Tuesday, August 17, 2010

नेपाली बालसाहित्यका चुनौती

अनौपचारिक
नेपाली बालसाहित्यका चुनौती
–विजय चालिसे
केही वर्ष यता नेपाली बालसाहित्य लेखन–प्रकाशन क्षेत्रमा उल्लेख्य विकास भएको छ । नयाँ नयाँ लेखक र प्रकाशनको आगमनहुनुका साथै बाल पाठकको सङ्ख्यामा बृद्धि हुँदै गएको छ । बालसाहित्य पनि पढ्न प्रेरित गर्नु पर्दोरहेछ भन्ने धारणा शिक्षक–अभिभावकहरूमा पनि विकसित हुँदै गएको छ । यी सङ्केतहरू अवश्य पनि उत्साहजनक मान्नु पर्छ । यति हुँदा हुँदै पनि नेपाली बालसाहित्य लेखन, प्रकाशन र बजार प्रवद्र्धनका क्षेत्रमा अझै धेरै समस्या र चुनौती रहेका छन् ।
बालसाहित्यले बालबालिकाहरूलाई मनोरञ्जन दिनुका साथै तिनका मनमा उठ्ने जिज्ञासाहरूको समाधान गरेर उनीहरूको मानसिक विकासमा सही दिशा प्रदान गर्नु पर्छ भन्ने मान्यता पाइन्छ । हाम्रा बालसाहित्य यस दृटिमा कति खरो उत्रन सक्लान् यसै भन्न सकिँदैन । आज पनि हाम्रा बहुसङ्ख्यक बालसाहित्यका विषयबस्तु कि त पुरानै सामन्ती कथाको चमकदमकबाट भ्रमित देखिन्छन्, कि नयाँ खाले उपभोक्तावादी संस्कार संस्कतिको प्रसार तर्फ लक्ष्यित पाइन्छन् । पछिल्ला कालखण्डमा लेखिएका केही नेपाली बालसाहित्यमा लेखकीय मौलिक सोच, चिन्तन, र युगानुकूल यथार्थबोध देखिएता पनि त्यस्ता कृति अत्यन्त कम छन् । सूचनात्मक बालसाहित्य अर्थात् तथ्यमा आधारित जानकारी वा सूचनामूलक बालसाहित्य तर्फ हाम्रो पर्याप्त ध्यान पुग्न सकेको छैन । विषयको बेझिलता, शुष्कता, र तथ्यको प्रभावलाई हलुको पार्न त्यसलाई कथात्मक परिवेश दिएर तयार गरिएका ज्ञानविज्ञान वा सूचनाका विविध पक्ष आजको आवश्यकता हो भने तिनको निर्माण आजका बालसाहित्यकारको चुनौती हो । आज आमसञ्चार माध्यमहरुले जुन गतिमा सूचना–ज्ञानको प्रसार गरिरहेका छन् बालबालिकामा पनि त्यही गतिमा जिज्ञासाको बृद्धि भइरहेको छ । त्यो जिज्ञासा शान्त पार्न पनि समय र बालबालिकाको मानसिक विकास अनुरुपका बालपाठ्य सामग्रीको लेखन–प्रकाशन आवश्यक देखिएको छ । टेलिभिजन र सञ्चारका अन्य माध्यम तथा विदेशी बालसाहित्य र पाठ्सामग्रीको आकर्षणबाट मुक्त गरी नेपाली बाल पाठकलाई आफूतिर आकर्षित गर्नका लागि पनि अबको नेपाली बालसाहित्यले विषयबस्तु र प्रस्तुतीगत विविधता तर्फ उपयुक्त ध्यान दिनै पर्छ । त्यसैले उनीहरूको यास्तो चाहना पूरा गर्दै ज्ञान, विज्ञान र सूचनाका विशाल फाँटलाई समेत नेपाली बाल साहित्यले आफूमा समेट्नु आजको आवश्यकता र चुनौती दुबै हो ।
प्रौढहरुको जस्तै बालकहरुको पठन चाहना पनि उमेर र आवश्यकतासँगै परिवर्तन हँुदैजान्छ । बालबालिकाको परिभाषाले सामान्यतया १६ वर्ष उमेरकासम्मका बालबालिकालाई समेट्ने गरेको पाइन्छ । बालसाहित्य लेखन र बालमनोविज्ञानका दृष्टिमा हेर्ने हो भने ३ देखि ६वर्ष, ७ देखि ९ वर्ष १० देखि १२ वर्ष र १३ देखि १५ वर्ष वा त्यसदेखि माथिको उमेरसमूहका बालबालिकाको अनुभव क्षमता, ग्रहणशीलता र बोधक्षमतामा भिन्नता रहन्छ । यस अनुसार समूहगत भाषिक क्षमता, विषयबस्तुगत रुचिभिन्नता, ग्रहणशीलता, बोध क्षमता आदिलाई ध्यानमा रखेर विभिन्न समूहको रूचि र आवश्यकता पूरा गर्ने बालसाहित्य लेखन प्रकाशन हाम्रो सन्दर्भम अर्को चुनौती मान्नु पर्छ । बालकको समूहगत भाषिक क्षमता, विषयगत रूचि, आधारभूत शब्दभण्डार र थप सिकाइको क्षमता जस्ता कुरामा हामी कहाँ कुनै वैज्ञानिक अध्ययन भएको पाइन्न । यसले गर्दा पनि उमेर अनुसारका लक्ष्यित समूहलाई सुहाउने खालका उपयुक्त बालसाहित्य लेख्ने काम लेखककालागि कम चुनौतीपूर्ण र समस्यामूलक छैन । यो क्षेत्रमा आवश्यक काम नहुञ्जेल विदेशी विदेशी बालबालिका माथि भएका अध्ययनलाई नै आधार बनाउनु हाम्रो वाध्यता भएको छ ।
त्यसरी नै नेपाली बालसाहित्य प्रकाशनको क्षेत्रमा राम्रै विकास भएता पनि गुणात्मक प्रकाशन र अधिराज्यव्यापी प्रभावकारी वितरण संयन्त्र निर्माण तथा उपयुक्त बजार प्रवद्र्धनको पक्षमा अभैm अपेक्षित काम हुन सकेको छैन । यसका लागि सरकारी निकाय, स्वशासित संस्था, सहकारी र साहित्यिक संस्था, निजी क्षेत्रका प्रकाशक, विक्रेताहरूको सामुहिक सहकार्य अपेक्षित हुन्छ । साक्षरता गतिविधिका कारण बढ्दो साक्षरता र केटाकेटीमा पढ्ने बानीको विकास हुँदै गएको अनुपातमा बालसाहित्य र विविध बाल–पाठ्य सामग्रीको माग पनि बढेको देखिन्छ । तर त्यही अनुसार संबद्ध संस्थाहरूको सहभागितामूलक सोच र तदनुरूपको संयन्त्र निर्माणको अभावले गर्दा त्यो माग र चाहना अनुरूप उत्पादन, प्रकाशन र विकास अधिराज्यव्यापी वितरणको सञ्जाल भने अझै निर्माण हुन सकेको छैन । प्रचार–प्रसार र प्रवद्र्धनको प्रयास त शून्यप्राय नै छ । ठूला संस्थागत प्रकाशनहरूले समेत सञ्चार माध्यमको उपयुक्त उपयोग गर्न सकेका छैनन् । यसले गर्दा लक्ष्यित समूहसम्म सूचना र उत्पादन दुबै पुग्न सकेको देखिँदैन । न्यून संख्यामा हुने मुद्रण, बालसाहित्य र अन्य पाठ्य सामग्रीहरुमा विविधताको अभाव, मुद्रण, लेखन, चित्राङ्कनका साथै उत्पादनका समग्र पक्षमा रहेका कमजोरी यस क्षेत्रका थप चुनौती हुन् । यिनै कुराको अभावले गर्दा विदेशी प्रकाशनका विविध बालसाहित्य र पाठ्यसामग्रीले नेपाली बजार कब्जा गरिरहेका छन् ।
हाम्रो समु हालसालै मात्र ह्यारी पोटर श्रृङखलाको ह्यारी पोटर एण्ड हाफ ब्लड प्रिन्सको प्रकाशनसँगै त्यसका प्रकाशक–वितरकले देखाएको प्रवद्र्धन रणनीतिका कारण त्यसले विश्वव्यापी रूपमा सञ्चारको ध्यान आकषित गरेको उदाहरण छ । १४०० देखि १५००।–को वीचका मूल्यमा नेपाली बजारमा बेचिएको महङ्गो पुस्तक किन्न नेपाली पाठकले समेत निकै रूचि देखाए । सञ्चार माध्यममा आएको जानकारी अनुसार ठमेलको एउटा पुस्तक पसलले मात्रै यो पुस्तक दुई दिनभित्र १५० वटा बेच्यो । यही अनुपातमा काठमाण्डौंका अरू पुस्तक पसलले पनि यसको बिक्री गरे । त्यसैले अबको रणनीतिका रूपमा प्रचार–प्रसार र आक्रामक प्रवद्र्धन शैलीलाई हाम्रा प्रकाशकहरूले पनि अनुसरण गर्नु पर्ने आवश्यकता अनुभव भएको छ । नेपाली पाठकको क्रयशक्तिका हिसाबले अति नै महँगो लाग्ने ह्यारी पोटरको माग र बिक्री वितरण रणनीतिको सफलता र नेपाली बालपाठकको पठन भोक दुबैलाई यसको उदाहरण मान्न सकिन्छ ।
बालसाहित्यको विकास र प्रवद्र्धनको क्षेत्रमा देखिने अर्को समस्या र चुनौती पठन अभ्यासको विकासमा अपेक्षित अभियान पनि हो । एकातिर आफ्ना नाति नातिनालाई लोकसाहित्यका माध्यमबाट सानैदेखि बाल साहित्य सुनाएर त्यसप्रति अभिरूचि जागृत गराउने पुरानो पुस्ताको अवसान हुँदैछ, अर्कातिर बाल पठन अभ्यास बढाउन आवश्यक पर्ने बाल पुस्ताकालय र वाचनालयहरूको सञ्जाल निर्माण गर्ने तर्फ कुनै काम हुन सकेको छैन । किनेरै पढ्न सक्ने र चाहने बालपाठक तथा तिनका अभिभावकसम्म पनि बालसाहित्यका पुस्तकहरू पु¥याउन सक्ने योजनाबद्ध तथा संगठित वितरण प्रणालीको अझै अभाव छ ।
सरकारी योजनाहरूमा आजसम्म औपचारिक बाल शिक्षा बाहेक बालसाहित्यका माध्यमबाट प्राप्त हुने अनौपचारिक शिक्षालाई महत्व दिइने गरेको पाइँदैन । विकासको अर्थ जनशक्तिको मानसिक, सामाजिक, शारीरिक आदि चौतर्फी विकास हो भन्ने स्वीकार गर्ने हो भने बाटोघाटो, पुल पुलेसा र अन्य विकास निर्माणसँगै पुस्तकालय, वाचनालय र उपयुक्त पाठ्यसामग्री जस्ता कुरा पनि विकासका पूर्वाधार मानिनु पर्छ । यो कुराको बोध गराउनुका साथै प्रौढ तथा साक्षरता कक्षाहरुको प्रसार र पुस्तकालय र वाचनालयहरू धेरैभन्दा धेरै स्थापना गर्ने तर्फ राष्ट्रिय आन्दोलन चलाउनु बालसाहित्यको क्षेत्रमा लाग्नेहरूको अर्को चुनौती हो । सरकारका स्थानीय निकायहरूले विकास निर्माणका अन्य परियोजनाअन्तर्गत पुस्तकालय तथा वाचनालयको स्थापनालाई पनि समावेश गर्दै गए भने हरेक गाउँमा कमसेकम एउटा एउटा पुस्तकालयको निर्माण र सञ्चालन कठिन देखिँदैन । त्यसरी नै प्रत्येक विद्यालयमा पुस्तकालय हुनै पर्ने शिक्षा नीतिको अवधारणा अनुरूप सरकारले विद्यालयका लागि दिने बजेट, आर्थिक अनुदान र सहयोगअन्तर्गत पुस्तकालयकै स्थापना र विकासमा खर्चनु पर्ने अनिवार्यता सहित प्रत्येक वर्ष निश्चित रकमको व्यवस्था गर्नु आवश्यक छ । शिक्षा मन्त्रालय, उच्च माध्यमिक शिक्षा परिषद् जस्ता निकायले विद्यालय र उच्चमाध्यमिक विद्यालयस्तरीय शिक्षण संस्थाका लागि भनी बर्षेनी लाखौंको पुस्तक किन्ने गरेका छन् । तर ती पुस्तक खरिद गर्दा पहुँच हुनेको एउटै पुस्तक लाखौंको किन्ने गलत अभ्यासका कारण सरकारी स्रोतको सही उपयोग भएको देखिँदैन । यसका लागि बालसाहित्यका क्षेत्रमा लागिरहेका लेखक, अभिभावक र सरकारी प्रतिनिधि सम्मिलित सिफारिस समिति बनाएर त्यसको सिफारिसमा स्तरीय र उपयुक्त बालसाहित्य तथा विविध बालपाठ्सामग्री विद्यालय, उच्चमाध्यमिक विद्यालयहरूमा उपलब्ध गराउने व्यवस्था हुनु आवश्यक देखिन्छ ।

No comments:

Post a Comment