“ए...धेरै उता नजानोस्, छालले हुत्याउला !” श्रीमतीको चेतावनीयुक्त स्वर मलाई सतर्क गराउँदै थियो । नासिकबाट मुम्बई आएर इष्ट चेम्बुरको होटेल ब्रोडवेमा साँझको चिया खाएपछि हामी जुहु बिचको समुद्रदर्शनमा हराइरहेका थियौं ।
“पूर्णिमाको रात भएको भए अझ कति रमाइलो हुन्थ्यो होला !” हाम्रो यात्रा टोलीको अर्को सदस्य रामु पूर्णचन्द्रको समुद्री ज्वारभाटा र त्यसमा खेल्दाको रोमाञ्चको कल्पना गर्दै थियो सायद । यो रात केही जुनेली भए पनि पूर्णचन्द्रको रात थिएन ।
अँध्यारो निष्पट्ट नभए पनि पूरै जुनेली रात पनि थिएन त्यो । जुनको मधुरो उज्यालो र रातको धुर्मिलो अँध्यारोलाई जुहु बिच छेउका पसलहरूमा लहरै बलेको विजुलीको उज्योलोले टाढा भगाइदिएको जस्तो लाग्थ्यो । असङ्ख्य मानिसका नाङ्गा गोडाहरू छिन छिनमा जिस्क्याउन आउने तीब्र समुद्री लहरको प्रहार थेगेर आफूलाई उभ्याउने कोसिसमा आनन्दित देखिन्थे । तिनै रोमाञ्चक अनुभव सँगाल्नेहरूमध्येमा हामी पनि थियों– भूपरिवेष्ठित मुलुकका सात यात्री !
हो, त्यति बेला समुद्रबाट बञ्चित भूपरिवेष्ठित नेपालका हामी सातजना यात्रीहरू जुहु बिचको क्षणक्षणमा पादप्रक्षलन गर्न हुत्तिएर आउने त्यो समुद्री छालको स्पर्शले आल्हादित थियौं । सायद समुद्रलाई आफ्नो अस्तित्वबोध थियो, र आफूलाई जलनिधि बनाइरहन मेरै हिमनदको आलिङ्गन अपरिहार्य छ भन्ने ऊ राम्ररी जान्दथ्यो । त्यसैले त्यही हिमाली मुलुकको हामी यात्रीको स्वगतमा ऊ खुसीले उत्ताउलिँदै थियो त्यतिखेर !
समुद्रदर्शन मेरा लागि पहिलो थिएन यो , बेलायत, जापान र हङ्गकङ आदि ठाउँमा नौका विहारको अवसर यस अघि पनि पाएको हुँ मैले । यही जुहु बीचको स्पर्श पनि मेरा लागि दोश्रो थियो । तर मेरो यात्रा समूहमा मेरी श्रीमतीजस्ता समुद्र नदेखेका अरु पनि थिए । उनीहरूका लागि मात्र होइन, मेरै लागि पनि रातको कृत्रिम बिद्युतप्रकाशका बीच छिनछिनमा उर्लिएर आउने ज्वारभाटा र त्यसमा रमाएर खेल्दाको अनुभव यो पहिलो र नौलो थियो ।
बीचमा परेको एउटा सन्दर्भ मात्र थियो हाम्रो यो जुहु यात्रा । हाम्रो मूल उद्धेश्य थियो नासिकमा महाराष्ट्रको एउटा बैवाहिक समारोहको पाहुना बन्नु । विवाह समारोहको व्यस्तता पछिको हाम्रो योजना थियो नासिकबाट मुम्बईको यात्रा । गाडीको व्यवस्था मिलाउन हाम्रा आतिथेय जानुकाकै घरमा कामकाज सघाइदिने मङ्गेशलाई अघिल्लै दिन अनुरोध गरेका थियौं । जानुकाका श्रीमान् अशोक र मङ्गेशले सुविधाजनक टाटा सुमोको व्यवस्था मिलाई दिएका, मुम्बई आउन जानका लगि । साढे बाह्र बजे नासिकबाट हामीलाई लिएर हिँडेको टाटा सुमो नासिक–मुम्बई हाइवेको फराकिलो सडक हुँदै अघि ढेको थियो । लगभग आधि बाटोसम्म साना तिना डाँडा–पहाडको छेउछाउ हल्का उकालो–ओरालो र घुम्ती–मोडहरू हुँदै सल्ल बग्ने यो सडक यात्राले हामीलाई कता कता हाम्रै राजमार्गहरूको सम्झना गराइरहेथ्यो । नासिकदेखि १८५ किलोमिटर पश्चिम स्थित मुम्बई महानगरीको यात्रा लगभग सोढे तीन घण्टामा पूरा भएपछि हाम्रो पहिलो गन्तव्य थियो टाटा मेमोरियल क्यान्सर अस्पताल । मेरी एकजना नातेदार स्तनक्यान्सरको उपचारमा थिइन् । त्यही सन्दर्भमा उनको स्लाइड परीक्षणकालागि सके सिनियर प्रोफेसर प्यथोलोजिस्ट डाक्टर अनीता भर्गिजसँग भेटेर, नसके परीक्षण पछि नेपाल पठाएदिने अनुरोध गरेर बुझाउनु थियो । अस्पतालको काम सकेर बल्ल हामी होटेलको खोजीमा लागेका थियों । दादर इस्टतिर भनेजस्तो एसी कोठा नपाए पछि हामी चेम्बुर तिर लागेका थियौंं ड्रइभरकै सल्लाहमा । चेम्बुरमा नपाइएको होइन, ठूलो बजेटको चार–पाँच तारे होटेल हाम्रो पहुँचमा थिएन । उता एसीविहिन साना लजहरूमा त्यो गर्मीको रात विताउन सक्ने आँट पनि थिएन । चेम्बुर आएर होटेल ब्रोडवेमा सुहाँदो कोठा लिएर केही बेरको विश्राम पछि जुहु तर्फ लागेका थियौं हामी–खाना जुहु किनारामैं खाने योजना सहित !
मुम्बई शहरको केन्द्रबाट लगभग ३० किलोमिटर पर बान्द्रा –खार मार्गमा लमतन्न तेर्सिएको लामो बलौटे यो सागर तटमा हामी पुग्दा लगभग पाइलो राख्ने ठाउँ थिएन । आज मङ्गलबार, विदाको समय नपर्दा त यति बिन भीड छ भने विदा र पूर्णचन्द्रको समय कति व्यस्त होला जुहु, म आफैंसँग सोध्दै थिएँ । हाम्रो ड्राइबरको साथी रमेश भन्थ्यो, यो तट समुद्री ज्वारभाटा आउँदा पनि अरु तटभन्दा सुरक्षित भएकोले मानिसको बढी आवागमन हुन्छ । रमेश मुम्बई घुमुञ्जेल गाडी चलाउने र हामीलाई आवश्यक जानकारी दिने पथप्रदर्शक थियो । मुम्बई महानगरको भूलभूलैयासँग राम्ररी परिचित नरहेको नासिक विासी हाम्रो ड्राइबर राजुले खोजेको उसकै साथी थियो ऊ । आफूलाई स्थानीय एउटा अखबारको प्रतिनिधि बतानउने रमेश पेशाले भने पत्रकार लाग्दैनथ्यो । जे होस् मुम्बई घुमुञ्जेल उसबाट राम्रै सहयो पाएकाथियौं हामीले ।
हल्का गर्मीमा चिसो नरिवलपानीको मीठो चुस्कि लिँदै समुदी्र लहरको आनन्द लिइरहेको जलसागर छेउको समानान्तर जनसागरमा हामी पनि विन्दुविन्दु बनेर मिसिएका थियौं । दिनहुँ हजारौं पर्यटक र स्थानीय बासिन्दाको सायंकालीन भ्रमणस्थल जुहु बीच भने लाग्थ्यो आफ्नो सौन्दर्य क्रमशः गुमाउँदै छ, आफूलाई प्रदूषणको खाडलमा खसाल्दै छ । साँझ खस्दानखस्दैदेखि मध्यरातसम्मै व्यस्त रहने जुहु किनार छेउका स्थायी अस्थाई चमेनागृह र पसलहरू अत्यन्त व्यस्त थिए, मानिसहरू एक–दुई र समूह–समूहमा खानपिनको आनन्दमा रमिरहेका थिए । सधैं घर र होटेलको खानाको एकरसता मेटाएर समुद्री छाल निहार्दै खुला आकाशमुनिको प्रकृति–काखमा भोजनको आनन्द साँञ्चि नै रोमाञ्चक थियो ! जुहु बिचमा अरु सरह नै धेरैबेर समुद्री छालसँगै लुकामारी खेलेर विताएका थियौं हामीले पनि त्यो साँझ । लामो समय पानीसँग खेलेर थाकेपछि खुला आकाशमुनि विच्छ्याइएको टाटमाथि विजुलीको मन्द प्रकाशमा पल्लेटी कसेर स्वादिलो महाराष्ट्रिय खाना खानुको त्यो अनुभव हाम्रालागि त झनै नौलो थियो । मानिसको चाप र चमेनागृह, विभिन्न बस्तुका व्यापारी, सार्वजनिक सञ्चार केन्द्रहरू, जुहु र मुम्बई भ्रमण सम्झाउने सम्झौटा बस्तुहरू अर्थात सोभेनियर विक्रेता, यी सबैको गतिविधि, चाप र बेवास्ताले सुन्दर सागर किनारालाई भने कता कता कुरुप बनाउन थाले झैं अनुभव हुन्थ्यो।
निरन्तर समुद्री लहरको थपेडासँग लाप्पा खेल्दै आफूलाई सिङ्गै भारतको वित्त–वाणिज्यको केन्द्र बनाउन सफल बनिरहेको छ ३५० किल्लाभित्र सुरक्षित रहेको महसुस गर्ने महाराष्ट्रको राजधानी यो मुम्बई शहर ! यसका लागि लामो समयदेखि राख्दै आएको कपास र कपडा उद्योगको केन्द्रको पूर्वपहिचान भने यसले गुमाइसकको छ । पुरानो पहिचान गुमाएर पनि मुम्बई आफनो नयाँ पहिचानमा फुरुक्क देखिन्छ । परम्परालाई त्यागेर रूपजीवी सिनेनगरीको नाउँमा अनुवाद हुँदै बाह्य सौन्दर्य र चमकदमकलाई नै सबै थोेक मान्न थालेको छ मुम्बईले, धेरै यसै भन्छन् । विश्वकै ठूलो र घनीमध्यको एउटा महानगर मुम्बईले आफ्नो नाउँमा भने चलचित्रको प्रभाव पार्न दिएको छैन, स्थानीय मुम्वा देवी (महादेवी पार्वतीकै एक रूप) कै नामबाट आफ्नो नाम ग्रहण गरेको छ । बेलायती उपनिवेशकालीन अङ्ग्रेजी जिभ्रोले बटारेर आफूलाई बम्बे बनाइदिएकोमा यसलाई चित्त बुझेन र संभवतः आफ्नो उपनीवेसीय भूत भुलाउन फेरि मुम्बाई भनाउन थालेको छ यसले । उता भौगोलिक–राजनीतिक हिसाबले उपनिवेश नभएर पनि मानसिक र संस्कृतिक उपनिवेश बन्न रुचाउने हामी नवशिक्षित अङ्गे्रजीवाजहरू चाहिँ आफ्नो काठमाडौं र काष्ठमण्डपलाई क्याट्माण्डु बनाउनमा मरिमेट्दै छौं । मुम्बई बाहिर देख्दा जति सुखी छ, जति खुसी छ, र जति सम्पन्न र लावण्यमयी मोहनी रुपको मादकता छलचल्काउन सफल देखिन्छ भित्रभित्रै यो पनि जराग्रस्त बन्दै जाँदै छ । मुम्बई बासीहरू नै यसो भन्छन् । मुम्वाईको बाहिरी मोहिनी रुपभित्र हतपत नदेखिने अभावहरू पनि छन्, कुरुपताहरू पनि छन् । धनवैभवको प्रदर्शनभित्र लुकिरहेको गरिबीको असह्य मार सहँदै बाँच्न बाध्य जनताको ठूलो संख्या पनि छ । यसैले मुम्बईको बाहिरी रुपलाई चुनौती दिँदै उभिएका छन् – असंख्य भोपडपट्टीहरू पनि । जल, वायु र ध्वनि प्रदूषणका विकराल समस्या लुकाउन खोजेर पनि सकेको छैन मुम्बई ! मानवसागरको अपार भीडयुक्त कङ्क्रिटको महाजङ्गलले छोप्दै गएको आफ्नोे आन्तरिक सौन्दर्य यसले अब जोगाउन सक्दैन सायद । असंख्य गरिबहरूको ठूलो सङ्ख्यामा उपस्थित झोपडबस्तीहरूले वर्षइरहेका विदू्रप व्यङ्ग्यबाँणको सामना गर्न पनि मुस्किलै छ यसका वैभव र गगनचुम्बी अट्टालिकाहरूले ! अरु पनि धेरै छन् पर्यटकीय बिहङ्गावलोकनले ठम्याउन नसक्ने विकृति र विडम्बनाहरू स्वप्ननगरी मुम्बईसँग । त्यसैले महाराष्ट्रको राजधानी यो आधुनिकतम शहर विडम्बना नै विडम्बना भित्र बाँचेको छ । यो भारतको आर्थिक शक्तिकेन्द्र हो, अर्थ, व्यापार, सञ्चार र यातायातको समेत प्रमुख केन्द्र हो ! भारतीय बिदेश व्यापारको ४६ प्रतिशत जति आयात–निर्यात विशाल समुद्री बन्दरगाहको यही शहरले गर्छ । तर गगनचुम्बी भवन र सिनेनगरीको स्वप्न व्यापारमा रमाउने विलाशीहरूको मात्र होइन मुम्बई, दारिद्र्य, दैन्य र अभावमा बाँच्न विवस हज्जारौं झोपडवस्तीवालाहरूको पनि बासस्थल हो यो । मुम्बई जसरी आफूलाई मायानगरीको सम्बोधनमा गर्व गर्छ सायद त्सरी नै एसियाकै सबैभन्दा ठूलो झोपडबस्तीको संज्ञाकाट उत्पन्न पीडामा दुःको आँसु चुहाउन पनि वाध्य छ यो मायानगरी ! मुम्बई सायद यिनै विडम्वनामा आफ्नो अश्तित्व देख्ने गर्छ र त्यसैमा रमाउँछ ।
सागरपरिवेष्ठतताले सिर्जना गरेको सिमाका कारण यो आफैंमा खुम्चिन पनि वाध्य छ । नगरविस्तार गरेर मानव सागरको चाप र विग्रँदो पर्यावरणीय सुधारलाई गति दिन त्यति सजिलो छैन यसका लागि । सक्दो नगरेको होइन यसले आफूलाई फैलाउन । समुद्रभित्र समेत आफूलाई फैलाएर विशाल बन्न मुम्बईले दक्षिणको कोलावादेखि उत्तरको महिम र सिहोनसम्मको भूभागमा मात्र सीमित आफ्नो प्रारम्भिक आकारलाई फैलाउँदै पनि गयो । सन् १९५० तिर यसले पानीमाथि बाटो (कजवे) बनाएर अर्को एउटा ठूलो टापू सास्लेटलाई आफूमा मिलाएर उत्तरतर्फ फैलियो । त्यतिले पनि चित्त नबुझेर त्यसरी नै ससाना सातवटा अरु टापूहरू मिलायो आफूमा र आजको विशाल मुम्बईको स्वरूप ग्रहण ग¥यो । यसरी पश्चिम भारतको कोङ्कण तटका सातवटा साना टापु मिलेर बनेको मुम्बईको एक चौथाई जति भूभाग त समुद्रसतहभन्दा तलै छ ।
सप्तद्विप वा टापु कोलावा, फोर्ट, बाइकुला, परेल, वर्ली, मातुङ्गा र महिम को वर्तमान स्वरुप महानगर मुम्बई त्योभन्दा पनि अझ पर मुलुन्ददेखि दहिसारसम्म फिंजारिएको छ । रात्रिजीवनमा मस्त लगभग एक करोड जनसंख्याको यो महानगर भनिन्छ, कहिल्यै निदाउँदैन ! लगभग एक चौथाई भूभाग समुद्री सतहभन्दा तल रहेको मुम्बईले नरिमन प्वाइण्टमा आफ्नै पौरखले माटो भरेर समुद्रको केही अंश खोसेको पनि छ । मुम्बई अब त्यहाँका आदिवासी गुफामानव र माझी जाति कोलीहरूको सांस्कृतिक नियन्त्रण र प्रभावमा छैन । पूर्वी र पश्चिमी कोलावा हिल तथा ५५ टिर अग्लो मालावार हिलले छेकेर समुद्री जलप्रवाहको प्रकोपबाट मुम्बईका समुद्रमुनिका भूभागलाई बचाएको यो अनौठो महानगरले आज आफ्नो आदिवासी माझी संस्कतिलाई बहुसंस्कृतिको महासागरमा समाहित गरिसकेको छ । अब आफ्ना आदिवासी गुफामानव र कोलीहरूको सांस्कृति र जनजीवनलाई शोध र अनुसन्धानको सीमाभित्र खुम्च्याइुकेको छ मुम्बाइले !
यसले बेलायती उपनिवेश हुनुभन्दा अघि सन् १५३४ तिर नै पोर्तुगिजहरूको हैकम भोग्यो । उनीहरूले यसलाई बोम्बाइम नाम दिए, जसको अर्थ हुन्थ्यो–असल खाडी । भारतीय शासकहरूमात्रै होइन विभिन्न विदेशीहरूबाट समेत शासित हुने नियति भोगेको मुम्बईले दाइजो बनेर पोर्तुगलबाट बेलायतको अधिनायकत्व पनि भोग्नु प¥यो । बेलायतका राजा चाल्र्स द्वितीयले पोर्चुगलकी राजकुमारी क्याथरिन दे ब्रागाञ्जासँग बिहे गरे पछि मुम्बई राजकुमारीको दाइजोमा बेलायतको सम्पत्ति बन्यो र पछि इष्ट इण्डिया कम्पनीलाई सुम्पिइयो ।
चौपाटी र जुहु बीचको भेलपुरी, मेरिन ड्राइभको भिक्टोरिया राइड, ह्याङ्गिङ गार्डेन र कमला नेहरु पार्कको सफर, गेटवे अफ इण्डिया र नौका विहारमा रमाउने मुम्बईका आफ्नै खालका पीडाहरू पनि कम छैन् । अफगान चर्च; प्रिन्स अफ वेल्स म्युजियम, नेसल ग्यालरी अफ मोडर्न आर्ट, जहाँगिर आर्ट ग्यालरी, भिक्टोरिया एण्ड अल्बर्ट म्युजियम, नेहरु प्लेनिटोरियम, महालक्ष्मी मन्दिर आदि को सुरुचिपूर्ण स्थापत्य र कलासंस्कृतिको पर्याय मुम्बईसँग सिनेनगरीको ग्लामरपूर्ण अर्धनङ्गनताले छोपिँदै जानुको लज्जाबोृध पनि बाँकी नै देखिन्छ !
पुस ५, २०६०
No comments:
Post a Comment