Friday, June 17, 2016

मृत्युयाचना ! विज्ञानकथा

(युवामञ्चको २०७३ असार, वर्ष २९ अङ १मा प्रकाशित)


“म मर्न चाहन्छु ! मलाई मृत्युको उपहार देऊ !” 
शरीरका कोषिकाहरू नष्ट हुँदै जाँदा शरीरमा क्रमश बुढ्यौलीका प्रक्रिया देखिँदै जान्छ भन्ने प्रस्थापनाको आधारमा विशालले आफ्नो प्रोजेक्ट “मृत्युञ्जयी” को सफल प्रयोग गरेको थियो । उक्त प्रयोगले सफलता प्राप्त गरेको पनि डेढ शताब्दी वितिसकेको थियो । 
त्यही वैज्ञानिक खोज अनुसार शरीरभित्रका नष्ट हुँदै गएका कोषिका मर्मत गर्नका लागि औषधिको विकास भइसकेका थियो । औषधिको सेवनबाट समेत मर्मत हुन नसक्ने गरी बिग्रिएका कोषिकाको मर्मत गर्न गोलीजस्तै साना रोबोटको विकास भएको थियो । ती रोबोटद्वारा टेस्टट्युवमा निर्मित कोषिका प्रतिस्थापन गरेर शरीर मर्मत गर्ने केन्द्रहरूको व्यवसायिक बिस्तार भइसकेको थियो । यसले गर्दा मानिसको आयु ह्वात्तै बढेर मृत्युको कतै खबर सुनिँदैनथ्यो । कतै कतै आयुवृद्धिको उपचार गराउन असमर्थ र प्रकृतिबिरुद्ध जानहुन्न भन्ने मान्यता राख्ने बिरलकोटी मानिस बाहेक सबैले दीर्घायु प्राप्त गरेका थिए । यो सबै देखेर विशाल आफ्नो खोजीको सफलतामा दङ्ग थियो ।    
विशालकै आविष्कारको जगमा उभिएर गर्भावस्थादेखि नै जीवित कोषहरूद्वारा उत्पादन हुने स्रावले कोषिकाहरूलाई चाँडै मृतहुनबाट रोक्ने टेलोमेरासे एन्जाइमको उपयोग गरी विकसित जीन उत्पादन गर्ने कार्य सामान्य उपचार पद्धतिको रुपमा विकसित भएपछि मानिसलाई लाग्ने संभाव्य रोगबाट जेनेटिक रुपमैं सुरक्षित तुल्याउन सहयोग मिलेको थियो । त्यसरी नै मृत तथा ह्रासोन्मुख वृद्ध कोषिकाहरूलाई कार्यशालामा प्रतिस्थापन गरेर वृद्धावस्था र मृत्युको कारणलाई नै हटाउने कुरा सामान्य भइसकेको थियो ।    
“सुन्यौ....? अब त मृत्युबाट मुक्ति पाइने भये रे नि ? चाहेसम्म बाँचेर अब संसारमा उन्नतिका अरु धेरै कुरा देख्न पाइने भयो !” सुरुका दिन हाम्रो आफ्नै एकजना युवा वैज्ञानिकले मानिसको आयुलाई बढाउन सकिने त्यो आविष्कार सफलता पाएकोे समाचार सुनेर खुसी नहुने कोही थिएन । सारा संसार खुसी थियो । 
आफने आयु बढाउन आतुर असङ्ख्य प्रौढहरू प्रयोगको क्रममा हुनसक्ने समस्या र त्यसले भएको ज्यान समेत जान सक्ने खतरालाई समेत वास्ता नगरी प्रयोगमा सहयोगी बन्न आतुर थिए । प्रकृतिले दिएको स्वाभाविक आयुलाई चाहेजति बढाउन सकिने यो वरदान प्राप्त गर्न देखिएको उत्सुकताले मानिसमा सदाकाल जीवित रहन चाहने जिजीविषा राम्ररी नै देखाएको थियो । हुन पनि चमत्कार नै थियो यो । वैज्ञानिक खोजको विश्व इतिहासमैं यति महत्वपूर्ण खोजी गरेर नोबेल पुरस्कार पाउन सफल पहिलो नेपाली हुनुको गर्वबोध गरिरहेको विशाल त झन खुसी नहुने कुरै भएन ।  
सम्झँदा अहिले पनि गर्वले फुलेको अनुभव गर्नपुग्छ ऊ । बाइसौं शताव्दीको शुरुको त्यो वर्षको दसैं उसको लागि सफलताको ठूलो उपहार लिएर आएको थियो ! बधाइ दिनेहरूको धुइरो र तिनले ओढाएका  खादा तथा फूलका मालाले गर्दनदेखि अनुहार छपक्कै छोपिएको थियो । एक प्रकारले थाकेर लखतरान थियो ऊ । त्यो बधाइ र फूलमाला कुनै दलका नेताको गलामा देखिने देखावटी सम्मानको फूलमाला थिएन, कार्यकर्तालाई पार्टी आफैंले किनाएर देखावटी सम्मानमा आफ्ना नेताको गलामा भिराएकोे माला थिएन त्यो । त्यो त देश र जातिकै गौरव बढाएकोमा उसप्रति जनताले दिएका स्वतस्फूर्त सम्मान थियो । राष्ट्रिय गौरवको कृतज्ञतामा सरोवर सम्मान थियो त्यो ! सिंगो नेपाली जातित्वको गौरवबोधको अभिव्यक्ति थियो । त्यसैले त्यो सम्मान जाति भाषाको नाउँमा नेपाली जातित्व र सार्वभौमिक स्वतन्त्रताको हत्या गर्न आतुर नेताहरूले पाउने खालको स्वागत थिएन । त्यो सम्मान थियो मानिसको आयुलाई अनिचिश्त कालसम्म बढाउने उसको युगान्तकारी आविष्कारले दिएको विश्व सम्मान ।   
आफ्नै छोरोको युगान्तकारी आविष्कारको प्रयोगद्वारा सम्भव भएको आयु वृद्धि गर्ने कुरामा विशालका पिताजी मात्रै किन पछि पर्थे ? यो मृत्युञ्जयी आविष्कार हुनुअघि मानिसको सरदर आयु साठी वर्ष थियो । विशालका बाबुले त्यो सरदर आयुभन्दा पनि थप बीसवर्षको आयु भोेगिसेकका थिए । डाँडाको घामसरी आज होकि भोलि भन्दै मृत्यु पर्खिरहेका उनलाई त्यसरी आयुवृद्धि हुँदा खुसी लाग्नु स्वाभाविकै थियो । त्यतिबेला आयुवृद्धिको यो वरदान उपयोग गरेर अति प्रशन्न थिएन विशालका पिता ! 
उनी मात्रै होइन, उनीजस्ता इच्छाजीवनको यो वरदान उपयोग गरेर सुरुमा त सबै नै खुसी थिए । तर बिस्तारै सिंगो बस्ती आयुवृद्धि गरेकाहरूको जनसंख्याले भरिँदै गएपछि जीवन एकरस र समाज एकरूप देखिँदै गयो । कुनै विविधता, कुनै नवीनता नभएको । उता दीर्घायु प्राप्त गरे पनि सन्तानोत्पत्तिको क्षमता भने उनीहरूले गुमाइसकेका  थिए । यो नयाँ आविष्कारले त्यो पक्षलाई एकमुष्ट सम्बोधन नगरेकोले शिशुजन्म शून्य प्रतिशतमा झ¥यो । परिणाम सबैतिर उमेर बढाएका प्रौढ देखिने वृद्धहरू बाहेक नयाँ जनसङ्ख्या देखिन छाड्यो । नवजात शिशु र बालबालिका कतै देखिँदैनथे । एक प्रकारले नयाँ सृष्टि अवरुद्ध हुन पुगेको थियो । आफ्नो आयु बढाएर सुखभोग प्राप्त हुने आशामा मृत्युञ्जयी बनेका स्त्री पुरुष सबैका आँखा तिनलाई देख्न प्यासा देखिन्थे । प्रौढ नै देखिए पनि आखिर जीवनका सबै उर्जा निख्रिएर थकित लाग्ने मृत्युञ्जयी यो पुस्ताबाट नवीन आविष्कारको सम्भावना पनि खासै थिएन । फलतः बिस्तार बिस्तारै ज्ञान विज्ञान लगायत हर क्षेत्रको थप विकास पनि अघि बढ्न सकेन । आयु वृद्धि गरेर मृत्युञ्जयी बनेका पुस्ता पनि उच्चाटलाग्दो लामो जीवनबाट उक्ताउन लागेका थिए– वाक्कै लागिसक्यो काम न धामको यो लामो जीवनबाट !     
“उहिलेका पुर्खाले एकजना स्वर्णप्रेमी धनलोलुप राजाले जे छोए पनि सुनै हुने वर मागेर पाउँदा पछि पश्चातापमा परेको कथा सुनाउँथे । हामीले पनि त्यही कथाका राजालेजस्तै प्रकृति विरुद्धको जीवन खोज्दा आज पछुताउनु प¥यो !”
“हो त, कति बाच्नु ? प्रकृतिभन्दा बाहिरको प्राप्ति आखिर सजाय नै बन्दोरहेछ ।” यता आएर यस्तै कुरा हुन्थे उनीहरू बीच । 
हुन त कुनै दुःख थिएन, कुनै पीडा थिएन । कुनै पीडा वा समस्या देख्नासाथ त्यस्तो पीडा र शारीरिक समस्याबाट मुक्ति पाउन शरीर मर्मत केन्द्र छँदैथिए । सांसारिक सुख सुविधा सबै उपलब्ध थिए । घरमैं सबै कुरा उपलब्ध हुन्थे, मात्र स्विच दबाउने कष्ट गर्नुपथ्र्याे । मनोरञ्जनका आधुनिक सबै साधन उपलब्ध थिए । सिनेमादेखि नाटकसम्म हेर्न पहिलेको जस्तो थेटर पुग्न पर्दैनथ्यो । घरकै स्क्रिनमा यावत कुरा हेर्न सकिन्थ्यो । यसरी हेर्दा जीवनमा कुनै कष्ट थिएन । कुनै समस्या थिएन । न रोगव्याधिको समस्या थियो, न खाने पिउने । जे चाह्यो उपलब्ध थियो । तर पनि उनीहरू खुसी थिएनन् । अतिदीर्घ जीवनको भोगाइले प्रत्येक दिनको थप जीवन अभिशाप लाग्न थालेको थियो ! 
 विशालका पितालाई पनि अरुजस्तै हेर्दा कुनै समस्या थिएन, कुनै कष्ट थिएन । जीवनको दुइसयौं वसन्त भोगिसकेका उनको यो दीर्घायु कसैले थोपरेको कुर पनि थिएन । सुरुमा उनकै चाहना थियो यो मृत्युन्जयी जीवन ।  
“भो’ पुग्यो, यो पट्यारलाग्दो जीवन कति बाँच्नु ! अब मर्न चाहन्छु म ! मलाई मृत्युको उपहार देऊ !” एक दिन बाबुको त्यो लामो आयु बाँच्नुसँगको वितृष्णयुक्त मृत्युयाचनाले भित्रैसम्म घोच्यो उसलाई । पश्चातापबोधले पग्लिँदै गयो ऊ !  
“म मर्न चाहन्छु ! मलाई मृत्युको उपहार देऊ !” ओहो.....कति बाँच्नु ? आखिर प्रकृति विरुद्धको यात्रा सधैं सुखद बन्दोरहेन छ ।” अन्ततः विशालका पिता यही निष्कर्षमा पुगेका थिए । त्यही निष्कर्षले उनी छोरासँग मृत्युयाचना गरिरहेका थिए ।      
“त्यसो नभन्नसोस् न बा.....! अरु कति बाँच्नु छ !” बाबुको पीडाजन्य मुत्युयाचनाबाट पग्लिएको विशालले अपराधबोधका कारण बाबुको अनुहार समेत राम्ररी हेर्न सकेको थिएन । मानवताको भलो गर्ने चाहनाबाट प्रेरित भएर गरेको यो खोजको परिणाम यति अप्रिय होला, यस्तो परिणाम निस्केला भन्ने उसले सोचेको थिएन ।  
“होइन, मलाई अब एक क्षण पनि बाँच्ने चाहना छैन ! जसरी तिमीले यो आयु दियौ, त्यसरी नै मृत्यु देऊ । अब म यो जीवनबाट मुक्ति चाहन्छु ।” 
अरु पनि धेरै थिए यति बेला उसको यो आविष्कारको उपभोग गरेर लामो आयु भोगी वाक्क हुँदै मुक्ति मागिरहेका अतिज्येष्ठ नागरिक । ती सबैको यही पीडा थियो र विशालका पिताको यो याचना ती सबैको साझा प्रतिनिधित्व थियो ।

विजय निवास, आरुबारी ।