Tuesday, August 17, 2010

भानु, ह्यारी पोटर र सञ्चार अभियान

अनौपचारिक
भानु, ह्यारी पोटर र सञ्चार अभियान
–विजय चालिसे
माध्यमिक शिक्षा परिषद्ले निम्त्याएको अनपेक्षित पाठ्क्रमीय भाषा विवादको लगत्तै परेको भानुजयन्तीका कार्यक्रमहरू लगभग दुई हप्तासम्मै चले । यसले विशेष ध्यान खिच्नु स्वभाविक पनि थियो । अनेकौं संस्थाहरूले विभिन्न कार्यक्रम मनाए, प्रतिभाहरू पुरस्कृत भए, नयाँ पुस्ताले केहीमात्रामा भए पनि भानु र भाषाका बारेमा केही सुन्ने मौका पाए । तर नेपाली भाषामैं प्रकाशित हुने ठूला आकारका हाम्रा अधिकांश अखबारहरूमा समेत यसलाई त्यति महत्व नदिएको विडम्बना पनि साथसाथै देखियो । चलचित्र महोत्सव र ह्यारी पोटर प्रचारको भीडमा भानु र नेपाली भाषासाहित्य नराम्ररी ओझेलमा परे । भानुजयन्ती र त्यसको भोलिपल्ट प्रकाशित हाम्रा नौवटा राष्ट्रिय दैनिकहरूको सामान्य विश्लेषणले यो विडम्बनाको पुष्टी गर्ने छ ।
हामीकर्हाँ नेपालीका छवटा र अङ्ग्रेजीका तीनवटा गरी नौवटा ठूला आकारका छापाहरू प्रकाशित हुन्छन् । तीमध्ये भानुजयन्तीका दिन अर्थात असार २९ गतेको अङ्कमा गोरखापत्रले पहिलो पृष्ठमा भानुसम्बन्धी कुनै समाचार तस्बीर नदिए पनि कमसेकम तेस्रो पृष्ठमा “भानुजयन्ती आज” शीर्षक समाचारलाई पहिलो समाचार बनाएर दोस्रोनै भए पनि सम्पादकीय समेत लेखेको छ । त्यो दिन अरु अखबारमा भानु बारे कुनै समाचार विचार र तस्बिर फेला पार्न सकिँदैन । गोरखापत्रले भोलिपल्टको अङ्कमा पहिलो पृष्ठमा भानुको कुनै तस्बिर दिने आवश्यकता नदेखे पनि भानुजयन्तीकै सन्दर्भमा प्रदत्त राष्ट्रिय प्रतिभा पुरस्कारसम्बन्धी समाचारलाई पहिलो मुख्य समाचार बनाएर उचित स्थान दिएको छ । दोस्रो पृष्ठमा एउटा तस्बिर सहित दुईवटा समाचार र पाँचौं पृष्ठमा एउटा लेख र भानुको तस्बिर छापेर पनि गोरखापत्रले भानुभक्त र नेपाली भाषा साहित्यको उचित सम्मान गरेको देखिन्छ । गोरखापत्रकै सहप्रकाशन राइजिङ नेपालले पहिलो पृष्ठमा राष्ट्रिय प्रतिभा पुरस्कार सम्बन्धी समाचारलाई पहिलो मुख्य समाचार बनाएको छ भने तेस्रो पृष्ठमा एउटा ठूलो फोटोसहित भानभक्त सम्बन्धी लामो समाचारलाई मुख्य समाचार बनाएको छ । भानुको तस्बिरलाई पहिलो पृष्ठमा स्थान दिने, संपादकीयको विषय बनाउने र लेखका माध्यमबाट चर्चा गर्ने तर्फ भने यसले पनि ध्यान दिएको छैन । आफूलाई राष्ट्रिय दैनिक भनाउने त्यसदिनका अरु कुनै पनि ठूला आकारका नेपाली प्रकाशनले नेपाली पहिचान र संस्कृतिका उन्नायक तथा भाषिक एकीकरणका इतिहासपुरुष भानुभक्त र नेपाली भाषा, साहित्य तथा संस्कृतिलाई सम्झने सम्झाउने आवश्यकता देखेका छैनन् । ती छापाहरूमध्ये आफूलाई सर्वाधिक प्रभावशाली र पहुँच भएको दावी गर्ने कान्तिपुरले पहिलो पृष्ठको पहिलो स्तम्भमा साहित्यकार भरतराज पन्तको सानो फोटोसहित उहाँलाई भानु जयन्तीको अवसर पारेर दिइएको पुरस्कारसंबन्धी सानो समाचार र तेस्रो पृष्ठमा भानुका पनातिद्वारा कवितावाचन गर्दै गरेको एउटा फोटो बाहेक अरु कुनै समाचार, लेख, संपादकीय र तस्बिर दिने आवश्यकता देखेको पाइँदैन । यसकै सहप्रकाशन काठमाण्डु पोष्टले त भानुको भसम्म उल्लेख गर्ने आवश्यकता देखेन । उता त्यही दिनको कान्तिपुरमा ह्यारी पोटरको लामो समाचार र लेखिका जेके रोलिङको तस्बिरले समेत निकै महत्वपाएको छ । चलचित्रका तस्बिर र समाचारले महत्वपूर्ण ठाउँ लिएका छन् । काठमार्डौ पोष्टमा पनि त्यही प्रवृत्ति देख्न पाइन्छ । ती दुबै प्रकाशनमा सिनेमा, हल्का खालका लोकप्रिय मनोरञ्जन, खेलकुद र आर्थिक गतिविधि आदिका समाचार तस्बिरहरूले पूरा पूरा पृष्ठ ओगटेका देखिन्छन्, मूल्यमा आधारित नेपाली भाषा, साहित्य रं संस्कृतिले भने कतै पनि स्थान पाउन सकेको देखिँदैन । यसै गरी दोस्रो र तेस्रो पृष्ठमा राजधानीका केही कार्यक्रम मिलाएर एउटा र जाजरकोट एउटा गरी दुईवटा सङ्क्षिप्त समाचार दिएर आफ्नो दायित्व पूरा भएको ठान्ने राजधानीले पनि भानुभक्तसम्बन्धी तस्बिर, राष्ट्रिय मूल समारोहका समाचार, र लेख तथा संपादकीय विचार आदि समावेश गर्ने आवश्यकता देखेन । भानुक्तलाई पहिलो पुष्ठमा अट्न सक्ने व्यक्तित्व ठानेन । नेपाल समाचारपत्रले त्यसदिनको आफ्नो पहिलो पृष्ठमा कुनै समाचार नदिएता पनि भानुभक्तको तस्बिरलाई रथमा राखेर नगर परिक्रमा गराइँदाको ठूलो तस्बिर पहिलो पृष्ठमैं छाप्न योग्य ठानेर सबैलाई उछिनेको छ । यसले दोस्रो पृष्ठमा भानुका पनातिद्वारा चुँदीरम्घा स्थित भानु प्रतिमामा माल्यार्पण गरेको तस्बिर र प्रतिभापुरस्कार सम्बन्धी सानो समाचारलाई पनि स्थान दिएको छ । तर यस सम्बन्धी अर्थात नेपाली भाषा, साहित्य र संस्कृतिसंबन्धी संपादकीय र लेखले भने यसमा पनि स्थान पाएको छैन । तर पनि सरकारी भनेर उपेक्षित हुने गरेका गोरखापत्र संस्थानका प्रकाशन पछि भानु र नेपाली भाषा साहत्य संस्कृतलाई उचित सम्मान र स्थान दिनु पर्छ भन्ने धारणा यसैमा देखिएको अनुभवहुन्छ । यसरीनै अन्नपूर्ण पोष्टले तस्रो पृष्ठमा भानुजयन्तीको मूल समारोहको समाचार र प्रतिभा पुरस्कारका साथै पाँचौं र छैटौं पृष्ठमा चुँदीरम्घा र चितवनका ससाना दुईवटा समाचारलाई स्थान दिएता पनि पनि भानुसम्बन्धी तस्बिर, लेख र सम्पादकीयलाई भने ठाउँ दिने आवश्यकता देखेन । यसकै सहप्रकाशन अङ्ग्रेजी दैनिक द हिमालयनले चुँदी रम्घाको एउटा सानो समाचार बाहेक भानुभ भक्त र नेपाली भाषा, साहित्य तथा संस्कृतिको चर्चा गर्ने आवश्यकता देखेन । जबकि यसको पहिलो पृष्ठ सिने अभिनेता र अभिनेतृहरूको तस्बिरले सजिएकोछ । अब रह्यो बाँकी हिमालय टाइम्स नेपाली दैकि । यसले पहिलो पृष्ठमा दार्जलिङमा मानइने भानु जयन्तीको लामो समाचार दिए पनिे यस सम्बन्धी नेपालभित्रका कुनै समाचार दिएन, भानुको तस्बिर र लेख, संपादकीयको त कुरै भएन ।
नेपाली भाषा, साहित्य र संस्कृतिले भानु जयन्तीको बेला मात्र होइन अघिपछि समेत उचित ठाउँ पाउन सकेका छैनन् । चलचित्रका नायकका ठूला ठूला तस्बिर र गतिविधि तथा समाचारका साथै अन्य हल्का मनोरञ्जनप्रधान सामग्री र विदेशी साहित्य र संस्कृतिले जति ठाउँ पाउने गरेका छन् त्यति ठाउँ हाम्रा छापा र अन्य विद्युतीय माध्यममा मूल्यमा आधारित नेपाली भाषा, संस्कृति र साहित्यले कहिल्यै पाउन सकेका छैनन्, यो हाम्रो यथार्थ हो । यसरी आजका हाम्रा सञ्चार माध्यमहरू समेत मूल्यपरक भाषा, साहित्य र संस्कृतिका हाम्रा आदर्श नायक तथा प्रेरक व्यक्तित्वहरूलाई विस्मृतितर्फ धकेल्दै रातारात नयाँ खाले नायकहरूको निर्माणमा सहयोग पु¥याइरहेका छन् । हाम्रा अधिकांश राष्ट्रिय दैनिकहरूले भानुभक्त र नेपाली भाषा, साहित्य संस्कृतिलाई कम महत्व दिई चलचित्रका नायक, नायिका, हल्का लोकप्रिय गीतसंगीत (पप म्युजिक) र लोकप्रिय संगीत दृश्याङ्कन (म्युजिक भिडियो) का साथै ह्यारी पोटरजस्ता पश्चिमी भाषाप्रभावबाट विश्वभर छाएका नयाँ नायकहरूलाई अत्यधिक स्थान र महत्व दिनुको प्रमुख कारण यही प्रवृत्तिको परिणति मान्नु पर्छ । यसो गर्दा सायद हामी मुलुकको उन्नतिका लागि भौतिक विकासका साथै आफ्नो मौलिक भाषा, सािहत्यि, कला र संस्कृतिको उन्नति, सम्मान र संबद्र्धन पनि साथसाथै हुनुपर्छ भन्ने यथार्थ बिर्सिरहेका हुन्छौं । यथार्थमा राष्ट्रको परिचय र पहिचान यसको भाषा, साहित्य, कला रसंस्कृतिसँग गाँसिएको हुन्छ । नेपाल जान्न यसको भौतिक विकासका पूर्वाधार होइन यसका भाषा, साहित्य, कला र साहित्य जान्नु अनिवार्य हुनजान्छ । यही कारण कुनै मुलुकको अस्तित्व मेटाउनु पर्दा त्यहाँका भाषा संस्कृति र साहित्य मेटाउनू भन्ने भनाइ रहेको छ, जुन सत्य पनि हो । यो भनाइ आज विश्वव्यापी रुपमैं सत्य सिद्ध भइरहेको छ । बाह्य संस्कृति र भाषा मोहका कारण यसलाई सत्य सिद्ध गराउने काममा हामी आफैं जानी नजानी मरिमेटिरहेका छौं, सञ्चार माध्यमले यसमा सबैभन्दा बढी भूमिका पनि खेलिरहेका छन् ।
आज युरोपका फ्रान्स, जर्मनीजस्ता देशहरूसमेत अमेरिकी संस्कृतिको हस्तक्षेपबाट आफ्नो भाषा संस्कृति नराम्ररी प्रभावित भएकोमा चिन्तित हुन थालेका छन् । हालसालै गुगलले एक करोड पचास लाख अङ्ग्रेजी पुस्तकहरू वेभसाइटमा राख्ने योजना बनाए पछि त्यो प्रभाव कम गर्नका लागि फ्रेन्च राष्ट्रिय पुस्तकालयले पनि तत्काल ८० हजार फ्रान्सेली कृतिहरूलाई आफ्नो वेभसाइटमा राख्ने योजना बनायो । उनीहरूको सोचाइमा गुगलको त्यो बृहत् योजनाले मूलतः अमेरिकी इतिहास र दृष्टिकोण प्रस्तुत गर्ने ती अङ्ग्रेजी पाठ्सामग्रीले तिनकै भाषा र संस्कृतिमार्फत फ्रान्सेली संस्कृतिमाथि नरम्रो खतरा आउनसक्छ । यता हामी आफूलाई भने झन झन अङ्ग्रेजी मोहमा फसाइरहेका छौं । हाम्रा सञ्चार माध्यममा आफ्नो भाषा संस्कृति र साहित्यको प्राय कुनै चर्चा हुँदैन । नेपाली भाषा, साहित्य, कला संस्कृतिका सच्चा साधकहरू बिर्सिइन्छन्, भानुहरू उपेक्षित हुन्छन् । तिनमा नेपाली कृति र व्यक्तित्वले चर्चा पाउन त्यो व्यक्ति वा कृति कि त धनी र सञ्चार माध्यमका प्रभावशाली अधिकारीहरूले पत्याएको हुनुपर्छ कि त्यो कृति राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको लगानीमा प्रकाशित भएको हुनुपर्छ । अथवा त्यसका सर्जक राजनीतिक, प्रशासनिक वा गुठी प्रतिष्ठानका मानसम्मान र पुरस्कार दिन दिलाउन सक्ने हैसियतको ठूलो मान्छे हुनु पर्छ । तीतो भए पनि यो आजको हाम्रो यथार्थ हो ।

No comments:

Post a Comment