Sunday, August 29, 2010

मेरो चित्र–फलकमा बौद्ध

समय गतिशील छ,गतिशीलता नै जीवन हो,गतिशीलता बेगरको जीवन मृत्यु हो । नवीन सभ्यताको निर्माण यही गतिशील यात्राको सार्थकतामा अर्थपूर्ण बन्छ । यही गतिशीलताले नवीन सभ्यता र परिवर्तनको ढोका खोल्छ,समयले स्वतः ल्याउने परिवर्तनको स्वभाविक गतिलाई तीब्रता प्रदान गर्छ ।

मैले वाल्यकालदेखि नै नजिकबाट हेर्दै आएको बौद्ध अर्थात काठमाडौं महानगरपालिकाको छ नम्बर वडाले पनि यो इतिहाससिद्ध सत्यलाई राम्ररी अनुभूत गरेको छ,,राम्रैसँग आत्मसात गरेको छ, ! विकास र परिवर्तनका स्वभाविक–अस्वाभाविक दुवै खाले गतिलाई पनि यसले आफूमा ग्रहण गरेको छ । भौतिक विकासका धेरै सोपानहरु पार गर्ने क्रममा यसले कतिपय आफ्ना विशिष्ट पचिान गुमाएको पनि छ,आधुनिक बन्ने धूनमा सिङ्गै राष्ट्रले जस्तै कतिपय सन्दर्भमा आफ्नोलाई भन्दा अर्काकालाई काखी पनि च्यापेको छ । नवीन सभ्यताका कखरा खारिसकेको छ,परिवर्तनका धेरै यात्राहरु पार गरिसकेको छ । यही गतिशीलता कै नाउँमा यसले नयाँसँग साटिने क्रममा केही पुराना पहिचानलाई गुमाउन पनि थालेको छ,केही पुराना मान्यतालाई नवीन आयाम दिने कष्टसाध्य प्रयास पनि गरेको छ । यसरी मैले देख्दादेख्दै बौद्धले आफूभित्र रुपान्तरणका अनेकौं आयाम प्रदर्शित गरेको छ । गतिशीलता र परिवर्तनका अनेकौं यात्रा पार गर्दे आएको बौद्धलाई अहिले म कुन आँखाले हेरौं, निर्णय लिन म कठिनाइ अनुभव गरिरहेको छु ।

मेरो बाल्यकालको विम्बसँग बौद्ध नमेटिने गरी गाँसिएको छ । मेरो वाल्यकालमा अलिकति बुझने भएपछि प्रत्येक वर्षको साउन–भदौले मलाई बौद्ध सम्झइरहन्थ्यो । तीनै महिनामध्ये कतै कुनै दिन पर्न आउने बौद्धको प्रसिद्ध चाड गाईजात्रा,रोेपाइँजात्रा र लगभग त्यही समयतिर पर्ने तिमालजात्राको आकर्षणले मलाई बौद्ध सम्झाउँथ्यो,र हामी अर्थात म र मेरी दिदी मेरो घर आरुबारीबाट एकदुईदिन त्यतै बस्ने गरी बौद्ध जाने दिन गन्नमा व्यग्र रहन्थ्यौं ।ं त्यो व्यग्रतामा हामीलाई बौद्धकी बज्यैले बनाएर खान दिनुहुने गुलियो विनाको जङ्गी सेलको स्वादको आकर्षण कति हुन्थ्यो,मासको स्वदिष्ट बाराको आकर्षण कति रहन्थ्यो र जात्राको आकर्षण कति भन्ने कुरा म अहिले यकिनपूर्वक छुट्याउन सक्दिन । तर अहिले पनि म भन्नसक्छु ती सबै कुरा नै मेरो बौद्धप्रतिको आकर्षणलाई व्यग्र बनाउने प्रमुख कारण हुन्थे । मेरी नेवार्नी सौतेनी हजुरआमालाई मेरा हजुरबाले दिनुभएकोे अंशघर त्यही बौद्धबजारको मध्य भागमा(अहिले तुलसीनारायणको होटेलसँगै जोडिएको पक्की घर) थियो र हामीले त्यस्ता धेरै जात्राहरु त्यही घरको झ्यालमा,तलको दलानमा बसेर हेरेका थियौं । त्यही घरमा उहाँले आफ्नो जीविकाको साधन सानो पसल थाप्नु भएको थियो–जङ्गीसेल र जिभ्रोमा मीठो स्वाद गड्ने मीठो आलुको अचार–तर्कारी बनाएर बेच्ने सानो पसल । यही व्यवसाय उहाँको बाँच्ने आधार थियो सायद ! हजुरआमाले सालको पातमा राखेर खाजाको रुपमा दिनुहुने त्यो जङ्गी सेल र आलुको अचार तथा कवाफ अर्थात तर्कारीको स्वादमा नराम्ररी लठ्ठिन्थ्यौं हामी ! त्यसमाथि तिनै बज्यैका जेठा छोरा अर्थात मेरा ठूलाबाको मायामा हामी चुर्लुम्मै डुब्ने गथ्र्याै हामी ! यिनै कारणले बौद्धप्रति हामी अत्यन्तै आशक्त थियौं र त्यो आशक्तिपूर्ण आकर्षणलाई अरू मलजल गर्ने कारक थिए–तिनै विभिन्न चाड र मनोरञ्जनपूर्ण नाचगानहरू । त्यसैले हामी बौद्ध र बौद्धका ठूलोबा भनेपछि हुरुक्कै हुने गथ्र्यौं ।

त्यतिबेलाको सानो सडकको रूप अहिले फराकिलो कालोपत्रे मार्गमा फेरिएको छ । सडकका वारिपारि एकअर्कासँग जोडिएर बनाइएका प्राय कच्ची इँटाका पराल–छ्वालीले सपक्क छाइएका घरहरू हेर्न चाहेर पनि म अहिले देख्न सक्तिन । भर्खर छाइएको बेलामा टलक्क टल्किने सुनको गजुरजस्तै देखिने पराल र छ्वालीको छाना बोकेका ती सानासाना नेपाली शैलीका घरले

आफूलाई पूणं रूपमा रूपान्तरण गरिसकेका छन् । सिमेण्टीका बहुतले पाश्चात्य शैलीका घर र बङ्गलाहरूमा आफूलाई साटेर आधुनिकताको भ्रममा घमण्डले गजक्क फुल्न थालिसकेका छन् । त्यति बेला सडकबाहिर बाटै देखिने विशाल बौद्धचैत्यको सौन्दर्य र अकर्षण आजको जस्तो यसरी कङ्क्रीटका बहुतले भवनरुपी जङ्गलभित्र छोपिएका थिएनन् । सडकमैं बसेर त्यो चैत्यको अनुपम सौन्दर्यपान गर्न सकिन्थ्या,त्यसले फिंजाएको शान्तिको सन्देशलाई अन्र्तमनसम्म नै महसुु गर्न सकिन्थ्योे । र,सकिन्थ्यो त्यसको शान्तिकामी नेत्रको शीतलतामा मनका तापहरू पखाल्न ! अहिले आधुनिक बन्ने मोहमा बौद्धले त्यो आफ्नो पुरानो आकर्षणलाई यिनै कङ्क्रीटका जङ्गलको कैदमा बन्दी बनाएको छ,विकास र आधुनिकताका नाउँमा आफूलाई कृत्रिमताको अन्धकूपमा आकण्ठ डुबाइसकेको छ । हुनसक्छ,मेरो यो सोचलाई परम्परावादी सोचको प्रतिफल होस् ! तर जे होस्,मलाई त्यही खुला बौद्धको पुरानै सौन्दर्य प्रिय लाग्छ,सुदर्शन लाग्छ र आफ्नो लाग्छ । मलाई थाहा छ–समयक्रममा मेरो चाहना र मलाई लाग्नु नलाग्नुकोकुनै अर्थ रहँदैन,मेरा यी चाहनाले सकारात्मक होस. वा नकारात्मक,परिवर्तनको गति रोकिंदैन,समयको गति थामिंदैन ।

हो,त्यति बेला प्राय हिउँदको महिनामा त्यहाँ आउने तिव्वती तीर्थ यात्रुहरूका खच्चर–गधाका विष्टाले छपक्कै छोपेर जतासुकै भेटिने फोहरको जङ्घार र त्यसले फैलाउने एकप्रकारको नमीठो अप्रिय गन्धबाट बौद्ध अहिले पूर्णरूपमा मुक्त भएको छ । तिब्बती भोटपठारका हामीले भोटे र थाक्से भनेर चिन्ने गरेका ती तीर्थयात्रीहरूको अनौठो गन्धले पनि अहिले बौद्धलाई छाडिसकेको छ । तिनै तीर्थयात्रीले बाटो छेउछाउ टालाटुली फिंजाएर बेच्न राखेका जिम्बुको अनौठो बास्ना र जरीबूटी,मुँगा–पत्थरका गरगहना तथा तिब्बती भेडा–च्याङ्ग्राका सुकुटीबाट पनि आजको बौद्धले मुक्ति लिइसकेकोे छ । अब बौद्धलाई ती बस्तुहरूको आवश्यकता छैन । बजार नानाथरी बट्टाबन्द मसलाले भरिएको छ । बौद्धलाई तिनै थाक्से–भोटेहरुले त्यसरी नै बाटामा फिंजाएर राखेका सियो र मुगापत्थरको भर पर्नु पनि अब आवश्यक छैन । विशाल बजारका लघुरुप डिपार्टमेण्टल स्टोर्सको लाम लागेको छ अहिलेको बौद्धमा र ती आधुनिक पसलहरूमा धाएपछि मनले चाहेको बस्तु सजिलै प्राप्त हुन्छ–आकर्षक रूपमा । ती थाक्से–भोटेका ठाउँमा अहिले सुकिला सफेदपोस तिब्बतीहरुको खास्सा बजार सडकपेटी र बौद्धगिर्दाका वरिपरि बिस्कुन झैं फिंजिएको पनि देख्न पाइन्छ,अहिले । त्यति बेलाका तिब्बतको हिउँजाडोमा बर्षौं नुहाउन नसक्ने तिनै थाक्से–भोटे तीर्थयात्रीले टाढैबाट विशेष प्रकारको गन्ध छाड्ने कथित असभ्यताको ठाउँ अहिले सम्पन्न सुघ्घरीहरुले लिइसकेका छन् । अब त्यसरी शिरकोे जुम्रा खोज्दै टोक्ने थाक्से–भोटे तीर्थयात्रीहरुबाट पनि मुक्ति लिइसकेको छ,आजको मेरो बौद्धले । यो परिवर्तनको क्रममा उसले आफ्नो पुरातन पहिचान गुमाएको छ, छैन त्यो चाहिं यसको अनवरत रखवाली गर्ने यही बूढो चैत्यलाई थाहा हुनु पर्छ !

सेवालाई भन्दा व्यपारलाई बढी महत्व दिन थालेको छ अहिले मेरो बौद्धले ! हिजो बटुवा र तीर्थयात्रीको सेवाका लागि चुच्चेपाटीदेखि गधापाटीसम्मको निशुल्क बास–पानीको व्यवस्था गर्ने बौद्धले अहिले सक्नेका लागि अरामदायी सशुल्क लज र होटेलहरू जुटाइदिएको छ । सधैं गाग्रोभरि पानी भरिएका देखिने ती पाटीहरू अब देख्न पाइँदैन त्यहाँ । बाटो ह्रिंड्ने जोकोहीले पनि तीर्खालाग्दा मीठो पानीले प्यास मेट्न पाउने ती पाटीहरू अब स्थाननाममा मात्र सीमित रहेका छन् । तिनै पाटीहरूमा यात्रुहरू बास बस्थे,आफ्ना गधा–खच्चरहरूलाई बास बसाउँथे । अब ती पाटीहरू छैनन् बौद्धमा,न त तीर्खा लागे प्यास मेटाउन सार्वजनिक धाराहरूको नै व्यवस्था गरिदिन सकेको छ बौद्धले आफ्ना पाहुनाका लागि ! आजको सभ्य,आधुनिक बौद्धले क्षण–प्रतिक्षण पुरानो असभ्य चाहिने शौचालयको सार्वजनिक व्यवस्था मिलाउन अझै बाँकी देको छु मैले । बरू पुरानो र गँवार बौद्धले नीलकाँडाका झाडी नै भए पनि उपलब्ध गराएको हुन्थ्यो, आवश्यकता पर्दा छेको लाग्न !

बौद्धले मात्र होइन,उसका यी परिवर्तनहरूसँगै मैले आफूभित्र हुर्काइरहेको यसको रहस्यात्मकता,रोमाञ्च र भयमिश्रित आकर्षणलाई पनि निकै अघि नै गुमाइसकेको छु । बौद्ध तीर्थयात्रामा आउने ती तिब्बती भोटे–थाक्सेहरू हिउँदतिर मेरो गाउँतिर पनि पुगने गर्थे–जिम्मु, सियो,मुगा–पत्थर र हिमाली जडीबूटी बेच्न,पीठो–चामल र केही पैसासँग साट्न । तिनको हिमाली पोशाक,नबुझिने बोली,बासका लागि बारी–फाँट र बाँसझ्याङतिर रात बिताउने विवशताजन्य अभ्यासका कारण उनीहरु हाम्रा लागि डरलाग्दा जीव थिए,अर्कै ग्रहका जन्तुजस्ता लाग्थे । त्यसमाथि हामी सानाछँदा आमा र ठूला मानिसहरूले झगडा नगर् है नत्र थाक्सेलाई दिएर पठाउँला भन्दै तर्साउँदा परेको मनोविज्ञानले दन्यकथाका राक्षसको विम्व बोक्थे उनीहरू हाम्रा बालमनमा । मनको कुनै कुनामा भय यसरी जमेर बसेको थियो,तिनलाई देख्दासाथ त्यो मनको कुनाबाट बाहिर आएर मनै ढक्क फुलाइदिन्थ्यो । तिनै भोटे–थाक्सेबाट प्राय भरिएर रहने बौद्ध त्यसैले हाम्रो बालमनभित्र डरलाग्दो आतङ्क बोकेको ठाउँ थियो धेरै सानोमा–एक्लै हिंड्न समेत नहुने मुग्लानजस्तै रहस्यको वर्जित भूमिजस्तै । त्यसैले पछिसम्म दिउँसै पनि एक्लै हिंड्न डराउँथ्यौं हामी बौद्धतिर । बौद्धप्रतिको हाम्रो यो नकारात्मक विम्व र भयग्रस्त मानसिकता पछि विस्तारै हट्दै गएर अव्यक्त आकर्षणमा परणत भएको मैले पत्तै पाएको थिइन । बौद्धकी बज्यै र ठूलाबाको स्नेहले अलिअलि मेंिटदै गएको त्यो नकानरात्म धारणा पछि चावहिल स्कुल पढ्दा र प्रेम र प्रेमजस्तै त्यही बौद्धका साथीहरूसँगको धेरथोर सङ्गतले रामैसँग पुछेर फालिदिएको थियो । अझ पछि जोरपाटीको चामुण्डा माध्यमिक विद्यालयमा पढाउन थाले पछि त बौद्ध मेरो अबेरसम्म साँझ विताउने, आध्यत्मिक–बौद्धिक चर्चा गर्ने र राजनीतिको गफ गर्ने समेत थलो नै बन्न पुगेको थियो । हरिदाइ(हरिप्रसाद अर्याल),जनक दाइ(देबीबहादुर थापा) र म त्यही बौद्धको तुलसीदाइको चिया पसलमा घण्टौंघण्टा अनेकों गफमा विताइदिन्थौं । तीनचुलेका साङ्गे दाई, किनी दोबाटोका दाहाल र केही वर्ष अघिदेखि बौद्धमा बस्न थालेका शिवध्वज बस्नेत आदिसँग चल्ने सानातिना छलफल र सहमति–असहमतिका विवाद ! गणेश योञ्जन,अशोक लामा,प्रेम,तीर्थभाइ आदि र गणेशजीहरूकै सक्रियतामा थोरै समय भए पनि चलेको बौद्ध पुस्तकालयको पठनपाठनको सरसङ्गत । अझ बौद्धनाथको विशाल चैत्यको मध्यपीठिकामा बसेर घण्टौं गरिने विविध विषयका कुराकानी र असीम शान्तिको अनुभव मेरो जीवनको अविस्मरणीय कालखण्ड भित्र पर्ने सीमित क्षणहरूमध्ये पर्दछन् । बाल्यकालमा दिउँसै हिंड्न डराउने त्यही बौद्ध,पछि मेरो रातविरात सुरक्षित आवागमनको सुगम मार्ग बनेको थियो ।

मेरा मानसपटलमा विगत बौद्धविम्बहरू एकपछि अर्को आलोकित हुँदै जान्छन् र कुन समातूँ,कुन छाडूँ अन्योलग्रस्त छु म ! निकै वर्ष भएछ बौद्धसँगको त्यो मेरो रातविरातको निकट सम्बन्ध छुटेको । बौद्धसँग पहिलेजस्तै दैनिक र बाक्लो भेटघाट नभए पनि आक्कलझुक्कल हुने जम्काभेटमा पनि म बौद्धका परिवर्तनहरूलाई आत्मसात गरिरहेको हुन्छु विगत दश वर्षमा वडानायक भएर त्यसका टोली र टोलीनायकहरूले गरेका प्रासबाट बौद्धले अहिले राम्रै भौतिक उन्नति प्राप्त गरेको छ । विश्वकै पुरातात्विक सम्पदा बौद्धनाथले आफ्नो वास्तविक परचय दिन अरू पनि प्रयास गर्नेुपर्छ । बौद्धले र बौद्धको स्थानीय निकाय प्रमुखहरुका साथै त्यसका ऊर्जावान् टोलीले यसका लागि धे्ररै प्रयास र प्रारम्भको शुभासम्भ गरिसकेका पनि छन्् । बौद्धलाई अब भौतिक विकासले मात्र पुग्दैन,सांस्कतिक–बौद्धिक र आध्यात्मिक जागरणको पनि आवश्यकता छ भन्ने उनीहरूले निश्चय नै बुझेका छन् । बौद्धको पहिचान आयातीत संस्कृति–सभ्यता होइन,यसको आफ्नै ऐतिहासिक स्वरूप,यसको आफ्नै संस्कृति र सभ्यताबाट हुन्छ भन्ने पनि संभवतः नबुझेको छैन बौद्धले । होट्ल, सुपरमार्केट मात्र होइन,वाचनालय,पुस्तकालय र बौद्धिक मन्थनका थलाहरूको व्यवस्था गर्ने प्रयास पनि सुरुहुने छ, हामी शुभचिन्तकहरूको कामना !



हाम्रो सङ्कल्प, वर्ष १ अङ्क १, अशोज २०५९,संकल्प युवा परिषद् ।

No comments:

Post a Comment