Sunday, August 29, 2010

चितवनको चीसो रात नबिर्सने न्यानो अनुभूति

“खोइ त आयोजकहरू कोही देखिनुहुन्न ! तपाइँको संस्थाको कार्यालय चाहिँ कहाँ छ नि ?” लगभग डेढ बजेतिर पुग्दा चितवन शीतलहरको पूर्वाभ्यासमा कठ्याङ्गिरहेको थियो । निकै ओसिलो चितवन यतिबेला भित्रैसम्म धारिलो छुरा झैं चिर्ने सिरेटोमा लपेटिएर संभाव्य शीतलहरको आशङ्कामा डुबेको देखिन्थ्यो । शहर झण्डैझण्डै सुनसान थियो । चहलपहलविहीन शहरको मानवीय गतिविधि अत्यन्त पातलो अनुभव हुन्थ्यो र सडकमा देखिने सीमित अनुहारहरू बाक्लो लुगा र शिरदेखि कानसम्म छोप्ने गलेबन्दीमा बेरिएका देखिन्थे ।

त, त्यो स्थितिमा निर्दिष्ट स्थान चितवन हाइट्स पुगेपछि सविताले इण्टरनेसनल मेडिया इन्स्टीच्युटको कार्यालय वा उद्घाटनस्थल नलगेर एउटा कम्प्युटर इन्स्टिच्युुटमा पु¥याएपछि मलाई असजिलोको अनुभव हुनु र मनमा प्रश्न उठ्नु अस्वाभाविक थिएन । त्यो इन्स्टिच्युट आयोजकहरूमध्ये नै कसैको रहेछ, र नै उनले त्यहाँ लगेकी रहिछन् । तर त्यहाँ पनि जिम्मेवार कोही नभेटिनुले झनै आशङ्का जन्माएको थियो । तिनै प्रश्न, तिनै आशङ्का र तिनै द्विविधामा निस्किएको प्रश्न थियो त्यो । अप्रिल फूल त बनाइएको होइन म ? तर होइन, अप्रिल लाग्न त केही दिन बाँकी नै छ । आजको तारिख सम्झिएँ– जनवरी १२,२००३ । त्यसैले यो आशङ्का भने निराधार हो, म मनमनै आफैंलाई आश्वस्त बनाइरहेको थिएँ ।

अनुहार देख्दा लाग्थ्यो, सविता मभन्दा कम चिन्तित थिइनन् । उनी झनै अप्ठ्यारो अनुभव गरिरहेकी देखिन्थिन् । विचरी उनलाई पनि केही थाहा थिएन यहाँ केकस्तो व्यवस्था गरिएको छ । उनको पहिलो र अन्तिम जिम्मेवारी नै मलाई काठमाडौंदेखि यहाँसम्म ल्याइदिनु, अर्थात कार्यक्रमका लागि प्रमुख अतिथि जुटाइदिनु थियो । त्यसैले उनी पनि यहाँको स्थितिदेखि अनभिज्ञ नै थिइन् ।

“केही बेर हेरौं सर, आउनुहुन्छ । कार्यक्रम जुधेछ, कोही त्यसमा हुनुहुन्छ रे, कोही आफ्नै कार्यक्रमको तयारी गर्न लायन्स हलमा !” आफैं आत्तिएकी झैं देखिने सविताले यताउता बुझेर मलाई आश्वस्त तुल्याएकी थिइन् । तर प्रतीक्षा कतिसम्म ? केही बेर पछि उनी आयोजकहरूको खोजीमा आफैं निस्किइन । चीसो क्षणप्रतिक्षण झन्झन् बढिरहेको छ । मन तराईका बारालगायतका केही जिल्लाहरूमा शीतलहरीले २५–३० जनाको ज्यान लिइसकेको खबरले लखेटिरहेछ । धेरै कार्यक्रमहरूमा धेरै ठाउँ पुगेको छु, विदेशका पनि केही देश घुमेकोछु, यस्तो अनुभव भने यो नै पहिलो थियो मेरो ।

“नमस्कार सर ! यताउता गर्दै अलमलियो, सरलाई बोर लाग्यो होला ......!” निकै बेर पछि एउटा आवाजले शीतलहरको भय र अन्य अनिश्चितताबाट लखेटिएर आफैंमा हराइरहेको मेरो शङ्काग्रस्त सोचलाई भत्कइ दिएकोथियो । अनुमानले हो वा मेरो अनुहारसँग पहिले पनि परिचित भएर हो आपसी परिचयपूर्व नै त्यो आगन्तुक अनुहार अभिवादन सहित मसँग सम्बोधित थियो । मैले अनुमान गरेको थिएँ, आयोजकमध्येकै कुनै जिम्मवेवार अनुहार हुनुपर्छ यो । उनको त्यो विनम्र व्यवहारले मेरो मनको कुनामा लुकेको शङ्गा र आयोजकहरूप्रति लुकेको झिनो असन्तुष्टी हावामा खुला कपुर झैं उडेको थियो । उनले आफ्नो परिचय दिएपछि स्पष्ट भयो, इन्स्टिच्युटका अध्यक्ष दीपक कोइराला यिनै रहेछन् ।



पहिले होटेल गएर झोलातुम्बी थन्क्याउने, त्यसपछि उद्घाटनको कार्यक्रम हुने भरतपुर जेसिजको हलपुग्ने योजना बन्यो । दीपकजी होटेलको व्यवस्था गरेर मलाई लिन आउने सल्लाह मिलाएर फेरि निस्कनु भयो । जाडोको तीब्र प्रकोप, आएदेखि नै तलतल लागे पनि एक चिया भेटिएको छैन । केही नलागेर सविता, उनका भिनाजु र म त्यो आश्रयस्थलबाट चिया पसलको खोजीमा बाहिर निस्किएका थियौं । हामीभएतिरै आउँदै गरेका एकजना भेटिए तल, र उनैले इन्स्टिच्युटको अफिसमा गएर त्यहीं चिया खाने प्रस्ताव ल्याए । उनी रहेछन् प्रशिक्षक श्रीधर पौडेल । इण्टरनेसनल मेडिया इन्स्टिच्युटको नामपट टाँगिएको कार्यालयमा मात्र एकजनाको उपस्थिति थियो– इन्स्टिच्युटका प्रबन्ध निर्देशक माधव अर्याल । सायद अफिस ढुक्नुको दायित्व निर्वाह गरिरहनु भएको थियो उहाँ ! केहीबेर पछि मलाई लिएर नेपाल गेष्टहाउस पुग्ने निर्देशन आएछ र म त्यतै लागें, माधव र श्रीधरजीको साथ ।ं नेपाल गेष्ट हाउसमा अरु सबै कुरा राम्रो भए पनि एट्याचड बाथरुम भएको कोठा उपलब्ध नभएकोले आजको रात विताउने मेरो आश्रयस्थल बन्यो– करिस्मा रेष्टहाउस !

सन्दर्भ थियो इण्टरनेसनल मेडिया इन्स्टिच्युटद्वारा भरतपुर चितवनमा सञ्चालन गर्ने एक महिने पत्रकारिता तालिममा सहभागिताको । त्यो तालिम कार्यक्रमको प्रमुख अतिथिका रूपमा उद्घाटन गरिदिनका लागि निकै अगाडिदेखि मलाई इन्स्टिच्युटका तर्फबाट आग्रहपूर्ण अनुरोध आएको थियो– सविता रिजालबाट । शुरुमा त त्यति चासो लिएको थिइन । तर सविताको जोडदार आग्रह र मेरै अनुकुल मिलाउन भनी समय समेत सारे पछि भने मैले त्यो आग्रह अस्वीकार गर्नु शिष्टता र सभ्यताको सीमोल्लङ्घन हुने ठानेंको थिएँ । त्यसैले भैरहवामा त्यही समयमा हुने बालसाहित्य समाजको वार्षिक अधिवेशन छाडेर मैले चितवन यात्राको कार्यक्रम तय गर्न सवितालाइ सहमति दिएको थिएँ । २०५९ पुस २८ गतेका दिउँसोको कार्यक्रम भ्याउन त्यही दिन विहान काठमाडौंबाट चितवन पुग्ने कार्यक्रम मिलाएका थियौं ।

वास्तवमा आयोजक संस्था र आयोजकह मेरालागि सबै नै अपरिचित थिए, सविता पनि पूर्वपरिचित थिइनन् । एक पटक रत्नराज्य बहुमुखी क्याम्पसमा बीए तृतीय वर्षको कार्यमूलक पत्रकारिता विषयको मौखिक परीक्षामा विशेषज्ञका रुपमा निम्त्याइँदा सविता पनि परीक्षार्थी रहिछन् । त्यो पनि पछि उनैले भनेर मात्र थाहा पाएको थिएँ । न त आयोजक इण्टरनेसनल मेडिया इन्स्टिच्युटका अध्यक्ष दीपक कोइराला, न प्रबन्ध निर्देशक माधव अर्यालसँग नै प्रत्यक्ष परिचय थियो । दीपकजीसँगको परिचय अध्यक्षका हैसियतले उहाँकै नाम र हस्ताक्षरमा प्राप्त निमन्त्रणा र अनुरोधपत्रमा उल्लेख भएको बेहोरामैं सीमित थियो । दिपकजी पनि रत्नराज्य क्याम्पसकै पत्रकारिता स्नातक भएकोले मेरोे पाठक र मसँग परोक्ष रुपमा परिचित हुनुहुँदो रहेछ, त्यो बाहेक हाम्रो कुनै खास चिनजान थिएन । त्यो पृष्ठभूमिमा म एकजना अपरिचित र न कुनै संस्थाको तालुकवाल, न पत्रकारिताको विकासको ठेकेदारी गर्ने प्रेसइन्स्टिच्युटजस्ता नाइके संस्थासँग सम्बन्धित ! यस्तो सामान्य व्यक्तिलाई त्यत्रो आग्रह र श्रद्धाले बोलाएकोमा अश्वीकार गर्नु शिष्टाचार पनि हुँदैनथ्यो ।

अघिल्लो दिन सविताको सम्झाउटो फोन आएको थियो सर– सवा छ बजे गौशाला काउण्टरबाट बस छुट्छ । त्यसैले ट्याक्सी लिएर लिन आउँ कि ? धुम्बाराही बस्ने ती केटीको त्यो विनम्र आग्रह सुनेपछि पुस महिनाको सबेरैको जाडोमा उनलाइ यति टाढासम्म आउने दुःख दिनु ठीक थिएन । त्यसैले भनेको थिएँ, भैगो म आफैं आउँला । तपाई दुःख नगर्नोस् । म पुगेको केही बेर पछि उनी एक्लै आइपुगिन् । बद्री पौड्याल, प्रवल पोखरेल र एबी कोइराला पनि आउने कुरा थियोरे, अरु कोही देखिएनन् । एक महिनाको तालिम हो, उहाँहरू पछि आउनुहुने छ – सविताको कुरामा मैले थप जिज्ञासा राख्नु उपयुक्त पनि देखिन । त्यसरी हामी अर्थात म, सविता र एकजना उनैका भिनाजु गौर प्रस्थानबिन्दु भएको बस समातेर हिंडेका थियौं चितवन यात्रामा ! बद्रीजी र पोखरेलजी परिचित मित्र भए पनि एबी कोइरालालाई म चिन्दिनथें । चिनारी भएको भए मजै हुने रहेछ । चितवन पुगेपछि पत्रकारिताका विद्यार्थी र अध्येताबीच निकै नै लोकप्रिय मानिएको मेरो पत्रकारिताको पुस्तकबारे कुरा हुँदा आयोजक संस्थाकै साथीहरूबाट थाहा भयो, एबी कोइरालाजीले पनि त्यस्तै पुस्तक लेख्नुभएको रहेछ । अङ्ग्रेजी र नेपाली मिसाएर लेखिएको त्यो पुस्तकमा मेरो र अन्य केही लेखकको पुस्तकबाट पूरै पूरै पाठ गल्ती समेत नसच्याई यथावत उठाइएको छ रे भन्ने जानकारी उहाँहरूबाटै पाएको थिएँ । पछि २०० रुपियाँ मोल तिरेर हेरैं, नभन्दै आरोप असत्य रहेनछ । त्यस्ता महापुरुषसँग परिचय हुन पाएको भए राम्रै हुन्थ्यो, पछि आफैंसँग भनेको थिएँ । हो, पत्रकारिताका सैद्धान्तिक अवधारणा–ऐतिहासिक विवरणहरू साझा हुन् । तिनका आधारभूत अवधारण एकअर्कोकामा मिल्न सक्छ । तर तिनका भाषा, शैली र प्रस्तुती आफ्नो हुनुपर्छ । कोइरालाजीजस्ता सरकारी क्याम्पसका प्रतिष्ठित पत्रकारिता शिक्षकले यति कुरा पनि हेक्का नराखेर कतिपय पाठ हुबहु उतार्नु बौद्धिक इमान्दारी मान्ने वा बेइमानी मैले अझै छुट्टयाउन सकेको छैन ।

पुसको अन्तिम साताको विहानीे चिसो उधुम जाडो लागिरहेको छ । चितवनमा त न्यानो होला, आखिर तराई हो भन्ने अनुमान जुगेडीमा खाना खाएर दक्षिण लाग्ने क्रमसँगै चितवनसम्म पुग्दा पूरै असत्य सावित भैसकेको थियो । हुन त तराईका कतिपय ठाउँमा यसपालि तातो हावा (लू) चलेर मानिस समेत मरे भन्ने समाचार आइरहेका थिए । तर चितवनमा त्यस्तो कुनै अप्रिय कुराको समाचार नसुनेकोले एकैरातका लागि भए पनि काठमाडौंको जाडो छल्न पाउने मेरो आशा चितवन पुग्दाको मुटु कँपाउने चिसोले तुषारापात गरिदिएको थियो । ममात्रै होइन, चढ्दो उमेरका उर्जावान मेरा सहयात्री सविता र उनका भिनाजु समेत जाडोले काँपिरहेका देखिन्थे ।

त, त्यो स्थितिमा आयोजक विहिन उपेक्षित झैं प्रतीक्षा मेरा लागि निश्चय नै कष्टकर थियो र त्यो समाप्त भएको क्षण मन केही हलुको अनुभव गरेको थिएँ मैले ! लायन्स क्लबको सभास्थल पुग्दा सबै तयारी पूरा भैसकेको देखिन्थ्यो । आयोजक–प्रशिक्षक–प्रशिक्षार्थीे सबै उपस्थित भै सकेका थिए । अतिथि धेरै आइसकेका थिए, केहीको आउने क्रम चल्दै थियो । त्यही आउने क्रमसँगै माधव अर्यालको सभापत्वि कार्यक्रम शुरु हुन्छ– एउटा मैनबत्ती सल्काएर कार्यक्रमको उद्घाटन पछि ! अतिथि बक्ताहरू पुराना पत्रकार तथा प्रेस युनियन चितौनका अध्यक्ष गणेश शेखर, सप्तगण्डकी क्याम्पसका प्राचार्य कथाकार हरिहर खनाल, कन्या क्याम्पसका प्राचार्य चन्द्र विलास अधिकारी, प्रध्यापक पत्रकार देवीभक्त ढकाल, लायन्स क्लब चितवनका रत्नप्रसाद सापकोटा सबैका धारणा व्यक्त हुँदै जान्छन् । त्यही वक्ताको लाममा म पनि भभिएको छु– हामी सबै कार्यक्रमको सफलताको कामना गर्छाै ! केही अर्ती उपदेश बाँड्छौं, केही आलोचनाका स्वर उराल्छौं, नजानिँदो आरोप–प्रत्यारोपको आगो पनि ओकल्न पछि पर्दैनौं हामी ! सबै कुरा समेटिन्छन्–समकालीन नेपाली र विश्व पत्रकारिता–आमसञ्चारका प्रवृत्ति, भावी मार्ग निर्देशन, नयाँ चुनौती र तिनको सामना गर्ने रणनीति आदि आदि । केहीे अभिव्यक्तिमा अनुभव गरिने वक्ता–वक्ता आफंै र स्थानीय आमसञ्चार संस्था–संस्था बीचका हल्का घोचपेच र अपरोक्ष आरोप–प्रत्योरोपले केही तिक्तता छाड्न नखोजेको होइन, तर पनि यस्ता अवसरमा यो अनपेक्षित नै होइन– हामीले यस्तै ठानेर चित्त बुझायौं त्यतिखेर ।

स्थानीय अतिथिहरूबाट आग्रह भए पनि जाडो र छिप्पिँदै गएको साँझका कारण कतै जाने इच्छा भएन । आफू ड्रिङ्क नगर्ने भएकोले पनि यसको आकर्षण स्वतः न्युन रहनु स्वभाविक थियो । त्यसैले माधव अर्यालले नै हुनुपर्छ होटेलमा पु¥ए पछि घरमा फोन गरेर दैनिकी टिप्दैथिएँ होटेलमा प्रा. देवीप्रसाद ढकालजी आउनुभयो । समायाभावका कारण आयोजक साथीहरूको अनुरोध हुँदाहुँदै पनि मेरो भोलि बिहानै काठमाणौं फर्कने योजना रहेकोले उहाँ मलाई भेट्न आउनु भएको थियो । ढकालजीसँग धेरै रोचक र उपयोगी कुराकानी भए । पछि दीपकजी मलाई साथ दिन साथै बस्ने हिसाबले आउनु भए पछि समय रामै्र वित्यो । चितवनको चिसोलाई त्यहाँका साथीहरूको त्यो आत्मीयताले पूरै विर्साइदियो– एक रातको छोटो चितवन बसाइलाई विर्सनै नसकिने बनाइदिएर !

२०६० जेठ १९

पल्लव साहित्यिक विविध, वर्ष ८ पूर्णाङ्क ५, असार २०६०

No comments:

Post a Comment