Saturday, March 10, 2012

नारीतामा नातिनीको स्वागत ! ज्योति साहित्य २०६८ मा प्रकाशित नियात्रा

“ऊ....बुबा ....!” चारपाँच महिनाजति अघि मात्रै टोकियो फर्केदेखि कम्प्युटरको सस्वर भिडियो सुविधा स्काइपीमा मात्र देखबोल भएकी अढाइ वर्षकी नातिनी आयुषाको आल्हादित स्वरले हामी दुबैको लामो थकाइ मेटाइदियो । शिशु बाहन (बेबी कार) बाट फुत्त ओर्लेर हामीलाई झ्वाम्मै समात्न आइपुगेकी थिई ऊ । आहा... कति निर्दोष र आत्मीय स्वागत ! त्यतिबेला त्यो मेरी नातिनीको अनुहारमा देखिएको खुसी र आत्मीयताको अनुभूति सँच्चि नै मेरा लागि वर्णनातीत थियो ।
आलोक र सीताको अनुहार पनि त्यत्तिकै उज्यालिएको थियो । तिनको अनुहार पनि प्रफुल्ल देखिएको थियो,  एकदम प्रफुल्ल ! उनीहरूको त्यो प्रफुल्लतामा एकातिर हामीलाई देख्दाको खुसी मिसिएको थियो, अन्योलग्रस्तताबाट मुक्तिको सुखद् खुसी । हो, त्यतिबेला तिनका अनुहारमा पूर्वनिर्धारित समयमा हामी त्यहाँ नपुग्दा सिर्जना भएको मानसिक त्रास र अन्योलको मनस्थितिबाट मुक्ति पाएको अनुभूति स्पष्टै परिलक्षित थियो ! हुन पनि भनेको भन्दा झन्डै साढे तीन–चार घन्टासम्म हामी  विमानस्थल नआइपुग्दा उनीहरू कति आत्तिए होलान् ? उनीहरूको त्यो अवस्था मेरै कारण भएको थियो । मेरै असावधानीले गर्दा उनीहरूलाई त्यसरी अत्याइदिएको थियो, त्यतिबेला । मैले पठाएको पूर्व जानकारी अर्थात् हवाइ टिकटको विद्युतीय प्रति (स्क्यान कपी) मा हाम्रो विमानको नारीतामा उत्रने समय थियो– अपराह्नको साढे एक बजे । पछि मैले टिकट लिएको ट्राभल एजेन्सीले समयमा केही परिवर्तन भयो भन्दै अर्को परिवर्तित उडान तालिकाको विद्युतीय टिकट (ई–टिकट) पठाएको थियो । त्यो संशोधित उडान तालिकामा काठमाडौंबाट उड्ने समयमा परिवर्तन थिएन । हङकङमा अर्को विमान पर्खनु पर्ने समय भने एक घन्टा बढाइएको थियो । त्यसमाथि पूर्व जानकारी बिनानै विमान चिनको ताइपेई भएर टोकियो जाने भएछ । यी सबै कारणले गर्दा तीन घन्टाजतिको विलम्ब भएको थियो । त्यसको अनुसार टोकियोको समय अनुसार पाँच बजेर दश मिनेट जाँदा मात्र नारीता ओर्लने थियो हाम्रो विमान । त्यो संशोधित समयतालिका भने पठाउनै बिर्सेछु मैले । त्यही मेरो बिर्साइले गर्दा उनीहरूले   नारीतामा झन्डै चार घन्टा बिताउनु परेछ चिन्तै चिन्तमा, असह्य मानसिक सन्ताप सहेर !  कतै केही पो भयो कि, उनीहरूले सोच्नु स्वाभाविक थियो । आफ्नो त्यही सानो असावधानीले गर्दा छोरा बुहारीले कत्रो मानसिक पीडा भोग्नु प¥यो ! त्यो यथार्थबोध गर्दा मलाई असाध्यै नरमाइलो लाग्यो । मेरो असावधानी र गैरजिम्मेवारीले नै त्यो अबस्थाको सिर्जना गराइदिएको थियो । सबैतिर बुझेपछि बल्ल ढुक्क भएर पर्खिरहेका रहेछन् आलोक र सीता । त्यस्तोमा अझ कतै कुनै विमान दुर्घटनाको खबर आइदिएको भए, कस्तो हुन्थ्यो होला तिनको अवस्था ? संशोधित समय खुलाएर जानकारी पठाउने कुरामा सावधानी देखाउन नसकेकोमा म त्यतिबेला अत्यन्त लज्जित थिएँ, पश्चातापपूर्ण लज्जाबोध ! त्यसैले त्यो तीन तीन घन्टा लामोे के भयो होला, कसो भयो होलाको अनिश्चितता सिर्जित ममानसिक पीडा र चिन्ताबाट छुट्कारा पाउँदाको खुसी उनीहरूको अनुहारमा पनि प्रस्टै देखिन्थ्यो । 
यसपालिको दशैं जापानमा छोराबुहारीसँगै मनाउन हामी यतिबेला नारीतामा थियौं, जापानको अन्तराष्ट्रिय विमानस्थल नारीतामा ! 
“बुबा...यसपालिको दशैं हामीसँगै टोकियोमा मनाउने है ! म आवश्यक पर्ने सबै कागजपत्र पठाउँछु । ढिला नहुने गरेर भिसाको लागि निवेदन फाराम बुझाइहाल्नुहोला !” भदौे पहिलो हप्तातिर एकाविहानै आएको कान्छो छोरो आलोकको फोनले मलाई असमञ्जसमा पारिदिएको थियो त्यतिबेला । विगत दश वर्षदेखि नै आलोक जापानमा थियो । त्यतिबेला विदेश जाने न मेरो कुनै इच्छा थियो, न जाँगर । एकपल्ट पनि नपुगेको देश र ठाउँ भएको भए उत्साह जाग्थ्यो होला । तर जापान म र मेरी श्रीमती दुबैका लागि नौलो थिएन । मैले बीस वर्ष अगाडि नै भएपनि दुई हप्तासम्म जापानका सबै प्रमुख ठाउँहरू घुमेको थिएँ– टोकियो, हिरोसिमा, नागोया, क्योटो, नारा, ओसाका आदि । मैले देखेको जापान दुई जुग पुरानो भए पनि लक्ष्मी गएको त भर्खरै तीन वर्ष मात्रै भएको थियो । त्यसमाथि हामी दुबैले भारतको माउन्ट अबु घुमेर फर्केको त्यतिबेला चार महिना पनि नाघेको थिएन । २०६७ साल चैतको सुरुदिनदेखि गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष पदबाट राजिनामा दिए लगत्तै हामी दुई हप्ताका लागि महाराष्ट्रको सुन्दर पहाडी क्षेत्र माउन्ट अबु घुम्न गएका थियौं । त्यसैले पनि ममा अहिले नै विदेश घुम्ने खासै इच्छा थिएन । त्यसमाथि पनि दोहो¥याएर एक पटक देखिसकेको मुलुक, जापान !
“तिम्री आमासँग सल्लाह गरेर पछि खबर गरौंला नि, हुन्न ?” त्यही कारणले गर्दा त्यतिबेला मैले कुनै निर्णय दिएको थिइन । 
“के सल्लाह गर्नु प¥यो र, अब अफिसको भन्झट पनि छैन क्यारे । त्यताबाट फुर्सद पाइहाल्नुभयो, अब पनि नडुलेर कहिले डुल्ने ! त्यसैले यसपालि यतै आउनुपर्छ, दशैं यतै मनाउने यो वर्ष ! अब अवकाशको जीवन कहिले यता, कहिले क्यानाडा गरेर बिताउनुपर्छ...। सबै मिलाउने हामी छँदैछौं ।” ऊ अलि जिद्दी नै गर्दैथियो । तर पनि कुनै निर्णय नदिएर ‘पछि फोन गरौंला’ भन्दै त्यतिबेला कुरा टुङ्ग्याएको थिएँ । त्यसपछि आमा छोराका बीच के कुरा भयो, मैले त्यतिबेला खासै ध्यान पनि दिएको थिइन ।
तर त्यसपछि लक्ष्मीको गनगन सुरु हुन थालिहाल्यो, “यति गरेर छोरा बुहारीले बोलाएपछि पनि नगएर हुन्छ, जानु पर्छ । बरु भोलि नै फोन गरिहाल्नोस् । दशैंको टीका सकिएपछि पुगेर के काम, दशमीको दुई–चार दिन अगाडि नै पुग्ने गरी जानुपर्छ !”
आलोक–सीताको ताकेता, र श्रीमती लक्ष्मीको छोराबुहारी र नातिनी भेटे्ने तीब्र इच्छाको अगाडि आफ्नो अनिच्छाको आत्मसमर्पण गरिदिएको थिएँ मैले । अनि तीन हप्ताको भ्रमण योजना बनाएर कागजपत्र पठाउने मेरो स्वीकृति पाउनासाथ ऊ जुटेको थियो हाम्रो प्रवेषज्ञाका लागि चाहिने निमन्त्राण–पत्र, ग्यारेन्टी–पत्र, उसले काम गरेको, घरभाडाको, आयकर तिरेको, काम गरेको कर तिरेको, बैँक व्यालेन्सको, प्रमाणपत्रहरूका सक्कल प्रति र उसको नागरिकता र पासफोर्टको प्रतिलिपि जुटाउन । केही दिनमैं २५ सेप्टेम्बर, २०११ देखि १७ अक्टोबर सम्म (असोज ७–३० गते) को तीनहप्ते भ्रमण योजनाको निम्तोसहति उताबाट पठाएको कागजात हात परेपछि प्रवेषाज्ञाको निवेदन फाराम नबुझाई सुख्खै पाइन मैले । त्यसको तेस्रो दिनमैं तीन महिनाको जापान भ्रमण सम्बन्धी अनुमति पत्र (प्रवेषाज्ञा) हात परिहाल्यो । टिकट र सटहीका मेरा पूर्व विद्याथी, अति हितैषी साधुरामले गरिदिए । सबै कुरा मिल्दै गयो । अनि दुबैतिरबाट पूर्व भ्रमण योजनाभन्दा एक–एक दिन अगाडि नै जाने–आउने टिकट लिएर पन्छाउनै नसक्ने गरी टुङ्गो लागेको थियो यो मेरो जापान भ्रमणको योजना ।
त, त्यसरी पहिलोपटक विदेशी भूमिमा दशैंको टीका लगाउने योजना बनेको थियो मेरो । त्यही योजना अनुसार नै हामी टोकियोको अन्तर्राष्ट्रिय विमानस्थल नारीता आइपुगेका थियौं ।
असोज ७ गतेको दिन तयारी र विदाइका लागि भेट्न आउनेहरूसँगै वितिहाल्यो । अक्टोबर १८ अर्थात् कार्तिक १ गते राति त्रिभुवन विमानस्थल ओर्लने गरी मिलाएको निश्चत टिकट र तीन महिने प्रवेषाज्ञा लागेको राहदानी बोकेर साँझ घर छाडेका थियौं । ड्र्यागन एयरको हङकङ जाने १०.३० बजेको उडान समात्नु थियो हामीलाई । दुईजनाको सामान ४० किलो हुनु पर्ने, भएछ ५२ । पछि भैगो भनेर छाडिदिएपछि ढुक्क भएको थिएँ । नत्र के छाड्ने, के नछाड्ने । टोकियोमा एकैपल्ट सामान लिने गरी पठाएर हङकङ र हङकङबाट टोकियोको लागि दुईवटै बोर्डिङ पास लिएपछि अब प्रतीक्षा बाहेक गर्नु बाहेक के पो थियो र ।
त्रिभुवन विमानस्थलबाट हामीलाई लिएर ड्र्यागन एयरका विमान साढे दस बजेतिर उड्यो ।  केए १०३ नम्बरको यो उडानबाट हामीले पार गर्नु पर्ने काठमाडौंदेखिको दूरी थियो २९३५ किलोमिटर र लाग्ने समय सबा चार घन्टा । राति निष्पट्ट अँधेरोमा देख्नु केही थिएन विमानको झ्यालबाहिर । आक्लझुक्कल तल...कुनै सहर–बस्तीमा देखिने जुनकीरीझैं विजुली बत्तीको मधुरो उज्यालो बाहेक । केही देखिँदैनथ्यो । त्यसैले रात अखबार पढेर र केही बेर निदाएरै कटाइयो । हङकङ विमानस्थलमा ओर्लँदा विहानको ५.२५ बजेको थियो, त्यहाँको समय अनुसार । नेपालमा दिनको तीन बज्योहोला, मैले मनमनै हिसाव लाएको थिएँ । बाहिर त्यति गर्मी थिएन, न त त्यति जाडो नै । तापक्रम ठीक्कको थियो– २८ डिग्री सेल्सियस ।
अर्को विमान समात्न बिनासित्ती हङकङ विमानस्थलमा पाँच घन्टा बिताउनु परेको थियो । टर्मिनल भवनभन्दा बाहिर निस्कने कुरै भएन । त्यसको लागि प्रवेषाज्ञा चाहिन्थ्यो, जुन हामीसँग थिएन । हामी ट्रान्जिटका यात्रु मात्रै थियौं । त्यसैले त्यहाँबाट हामीलाई जापान पु¥याउने क्याथे प्यासिफिकको विमान उड्ने समय नहुन्जेल यही टनर्मिंनल भवनका पाहुना थियौं पाँच घन्टा जतिका लागि । ड्र्यागन एयरका कर्मचारीहरूले जापान उड्ने विमान चढ्न पुग्नु पर्ने एक नम्बरको टर्मिनलमा पु¥याएर छाडेकाले हामीलाई केही सजिलो भएको थियो । नत्र आगमनबाट प्रस्थान टर्मिनल भवन खोज्नै यति सजिलो हुँदैनथ्यो । तर पनि काठमाडौंमा दिइएको बोर्डिङ पासमा नारीता जाने क्याथे प्यासिफिकको विमान चढ्ने प्लेटफर्मको ढोका नम्बर उल्लेख नभएकोले त्यो खोज्नु त्यसपछिको पहिलो काम थियो मेरो । त्यसपछि बल्ल ढुक्क भएर विमानको प्रवेशद्वार नजिकै विश्राम कक्षमा आरामसँग बस्न सकिन्थ्यो । 
यही सोचेर नारीता जाने विमान प्रवेशको ढोका अर्थात् गेट नम्बरको खोजीमा लागेको थिएँ म । त्यहीँ नयाँ साथीका रूपमा एउटा परिवार भेटियो । विदामा नेपाल पुगेर जापान फर्कन लागेका गुल्मीका ती गिरिबन्धुका साथमा उनकी पत्नी र साना दुई छोराछोरी थिए । सबै नै फरासिला, मिलनसार । उनका चारै दाजुभाइ र दिदीबहिनी जापानकै विभिन्न सहरमा बस्दारहेछन् । उनको चाहिँ होकाइडोमा ट्रान्पोर्टको डिलरसिप छ रे । मान्छे सहयोगी र मनकारी पनि लागे । नारीता नै जाने भए पनि उनको उडान हाम्रोभन्दा एक घन्टा अगाडि थियो । जे होस् समय विताउन सजिलो भयो, गिरिबन्धु, उनकी श्रीमती र साना बाबुुनानीसँग कुराकानी गर्दै, रमाउँदै । उनी उडेपछिको एक घन्टा बिताउन खासै गाह्रो थिएन । यसोउसो गर्दैंमा वितिहाल्यो त्यो एकघन्टा । 
मलाई बिना काम पर्खेर बस्नु जस्तो पट्यारिलो अरु केही लाग्दैन । तर के गर्नु हाम्रो विडम्बना नै जति समय उड्नका लागि लाग्छ, त्योभन्दा बढी समय विमान बदल्न विमानस्थलमा पर्खनमा बिताउनुपर्छ । यो विडम्बनाबाट म नेपालीले कहिले मुक्ति पाउने हो, केही भन्न सकिँदैन । मेरो राष्ट्रिय ध्वजावाहक विमानहरू पनि विश्वका सबै ठूला विमानस्थलमा पुग्दा हुन् मैले यो समस्या सायद भोग्नु पर्दैनथ्यो । आफ्नै राष्ट्रियध्वजा वाहक विमानको उडान नभएकोले सिधा र एउटै विमानद्वारा संसारभर आफूले चाहेको ठाउँमा सोझै पुग्ने सुविधाबाट वञ्चिात छु म आजसम्म । लोकतन्त्रपछिको नेपालले पनि यसको संभावना देखाउन सकेको छैन अझै । यही नहुनुको पीडा बोकेर यति लामे समय बिताउनुको विडम्बना नभोगी सुख थिएन म नेपालीलाई । यो मेरै व्यवस्थापकीय असक्षमताको प्रतिफल नै त थियो । र थियो, हर कुरामा देखिने राजनीतिक हस्तक्षेपको क्यान्सर र भ्रष्टाचारको दानवीपञ्जा ! यी सबै कारणले गर्दा त थाइ एयरलाइनले पनि मेरो रोयल नेपाल एयरलायन (हालको नेपाल एयरलायन) सँग एकैदिन उडान थालेको थियो भन्दा पत्यारै लाग्दैन । थाइ विमाल सेवा आज विश्वव्यापी उडान सञ्जाल खडा गर्न सफल छ, हाम्रो नेपाल एयरलाइन भने झन् झन समाप्तिको अन्तिम खुड्किलो झर्दैछ ।
हङकङ विमानस्थलमा बिताउनु परेको पाँच घन्टाको त्यो समयमा यस्तै तर्कना चलेका थिए मेरो मनमा । अनि त्यतिबेला आफूले गोरखापत्र संस्थानमा कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाल्ने क्रममा लगभग बाईस महिनामा देखेको, बुझेको भ्रष्टाचारको जगजगी र त्यससँगको संघर्ष सम्झन पुगेको थिएँ त्यतिबेला म । त्यसको सञ्जालले फैलाउन खोज्ने अष्टपादीय अङ्कुसेहरू कति डरलाग्दा, कति शक्तिसाली ! कति पर परसम्म तिनको पकड, सत्ताको भित्री तहसम्मै । तीस वर्षको पत्रकारिता जीवनमा नदेखेको र नबुझेको भ्रष्ट्राचारको जालो देख्ने र बुझ्ने अवसर मिलेको थियो मलाई त्यतिबेला । त्यो सञ्जालले यसरी जरा गाडेको थियो, जसलाई चाहेर पनि उखेलेर फाल्न सजिलो थिएन, मेरोजस्तो सत्ताशक्तिको दर्विलो आशीर्वाद नहुनेका लागि त झनै सम्भव थिएन । सञ्चार माध्यमका विशेष वर्ग र माध्यमहरूमा राम्रो पकड रहेका तिनैले बरु आफैंलाई वद्मास सिद्ध गरिदेलान् भन्ने डर । थोरै भए पनि यस सत्यसँग परिचित हुन पाएको त्यतिबेला । त्यस सत्यबोधले मेरा उत्साह र जोस जाँगर गल्दै गएका थिए । त्यो वातावर।रण र परिवेशमा आफू त्यस सञ्जालभित्र पर्नुबाट जोगिनु पनि ठूलै उपलिब्धि थियो । छाडिदिउँ, यो अलग सन्दर्भको कुरा । पछि कुनै बेला विस्तृतमैं लेखौंला । धेरै छन्, तीस वर्षको पत्रकारिता र प्रशासकीय जीवनमा देखिएका रोचक तर नेपाली समाजका अप्रिय सन्दर्भहरू । जे होस यिनै विगतका सम्झनाहरूले सघाएर त्यति कठिन लागेन समय बिताउन ।
साढे नौ बजेतिर क्याथे प्यासिफिकको उडान नम्बर ऋह्द्धछण् प्लेनभित्र पसिएको, बल्ल हामीलाई बोकेर १० बजे विमानले हङ्कङ छाड्यो । आधा घन्टा जति यात्रु बसाल्ने व्यवस्थामैंं सकिइहाल्यो । त्यसमाथि सोझै जापान नगएर ताइपेई जाँदैथियो । त्यहाँका यात्रु ओलार्ने र त्यहाँबाट टोकियो जानेलाई लिन डेढ डेढ घन्टा जति लाग्छ रे ! दिइएको जानकारीले यसै भन्थ्यो । ताइपेई ओर्लेर केही बेर घुम्न पाएको भए त उपलब्धि नै हुन्थ्यो, त्यो पनि सम्भव थिएन । त्यसैले हामीसँग विमान भित्रैबाट झ्यालबाहिरको ताइपेइ नियाल्नुको विकल्प थिएन । हङकङबाट ८०७ किलोमिटरको दूरी पार गरेर पुगिएको ताइपेइलाई भित्रबाट देखिने बाहिरको सीमित झल्को हेरेरै चित्त बुझायौं । बाहिर निस्कन पाइँदैनथ्यो । सवा घन्टाभन्दा बढी लाएर पूरा गरेको थियो विमानले त्यो दूरी ।
हो, त्यो सवा घन्टाभन्दा केही बढी नै समयको उडान समय बिताउन भने खासै कठिन परेन । विहानको उज्योमा विमानको सानो झ्यालबाट देखिने सुन्दर दृश्यचित्र प्रकृतिले कोरेको सुन्दर चित्रजस्तै देखिन्थ्यो । विशाल चित्रफलकमा कोरिएको एउटा कुशल कलाकारको मन लोभ्याउने सुन्दर ल्यान्डस्केपजस्तै । त्यही दृश्य हेरेर समय बितेको चालै पाइएन । आकाश आफैंमा उएटा विशाल चित्रफलक झैं देखिन्थ्यो– कतै खुला, कतै कपासझैं सेतो कोमल र अझ कतै सघन कोइलाजस्तै बादलको अनौठो संसार ! त्यही प्रकृतिको कौतुक हेर्दै तिनै काला–सेता बादलभन्दा कहिले मुनि र कहिले माथिमाथि आकाशमा उड्दै गयौं हामी ! बाल्यावस्थामा पढेका दन्त्यकथामा वायुपङ्खी घोडामाथिका मधुकर र मालतीजस्तै ! कहिलेकाहीँ देखिन्थ्यो तल...तल...धेरै तल समुद्रको विशाल जलराशि, अनि त्यही जलराशिको उत्ताल छात्तीमा बगिरहेका प्रशान्त महासागर र दक्षिणी तथा पूर्वी चिनिया सागर । अझ देखिन्थे तिनका छात्ती चिर्दै जलयात्रा गरिरहेका साना ठूला जहाज, डुङ्गा र तिनकै गतिसँग बन्दै बिग्रँदै गरिरहेका नीलो गहिरो पानीमाथि सेतासेता, लामालामा पानीका छालहरू ! त्यही जलराशिको बीच थपक्क बसेको देखिने साना ठूला टापुहरू, र जमिनका विशाल भूभाग ! बीच बीचमा थोप्लाथाप्ली झैं देखिने ती साना ठूला टापूहरू ताइवान, हङकङ र जापानरूपी लामा तेर्सा भूगोलका धर्साहरूमा विभक्त मुलुकहरू ! तिनैमध्ये सबैलाई बाउन्ने बनाएर आफ्नो भौतिक विशालताको गर्वबोध गरिरहेको देखिन्थ्यो चिनको विशाल भूभाग ! अनि कतै ती सबैलाइै गम्लङ्गै छोपेर हामी मुनि फैलिएका कोमल भुवाजस्तै सेता सेता बादलका विस्तृत संसार । र, अझ कतै गर्भभरि पानी लुकाएर घुमिरहेका त्यस्तै घना काला बादलको कृष्णसागर झैं डरलाग्दो साम्राज्य ! विशाल विमानको गर्भगृहमा बसेर अनन्त अकाश यात्राको यो रोमान्चक अनुभव दुर्लभ थियो । साँच्चि नै मलाई हर विमान यात्रामा दन्त्यकथाका पात्र झैं लाग्ने बन्दै बिग्रँदै गर्ने काला–सेता बादलका आकृतिहरू हेर्न असाध्यै मन पराउँछु म । घरकै कौसीमा पनि कहिले काहीँ समय पाएमा घन्टौं नीलो आकाश र त्यसमा बन्दै बिग्रँदै गरेका वादलका रोमाञ्चक आकृतिहरू हेरेर बिताइदिन्छु म । एकले अर्कालाई पछ्याइरहेझैं तिनको उडान अनि एकमा अर्कोको सम्मिलनका दृश्यहरू, हेरिरहूँजस्तो । स्वैरकल्पनाको अद्भूत संसार, बादलमाथिबाट देखिने चित्रविचित्रको एउटा सुन्दर कल्पनाजगत !   
ताइवानको राजधानी ताइपेई नगरमैं नपुगे पनि टोकियो विमानस्थल टेक्ने अवसर त पाइयो ! हुन पनि एउटा संयोगै थियो, हङकङबाट उडुन्जेलसम्म पनि सुबासङ्केत नपाएको ताइपेइ उडानको त्यो फोसा अर्थात् बोनस यात्रा ! टापुको उत्तरी टुप्पोमा बसेको प्रशान्त महासागरको बन्दरगाह नगर ताइपेई केलुङभन्दा २५ किलोमिटर यतै तामासु नदीको किनारामा गजधम्म बससिरहेको थियो । १८ औं शताब्दीमा स्थापना गरिएको भनिने ताइपेइ ताइवानको रानीतिक, आर्थिक र सांस्कृतिक केन्द्र नै मानिन्थ्यो सायद् । चिनको प्रान्तीय राजधानी थियो रे सन् १८८६ तिर यो । चिन र जापानबीचको पहिलो युद्धमा यो जापानको अधीनमा पुगेको थियो । दोस्रो विश्वयुद्धमा जापानको आत्मसमर्पण पछि मात्रै फिर्ता पाएको थियो गणतन्त्र चिनले सन् १९४५ मा । त्यसपछि अहिलेसम्म नै यो चिनको प्रान्तीय राजधानी रही आएको छ । हङकङ र ताइपेईको समयमा अन्तर थिएन । टोकियो र यहाँको समय भने एक घन्टाको फरक थियो । 
ताइपेई विमानस्थलमा विमानभित्रै सवा घन्टाभन्दा बढी बिताएर बल्ल पौने १ बजे हाम्रो विमानले त्यहाँको जमिन छाडेको थियो । ताइपेईबाट २१८३ किलोमिटर परको टोकियोतर्फ लक्षित थियो अबको हाम्रो अकासे यात्रा । सिट अगाडिको भिडियो डिस्प्ले स्क्रिन यो अबको उडानमा २ घन्टा ४१ मिनेट लाग्ने जानकारी दिइरहेको थियो । तल प्रशान्त महासागर र चिनिया सागरको अतल जलसागर फैलिएको देखिन्थ्यो आँखाले भ्याउनेसम्मको दिशामा । सागरका बीच बीचमा देखिने साना ठूला टापुुहरू ताइवान, हङकङ, जापान द्वीप समूह फेरि देखिँदै थिए ! टोकियोको समय अनुसार पौने पाँच बजेतिर टेकेका थियौं हामीले नारीता विमानस्थल । निस्कन कुनै समस्या परेको थिएन, आफ्नै बुजु्रक्याइँले गर्दा भने केही बिलम्ब भयो फेरि । भन्सारमा देखाउनु पर्ने सामान केही छैन, किन फर्म भर्नु प¥यो भन्ने सोचेर म कन्सार डिक्लरेसन फाराम नभरीकनै बसेको थिएँ । तर किन पो छाड्थ्यो र जापानी भन्सार अधिकृतले । फारमा भरेर आउन भनी फर्काइ दियो । फाराम भरेर आएपछि फेरि लामै लाइनमा परियो ।
मेरो अगाडि एकजना नाजेरियालीजस्तै अश्वेत यात्रु थियो । भन्सार अधिकृतले त्यस अश्वेत यात्रुको सुटकेसका सबै सामान छ्यालब्याल तुल्याइदिँदा डराएँ म, हाम्रो सामान पनि यसरी नै छ्यालब्याल पारिदियो भने ? तहलाउनै मुस्किल । कोचकाच गरेर बलतलले अटाइएको छ ! कति असजिलो होला, असरल्ल सामान तहलगाएर मिलाउन । तर त्यस्तो केही भएन । फाराम हेरेर सुटकेसमा चिनो लगाइदियो त्यो अधिकृतले । मैले मुक्तिको लामो सास फेरेँ, सुटकेस खोल्न नपरेकोमा ।
अनि भन्सार बाहिर आइपुग्नासाथ निस्कनासाथ झ्वाम्मै छोप्न आइपुगेकी थिइ नातिनी आयुषा– “ऊ....बुबा....” भन्दै । नातिनीको त्यो हाम्रो स्वागतमा निस्किएको आत्मीय सम्बोधन मेरो जापान यात्राको यो पहिलो पाइलोमा बाटोको पट्यारलाग्दो थकान मेटाउन पर्याप्त थियो । 
२०६८ पुस ९ गते
विकल प्रतिष्ठान, आरुबारी