदौको अन्तिम दिन त्यता लागेका थियौ । भारतको पश्चिमबङ्गाल टेकेदेखि नै रोमाञ्चित थिएँ म– सन् १६१४मा तिब्ब्ती छोग्याल पञ्चेन नाम्ग्यालले राजधानीको रुपमा स्थापना गरे यता साढे तीन शताब्दीभन्दा बढी सिक्किमी राजधानीको सम्मान पाएको गान्तोक नपुगेसम्मै । गान्तोक बसाइको क्रममा त्यहाँको विकास–निर्माण, राजनीतिक नेतृत्वको स्पष्ट दृष्टिकोण र प्रतिबद्धताको साक्षात्कारबाट लाग्दैथियो, चाहे भने नेपालीले पनि त गर्नसक्दा रहेछन् !

सिक्किमको सौन्दर्यले त धेरै अगाडि पढेको जेम्स हिल्टनको लस्ट होराइजन अर्थात हराएको क्षितिज शीर्षक उपन्यासको सम्झाइरहेको थियो । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङकै संरक्षकत्वमा स्थापित निर्माण प्रकाशनको पाहुना बन्ने सौभाग्यमा प्राप्त यो यात्राले सिक्किमका मनमोहक दृश्य र विकास प्रक्रियाको हेर्ने सुन्दर मौका दिएको थियो हामीलाई । मेरा लागि त निश्चय नै संझनायोग्य थियो यो अवसर । राजधानी गान्तोक मात्र होइन विश्वप्रसिद्ध रुम्टेक गुम्बा र तिब्बती सीमास्थित नाथुला नाका (पास) नजिकैको छाङ्गु लेक हेर्ने त्यो अवसर मेरा लागि निश्चय नै सितिमिति उपलब्ध हुँदैनथ्यो । उता सिक्किम भ्रमणको हर क्षण आफूलाई जेम्स हिल्टनकै लस्ट होराइजनको साँग्रिलामा छु, नेपालकै कुनै पहाडी भेगमा छु भन्ने रोमाञ्चपूर्ण अनुभूति भइरहेथ्यो मलाई र यो मेरा लागि निश्चय नै अमूल्य पा्रप्ति थियो । लाग्थ्यो म आपनो देशको एउटा साँग्रिलाबाट अर्को एउटा त्यस्तै साँग्रिलामा पुगेको छु, जहाँ जतासुकै प्रकृतिको अनुपम छटा छताछुल्ल पोखिएको छ !

सिक्किम जाने क्रममा भद्रपुर पुग्न काठमाणौंको त्रिभुवन विमानस्थल छाड्दैदेखि मेरो मनमा सिक्किमका बारेमा बेग्लै रुप र विम्ब बन्दै बिग्रँदै गर्दै थिए । भारतले सन् १९७५मा आफूमा गाभेर २२औं राज्य बनाएको सिक्किमको बारे अरुकोजस्तै मेरो मनमा पनि एउटा जिज्ञासा थियोे– कस्तो अनुभूति होला उनीहरूमा ? के मेरैजस्तो उनीहरू पनि सिक्किम विलयलाई एउटा साम्राज्यवादी शक्तिको कपटपूर्ण अभिसन्धिको परिणाम मात्र ठान्छन् ? अथवा तत्कालीन शासक वा राजाको तानाशाही नियन्त्रणले जन्माएको विद्रोहसिर्जित एउटा अप्रिय दुर्घटनाको तारतम्य ! भद्रपुर विमानस्थलमा हामीलाई लिन गान्तोकदेखि आएका दुईजना सिक्किमी नेपालीको न्यानो स्वागतदेखि नै सिक्किमप्रतिको मेरो पूर्व अनुकल्पित विम्ब बन्दै दिग्रँदै थिए । मेरा ती प्रश्न र जिज्ञासाको चित्तबुझ्दो जवाफ मैले कतै फेला पारिन । मेरो यात्रा अवधिमा घुमौरो पारामा मैले यो प्रश्न धेरैसँग राखेँ, तर लाग्थ्यो उनीहरू त्यो पुरानो घाउ उप्काउन चाहँदैनन् या उनीहरू आजैको अवस्थामा सन्तुष्ट छन; खुट्याउन असमर्थ थिएँ म !

भद्रपुरबाट सीमापार पानीटङ्की, बाग्डोराको बाटो सिलगुडी–दार्जलिङ शहरहरूलाई दायँबायाँ छाडेर महानन्दा नदी पारगर्दै हामी जतिजति पूर्वोत्तर लाग्दै जान्थ्यौंं त्यतित्यति मेरा आँखा अगाडि पुर्खाहरूका सीमा विस्तार र बसाइँ–सङ्घर्षको चित्र जीवन्त भएर आउँथ्यो । जन्मस्थानबाट लखेटिएर आश्रयको खेजीमा टिस्टापार गर्ने धने र म्याउचीहरूको लस्कर कल्पना गर्न पुग्थ्यो मेरो मानस । हो, कुनै बेला यी भूभाग पनि मेरै देशको शासनअन्तर्गत थिए, मेरै देशको अङ्ग थियो यो । त्यतिबेलैदेखि नै यता बस्दै आएका मेरा देशबन्धुहरू यतैकै भएर रहे, अझ पछि आफ्नै देशभित्रको आर्थिक सामाजिक शोषणको मारमा परेर आफन्तै खाज्दै यतै बसाइँ सर्दै गए । त्यसैले अहलिे रानीतिक रुप–रेखाको सीमाबन्धनले परदेश भए पनि म नेपालीले यी भूभागलाई आफ्नै ठान्दै आएको हुँ । त्यसैले यी ठाउँहरू मलाई विरानो लाग्दैन, पराई लाग्दैन । बरु लाग्छ, म नेपालभन्दा पर छैन, विरानो मुलुकमा छैन ।

हामी सडकका दुबैतिर लम्बेतान पैmलिएको घना–हराभरा जङ्गलको छात्तीमा चरक्क चिरेर अगाडि बढिरहेको हाइवेबाट जतिजति उता लग्थ्यौं उति उति धने र म्याउचीहरू आफ्नै जन्मभूमिका रावणहरूबाट लखेटिएर महानन्दा र टिष्टाको भेलसँगै पौडीइरहेका दृश्य नाच्नआउँथे मेरा अगाडि ! बीचमा पर्ने बाग्पुलले मलाई मरै पुर्खाको रक्तप्रवाहित भूटानी अनुहारहरू आप्mनै रगतपसिना सञ्चिेर कालापानीका खोरियालाई बस्तीमा परिणत गरिदिएको बदलामा आफ्नै देश भूटानद्वारा सिकारी चितुवाले खेदेको मुगशावकझैं जीवनरक्षामा भागिरहेका दृश्य झल्झल्ती आँखा अगाडि आइरहेका थिए, त्यतिखेर । तर पीडाजन्य अनुभूति मात्र होइन, सुखद् आश्चर्य पनि अनुभव गर्दैथिएँ म– नेपाली हातहरू संसारका कुनै पनि कुनामा रहेर पनि आफू बसेको ठाउँको समृद्धिमा निरन्तर समर्पित छन्, विकास र उन्नतिका नवीन सपनाहरूलाई वास्तविकतामा परिणत गर्न निरन्तर प्रयत्नशील छन् । मेरै रगत र सांस्किृतिक विरासत बोकेका मेरा भारतीय नेपालीहरूको यो सङ्घर्षपूर्ण तर सफलताको गाथा मेरालागि गौरवपूर्ण मात्र नभएर विश्मयकारी पनि थियो । केही समय मात्रै भए पनि भारतीय नेपाली नेतृत्वको चमत्कारी अनुभूति गराउने एउटा यस्तै सफल भूमि सिक्किम र त्यहाँका नेपालीको माझ रहने यो अवसरले मेरो आफ्नो विफलताको नमीठो स्वाद भने नराम्ररी समझाई रहे ।

हे, नेपाली मूलका वर्तमान् सिक्किमी मुख्यमन्त्री पवनकुमार चाम्लिङ एउटा सुन्दर सपना बुनीरहेका छन्– सिक्किमलाई सन् २०१५ भित्र भारतकै सबै राज्यमध्ये एउटा अति विकसित राज्यको रुपमा अवतरण गराउने ! उनको स्पष्ट दृष्टिकोण, कडा मिहिनेत, दृढ प्रतिबद्धता देख्दा लाग्छ, यो पूरा हुनै नसक्ने सपना होइन । यो सपनामा मात्र सीमित रहने छैन, यसले आफूलाई यथार्थमा अनुवाद गराउने छ । तर केही सिक्किमी मनहरू सशंङ्कित पनि देखिन्छन्– कतै सिक्किमको अति विकासमोहले यसको सौन्दर्यलाई विरुप तुल्याउने त होइन ? विकाससँगै आउने विकृति र चापले सिक्किमलाइर्ए आजैको हरित राज्य र सांस्कृतिक विशिष्टताको साँग्रिला रहीरहन देला ? तर आफ्नो संस्कृति परम्परालाई जोगाउने मात्र होइन अझ समायानुकूल रुपमा विकसित गर्ने र सिक्किमलाई हरित राज्यमात्र होइन जैविक राज्य बनाउने चाम्लिङको सचेततापूर्ण प्रतिबद्धता देख्दा लाग्छ उनको यो कल्पना एउटा राजनीतिकर्मीको लोकप्रिय बाचाबन्ध मात्र होइन । एउटा इमान्दार कविमनका नेता चाम्लिङको स्वप्निल चाहना पनि हो यो, जसलाई उसभित्रको सौन्दर्यपे्रमी कवि यथार्थमा परिणत गर्न चाहन्छ । यो उनको कल्पना मात्र होइन, यसको प्रयोमा उनले प्रयत्नहरू पनि प्रारम्भ गर्न थालिसकेका छन्– घरायसी इन्धन र चरनको उपयुक्त वैकल्पिक स्रोत उपलब्ध गराएर । चाम्लिङको सिक्किमले हरेक घरपरिवारलाई दुईवटा ग्यास सिलिण्डर निःशुल्क उपलब्ध गराएको छ, पशुपालनलाई आधुनिक ढङ्गमा फार्मिङ प्रयालीमा परिणत गर्न प्रेरित गर्दै छ । चाम्लिङको उद्घोष छ– म सिक्किमलाई प्राकृतिक उपवनको रुपमा विकसित गर्न चाहन्छु !

स्वप्नजीवी चाम्लिङ किशोरवयदेखि नै आफ्ना सपनाको उद्घाटनमा रमाउँथे । सन् १९६७ मैं उनले आफ्नो वीरको परिचय कवितामार्फत घोषणा गरेका थिए– राष्ट्रको लागि मर्ने मान्छे अमर बन्छ, शहिद बन्छ र बहादुर बन्छ । मृत्युपश्चात पनि ऊ सम्मानपूर्ण बाँचिरहेको हुन्छ । तर, जो बाँच्छन् र जीवनसङ्घर्षको मैदानमा बहादुरीपूर्वक लड्छन् ती पनि अद्वितीय योद्धा हुन् । त्यसैले म आज यसै क्षण आफ्नो सपनाको घोषणा गर्छु, कुनै दिन म पनि बहादुरजीवन काँच्ने छु, अवश्य नै म नयाँ पुस्ताका लागि एउटा नयाँ मार्गको खोजी गर्ने छु !

हो, पवन चाम्लििङ सपना देख्छन् र त्यो सपनालाई यथार्थमा परणत गर्ने बाटो पनि खोन्छन् । उनी कवितामा सपनाहरू देख्छन्, योजनामा सपना देख्छन् र ती सपनालाई यथार्थमा परिणत भएको देख्न चाहन्छन् । कवितामाजस्तै “धेरै युगदेखि ÷ समयका गतिहरूमा ÷ मान्छेको जीवन” खोज्ने अभियानमा लागिरहेका उनी “भू–चित्रावली अस्पष्ट रेखाहरूभित्र कतै घर फर्किने बाटो अलमलिएको” भए पनि मनभरि “सुनगाभाजस्तै एउटा सुन्दर सपना मनभरि फुलाइरहेको” उद्घोष गर्छन् । उनलाई राम्ररी थाहा छ, एउटा गीत उत्साहको, एउटा गीत सङ्घर्षको र एउटा गीत जीवनको मनभरि गाउने बेला हो यो ! सिक्किमलाई र त्यसका वर्तमान स्पप्नजीवी कविनेता चायम्लिङलाई राम्ररी थाहा छ, मान्छेको जीवनलाई एउटा स्पष्ट आकार दिन, यसलाई चिन्न र चुन्न समयले सहजमार्ग दिँदैन । तर उज्यालोको खोजीमा निमग्न जीवनका हातहरूमा बोकिएका दियोका असंख्य सलेदाहरूलाई अनगिन्ती जुनकिरीहरूको साथ मिल्छ भन्ने कुरामा पनि चाम्लिङहरू विश्वस्त छन् र छन् अँध्यारोको दहमा डुबेको एक टुक्रा उज्यालो खोज्न सफल हुने पूर्ण विश्वासमा । त्यो उज्यालोलाई सुरक्षा दिने र फैलाउने सबलहातहरूको खोजीमा पनि निरन्तर प्रयत्नरत छन् चाम्लिङहरू ! खुशीका गीतहरू गाउन शसक्त आवाजहरूको खोजीमा निरन्तर अन्वेषणरत छन् उनीहरू । आफ्नो समयको कविता लेख्न कलम भएर आउने आह्वान गर्ने सिक्किम र सिक्किमका चाम्लिङहरू विचारको धरतीमाथि सभ्यताको सडकमा शब्दका बारुदहरू ओछ्याउँदै सधैं झुकेर सलाम गर्ने हातहरूमा क्रान्ति थमाउँदै छन् । जडौरी परिचय बाँचने दास मानसिकताको परिचयको मन, विवेक र बुद्धिमा उमङ्ग, उत्साह र जाँगर भर्दै उज्यालो चेतनाको द्विप प्रज्वलन गर्दैछन् । पवन चाम्लिङले भनेजस्तै निश्चय नै भविष्यले भग्नावशेष भित्रैबाट भए पनि खोतलेर पत्तालाउने छ– केही मानिसहरूसित पखेटायुक्त सपना थिए, केही मानिसहरू पृथ्वीमा मानिसमात्रको सन्सार स्थापना गर्न चाहन्थे, मानिस मात्रको उज्यालो सन्सार को सपना देख्थे !

सिक्किमलाई थाहा छ, विशाल भारतमा उसले आफ्नो पहिचान राख्ने हो भने नेपाली जातीयता र संक्कृतिलाई संबद्र्धन गर्नु जरुरी छ । सिक्किमभरकिा सबै संस्कृति र भाषाहरूको बीच सौहार्दतापूर्ण सन्तुलित विकासको आवश्यकता रहन्छ । अनि उसलाई थाहाछ शिक्षा, रोजगारी र उन्नतिका अवसरहरूले नै समाजमा द्वन्द, अशान्ति र हिंसालाई फस्टाउने मौका दिँदैन । त्यसैले अहिलेको सिक्किम शिक्षा, संस्कति र रोजगारीलाई प्राथमिकताको शिरोभागमा राखन चाहन्छ । यी सबै पक्षमा वर्तमान सिक्किमले उल्लेख्य काम गर्दैछ–मेरो छोटो सिक्किम भेमाइको क्रममा मेरो बुझाई थियो यो । निर्माण, जनपक्ष, आँकुरा, गान्तोक, आदि प्रकाशन वाङ्मयको विकासमा सक्दो जुटिरहेछन्, सुसंस्कृत र चेतन नागरिक तयार गर्न राज्य स्वयम् गाउँगाउँमा पुस्तकालय, स्कुल र वाचनालयको सञ्जजाल फैलाइरहे छ । ऊ विश्वस्त छ, आफ्ना यी सपना पूरा हुन्छन् र एक दिन सिक्कम सभ्य, सुसंस्कृत र सम्पन्नताको शिखर चढ्ने सफल हुन्छ । भारतीय नेपालीहरूको यो संकल्पलाई म नेपालीको मनभरिको शुभकामना !

२०६० असोज ५ गते छ दिने सिक्क्मिबाट फर्केको लगत्तै मैले सामना गर्नु परेको पहिलो प्रश्न थियो–रकम त ठूलै ल्याइयो होला नि ! केही समय त दिमागै रन्थनायो, कस्तो प्रश्न हो यो ? म कथित बौद्धिक–मगन्ते बनेर गएको थिइन, सिक्किम । न त कसैले मलाई कुनै रकम दिएको थियो । निर्माण प्रकाशनले आयोजना गरेको निर्माण पुरस्कार वितरण तथा नेपाली भाषा, साहित्य, कला, संस्कृतिका विभिन्न व्यक्तित्वहरूलाई गरिने अभिनन्दनको कार्यक्रममा मिन्त्रणा पाएर त्यहाँ पुगेको थिएँ । हो, भद्रपुरसम्मको आतेजाते टिकट उनीहरूले नै पठाएका थिए, विमानस्थलसम्म लाने–ल्याउने सवारी साधन उतैबाट उपलब्ध थियो । एयरपोर्ट ट्याक्स र आफूखुसी खर्च आफैंले बेहोरेका थियौं, बस्नेखाने–आउने जाने आतिथ्य उनीहरूको थियो । फर्कने अघिल्लो रात त्यहाँका मुख्यमन्त्रीले आयोजना गरेका रात्रिभोज पछिको विदाइमा उपहारस्वरुप दिएका ३ह५ साइजको एउटा सिक्किमी सुन्दर गलैंचा र पुस्तकको एउटा पोको भने मैले पनि पाएकोथिएँ । त, कताबाट आयो यो भारुको बिटो हात लाग्ने मित्रहरूको यो प्रश्न ?

नेपालबाट दशैंखर्च उठाउन एकथरी साहित्यकार–पत्रकार प्रत्येक वर्ष दशैमा सिक्किम जान्छन् र दुखःपुकार गरेर त्यहाँबाट खर्च उठाएर फर्कन्छन् भन्ने यदाकदा सुनिन्थ्यो यसअघि ! सायद यिनै केही सीमित लेखक–पत्रकारको याचक बृत्तिका कारण हुनुपर्छ, त्यहाँ जाने सबै नेपाली माग्नैका लागि जान्छन् र त्यहाँकाले पनि जानेजतिको झोला भरेर पठाउँछ भन्ने धारणा विकसित भएको होस् । तर सबै नेपाली आफ्नो स्वाभिमान त्यागेर हातै थाप्न मात्र त्यता जान्छन भन्ने विश्वास गर्ने मित्रहरूको मानसिकताप्रति मलाई रोष होइन, दया लागेको थियो ।

यस्तै अर्को एउटा प्रश्न पनि उठ्यो रे, सिक्किमबाट फर्केर मैले लेख र समाचार प्रकाशन गरेपछि । एकजना पत्रकार मित्रले सुनाएका थिए– केही प्रगतिशील साहित्यकार– पत्रकारहरूको प्रश्न थियो रे, विजय चालिसेले पनि सिक्किमको प्रशंसामा लेखेछ । यसको अर्थ सिक्किमको भारतविलयन राम्रो थियो भन्ने भएन र ! मलाई अचम्म लाग्यो, किन उठ्छन् यस्ता प्रश्नहरू । सिक्किम नेपालीबहुल एउटा पहाडी राज्य हो । त्यहाँ जेजस्ता प्रगति भएका छन् त्यो नेपाली मूलकै मानिसहरूको नेतृत्व क्षमता र सही दृष्टिकोण तथा योजनाबाट संभव भएको हो । सिक्किममाथिको अतिक्रमण ठीक थिएन, हामी भन्छौं । भूगोल र सांस्कृतिक निकटता, सामरिक महत्व र संवेदनशीलताजस्ता कुरामा नेपालसँग समानता राख्ने २८ वर्ष अघिसम्मको सार्वभौम–स्वतन्त्र राष्ट्र सिक्किममाथिको त्यो दुर्घटनाले निश्चय नै हामीलाई दुखी बनाउँछ, घच्घच्याउँछ यो स्वाभाविक हो । यस्ता घटनाबाट सचेत र सतर्क बन्नुपर्छ, यो पनि सत्य हो । तर भारतमा गाभिएपछि होस वा अघि, नेपाली भाषा, साहित्य, संगीत, परम्परा, र समग्र संस्कृतिको जगेर्ना र संरक्षण–संदद्र्धनमा हामीभन्दा इमान्दार भएर लागिरहेका सिक्किमे नेपालीले प्राप्त गरेका सफलताको बारेमा केही बोल्नु, केही लेख्नु अपराध हो त ? के यसो गर्नु भारतीय विस्तारवादको समर्थन गर्नु हो ? ती मित्रले अरुले भनेको भनेर त्यो कुरा सुनाएपछि मेरा मनमा यस्तै प्रश्न उठेका थिए । म एउटा साहित्यकार–पत्रकार, अनुभूति र यथाथलार्ई इमान्दारीपूर्वक राख्नु कर्तव्य ठान्छु र त्यसो गर्दा कताबाट कुन अवसर हात लागी हुन्छ र कताबाट कुन गुम्छ भन्ने लेखाजोखा म कहिल्यै राख्दिन ।

सिक्किम आफूभित्र र बाहिरको वर्तमान नेपाली समाज आफ्नो संस्कृति, परम्परा र संस्कारबाट टाढिँदै दिशाहीन बन्न थालेकोमा चिन्तित मात्र छैन, तिनको सामना गर्न समेत भौतिक, मानसिक र बौद्धिक विकासको समन्वयमा जेटेको छ । साहित्यले समय र समाजलाई गहिराइसम्म पुगेर खोतल्न सक्नुपर्छ, जुन जातिले आफ्नो भाषा–संस्कृतिप्रति गर्व गर्दैन त्यो जाति विकसित हुन सक्तैन भन्ने सिक्किमले उच्चशिक्षासम्मै नेपाली विषयलाई अनिवार्य गराएको छ, राज्यभरका सबै १६६ ग्राम पञ्चायतमा सरकारले नै पुस्तकालय स्थापना गरिदिएको छ । प्रत्येक वर्ष स्थानीय जनताको माग अनुसारका पुस्तक उपलब्ध गराउँदै आएको छ । त्यो देखेर नेपाली भाषाको मूल थलोको म थकाली लाजले गढेको थिएँ– खोई मेरो राष्ट्रले ध्यान दिन सकेको यस्ता कुरामा ? उता सिक्किम भने नेपाली जातीयता, भाषा र संस्कृतिको जगेर्नामा मजस्तो राजनीतिक भाषणको ओठे भक्तिमा मात्र सीमत छैन, कामैले देखाउँदै छ । नेपाली मात्र होइन, सिक्मि आफ्ना सबै भाषाभाषीको विकासमा उत्तिकै प्रतिबद्ध छ । नेपाली भाषा स्कुल कलेज महाविद्यालय सबैमा अनिवार्य छ, भोटिया, लेप्चा, शेर्पालयागत अरूले उपभाषाको मान्यता पाएर विद्यालय तहमा अध्ययन गराइँदैछन् । संस्कतलाई नेपाली र अन्य भाषाको शत्रु ठान्दैन सिक्किम, बरु यी भाषाको विकासका लागि संस्कृतको विशाल ज्ञान–भण्डार सहायक देख्छ । त्यसैले राज्यस्तरमैं संस्कृत विद्यालय खोलेर महाविद्यालयको तर्खरमा छ सिक्किम !

आउँदो दुई वर्षभित्र भानुभक्तको संसारमै सबैभन्दा अग्लो सालिक बनाएर सिक्किम विश्वसभ्यताको मानचित्रमा आफ्नै उँचाइ थप्दैछ । त्यो सालिक ५० फिटभन्दा होचो हुने छैन, यो उसको प्रपतबद्धता हो । त्यहाँ नेपाली भाषाका लेखक कविहरूका कृति र प्राप्य सबै सामग्री संकलन गरिएको संग्रहालय रहनेछ । आफ्नो भाषा, साहित्य र संस्कृतिलाई विश्वव्यापारको मण्डीमा लीलाम गर्न उद्यत मेरो नेपालले सके भोलि नेपाली जातित्वको परिचयका लागि सिक्मिको त्यही भानु सालिकस्थल गेजिङको अध्ययन केन्द्र र संग्रहालय पो धाउनु पर्ने हो कि, मलाई थाहा छैन । म यति भने जान्दछु, नेपाली भाषा, साहित्य, संस्कृति, र जातीय परिचयको विकास, विस्तार र प्रसारमा हामी आफूले गर्नुपर्ने काम नगरेकैले सिक्किम इमान्दार भएर लागिपरेको हुनुपर्छ । यसो भन्नु भारतीय विस्तारवादको समर्थन हो भने त्यो आरोप सहन पनि तयार छु म ! भानु सालिकस्थलमा पाँचसय घरको लेखकग्राम निर्माण गर्न कटिबद्ध सिक्किम आफूलाई धार्मिक, सांस्कृतिक र साहित्यिक रुपमा समेत अग्रणी बनाउन चाहन्छ, यसलाई पर्यटन उद्याोगसँग गाँस्न चाहन्छ । त्यसैले ऊ पश्चिम सिक्किमकै गेलिङमा सन्त ज्ञानदिलदास धामको विकास गर्दै छ । नाम्चीको पच्चीस एकड जनिमा भारतका चारै धामकको झल्को दिने चारधामको निर्माण हुँदै छ, सबै जातिका सांस्कृतिक सम्पदाको प्रतिनिधित्व गर्ने सङ्ग्रहालय सहित । आफ्नो संस्कृतिलाई पर्यटनसँग जोड्न उद्यत् सिक्किम एकएक महिनाको महोत्सब मनाउँदैछ– नाचगान, भेषभूषा, धामीझँक्री नृत्य, गुन्दु्रक–भट्मास र ढिँडोको नेपाली परिकार महोत्सब आदि ।

लोककल्याणकारी राज्यको कल्पना व्यवहारमा उतर्ने उपाय पनि मनग्गे गरेको छ सिक्किमले । उसले जनसंख्याको करिब ३४ प्रतिश आर्थिक रुपले कमजोर वर्गका बालबालिकाका लागि शिक्षामा पूर्ण छात्रबृत्ति दिएको छ । उच्चशिक्षामा आरक्षण दिएको कात्र छैन, बृद्धभत्ता, विकलाङ्ग कल्याण योजना, असहाय आश्रयजस्ता सामाजिक न्यायका कार्यक्रमहरू पनि प्रशस्त लागु गरेको छ ।

भारतको उत्तरपूर्वी भागमा अवस्थित सिक्क्मिको विकास प्रयासलाई मात्र ७,०९६ वर्ग किलोमिटरको सीमित क्षेत्रफल र ५ लाख ४० हजारको न्युन जनसंख्याले राम्रै साथ दिएको छ । पश्चिममा नेपाल अधिराज्य, पूर्वमा भुटान, उत्तर र उत्तरपूर्वमा चिनको स्वशासित प्रान्त तिब्बत, र दक्षिणमा पश्चिम बङ्गालसँग जोडिएको सिक्किम कुनै बेला नेपालकै अधीनमा थियो । जनसङ्ख्याको तीन चौथाई नेपाली मूलका नेपाली भाषी हिन्दु रहे पनि सिक्मिले अल्पसंख्यक महायानी र भोटबर्मेली भाषा बोल्ने भुटिया, लेप्चा तथा लिम्बु मात्रै होइन सानो संख्यामा रहेका क्रिश्चियन र मुस्लिमलाई पनि उत्तिकै सम्मान गर्न जानेको छ । ग्रामीण क्षेत्रका छरिएका बस्तीहरूमा बस्ने जनसंख्यासम्म पानी, बत्ती र बाटो पु¥याएर सिक्किमले साँच्चिकै पौरख देखाएको छ ।

लिम्बु भाषको सु हिम अर्थात नयाँ घरबाट सुखिम हुँदै चलनचल्तीमा आएको नाम आजको सिक्किम सत्रौं शताब्दी अघिको आफ्नो इतिहास बारे प्राय अनभिज्ञ नै देखिन्छ । प्राय अरुबाटै शासित सिक्किममा १४औं शताब्दी पछि तिब्ब्तबाट भोटियाहरू प्रवेश गरे, स्थानीय लेप्चामाथि शासन गर्न । सन् १६४२मा प्रथम छोग्याल (धार्मिक राजा) फुङसोङ नाम्ग्यालले राज्यको स्थापना गरेपछि १९७५सम्मै उनको बंशले त्यहाँ शासन ग–यो । यही बीचको युद्धमा पश्चिम सिक्किम लगायत तराइका भूभाग नेपालले आफ्नो अधीनमा लियो । अठारौं शताब्दीको यही मध्यतिर ठूलो संख्यामा नेपालीहरू सिक्किम पसे । सन् १८१४–१६को नेपाल अङ्ग्रेज युद्धमा ती भूभाग नेपालले गुमाएर सिक्किम बेलायतको संरक्षित राज्य बन्यो, १९६१को सन्धिले त बेलायती उपनिवेशै बनायो । सन् १९५०को सिक्किम–भारत सन्धीले भारतको संरक्षित राज्यमा सीमित तुल्यायो । १९४७ पछि राजनीतिक दलहरू खुल्दै गएर । छोग्याल र उनका समर्थकहरूले राजनीतिक दलका माग र जनतामाथि दमन कार्य बढाएपछि अशान्ति फैलिनुृ स्वभाविक थियो । अन्तिम निर्वाचनमा दुई विरोधी दल विलय भई पूर्ण बहुमत ल्याए, थप स्वतन्त्रताका लागि आन्दोलन चर्कियो । छोग्याले भारतलाई प्रशासन हातमा लिन निम्त्याए पछि बहाना खोजिरहेको भारतले आफूमा विलयन अनुकुलको नयाँ सिक्किमी सम्बिधान मस्यौदा ग¥यो । सन् १९७४मा सिक्किमी संसद्ले त्यसको अनुमोदन गरेको पछिल्लो वर्ष मञ्चित विशेष जनमतको नाटकमा ९७ प्रतिशतभन्दा बढी मत सिक्किमलाई भारतमा विलय गर्ने पक्षमा पारियो । अन्ततः मे १५, १९७५मा लामोसमय स्वतन्त्र रहेको एउटा राष्ट्र भारतको २२सौं राज्यमा गाभियो, विश्व मानचित्रबाट एउटा स्वतन्त्र राष्ट्रको अस्तित्व मेटियो !

भारतको पश्चिम बङ्गालको सेवकनगरबाटै टिष्टा नदीको किनारै किनाबको यात्राले मन लोभ्याउँदै थियो हाम्रो । तिब्ब्ती सीमा नजिकैबाट ओर्लिएको यो हिमनदी साढे पन्ध्र हजार फिट ओरालो झरेर राङपो अवतरण गरेको थियो । सिक्क्मिको जीवनरेखा टिष्टा रङ्गित, रोङ्गी छु, तालुङ र लाछुङजस्ता सहायक नदीलाई आफूमा मिसाएर विशालता ग्रहण गर्दै सिक्किमको उन्नतिमा निरन्तर सहायक बनिरहेको छ । बाटाछेउ एउटा सफलतापूर्वक जोगाइएको बाक्लो जङ्गलैजङ्गल यात्रा मार्ग जति अघि बढ्थ्यो उत्ति नै हामी रोमाञ्चक अनुभूतिमा सरोबर हन्थ्यौं । पहाडको तरेलीमा सिँढी झैं एकमाथि अर्काे उभिएको गान्तोक शहर विकट पहाडी अवस्थितिमा पनि विकास संभव छ भने प्रश्नको उत्तर झैं लाग्थ्यो । मेरो देशकोभन्दा विकट भौगोलिक बनोटको सिक्किमले यति विकास गर्न सक्छ, जनताका अधारभूत आवश्यकता पानी, विजुली, बाटो, स्कुल र अस्पताल सुृदूरका गाउँगाउँसम्म पु¥याउन सक्छ भने मेरो देश किन सक्तैन ? अनुत्तरित प्रश्न अनेकौं थिए !

राजधानी गान्तोकले मात्र होइन ४० किलोमिटर परको बौद्धतीर्थ रुम्टेकजाँदा प्रयोग गरिएका दुई क्षेत्र समेट्ने मार्गका दृश्यले पनि तिनै अनुभव गराएका थिए । छिनमा लज्जालु युवती झैं बादलुको घुम्टोमा लुक्ने, छिनमा मुसुक्क मुस्काउने गान्तोक शहर र यसबाहिरका असंख्य पहाडी घुम्तीहरू पार गर्दै रुम्टेक पुग्दा जेम्स हिल्टनको साँग्रिला सम्झिँदैं थिएँ म ! गुम्वाको निकै तल, प्रवेशद्वारमा सवारी छाडेर गुम्वा परिसर पुग्दा ँ पूर्ण शान्ती थियो त्यहाँ ।

विश्वकै प्रसिद्ध गुम्वा हो, रुम्टेक धर्मचक्र केन्द्र अर्थात रुम्टेक विहार । तिब्बत चिन अधीनस्थ भए यता धेरै तिब्बतीहरू विदेश पलायन भए । बाह्रौं शताब्दीमा दुसुम क्येन्पाद्वारा स्थापित काग्यु संप्रदायका सोह्रों कर्मापा रिग्पे दोजी तिनैमध्येका थिए । भूटानहुँदै भारत पुगेका रिग्पे, रिम्पोचे, लामा तथा भीक्षु र उनका अनुयायी सिक्किमी राजा चोग्याल तासी नाम्ग्यालको निम्तामा त्यहाँ पुगे । रिग्पेले चोग्यालकै सहयोगमा रुम्टेक गुम्बाको निर्माण गरे । सिक्किमका राजा चोग्यालले राजधानी गान्तोकभन्दा २४ किलोमिटर परकोे यही सुन्दर पहाडमा ७४ एकड जमिन उपलब्ध गराएपछि यो नयाँ रुम्टेक गुम्वा र धर्मचक्र विहारको निर्माण पूरा भयो–सन् १९६७ मा । अहिले विश्वभरका तीनसय काग्यु केन्द्रहरूको प्रधानकार्यालय बनेको छ यो धर्मचक्र विहार ।

प्राचीन तिब्बती परंपरा अनुसार निर्मित तीनतले यो गुम्वा चोक वा आँगन (कोर्टयार्ड) र भीक्षु आवासले घेरिएको देखिन्छ । चोकको मध्य भागमा स्थित स्तम्भले तिब्बती भाषामा आफ्नो इतिहास बताइरहेको रुम्टेक गुम्वाकोे शिरोभागमा देखिन्छ एउटा घाञ्जिर (गहना), जसका पाँच प्रतीकले तथागत बुद्धका पाँच परिवारको सङ्केत गरिरहेको छ । भनिन्छ, कमलले अमिताभ, कमलमाथिको चक्रले विरोचन, घण्टाले अमोघसिद्धि, आधारघटले अक्षोभ्य र दायाँतर्फ माथिको रत्नले रत्नसम्भवको परिवार बुभाउँछ । यही तेश्रो तलाको शिरोभागमा बौद्धचिन्ह धर्मचक्र र भालेपोथी मृगयुगल देखिन्छन् । बुद्ध धर्ममा धर्मचक्र बुद्ध–उपदेश र मृगयुगल ज्ञानपीपासु भीक्षुको प्रतीक मानिन्छन् ! मुख्य मन्दिरको प्रवेशद्वारमा चारवटा गुम्वा–रक्षक र गणेशको चित्र देखिन्छ । मुख्य गुम्बामाथि नालन्दा इन्स्टिीच्युटको विशाल भवनको मध्यमा १३ फिट अग्लो स्वर्ण स्तुप वा ल्हाब्बा छोर्तेन बडो आकर्षक देखिन्छ । यो नालन्दा बौद्ध अध्ययन संस्थान मा बुद्ध दर्शन, तर्कशाश्त्र, धार्मिक इतिहासजस्ता विषयमा स्नातकोत्तर तहसम्मको अध्यापन हुन्छ ।

हामीले हेर्ने अवसर पाएको अर्को एउटा मनोरम स्थान थियो राजधानी गान्तोकभन्दा चालीस किलोमिटर परको पर्यटकीयस्थल छाङ्गु लेक ! हामी बसेकोभन्दा केहीमाथिको हनुमानटोकमा तीन माइल पुलिस पोष्टदेखि नै सेनानियन्त्रित क्षेत्रको प्रारम्भ हुँदो रहेछ । त्यहाँभन्दा माथिको यात्रामा विशेष अनुमतिपत्रको आवश्यकता पर्ने भएकोले हाम्रा व्यवस्थापक चन्द्र खालिङले हिजै त्यसको व्यवस्था मिलाइसकेका थिए, त्यसले गर्दा कुनै समस्या परेन । गान्तोक–नाथुला राजमार्गको ठाडो र घुमाउरो बाटो, कतै कतै पानीले बगाएको । अहिले पनि पानी बाक्लै परेको छ, कुहिरो, बादल र पानीले कतै त चारपाँच मिटर प।र समेत देख्न सकिँदैन । बाटो कतै बादलमाथि देखिन्छ, कतै बादलमुनि ! बीचबीचमा केही पातला बस्ती–बादलमाथिको आकाशमा थुपुक्क बसेजस्तै । बाटाभरि नै ठूला ठूला प्राकृतिक झरनाहरू– मनै रमाउने ! झण्डै डेढ घण्टाको चढाई पछि ३,७,८० मिटर (१४ हजार २०० फिट) उचाइमा रहेको छाङगुको किनारामा उभिइरहेका हुन्छौ हामी । १ किलोमिटर जति लामो अण्डाकार छाङगु लेक १५ मिटर गहिरो छ रे, यहाँका मानिस यसै भन्छन् । भुटिया भाषामा तालहरूको श्रोतको अर्थ लाग्ने छाङगुको अर्को अर्थ नौवटा झरना मिलेर बनेको ताल पनि होरे । यस तालमा झारपात झर्नासाथ एउटा विशेष चरोले त्यो टिपेर ताल सफा गर्छ रे, एउटा किम्बदन्ती ।

हिउँदमा चारैतिर बाक्लो हिउँ जम्दा तालमा समेत हिँड्न सकिन्छ रे । त्यही बेला पर्यटकहरूको भीड लाग्छ यहाँ, अहिले त सिजन नै होइन– मीठो नूनीलो नौनी मथेको भोटे चिया र न्यानो व्यासायिक मुस्कानले हामीलाई स्वगत गर्ने सुन्दरी छेतेन शेर्पा र सीतामाया गुरुङ त्यसै भन्थे । पानी र चीसोबाट यात्रीलाई जोगाउन ताो चिया, छाता र न्याना ज्याकेट, मोजार पञ्जा भाडामा उपलब्धगराउने सेवामा खटिएका ती हिमकन्याझैं युवतीहरूको मीठो मुस्कालने हाम्रो भने चीसो र थकान सबै मेटाइदिएका थिए ।

तिब्बती सीमाना नजिकैको यो लेकबाट १५ किलोमिटर पर पर्ने नजाथुला नाका फेरि खुल्दै छ । १९६२को भारत–चीन युद्धपछि बन्द भएको यो नाका खुलेपछि व्यापार फस्टाउने कुरामा सिक्किम आशावादी छ । नेपाल–तिब्बत व्यापारमा भने यसले ठूलै असर पर्ने अनुमान भए पनि हाम्रो तर्फबाट कुनै चासो राखिएको देखिँदैन । सिक्किमको नाथुला र तिब्बतको राजधानी ल्हास्साको दूरी ५०० किमि छ, नेपाली व्यापारीहरूले प्रयोग गर्दै आएका खास्सा–ल्हास्साको दूरी ८५० किमिभन्दा बढी ! नेपालले तिब्बत व्यापारबाट फाइदा लिन केरुङ नाका खुल्नु पर्छ । नेपाल र तिब्बत दुबैले केरुङ नाका खोल्न सहमति जनाएका पनि छन् । तिब्बत केरुङलाई आफूसँग जोड्न राजमार्गको निर्माण पनि गर्दैछ । बरु हामी नै पछाडि पर्दै छौं । पर्यटनमा हामीलाई नाथुला पासले सबैभन्दा बढी नोक्सान पु¥याउने निश्चित छ । कैलाश–मानसरोवरजस्ता यात्राका पर्यटक नेपालको साटो नाथुला नाकालाई रुचाउने छन् ।

मधुपर्क, वर्ष ३६ अङ्क ७ पूर्णाङ्क ४१४ मङ्सिर २०६०

No comments:

Post a Comment