Thursday, February 7, 2013

समान पीडाका भागीदार हामी !



(विषयकेन्द्रित साहित्यक पत्रिका जयन्तीको माघ पुस–माघ २०६९, वर्ष ५ पूर्णङ्क २२मा प्रकाशित नियात्रा)
–विजय चालिसे
पूूर्वसल्लाह अनुसार नै आज २०६८ सालको असोज २५ गते सन् २०११ को अक्टोबर १२ तारिखका दिन कामाकुरा भ्रमणको योजना थियो हाम्रो । म र मेरी श्रीमती लक्ष्मी जापान भ्रमणको लगभग अन्तिम चरणमा आइपुगेका थियौं । आजजापान बसाइको उन्नाइसौं दिन,हल्का कौला गरेर टोकियोदेखि दक्षिणतिर पर्ने कानागावा प्रिफेक्चरघुम्ने योजना थियो हाम्रो । तटवर्ती नगर कामाकुराजापानकै सबैभन्दा दोस्रो अग्लो दाइबुत्सु बुद्धमूर्ति र हासेडेरा मन्दिर क्षेत्रका साथैसमुद्री तटकालागि प्रसिद्ध थियो र यिनका सौन्दर्य हेरेर पर्यटकहरू अघाउँदैनथ्यो ।
लोकल रेलबाट सिबुयामा पुग्यौं हामी । त्यहाँबाट हामीलाई ठीक ५५ मिनेटमैं कामाकुरा स्टेसन पु¥याइदियो,नारिता एक्सप्रेसले । टोकियोबाट हिँडेदेखि सिनागावा, योकोहामा र ओफुनामा मात्रै एक–दुई, एक–दुई मिनेट रोकिएर सरासर आएको नारिता एक्सप्रेसलाई हामीले कामाकुरा स्टेसनबाटै बिदा ग¥यौं ! जता हेर्दा पनि लगभग समानखाले भौतिक संरचनाका कारण सजिलै ठम्याउन कठिन भए पनि टोकियो महानगरबाहिरका केही खुला वातावरण, अलिफरक लाग्ने अर्धनागरी दृश्यसंरचनार कतैकतै बाटामा देखिने कृषिभूमिहरूको दुर्लभदर्शनगर्न पाउनुले हामीलाई टोकियो बाहिरको यात्राले बढी प्रफुल्लता दिनु स्वाभाविक थियो !
मध्याह्नको बाह्र बजिसकेकोलेविहानको कौलाले धर्म छाड्न थालिसकेको थियो । स्टेसनबाहिरको सर्वसुलभ पसल (डिपार्टमेन्ट सप) मा खानेकुराको जोहो ग¥यौं र बाटोमा कतै बसेर खाने योजना गर्दै अगि बढ्यौ । रेल आएको दिशाबाट पूर्वको बाटो समातेर जानु पर्नेरहेछ, हामी लाग्यौं दक्षिणतिर ! केहीबेर हिँडेपछि शङ्कालागेर सोध्दा पो थाहाभयो, अर्कै रहेछ कामाकुरा र हासेडोरा जाने बाटो । पहिलेकै बाटो फर्केर स्टेसन बाहिर होटेल न्यु कामाकुरा छेवैको विश्रामस्थलमा बसेर ग¥यौ हामीले पेटपूजा !
विश्रामस्थल सानो थियो, तर व्यवस्थित र सफा । बीचभागमा काठका ठेउकागाडेर बनाइएको मेच र बीचमा सिमेन्टीको एउटा टेबिल । आहा ! कति सरल र कम खर्चको व्यवस्था सडक छेउको खाली ठाउँ सदुपयोग गर्दै आफ्ना नागरिकलाई सुविधा पु¥याउने !विभिन्न प्रकारका रंगीचंगी फूल फलाएका त्यो सानो बगौंँचाजस्तै विश्रामस्थलले सुन्दर वातावरको निर्माण गर्न पनि राम्रै सघाएको थियो ! आहा....कति व्यवस्थित र सुन्दर संयोजन ! सानो ठाउँको अधिकतम उपयोग गर्न सक्ने यी जापानीहरूको प्रशंसा जति गरेपनि कमै हुन्थ्यो । आफ्ना नागरिक र पर्यटकहरूलाई चाहिने सानो भन्दा सानो सुविधामा समेत कति ध्यान पु¥याउँछन् यी जनउत्तरदायी सरकार र नगर व्यवस्थापकहरू ।
म नेपालीले पनि यस्तै क्षमताको विकास गर्न सकेको भए ?हामीकहाँ भएको भए अरुले रोपेका बोटबिरुवा समेत उखेलेर फालिइसकेका हुन्थे । फोहरको डुङ्गुरले छोपिसकेको हुन्थ्यो, सौन्दर्यको कुरा त परै रह्यो ।कुनै कुरा सिक्न र बनाउन जानेनौं हामीले फगत बिगार्नु, भत्काउनु बाहेक !
सडकछेउको त्यही विश्रामस्थलमा बसेर खानेकुरा खाँदै गर्दा एकजना जापानी वृद्ध पनि आए त्यही विश्रामस्थलमा थकाइमार्न । उनी सानी छोरी आयुषातिर हेरिरहेका थिए । नेपाली संस्कार अनुसार हामीले उनलाई पनि खाना खान अनुरोध ग¥यौं । शालीनतापूर्वक अस्वीकार गरे उनले र आयुषासँग रमाउँदै उसैसँग कुराकानीगर्न थाले । स्वभाविकै थियो, जुनकुनै देशका मानिसभित्रको स्नेह र समवेदनाले पनि सायद् साना शिशुहरूसँग बढी निकटता रोज्दछ । आयुषा आफूले जानेका सीमितजापानी शब्दहरूको प्रयोगगरेर टुटेफुटेका मीठो बोलीमा मख्ख पारिदिन्थी ती जापानीहरूलाई ! ती वृद्धसँग पनि ऊ त्यसैगरी हाँसीहाँसी कुरा गरिरहेकी थिई । उनी पनि आयुषाको त्यो निर्दोष तोतेबोली र मायालाग्दो कुरामा मजैले भुलेका देखिन्थे । सुरुमा हामीले ती वृद्धतर्फखासै ध्यान दिएका थिएनौं ।आयुषासँग खेलिरहँदा उनका आँखा रसाएको देखेपछि भने हामी पनि उनीतिर आकर्र्षित हुँदै गयौं ।
के भयो यी वृद्धलाई ? किन रसाएका छन् यिनका आँखा ?कारण जान्ने तीब्र जिज्ञासा पलायो हामीमा । तर भाषाको तगारो छँदैथियो । त्यसैले मैले आलोकको ध्यान आकृष्ट गराएँ–“किन होला, आँखाभरि आँसु पो पारे नि त यी वृद्धले ?”
यिनकाबारेमा जानकारी पाउने मेरो परोक्ष चाहना बुझेर आलोक उनीसँग कुराकानी गर्न थालेको थियो । वृद्ध र आलोकको कुराकानीमा सीता पनि कहिले काहीँ छोटा सम्वादले साथ दिइरहेकी हुन्थिन् । आलोकउनीहरूबीचको कुराकानीबाट पाएको जानकारी बीचबीचमा हामीलाई सुनाउँदै जान्थ्यो ।
ती वृद्धले आफ्नी जीवनसङ्गिनी गुमाएकावर्षदिन पनि भएको रहेनछ । यो उमेरमा आएर सहधर्मीणी गुमाउनुपर्दाको पीडा असह्य थियो । त्यसमाथिपत्नी वियोगपश्चात सबैभएर पनि कोही नहुनुको छट्पटि उनकालागि अरु पीडादायक बन्नु अस्वाभाविक थिएन । आयुषाकै उमेरकी नातिनी रहिछ उनकी । छोराबुहारी टोकियोतिरै बस्छन् । नातिनी बाबुआमासँग टोकियोमैं बस्ने भएकाले बेलाबखत भेट्न आउँदा मात्र नातिनीलाई देख्न पाउँछन् उनी ! त्यसै भएर आयुषालाई देख्दा नातिनीको सम्झाना हुनु स्वभविक थियो र त्यही सम्झनाले उनका आँखा भरिए!
आलोकले ती जापानी वृद्धको कुरा सुनाइरहँदा आफ्नै कथावर्णन सुनिरहेजस्तै लागिरह्यो मलाई पनि! म र मेरी श्रीमती पनि त कहाँ सहजै देख्न पाउँछौ र नाति नातिनीलाई । स्काइवमा भेटेरसाँच्चि नै भेटेको भ्रमितयथार्थअर्थात भच्र्युयल रियालिटीलाई नै यथार्थ ठानेर भनभरि भ्रम पाल्नुबाहेक अर्को विकल्प मजस्ता विदेशपलायित आधुनिक पुस्ताका अभिवाकसँग पनि कहाँ छ र ?उनीहरूलाई देख्न, भेट्न कित यसरीनै नै विदेश पुग्नसक्नुप¥यो, कि उनीहरू पर्यटकजस्तै मेरो देश घुम्न आएको मौका छोप्नु प¥यो ! यस अवस्थामा हिजोको मेरा अग्रपुस्ताले पाएको बुढ्यौलीको सन्तानसुुख, सेवा र समर्पणको त कल्पनै भएन ! कति अभिशप्त छ मेरो पुस्ता र मेरो गरिव देश !ती वृद्धको घाउ पनि त मेरैजस्तो हो । देश फरक छ, भूगोल र सामाजिक–संस्कृतिक परिवेश फरक छ । तर त्यो भिन्नताकाबीच पनि कति समान छन् हाम्रा समवेदना, पीडा र मनभित्रका घाउहरू ! त्यही समान वेदनाले त हो, मलाइ पनि भित्रभित्र पोलिरहको थियो उनका ती रसाएका आँसुले ।यो मेरो पनि वर्तमानको दूर्दान्त पीडा थियो । साँच्चि नै कति निष्ठुर युग यो, म लाहुरे जन्माउने नियति बोकेको निरीह नेपालीको ! उनका कुराले मेरो आफ्नो यथार्थबोध गराएर हो कि किन हो, आँखा मेरा पनि नजानेरै रसाएछन् ! नमीठोसँग कता कता छोएछ तिनको सङ्क्षिप्त जीवनकथाले !
मेरा पनि त छोराछोरी कोही छैनन् साथमा । कोही स्वदेशले दिएको सुविधा र अवसरले नपुगेर क्यनाडा पलायित भएकाछन्, आफ्ना छोराछोरीको भविष्य बनाउने बहानामा । कोही जापानमा पसिना बगाइरहेका छन् करियर बनाउने र त्यही छोराछोरीको भविष्य बनाउने निहुँमा । यसरी नै मजस्ता धेरै वाध्य छौं आज तिनै जापानी वृद्धजस्तै सन्तानसँगको निकटताको खोजीमा काकाकुल तीर्खा पालेर बस्न । अभिशप्त बनिरहेछौं सबै भएर पनि कोही नभएको पीडा पचाउन ! मेरो सरकार स्वयम् वैदेशिक रोजगारीबाट रेमिट्यान्स भित्र्याएर खर्च चलाउने योजनालाई सफलता ठान्ने गर्छ । विदेशको सपना देखाउने आधुनिक प्लसटुका उत्पादनकर्ता कथित कलेजलाई त्यही लाहुरेबन्ने मोहनी मन्त्र फैलाएर नयाँ पुस्तालाई भ्रमित तुल्याउनसरकार स्वयम् प्रोत्साहित गर्छ अनि आजका पुस्ता कथित विश्वबन्धुत्वको नारा दिएर आफूलाई योग्य बनाउने मातृभूमिलाई लातमार्दै विदेशी भूमिमा पसिना बगाउनुलाई नै सफलता ठान्छ, विकास ठान्छ !
ती जापानी वृद्ध र मेराबीचमा भने अरु धेरै आधारभूत भिन्नता पनि थिए सायद् । उनलाई वृद्धावस्था सजिलै बितोस् भनेर सरकारले आवश्यक सबै व्यवस्था गरिदिएकोे थियो । उनलाई राम्ररी नै बाँच्न पुग्नेगरी यथेष्ट वृद्धभत्ता दिन्थ्यो सरकारले । स्वास्थ उपचारका लागि सबै कुरा निःशुल्क उपलब्ध थिए । कतै जान प¥यो, रेल, बसले निशुःल्क स्वागत गथ्र्यो ! एक कल फोनबाटै उपलब्ध हुन्थे एम्बुलेन्सजस्ता आवश्यक सहायता । उनलाईपरिवारले ठानेपनि राज्यले बोझ ठान्दैनथ्यो । राज्य र समाजले बरु पर्याप्त सम्मान दिन्थ्यो । यता बाँच्नका लागि न आवश्यक आर्थिक सहयोग प्राप्त थियो मेरो देशका ज्येष्ठनागरिकलाई राज्यबाट, न कुनै प्रकारको स्वास्थ्योपचारसुविधा नै ! हद्द ग¥यो भने राज्यले हिजो मनमोहन अधिकारीसरकारले सुरु गरेको वृद्धभत्तासम्म उपलब्ध गराउला । त्यो पनि करबलले !विरामी पर्दा समेत छिमेकीले थाहा पाएनन् भने कोठामैं मृत्युबोकेर बस्नुको विडम्बनामा थिएन। उनलाई हाम्रोशहरी बुढाबुढीकोजस्तो थिएन । यस अर्थमा उनी एक्ला थिए, असहाय थिएनन् । उनको सहायताका लागि सिङ्गो सरकार ढाल भएर खडा थियो । तर मेरो..., म नेपालीको ...?मेरो त न छोराछोरी पहँुचमा छन् न सरकार नै मेरो कुनै म्मिेवारी लिन तयार छ ! ती जापानी वृद्धकाकुरालेयिनै तर्कनाको सुनामीमा हेलिदिएको थियो यतिबेला मलाई । जे होस्, त्यो सुनामीबाट येनकेन आफूलाई मुक्त गराएर ती वृद्ध गएलगत्तै यायावरी मानसिकतामा फर्केको थिएँ फेरि ।वृद्धका कुराले अमिलिइएको मन लिएरै लागेँ म कामाकुरातिर ।
“ओहो....साहित्यको पनि सङ्ग्रहालय रहेछ !” आलोक होकि सीताले छेवैको सूचनापाटीतिर ध्यानआकृष्ट गराए । उनीहरूको कुराले कामाकुरा नपुग्दै बाटोको केही भित्रपटिको एउटा परिचयपाटीले सङ्केत गरेको “म्युजियम अफ लिट्रेचर” तिर हाम्रो ध्यान तानियोे ।
“हेर्ने हो त ?” आलोकले सके मेरो चाहना बुझरै भन्यो । उसको प्रस्तावमा सहमति जनाएपछि आलोक साहित्य सङ्ग्रहालयतिर अगिलाग्यो । पछ्याउने त हामी छँदैथियौं । बडो सुन्दर र सफा बाटोभित्र केहीपर एउटा विशाल पार्क देखियो । पार्कको बीचमा थियो जापानी साहित्यको आकर्षक सङ्ग्रहालय भवन ।साहित्यमैं समर्पित सङ्ग्रहालय रहेछ कामाकुराको अकुतागावास्थित यो म्युजियम अफ लिट्रेचर । सोसेकी नात्सुमे, कावावाता यासुनारीजस्ता प्रसिद्ध साहित्यकार, यासुजिरो ओजुजस्ता चलचित्र निर्देशक आदिका हस्तलिखित पाण्डुलिपहरू सङ्ग्रह गरिएका रहेछन् सङ्ग्रहालयमा । सङ्ग्रहालय धेरै ठूलो थिएन, तर यसले साहित्यको क्षेत्रमा देखाएको सम्मान भने निकै गह्रुङ्गो लाग्थ्यो । सन् १९८५मा स्थापना भएको योे सङ्ग्रहालयमा सङ्ग्रहित थिए कामाकुरामा बसेर लेख्ने जापानी लेखक–साहित्यकारहरूका पाण्डुलिपि अनि थिए तिनका प्रकाशित कृतिका प्रथम संस्करण र साहित्यकारहरूका चिठीपत्र, उनीहरूले प्रयोग गरेका बस्तु र अन्य सामग्री । संग्रहालयको विशाल नगरान्त भवन अर्थात् भिल्ला निर्मित ठूलो बगैँचा, त्यसभित्र फुलिरहेका रङ्गीबिरङ्गी सुन्दर गुलाफै गुलाफको रमाइलो संसार ! सिङ्गो वातावरण नै उत्प्रेरक लाग्थ्यो । आहा कति उपयुक्त ठाउँ सिर्जनाका लागि! यसको अगाडि राखिएको सूचनापाटी (साइनबोर्ड) बताइरहेको थियो– सन् १९३६ मा बनेको यो भवन सुरुमा माएदा वंशका १६ औं प्रमुख तोसिनारी माएदाको निवास रहेछ । सन् १९८५ मा मात्रै सर्वसाधारणका लागि खुला गरिएको रहेछ यो । अरु पनि धेरै कुरा हेर्नु थियो, त्यसैले धेरै समय बिताउन सकेनौं सङ्ग्रहालयमा !
त्यहाँबाट निस्किएर केहीसमयको पैदल हिँडाइपछि स्वागतमा खडा थियो इनोडेन हासे स्टेसन छेउको पश्चिमी कामाकुरास्थित कोतो–कु–इन । टोकियोको दक्षिणमा पर्ने कानागावा प्रिफेक्चरकै अर्को एउटा तटवर्ती सानो नगर कामाकुराका असङ्ख्य मन्दिरमध्ये सबैदृष्टिले भव्य थियो यो मन्दिर। साँच्च नै अपूर्व लाग्थ्यो जापान भरकै दोस्रो ठूलो दाइबुत्सुको सुन्दर मूर्ति! यो जापानको सबैभन्दा ठूलो बुद्धमूर्ति भने होइन, नाराको सबैभन्दा ठूलो मानिन्छ । बीस वर्षअगिको यात्रामा पुग्ने अवसर पाएको थिएँ मैले सबैभन्द ठूलो बुद्धमूर्ति– टोडाइ–जी ।
लाग्थ्यो बाहिरैदेखि शान्तिपूर्ण स्वागत खन्याएर भनिरहेकाछन् ससाना बुद्धमूर्तिहरू– कोतो–कु–इनमा स्वागत छ, बुद्धका देशबासी नेपालीहरूलाई ! जहाँ गए पनि बुद्ध आफ्नै लाग्छन् हामीलाई र अनि संसारका कुनै पनि कुनामा बुद्धदेख्दा गौरवले शिर ठडिन्छ म नेपालीको ।
सुरुमैं कोतो–कु–इन मोनास्ट्रीको सूचनापाटीले बुद्धका प्रमुख शिक्षाका साथैपालना गर्नु पर्ने नियमहरू बताइरहेका थिए । विदेशी पर्यटकहरूको अत्यधिक धुइरो लाग्ने यस ठाउँमा भने खान्जीसँगै अङ्ग्रेजी भाषामा समेत सूचना राखिएका थिए । परिसरभित्र पुग्नुअगि नै स्वागतमा खडा थिए सुन्दर बगैँचा, उपहारपसल र अन्यआकर्षण। भित्र ग्रेट बुद्ध रहेका विशाल परिसरभित्र लाग्यौं, आहा कति सार्थक बर्णन गरेका रहेछन् पर्सिभल लेभीले–‘महान् र भद्र अर्धमुदित नयन सहित निर्वाणको जीवन्त प्रतिनिधित्व गरिरहेछ’विशाल बुद्धमूर्ति (द सोल अफ दि फार इस्ट) !
हो त... आहा कति निर्दोष...कसरी संसारभर वात्सल्यपूर्ण अर्धमुदित नयनको शीतलता छर्दै शान्ति, हिंसा र सद्भावका सार्वजनीन मन्त्रघोष गरिरहेका छन् विशाल बुद्ध !
हो, म्याक्लेले देखेजस्तै थिए अहिले हेर्दा पनि यी विशाल बुद्ध ! ती बेलाइती स्थापत्यविद् ए.सी.म्याक्लेले कतै लेखेका छन्– ‘खुला आकाशमुनि देवदारुका रुखहरूको शीतल छहारीमा गर्वोन्नत शिर उचालेर महासागरको शान्त जलराशि नियाल्दै निर्वाणको स्वप्नलोकमा विचरण गरिरहेका’छन् ग्रेट बुद्ध । आहा कति सार्थकर सुन्दर सत्य अभिव्यक्ति ! हुन पनि हरियो पहाडको पृष्ठभूमिमा पद्मासन कसेका ध्यानमग्न अमिताभ बुद्ध मेरै लुम्विनीदेखि आएर विश्वलाई शान्तिको मन्त्रदान गरिरहेजस्तै अनुभूति भयो मलाई यतिखेर । ती सबै अभिव्यक्ति सम्झने क्रममा बेलाइती स्थापत्यविद् डा.डी.ड्रेसरको भनाइपनि अझै मार्मिक थियो सायद् । दुरुस्तै ड्रेसरलेभनेजस्तै थियो यो दाइबुत्सु बुद्धमूर्ति– बीच मस्तकमा जडिएको तेस्रो आँखासदृश मणि ! त्यो मणि घामको उज्लोलेपोतिँदा निस्कने झल्झाकार प्रकाश र त्यही प्रकाशका माध्यमबाट ‘विश्वब्रह्माण्डको ज्योति’फैलाइरहेकासम्मानित र ओजपूर्ण मुद्रामा शान्तिको अगाध सन्देश प्रवाह गरिरहने शान्तिदूत बुद्ध !
ती बुद्धमूर्तिकोमुनि बाउन्ने उभिएका थियौं हामी, अज्ञानी...लाटा...!तैपनि उभिएर पालैपालो अनेकौं फोटोहरू खिच्यौं, खिचायौं ।
“प्लिज...।” एउटी जापानी स्कुले केटी हाम्रो अगिल्तिर क्यामरा तेस्र्याउँँदैआई, सबैले बुभ्mने अन्तराष्ट्रिय भाषामा सङ्केत गर्दै– कृपया हाम्रो समूहफोटो लिइदिनुहोस् न !
रमाइलो लाग्यो उनीहरूको त्यो अनुरोध शैली । उनीहरू नेपाली, अङ्ग्रेजी भाषा नजान्ने, हामी जापानी खान्जी नबुझ्ने । त्यो अवस्थामाहाम्रा सामु त्यही अन्तराष्ट्रिय भाषा नै त थियो एक मात्र विश्वभाषाको विकल्प ।
लक्ष्मीले पनि ती स्कुले केटीहरूसँग उभिएर फोटो खिचाउने रहर गरी । तीमध्ये तीनजनाको बीचमा उभिई ऊ पनि सँगै फोटो खिचाउन । ती केटीहरू खुसीले फक्रिए ताजा गुलाफका फूलजस्तै । हो त कति खुसी देखिएका ती साना नानीहरू एउटा विदेशीसँग फोटो खिचाउन पाउँदा ! शिक्षकहरूका अगुवाइमा आएका स्कुले ठिटाठिटीहरूको यस्ता धेरै समूह थियो त्यहाँ ।
फोटोसेसनपछि बुद्धमूर्ति प्रदक्षिणा गर्दा देख्यौं, केही मानिस मूर्तिको एकाछेउ देखिने सानो गुफाजस्तो दूलोभित्र लामबद्ध पसिरहेका छन। गुफाको अर्को कुनोबाट फर्कनेहरू पनि त्यही क्रममा निस्किइरहेका छन् । केकोलाम त्यो ?हामी केही नबुझेरै पनि गएर त्यही लामको पुछारतिर मिसियौं। पछि पो बुझियो, त्यो सानो गुफाजस्तो बाटो त त्यही विशाल बुद्धमूर्तिको गर्भगृह अर्थात गुम्बजभित्रको खोक्रो ठाउँमा पुग्ने सानो ढोका पो रहेछ । बीचमा रेलिङजस्तो फलामे डन्डी र साङ्लोको एकातिरबाट भित्रपस्ने लाम थियो, अर्कोतिरबाट बाहिर निस्कनेको अर्को लहर । बाटोमा कतै अँध्यारो, कतै मधुरो बिजुली चिमलाई परास्त गर्नैलागेजस्तो मद्धिम प्रकाश !
गर्भगृहभित्र राखिएको सूचना विवरणभनिरहेको थियो अत्यन्त विशाल भएकाले विभिन्न तीसवटा अलगअलग खण्डमा ढालेर जोड्दैजोड्दै बनाइएको रहेछयो विशाल मूर्ति !
गुम्बा भनिए पनि मूर्तिलाई कुनै गुम्बाभित्र राखिएका थिएन, मन्दिरमाथि कुनै छत थिएन । खुला आकाशमुनि भव्य शन्तिस्वरूपको छटा फैलाइरहेका थिए दाइबुत्सु बुद्ध ।
एउटी महिलाको चाहना र दृढ तपस्याको प्रतिफल रहेछ योविशाल बुद्धमूर्ति ! साँच्चैकी महान् कलाप्रेमी हुन् ती इनादानो–सुबोने । सोगुन योरितोमो (११४७–११९९) को दर्बारमासामान्य सुसारे रहेकी ती महिलाई कुन प्रेरणाले यस्तो  विशाल मूर्तिको निर्माण गराउन उत्प्रेरित ग¥यो, तिनै बुद्धलाई थाहा होला ! जुन उत्प्रेरणाले भए पनि उनलाई बुद्धको एउटा ठूलो मूर्ति बनाउ पाएहुन्थ्यो भन्ने लागेछ । मालिक योरितोमोको मृत्युपछि दर्बार छाडेर मूर्ति बनाउन चाहिने खर्च जुटाउनतिर लागिछन् उनी । त्यो पवित्र चाहना पूरा गर्ने काममा अरुको पनि साथ मिल्दैगयो । सहयोगका ती हातहरूमा सबैभन्दा दरिलो हात जोडियो, टोटोमाइ प्रान्तका आचार्यको । ती महिला र आचार्य जो मिलेर जापानभरि घुमेमूर्तिबनाउन चाहिने रकम जम्मा गर्न ।सन् १२३८ मा बल्ल मूर्ति बनाउने आवश्यक रकम जुटेपछि निर्माणको काम थालिएछ । लगातार पाँच वर्षको परिश्रमबाट बल्ल ग्रेट बुद्धको पहिलो काष्ठमूर्तितयार भयो ! अफसोच, स्थापना गरेको दशै वर्षमा आगलागीले अङ्गार बनाइदिएछ त्यति दुःख गरेर बनाइएको काष्ठमूर्ति !
हरेशिव...त्यति दुःख गरेर बनाएको मूर्ति आगोको चपेटामा प¥यो ! केही दिन त उनीहरू पनि के गर्ने कसो गर्ने भन्ने कुनै निधो गर्न नसकेर असमन्जसमा परे तर तिनको इच्छाशक्तिका अगाडि कुनै पनि बाधाव्यवधान के पो अड्न सक्थ्यो ?आँटीलाई बाघले पनि खाँदैन भन्छन्, खाने मुखलाई जुँगाले के पो छेक्नसक्थ्यो ?उनीहरूले त त्यसपछि अब ढलोटको मूर्ति पो बनाउने सुर कसेछन् । खर्च पो कसरी जुटाउने ?थोरै खर्चले पुग्दैनथ्यो । तर पनि धैर्य छाडेनन् । एकले थुकी सुकी, सबैले थुकी नदी भनेजस्तै, मनकारीहरूको सहयोग मिल्दै गयो । अनि जुुन् १२५२ मा अमिताभ बुद्धको अन्दाजी १३ मिटर अग्लो विशाल ढलोटे मूर्तितयार भइछाड्यो । ढलोटका टुक्राटुक्रा जोडेर बनाइएको त्यो विशाल संरचना एक सय एक्काईस टन तौलको थियो, झन्डै साढे तेह्र सेन्टिमिटर अग्लो ! अनुहारको उचाइमात्रै साढे दुई सेन्टिमिटर अग्लो ! यति सुन्दर मूर्तिको निर्माता कलाकार को हुन् भन्ने भने कसैलाई थाहा रहेनछ ! आनो गोरोएमोन् नामका कारिगरले मूर्तिको प्रारूप ढालेकोसम्म जानकारी पाइए पनि न तिनको बारेमा कुनै थप परिचय थियो, न उनको कामलाई अगि बढाउने अरुको नै कुनै जानकारी थियोइतिहाससँग । जे होस्, त्यही वर्षकोअगस्ट १७ तारिखका दिन स्थापना गरिएछ यो कामाकुरा मन्दिरमा बुद्धको त्यो विशाल मूर्ति । त्यसिबेलादेखि आज लगभग साढे सातसय वर्षसम्म निरन्तर उभिँदै आएका रहेछन् शान्तिका साक्षात स्वरूप बनेर विशाल बुद्ध अभय मुद्रामा !
कति महान् ती इनादानो–सुबोने ! तिनकै सङ्कल्पका प्रतीक हुन् यी विशाल बुद्ध ! लाग्थ्यो शिवजीकैजस्तो निधारको बीचमा तेस्रो आँखा खोलेर उद्घोष गरिरहेका छन् यी अमिताभ बुद्ध– “म विश्वब्रह्माण्डको ज्योति हुँ” ।
ती भद्र महिलाको अघोर समर्पणप्रति नतमस्तक थिएँ म यतिबेला !
सुरुदेखि नै यस्तै खुलामा थियो त यो विशाल मूर्ति ? जिज्ञासा स्वभाविक थियो । तर होइन रहेछ । मन्दिर नै नफापेको रहछे यी बुद्धलाई । जति बनाएपनि कि त आगोले खाने, कि समुद्रको लहरले बगाइदिने । कहिले समुद्रको आँधीले भत्काइदिने, कहिले मुसलधारे असिनापानीले ध्वस्त बनाइदिने ! पटक पटक बनाउँदा पनि मन्दिर नटिकेपछि हार खाएर छाडेका रहेछने नयाँ मन्दिर बनाउन अनि सन् १४९५ देखि खुलै ठाउँमा राखेछन्कामाकुराबासीले यी बुद्धलाई यस ठाउँमा ! जति बनाएपनि एउटै मन्दिरबाँकी नराख्ने त्यस ठाउँको प्रकृतिले विशाल बुद्धको यस मूर्तिलाई भने कहिल्यै कुनै नोक्सान पु¥याएन रे ! साँच्चि कै आश्चर्यल लाग्दो छैन त यो सत्य ?बेलाबेलाका  महाभूकम्पहरूले समेत मूर्तिको आधारस्तम्भ बाहेक मूर्तिलाई कुनै क्षति पु¥याएन रे !
दाइबुत्सुपछिको हाम्रो गन्तव्य थियो–हासे–डेरा। धार्मिक मात्र नभएर दृश्यावलोकनका दृष्टिले समेत अत्यन्त मोहक थियो हासे–डेरा कानोनकोयो मन्दिर क्षेत्र। सुरुमा सिजो येरिमोतोको निजी निवास रहेछ यसको मूल मन्दिर सु–गान्जी । शोगुन शासनकालमा जापानको राजधानी रहेको कामाकुरा सांस्कृतिक र आर्थिक दृष्टिबाट समेत जापानभरमैं सर्वाधिक शक्तिसाली थियो रे ! १३ औं शताब्दीको त्यो कालखण्डमा जापानी बौद्ध भीक्षु निछिरेन दाइसोनिनले बुद्ध धर्म र बौद्ध दर्शनको शुद्धिकरण अभियान चलाछन् । उनले यही कामाकुराबाट त्यो अभियानको सुरुआत गरेछन् । उनी सधैं कामाकुराको व्यस्त सडकका कुनाकुना उभिएर प्रवचन दिन थालेछन् । निछिरेन बुद्ध धर्मका नामले चिनिन थालेछ उनको यो मत । निछिरेनकमल सूत्तमा आधारित महायानकै एउटा शाखा मानिँदोरहेछ । त्यतिबेलाका प्रभावशाली दरबारी सिजो योरिमोतोले उनलाई गुरु थापेपछि त यसका समर्थकको सङ्ख्या ह्वात्तै बढेछ । पछि तिनै योरिमोतोको निवास सु–गान्जी मन्दिरमा परिणत भयो ।
“आहा...कति राम्रो मूर्ति, यो बुद्ध भगवानको !” सँगैको निचिरेन दाइसोनिन कानोन–डो हल छेउकै अमिदा–डो हलभित्र स्वर्ण आसनमा विराजमान भव्य मूर्तितिर देखाउँदै भन्यो हाम्रो टोलीमा कसैले । होत कति भव्य कामाकुराका प्रमुख ६ मूर्तिमध्येको एउटा यो याकुयोके अमिदा अर्थात् अमिताभ बुद्धमूर्ति ! यो मन्दिरको निर्माण दुष्टात्माबाट रक्ष गर्ने हेतुले भएको रे । आधारस्तम्भ बाहेक नै २.८ मिटर अग्लो रहेछ मूर्ति । नयाँ वर्षका दिन सिन्तो धर्मावलम्वीहरूको भीड लाग्छ रे  यहाँ वर्षको पहिलो सूर्योदय हेर्न !
अमिदा–डोको दायाँपटि हासेडेरा मन्दिरमा राएिको विशाल धातुनिर्मित घन्टा सबैको ध्यान आफूतिर तान्न सफल देखिन्थ्यो । बौद्ध परम्परा अनुसार हरेक वर्ष डिसेम्बर ३१ तारिखको मध्यरातमा सुरु गरेर चौवीस घन्टामा १०८ पटक बजाइँदो रहेछ यो घन्टा । मानिसका १०८ प्रकारका सबै दुःख नष्ट होस् भनेर प्रार्थनास्वरूप बजाइएको रे यो जोया नो काने नाम गरेको घन्ट १०८ पल्ट !
मन्दिरको अर्कोपटि माथिल्लो कुनाको अग्लो भागबाट देखियो सागामी खाडीको समुद्री तटका अत्यन्त सुन्दर अभिराम दृश्य ! प्रकृतिले समुद्रबाट ठगेको भूपरिवेष्ठित नेपालको म नेपालीका लागि त झनै मोहनी लाउने खालको थियो त्यो दृश्य ! समुद्र दर्शनका लागि अत्यन्तै उपयुक्त ठाउँ रहेछ– जोछिजी मन्दिरबाट सुरुभएर कोटोक्विन नजिकै टुङ्गिने यो सुन्दर पदमार्ग । मन्दिरमाथि केही उकालो चढ्दासाथ देखियो हरियो जङ्गलको सफा सिँढीयुक्त पदमार्गबाट विशाल सागरको उत्ताल जलतरङ्ग र किनाराका भव्य वस्तीहरू ! साँच्चिै नै भव्य देखिन्थ्यो, दर्शनीय । विशाल सागरभदा पारि... पर क्षितिजमा देखने सानो पहाडमाथिको आकाशमा सुनौलो रङ पोत्दै गरेका स्वर्णिम सूर्य ! अनि वारि बलौटे सागर किनारमा रमाउँदै आपसमा प्रेम साटिरहेका युगलजोडी ! लाग्थ्यो, सिङ्गो प्रकृति नै अनुपम दृश्यचित्रको विशाल फकजस्तै छ ! साँच्चि नै स्वर्गीय दृश्य थियो त्यो, क्यामरामा कैद गरेर पनि मन नभरिने ! धेरै थिए यहाँबाट देखिने अरु पनि मन लोभ्याउने सुन्दर दृश्यहरू । रमाइला देखिएकाथिए पर...परका  सागामी सागर तट र जुही मारिना अनि मिउरा प्रायद्वीपहरू !
रोचक र क्रूर दुबै लागेको थियो मलाई अप्रिलमा लाग्ने भव्य कामाकुरा मेलाको समय मुख्य मन्दिरको डबलीमा नाचिने परम्परागत नृत्यको प्रारम्भिक कथा । योरिमोतोले आफूद्वारा पराजित स्थानीय शासक योशित्सुनकी पत्नी शिजुकालाई पनि बन्दी बनाएर जबर्जस्ती आफ्नै प्रशंसामा नाच्न वाध्य गराएर सुरु भएको थियो रे यो नृत्यपरम्परा ! बिचरी शिजुका, बाध्यताबश नाच्न त नाचिछन्, तर आफ्नै लोग्नेको सम्झना र विपत्तिमा दुःखमनाउ गर्दै नाचिछन् ! विजयी राजाको कति अमानवीय व्यवहार एउटी असहाय महिलाप्रति ! सामन्ती समाजको व्यवहार आखिर उस्तै त हो सबैतिर ! जे होस्, यो नृत्य देवनृत्यजस्तो लाग्दैनथ्यो । यस्तै हावाको बेगमा दौडिरहेको घोडाबाट घोडचढीहरूको तारो हान्ने प्रतियोगिता अर्थात् हाचिमान–गु मन्दिर छेउमा गृष्म र वसन्त ऋतुमा लाग्ने याबुसामे मेला पनि देव मेलाजस्तो लाग्दैनथ्यो
बगैँचापारिको डाइकोकु–डो हलमा डाइकोकुतेनको सुन्दर मूर्तिको मुखाकृति अनौठो लाग्थ्यो । सन् १४१२ मा कुँदिएको भनिने कानागावा प्रिफेक्चरभर नै सवैभन्दा पुरानो भनिएको यो मूर्तिको विशाल मुख र ओठको अनौठो मुस्कानले जोकोहीलाई टाढैबाट आकर्षित गरिरहेको थियो । जापानको सम्वृद्धि र सौभाग्यका सात प्रमुख देवतामध्येका एक रे यी । पराल बुनेर बनाएको दुईवटा चामलका बोरामाथि एक एकवटा खुट्टा टेकेर उभिएको त्यो डाइकोकुतेन मूर्तिको काँधमा एउटा थैलो देखिन्थ्यो, सम्पत्तिको थैलो ! भारत वा नेपालबाट जापान पुगेका भनिने ती देवता कतै हाम्रा कुवेरको नै रूप  त होइनन् ? हुन पनि झट्ट हेर्दा धनका राजा कुवेर जस्तैदेखिन्थ्यो यो मूर्ति !
ऐतिहासिक महत्वका विभिन्न धार्मिक बस्तुहरू सङ्ग्रहित होमोत्सु–कान सङ्ग्रहालय सरसरती हेरेर प्रमुख मन्दिरकै तलपटिको बेन्टेन–डो हलका पुग्यौं हामी । अत्यन्त आकर्षक थियो बेन्टेन–डो हलभित्रको अष्टभुज बेन्जाटेनमूर्ति । बुद्धको प्रेरणा पाएर डाइसी आफैंले बनाएका रे यो । मन्दिरको अर्कोतिर बेन्टेन–कुत्सु गुफा थियो । गुफा भित्रको चट्टानमा सोह्रवटा सान मूर्ति थिए । बेन्जाइटेनका सोह्र भाइ रे ती ! 
“ए....सरस्वतीको मन्दिर पो रहेछ यो त !” आलोकको रोमाञ्चित आवाजले हामी सबैको ध्यान खिच्यो । गुफाभित्रको बेन्जाइटेनपछि लगत्तै आइपुगेको कामाकुराको दोस्रो ठूलो मन्दिरमा जेनिआराई बेन्टेनको मूर्ति देखेपछिको रोमाञ्चपूर्ण आवाज थियो त्यो आलोकको ! जापानी भाषमा सरस्वतीलाई बेन्जाइटान भन्थे । हुन पनि सबैका लागि सुखद् आश्चर्य थियो हिन्दुआराध्य देवी सरस्वतीलाई जापानको कामाकुरामा देख्न पाउनु । आहा... आफ्नै बनाएर पो राखेका रहेछन् त यिनले मेरी विद्याकी अधिष्ठात्री देवी सरस्वतीलाई । त्यो थाहापाउँदा हाम्रो टोलीका सबैको नाक फुलेर घिरौंलाजत्रै भएका थिए ।
मूलतः बेन्जाइटान अर्थात हिन्दु देवी सरस्वतीको आराधना गरिने सरस्वती मन्दिर रहेछ सानो पहाडको सुन्दर प्राकृतिक दृश्यको काखमा रहेको यो मन्दिर । जापानमा सरस्वती पूजाको सुरुआत छैटौंदेखि आठौं शताब्दीको बीचतिर भएको रे । यही मन्दिरको एउटा गुफाको पानीमा मानिसहरू नोट धुने गर्दारहेछन्, दुईगुना हुने विश्वासले । त्यसका लागि वर्षेनी नोट धुने मेला लाग्दो रहेछ ! पुजारीले मन्त्रेका जन्तर अर्थात् ओमोरी (मन्त्रपूत रक्षाकवच) किनेर लगाउने सिन्तो धर्मावलम्वीहरूको पनि निकै सङ्ख्या देखिएको थियो मन्दिरमा । म मनमनै सोच्दैथिएँ– विज्ञान र प्रगतिको क्षेत्रमा पश्चिमलाई चुनौती दिनसक्ने भइसकेर पनि परम्परागत विश्वासलाई भने अझै छाडेको रहेनछ जापानले !
कामाकुराको अर्को विशेष आकर्षण थियो हासे–डेरा मन्दिर र यहाँबाट देखिने तल समुद्रको सुन्दर दृश्य ! मन्दिरका बारेमा एउटा किम्बदन्ती प्रचलित थियो । इसापूर्व ७२१ मा बौद्ध सन्त तोकेडो सोहिनले नारा क्षेत्रको सानो गाउँ हासेमा कपुरको एउटा विशाल रुख देखेछन् । त्यस रुखबाट उनले बुद्ध अर्थात् कानोनका दुईवटा मूर्ति बनाउन लगाएछन् । कानोनका ती मूर्तिमध्येतल्लो  गिँडबाट बनेको मूर्तिलाई नारा मैं नजिकैको हासेडेरा मन्दिरमा राखिएछ । अर्को गिँडबाट बनेको त्यस्तै मूर्ति चाहिँ ‘मानव रक्षाका लागि पुनः प्रकट हुनू’ भनेर समुद्रमैं विर्सजन गरिदिएछन् । त्यसरी ओसाका नजिकैको समुद्रमा विर्सजन गरिएको त्यही काष्ठमूर्ति १५ वर्षपछि एक रात कामाकुरा नजिकैको समुद्री किनारामा देखिएछ । त्यो मूर्ति देखेपछि स्थानीय मानिसहरूले यही कामाकुरामा ल्याएर त्यसलाई मन्दिर बनाई राखेका रे !
त्यहाँबाट हामी केन्चोजीतिर लाग्यौं । कामाकुराका पाँच जैन मन्दिरहरूमध्ये जापानमै सबैभन्दा पुरानो थियो यो केन्चोजीको सुन्दर मन्दिर ।  मन्दिर भन्दा अझ सुन्दर लाग्थ्यो यसको बगैंचा ! छेवैमा थियो राष्ट्रिय सम्पदा मानिएको मन्दिरको विशाल घन्टा । कामाकुराको त्यस उत्तरी भेगमा हेर्ने कुरा धेरै थिए । भगवान बुद्धको पवित्र दन्त राखिएको येन्जाकुजी थियो,  टोकेइजी र मेइगेत्सुइन थिए । तर, थिए मै सीमित राख्न वाध्य थियौं हामी ती कतिपय हेर्नलायक कुराहरू । हामीसँग समय कहाँ थियो र ती सबै कुरा हेर्न !
त्यसैले पूर्वतर्फ लाग्यौं त्यहाँबाट । थकाइले बिस्तारै गाल्न खोज्दै थियो । भोक, भोकभन्दा पनि चियाको तलतलले थकान महसुस गराएको थियो सायद । आलोकले बुझेछ, चिया नास्ताको जोहो ग¥यो । जोमियोजीको सुन्दर बगैँचामा सुन्दर प्राकृतिक काखमा बसेर नमूना चिया समारोहको त्यो आनन्द, मजै अर्कै !
स्वर्गीय आनन्दको अनुभूति गराउने त्यो चियापानपछि हामीलाई अर्को आश्चर्यले पर्खिरहेको थियो । हाम्रो अगडि एउटा विशाल मूर्ति विराजमान थियो । मूर्तिको काँधमाथि एउटा होइन एघार एघारवटा शिर थिए, हाम्रा लङ्काधीश दानवराज रावणको भन्दा पनि धरै ! सन् ७३४ मा बनाइएको हासेकानोन अर्थात् बोधिसत्वको यो मूर्ति कानोन–डो हलमा भव्यताका साथ विराजमान थियो । ९.१८ मिटर अग्लो मूर्तिमा मुख्य सहित तीनवटा अगाडि, तीनवटा वायाँतिर, तीनवटा दायाँ अनि एउटा माथि र अर्कोे पछाडि गरी ११ वटा शिर थिए । अलग अभिव्यक्ति देखिन्थे ती एघारैवटा अनुहारमा । खास नाम जु–इचि कान्जेओन–बोसात्सु थियो यो हासेकानोन मूर्तिको । दायाँ हातमा लठ्ठी र वायाँ हातमा कमलको फूलजस्तै आकारको एउटा पात्र समातिरहेको देखिन्थ्यो । झट्ट हेर्दा धेरै कुरामा रामायणको दशानन रावणका पनि दाजुजस्तै लाग्ने यो मूर्तिको कलात्मक भव्यता र भाव भने नितान्त भिन्न थियो । रावणकोजस्तो क्रूरता थिएन, न त थियो अनुहारमा उसको जस्तो दम्भ नै । अत्यन्त शान्त र दयालु लाग्थे यिनका एघारै मुहारहरू ।
हेर्ने कु्ुरा धेरै थिए, कतै तपस्यारत बुद्धमूर्तिहरू र कतै तिनका रक्षार्थ खटिएझैं लाग्ने हतियारधारी सैनिकका पूर्णकद मूर्तिहरू । प्राय बौद्ध मन्दिर र धार्मिक स्मारकहरूमा कमै देखेको थिएँ मैले यस्ता हतियारधारी सैनिक मूर्तिहरू । सके यो हासेडेरा स्मारक क्षेत्र सोगुन शासकद्वारा निर्मित हुनु पनि एउटा कारण थियो यस्ता मूर्तिका साथै धार्मिक परम्परागत नृत्य र मेलाका रूपमा सैनिकसौर्य प्रदर्शनका युद्धकलाहरू ! कतै विशाल शिलामा कलात्मक बुद्धका पवित्र पदचिह्न र भीक्षु–भिक्षुणीका स–साना शिलामूर्ति छेउ तिनैलाई जल चढाउन गरिएको व्यवस्थामा बहिरहेका सफा पानीका कुलाहरू । छेवैमा देखिन्थे पानी चढाउन सजिलो पार्ने डाडुजस्ता ठूला ठूला चम्चाहरू । तिनैमध्ये एउटा मूर्तिले ध्यान तानेको थियो मेरो । तपस्यारत त्यो मूर्तिका सहस्र भुजा थिए, हरेकमा एक–एकवटा आयुधजस्तै लाग्ने बस्तुहरू । सबैलाई गहिरिएर हेर्न भने समय थिएन हामीसँग । टोकियो पनि फर्कनु थियो । हामी यतिखेर टोकियोबाट लगभग पचास किलोमिटर परको दक्षिण–दक्षिण–पश्चिमी जापानमा थियौं । त्यसैले मन नमान्दा नमान्दै पनि हामी फर्कने तयारीमा लाग्यौं ।
अब हेर्न बाँकी उएटै ठाउँ थियो– सागामी बीच । त्यसैले हामी कामाकुराको दक्षिणपटिको देखिने एउटै मात्र खुला भाग सागामी खाडीको बलौटे किनारातिर निस्कियौं । यो सागामी खाडीको एकछेउ बाहेक कामाकुराका बाँकी तीनैतिर अग्ला पहाडले घेरेका थिए । यो खुला भागभने सागामी खाडीको विशाल जलराशिले घेरिएको थियो । लाग्थ्यो प्राकृतिक किल्ला हो यो कामाकुरा । यसैले होला, कामाकुरा कहिले जापानकै प्रथम राजधानी रह्यो, कहिले दोस्रो ।
“कामाकुराको यही तट त होला नि प्रसिद्ध जापानी आख्यानकार ओसामु दाजाइले आफ्नी यसवती पे्रमिकासँगै फालहालेर आत्महत्या गर्ने प्रयत्न गरेका समुद्री किनार !” कामाकुरा तटको त्यो विशाल सागर देखेपछिको प्रश्न थियो यो मेरो आफैंसँग । धन्न जोगिएछ पटक पटक आत्महत्याको खेलमा रमाउने द सेटिङ सनजस्तो कालजयी विश्वविख्यात उपन्यासका स्रष्टा दाजाइको आत्महत्यास्थल बन्नुकोआरोप लाग्नबाट !
कामाकुराबाट झर्दासाथ खाडीले दिएको प्रभाव सकारात्मक थिएन । जताततै छरिएका मरेका माछामाथि झुत्ती खेलिरहेका काला कौवाहरू तटभरि कालाम्यै देखिन्थे ! समुद्री छालले तटमा मिल्काएका मृतमाछाहरूको आहारा खाइरहेका ती सयौं कौवा मात्र होइन, आकाशमा कावा खाइरहेका असङ्ख्य चिल गिद्धको आक्रमणको भयबाट पनि ढुक्क हुन सकिने स्थिति थिएन । विजुलीको तारमाथि बसेर घाम तापिरहेका कौवाले कति बेला झम्टा मार्ने हुन्, भन्न सकिँदैनथ्यो । डरलाग्दा लाग्थे ती काग । कामाकुराको माथिल्लो भासम्म पनि पुगेका थिए ती काग हामीलाई तर्साउन । यो त झन तिनकै कृडास्थल थियो ! त्यसैले यहाँ धेरै बेर बिताउने आँटै गर्न सकिएन । एक त कुहिएका माछाको नाक फुट्ने गन्ध, अर्को तिनै कागहरूको दंश डर । अलि होस गरेन भने टाउकैमा ठुङ्न बेर लाउँदैनथे ।
हामी अगि बढ्दै गयौं स्टेसन पनि छोट्टिने, सुरक्षित सुन्दर तटबाट समुद्रको आनन्द पनि लिन पाइने ठाउँको खोजी गर्दै । हुन पनि जति उता लाग्यो तट त्यति नै सफा र दुर्गन्धरहित देखिँदैगयो । नाङ्गा खुट्टाले बालुमा हिँडिरहेका, दौडिरहेका र समुद्री छालको शीतल स्पर्श भोग्दै लठार्रिइरहेका सौखिन जोडाजाडीको सङ्ख्या पनि बढ्दै गयो । छेउमा विश्रामस्थल र आवश्यक सुविधाका लागि शौचालय देखिँदै गए । बलौटे सागर किनारमा रमाउँदै प्रेम साटिरहेका युगल प्रेमीका जोडा–जोडी, र नजिक–टाढा सागरको छात्ती चिर्दै बगिरहेका साना ठूला जहाज र डुङ्गाहरू देखिँदैगए ! साँच्चिकै रमाइलो थियो सागर तटको त्यो दृश्य, हेरिरहँु जस्तो !
समय बिस्तारै चिप्लिँदै थियो, यो सागामी तटीय मोहनीमा भुलिरहने हो भने टोकियो पुग्न ढिला हुन्थ्यो । त्यसैले हामी अलमलिन सक्ने अवस्थामा थिएनौं र लाग्यौं टोकियो फर्कने क्रममा रेल स्टेसनतर्फ !
विजय निवास, आरुबारी ।