Tuesday, August 17, 2010

लाहुरे बनाउँदैछ मलाई मेरो् देश !

चितवनबाट प्रकाशित हुने पत्रिकालाई गएको
पत्र साहित्य
लाहुरे बनाउँदैछ मलाई मेरो् देश !
विजय चालिसे
प्रिय सुवासिनी !
तिम्रो सम्झनाले सधैं पच्छ्याई रहने भए पनि धेरै दिन पछि मात्र आज पत्र लेख्दैछु । तिमीलाई थाहै छ, म चिट्ठी लैखनमा असाध्यै अल्छी छु । मलाइ यो पनि थाहा छ, आफन्त र आफ्नो माटोबाट टाढिएपछि चिट्ठीको प्रतीक्षामा ओच्छिने आँखा र मन अनि चिट्ठीभित्रका प्रत्येक अक्षरहरूले अनुभूति गराउने स्नेहिल स्पर्शको कति भावनात्मक अर्थ रहन्छ । यहाँ सबै आफन्तका बीचमा घेरिएर आफ्नै माटोमा लुट्पुटिन पाउँदा त म आफूलाई प्राय भीडमा समेत नितान्त एक्लो पाउने गर्छु भने त्यो विरानो मुलुकमा तिमीलाई कति न्यास्रो लाग्ला, एक्लोपनको अनुभव होला, म सहजै अनुमान गर्न सक्छु !
परिस्थितिले हामीलाई धेरै अघि नै अलग्याए पनि मेरो मनमा तिमी प्रतिको कोमल भाव र विगतका मधुर यादहरू सुरक्षित छन् । चाहेर पनि म तिनलाई पन्छाउन सक्दिन । मलाई लाग्छ तिमीले पनि आफ्नो मनको कुनै तहमा ती भाव र यादहरूलाई सुरक्षित राखेकी छौ । तिनै विगतका कोमल क्षणहरू जीवनको उराठलाग्दो यो लामो यात्राका सम्बल बनेका छन् । जीवनको यो कालखण्डमा आएर म स्वीकार गर्छु, मैले तिम्रो साथ पाउननसक्नुमा मूल कारक म आफैं थिएँ । मेरै आत्मबलको अभाव थियो त्यो कारण, समाज र परिवारसँग विद्रोह गर्न नसक्नु अर्थात मेरै हुतिहारा आत्मसमर्पणको परिणति थियो त्यो । सायद त्यसैको चोटबाट थिल्थिलिएको तिम्रो मनमा मप्रति वितृष्णा जन्मनु स्वभाविक थियो । तर मप्रतिको त्यो वितृष्णका कारण आफूभन्दा धेरै पाको उमेरको अधंवैंसे रक्स्याहा हातबाट सिन्दूर थाप्नुको औचित्य भने अझसम्मै खोज्न सकेको छैन मैले ।े अव्यक्त विरोधको आवेगमा त्यो तिम्रो एउटा संझौता थियो सायद ! तिमीलाई थाहा थियो, उसबाट तिमी लामो साथ पाउने छैनौ, मानसकि–शारीरिक कुनै पनि सन्तुष्टी दिनसक्ने छैन उसले । पछि सुनें, नभन्दै त्यस्तै भयो । मातृत्वको काख समेत भर्न नसकी ऊ चाँडै नै संसारबाटै विदा भयो र तिमीले पनि मुलुक छाडेर विदेशिने फैसला ग¥यौ । तिमीले पठाएको पत्रबाट विगत भुलाउन विदेशिने तिम्रो निर्णय थाहा पाएको थिएँ । यी सबै कुराबाट म अरू अपराधबोधले ग्रसित बन्ने गर्छु र चिट्ठी लेख्न सगबगाउने हातहरूमा गतिरोध उत्पन्न हुने गर्छ ।
विगतलाई वर्तमानको हस्तक्षेपबाट प्रभवित हुन दिनुुहुन्न भन्ने तिम्रो आग्रहलाई मैले भुलेको छैन । मेरै आत्मबलको कमजोरीबाट विगतलाई स्मृतिका चित्रपटमा उतारे त्यसका कोमल क्षणहरूलाई मनमनै पटकपटक भोग्नुको आनन्द बाहेक तिम्रो सान्निध्य अब संभव छैन, यो म बुझ्द्छु । न त वर्तमानलाई नै धोका दिनु न्यासङ्गत हुनजान्छ ! तर पनि मन न हो, सम्ंझनाका तारहरूलाई चुँडालेर फाल्न बडो कठिन हुँदो रहेछ । के तिमी पनि यस्तै अनुभव गछ्र्यौ ? भो छाडिदिउँ, आखिर विगत संझेर मात्र भविष्यको यात्रा टुङ्गिंदैन । हामी दुबैलाई यो कुरा राम्ररी थाहा छ ।
अहिले त तिमी बसेको मुलुकमा पनि नेपालीहरू धेरै नै होलान् । वैदेशिक रोजगारीको आशामा म्यानपावर धाउने युवा जमातको लाम दिनप्रतिदिन बढिरहेको छ । त्यसैबाट तिमी मेरो र तिम्रो पनि मुलुकको कहाली लाग्दो भविष्यको अँध्यारो तस्बीर सहजै अनुमान गर्न सक्छ्यौ । तिमीलाई बताइरहनु पर्दैन, मेरो देश भीखको झोली थापेर जति बढी दान जम्मा गर्नसक्यो उति आफूमाथि गर्व गर्ने मगन्ते मानसिकताबाट आक्रान्त छ । बढी भन्दा बढी दरिला पाखुरीहरूलाई विदेश लघारेर रेमिटेन्सको नाउँमा अलिकति विदेशी मुद्रा जम्मा गर्नुलाई नै सफलताको सगरमाथा ठान्ने भ्रमको जालो बुन्छ, मेरो देश ! देशको स्थायी विकासमा आवश्यक पर्ने उर्वर र दक्ष जनशक्ति बाहिर धकेलेर संसारको कुन चाहिँ देशले विकासको सफलता पाएको छ, मलाई थाहा छैन । तर मेरो देश आफू खान दिन नसकेर छिमेकीकहाँ पाहुना लाग्न पठाउने अल्छी बाबुजस्तै सजिलो उपाय खोज्ने गर्छ । यस्तोमा तिमीहामी जहाँ हौं, स्वदेशमैं वा विदेशमा, आफन्तबाट टाढा...धेरै टाढा आँसुको सागर खडा गर्न वाध्य हुनु स्वभाविकै हो । भन त, जहाँ सरकारहरू नै आफ्नो असफलता लुकाउन वैदेशिक रोजगारीको सपना देखाउँछन्, मुलुकमैं रोजगारीको अवसर पैदा गर्ने प्रयासमा लाग्न उनीहरूलाई फूर्सत छैन, र जहाँका भाग्यविधाता भनाउनेहरू सत्ताको खेल र सम्पत्ति कमाउने चालमैं समय चिप्ल्याइदिन्छन्, त्यहाँका अभागी नागरिकहरूको नियति विदेशिनु बाहेक के नै हुन सक्छ र ! त्यसमाथि पनि तिमी त अर्कै परिस्थितिमा विदेश लागेकी थियौ । त्यसैले म तिमीलाई आफ्ना र आफ्नो माटोको माया चटक्कै छाडेर धनको लोभमा विदेशी बुटमुनि आत्मसम्मान र राष्ट्रिय स्वभिमान कुल्चाउने निष्ठुरी पनि मान्न सक्दिन । यसमा तिम्रो मात्र दोष देखेको भए निष्चय नै म यो आरोप लाउन पछि पर्दैन थिएँ होला । तर मलाई थाहा छ, तिमीभन्दा भिन्न परिस्थितिमा विदेशिने अरू धेरैको यो वाध्यता पछाडि पनि मेरै देश र मेरै सरकारहरूको असफलता र गलत नीतिहरू बढी जिम्मेवार छन्, त्यसैले उनीहरूलाई पनि दोष दिने ठाउँ म भेट्दिन । यसकै फलस्वरूप तिमी र तिमीजस्ता लाखौं नेपालीहरू विदेशी माटोमा स्वनिर्वासनको पीडा भोगिरहेछौ !
तिमीले कुनै एउटा चिट्ठीमा लेखेजस्तै यो निर्वासनको पीडा म राम्ररी महसुस गर्नसक्छु । यही निर्वासनको पीडा र विदेशमा खासगरी एसियाली हुनुको उपेक्षाभावबाट सिर्जित हिनताबोधको शर्पदंशको अनुभवबाट थोरै भए पनि म अपरिचित छैन । संझन्छ्यौ, मेरा साथीहरूले कुनै बेला मलाई विदेशमा पाएको छोटै समयको भए पनि कामको अवसर छाडेर स्वदेश फर्केको थाहा पाए पछि आँट नभएको घरको कीरो भन्ने आक्षेप लाएका थिए । त्यतिबेला तिमी नै त मेरो समर्थनमा चट्टान भएर उभिएकीथियौ । त्यतिबेला मेरो रक्षाकवच बनेर निस्किएका तिम्रा शब्दहरू अझै मेरा कानमा गुञ्जिरहेका छन्– उसले ठीकै त ग¥यो नि, अर्काको देशमा जति नै सुखसयल गरेर बाँचे पनि आखिर आत्मसम्मान र सन्तुष्टी त पाउन सकिंदैन । तिमी हामीलाई यो अवस्था र स्थानमा ल्याइपु¥याउन आखिर यही गरिब देशले गाँस काटेर लगानी पनि त गरेको छ नि, छैन ? अहिले सकेको प्रतिफल यही देशलाई दिनु पर्ने बेला आफ्नो पाखुरीको बल र क्षमता पैसाको लागि अर्कैका लागि सुकाउनु जन्मभूमि माथिको कृतघ्नता हुँदै र ! तिम्रा ती ओजपूर्ण आक्रमणको जवाफ दिने कसैले आँट गरेको थिएन त्यतिबेला । सन् १९८५ को कुरा थियो यो, त्यति बेला बेलायतकी महारानी नेपाल भ्रमणमा आउने कार्यक्रम थियो । बीबीसी नेपाली कार्यक्रमका सञ्चालक खगेन्द्र नेपाली महारानीको त्यही भ्रमणमा नेपाल आउने कार्यक्रम रहेछ । त्यतिबेला टमसन फाउण्डेसनको पत्रकारिता डिप्लोमा सकेर म घर फर्कने तर्खरमा थिएँ । त्यो कुरा खगेन्द्रजीलाई जानकारी थियो । बीबीसीमा मानिसको अभाव भएकोले त्यसैले उहाँको आग्रह थियो– उहाँ नेपालबाट नफर्कुञ्जेल समाचारमा सघाइदिने ! मलाई त्यतिबेला एकातिर बीबीसीमा काम गर्न पाउने लोभलाग्दो आकर्षण थियो, अर्कातिर छ महिनाको विदेश बसाइपछिको स्वदेश फर्कने तीब्र आकर्षण । ती दुई अन्तरसङ्घर्षको द्वन्दमा स्वदेश फर्कने निर्णले उछिनेको थियो । त्यही सन्दर्भमा साथीहरूको आक्षेप र आक्रमणमा तिमी सधैं मेरो साथ हुने गथ्र्यौ र म आफूले कुनै गलत निर्णय गरेको रहेनछु भनेर सन्तोष लिन्थें ।
आज त्यो भावनाले सायद कुनै अर्थ राख्दैन । अरू त अरू आज तिमी नै त्यो भावनालई दवाएर त्यही विदेशी भूमिको पराइपन भोगिरहेकी छौ । भनिन्छ, आज तेश्रो मुलुकमा वैदेशिक रोजगारीका लागि शरणार्थी नेपालीको संख्या लाखौमा पुगिसेको छ र नेपाल स्वयम् आर्थिक शरणर्थीहरू उत्पन्न गर्ने एउटा विशाल कर्खानाको रूमा चिनिन थालेको छ । भारतका शरीर बजारमा राम्रो मालका रूपमा परिचित मेरा चेलीबेटीहरू आज विदेशका अनेकौं भूभागमा शरीर शोषणको उत्पीडन भोग्न विवस छन् ।
मेरो मुलुक आज आफूभित्र अनेकौं प्रवृत्ति हुर्काइरहे छ । नाफाखोर व्यापारी, उद्योगपति, कमिसनखोर बेलौचिया, राजनीतिलाई सम्पत्ति जोर्ने व्यापार वा व्यवसाय बनाउने भ्रष्ट राजनीति कर्मी र एनजिओ–आइएनजिओ नामधारी पूजिवादी संयन्त्रका गोटीहरू भित्र पर्ने हामी एकथरी कथित नवधनिक वर्ग आफ्ना छोराछोरीमा विदेशमोहको तीब्र आकंक्षा हुर्काइरहेका छौं । केही समय विदेशमा बसी शिक्षा आर्जन गरेर नेपाल फर्की परिवारको पहुचमा उच्च लाभको पद हात पार्ने लालसा यसको प्रमुख प्रेरक बन्ने गरेको छ ।
सरकाहरू मुलुकमैं रोजगारीको अवसर सिर्जना गर्न असफल मात्र होइन, भएका रोजगारीका प्रतिष्ठानरू समेत कमिसन गुट्मुट्याएर कौडीको मोलमा विदेशीलाइै सुम्पन अग्रसर भएका देखिएका छन् । यसबाट रोजगारीका अवसर गुमाएका कामदारहरू विचल्लीमा परेका कुरा त तिमीले त्यहीँ पनि सुनेकी हौली । यसरी बाँच्ने साधन गुमाएका हामी अर्का थरी निमुखा नेपाली श्रमशक्तिहरू ऋण बेसाएर विदेश गई कमाउने सपना बुनिरहेका छौं । नेपालमैं सम्मानित र उच्च जीवनस्तर बिताइरहेका कतिपय मानिस समेत उपभोक्तावादी अन्धानुकरणको दौडमा जसरी भए पनि कमाउने र मोजमजा गर्ने उद्धेश्यले यही प्रवृत्ति हुर्काइरहका छौं । विदेश गएर भाँडा माझेरै भए पनि धन कमाउने यो प्रवृत्तिका कारण हामी सरकारी सञ्चारमाध्यममा राजनीतिक दलको काँध चडेर असमयमैं उच्च पद हत्याउन सफल कथित पत्रकार, सम्मानित जीवन बिताइरहेका साहित्यकार, प्रशासक, कथित बुद्धिजीवी र अन्य प्राविधिज्ञहरू विदेशी होटेल, रेष्टुराँ, पेट्रोलपम्प, आदिमा पाखुरा साटिहेका छौं । उनीहरूलाई यसैमा गौरवबोध हुने गरेको छ । हामी आफूलाई दोश्रो श्रेणीका नागरिकाको दर्जामा उभ्याउने लोभमा डीभीको लाममा लिलाम गरिरहेका छौ, मध्य युगीन दास बजारमा मानिसको मोलभाउ लगाइरहेका मानिसका व्यापारीहरूजस्तै केही सम्पन्नहरू तेश्रो विश्वका गरिब मानिसहरूको मोलभाउ लगाइरहेका छन् । र हामी लिलामीमा त्यसरी बिक्नुलाई नै जीवनको उच्चतम प्रगति ठानिरहेका छौं ।
तिमीलाई सधैं सम्झिरहने
राजन
२०५९ चैत ४ गते
आरुबारी
मार्फत
ऋषिप्रसाद लामिछाने,
उपाध्यक्ष, नेपाल यातायात व्यवसायी सङ्घ
केन्द्रीय कार्यालय, फोन ः २५०६६४,२१८५२८,२१८५३५
कोषध्यक्ष, यातायात व्यवसायी समिति,
नारायणघाट, चितवन फोन ः ०५६–२३६५९

No comments:

Post a Comment