Tuesday, July 2, 2013

गहिरो चिन्तन विनम्र हुन्छ

(शब्दसंयोजन, मासिक वर्ष १० अङ्क १, पूर्णाङ्क १०८, २०७० वैशाखमा प्रकाशित)

गहिरो चिन्तन विनम्र हुन्छ । उसलाई आफूले जलाएको ज्वाला जतिसक्यो प्रखर होस् भन्ने बाहेक त्यो कति टाढा पुग्ला भन्नेजस्ता कुनै पनि चिन्ता हुँदैन ।
अल्बर्ट स्वाइत्जर ।
सुविख्यात् दार्शनिक चिन्तक गोविन्दभट्ट यथार्थमा स्वाइत्जरले भनेजस्तै नै हुनुहुन्थ्यो– विनम्र, आफूले जलाएको बत्तीलाई हावाहुरीबाट जोगाउन हर्दम दृढ ! साँच्चै नै आँखामा राख्दा पनि नबिझाउने !
हो, यस्तै विनम्र हुनुहुन्थ्यो, गोविन्द दाइ अर्थात् गोविन्द भट्ट (१९९४–२०६८), आँखामा राखे पनि नबिझाउने ! गोविन्द दाइजस्तो अग्लो व्यक्तित्वका बारेमा के लेख्ने ? कोरा गन्थन लेखेर आफ्नै बारेको गन्थन गर्दै उहाँका प्रियपात्रका रूपमा स्थापित गराउन त सहयोग पुग्ला, त्यस बाहेक गोविन्द दाइको प्रखर चिन्तक व्यक्तित्व र प्रगतिवादी सौन्दर्यचेतका कोणमा कति नै थप उज्यालो छर्न सक्ला र यसले ? त के लेख्ने यस्ता गोविन्द दाइका बारेमा ? यही रनभुल्लमा मैले धेरै आग्रहहरूलाई टार्दै आएँ, र पनि अहिले केही कोर्दैछु  ।   
पहिले यदाकदा कार्यक्रमहरूमा देख्दा श्रद्धाले हात आफसेआफ जोडिन्थ्यो, अभिभावदनमा । जवाफमा लेनिनशैलीमा एक हात उठ्थ्यो गोविन्द दाइको । मुखमा स्नेहिल मुस्कान फैलन्थ्यो र जवाफमा मृदुआवाज निस्कन्थ्यो– सन्चै हुनुहुन्छ ?
 त्यो उहाँको अभिवादन फर्काउने सङ्क्षिप्त शैली प्राय सबैलाई समान हुन्थ्यो । शिरको समानान्तर उठेका हातका हार्दिकतापूर्ण प्रत्युत्तर अभिवादन लगभग सबैका लागि त्यसरी नै उठ्थ्यो, समान ! सादा पाइन्ट, खुला बुसर्ट र खुट्टामा छालाको स्यान्डल अनि काँधमा भिरिएको लामो खकने झोला ! धेरैसम्म यही परिचयमा सीमित थियो मेरो परिचय, श्रद्धेय गोविन्द दाइसँगको चिनजान र सङ्गत । 
त्यो परिचयमा पाइन चढाउँथे उहाँका रचना र उहाँबारे मेरा पिताजी रमेश विकलका साथै आफूभन्दा ठूला अरु  आदरणीय व्यक्तिहरूबाट सोझाघुमाउरा पारामा सुनिएका कुराहरूले । पढ्दै जाँदा उहाँका बारेमा थप जानकारी पाइँदै गयो । युगवाणीदेखि नै प्रकाशित हुन थालेका रहेछन् नारायणी अन्चलको रौतहट जिल्लामा जन्मनु भएका गोविन्द भट्टका रचनाहरू । नेपाली साहित्यमा सौन्दर्य चिन्तनका दृष्टिले स्थापित र आधिकारिकता राख्नुहुने वरिष्ठ समालोचक गोविन्द भट्टको लेखन जीवनमा सबैभन्दा उर्वर र कोसे ढुङ्गा गाड्न सफल समय थियो २०२० को दशक । समालोचनामा उहाँका नेपाली सौन्दर्य चिन्तनप्रक्रियाको दोस्रो चरण (२०२० देखि २०४६) को पहिलो दशकमा लेखिएको गोविन्दभट्टको ‘हामी किन बाँचेका छौ ’ (२०२२) उल्लेख्य रहेका छन् । (चैतन्य, वेदना, साउन २०६९) । यही अवधिको सैद्धान्तिक लेखन अत्यन्त उच्चकोटिको मानिन्छ । प्रगतिवादी कवि, साहित्यकार, दार्शनिक चिन्तक र समालोचकका रूपमा उहाँको व्यक्तित्व स्थापित गर्न यो अवधिका योगदान महत्वपूर्ण रहेका छन् ।  
दार्शनिक, सांस्कृतिक तथा माक्र्सवादी समालोचनाका आधिकारिक स्तम्भ वरिष्ठ दर्शनिक–चिन्तक गोविन्द भट्ट ‘किसिम किसिमका प्रयोग, विदेशीको नक्कल, अति आधुनिक हुन खोज्ने इच्छाले लेखिएका फ्रायडवादी र अस्तित्ववादी रचनाहरूको (गोविन्दभट्टका समालोचना–२०५४)’ बाढीले नेपाली सामाजलाई निराशा, कुण्ठा र अकर्मण्ड्यतातर्फ प्रेरित गरेर अर्धसामन्ती तथा पुँजीवादीहरूका सेवा गरिरहेको देखेर अत्यन्त चिन्तित हुनुहुन्थ्यो । उहाँको लेखन जीवनभर यिनै प्रवृत्तिका विरुद्ध माक्र्सवादी दर्शनको प्रतिपादनमैं समर्पित रह्यो । उहाँले त्यसका विपक्षमा बोलेर, लेखेर नेपाली समाजलाई निरन्तर सचेत गराइरहनुभयो, जीवनपर्यन्त मार्गदर्शन गराइरहनुभयो ।  
गोन्दि भट्टका ‘शान्ति सन्देश काव्य (२०२४)’, ‘सत्यबहादुरको कथा काव्य ()’, ‘युगविजय लघुकथा (२०४०)’, ‘अन्तर्विरोध अनु. (२०२४)’, ‘नेपाललाई बुझ्ने समस्या ()’, ‘आधुनिक युग, आधुनिक साहित्य र नयाँ सहित्यकार ()’, ‘गोविन्द भट्टका समालोचना (२०५५)’ आदि कृतिहरू देखिन्छन् । यी बाहेक सयौं फुटकर रचनाहरू सङ्गृहीत हुने अवसरको खोजीमा रहेका देखिन्छन् ।  
‘गोविन्द भट्टका समालोचना (२०५५)’ मा समालोचक गोविन्द भट्टका विभिन्न समालोचना सङ्गृहीत छन् । तिनमध्ये ‘शिरीषको पूmल कि कागतको पूmल ? (२०२३)’, ‘तीन घुम्ती कि छाडा वादलाई स्वीकृति ?’, ‘आजको नेपाली साहित्य र त्यसका केही समस्या’, ‘प्रगतिवाद र मानवता’, ‘पाश्चात्य विचारधारा र हाम्रो राष्ट्रिय चिन्तन’, ‘साहित्यमा विश्वदृष्टिकोणको प्रश्नबारे’ लगायतका समालोचनाले नेपाली साहित्यमैं विशिष्ट स्थान राख्दछन् । यिनमा लेखकले पारिजातको ‘शिरीषको फूल’ र वीपीको ‘तीन घुम्ती’ शीर्ष उपन्यासहरूको समालोचना गर्दै साहित्यमा निराशा, शून्यवादी दृष्टिकोण, अस्तित्ववाद र फ्राइडेली यौनवादी दृष्टिकोणहरूको उहाँले कडा आलोचना गर्नु भएको छ । त्यसरी नै आदिकवि भानुभक्त, कवि शिरोमणि लेखनाथ, बालकृष्ण सम, युद्धप्रसाद मिश्र, महाकवि लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, हृदयचन्द्र सिंह प्रधान र गोकुल जोशीजस्ता शिखर व्यक्तित्वहरूको बारेमा गरिएका गेविन्द भट्टका पुनर्मूल्याङकन नेपाली समालोचनाकै क्षेत्रमा महत्वपूर्ण छन् । भट्टका लगभग सबै रचना द्वन्द्वात्मक भौतिकवादी सौैन्दर्यचिन्तनबाट निर्देशित देखिन्छन् ।    
गोविन्द भट्टका कविता समाजकालागि प्रेरक हुन्छन्, सामाजिक यथार्थ र राष्ट्रिय चेतनाका साथै विश्वजनीन सामाजिक यथार्थ तथा शोषणका माध्यमप्रति विद्रोहको तीब्र अनुभूति पाइन्छ ।  जस्तो,  
खड्गले न्यायको घाँटी अन्यायी जब रेट्दछ
न्यायको पालना गर्न न्यायीले पनि हातमा 
समात्नुपर्छ तर्बार बनेर वीर निर्भय
त्यसैले आततायी नै हुन्छन् कारण युद्धका 
उनकै नाश गर्नाले शान्तिको हुन्छ स्थापना ।     
१ सय ५० पङ्क्तिको “महाभिनिष्क्रमण ” शीर्षक लामो कविता उहाँकै भनाइमा पनि उहाँको उत्कृष्टमध्येको एउटा रचना हो । उहाँको भनाइमा “ज्ञानयोग र कर्मयोग दुबैका अद्वितीय समन्वय भएका महान् नेपाली पुरुष बुद्धमा आएको चेतना, संसारका समस्याहरूप्रतिको यथार्थवादी दृष्टिकोण र आफ्नू राजगद्दीको त्याग गरेर संसारको मुक्ति शान्ति र प्रगतिको निम्ति उनले चालेका पाइलालाई आधुनिक व्याख्या” दिइएको छ यो कवितामा । यीबाहेक प्रकाशित रचनाहरूमध्ये लेखककै अनुसार साहित्यमा प्रकाशित ‘गुहार र सन्यासी बाबा’, समीक्षामा प्रकाशित ‘पैट्रिस लुमुम्बा’, रूपरेखा कविता अङ्कमा प्रकाशित ‘विश्वयुद्ध गर्न तम्सेकाहरूसँग’ आदि उत्कृष्ट रचना गोविन्द भट्टका आफ्ना समयका चर्चित रचना हुन् । यी रचना भट्टका मात्र नभएर नेपाली प्रगतिवादी कविताका समेत उल्लेख्य सिर्जना हुन् । 
साहित्य र नेपालित्वका बारेमा समीक्षामा प्रकाशित ‘हाम्रो पनि त्यो दिन कहिले आउला ?’, ‘नव नेपालमा नेपाली साहित्यकारको दायित्व’ शीर्षक गोष्ठीपत्र, ‘नेपाली साहित्य र साहित्यकारका केही मूलभूत समस्याहरू’, आदि उहाँका उल्लेख्य रचना हुन् । गोविन्द भट्ट सरलतामा सौन्दर्य र प्रभावकारिता दुवैको खोजी गर्नुहुन्छ । दुरुहता र कृत्रिम विद्वताको प्रदर्शन सिर्जना होइन भन्ने उहाँको धारण जनताका लागि लेख्छु भन्नेहरूका लागि अपरिहार्य कुरा हो, गोविन्द भट्टले यही कुरालाई विशेष जोड दिनुभएको छ तलको भनाइमा ।  
उहाँ लेख्नुहुन्छ–....“इमान्दारीसाथ ह्रृदयको भित्रीकुनाबाट आफैं बाहिर उम्लिएर आउने भावनाहरू –स्वाभाविकता र सरलताका साथ कागतमा उतार्न सक्ने कुशलता नै सच्चा कविको परिचायक हो । अनुभूत गर्न सकेन भने रचना अपूर्ण हुन्छ । सुन्दर बनाउन म कृत्रिम हुन चाहन्न र ठूलो हुन म नबुझिने र अस्पष्ट बन्न खोज्दिन । मेरा कविताहरूलाई गद्य र पद्यको बीच, यथार्थ र भावनाको बीचको यौटा प्रकाशन भने हुन्छ जुन शैलीको म प्रयोग गर्दै छु । कविताको परम्परावादी परिभाषा दिनेहरूलाई मेरो कविता रुखो र कहिलेकाहीँ बाँझो पनि लाग्ला ।” (आएका केही चिठी २०५५, श्यामप्रसाद पृ. ११२–११५) ।
गोविन्द भट्ट प्रस्ट हुनुहुन्छ– यो सांस्कृतिक पुर्जागरणको युगमा हामी व्यक्ति हैन, सामाजिक र राष्ट्रियस्तरबाट, अराजकतावादी ढङ्गले हैन, यौटा उद्देश्य र लक्ष्य लिएर लेख्ने बेला छ (गोविन्दभट्टका समालोचना–२०५४)’ । गोविन्द भट्टकै शब्दमा, “हामीकहाँ एउटा ठूलो भ्रमात्मक धारणाले निकै शिक्षित व्यक्तिहरूलाई समेत अन्धो तुल्याइदिएको देखिन्छ र त्यो के हो भने सम्पूर्ण पाश्चात्य साहित्य, संस्कृति र कला स्वभावतः वैज्ञानिक दृष्टिकोणबाटै निर्देशित रहेको हुन्छ किन भने पाश्चात्य जगत विज्ञान र प्रविधिको अगुवा हो । यस सांस्कृतिक उपनिवेशवादी प्रवृत्तिबाट हामीले मुक्त हुनैपर्छ ।”
आज साहित्य र साहित्यकारको एउटा समूह यही नवउपनिवेशवादी प्रवृत्तितर्फ तीब्र रूपमा आकर्षित भइरहेको देखिनुले गोविन्द भट्को त्यतिबेलाको चिन्ता कति बस्तुगततामा आधारित रहेछ भन्ने प्रस्टहुन्छ । आज साहित्यलाई पूँजीले नराम्ररी प्रभावित गरिरहेको छ । साहित्यिक मेलाहरूका नाउँमा तामझामपूर्ण झाँकीहरू निकालेर कलासाहित्य क्षेत्रका केही परिचित अनुहारहरूलाई ‘आइकन’का रूपमा प्रस्तुत गर्दै ‘¥याम्प’ गराइरहेका छन्, सुन्दरी प्रतियोगिताकै शैलीमा ठूला बहुराष्ट्रिय निगमका कम्पनी र तिनका गुमस्ताहरू; अनि हामी उनीहरूकै ताल र सुरमा नाच्न थालेका छौं, कठपुतलीजस्तै  । यस सांस्कृतिक नवउपनिवेशवादी प्रवृत्तिका समर्थक केही विलौचियाहरू यस कार्यमा खटिएका छन । हामी साहित्यकारहरू क्षणिक प्रचार, प्रकाशन, र पारितोषिकको प्रलोभनमा तिनका भरपूर सहयोगी बनिरहेका छौं । आजको यो परिदृश्यमा आफूलाई उद्देश्यपूर्ण कलमका हस्ती र जनपक्षीय लेखनका प्रवक्ता ठान्ने कलमजीवीहरू पनि लामबद्ध भइरहेका छन् । तिनले एकपल्ट गोविन्द भट्टका मार्ग दर्शनलाई गम्भीरतापूर्वक मनन गर्नु पर्ने हो कि ?  
नम्र, शिष्ट र सानालाई माया गर्ने लाग्दै अएका गोविन्द भट्टसँग केही समय गोरखापत्रमा सँगै काम गर्ने सुनौलो अवसर पनि मलाई प्राप्त भयो । मनमोहन अधिकारीजस्ता पाका राजनीतिज्ञको नेतृत्वमा नेपालकै पहिलो कम्युनिस्ट सरकार बनेपछि सरकारले गोविन्द दाइलाई गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा नियुक्त ग¥यो । गहिरिएर सोच्ने हो भने, त्यो गोविन्द दाइको सम्मान पटक्कै थिएन । बरु उपहास झैं लाग्थ्यो । गोविन्द भट्टजस्ता चिन्तक दार्शनिकलाई गोरखापत्र संस्थानजस्तो एउटा सानो संस्थानको व्यवस्थापकीय जिम्मेवारीको अध्यक्ष सम्मान र अवसरको कुरा पक्कै थिएन । त्रिभुवन विश्वविद्यालयका कुलपति, नेपाल एकेडेमीका कुलपति वा सदस्यसचिवजस्ता जिम्मेवारीमा लैजानु उहाँको सम्मान हुन्थ्यो । त्यसो गरिएको भए ती संस्थाको गरिमा बढाउन सहयोग मिल्थ्यो । कसैलाई पनि अस्वीकार गर्न नसक्ने गोविन्द भट्टले त्यो सरकारको आग्रहलाई पनि पनि सहर्ष स्वीकार्नुभयो, जुन उहाँको शालीनता र महानता थियो । त, त्यसरी गोरखापत्र संस्थानको कार्यकारी नेतृत्वमा आउनु भएका गोविन्द दाइसँग नौ महिनाजति नै भए पनि सँगै काम गर्न पाइयो, उहाँलाई सकेको सघाउन पाइयो । यो मेरोलागि पनि अविष्मरणीय कालखण्ड थियो गोरखापत्रको लामो पत्रकारिता सेवामा ! हो,....त्यतिबेला पो बल्ल लाग्यो, नभन्दै आँखामा हाले पनि नबिझाउने हुनुहुँदोरहेछ त गोविन्द भट्ट ! 
“समालोचनाको नाउँमा निकै मनपरी भएको छ । ठूललाई रिझाउने, मन नपरेकालाई खसाउने र नौला नयाँहरूलाई तर्साउने हतियारका रूपमा पनि यसको (समालोचना) प्रयोग भएको छ । तर व्यक्तिवादलाई समालोचनाको आधार बनाउनु ठीक होइन । सैद्धान्तिक स्तरमा समालोचना–प्रत्यालोचना हुनुपर्छ ।” नयाँ घुम्ती, सामयिक मासिक, वर्ष १ अंक २, २०४९, पृ. ३० ।” गोविन्द भट्टको प्राज्ञिक सचेतक व्यक्तित्व समाज, साहित्य र राजनीतिका हर क्षेत्रमा गहिरो अध्यनपरक दृष्टि राख्दथ्यो र बेलाबेलामा खबरदारी गरिरहन्थ्यो । त्यही खबरदारी थियो नेपाली समालोचनाले बिराएको बाटो देखाउँदै सही बाटोमा हिँडाउने उहाँको यो प्रयास । 
उहाँको भनाइ छ– “आफ्ना मान्यताहरूलाई तर्क र उदाहरण साथ चित्त बुझ्ने रूपमा उस्ले (समालोचक) पेश गर्नुपर्दछ जसबाट लेखक र पाठक दुवै सैद्धान्तिक रूपबाट शिक्षित बन्न सकून् । यसमा सामन्तवाद र पुँजीवाद समर्थक साहित्यको आलोचना र खण्डन गर्ने तथा नेपाली पाठकहरूलाई शोषक वर्गीय संस्कृति र संस्कृतिका विषालु प्रभाववाट जोगाउने प्रगतिवादी समालोचकहरूको आज निकै खाँचो छ ।” नयाँ घुम्ती, ऐ...। 
हुन पनि गोविन्द भट्टले सङ्केत गर्नुभएजस्तै आजको आलोचना समालोचकको सम्यक अध्यनमा आधारित नभएर शक्तिशाली ठूला अखबार, साहित्यिक पत्रिका र विद्युतीय माध्यममा पकड जमाउने केही सीमित कथित चिन्तक, साहित्यिक स्तम्भकार र यस्तै समूहको ‘अहो रूप, अहो ध्वनि’ का गायक झुण्डको हल्लामा आधारित आवाजमा हराउन थालेको छ । यसका पछाडि पश्चिमा पूँजीवादका प्रवक्ता र प्रयोक्ता बुदिजीवी, बहुराष्ट्रिय निगम, विदेशी राष्ट्रका सांस्कृतिक नीति प्रसारमा सहयोगी अङ्ग र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाजस्ता तिनका अदृष्ट हातहरू सलबलाइरहेका छन् । यस्ता आसन्न खतराका बारेमा गोविन्द भट्टले बेला बेलामा सतर्क गराउनु भएको छ ।         
लखनउ युनिभर्सिटीबाट ९ डिसेम्बर १९६२ मा श्यामप्रसादलई लेखेको चिठीले प्रस्टपार्छ (पृ.१११)–  गोविन्द भट्ट मुखले देखाउने मात्र होइन आफ्नो समयमा व्यवहारले समेत त्यत्तिकै विद्रोही हुनुहुन्थ्यो । त्यसकै फलस्वरूप प्रगतिशील विचारका भए पनि त्यसबेलाको कट्ट्र अर्धसामन्ती समाजको डर–धम्की र कथित इज्जतका विपरित जान नसक्ने परिवारको कडा विरोध हुने देख्दा देख्दै आँट गरेर अन्तरजातीय आफूखुसी बिहे गर्नुभयो । पारिवारिक स्थिति उहाँको समर्थनमा उभिने खालको थिएन । प्रगतिशील विचारका भए पनि त्यसबेलाको कट्टर अर्धसामन्ती समाजको डर–धम्की र कथित इज्जतका विपरीत उभिने आँट उहाँका पिताजीले गर्न सक्नुहुन्नथ्यो । त्यसरी अनुकूल परिस्थिति नहुँदा पनि गोविन्द भट्टले व्यवहारमैं प्रगतिशीलता देखाएर अन्तरजातीय बिहेलाई व्यवहारमा लागु गरेर देखाउनु भयो । गोविन्द भट्टलाई थाहा थियो “यसबारे बाबासँग बेस्करी बाभ्mनु पर्ने छ ।’   
मानवतावादलाई सीमान्तीकृत मानिसकै शोषणको हतियार बनाइने कुटिल प्रयत्नमा उद्यत आजको सन्दर्भमा गोविन्द भट्टले यसबारे स्पष्ट दृष्टिकोण राख्नुभएको पाइन्छ । उहाँ भन्नुहुन्छ, “हामीले ‘मावतावादी’ हुनुपर्छ भन्ने कुरा धेरैको मुखबाट सुनिएको छ, तर यसको यस शब्दको स्पष्ट अर्थ भने अझै हामीले बुझ्नु परेको छ । समाजमा दुई वर्ग छ,  एउटा– अर्काको शोषण गरेर मापाको हुँदै हिँड्ने । अर्को– त्यस्ता व्यक्तिहरूबाट सधैं हप्काइएको, अपमान गरिएको र शासन गरिएको । ...मानवतावाद भनेको के हो ? मानवमाथि हुने शोषणको विरोध गर्नु, त्यस्ता अन्याय र शोषण गर्नेहरूलाई निर्मूल पार्न कम्मर कस्नु । ...त्यसैले हाम्रो मानवतावाद यथार्थवादी मानवतावाद हुनुपर्छ, फोस्रो, स्वाँगी र देखावटी मानवतावाद हैन । (२०२२ । ७। ५” हस्ताक्षर, २०४९ ज्ञान उदास, पृ. ३३–३४ ।)      
गोविन्द भट्टका निबन्धका बारेमा नेपाली निबन्धमा गहिरो अध्ययन गर्नुहुने प्रमोद प्रधानको भनाइ उद्धृत गर्न सान्दर्भिक ठान्दछु । नेपाली निबन्धको इतिहास, २०६६ मा प्रमोद प्रधान भन्नुहुन्छ्, “नेपाली समालोचना  क्षेत्रका प्रतिष्ठित व्यक्तित्व एवम् प्रगतिवादी चिन्तक गोविन्द भट्टले आफ्नो साहित्यिक यात्राको सुरुवाततिर निबन्धका क्षेत्रमा कलम चलाएको देखिन्छ । चिन्तनप्रधान उनका निबन्धहरूमा समाजका अन्ध परम्परा र रुढिप्रति कठोर प्रहार गर्दै मानिसभित्र विद्यमान प्रवृत्तिहरूमाथि व्यङ्ग्य गरिएको पाइन्छ । उनका चचर्चित निबन्धहरूमा ‘मेरो दारी’ (शक्ति २०१७), ‘अवसरवाद जिन्दावाद’ (रुपरेखा, २०१८), ‘गधा र मानिस’ (छात्रप्रभा, २०२१), ‘बन्दुक कलम भाइ भाइ’ (सगुन, २०२२), ‘रुन्चे हाँसोहरू’ (रुपरेखा, २०२२), ‘ढाँट्न सक्दैन सधैं’ (रुपरेखा, २०४४) ‘प्रचीन संस्कृति र आधुनिक युग’ (रुपरेखा, २०२४), ‘अवसरवाद’ (लालुपाते २०२५), आदि हुन् । यिनमा लेखकले मानिसको अवसरवादी चरित्रदेखि संस्कृतिमा पर्दै गएको नकारात्मक प्रभावहरूबारे तीक्ष्ण आलोचनात्मक टिप्पणी पाइनछ । गोविन्द भट्ट शब्दाडम्बरमाथि नभएर सरल भाषाशैलीको प्रयोग गर्दै चिन्तनपरक आफ्ना विचार र धारणाको स्पष्ट ढङ्मा सहज रूपले संपे्रषण गर्ने सिपका धनी हुन् ।” 
गोविन्द भटट्को प्रगतिवादी लेखन र समालोचनाको क्षेत्रमा संगठनात्मक योगदान पनि लामै छ । विसं २००९ असोज ५ गते वरिष्ठ प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्माको प्रयत्नमा विधिवत स्थापना भएको प्रगतिशील लेखक संघमा २०१७ साल भदौबाट सदस्यता लिनुभएका गोविन्द भट्टले त्यही वर्षको माघ महिनादेखि पुनर्गठित तेस्रो कार्यसमितिमा रही काम गर्नुभयो । यसरी नै प्रलेसको चौथो राष्ट्रिय सम्मेलन (२०५२) ले गोविन्द भट्टको अध्यक्षतामा नयाँ केन्द्रीय समितिको निर्वाचन ग¥यो । यही नयाँ नेतृत्वले प्रलेसको प्रकाशनलाई नियमित तुल्यायो, जुन नियमिततालाई अहिलेका कार्यसमितले धान्न सकेको देखिँदैन । 
हर कुरालाई वैज्ञानिक द्वद्वन्दवादी दृष्टिबाट पर्गेल्ने गोविन्द भट्ट आफू बस्तुवादी हुनुहुन्थ्यो र अरुलाई पनि बस्तुवादी भएर चल्ने सल्लाह दिनुहुन्थ्यो । वि.सं. २०२५ तिर रेडियो वेइजिङको नेपाली भाषा विभागमा भाषा प्रशिक्षक भएर चिन जानुभएका गोविन्द भट्ट त्यहीँ नै सन् १९६५ मा सम्पन्न अफ्रो–एसियाली लेखक सम्मेलनमा सहभागी बनेर नेपालको प्रतिनिधित्व गर्नुभयो ।  त्यहीँबाट १८ मार्चका दिन श्यामप्रसाद शर्मालाई लेख्नुभएको चिठ्ठीमा (मेरा डायरीका पाना, सन् १९५१, पृ. ४१) उहाँ लेख्नु हुन्छ– “हामीले बर्ता मनोगतवादी नबनी अझ बस्तुवादी भएर चल्ने गर्नुपर्छ ।”
म्याक्सिम गोर्कीले मानिसको वास्तविक विश्वविद्यालय जनताको विश्वविद्यालय हो । अर्थात जनताको बीचमा जति सिक्न सकिन्छ, त्यति कोरा औपचारिक शिक्षाले सिकाउन सक्दैन भनेजस्तै गोविन्द भट्टले यो कुरा राम्ररी बुझ्नुभएको थियो । स्रष्टा होस् वा राजनेता आफूलाई जति शक्तिशाली ठाने पनि त्यो शक्ति जनताको साथ रहुन्जेलसम्म मात्र रहन्छ, त्यसैले आत्मबलको भ्रममा आफूलाई शक्तिशाली ठान्ने दृष्टिकोण ठीक होइन भन्ने गोविन्द भट्टको स्पष्ट दृष्टिकोण रह्यो । अक्टुबर १९६१ का दिन श्यामप्रसाद शर्मालाई लखनउ विश्वविद्यालयबाट लेख्नुभएको चिठ्ठी (आएका केही चिठी २०५५, श्यामप्रसाद पृ. १०७) मा गोविन्द भट्टले प्रष्टसँग भन्नु भएकोछ– “व्यक्तित्वको वास्तविक विकास सिद्धान्तबाटभन्दा व्यवहारबाट हुँदोरहेछ भन्ने तथ्य खूब राम्ररी थाहा भयो । ...विश्वविद्यालयको किताबी र सङ्कीर्र्ण शिक्षाले मेरो जुन चेतनालाई अल्झाएर कुन्ठित बनाइ राखेको थियो, त्यो एक बर्खको व्यवहारिक र वास्तविक ज्ञानले गर्दा नै धेरै अंशमा आफ्नू वास्तविक रूपमा आउन  सक्यो । आत्मबल व्यक्तिगत बल हैन, सामाजिक बल रहेछ । जनताको अजेय शक्ति आफूभित्र अनुभव गर्ने क्रान्तिकारी साहित्यकारको आत्मबललाई भ्रममा रुमल्लिएका झूटा अहम्वादी दुर्बल आत्मा भएका अनैतिक लेखकहरूले कहिल्यै पाउन सक्दैनन् । ....प्लेटोको ‘रिपब्लिक’ को अनुवाद अब निश्चित रूपले थाल्ने विचार छ ।” 
प्लेटोको ‘रिपब्लिक’ अनुवादको काम भने सम्पन्न भयो भएन, मेरो जानकारीमा रहेन । 
माक्र्सवादी सौन्दर्यशास्त्र गोविन्द भट्टको अध्ययन र लेखनको प्रमुख क्षेत्र रह्यो । यस सम्बन्धमा उहाँको अध्यन अत्यन्तै गम्भीर थियो । यही अध्ययनभित्र समय निकालेर उहाँ हामीजस्ता सामान्य व्यक्तिका लेखनलाई समेत ध्यान दिएर हेर्नुुहन्थ्यो । त्यसकै फलस्वरू गोविन्ददाइ मलाइ जहाँ भेट्दा पनि मेरा प्रकाशित संस्कृति र आमसञ्चारसम्बन्धी रचनाहरूको सङ्ग्रह निकाल्न हुटहुटी दिलाउनुहुन्थ्यो–“तपाइँका यस विषका रचनाहरू उपयोगी छन्, सङ्ग्रह निकाल्दा राम्रो हुन्छ !” गोविन्द दाइजस्ता  शिखर पुरुषबाट ‘उपयोगी’ छ भन्ने प्रमाणपत्र पाउनु मेरालागि कम सन्तुष्टिको कुरा थिएन । गोविन्द दाइले नै लगाउनुभएको त्यो हुटहुटीबाट उत्साहित भएर मैले अङ्ग्रेजी दैनिक “द हिमालय टाइम्स”, “द राइजिङ नेपाल” आदि प्रकाशानमा छापिएकामध्ये आमसञ्चार, पत्रकारिता र संस्कृतिका सम्बन्धमा लेखिएका केही रचनाहरूको सङ्ग्रह तयार गरेँ– अङ्ग्रेजीमा “मिडिया एन्ड कल्चर” । त्यसमा मेरो अनुरोध स्वीकार गरेर गोविन्द दाइले गहन भूमिका लेखिदिनुभयो र प्रकाशित भयो । गोविन्द दाइले यसका साथै मेरा नेपालीमा प्रकाशित यिनै प्रकृतिका रचनाको पनि सङ्ग्रह निकाल्न  सुझाउ दिनुभएको थियो, जुन मैले अझै पूरा गर्न सकेको छैन । कुनै बेला गोविन्द दाइको यो आदेश अवश्य नै पूरा गर्नेछु । आजको पूँजीवादी पश्चिमा उपभोक्तावाद र सञ्चार साम्रज्यविस्तारले विश्वभर एकल संस्कृतिको विस्तार गर्ने रणनीति बनाएकोमा गोविन्द दाइ चिन्तित हुनुहुन्थ्यो । मेरा यो विषयको लेखनमा पनि यिनै मूलभूत विषय हुन्थे । त्यसैले पनि गोविन्द दाइले यिनलाई सङ्ग्रृहित गर्न अभिपे्ररित गर्नुभएको हुनसक्छ, मेरो अनुमान थियो । 
सांस्कृतिक विविधताको सम्मिश्रित स्वरूप नेपाली संस्कृति संसारका कुनै पनि देशको सांस्कृतिक विशिष्टताभन्दा कम छैन । यसको संरक्षण, संबद्र्धन र समायानुकूल परिमार्जन तर्फ भने उपयुक्त ध्यान दिनु जरुरी छ । तर यसको समुचित विकास र सम्वद्र्धनमा मूलतः आर्थिक र राजनीतिक परिस्थितिले असर पार्दछ । पश्चिमा एकल संस्कृतिको विस्तार त्यही राजनीतिक र आर्थिक बलको भरमा भइरहेछ र त्यसबाट मुक्ति पाउन हामीले पनि राजनीतिक मुक्तिका साथै समतामूलक आर्थिक विकासद्वारा राष्ट्रिय आर्थिक क्षमताको विकास गर्नु अपरिहार्य छ । यो कुरा गोविन्द दाइले धेरै अगाडिदेखि भन्दै आउनु भएको हो ।  
२२ डिसेम्बर २०६१ कादिन लखनउ विश्वविद्यालयबाट श्यामप्रसादलाई लेख्नुभएको चिठीमा (आएका केही चिठी २०५५, श्यामप्रसाद पृ. १०८–९) उहाँले प्रस्टसँग लेख्नुभएको छ– “सांस्कृतिक क्षेत्रमा हामी ठूलाठूलाहरूकमो दाँजोमा आउन सक्छौं । कहिले हामीले आफ्नू साहित्य, दर्शन, कला, संस्कृति र सङ्गीतलाई अघि सार्ने हो ! .....(पछि मलाई फेरि लाग्छ, जव यथार्थवादी भएर सोच्छु) सबको जरो हो सामाजिक र आर्थिक अवस्था । त्योबिना साहित्य, संस्कृति र कला कहिले पनि मौलिक तबरबाट विकसित हुन पाउन्नन् । ...माक्र्सवादी चेतनाले त्यो सूक्ष्म दृष्टि दिएको छ– सबैको कारण एउटै हो, त्यो एउटालाई नहटाई अरु सबै कहिले पनि सप्रिन सक्दैनन् । अनेकौं समाजिक, सांस्कृतिक वैयक्तिक विषमताहरू केवल एउटै विषमताबाट उत्पन्न हुन्छ । त्यसैले सांस्कृतिक, समाजिक,  शैक्षिक आदि विषमताहरूलाई बेग्लाबेग्लै लिएर टाउको फुटाले पनि हामी केही गर्न सक्नेछैनौं, जबसम्म मूलभूत कारण अँठ्याइँदैन । ....राजनीतिक मुक्तिबिना कुनै मुक्ति पनि सम्भव छैन, किन भने सबै कुरा रोकेर राख्ने त त्यै यौटै हो । ....कसैले सधंैभरि कसैलाई धोखा दिइरहन सक्दैन ।...बस्तुगत र सामाजिक आधारमा हामीले आफ्ना सबै विषमताहरूको कारण खोज्नुपर्छ ।”  
          आहा कति प्रस्ट विचार ! 
२०६९ असोज २५
रमेश विकल साहित्य प्रतिष्ठान, आरुबारी