नागबेली परेको घुमाउरो सडकका चैतबैशाखतिर देखिने दायाँबायाँ फुलेका लालीगुराँसको रातो लालिमा र हरिया पातहरूको मोहकरूप अहिलेको यो फागुन अन्त्यको समयमा खोजेर पनि पाइँदैनथ्यो सायद् । भर्खरै हिउँको घुम्ती अलिअलि उघ्रने उपक्रममा रहेकोले घामको सुनौला प्रकाशमा नुहाएर विस्तारै मुस्काउन खोजेको गौरीशङ्कर हिमाल भने बडो प्रफुल्ल देखिएको थियो यतिखेर ! मेरो यात्रा टोली काठमाडौंभन्दा १३३ किलोमिटर पर दोलखाको सदरमुकाम चरिकोट तर्फ अग्रसर थियो– नेपाल बाल साहित्य समाजको वार्षिक सम्मेलनको सहभागिता जनाउन ! २०५५ को फागुन ३० गते अपरान्ह एक बजे काठमाणौंबाट हामीलाई बोकेर हिँडेको बस सिन्धुपाल्चोकको खाडीचौर छाडेर जति जति नागबेली उकालो उक्लँदै जान्थ्यो यात्राको रोमाञ्चले हामीलाई त्यति नै आफूमा लपेट्दै गएको थियो । मेरालागि यो बाटो र चरिकोट–दोलखा दुबै नै नौला थिएनन् । केही वर्ष अगाडि काठमाडौंमा भएको एउटा पत्रकारिता कार्यशाला गोष्ठीको सन्दर्भमा स्थलगत भ्रमणका लागि हामी केही पत्रकारहरू जिरी पुग्दा यी ठाउँसँग पनि राम्ररी नै मितेरी गाँसिसकेका थिएा मैले । बासु रिमाल यात्री लगायतका हामी केही पत्रकार जिरी र दोलखा तथा चरिकोटको सौन्दर्य र त्यहाँ पु¥याउने यो जिरी राजमार्गको रोमाञ्चपूर्ण यात्राबाट अभिभूत बनेका थियौं त्यतिखेरै ।
लामोसाँघुबाट नाक छुने नागबेली ठाडो उकालो लागेर प्रकृतिसँग लुकामारी गर्दै सगर छुने मनोरम यो मार्गको आकर्षण जो केहीलाई मुग्ध तुल्याउन सफल थियो । अधिकतम उचाइमा पुग्ने नेपालकै सर्वाधिक अग्लो ठाउँमा बनेको यो सडक चरिकोट हुँदै सन् १९८३मा अन्ततः जिरी पुग्यो । दश हजार मानव हातहरू मिलेर बनाइएको यो सडकले आप्mनो निर्माणमा आधुनिक यान्त्रिक उपकरणहरूको प्रयोग गरेन । यस क्षेत्रलाई बाँकी नेपाल र अझ विश्वकै पर्यटकहरूका लागि खुला गराउन ठूलो योगदान दिने यो सडकले इतिहासको पानामा आफूलाई सीमित राख्न बाध्य दोलखाको ऐतिहासिक–सांस्कृति वैभवलाई खुला संग्रहालयका रुपमा विश्वसामु ल्याइदियो । ठाडो पहाडी उकालोमा वातावरणीय परिस्थितिलाई पूरै ध्यानमा राखेर कुनै यान्त्रिक साधनको सहयोग विना नै मानिवीय बाहुबलबाटै बनाइएको यो सडक स्विस सहयोगको अनुपम नमूना बनेकोथियो । यही सडकले नजिकैको गाउँ लिशंखु (रिसिङमो) को प्राचीन कला पुनर्आविष्कार गर्न सघायो, खरिढुङ्गाको विशाल म्याग्नेसाइट भण्डारलाई प्रचुर संभावनाका रूपमा खोलिदियो । काठमाण्डौंबाट ११० किमी टाढा, करिब तीन घण्टा सवारीमा गुडेपछि पुगिने डाँडापाखरको एकीकृत ग्रामीण विकास परियोजना पार गरेर राता–सेता गुराँसका मनोहर आकर्षणमा सम्मोहित हुँदै २६०० मिटर उँचाइको मुडेमा स्थानीय तामाङहरूको कीर्तीस्तम्भ बौद्ध गुम्बा परम आकर्षणको केन्द्र बनिरहेको थियो । मुडेबाट देखिने हिमालहरूको अपूर्व दृश्य, सफा दिनमा सुदूर पूर्वमा देखिने धौलागिरि र अन्नपूर्णका मोहनी रुप, र यही मुडेको खरी ढुङ्गामा रहेको विश्वकै सर्वोत्कृष्ट गुणस्तरको म्याग्नेसाइट खानी यही सडकले नेपाल सामु खुला तुल्याइदिएको थियो । समुद्र सतहबाट २६६०मिटर उचाइमा रहेको यो नै नेपालको सबैभन्दा उचो ठाउँमा रहेको सडक मार्ग थियो सायद !
जे होस्् साँझ सात बजे समुद्री सतहबाट १९४५ फिट उँचाइमा अवस्थित चरिकोट पु¥यायो हामीलाई लिएर गएको बसले । साढे तीन घण्टाको यात्रामा काठमाडौंबाट १३३ किलोमिटर बाटो पार गरी चरिकोट पुग्दा अर्कै आनन्दको अनुभव भएको थियो हामी सबैलाई । दिनभरको बसको थकाइ मार्न हामी त्यहीँको नगरपालिकाले व्यवस्था गरिदिएको दुईटामध्यकोे एउटा लजतर्फ लाग्यौं । आमा र बहिनी तारा पनि आउनुभएको छ दोलखा हेर्न र भीमेश्वरको दर्शन गर्न पाउने आशाले । नेपाल बाल साहित्य समाजका अध्यक्ष डा. चूणमणि बन्धुका परिचित भारतको विहार उत्तरप्रदेशका पाँचजना बकालसाहित्यकार र प्रमुख अतिथिका रुपमा आमन्त्रित उपकुलपति मदनमणि दीक्षित, उहाँकी श्रीमती र उहाँकै साथ आउनु भएका नगेन्द्रराज शर्मा अर्को यो भन्दा राम्रो लजमा राखिनुभएको थियो । ती भारतीय साहित्यकार कस्ता साहित्यकार थिए, मेरो र मजस्ता धेरै साहित्यकारको जानकारीमा थिएन । भारतीय बालसाहित्यसँग हामी सीमित नै भए पनि अपरिचित थिएनौं, तर ती नाम हामीले पढ्न पाएको नाम थिएनं ! उनीहरूलाई सम्मानार्थ आमन्त्रित गरिएको जानकारी त्यँही पुगेर पाइएको थियो । हिजो आज साहित्यिक संघसंस्थाको बाढीमा साहित्य साधक भन्दा त्यस्ता संघसंस्था गठन गरेर त्यस क्षेत्रको नेतृत्व लिनेहरू नै महान् साहित्यकारका रुपमा स्थापित भइरहेका दृश्य जताततै देखापरिरहेको छ । अनि त्यस्ता संघसंस्थाका प्रमुख र पदाधिकारीहरू एक आपसमा सम्मान आदानप्रदानको कार्यव्यापार चलाउने गर्छन् भन्ने पनि निकै सुनिएको हो । यो के थियो, त्यसको अनुमान गर्नु संभव थिएन । बाँकी हामी सबै एउटै खोपीजस्तो सानो कोठामा जवरजस्ती तीन तीनवटा विछ्यौना अटाइएको कोठामा राखिएका छौं । ंहामी अर्थात् दुई वर्तमान र एक भूतपूर्व प्राज्ञ रमेश विकल, डा. तीर्थ श्रेष्ठ, डा. चूडामणि बन्धु, विश्वम्भर चञ्चल, दिनेशराज पन्त, पूर्णप्रकाश नेपाल यात्री, कुलमान सिंह भण्डारी, तेजप्रकाश श्रेष्ठ, केदार न्यौपाने आदि आदि । अमर साँझमानै आफ्नै घर दोलखा बजार हिंडे भोलिदेखि यहाँ रहुञ्जेल आमा र बहिनी तारालाई त्यहीँ राख्ने व्यवस्था मिलाउन ।
नौलो ठाउँ, साँघुरो कोठाको ठस्ठस् गनाउने विछ्यौना– राम्ररी निद्रालाग्ने कुरै थिएन ! बिहान सबेरै नित्यक्रियापछि केदार न्यौपाने, शैलेन्दुप्रकाश नेपाल र मेराबीच प्रातभ्रमण गर्दै दोलखा पुग्ने सल्लाह थियो अघिल्लै दिनको । त्यही योजना बमोजिम हामी त्यतै लागेका थियौं बिहान सबेरै ।
“दाइ त बसमैं आउनुभएको भए हुन्थ्यो नि, बाटो लामै छ थाक्नुहोला !”कुलमान दाइ पनि प्रातःभ्रमणकै क्रममा चरिकोटदेखि दोलखा भीमेश्वरसम्म हिंडेरै जाने योजन बनाएर हामीसँगै आउनुभएपछि मैले भनेको थिएँ । तीन–चार किलोमिटर बाटो हिंडेरै जाने उहाँको आँटलाई शरीरले साथ नदिने हो कि भन्ने मलाई शङ्का थियो ।
तर मेरो त्यो शङ्का निराधार रहेछ, हामीले त्यतिबेला दुई–तीन दिन सँगै बिताएपछि त्यसको पुष्टी भएको थियो । त्यति बेलाका केही संझना ममा अझै मेटिएका छैनन् । कुलमान दाइ अर्थात् कुलमानसिंह भण्डारीसँग त्यसरी लामो समय सँगै विताउने गरी बाठमाडौ बाहिर गरिएको त्यो मेरो पहिलो भ्रमण थियो । हामी दुबैजना सँगसँगै सहभागी रहेको त्यस्तै पहिलो यात्रा बाराको निजगढमा सम्पन्न बालसाहित्य भेला र बालसाहित्य पुरस्कार वितरणको कार्यक्रमले जुटाइदिएको थियो । त्यो कार्यक्रममा म स्वयम् र कलाकार टेकबीर मुखियालाई २०५६को उत्कृष्ट बालसाहित्य लेखन तथा चित्राङ्कन पुरस्कार दिइने भएकाले म पनि निजगढ सम्मेलनमा सहभागी भएको थिएँ । त्यति बेला म भोलिपिल्टै पुरस्कार थाप्नासाथ काठमाडौं फर्केको थिएँ नेपाल बालसाहित्य समाजलाई त्यो रकम केटाकेटीकै उत्कृष्ठ रचनालाई प्रोत्साहनस्वरुप पुरस्कार दिने जिम्मेवारी सुम्पिएर ! त्यसैले कुलमान दाइसँग खासै उठबस गर्ने अवसर पाएको थिइन मैले ।
केही समय पछि भीमेश्वर पुस्तकालय र रेडक्रसको संयुक्त स्वागत कार्यक्रममा सहभागी बन्न सबैजना बसद्वारा दोलखा जाने योजना छँदै थियो ! हामीले चाहिं बसभन्दा अगाडि नै त्यहाँ पुग्ने योजना बनाएका थियौं । त्यसबेला हामी एक हिसाबले केही तन्नेरी नै अवस्थाका तीन यात्रीसँगै हिंडेरै दोलखासम्म जाने जाने उत्साह बोकेर कुलमान दाइ पनि हातमा प्राय नछुट्ने स्केचप्याड र पेन्सिल समाउँदै सहभागी बन्न आइपुग्नु भएको थियो । त्यो देखेर उहाँ हिंड्न सक्नु हुन्न कि भन्ने मेरो शङ्का अस्वभाविक थिएन सायद् ।
“हिंडेर म थाक्दिन, विजयजी । हेर्दै जानोस्, बरु मभन्दा अगाडि तपाइँ थाक्न बेर छैन !” सधैं ओठमा नाचिरहने मन्दमुस्कान सहित कुलमान दाइबाट आएको त्यो जवाफलाई मैले त्यतिबेला भाइपुस्ताका लागि उहाँको एउटा रचनात्मक चुनौति ठानेको थिएँ ।
चरिकोटबाट दोलखाको हाम्रो गन्तब्य छोटिंदै गया । केदारजी र शैलेन्दु अगाडि–अगाडि कुलमानदाइ र म पछि–पछि गन्तव्य पछ्याउँदै थियौं ! यसरीे हामी दुईजना अरु साथीहरूभन्दा पछि पर्नुको कारण थकाइ थिएन, न त हिंडन नसक्नु नै त्यसको कारण थियो । एउटा सफल कलाकार कुलमान दाइका मुख आप्mना विगतका जीवन गाथा र संघर्षका संस्मरणहरू सुनाउन व्यस्त थिए, आँखा प्रकृतिको अनुपम तथा बैचित्र्यपूर्ण दृश्य नियाल्दै स्केचप्याडमा पेन्सिलका रेखाहरूका माध्यमबाट तिनै दृश्यलाई रेखामा कैद गर्न तल्लिन थिए । ती संयुक्त क्रिया–प्रक्रियामा उहाँको गति केहीबेर थामिन्थे । त्यसरी पाइतालाका गति केही रोकिएर केही समय हिंडाइ थामिए पनि अरु कुनै कुरा थामिंदैनथे उहाँका । कुरा रोकिंदैनथे, दृश्यावलोकनका लागि चनाखिएका आँखाका रोकिंदैनथे र तिनै खोजीलाई कैद गर्न स्केच प्याडमा एकनासले छिटो–छिटो चलिरहेको पेन्सिलयुक्त हात आफ्नै गतिमा चल्नबाट राुकिँदैनथे । त तिनै क्रमका पुनराबृत्ति हामी साथीहरूभन्दा बेही पछि हुनुका कारण बनेका थिए । यसरी भिन्न क्रियाकलापमा एकै साथ चल्नसक्ने उहाँको क्षमताले मलाई चाहिं आश्चर्यचकित बनाइरहेको थियो ।
यो क्रम पौने घण्टाजतिको पैदल ह्रिंडाई पूरा गरेर दोलखा नगर परिक्रमासम्म नै चलिरह्यो । स्केच प्याडमा रेखाचित्रका माध्यमबाट ती दृश्यहरूलाई कैद गर्ने कुरामा मात्र होइन इतिहास र संस्कृतिका विविध पक्षमा स्थानीय जानकारहरूबाट जानकारी लिन पनि उहाँ उत्तिकै जिज्ञासु देखिइरहनु भएको थियो–एउटा जिज्ञासु विद्यार्थीजस्तै ! भीमेश्वर पुस्तकालयको अवलोकन क्रममा समेत त्यही जिज्ञासु प्रवृत्ति देखेको थिएँ मैले कुलमान दाइमा । तीक्ष्ण अवलोकन तथा पर्यवेक्षण क्षमता र हरेक कुरामा जिज्ञासा प्रकट गरिहाल्ने उहाँको स्वभाव मेरालागि अनुकरणीय थियो । त्यो सबै देख्दा लाग्थ्यो– उहाँको कलाकार सफल हुनुमा सायद यिनै कारणहरू हुनसक्छन् ।
कुलमान दाइ ठूलो होइन असल हुनुहुन्थ्यो कि ? ठूलाहरूमा देखिने स्वार्थ,अहं र केही हदमा पाइने मानवीयताको अभाव सायद उहाँमा थिएन । साना ठूला सबैसँग समान व्यवहार र सादा–परिश्रमी जीवन संभवतः उहाँको जीवनदर्शन थियो । यति बेला कुलमान दाई हामीलाई छाडेर पञ्चतत्वमा विलीन भइसक्नुभएको छ र यो संस्मरण लेखिरहँदा त्यही यात्राक्रममा अनुभव गरिएको अरुको दृष्टिमा साना तर असल मान्छे र ठूला मान्छेबीचको मानवीय पक्षको अन्तर देखाउने त्यो सन्दर्भ संझना भइरहेछ ।
पश्चिममा सुनकोशी नदी र पूर्वमा खिम्ती खोलाले सिमा छुट्याएको दोलखा क्षेत्रलाई तामा कोशी नदीले पश्चिमतर्फ करिब दुई तिहाई भाग र बाँकी पूर्व तर्फ काटेर विभाजित गरेको देखिन्छ । शिव–पार्वतीका युगल जोडीको रुपमा हेरिने मनोरम गौरी शङ्कर पर्वतका साथै मेलुङ्से हिमाल यही जिल्लाको पश्चिमी भागबाट उत्तर–पूर्वस्थित रोलवालिङ हिमाली श्रङ्खलामैं फैलिएका छन् । दोलखाको उत्तर–पश्चिमी हिमाली पर्वत श्रङ्खलाको भू–भाग विस्तारै तिब्बती शहर खासामाथिको प्राचीन कुत्ती भ्ञ्ज्याङ वा पासतर्फ ओरालो लाग्छ र तिब्बतबाट उद्भव हुने भोटेकोशीलाई आफ्नो छातीमाथि बगाउँछ । यो नदी नेपालको कोदारी हुँदै तातो पानी भएर विशाल रुप लिंदै सुन कोशीमा पुगेर आफूलाई पनि त्यसैमा समाहित गर्छ । खिम्ती खोला यसै क्षेत्रको पाँचपोखरी भनिने कुण्डबाट तलतिर बग्छ । किम्बदन्ती अनुसार मोही, जटा, दूध, बहुला र भूत नामाकरण गरिएका यी पाँचवटा पोखरीका आ–आफ्नै विशेषता रहेको जनविश्वास छ । भनिन्छ बहुला पोखरीमा नुहायो भने त्यो मानिस बौलाउँछ । भूत पोखरीले मान्छेको गन्ध सहन सक्दैन, त्यसैले यसमा नुहाउन जानेजतिलाई पोखरीभित्रको भूतले पानीभित्र डुबाएर मारिदिन्छ । यो खिम्ती खोलाका साथै उत्तर–पूर्व तर्फबाट आउने खहरे खोला र रोलवाङि खोलाका साथै सङ्गवती खोला पनि यही तामा कोशीमा पुगेर मिसिन्छन् । पश्चिमबाट आउने डोल्टी र चर्नावती खोला पनि तामा कोशीमैं समाहित हुन्छन् ।
त्यसैले कालिन्चोकबाट आएर बाह्रबीसेछेउ भोटेकोशीमा मिसिने यो सुनकोशी अर्थात हिरण्यकौशिकी दोलखाको सभ्यता र आर्थिक विकासको पनि मेरुदण्ड बनेको छ । हिरण्य अर्थात सुन र कौशिकी अर्थात कोशीबाट नेपाली जिब्रोमा सुनकोसी हुन पुगेको यो नदीको नाम बारे अर्को भनाइ पनि पाइन्छ । जस अनुसार यसको नाम हिरण्य अर्थात सुनजस्तै देखिने वा यस नदीमा सुन पाइने भएकोले सुनको अर्थमा हिरण्य रहेको होइन, हिरण्येश्वर पर्वतबाट निस्केको हुँदा हिरण्य कौशिकी भन्ने नाम रहन गएको हो । अर्को जनविश्वास पनि सुनिन्छ– उक्त हिरण्य पर्वतमा सनातन नामक श्रृषिसँग भेट हुँदा हिमालयपुत्री पार्वतीलाई सुनरङ्गको पहेँलो पसिना आएछ । उनको त्यो पहेँलो सुनको रङ्गको पसिना बगेर यो नदीको उत्पत्ति भएकोले यसको नामै सुनकोशी रह्यो रे ! यो नदीको बालुवामा सुन पाइने हुँदा यो नाम रहेको भन्ने भनाइ पनि सुनिन्छ ।
चरिकोटबाट ८४५ मिटर ओरालो झरेर लगभग ६० किलोमिटर उता लागेपछि काठमाणौंभन्दा १९० किलोमिटर परको सुन्दरस्थल जिरीजाँदा यस क्ष्ोत्रको सौन्दर्यबाट हामी अभिभूत भएका थियौं यस अघि नै । बाटोमा हनुमन्ते जङ्गलमा छपक्कै ढाकिएका गुराँसका बोटहरू हामीलाई मोहित तुल्याइरहेका थिए । त्यहाँका मानिस भन्थे त्यो जङ्गलमा एउटा विशाल हनुमाको मूर्ति थियो रे । पछि त्यही मूर्ति राजाको आदेशमा काठमाणौंको हनुमाल ढोकामा राजदर्वारको रक्षागर्न भनी लगिएको हे रे ! जिरेल भाषामा जी अर्थात जङ्गली आवाज र रि अर्थात जङ्गल मिलेर आफ्नो नाम लिएको जिरी अहिले पनि स्विसहरूले बनाइदिएका जिरी प्राविधिक शिक्षालय र प्रसिद्ध चिज कार्खाना प्रति गर्व गरि नै रहेको छ ।
गौरीशङ्कर हिमालको काखमा अवस्थित दोलखाको ऐतिहासिक नगर दोलखा चरिकोट बजारबाट लगभग ४५ मिनेटको पैदल दूरीमा रहे छ । यो शहर मल्ल कालीन १५–१६औं शताब्दीसम्म एउटा स्वतन्त्र राज्य थियो । नेपालमा मुद्राको प्रचलन काठमाणौंका महेन्द्रमल्लबाट नभएर यही दोलखाका राजा जयनारायण देवबाट प्रारम्भ भएको थियो भन्ने भनाइले पनि यसको प्राचिन सभ्यता र सम्पन्नताको साक्षी बक्छ । तिब्ब्तसँग रहेको ऐतिहासिक तथा व्यापारिक सम्बन्धले पनि यसको प्राचिनतालाई सातौं शताब्दीसम्मै पु¥याएको इतिहासविदहरूको धारणा सुनिन्छ । भाद्गाउँलेहरूले गृष्मकालीन आवास बनाउने गर्थे रे यो शहरलाई ! हुनसक्छ, त्यसैले तामाकोशी किनारमा बहुसंख्यक नेवारहरूको बसोबास रहेको छ । इतिहासको कुनै कालखण्डमा तिब्बत, उत्तरी भारत, र काठमाणौं उपत्यकाको आवगमन मार्ग पनि बनेको थियो दोलखा । उत्खननमा पाइएका किल्ला र पर्खालहरूले यसलाई किल्लाले ढाकिएको प्राचिन शहर सिद्ध गर्छ । प्राचिन स्मारक (मोनुमेण्ट) हरू, नाट्यडबलीहरू, र सुनिने अनेकौं किम्बदन्तीहरू पनि यसको प्राचिनता र सांस्कृतिक संपन्नताको पर्याप्त संकेत दिइरहेका छन् । बहुसंख्यक नेवारहरूको जातीय प्रभाव देखिए पनि यहाँका कतिपय जात्रा र चाडबाडमा थामी जातिको महत्व अझै कायम छ । दोलखा भीमसेनको मूर्तिमा पसिना आयो भने गोर्खाली राजालाई पिर्छ, त्यसैले त्यस्तो भएमा पूजा जठाउनु पर्छ भन्ने जनविश्वासले काठमाडौं र दोलखाको निकट सम्बन्ध संकेत गरिरहेकै छ । त्यसरी पसिना आएमा मूर्तिको पसिनालाई कपास र ऊनले पुछेर त्यसलाई नेपालको राजदरबारमा पठाइने चलन अझै छ भनिन्छ । नेपालका अन्य नेवारी भाषीभन्दा अलग्गैखालको भाषा बोल्ने दोलखालीहरू आफ्नो यो नेवारी भाषा पाण्डवहरूको दरबारमा बोलिने दरबारी भाषा भएको विश्वास गर्छन् । उनीहरूको विश्वासमा महाभारतयुद्धपूर्व पाण्डबहरू दोलखा नजिकैको एउटा गुफामा लुकेर गुप्तबास बसेका थिए । भूगर्भविद्हरूले दोखाको भूबनोट चुनढुङ्गाबाट नभएकोले गुफाको निर्माण संभव नदेखिएको बताए पनि दोलखामा गुफा र कन्दराहरूका अनेकौं कथा पाइन्छन् ।
लगभग सातौं शताब्दीतिर तिब्तसँगको व्यापार फस्टाएको कुरामा इतिहसा सहमत छ । त्यही समयतिर व्यापार–व्यवसायका इष्टदेव मानिने दोलखाका प्रमुखदे्वता भीमसेन मन्दिरको स्थापना भएको हो भनिन्छ । यो मन्दिर स्थापनाको किम्बदन्ती पनि म्याङलुङ भगवतीको उत्पत्तिसम्बन्धी कथासँग लगभग मिल्दोजुल्दो देखिन्छ । यससम्बन्धी दुईवटा किम्वदन्ती सुनेको थिएँ मैले दोलखामा । एउटा अनुसार अहिलेको भीमसेन मन्दिर भएकोे ठाउँ सुरुमा बटोहीहरूको विश्राम गर्ने र खाना बानाएर खाने एउटा बिसौनी थियो । त्यही ठाउँमा कुनैबेल तिब्ती व्यापारीहरूले चुलो बनाएर खाना पकाउन खोजेछन् । उनीहरूले गााडेका चम्कामध्ये एउटा चाहिँ जति राम्ररी गाडे पनि हल्लिन छाडेछ । केले यस्तो भयो भनी निकै गम्दा पनि केही थाहा भएन । जे होस त भनेर आगो बाल्न लाग्दा त्यहाँ अकस्मात एकजना मानिस देखापरेछ । ती मानिसले त्यस ठाउँमा आगो नबाल्न अनुरोध गरेछन् । त्यत्तिकैमा बटुवाले त्यो साधारण मान्छे नभएर भीमसेन देवताले नै मान्छेको रुप लिएर आएको भन्ने थाहा पाए । एक दुई गर्दै सबै दोलखालीले पनि त्यो कुरा सुने । भीमसेनलाई खुसी पारेर भयमुक्त हुनका उनीहरूले बटुवाहरूले चुलो लाएका त्यही ठाउँमा मन्दिर बनाएर भीमसेन देवताको स्थापना गरेछन् !
यहीसँग मिल्दोजुल्दो अर्को पनि किम्वदन्ती सुनिएको थियो– कुनै समय बटुवाहरूले चुलोचम्को जोरेर भात पकाउनलाग्दा उत्तरपट्टिको चम्को बेसरी हल्लिएर ढलेछ । त्यो देखेर एकजनाले के भएर चम्को ढल्यो भनी हेर्न खुकुरीको टुप्पोले भुइँ खोस्रेछ । त्यसरी खोस्रँदा एउटा भीमकाय कालो ढुङ्गाको रुपमा देवता प्रकट भए रे ! पछि तिनै देवताको नाम भीमेश्वर रहन गयो । ती देवताको मूर्ति दोलखा बजारको पूर्वदिशास्थित सबैभन्दाअग्लो ठाउँमा रहेको छानाविहीन एकतले खुला मन्दिरभित्र रहेको छ । मन्दिरभित्र उत्तरतर्फ रहेको डेढफुट अग्लो खप्पर विहीन शिवलिङ्गाकार खुँडे मूर्ति नै वास्तवमा भीमेश्वरको नाउँमा पुजिने मुख्य मूर्ति हो । भनिन्छ बटुवाले भुइँ खोस्रँदा खुकुरीको टुप्पोले मूर्तिको खप्पर चोइटिँएर खुँडे परेको हो रे ! योमूर्तिबाट पसिना बगेमा अनिष्ट हुने जनविश्वास अझै बलियो छ । १९९० सालको भूकम्प, १९९७ सालको शहिदकाण्ड, २००७ सालको प्रजातिन्त्रक आन्दोलन, २०१२ र २०२८ सालको राजा त्रिभुवन तथा महेन्द्रको निधन, २०४५ सालको भूकम्प र पछिल्लो जनआन्दोलन २०४६ जस्ता सबै महत्वपूर्ण समको केही अघि भीमसेनको मूर्तिमा परिना आएको थियो भन्ने यहाँका मानिसहरू बताउँछन् । यस अघि भएको दरबार काणमा राजा बीरेन्द्रले सपरिवार जीवन गुमाउनुपूर्व पनि त्यसरी नै मूर्तिबाट पसिना आएको र अहिले पनि दुईपल्ट पसिनचा आइसकेको बताइन्छ । मन्द्यिरभित्र मूल मूर्तिको दायाँतर्फ भीमसेनकी आमा कुन्ती र वायाँ पत्नीको द्रौपदीको मूर्ति देखिन्छ । मूल मन्दिरमा भीमसेनको छुट्टै मूर्ति भने छैन । सर्पद्वारा बेरिएको त्यहाँ रहेको लिङ्गले भीमसेनभन्दा पनि शिवको सम्झना गराउँछ । मन्दिरको दायाँ वायाँ रहेका रहेका कुन्ती र द्रौपदीको एकएकवटा मूर्ति बाहेक महाभारतसँग सम्बन्ध राख्ने भीमसेनको कुनै संकेत फेला पर्दैन ।
यहाँ भीमसेनकी आमाको रुपमा त्रिपुरासुन्दरीको पूजा हुनेगर्छ । यनिको उत्पत्तिको पनि रोचक किम्बन्ती सुनिनेगर्छ । त्यसअनुसार कुनै बेला दुईजना दाजुभाइ तामा कोशी नदीमा नुहाउन गएछन् । नुहाउँदा उनीहरूले त्यो नदीमा देवीका तीनवटा मूर्ति फेला पारेछन् । ती दुई भाइ र तिनका पत्नीहरूले ती देवीहरूलाई दोलखामैं निवास गर्न अनुरोध गरेछन् । तर तीनवटै देवी एकै ठाउँमा बस्न नसक्ने हुँदा तीमध्ये एउटीलाई कालिञ्चोकमा, अर्कीलाई तौथलीमा र जेठी त्रिपुरासुन्दरीलाई चाहिँ दोलखा शहरमा स्थापना गरेछन् । प्रत्येक वर्ष नवरात्रीको खड्गजात्राका दिन त्रिपुरासुन्दरीे मन्दिरमा भक्तहरूको रातभर घुइँचो लाग्छ । यो जात्रामा दुईजना थामी जातिको मान्छेले झाँक्री नाचकै क्रममा आफूलाई शुद्ध तुल्याउन आगो निल्छन् रे ! त्यही रात महिषासुरमर्दिनी देवी त्रिपुरासुन्दरीले ती झाँक्रीहरूलाई महिष वा राँगोको रुपमा आउने महिषासुरलाई मार्ने आदेश दिन्छिन् । अनि नजिकैको जङ्गलबाट खोजेर ल्याइने राँगोलाई महिषासुरकोरुपमा ती दुई थामी जातिका झाँक्रीले मारेर त्यसको रगत चुस्छन रे ! रगत पिइसकेपछि त्यही राँगोको आन्द्रा निकालेर माला लाउँछन् रे ! भनिन्छ यी सबै काम अरुले नदेख्ने गरी मन्दिर परिसरभित्र हुनेगर्छ ।
जे होस् दोलखा बजार पुगेर हामीले भीमेश्वरको दर्शन सकिसकेपछि मात्र अरु सबैलाई लिएर बस आइपुग्यो । भीमेश्वर पुस्तकालय र दोलखा रेडक्रसको अवलोकन तथा स्वागत कार्यक्रम पश्चात अमरको योजना अनुसार आमा र बहिनी तारालाई दोलखामा अमरकै सानीमाको घरमा छाडी हामी सम्मेलनका लागि चरिकोट फर्केका थियौं । दिनभर प्राय सम्मेलनकै औपचारिकता अर्थात भाषण, कार्यपत्र र छलफलमैं वित्यो ।
चरिकोट पुगेको भोलिपल्ट बाबा (रमेश विकल)लाई सञ्चो भएन । उहाँ कार्यक्रममा सहभागीसमेत बन्न सक्नु भएन । सबै कार्यक्रममा व्यस्त हुनु पर्ने भएकाले त्यहाँ उपयुक्त हेरचाह र सुविधा नहुँनु स्वभाविक थियो । त्यसैले दोलखा लान पाए त्यो समस्या नरहने अमरको सोचाइ थियो । दोलखासम्म लानका लागि सबारी साधनको आवश्यकता थियो । सम्मलेनका प्रमुख अतिथि बनेर मदनमणि दीक्षित काठमाणौंबाटै उहाँका यात्राटोलीका स्थायी सहयात्रीहरूमध्येका साहित्यकार नगेन्द्रराज शर्मासहित एकेडेमीकै गाडीमा चरिकोट आउनु भएको थियो । उहाँसमक्ष समस्या पुग्यो, तर उहाँले त्यो गाडी उपलब्ध गराउने मनसाय देखाउनु भएन । रमेश विकल स्वयम् त्यतिबेला दीक्षित महोदय आफैं उपकुलपति रहनुभएको एकेडेमीको प्राज्ञपरिषद्को सदस्य हुनुहुन्थ्यो, त्यस हैसियतले पनि एकेडेमीको गाडी प्रयाग प्रयोग गर्न पाउने उहाँको अधिकार थियो । त्यसमाथि एकेडेमी साहित्यकारसँगै सरोकार राख्ने साझा संस्था हो, विरामी पर्दा साहित्यकार मात्र होइन जो कोहीको सहयोग गर्नु मानवीय कर्तव्य पनि हो । यो कुरा महाविद्वान् दीक्षत महोदयलाई थाहा नहुने कुरा थिएन सायद् । तर त्यो बेला उहाँबाट त्यो व्यवहार भने त्यहाँ देख्न पाइएन । आफ्नै कार्यसमितका एकजना बरिष्ठ प्राज्ञ सदस्यको स्वास्थ्य के कस्तो छ भन्ने सम्मको औपचारिक जिज्ञासा राखिएको सुनिएन उहाँबाट ! पछि मित्र अमरकुमार प्रधानको प्रयासमा स्थानीय समाजसेवी, उद्योगी तथा वर्तमान राजसभा सदश्य दिवाकरमानसिंह प्रधानको गाडीमा दोलखा पठाइएको थियोे । उता आफैंलाई सानो देखाउने कुलमासिंह र यस्तै अरु साना सहभागीहरू भने उहाँको स्वस्थ्यप्रति जिज्ञासा देखाइरहेका थिए, चिन्ता प्रकट गरिरहेका थिए । जतिसक्यो चाँडो भेट्न उत्सुकता प्रकट गरिरहृका थिए । त्यो देख्दा मलाई लागेको थियो– कथित ठूलो हुनु र असल हुनुबीचको अन्तर सके यही हुनु पर्छ !
चरिकोट आगमनको तेश्रो दिन सम्मेलनको दोश्रो दिने सत्र पनि तिनै औपचारिकता मा सकिए । साँझ भने द्वाल्खा गुठी र त्यहाँका अरू क्लबहरू मिलेर आयोजना गरेको रात्रिभोज, क्याम्प फायर र नाचगानले अविश्मरणीय तुल्याइदिएको थियो । एकरात दोलखाको आरामले बाबालाई निकै सञ्चो भइसकेको थियो । त्यसैले काठमाडौं फर्कनकालागि भोलिपल्ट विहानै बाबा, आमा र तारालाई चरिकोट ल्याउने जिम्मेवारी अमरलाई सुम्पेर हामी चरिकोट फर्कियौं, रात्रिभोजको आनन्दपछि !
भोलिपल्ट प्रातभ्रमणको क्रम टुट्यो, क्याम्पससम्म मात्र पुगेर फर्कियौं । अमर पनि बाबाआमालाई लिएर आइपुग्यो बस भए ठाउँमा, दोलखासँग विदाइको हात मिलाउने तयारीमा लाग्यौं हामी । दोखा तेश्रो पटक आएर पनि यसकै छेउमा रहेको कालिञ्चोक पुग्ने धोको भने यसपल्ट पनि पूरा हुन पाएन । १७००मिटर उँचाइमा रहेको दोलखाबाट उकालो लागेर ३८१० मिटरमाथि रहेका रहेकी कालिञ्चोक भगवती यस क्षेत्रको मात्रै नभएर नेपालकै प्रशिद्ध देवी मानिन्छिन् । यस अघि एक पटक मित्र अमरकुमार प्रधानले हामी अमर, तेज र मेरो परिबार कालिञ्चोक पुग्ने योजना बनाएका थिए । संजोगबस मलाई सञ्चो नभएकोले त्यो अवसरबाट वञ्चित भएँ म । उनीहरू भने त्यही बेला पुगेर आएका थिए । मेरो भने त्यो धोको यसपल्ट पनि पूरा हुन सकेन, अब कहिले होला भन्न सकिँदैन ।
२०६१ असार ३१
आरुबारी
आँखा, १५, असार २०६२
No comments:
Post a Comment